Saturday, March 23, 2024

दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता !

 दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता !

दर्शनशास्त्रको

एउटा हाँगा हो - तत्वशास्त्र | अंग्रेजीमा Metaphysics भन्ने गरिन्छ | तत्वशास्त्रका तीनबटा विभाग छन् : सृष्टिशास्त्र, ईश्वरशास्त्र र मनशास्त्र अर्थात् मनोविज्ञान | आज भोली मनोविज्ञानले आफुलाई दर्शनशास्त्रको अङ्ग मान्दैन तर मनशास्त्रको काम चाहिं चेतनाको अध्ययन गर्ने हुनाले दर्शनशास्त्र अन्तर्गत नै पर्छ |


सृष्टि शास्त्रमा ब्रह्माण्डको उत्पति, पृथ्वीको उत्पत्ति, जीव-निर्जीवको उत्पत्तिआदि विषयहरूको प्रमाणिक उत्तर खोज्ने प्रयत्न गरिन्छ | यो पनि मूलत: दुईभागमा विभाजित छ भौतिकवाद र चेतनावादी | भौतिकवादले विश्वलाई पूर्णतया प्राकृतिक घटना मान्छ भने चेतनावादीहरूले विश्वको रचना कुनै चेतनतत्वले गरेको ठान्छन् | सृष्टिशास्त्रका अनेकौं सिद्धान्तहरू छन् | नेपाल, भारत वा विश्वका सबै देश र कालमा यस वारे छलफल गरिएको छ | आजसम्म सर्वमान्य निर्णयमा पुगिएको छैन |

ईश्वरशास्त्र पनि सृष्टिशास्त्रकै सन्दर्भमा आएको उत्तर हो | मूलत: विश्वको रचनाकार परमतत्व हो र त्यो पूर्णचैतन्य, सर्वज्ञ, सर्वशक्तिमान र नियामक छ, त्यो परमेश्वर हो भन्ने तत्थ्यमा विश्वास गर्ने र यस सम्बन्धि सिद्धान्तहरूमा विश्वास गर्नेहरू ईश्वरवादी हुन्छन् | धेरैजसो धर्म र सम्प्रदायहरूले ईश्वरलाई सृष्टि, पालन र संहारको लागि जिम्मेदार मान्छन् | खासगरी, अंग्रेजीमा theology भनिने ईश्वरशास्त्रका प्रणेता सेमेंटिक रिलिजन (यहुदी, इसाई र मुस्लिम) हुन् | हिन्दुभित्र पनि अनेकौं सम्प्रदायहरूले एकेस्वर, द्वैतवाद तथा अनेकेश्वरवादमा विश्वास गर्छन् |

तेस्रो धार भनेको मनशास्त्र अर्थात् मनोविज्ञान हो | जसले आरम्भमा आत्माको खोजबाट आफ्नो काम आरम्भ गर्यो तर आजभोली भौतिकवादी धारमा पर्छ | चेतना, चेतनाको स्वरूप, ज्ञान, अनुभव, संज्ञान, भावना, सुखदुखजस्ता विषयहरूको कारण र त्यसले व्यक्तिमा देखिने प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरूको विश्लेषण गरेर चित्त ठीक भए/नभएको विचार गर्छ |

मैले दर्शनशास्त्रको तत्वमीमांसाका विषयमा चर्चा गरिरहंदा आज विश्व नास्तिकता दिवस हो | सेमेटिक (यहुदी, इसाई र मुस्लिम) धर्ममा ईश्वरको सर्व'सत्तावाद, उसका दूतहरूको प्रमाणिकता र अन्य ईश्वरको आदेशप्रति निर्विकल्प विश्वास गरिन्छ | यदि कुनै व्यक्तिले उपर्युक्त तीनबटा कुरामा विश्वास गर्दैन भने त्यो नास्तिक हुन्छ |

मेरो लागि नास्तिक हुनु र भौतिकवादी हुनु नितान्त फरक कुरा हो | भौतिकवादीका लागि ईश्वरजस्तो कुनै विषयवस्तुको अस्तित्व नहुने हुँदा, यस विषयमा चर्चा, परिचर्चा, प्रतिरोध वा समर्थन केही गरिन्न | जसले ईश्वरको अस्तित्वका पक्ष वा विपक्षमा तर्कवितर्क गर्छन् यस्ता व्यक्ति तथा समुदायले आफुलाई भौतिकवादी भन्न मिल्दैन | सम्भवत: अंग्रेजीको Atheist शब्दले "तिमीले मान्ने ईश्वरमा हामी विश्वास गर्दैनौ, हामी नास्तिक हौँ" भन्ने सम्मको अर्थ राख्छ |

-धेरैजसो पश्चिमा दार्शनिकहरू भौतिकवादी होइन नास्तिक छन् | भारतवर्ष र चीनमा आस्तिकता र नास्तिकता "ईश्वर वा उसका दूत, छोरा"संग संबद्ध विषय भन्दा नितान्त फरक छन् | हो, हिन्दुहरूमा अद्वैतवादी, द्वैतवादी, द्वैताद्वैतवादी, अचिन्त्यभेडाभेदवादी, शिवशक्तिवादी, ब्रह्मवादी सबै थरी ईश्वरवादीहरू छन् | तर ईश्वर नमान्नेहरूलाई यहाँ नास्तिक मानिन्न | वेदको प्रमाणिकता अस्वीकार गर्नेहरूलाई नास्तिक भनिन्छ | नस्तिको वेद: निन्दक अर्थात् वेदलाई नमान्ने नास्तिक हुन् भन्दै ईश्वर नमान्नेहरू नास्तिक होइन भनेर बचाऊ नै गरेको छ |

वैदिक दर्शनमा खाट्टी भौतिकवादी चार्वाकहरू हुन् | कार्लमार्क्सले आफुलाई कट्टर भौतिकवादी मानेका छन् तर उनको साहित्य धर्म र धार्मिकताको निन्दामा बढी केन्द्रीत छ | सबै बेथितिको दोष ईश्वर र धार्मिकतालाई दिने कार्लमार्क्सको द्वन्दात्मक भौतिकवाद निसन्देह प्रच्छन्न ईश्वरवादी अर्थात् नास्तिकवादी हो | विश्वमा ईश्वरवादी र धार्मिकताको विरोधमा जतिधेरै मार्क्सवादले बुद्धि र विवेक खर्चिएको छ, त्यति ईश्वरवादी आस्तिकहरूले खर्चिएका छैनन् |

संस्कृत व्याकरण अनुसार आस्तिकको अर्थ "परमतत्व छ" भन्ने तत्थ्यमा विश्वास गर्ने समूह पर्छ भने नास्तिक समूहमा "केही पनि छैन" भन्नेहरू पर्छन् | बौद्धहरूको महानिर्वाण र जैनहरूको कैवल्य असलमा वैदिक नास्तिकताको सही उदाहरण हो | वैदिकहरूका विचारमा भौतिक तत्वलाई परमतत्वका रूपमा स्वीकार गर्ने अर्थात् "अस्ति" भन्नेहरू आस्तिक नै हुन् |

आज "विश्व नास्तिकता" दिवसको प्रवर्धन गरिरहंदा तार्किक रूपमा नास्तिकहरूले धर्म, धार्मिकता तथा धर्मको प्रमुख खम्बा ईश्वरलाई (जैन र बौद्धले ईश्वरलाई मान्दैनन्) अस्वीकार गरेका हुन् कि आफुलाई भौतिकवादका पक्षमा उभ्याएका हुन् ? प्रष्ट पार्नु पर्छ, कोलिनजस्ता मानववादीले आफ्नो पुस्तक फिलोसफी अफ ह्युमनिज्ममा प्रष्ट पार्न सकेका छैनन् भने आफुलाई भौतिकवादी भन्ने मार्क्सवादीहरू ईश्वर र धार्मिकता विरोधी मानसिकताबाट माथि उठ्न सकेका छैनन् |

वैदिक दार्शनिकहरूले आस्तिकता र नास्तिकताका सवालमा अवलम्बन गरेका सिद्धान्तहरू तार्किक र व्याबहारिक रूपमा सङ्गत छन् | ईश्वरको अस्तित्वमा विश्वास गर्ने र नगर्ने दूवै "हिन्दू" रहन सक्छन् तर पुस्तकीय धर्ममानिने सेमेटिकहरूले पुस्तकको आदेश मान्नैपर्छ | भारतीय दर्शनमा भौतिकवादी आस्तिकहरूमा चार्वाकहरू (पृथ्वी, जल. आगो र बायुको अस्तित्वमा कुनै शङ्का गर्दैनन्) जमेका छन् भने धार्मिक नास्तिकतावादमा महानिर्वाण र कैवल्यमा विश्वास गर्ने बौद्ध र जैनहरू बलियोसँग उभिएका छन् |

आज विश्व नास्तिकता दिवस मनाउनेहरू धर्म, धार्मिकता तथा ईश्वर विरोधी भएकोले नास्तिकता दिवस मनाउंदै छन् कि भौतिकवादी भएर आफुलाई नास्तिक भन्दै छन् ? लिंग प्रष्ट छैन |



No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...