Thursday, October 26, 2017

एनआरएनको सम्मेलन हुँदाहुँदै

एनआरएनको सम्मेलन हुँदाहुँदै
हाल काठमाडौंमा विदेशमा छरिएर रहेका नेपालीहरूको सम्मेलन हुँदैछ | सम्मेलनले नेतृत्व चयन गर्ने छ | उनीहरूले नेपाल र नेपाली प्रति देखाएको मायाको सम्मान गर्छु |

सम्मेलनमा नेतृत्व चयन गर्न आएका सबै नेपालीहरू शेष, लामिछाने, महतहरूझैं पूँजीपति छैनन् | कसैसंग पूँजी होला, कसैसंग सीप | धन र सीपमा सहकार्य हुनुपर्छ | सिपालु र धनिमा सहकार्य हुनुपर्छ |

विदेशी नै भए पनि नेपालीहरूमा नेपालको संकीर्ण जातिवाद, घृणावाद, अस्वीकार्यवाद, जडसूत्रतावाद हावी भएको देख्दा दुख लाग्छ | एनआरएनको नेतृत्व र सदस्यहरूले नेपालमा फैलिँदो घृणावाद, उच्छेदवाद र नेपालको विविधतालाई विभिन्न वहानामा समाप्त पार्न तम्तयार राजनैतिक शक्तिलाई सकारात्मक दिशामा बढ्न उत्प्रेरणा दिने कारक बन्न सक्नुपर्छ |

एउटा अर्को तीतोसत्य पनि बोल्नैपर्छ - आम नेपालीहरूले एनआरएनहरूलाई "धनको धक्कु लगाउने" शक्तिका रूपमा बुझ्दछन् | एस्तो बुझाईका कारण उनीहरूले व्यक्तिगत तथा समुहगतरूपमा नेपालको विकासको लागि गरेको कामलाई ओझेलमा पार्छ | सम्मेलनले एनआरएनले गरेका विकासकार्यको संदेश जनतासम्म पुर्याउने कार्ययोजना बनाउनुपर्छ |

पश्चिमा मोडेलको राजनैतिक विचारधारालाई अङ्गिकार गर्दा नेपाली समाज घृणावादको भूमरीमा फंसेको छ | राजनैतिक नेतृत्वहरू शक्तिकेन्द्रहरूका खेताला भएका छन् | एनआरएनले आफुलाई नेपालका राजनैतिक नेतृत्वको खेताला बन्नबाट जोगाउन सक्नुपर्छ | हामी नेपालीहरूका लागि वर्तमान राजनैतिक नेतृत्व र प्रणाली बाध्यता होला तर तपाईंहरूका लागि छैन |

विश्वमा नेपालीहरूको पहिचान आतंककारीका रूपमा छैन | भ्रष्टाचारले गाँजे पनि नेपाली जनतालाई विकसित, विकासशील राष्ट्रहरूले विश्वास गर्छन् | वेलायतजस्तो विकसित देशमा नेपालीहरूले सैन्य-सेवा गर्छन् | एस्तो विश्वसनीयतालाई अगाडी सारेर एनआरएनहरूको संजालले नेपालीहरूलाई भिजा-फ्री बनाउनेतिर पहल गर्नुपर्छ |

एनआरएनहरू आफैले स्वीकार गरे पनि नगरे पनि उनीहरू नेपालका लागि अवैतनिक राजदूत हुन् - आफ्नो देशका लागि | खासगरी, अमेरिका-अस्ट्रेलिया र क्यानाडाजस्ता मानव शक्तिको खाँचो भएका देशहरूमा एनआरएनले नेपाली नागरिकका लागि फ्री-भिजाका लागि पहल गर्नुपर्छ |

एनआरएनहरू "बसुधैव कुटुम्बकम्" बलियो संवाहक हुन् | उनीहरूको उपस्थितिले नेपाल गौरवान्वित भएको छ र उनीहरूको देशमा नेपाली नागरिकहरूका लागि सहज बनेको छ | एनआरएनहरूको आपसमा मन मिलोस् र नया नेतृत्वले प्रेम, सद्भावना र सहकार्यको संस्कृतिमा जोड देओस | घृणावाद र अस्वीकार्यतावादको अन्त्य गर्न सफल होस् |

एनआरएन आफ्नो जरोकिलोसंग जोडिन गरिरहेको प्रयास अत्यन्त सम्मान जनक छ | आ-आफ्नो देशमा नेपालका रैथाने धर्म, संस्कृति तथा भाषाहरूको प्रवर्धन गर्न पनि उहाहरूले सहकार्य गर्नुपर्छ | सबैले सबैको भाषा तथा संस्कृतिको विकासका लागि सहकार्य गर्नुपर्छ | त्यहाँ विकसित भैरहेको नया पुस्ताले त्यहाको स्थानीय भाषा सहित नेपाली, मैथिली, भोजपुरी, नेवारी, तामांग, गुरुङआदि बोलीहरू बोल्न सके कति राम्रो होला ? घृणावादले गर्दा नेपालमा यो सम्भव भएन तर विदेशमा एस्तो हुन सक्छ |
नया नेतृत्वलाई बधाई र शुभकामना

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...