Tuesday, December 27, 2016

तिमीमा विश्वास किन गर्ने ?

तिमीमा विश्वास किन गर्ने ?
सरकारी विद्यालयका मास्टरहरू आफ्ना बालबालिकालाई निजि विद्यालयमा पढाउँछन्, सरकारको उच्चस्तरीय ओहदामा रहेकाहरूले आफ्ना बालबालिका अमेरिका तथा ब्रिटेन पढ्न पठाउछन्, नेपालको ठेक्का लिने राजनैतिक दलका नेताहरूले आफ्ना बालबालिका विदेश मै पठाउछन् !!

नेपालको स्वास्थ्यमन्त्रलय अन्तर्गत स्थापित भएका सरकारी वा निजि अस्पताल र
तिनमा कार्यरत चिकित्सकप्रति राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री र अन्य राजनैतिक दलहरूको विश्वास छैन, आफ्नो प्राण जोगाउन विदेशतिर धाउछन् | आफैले सिर्जना गरेको राज्य र राज्य निकायको काममा विश्वास गर्न नसक्नेले नेपालप्रति कस्तो माया गर्लान् ?

जुन देशको नेता, प्रसाशक, शिक्षक कसैलाई पनि आफैले बनाएको, आफ्नै आदेशमा चल्ने र काम गर्ने निकायप्रति विश्वास छैन, त्यो देशको भविष्य कस्तो होला ! अनुमान गर्दा पनि कहाली लाग्छ |

समस्या वर्तमान सिस्टम र सिस्टम चलाउनेले निम्त्याएको हो | वर्तमान राजनैतिक दल, प्रसाशक तथा शिक्षकहरूका लागि दुहुनो-गाई भएको सिस्टम परिवर्तन हुनै सक्दैन | अमेरिका, बेलायत, भारत, INGO हरूको निर्देशन र कृपामा चल्ने यो सिस्टम कुहिएको छ, निकम्मा र गन्हाएको छ |

सिस्टम र सिस्टम परिवर्तन सम्वन्धि सोचमा परिवर्तन गर्न सक्ने क्षमता हामीसंग छ | जुन सिस्टममा खिया लागेको छ, गन्हाएको छ, जुन सधैं आफैले खडा गरेको महल बाहिर बसेर आफ्नो सुरक्षा अनुभव गर्छ, त्यस्ताको पछि लाग्नु, त्यसभन्दा पनि खराव भएको अवस्था हो |

हामी परिवर्तन गर्छौं किनभने हामी यी सबैभन्दा फरक हौँ | हामीसंग रहेको परिवर्तनको एजेन्डा मार्क्स वा हब्स, अमेरिका वा भारत, INGO वा चीन कसैले कोरेको होइन, हामी आफैले परिवर्तनको खाका लेखेका हौँ, हाम्रै रैथाने ज्ञानको किताव खोलेर परिवर्तनको नक्सा कोरेका हौँ |

तपाईं हाम्रो आफ्नै जरोकिलोमा विश्वास गर्नुस्, हामीसंग जोडीनुस्, हामी तपाईंलाई परिवर्तन दिने छौँ, आफैले निर्माण गरेको राज्यप्रति विश्वास गने राष्ट्रपति, प्रधानमन्त्री तथा नेता, आफैले पढाउने विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्ने शिक्षक. आफ्नै माताहतमा रहेका संस्थामा लगानी गर्न तम्तयार प्रसाशक तथा आफ्ना चिकित्सकहरूमा विश्वास गर्ने सक्ने नेतृत्वको विकास गर्ने छौँ |

हाम्रो अभियान राष्ट्रियता निर्माणको मात्र होइन, हाम्रो अभियानले नेपाल र नेपालीलाई केन्द्रविन्दू बनाएर काम गर्ने छ | हामी आफ्नै जरोकिलोमा उभिएकाले हामीमा विश्वास गर्ने अनन्त ठाउँ छ |

परिवर्तनका लागि तपाइंले भन्नैपर्छ - म प्रजातन्त्रमा विश्वास गर्छु तर वर्तमान नेपाललाई नेत्रित्व प्रजातान्त्रिक छैन, त्यसैले यिनलाई भोट दिन्न | मेरो/हाम्रो भोट केवल नेपाल र नेपालीप्रति विश्वास गर्नेलाई हुनेछ |

अव हामीले नेका, नेकपा, राप्रपा, मधेसवादीहरूको राजनैतिक विकल्प नभएको भन्ने भ्रमबाट पनि मुक्त हुनैपर्छ | भारतवादी, अमेरिकावादी, इसाईवादीको आरोप लागेकाहरूमा विश्वास गर्नुको कुनै तुक छैन | अव हामीले आफ्नो सोच र खोज दुवै परिवर्तन गर्नुपर्छ | हामीसंग विकल्प छैन भन्ने बुझाई पनि परिवर्तन गर्नुपर्छ | हामीले आफैलाई विश्वास गर्नुपर्छ | मेरो विश्वास नै देशको परिवर्तन हो भनेर प्रतिज्ञा गर्नुपर्छ |
हामी नेपाली भएर बाच्नुमा जति गौरव छ, त्यतिको गौरव साम्यवादी, पूँजीवादी, समाजवादी वा पहिचानसंग बाच्नुमा छैन | हामी अहिले विदेशी भक्तहरूको माखेसङ्ग्लोमा फंसेर दिग्भ्रमित भएका छौँ | हामीले आफ्नो मुक्तिको लागि पनि यो भ्रमबाट बाहिर निस्कनैपर्छ | हामी हिमाली, पहाडी, मधेसी सबै ठगिएका छौँ | अव हामी ठगिन, झुक्किन तयार छैनौं |

अव हामी सडेका, गलेका र आफ्नो अनुकुलको सिस्टम बनाएर हामीउपर राज गर्नेहरूलाई नेता मान्ने छैनौं | अव हामी परिवर्तन चाहन्छौं, हाम्रा मास्टरहरूले आफ्ना बालबालिका आफ्नै विद्यालयमा पढाउनुपर्छ | हाम्रा राष्ट्रप्रमुख र नेताहरूले आफ्नै अस्पतालहरूमा उपचार गराउनुपर्छ र हाम्रा प्रसाशकहरूले आफ्नै देशमा आफ्ना बालबालिका पठाउनुपर्छ र प्राविधिज्ञहरूको रूपमा आफ्नै जनशक्तिमा विश्वास गर्नुपर्छ |

स्व. सुशील कोइराला, राम वरण यादव, विद्यादेवी भण्डारी, केपी ओली, प्रचण्ड, सुजाताहरूले जवसम्म आफुले निर्माण गरेको सिस्टममा विश्वास गर्न सक्दैनन् भने हामी जनताहरू यी सबैलाई नेता मान्न किन बाध्य ? गरिवी, रोग, अशिक्षा, भोक, अवसरबाट जनतालाई बन्चित पर्नेहरूमा के हामी अव पनि विश्वास गछौं ?

मियो नभए दाई हुँदैन | मियो नभएको देशको नेतृत्व गर्न, मियो बन्ने पालो हामी जनताको हो | हामी आफ्नै जरोकिलोमा उभिएर आफ्नो विकास गर्नसक्छौं | पाँचहजार वर्षको इतिहासबाट हामीले सहअस्तित्वको पाठ सिकेका छौँ |

अव हामीले तिनलाई स्पस्ट भन्नुपर्छ - तिम्रा दिन गए, हाम्रा दिन आउंदैछन् | आफु विरामी पर्दा विदेश जाने तर सर्वसाधारण जनतालाई रोगले मर्न छोडिदिने नेतृत्वमा हामीले किन बलिदान दिने आफ्नो ? शान्त भएर अव सोच्नैपर्छ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...