Wednesday, May 31, 2017

शोध निर्देशकहरूका लागि


संस्कृत र पालीभाषामा लेखिएका हजारौं ग्रन्थहरूको अध्ययन/अध्यापन नगर्ने तर कुइरेहरूले अंग्रेजीमा लेखिएदिएका कितावहरूलाई आफ्नो विचारको माध्यमबनाउंदा नचाहेर पनि कुइरेहरूको बायसनेसले ठाउँ पाउँछ |

बरू, थोरै भए पनि संस्कृत र प्राचीन पाली भाषाको अध्ययन आरम्भ गर्नेहरूले बढी स्रोत प्राप्त गर्छन् | त्यैपनि अव सन् १७-१८ तिर अनुवाद गरिएका किताव तथा लेखिएका इतिहासको उद्धरण गर्ने जमाना धेरै छुटिसकेको छ | सन् १९९० एता प्राचीन संस्कृत तथा पाली साहित्यका धेरै र विश्वासनीय अनुवाद-अनुसन्धान भएका छन् |

संस्कृत र पालीका सवालमा विदेशी (अंग्रेजी) अनुवादको विश्वसनीयतामा धेरै खोट लगाउने स्थान छन् | अनुवादहरूलाई प्रमाणिक ठानेर सीधै उद्धरण गर्नुभन्दा, त्यस उद्धरणको पुष्टि गर्न सम्वन्धित मूल पुस्तकको स्रोत पढ्नु र बुझ्नु धेरै राम्रो हुन्छ |

अंग्रेजहरूले भारतमा राज्य गरिरहेको अवस्थामा उनीहरूको मुख्य उदेश्य इसाई धर्मको प्रचारप्रसार गर्नु थियो भने त्यस बखतका विद्वानहरूले संस्कृतको अध्ययन केवल इसाई धर्मको प्रचारप्रसारमा सहयोगका लागि गरेका थिए |

उनीहरूको उदेश्य भारतीय शास्त्रहरू पनि बाइबल कै पक्षधर छन् र भास्तीय शास्त्रहरूले पनि विश्वका सबै मानिसहरूलाई इसाईधर्म अपनाउन नै प्रेरित गर्छन् भन्ने रहेको थियो |

त्यस्तो अवस्थामा बाइबलको मर्म विपरित अर्थ दिने वा अंग्रेजहरूको शिक्षानीति, अर्थनीति तथा राजनीतिसंग असहमति राख्ने शब्द र मर्महरूको अर्थ तोडमरोड गरेर प्रस्तुत गरिएको थियो | जुन कुरा आजका पाश्चात्य विद्वानहरूले पनि स्वीकार गरिसकेको अवस्था छ |

किथ, म्याक्समूलर आदि स्थापित विद्वानहरूले पनि भारतवर्षीय साहित्यहरूको अनुवाद इसाई-मुसाई दृष्टिकोणले नै गरेका थिए | आज यो विषयपूर्ण स्थापित भैसकेको छ |

कमसेकम विश्वविद्यालयमा शोधको निर्देशन गर्ने प्राध्यापकज्यूहरूले माथिल्लो तत्थ्यलाई दृष्टिगत गरेको हुनुपर्छ | अन्यथा, प्राचीन संस्कृत तथा पाली साहित्यको पूर्वाग्रही दृष्टिकोणले नवविद्वानहरू पनि ग्रसीत हुने निश्चित छ |

विद्वानहरूका सबै दोषहरू क्षम्य हुन्छन् तर पूर्वाग्रही दृष्टिकोण कहिले पनि क्षमा योग्य हुँदैन किनभने यसले नवागन्तुक विद्वानहरूलाई समेत संक्रमणमा पार्छ |

आफैले आफ्नो जरोकिलो खोज्ने प्रयत्न नगर्ने, अरूले गरेको प्रयत्नलाई समेत पश्चिमाको सहमति खोज्ने र अरूले खोजिदिएको तत्थ्यलाई समेत समालोचनात्मक विधिले सत्यापन नगरी जस्ताको तस्तै स्वीकार्ने "रेडिमेड" संस्कृतिले नेपाली प्राज्ञहरूको सबैभन्दा बढी अवामुल्यांकन भएको छ | अव यसको सुधारका लागि प्रयत्नशील हुनुपर्छ |

आधुनिक गुरुकुलले यसको थालनी हो | जहाँ पूर्वाग्रह र पक्षपातलाई कुनै ठाउँ हुने छैन | ऋषिहरू लोककल्याणका लागि पनि झूटो कुरा बोल्दैनथे, आधुनिक गुरुकुल सत्यको बाटो हो, जहाँका विद्यार्थी तथा अध्यापकहरूले सत्यका लागि काम गर्नेछन् |

हो, तर हाम्रा विविका प्राध्यापकज्यु र राजनीतिज्ञहरूको सोच आज पनि त्यसैले गाइड गरेको छ | देशको राजनीतिलाई हाक्ने हाम्रा नेताहरू सन् १७-१९ को विचका विदेशी सोचबाट ग्रस्त छन् | र त्यसो सोच पढेर होइन सुनेर स्थापित भएको छ | सुनेर लेखिएको र बोलिएको विषयलाई अव प्रमाणिक मान्ने जमाना छैन |

अहिले जमाना वदलिएको छ र १८-१९ तिरको तुलना विदेशी अनुसान्धाताहरूको ट्रेन्ड वदलिएको छ | नेपाली, भारतीय तथा विदेशी मूलकै विद्वान अनुसन्धाताहरूले धार्मिकतामा आधारित पक्षपातपूर्ण अनुवाद गर्ने इसाईसोचको विरुद्ध उभिएका छन् | वेद, पुराण, महाभारत, चाणक्यनीतिआदिका नया अनुवाद आएका छन् | अनुवादकहरूले इन्टरनेट प्रविधिको फाइदा उठाउँदै आफ्ना अनुसन्धानहरूमा संस्कृत वा पाली मूललाई देवनागरी, रन्जना वा अन्य लिपिमा सार्न थालेका छन् |

जातीयता, क्षेत्रीयता र विदेशी जरोकिलोमा बाँधिएका नेपाली राजनीतिज्ञ र तिनको मतियारका रुपमा सन् १७-१९ सयको विश्वलाई पछ्याउने सोचले ग्रस्त नेपाली प्राज्ञहरूले पनि ढिलोचाडो यी कुरा नबुझी धर छैन | जवसम्म हाम्रा राजनीतिज्ञ र विद्वानहरूले आफ्नो परम्परामा भएका जीवनोपयोगी र अनुपयोगी विषय आफ्नै बलबुतामा खुट्याउने औकात प्राप्त गर्दैनन्, तवसम्म हामी विदेशीबाट डोमिनेन्ट हुनैपर्छ |

यो त्यहाँको शिक्षा पद्यतिप्रति इमान्दारिताको सूचक र पुरक हो | हामीमा राजनीति र रेडिमेड संस्कृति हावी भएको छ | नेपालमा भाषाको समस्या पनिं छ | संस्कृतक विद्वानहरूले अग्रेजी नजानेको हुन सक्छ र अंग्रेजी वा अन्य विधय पढेकाहरूले संस्कृत जान्दैन | तर एउटा कमन कुरो के छ भने दूबैले अंग्रेजी र संस्कृत जान्न चाहन्छन् | दूबै भाषामा पोख्त नेपाली विद्वानहरूले बुझेर पनि नया किताव किनेर पढ्ने\/पढाउने आर्थिक हैसियत राख्दैनन् | ती पुस्तकहरूमा हाम्रा विद्वानहरूको पहुँच छैन | हामी ती कितावहरू किन्न पनि सक्दैनौं

आफ्नो धर्म तथा संस्कृतिप्रति विश्वभरी केही न केही पक्षपातपूर्ण दृष्टिकोण हुन्छ नै, हामीमा पनि त्यस्तो हुन सक्छ तर कामको थालनी नै नगर्नु सबैभन्दा दुखको कुरा हो |अरूलाई दोष दिनुको सट्टा हामीले आफ्नो साहित्यिक विरासततिर फर्केर हेर्नु उचित हुन्छ | तर हाम्रा विद्वानहरूले नया अनुवाद्तिर ध्यान दिन सकिरहेका छैनन्, यो कमी हाम्रै हो |

नेपाली विश्वविद्यालयहरूले गराउने अनुसन्धान प्रणाली अझै फितलो छ | शोध निर्देशन गर्ने र शोधकार्य गर्ने दूबैमा टालटुल गर्ने प्रवृति छ | हाम्रा अनुसन्धानहरूको यो पाटो निराशाजनक नै रहेको छ | हाम्रा धेरै अनुसन्धानहरू विश्वअनुसन्धानको मानकमा असफल हुन्छन् | अहिले मुख्य कारण कपि-पेस्ट नै रहेको छ | अव हामीले यस विषय गम्भीरतापूर्वक लिएनौं भने विश्वको नया संस्कृतिमा हामीले टेक्न टेन सक्ने अवस्था छैन | अनुसन्धानको विश्वसनीयता र गुणस्तरीयता जाच्न एउटा बटन दबाए पुग्ने प्रविधिको युगमा “ढांटे”का शोधहरूको कुनै मूल्य हुँदैन |

अव हामीले शोधकार्य गर्दा/गराउंदा विश्वप्रविधिमा अवतरित भएको कुनै पनि कथन तुरुन्त परीक्षित हुन सम्भव छ भन्ने कुराको हेक्का राख्नैपर्छ र यसका लागि तयार रहनुपर्छ | विदेशी वा स्वदेशीले ढाँटन सक्ने अवस्थाको अन्त्य इन्टरनेटले सधैंका लागि गरिदिएको छ | अव हाम्रा मौलिक कार्यहरूलाई कुनै चुनौती छैन तर नक्कली कामहरूको कुनै भविष्य छैन |

अवका लागि सक्कली काम भनेको : आफ्नै जरोकिलोसंग जोडिएर, तिनको गहिराईमा पुगेर तिनमा रहेको जीवनोपयोगी, विश्वको लागि उपयोगी तथा अनुपयोगी तत्थ्यहरू बाहिर निकाल्नु नै हो | यसमा आफ्नो, आफ्नो देशको र पूर्खाहरूले गरेको अथक परिश्रमको सम्मान हुनेछ भने हाम्रा शोधकार्यहरू विश्वको लागि उपयोगी हुनुका साथै आफ्नै जीवनका लागि पनि आर्थिक सवलीकरणको बलियो साधन बन्ने छ |


Copyright (gsu300@gmail.com)

Tuesday, May 30, 2017

गोरखनाथ पन्थ र नेपाली मूलका भारतीय मुख्यमन्त्री

महायोगी गोरखनाथको जन्म सुदूर पश्चिम नेपालको कुनै क्षत्रीय परिवारमा सन् ११०० - १२०० का विचमा भएको विश्वास गरिन्छ | यी प्रसिद्ध नाथपन्थका संस्थापक मानिन्छन् भने नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहका गुरू यसै नाथ परम्पराका योगी रहेका थिए र हाल सम्म पनि नेपाली मुद्रामा गोरखनाथको उल्लेख गरिन्छ |
महायोगी गोरक्षनाथ स्वयम् भने आफु नाथ परम्पराको एउटा विनम्र प्रचारक मात्र भएको निवेदन गरेका छन् भने गोरक्षनाथका अनुयायीहरू निजलाई भगवान शंकरको अवतारका रूपमा आराधना गर्छन् | नाथ परम्पराले संसारको सृष्टिकर्ता भगवान् शंकरलाई मान्छन् भने त्यागमय जीवन र रहस्यमय उपासना पद्यतिहरूका माध्यमबाट मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने यिनको दार्शनिक मान्यता हुन् |

अद्वैतवाद गोरक्षपन्थको मूल गन्तब्य रहेको छ | असलमा नेपाल गोरक्षपन्थको मूल थलो हो| गोरक्षपन्थ नेपाल हुँदै भारत पसेको हो | काठमाडौं उपत्यका तथा पश्चिमी नेपालका पहाड तथा तराई भाग प्रमुख नाथ योगीहरूका उपासना स्थलहरू छन् |

हालै भारतीय राज्य उत्तरप्रदेशको मुख्य मन्त्रीका रूपमा आदित्य नाथ योगी अजय\सिंह बिष्टले मुख्य मन्त्रीको जिम्मेवारी पाएका छन् | यिनको जन्म पोड़ीगढवालको विष्ट परिवारमा भएको र सो भारतको यो भूभाग तथाकथित सुगौली सन्धि भन्दा पहिला नेपाल नै रहेको कुरा बज्रसत्य हो |

यस अर्थमा हाल विश्वको छैठों ठूलो जनसंख्या भएको भारतीय राज्य उत्तरप्रदेशले नेपाली मूलको मुख्यमन्त्री पाएको छ | साथै, गोरखपुर जहाँ नाथ परम्पराको मुख्य पीठ छ, त्यो पनि कुनै समयमा नेपालकै अंग थियो |

आजभोली भारतीय मिडियाहरूले उछाल्ने गरेको शब्द "भारतीय मधेशी" बस्तुत गलत त भ्रामक प्रचार हो | असलमा, वर्तमान नेपालसंग जोडिएका अधिकांश भारतीय भूभागमा निवास गर्ने सबै जनता नेपाली मूलका भारतीय नै हुन् |

"भारतीय मूलका मधेशी" शब्दको प्रयोग भ्रमपूर्ण र विभाजनकारी अभिप्रायले भएको हो | आदित्य नाथ भनिने अजयसिंह विष्टको उदयले भारतीय मिडियाहरू स्पस्ट हुनुपर्छ कि रोटीबेटीको सम्बन्ध केवल तराईमा होइन सुदूरपश्चिमको पहाडी भागमा पनि रहेको छ | सुदूरपश्चिममको ठूलोजनसंख्या पौडीगडवाल, कुमायु भारतीय भूभागसंग रगतको सम्वन्ध राख्छ जुन सन् १७५० पूर्व बृहद नेपालकै अभिन्न अंग थिए |

नेपाली मूलका भारतीय मुख्यमन्त्रीलाई बधाई छ | यो तत्थ्य उनीलाई पनि हेक्का रहोस् |

भान्छा सरोकार : जस्तो खायो अन्न तेस्तै हुन्छ मन

जस्तो खायो अन्न तेस्तै हुन्छ मन : भान्छा सरोकार 

श्रीमद्भगवद्-गीतामा भगवान श्रीकृष्णले भोजनका विभिन्न प्रकृति, तिनले व्यक्तित्वमा पार्ने प्रभावका विषयमा यसरी वर्णन गर्नुभएको छ :

जुन भोजनले आयु, सत्व, बल, निरोगता, सुख र प्रेम बढाउँछ, जुन रसयुक्त, केही चिल्लो, हितकारी, खाँदा मनमा आनन्द मिल्छ, एस्तो भोजन सात्विक हुन्छ | १७/८

तीतो, अमिलो, चर्को, ज्यादै तातो प्रकृतिको, पिरो र मुखलाई असजिलो पार्ने भोजन राजसिक हुन्छ | एस्तो भोजनले दुख. शोक तथा रोग उत्पन्न गर्छ | १७/९

बासी, स्वाद विग्रेको, गन्हाएको, जूठो, छुन पनि घीन लाग्ने भोजनहरू तमोगुणी हुन्छन् | यस्ता भोजनहरू खराव मान्छेहरूलाई मन पर्छ | १७/१०

भगवान् श्रीकृष्णका अनुसार “भोजनको शुद्धीकरण नभएसम्म सत्व अर्थात् विचारमा” पवित्रता उत्पन्न हुने सक्दैन | हरेक प्राणीका लागि भोजन अनिवार्य हुन्छ | जिउनका लागि भोजन गर्नैपर्छ | पशुहरूका लागि प्रकृतिले नै भोजन तोकिदिएको हुन्छ | उदाहरणका लागि बाघले घाँस खादैन न गाई-बाख्राले मासुनै खान्छन् | तर यी दूबैले अन्न खान सक्छन् | अन्न यिनको प्राकृतिक भोजन होइन |

आयुर्वेदका विद्वान ऋषि चरकले (सन् ९००) आफ्नो प्रसिद्ध रचना चरकसंहितामा स्वास्थ्य जीवनका लागि तीनबटा सूत्र निर्धारित गरेका छन् आहार, निहार तथा विहार | भोजन नै जीवनी तत्व हो जसले निन्द्रा तथा यौनजन्य क्रियाकलापमा प्रत्यक्ष असर गर्छ | विहार शब्दले काम गर्ने क्षमतातिर इंगित गरेको हो भने निद्राले सुखमय जीवनतिर प्रेरित गरेको हो | भान्छाको उचित ब्यबस्थापनले कार्यको प्रकृतिअनुसार भोजन आपूर्ति गर्छ | काम अर्थात् परिश्रमको प्रबृत्ति र प्रकार हेरेर भान्छाको ब्यबस्थापन हुनुपर्छ |

वैदिक साहित्यमा “भान्छा सरोकार तथा ब्यबस्थापन मन्त्रालय” महिलाहरूको जिम्मामा हुन्थ्यो | धेरैजसो नेपाली समाजमा आज पनि यो परम्परा कायम नै छ | आचार्य शंकरले माता अन्नपूर्णालाई भोजन तथा भान्छाका मालिक्नीको रूपमा स्तुतिगान गान गरेका छन् | प्राचीन दक्षिण भारतीय आलवार सन्त, श्रीवैष्णव आचार्यहरूले पनि श्रीदेवीलाई भोजन व्यबस्थापिकाको रूपमा आदर गरेका छन् |
नेपालीमा त झन् उखान नै छ – जस्तो खायो अन्न, त्यस्तै हुन्छ मन | रक्सी पिएर मातेको मान्छेबाट कसैले देवआराधनाको अपेक्षा गर्दैन |

अत्याधिक मासु खानेहरूबाट दया अथवा क्षमाको अपेक्षा गर्नुहुँदैन | मुस्लिम समाजमा अत्याधिक मासुको प्रयोग हुन्छ | असर स्पस्ट छ : मुस्लिम समाज हिंसात्मक बाटोमा हिंडीरहेको छ | मासु खानु उचित हो अथवा अनुचित हो भन्ने कुरा भन्दा पनि हिसाबाट आर्जित गरेको भान्छाले हिंसातिर नै प्रेरित गर्दो रहेछ भन्ने विषय अनुभव गरिएको छ |
भोजन र भान्छा सरोकारका विषयमा एउटा प्राचीन प्रतिनिधि कथा यहाँ उल्लेख गर्न चाहन्छु – ब्रह्मचारी र राजाको भान्छा | कथा यसरी छन् :

एक दिन एउटा सदाचारी ब्राह्मण घुन्दै एउटा राजाको महलमा पुगेर बास मांगे | राजाले खुसी भएर आफ्नो महलमा बास दिन स्वीकार गरे | राजाले धेरै आग्रह र कर गरेपछि ती ब्राह्मणले राजाको भान्छामा गएर टक्र्याएको सामग्रीबाट भोजन बनाएर खाए | अनि, तोकिएको ठाउँमा गएर सुते |

चानक राती उनको निद्रा खुल्यो | उनीले आफु सुतेको कोठामा थुप्रै सुन, धन-सम्पत्तिले भरिएका भाडाकुडा देखे | उनले आफुलाई रोक्न सकेनन् र आफ्नो बर्कोमा त्यहाँ भएका सामाग्रीहरू बाँधेर महलबाट बाहिरिए | प्रहरीहरूले को हौँ ? भनेर सोद्धा निर्धक्कसंग “म चोर हुँ” भनिदिए र ढोकेले पनि दरवारको कुनै ठूलो अधिकारी होला भनेर छोडीदिए |

बाटोमा हिड्दैजाँदा संयोगले उनलाई बेस्सरी “छेरउटी” लाग्यो | अन्तत: उनले गतराती दरवारमा खाएको सबै भोजन र त्यसको रस दीसाबाट बाहिरियो | त्यसपछि उनलाई आफुले गरेको चोरीप्रति ठूलो पछुताउँ भयो र उनी त्यो धनको पोको बोकेर राजदरवारमा पुगी आत्मसमर्पण गरे | राजाले पनि उनलाई जेलखाना पठाए |

जेल जाँदाजाँदै ब्राहमणले राजासंग एक पटक जेलमा आएर आफुसंग भेट गर्न अनुरोध गरे | आत्मसमर्पण गरेर चोरेको सबै सम्पत्ति फिर्ता गरेको कारण राजा अलि नरम भए | भोलिपल्ट बिहानै जेलखानामा राजा र कैदी ब्राहमणको भेट भयो | कैदी ब्राहमणले राजासंग “अस्ति मलाई भान्छामा उपलब्ध भोजन सामाग्रीहरू कहाँबाट राज महलसम्म आएको हो, खोजेर जानकारी पाऊं” भनि अनुरोध गरे |
राजाले आफ्ना सेवकहरूलाई अनुरोध बमोजिम गर्न आदेश दिए |

केही दिनपछि सेवकहरूले त्यो भोजन सामाग्रीका विषयमा : एउटा चोर नगरमा ब्यापार गर्न आएका ब्यापारीहरूको भोजन सामाग्री चोरेर भाग्ने क्रममा पक्राउ परेको र त्यो चोरेको सामाग्री स्वाभाविक रूपले राजश्वमा दाखिला गर्नु पर्ने भएकोले दाखिला गरी राजभान्छामा पठाइएको” भनेर प्रतिवेदन दिए |

कैदमा रहेका ब्राहमणले राजाबाट अन्नको स्रोतका विषयमा जानकारी पाएपछि “चोरबाट उठेको राजश्वको अन्न ग्रहण गर्दा आफ्नो मन चोरी गर्न विवस भएको” भन्ने बुझे | राजाले पनि “आइन्दा स्रोत नबुझिकन कुनै पनि अन्न भान्छामा प्रयोग नगर्न” निर्देशन दिंदै ब्राह्मणलाई जेलमुक्त गरे |

उपरोक्त कथाले भान्छा र त्यहाँ पाक्ने अन्नले मानवीय ब्यबहारमा पर्ने प्रभावका विषयमा सावधान गरेको छ | अन्न शब्दलाई शाब्दिक अर्थमा बुझ्नुभन्दा धन-आर्जनको अर्थमा बुझ्नु उचित हुन्छ | ठगी, घूसखोरी, चोरी, अज्ञात स्रोत र साधनबाट आर्जित गरेको सम्पत्तिले पाक्ने भान्छाले पेट भर्न सकिन्छ तर सन्तोष प्राप्त गर्न सकिन्न | सुख इन्द्रियसम्म सीमित हुन्छ भने सन्तोष अर्थात् आनन्द मनभित्रको गहिराईमा हुन्छ | छल, ठगी, चोरीआदिबाट आर्जित भान्छाले तिनै कुरामा प्रेरित गर्छन् भने परिश्रम तथा उचितबाटोबाट आर्जित धनले पाकेको भान्छाले असल काम गर्न प्रेरित गर्छ |

जसरी फोहोर वा मिलावट भएको पेट्रोलले मोटरमा समस्या आउछ, त्यसरी नै स्रोत नखुलेको, ठगी, चोरी वा छलबाट आर्जन गरेको भान्छाले मनमा समस्या उत्पन्न हुन्छ | अझैं वैदिक शास्त्रहरूले त कु-अन्न, कुपात्र तथा कुसंगतको फल यसै जीवनमा शारीरिक रोगका रूपमा देखिन्छन् भनेर किटान नै गरेक्क छन् |

अन्त्यमा, भोजन कस्तो खाने हो भन्ने निर्णय हाम्रो आफ्नो हुन सक्छ तर पेट भित्र गइसकेको अन्नले हाम्रो जीवनमा कस्तो प्रभाव पार्ने भन्ने कुरा हाम्रो हातमा हुँदैन | त्यसैले हामी सबैले आफ्नो शरीरपछि आफ्नो भान्छाको विषयमा ख्याल गर्नुपर्छ | जे-पायो त्यही मुखमा हुल्नेहरू आफ्नो शरीर, मन र आत्माका सबैभन्दा ठूला शत्रु हुन् | त्यसैले आफ्नो भान्छा र भोजनमा सधैं सरोकार राखौं तथा निरोगी, आनन्दमय जीवन बाँचौं |

मानसिक विकारका प्रकारहरू

मानसिक विकारका (Mental disorders) प्रकारहरू

अमेरिकन मनोबैज्ञानिक परिषद्ले प्रकाशित गरेको मनोविज्ञान सम्वन्धि पुस्तकमा २०० बटा जति मनोबैज्ञानिक समस्याहरू उल्लेख छ | यी सबै मानसिक समस्याहरूलाई मुख्य छ ग्रुपमा विभाजित गरिएको छ |

चिन्ता (Anxiety) सम्वन्धि विकार
चिन्ता विकारको मुख्य लक्षणहरू प्रतिकुल अनुभूति, अत्याधिक डर तथा भविष्यमा पर्ने सक्ने समस्या अथवा खतरासंग जोडिएका हुन्छन् | चिन्तामा मनोरोगका ती सबै लक्षणहरू समावेश हुन्छन् जुन औषधीय प्रयोग र विना औषधि उपचार हुन सक्छ | विकारको अवधि, तीव्रताका तथा वातावरणका आधारमा उपचार विविधिहरूको प्रयोग हुन्छ | चिन्ता सम्वन्धि अमेरिकी संस्थाले चिन्तालाई पाँचबटा श्रेणीमा विभाजित गरेको छ : त्रास, अत्याधिक संत्रास, स्मरणगत मानसिक संत्रास, डर तथा सामान्यिकृत चिन्ता |

मनोभाव (Mood) सम्वन्धि विकार
मनोभाव समन्धि विकासरहरूलाई भावनागत विकार पनि भनिन्छ | यस्तो विकारमा अत्यन्त दुखी हुने अथवा अत्यन्त रमाइलो अनुभूति गर्ने जस्ता भावगत विषयहरू पर्छन् | डर, द्वैध चरित्र तथा मानसिक अवसाद (depression) प्रमुख हुन् | नेपाली मनोबैज्ञानिकहरूले नेपालको २०% जनसंख्या कुनै नकुनै प्रकारका मनोभाव सम्बन्धि समस्याले पीडित रहेको अनुमान गरेका छन् र अमेरिकामा भने यस्तो तनावले त्यहाँको करिव १२% जनता पीडित रहेका छन् |

मनोगत-विकार
मनोगत विकारमा मान्छेले आफुलाई आंशिक वा पूर्णरूपमा विर्संछ र आफ्ना विचारहरूमा बौद्धिक पकड गुमाउँछ | एस्तो अवस्थालाई बोलचालमा “मान्छे बहुलाएको” भन्ने गरिन्छ | मनोगत विकारले पिडीत व्यक्तिले नभएको कुरा देख्ने, सुन्ने र आफुलाई एक\दम फरकशैलीमा प्रस्तुत गर्छन् | उनीहरू मायावी संसारमा रमाउन थाल्छन्, उनको बुद्धिले शरीरउपर नियन्त्रण गुमाउँछ | यसको अन्तिम चिकित्सा “औषधीय” नै हुन्छ |

भोजनगत (Eating) विकार
जीवनमा भोजनको महत्व वारे भन्नु पर्दैन | विविध कारणले गर्दा धेरै खाने वा खाँदै नखाने बानीको विकास हुन्छ | जिरो फिगरका लागि खाँदै नखाने वा अत्याधिक वजन हुँदाहुँदै पनि दुब्लो छु भनेर हरबखत खाने, बस्तु, ठाउँ वा वातावरण विशेषमा खान नसक्ने जस्ता समस्याहरू भोजनगत विकारका केही उदाहरण हुन् | समय मै मनोगत कारणले उत्पन्न भएका मानसिक लक्षणहरूको मनोबैज्ञानिक उपचार हुन सक्छ तर रोग छिप्पिएपछि औषधीय उपचार गर्नुपर्छ | नेपालमा भोजन सम्वन्धि विकार धेरैजसो केटीहरू भेटिन्छ – भनेको सुनिन्छ |

भाव र लत (impulse and addiction) सम्वन्धि समस्या
आफ्नो मनोभाव नियन्त्रण गर्न नसक्नु पनि एउटा मनोसमस्या हो | आफ्नो मनोभावमा नियन्त्रण गुमाएकाहरूले निश्चित प्रकारको ब्यबहार गर्न आफुलाई रोक्न सक्दैनन् | उदाहरणका लागि केही मान्छेहरूले आफुलाई चोरी गर्नबाट रोक्न सक्दैनन् | जूवा, मदिरा, अत्याधिक यौन चाहनाआदि यसका केही उदाहरण हुन् | भाव-नियन्त्रण सम्वन्धि समस्या हुँदा पारिवारिक, सामाजिक तथा पतिपत्नीबीचमा ठूलै समस्या हुन्छ | यद्यपि केही मनोविज्ञहरूले यी मनदोषहरूको स्रोत आनुबंशिक हुनेतिर पनि इंगित गरेका छन् |

ब्यक्तित्व (personality) सम्वन्धि विकार
व्यक्तित्व सम्वन्धि विकार हुँदा व्यक्तिको दैनिक क्रियाकलापमा समस्या उत्पन्न हुन्छ | असलमा, व्यक्तित्व सम्वन्धि समस्याले ग्रस्त भएका व्यक्तिहरूले आफ्नो कार्यशैलीका कारण आफु र अरूलाई समस्यामा पार्न सक्छन् | व्यक्तिको सोचाई, काम गर्ने तरिका, सामाजिक ब्यबहारआदिले उसको व्यक्तित्व निर्धारित गरेको हुन्छ | मान्छेले जे-जस्तो ब्यबहार गर्छ त्यसैका आधारमा व्यक्तित्व निर्मित हुन्छ | व्यक्तित्वमा विकार उत्पन्न हुँदा नराम्रो सोच आउने, किरा-फट्यांग्रा देखि अत्यधिक डराउने, कसैको चरित्रमा अत्याधिक आशंका गर्ने आदि बानी हुन्छन् | यसै प्रकारले कुनै व्यक्तिले फरक-फरक मान्छेको रूपमा आफुलाई पाउँछ र त्यसै अनुसारको परिवर्तित ब्यबहार गर्छ भने एस्तो ब्यबहारलाई व्यक्तित्व सम्वन्धि विकार भनेर बुझ्नु उचित हुन्छ |

धार्मिक भुइचालो

भुईचालोका दूईवर्ष....धार्मिक भुइचालो 

भूइँचालोले घरवार मात्र विग्रेको होइन मन पनि विग्रेको हो | धेरैका लागि भुइचालो फलिफाप भएको छ | INGO/NGO का माध्यमबाट धेरैले रोजगारी पाएका छन् |

NGO/INGO का अगुवाहरूलाई "भूइचालो पर्यटन"को सुवर्ण अवसर जुटेको छ | यी भुइचालो-पर्यटकहरूले इन्टरनेटमा अपलोड गरेका फोटोहरू हेर्दा मन पोलेर, कुडिएर, रिसाएर, चिसियेर, खिजिएर र भरिएर आउँछ | यी भुईचालो पर्यटकहरूको पर्यटनले भुइचालो पिडितहरूलाई कति फाइदा भयो भन्न सकिन्न

तर ती तस्वीरहरू भुइचालो पीडितहरूले हेर्न सक्ने भने मनबाट बगेको आँशु आँखाबाट निस्कने थियो | अव फोटो बेचेर भूइचालोले छियाछिया भएको मनमा भुइचालो निम्त्याउने कामको अन्त्य हुनुपर्छ | भुईचालो बेचेर चर्चहरू थप्ने काममा रोक लाग्नुपर्छ |

भुइचालो पिडितहरूको सहयोगका लागि आफ्नो तन, मन तथा धन लगाउनेहरू पनि धेरै छन् | उनीहरू अगाडी नसरेको भए देशको इज्जत अझै लुटिने थियो | उनीहरू जीवित सत्य हुन् | धेरैले असल नियतले काम गरेका छन् |

चितवनका मोहन श्रेष्ठले (नाम परिवर्तन) आफ्नो दूईबिघा जग्गा बेचेर भूइँचालो पिडितहरुका लागि १८ बटा घर निर्माण गरे र त्यसका लागि आफै मजदूर बनेर खटे | यो सबै उनको आफ्नै दान हो भन्ने भनक समेत सहयोगप्राप्त गर्नेलाई छैन | क्यानाडामा बस्ने पंजावी मूलकी हरिप्रित कौरले आफ्नो घर बेचेर भूकम्प पिडितहरूका लागि चलाएको लंगरमा दान दिइन् | काठमाडौंका प्रसादले आठआना घडेरी बेचेर आफ्ना छिमेकीलाई बसोबासको ब्यबस्था गरे |

यस्ता हजारौं पात्र छन्, जसले यो देशको धर्म थामेका छन् | उनीहरूका लागि सहयोग न सेल्फीको विषय बन्न सक्यो न सरकारी अडिट को नै | यिनीहरूले सहयोग गरे किनभने सहयोग गर्नुपर्छ | सहयोगको कुनै मूल्य हुँदैन | हरेक पलमा आफ्नो सहयोगको मूल्य खोज्ने पश्चिमा NGO/INGO संग एस्तो आँखा र मन नै छैन |

एस्ता धेरै पात्र छन् जसले केवल सहयोगका लागि सहयोग गरे | चर्चा र सेल्फीका लागि सहयोग गरेनन् | असल नियतले र उचित व्यक्तिका लागि सहयोग गरेर सेल्फी लिनेहरू पनि प्रसस्त छन् | धेरैले सेल्फी खिज्दा आफ्नो छाक काटेर सहयोग गरेका छन् | विद्यार्थीहरूले सेल्फी खिचें किनभने उनको मनले पछि पनि त्यो सम्झन चाहेको थियो | उनीहरूको यो सेल्फी बिक्रिका लागि थिएन | धेरै डाक्टरहरूले पनि सेवा गरे किनभने त्यसबेला सेवा गर्नुपर्थ्यो | मैले आफ्नै खर्च बोकेर सेवामा खट्ने डक्टर चिनेको छु भेटेको छु |

फोटो बेचेर घर आफ्नो घर बनाउने समाजसेवीहरूलाई पनि मैले चिनेको छु | उनको लागि भुईचालो जानु समाज-सेवा फलिफाप थियो | अहिले आफ्नै कारमा हिड्छन्, आफ्नै घरमा बस्छन् |

एउटा कुरा पक्का हो : खराव नियत भएका व्यक्तिहरूले असल काम गर्न सक्दैनन् भने असल नियत भएका व्यक्तिहरूले खराव काम गर्न सक्दैनन् | हाम्रो सरोकार असल नियतका व्यक्तिहरूको असल कामसंग छ | खरावीहरूको प्रशंशा हुँदैन |

समयले मनका घाउँहरू पुर्दै लैजान्छ | तर केही व्यक्तिहरूको मनमा एतिविध्न गहिरा घाउँ लागेका हुन्छन् कि तिनका लागि सहयोग चाहिन्छ नै | एस्तो मनको घाउँ कोट्याएर औषधिमूलो गर्नुपर्छ | गाउँगाउँमा रहेका पुरोहित, गुरू तथा फुकफाक गर्नेहरूले एस्तो मल्हमपट्टी गरिरहनुभएको छ भने गर्नुपर्छ |

भुइचालोपछि काम नै भएन भनेर सरकारी प्रयत्नको निन्दा गर्नेहरूमा INGO/NGO कर्मीहरू नै अग्रस्थानमा छन् | किनभने एस्तो गर्नु उनीहरूको धर्म हो | सरकारले चाहिएजति काम गर्न सकेन तर नगरेको होइन | कर्मचारीहरू असल नियतले अहर्निश खटिरहेका छन् | धेरै सहयोगीछन् थोरै कामचोर र भातमारा छन् | आखिर उनीहरू पनि यही देशका साक्षी हुन्, भुइचालोले क्षति उनको मन र धनमा पनि भएकै हो |

मनको घाउँ निको पारिदिने नाममा बाइबलको किताव घोकाउने, विदेशी धर्म बोकाउने, आफ्नै धर्म तथा संस्कृतिबाट विस्थापित गर्न धर्मनिरपेक्षताको सरकारी मन्त्र प्रयोग गर्नेहरूसंग प्रतिकारको विकल्प छैन |

हामी नेपालीले भूइँचालोमा धेरै थोक गुमाइसकेका छौँ, अव आफ्नो धर्म, संस्कृति तथा परिचयमा भूइँचालो स्वीकार्य हुँदैन | भुइचालोबाट विग्रेको मन र भत्केको घर पुनर्निर्माण हुन्छ तर एकपटक धर्मसंस्कृतिमा भुइचालो गयो भने सधैंका लागि गुम्छ |

धर्मपरिवर्तन गरेपछि आफु जन्मेको हुर्केको र राम्रो/नराम्रो अवसरमा ओत लाग्ने आफ्नो सांस्कृतिक तथा धार्मिक सम्पदा सधैंका लागि गुम्ने छ | हामीले स्पस्ट भन्नुपर्छ - भुईचालोको मूल्यमा हामीले आफ्नो धर्म संस्कृतिको बलिदान दिन्नौं | एकमाथि अर्को पीडा थप्दैनौं |

मेरो मनमा सबैभन्दा बढी पीडा त्यतिबेला भयो जव घर पुगेर बुझ्दा भूइँचालोको भागवण्डा पनि राजनैतिक आस्थाका आधारमा लागेछ र घर भत्केकाहरूका लागि प्रार्थनाका लागि नया चर्च बनेछ | चर्चका लागि विदेशीहरूले पैसा खर्च गरे तर भत्केका घरहरू बनाउने जिम्मा जिससलाई मिल्यो |

चर्च बनाउनका लागि मिसनरी घर बनाउनका लागि जिसससंग प्रार्थना ! कस्तो अचम्म !! पढ्नै नजान्नेहरूका घरमा बाइबलका कितावहरू !!! सरकार आफ्ना जनताहरूको धार्मिक बलात्कार हेरेर, खेपेर बसिरहेको छ | मानवाधिकारको ढालमा गोरोछालाको अत्याचार रोक्ने यो देशमा कुनै निकाय छैन | कसैले बोल्यो भने - धर्मनिरपेक्षताउपर आक्रमण ठानिन्छ |

दूईवर्षपछि फर्केर हेर्दा, भूइँचालोले मर्माहत भएका मनहरू, भवनहरू, डाँडाकाँडाहरू विस्तारै रुपान्तरित हुँदैछन् तर डलर र बाइबलले निम्त्याईरहेका धार्मिक तथा सांस्कृतिक भूइँचालो अझै डरलाग्दो बनेर घरआँगनमा पुगिरहेको छ |

मेरो मन यहीं कुडिएको छ : लाचार सरकारी तन्त्रसंग, विकासको र पुनर्निर्माणको नाममा धर्मपरिवर्तनको अभिशाप बेच्नेहरूसंग र ती व्यक्तिहरूसंग जो धर्मपरिवर्तनका मतियार बनेर अनपढ र थिचोमिचोमा परेकाहरूलाई आफ्नै धर्म, संस्कृति तथा ओतदेखि विमुख गरिरहेका छन् |

म ब्रेनवासको भीड होइन !

म ब्रेनवासको भीड होइन !

अहिले राष्ट्रराज्य र राज्यराष्ट्रका बीच बहस आरम्भ भएको छ | यो एउटा सकारात्मक आरम्भ हो | तर राजनैतिक चासो राख्नेहरूमा एतिविध्न युरोपेली डोमिनेसन छ कि उनीहरू मुसलमानहरूले कुरान बाहेक र इसाईहरूले बाइबल बाहेक को कुनै विषय पनि सत्य नहुने अडान लिएझैं राज्यराष्ट्रका विषयलाई बहसको विषय नै ठान्न तयार छैनन् |

युरोप बाहेक विश्वका कुनै पनि मुलुक जातीय राष्ट्रका रूपमा सफल भएको एउटा पनि साक्ष छैन | मुस्लिमहरूको धार्मिक राज्य हो, यहुदीहरूको पनि धार्मिक राज्य नै हो | बौद्धहरूले पनि धर्मका आधारमा नै शासन गरिरहेका छन् |

धेरैले तपाईंहरूको कितावमा कोटेशन छैन भनेर अविश्वास प्रकट गर्छन् | पश्चिमाहरूले लेखेका कितावबाट उद्धरण दिंदा त्यो प्रमाणिक हुने र आफ्नै वैदिक वा अवैदिक विद्वानहरूले प्रकट गरेका विचारहरू साक्षका रूपमा उद्धरण गर्दा त्योअप्रमाणिक ठानिने चिन्तनको दरिद्रताप्रति दृढ असहमति व्यक्त गर्छु |

पश्चिमा विद्वानहरूका बैज्ञानिकखोजहरूको सम्मान गर्छु किनभने म तिनको उपभोक्ता हुँ तर उनका सामाजिक, राजनैतिक तथा धार्मिक चिन्तनको म ग्राहक होइन | त्यसैले उनीहरूले के लेखेका छन्, त्यो जान्नुपर्छ तर तिनको कुरालाई प्रमाणिक ठानेर मेरो चिन्तन हिड्दैन |

उनीहरूको समाज, धर्म तथा मानवशास्त्रीय मान्यताहरू मेरा लागि ज्ञान विषय अवश्य हुन् तर अनुकरणीय पटक्कै होइनन् | उनीहरूले जातीय विवाद नित्याएर नेपाल दुखेको पीडाका लागि उनीहरू भत्सनाका पात्र हुन् |

मेरो यत्ति भन्नुछ : अंग्रेजीमा लेखिएको दर्शन, समाजशास्त्र, राजनैतिक शास्त्र वा अन्य विधाहरू पढेर आफुलाई प्रमाणिक विद्वान ठान्नेहरूले एक पटक जिन्दगीमा प्राचीन संस्कृत, पालीमा रहेका चिन्तन परम्परालाई पनि पढ्नुपर्छ |

प्लेटोको रिपब्लिक भन्दा बुद्धकालीन रिपब्लिक धेरै उन्नत थियो | बुद्धकालीन विद्वानहरूले स्पस्ट लेखेका छन् "राज्य-राष्ट्र सबैका लागि हुन्छ | दासको राज्यमा, स्त्री, बालबालिकाहरू समाजका अभिन्न अंग हुन् |" तर प्लेटोको रिपब्लिक दास र स्त्रीहरूका लागि कत्ति थिएन |

आफ्नो संस्कृतिक इतिहासमा स्पस्टसंग अंकित राज्यराष्ट्रको उच्चस्तरीय राजनैतिक चिन्तन बुझ्न नसक्ने र आफ्नो सामाजिक धार्मिक तथा संस्कृतिक परिवेशसंग गोरु-बेचेको सम्म साइनो नभएका विदेशी "राष्ट्रराज्य" का लागि आफ्नो उर्जा खर्च गर्ने मूर्खतापूर्ण कार्य म त गर्न सक्दिन |

म ब्रेनवास भएकाहरूको सदस्य बन्न कत्तिपनि इच्छुक छैन | तपाईं नि ?

बुद्धको नेपाल

बुद्धको नेपाल 

बुद्ध नेपाल मै जन्मेका हुन् भनेर कोकोहलो गर्न भन्दा पनि आसन्न चुनावमा आफ्नो धर्म, संस्कृति तथा इतिहासको सम्मान गर्न सक्ने र आफ्ना छोराछोरी वा आफन्तलाई आशिर्वाद दिंदा असल (भ्रस्टाचार नगर्ने र गर्न नदिने मानिस) मान्छे बनेस भन्ने ऊम्मेद्वरलाई भोट दिनुहोला |

बुद्ध कुनै धर्म होइनन्, उपदेश होइनन्, हिनयान, महायान, बज्रयान केही होइनन् | उनी राजनीतिको कूटिल गोटी त हुँदैहोइनन् | जातीय धर्म हुन् भनेर त सोच्नै सकिन्न | बुद्ध सकारात्मक सोच हुन् | सुखमय जीवन हुन् | हामी नेपालीका लागि गौरव हुन् |

उनी समग्र राज्यराष्ट्र हुन् | उनी सबैका साझा हुन् | उनी नेपाली मात्र किन विश्वका आत्मा हुन् | उनी विश्व नागरिक हुन् | नेपालीको रैथाने धर्म, संस्कार तथा राजनैतिक जीवन्प्रणाली विदेशीको हातमा बेचेर बुद्धको नामको वदनामी नगरे हुन्छ | धर्मनिरपेक्षताको आवरणमा बौद्ध बनेका इसाई सोच त बुद्ध हुनै सक्दैनन् |

बुद्धका पूर्ववर्ति आचार्यले होस् वा बुद्धका उत्तरवर्ती चेलाले ठूलाटूला गुरुकुलहरू खोलेर शिक्षाको उज्यालो बाले | खोटोको मसी बनाएर, ताडपत्र, शीला, ताम्रपत्रहरूमा लेखेर आफ्नो विद्या अजर अमर वनाए | पाली र संस्कृतमा आफ्नोपनलाई अगाडी बढाए |

वैदिक साहित्यले बुद्धलाई बिष्णुको दशौं अवतारका रुपमा आराधना गर्छ | सबै हिन्दूहरूले बुद्धलाई आफ्नै ठान्छन् | बौद्ध-साहित्यमा वैदिकहरूको दावीको न् विरोध गरिएको छ न पुष्टि नै | बुद्ध स्वयम् ले यस विषयमा मध्यममार्ग अपनाएका छन् |

बुद्धको जन्म वैदिक सनातनी परिवारमा भएको हो भन्ने कुरा मूर्खले पनि बुझ्ने विषय हो तर हिन्दू परिवारमा जन्मेकै आधारमा बुद्ध हिन्दू नै हुन् भन्नु उचित हुँदैन तर टुप्पोबाट पलाएका बौद्धविद्वानहरूले राजनैतिक धर्मका आवरणमा बौद्ध र सनातनीविच फाटो निम्त्याउने काम गर्दैछन् | यो देख्न र सुन्न सक्ने भए बुद्ध पक्कै पनि रुन्थे |

धर्मनिरपेक्षताका नाममा आफ्ना पुर्खाको त्यागलाई विर्सेर विदेशी संस्कृति लड्नेहरुले बुद्धको नाम लिंदा पनि बुद्ध डाँको छोडेर रुन्छन् |

उनी जातको आधारमा, आरक्षणको आधारमा, धर्मनिरपेक्षताका आधारको नेपाल बनाउन लुम्विनीमा जन्मेका त हुँदैहोइनन् | अहिलेको नेपाल देखेर बुद्ध दुख्छन् | आखामा आँसु बोकेर आफ्नो नेपाल खोज्दछन् |

उनी असल बन्ने, असल गर्ने र शान्ति छर्ने विचार हुन् | सुद्धोदनका छोराको जयन्ति मनाउने धेरै छन् तर बुद्धको नजरले संसार पढ्ने थोरै छन् |

बुद्धपुर्णिमाको सही शुभकामना हुन्छ | बुद्धम् शरणम् ..

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...