Tuesday, December 27, 2016

तिमीमा विश्वास किन गर्ने ?

तिमीमा विश्वास किन गर्ने ?
सरकारी विद्यालयका मास्टरहरू आफ्ना बालबालिकालाई निजि विद्यालयमा पढाउँछन्, सरकारको उच्चस्तरीय ओहदामा रहेकाहरूले आफ्ना बालबालिका अमेरिका तथा ब्रिटेन पढ्न पठाउछन्, नेपालको ठेक्का लिने राजनैतिक दलका नेताहरूले आफ्ना बालबालिका विदेश मै पठाउछन् !!

नेपालको स्वास्थ्यमन्त्रलय अन्तर्गत स्थापित भएका सरकारी वा निजि अस्पताल र
तिनमा कार्यरत चिकित्सकप्रति राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री र अन्य राजनैतिक दलहरूको विश्वास छैन, आफ्नो प्राण जोगाउन विदेशतिर धाउछन् | आफैले सिर्जना गरेको राज्य र राज्य निकायको काममा विश्वास गर्न नसक्नेले नेपालप्रति कस्तो माया गर्लान् ?

जुन देशको नेता, प्रसाशक, शिक्षक कसैलाई पनि आफैले बनाएको, आफ्नै आदेशमा चल्ने र काम गर्ने निकायप्रति विश्वास छैन, त्यो देशको भविष्य कस्तो होला ! अनुमान गर्दा पनि कहाली लाग्छ |

समस्या वर्तमान सिस्टम र सिस्टम चलाउनेले निम्त्याएको हो | वर्तमान राजनैतिक दल, प्रसाशक तथा शिक्षकहरूका लागि दुहुनो-गाई भएको सिस्टम परिवर्तन हुनै सक्दैन | अमेरिका, बेलायत, भारत, INGO हरूको निर्देशन र कृपामा चल्ने यो सिस्टम कुहिएको छ, निकम्मा र गन्हाएको छ |

सिस्टम र सिस्टम परिवर्तन सम्वन्धि सोचमा परिवर्तन गर्न सक्ने क्षमता हामीसंग छ | जुन सिस्टममा खिया लागेको छ, गन्हाएको छ, जुन सधैं आफैले खडा गरेको महल बाहिर बसेर आफ्नो सुरक्षा अनुभव गर्छ, त्यस्ताको पछि लाग्नु, त्यसभन्दा पनि खराव भएको अवस्था हो |

हामी परिवर्तन गर्छौं किनभने हामी यी सबैभन्दा फरक हौँ | हामीसंग रहेको परिवर्तनको एजेन्डा मार्क्स वा हब्स, अमेरिका वा भारत, INGO वा चीन कसैले कोरेको होइन, हामी आफैले परिवर्तनको खाका लेखेका हौँ, हाम्रै रैथाने ज्ञानको किताव खोलेर परिवर्तनको नक्सा कोरेका हौँ |

तपाईं हाम्रो आफ्नै जरोकिलोमा विश्वास गर्नुस्, हामीसंग जोडीनुस्, हामी तपाईंलाई परिवर्तन दिने छौँ, आफैले निर्माण गरेको राज्यप्रति विश्वास गने राष्ट्रपति, प्रधानमन्त्री तथा नेता, आफैले पढाउने विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्ने शिक्षक. आफ्नै माताहतमा रहेका संस्थामा लगानी गर्न तम्तयार प्रसाशक तथा आफ्ना चिकित्सकहरूमा विश्वास गर्ने सक्ने नेतृत्वको विकास गर्ने छौँ |

हाम्रो अभियान राष्ट्रियता निर्माणको मात्र होइन, हाम्रो अभियानले नेपाल र नेपालीलाई केन्द्रविन्दू बनाएर काम गर्ने छ | हामी आफ्नै जरोकिलोमा उभिएकाले हामीमा विश्वास गर्ने अनन्त ठाउँ छ |

परिवर्तनका लागि तपाइंले भन्नैपर्छ - म प्रजातन्त्रमा विश्वास गर्छु तर वर्तमान नेपाललाई नेत्रित्व प्रजातान्त्रिक छैन, त्यसैले यिनलाई भोट दिन्न | मेरो/हाम्रो भोट केवल नेपाल र नेपालीप्रति विश्वास गर्नेलाई हुनेछ |

अव हामीले नेका, नेकपा, राप्रपा, मधेसवादीहरूको राजनैतिक विकल्प नभएको भन्ने भ्रमबाट पनि मुक्त हुनैपर्छ | भारतवादी, अमेरिकावादी, इसाईवादीको आरोप लागेकाहरूमा विश्वास गर्नुको कुनै तुक छैन | अव हामीले आफ्नो सोच र खोज दुवै परिवर्तन गर्नुपर्छ | हामीसंग विकल्प छैन भन्ने बुझाई पनि परिवर्तन गर्नुपर्छ | हामीले आफैलाई विश्वास गर्नुपर्छ | मेरो विश्वास नै देशको परिवर्तन हो भनेर प्रतिज्ञा गर्नुपर्छ |
हामी नेपाली भएर बाच्नुमा जति गौरव छ, त्यतिको गौरव साम्यवादी, पूँजीवादी, समाजवादी वा पहिचानसंग बाच्नुमा छैन | हामी अहिले विदेशी भक्तहरूको माखेसङ्ग्लोमा फंसेर दिग्भ्रमित भएका छौँ | हामीले आफ्नो मुक्तिको लागि पनि यो भ्रमबाट बाहिर निस्कनैपर्छ | हामी हिमाली, पहाडी, मधेसी सबै ठगिएका छौँ | अव हामी ठगिन, झुक्किन तयार छैनौं |

अव हामी सडेका, गलेका र आफ्नो अनुकुलको सिस्टम बनाएर हामीउपर राज गर्नेहरूलाई नेता मान्ने छैनौं | अव हामी परिवर्तन चाहन्छौं, हाम्रा मास्टरहरूले आफ्ना बालबालिका आफ्नै विद्यालयमा पढाउनुपर्छ | हाम्रा राष्ट्रप्रमुख र नेताहरूले आफ्नै अस्पतालहरूमा उपचार गराउनुपर्छ र हाम्रा प्रसाशकहरूले आफ्नै देशमा आफ्ना बालबालिका पठाउनुपर्छ र प्राविधिज्ञहरूको रूपमा आफ्नै जनशक्तिमा विश्वास गर्नुपर्छ |

स्व. सुशील कोइराला, राम वरण यादव, विद्यादेवी भण्डारी, केपी ओली, प्रचण्ड, सुजाताहरूले जवसम्म आफुले निर्माण गरेको सिस्टममा विश्वास गर्न सक्दैनन् भने हामी जनताहरू यी सबैलाई नेता मान्न किन बाध्य ? गरिवी, रोग, अशिक्षा, भोक, अवसरबाट जनतालाई बन्चित पर्नेहरूमा के हामी अव पनि विश्वास गछौं ?

मियो नभए दाई हुँदैन | मियो नभएको देशको नेतृत्व गर्न, मियो बन्ने पालो हामी जनताको हो | हामी आफ्नै जरोकिलोमा उभिएर आफ्नो विकास गर्नसक्छौं | पाँचहजार वर्षको इतिहासबाट हामीले सहअस्तित्वको पाठ सिकेका छौँ |

अव हामीले तिनलाई स्पस्ट भन्नुपर्छ - तिम्रा दिन गए, हाम्रा दिन आउंदैछन् | आफु विरामी पर्दा विदेश जाने तर सर्वसाधारण जनतालाई रोगले मर्न छोडिदिने नेतृत्वमा हामीले किन बलिदान दिने आफ्नो ? शान्त भएर अव सोच्नैपर्छ |

Sunday, October 16, 2016

नेपाली राजनीतिका असफल विकल्पहरू


१.    असफलताको आरम्भ
मान्छे आफ्नो असफलता चाहन्न | तर मैले यहाँ उठाएको विषय असफलता कै हो | यस्तो असफलता जसले हाम्रा बा-आमा, हाम्रो र  हाम्रा सन्तानहरूलाई नराम्रोसँग प्रभावित पारिरहेको छ | मेरा बा-आमाले पनि असफलता चाहेका थिएनन् | उनीहरूको उत्साह पनि सफलता कै लागि थियो | उनीहरूले आफ्नो ऊर्जा सफल हुनकै लागि खर्चिएका थिए | सफल भएनन् किनभने त्यसमा सफल हुने मूलधार नै थिएन | वि.स. २००४  र २००६ मा नेपाली राष्ट्रीय कांग्रेस  होस् वा नेपाल कम्म्युनिस्ट पार्टी दूबै नेपाली भूमिमा जन्मेका थिएनन् | यिनको राजनैतिक विचार नेपालको रैथाने जीवन पद्यतिबाट उम्रिएको थिएन |

२.    नेपाली राजनीतिको विदेशी उठान
नेपाली साम्यवादका पिता पुष्पलाल त हुन् तर उनको यो मौलिक चिन्तन होइन | सन् १८७८ मा जर्मनका अर्थशास्त्री कार्लमार्क्सले विश्वको मानव समुदायलाई दूईखेमामा विभाजन गरे – धनि र गरीव, पूँजीपति र सर्वहारा, साहु र ऋणी, स्वामी र दास | उनको एकल चिन्तन र आग्रह थियो – दासहरूले स्वामीको सम्पत्ति कब्जा गर्न सके साम्यवाद आउँछ | भारतको पश्चिम बङ्गालका केही बुद्धिजीवीहरूलाई विचार मन पर्यो | अर्काको पूँजी सित्तैमा कब्जा गर्ने कुरो कसलाई मन पर्दैन | आन्दोलन उठ्यो | केही साहुहरू काटिए | नेपाली पुष्पलालहरूले तेस्रो पक्षका रुपमा देवीराम चट्तोपाध्यायहरूबाट कुरा बुझे | यो राजनैतिक चेतना विदेशी थियो, विदेशीहरूबाट नै प्रभावित भएर नेपाल भित्रिएको हो | 

त्यस बखतको नेपालमा राणाहरू सबैका साहु थिए | कृष्णप्रसादहरूको परिवार पनि कृपाजीवि थियो साहुको राणाहरूको | ठूलो साहु र सानो साहुविच कुरा मिलेन | कोइरालाहरू भारत भारत लखेटिए | लखेट्ने बलिया थिए, लखेटिने कमजोर | लखेटिनेहरूको मनमा लखेट्नेप्रति प्रेम, सद्भावना तथा क्षमाको  निरपेक्षताको कल्पना कसैले गर्न सक्दैन | मनको तुसले पीडकलाई सिध्याउने जालो बुनिरहेको हुन्छ | यही मानवीय मनोविज्ञानको नियम हो | भारतको गान्धीवाद्, जर्मनको साम्यवाद, फ्रान्सको प्रजातान्त्रिक उदारता र राणाप्रतिको पारिवारिक घृणावादबाट पुन: विदेशमै नेपाली प्रजातान्त्रिक राजनैतिक आन्दोलनको वीजारोपण भएको हो |

३.    पहिलो विफलता अपरिपक्व बुझाई
वि.स. २००७ सालको परिवर्तन असफल भयो किनभने तत्कालीन परिवर्तनकारी शक्तिहरूको चिन्तनको जरोकिलो आफ्नो थिएन | अर्कोको जरोकिलोमा उभिएको रूख जतिसुकै झांगिए पनि रूद्राक्षको रूखझैं हुन्छ | जरा हुँदैनन् रूखमात्र ठूलो हुन्छ | जर्मन र भारतीय चिन्तनको फ्युजनले नेपालको विकास हुन्छ भन्ने बुझाईको किलोमा उभिएको राजनीति असफल भयो | वि.स. २०१६ सालमा एउटा असफल राजनीतिलाई विफल पार्न अर्को विफल राजनीति आरम्भ भयो |

४.      दोस्रो विफलता दम्भ  
वि.स. २०२० सालमा राजा महेन्द्रले पंचायती संविधान जारी गरे | भारतीय स्वतन्त्रता आन्दोलनका लागि जेल गएकाहरू र भारतीय भूमिमा बसेर राणासाहुसंग सङ्घर्ष गर्न पार्टी खोलेकाहरू पुन: एकैठाउँमा फकिए – भारत | सत्ताको दम्भमा महेन्द्रले छिमेकी शक्तिको शक्तिलाई  कुटनैतिक ब्यबस्थापन गर्न ध्यान दिएनन् | पंचायतलाई उनले चाणक्य, साम्यवाद र पश्चिमा प्रजातान्त्रिक राजनीतिको “सारतत्व’का रूपमा विकास गर्न खोजे | “मैले पंचायतवादको नया राजनैतिक चिन्तन विकास गरेको छु’ भन्ने अहंकारमा उनले तत्कालीन राजनैतिक हावालाई महत्व दिएनन् | भारतीय प्रजातान्त्रिक मोडेललाई आफ्नो राजनैतिक लक्ष ठान्ने कांग्रेस र चीन, रूसको साम्यवादलाई आफ्नो लक्ष ठान्ने साम्यवादी शक्तिहरू चरम उपेक्षामा परे |

देशी शक्तिहरूलाई उपेक्षा गरेर, ती शक्तिहरूको स्रोत भएका राष्ट्रहरूबाट कृपा खोज्नु महेन्द्रको असफलताको कारण हो | भारतले प्रजान्त्रिक शक्ति चाहन्थ्यो किनभने त्यस्तो प्रजातान्त्रिक शक्तिको नेतृत्वमा भारतीय स्वतन्त्रता सेनानी हुन्थे भने रूस तथा चीन स्वभाविक रूपले साम्यवादीहरूसंग थिए | महेन्द्र असफल भए किनभने उनले आफ्नो देशमा रहेका विभिन्न शक्ति केन्द्र र ती शक्ति केन्द्रहरूलाई संचालित गर्ने राष्ट्रहरूको कूटनीतिक ब्यबस्थापन गर्न सकेनन् |

५.    तेस्रो विफलताको निरन्तरता
वि.स. २०४६ मा पुन: संविधान आयो | सबैले सफल-परिवर्तन भने | सबैले  आफ्नो पीठ थपथपाए | नराम्रो श्रोतबाट प्राप्त र नराम्रो जगमा राखिएको जग बलियो हुँदैन | यो संविधान देश र जनताका लागि नभए राजनैतिकसत्ता प्राप्तिको उदेश्यमा केन्द्रीत थियो | साम्यवादी र प्रजातन्त्रवादीहरूको मिलन “पंचायत” विरुद्ध थियो किनभने पंचायतको पतनले मात्र राजनैतिक सत्ता हस्तान्तरण हुन सक्थ्यो | पंचायत गयो, सुमधुर मिलनको गीत सुरविहिन भयो | पारिवारिक घृणावादको पुन: जागरण भयो | कृष्णप्रसादको सरकार गएको होइन, प्रजात्रन्त्रभित्रको घृणावाद जीवित भएको थियो | गिरीजाप्रसाद, शेरबहादुर देउवा वा मनमोहन अधिकारीहरूलाई दोष दिनुको कुनै औचित्य छैन |

श्रोतमैं फोहोर भएपछि पानी सफा हुँदैन | राजनीति सत्ताका लागि हुन्छ, सत्ता राजनीतिका लागि तर यहा दुवै भएन | न राजनीतिले सत्ता चलाउन सफल भयो न सत्ताले राजनीतिनै | नेपालमा राजनीति छ तर सत्ता उनीहरूसंग छैन | उधारो लिएको राजनैतिक चिन्तनले सत्ता बलियो हुँदैन | राजनीतिको समय सत्ताकेन्द्रको स्वार्थ पूरा गर्दा जान्छ | विचरा जनता त केवल दशैको बोकाझैँ हुन्छन् | ट्रकहरूमा झेलेको दु:ख आन्दोलन हो | ओर्लिएपछि घरबेटीले दिने सत्कार परिवर्तनका केही दिन हुन् | त्यसपछि सबैलाई थाहा छ | घरबेटीको केही बिग्रदैन | बोकाको सबैथोक जान्छ | राजनीतिको भाषा परिवर्तन गरेर पुन: बोकाहरू ओसार्ने काम आरम्भ हुन्छ | मैले जनतालाई बोका भनेर अपमानित गर्न खोजेको होइन | सरल जनतालाई कठीन बाटो हिडाउने असफल नेतृत्वको पोल मात्रै खोलेको हुँ | 

६.    चौथो विफल राजनैतिक यात्रा
वि.स. २०४६ को परिवर्तनपछि राजनीतिमा घृणावाद (गिरिजाप्रसाद-कृष्णप्रसाद), सत्तावाद (शेरबहादुर र गिरिजाप्रसाद) तथा असहिष्णुतावाद (मनमोहन अधिकारी र गिरिजाप्रसाद)का कारण सत्ताको राजनीति गुम्यो | सत्ता अस्थिर हुँदा साथ जनता कमजोर भए | सकारात्मक परिवर्तन असम्भव भयो | अनि, दुखद: आन्दोलन आरम्भ भयो | २० हजार जनताले ज्यान गुमाए | यो घृणावाद, सत्तावाद, असहिष्णुतावाद र साम्यवादको खोलमा पश्चिमाहरूले खेलेको “फुटाउ र राज गर, विभाजित गर र भित्र पस तथा मिल्न सक्ने सम्भावनाहरूका ढोका सधैंका लागि वन्द गर”को विस्फोट २०६३ मा आन्तरिम संविधानसभाका रूपमा स्थापित भयो |

त्यसपछिका वर्षहरू घृणावाद, सत्तावाद, असहिष्णुतावाद र साम्यवादको खोलमा पश्चिमाहरूले खेलेको “फुटाउ र राज गर, विभाजित गर र भित्र पस तथा मिल्न सक्ने सम्भावनाहरूका ढोका सधैंका लागि वन्द गर”को सिद्धान्तलाई कार्यन्वयनमा खर्च गरिए | नाकका आधारमा, क्षेत्रका आधारमा, जातका आधारमा, धर्मका आधारमा, वोलीका आधारमा, आस्थाका आधारमा, लिंगका आधारमा, भूगोलका आधारमा विभाजनका नियमहरू तय गरिए | वि.स. २०७३ को संविधान नेपालीहरूलाई विभाजन गर्ने दस्तावेज वनेको छ |

यो संविधान विभाजनको दस्तावेज हो किनभने यसमा साम्यवादीहरूले जातिवाद, क्षेत्रीयतावाद, विभाजनवादलाई स्वीकार्न हस्ताक्षर गरेका छन् | यो अप्रजातान्त्रिक संविधान हो किनभने तथाकथित प्रजातान्त्रिक शक्तिहरूले ८२% नेपाली जनताको अभिमतलाई (हिन्दूराष्ट्र) स्वीकार्न हुँदैन भनेर हस्ताक्षर गरेका छन् | तत्थ्य सबैलाई थाहा छ : हस्ताक्षर गर्ने हात नेपाली नेतृत्वका हुन् तर मसीचाहिं अमूक शक्तिहरूको | ८२% जनमतको अवहेलनाको हस्ताक्षर गर्नेहरूले बुझेकै होलान् : यो संविधान पनि सम्भवत: भविष्यको विफल संविधान नै हो !!

७. पाँचौं राजनैतिक विफलतामा हस्ताक्षर
जनताले २०७३ को संविधानले निम्त्याएको पीडा क्रमशः विर्सलान्, किनभने नेपाली जनताहरू धेरैनै विर्साहा छन् | तर आस्था, संस्कृति तथा धर्ममा भएका आक्रमणहरू सहन र विर्सन सक्ने क्षमता जनतामा छैन | एउटा राजनैतिक भूइचालोपछि थाकेहारेका जनताहरू पेटको जोहो गर्न विदेश लाग्छन्, केही बूढाबूढी भएर मर्छन्, केही राजनीतिमा अनास्था भएर नागरिक जीवन व्यतित गर्न थाल्छन् तर सपना कहिले पनि मर्दैन | विदेशी जरोकिलोमा उभिएको नेपालको विफल राजनीतिप्रति अव घृणा आफ्नो चरमचुलीमा पुग्नेछ | हरेक जनताले आफ्नोपनसंग जोडिएको, नेपालीपनको राजनैतिक सत्ताको विकासमा विश्वास गर्नुपर्ने छ | अनि, जनताले बुझ्ने छन् : जरो र किलो नेपाल मैं भएको राजनैतिक शक्तिले वाहेक नेपालीको हित हुँदैन |

७.      विफलताको जरोकिलो
संक्षेपमा, नेपालका परम्परागत राजनैतिक शक्तिहरूले नेपालीको समुचित विकास गर्न सक्ने कुनै सम्भावना छैन किनभने :
१.      सबैजसोको राजनैतिक विचारको स्रोत विदेशमा छ |
२.      सबैजसोले नेपालीपनमा भन्दा विदेशीपनमा विश्वास गर्छन् |
३.      सत्ताको स्थायित्वमा भन्दा राजनीतिमा बढी विश्वास गर्छन् |
४.      मानसिक एकतामा भन्दा मानसिक विभाजनमा विश्वास गर्छन् |
५.      घृणावाद, सत्तावाद, असहिष्णुतावाद र साम्यवादको खोलमा पश्चिमाहरूले खेलेको “फुटाउ र राज गर, विभाजित गर र भित्र पस तथा मिल्न सक्ने सम्भावनाहरूका ढोका सधैंका लागि वन्द गर”को कूटनीतिलाई आफ्नो पथप्रदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गर्छन् |
६.      आफ्नो धर्म, संस्कृति तथा संस्कारलाई भन्दा विदेशीहरूको “एकेश्वरवादी” चिन्तनलाई बढी प्रगतिशील तथा अग्रगामी ठान्छन् |
७.      स्वदेशी जनता, स्वदेशी विद्वान, स्वदेशी शीपको क्षमतामा कत्ति पनि विश्वास गर्दैनन् |
८.      नेपालीले रामो भन्दा नपत्याउने तर विदेशीहरूले राम्रो भन्दिउन् भनेर मरिहत्ते गर्ने मानसिक हीनताबोधबाट वर्तमान नेतृत्व ग्रसित छ |
९.      वर्तमान नेतृत्वसंग मन जोड्ने होइन तोड्ने, शान्ति स्थापित गर्ने होइन द्वन्द्व निम्त्याउने, प्रेम गर्ने होइन घृणा गर्ने, निर्माण गर्ने होइन विध्वंस गर्ने मोडेलहरू मात्र छन् | जुन बूँदा ५ बाट उधारो लिएका हुन् |
१०.  विचार, सिद्धान्त र कार्यमा फरकपन अर्थात् मनले एउटा कुरो सोच्ने, बोल्ने अर्कै थोक र काम चाहिं न सोचेको गर्ने न बोलेको नै गर्ने  राजनैतिक संस्कार |
११.  वि.स. २००७ देखि २०७३ सम्मका राजनैतिक परिवर्तनहरू निष्फल छन् | यिनै शक्तिहरूबाट  देशको सकारात्मक परिवर्तन असम्भव छ |

८.    वाध्यताको विकास र भ्रम
हामी नेपालीहरूको विकास सूचकांक आधुनिक विश्वलाई सुहाउँदो छैन | हामी निकैपछि छौँ | नेपालमा जेजस्तो विकासका गतिविधि देखिएका छन् ती सबै विश्वसन्दर्भमा वाध्यकारी भएर प्रवेश गरेका हुन् अथवा व्यापारीहरूले ब्यापारिक स्वार्थका कारण भित्रिएका हुन् | राजनैतिक शक्तिहरूको इच्छाशक्तिका कारण सडक, पक्काघर, विजुली, टेलीफोन, मोबाइल, इन्टरनेटआदिको विकास भएको ठान्नुहुन्छ भने आफैलाई सच्याउनु पर्छ | यी सबै व्यापारिक प्रयोजनका कारण विकास भएका हुन् | ठेकेदारहरूले सडकहरू खनेका छन् किनभने तिनबाट राजनैतिक दलहरूले कमिसन प्राप्त गर्छन् | कमिशन र नाफा नहुने कुनै “विकास”हरू मौलाएका छैनन् | दलीय स्वार्थ र ब्यापारिक स्वार्थ (दलाली) नहुने कुनै पनि विकास-योजना सफल हुँदैनन् |

९.    अन्धविश्वासमा जेलिएको विश्वास
यदि मैले “नेपालीको विकास गर्ने शक्तिशाली मोडेल हामीसंग छ” भनेर सुनाए भने नेताको जालोमा बाधिएको जनताले मेरो ठूलै हाँसो उडाउने छन् | असलमा, राजनैतिक कार्यकर्ताहरू दलालीको स्वार्थका कारण दिग्भ्रमित वा बाध्य भएका छन् | उनीहरू आफुले खाइपाई आएको सुविधा घट्छ कि भन्ने कुराले त्रसीत छन् | उनीहरू सफल विकल्प भेट्टाए तुरुन्त परिवर्तित हुन्छन् | आफ्नो र परिवारको स्वार्थका विषयमा सोच्नु गलत होइन तर त्यसको पूर्तिको लागि गलतबाटो अङ्गीकार गर्नु गलत हो |

१०.          परिणाममुखी विकल्पको बोलावट
मेरो बुझाइमा, हामीसंग अव ७० वर्षको बूढो र अरूको खेतमा जरोकिलो भएको राजनैतिक चिन्तनको विकल्प खोज्नुनै पर्ने भएको छ | विगतका विफल परिवर्तनहरूले अव निरन्तरता पाउनु हुँदैन | आज पनि हामी अर्को विफल परिवर्तन बोकेको संविधानमा उभिएका छौँ | अवको विकल्प सफल हुनुपर्छ | एस्तो सफल विकल्पको “मार्गचित्र” हामीसंग/मसंग छ | उनीहरूको मार्गचित्रलाई हामीले विगतका ६३ वर्षमा भोगिसकेका छौँ र भोगिरहेका छौँ | अव हामी असफलताहरूलाई सफल भनेर ढाट्नेहरूसंग पारचुके गर्नुपर्छ | पारचुके नगरी अर्को विवाह हुँदैन | परिणाममुखी परिवर्तन दिने बैचारिक विकल्परुपी दूलाही नभई हामीले तपाईंहरूलाई पारचुके गर्नुस् भनेको होइन | हामीसंग परिणाममुखी विकल्प छ | हामी मिलेर आफ्नो, आफ्ना सन्तानको र छिमेकीको समेत राम्रो भविष्य निर्माण गर्नसक्छौं | 

११.          विफलताबाट सफलतातिर

तपाईं विश्वास गर्नुस्, हामी स्वर्णीम भविष्य दिन्छौं | हरेकलाई आफ्नै खुट्टामा उभिने स्वाभिमान, नेपाली पासपोर्ट देखाउंदा गर्व गर्ने परिवेश र विदेशमा काम गर्न जाने होइन विदेशीहरू नेपालमा काम खोज्दै आउने परिस्थिति निर्माण गर्छौं | संकल्प हाम्रो र विश्वास तपाईंहरूको मिल्यो भने विकसित भविष्य हाम्रो हातमा हुनेछ | हाम्रो हातमा सफालय हुने छ र उनीहरूको हातमा असफलता | असफलता हामीसंग हार्ने छ | हामी सफल भएर सुखी हुनेछौं |  किनभने हाम्रो मुहान सफा छ, हाम्रो जरोकिलो नेपालमैं छ र हामी विगत पांचहजार वर्षदेखि “मिलेर बस्नको” ज्ञानमा पुख्त छौँ | 

Monday, September 12, 2016

नेता निर्माण गर्ने दिवस अर्थात् गणेश चतुर्थी...

ऋग्वेदमा गणेशको प्रसंग छ | गणका नेता तिमी हौँ, धनका स्वामी तिमी, सबैका तिमी प्रिय छौं, सबैको नेताका रुपमा हामीतिम्रो नमन गर्छौं - ऋग्वेदले गणपति अर्थात् आफ्नो नेताको आराधना गरेको यही मन्त्र हो |

श्रीगणपतिले शिवपार्वतीको कृपाले नेतृत्व प्राप्त गरेका हुन् | कुमार तथा गणेशको नेतृत्वका लागि झगडा पर्यो | गणेशले शिव अर्थात् शान्ति तथा पार्वती अर्थात् शक्तिको परिक्रमा गरे | शान्ति र क्रान्तिमा संयोजन गरे | शान्ति र क्रान्तिको संयोजन गर्न सकेकोमा नेतृत्व प्राप्त गरे |

मान्छे अस्थिर तथा अधीर हुन्छ | हात्ती शान्त हुन्छ | धीर हुन्छ | गणेशको शिर हातीको छ | नेता हात्ती झैँ शान्त र धीर हुनु पर्छ | शरीर मान्छेको छ | नेता मान्छे झैँ छरितो हुनुपर्छ |

कुनै पनि नेतृत्व सरल र सहज परिस्थितिमा विकसित हुन्छ | शिव मसानवासी छन् | अकिंचन र खरानी धारण गर्छन् | शान्त तर क्रोधी छन् | बाहन गोरू पनि सिधासाधा तथा परिश्रमी छ | विषधारी सर्प शिवका गहना हुन् |

पार्वती सर्वसुन्दर छन् | क्रान्तिकारी, परिवर्तनशील तथा अशान्त छन् | सर्वग्राही छन् | सर्वप्रिय छन् | मोहक छन् | संयोजक छन् | तर डर लाग्दो बाघ अम्विकाको बाहन हो |

कुमार शिवपार्वतीका पहिलो सन्तान हुन् | उनी आक्रामक छन् | उनी अधीर छन् तर विद्वान पनि छन् | उनी महत्वकांक्षी छन् | नेतृत्वका लागि लालायित छन् | मयुर यिनको बाहन हो |

गणेश शान्त छन् | सत्याग्रही छन् | सरल तथा दयालु छन् | कुनै पनि कार्य विचार नगरी गर्दैनन् | यिनमा निर्णय लिने क्षमता छ | मुसोको सवारी गर्छन् |

शिव असुन्दर छन्, अशुद्ध छन् | अम्विका सुन्दर छन्, स्वच्छ छन् | जाडोमा घर छ | चिताको धुवामा बस्न अभ्यस्त छन् | मूसो र सर्प मिल्दैनन् | बाघ र गोरुको बीच शत्रुतापूर्ण सम्वन्ध छ | मयुर र सर्पले एकअर्कालाई देख्न सक्दैनन् | सर्पले मुसो देख्न सक्दैन | नेत्तृत्व यस्तै विपरित परिस्थितिमा विकसित हुन्छ |

विषम परिस्थितिलाई सहयोगी बनाउने गुण नेतामा हुन्छ | गणेश नेता हुन् किनभने यिनमा विषमता र समतासंग सहकार्य गर्ने गजवको क्षमता छन् | नेताको जात्रा निकालिन्छ | त्यसैले श्रीगणेशको जात्रा निकालिन्छ |

विश्वले गणेशोत्सवलाई 'विश्व नेत्तृत्व सृजना दिवस'का रूपमा मनाउनु पर्छ | यो प्राचीनतम नेतृत्व सिर्जनाको सिद्धान्त हो | यो गणेश चतुर्थीले हमील नेपालीवीच आफ्नै जरोकिलोलाई माया गर्ने नेत्तृत्वको विकास गर्ने छ | नेपाली 'जरोकिलो'लाई माया गर्ने नेत्तृत्व जन्माउने छ |

धर्मपरिवर्तनको दोषी सरकारी नीति

आज एकजना मित्रले सोध्नु भएको प्रश्न अत्यन्त सान्दर्भिक लाग्यो | एकजना फेसबुक मित्र दुर्गा प्रसाद पराजुली सोध्नु हुन्छ - इसाईमा गएका हिन्दूहरूलाई पुन: हिन्दू सनातनधर्ममा कसरी बुझाएर फर्काउन सकिन्छ ?

यो सवालका दूईवटा पाटा छन् (अ) एउटा व्यक्तिले हिन्दू सनातन धर्म छोडेर किन किन इसाई बन्नुपर्यो ? (२) इसाई बनिसकेपछि पुन: हिन्दूधर्ममा स्थापित गर्न हामी हिन्दूहरूले के गर्नु पर्छ ? र त्यसको शास्त्रीय प्रक्रिया के हो ?

पहिलो सवालका सम्वन्धमा, नेपालमा भएकाअधिकाशं धर्मपरिवर्तन सम्वन्धि घटनाहरू लोभ, लालच तथा प्रलोभनका कारण भए/गरेका छन् | धर्म परिवर्तन गर्नेहरू सबै वर्गका छन् | सबैजाति'का छन् | त्यैपनि दलित, आदिवासी जनजातिहरूले बढी धर्म परिवर्तन गरेको देखिन्छ | गरिवी, अशिक्षा तथा दलित तथा गैरदलितवाद धर्मपरिवर्तनका प्रमुख कारण हुन्  भन्न सकिन्छ | यद्यपि गरिवी, दलित तथा एउटा वा केही जाति विशेषहरूलाई  मात्र  दोष दिन पक्कै  मिल्दैन |

सरकारी नीतिहरू दोषी छन्
मेरा अनुसन्धानहरूले नेपालमा धर्मपरिवर्तनको प्रमुख दोषी सरकार हो | सरकारले अवलम्वन गरेका नीतिहरूका कारण देशले धर्मपरिवर्तनको ‘प्लेग’ भोगिरहेको छ | यदि गरिवी, अशिक्षा तथा दलितगैरदलितको विभेदले धर्म परिवर्तन बढेको भए पोखराको रामघाटमा देशको पहिलो चर्च स्थापित (२००४) भएको थियो | तर पनि २०४६ साल सम्म इसाईहरूले खासै प्रगति गर्न सकेनन् | युनाइटेड नेशनल टू नेपाल नामक संस्था तथा जेवियर कलेजका माध्यमबाट स्वास्थ्य तथा शिक्षामा कब्जा जमाउने प्रयत्नशील रहे पनि ती सफल भएनन् |  

२०४६ सालको राजनैतिक परिवर्तनले संविधानमा हिन्दूराष्ट्र लेखिए पनि अघोषित रूपमा सरकारले धर्मपरिवर्तनकारी शक्तिहरूलाई खुला गरिदियो | समाज सेवाको आवरणमा जुनसुकै विदेशी संस्था वा व्यक्तिहरूलाई गाउँगाउँ शहरशहर पसेर चर्च बनाउने, बाइबल बाड्ने, दलितहरूसंग गैरदलितहरूको फाटो बढाउने, आदिवासी जनजातिहरूमा  हिन्दूधर्म तथा बाहुनक्षेत्रीप्रति घृणा उत्पन्न गर्ने काम खुलेआम भयो |

अर्थ तथा शिक्षामन्त्रालयका तथ्यांकहरू
अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका आर्थिक सूचकांक तथा शिक्षामन्त्रलयका सूचकांक अध्यायन गर्ने हो भने जोसुकैले पनि सजिलै बुझ्न सक्छ कि नेपालमा २०४६ भन्दा पहिला आजभन्दा बढी अशिक्षा थियो, गरिवी थियो र दलित तथा गैरदलितहरूविच छुवाछुतको समस्या पनि बढी नै थियो | वि.स. २००४ देखि २०४६को अवधिमामा केवल ४० हजार व्यक्तिहरूमात्र इसाई बने जवकि इसाईहरूको अन्तर्राष्ट्रिय संस्था जहोस ट्रस्टको तथ्यांकअनुसारलाई सत्य मान्ने हो भने वि.स. २०४७ देखि २०७२ को अवधिमा २५ लाख नेपालीहरू इसाई बनेका छन् | सन् २०११ को जनसंख्यामा  इसाईहरू कूल जनसंख्याको १.५% प्रतिनिधित्व गर्छन् | यी इसाईहरू भारत, अमेरिका वा बेलायतबाट घरबसाई सरेर नेपाल छिरेका होइनन् | यी सबै नेपाली नै हुन् | 

गरिवी धर्मपरिवर्तनको कारण होइन !!
यही अवधिमा नेपालली आर्थिकस्तर बढेर १ सय अमेरिकी डलर देखि ९०० डलर पुगेको छ, शिक्षाको दर बढेर ५% देखि लगभग ७३% पुगेको छ भने छुवाछुतको भावना पनि निकै कम भएको छ |  धनि, शिक्षित तथा दलित तथा गैरदलितविचको सम्वन्ध निकै उचाईमा पुगिरहेको अवस्थामा ४० हजारदेखि एकै चोटी २५ लाख नेपालीहरूले धर्मपरिवर्तन गर्नुमा सरकारी नीतिनै जिम्मेदार छन् | नेपालको धर्म, संस्कृति तथा सभ्यता जोगाउने दायित्व लिएका सरकारहरू आफ्नो दायित्वच्यूत भएका छन् |    

राजनैतिक पार्टीहरूले त्यो ‘जातीय घृणा एवं धार्मिक सनातन हिन्दू तथा बौद्धधर्म प्रति गरिएका/ फैलाइएका बितृष्णा’हरूलाई ‘पहिचान’को आवरणमा स्वामित्व ग्रहण गरे | धर्मपरिवर्तनकारी शक्तिहरूले धर्मका लागि जातीय तथा क्षेत्रीय  मुद्दाहरूमा समर्थन गरे | यो समर्थनले राजनैतिक दलहरूको ध्यान जातीय संस्था स्थापित गर्न केन्द्रीय भयो | इसाईहरूले यही घृणाको राजनैतिक अवसर छोपेर धमाधम धर्मपरीवर्तनको काम, योजना, जनशक्तिआदिको सृजना गरे | 

राजनैतिक दलहरूले बेइमान गरे कि ?
हामी सबै नेपालीहरूले अनुभव गरेका छौँ – नेपालका राजनैतिक पार्टीहरूका क्रियाकलापहरू पारदर्शी छैनन् | विभिन्न कित्तामा राजनीति हुनु स्वाभाविक हो | तर देश, संस्कृति तथा राष्ट्रिय पहिचान एवं महत्वका सवालमा सबै राजनैतिक पार्टीहरू चरम ढुलमुले देखिदैं आएका छन् | जनताको नाममा ‘पेट-भने’ प्रवृति बढेको छ | जानेर होस् वा नजानेर अथवा डरकर, त्रास, प्रलोभनका कारण नेपालको धर्म, सांस्कृतिक स्वरूप तथा मौलिकता जोगाउने विषयमा राजनीति चुकेको छ | स-साना संघसंस्थाहरूले समेत नेतृत्वलाई ‘ब्लेकमेल’ गर्ने हैसियत प्राप्त गरेका छन् | नेताहरू सामान्य नागरिकको तुलनामा बढी ‘प्रभावित’ हुँदा हामी नेपालीहरूले आफ्नो मौलिकता गुमाईरहेका छौँ |

संविधान घोषणा अगाडी गरिएको मत सर्वेक्षणमा जनताले “नेपाललाई हिन्दूराष्ट्र बनाऊ” भन्ने स्पष्ट आदेश दिंदा पनि नेतृत्वले बेइमानी गरेकै हुन् | यो बेइमानीको बीऊ नेपाल होइन | सत्य बदलिंदैन, राजनैतिक नेतृत्वले गरेको बेइमानीको स्वामित्व सबैदलका अनुयायीहरूले समेत लिनुपर्छ | यसरी धर्मपरिवर्तनलाई मलजल गरेको दोष हामीले पनि अगाल्नु पर्छ |   

धर्मपरिवर्तन स्वेच्छाले होइन करले भएको छ ?
धेरै राजनैतिक दलका नेताहरूमात्र म पनि भन्छु, धर्म व्यक्तिगत स्वतन्त्रताको विषय हो र हुनुपर्छ | धर्मजस्तो संवेदनशील विषयसंग खेलवाड गरिनु हुँदैन | तर नेपालमा धर्मपरिवर्तन गर्ने/गराउने काम स्वेच्छिक छैन | लोभीपापी राजनैतिक नेतृत्व र कमजोर प्रशासनले नेपालीलाई डुबाएको छ | यी सबैको कारण भ्रष्टाचार हो | इसाईहरू भन्छन् : नेपालीहरू स्वेच्छाले, बुझेर पढेर इसाई बनेका हुन् | तर चेपांगजस्ता ७९% अशिक्षित, गरिव तथा गैरदलित समुदाय कसरी र किन इसाई बन्दैछन् ? जवाफ स्पष्ट छ – लोभ, लालच तथा डरकरले !!

लोभ धर्मपरिवर्तनको कारण हो
मैले चेपांग आदिवासीको कुरा उठाएको छु | चेपांगहरू मकवानपुर र चितवनमा बढी छन् | उनीहरूको जीवनशैली आज पनि अर्ध जंगली छ | नेपालभरी यिनको जनसंख्या ८५ हजारजति छ | यी मध्ये ६५% चेपांगहरू इसाई भैसकेका छन् | के अशिक्षित तथा गरीव चेपांगहरू बाइबल पढेर, बुझेर तथा स्वविवेकले इसाई भएका हुन् त ? कदापि होइन | सरकारी नीतिको कमजोरीका कारण इसाईहरू उनको घरघरमा पुगेर प्रलोभन दिएर इसाई बनाएका हुन् | साचो भन्ने हो भने लोभ, लालच तथा स्वास्थ्य सुविधाहरूको प्रलोभनका कारण इसाई वनाइएका हुन् | समय मै सरकारके यी आदिवासीहरूको समुचित विकासमा ध्यान पुर्याएको भए ६५% चेपांगहरू धर्मपरिवर्तनको घिनलाग्दो भुमरीबाट सधैंका लागि जोगिन सक्थे |

दलित समुदाय होस् वा गैरजातीय आदिवासी समुदाय सबैमा इसाईहरू झोलाभरी पैसा र मनभरी लालच बोकेर घरघर पुगिरहेका छन् | हालै झापामा पक्राउ परेका अमेरिकन चिकित्सकको बयानले यो कुरा पुष्टी गरेको छ | मैले भन्नैपर्छ केही चरमलोभी बाहुनहरूले एस्तो अपराध गरिरहेका छन् | बाहुनसमुदायबाट इसाई बनेका लोभीहरूको समुदायले बाइबल बोकेर पुरोहित्याई गरिरहेको छ | आफ्नो धर्म तथा संस्कृतिलाई कमजोर बनाउने काम गरिरहेका छन् | यी तालिवान भन्दा खतरनाक छन् |  

के मान्छेहरू केवल इसाईमात्र बनिरहेका छन् ?
होइन, यो हाम्रो अपूरो विश्लेषण हो | अपुरो बुझाई हो | नेपालमा इसाईहरूले मात्र धर्मपरिवर्तनको काम गरिरहेका छन् भन्नु आधा सत्य हो | पूर्णसत्य के हो भने विभिन्न मुस्लिम, चाइनिज तथा जापानिज बौद्ध, बहाईआदि समुदाय पनि नेपालीहरूको धर्म परिवर्तन गर्न कम्मर कसेर लागेका छन् | मलेसीया तथा खाडीमा काम गर्न गएका नेपालीहरू पनि धर्मपरिवर्तनको घृणित षड्यन्त्रको सिकार भएका छन् | घरमूली मुसलमान बनेपछि धेरै घरहरू अभिभावक विहिन बनेका छन् | हालै एउटा संस्थाले जारिगरेको सूचनाअनुसार वि.स. २०४६ पछि खाडी राष्ट्रमा काम गर्न गएका १४ हजार नेपाली बौद्ध तथा हिन्दू मुस्लिम बनेका छन् | यसैगरी बहाई, यहुदीहरूले पनि नेपालमा धर्मपरिवर्तन गराउन ठूलै भूमिका बहन गरिरहेका छन् |

धर्म परिवर्तन कसले गराउँछन् ?
यो पेचिलो प्रश्न हो | विगतमा विदेशीहरू आफैं संलग्न रहेर धर्मपरिवर्तनको काम गर्थे भने आज धर्मपरिवर्तन गरेर इसाई बनेको वर्तमान र विगतको दोस्रो पुस्ता धर्मपरिवर्तन गराउने काममा अहोरात्र खटिरहेको छ | वि.स. २०४६ देखि वि.स. २०५६ सम्म धर्मपरिवर्तन गरेको पुस्ताले अभिभावकत्व ग्रहण गरिसकेको छ भने तिनकै दोस्रो पुस्ता सूझबुझका साथ क्रान्तिकारी तवरले धर्म परिवर्तन गर्न सक्रिय छ | यस्तो पुस्ता सिपालु र हिजोको तुलनामा लोभी पनि छ | उनीहरूका लागि धर्मपरिवर्तन गराउने “काम” मनग्ये आर्थिक आर्जन गर्ने बलियो स्रोत बनेको छ | उनीहरूको रोजगारीका रूपमा “धर्मपरिवर्तन गराउने काम” विकसित भएको छ | यस अर्थमा, विदेशीहरूले आर्थिक सहयोग उपलब्ध गराउँछन् | नेपालीहरूले धर्मपरिवर्तनको जागिर खान्छन् | यदाकदा विदेशीहरू पनि सक्रीय देखिन्छन् | विद्यार्थी, पर्यटक, जागिरेआदि बनेर धर्मपरिवर्तन गराउने ‘कला’ सिकाइरहेका हुन्छन् |

कसरी गरिन्छ धर्मपरिवर्तनको धन्दा ?
मैले अगाडी नै निवेदन गरिसकें कि नेपालमा धर्मपरिवर्तन गर्ने काम ‘विजनेस’का रूपमा विकसित भैसकेको छ | जव कुनै कार्य ‘विजनेश’का रूपमा विकसित हुन्छ, त्यो क्रमशः कर्पोरेट बन्दैजान्छ | समान व्यापार गर्नेहरूसंग सहकार्य हुन्छ | आफ्नो काममा बाधा नपरोस् भन्नका लागि तिनले सिन्डिकेट खडा गर्छन् | त्यो सिन्डिकेटले सरकारी तन्त्र, प्रशासिनक तन्त्र तथा सामाजिक तन्त्रलाई सामुहिकरुपमामा प्रलोभनमा पर्छ | प्रलोभनमा नपरे विभिन्न ‘मानवतावादी’को आवरणमा सरकारलाई समेत ‘ब्लेक-मेलिंग’ गर्छ  | नेपालमा पनि विभिन्न समुदायका इसाईहरूले एउटा साझा सिण्डिकेट तयार पारेका छन् | हामी निरीह नेपालीले यो सिन्डिकेटको शक्ति ‘धर्मनिरपेक्षता’का रुपमा अनुभव गरिसकेका छौँ |

सर्वप्रथम उनीहरूले आफ्नो ‘टार्गेट’ अर्थात् लक्षित समूह पहिचान गर्छन् | उनीहरूका लागि एस्तो लक्षित समूह दलित, आदिवासी, जनजाति तथा पढेलेखेका बाहुनक्षेत्रीहरू हुन्छन् | उनीहरूको पहिलो रोजाईमा शिक्षित बाहुनक्षेत्री तथा नेवारहरू पर्छन् | ‘बाहुन तथा नेवार कार्ड’ प्रयोग गरेर अन्य जातजातिहरूलाई सजिलै प्रभाव पार्न सकिन्छ भन्ने उनीहरूले बुझेका छन् | दलित समुदायबाट इसाई बनेकाहरू सर्वस्वीकार्य नहुन सक्छन् तर बाहुनक्षेत्री तथा नेवारबात इसाई बनेकाहरू सबैका लागि स्वीकार्य र प्रमाणिक ठानिन्छन् | बाहुनबाट इसाई बनेको एउटा मान्छेले हजारौंलाई इसाई बनाउन सक्छ  भने दलित वा चेपांग समुदायबाट इसाई बनेको मान्छेले खासै काम गर्न सक्दैन |

धर्मनिरपेक्षताको स्वांग
हरेक इसाई तथा मुस्लिमहरुले अरू समुदायमा छिर्न धर्मनिरपेक्षताको भाव देखाउँछन् | शनिवारका दिन गैर इसाईहरूलाई चर्चमा निमन्त्रणा गर्नु, बाइबल वा अन्य किताव दिएर पढ्न आग्रह गर्नु, चर्च आएपछि मीठो खाना दिनु, केही आर्थिक सहयोग गर्नु, इसाई बनेपछि छात्रवृत्ति अथवा मासिक आर्थिक सहयोग गर्ने बचन दिनु, विदेश पठाइदिने आश्वासन दिनु, रोगबाट निको भएको झूटो विवरण पेश गर्नु, छुवाछुतबाट मुक्तिको सपना देखाउनुआदि कार्य पर्छन् | कुनै पनि चर्च तथा इसाईहरू धर्मनिरपेक्ष हुनै सक्दैनन् | हरेक इसाई अत्यन्त आफ्नो धर्मप्रति अत्यन्त पूर्वाग्रही हुन्छ | एकपटल धर्मपरिवर्तन गरिसकेपछि अन्य धर्मलाई सम्मान दिने, स्वीकृति दिने, समानताको ब्यबहार गर्ने कार्यको सधैंका लागि अन्त्य हुन्छ | गोमन सर्पमा विष हुँदैन भन्नु र इसाई-मुस्लिमहरू धर्म निरपेक्ष हुन्छन् भन्नु एकै कुरा हो | गोमन विष रहित हुँदैन, इसाई-मुस्लिम धर्म निरपेक्ष हुँदैनन् |

सबै धर्महरूप्रति सम्मानको छल
यदि तपाईंलाई कुनै इसाई प्रचारकले किताव दिएको छ भने उसले ‘संसारका धर्मले मान्ने एकै ईश्वर हो, हामी सबै धर्मलाई सम्मान गर्छौ”जस्ता बाक्यहरू बोलेको अवश्य सुन्नु भएको होला | यो ठूलो छल हो | कुनै पनि इसाईका लागि अर्को धर्मको अस्तित्व स्वीकार्नु भनेको पाप हो | हामीले जनता समक्ष संदेश दिन सक्नुपर्छ कि  कुनै पनि इसाई तथा मुस्लिमहरूले अर्को धर्मको अस्तित्व स्वीकार गर्दैनन् |  

रोग निवारण हुने षड्यन्त्रपूर्ण आश्वासन
इसाईहरूले रोगबाट मुक्ति दिने नाटक ‘चंगाई’का आयोजित गर्छन् | यस नाटकका सम्पूर्णपात्रहरू पूर्वप्रशिक्षित हुन्छन् | ‘चंगाई’को नाटकमा बडो प्रभवकारी भूमिका निर्वाह गर्छन् | मदारीले वादर नचाएझैँ रोग लागेको, रोग-निको भएको तथा आफु धनि भएको आदि नाटक मंचन गर्नेहरू मंचमा हुन्छन् | हामीले सर्वसाधारणलाई भन्न सक्नुपर्छ कि यदि जिससले सबै रोग निको पार्ने भए अमेरिका, बेलायतजस्ता विकसित मुलुकहरूमा किन विश्वस्तरीय अस्पतालहरू छन् ? किन नाइजेरिया, साउथ अफ्रीकाजस्ता ९०% इसाईहरू भएको देशमा हैजा, एड्स, जिकाजस्ता असाध्य रोग लागेर मान्छेहरू मरिरहेका छन् ?

आर्थिकस्तर माथि उठ्ने
मैले धेरै पटक नेपाली इसाईहरूले प्रचारप्रसार गर्दा भन्ने गरेको बाक्य ‘हामी विश्वासी बन्यौं भने हाम्रो देश अमेरिका, बेलायतझैँ धनि बन्ने छ | उनीहरू धनि छन् किनभने उनीहरू विश्वासी छ” भनेको सुनेको छु | गरिवीबाट पिल्सिएका अशिक्षित नेपालीलाई यी बाक्यहरू सकारात्मक हुन्छन् | एकैछिन भए पनि बेलायत र अमेरिकीसरह भएको सुखद अनुभूति दिन्छ | हामीले भन्नसक्नुपर्छ नाइजेरिया विश्वको सबैभन्दा गरिव राष्ट्र किन भयो ? जवकि त्यहाँ ९०% मान्छेहरू विश्वासी छन् | हामीले बुझ्नपर्छ, आर्थिकस्तर उठ्ने आश्वासन दिंदा उनीहरूसंग विदेशीरकमको चलखेल छ | उनीहरू सधैं जनतालाई ठग्नेबाटो खोजिरहेका हुन्छन् | एकपटक इसाईहरूको माखेजालोमा परिसकेपछि त्यहाँबाट स्वतन्त्रता प्राप्त गर्न निकै गारो हुन्छ | कसैले इसाई धर्म छोड्न चाह्यो भने बाइबलका श्लोकहरू देखाएर नर्कको भीषण दुखको धम्किपूर्ण सूचना दिइन्छ |

छुवाछुतबाट मुक्तिको छल
दलित समुदायका धेरै मानिसहरू छुवाछुत मुक्तिको सपना लिएर इसाई धर्म अगाल्न पुग्छन् | हिन्दू समाजले  छुवाछुत  गलत हो  भनेर स्वीकार गरिसकेको अवस्था छ | राजा महेन्द्रले  २०२० सालको संविधानमा पहिलोपटक छुवाछुत उन्मुलनको घोषणा गरेका थिए | त्यसताका  छुवाछुत ज्यादा थियो | त्यसपछिका संविधानहरूले छुवाछुतलाई  मानवीय समस्या ठान्दै निवारणका लागि काम गरिरहेको छ | छुवाछुत उन्मुलनका विपक्षमा सडक तताएको  हामीले सुनेका छैनौँ | कुनै पनि अन्तर्राष्ट्रिय शक्तिले  हिन्दूबहुल राष्ट्रले छुवाछुत उन्मुलनका लागि गरेको प्रयासको सराहना गरेको छैन | धेरैका लागि दलित समाजको उपस्थिति ‘मागिखाने भाँडो’ भएको छ | धर्मपरिवर्तनकारीहरूले हिन्दू सामाजिक वर्णब्यबस्थाको निन्दा गर्दै दलितहरूलाई धर्मपरिवर्तन गर्न प्रेरित गर्छन् | तर के धर्मपरिवर्तन गरेर दलितहरू छुवाछुतबाट मुक्त भएका छन्  त ? उत्तर स्पस्ट छ, कत्ति पनि छैन |  

धर्मपरिवर्तनले दलितहरूलाई अझै मार परिरहेको छ | इसाई बनेपछि राज्यले दिने सुविधा प्राप्त हुदैन | उच्च जतिबाट इसाई बनेकाहरूले उनीहरूसंग चेलीवेटीको सम्वन्ध गांस्दैनन् | कतिपय स्थानमा त दलितहरूले चर्चको छेउमा बसेर पास्चरहरूको उपदेश सुन्नुपर्छ | हालै सरकारीस्तरबाट गरिएको एउटा अनुसन्धानले तमिलनाडुमा दलितहरूका छुट्टै चर्चहरू रहेको समेत खुला भएको छ | यसरी, धर्मपरिवर्तनकारीहरूले  दलितहरूको धर्मपरिवर्तन गराएर  उनले राज्यबाट प्राप्त गर्ने आरक्षणको सुविधा समेत लुटेका छन् भने धर्मको नाममा कमाईको १०% चर्चमा जम्मा गर्नै पर्ने नियम बनाएर उनीहरूलाई प्रत्यक्ष रुपमा लुटिरहेका छन् | धर्मपरिवर्तन गर्नु भनेको राज्यले दिने सुविधा पनि गुमाउनु हो भन्ने संदेश छर्न सके र दलितबाट इसाई बनेका व्यक्तिहरूका  विषयमा सरकार समक्ष सूचना दिएर रोक्न सकिन्छ |

हामीले विर्सन नहुने तत्थ्यहरू
हामीले यहाँ विर्सनै नहुने तत्थ्य केहो भने धर्मपरिवर्तनकारीहरू संगठित छन् | उनीहरूको आवाज तथाकथित अन्तर्राष्ट्रिय शक्तिहरूले सुन्छन् | उनीहरू साधन सम्पन्न छन् | उनीहरूसंग मोटर, गाडी, घर, प्रशिक्षित कार्यक्रता र आगामी कार्यक्रमहरूको स्पष्ट रुपरेखा छ | उनीहरूले राज्य तथा राजनैतिक नेतृत्वलाई किन्न सक्ने क्षमता छ | उनीहरू वैचारिकरुपमा स्पष्ट छन् | उनीहरूसंग दिन साहित्य छ, गराउन धार्मिक विधिविधानहरू छन् | मान्छेहरूलाई छल गर्न विद्यालय, अस्पताल तथा चंगाईजस्ता ‘लालच’ छन् | उनीहरूले मिडिया किनेका छन् |

अर्कोतिर हामी हिन्दूहरू तथा अन्य रैथाने शक्तिहरू विना साधन, राज्यको समर्थन, अन्तराष्ट्रिय शक्तिहरूको तारो बनेर विना तयारी, अपूर्ण तथा अनिश्चित कार्यक्रमहरू लिएर संघर्ष गर्नु परेको छ | हामीसंग आफ्नो धर्मसंस्कृतिको बलियो जग छ, नेपालका तीनकरोड जनताको सद्भाव छ र सबैभन्दा बढी र महत्वपूर्ण कुरो आत्मबल र ऋषिमुनिहरूको सन्तानका हामीसंग परमात्माको शक्ति छ |

हिन्दूहरू जागेका छैनन् भन्नु ठीक होइनन् | धर्मपरिवर्तनका विषयमा चेतना छैन भन्नु पनि उचित होइन | विषयवस्तुको ज्ञान छैन भन्नु पनि राम्रो होइन | समस्या  साधन र स्रोतको हो | साधनस्रोत नभएपछि असजिलो हुन्छ | सरकारको नीतिले असजिलो पारेको छ | सरकारी कर्मचारीले  कानुन कार्यन्वयन नगर्दा असजिलो परेको छ | हामी हिन्दूहरूकै नियतिवादी विचारले असजिलो परेको छ | आफ्नो धर्म संस्कृतिको अज्ञानताले असजिलो पारेको छ | हाम्रो नपढ्ने बानीले असजिलो पारेको छ | युवाहरू विदेशमा पलायन हुँदा असजिलो पारेको छ | तर जनताको विशाल धार्मिक आस्था हाम्रा शक्ति हुन् | हाम्रा धरोहरहरू हाम्रा प्रेरणा छन् | विश्वका एक अरव हिन्दूहरुको सद्भावना हामीसंग छ | हामी कमजोर र लाचार पटक्कै छैनौँ |

अव दोस्रो प्रश्नको उत्तर खोज्नतिर लागौं | नेपालमा ८.१% हिन्दू छौँ | यो संख्या सन् २०११ को जनगणनाले बोल्छ | बौद्ध, जैन, किरातीआदि पनि मूर्ति पूजक भएकाले हिन्दू कै श्रेणीमा पर्छन् | यो संख्या जोड्दा ९५% हिन्दू हुन्छन् | बौद्धहरूले आफुलाई हिन्दूको कोटीमा नराखे पनि उनीहरू मूर्तिको विरोध गदैन् | हिन्दूहरूले उनीहरूलाई जवरजस्ती हिन्दू भन्नु पनि अनुचित हुन्छ | तर स्वधर्म, संस्कृति जोगाउने सवालमा बौद्ध-समुदायको मत भिन्न छैन | यसको अर्थ हो – नेपालका बौद्ध र हिन्दू दुवै समुदाय मिलेर स्वधर्मको काममा लाग्नुपर्छ |

नेपालको प्रमुख जनसंख्या हिन्दू छ | स्वधर्म तथा रैथाने संस्कृतिहरूको रक्षा तथा सम्वर्धनको नेतृत्व हिन्दू-समुदायले लिनुपर्छ | नेपाल धर्मनिरपेक्ष घोषित भएकोमा हामीले अरूलाई दोष दिन मिल्दैन | यो दोष हाम्रै हो | हामीले समयमैं ‘हिन्दू-शक्ति’ निर्माण गरेनौं | हामीले हिन्दूहरूविच धर्मनिरपेक्षताको कू-प्रस्तावका विषयमा सर्वसाधारणलाई बुझाउन सकेनौं | हाम्रा प्रयासहरू अपूरो भए | हामो संदेशमा जनताले विश्वास गर्न सकेनन् | हामीले आफ्ना समुदायहरूलाई “दलका नेताहरूको द्वैधचरित्र’ बुझाउन सकेनौं | हाम्रो हातमा भोट थियो तर त्यसको प्रयोग धर्म-संस्कृतिका पक्षमा गर्न सकेनौं | हाम्रा पनि कमजोरी छन् |

धर्मपरिवर्तन रोक्ने पहिलो ‘रोडम्याप’ आफ्नो गल्ती स्वीकार गर्नुहो | यो आत्मस्वीकृतिले हाम्रो लागि स्वधर्म रक्षाको लागि नया बाटो खोल्छ | जनताले देशलाई धर्मनिरपेक्ष बनाएका होइनन् | कांग्रेस, एमाले, माओवादी आदिको नेतृत्वले जनतालाई धोका दिएका हुन् | देश र जनताको अभिमत स्वीकार नगरेर विदेशीको परामर्शमा चल्ने नेताहरूको विषयमा हामी सुध्रनै पर्छ | हामी आफ्नो पार्टीको नीतिसंग विमति राख्ने हिम्मत गर्नुपर्छ | हामी आफ्नो पार्टीको नीतिमा देश, धर्म, संस्कृतिको बलिदान दिन  सकिन्न – स्पष्ट बोल्न सकिन्छ | मैले पहिले नै निवेदन गरिसकें कि सरकार बनाउन अभिमत दिने अनि, सरकारले ‘धर्म-संस्कृति’ बेच्यो’ भनेर कम्प्लेन गर्न मिल्दैन | हाम्रो दूईजिब्र नीतिले धर्मसंस्कृति जोगिन्न | आफुसंलग्न रहेको ‘धर्मनिरपेक्ष’ पार्टीलाई छोड्न पनि नसक्ने ! अनि, हिन्दू राष्ट्र चाहिन्छ भनेर उफ्रन पनि नछोड्ने ?!

धर्मशिक्षाको विकास
हामी इसाईले धर्म परिवर्तन गराए भनेर कम्प्लेन गर्छौं | यो सत्य पनि हो | तर के हामीसंग “हामी किन हिन्दू हौँ ? एउटा हिन्दू भएर उसले कस्तो आहार-ब्यबहार र धार्मिक आचरण गर्नुपर्छ ?” सोध्यो भने ९०% हिन्दूसंग जवाफ हुँदैन | इसाईहरूले बाल्यकाल देखि नै बाइबलको शिक्षा दिन्छन् | मुस्लिमहरूका लागि कुरान पढ्नु र बुझ्नु अनिवार्य हुन्छ | तर हामी आफ्ना बालबालिकालाई ‘गीता, भागवत’ वेद, चण्डी’ पढ्ने होइन बाइबल पढाउने स्कूलमा भर्ति गराउन मरिहत्ते गर्छौं | हाम्रा गुरूकुलहरू ‘गरिव बाजेका छोराछोरी’ पढ्ने आत्म-विश्वासरहित, प्राणरहित विद्यालय हुन्छन् | हामी आफ्नो विद्यालयमा गएर ‘गीता’ पढाउन दवाव दिन सक्दैनौं |

हामी र हाम्रा बालबालिकासंग हिन्दूत्व भनेको के हो ? हिन्दूहरूको जीवन पद्यति के हो ? भन्ने विषयमा जानकारी हुनुपर्छ | हामी आफुलाई हिन्दू भन्छौं | हामी किन हिन्दू हौँ ? भनेर कसैले प्रश्न गर्यो भने उत्तर छैन | न बाबुसंग छ, न आमासंग, न हजुरवा-हजुरआमासंग नै | एस्तो परिस्थितिमा “हिन्दूधर्म जोगिएन” भन्नु हास्यास्पद हुनेछ | यसका लागि हामीले आफ्नो परिवारसंग बसेर ‘बेद, पुराण, पुनर्जन्म, आत्मा, परमात्मा, स्वर्ग, नर्क, कर्म”आदिमा विश्वास गर्ने र “गाई, महिला, तुलसी, शालीग्राम, मन्दिर, गुरू, मातापिताआदिलाई भगवान् सरह आस्था गर्ने हिन्दू हुन्छन्’ भन्ने न्यूनतम जानकारी हुनैपर्छ | शास्त्रहरूले ‘धृति, क्षमा, दम, अस्तेय, शौच, इन्द्रीय निग्रह, धी:, विद्या, सत्य तथा अक्रोध” यी दशबाट लक्षण सनातन धर्मका हुन्छन्’ भन्ने जानकारी दिन कुनै असजिलो छैन | हामी नेपालीहरूको दूर्भाग्यनै भन्नुपर्छ, हाम्रो सरकारले धर्म-संस्कृतिको शिक्षा दिने न्यूनतम ब्यबस्था पनि गरेको छैन | हामीले पनि मांगेका छैनौं |

हिन्दू धर्म ब्यबहारिक धर्म हो | हरेक हिन्दूहरूले जन्मदेखि मरणसम्म धार्मिक आचरण गर्नुपर्छ | बच्चा जन्मे लगत्तै सूतक लाग्छ | छ दिनमा विधाताको पूजा हुन्छ | नवौं वा एघारौं दिन नामकरण संस्कार हुन्छ | बालबालिका तिथि-मितिअनुसार नक्षत्रका आधारमा नाम राखिन्छ | चूडाकरण, ब्रतवन्धआदि पन्ध्र संस्कारहरूले व्यक्ति संस्कृत हुन्छ | मृत्युपछि पुन: मृत्युसंस्कार पनि हुन्छ | अनि, हरेक वर्ष दूईपटक श्राद्ध पनि गरिन्छ | यस बाहेक असंख्य सम्प्रदाय तथा रितिरिवाजहरू पनि प्रचलित छन् | जन्माष्टमी, तीज, फागु-पूर्णिमा, दशैँतिहार इत्यादि चाडवाडहरू पनि धर्मकै अंग हुन् | यी चाडवाडहरूसंग जोडिएका आध्यात्मिक, धार्मिक तथा सामाजिक मान्यताहरू जोडिएका हुन्छन् | ती विषयमा पनि हामी र हाम्रो बालबालिकालाई ज्ञान हुनुपर्छ |

वैदिक-धर्म तथा संस्कृतिप्रति गर्व
कुनै पनि जाति र देशको पहिचान नै त्यसको धर्म, संस्कृति तथा परम्परा हो | हिन्दू धर्मका आधारहरू वेद हुन् | वेदहरू मानवीय सभ्यताका पहिला लिखित दस्तावेज हुन् | बौद्ध, जैन तथा सिख धर्मको जन्म पनि वैदिक संस्कृति भित्रबाट भएको हो | हाम्रा परम्परा र तथा संस्कृति (आधुनिकमतमा) कमसेकम पांचहजार वर्ष प्राचीन छन् | वैदिक परम्पराअनुसार हिन्दू धर्मको आरम्भ भगवान् आफैले गरेका हुन् | हामी मनुष्यहरू ईश्वरका प्रत्यक्ष सन्तान हौँ | कर्म नै हाम्रो पहिचान र व्यक्तित्व हो | मान्छेले जस्तो कर्म गर्छ, त्यसैअनुसारको उसको जात हुन्छ | छुवाछुत हिन्दूहरूविचको रूढ़ी हो |

देवीदेवताहरू, सम्प्रदायहरू, मठमन्दिरहरू, चालचलनहरू हाम्रा गौरव हुन् | हामीले परोपकारलाई सबैभन्दा ठूलो पुण्य ठान्छौं | महिलालाई देवी ठानेर पूजा गर्छौं | पशुपक्षी, रुख, हावा, आगो, पानी तथा आकाश समेत हाम्रो लागि सम्मानका विषय हुन् | स्वधर्मी हुन् वा विधर्मी हाम्रो लागि सबै पूजनीय छन् | हामी मुस्लिम, इसाई तथा यहुदीहरूलाई समेत पवित्र धर्मका रूपमा स्वीकार गर्छौं | यो हाम्रो सबैभन्दा महत्वपूर्ण दृष्टिकोण हो | लाखौं संस्कृत ग्रन्थहरू, लाखौं सम्प्रदायहरू, चालचलनहरूमा हामी गर्व गर्छौं | यसरी हिन्दू हुनुनै गर्वको विषय हो | लाखौंवर्ष प्राचीन आफ्नो धर्म र संस्कृतिमा हामीले गर्व नगरे कसले गर्छ ?

बौद्धिक प्रतिकार
हामीले धर्मपरिवर्तनकारीसंग बौद्धिक प्रतिकार (शास्त्रार्थ) गर्न सक्नुपर्छ | बौद्धिकप्रतिकारका लागि हामीमा आफ्नो धर्म तथा संस्कृतिको ज्ञान तथा आचरण हुनुपर्छ | साधनारहित व्यक्तिको आत्मबल हुँदैन | यदि तपाईं पूर्णसाधना गर्न सक्नु हुन्न भने कमसेकम स्नान गरेर १०८ पटक गायत्री मन्त्र जप्न सकिन्छ | माला समातेर जप्नुपर्छ भन्ने छैन, हातका औलामा गनेर पनि जप्न सकिन्छ | यसैगरी, हामीले कमसेकम गीता पढेको हुनुपर्छ | यस बाहेक हिन्दू धर्मका विषयमा जानकारी दिने साहित्यहरू पढेको हुनुपर्छ | यी सबैभन्दा महत्वपूर्ण विषय : हामीमा आफ्नो हिन्दू धर्म, ऋषिमुनि, शास्त्र तथा रितिरिवाजप्रति गर्व हुनुपर्छ | तव मात्र, हामीले आफ्नो घरमा प्रचारप्रसार गर्न आएका धर्मपरिवर्तनकारी व्यक्तिहरूसंग प्रतिकार गर्न सक्छौं |

साधना नगर्ने र हिन्दूधर्मका विषयमा पढ्न नरुचाउने वा नपढ्ने व्यक्तिहरू सजिलै विधर्मीको जालमा पर्छन् | आजभोली बजारमा, यु-ट्युवमा, वेभसाइटहरूमा हिन्दूधर्म सम्वन्धि प्रसस्त सामग्रीहरू छन् | ती सामग्रीहरूबाट साभार गरेर अथवा आफै तयार गरेर स-साना हिन्दू धर्मको विषयमा जानकारी दिने पुस्तिकाहरू छपाउनु पर्छ | ती साहित्यहरू आफ्नो बालबच्चा पढ्ने विद्यालय, पाठशाला वा अन्य सार्वजनिक ठाउँमा वितरण गर्नुपर्छ | हिन्दू धर्मका विज्ञहरूलाई बोलाएर प्रवचन सुन्नुपर्छ 
क्रमशः

Copyright Article 

धर्म डायरी : चिन्तन चौतारी

संस्कृतका हरेक श्लोकहरू मन्त्र नै हुन् किनभने संस्कृत देवभाषा हो | हामी सबै संस्कृतलाई असाध्य माया गर्छौं तर समय तथा परिस्थितिका कारण पढ्न सकेनौं | तर केही छैन | शक्तिशाली गन्धले नाकमा प्रभाव पर्छ | सुन्दर अथवा असुन्दर दृश्य आँखाले देख्छ नै | हाम्रो छालाके विभिन्न प्रकारका स्पर्सहरू थाहा पाउँछ | त्यसैगरी हाम्रो कानका माध्यमबाट प्रवेश गरेका मन्त्रके हामीमासकारात्मक प्रभाव पर्छ नै |

संस्कृतका हरेक शब्दहरू मन्त्र नै हुन् | यो कुरावेद, उपनिषद तथा शास्त्रहरूले बोलेको विषय हो | कुनै विषयको प्रमाणिकरण शास्त्रले गरेको हुनुपर्छ | शास्त्रले गाईको गहुत तथा गोवर लाई पवित्र भन्छ, शास्त्रले भने पछि गाईको गहतलाई सामान्य 'मूत'का रुपमा लिइन्न |

त्यसैले शास्त्रको प्रामाणलाई स्वीकार्नु पर्छ | आज यो पवित्र नन्दसूत स्तोत्र यहाँहरूका लागि समर्पित छ | यसमा कुनै संगीत छैन, कुनै कलाकारिता छैन | केवल शुद्धसंस्कृतका मन्त्रहरूको शुद्ध उच्चारण छ | आजको दिन यो मन्त्र सुनेर आरम्भ गरौँ | सबैको कल्याण हुनेछ |

हाम्रो  देश  नेपाल  वैदिक  संस्कृतिको उद्गमस्थल हो | हिन्दूहरूको  आफ्नो पूर्ख्यौली थलो हो | महर्षि बशिष्टले कोशीको किनारामा श्री गायत्रीको साक्षात्कार गरेका थिए | महर्षि वेद ब्यासले  दमौलीमा अठार पुराण लेखेका हुन् | भरत राजाले  कालीगण्डकीको  किनारामा  तपस्या गरेर  हालको भारतको  नाम  जुराईदिएका हुन् |

विश्वका प्रथम  भाषाविद् पाणीनि गुल्मीको  पाणिनीमा बसेर  ब्यकर्ण लेखेका  थिए भने महान् बैशेशिक  दर्शनका लेखक जैनिनी को जन्म जिमिरेघाट बाग्लुंगमा भएको  थियो | संख्या दर्शनका प्रणेता  महर्षि  कपिलको  नाममा कपिलवस्तु नेपाल मैं छ |

प्रथम कवि बाल्मिकीले कोशीकै किनारमा बसेर रामायण लेखेका हुन् | वेदपुराणहरू नेपाली भूमिका  उपज हुन् | बुद्ध, बोन र किरातीहरू पनि नेपालका रैथाने  हुन् | यही हाम्रो  गौरव  हुन् | यो सबै संस्कृति नै हार्मो पहिचान हो | यसरी  नेपाल विश्व हिन्दू धर्मको  उद्गमस्थल हो | विश्वका हिन्दूहरूले  नेपालबाट  हिन्दू धर्मका विषयमा सिक्नुपर्छ | नेपाल विश्वगुरू हुनुपर्छ |
जसरी कुनै नया मन्दिर स्थापित गरेपछि गण्डकीको काखमा उत्पन्न हुने शालीग्राम स्थापना नगरी हुँदैन त्यसरी नै विश्वका हिन्दूहरूले हिन्दू सनातन धर्मको शिक्षा नेपालबाट प्राप्त गर्नुपर्छ | यी ससाना बटुकहरूमा विश्वगुरूको दायित्व छ | यो दायित्वपूर्तिको लागि  हाम्रो सहयोग चाहिन्छ | यी बटुकहरू आफ्नो धर्म र संस्कृतिका सवालमा सूर्यझैँ तेजस्वी हुनुपर्छ र मानवताका लागि चन्द्रमाझैं शीतल हुनुपर्छ |

नेपाल हाम्रो रैथाने हो, सनातन धर्मको असली केन्द्र हो | हामीले ब्रह्माबाट प्राप्त यो भूमिमा बंसजको अधिकार छ | हाम्रो यो अधिकारलाई कसैले चुनौती दिन सक्दैन | देवभूमि नेपाल मेरो आत्मा हो, मेरो स्वास प्रश्वास हो | मेरो मेरो शरीरबाट मेरो  स्वास खोस्ने वा मेरो स्वासको परिभाषा गर्ने अधिकार कसैसंग छैन  |

हामी कसैसंग विवाद गर्दैनौं तर हाम्रो  धर्म, संस्कृतिमा आक्रमण गर्छन् र हामी आर्यहरूलाई विदेशी भनेर हेप्छन् भने पटक्कै सहने छैनौँ | हाम्रो लागि विश्व नै एउटा परिवार हो तर परिवारको सदस्यले अर्को सदस्यको सम्मान गर्नुपर्छ | हाम्रो धर्म, संस्कृति तथा रितिरिवाजसंग सहमत नहुनु एउटा पाटो हो तर यसलाई शैतान भन्ने अधिकार कसैसंग छैन |

वेनको अराजक गतिविधिलाई नियन्त्रण गर्न ऋषिहरूले मन्त्रको प्रयोग गरेका थिए | हाम्रा लागि यी बटुकहरू ती ऋषिहरूभन्दा कम छैनन् | यिनको मन्त्रमा आज पनि त्यही शक्ति छ |

आहार, निद्रा भय  र मैथुनकार्यका लागि  मान्छे  र पशु  समान छ | मान्छेमा आध्यात्मिकता  छ | यही आध्यात्मिकताले हाम्रो  जीवन सरल छ | जीवनको सार नै  आध्यात्मिकता  हो | आध्यात्मिकताले  मनलाई शान्ति  दिन्छ, बुद्धिमा  विवेकीय  शक्तिको संचार गर्छ | विवेकहिन व्यक्तिहरू विद्वान त हुन सक्छन्  तर तिनमा  मानवीयता न  हुन सक्छ | ऋषिहरूले मान्छेलाई ज्ञानी मात्र होइन आध्यात्मिक प्राणिका रूपमा पहिचान गरेका थिए | आध्यात्मिकता भएको मान्छेले कसैलाई घृणा गर्न  सक्दैन, कसैको हत्या गर्न सक्दैन |

ज्ञानहिन व्यक्ति पशुसमान हुन्छ तर विवेकहीन व्यक्ति राक्षस समान हुन्छ | ऋषिको आदर्शलाई स्वीकार्नेहरू हिन्दू हुन् तर राक्षसको आदर्शलाई स्वीकार्नेहरू हिंसकपन्थका अनुयायी हुन् | विश्वमा भगवानको अस्तित्व देख्नेका लागि हिँसा असम्भव हुन्छ | एकैछिन आखाँ  चिम्लेर विचार गरौँ – हाम्रो शरीरमा कमिलाले टोक्दा पीडा  हुन्छ | जसको घांटी रटेर काटिन्छ, उसलाई कस्तो पीडा हुँदो हो ?

हामीले कसैको निन्दा गर्नु हुँदैन | कसैले खाने वस्तुको निन्दा गर्नु उचित हुँदैन | तर सत्यको साक्षात्कार गर्न सत्यको बाटो हिड्नै पर्छ | सत्यको विचार आफ्नै लागि अप्रिय हुनसक्छ | तर सत्यसंग हामी भाग्न सक्दैनौं | जीवनका हरेक पलमा मृत्यु हाम्रो सत्य हो | हिंसा पनि त्यस्तै अप्रिय सत्य हो |

आध्यात्मिक परामर्शले व्यक्तिको अहिंसक र मानवीय जीवन प्रकट गर्छ | सत्य प्रकट हुँदा कसैलाई ठूलै पीडा हुन्छ भने केहीले आँखा चिम्लेर बुझेको नाटक गर्छन्  र केही पूर्णतया परिवर्तन हुन्छन् | हरेक व्यक्तिले आफ्नो निर्णय आफै गर्नुपर्छ | ईश्वरले हामी मानिसलाई आफ्नो मार्ग चुन्न स्वतन्त्रता प्रदान गरेका छन् |

टुप्पी राखेर, दिनहुँ नुहाएर, सुन्दर तिलक लगाएर, दिनहुँ गायत्री मन्त्र जपेर, मन्दिर धाएर, लामो दारी पालेर कुनै पनि मान्छे धार्मिकजस्तो देखिन सक्छ | तर यी सबै सदाचारका लक्षण होइन | धार्मिक हुनु र सदाचारी हुनु नितान्तफरक विषय हुन् |

हातमा रक्सीको वोतल लिएर पिउन खोज्दा घांटीमा बाधिएको तुलसीको मालाले बोल्दैन | निधारको त्रिपुन्डले रोक्दैन, पहेलों कपडाले छेक्दैन | भित्री मनदेखि वदलिएको धार्मिकता अपनाएपछि खराव आचरण गर्नै सक्दैन | किनभने उसको मन र बुद्धिले खराव आचरणलाई स्वीकार्नै सक्दैन |

यदि मनमा स्वधर्म रक्षाको संकल्प बलियो छ, सनातनधर्म प्रति माया छ र आफ्नो जरोकिलोमा बलियो आस्था छ भने हाम्रो रूप, रंग, जात-जाति, आर्थिकस्तर आदिले रोक्दैन | संकल्पले काम गर्ने हो | हामी कहाँ बस्छौं, को संग बस्छौं, कति पैसा कमाऊछौँ ? भन्दा पनि के हामी आफ्नो धर्म संस्कृतिमाथि अरूले हस्तक्षेप गरेको सहन सक्छौं ? प्रश्न यही हो |
बाहिरी आवरणका आधारमा कसैको सदाचार नाप्न सकिन्न | ९७% नेपालीहरूले आफ्नो धर्म, संस्कृति तथा छिमेकीहरू संग असाध्य प्रेमगर्छौं | हामी मदेशी, पहाडी हिमाली सबैको मन जोड्ने सूत्रनै सनातन धर्म हो | हामविच अन्यधेरै विषयमा विषयमा विवाद होला तर सनातन धर्मको सवालमा कुनै विमति छैन |

हामी हिन्दू, बौद्ध, बोन, किराती, जैन हौँ | हाम्रो पहिचान नै यही हो | हाम्रो राजनैतिक विवादले हाम्रो 'धार्मिक-सम्वन्ध'लाई प्रभाव पार्दैन, पार्दैन र पार्दैन | धर्मसंस्कृति रक्षाका सवालमा हामी एकछौँ | के हामी सनातनहिन्दू धर्मको रक्षाका लागि तयार छौँ ?

हामी नेपालको जनसंख्याको ८२% भएपनि राजनैतिक रुपमा दोस्रो दर्जाको नागरिक बन्नपुगेका छौँ | संविधान निर्माणको सवालमा सरकारलाई ९०% जनताले हिन्दूराष्ट्रका पक्षमा मत जाहेर गरेका थिए तर खै ती मतहरूको मूल्य ?

देशको पहिलो दर्जाको नागरिक अधिकार कसले प्राप्त गरे ? यो प्रश्नको उत्तर सबैलाई थाहा छ, छैन भने थाहा पाउनु पर्छ |अव हामी फेसबुकबाट बाहिर निस्कने बेला भएको छ | नेपालमा १०३ भाषा बोलिन्छन् ती मध्ये ५४ भाषाहरूमा 'पहिलो दर्जाका नागरिकहरू'को पहुँच स्थापित भैसकेको छ | हामी भने फेसबुकमा सीमित छौँ | पैसो खर्च नगरिकन पनि हामी हरेक घरघरमा पुगेर स्वधर्म, संस्कृति तथा सनातन धर्मको रक्षा गर्न सक्छौं | के तपाईं मेरो प्रयत्नमा साथ दिन तयार हुनहुन्छ (पैसा लाग्दैन) केवल तपाईंहरूको बुद्धि र विवेक मलाई दिनुहोस्, मैले तपाईंको बुद्धिलाई जनतासम्म पुर्याउने छु |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...