अव हाम्रो पालो
२००७ सालमा नेपालीले क्रान्ति गरे
२०१९ सालमा असफल भए | २०१७ सालमा क्रान्ति गरे 2046२०४६ सालमा असफल भए | २०४७ मा
क्रान्ति गरे २०६३ सालमा असफल भए | अहिले २०७३ तिर पुन: हामी फेरी
असफलता कै कुरा गरिरहेका छौँ |
के अव पनि हामी असफल इतिहास दिने
राजनैतिक चिन्तनको बाटो नै समातेर हिड्ने कि बाटो परिवर्तन गर्ने ? हामी बाटो
परिवर्तन गर्न डराउँछौं किनभने पुरानोसंग हाम्रो स्वार्थ जोडिएको छ |
हामी मध्ये कतिले सोच्न भ्याएका
छौँ कि सत्तरी वर्षको परिवर्तनको इतिहासमा हाम्रो विकासको यात्रा किन उभोको सट्टा
उधो ओर्लियो ? २०४६ मा गरिवीको ५३ नौं खुड्किलोमा रहेको देश झरेर २१ सौं मा किन
पुग्यो ?
मेरो विश्वासले भन्छ, आज सम्मका सबै
क्रान्तिहरू देशले सहजरूपमा आर्थिक क्रान्ति गरोस् र जनताको जीवनस्तर उठोस् भन्ने
प्रयोजनका लागि नै भएका हुन् |
आन्दोलनको नेतृत्त्व गर्नेहरूको
मनसायमा पनि प्रश्न चिन्ह उठाउनु हुँदैन | सबैले देश र जनताको भलो नै चाहेका
थिए र छन् |
त्यैपनि हाम्रो यात्रा सधैं असफल
छ किन ? यही प्रश्न हो हामीले आफैसंग र वर्तमान राजनैतिक नेतृत्वसंग सोध्ने
| अचम्मको कुरो के हो भने कसैसंग यसको उत्तर छैन | उनीहरूसंग
प्रश्नको उत्तर नै छैन | उनीहरूसंग पनि प्रश्न नै छन् |
के तपाईंलाई यसको उत्तर थाहा छ ? सायद तपाईंको
उत्तर पनि अरू सबैको झैं होला |
हो, हामी विकास, गौरव चाहन्छौं
तर विकासका गतिहरू भने ऋणात्मक नै छन् | भ्रष्टाचार जुन गतिमा बढिरहेको छ, त्यही गतिमा यस
विषयको बहस पनि अगाडी बढिरहेको छ |
किन ? उत्तर हामीसंग
छ | अहिले नेपालको विकास र अग्रगमनका लागि भनेर नेतृत्वले अपनाएका
राजनैतिक सिद्धान्तहरू विदेशहरूबाट आयात गरेर जनताका उपर लादिएका हुन् | साम्यवाद, समाजवाद, पूँजीवाद, कुलीनतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै
विदेशी भूमिबाट आयातित हुन् |
यी मध्ये कुनै पनि राजनैतिक
सिद्धान्तहरूले ब्यबहारिक रूपमा नेपाली जनताको असली प्रतिनिधित्व गर्दैनन् |
विदेशी आवश्यकता र सामाजिक
परिवेशमा विकसित तपसीलका सिद्धान्तहरूले नेपाली जनताको ब्यबहारिक आवश्यकतालाई
सम्वोधन गर्न सक्दैनन् | १२ विघा जमिनको हद्वंदी भएको देशमा सामन्त मास्ने कुरा गरिन्छ | विगत ३५००
वर्षसम्म मिलेर बसेको इतिहास बोकेको सामाजिक संस्कारलाई "पहिचानको रक्षाको नाममा
अलग हुने सिद्धान्त सिकाइन्छ |
स-साना राज्यहरू मिलेर बनेको
नेपाल राष्ट्रलाई बहुराष्ट्रियताको विखण्डवादी सिद्धान्त घोकाइन्छ | हाम्रा
असफलताका सूत्राधार नै विदेशबाट आयात गरिएको राजनैतिक चिन्तन हो |
विदेशीहरूलाई धर्म, संस्कृति तथा
सामाजिक पुन:संरचनाका लागि सल्लाहकारका रूपमा राख्नुले पनि हाम्रो अधोपतन भएको हो | उनीहरूको कुनै
गल्ति छैन | उनीहरूले उनीहरुको समाजका लागि उपयुक्त रहेको सिद्धान्त हामीलाई
पनि सिकाएका छन् | हामीले आफ्नो कुरा जान्दैनौ, उनीहरू हाम्रो कुरा र मौलिक
आवश्यकताहरू बुझ्दैनन् | उनीहरूको विकासले भन्छ, कमोटमा बसेर दीसा गर्नेहरू सभ्य
हुन् | नेपाली शौचालयमा जानेहरू असभ्य | विकसितहरू कमोटमा बस्छन् | नेपाली जनताहरू
ब्यबहारिक रूपमै कमोट मन पराउँदैनन् |
विदेशी राजनैतिक चिन्तन कमोटको
सिद्धान्तमा आधारित छ | हाम्रो बस्तुगतआवश्यकतालाई सम्वोधन गर्ने क्षमता नै त्यसमा छैन | उदाहरणका लागि
नेपाली साम्यवादीहरू धार्मिक छन् | तर पूंजीवादीवाद, साम्यवाद वा
समाजवादले धर्म मान्दैनन् | यहीं हामी चुकेका छौँ |
अव हामी वदलिन पर्छ | असफल इतिहासलाई
बोकेर हिड्ने र तिनको पछि लाग्नेहरूले नेपालीको भाग्य फेर्न सक्दैनन् | वर्तमान नेपाली
राजनीति र हाम्रो राजनीतिको धारा फेरिनै पर्छ | जर्मन, अमेरिकी, फ्रान्सेली वा
युरोपेली राजनैतिक चिन्तनले हाम्रो आर्थिकस्तर सप्रिदैन | ७० वर्षको
इतिहासबाट हामीले यो तत्थ्य बुझ्नैपर्छ |
हामी भन्छौ, नेपालीहरूको
आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिका बीऊहरू हामीसंगै छन् | वेद, उपनिषद, त्रिपिटक, मुन्दुम वा
गीतामा हाम्रो उन्नतिका सूत्रहरू छन् | हाम्रो आस्था, विश्वास र
ब्यबहारसंग जोडिएका सिद्धान्तहरूले हाम्रो विकास गर्छन् |
जवसम्म हामीले आफ्नो इतिहास र
चिन्तनलाई आफ्नो राजनीतिको मियो बनाउन तयार हुँदैनौं हाम्रो विकास हुँदैन | अव हामी आफ्नै
जरोकिलोमा फर्किनुपर्छ | जुन बेला यो कुरा बुझियो, त्यही बेला हामी सजग हुनुपर्छ | जसले खोज्दछ, उसले प्राप्त
गर्छ | हामी जागृत हुनुपर्छ, राम्रो कुरा लिने मात्र होइन दिनु
पनि पर्छ | राम्रो कुरा खोज्नु पनि पर्छ |
हाम्रो राजनीतिको केन्द्र हाम्रो
आफ्नो देश हुनुपर्छ | हाम्रो आफ्नो मौलिक साहित्य हुनुपर्छ | हाम्रो आफ्नो
मौलिकता छोडेर अर्कोको मौलिकता स्वीकार्दा भौतारिएका छौँ | असफल बनेका छौँ
|
हाम्रो सामाजिक इतिहास मिलेर
बसेको, सहकार्य गरेको हो | भिन्नताको राजनैतिक चिन्तनले हामी
बरालिंछौँ | हाम्रो देश राज्यहरूले बनेको राष्ट्र हो, जातीय, धार्मिक, भाषाका आधारमा
राष्ट्रहरूको परिकल्पनाले हामी कमजोर हुन्छौं, तुक्रिन्छौँ | विदेशी गोरो र
कलोको द्वन्दमा विकसित भएको दुर्भावनाको बुझाईमा हाम्रो जातीय वर्ण ब्यबस्थालाई
हेर्यौं भने हाम्री अनन्त झगडामा फस्छौं | महिलामा आत्मा नै हुँदैन भन्ने
संस्कृतिमा विकसित भएको महिलाअधिकारको चस्माले नेपाली महिला र पुरुषको सम्वन्ध
बुझ्यौं भने हाम्रा पारिवारिक मूल्यहरू धराशायी हुन्छन् | महिलाहरू
हाम्रो लागि देवी वा माता हुन् |
हाम्रो सामाजिक संरचनामा सबै कुरा
ठीक र समयोचित छैनन् | तर हाम्रो समाजले तिनलाई सुधार गर्न कदम चलेको छ | छुवाछुत
विरुद्ध राज्यका माध्यमबाट हामीले कानुन बनाएका छौँ | हामी निरन्तर
परिवर्तन भइरहेका छौँ | परिवर्तनशीलता नै हाम्रो आत्मा र शक्ति हो |
अवको राजनीति नेपालको जरो र
किलोसंग सम्वन्धित हुने छ | हाम्रो बाटो अरूको झैं नक्कली छैन | हामी कसैको ढाक्रे बनेका छैनौ | हामीले बोलेका
तत्थ्यहरू राजनीतिका कखराहरू हाम्रो आफ्नो इतिहास, संस्कृति, परम्परासंग
जोडिएका छन् | हामी आफ्नो जरोकिलोसंग जोडिएका छौँ |
सबैलाई आफ्नो जरोकिलोसंग जोडिएर
देशको उन्नतिको लागि लाग्न आग्रह गर्छौं | फेरी पनि भन्न चाहन्छु, असफल बाटो
हिंडेर लक्षमा पुग्न सकिन्न |
अव हामीले सफलबाटोको यात्री
बन्नुपर्छ | असफल बाटो त्याग्न सजिलो छैन तर त्याग्नुको विकल्प हामीसंग भएकोले
ढुक्कसँग त्याग्नुपर्छ | नेपालको रैथाने मौलिक शक्तिको विकासका लागि आफ्नो उपस्थिति
सुरक्षित गर्नुपर्छ | समयले हाम्रो प्रतिक्षा गरिरहेको छ तर भोली गर्ने छैन |
सबैको जयहोस् |
No comments:
Post a Comment