आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!
आधुनिक मानवतावादी चिन्तनको उद्देश्य कुनै पनि भेदभाव विना हरेक मान्छेलाई गरिमा (Dignity) पूर्ण सहयात्रिका रूपमा स्वीकार गर्दै उसको सम्मान गर्नु र सम्मान प्राप्त गर्नु हो | अंग्रेजी डिग्निटी शब्दले मानवअधिकारलाई पनि आकर्षित गर्छ जसले भूगोल, जातजाति, आर्थिकस्तर, धार्मिक भिन्नता तथा पेशाका आधारमा भेदभावपूर्ण व्यबहारलाई विस्थापित गर्न अनुरोध गर्छ | सामान्यता १४ औं ई. तिर इटालीमा जन्मेका पित्रेजलाई (Petrarch) आधुनिक मानवतावादी चिन्तनका जनक मानिन्छ तर यो दृष्टिकोण युरोपेली र अमेरिकनहरूको हो | परापूर्वकालदेखि नै पश्चिमाहरूले मानवतावादको अर्थ र प्रयोजन "मानव-महत्व"संग जोडे | मानवप्राणी बाहेक अन्य ८३९९९९९ (वैदिक मान्यताअनुसार) प्राणी र अजीव विश्वको गरिवमातिर खासै महत्व दिएनन् | यसरी पश्चिमा मानवतावादको दृष्टिकोण आज पनि मानव-प्रमुख (Human supremacy) आधारित छ र यो बैचारिक दृष्टिकोण र व्यबहार विश्वभरी फैलिएको छ | नेपाल तथा भारतजस्ता प्राचीन सभ्यता भएका देशहरूले समेत आधुनिक परिपेक्षमा "प्रकृतिमा मानवमात्र गरिमामय प्राणी हो" भन्ने मान्यतालाई आत्मसात गरेका छन् | यद्यपि द्वितीय विश्वयुद्धका विनाशक परिणामहरूबाट झस्किएका पश्चिमा चिन्तकहरूले "मानवतावाद"को अर्थमा केही संशोधन गरेर प्रकृति र प्रकृतिका अन्य उत्पादहरुको "गरिमा"मा पनि ध्यान दिनु पर्ने दृष्टिकोण अगाडी सारेका छन् |
पछिल्लो मानवतावादी चिन्तन "मानवकेन्द्रित" सिद्धान्तबाट केही माथि उठेको छ तर व्याबहारिक रूपमा Human supremacy को "स्वार्थ" जस्ताको तस्तै छ | सीमानाहरूमा बाँधिएका शक्तिशाली राष्ट्रहरूले आफ्ना "राष्ट्रिय स्वार्थ"लाई कत्तिपनि छोडेका छैनन् बरू आफ्नो राजनैतिक राष्ट्रको स्वार्थलाई अझैं बलियो र प्रभावकारी रूपले कार्यान्वयन गरेका छन् | खासगरी आर्थिकस्तरका आधारमा नागरिकहरूको मानवोचित स्वतन्त्रतामा अंकुश लगाएका छन् | वाहिर देखाउंदा अन्य कारण उद्धृत गरे पनि उपर्युक्त अंकुशहरूमा भूगोल, धार्मिकता, छालाको रङ्ग र भाषा पनि जोडिएका छन् | शक्तिशाली राष्ट्रहरूले निर्धन राष्ट्रका नागरिकहरूलाई आफ्नो देशमा प्रवेशाज्ञा नदिनु यसको प्रखर उदाहरण हो |
मनुस्मृतिको समय र आजको परिवेश निकै भिन्न छ | मनुस्मृतिले केवल तत्कालीन समाजको मार्गदर्शक सिद्धान्तहरू निर्माण गरेको छ भन्नु अर्धसत्य हुने छ | मनुस्मृतिका केही कथन र मान्यताहरूलाई लिएर आजका मानवतावादी तथा अधिकारवादीहरूले यसको कठोर आलोचना गर्छन् | समालोचना गर्नु र आलोचना गर्नुमा फरक छ | मनुस्मृतिका आलोचकहरूमा ती व्यक्ति वा समुदाय बढी छन् जसले मनुस्मृतिलाई उसको मूलभाषा (संस्कृत)मा पढ्न र बुझ्न सक्दैनन् वा तेस्रो व्यक्तिको भनाईमा विश्वास गरेर निरापद आलोचनाको बाटो अवलम्बन गर्छन् | सत्य के हो भने मनुस्मृति एस्तो कालजयी सभ्यता र संस्कृतिको निर्माता ग्रन्थ हो जुन चिन्तन र पथप्रदर्शनले आजको हिन्दु-समाजको धार्मिक, सांस्कृतिक, राजनैतिक र सामाजिक जरोकिलो निर्माण भएको छ र आज पनि दैनिक जीवनमा तिनको न्युनाधिकरूपमा अनुशरण गरिंदै छ | हो, यो अनुशरणमा केही तत्थ्यहरू आधुनिक न्यायव्यबस्था र मानवतावादी दृष्टिकोणमा अस्वीकार्य छन् |
संस्कृत भाषामा लेखिएको मनुस्मृति, मानवशास्त्र वा मनुसंहिताका रूपमा प्रसिद्ध मनुस्मृतिमा १२ अध्याय र २६९० श्लोक छन् | धेरैजसो श्लोकहरू अनुष्ठुप छन्दमा लेखिएका छन् तर लेखक र लेखन समयका विषयमा तीब्र विवाद छ | पश्चिमाहरूले ई.पू. ४००-३०० तिर मानेका छन् भने डा. राधाकृष्णन् जस्ता भारतेली विद्वानहरूले ई.पू. ९०० तिर मानेका छन् | अर्कोतिर वैदिक गणना पद्धतिमा विश्वास गर्नेहरूले मनुस्मृतिको रचना महाराज मनुले गरेको हुँदा यसको रचना यस मन्वन्तरको आरम्भमा (लाखौं वर्ष पहिले) गरिएको विश्वास गर्छन् | भारत अंग्रेजहरूको अधिनमा रहेको बखत तत्कालीन अंग्रेज भाषाविद्, इतिहासकार र न्यायधीश सर विलियम जोइन ले सन् १७९४ मा पहिलोपटक अंग्रेजीमा अनुवाद गरेपछि पश्चिमाविच यो पुस्तक निकै चर्चाको विषयवस्तु बनेको थियो | यो पढेपछि तत्कालीन पोपले "बाइबललाई (परमेश्वरलाई) चुनौती दिने" भन्दै आलोचना गरेका थिए |
आधुनिक मानवतावादी चिन्तनमा मानवीय स्वतन्त्रतालाई विशेष महत्व दिइएको छ जसमा बाक्स्वतन्त्रता, हिडडुल गर्ने स्वतन्त्रता, न्यायमा पहुँचको स्वतन्त्रता, बाँच्न र पेशा गर्न पाउने स्वतन्त्रता र धार्मिक तथा शिक्षा प्राप्त गर्ने स्वतन्त्रता | यस्तो स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु "भेदभाव"पूर्ण व्यबहारलाई मानिएको छ | प्रसिद्ध विश्वकोश ब्रिटेनिकाले हुमनिज्ममा समझदारी, परिपकारी ब्यबहार, करूणा, दया, सकारात्मक गुणहरूप्रति दृढता, न्याय, विवेकशील दृष्टिकोण, सद्भाव र प्रेमजस्ता गुणहरू नै - मानवतावाद भएको उल्लेख गरेको छ | ईश्वरवादी तथा नास्तिक मानवतावादीहरू पनि उपरोक्त कथनमा सहमति जनाउंदै "भेदभावरहित" व्यबहारप्रति समान विचार राख्छन् | अर्थात् समानता र समभाव नै आधुनिक मानवतावादी दृष्टिकोण भन्नुपर्छ र आजको विश्व मानवतावादी आन्दोलन भेदभावरहित र समानतामूलक मानव-समाजका लागि प्रतिबन्ध छ भनिन्छ |
No comments:
Post a Comment