Friday, March 8, 2024

कति लाइट चाहियो ?


 कति लाइट चाहियो ?

वैदिक ऋषिहरूले प्रार्थना गर्दै "तमसो मा सद्गमय अर्थात् मानव-समाजलाई अन्धकारबाट प्रकाशतिर लैजाउ भन्दै गर्दा आजको "विजुली र त्यसबाट प्राप्त हुने प्रकाश"को पक्कै पनि कल्पना गरेका थिएनन् | विजुलीको उत्पादन र विस्तारसंगै विश्वबाट निरन्तर अन्धकार विस्थापित हुँदैछ | १५ करोड़ किलोमिटर टाढाको सूर्य पृथ्वीको प्राकृतिक "बल्व" हो | मान्छेलाई यो बल्वले नपुगेर रातिमा पनि थपेको थपै छ | यो कति थपिने हो थाहा छैन !
म केटाकेटी हुँदा अँधेरी रातमा एउटा घरबाट अर्को घरमा जान खरको मूठो बाल्नु पर्थ्यो वा सल्लोको दियालो बाल्नु पर्थ्यो | कदाचिद् आगो निभ्यो भने हातले भुई छाम्दै हिड्ने मध्येमा म लेखक पनि पर्छु | मलाई सुत्ने कोठामा सुत्ने समयमा (राति) प्रकाश आएको कत्ति पनि मन पर्दैन | मलाई लाग्छ, प्रकाश निद्राको सबैभन्दा विकट शत्रु हो | प्रकाश चाहिन्छ, यसको अर्थ प्रकाश चौविसै घण्टा चाहिन्छ भन्ने होइन |
गाउँसहर सबैतिर बिजुली पुगेको छ | गाउँ होस् वा सहर हरेक घरका मान्छेले घरवाहिर एउटा "बल्व" बालेर वरिपरी उज्यालो छर्ने गरेका छन् | सहरिया बाटोघाटो त झन् "झिलिमिली" हुन्छन् |
म हरेक रात्री आफ्नो घरको छतमा उभिएर हेर्छु : आजका मितिमा उहिलेजस्तै जुनकिरीहरूले प्रकाश छर्दैनन् | किरा-फट्यांग्राहरू कराउंदैनन् | विजुलीले असंख्य रात्रिकालीन (अँध्यारोमा जिउने) जीवहरूको अस्तित्वलाई समाप्त पारेको छ | मेरो घर अगाडीको खेतखलिहानका जुनकिरीहरूलाई "बिजुली"ले निलेको छ |
यही बिजुलीले "हाम्रो एकमात्र निवासस्थल पृथ्वीलाई निरन्तर तताउँदै छ | इको-सिस्टम खल्वलिएको छ | ऋतुहरूको प्राकृतिक आगमन र गमन अगाडी पछाडी भएको छ | हामी मान्छेजस्तै "बोल्न नसक्ने, अर्काको अस्तित्वलाई चुनौति दिन नसक्ने" असंख्य प्राणी र बनस्पतिहरूले आफ्नो अस्तित्व गुमाउँन पुगेका छन् | सन् १९१७ मा प्रकाशित भएको "नेचर"को एउटा खोजले "मानवीय क्रियाकलापका कारण करिव २ लाख प्रजातिहरू पृथ्वीबाट सधैका लागि लोप" भएको अनुमान गरेको छ | सायद, उप्रान्त मान्छेलाई रात नचाहिएको हो त ?
"के हाम्रो एकमात्र निवासस्थल "पृथ्वी"लाई अव अँध्यारो अबन्च्छित भएको हो ? ले अध्यारोमा आश्रित जीवनहरू अनावश्यक भएका हुन् ? के २४ घण्टा प्रकाशमा नुहाउने पृथ्वी सुरक्षित रहला ? यो कुरा मैले नसोचे, तपाईंले नसोचे कसले चिन्तन गर्ला ? हामीले कहीं आवश्यकता भन्दा बढी "लाइट"को उपयोग गरिरहेका त छैनौं ? विवेकपूर्ण विचार हामी मान्छेले नै गर्ने हो किनभने अतिरिक्त "लाइट"मान्छेले खोजेको हो र उपयोग गरिरहेको छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...