Tuesday, December 27, 2016

गौहत्या : रक्षा गर्ने दायित्व हिन्दूहरूको मात्रै हो ?

गौहत्या : रक्षा गर्ने दायित्व हिन्दूहरूको मात्रै हो ?

हामी नेपालीहरूका लागि आत्मआलोचनाको समय उपस्थित भएको छ | नेपालको संविधान २०७३ ले गाईलाई राष्ट्रीय पशुघोषित गरेर तिनको हत्यालाई दण्डनीय घोषित गरेको छ | तर संविधानको एस्तो प्रावधानलाई उलंघन गर्दै कैलाली कैलाली जिल्ला अतरिया न. पा. वडा नम्बर ७ मा सामुहिकरुपमा ६० जति गाईको हत्याको प्रयास भएको सात दिन वितिसक्दा पनि संविधानको रक्षा गर्नु पर्ने दायित्व लिएको श्रीपुष्पकमल दाहालको सरकार चूप छ |

श्रीपुष्पकमल दाहालको सरकारले गाई हिन्दूहरूको आराध्य भएकै कारण एस्तो जघन्य कार्यहुँदा समेत चासो नदिएको हो भन्न पर्छ | राजाको बक्तब्यका विषयलाई प्राथमिकताका साथ मन्त्रिपरिषद्मा उठाउने गृहमन्त्री निधिले ६०-७० बटा गाईहरू एकै चिहान बनाइएको अवस्थामा पनि कुनै प्रकारको चासो नराख्नु अचम्मको कुरा भएको छ |

त्यसभन्दा पनि उदेक लाग्दो कुरा नेपालका प्रमुख तथा मूलधारका मिडियाहरूले पनि एस्तो विभत्स घटनालाई आफ्नो समाचारको विषय बनाउन चाहेका छैनन् | लाग्छ, मिडियाहरूले हिन्दू र तिनका कुनै पनि समस्याहरूका विषयमा नबोल्ने, नलेख्ने र सूचना नदिने कसम खाएका छन् | गोरखापत्र, कान्तिपुरआदि दैनिक समाचारपत्रहरू, नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन आदि दृश्य मिडियाहरू कुनै प्रकारको सूचना नदिन सिण्डिकेट गरेका हुन् कि भनेर शंका हुन्छ | तर कैलालीका स्थानीय मिडियाहरूले भने यो कुरालाई प्राथमिकता दिएकै छन् |

८२% हिन्दू र अहिंसक मान्ने १०% बौद्धहरूको देश नेपालले आफ्नो राष्ट्रीय पशु तथा आराध्य गौहरूको हत्या हुँदा लज्जावोध गर्नुपर्ने हुन्छ | असलमा, सरकारलाई लाजमर्दो होला नहोला तर हिन्दूहरूको शिर भने लाजले निहुरिएको छ | बुझ्नुपर्छ कि राष्ट्रीय पशु सबै नेपालीको हुन्छ : गाईको मासु खाने मुस्लिम, इसाईआदि सबैको | राष्ट्रिय पशुका रूपमा गाईको रक्षा सुनिश्चित गर्ने काम इसाई, मुस्लिम तथा बौद्धहरूको पनि हो | यो दायित्वबाट कुनै पनि नेपाली नागरिक पन्छिन सक्दैन |
मिडियाहरूले समाचार छाप्दैनन् किनभने गाई हिन्दूहरूको आराध्य वस्तु हो र हिन्दूहरूको विषय उठान गर्ने हो भने हिन्दूवादी वा राजावादीको विल्ला लाग्छ भन्ने डर होला ! तर संविधानले गाईको रक्षा सुनिश्चित गरेको अवस्थामा मिडियाहरूको यो सोच मनगढ़ंते भन्नुपर्छ | सरकार, नागरिक समाज, मिडिया सबै संविधानको रक्षा गर्ने आफ्नो दायित्वबाट चुकेका छन् | संविधानको कार्यान्वयन नहुँदै यसको हत्या भएको छ |

जुन सरकारले, नागरिक समाजले, राजनैतिक दलहरूले र मिडियाहरूले आफ्नै संविधानको पक्षमा बोल्न सक्दैनन्, त्यस्तो संविधानलाई मृत भन्नुपर्ने हुन्छ | गाईहरूलाई कसैले मारेको हो अथवा खान नपाएर मरेका हुन् ? यो कुराको निष्पक्ष जाँचबुझ हुनुपर्छ | दूवैअर्थमा गाईको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकार कै हो | राष्ट्रीय पशु खान नपाएर मर्नु र विष दिएर मारिनुमा तात्विक अन्तर छैन | दूबै लज्जास्पद विषय हुन् |

विरामी परेका गाईहरूलाई नगरपालिकाले ट्रीपरमा हालेर जीवित नै फालेको भन्ने भनाइ स्थानीयवासीको रहेको छ | यदि यो कुरा सत्य हो भने एति ठूलोमात्रामा गाईहरू किन विरामी परे र किन नगरपालिकाले विरामी गाईहरूलाई औषधिउपचार गर्नुको सट्टा जीवितै मिल्याउने पाप गर्यौं ? गृहमन्त्रीले यसको छानविन गर्नुपर्छ | यदि दोषी कर्मचारी हुन् भने ती दण्डित हुनुपर्छ |

सामुहिक गौहत्याको घटनाले नेपालका बहुसंख्यक हिन्दूहरू आक्रोशित हुनु स्वाभाविक हो | हामी जुनसुकै राजनैतिक पार्टीको दाम्लोमा बाँधिएपनि धार्मिक, सांस्कृतिक तथा आफ्नो रैथानेआस्था र विश्वासहरूलाई जोगाउन एकैठाउँमा आउनुपर्छ | आफ्ना रैथाने तथा परम्परागत संस्कृतिउपर प्रहार हुँदा मन दुख्नु र पोल्नुपर्छ |

गौहत्याको घटनालाई हिन्दूवादीहरूको राजनैतिक आन्दोलन भनेर पन्छिने प्रयत्न गरियो भने यसको परिणाम अकल्पनीय हुनसक्छ | यसले साच्चिकै राजनैतिक स्वरूप अङ्गीकार गर्यो भने कुनै पनि राजनैतिक दलको भविष्य सुरक्षित रहने छैन | हिन्दूहरूको मनमा चोट पुर्याउने काम भएको छ, मनमा चोट पुगेको मान्छे र पुच्छरमा टेकिएको गोमन सर्प खुंखार हुन्छन् | समयमै सचेत भएर आफ्नो जरोकिलोमा उभिएर रैथाने आस्था, विश्वास तथा संस्कृतिको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्छ |

स्मरण रहोस्, गाई केवल संविधानले संरक्षित गरेको पशुमात्र होइन नेपालका ८२% हिन्दूहरूलाई बैतरणी तार्ने आस्थाको किलो पनि हो | एस्तो आस्थाको किलो डगमगायो भने मैं हुँ भन्ने दल, व्यक्ति वा समुदायहरू सजिलै बढारिन सक्छन् | आँधीबेहरी उठ्न सक्छ जुनमा एमाले, कांग्रेस, एमाओवादी, राप्रपा वा अन्य आफुलाई हिन्दूवादी भन्ने सबैको बिल्लीबाठ हुनेछ | सरोकारवाला समयमै जाग्नुपर्छ र जागेको राम्रो, गौरक्षा र संविधानको रक्षाका लागि हामी सबै नेपाली जागेको राम्रो – गावो: विश्वस्य मातर: |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...