Monday, February 19, 2024

पतिपत्नी बन्न "गुण"को कुरा !

 पतिपत्नी बन्न "गुण"को कुरा !

"पतिपत्नी"को सम्बन्धमा प्रवेश गर्नु र आजीवन त्यो सम्बन्धमा रहनु निकै वीरतापूर्ण कार्य हो | वैदिक संस्कृतिमा नाडी-गुणआदि मिलान गर्दै दाम्पत्य जीवनका लागि उपयुक्त ठानिएका जोडीको विवाह गरिन्छ | वैदिक संस्कृतिले विवाहपछि "पारचुके"को कल्पना गरेको छैन | उपयुक्त विधिबाट छानिएर विवाह बन्धनमा गाँसिएका दम्पतिको "पारचुके" हुँदैन भन्ने वैदिक विश्वास रहेको बुझ्न सकिन्छ |
आजभोली नेपाली समाजमा विवाहपूर्व परामर्श (Pre-Marital counseling) को अभ्यास गर्ने मांग बढिरहेको छ | के वैदिक संस्कृतिमा विवाहपूर्व परामर्शको प्रचलन थियो त ? अवश्य पनि थियो तर आजको रूपमा थिएन | धेरैजसो विवाहपूर्वका आवश्यक परामर्शहरू अभिभावकहरूले पूरा गर्थे | आजको "मोडर्न एज"का युवायुवति र अभिभावकहरूका लागि "अचम्म" लाग्न सक्ने उपर्युक्त चलन आजको समाजमा पनि प्रचलनमा छ |
अभिभावकहरूले विवाहपूर्व परामर्शका लागि ज्योतिषी, पाका आफन्त, साधुसन्त, विद्वान, गाउँका धनिमानी र सामाजिक व्यक्तिहरूको उपयोग गर्थे | धेरैजसो "चिना" हेरेर गुण,वर्ग, गण इत्यादिको युति १८% प्रतिशत भन्दा बढी भए विवाहयोग्य ठानिन्थ्यो र २८% बढी गुण मिल्नेहरूको विवाहलाई सबैभन्दा राम्रो मानिन्थ्यो | आज पनि यो कुरा समाजमा प्रचलित नै छ |
वर्णो वश्यं तथा तारा योनिश्च ग्रहमैत्रकम् ।
गणमैत्रं भकूटश्च नाडी चैते गुणाधिका: ।।
हो, ज्योतिषीले चिनामा "कति गुण मिल्छन्" भनेर हेर्छन् | गुणशब्दको अर्थ हो - सम्बन्धित व्यक्तिमा रहेका सकारात्मक, नकारात्मक आनिवानी तथा सामर्थ्य तथा व्यबहरिकता | यदि केटा र केटीको चिनामा दूवैको आनिवानी, व्यबहार १८% पुगेको देखियो भने विवाहयोग्य हुन्थ्यो, पुगेन भने विवाह नगर्ने परामर्श दिइन्थ्यो |
आज उमेर पुगेका युवायुवतिहरूले प्रेम विवाह गर्दा पनि एकआपसमा बुझ्ने/बुझाउने कुरा नै "हामी दुई विच कति समानता छन् र कति असमानता" नै हो | यदि युवक-युवतिले आफ्ना गुणहरूमा "धेरै" समानता पाउँछन् भने विवाह गर्ने निर्णय गर्छन् | आनीबानी, खानपान, रुचि, सामर्थ्य यी सबै कुरा गुण नै हुन् | हिजोका दिनमा यी कुराहरू अभिभावकले तय गर्थे भने आज (केही) युवायुवतिले आफै तय गर्छन् | अभिभावकहरूले "विवाह गरिदिने" औपचारिकता मात्र पूरा गर्छन् |

लोग्नेस्वास्नीका लागि "पांच" कुरा

 लोग्नेस्वास्नीका लागि "पांच" कुरा

नेपाली समाजमा केटा र केटी संगै वस्नु तथा बालबालिका जन्माउनुको अर्थ नै "विवाह" भएको मान्ने चलन छ | विवाहपूर्व प्रेम गर्नेहरूले पनि विवाहको औपचारिकता पूरा गर्छन् | आज पनि नेपाली समाजले विवाह नगरी संगै वस्ने र बच्चा जन्माउने "कार्य"लाई राम्रो ठान्दैन |
वैदिक समाजको सबैभन्दा असल र विश्वले अनुकरण गर्न चाहेको परम्परा नै "विवाह र दाम्पत्य" हो | यहाँ विवाहसंग पारचुकेको कल्पना नै हुँदैन | तेसैले होला, विश्वका अन्य संस्कृति र सभ्यताका तुलनामा नेपाली तथा भारतीय पुरुष र स्त्रीका विचको दाम्पत्य सबैभन्दा बढी विश्वसनीय छ | १० हजार जनामा मुस्किलले एकजनामा "पारचुके" हुन्छ |
दाम्पत्य जीवन राम्रो हुनु महत्वपूर्ण कुरा हो लामो हुनु महत्वपूर्ण होइन | यदि कसैको दाम्पत्य ५० को पुगेको छ तर ती दम्पति जीवनभरी एकअर्कालाई "बोझ" ठान्दै बाँचे भने त्यस्तो दाम्पत्यको प्रशंसा गर्न सकिन्न | हाम्रो समाजमा "लोग्नेस्वास्नी"ले एकआपसमा सास्ती हुँदाहुँदै पनि "नजानेर" आफ्नो कष्ट आफैसंग बोकेर हिड्छन् | रमाइलो हुनु पर्ने जीवन "बोक्नै नसकिने" भारी हुन्छ | यो सानो आलेखले तपाईंलाई सहयोग गर्न सक्छ |
जुनसुकै अवस्थामा केटा र केटी संगै वस्ने र बालबच्चा जन्माउने कार्य गरेपछि ती जोडी "लोग्नेस्वास्नी" मानिन्छन् | तर विवाह हुँदैमा वा संगै वस्दैमा सबै कुरो "असल" हुँदैन | खासगरी धेरैजसो सानो उमेरमा वा पाको उमेरमा प्रेम विवाह गरेका जोडीहरूको दाम्पत्य "कलहपूर्ण" हुने अनुसन्धानहरूले प्रमाणित गरेका छन् | यद्यपि सबैलाई एकै थालमा राख्नु उचित हुँदैन |
यदि तपाईं विवाहित हुनुहुन्छ र "कुरो" मिलेको छैन भने निम्न तीन-चारबटा कुरामा ध्यान दिंदा सजिलो हुन्छ | संगै हुनु एउटा सकारात्मक आरम्भ हो तर संगै भएर "खुसी" हुन नसक्नु पारिवारिक जीवनका लागि अत्यन्त दुखदायी हुन्छ |
१. पहिलो, समानता के के छन् ? दूवै जना फरकफरक व्यक्ति र फरकफरक पृष्ठभूमिबाट आएको हुँदा एडजस्ट हुन समय लाग्छ | तर एकआपसमा "प्रेम" भएर नै संगै भएको हो | दूवै बसेर हामी विच "समानता" के छ भन्ने कुराहरू पहिचान गर्नुपर्छ | यसले असमानताका सवालमा सहमति बनाउन मदत मिल्छ |
२. दोश्रो, जव दूई लोग्नेस्वास्नीले आफुविच रहेको असमानता थाहा पाउँछन् तेसबाट ती असमानताहरूको सम्मान गर्ने र तिनलाई मिलाउने दिशातिर अगाडी बढ्नुपर्छ | यो "एडजस्टमेन्ट"को क्रिया हो | दुवैले आ-आफ्ना रूचि, भावना, चाहना तथा आवश्यकताहरू एकअर्काका लागि केही छोड्नु पर्छ केही अपनाउनु पर्छ | स्रुरुमा गाह्रो भए पनि पछि सजिलो हुन्छ |
३. तेश्रो, विवाहपूर्वको जिन्दगी र विवाहपछिको जीवनशैली एकै हुँदैन | कल्पनाबाट वाहिर निस्केर घरायसीकामा सहकार्य गर्ने, सेक्सका विषयमा एकआपसी सहमति कायम गर्ने, बालबालिका जन्माउने र हेरचाह गर्ने विषयमा सहमति कायम गर्ने र असजिलो परिस्थितिमा एकअर्काप्रति विश्वास गर्ने र असहयोग नगर्ने समझदारी गर्नुपर्छ |
४. चौथो, विवाह सबैभन्दा महत्वपूर्ण र कठीन निर्णय हो | दुवै जनाले एकअर्कालाई स्वीकार्न गर्ने र उसको वास्तविक जीवनमा "प्रभाव" पार्ने हुन्छ | यस्तो अवस्थामा "भावनात्मक" रूपमा एकअर्कालाई सधैं सहयोग गर्नुपर्छ | एति गर्दा जीवनको स्वाद नै छुट्टै हुन्छ | सधैं याद गर्नुपर्छ - पूर्णता कहीं पनि हुँदैन | स-सानो कुरामा खुसी हुन सिक्नुपर्छ
पाँचौं र अन्त्यमा, प्रेम विवाह गरेकामा एकआपसमा इगो बढी देखिन्छ | वैवाहिक जीवनमा इगो सबैभन्दा घातक हुन्छ | इगोलाई रोक्ने सबैभन्दा सजिलो उपाय भनेको "सुन्ने क्षमताको विकास" गर्नु हो | एउटाले अर्काको कुरा सुन्ने धैर्य गुमाउनु हुँदैन | एकजना चर्को वोलिरहेको अवस्थामा अर्को पनि चर्को बोल्ने हो भने झगडा बढ्छ, मन मुटाव बढ्छ, इगो पनि त्यत्ति नै बढ्छ | तेसैले एउटा आगो हुँदा अर्को शान्त हुने अभ्यास गर्दा परिवार सुखी हुन्छ | दाम्पत्य सजिलो हुन्छ |

लोग्नेस्वास्नीका विच खटपटका चारबटा प्रमुख कारण

 लोग्नेस्वास्नीका विच खटपटका चारबटा प्रमुख कारण

अलिअलि मतभेद नहुने र कहिलेकाहीं स-सानो खटपट नहुने कुनै पनि लोग्नेस्वास्नी हुँदैनन् | नेपाली लोग्नेस्वास्नी यो तत्थ्यबाट मुक्त छैनन् | हरेक खटपटको कुनै न कुनै कारण हुन्छ | संसारका ६८% लोग्नेस्वास्नीका खटपटहरू स्वत: समाधान हुन्छन् वा एकआपसमा सम्बाद गरेपछि समाप्त हुन्छन् | तर संवादहीनताले -ससाना समस्याहरू बढ्दै जान्छन् र घरवार नै विग्रिन्छ |
तपाईंहामीलाई लोग्नेस्वास्नीका विच कुन् र कतिविषयमा सबैभन्दा बढी खटपट पर्छ भन्ने विषयमा जानकारी प्राप्त गर्नु उपयोगी नै हुन्छ | यहाँ क्रमशः बरिष्ठता क्रमले प्रस्तुत गरिएको छ :
१. एपिएको टीमले लोग्नेस्वास्नीमा सबैभन्दा खटपट हुने विषयको पहिलो खुड्किलामा "अविश्वास वा शङ्का" पर्छ | लोग्नेस्वास्नीका विचमा सबैभन्दा बढी झैझगडा एकआपसमा अविश्वास र तथा शङ्काको कारणले पर्छन् | त्यसमा पनि पत्नी वा पतिले काम, सम्पति, अन्य महिला वा पुरुषसंगको सम्बन्ध र धोका दिएको शङ्का गर्ने र पति वा पत्नीले दिएको सफाईमा विश्वास नगर्नाले हुन्छ | उदाहरणका लागि यदि लोग्ने वा स्वास्नीले "मोवाइलमा आएका म्यासेजहरू देखाउन अनुरोध गर्ने र अर्कोले त्यो अनुरोध अस्वीकार गर्दा" शङ्का र अविश्वास दूवै बढ्छ | खासगरी प्रेमी-प्रेमिकाका विचमा "मोबाइलको पासवर्ड, म्यासेजआदि" साटासाट नगर्दा आजभोली ब्रेकअप हुने गरेको देखिएको छ |
२. लोग्नेस्वास्नीका विचमा दोश्रो सबैभन्दा व्यापक सम्बन्ध विगार्ने कारक "होच्याएर बोल्ने र व्यबहार गर्ने" बानी पर्छ | लोग्ने होस् वा स्वास्नी दूवै फरकफरक इकाई हुन् र दूवैले स्वेच्छाले पतिपत्नी बनेर बस्न सहमत भएका हुन् | लोग्नेस्वास्नी हुँदैमा एकले अर्कालाई होच्याएर बोल्ने, ब्यबहार गर्ने छूट हुँदैन | पत्नी र पति दूवैले एकअर्कालाई सम्मान जनक र मायालु ब्यबहार गर्नुपर्छ | तपाईंले आफ्नो लोग्ने वा स्वास्नीलाई "तँ, तिमी वा तपाईं" भनेर सम्बोधन गर्नुस् वा नगर्नुस् तर एकअर्काको अस्तित्वलाई "सम्मान जनक"रूपमा स्वीकार गर्नुहुन्छ भने लोग्नेस्वास्नीको पारिवारिक जीवन सुखी हुन्छ |
३. लोग्नेस्वास्नीको विचमा तेस्रो सबैभन्दा बढी खटपट निम्त्याउने कारण हो - "घरायसी काममा असहयोग" गर्नु | कुनै पनि लोग्ने वा स्वास्नीले "घरायसी काममा" एकले अर्कोलाई सहयोग गरोस् भन्ने चाहन्छन् | केटाकेटीको हेरविचार गर्न, घरको सरसफाई गर्न, पाहुनाको व्यबस्थापन गर्न, भोजन बनाउन, घरलाई सुन्दर बनाएर राख्न र सामाजिक अवसरहरूलाई मिलेर काम गर्न पन्छिने लोग्ने वा स्वास्नीको सम्बन्ध राम्रो हुँदैन | नेपाली समाजमा स्वास्नी मान्छेहरूले "लोग्ने ठूला मान्छे हुन् मान्नु पर्ने नाताका हुन्" भन्ने सांस्कृतिक विश्वासले गर्दा धेरैजसो घरायसी बोझ आफुले बोक्ने गर्छन् | लोग्नेले "सघाउँदा" अचम्भित हुन्छन् | स्वास्नीलाई घरायसी कामकाजको भारी बोकाएर आफुले सोफामा उल्टी खुट्टा लाएर टेलिभिजन हेर्दै "खाजाको अर्डर" दिने लोग्नेहरू "सामन्त" हुन् | लोग्नेका सहयोगी वा मित्र होइनन् |
४. लोग्नेस्वास्नीका विचमा चौथो सबैभन्दा बढी खटपट निम्त्याउने कारण "सेक्स" हो | हरेक स्त्री होस् वा पुरुष सेक्स-नीड फरकफरक हुन्छ | सेक्सका सवालमा लोग्ने वा स्वास्नीले एकआपसमा "जवर्जस्ती" गर्नु हुँदैन | उदाहरणका लागि आफ्नी स्वास्नीको मानसिक चाहना, शारीरिक अवस्था तथा स्वास्थ्य यी विषयमा विचार नगरी "जवर्जस्ती" सेक्स गर्नु अत्याचार हो, अन्याय हो र बलात्कार हो | केही स्त्री वा पुरुषमा हर्मोनका कारणले सेक्सचाहना बढी हुन्छ र केही लोग्ने वा स्वास्नीमा सेक्सको चाहना कम हुन्छ | यस्तो अवस्थामा, एउटाले अर्कोलाई दोष दिनु भन्दा चिकित्सकसंग आफ्नो स्वास्थ्य अवस्था वारे जानकारी लिनु उचित हुन्छ |
यसरी विश्वभरी नै धेरैजसो झगडाका कारणहरू शङ्का, एकअर्कोलाई होच्याउने वानी, घरायसीकाममा असहयोग र चाहना नहुँदानहुँदै पनि जवर्जस्ती "सेक्स"को उपयोग गर्दा लोग्नेस्वास्नीका विचमा खटपट हुन्छ | समस्या बढ्दै जाँदा अन्य अनेकौं समस्या देखिन्छन् | मानसिक, सामाजिक, शारीरिक स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन् | आशा छ, पाठकहरूले यो आलेख पढेपछि शङ्कालु स्वभावमा परिवर्तन गर्नु हुने छ, एकले अर्कोलाई होच्याउने स्वभावमा परिवर्तन गर्नु हुने छ, घरायसी कामहरू मिलेर संगै गर्ने वानीको विकास गर्नु हुने छ र एकआपसमा सम्बाद र सहमतिमा "सेक्स" गर्ने कि नगर्ने भन्ने निर्णयमा पुग्नु हुने छ |
माथि लेखिएका चारबटा कारणहरू बाहेक अन्य असंख्य कारणहरू पनि हुन्छन् तर गहिरो रूपमा विश्लेषण गर्दा यी चारबटा प्रमुख कारणहरूभित्र सबैजसो समेटिन्छन् | लोग्नेस्वास्नीले आफु विचको खटपट आपसी सम्बाद गरेर सुझ्याउने प्रयत्न गर्नुपर्छ तर सकिन्न भने परामर्शदातासंग सहयोग लिन हच्किनु हुँदैन | खट्पट स्वाभाविक हो, अत्याधिक खट्पट नर्क हो | लोग्नेले स्वास्नीको स्वास्नीले लोग्नेको मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यको ख्याल गरौँ | सुखी रहौं |

निर्णयमा प्रश्नचिन्ह

 निर्णयमा प्रश्नचिन्ह

१० हजारवर्षमा जस्तासुकै मानवीय आविष्कारहरू पूर्णरूपले नष्ट हुन्छन् | लगभग दुई लाखवर्ष पहिले अस्तित्वमा आएको भनेको "मान्छे"ले तपाईं/हाम्रो युगमा "बैज्ञानिक" विकास गरेको छ, पहिले थिएन भन्नु विज्ञान सम्मत हुँदैन | हुन सक्छ, विगतका मान्छेहरूले गरेका विकसित सभ्यताहरू, निर्माणहरू तथा पराक्रमहरू प्राकृतिक घटनाहरूले नष्ट भए होलान् | यदि विश्वबाट डाइनासोर नष्ट हुन सक्छन् भने सभ्यताहरू, मानवीय विकासहरू पनि नष्ट हुन सक्छन् | अहिलेको "मानवीय विकास"लाई सबैभन्दा उत्कृष्ट हो भन्दै ठोकुवा गर्दा विचार पुर्याउनु उचित हुन्छ |
"मान्छेका अनेकौं जाति थिए" भन्ने कुरा "होमो सेपियंस"ले स्वीकार गरेकै छ | अनि, हामी होमोसेपियंस भन्दा अन्य जाति बढी बुद्धिमान, अनुसन्धानशील तथा ज्ञानी थिएनन् भन्ने कुराको प्रमाण आजसम्म जुटाइएको छैन | होमोसेपियंसले अन्य मानव जातिको इतिहास मेटाएको वा अन्य मानवजातिहरू कुनै प्राकृतिक प्रकोपमा परेर लोप हुँदा गर्दा होमोसेपियंस भर्खरै "मान्छे" बन्नेतिर उन्मुख भएको पनि हुन सक्छ | आजको "मान्छे"संग यस प्रश्नको भरपर्दो जवाफ छैन | आजको इतिहास होमोसेपियंसले आफ्नो पूर्वाग्रहबाट निर्माण गरेको होइन भन्न मिल्दैन |
-इस्टर द्विपका ढुङ्गाका मूर्तिहरू, इजिप्टका पिरामिडहरू, भारतीय प्राचीन संस्कृत ग्रन्थमा उल्लेख "विमान"हरू, दिव्यशशस्त्रहरू, पशुको टाउको मान्छेको शरीरमा जोडेका कथाहरू तेसै आएका होइनन् | भाषाशास्त्रीय नियमलाई मान्ने हो भने कुनै पनि समाजमा प्रचलित "शब्द" निरापद हुनै सक्दैन | विटगेन स्टाइनले "ईश्वर, आत्मा, परमात्मा, नीति, शुभजस्ता" शब्दहरू "मूल्य विहिन हुन्" भनेर घोषणा गरे पनि ती आज पनि ९४% विश्वका मान्छेहरूका लागि सार्थक नै छन् |
सत्य हो, मैले र मजस्ता करोडौं मान्छेले "ईश्वर"को दर्शन नगरेका हुन सक्छौं र साच्चिकै ईश्वर नहुन पनि सक्छ तर ईश्वर शब्दले सार्थकता प्राप्त गरिसकेको छ | आत्मा शब्दले सार्थकता प्राप्त गरिसकेको छ | ईश्वर आफैमा होस् वा न होस् केही फरक पर्नेवाला छैन | ईश्वरको शक्ति, सामर्थ्य, व्यापकताआदि गुणहरू समेटेर एउटा सार्थक शब्द विश्वभरी चलिनै रहेको छ | युग, मनवंतर, परार्धआदि सीमामा विभाजित देव, मानव, दानव, किन्नर, गन्धर्व, राक्षस युगहरूले बोल्न र बताउन खोजेको तत्थ्यहरूलाई आजको उपलब्धिलाई सर्वोत्कृष्ट मानेर अस्वीकार गर्नु तर्कसङ्गत हुँदैन |
ब्रह्माण्डको उत्पत्तिका विषयमा विवाद छ | मानव जातिको विकासका वारेमा विवाद छ | सूर्य र पृथ्वीको निर्माण र जीवको विकासका विषयमा पनि विवाद छन् | यस्ता विवादहरूका विचमा "मान्छेको विकास दूई लाख वर्ष पहिला आरम्भ भएको हो" भन्नु पनि धर्मका अनेकौं सम्प्रदायहरू मध्ये एउटाको समर्थन गर्दै अरूलाई अस्वीकार गर्नु सरह नै हुन्छ | सूर्यको प्रकाशमा कुनै विवाद छैन | पानीको अस्तित्वमा कुनै विवाद छैन तर विकासको प्रक्रियामा धेरै विवादहरू छन् | विकासको एउटा सिद्धान्तलाई स्वीकार्नुको अर्थ अर्को सत्यको हत्या गर्नु पनि हुन सक्छ | तेसैले "होमोसेपियंस"ले लेखेको, बुझेको तथा स्थापित गरेको सत्यलाई प्रमाणिक मान्न सकिन्न |
यदि तार्किक र निरपेक्ष दृष्टिकोणले निष्कर्ष निकाल्ने हो भने आचार्य शङ्करले "ब्रह्म वाहेक केही छैन" भन्नु र क्वान्टम फिजिक्सले "दृश्य अदृष्य विश्व केवल वेभ-फर्म" भन्नुमा तात्विक फरक छैन | यसैगरी परम्परागत फिजिक्सले "यो युनिभर्स ट्रिलीयन लाइट इयर्समा फैलिएको छ" भन्नु र वैदिक ऋषिहरूले "नेतिनेति वा अनन्त" भन्नुमा केही फरक छैन | पृथ्वीको जीवन (आठ खर्व वर्ष) कालमा पुग्न नसकिने १ लाइट इयर टाढाको ताराको कुरा गर्नु र विश्व अनिर्वचनीय तथा सम्पूर्ण रूपमा बुझ्न नसकिने छ भन्ने ऋषिका बचनहरूमा केही फरक छैन |
एउटा कुरा सत्य हो "होमोसेपियंस"हरूको चिन्तन शक्ति, अन्वेषण शक्ति तथा ज्ञानलाई भण्डारण गरेर दोश्रो, तेस्रो तथा आगामी अनेकौं पुस्ताहरूलाई त्यो ज्ञान पुस्तान्तरण गर्ने सामर्थ्य प्राप्त भएको छ | अनन्त बाटो हिड्दै गर्दा ईश्वर सधैंका लागि लोप पनि हुन सक्छ, होमोसेपियंसले आफ्नो अस्तित्व गुमाएर अर्को "मानव"को आगमन पनि हुन सक्छ | "सक्यता"को सामर्थ्य प्रकृतिमा छ | तेसैले चिन्तन गरौँ | मनन गरौँ तर विज्ञान वा धर्मका विनम्र विश्वासी होइन समालोचक बनौं | आफ्नो निजी अस्तित्वलाई रमाइलो गरी उपभोग गरौँ | हरेक निर्णयमा प्रश्न गरौँ | विनम्र अनुयायी बन्नबाट जोगिऔ | दार्शनिक दृष्टिकोणका उपभोक्ता बनौं |

लोग्नेस्वास्नी यसरी मिलौं !

 लोग्नेस्वास्नी यसरी मिलौं !

आफ्नै हातका पांच औला वरावर हुँदैनन् तर सबैको आ-आफ्नो बलियो काम छ | परिवार पनि यस्तै हो | खासगरी दूई फरक परिवारबाट जीवनभरी संगै वस्न कवुल गरेका लोग्नेस्वास्नीमा पनि थोरैधेरै मतभेद हुन्छन् | आर्थिक व्यबस्थापन, बालबालिकाको हेरविचार, पारिवारिक दायित्व, व्यकिगत स्वतन्त्रता र अभिरुचिआदिमा फरक दृष्टिकोण हुनु स्वभाविक हो | संसारका धेरैजसो लोग्नेस्वास्नीले यस्ता मतभेदहरू आपसमा मिलेर सुल्झाउँछन् | केही मतभेदहरूलाई स्वीकार गर्ने तर इस्यू नबनाउने सहमति बन्छ |
तर करिव १५% लोग्नेस्वास्नीका मदभेद निकै गहिरो हुँदै जान्छ | मतभेद चूरोमा पुग्दा लोग्नेस्वास्नीले एकअर्काबाट "पारचुके" लिएर छुटकारा लिन्छन् | केही भावुक व्यक्तिले आत्महत्याको बाटो पनि रोज्दछन् | यो दूवै पथ निकै दुखलाग्दा हुन् | त्यसो भए "लोग्नेस्वास्नी" आफुका विचमा रहेका मतभेदहरूको मन्थर गर्न वा अत्य गर्न के गर्नुपर्छ ? यही विषयमा तल विचार गरिएको छ |
१. मिल्ने कुरामामा विश्वास : जीवन निराशाको नाम होइन | हातमा दुईवटा चुरा हुँदा बज्छन् | चूरा फुटालेर फलिन्न बरू सौन्दर्यका रूपमा स्वीकार गरिन्छ | "मतभेद" पनि क्षणिक हुन्छन् र मिलनचाहिं जीवनको यथार्थ पक्ष हो भन्दै "मिल्ने" कुरालाई प्राथमिकता दिंदा र मिल्ने कुरामा ढुक्क हुँदा त्यसै अनुसारको आपसी व्यबहार हुन्छ | मिलनको बाटो सजिलो हुन्छ |
२. अन्तक्रिया गर्न अग्रसरता : लोग्ने र स्वास्नी दूवैले "इगो" बोक्ने हो भने संवाद हुनै सक्दैन | पत्नी होस् वा पति अवसर मिल्दासाथ सम्बादका लागि अग्रसरता लिनुपर्छ | लोग्ने वा स्वास्नीले "झुकेर" बोलचाल गर्लान् भनेर कुर्नु हुँदैन | शान्तिले सुन्नु र अग्रसरता लिएर "बोल्नु" स्वास्थ्य दाम्पत्य जीवनको स्वर्णसूत्र हो |
३. प्रतिबद्धता : मिल्ने कुरामा विश्वास र अग्रसरताले मनमा परिवार, लोग्ने वा स्वास्नीप्रति दायित्वबोध हुन्छ | "हामीमा मतभेद छ तर हामी एकआपसमा सहकार्य गरेर होस् वा तेस्रो पक्षसंग सहयोग लिएर नै किन नहोस् नर्मल जीवनमा फर्निने छौँ" भन्ने संकल्प र त्यसअनुसारको व्यबहार गर्नुपर्छ | परिवारप्रतिको दायित्व वा दाम्पत्यका दायित्वबाट पछि हट्ने विषयमा सोच्नु हुँदैन |
४. परिस्थितिसंग जुध्ने : प्रतिकुल परिस्थिति नभई लोग्नेस्वास्नीका विचमा मदभेद हुँदैनन् | तर सत्य के हो भने सधैं मतभेद नै नरहने अवस्था र व्यबस्था नै हुँदैन | तेसैले पतिपत्नीले आफ्नो संवाद र मिल्ने प्रयत्नलाई कुनै पनि हालतमा छोड्नु हुँदैन | "कुरा लगाएको भर"मा एकअर्कालाई आरोपप्रत्यारोपतिर उत्रिनु उचित हुन्न | हो, लोग्नेस्वास्नीको झगडा र त्यो झगडाबाट उत्पन्न सम्बादहीनताको अवस्थामा अनेकौं "चलखेल" गर्ने शक्तिहरूको उदय भैसकेको हुन्छ | पतिपत्नीलाई टाढा लैजाने अनेकौं शक्तिहरू सक्रिय हुन सक्छन् | ती सबैसंग विश्वास, प्रेम र प्रतिबद्धताका आधारमा जुध्नुपर्छ |
५. आफुलाई नियन्त्रणमा राख्ने : दाम्पत्य जीवनमा आत्मनियन्त्रणको सबैभन्दा बढी महत्व हुन्छ | आत्मनियन्त्रण गुमाउँदा सेक्स जीवनमा "तेस्रो"ले प्रवेश पाउँछ | आत्मनियन्त्रण गुमाउँदा घरायसी हिंसा (Domestic violence) निम्तिन्छ | रीसले धेरै थोक विगार गर्छ | लागूऔषध, मादक पदार्थ, घरत्यागजस्ता कुराहरूले प्रवेश पाउँछ | तेसैले विपरित परिवेशमा पनि लोग्नेस्वास्नीले आफ्नो होस् गुमाउनु हुँदैन | आत्मनियन्त्रण गुमाउँदा जीवनले धेरै क्षति बेहोरी सकेको हुन्छ |
६. विवेकशील हुनुपर्छ : भन्न सजिलो छ तर गर्न ग्राह्रो हुन्छ भन्ने विश्वास धेरैलाई छ तर सत्य के हो भने भन्न र गर्न दूवै सकिन्छ | विवेकशीलले समय, परिस्थिति, परिवेश, आवश्यकता, सुखदुखआदिको वारेमा विचार गर्छ | प्रेम प्रदर्शन गर्द्दा होस् वा रीस देखाउंदा "विवेक" त्याग्दैन | उदाहरणका लागि यदि तपाईंले छोराको फी तिर्न दिएको पैसा हराउनु भएको छ" भने हराउनु गल्ती होइन | यदि तपाईंले त्यो पैसा जुवामा हार्नु भएको छ भने तपाईंले भूल गर्नु भएको छ | दूवैको परिणाम एकै हुँदैन | तेसैले विवेकशील भएर आवश्यकताअनुसार चल्ने बानीको विकास गर्नुपर्छ |
७. सकारात्मक हुनु : एउटा लोग्ने वा स्वास्नीको रुपमा तपाईंमा राम्रा-नराम्रा दूवै पक्ष हुन सक्छन् | लोग्ने होस् वा स्वास्नी दूवैले एकअर्काको व्यबहारमा फोकस गर्दा "सकारात्मक-व्यबहार"मा फोकस गर्नुपर्छ | सधैं "ठीक छैन, राम्रो हुनै सक्दैन, मान्दैन, जान्दैन, गर्दैन, भन्दैन, मन मर्यो"जस्ता नकारात्मक शब्द र नकारात्मक टिप्पणीबाट जोगिनु पर्छ | एक्लै होस् वा सामाजिक अवस्थामा सधैं आफ्नो लोग्ने वा स्वास्नीको सकारात्मक गुणवारे चर्चा गर्नुपर्छ | साथै, एउटा पत्नी वा लोग्नेका रूपमा "विवादहरूको अन्त्य हुन्छ" भन्ने सकारात्मक दृष्टिकोण राख्नुपर्छ |
अन्त्यमा, लोग्नेस्वास्नीका विचमा मतभेद हुँदा होस् वा डिभोर्स नै हुँदा किन नहोस्, सबैभन्दा बढी पीडा निर्दोष "बालबालिकाले" भोग्नुपर्छ | डिभोर्स भएपछि पुरुषले अर्कै स्वास्नी रोज्ला. महिलाले अर्को लोग्ने रोज्लिन् तर बालबालिकाका लागि तिनै दुई झगडालु र फरक मान्छे रोजेर बसेका "व्यक्तिहरूलाई आमावा" मान्नुको विकल्प हुँदैन | मिल्नै नसक्ने अवस्थामा छुट्टिनु पनि पर्छ तर छुट्टिनु भन्दा पहिला "मिल्नका लागि" सम्पूर्ण विकल्पहरू अपनाउनु पर्छ | लोग्नेस्वास्नीका विचमा कहिलेकाहीं "मतभेद" स्वभाविक हो तर सधैं मतभेद अस्वाभाविक हो | अस्वाभाविक मतभेदहरू पनि उपर्युक्त विधि अवलम्बन गरेर निराकरण गर्न सकिन्छ | निराकरण हुन्छन् र सुखी जीवन प्राप्त हुन्छ |

Friday, February 9, 2024

आचार्य शङ्कर र सर्वं दुखम्

ई.पू. ४५० देखि सन् ७०० सम्म भारतवर्षमा बौद्धहरूको बर्चश्व थियो | यो इतिहासले बोलेको र देखेको तत्थ्य हो | प्रसिद्द दार्शनिक मण्डन मिश्र र आदि शंकराचार्यको उदयले "बौद्ध"हरूको पलायन भयो भन्नु अर्धसत्य हो |

मोहम्मद गजनीले भारतवर्षमा आक्रमण गर्दा भारतवर्षमा बौद्धहरूको पूर्ण बर्चश्व थियो | बौद्धहरूले भारतवर्षीय जनतालाई "सर्वं दुखम् अर्थत सम्पूर्ण विश्व दुखैदुखले भरिएको छ भन्दै "वैराग्यको" पाठ पढाएर संसार र सांसारिक दायित्वप्रति उदासीन बनाए | सत्य कुरा लेख्दा र बोल्दा बौद्धसंग डराउनु पर्ने कुनै कारण छैन |

अशोकले अहिंसाको बाटो अपनाएपछि (भाग्यवस तेस वेलासम्म इसाई, मुस्लिम वा अन्य विदेशी धार्मिक आक्रमणकारिको भारतवर्षमा प्रवेश भएको थिएन) भारतवर्षमा बौद्ध-विहारहरूको सङ्ख्यामा वृद्धि भयो | गाउँका गाउँ मान्छेहरू "विहार, महाविहार"मा परिब्रज्या लिएर बौद्ध बन्न थाले |

संसारलाई दुखैदुख भन्ने दार्शनिक चिन्तनले बाँधिएका राजाहरूले आक्रमणकारीहरू विरुद्ध शास्त्र उठाउने पराक्रमसम्म विर्सिसकेका थिए | बौद्ध मतको प्रभाव हिन्दूराजा र जनताहरूमा पनि उत्तिकै परेको थियो | महाविहारका लागि राजाहरूले ठूलै लगानी गर्थे तर विदेशी आक्रमणकारीबाट देश र जनताको सुरक्षाप्रति पूर्व वेवास्था थियो |

बौद्ध समुदायमा महायान बलियो नहुँदासम्म बौद्धगुरूहरूले ठूलाठूला विहारहरू निर्माण गर्ने र "संसार दुखमय छ" भन्दै कृषिकर्म त्यागेर भिक्षुहरूको अल्छी भीड थामी नसक्नु भएको कुरा जातकहरूले नै बोलेका छन् |

भगवान् शंकराचार्य र मण्डन मिश्रजस्ता महापुरुषको आगमन भन्दा पहिला लाखौं बौद्ध भिक्षुहरूलाई खुवाउंदा गाउँका गाउँ भोकै मर्थे | कृषकहरूले आफ्नो पसिनाको कमाई राजकीय उर्दीको कारण भिक्षुलाई "दान"मा दिनु पर्थ्यो |

सित्तैमा सम्मान र भोजन दूवै प्राप्त भएपछि त्यसतिर आकर्षण बढ्छ नै | बद्द्धो बौद्ध भिक्षुहरूको भीड थामी नसक्नु भएको अवस्थामा उपर्युक्त दुई महापुरुषहरूको उदय भएको हो |

महामना मण्डन मिश्रले मीमांसा दर्शनको कर्मयोगको व्याख्या गरेर भारतवर्षका तत्कालीन जनतालाई "कर्मयोगी" बन्न प्रेरित गरे भने अकोतिर आदि शंकराचार्यले वैदिक सनातन धर्मको पुर्जगारणका लागि "बौद्धजस्तै" भेषभूषामा सम्पूर्ण भारतवर्षको परिक्रमा गर्दै, शास्त्रार्थमा बौद्धहरूलाई पराजित गर्दै भौतिक जगतमा "व्याबहारिक सत्य"लाई अवलम्बन गर्न र आध्यात्मिक जगतमा "ब्रह्मलाई एकमात्र सत्य" स्वीकार गर्न अभिप्रेरित गरे |

आदि शंकराचार्यके व्याबहारिक जगतका लागि "प्रवृत्ति मार्ग" र आध्यात्मिक जगतका लागि "ब्रह्मसत्यम्"को सिद्धान्त स्थापना गरेर हरेक जनतालाई भौतिक जगतमा कर्मयोगी बन्न र आध्यात्मिक जगतमा उन्नति प्राप्त गर्न "कर्मलाई कर्तव्य"को रूपमा पालन गर्न सिकाए |

सर्वं दुखम्" सिद्धान्तबाट आजित भएका तत्कालीन भारतवर्षका जनताले कर्मयोग र कर्तव्ययोगको महत्वलाई बुझे | बौद्ध धर्ममा विश्वास गर्ने तत्कालीन करोडौं जनताहरूले सनातन धर्मको महत्वलाई बुझे र स्वेच्छाले सनातन संस्कृति स्वीकार गर्न थाले | जैन, बौद्ध तथा हिन्दू संस्कृतिमा "धर्म परिवर्तन" गर्नु पर्दैन | केवल दार्शनिक र मौलिक सिद्धान्तहरू स्वीकार गरे पुग्छ |

आचार्य शङ्करले "बौद्ध धर्म नष्ट गरेको आरोप लगाउने" घृणावादीहरूले सत्य बुझुन् | यदि बौद्धधर्ममा सबै "ठीकठाक" थियो भने त्यसले आचार्य शङ्कर र मण्डन मिश्रहरूलाई सजिलैसंग किनारा लगाउन सक्थ्यो | आचार्य शङ्कर र मिश्र दूवैले कुनै राजनैतिक व्यक्ति थिएनन् | समाजमा बौद्ध धर्म लाद्ने अशोक र कनिष्क राजा थिए |

आजभोली नेपाली साम्यवादीहरूले बुद्धमा भौतिकवाद खोजिरहेका छन् भने त्यस्तो गर्नेमा केहीले त आफुलाई बौद्ध नै घोषित गरेका छन् | बुद्धको बौद्ध भौतिकवाद होइन | तर बौद्ध धर्मलाई "प्रगतिशील" र हिन्दू धर्मलाई "अन्धविश्वास"का रूपमा प्रचारप्रसार गरिरहेका तथाकथित सुड़ो-बुद्धिस्ट वा सुड़ो साम्यवादीहरूले बौद्ध संस्कृतिलाई अझैं कमजोर बनिरहेका छन् | यिनै सुड़ोहरूले नेपालमा नक्कली सम्प्रदाय खडा गरेर हिन्दुहरूमा कित्ताकाट भित्र्याउने षड्यन्त्र गरिरहेका छन् |

हालैका दिनमा एकजना म्यामारी बौद्ध भिक्षु निकै चर्चामा छन् | तिनले बौद्धहरूलाई आत्मरक्षा गर्न "प्रतिकार" गर्न आह्वान गरे | विश्वका तथाकथित मानवतावादी तथा मुसाईहरू ती उपर जाईलागे | कुनै पनि मानवको हत्या गर्ने कुरालाई समर्थन गर्न सकिन्न तर रोहिग्न्याहरूले बौद्ध र हिन्दुहरूको संहार गर्न थालेपछि अहिंसाको पालन गर्नुको कुनै अर्थ रहन्न | त्यही अहिंसाका कारण बौद्धहरूले राजा कनिष्कले स्थापित गरेको "गान्धार (अफगानिस्तान) गुमाएका हुन् | रोहिग्न्याहरू त्यो अभिमतका समर्थक हुन् जुन विश्वासले बामियानस्थित विश्वकै सबैभन्दा ठूलो बुद्ध-मूर्तिलाई नष्ट गर्यो |

भगवान् बुद्ध र तिनका अनुयायीहरूलाई हिन्दू भन्नु जति अनुचित हो त्यतिनै बौद्धहरूले आफुलाई वैदिक संस्कृति भन्दा बाहिर ठान्नु पनि हो | हिजोको इतिहास कोट्याएर आजका बौद्धहरूको मानमर्दन गर्न खोज्नु त्यतिनै अन्यायपूर्ण हो जति अम्वेडकर ब्रान्डका "क्रिस्टिन-बौद्ध"लाई भगवान् बुद्धका अनुयायी ठान्नु हो | थेरवाद, महायान र बज्रयानका आ-आफ्ना मान्यता छन्, आचार्य छन् | यदि आज बौद्धहरूको उदय हुँदैछ भने विश्वको परिवेश पनि इतिहासमै शान्ति र सौहार्दपूर्ण छ | बौद्धहरूले हिन्दुसंग गुनासो गर्न पर्दैन किनभने हिन्दूले बौद्धहरूसंग सजिलै सहकार्य गर्न सक्छन् र गरिरहेका छन् |

हालै भारतका एकजना सूरदास र राजनैतिक सन्त रामभद्राचार्यले भगवान् शंकराचार्यप्रति जुन अभद्र टिप्पणी गरेका छन्, त्यो तिनको अहङ्कार र बौद्धिक दिवालियापनको उदाहरण हो | भारतका कुनै पनि भद्रआचार्यहरूले त्यो टिप्पणीको स्वागत गर्न सक्दैनन् | सिद्धान्त फरक हुँदैमा इतिहास र योगदान परिवर्तित हुँदैन |

अन्त्यमा, इतिहासको यो दृष्टिकोण आधुनिक बौद्धहरूप्रतिको गुनासो होइन | बौद्ध-शरीरमा रहेर हिन्दुहरू विरुद्ध राजनैतिक टिप्पणी गर्ने घृणावादीप्रति लक्षित हो | बौद्धहरूले "सर्वं दुखम्"को संस्कृति भारतवर्षमा नफैलाएको भए "भारतवर्ष" कर्मयोगी हुन्थ्यो | मोहम्मद गजनीले केवल सोमनाथको मन्दिर लुटेको होइन त्यस बखतका हजारौ विहारहरू पनि जलाएर खरानी बनाएको हो | तक्षशीला, नालन्दाहरू नष्ट गर्नेहरू कुनै हिन्दू थिएनन् | "सर्वं -दुखम्"को संस्कृतिका कारण आत्मरक्षासम्मको प्रबन्ध नगर्ने मानसिकताका कारण नष्ट गरिएका हुन् |
जय नेपाल

Sunday, January 28, 2024

लोग्नेस्वास्नीका कुरा

यो फोटोमा लेखिएका विषयवस्तुको पहिलो बूँदाप्रति मेरो तीब्र असहमति छ | एउटा पतिको लागि पत्नी र पत्नीका लागि पति पीडक हुन्छन् भन्ने भाष्य गलत हो | छिटपुट घटनालाई अतिरन्जित गर्नु हुँदैन | नेपाली तथा भारतीयहरूले पत्नीलाई पीडकको रूपमा हास्यव्यंग्यको विषय बनाएर पस्किने गर्छन् | भारतीय समाजले (कवि, हास्यकलाकार) त झन् पत्नीहरूलाई "पीडक" र पतिहरूलाई पिडितको रूपमा प्रस्तुत गर्छन् | के यस्तो हो त ?

पटक्कै होइन | पतिको लागि पत्नी र पत्नीको लागि पति सबैभन्दा असल, सहयोगी, इमानदार र जीवनभरी संगै रहने साथी हुन् | हो, दूईबटा अलगअलग मान्छे भएकोले कहिलेकाहीं विमति हुनु, सानोतिनो झैँझगडा नै हुनु स्वाभाविक हुन्छ | लोग्ने र स्वास्नी दूवैकको रूचि, बुझाई, सामाजिक, सांस्कृतिक, राजनैतिक, धार्मिक चेतना एकै प्रकारको हुनुपर्छ भन्ने हुँदैन | स्वभावत: विमति हुन्छन् |

विमति हुनुको अर्थ लोग्नेका लागि स्वास्नी, स्वास्नीका लागि लोग्ने सहयोगी रहन्नन् भन्ने चाहिं पटक्कै हुँदैन | मैले धेरै यस्ता पतिपत्नीहरू भेटेको छु, जुन खानपान, रहनसहन तथा रुचिहरूमा विमति राख्छन् | ती विमतिका कारण कहिलेकाहीं छोटोमीठो झगडा पनि हुन्छ | १ घण्टादेखि २ दिन सम्म बोलचाल पनि बन्द हुन्छ | तर एकले अर्कोको आवश्यकताअनुसार हेरविचार गर्न कुनै कमी गर्दैनन् | पत्नीले पतिलाई भोजन गराएकै हुन्छन् भने पतिले पनि पत्नीको सुविधाका लागि बाहिरबाट ल्याउनु पर्ने आवश्यक सामग्रीहरू ल्याएर नबोलिकन किचेनमा राखिदिएकै हुन्छन् |

माथि उल्लेख गरिएकोजस्ता धेरै प्रकारका विमति र विमतिविच सहकार्य, सहयोग चलिनै रहन्छन् | धेरैजसो नेपाली तथा भारतीय पत्नी र पतिहरूमा यदाकदा यस्तो हुन्छ नै | अनन्त: कुरा मिलाएर क्रमभंग हुन्छ | पतिपत्नी एकै ठाउँमा उभिएर आ-आफ्नो दायित्वमा फर्किन्छन् | पश्चिमा बालाधिकारवादी दृष्ट्रिकोणको बोर्डिंग स्कुलमा पढेका बालबालिकाका लागि सरल विमति पनि "ठूलो झगडा" भन्ने बुझाई पर्न सक्छ तर नेपाली पतिपत्नीजस्ता समझदार र सहयोगी पति/पत्नी अरू हुनै सक्दैनन् |

आफ्नो संस्कृति हुन्छ | नेपाली तथा भारतीय पतिपत्नीहरू "साइलेन्ट लभर" घूसघुसे लभर, लजाउने लभर, आइ लभ यु भन्न मन नपराउने लभर र मनको भित्रीतहमा सागर जत्तिकै माया गरे पनि मुखले "करकर" गर्ने लभर बढी हुन्छन् | पश्चिमा पतिपत्नीहरू बाटोमा हिड्दाहिड्दै किस गरेर वा हग गरेर प्रेम जाहेर गर्छन् र तेसैलाई प्रेम भन्छन् तर नेपाली पत्नीपत्नीहरू "ठ्याकठुक्क" गर्दागर्दै पनि एकआपसमा अनन्त प्रेम गर्छन् | बाटोमा जाहेर गरिने पश्चिमा शैलीको प्रेम अधिकांश पारचुकेमा टुंगिन्छ | "ठाकठुक"जस्तो देखिने मनबाट प्रेम गर्ने नेपाली पतिपत्नीले डिभोर्सको कल्पना पनि गर्दैनन् |

नेपाली र भारतीयहरूको पारिवारिक जीवन बढी जीवन्त, स्थीर तथा रुखो (पश्चिमा नजरियाबाट) देखिन्छ र तेस्तै हुन्छ | नेपालमा धेरै जातजाति र समुदायहरू छन् | ती सबैको दाम्पत्य जीवन बढी नै जीवन्त छ किनभने कुनै पनि नेपालीका लागि डिभोर्सका लागि विवाह गर्दैन | विवाहको परिभाषा फरक भए पनि पश्चिमाहरूले पनि "डिभोर्स" लागि विवाह गर्दैनन् | विवाहको अर्थ नै पारिवारिक स्थायित्व हुन्छ | केही अपवाद वाहेक विकसित भनिएका देशहरूमा पारिवारिक जीवन स्थाई छैन तर विकासोन्मुख देशहरूका परिवार स्थाई छन् | किनभने यहाँ पतिले पत्नीसंग र पत्नीले पतिसंग "साइलेन्ट लभ" गर्छन् |

आधुनिकतावादीहरूले "डिभोर्स"लाई महिला वा पुरुषहरूको आर्थिक स्वायत्ततासंग जोडेर व्याख्या गर्ने प्रयन्त गर्छन् तर मैले धेरै बलिउड वा हलिउडका सेलेब्रेटीहरूको उदाहरण दिन सक्छु, पति र पत्नी दूवै आर्थिक रूपले पूर्ण सक्षम हुँदाहुँदै पनि संगै वस्न सकेनन् | धनसम्पति दाम्पत्यका लागि आवश्यक साधन अवश्य हो तर यो साध्य होइन | साध्य त केवल "पतिपत्नीका विचमा गहिरो प्रेम" मात्र हो | क्षमा गर्नु होला, मैले धेरैजसो महिला सशक्तीकरण अभियन्ताहरूको दाम्पत्य जीवन छिन्नभिन्न भेटेको छु | अधिकार, सशक्तिकरण तथा सुखी पतिपत्नी वा परिवारका विचमा "प्रेम, समर्पण, विश्वास तथा सम्मान"ले धेरै ठाउँ ओगटेको हुन्छ |

अन्त्यमा, यदि पारिवारिक जीवन (दाम्पत्य) सुखी चाहन्छौं भने पत्नीले पतिको र पतिले पत्नीलाई पीडक र पिडितका रूपमा व्याख्या गर्न त्यागौं | सुखी पति त्यही हो जसले आफ्नी पत्नीमा विश्वास गर्छ, पत्नीमा शर्तरहित प्रेम गर्छ र पत्नीको सम्मान गर्छ | सुखी पत्नी ती हुन् जसले आफ्नो लोग्नेमा सबैभन्दा बढी विश्वास गर्छिन्, पतिलाई नि:शर्त प्रेम गर्छिन् र सम्मान गर्छिन् | आफ्नो पति वा पत्नीमा अविश्वास गर्ने, पीडकका रूपमा प्रस्तुत गर्ने र अपमान गर्नेहरूको सधैं दुखी हुन्छन् | उनीसंग भएको सम्पत्तिले सुख किन्न सक्दैन , प्रेम किन्न सक्दैन | बरू घृणा फैलाउन सक्छ | पतिलाई पत्नीको र पत्नीलाई पतिको "खेदो खन्न सिकाएर" झनै दूरी बढाउँछ |

असल वा कमसल पतिपत्नी बन्ने कुरा हाम्रै हातमा छ | सरल रहौं, सावधान रहौं | पतिले पत्नीलाई र पत्नीले पतिलाई सबैभन्दा निकटको मित्रका रूपमा विश्वास गरौँ तर अत्याचार भने नसहौँ |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...