Sunday, January 28, 2024

लोग्नेस्वास्नीका कुरा

यो फोटोमा लेखिएका विषयवस्तुको पहिलो बूँदाप्रति मेरो तीब्र असहमति छ | एउटा पतिको लागि पत्नी र पत्नीका लागि पति पीडक हुन्छन् भन्ने भाष्य गलत हो | छिटपुट घटनालाई अतिरन्जित गर्नु हुँदैन | नेपाली तथा भारतीयहरूले पत्नीलाई पीडकको रूपमा हास्यव्यंग्यको विषय बनाएर पस्किने गर्छन् | भारतीय समाजले (कवि, हास्यकलाकार) त झन् पत्नीहरूलाई "पीडक" र पतिहरूलाई पिडितको रूपमा प्रस्तुत गर्छन् | के यस्तो हो त ?

पटक्कै होइन | पतिको लागि पत्नी र पत्नीको लागि पति सबैभन्दा असल, सहयोगी, इमानदार र जीवनभरी संगै रहने साथी हुन् | हो, दूईबटा अलगअलग मान्छे भएकोले कहिलेकाहीं विमति हुनु, सानोतिनो झैँझगडा नै हुनु स्वाभाविक हुन्छ | लोग्ने र स्वास्नी दूवैकको रूचि, बुझाई, सामाजिक, सांस्कृतिक, राजनैतिक, धार्मिक चेतना एकै प्रकारको हुनुपर्छ भन्ने हुँदैन | स्वभावत: विमति हुन्छन् |

विमति हुनुको अर्थ लोग्नेका लागि स्वास्नी, स्वास्नीका लागि लोग्ने सहयोगी रहन्नन् भन्ने चाहिं पटक्कै हुँदैन | मैले धेरै यस्ता पतिपत्नीहरू भेटेको छु, जुन खानपान, रहनसहन तथा रुचिहरूमा विमति राख्छन् | ती विमतिका कारण कहिलेकाहीं छोटोमीठो झगडा पनि हुन्छ | १ घण्टादेखि २ दिन सम्म बोलचाल पनि बन्द हुन्छ | तर एकले अर्कोको आवश्यकताअनुसार हेरविचार गर्न कुनै कमी गर्दैनन् | पत्नीले पतिलाई भोजन गराएकै हुन्छन् भने पतिले पनि पत्नीको सुविधाका लागि बाहिरबाट ल्याउनु पर्ने आवश्यक सामग्रीहरू ल्याएर नबोलिकन किचेनमा राखिदिएकै हुन्छन् |

माथि उल्लेख गरिएकोजस्ता धेरै प्रकारका विमति र विमतिविच सहकार्य, सहयोग चलिनै रहन्छन् | धेरैजसो नेपाली तथा भारतीय पत्नी र पतिहरूमा यदाकदा यस्तो हुन्छ नै | अनन्त: कुरा मिलाएर क्रमभंग हुन्छ | पतिपत्नी एकै ठाउँमा उभिएर आ-आफ्नो दायित्वमा फर्किन्छन् | पश्चिमा बालाधिकारवादी दृष्ट्रिकोणको बोर्डिंग स्कुलमा पढेका बालबालिकाका लागि सरल विमति पनि "ठूलो झगडा" भन्ने बुझाई पर्न सक्छ तर नेपाली पतिपत्नीजस्ता समझदार र सहयोगी पति/पत्नी अरू हुनै सक्दैनन् |

आफ्नो संस्कृति हुन्छ | नेपाली तथा भारतीय पतिपत्नीहरू "साइलेन्ट लभर" घूसघुसे लभर, लजाउने लभर, आइ लभ यु भन्न मन नपराउने लभर र मनको भित्रीतहमा सागर जत्तिकै माया गरे पनि मुखले "करकर" गर्ने लभर बढी हुन्छन् | पश्चिमा पतिपत्नीहरू बाटोमा हिड्दाहिड्दै किस गरेर वा हग गरेर प्रेम जाहेर गर्छन् र तेसैलाई प्रेम भन्छन् तर नेपाली पत्नीपत्नीहरू "ठ्याकठुक्क" गर्दागर्दै पनि एकआपसमा अनन्त प्रेम गर्छन् | बाटोमा जाहेर गरिने पश्चिमा शैलीको प्रेम अधिकांश पारचुकेमा टुंगिन्छ | "ठाकठुक"जस्तो देखिने मनबाट प्रेम गर्ने नेपाली पतिपत्नीले डिभोर्सको कल्पना पनि गर्दैनन् |

नेपाली र भारतीयहरूको पारिवारिक जीवन बढी जीवन्त, स्थीर तथा रुखो (पश्चिमा नजरियाबाट) देखिन्छ र तेस्तै हुन्छ | नेपालमा धेरै जातजाति र समुदायहरू छन् | ती सबैको दाम्पत्य जीवन बढी नै जीवन्त छ किनभने कुनै पनि नेपालीका लागि डिभोर्सका लागि विवाह गर्दैन | विवाहको परिभाषा फरक भए पनि पश्चिमाहरूले पनि "डिभोर्स" लागि विवाह गर्दैनन् | विवाहको अर्थ नै पारिवारिक स्थायित्व हुन्छ | केही अपवाद वाहेक विकसित भनिएका देशहरूमा पारिवारिक जीवन स्थाई छैन तर विकासोन्मुख देशहरूका परिवार स्थाई छन् | किनभने यहाँ पतिले पत्नीसंग र पत्नीले पतिसंग "साइलेन्ट लभ" गर्छन् |

आधुनिकतावादीहरूले "डिभोर्स"लाई महिला वा पुरुषहरूको आर्थिक स्वायत्ततासंग जोडेर व्याख्या गर्ने प्रयन्त गर्छन् तर मैले धेरै बलिउड वा हलिउडका सेलेब्रेटीहरूको उदाहरण दिन सक्छु, पति र पत्नी दूवै आर्थिक रूपले पूर्ण सक्षम हुँदाहुँदै पनि संगै वस्न सकेनन् | धनसम्पति दाम्पत्यका लागि आवश्यक साधन अवश्य हो तर यो साध्य होइन | साध्य त केवल "पतिपत्नीका विचमा गहिरो प्रेम" मात्र हो | क्षमा गर्नु होला, मैले धेरैजसो महिला सशक्तीकरण अभियन्ताहरूको दाम्पत्य जीवन छिन्नभिन्न भेटेको छु | अधिकार, सशक्तिकरण तथा सुखी पतिपत्नी वा परिवारका विचमा "प्रेम, समर्पण, विश्वास तथा सम्मान"ले धेरै ठाउँ ओगटेको हुन्छ |

अन्त्यमा, यदि पारिवारिक जीवन (दाम्पत्य) सुखी चाहन्छौं भने पत्नीले पतिको र पतिले पत्नीलाई पीडक र पिडितका रूपमा व्याख्या गर्न त्यागौं | सुखी पति त्यही हो जसले आफ्नी पत्नीमा विश्वास गर्छ, पत्नीमा शर्तरहित प्रेम गर्छ र पत्नीको सम्मान गर्छ | सुखी पत्नी ती हुन् जसले आफ्नो लोग्नेमा सबैभन्दा बढी विश्वास गर्छिन्, पतिलाई नि:शर्त प्रेम गर्छिन् र सम्मान गर्छिन् | आफ्नो पति वा पत्नीमा अविश्वास गर्ने, पीडकका रूपमा प्रस्तुत गर्ने र अपमान गर्नेहरूको सधैं दुखी हुन्छन् | उनीसंग भएको सम्पत्तिले सुख किन्न सक्दैन , प्रेम किन्न सक्दैन | बरू घृणा फैलाउन सक्छ | पतिलाई पत्नीको र पत्नीलाई पतिको "खेदो खन्न सिकाएर" झनै दूरी बढाउँछ |

असल वा कमसल पतिपत्नी बन्ने कुरा हाम्रै हातमा छ | सरल रहौं, सावधान रहौं | पतिले पत्नीलाई र पत्नीले पतिलाई सबैभन्दा निकटको मित्रका रूपमा विश्वास गरौँ तर अत्याचार भने नसहौँ |

Tuesday, January 16, 2024

मनुस्मृतिमा छुवाछुत छैन !

 मैले धेरै पटक मनुस्मृति पढें तर "शूद्रलाई छुन हुँदैन, छोइन हुँदैन" जस्ता श्लोकहरू भेटिन | बरू शूद्रहरूको प्रमुख कर्म भनेकै "ब्राह्मणहरूको सेवा हो" भनेर लेखिएका थुप्रै श्लोक भेटें | सेवा गर्नेले सबै ठाउँमा सजिलै प्रवेश पाउने र हरेक प्रकारका सेवाकार्यहरू प्रत्यक्ष गर्नु पर्ने हुँदा "शूद्र अछूत" हुनै सक्दैन | शूद्रलाई "पापजात" अवश्य भनिएको छ तर अछूत भनिएको र मानिएको छैन | तेसैले शूद्र अछूत होइन |

दोश्रोकुरा शूद्र के-कसरी बन्छ भन्ने प्रश्नको उत्तर मनुस्मृतिको ८/४१५ श्लोकले यसरी दिन्छ : युद्धमा जितेर दास बनाइएको, भोजनका लागि स्वेच्छाले दासत्व स्वीकार गरेको, दास-दासीबाट जन्मेको, किनेर ल्याएको, कसैले काम गर्न दिएको, हाडनाता करणी गरेर बहिष्कारमा परेको, गौहत्या गरेको, ऋण तिर्नका लागि दास बनेको र स्वयंले दास बन्न स्वीकार गरेको - सातथरिका मानिसहरू शूद्र (दास) हुन्छन् |
यदि यस्तो हो भने हिन्दूधर्ममा छुवाछुतको अवधारणा जातीय आधारमा निर्मित भएको रहेन छ | खराव कर्म गर्नेहरू जाति-वहिस्कार भएपछि "कसैले न छुनु, व्यबहार नगर्नु" भन्ने मान्यता विकसित भएर छुवाछुतको चलन बसेको रहेछ | मनुस्मृतिले प्रष्ट रूपमा उपरोक्त शूद्रहरू सात जन्मपछि ब्राह्मणसरह हुन्छन् भनेको पनि पाइन्छ | आजको समयमा उपर्युक्त शूद्रहरू मध्ये कुन् समुदायलाई दास मान्ने भन्ने प्रश्ननै सकिएको छ किनभने उपर्युक्त धेरैजसो आधार कालक्रम र विकासले मासिएका छन् वा कानुनको बन्देजमा परेका छन् | तैपनि आफ्नो इच्छाले काम दास बन्न स्वीकार गरेका र हाडनाता करणी गरेको वर्गलाई शूद्र भन्न सकिन्छ तर छुवाछुतचाहिं गर्न/गराउन मिल्दैन | यस अर्थमा तलव थपेर पेट पाल्ने सबै शूद्र नै ठहरिन्नन् र ?
यसरी कर्मलाई सानोठूलो नमान्ने संस्कारको विकास भएपछि समाजबाट छुवाछुत स्वत: समाप्त हुनेरहेछ |

बूढा महाराज र राजा महेन्द्र

 राज पृथ्वीनारायण शाह र महेन्द्र आ-आफ्नो समयका जतिसुकै महत्वपूर्ण व्यक्ति भए पनि आजको नेपाली समाजले धेरै फड्को मारिसकेको छ | उहाँहरूको कर्तव्यलाई सम्मान गर्दै अगाडी बढ्नु नै बुद्धिमानी हुने छ | इतिहासका पात्र फर्किदैनन्, वर्तमानका पात्रहरूबाट नै उच्चचरित्र र दूरदृष्टि भएको व्यक्तिलाई प्रोत्साहन दिनुपर्छ | व्यक्ति र संबिधान फेरिदैमा विकासको मूल फुट्दैन भन्ने प्रमाणित भैरहेको छ | यो संबिधानका पक्षधरहरूले आफ्नो नाक जोगाउन भए पनि यसको पक्षपोषण गर्नुनै पर्ने हुन्छ तर विरोध गर्नेले पनि पत्यारिलो विकल्प दिनै पर्ने हुन्छ |

समाजको आवश्यकता, बुझाई, संस्कृति तथा आहारव्यबहार निकै फरक भैसकेको छ | मान्यताहरू परिवर्तित भएका छन् | स्वभाविक रूपमा राजनैतिक समझ पनि परिवर्तन हुनैपर्छ | परम्परागत राजनीति होस् कि प्रगतिशील यदि जनसामान्यले सुख-सुविधाको अनुभूति प्रदान गराउन सकेन भने त्यो गतार्थ भयो भनेर बुझ्नैपर्छ | बामपन्थीहरूले मार्क्सवाद गतार्थ भैसक्यो भन्ने कुरा आत्मसात गर्न सकेका छैनन् भने तथाकथित समाजवादीहरूले वर्तमानको मान्छे व्यक्तिगत सम्पत्ति र स्वतन्त्रतामा विश्वास गर्छ भन्ने तत्थ्य आत्मसात गर्न सकेका छैनन् | नेपाली समाज यी दुई गतार्थसंग सङ्घर्ष गरिरहेको छ |
आजको समाजका लागि पृथ्वीनारायण शाह, महेन्द्र शाह, विपी वा तुलसीलाल अमात्यको राजनैतिक चिन्तनले काम गर्ने छैन | विश्वका हरेक सूचनाहरू हातमा लिएर हिड्ने वृहत्तर दृष्टिकोणको जगजगी हुँदैगर्दा "झूट"को राजनीति टिक्दैन | नेपालीहरूले आफ्नो "दुर्गतिका लागि गतार्थ राजनीति नै जिम्मेदार छ" भन्ने तत्थ्य अलिअली बुझ्दैछन् तर लोभ र लालचको मनोविज्ञान ध्वस्त भएको छैन | तर यसको आयु धेरै छैन र हुनु पनि हुँदैन |
आजको मानवीय आवश्यकताहरू बहुदेशीय भएका छन् | फुटाएर राजनीति गर्छु र सत्ता प्राप्ति गर्छु भन्ने घृणावादी राजनीतिको दिन सकिंदै छन् | आजको राजनीतिले "सबैको सम्मान सबैलाई अवसर, अनेकताबाट एकता"को मांग गर्छ | नेपालमा अनेकता छन् | ती अनेकता दुईप्रकारका छन् - सत्ताका लागि फुटाउने अनेकता र सहयोगी अनेकता | नेपालको चरित्र सहयोगी अनेकताले निर्मित भएको छ | फुटाउने अनेकताले नेपाललाई सङ्कटमा पार्छ | अग्रगन आवश्यक छ तर आफ्नै परिवेशमा अग्रगमन चाहिन्छ | माँगेको कोट लगाएर अग्रगमन हुँदैन | दुईसयवर्ष पहिलेको समयमा आत्मरति गरेर अग्रगमन मिल्दैन |
बरू राज्यराष्ट्र पढ्ने कि ?

चतुर्थे किं करिष्यति : घर-सन्यास

मैले पनि ५० काटें अर्थात् तेस्रो आश्रम (बानप्रस्थ) आरम्भ भएको छ | शास्त्रलाई पढ्ने हो भने अव मैले सबै थोक छोराछोरीलाई जिम्मा लगाएर आफुले जीवनभरी सिकेका कुरा सिकाउने वा जङ्गलमा गएर वा घरमै बसेर स्वाध्याय, निधिध्यासनआदिको अभ्यास गर्ने पर्ने हो | तर

आज पनि धेरैजसो ५० वर्ष काटेका हामी नेपालीहरू पेट पाल्न नयाँ करियरको खोजिमा छौँ | धन कमाएर पुगिसरी भएकाहरू अझै धेरै कमाउन व्यस्त छन् | केही नहुनेको त कुरा छोडौं | संसारको राजनीतिमा सक्नेले "कमाई खाने भाँडो" नै "केही नहुने" हुन् | जुनसुकै राजनैतिक सिद्धान्तकारका लागि यिनको अस्तित्व जोगाउनु पर्ने बाध्यता छ |
-मैले झैं तेस्रो आश्रम आरम्भ गर्दैगर्दा पिरलो थप्ने धेरै दायित्वहरू असरल्ल परेका होलान् | बूढाहरू विरामी देखरेख गर्नु पर्ने, समाजमा केही कार्यक्रम भए दिनु पर्ने र सहभागी हुनै पर्ने सामाजिक दायित्व, पढ्दै गरेका छोरछोरीको लागि पैसा पुर्याउने दायित्वमा झन् भासिंदै हुनुहोला | साच्चिकै भन्ने हो भने मेरो लागि दोश्रो आस्श्रम भन्दा पनि तेस्रो आश्रम झन् दायित्वहरूले किचिने अवस्था अनुभूत हुँदैछ |
सबैभन्दा रमाइलो वा मानसिक तनावको विषय चाहिं यो अवस्थामा चौथो अवस्था अर्थात् वृद्धावस्था र त्यस बखतमा आउने सक्ने शारीरिक तथा मानसिक समस्याहरू सम्झेर दिक्क वा डर लाग्दो रहेछ | वा आमा, आफ्नै छिमेकी बूढाबूढी भएर रोग र मृत्युमा जाँदा आफै अगाडी सार्नु पर्ने बाध्यताले उपर्युक्त अवस्थाको नकरात्मक दृष्य अझैं बलियो हुँदै जाने रहेछ |
भाग्यभए र शरीरले साथदिए चौथो (सन्यास) अवस्था भेट्न पाइएला | आजभोली सजिलो छ | छोराछोरी विदेशमा हुन्छन् अथवा न्युक्लियर भएर आफ्नै परिवारसंग रम्छन् | ७६ वर्षपछिको अवस्थामा कुनै पनि बृद्धबृद्धाहरू प्राकृतिक सन्यासआश्रममा निवास गरिरहेका हुन्छन् | जवानीमा बडो परिश्रम गरेर (अरूलाई धनि, मानी देखाउन बनाएको) ठूलो घर नै एकान्तबास बन्छ | खासगरी शहरिया घरहरू चौथो अवस्थाका मान्छेहरूलागि सन्यास आश्रम भन्दा कम छैनन् |
प्राचीन कालमा चौथो अवस्था जङ्गलमा बसेर विताउने गरिन्थ्यो भने आजको समयमा एकान्त जङ्गल नै आफ्नै घर हुन्छ, जहाँ पूर्ण एकान्त उपलब्ध हुन्छ | यो शहरमा यस्ता असंख्य सन्यासीहरू छन्, जसले आफुले निर्माण गरेको कंक्रिटको जङ्गलमा सन्यासीको जीवन व्यतित गरिरहेका छन् | यदि प्राचीन सन्यास स्वेच्छाले त्याग हुन्थ्यो भने बर्तमानको सन्यासका सन्यासीहरू हरेक पल आफ्ना सन्तानहरू सम्झदैं रोग र मानसिक तनावसंग लडिरहेका हुन्छन् | आफ्नो शरीर अशक्त हुँदा सहाराको लागि कल्पी रहेका हुन्छन् | सायद, न्युक्लियर फेमिलीको वैश्विक देन नै धर-सन्यास वा वृद्धाश्रमको वास रहेछ |
यो लेख पढेर ५० काटेकाहरू नआत्तिनु होला | चौथो आश्रमका लागि वन्दोवस्त आरम्भ गर्नुहोला | साथै, दोश्रो आश्रमको मजा लिइरहेका न्युक्लियर फेमिलीवादीहरूले पनि तेस्रो आश्रमको लक्ष के हुने छ र चौथो आश्रमको लागि चिन्तन गर्नु आरम्भ गरे राम्रै हुन्छ |
स्वस्त्यस्तु

पर्व र विषालु घृणावाद

माघेसंक्रान्ति सम्भवत: सबैभन्दा प्राचीन वैदिक पर्व हो | यो पर्वलाई सबैभन्दा बढी नेपाल र भारतका थारू समुदायले मान्छन् | हामी सबै नेपालीहरूले आ-आफ्नो रितिरिवाज तथा भावअनुसार माघेसंक्रान्ति पर्व मनाउने गरेका छौँ | माघेसंक्रान्तिको हामी सबैमा शुभकामना |

माघी होस् वा अन्य पर्वहरू घृणावादीहरूले कित्ताकाट गरेका छन् | नेपालीका पर्वहरूलाई "जातीय, नश्लीय" घृणावादमा रुपान्तरित गर्ने दूषित प्रयत्न गरिरहेका छन् | तर तिनको दूषित प्रयत्न भन्दा नेपालीहरूको मौलिक "सहृदयता" बढी बलियो छ | हामी सबै मिलेर आ-आफ्नो रितिरिवाजअनुसार मौलिक पर्वहरू मान्ने गरेका छौँ |
हो, समय परिवेशअनुसार पर्वहरू मनाउने तौरतरिकामा केही फरक आएको छ तर मूल भने अवछिन्न छ | एउटा कुरा अलि चिन्ता गर्नु पर्ने भएको छ त्यो हो : आत्मासंग जोडिएका पर्वहरू फैसनसरह क्षणिक रमाइलो गर्ने वा पर्वभेलाको नाममा आफ्नै छिमेकीहरूप्रति राजनैतिक घृणा पोख्ने (घृणावादीले छलछापट) का कारक बन्न थालेका छन् | पर्वहरूमा मनको पवित्रता, पर्वसंग जोडिएका प्रतिमानहरूप्रति पूर्ण समर्पण र पर्वका माध्यमबाट भौतिक तथा आध्यात्मिक उन्नयन सबैभन्दा महत्वपूर्ण विषय हुन् | यदि हामीले आफ्ना पर्वहरू सतही रूपले मात्र मान्ने गर्यो भने यसको आत्मा मर्छ र क्रमशः सङ्क्रमित भएर यसको मौलिकतानै नष्ट हुन्छ | सचेत रहनु पर्छ र आफ्ना बालबालिका, किशोरकिशोरी लगायत छिमेकीलाई पर्वहरूको मौलिकतासंग परिचय गराउनु पर्छ |
घृणावादले पर्वको आध्यात्मिक उन्नयनको पक्षलाई आत्मसात गर्दैन तर यसलाई उपयोग गरेर एकआपसमा परापूर्वकाल देखि सहकार्य गर्दै आएका समुदायहरूमा फाटो हाल्छ | मूलत: यी डलरवादी मात्र हुन्छन् कि एकेश्वरवादी हुन्छन् | जसले पुरानो नष्ट गरेरमात्र विकास हुन्छ भन्ने मान्यता राख्छन्, तेस्ता जडहरूले मौलिक पर्वहरूमा महत्व पाउनु हुँदैन | पर्वहरूका माध्यमबाट विषालु घृणावाद रोपिंदै छ, हामी सबै सचेत हुनु जरुरी छ | घृणावादीहरू पर्वभेलामा द्वन्द होस् भन्ने चाहन्छन् र यो चाहनापूर्तिको लागि राजनैतिक शक्तिसम्म प्रयोग गर्न सक्छन् |
पर्वहरूको अवसर पारेर घृणावाद रोप्नेहरू धेरै छैनन् तर तिनको विषले नेपाली समाज विभाजित भएको अनुभव गर्ने धेरै छन् | पवित्र पर्वहरू विनम्रता र पवित्रतापूर्वक मान्नु/मनाउनुको सट्टा रक्सीको विज्ञापन गर्दै राजनैतिक नेतृत्वलाई मंचमा उभ्याएर आफ्नै छिमेकीलाई तथानाम गालीगलौज गरेको तीतो अनुभव हामीसंग छ | जामा जे-जस्तो दिए पनि मूलत: यी नेपाली संस्कृतिलाई निल्ने घृणावादी नै हुन् |
यस वर्ष जाडोमा खडेरी लाग्यो | आकाशवाट पानीको एकबूँद झरेको छैन | मैले आफ्नो जीवनमा एस्तो अचम्म भोगेको थिइन | माघी मनाउँदै गर्दा शहरियालाई केही फरक नपर्ला तर हिमालदेखि तराईसम्मका कृषकहरूलाई मर्का परेको छ | तिनका लागि बोल्दिने केही छैन | शहरियाहरू "हामी सुकिलामुकिला र पैसावाल" छौँ भनेर फुर्किनु पर्दैन, कृषकले अन्न उत्पादन गर्न सकेनन् भने भोकभोकै मर्नेहरूमा सहरिया पहिलो समाचार बन्ने छौँ |
माघेसक्रान्ति हामी सबैको मौलिक तथा रैथाने पर्व हो | यो पर्वले हामीलाई आफ्नो जरोकिलोसंग जोड्छ | हामी प्रकृतिसंग जोदिन्छौँ | तेसैले हामी सबैले प्रकृतिलाई माया गरौँ. प्रकृतिले हामीलाई माया गर्ने छ | हामी सबैको कल्याण होस् |
https://hatmakhabar.com/bichar/2024/01/15/164742/

Friday, January 12, 2024

पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

 पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

हिन्दुहरू आफ्नो उदारतावादी संस्कृति र बहुलवादका कारण सधैं सङ्कटमा परेको इतिहास छ भने आज पनि उपर्युक्त स्थिति वदलिएको छैन | बामपन्थी र धर्मनिरपेक्षतावादी राजनीति गर्नेहरूले धर्म र धार्मिकतालाई खासै महत्व दिंदैनन् तर आजको मितिमा पनि विश्वको ८६.४% जनसंख्याले कुनै नकुनै धर्म मानेकै छन् | यहुदी, इसाई र मुस्लिम समुदायले "प्यागोन" (मूर्ति पूजक) भन्दै अपमान जनक तरिकाले सम्बोधन गरिएका हिन्दुहरूले जतिसुकै मित्रतापूर्ण सम्बन्ध स्थापित गर्न खोजे पनि ती समूहले स्वीकार गरेका छैनन् | राष्ट्रहरू बलियो भएका ठाउँमा धर्मान्धता अर्धनिन्द्रित छ भने रिलिजनहरू बलियो भएको ठाउँमा रिलिजनतन्त्रभित्र प्यागोनमात्र होइन तिनका आफ्नै समूह पनि अपहेलनाको सिकार भएका छन् |

बौद्ध वा जैनहरू पनि हिन्दू संस्स्कृतिसंग विद्रोह गरेर स्थापित भएका धार्मिक समुदाय हुन् | तिनले कहिल्यै पनि हिन्दू देवीदेवताका मन्दिरहरू तोडेंनन्, आगो लगाएनन् | काठमाडौँ उपत्यकामा पहिलो र अन्तिम पटक आक्रमण गरेको समसुद्दिन इलियास (सन् १३४७) हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको लिंग नै ध्वस्त गरिदियो | स्वयम्भू चैत्यमा आगो लगाएर ध्वस्त बनायो | तेतिले पनि चित्त नबुझेर पुस्तकालयहरू र पसलहरूमा आगो लगायो | यदि कसैले मुसाई-समुदायको इलियास मानसिकतामा हिन्दुहरूप्रति सहृदयता उत्पन्न भएको छ भन्ने ठान्छन् भने गलत हो | एक-दुईजना व्यक्तिहरूको उदारतालाई मुसाई-धर्मको उदारताका रूपमा व्याख्या गर्न मिल्दैन |
ठिकै हो कि हिन्दुहरूले आफ्नो उदारता र बहुलतावादी संस्कृतिलाई त्याग्नु हुँदैन तर बहुलतावादी जीवनदर्शनलाई आफ्नो अस्तित्वको विनाशको कारण बन्नबाट रोक्ने काम पनि सनातनीकै हो | राजा पृथ्वीनारायण शाह र स्वामी विवेकानन्दले आ-आफ्नो समयको आवश्यता र परिवेशअनुसार एकलवादीहरूलाई देश निकासा गर्ने र हिन्दु संस्कृतिभित्र (धर्मपरिवर्तन होइन मानसिक परिवर्तन गरेर) भित्र्याउने काम गरे | राजा पृथ्वीनारायण शाह स्वामी विवेकानन्द भन्दा दुरदर्शी ठहरिन्छन् | विवेकानन्दले दरिद्रनारायणको कुरा गरे भने शाहले सुशासन स्थापित "प्रजालाई मोटा" बनाउने र "असली हिन्दुस्थाना" निर्माण गर्ने घोषणा गरे |
इतिहासको यो पाटोबाट शिक्षा लिएर नेपालमा अनपढ तर अत्यन्त साहसी तथा स्वधर्म संस्कृतिप्रति कटिबद्ध गोर्खाली रजौटा पृथ्वीनारायण शाहले इसाईहरूलाई देश निकाला दिए भने भारतीय सन्त स्वामी विवेकानन्दले तिनकै भाषा (अंग्रेजी)लाई स्वधर्म प्रचारको माध्यम बनाएर हिन्दू धर्म र संस्कृतिको सहृदयी विज्ञान विश्वसम्म पुर्याएर, सुन्ने र पढ्ने जतिलाई मानसिक रूपमा हिन्दू तुल्याए | आजको मितिमा सद्गुरु भनिने जग्गीहरूले पनि अंग्रेजी भाषाबाट नै वैदिक संस्कृतिको प्रचारप्रसार गरिरहेका छन् |
इतिहासका विषयमा आ-आफ्नो दृष्टिकोणबाट व्याख्या गर्न मिल्छ | पृथ्वीनारायण शाहले (1723-17-1775) किर्तिपुरेहरूको नाक काटेको होस् वा आफ्नै जेठानहरूको हत्या नै गरेको होस् अथवा किरात प्रदेशमा मारकाट गरेर यलम्बरवादीहरूको दोहोलो नै परेको किन नहोस् नेपाल एकीकरण र हिन्दू संस्कृतिको पुनर्जागरणमा यिनको योगदानलाई स्वीकार गर्न करै लाग्छ | यो स्वीकारोक्ति घृणाले होस् वा श्रद्धाले असहमत नेपाली र विदेशीहरूको बाध्यता हो | यी नेपाली नायक भएको कारणले मलाई मन पर्ने मध्ये पहिलो व्यक्ति हुन् | आलोचकहरूप्रति मेरो थोरै गुनासो छ, धेरै होइन | समालोचक बन्न सके सबैको कल्याण हुन्छ |
राजा पृथ्वीनारायण शाहको मूर्ति र फोटो दूवै काल्पनिक नै हुन् | कलाकारले अलि बढीनै शाहलाई देवत्व कारण गरेर चित्र बनाएका होलान् | उनी ठ्याकै आजभोली पाइने चित्रपट भन्दा नितान्त फरक होलान् भन्ने ठान्छु | मेरो मस्तिष्कमा एउटा ५० वर्षीय माध्यम आय श्रोत भएको गोर्खाली कृषकको सम्झना आउँछ |
यस्तै तत्कालीन भारतीय बङ्गालमा जन्मेका स्वामी विवेकानन्दले (1863-1903) पृथ्वीनारायण शाहको उमेर भन्दा पनि कम समयमा वैदिक संस्कृतिलाई वैश्विक रूपमा चिनाउन मदत गरे | आफ्नो सानो उमेरमा भारतीय वैदिक दर्शनलाई "व्याबहारिक वेदान्त"को रूपमा व्याख्या गरेर रहस्यवाद र केवल संस्कृतवादको गूफाबाट वाहिर निकाले | उनले आफ्ना धेरैजसो प्रबचन अंग्रेजीमा दिएका थिए | यिनको व्यक्तित्व, स्वदेश, स्वधर्म तथा जनताप्रतिको करूणा मेरो लागि सधैं मन पर्ने विषय रहेको छ |
संयोग नै मान्नु पर्छ कि यस पाली यी दूवै महापुरुषहरूको जयन्ती एकै दिन परेको छ | नेपालीहरूले राजा पृथ्वीनारायण शाहलाई सम्झिरहेका छन् भने भारतीयहरू स्वामी विवेकानन्दलाई | हामी सबै मिलेर एस्तो अवस्था र व्यबस्था सृजना गर्नु पर्यो सम्पूर्ण भारतले राजा पृथ्वीनारायण शाहलाई हिन्दू संस्कृतिका आधुनिक पुनर्जागरणका नायकका रूपमा स्वीकार गर्दै जन्मजयन्ती मानोस् र नेपालीहरूले स्वामी विवेकानन्दलाई हिन्दू धर्म, संस्कृति तथा परम्परालाई अंग्रेजी माध्यमले विश्वलाई चिनाउने पुरोधाका रूपमा सम्मान गर्न सकून् |
पढेलेखेका धेरैजसो नेपालीले स्वामी विवेकानन्दलाई चिन्छन् तर धेरैजसो भारतीयहरूले राजा पृथ्वीनारायण शाहलाई चिन्दैनन् | भारतको अयोध्यामा राम मन्दिर उद्घाटन हुँदै गर्दा हरेक भारतीयले राजा पृथ्वीनारायणको असली हिन्दुस्थाना"लाई चिन्ने बातावरण सृजित गर्नुपर्छ | हुन त यो लेख पढ्दै गर्दा केही आफुलाई धर्मनिरपेक्षतावादी र उदारवादी ठान्ने घृणावादीहरूलाई असहज होला तर स्वदेश, स्वधर्म र बहुलतावादी चिन्तनका सवालमा हिन्दूहरू अझैं बौद्धिकरूपमा पहिचानवादी हुनै पर्छ | प्रत्यक्षरूपमा पृथ्वीनारायण शाहले र अप्रत्यक्ष तर बौद्धिक रूपमा स्वामी विवेकानन्दले यही प्रेरणा दिएका हुन् |
स्वस्त्यस्तु

Thursday, January 11, 2024

इच्छामृत्युको सभ्यता

इच्छामृत्युको सभ्यता

त्यसो त समयको कुनै अस्तित्व हुँदैन | मान्छे आफ्नो उमेर नापेर समय बनाएको हो | आफु जन्मेको घटनानै समयको आरम्भ हो र मृत्युपछि समयको अन्त्य हो | लामो उमेर हुनेको लागि समयको आयाम छोटो हुन्छ, छोटो उमेर हुनेहरूका लागि समय लामो हुन्छ | मान्छेले आफ्नै पौरख गरेर (विज्ञानको प्रयोग गरेर) समयलाई निरन्तर छोटो बनाउंदा छ | भविष्यका मान्छेका लागि मृत्यु पनि आफ्नो इच्छाको विषय हुने छ |


जन्मका विषयमा मान्छेले इच्छा-जन्म हासिल गरिसकेको छ | फरक एत्ति हो कि अनुभवको निरन्तरता प्राप्त भएको छैन | जन्मको सवालमा ईश्वरको शक्ति मान्छेले खोसिसकेको छ | सानो स्टीम-सेलबाट जीवन आरम्भ गर्ने क्षमता मान्छेसंग छ | पचासवर्षपछि अनुभवको निरन्तरता प्राप्त गरेपछि नयाँ जन्मको सवाल नयाँ मेसिनसरह हुनेछ | इच्छामृत्यु स्वीकार गरेकाको पद-पूर्ति गर्न नयाँ मान्छे जन्माउन बाहेक मान्छे जन्मने छैनन् | सायद राष्ट्रहरूले कानुन बनाएर नै मान्छे जन्माउने "कोटा" निर्धारित गर्ने छन् | यो अभ्यास अहिले पनि फरक रूपमा भैरहेको छ |

मान्छेलाई इतिहास चाहिन्छ, धर्म चाहिन्छ, विज्ञान, ज्ञान तथा सुविधा चाहिन्छ | मान्छे - एउटा शारीर भएको, चिन्तन गर्न सक्ने जीव हो | यो तत्थ्य सबैलाई थाहा छ | साथै, अनन्तकालभित्र अधिकतम १०० वर्ष देखिने एउटा "फोका" यो पनि सबैलाई थाहा छ |

तर जीव, आत्मा वा परमात्माका रूपमा यो नित्य छ भन्ने तत्थ्य अनुभव वाहिरको कुरा हो | तर सत्य के पनि हो भने अनुभवमा आएका विषयवस्तु मात्रै सत्य हुन्छन् भनेर स्वीकार गर्नु पनि व्याबहारिक तथा सैद्धान्तिकरूपमा सही होइन | मान्छेको ज्ञान र अनुभव दूवै सीमित छ |

हालसम्म मान्छेको ज्ञानले विश्वब्रह्माण्डका कति नै तत्थ्यहरू उद्घाटन गर्न सकेको छ र ? यो संसारमा "मैले पूनर्जन्म लिएको हुँ" भन्नेहरू पनि छन् र तिनको त्यो भनाइलाई असत्य सावित गर्ने कुनै बैज्ञानिक टुल छैन |

आजको मितिले केवल ५०-६० वर्षपछि अहिलेका बैज्ञानिक खोजहरू दन्त्यकथा झैं लाग्ने छन् किनभने त्यसबेलाका मान्छेको संस्कृति, चिन्तन र सभ्यताको तह आजभन्दा नितान्त फरक हुने छ | एकपटक जन्मेको मान्छेले भौतिक रूपमा नै इच्छामृत्युको उपलब्धि गर्ने छ |

त्यो एस्तो समय हुने छ जहाँका विद्यालयहरूमा आत्मा, परमात्मा, धर्म, स्वर्ग, नर्क, आस्तिकता-नास्तिकताजस्ता विषयवस्तुहरूको पढाई हुने छैन | किनभने मृत्यु र जन्मसंग जोडिएका दु:खसुख, स्वर्गनर्क, पापपुण्य, धर्म तथा धार्मिकताको तेस बखत सान्दर्भिकता नै रहने छैन | त्यो इच्छामृत्युको सभ्यता हुने छ | मान्छेले मृत्युउपर नियन्त्रण गरेको मितिबाट जन्म र मृत्यु दूवै रहस्यको गहिरो खाडलबाट सधैंका लागि बाहिर निस्किने छन् |

आजको मानिस वैज्ञानिक उपलब्धिहरूका कारण अहंकारी बनेको छ | विज्ञानबाट प्राप्त भएका उपलब्धिहरूको गहिरो नशाले उन्मत्त भएको छ | सत्य अर्को पनि छ | निश्चयनै विज्ञानका उपलब्धिहरू व्याबहारिक जीवनका लागि निकै उपयोगी सिद्ध भएका छन् | तर विज्ञानका वर्तमान खोज र उपलब्धिहरूले हाम्रो निवासस्थल पृथ्वीको काल ७.५% रहस्य थाहा पाएको विश्वास गरिन्छ | यसको अर्थ अझैं पनि ९२.५% संसार अज्ञात नै छ | आजका उपलब्धिहरूको आधारमा भबिष्यवाणी गर्न सकिन्छ कि आगामी ५० वर्षभित्र विज्ञानले जेली-फिसको अमरताको डीएनए दिकोदिंग गरेर मान्छेको डीएनएमा प्रत्यारोपित गर्ने छ | यसका संगै अन्य विधाहरूले पनि मान्छेलाई अजेय बनाउने छन् |

अहिलेका राजनैतिक विचार र संस्थाहरू पूर्णतया उपयोग विहिन हुने छन् | त्यस बखतको पृथ्वीको जनसंख्याको लागि रोटी, कपडा, मकानजस्ता प्राथमिक आवश्यताहरू गौण हुने छन् | शारीरिक पोषणका वर्तमान आवश्यता र तिनको पूर्ति औचित्यहीन हुने छ | त्यस बेलाको मान्छे भोक, प्यास, दुखाई, रोगजस्ता भौतिक समस्याहरूबाट पूर्णतया मुक्त हुने छ | हो, भावना र बुद्धि भने अझै प्रखर र नयाँनयाँ खोजका लागि तीक्ष्ण हुने छन् | मानवसमाजका लागि तय गरिएका वर्तमानका नैतिक मानदंडहरू इन्टरग्यालेक्सी यात्राका लागि तयार गरिने छन् | तेस बखतका मान्छेका लागि "सेक्स" रमाइलोको विषय रहने छैन | केही पुराना व्यक्तिहरूले यस विषयमा चर्चापरिचर्चा गर्ने छन् |

हो, भविष्यको सभ्यता आजको भन्दा नितान्त फरक हुने छ | आजका कुनै पनि मानदंडहरू त्यो समयका लागि उपयुक्त ठहरिने छैनन् | जीवनका आवश्यकता र प्राथमिकता बदलिनुका साथै प्रतिमानहरू पनि परिवर्तित हुनेछन् | म विश्वासका साथ भन्न सक्छु, तेस बखतका मानिसहरूले आफ्नो घरमा किचन, टोइलेट, खाद्यवस्तुहरू भण्डारण गर्नका लागि बनाइने स्टोर, पुस्तकालय तथा पूजाकोठा राख्ने छैनन् | रोग, भोक र जिउनका लागि भौतिक सङ्घर्स गर्नु पर्ने सबै क्रियाकलापको अन्त्य हुने छ | मान्छेहरूका लागि अनन्त समयमा फैलिएको ब्रह्माण्ड, पृथ्वी र आफ्ना विषयमा जान्ने काम मात्र वांकी रहने छ |

स्वाभाविक रूपले मान्छे मृत्यु नभएपछि बाँच्नबाट दिक्क लागेका मान्छेहरू विश्रामका लागि दीर्घकालीन हाइपरनेसन वा मृत्यु यी दुई मध्ये एउटा चुन्न सक्ने छन् | हाइपरनेसनका लागि खोलिएका दैत्याकार संरचनाहरूमा असंख्य मान्छेहरू विश्राम गरिरहेका हुने छन् | त्यो यस्तो सभ्यता हुने छ जहाँ महिला र पुरुषको भेद रहने छैन र हरेक व्यक्तिलाई लिंग चयन गर्ने परिवर्तन गर्ने सुविधा उपलब्ध हुने छ | मूलत: त्यो यस्तो सामाजिक संरचना हुने छ जहाँ सबैसंग इच्छामृत्यु वा हाइपर नेसनमा जाने अधिकार हुने छ | हो, त्यो एउटा भौतिक विज्ञानको किशोर अवस्था हुने छ | त्यो एउटा इच्छामृत्युको सभ्यता हुने छ |

हामी हिन्दूहरूका लागि इच्छामृत्यु नितान्त नया सोच पनि होइन | अश्वत्थामा, बली, व्यास, हनुमान, विभिषण,कृपाचार्य, परशुराम र मार्कण्डेयंलाई इच्छामृत्युको सामर्थ्य भएको भन्दै जन्मदिनका दिन स्मरण गरिन्छ | यो हिन्दु-संस्कृतिको गौरव हो कि यसले नाम नै किटान गरेर इच्छामृत्युको सामर्थ्य भएका व्यक्तिहरूको उल्लेख गरेको छ | प्रत्येक हिन्दूहरूले यो प्रतिमानतिर ध्यान दिनैपर्छ | भोली बैज्ञानिक संसाधनहरूको विकास भएर "इच्छामृत्युको सभ्यतातिर प्रवेश गर्दैगर्दा अष्टचीरन्जीवीको नाम असान्दर्भिक ठहरिनु हुँदैन |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...