Saturday, October 29, 2022

ॐ नमो भगवते वासुदेवाय:

श्रीनारदमुनिले बालक ध्रुबलाइ दिएको मन्त्र यही हो | यो मन्त्र जपेर बालक ध्रुवले छ महिना, तीन दिन र पांच घडीमा भगवान श्रीहरिको साक्षात्कार गरेका थिए | यसैगरी कर्दमजीले सन्यास ग्रहण गर्ने वेलामा आफ्नी धर्मपत्नी देवहुतिलाई पनि यही मन्त्र दिनुभएको थियो | देवहुतिले केवल छ दिनरात यो मन्त्र जपेर भगवानलाई खुसी पार्नुभयो | छोरा नै भए पनि देवहुतिले कपिलमा गुरूभाव राखेको पढ्न सकिन्छ | वैदिक संस्कृतिको विशेषता हो कि मातापिताले पनि सन्यास ग्रहण गरेका वा ज्ञानवृद्ध आफ्नै सन्तानलाई पनि सहजरूपले गुरुका रूपमा स्वीकार गर्न सकिन्छ | श्रीशुकदेवले परीक्षितलाई भागवत सुनाउंदा शुकदेवका पिता व्यासदेव श्रवणकर्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो |

अव ॐ नमो भगवते वासुदेवाय: को अर्थ बुझौं | ॐ भनेको ईश्वर हो | नम: अर्थ नमस्कार गर्छु हो | बासुदेवका दुईवटा अर्थ छ - वसुदेवका छोरा बासुदेव कृष्ण र बासुदेव अर्थात् सम्पूर्ण प्राणहरूका संचालन अर्थात् महाप्राण | यो संसारमा प्राण नहुने हो भने कुनै पनि जीवलाई प्राणी भन्न मिल्दैन | प्राण त्यस्तो उर्जा हो जसले शरीरलाई क्रियाशील राख्छ | मन्त्रको समग्रअर्थ हो ईश्वररूप महाप्राण श्रीकृष्णलाई नमन गर्छु | यो मन्त्रले आफुभित्रको प्राण र विश्वभरी व्याप्त महाप्राणका रूपमा रहेका श्रीकृष्णलाई नमन गरिएको हो | ॐ नमो भगवते वासुदेवाय: यो मन्त्र ज्यादै शक्तिशाली छ किनभने जोजसले यो मन्त्र विश्वास पूर्वक जपे, उनले छोटोसमयमा नै भगवान्को दर्शन प्राप्त गरे, मोक्ष प्राप्त गरे | मन्त्रमा दृढ विश्वास हुँदा उपासकमा महाप्राणको संचालन हुन्छ | विश्वनै आफुभित्र प्रतिविम्बित हुन्छ |

गर्भको सिकाई

भगवान् कपिल सांख्यदर्शनको उपदेश दिंदै भन्नुहुन्छ कि मान्छे आफ्नो भौतिक शरीरप्रति एतिबिध्न आसक्त हुन्छ कि भयानक नर्कमा यातना प्राप्त हुँदा पनि शरीरलाई माया गर्न छोड्दैन | आफ्नो शरीरको रक्षाका लागि अनेकौं पाप गर्छ र यातनाहरू पनि सहन्छ | असलमा, स्वर्ग र नर्क भनेको यही पृथ्वीमै छन् | जहाँ भयानक यातनाहरू छन् त्यो नर्क हो भने जहाँ सुखहरूको भण्डार छ, त्यो स्वर्ग हो | पुण्य कर्म गरेकाले सुखी जीवन प्राप्त गर्छन् भने पाप कर्म गरेकाले दु:ख भोग्छन् | यदि कुनै किसिमले पापकर्म गरेका व्यक्तिले धनआर्जन गर्न सफल भए भने पनि त्यो धन उनीहरूका लागि पुन: जन्ममरणको कारण बन्छ र कमाएको धनको रक्षा गर्ने, सुख भोग्ने चिन्ताको दु:खमा ती व्यक्तिहरू पिडित हुन्छन् | पुण्यकर्म भएकालाई धन सुखको स्रोत बन्छ भने पापकर्म भएकालाई त्यही धन दु:खको कारण बन्छ |

अनि, कुशल तथा अकुशल कर्मका आधारमा जीवले शरीर प्राप्त गर्छ | शरीरहरूमा सबैभन्दा असल मान्छेको शरीर हो तर आमाको गर्भमा प्रवेश गरेपश्चात दु:खको आरम्भ हुन्छ | आमाले खाने आहारमा जीवले बाँच्नुपर्छ भने पेटमा भएको तातोले शरीर पोल्छ, आमाको पेटमा भएका जीवाणुहरूले टोक्दा बडो कष्ट हुन्छ | गर्ममा वास भएको ७ औं महिनामा जीवलाई आफ्नो पूर्वजन्मको याद आउँछ र दु:ख मुक्तिका लागि भगवानसंग प्रार्थना गर्छ | आजको विकासवादले पनि गर्भमा रहेका बालबालिकालाई बाहिरी विश्वको प्रभाव पर्ने सिद्ध गरेका छन् भने नारदबाट कयाधुको पेटमा रहेका प्रहलादले भगवानको विषयमा सुनेर "भक्त" बनेका हुन् भन्ने विष्णुपुराण, भागवतआदिमा प्रष्टसंग उल्लेख गरिएको छ | तेसैले हरेक अभिभावकहरूले असल शिक्षाको आरम्भ आमाको गर्भकालदेखि नै गर्नुपर्छ | अहिलेको मनोविज्ञानले समेत सिद्ध गरेको तत्थ्य के हो भने गर्भअवस्थामा अभिभावकहरूले खाने, पिउने, गर्ने असल-कमसल व्यवहारको बालबालिकामा गहिरो प्रभाव पर्छ | उदहारणका लागि यदि मातापिता विनम्र, सहयोगी, मातापितालाई माया गर्ने व्यबहार गर्छन् भने बालबालिका जन्मेपछि त्यही गुणहरूको सजिलै अनुकरण गर्छन् | जड्याहाका बालबालिका जड्याहा हुने बढी सम्भावना हुन्छ | यही रितले बुझ्नुपर्छ | आमाको गर्भमा रहंदा बालबालिकाले कसरी सिक्छन् भने भागवतको सातौं स्कन्धको प्रहलादको प्रसंगमा विस्तृतरूपमा बताइएको छ |

हाम्रो विश्व

यो भौतिक ब्रह्माण्ड भौतिक वस्तु होइन भन्ने तत्थ्य आधुनिक विज्ञानले सिद्ध गरिसकेको छ | जुन बस्तु तथा बस्तुहरूको समुहका रूपमा हामीले ब्रह्माण्डलाई साक्षात्कार गरिरहेका छौँ, यो सबै तरल शक्ति (Energy) हो | विश्वका पदार्थहरू यसै तरल इनर्जीबाट निर्मित हुन् | अहिलेसम्मको मानिसले ब्रह्माण्डका विषयमा जानकारी प्राप्त गरेको ५% छैन तर मान्छेको मष्तिस्कको क्षमता भने क्वान्टम कम्प्युटर भन्दा बढी नै रहेको हालै प्रकाशित जर्नलले उल्लेख गरेको छ | यदि हामीले आजसम्म केवल ५% जानेका छौँ भने ९५% ब्रह्माण्डका रहस्यहरू मध्ये आध्यात्मिक संसार पर्दैन भन्नु बैज्ञानिक धारणा विरुद्ध हुन्छ | अनि, पुराना मान्छेहरूले बुझेका थिएनन् र भविष्यका मान्छेहरूले बुझ्न सक्ने छैनन् भन्नु पनि उचित हुँदैन | सायद तेसैले होला मार्क्सवादी भौतिक चिन्तनमा आधारित राजनैतिक शक्तिहरूको अवशान हुँदै गर्दा "ईश्वररहित आध्यात्म तथा सेश्वर" अध्यात्मको स्वीकार्यता बढ्दैछ | यसको अर्थ, मार्क्सवादीलाई मात्र दोष दिन खोजेको होइन | मार्क्सवादी हुँदैमा निराकरणवादी हुन्छन् भन्ने हुँदैन, नास्तिक हुन्छन् भन्ने पनि हुँदैन |

प्राचीनकाल देखिनै सृष्टि विश्वको मान्छेको लागि एउटा रहस्यमय तर खोजिको विषयवस्तु रहेको छ | संसारका हरेक कुनाका मान्छेहरूले सृष्टिका विषयमा आफ्ना अभिमतहरू राखेका छन् | कही विरोधाभास देखिन्छ भने कही आधुनिक सृष्टिमीमांसासंग केही तादात्म्य पनि भेटिन्छ | उदाहरणका लागि सांख्य र बैशेषिकहरूले संसारको उत्त्पतिको मानसिक रेखाचित्र दिएका छन्, ती निरर्थक छैनन् तर मङ्गलमा जाने उपकरण बनाएको अवस्थामा प्राचीन सृष्टिका चिन्तनहरूलाई "नकार्नु" उचित हुँदैन | हामीले स्वीकार्नै पर्छ कि विश्वको उत्त्पत्तिका विषयमा प्राचीन परिकल्पमा वा मानसिक साक्षात्कारले नै आधुनिक तत्व, भौतिकी तथा अन्य जगत-मीमांसाका आधारशीलाहरू तयार भएका हुन् | साच्चिकै भन्ने हो भने बिगब्यांग सिद्धान्त पनि मान्छेको मानसिक कल्पना वाहेक केही होइन तर स्वीकार्यता बढ्दैजाँदा यसले बाइबलको सृष्टि-विषयक सिद्धान्तलाई विस्थापित गर्ने प्रयत्न गरिरहेको छ | थप सत्य के हो भने जति वैदिक साहित्यले विश्वको उत्त्पत्तिका विषयमा चर्चा गरेका छन् त्यति विश्वका अन्य ठाउँमा गरिएको थिएन |
श्रीमद्भागवत एउटा समग्र अध्यात्म ग्रन्थ हो जसले भौतिक, मानसिक तथा आध्यात्मिक ताप (दु:ख) हटाएर धर्म, अर्थ, काम तथा मोक्षको लक्ष प्राप्तिका लागि मानवलाई अभिप्रेरित गर्छ | पाँचौं स्कन्धमा विसर्ग अर्थात् भौतिक ब्रह्माण्डको आयतनहरू, मानवीय जीवनका समस्याहरू, वासनाले पार्ने प्रभावहरू र असंस्कृत कर्मको फल कसरी दु:खदायी हुन्छन् (नर्क) भनेर मान्छेलाई सावधान गरिएको छ | बासनाहरू एतिबिध्न शक्तिशाली हुन्छन् कि गण्डकीको किनारामा निरन्तर तपस्या गरिरहेका व्यक्तिलाई पनि मृग र जडभरतको रूपमा पुनर्जन्म ग्रहण गर्न बाध्य पर्छन् | दोश्रो कुरा, यहाँ बर्णन भएको विश्वको मानचित्र आजको विज्ञानका तुलनामा असंस्कृत लाग्ला तर अन्तरमनले साक्षत्कार गरेको त्यो विश्वको बारेमा पूर्वाग्रहरहित भएर अनुसन्धान गर्न आवश्यक छ | हामीले विर्सनु हुँदैन अहिलेको बैज्ञानिक विकास पनि निरन्तर चिन्तनको परिणाम हो | हाम्रा पुर्खाले जिज्ञासा गर्न, खोज्न र प्राप्त उपलब्धि भन्दा अझैं बृहत्तर खोज्ने उपक्रमलाई निरन्तरता नदिएको भए, सम्भवत: अविकसित नै हुन्थ्यौं होला | तेसैले वैदिक शास्त्रहरूले मान्छेलाई निरन्तर अनुसन्धान, जिज्ञासा जारी राख्न निर्देशन दिन्छ : चरेवैति, चरेवैति - निरन्तर खोज खोज्दै गरे |
स्वस्तिअस्तु

सफल र असफल जीवन

मृत्युबाट कसैले जोगाउन सक्दैन | आमा, बा, गुरू, छोराचोरी सबै संसारसम्मका साथी हुन् | मर्ने एक्लै हो | जव मृत्युबाट कसैले रक्षा गर्दैन भने असल कर्म गरेर मृत्युलाई सहज बनाउने काम पनि आफ्नै हो | असल कर्म गर्नु पर्छ भन्दा धेरैले "धार्मिक अन्ध विश्वास" भन्लान् ! तर के जथाभावी जीवन बाँच्नेहरू मृत्युबाट जोगिएका छन् ? के विश्वको सबैभन्दा धनि, बलियो, राम्रो, सबैले चिनेको मान्छे जीवित रहने छ ? सबैलाई थाहा छ - मर्नै पर्छ | वैदिक साहित्यहरू चारआश्रम र चारवर्णका लागि चार पुरुषार्थको व्यबस्था तेसैगरेको होइन | वर्ण र आश्रम दूवै व्यबस्थाहरूले कर्म र कर्म कसरी गर्ने भन्ने शिक्षा प्रदान गर्छन् | आश्रमहरूले जीवनको कुन उमेरमा मान्छेले के कर्तव्य पुरा गर्नुपर्छ भन्ने शिक्षा दिन्छ भने वर्णले

मान्छेलाई आफ्नो व्यक्तित्वअनुसारको कर्म चुन्ने र अवसर प्रदान गर्छ |
भगवान् ऋषभदेवले आफ्ना छोराहरूलाई भन्नुभयो "संसार अस्थायी छ, जीवन अनिश्चित छ | जीवन प्राप्त भएपछि संसारका कर्तव्यहरू पालन गर्नुपर्छ | धर्म, अर्थ र कामको सेवन गर्नुपर्छ तर धर्मपूर्वक अर्थ र कामको सेवन गरियो भने मोक्ष मिल्छ | अन्यथा संसारप्रतिको मोहले मृत्यु अन्त्यन्त दुखदायी हुन्छ | तेसैले हे पुत्र हो ! तिमीले धर्मपूर्वक संसारलाई प्रयोग गर्छ | सत्कर्म गर | " किनभने सत्कर्म गर्न सजिलो हुँदैन तसर्थ मान्छेहरू अर्थ र काम (पैसा कमाउने र रमाइलो गर्ने) विषयलाई जीवनको सार्थकता सम्झिन्छन् धर्म र मोक्षप्रति वेवास्ता गर्छन् | एस्तो क्रियाकलापले आफैलाई नोक्सान गर्छ किनभने मर्दा पाप र पुण्य बाहेक केही रहन्न |
आजभोली मान्छेहरूलाई "आधुनिकताको भूत" चढेको छ | सामान्यतया आधुनिकताको अर्थ विज्ञानको प्रयोग, शारीरिक सुखप्रतिको अत्यधिक प्रेम र स्वतन्त्रता (स्वच्छन्दता) र पश्चिमाहरूको पक्षमा नास्तिकता पनि पर्छ | एउटा सत्य के हो भने भौतिकवादीहरूले भविष्यको जन्म मान्दैनन् | रक्सी र यौनको स्वतन्त्रता प्राप्त गर्दैमा कुनै व्यक्ति आधुनिक हुन्छ वा अर्धनग्न हिड्दैमा वा जथाभावी यौनस्वच्छन्दता प्राप्त गर्दैमा आधुनिकता सिद्ध हुँदैन | मातापिता, गुरू, समाज, देवदेवताप्रति विनाम्रभावले कर्तव्यपालन गर्ने व्यक्ति पनि रकेट-विज्ञानको ज्ञाता हुनसक्छ र रकेटमा वसेर गन्तव्यमा जान सक्छ | सदाचार भनेकै धर्म पूर्वक अर्थ र कामको प्रयोग गर्नु हो | स्वतन्त्रताको नाममा स्वच्छन्दताको अभ्यासले आफ्नो मूल्य घटाउँछ, मृत्युलाई असहज बनाउँछ |
मृत्युपछि जीवन हुँदैन भन्ने तत्थ्य विज्ञानले प्रमाणित गरेको छैन, यो केवल भौतिकवादीहरूको विश्वास हो | जसरी भौतिकवादीहरू धर्मलाई विश्वास भन्छन् तेसैगरी मृत्युपछि जीवन छैन भन्नु पनि भौतिकवादीहरूको आफ्नो निजी विश्वास हो | ऋषिमुनिहरूले यदि कुनै कुरा सिकाइरहनुभएको छ भने तिनमा विश्वास गरौँ | धर्मपूर्वक काम र अर्थको सेवन गर्दा जीवन सफल हुन्छ | तर जसले धर्म र मोक्षको लक्ष विना अर्थ र काम (यौनसहित) सेवनमा आफ्नो जीवन व्यतीत गर्छन्, शास्त्रकाअनुसार सम्बन्धित व्यक्तिले भविष्यका जीवनमा दु:खको तयारी गर्दैछ |
स्वस्तिअस्तु

कर्म तथा कर्मफल

कर्म र कर्मफल यी दूवै भौतिक यथार्थ हुन् | मान्छे गरेको कर्मअनुसार फल प्राप्त गर्छ | शिक्षकले बालबालिकालाई पढाउँछ | एउटा निजामति कर्मचारीले आफ्नो ओहदाअनुसार काम गर्छ | एउटा व्यापारीले व्यापार गर्छ - सबैले आ-आफ्नो कर्मअनुसार फल प्राप्त गर्छन् | शास्त्रहरूले यो जन्ममा बासनापूर्वक गरिएका कर्मको फल आगामी जन्महरूमा प्राप्त हुन्छ र ती कर्मको फल जीवले भोग्नैपर्छ भनेका छन् | कसैले विश्वास गर्दैमा वा नगर्दैमा आगोको पोल्ने काम, विषको विषालुपन नष्ट हुँदैनन् | कर्म र कर्मफल भौतिक यथार्थ हो भने कर्मफलको प्रवाह पनि त्यतिनै यथार्थ हो | कर्म नगर्ने होइन तर कर्म गर्दा ज्ञान, भक्ति तथा वैदिक आदेशहरू पालन गर्ने हो | वैदिक आदेशहरू विपरित, पूर्ण वासनाले युक्त भएर र विना भगवानलाई समर्पित गरिने हरेक कर्मले वर्तमान र अर्को जन्मका लागि इधन तयार गरिरहेका हुन्छन् |


शास्त्रहरूकाअनुसार हरेक जीवले आफ्नो कर्मको फल भोग्नैपर्छ | केवल भक्ति, ज्ञान र वैदिक आदेशहरूको विनम्रअनुयायी बनेर गरिएका कर्महरूले कर्मफल उत्पादन गर्दैनन् | विचारणीय विषय के हो भने निष्कर्म हुनका लागि पनि कर्म गर्नेपर्छ तर ती कर्मले फल उत्पन्न नगर्ने हुँदा निर्दोष हुन्छन्, सरल हुन्छन् र विफल हुन्छन् | यहाँ विफलको अर्थ - मोक्ष प्राप्ति नै हो किनभने फल र विफल दूवैबाट उपर मोक्ष वा भगवानको प्राप्ति हो | महाराज भरतले असल कर्म गरेका थिए तर असलकर्मको पनि वासना हुनुहुँदैन | मृगको रक्षा गर्नु उचित थियो तर मृगसावकप्रतिको वासनाले उनी जडभरत बनेर मृत्युको नजिक पुगे | साधक तथा तपस्वीको साधना खेरा जाँदैन | देवी दुर्गाले जडभरतको तपोबलको सम्मान गर्दै उहाँलाई मृत्युबाट जोगाइन् | यसको मूल मर्म थियो - जडभरतका कुनै पनि कर्म फलउत्पादन गर्नका लागि सकामभावले सम्पादन गरिएका थिएनन् |

संचित, क्रियमाण, प्रारब्ध तथा आगम - यी चारप्रकारका कर्मका विषयमा शास्त्रले चर्चा गरेको छ | संचित कर्मको अर्थ हो - ब्यांक ब्यालेन्स जुन तपाईंको अधिकारमा हुन्छ र प्रयोग गर्ने पर्ने हुन्छ | क्रियमाणको अर्थ हो अहिले यो जीवनमा गरिदै आएका र भविष्यमा गरिने कर्महरू | क्रियमाण कर्महरूमा अकर्म र विकर्म पर्न सक्ने सम्भावना हुन्छ | भाग्यले प्राप्त कर्महरूमा ग्रहदोषआदि पर्छन् भने आगम कर्मको अर्थ हो - शास्त्रअनुसार फलको इच्छा गरेर शास्त्र विधानअनुसार नै गरिएका कर्महरू | यी कर्महरू मध्ये केवल क्रियमाण कर्महरू गर्दा कर्ताले स्वविवेकको प्रयोग गरेर निष्कामकर्मको अभ्यास गर्न सक्छ र धर्मपूर्वक काम र अर्थको प्रयोग गरेर मोक्ष प्राप्त गर्न सक्छ | मोक्षको अर्थ हो - पुन: कर्म र तेसका परिणामहरूको अन्त्य | केही महापुरुषहरूले जीवनमुक्त भएर लोककल्याणका खातिर कर्म गरेको पनि पढ्न सकिन्छ |

जव व्यक्तिले साधना र भगवानको कृपा प्रसाद प्राप्त गरेर कामना, बासना तथा चाहनाहरूको अन्त्य गर्छ, उ आप्तकाम हुन्छ | उसका सम्पूर्ण कर्म र कर्मआसयहरू नष्ट भएका हुन्छन् | भगवानको भक्तिका कारण उसका कर्मबीजहरू सधैंका लागि नष्ट भएका हुन्छन् | जसरी बालबालिकाको चित्त निर्दोष हुन्छ, जसरी एउटा भक्तकको मन सबैका लागि समान हुन्छ तेसैगरी कर्महरूको चक्र विनाश भएपछि व्यक्ति शुभअशुभ, लाभहानी, मानअपमानबाट मुक्त हुन्छ | सम्पूर्ण विश्वलाई आफुभित्र प्रतिबिम्बित गरेपछि कोही कसैको शत्रु रहन सक्दैन |

मैले धेरै पटक अनुभव गरेको छु कि झट्ट सुन्दा यो सर्वसाधारण व्यक्तिका लागि असम्भवजस्तो लाग्छ तर सर्वसाधारणको मन "धनिमानी"भन्दा वासना, कामना र चाहनाहरू निकै कम हुन्छन् | धन र मानका साथ चाहना र कामनाहरू भारी पनि संगै आउँछ | जतिधेरै धन र मानको भारी बढ्दैजान्छ तेतितेति बासनाहरू पनि बढ्दै जान्छन् | जतिजति मान्छे धनि हुँदै जान्छ, तेतितेति उसका आवश्यताहरू बढिरहेका हुन्छन् | धन र मान कमाएर पनि तिनको "धर्म"मा उपयोग गर्न सक्नेहरू बढी आनन्दित, सुखी र सरल हुन्छन् | मान्छे निर्दोष हुन सक्छ, बासनारहित, चाहनारहित तथा कामनारहित हुन सक्छ | मैले धेरै पटक अनुभव गरेको छु र मेरा चाहनाहरू, बासनाहरू तथा कामनाहरू निरन्तर न्यून हुँदैगरेको साक्षी बनिरहेको छ | म जतिजति शास्त्रहरूको अध्ययन गर्नु, मेरो चित्त त्यतिनै निर्दोष र बासना रहित हुँदैछ |

स्वस्त्यस्तु

Sunday, October 23, 2022

के महाकवि देवकोटा दार्शनिक थिए ?

१. दूई जना अध्येता प्रा.डा. दुर्गा प्रसाद अर्याल र गोविन्द शरण उपाध्यायले महाकवि देवकोटाका कृतिमा आधारित भएर दार्शनिक अध्ययन गरेका छन् | अर्यालले नेपाली विषयको विद्यावारिधि गरेका हुन् भने उपाध्यायले दर्शनशास्त्र विषयमा | विषयअनुसार दृष्टिकोण फरक हुनु स्वाभाविक हुन्छ | अर्यालले देवकोटाका कविताहरूमा दार्शनिकता खोज्ने प्रयत्न गरे भने उपाध्यायले विचारहरूमा दार्शनिक चिन्तन खोल्ने प्रयत्न गरे | उपाध्यायले देवकोटामा उठाएको दार्शनिक प्रश्न दार्शनिक दृष्टिकोणमा आधारित छन् भने अर्यालले उठाएका दार्शनिक प्रश्नहरू साहित्यसंग बढी नजिक छन् |

नेपाली समाजमा राजा पृथ्वीनारायण शाहपछि सबैभन्दा बढी देवत्वकरण गरिएका व्यक्ति देवकोटा नै हुन् | देवकोटाको गरिवी, उहाँको आशुकवित्व, राजनीतिक चेतना, सामाजिक दृष्टिकोण, बहुभाषाहरूको ज्ञान सहित उनको बहुलट्ठीपन पनि चर्चाको विषय बनेका छन् | पृथ्वीनारायण शाहलाई "हिन्दूवादी" मान्नेहरू र राजा महेन्द्रलाई "नेपाली भाषा थोपरेको" आरोप लगाउनेहरू देवकोटाको बहुव्यक्तित्वका आगाडी उनके आफ्नो मन्त्रित्वकालमा नेपाली भाषाको सन्दर्भमा गरेका निर्णयहरूमा सवाल खडा गरेर अलोप्रिय बन्न चाहन्नन् |
जव हामी दर्शनशास्त्रको कुरा गर्छौं हामीले दर्शनशास्त्रका आधारभूत प्रश्नहरू र क्षेत्रका विषयमा सही जानकारी प्राप्त गरेको हुनुपर्छ | देवकोटाका विशाल विचार भण्डारमा अनेकौं दार्शनिक प्रश्नहरूका उत्तर छन् तर के उनी दार्शनिक सिद्धान्तकार कहलाउन योग्य छन् त ? के देवकोटालाई "सिद्धान्तकार" भन्न मिल्छ त ? यो प्रश्नको वस्तुगत उत्तर खोज्नु आवश्यक पर्छ | देवकोटा पनि मान्छे नै हुन्, उनी देउता होइन | उनी सबैथोकका ज्ञाता पनि होइन | तर उनी त्यस बखतको नेपाली सामाजिक, सांस्कृतिक राजनैतिक परिवेश भन्दा ५० बर्षपछिको चेतना बोकेका मान्छे हुन् भन्न मिल्छ |
२, उनले आफ्नो जीवनकालमा लेखेका ६५४ बटा कविता, छ बटा महाकाव्य, (छ बटा प्रकाशित भएका छैनन्) ११ बटा निवन्ध (अंग्रेजी सहित) ४ बटा अनुवाद, २ बटा नाटक, अनेकौं खण्डकाव्यहरू, समालोचनाहरू प्रकाशित छन् र अझैं थुप्रै प्रकाशनको क्रममा छन् | सम्भवत: अझैं पनि केही खोज समेत भैसकेका छैनन् | सम्भवत: खोज हुन बाँकी लेखौटमा विशुद्ध दर्शनशास्त्र सम्बन्धित पुस्तक भेटियो भने अचम्म मान्नु पर्दैन | आफ्नो समय भन्दा ५० वर्षपछिको सोच राख्ने देवकोटा दर्शनशास्त्रका सिद्धान्तहरूसंग अपरिचित थिए भन्न मिल्दैन | मैले यहाँ दर्शनशास्त्र शब्दको प्रयोग "दर्शनशास्त्र भनेकै वैदिक, उपनिषदीय, पौराणिक, जैन, बौद्ध वा षड्दर्शन मात्र हुन्" भन्ने पूर्वाग्रह मुक्त भएर गरेको छु | धरती धेरै फैलिएको छ | सबै थोक भारतवर्षले देख्न सक्दैन |
नेपालको सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वरूपमा दार्शनिक चेतना पानीमा नून मिसिएझैं अभिन्न छ | दर्शनशास्त्र र अन्य विधालाई फरकफरक अवस्थामा अध्ययन/अध्यापन गर्न अभ्यस्त पश्चिमा अनुसन्धानकर्ताको लागि नेपाली सांस्कृतिक तथा धार्मिक बनावटबाट दार्शनिक चेतना अलग्याउनु निकै मेहनत गर्नुपर्छ | एतिबिध्न हुँदा पनि नेपाली सामाजिक, सांस्कृतिक, धार्मिक चरित्रबाट दर्शनशास्त्रलाई टपक्क टिपेर अलग पार्ने कल्पना गर्न सकिन्न | यसको अर्थ, यहाँ दर्शनशास्त्रको स्वतन्त्र अस्तित्व छैन भन्ने पटक्कै होइन |धर्म, संस्कृति, राजनीति, सिद्धान्त तथा संस्कारहरू एकअर्कोमा अन्योश्रित भएको नाताले दर्शनशास्त्रलाई बुझ्न पनि समग्रको ज्ञान हुनैपर्छ | दूई फक्लेटे सत्यमा विकसित भएको चिन्तन-संस्कारका लागि नेपाली दर्शनशास्त्र सधैं "अपूर्ण, धर्मसंग टाँसिएको" हुन्छ | जुन सत्य होइन | देवकोटा यही समाजका उपज भएकोले उनका दार्शनिक चिन्तन पनि उनका सृजनामा छरिएर रहेका छन् |
देवकोटाको दार्शनिक चिन्तनलाई सुकरात, अरस्तु, प्लेटोको आँखाले हेरिनुपर्छ, देकार्त, ह्युम, कान्ट वा सात्रेको आँखाले बुझ्ने प्रयत्न गर्नुहुँदैन | यसैगरी देवकोटालाई आचार्य शङ्कर, निम्बार्क, रामानुज, उपनिषद तथा वेदका बहुआयामिक दृष्टिकोणले बुझ्ने प्रयत्न गर्नुपर्छ, सांख्य, योग, वेदान्त वा राधाकृष्णन्, अरविँदोका नजरियाले बुझ्न गाह्रो हुन्छ | देवकोटालाई पढेर मार्क्सवाद" ठान्ने, देवकोटालाई पढेर आध्यात्मवादी मान्ने, देवकोटालाई पढेर मानवतावादी मान्ने र देवकोटालाई केवल बग्दो नदीझैं निर्झर मान्ने सबै ठीक छन् | किनभने वैदिक संस्कृति र सभ्यतामा विकसित हुने सत्य बहुआयामिक नै हुन्छ | जुन देवकोटामा छरपष्ट छरिएको छ | सिमल्न धेरै बाँकी छ तर देवकोटालाई केवल प्रगतिवादी ठान्नेहरूले देवकोटाको अर्धसत्य बखान गरेझैं मानवतावादी तथा आध्यात्मवादीहरू पनि यही श्रेणीमा पर्छन् |
३. तेसो भए के देवकोटा दार्शनिक हुन् वा होइनन् ? यो प्रश्न आफैमा पूर्वाग्रह पूर्ण पश्चिमेली दार्शनिक दृष्टिकोणमा आधारित छ | देवकोटा निश्चय नै दार्शनिक सिद्धान्तकार होइनन् न उनले दर्शनशास्त्र विषयमा विद्यावारिधि नै गरेका छन् तर उनका रचनाहरूमा दर्शनशास्त्रको चेतना राइछाई छ | उनी नेपाली समाजका सशक्त बौद्धिक आवाज हुन् जसले प्रथमत: नेपाली भाषालाई वैश्विकस्तरमा उभ्याएका छन् भने यही भाषामा व्यक्ति भएका परम्परागत तथा आफ्ना समयको सङ्घारमा उभिएर बहुआयामिक रूपमा व्यक्त भएका छन् | उनको चिन्तनको परिधि एतिबिध्न विशाल छ कि खोज्नेले आफ्नो अभिरुची अनुसार खोजेको विषयवस्तु प्राप्त गर्छ | उनी विश्वविद्यालयमा दीक्षित दार्शनिक होइन तर दार्शनिकहरूलाई दृष्टिकोण दिने शक्तिशाली विचारक अवश्य हुन् |
नेपालका धेरैजसो विचारकहरू तिनथरिका राजनैतिक घेरामा बाँधिएरका छन् | यही साँघुरो घेराभित्र रहेर विचारकहरूको समीक्षा गरिन्छ | पहिलो र शक्तिशाली घेरा हो "प्रगतिशील" बर्गको | प्रगतिशील भनिए पनि धेरैजसो समालोचकहरूहरू मार्क्सवादी हुन्छन् | उनीहरूले हरेक "चिन्तन"लाई मार्क्सवादी दृष्टिकोणमा ढाल्ने प्रयत्न गर्छन् | आधुनिक मनिषीहरूको कुरा छोडौं, यिनीहरूले मार्क्सवादसंग गोरू बेचेको पनि सम्बन्ध नभएको वेदका चिन्तनमा पनि मार्क्सवाद खोज्छन् र "सेथिस, एन्टीथेसिस र सिन्थेसिस"को जामा पहिराई दिन्छन् | मूलत: मार्क्सवाद एउटा प्रभावशाली "राजनैतिक अर्थचिन्तन" हो तर मार्क्सवाद बैज्ञानिक दर्शनशास्त्र हो भन्दै हरेक ठाउँमा थोपर्ने प्रयत्न गर्छन् र प्रगतिवादको चस्मा तयार गर्छन् | देवकोटाको चिन्तनउपर पनि "प्रगतिवाद"को कोट पहिराउनेहरू थुप्रै छन् | समरकन्दको भाषण, सुलोचना महाकाव्यमा प्रस्तुत भएका केही कथन र अन्धविश्वासउपर उनको प्रहारलाई "प्रगतिवाद"का रूपमा प्रस्तुत गर्छन् |
दोश्रो प्रवृति समाजवाद (प्रजातन्त्रवादी)हरूको हो जसले देवकोटाका विचारहरूका आधारमा उनलाई "समाजवादी घोषित गर्छन् | तेस्रोधार, परम्परावादीहरूको हो जसले देबकोटालाई पूर्णतया वैदिक सनातन धर्मका विनम्र र प्रखर प्रस्तोताका रूपमा देख्छन् र त्यही रूपमा प्रस्तुत गर्छन् | मैले माथि उल्लेख नगरेको चौथोधार चाहिं मानवतावादको हो जुन देवकोटाको सरलमन र समयको आवश्यकताका कारण देवकोटाको सवल पक्ष भन्न मिल्छ तर यसो गर्दा पनि उहाँका "चिन्तन"मा न्याय हुनैसक्दैन | यस सम्बन्धमा अंग्रेजीका प्राध्यापक डा. पद्म प्रसाद देवकोटाले "द विच डक्टर" नामक अंग्रेजी निवन्ध संग्रहमा महाकविको सम्वन्धमा लेखेको तत्थ्य मनन गर्नुपर्ने देखिन्छ | प्राध्यापक पद्मप्रसादले लेखेका छन् "...देबकोटा नेपाली समाजमा प्रचलित अनेकौं अन्धविश्वास र कुरीतिका प्रवल विरोधी थिए | तर उनी नास्तिक थिएनन् | उनले सधैं नेपाली समाजमा व्याप्त रहेको अध्यात्मिक चेतनाको भौतिकतहमा विश्वास गरिरहे र वैज्ञानिक चिन्तन तथा व्यबहारप्रति समर्थन गरिरहे | उनले नेपाली मौलिक परम्परा र बैज्ञानिक चिन्तनको जोड़मा जीवनको अर्थ खोजे |"
४. परम्परावादीले देवकोटालाई अन्धविश्वासतिर डोर्याउने सम्भावना हुन्छ, प्रगतिवादीले देवकोटालाई कम्युनिस्टका रूपमा उभ्याउन खोजेको देखिन्छ, समाजवादीले धर्मनिरपेक्षवादको राजनीतिको कित्तामा उभ्याउने प्रयत्न गरेको बुझ्न सकिन्छ भने मानवतावादी धारहरूमा उपरोक्त चारैप्रकारका प्रवृत्तिहरू बुझ्न सकिन्छ | मेरो ठम्याई भने उपरोक्त सबै अतिवादका विपरित देवकोटा एउटा विनम्र तथा चिन्तनशील नागरिक हुन् जसले नेपाल र नेपालीको चहुर्दिश विकासको सपना देखे | उनले आफुले देखेको सपना प्रज्ञाप्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, नेपाली भाषालाई नेपालको पहिचानका तत्वका रूपमा स्थापित गरेर देखाए | उनी साधारण मान्छे नै थिए तर उनको चिन्तन "वाद. प्रतिवाद, विवाद"को पिंजडामा कैद थिएन | उनी जतिधेरै प्रगतिशील थिए त्यतिनै धेरै परम्परावादी पनि थिए | उनी जतिधेरै उदात्त चिन्तनका थिए तेतिनै धेरै स्वधर्म, संस्कृति तथा परम्पराका पक्षधर पनि थिए | उनले छुवाछुतको आलोचना गरे भने हत्यानै गर्ने भए पछि गाई हत्याको विपक्षमा विचार पनि दिए | साथै जनताको सर्वतोमुखी प्रगति र वैज्ञानिक विकासका लागि तत्कालीन सोभियतको साम्यवादका पक्षमा पनि उभिए |
लेखक तथा साहित्यकार सूर्य विक्रम ज्ञावलीले देवकोटाको प्रतिभालाई सम्मान गर्दै एउटा कार्यक्रममा "महाकवि" भन्दै सम्बोधन गरेको वाणी कालान्तरमा देवकोटाको एकल चिनारी बन्न पुग्यो | देवकोटा "महाकवि"को उपाधि कुनै विश्वविद्यालय, संघसंस्था वा सरकारबाट प्राप्त गरेका होइन | उनको "महाकवि" देशका जनताले सामुहिक रूपमा प्रदान गरेको प्रेमपूर्ण सम्मान हो | सायद यदि कुनै संघसंस्था वा सरकारले यो उपाधि दिएको भए, देवकोटाको व्यक्तित्व एतिबिध्न विशाल र स्वीकार्य हुने थिएन | भारतीय घुमन्ते विद्वान राहुल साँन्कृत्यायनले "पन्त, निराला र प्रसाद"को समवेत देवकोटा हुन्" भनेर गरेको प्रसंशा अर्थपूर्ण मान्नुपर्छ | भारतीयहरूले चानचुने अवस्थामा नेपाली विद्वानको सम्मानमा शब्द खर्च गरेको विरलै भेटिन्छ | भारतीय वाहेक आफ्ना छिमेकी मुलुकका प्रतिभाहरूको सम्मान गर्न गर्ने सवालमा भारतीय विद्वानहरू निकै कन्जुस्याइँ गर्छन् |
५. दर्शनशास्त्रका आफ्ना पूर्वस्थापित मान्यताहरू हुन्छन् | ती मान्यताहरूको फ्रेममा अटाउने गरि प्रेषित गरिएका विचारहरू दर्शनशास्त्रको श्रेणीमा पर्छन् | आजको समयमा अन्य शैक्षिक विषयवस्तुहरूले प्रगति गरेझैं दर्शनशास्त्रभित्र पनि अनेकौं नवीन विषयवस्तुहरूले स्थान पाएका छन् | यदि परम्परागत रूपमा भन्ने हो भने कुनै पनि विचारकको विचार "दर्शनशास्त्र" बन्न निम्नतम परमतत्वका विषयमा प्रश्न सोधिएको र उत्तर दिएको हुनुपर्छ | नैतिक-अनैतिक, शुभअशुभ, उचितअनुचित, राम्रो नराम्रो, मूल्यवान्, अमूल्य तथा मूल्यहीन विषयहरू वारे चर्चा गरिएको हुनुपर्छ | ज्ञानको उत्पत्ति, ज्ञानको कार्य र सीमाका विषयमा छलफल गरिएको हुनुपर्छ | प्रस्तुत गरिएको विचार तर्कका दृष्टिकोणले बैध हुनुपर्छ र स्वतन्त्रता, परतन्त्रताआदिका विषयमा चर्चा गरिएको हुनुपर्छ | बर्तमान समयमा दर्शनशास्त्रले विश्वको जुनसुकै विधाभित्र मूल्यको तत्थ्य उठान गर्न आरम्भ गरेको छ - मनोविज्ञानको दर्शन, बायोलोजीको दर्शन, विज्ञानको दर्शन, अर्थशास्त्रको दर्शन, राजनीतिको दर्शनआदिआदि |
उपरोक्त परम्परागत दार्शनिक प्रश्नहरू गर्ने र तिनको अर्थपूर्ण वा निरर्थक उत्तर खोज्ने मान्छे हो | तेसैले अहिलेको विश्वमा दर्शनशास्त्रको मानवतावादी धार पनि निकै तिखारिंदै गैरहेको छ | के देवकोटाका कृतिहरूमा तत्वमीमांसा, ज्ञान मीमांसा, नीति मीमांसा, तर्क मीमांसा तथा मानवीय मूल्यका विषयमा प्रश्नहरूको उठान र उत्तर उपलब्ध छन् त ? के देवकोटाका कृतिहरूमा उपरोक्त प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिएको छ त ? यी प्रश्नहरूको उत्तर यदि "छ"मा आउँछ भने देवकोटा दार्शनिक हुन्, यदि "छैन" भन्ने आउँछ भने देवकोटा विचारक, समाजसेवी, राजनीतिज्ञ, बैज्ञानिक त हुन सक्छन् तर दार्शनिक होइन | निश्चयनै देवकोटा विश्वविद्यालयबाट दर्शनशास्त्रको डिग्री प्राप्त गरेका हिगल, राधाकृष्णन् वा रसेलजस्ता दार्शनिक त होइनन् तर उनले आफ्ना कृतिहरूमा उपरोक्त दर्शनशास्त्रका आधारभूत प्रश्नहरूको उत्तर दिएको हुँदा उनी दार्शनिक कवि, समाजसुधारक, राजनीतिज्ञ तथा चिन्तक अवश्य हुन् |

प्राचीन वैदिक शैली

प्राचीन साहित्यहरू कथाशैलीमा लेखिने गर्थे | गहनभन्दा गहन विषयलाई "गायनकथा"का रूपमा प्रस्तुत गर्दा सर्वसाधारणले समेत विषयवस्तुमा राम्रो पहुँच हुन्थ्यो | पुराणहरू कथाशैलीमा छन् र विषयवस्तुहरू गायनशैलीमा लेखिएका छन् | आजको मनोविज्ञानले कथाशैलीमा प्रस्तुत गरिने सिकाईका विषयहरू मानवीय मस्तिष्कमा दीर्घकालसम्म सुरक्षित रहने भन्दै बालबालिकाहरूकी गायन, उपमा, कथाआदि शैलीहरू प्रयोग गरेर सिकाउँन अनुरोध गरेको छ | पौराणिक कथाहरूको आधार वेद तथा उपनिषद नै हुन् तर शैली रुचिकर भएको हुँदा स्थानीय आवश्यकता, संस्कृति तथा चालचलनअनुसार फरकफरकशैलीमा प्रस्तुत गरिका छन् | तर एतिहुँदा हुँदै पनि सम्पूर्ण पौराणिक साहित्यको लक्ष धर्म, अर्थ, काम र अन्तन्त: मोक्ष प्राप्ति नै रहेको छ | पौराणिकहरू मध्ये यी लक्ष प्राप्तिका लागि कसैले ज्ञानमार्ग, कसैले कर्म मार्ग त कसैले भक्तिमार्गको अवलम्बन गरेका छन् | सात्विक, राजसिक तथा तामसिक स्वभाव र व्यक्तित्वअनुसार मान्छेले आफ्नो मार्ग चिन्थे |

सुन्दा अचम्म र अपत्यारिलो लागे पनि वराह (बंगुर)ले सधैं आफ्ना दाह्राले पृथ्वीनै खनिरहेको हुन्छ | भगवान् वराहले पृथ्वीको पानीबाट उद्धार गर्नु भयो अर्थात् वर्षाकाल समाप्त भयो | पौराणिक प्रसंगहरू अध्यत्मिकतासंग जोडिएका छन् र धनका लोभीहरूबाट पृथ्वीलाई मुक्त नगरिकन कल्याणकारी समाजको निर्माण हुँदैन | द्रव्य-पिसाचहरूबाट पृथ्वीको उद्धार हुनै पर्छ, वराहले अवस्था रसातलमा पुगेको भए पनि सर्वाजनको कल्याणका खातिर द्रव्य-पिसाचहरूको मोहबाट द्रव्य प्राप्त गरेर कल्याणकारी कार्यमा लगाउनु पर्छ | धन सबैको चाहना हुन्छ तेसैले आफ्नो त्यो असीमित द्रव्यचाहनाको दमन गर्नुपर्छ र शास्त्रले तोकेको मर्यादाभित्र रहेर द्रव्य-सङ्ग्रह र वितरण गर्नुपर्छ |
वैदिक संस्कृतिमा धनार्जन गर्नुलाई दोश्रो पुरुषार्थ (अर्थ)का रूपमा सबैभन्दा महत्वपूर्ण कार्य मानिएको छ | धन नै धर्मको आधार हो भन्ने प्रष्ट पनि गरिएको छ तर अधर्मपूर्वक धनआर्जन गर्न निषेध गरिएको छ | हिरण्यक्षको कथाका माध्यमबाट अतिधन लोभले जीवनमा क्षति पुग्छ भन्ने सूचना दिएको हो | एउटा तत्थ्य अरू थप्न चाहन्छु : धनार्जन गर्नु जीवनको लक्ष अवश्य हो तर धनका लागि जीवन नै त्याग्नु उचित होइन | धनका लागि कसैको जीवननै सङ्कटमा पार्नु वा जीवन नै लिनु अनुचित हो | साथै, विधिसम्मत तवरले आर्जन गरिएको धनमा आँखा लगाउनु सबैभन्दा ठूलो अपराध हो | आजको दृष्टिकोणबाट हेर्दा वराह र हिरान्यक्षको कथा "मैथ"जस्तो लाग्ला तर यो विश्व ब्रह्माण्डमा यस्ता धेरै कथाहरू र प्रसंगहरू छन् जुन अहिलेको बैज्ञानिक विकास र मान्छेको बुद्धिले समाउन वा ठम्याउन सकेको छैन |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...