Tuesday, December 12, 2023

वेदको रचनाकार र वेद

 वेदको रचनाकार र वेद

अस्य महतो भूतस्य नि:श्वसितमेतद्ऋग्वेदोयजूर्वेद: (वृ.उ. २/४/१०
ऋग्वेदसहित चारै वेद महान् प्रकृतिका स्वामीको श्वासप्रश्वासबाट निस्किएका हुन् | यहाँ महतो भूतस्य शब्दलाई परमतत्व -परमात्मा वा ईश्वरका भनेर अनुवाद गर्ने चलन छ तर यसको अर्थ "महान् प्रकृति" पनि हुन्छ |
स्मरणीय के छ भने मूलत: वेद एउटामात्र हो | ऋषि वेदव्यासले ज्ञानकाण्डका रुपमा ऋग्वेद, कर्मकाण्डका रूपमा यजुर्वेद, स्तुति अर्थात् भक्तिकाण्डका रूपमा साम वेद र जीवन दर्शनका रुपमा अथर्ववेद संहिताका फरकफरक ग्रन्थ बनाएका हुन् | समग्र वेद एकै जना व्यक्तिले घोक्न र जीवनभरी सम्झेर अर्कालाई घोकाउन गाह्रो देखेर यस्तो विभाजन भएको हो |
ऋग्वेदका १० मण्डलमा १०५५२ मन्त्रहरू, यजुर्वेदका ४० अध्यायमा १९७५ मन्त्रहरू, सामवेदका ६ अध्याय र १८७५ मन्त्रहरू तथा अथर्ववेदका २० खण्डमा ५९७७ मन्त्र छन् | सम्पूर्ण वेदमा २०३७९ मन्त्रहरू रहेका छन् | हो, मन्त्र सङ्ख्यामा केही विवाद छ तर समग्रमा वेद र वेदमा मन्त्रहरूको सङ्ख्या एत्ति नै हो | एति कुराको जानकरी हरेक सनातनीमा हुनुपर्छ |
वेदहरूसंग नेपालको गहिरो सम्बन्ध छ | ऋषिहरूले वेदका ऋचाहरूको साक्षात्कार वर्तमान नेपाली भूमिभित्र गरेका हुन् भन्ने प्रमाणहरू वेदमै यथेष्ट छन् | ऋग्वेदको १० सौं मण्डल, १२१ सौं सूक्तलाई हिरण्यगर्भ-सूक्त भनिन्छ | यसमा १० बटा मन्त्रहरू छन् | यो सूक्तहरूले प्रष्टरूपमा हिरण्यगर्भ (गर्भमा स्वर्ण भएका) शालीग्रामको उत्पत्ति हिमालमा (ऋग्वेद १०/१२१/४) भएको र त्यो प्रवाहशील नदीको बाटो हुँदै समुद्रसम्म फैलिएर चारैदिशाको रक्षा गर्दै प्रजापतिका रूपमा पूजाआराधना गर्न योग्य भएको प्रष्ट उल्लेख गरेको छ |
हिरण्यगर्भ (शालीग्राम) पाइने एकमात्र ठाउँ हिमालय नै हुन् र ती नदीको बाटो हुँदै समुद्र पुग्ने पनि यथार्थ हो | विश्वभरीका वैदिकहरूले शालीग्रामको पूजाआराधना गर्ने परम्परा पनि जीवित नै छ | साथै, पान्चायन देवताको पूजा गर्दा आफ्नो गुरू परम्पराअनुसार शिव, विष्णु, शक्ति, गणेश वा सूर्यका रूपमा हिरण्यगर्भको (शालीग्राम) आराधना गर्ने परम्परा पनि विश्वभरी प्रचलित छ |
ऋग्वेदकालीन ऋषिहरूले हिमालयबाट जन्मेका शालीग्रामलाई शिव,गणेश, शक्ति, सूर्य र विष्णुका रूपमा एकै थालमा (शैव, शाक्त, वैष्णव, गाणपत्य तथा सौर्य) पूज्ने “सहना ववतु”को सहृदयी दर्शनशास्त्र नेपालको मौलिक दर्शनशास्त्र हो भन्न मिल्छ | दार्शनिक रूपमा उपर्युक्त ऋग्वेदीय हिमवन्त-हिरण्यगर्भको उपस्थितिले नेपाली समाजको समावेशी तथा द्वैताद्वैतवादी चरित्र विकसित भएको स्थापित भएको स्वीकार गर्न सकिन्छ र यही स्वीकारोक्तिबाट नेपाली दर्शनशास्त्र स्थापित हुने छ |
भाषाका आधारमा नेपाली इतिहास युरोपसंग जोडिने इतिहासको परिकल्पनालाई उपर्युक्त हिरण्यगर्भ सूक्तका मन्त्रहरूले गहिरो चुनौती दिन्छन् |अफगानिस्तानका पहाडहरूमा हिरण्यगर्भको (शालीग्राम) अस्तित्व छैन |
घोकाइका आधारमा द्विवेदी, त्रिवेदी, चतुर्वेदी, सुवेदी आदि थर निर्मित भएका हुन् | वेदलाई हिन्दू धर्म ग्रन्थ भन्नेहरू अज्ञानी हुन् किनभने वेद स्वयंले (तल्मुद, बाइबल र कुरानले प्रष्ट रूपमा आफु यहुदी, इसाई र मुस्लिमहरूको धर्म-कर्म ग्रन्थ भएको र गड वा अल्लाहले केवल आफ्नाजनलाई दिएको भनेर बोलेका छन्) आफुलाई मानवमात्रको ज्ञान भनेर घोषणा गरेका छन् | तेसै पनि वेद शब्दको अर्थ "ज्ञान" नै हो र ज्ञान सबैको साझा हुने हुँदा वेद मानवमात्रका साझा ग्रन्थ हुन् | ऋषिहरूले वेदका मन्त्रहरू नेपाली भूमिमा साक्षात्कार गरेर नेपालको गौरव बढाएका छन् | नेपाल र नेपालीलाई गौरवशाली बनाएका छन् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...