Thursday, October 26, 2017

साँचो हराएको पण्डित


पण्डित रामचन्द्रले आफ्नो दराजको साँचो विर्सेछन् | उनी आफ्नो शिष्यसंग घरको आँगनमा केही खोजिरहेका देखेर छिमेकीले सोधे -

"पण्डित जी के खोज्दै हुनुहुन्छ ?
"मैले साँचो कतै राखेछु"
"कता राख्नु भएको होला केही सम्झना छ ?"
"मैले आफ्नै पाठपूजा गर्ने कोठामा राखेको थिएँ"
"अनि, यहा वाहिर साँचो खोजेर पाइन्छ त ? छिमेकीले अचम्म मानेर भने
"यहाँ अलिधेरै प्रकाश आइरहेकोले यहाँ खोजिरहेको हो"
..................................

नेपाली रैथाने विद्वानहरूको वर्तमान पण्डित रामचन्द्र भन्दा फरक छैन | सबैले आफ्नो इतिहास, संस्कृति तथा विवेकको साँचो आफ्नो पूजाआजाको अध्यारो कोठामा छोडेका छन् |

त्यो ठाउं एति अध्यारो भैसकेको छ कि त्यसमा प्रवेश गरेर साँचो खोज्ने र दराज खोलेर कितावहरू पढ्ने सीप थोरैसंग मात्र छ | कितावहरू राखेको दराज रेसमी किराले धुजाधूजा परिसकेको छ |

अनि, धेरै पण्डितजीहरू भित्र रहेका खजाना खोज्नुको सट्टा अरूले वाहिर उज्यालोमा ल्याएर राखिदिएका काल्पनिक वा वास्तविक इतिहासमा आफ्नो प्रतिरूप खोज्ने प्रयत्न गर्छन् |

आफ्नो इतिहासको वास्तविकता दराजमा सडिरहेको छ | हामी विदेशीहरूले पस्केको इतिहासबाट सन्तुष्ट छैनौ तर आफ्नो दराज खोलेर हेर्ने हामीसंग जाँगर छैन | किनभने वाहिरको इतिहासले हाम्रो बुद्धि कुण्ठित भएको छ |

अरूका लागि अनुसन्धान, खोज गर्न सक्छौं तर आफ्ना लागि गर्न जाँगर छैन | अव रामचन्द्र पण्डितहरूले आफ्नो अध्यारो कोठामा गएर दराज खोल्ने थालनी गर्नुपर्छ |

नेपालीमा एउटा भनाई छ " कस्तुरी मृगको नाइटो सुगन्ध हुन्छ तर उसले आफ्नो जिन्दगी दौडेर त्यही सुगन्ध खोज्दै विताउछ" - रैथाने नेपालीहरूको हविगत यस्तै देखिएको छ |

प्राचीनकालका सबै थोक श्रेष्ठ नै हुन्छन् भन्ने छैन | केही राम्रा होलान् केही समयानुकुल नहोलान् तर ती सबैको खोज गर्ने र तिनको विषयवस्तु खोल्ने सीप हाम्रो आफ्नै हुनुपर्छ | अरूले खोजिदिएकोको र बुझेको कुरा फरक ढंगले पस्किएको हुनसक्छ |

अहिले हामी रामचन्द्रहरू अरूले पस्किदिएको भागका कारण भ्रमित भएका छौं | यो भ्रमको सबैभन्दा ठूलो साइड इफेक्ट भनेकै आफ्नो क्षमतामा विश्वास गर्न नसक्नु हो | अमेरिकी समाजमा एउटा शब्द निकै प्रचलित छ "एस्त्रोकेशन" | यसको अर्थ हो अरूलाई आफ्नो शब्दजालमा यसरी फसाउँ, जसबाट उसले आफ्नै कुरामा विश्वास नगरेर हाम्रो कुरामा विश्वास गरोस् |

अहिले नेपालका रामचन्द्रहरू उनीहरूले लेखिदिएको, बोलिदिएको, खोजिदिएको विषयवस्तुमा आफुले खान लागेको थालको भात भन्दा बढी विश्वास गर्छन् | तर सिकायत चाहिं "अरूले हाम्रो संस्कृति, राजनीति, धर्म विगारे" भन्ने रहन्छ |

उनीहरूले तयार पारेको फ्रेमबाट बाहिर निस्कन डराउने तर फ्रेमको विषयमा सिकायत गरिरहने नेपालीहरूको ठूलो हुल छ | अव यो हुलले आफ्नो कोठा सफासुग्घर गरेर आफ्नै पिटारो खोल्न जरुरी भएको छ | चाहे पिटारो खोल्दा जे- निस्कोस, पिटारो आफ्नै हातले खोल्ने र बुझ्न हामी नै तयार हुनुपर्छ | नेपालका सम्पदाहरूको खोजमा विदेशी अर्कियोलोजिस्ट हाम्रा सहयोगी हुनुपर्छ, हामी उनीहरूका सहयोगी बनेर काम गर्नुहुँदैन |

आफ्नो कोठा उज्यालो छ भने दराजमा रहेका खजानाहरू सबैले हेर्न सक्छन् | बुझ्न सक्छन् र आफ्नै जरोकिलोमा उभिएर अरूलाई आफूतिर आकर्षित गर्न सक्छन् |

अरूले लेखिदिएको इतिहास, संस्कृति तथा पहिचानको कथा पढेर त्यसैलाई वास्तविक ठानेर घृणावादको विस्तार गर्नबाट जोगिनुपर्छ | नेपाली संस्कृति घृणावादका लागि पटक्कै होइन | यो तत्थ्य आफ्नो खजाना आफ्नै पौरखले खोले बुझिहालिंछ भन्ने मेरो विश्वास छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...