Saturday, September 1, 2018

संसार संस्कृतमय हुँदै छ !

भोली विश्व संस्कृत दिवस मनाइदै छ | जनैपूर्णिमा, रक्षा बन्धन, राखीका नामले प्रसिद्ध यो चाड हिन्दू, जैन तथा बौद्धहरूले आ-आफ्नो स्थानीय चालचलनअनुसार मनाउने गर्छन् | तर जनै अर्थात् ब्रहमसूत्रको निर्माण गरेर बैदिक रूपमा विधानपूर्वक अभिमंत्रित गर्ने र यसलाई विधिपूर्वक धारण गर्ने क्रिया भने विश्वभरिका सनातन धार्मिहरूले समान रूपमा सम्पादन गर्छन् | ब्रह्मसूत्रले विश्वभरीका सनातन धार्मिहरूलाई एकसूत्रमा बाध्ने काम गर्छ | ब्रह्मसूत्र अभिमन्त्रित गर्ने मन्त्रहरू, वैदिक विधानहरू र जनैनिर्माण गर्ने प्रक्रिया विश्वभरी एकै प्रकारले गरिन्छ |

जनै अभिमन्त्रित गर्ने मात्र होइन समस्त धार्मिक, सांस्कृतिक तथा मौलिक संस्कारहरू सम्पादन गर्दा संस्कृत भाषाको प्रयोग हुन्छ | भूगोल, वर्ण, भाषा, जातजाति आदिका सबैप्रकारका सीमा-बन्धनहरू तोडेर “संस्कृत”ले सनातन धार्मिहरूलाई एकसूत्रमा निबद्ध गर्छ | संस्कृत सबैप्रकारका सीमाहरूलाई तोडेर संस्कारित मानव बनाउने बन्ने एकमात्र सूत्र बन्छ |

संस्कृत शब्दको अर्थ संस्कार अर्थात् परिष्कार गरिएको भन्ने हुन्छ भने अर्कोतिर यो विश्वको सबैभन्दा प्राचीन तथा जीवित भाषा पनि हो | यस भाषामा विश्वका सबैभन्दा प्राचीन ग्रन्थ वेदहरू लेखिएका छन् भने साहित्य, अर्थशास्त्र, आयुर्वेद, भूगोल, नीति, दर्शन, संगीत, कृषि, पाक, शस्त्रअस्त्र, मन्त्रतन्त्र, ज्योतिषजस्ता ११० विधाहरूमा हजारौं ग्रन्थहरू रचना भएका छन् | विगत पांचहजार वर्ष देखि आजसम्म निरन्तर विधाहरूमा रचना भैरहेको कुनै भाषा छ भने त्यो संस्कृत मात्र हो | हो, नेपाली, हिन्दी, भोजपुरी, मैथिलीआदि भाषिकाहरूको स्थानीयतहमा विकसित हुँदै गर्दा र अंग्रेजीको अतिक्रमले संस्कृत कमजोर भएको छ तर संस्कृतमा कृतिहरू सृजित हुने कार्य, पठनपाठन गर्ने/गरिने कार्यहरू रोकिएको छैन |

पश्चिमा विद्वानहरूले समेत संस्कृतको आरम्भ लगभग पाँचहजार वर्ष भएको स्वीकार गरेका छन् भने वैदिकहरूले संस्कृतलाई “देवभाषा” भने किनभने ब्याकरणले संस्कारित भएर लेखिने, बोलिने र पढिने विश्वको एकमात्र भाषा संस्कृत हो | विश्वका सबैभाषाहरू बोल्दा, लेख्दा र पढ्दामा फरक हुन्छन् तर संस्कृतमा एस्तो हुँदैन | जस्तो लेखिन्छ तेस्तै पढिन्छ | जस्तो बोलिन्छ तेस्तै लेखिन्छ | फुटुरे लेखेर फ्युचर पढ्ने, कहाँबाट लेखेर का’ण पढ्ने अवकाश यसमा हुँदैन | किनभने यो पूर्णरूपले संस्कार गरिएको अर्थात् सुधारिएको भाषा हो |
संस्कृत भाषाको यही विशेषता देखेर होला २०११ मा विश्वको प्रसिद्ध अमेरिकी अन्तरीक्ष संस्थाले कम्प्युटर संचारका लागि “संस्कृत भाषा सर्बोत्तम” भएको ठहर गरेको थियो | भविष्यमा अन्तरीक्षबाट पृथ्वीमा र पृथ्वीबाट अन्तरीक्षमा संचार गर्न प्रयोग हुने पूर्ण सम्भावना छ | अंग्रेजीले विश्वका भाषाहरूको अस्तित्वलाई चुनौती दिइरहेको अवस्थामा संस्कृत अंग्रेजीको बलियो प्रतिद्वन्दी बन्न सक्ने सम्भावनाले “अंग्रेजी भक्त” चिन्तित भएका छन् | अंग्रेजी भाषाको पिठ्युमा सवार भएर विश्वधर्म बनेको इसाई पन्थका अभियन्ताहरू सबैभन्दा बढी चिन्तित भएका छन् | संस्कृतको उपरोक्त देवत्व रोक्न “संस्कृतबाट विकसित भएको संस्कृति”उपर साम, दाम, दण्ड तथा भेद प्रयोग गरेर प्रहार गर्दै आइरहेका छन् |

विगत दुई दशकभित्र नेपालमा संस्कृत र संस्कृतका माध्यमबाट विकसित भएको सभ्यता, परम्परा तथा जरोकिलोमा सङ्गठित प्रहार हुँदैआएको छ | संस्कृत तथा संस्कृतसंग जोडिएका समुदाय तथा संस्कारहरू विरुद्ध घृणा फैलाउने काम भएको छ | संस्कृत पाठशालामा पढ्ने बालबालिकाहरूको टुप्पी काट्ने र संस्कृतका शिक्षकको नृसंशहत्याको प्रसंग नेपाली जनताले कहील्यै पनि विर्सने छैनन् | विश्वले आफ्नो पहिचना खोज्न, जोगाउन तथा सम्वर्धन गर्ने प्रयत्न गरिरहेको अवस्थामा नेपाली राजनैतिक तथा बौद्धिक नेतृत्व भने “संस्कृत”लाई मासेर आफ्नो पहिचान सधैंका लागि मेटाउन उद्यत देखिन्छ | आफ्नै मौलिकतालाई मासेर “विकास र आधुनिकता”को सपना देख्ने नेपालको राजनैतिक तथा बौद्धिक नेतृत्व साच्चिकै विश्वको “आठौँ आश्चर्य” भन्न उपयुक्त हुन्छ |

संस्कृत सबैमा लेखिएका र संस्कृतका माध्यमबाट विकसित भएका सबै कुराहरू स्वीकार्य नै छन् र हुनुपर्छ भन्ने छैन | संस्कृत र संस्कृतबाट विकसित भएको सभ्यता परिवर्तनशील हुनुपर्छ र भएको छ | अन्धविश्वास, पान्थिक कट्टरता, मानव-मानव विचको विभेदको समातेर हिड्न सकिन्न | संस्कृतबाट प्राप्त “छुवाछुत”जस्ता चालचलनहरू रद्दीको टोकरीमा फ्याकिनुपर्छ | किनभने आजको समयमा यी “संस्कृत” रहेनन् | यी परिपाटी रहेसम्म संस्कृतमा पुनर्जागरण हुनसक्दैन | हामी संस्कृतको पुनर्जागरण चाहन्छौं | एस्तो चाहना संस्कृतभाषामा हजारौं वर्ष देखि लेखिंदै आएका विषयवस्तुहरूलाई “मूल”रूपमा नबुझी सम्भव हुँदैन | संस्कृतभित्र रहेको राम्रो/नराम्रो विषयसंग न्याय गर्न हामीले संस्कृत जान्नैपर्छ |

धेरैलाई “संस्कृत” असजिलो भाषा हो भन्ने लाग्छ | केही संस्कृत “ब्राह्मणहरूले कर्मकाण्ड”को भाषा मात्रै भएको आरोप लगाउँछन् भने केहीका लागि संस्कृत “मृत” भाषा हो | यी आरोपहरूबाट संस्कृत-भाषालाई हामीले मुक्त गर्नुपर्छ | हामीले बोल्ने नेपाली, मैथिली, भोजपुरी, बज्जिका, नेवारीमा संस्कृतका थुर्पै आगन्तुक शब्द छन् | हामीले जानेर-नजानेर संस्कृत बोलिरहेका छौँ | यदि हामीले आफ्नो भाषाको जरोकिलो अर्थात् संस्कृतप्रति प्रेम मात्र गर्ने हो भने यो सजिलो हुन्छ | एसलाई भाषाका रूपमा स्वीकार गरेर आफ्नो संस्कृतिको जरोकिलो वा पहिचानको रूपमा सम्मान गर्दासाथ हामी संस्कृतको स्वीकार्यता बढ्छ | हामीले बुझ्नुपर्छ नासाले संस्कृतको महत्वलाई स्वीकार गरिसकेपछि केही “प्रायोजित राजनैतिक नेतृत्व र बौद्धिक दास”हरूले संस्कृतमा लगाएको “मृतक”को आरोप अस्वीकृत भैसकेको छ |

मैले अंग्रेजी र संस्कृत दुवैभाषालाई राम्ररी बुझेको छु | अंग्रेजी र संस्कृत दूबै अद्भूतभाषा हुन् | आफ्ना मातृभाषाहरूको आफ्नै महत्व र योगदान छ | तथापि जसरी जरोमा पानी हालेपछि रूख बढ्छ तेसरी नै संस्कृतभाषालाई सिंचित गरेपछि हामी सम्बृद्ध हुन्छौं | संस्कृत दिवसले हामी सबैलाई आफुलाई प्रेम गर्न र आफ्नो जरोकिलोमा उभिएर निर्धक्कसंग गर्विलो भएर अगाडी बढ्ने प्रेरणा दिन्छ | संयुक्त राष्ट्रसंघले घोषणा गरेको “विश्व दिवस” भन्दा हामीले स्वीकार गरेको आफ्नो विश्वदिवस धेरै महत्वपूर्ण छ | किनभने यो हाम्रो सभ्यताको पुकार हो, यो हाम्रो आफ्नो मूलधारको खोज हो | हामीले आफ्नो मूलको खोज गरेनौं भने कसैले गर्दैन | हामीले आफ्नो लागि बोलेनौं भने कसैले बोल्दैन | यदि हामीले आफ्नो स्रोत खोजेनौं भने कसैले खोज्दैनन् |

केही राजनैतिक र बुद्धिकर्मीहरूले संस्कृतलाई “विभेद” गर्न प्रेरित गर्ने माध्यमका रुपमा बुझ्ने/बुझाउने गरेको मैले सुनेको र पढेको छु | संस्कृत र संस्कृतसंग जोडिएको इतिहास नबुझ्दा एस्तै हुन्छ | संस्कृतमा अडिएको सनातन धर्मको जगलाई लान्छित गर्ने उद्देश्यले अंग्रेजी वा अन्य भाषामा वदनियतले लेखिएका साहित्यले अधूरो सत्य बोल्छन् | असलमा, नेपाली संस्कृतिको स्रोत संस्कृत हो र संस्कृत एउटा समावेशी भाषा हो | संस्कृतले विकास गरेको संस्कृति नै भन्नुपर्छ विगत कमसेकम पैतीस सयवर्षदेखि नेपालमा संगै वसोवास गर्ने १२३ जातजातिहरू र १२८ भाषाहरू जीवित छन् | विश्वका विकसित धर्महरुको अतिक्रमणका कारण धेरै रैथाने भाषा, संस्कृति र धर्महरू सधैंका लागि गुमेको तत्थ्य हामी समक्ष छर्लंग छन् |

नेपाल र नेपालीको जीवनदर्शन संस्कृतसंग गाँसिएको छ | महर्षि विश्वामित्र, संस्कृतका बाल्मिकी, सांख्यकार कपिल, ब्रहमसूत्रकार वेदब्यास, मीमांसाकार महर्षि जैमिनी, बौद्ध दार्शनिक नागार्जुन, प्रथम जैन तीर्थंकर ऋषभदेवआदि दार्शनिकहरूको इतिहास नेपालसंग गाँसिएको छ | कुनै बेला मिथिलाञ्चल संस्कृतको उर्वर भूमि थियो | मैथिलीहरूका विषयमा एउटा भनाई आज पनि प्रसिद्ध छ “मिथिला क्षेत्रका गोठालाहरूले पशु चराउँदा संस्कृत बोल्छन् |” हालको पर्वत जिल्लालाई “नेपालको वाराणसी” भनेर प्रपन्नाचार्यले संस्कृतको बर्चश्व खोलेका छन् | एतिमात्र होइन, लेखकसंग कुरा गर्दै एकपटक संस्कृतका विद्वान स्वर्गीय खेमराज केशवशरणले “नेपालीहरूले करिव-करीव चारहजार संस्कृतका ग्रन्थहरू प्रणयन गरेका छन् | ती मध्ये केही मात्र प्रकाशित भएका छन् | केही चोरी गरेर भारतीयहरूसहित विदेशीहरूले आफ्नो नाममा प्रकाशित गरेका छन् | धेरै कितावहरू राष्ट्रीय पुरातत्व बिभागमा धमिराले खाइरहेका छन् |” उहाको कुरालाई सत्य-असत्य सिद्ध गर्न हामीले अनुसन्धान गर्नुपर्छ |

पंचायतकालमा संस्कृतभाषाको विकास तथा प्रवर्धनका लागि भनेर संस्कृत विश्वविद्यालयको स्थापना भएको छ | चरम राजनैतिक अतिसबैभन्दा पुरानो क्रमणमा परेको यो विश्वविद्यालयले संस्कृतको विकासमा टेवा पुर्याएकै छ | नेपालको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तरतहमा संस्कृतको पठनपाठन हुन्छ | मैले सुनेअसुसार यहाँ पनि संस्कृत पढ्ने विद्यार्थीहरूको चरम अभाव छ | लुम्विनी बौद्ध विश्वविद्यालय र काठमान्डौ विश्वविद्यालयहरूले पनि बौद्धदर्शनअन्तर्गत संस्कृतको अध्यापन गराउँछन् | उच्चमाध्यमिकतहमा पनि संस्कृतको प्रावधान छ | औपचारिक तथा अनौपचारिकरूपमा नेपाल भरी करिव ३७१ गुरुकुल (वेदविद्याश्रम)हरू संचालित छन् | अपुष्ट तत्थ्यअनुसार हाल नेपालभित्र संस्कृतको उच्चतहमा अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या ४००० जतिरहेको छ भने वेदविद्याश्रममा करिव ९४३० बटुकहरू संस्कृतको अध्ययन गर्दैछन् | छिमेकी देश भारतमा संस्कृत अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या के-कति छ ? भन्न सकिन्न तर यसको ठूलै सङ्ख्या छ |

समयले कोल्टे फेरेको छ | हिजो संस्कृत भाषा र साहित्यप्रति घृणा गर्नेहरू आज संस्कृतका सेवकमा परिवर्तित हुँदैछन् | जनसामान्यमा समेत संस्कृतप्रति गहिरो अभिरुचि जागेको छ | प्राचीन संस्कृत ग्रन्थमा लुकेका रहस्यहरू खोतल्न विश्वका विद्वानहरू आतुर बनेका छन् | हरेक दिन संस्कृत साहित्यमा लुकेका “विज्ञान”हरू खुल्दैजाँदा विश्वका विद्वानहरू चकित बनिरहेका छन् | संस्कृत साहित्यमा रहेको प्राकृतिक समावेशीपन, मान्छेलाई मात्र होइन पशु तथा निर्जीव वस्तुहरूलाई सम्मान गर्ने परम्पराप्रति विश्वको अभिरुचि बढेको छ | अब्राहमिक धार्मिक समुदायको विकाससंगै बढेको कट्टरपन्थी चिन्तन, आफुभन्दा भिन्न विचार वा धार्मिक समुदायप्रतिको असहिष्णुताले दिक्क भएको मानव-समुदाय संस्कृतको “संगै बसौं, संगै भोजन गरौँ, संगै मिलेर उद्द्योग गरौँ, विश्वलाई आफ्नो परिवार ठानौं र सबैको सुखका लागि सहकार्य गरौँ” जस्ता चिन्तनप्रति आकर्षित भैरहेका छन् | अर्को शब्दमा “विश्व संस्कृत-सभ्यता” प्रति आकर्षित हुँदैन छ |

एउटा विश्वप्रसिद्ध पत्रिकाकाअनुसार वर्तमानमा विश्वमा सबैभन्दा छिटो फैलिने विचारधारा “हिन्दू” हो | हिन्दूको अर्थ मान्छेले धर्मपरिवर्तन गरेर हिन्दू बनेको होइन | मान्छेमा जतिधेरै “अर्कोलाई स्वीकार गर्ने चेतना” बढ्दै जान्छ, उ तेती नै धेरै हिन्दू हुँदै जान्छ | यहुदी, इसाई तथा मुस्लिम चिन्तनले सधैं एकअर्काको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक अस्तित्वलाई अस्वीकार गर्दै आइरहेका छन् | यी सबै सम्प्रदायहरुले आफ्नो विस्तार गर्न “धर्मपरिवर्तन”को लागि काम गर्छन् | एकअर्काको अस्तित्वलाई अस्वीकार गर्छन् | तर संस्कृतको बलियो जगमा उभिएको हिन्दूले न कसैलाई धर्मपरिवर्तन गर्न/गराउन उत्प्रेरित गर्छन् | न धर्मपरिवर्तनको अस्तित्वलाई नै स्वीकार गरिएको छ | आज विश्व जुन धार्मिक र सांस्कृतिक उदारवादको खोजिमा छ, एस्तो उदारतावाद नितान्त संस्कृतको गर्भबाट जन्मिएको हो | एस अर्थमा विश्वको हरेक व्यक्ति न्युनाधिकरूपमा संस्कृत-प्रेमीमा रुपान्तरित हुँदैछ |

विश्व नै संस्कृतको अनुयायिकान् रूपमा रुपान्तरित हुँदैगर्दा संस्कृतको उद्गमस्थल नेपालीहरू चूप लागेर बस्नु हुँदैन | राजनैतिक प्रतिकुल अवस्थामा पनि संस्कृति र संस्कृतको सुरक्षा तथा प्रवर्धनका लागि खुलेर कुरा गर्नेहरू, शान्त रूपमा अनुसन्धानात्मक कार्य गर्नेहरू र संस्कृत सिक्नेहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ | यसले नेपालीहरूको आत्मविश्वास वढेको छ | अव संस्कृतको पालो हो | हामीले संस्कृत पढेर, संस्कृत बनेर, संस्कृत बुझेर आफ्नो इतिहास आफैले लेख्ने बेला हो | संस्कृत दिवसले हामीमा उत्साह र प्रेम भरोस् | जयतु: संस्कृतम् |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...