Monday, May 29, 2017

मातृदेवो भव

मिति २०७४/१/२ मा ज्ञानचक्षु विद्यालयले बालबालिकाको लागि एउटा कार्यक्रमको आयोजना गरेको थियो | त्यहाँका प्रधानाध्यापक प्रदीपजीले त्यस कार्यक्रमको लागि योग्य ठान्नुभयो |

ताइवानबाट आएका पाहुनाहरूले आमाको महत्वका विषयमा ब्यबहारिक ज्ञान दिदै थिए विद्यार्थीहरूलाई | कार्यक्रमको अन्त्यमा मैले उहासंग सोधें : आमाको विषयमा एस्तो ब्यबहारिक ज्ञान दिने ज्ञानको स्रोत के हो ? र यसलाई ब्यबहारिकतामा ढाल्ने सोच कसरी आयो ?

उहाहरूको जवाफ एस्तो थियो "कुनै बखत एकजना बौद्ध विद्वान ज्ञानको खोजीमा नेपालतिर भ्रमण गर्दै थिए | उनको मन अत्यन्त अशान्त थियो | घुम्दै उनी एउटा गाउँमा पुगे | रात्री परेको ले त्यहीं कुनै घरमा वास बस्ने निधो गरे |

एउटा गाउँलेको घरमा पुगेर उनले वास मागे | घरमा एकजना महिला र तीन जना छोराछोरी थिए | उनले अतिथीलाई घरको एउटा छेउमा विस्ताराको ब्यबस्था गरिन् |

ती बौद्ध भिक्षुका लागि भोजन गराउन उनीसंग केही थिएन | उनी ज्यादै गरिव रहिछन् उनी ती भिक्षुलाई भोजन गराउन चाहन्थिन् |

ती महिलाले तीनैजना बालबालिकालाई आफ्नो काँधमा राखेर बाहिर निस्कीन् | बालबालिकाहरू भोकले रोइरहेका थिए | केही घण्टापछि उनले उनले पोकोमा केही सामग्री ल्याइन र भिक्षुलाई अर्पण गरिन् भने त्यसबाट जोगिएको भोजन आफ्ना बालबालिकालाई खुवाईन् |

त्यसपछि ती भिक्षु केही दिन त्यही गाउँमा निवास गरे | ती महिलाले आफ्ना बालबालिकालाई मात्र खुवाएको देखे कि अतिथीहरूको लागि भोजन खुवाएको देखे | अन्त्यमा, उनले ती महिलालाई केही आर्थिक सहयोग गर्न गरेको अनुरोध स्वीकार गरिनन् |

ताइवान फर्केपछि उनले आफ्नो संस्मरणमा लेखे "मैले आज सम्म आफ्ना बालबालिकाप्रति यतिधेरै कर्तब्यशील र अतिथीहरूको सेवा गर्ने आमाहरू संसारमा कहीं पनि देखेको, सुनेको छैन |

वैदिकहरूले जसरी अतिथी र आफ्ना बालबालिकाको स्याहारसुसार गर्छन्, त्यो सबैले अपनाउनुपर्छ | तिमीले आफ्नो आमाले कसरी पालन गरेको रहेछ भनेर बुझ्न चाहन्छौं भने तीन किलोको ढुङ्गो आफ्नो पेटमा बाँधेर दिनभरी काम गर, आमाको कस्ट थाहा हुन्छ |

त्यसपछि ताइवानमा आमाको अनुभवजान्न पेटमा ढुङ्गो बाँधेर बालबालिकालाई अभ्यास गराइन्छ | यो ज्ञानको स्रोत वेद नै हो, जसले निर्धक्कसंग आमा देवता हुन्, अतिथी देवता हुन् बालवालिकाहरू भगवानका रूप हुन् भनेर पढाउँछ |

त्यसदिनपछि मैले बुझे, मेरो देशको माटोको हरेक कणमा आमा\वुवा, अतिथीप्रतिको प्रेम भरिएको छ | मेरो इतिहासको जरोकिलोमा सबैको लागि भोजन, सबैसंग सहकार्यको आदर्श लुकेको छ |

मैले निश्चय गरें, यदि मैले मेरा पुर्खाहरूका उपरोक्त उद्गारहरू, ब्यबहारिक ज्ञानहरूको अनुसरण गर्न सकिन भने तीप्रति मेरो कुनै सम्मान रहने छैन | उनीहरूको सम्मानका लागि मात्र होइन आफ्नो जरोकिलो (सनातन वैदिक हिन्दू संस्कृतिको) गौरवको लागि पनि मैले यसको विषयमा बोल्नैपर्छ |

आफ्नो महान् साँस्कृतिक गौरवका विषयमा बोल्न नसक्नु एकप्रकारको आत्महत्या नै हो | मैले आत्महत्याको बाटो रोजिन किनभने मसंग संसारलाई दिन धेरै थोक छन् | हिन्दू जरोकिलोलेले प्रत्येक महिलालाई (पत्नी बाहेक) आमा मान्ने आदेश दिन्छ, अर्काको धनलाई घुरान मान्ने प्रेरित गर्छ, हरेक प्राणीलाई आफ्नै सन्तान सरह मानेर पालन गर्ने प्रेरणा दिन्छ भने मैले अव ती कुराहरूको ज्ञान संसारमा विस्तार गर्नुछ |

यान्त्रिकताले मानवीयताको प्राकृतिक अवस्थालाई रोबोट-करण गरिरहेको अवस्थामा वैदिक जरोकिलोको साधनाले मात्र पुन: मानिस मानावातातिर उत्प्रेरित हुनसक्छ | यो एउटा निर्विकल्प बाटो हो किनभने पश्चिमाबाटोबाट आएको ज्ञानले सबैथोक विकास गर्यो तर मानवताको ह्रास गर्यो | मान्छेहरू अझैं मान्छे बन्ने दौडमा रोबोटमा परिवर्तित भए |

हामी मातृऔसी मान्छौं तर आमालाई मम्मी (मरेको मान्छेलाई विभिन्न रसायनको प्रयोग गरेर लामो समयसम्म सड्न नदिने प्राचीन पद्यतिबाट रक्षा गरिएका लास) भनेर जिउंदै मार्ने पश्चिमा सीको गर्न कत्तिपनि हच्चिन्नौं | ड्याड वा ड्याडी पनि यो भन्दा केही कम छैन |

नक्कल त गर्नुपर्छ, मान्छेले नक्कल गरेरै सिक्ने हो तर जिउंदै रहेका आमावुवालाई मम्मी र ड्याड भन्ने भाषाको समेत नक्कल गर्ने र त्यसको गर्न प्रेरित गर्ने हाम्रा अभिभावकहरूप्रति अचम्म मान्न बाहेक के नै गर्न सकिन्न्छ र ? मातृदेव भव ले आमालाई मम्मी होइन ज्योति अर्थात् शक्तिदात्रिका रूपमा आदर गर्न सिकाउँछ |

तैसेले म भन्छु, यो लेख पढ्नेहरूले एकपटक अवश्य झस्किनु पर्छ | यस्तो नहोस् कि केही अमेरिकीहरूले नै पुन: हाम्रो शिक्षा विभागमा पुगेर "आमा" भनेको मम्मी हो भनेर सिकाएपछि मात्र हाम्रा बालबालिकाहरू "आमा" त अंग्रेजी रहेछ भनेर आफ्ना बालबालिकालाई "आमा" भन्न प्रेरित गरूँन् !!

मानव शरीर रह्यो तर मानवता हराउदै रोबोटको अवतार बच्न थाल्यो | यसको विकल्प केवल र केवल हामीसंग छ | त्यो हामी विना मूल्य पश्चिमाहरूलाई दिन सक्छौं | मेरो संकल्पले त्यही गरिरहेको छ |

घृणावाद कि सहअस्तित्व ?

घृणावाद कि सहअस्तित्व ?
नेपालको इतिहास र संस्कृति "सहयोग र सहअस्तित्व" को हो | कमसेकम विगत ५००० हजार वर्षदेखि हामीले आफ्नो यो अनुभव निरन्तर तिखार्दै आएका छौँ | तर जव देखि पश्चिमाहरूले हामीलाई "सिकाउन थाले तव देखि हाम्रो यो पांचहजारवर्षको अनुभव खल्वलियो | हामी क्षेत्रवादी, जातिवादी, अतिवादी बन्यौं | हामीले वर्गीकरणलाई महत्व दिन थाल्यौं |

युरोपेलीहरूको विज्ञता "विभाजन"मा रहेको छ | उनीहरू हरेक वस्तु-विषय वा चिन्तनलाई तोडेर, अलग्याएर परीक्षण गर्छन् | अणु-परमाणुहरूको विकास यसरी नै भएको हो | उनीहरूले राष्ट्रहरूको विकास पनि जातजातिलाई भाषा, नाक, कान वर्ग तथा लिंगको विभाजनका आधारमा गरेका हुन् | उनीहरूको रगतमा विभाजन गराउने डी,एन,ए छ |

मिलेर रहेको समाज जव विभाजनकारी चिन्तनको सम्पर्कमा आयो, स्वभावत: त्यो अतिक्रमित भयो | उनीहरूले त्यसो संक्रमण "अंग्रेजी शिक्षा"का माध्यमबाट फैलाए | गुरुकुलको समावेशी शिक्षा पद्यतिलाई विभाजनकारी शिक्षापद्यतिले विस्थापित गर्यो | हामी नराम्रोसंग संक्रमित भयौं |

अहिले हाम्रो चिन्तन विभाजनकारी पद्यतिले निर्मित भएको छ | हामी सबै विषयवस्तुहरू तोडेर, फोरेर, विभाजन गरेर बुझ्न अभ्यस्त भएका छौँ | त्यतिमात्र होइन, हाम्रो बौद्धिकताले कुनै विषयवस्तुको प्रमाणितता वा अप्रमनिकता पनि पश्चिमाहरूले नभने/नलेखेको आधारमा निर्धारित गर्छ |

हाम्रो दिमाग पश्चिमा विभाजनकारी शिक्षापद्यतिको संक्रमणले दुषित भएको भए पनि हाम्रो ब्यबहार अझै ९०% प्रदूषण मुक्त रहेको छ | १०३ जातजातिहरू १२४बटा मातृभाषा तथा संस्कृतिहरूसंगै मिलेर बसिरहेका छौँ |

विदेशीहरूको विभाजनकारी पद्यतिका संक्रमितहरूको अथक प्रयत्नले पनि हाम्रो नेपाली समाज विभाजित छैन | काठमांडूका नेवारहरूले काठमांडूबाट बाहिरका सबै जातजातिलाई सहजरूपमा स्वीकार गरेको छ | तराईले पहाडीलाई तिरस्कार गरेको छैन |

असली जीवनमा हामी नेपालीहरू भाषा, जाति, क्षेत्र वा चालचलनका नाममा कत्ति पनि झगडा गर्दैनौं | हामी एकआपसका सभ्यताहरू स्वीकार गर्छौं | नेवारले बाहुनको डाह गर्दैन न् मधेसीले पहाडीसंग नै कुनै इर्ष्या गर्छ | हामी सर्वसामान्य नेपालीहरूले यो तत्थ्य धेरै पटक, धेरै ठाउँमा प्रमाणित गर्दै आएका छौँ | यो एकता-सहकार्यको डी.एन.ए हाम्रो आफ्नो हो |

मेरो खुला चुनौती छ : कुनै पनि अमेरिकन वा युरोपेलीहरूले नेपाली समाजलाई एकताको प्रशिक्षणको प्रस्ताव नगरे हुन्छ | नेपालको हरेक व्यक्ति "सहकार्य, सहअस्तित्व तथा एकता"का विषयमा प्राकृतिक रूपले विद्यावारिधि (PhD) गरेको छ | उनीहरूले एकताको ब्यबहारिक पीएचडी गर्न नेपाली एक जना साधारण नेपालीलाई समाते हुन्छ |

मिति २७/०५/२०१७ का दिन मैले र डा. निर्मलमणि अधिकारीको सहलेखन "राज्यराष्ट्र : सिद्धान्त र अवधारणा" नामक कितावको दोस्रो संस्करणको विमोचनको घटनालाई नै उदाहरणका रुपमा लिन सकिन्छ |

कितावको लेखन पहाडियाहरूले गरेका थियौं | कितावको छपाई भक्तपुरका रैथाने नेवारहरूले गरे भने किताव छपाईको आर्थिक प्रवन्ध मधेसीबाट गरियो | एस्तो सहकार्य तथा सहअस्तित्वको ब्यबहारिक अभ्यास गरिरहेका नेपालीहरूलाई उनीहरू देखिसहेका छैनन् |

कार्यक्रमका एकजना बक्ता राजनैतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले टिप्पणी गरेका थिए "मैले स्वीट्जरल्याण्डमा जर्मनभाषी स्वीस र फ्रेन्चभाषी स्वीसहरू बीच ठूलो घृणा देखें | यी दूबैजातिहरू एउटाको बाहुल्यता रहेको ठाउँमा रात विताउने कल्पना पनि गर्न सक्दैनन् |"

तिनै आएर नेपालीहरूलाई "एकता,सहकार्य तथा सहअस्तित्वको शिक्षा दिनु एउटा ठूलो दुर्घटना मात्र हो | यो दुर्घटनाका मतियाररू जनता होइन तिनका नेताहरू बनेका छन् | जनता सहअस्तित्व, सहकार्यका अनुभवी छन्, नेता र तथाकथित बुद्धिजीवीहरू त्यो अस्तित्वभित्र विभाजनका बीऊ रोपेर आफ्नो ब्युजिनेस गर्न चाहन्छ |

त्यसैले, हामी नेपालीहरूले आफ्नो प्राकृतिक विज्ञताको महत्वलाई चिन्नुपर्छ | सहअस्तित्व तथा सहकार्यको आफ्नो प्राचीन पद्यतिमा कायम रहनुपर्छ | उनीहरूले सुनुन् : हामी एक छौँ, हाम्रो सहकार्य र सहअस्तित्वको अभ्यास बेजोड छ | तिमीहरू विभाजनका वीऊ छर्नमा विज्ञ छौँ भने हामी एकता तथा सहअस्तित्त्वको बीऊका लागि प्रतिबद्ध छौँ |

तिम्रो राष्ट्रराज्य (जातीय राज्य), घृणामा आधारित पहिचानवाद र सुरक्षाका नाममा मानवीय अस्तित्व नाश गर्ने विकासको अवधारणा तिमीसंगे राख | हामीसंग हाम्रो आफ्नो रैथाने राज्यराष्ट्र, प्रेम र सहकार्यमा आधारित पहिचानवाद तथा सबैको कल्याणकारी चिन्तनको आधारमा विज्ञानको विकासका सिद्धान्त हामीसंग छन् |

हाम्रो सहअस्तित्व, सहकार्य तथा विकासको यात्रा हामी आफै गर्न सक्षम छौँ | अव तिम्रो घृणावादी पहिचान तथा राष्ट्रियताको अधोगतिका दिन आरम्भ भए | हामी अव आफ्नै जरोकिलोमा उभिएर, छरिएर कम गर्न समर्थ छौँ | हामी बीचका गुनासाहरू सुल्झाउने छौँ तर "पहिचानवादको महत्व मतदाताले बुझ्न सकेनन्" भन्दै जनतको तिरस्कार गर्ने घृणावादको यो देशबाट अवशान हुनैपर्छ |

हाम्रा सर्वसाधारण जनता पनि सहअस्तित्वको ब्यबहारमा पीएचडी छन् | जात र भाषालाई नै राष्ट्र ठान्ने विभाजनकारी चिन्तनको विष छर्नेहरूलाई देशले बहिष्कार गरेको छ | अवका दिनमा उनीहरू "एकादेशका राजा"का रूपमा याद गरिनेछन् | यो गर्न हामी सक्छौं, अवको युग नेपालबाट आरम्भ हुन्छ |

कोपगृह

कोपगृह : प्रथम मानसिक स्वास्थ्य आरोग्य केन्द्र

नेपालमा मनोबैज्ञानिक समस्याहरूको समाधान गर्न उपचारात्मक प्रक्रियाको आरम्भ संस्कृतको सबैभन्दा पुरानो साहित्य "बाल्मिकी रामायण"मा उल्लेख छ | महर्षि बाल्मिकी प्राचीन रामायण अर्थात् रामकथाका प्रथम लेखक हुन् |

बाल्मिकी रामायणको २३ सौं सर्गमा कोपगृहको वर्णन आएको छ | जहाँ राजा दशरथसंग रिसाएकी रानी कैकयीले कोप-भवनमा प्रवेश गर्छिन् र आफ्नो इच्छा राजा दशरथ लयायत राजमहलका व्यक्तिहरूलाई जनाउ दिन्छिन् | त्यसपछिको कथा हामी धेरैजसो नेपालीहरूलाई थाहा छ | दशरथले रामलाई बनवास पठाउँछन् |

कैकयीको व्यवहारलाई नेपाली समाजले नकारात्मक रूपमा लिन्छ | यद्यपि आफ्नो मानसिक समस्या स्वयम् समाधान गर्न नसक्ने देखेपछि कैकयीले कोपगृहमा प्रवेश गरेको राजा दशरथले समस्या समाधान गरिदिएपछि कैकयी सामान्यअवस्थामा फर्केको तत्थ्यलाई नकार्न सकिन्न |

विश्व-साहित्यमा रामायणको कोप-भवन सबैभन्दा प्राचीन मानसिक स्वास्थ्यगृह हो | भन्नलाई कोपगृह भनिए तापनि राजभवनका कुनै पनि सदस्यहरूले कोपगृहमा प्रवेश गरेर आफ्नो मानसिक अवस्थाको जनाऊ दिन सक्थ्यो |

खासगरी रानीहरूका लागि निर्माण गरिएको दरवार भित्रको "कोपगृह" राजकुमार, राजकुमारी तथा अन्य राजकीय सदस्यहरूले आफ्नो रीस, घृणा, चाहना वा आफ्ना मांगहरू पुरा गराउन प्रयोग गर्थे |

नेपालको बाल्मिकी आश्रममा बसेर महर्षि बाल्मिकीले रामायण लेखेका थिए भन्ने विषयमा कुनै द्विविधा रहनु हुँदैन | राजा राम र उनकी धर्मपत्नी सीताको सम्मानमा लेखिएको यो प्रथम साहित्य निसन्देह देवभूमि नेपालको विश्वका लागि देन हो भने कोपगृहका रूपमा विश्वको पहिलो मानसिक आरोग्य केन्द्रको परिकल्पना र प्रयोग पनि नेपालबाटै भएको हो भन्ने तत्थ्य प्रमाणित हुन्छ |

उपरोक्त विवरणबाट के सिद्ध हुन्छ भने जुन परामर्श विधिको खोजका बीऊहरू नेपालमा धेरै प्राचीन समय मै परिसकेको थियो भन्न धक मान्नु पर्ने अवस्था रहन्न |

वैदिक रैथाने क्लोनिग

वैदिक रैथाने क्लोनिग : के बैज्ञानिकहरूसंग जवाफ छ ?
श्रीमद्भागवतको चौथो स्कन्धमा राजा पृथुको प्रसंग छ | उनी सामान्य विधिबाट जन्मिएका होइनन् | पृथुभन्दा पहिलेका राजा बेन थिए | प्रजाले विद्रोह गरेपछि ती मारिए तर तिनका कुनै सन्तान थिएनन् |
पछि ऋषिहरूले बेनको मृत शरीरबाट आयुर्वेद विधि प्रयोग गरेर तीनवटा बालबालिकाको रचना गरे | पहिलो विधिमा एकजना कालो वर्ण भएका बालक जन्मिए ती निषाद भनिए |
दोस्रोपटकको प्रयासमा एक जना बालक र अर्की बालिकाको निर्माण भयो जसलाई पृथु र अर्चीको नामले जानिन्छ |
असलमा, क्लोनिंग विधिको आधुनिक परिचर्चा १९६६मा आरम्भ भए पनि १९९६ मा पहिलो भेडाको क्लोनिग डोलीको निर्माण भएको थियो र पछि नोभेम्बर १९९८ मा मान्छेको टिस्युबाट क्लोनिक सफल भए पनि निर्माण गर्न भने बन्देज गरियो |
१९९६ देखि अहिलेसम्म विकसित भएका क्लोनिग विधिहरूमा (पशु होस् वा मान्छे) दूबैलाई मान्छेको गर्भासय अनिवार्य देखिएको छ | तर पृथुको केसमा कसैको गर्भासय प्रयोग भएको छैन |
लाखौंवर्ष पहिलेको यो कथा काल्पनिक हुन सक्दैन किनभने ब्राहमणहरूको विद्रोहमा बेनलाई मार्न पनि हथियारको प्रयोग भएको छैन | केवल हुँ बीजको प्रयोग भएको छ | बोलेर मान्छे मार्न सक्ने विकसित समाजका लागि क्लोनिग विधि नौलो हुँदैन |
वर्तमान क्लोनिंग विधिमा (SCNT) बैज्ञानिकहरूले शरीरको एउटा कुनै भागबाट मासुको तन्तु लिन्छन् र त्यस तन्तुमा रहेको डी एन ए मा रहेका गुणसूत्रहरूलाई ल्यावमा विकसित गर्छन् | त्यसपछि त्यो गुणसूत्र कुनै जीवित व्यक्तिको गर्भासयमा स्थापित गरिन्छ |
अन्तत: अहिलेको प्रविधि मान्छेको जीवित प्राणीको गर्भासयमै आश्रित रहेको छ | तर त्यस बखत जीवित गर्भासय विना पनि तीनतीनवटा सन्तानहरू निर्माण गरिएको र ती लामो समयसम्म जीवित रहेको प्रमाण भागवतले स्थापित गरेको छ |
मरेको मान्छेको शरीरबाट कुनै जीवित बस्तुको जन्म हुनै सक्दैन | भागवतमा स्पस्टसंग भनिएको छ बेनको श्रीमती सुनिथाले उनको शरीरलाई बैज्ञानिक विधि प्रयोग गरेर नसड्ने राखेकी थिइन् |
ऋषिहरूले सुरक्षित शरीर मन्थन गरेर तीनबटा बालबालिका निर्मित गरे भन्नुको अर्थ हो : प्राचीन वैदिक संस्कृतिमा क्लोनिंग गरेर बालबालिकाहरू जन्माउने विधि विकसित अवस्थामा थियो |
ऋषिमुनिहरूले क्लोनिंग विधिका माध्यमबाट नै (कुनैको गर्भासय प्रयोग नगरी, मन्थन अर्थात् ल्याव मै) तीनवटा स्वस्थ्य बालबालिका बनाए |
वैदिक साहित्यमा क्लोनिग पृथुमात्र एक्लो उदाहरण होइन | पद्मपुराणमा रक्तबीजको प्रसंग पनि रोचक छ | देवीले अस्त्र प्रहार गर्दा बग्ने रगतबाट नै ठ्याक्कै उस्तै रक्तबीजहरू जन्मेको कथा चण्डीमा आउँछ |
भागवतको १० सौ स्कन्धमा ब्रह्माले कृष्णका साथीहरुसंग गाईबस्तुहरू चोरेपछि पुन: कृष्णले आफ्नो शक्तिको प्रयोग गरेर क्लोनहरू निर्माण गरेका छन् | तर यो कथाको तुलनामा राजा पृथुको प्रसंग निकै खदिलो छ |
यो वैदिक रैथाने विधि कतिसम्म सफल थियो भन्ने कुराको प्रमाण ती मध्ये पृथु-अर्ची राजारानी बनेर लामो समयसम्म शासन गरे भने दोस्रा निषाद पनि कविलाका राजा नै बने |
यो कथा पढेर मुख खुम्च्याउनु पर्दैन बरू विज्ञानको विकासमा हाम्रा ऋषिमुनिको पनि योगदान रहेछ भन्ने ठानेर त्यो प्रविधि खोज्नतिर लाग्नुपर्छ | पश्चिमाहरूलाई सबै विज्ञानको ठेकेदार मान्नु हाम्रो बौद्धिक दिवालीयापन हो, पिच्छ्लाग्गुपन हो |
कथा त्यसै बन्दैनन् | कथाको स्रोत समाज हुन्छ र तत्कालीन समाजमा टिस्यु कल्चर विधि प्रचलनमा रहेको हुनाले नै प्रिथुको कथा बनेको हो |
गुरुकुलमा हामीले यो रैथाने पद्यतिको पुन: खोज गर्न विद्यार्थीहरूलाई उत्प्रेरित गर्नेछौँ |
प्रतिक्रियाका लागि स्वागत छ

Wednesday, March 29, 2017

प्रथम नेपाली दार्शनिक महर्षि कपिल

प्रथम नेपाली दार्शनिक महर्षि कपि
महर्षि कपिलको जन्म ब्रहमपुत्र कर्दम र देवहुतिबाट नेपालको कपिलवस्तुमा भएको हो | श्रीमद्भागवतमा कपिल जन्मको प्रसंगमा जुन प्राकृतिक परिवेशको वर्णन भएको छ त्यस्तो परिवेश पहाड र तराईको संगमस्थलमा मात्र सम्भव हुन्छ |

महर्षि कपिल सांख्यदर्शनका प्रणेता हुन् | आफ्ना पिताले संन्यास ग्रहण गरेपछि कपिलले आफ्नी आमा देवहुतिका लागि सांख्यदर्शनको वर्णन गरेका हुन् | नेपाली समाजमा आमावुवाहरूले आफ्नो विद्वान छोराहरूलाई चौकामा बसालेर श्रीमद्भागवतको कथा सुन्ने परम्परा आज पनि विद्यमान छ | देवहुतिले कपिलवाट सांख्यदर्शनको उपदेश सुन्नुले नेपाली समाजको प्रतिनिधित्व गर्छ |

आजभोली बुद्धसंग जोडेर लुम्विनी तथा कपिलवस्तुको निकै चर्चा हुने गरेको छ | नेपाली विद्वानहरू र राजनैतिक दरिद्रताका कारण कपिलवस्तु र बुद्धको चर्चा गर्दा कपिलको चर्चा नगरिनु दूर्भाग्य हो | जवकि बुद्ध आफैले पनि उपदेशका सन्दर्भमा सांख्य-चिन्तन परम्पराको आदरपुर्वक नाम लिएका छन् |

महर्षि कपिलको दार्शनिक चिन्तन बस्तुवादी, बहुतत्ववादी, विकासवादी, सत्कार्यवादी तथा दुख उन्मुक्तिको उदेश्यसंग विस्तारित भएको छ | चेतन साक्षीका रूपमा ईश्वरको अस्तित्व स्वीकार गरिए तापनि विकास र लय प्रक्रियामा ईश्वरको कुनै आवस्यकता देखिन्न | यही भएर होला, सांख्यकारिकाका लेखक ईश्वर कृष्ण (ई.पू. २००) सांख्य प्रक्रियामा ईश्वरको कल्पना नै असान्दर्भिक भएकोले त्यसको अस्तित्व नै अस्वीकार गरेका छन् | सांख्यकारिका महर्षि कपिलको कृति सांख्य सूत्रको भाष्य हो |  

बहुतत्ववादी सांख्यदर्शनको प्रभाव त्यसपछिका समस्त दार्शनिक धाराहरूमा देखिन्छ | आचार्य शङ्कर, रामानुज, निम्वार्कआदि वेदान्ती, बौद्ध, न्यायिक, मीमांसा तथा अन्य प्रचलित तथा लुप्तप्राय (पाशुपत दर्शन, शाक्त दर्शन) भक्तिधाराआदिमा प्रसस्त परेको छ |   

महर्षि कपिलले संसारको ब्याख्या गर्दै यसलाई प्राकृतिक तत्वहरूको विकासका रूपमा पहिचान गरेका छन् | उनका अनुसार सम्पूर्ण संसारको विकास २३ बटा तत्वहरूले भएको हो जसमा पांचबाट मौलिक द्रब्य छन् भने बाँकि १८ बटा मानसिक तत्व हुन् | प्रकृति, महत्, अहंकार, पन्च ज्ञानेन्द्रीय, पन्च तन्मात्र, पन्च महाभूत तथा पन्च कर्मेन्द्रीय नै संसार हो | सत्व, रज र तमोगुणको आन्तरिक सङ्घर्षले विकासको आरम्भ हुन्छ | सत्व, रज र तमोगुण संघर्षहिन अवस्था नै प्रकृति हो |

मान्छेको व्यक्तित्व, उसको ब्यबहार तथा सोच सत्व, रज र तमोगुणहरूको मात्रात्मक संघर्षले निर्मित हुन्छ | उदाहरणका लागि तमोगुणको प्रधानता भएको मान्छेको व्यक्तित्व पापी हुन्छ, बासी तथा सामाजिकरुपले निन्दित गरेका खानेकुरामा रुची हुन्छ |

प्रकृतिको विकास उदेश्यरहित छैन | प्रकृतिको विकास चेतनाको सन्तोषका लागि हुन्छ | असलमा, मानिसमा रहेको चेतनाले अनादि ईश्वरको प्रतिनिधित्व गर्छ | आत्माले मनुष्यको शरीरमा रहेर साक्षीका रूपमा प्राकृतिक घटनाहरूको उपभोग गर्छ |

महर्षि कपिलका अनुसार शुद्ध चेतना प्रकृतिको संसर्गमा परेर प्राकृतिक विषयहरू काम, क्रोध, लोभ. मोहआदिमा बाँधिदै जान्छ | एस्तो बन्धनले चेतनामा सुखदेखको वेदना जन्माउछ | तर सुखको वेदना भन्दा चेतनालाई दुखको वेदनाले अधिक प्रभावित पार्छ |

महर्षि कपिल संसारका पहिलो मनोवैज्ञानिक पनि हुन् | युरोपेली विद्वान् ...मनका तीनबटा स्तर : अचेतन, अर्धचेतन तथा चेतनाको ब्याख्या गरेको ३००० हजार वर्षपहिले नै कपिले आध्यात्मिक, मानसिक र शारीरिक दुखका विषयमा वर्णन गरेका थिए | मानसिकरूपमा उत्पन्न हुने वेदनाहरू आध्यात्मिक दुख हुन् | दैव वा भैपरी आउने दुखहरू देवी हुन्छन् र यी दुवै र प्राकृतिक कारणले उत्पन्न हुने दुखहरू शारीरिक हुन्छ | आजका मनोवैज्ञानिकहरूले खोज गरेझैं (मास्लो) चेतनाका विभिन्नस्तर अनुसार सुख र दुखको अनुभूति पनि वेग्लै हुन्छ |

मान्छेको लक्ष प्राकृतिक बन्धनबाट (सुख तथा दुख) मुक्ति प्राप्त गर्नु हो | सत्व, रजस तथा तामसी प्रकृतिको रमझमबाट मुक्ति प्राप्त गर्नका लागि प्रकृतिको विकास तथा प्रलयको विषयमा तत्थ्यात्म्क ज्ञान हुनुपर्छ | प्रकृतिको विकास तथा प्रलय दुवै भैनै रहन्छन् | यस्तो विकासले कुनै पनि अस्तित्वको लोप हुँदैन तर रुपान्तरण हुन्छ | आजको विज्ञानले भनेझैं विकास प्रकृतिको सदपरिणाम हो | कुनै पनि बस्तु शून्यबाट उत्पन्न हुँदैन |

महर्षि कपिल विश्वका प्रथम बैज्ञानिक हुन् जसले विश्वको विकासवादी ब्याख्या प्रस्तुत गरेका झन् | यिनका अनुसार कुनै पनि बस्तुको विकास हुनु र लोप हुनु प्राकृतिक कुरा हो | कुनै पनि बस्तुको अस्तित्व सधैंका लागि शून्य हुनै सक्दैन | रुपान्तरणलाई शून्यता ठान्नु अनुचित हो |   


हुन त कुनै पनि प्राचीन ऋषिमुनि वा विचारकहरूलाई नेपाली वा भारतीय भन्नु उनको अवमूल्यन हो तर भारतीय विद्वान र भारतबाट प्रभावित अन्य विद्वानहरूले “भारतीय अथवा इन्डियन” शब्द प्रयोग गरिरहेको सन्दर्भमा वर्तमान राजनैतिक नेपालभित्र जन्मेका प्राचीन विचारकहरूलाई “नेपाली दार्शनिक” भन्नुनै उचित हुन्छ | यद्यपि मेरो यो उठान धेरै भारतीय विद्वानहरूको मनमा केही चिसो पस्ने छ | यस अर्थमा, नि:सन्देह महर्षि कपिल विशुद्ध नेपाली प्रथम दार्शनिक हुन् | त्यैपनि विद्वानहरूले मैले राखेको दावीलाई प्रमाणित गर्ने काम भने थाती राख्नु हुँदैन | स: प्रमाण उपस्थित भएका दावीहरूलाई अस्वीकार गर्न मिल्दैन र गर्नु पनि हुँदैन |  

Sunday, March 19, 2017

रैथानेतन्त्र : राजनैतिक दर्शनको विकल्प

राजनैतिक दर्शनले राष्ट्रतन्त्र सृजना गर्छ | राज्यतन्त्रको प्रमुख कार्य अनुसाशन र वदलिँदो पृष्टभूमिमा करका माध्यमबाट नहुने र नसक्नेलाई सुविधा उपलब्ध गराउनु हो |

तर अहिले विश्वमा प्रचलित राजनैतिकतन्त्रको दार्शनिक पृष्ठभूमि धूमिल, शिथिल र असफल भैसकेका छन् | अमेरिकी तथा ब्रिटेनको “ठेक्का”मा लादिएका प्रजातन्त्रहरू भष्ट्राचार तथा राजनैतिक व्यभिचारका जीवित कारखाना बनेका छन् | भारतीय, नेपाली, ब्राजील, कतिपय युरोपेली, अफ्रिकी र मध्यपूर्वका प्रजातान्त्रिक वा लोकतंत्रीकरणको आन्दोलनका नाममा मच्चाईएको मानवीय तथा प्रकृतिको विनाशले प्रजातान्त्रिक राजनैतिक दर्शन असफल छन् भन्ने घामझैँ स्पस्ट छ |

समतामूलक समाजको ग्यारेन्टी गरेर कल्याणकारी राष्ट्रको स्थापना गर्ने लक्ष लिएको साम्यवादी चिन्तन पनि असफल भएको छ | सबै मान्छेको मानसिक क्षमता, अभिरुचि र भिन्नताको अवज्ञा गरेर एकात्मक राष्ट्र सम्भव हुँदैन भन्ने नबुझ्दा असफल भए | नेपाल पनि यस्तै राजनैतिक आस्थाहरूको भुमरीमा फंसेको बुझ्न गाह्रो छैन |

नेपाली राजतन्त्रले पश्चिमा जलप लिएपछि यसले आफ्नो रैथाने गुण गुमाएको छ | संसारभरीका राजतन्त्रमा बाइबल वा कुरानको जलप चढेको छ | जव राजतन्त्रहरू “सेवक धर्म विर्सेर जलपवादी राजनैतिक ब्यबस्थाको नेतृत्व गर्न थाल्छन्, ती असान्दर्भिक हुन्छन् | बंगलादेश, पाकिस्तान, इन्डोनेसिया र कतिपय देशका मुस्लिम जनताहरू पश्चिमा जलपको राजतन्त्रका राजनैतिक उदेश्यका कारण रुग्ण छन् | राजाहरू सुनको महलमा बस्छन्, जनताहरू धर्मयुद्धका लागि आफ्नो जीवन दिन्छन् |
विकसित राष्ट्रहरूले दण्डब्यबस्थापन गरेर (नागरिकलाई अत्यधिक दण्ड-सजाय र जरिवाना डरले दवाएर) यस्ता सुविधाहरू सृजित र कार्यान्वयन गरेका छन् | नेपालजस्ता गरिव राष्ट्रहरू तिनकै नक्कल गरेर "विकसित" बन्ने सपना देखिरहेका छन् |

प्रजातन्त्र, लोक तन्त्र गणतन्त्र, राजतन्त्र आदि राजनैतिक विचार र ब्यबस्थाहरू विना विचार दवाव, लोभ, अलपत्र ज्ञानका आधारमा विना तयारी जनतामा थोपरिंदा आफ्नै रैथाने आधारमा विकासको खुड्किलो उक्लिरहेका राष्ट्रहरू धरासायी भइरहेका छन् | इराक, सिरिया, मिश्र, लिविया, केन्या, सेरियालोन आदि यसका उदाहरण हुन् |

निर्लज्जतापूर्वक नक्कल गरेर जनतामा थोपरिएका राजनैतिक चिन्तनहरू असफल नै हुन्छन् भन्ने तत्थ्य अव प्रमाणित गर्नु पर्दैन | वर्तमान नेपालको राजनैतिक ब्यबस्था पनि अर्धसत्य नै हो किनभने यो पश्चिमा राजनैतिक दर्शनको निर्लज्ज नक्कल र नक्कल गर्नेहरूमा नक्कल कार्यान्वन गर्न दिएको निर्लज्ज दवाव हो |

सबैथोक स्थानीय वा रैथाने हुनुपर्छ भनेर रैथानेतन्त्रको वकालत गर्नेहरूले परदेशी तन्त्रहरूको नक्कल लाद्न किन मर्रिहत्ते गरिहेका छन् ? बुझ्नेले बुझेका छन् | नबुझ्नेहरूलाई विचरा बाहेक भन्नु केही छैन |

मैले भनि नरहनु पर्ला नेपालको वर्तमान "गणतन्त्र" पनि पश्चिमा राजनैतिक चिन्तनकै जूठो खान्की हो | रैथानेतन्त्रको सपना देखाउनेहरूले विदेशी राजनैतिक दर्शनमा आधारित राज्यतन्त्रको नक्कल लादेर कसरी रैथाने तन्त्रको विकास गर्न सक्छन् ? तार्किक उत्तर कसैसंग छैन |

प्लेटोको रिपब्लिकलाई आफ्नो मार्गदर्शक मान्नेहरूले "गणतन्त्र" कुलीनह्र्रूका लागि हुन्छ र दासहरूले गणतन्त्र या लोकतन्त्रमा मानवाधिकार प्रयोग गर्ने ब्यबस्था हुँदैन भन्ने तत्थ्य लुकाउने गर्छन् |

जव हामी पूर्णत: रैथानेतन्त्रको (राज्यराष्ट्र) स्थानीय राष्ट्रब्यबस्थाको विकल्प विकल्प प्रस्तुत गर्छौं, यसका लागि यिनीहरू र उनीहरू दुवै तयार हुँदैनन् | यी दूबैलाई थाहा छ यदि रैथानेतन्त्र (राज्यराष्ट्र) कार्यान्वन भयो भने आफ्नो खाइपाई आएको सुविधाको अन्त्य हुनेछ | अर्को शब्दमा नक्कली तन्त्रको हालीमुहाली समाप्त भएर सक्कली तन्त्रको सक्कली ब्यबस्था नै लागु हुनेछ |

रैथानेतन्त्र (राज्यराष्ट्र) एउटा रैथाने राजनैतिक दार्शनिक चिन्तन हो जसले रैथानेहरूलाई सम्पूर्ण रूपमा शक्तिशाली वनाउँछ | रैथाने पहिचान, रैथाने भाषाहरू, रैथाने सीपहरूको विकास गरेर विकासको वैश्विक अवस्थामा उक्लिन्छ |

नक्कली र अर्धसत्यमा आधारित लादिएको राज्यब्यबस्थाका माध्यमबाट कल्याणकारी राज्यव्यवस्था कायम हुनै नसक्ने सत्य हामी सामु छ | रैथानेतन्त्र (राज्यराष्ट्र)को विकल्प रोजेर "सर्वजन सुखाय, सर्वजन हिताय"को राज्यब्यबस्थाको विकल्प रोज्ने कि नक्कली यथास्थितिवादको सकसमा स्वास फेर्ने ? अव रोज्ने बखत आएको छ |

Friday, March 17, 2017

शालीग्रामको सुख

सन् २०१६ को अप्रिल महिनाको अन्त्यतिर देवघाटमा शालीग्राम पौडेलसंग भेट भयो | उनको उमेर ५५ तिर होला | मेरो र उनको भेट चिया-पसलमा भएको थियो | उनी चिया पसलेसंग निकै निराशाजनक कुरा गरिरहेका थिए | धानचामलझैँ भएको उनको दाह्रीजुँगा र बढेको कपालले उनी आफ्नो उमेर भन्दा बूढा देखिन्थे |

उनका कुरा सुनेर मैले आफुलाई रोक्न सकिन | मैले भनें – साच्चिकै तपाईं निकै दुखी हुनुहुँदो रहेछ | संसारमा कुन मान्छे नै सुखी होला र ! त्यैपनि हरेक मान्छेसंग सुखी जीवनका लागि धेरै थोक हुन्छन् | तपाईंले ती सम्पत्ति खोज्न त विर्सनु भएन नि ?”

“सत्ते रामराम, मैले यो उमेरमा आएर एस्तो दिन देख्नुपर्ला भन्ने सोचेको पनि थिइन | मसंग जीवनका लागि केही पनि आधार रहेन | मसंग जीवन बाहेक गुमाउन केही वांकी छैन | लौ न, काम गर्छु भन्दा कसैले पत्याउन्नन्, आफै काम गरौँ भने उमेरले नेटो काटिसक्यो, मेरो बाँच्ने रहर नै सकियो” – उनले आफ्नो रामकहानी सुनाउंदै भने |

“मलाई विश्वास छ, तपाईंसंग पनि तपाईंको मनलाई सुख दिन सक्ने, केही अमुल्य सम्पत्ति छन्, ती सम्पत्तिको बसेर लिखितरुपमा नै खोज्ने प्रयत्न गरौँ न त एकपटक !” - मैले प्रस्ताव राखें | उनी अलि गह्रौं मनसंग तयार भए | मैले आफ्नो झोलाबाट डायरी निकालेर पाना खोलें |

मैले त्यस बखत उनीसंग भए/गरेका कुराहरू यसरी टिपोट गरेको थिए | त्यो लिखोट आज तपाईंहरूका लागि पस्कन्दै छु |

“तपाईंको स्वास्थ्य कस्तो छ ?” - मैले उनीसंग पहिलो जिज्ञासा राखें |

“भगवानको कृपाले आजसम्म कुनै ठूलो रोग लागेको छैन | कहिलेकाहीं रुघाखोकी लाग्नु त स्वाभाविक हो | खुवै भोक लाग्छ | जे-जस्तो खाए पनि सजिलैसँग पच्दछ | अलि चांडै थकाई लाग्छ | यी चौध-पन्ध्र किलोमिटर हिडेरै यहाँ आएको छु” – उनले भने |

“ए, त्यसो भए तपाईं रोगी हुनहुन्न | भोक लाग्छ | खाएको कुरा सजिलै पच्दछ | आइपरे शारीरिक श्रम गर्न पनि असजिलो हुँदैन, होइन त ?” – मैले उनको कुरा नै पुन: दोहोर्याएँ |

“हो, मैले यसै भनेको हुँ” – उनले मैले बुझेको र उनके भनेको कुरा प्रमाणित गरे | कुरा फेरी अगाडी बढ्यो |

“अनि छोरा छोरी नि ?” – मैले पुन: जिज्ञासा राखें |

“छोराछोरी ? हाम्री एउटी छोरी छ | उ विवाह गरेर आफ्नो घर गइ | तर हामीलाई असाध्ये माया गर्छे | ज्वाई पनि असल नै हुनुहुन्छ | दुवै जना हाम्रो घर आइरहन्छन् | फोन गरिरहन्छन् | जेजस्तो समस्या भए पनि तुरुन्त हामीसंग भन्नु भन्ने सधैं उनीहरूको आग्रह रहन्छ” - शालीग्रामले भने |

“ए, छोराज्वाई त निकै मायालु रहेछन् | अर्काको घरमा गएका छोरीह्र्रूले माया/हेरचाह गरेको कम नै देखिन्छ | तपाईंको विषयमा उहाँहरू निकै मायालु हुनुहुँदो रहेछ, होइन र ?” मैले पुन: उनले बोलेका कुराहरू रुजु गरें | उनी सहमत भए |

“अनि छिमेकी कस्ता छन् नि ?” - मैले आफ्नो कुरा अगाडी बढाए |

“छिमेकीहरूको मामिलामा म भाग्यमानी नै ठान्छु आफूलाई | म अहिले घोर आर्थिक संकटमा छु | छिमेकीहरूले मेरो परिस्थिति बुझेका छन् | पसलेले पनि सक्दो उधारो दिएकै छन् | छोरीको विवाह पनि छिमेकीहरूले मिलेर गरिदिएका हुन् | केही नराम्रा भए पनि छिमेकीहरू सहयोगी नै छन्” – शालीग्रामले भने |

“ए छिमेकीह्र्रू निकै सहयोगी रहेछन् | छोरीको विवाहका लागि समेत उहाँहरूले तपाईंको परिवारलाई सहयोग गर्नुभएको रहेछ | होइन त ?” - मैले पुन: सोधें | उनले टाउको हल्लाएर सहमति जनाए |

अनि, खेतिवारी अथवा पेशा के छ ?” - मैले सीधा प्रश्न गरें |

“खेतीपाती थियो तर बूढीको उपचार गर्दा बेच्नु पर्यो, अहिले छैन | बाहुनको छोरो भएकोले कहिलेकाहीं पूजाआजाका लागि बोलाउँछन् | चामल, लुगाफाटोआदि त्यहींबाट चल्छ | कहिलेकाहीं मेलापर्म गरेर दूईपैसा आउँछ | आफ्नै सानो घर छ | भाडा तिर्नु पर्दैन | तर सधैं कुनै ठूलो रोग लाग्छ कि भनेर त्रास रहन्छ” – उनले आफ्नो कुरा भने |

“ए धर्मपत्नीको रोगको कारणले खेत बेच्नु परेछ | पूजाआजा गरेर घरको गर्जो टार्न सहयोग मिल्दो रहेछ | आफ्नै घर भएकोले भाडा तिर्नु नपर्ने हुँदा थोरै भए पनि गोजीमा पैसो हुँदोरहेछ” – मैले पुन: उनकै कुरा सुनिश्चित गर्न चाहें | उनले पुन: टाउको हल्लाएर सहमति जनाए |

“तपाईंको आफ्नै व्यक्तित्वको विषयमा गाउँले तथा समाजको कस्तो बुझाई छ जस्तो लाग्छ ?” -मेरो पुन: अर्को प्रश्न आयो |

“निर्धन भए पनि अर्कालाई ठग्ने, झूटो बोल्ने, बदमासी गर्ने, रक्सी-जांड खाएर असामाजिक काम गर्ने मेरो स्वभाव छैन | आजसम्म मुद्दामामिलामा परेको छैन | मलाई “सोझो बाहुन” भनेर विश्वास गर्छन् | सामाजिक जमघटमा मेरो उपस्थिति राम्रै हुन्छ” – उनले भने |

“अहा, आर्थिकस्तर राम्रो नभए पनि सामाजिकरूपमा सबैले तपाईंलाई सम्मान नै गर्दा रहेछन् | नराम्रो बानी नहुनाले र पूजाआजा गराउने भएकोले “सोझो बाहुन” भन्दा रहेछन् – होइन त ?” -उनले सहजरूपमा “हो” भनेर स्वीकृति दिए |

“धर्मपत्नीका विषयमा तपाईंको के छ नि भनाई ?” – मैले पुन: प्रश्न तेर्स्याएँ |

“हाम्रो विवाह भएको ३५ वर्ष पुगे | ऊ गौझैं छ | सुखदुखमा उसले कहिल्यै पनि साथ छोडिन | त्यस्तो ठूलो रोग लगेर पनि उसले हिम्मत हारेकी छैन | उसको आत्मविश्वासले नै म बाँचेको छु | उ मायालु छ | दयालु छ | वरू म नै उसलाई दुख दिन्छु, घर छोडेर” – उनी बोल्दाबोल्दै चुप्प लागेर मुन्टो निहुराए |

“ए, भाउजुले त तपाईंलाई असाध्य माया गर्नुहुँदो रहेछ | विवाह भएको तीन चार महिना मै पारचुके गर्नेहरू छन् | तपाईंहरूको बैवाहिक जीवन ३५ वर्षसम्म चलिनै रहेको छ | तपाईं पनि उत्तिकै माया गर्नुहुन्छ जति भाउजुले गर्नुहुन्छ | उहाँले तपाईंको कहिले पनि मन दुखाउनु भएन तर केहीलेकाहीं तपाईंले भने अवश्य उहाँको मन दुखाउनु भयो, कि कसो ?” - मैले आफ्नो बुझाई थपें | उनले पुन: टाउको हल्लाएर आफ्नो सहमति दिए |

“शालीग्रामजी मलाई तपाईंले मलाई भन्नु भएका कुरा यी हुन् होइन र ?” - मैले आफ्नो डायरीमा लेखेका वूँदाहरू पढ्न दिएँ | उहाँले यसरी पढ्नुभयो :

१. म निरोग छु, जे-जस्तो खाए पनि सजिलै पच्दछ |

२. मेरा माया गर्ने र सहयोग गर्न तम्तयार छोरीज्वाई हुनुहुन्छ |

३. सामाजिक रूपमा मेरो छवि एउटा असल मान्छेको छ |

४. मेरा छिमेकीहरू सहयोगी छन् |

५. मेरो आफ्नै घर छ | सानो कमाई पनि जोगिन्छ |

६. मेरी श्रीमती मायालु छन् |

यी वूँदा पढेपछि शालीग्राम पौडेलजी अचानक उठ्नु भयो र मसंग मेरो डायरीमा टिपोट गरेका बूँदाहरू अर्को कागजमा सार्न अनुरोध गर्नुभयो | मैले पनि उहाँले भनेका बूँदाहरू सारी दिएँ | उहाँ ती बूँदाहरू बोकेर हिड्नै लाग्दा मैले थपें -

“तपाईसंग भएका छ बटा सम्पत्ति एकै ठाउँ भएका कति मानिसहरू होलान् ? थोरें, असाध्यै थोरै | यदि एतिधेरै सम्पत्ति भएका मानिसह्र्रू निराश हुन्छन् भने साच्चिकै केही नहुने मान्छेहरू कसरी जीवन यापन गर्न सक्लान् ?

मेरो विचारमा, आर्थिकस्तर बाहेक तपाईंसंग धेरै टूलो र असल सम्पत्तिको भण्डार छ | “पैसा भएन” भन्ने एउटा हीनताबोध बाहेक तपाईंसंग धेरैसंग नभएको असली सम्पत्ति छ | निरोग शरीर, मायालु छोरी, सहयोगी छिमेकी, मुखको विद्या, शिर छोप्न आफ्नै घर, निष्कलंक जीवन र मायालु परिवार जिउनका लागि प्रयाप्त छन् |

हामीले आफ्नो वरिपरी छरिएर रहेका सम्पत्तिको खोज गर्नुपर्छ | खोजि गर्नेहरूले समुद्रको गहिराइबाट मोती निकाल्छन् | परिश्रम नगर्नेहरू बाहिर बसेर टाउको समातेर रोइरहन्छ |

असलमा, हामीले आफ्नो सोचाइ बदल्नुपर्छ | हेर्ने र बुझ्ने नजरियामा परिवर्तन ल्याउनुपर्छ | मृगले नाभीमा सुगन्धित कस्तुरी बोकेर, त्यसको स्रोत खोज्दै बाहिर दौडिन्छ | कहीं त्यसैगरी हामीले आफ्नो असली सम्पत्ति लुकाएर भूल त गरिहहेका छैनौं ?

अहिले शालीग्रामजी आफ्नो जीवनसंग खुसी हुनुहुन्छ र मलाई फोन गरेर वारम्वार धन्यवाद दिनुहुन्छ, अरूलाई सकारात्मक जीवनका लागि प्रेरणा दिने काम पनि गर्नुहुन्छ | उहाँले भन्ने सत्यनारायणको कथामा पनि “निराशाको अन्धकारबाट प्रकाशतिर, असत्यबाट सत्यतिर, अकर्मण्य जीवनबाट सक्रिय जीवनतिर” प्रेरणा भरिएको हुन्छ |
अन्त्यमा, यदि तपाईंलाई पनि आफ्नो जीवन सारहीन, दुखमय र निराशामय लाग्छ भने एउटा कागज - कलम लिएर आफु वरिपरी रहेका सकारात्मक कुराहरू खोज्नुहोस् | यसले तपाईंको जीवनलाई नया अर्थ दिने छ | जीवनले नया उर्जाप्राप्त गर्ने छ | तमसो मा ज्योतिर्मय – अर्थात् तपाईको जीवन निराशा, हीनताबोध तथा ग्लानीको भुमरीबाट सधैंका लागि बाहिर निस्कने छ | हामीले गुमाएको आत्मविश्वास पुन: प्राप्त गर्नेछौँ |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...