Thursday, October 26, 2017

हिन्दूधर्मको विद्वान् को ?

हिन्दू धर्म, संस्कृति तथा रितिरिवाजका विषयमा जान्ने र बुझाउने सबैभन्दा प्रमाणिक स्रोत हिन्दूहरू नै हुन् | तर यसो भनिरहंदा हिन्दू लेख्नेहरू सबैले हिन्दूत्वको प्रतिनिधित्व गर्छन् भन्नु उचित हुँदैन |

वि.स. २०६३ मा नेपाल धर्मनिरपेक्ष घोषित भएपछि नेपालमा हिन्दूधर्मको चर्चा बढी नै हुन थालेको छ | हिन्दू धर्मको ब्याख्या गरेर नेता बन्ने लिगलिगेमा धेरै स्वयम्भू विद्वानहरू थपिएका छन् | यी सबै आफु बाहेक अर्कोलाई विद्वान ठान्दैनन् | विद्वताको यो प्रदर्शन सनातन धर्मको चिन्तामा भन्दा आफु नेता बन्ने विषयमा केन्द्रित रहेको हुन्छ भन्ने कुरा अव लुकेको छैन |

वास्तविकता के हो भने अहिलेका धेरै हिन्दूहरू केवल लिखितम् हिन्दू हुन् र यिनीहरूबाट हिन्दुत्वको प्रमाणिक स्वरूप बुझ्न सकिन्छ भन्नु पूर्ण सत्य हुँदैन | हिन्दूत्व बुझ्न र बुझाउनका लागि कमसेकम संस्कृत र संस्कृतिको पालन गर्ने हुनुपर्छ |

अहिन्दू पनि हिन्दु संस्कृतिका विद्वान हुन सक्छन् | तर उनको त्यो विद्वता हिन्दू धर्म तथा संस्कृतिभित्र रहेका कमीकमजोरीहरू खोजेर यसलाई कमजोर तुल्याउन आर्जित गरिएको हो कि वास्तवमा हिन्दू संस्कृतिको विकासक्रमसंग जोडिएको वास्तविकता प्रकट गर्ने प्रयोजनसंग सम्वन्धित छ |

मेरो अनुभवमा, केही मान्छेहरू प्रायोजित रूपमैं हिन्दू धर्मको अध्ययन गरेर वदनाम गर्ने प्रयोजनका लागि खटिएका हुन्छन् | र केही व्यक्तिहरू अनुसन्धानको पवित्र उदेश्यसंग आवद्ध भएर हिन्दूत्वको अध्ययन गर्छन् |

मैले भनिसकें हिन्दू धर्मको लुपहोल खोज्न हिन्दू धर्मको अध्ययन गर्ने मध्ये ५०% विद्वानहरू सनातन धर्ममा प्रवेश गरेका छन् भने ५०% हिन्दुत्वको खैरो खान्ने जनशक्तिका रूपमा परिचित छन् |

तर यहाँ एउटा कुरा भने उल्लेख गर्नैपर्छ - हिन्दू संस्कृतिमा धर्मपरिवर्तनको कुनै अवधारणा छैन | धर्म छोडेर कुनै मान्छे हिन्दू बन्दैन | धार्मिक बनाउने काम मुस्लिम तथा इसाईमा हुन्छ | हिन्दुत्वसंग आफु जोडिनुपर्छ |

एउटा हिन्दूको मनमा हिन्दुत्वप्रति पूर्वाग्रह हुनु प्राकृतिक ठहरिन्छ र इसाईमा पनि यही तत्थ्य लागु हुन्छ | तर हिन्दूहरूको उद्गम नै बहुलतावादमा आधारित भएकोले उनीहरू एकेश्वरवादमा आधारित अनुसन्धाताहरू भन्दा मानसिकरूपमा धेरै फराकिलो विचारका हुन सक्छन् |

यदि कुनै हिन्दूको शिक्षा एकेश्वरवादी विचारधाराको स्रोतबाट विकसित भएको शिक्षा पद्यति (अमेरिकन, युरोपेली, अस्ट्रेलियन शिक्षापद्यतिको विकास चर्चबाट भएको हो र नेपाल-भारतमा त्यसैको नक्कल गरिएको छ) ले पनि आफुलाई निरपेक्ष राख्न सक्दैन | नेपाल र भारतका आधुनिक विविबाट प्रशिक्षित विद्वानहरूले युरोपेली र अमेरिकी खोजहरूलाई "अमृत" ठान्नु र उनीहरूले यहाँका अनुसन्धानहरूमा विश्वास गर्न नसक्नु यसैको उपज हो |

असलमा, आजभोली हिन्दू धर्म, संस्कृति तथा सभ्यताका सबैभन्दा ठूला शत्रु विदेशी होइनन्, विदेशीको नक्कलमा स्थापित गरिएका हाम्रै विश्वविद्यालयबाट उत्पादित विद्वानहरू नै हुन् | उनीहरूको मनोविज्ञानमा युरो-अमेरिकेली सुप्रिमेसीको भूत चढेको छ |

धर्मको महलमा हिन्दू लेख्नेहरू सबै मान्छे सनातन धर्मका विज्ञ हुँदैनन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...