Wednesday, February 28, 2024

के म असल स्वास्नी हुँ ?


मैले नेपाली जनजीब्रोमा प्रचलित "लोग्नेस्वास्नी" शब्दको प्रयोग गरेको पढेर केही व्यक्तिके फोन गरेर "स्वास्नी" भन्नु "लैङ्गिक" अपमान हो | यस्तो शब्द प्रयोग गर्नु उचित हुन्न भन्ने सल्लाह दिनुभयो | केटाकेटीलाई "आउनुस, जानुस्" भनेर सिकाउने, महिलालाई सम्बोधन गर्दा "आइमाई" भन्न हुँदैन भन्नेजस्ता चिन्तनको निरन्तरता हो | तपाईंलाई उचित लाग्दैन भने प्रयोग नगर्नुस्, नेपाली शब्दहरू मर्न नदिन पनि, हामीले जनजीब्रोका शब्दहरू प्रयोग गर्नेपर्छ | यस्तो सल्लाह दिनेहरूप्रति मेरो सम्मानभाव छैन |
स्वास्नी शब्दको निर्माण संस्कृत शब्द "सुवासिनी"बाट भएको हो जसको अर्थ शरीरबाट मीठो सुगन्ध निस्कने" हो | यो कुनै अपमान जनक वा लैङ्गिक विभेद गर्ने शब्द होइन | लोग्नेले आफ्नो पत्नीलाई "स्वास्नी" भन्नुमा र स्वास्नीले आफ्नो पतिलाई "लोग्ने" भन्नुमा कुनै खोट छैन | अव, यी शब्दहरूको प्रयोग गर्ने वा नगर्ने आपसमा : यो कुरा सम्बन्धित लोग्नेस्वास्नीको व्यक्तिगत निर्णयमा भर पर्छ | नेपाली भाषामा भएका हरेक शब्दहरू महत्वपूर्ण छन्, इतिहास र परंपरा बोकेका छन् र यिनको प्रयोग हुनुपर्छ | कसैले कसैलाई "होच्याउने, अपमानित गर्ने तथा नराम्रो" देखाउनका लागि कुनै पनि शब्दको प्रत्यक्ष वा अप्रत्यक्ष प्रयोग गरिनु हुँदैन |
तेसो भए सुवासिनी अर्थात् कस्ता स्वास्नी असल हुन्छन् ? वा एउटा स्वास्नीको रूपमा तपाईंको कस्तो व्यबहारले तपाईं "असल स्वास्नी" बन्नुहुन्छ ? यस विषयमा यहाँ छलफल गरिने छ | हो, धर्म, संस्कृति, परम्परा, आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक तथा अन्य धेरै आन्तरिक र बाह्य परिवेशका कारण "असल र कमसल"को अर्थ फरक हुन सक्छ तर एउटी स्वास्नीको रूपमा धेरैजसो लोग्ने, लोग्नेका परिवार तथा समाजले बुझ्नेबुझाउने नेपाली परम्पराको वारेमा चर्चा गर्ने छौँ | नेपाली समाजमा "गृहस्वामिनी, घर, पत्नी, जाया, भार्याआदि शब्दले "स्वास्नी"लाई सम्बोधन गरिन्छ | यस्तो गौरवपूर्ण सम्बोधन र त्यसले बोक्ने गुरुता स्वीकार गर्नु वा नगर्नु सम्बन्धित व्यक्तिको इच्छा र बुझाईमा भर पर्छ |
-वैदिक संस्कृतिमा विवाह नगरी कुनै पनि स्त्री तथा पुरुषलाई "लोग्नेस्वास्नी" मानिंदैन | समाज, अग्नि, आकाश र दिशाहरू साक्षी राखेर "दाम्पत्य" स्थापित हुन्छ | अग्निकुण्डको सात पटक परिक्रमा गर्दै लोग्ने र स्वास्नी दूवैले एकआपसमा "प्रतिज्ञा गर्छन् | स्वास्नीले विवाह बखत गरेका निम्न प्रतिज्ञाहरू अक्षरश: पालन गर्ने हो भने दाम्पत्य जीवन सुखी हुने कुरामा शङ्का गर्न मिल्दैन | जसले विवाह संस्कारमा विश्वास गर्दैनन् तर "लोग्नेस्वास्नी"कै भूमिकामा छन्, तिनका लागि पनि स्वास्नीले यज्ञलाई साक्षी राखेर गरेका प्रतिज्ञाहरू उपयोगी नै हुने छन् | त्यसो भए वैदिक शास्त्रले असल स्वास्नी कसरी बन्न सकिन्छ उत्तर तलअनुसार दिएको छ |
१. म अर्धांगिनी : अग्निको परिक्रमा गर्दै स्त्रीले गरेको पहिलो प्रतिज्ञा हो | हरेक स्त्रीले आफ्नो लोग्ने, लोग्नेको परिवार, लोग्नेका आफन्त तथा लोग्नेका कर्ममा प्रेमपूर्वक उपस्थिति जनाउनु पर्छ | पतिको अर्थ मालिक र पत्नीको अर्थ मालिक्नी हुन्छ तर पत्नीका रूपमा घरपरिवार, आहार-व्यबहार, धार्मिकताआदिमा आधा भूमिका वहन गर्ने प्रतिज्ञा पुरा गरिरहेका स्वास्नीहरूको परिवारमा अशान्ति हुँदैन |
उदाहरणका लागि आजभोली लोग्ने र स्वास्नीलाई "पार्टनर" भन्ने प्रचलन छ | कम्पनीमा पार्टनरशीप हुन्छ | आफुलाई कम्पनीमा हिस्सेदार बन्न मन नलागे तुरुन्त छोड्न सकिन्छ तर लोग्नेलाई आफ्नो दाहिने अङ्गको रूपमा स्वीकार गरिसकेपछि अत्यन्त कठोर अवस्थामा पनि लोग्नेसंग अधिकतम समन्वय गर्न सक्नुपर्छ | पार्टनरहरू स-सानो जीवनका उतार-चढाव पनि सहन सक्दैनन् | आफैले जन्माएका बालबालिकालाई "असुरक्षा"मा फालेर अलग हुन्छन् |
२. कोमलता : महिलाहरूको स्वभाव कमलो हुन्छ | अग्निको परिक्रमा गर्दै स्वास्नीले लोग्नेलाई "मैले अत्यन्त शालीनता तथा उदारतापूर्वक तपाईंको परिवारलाई आफ्नै ठान्ने छु र उहाँहरूसंग कोमल ब्यबहार गर्नेछु " भन्ने बचन दिएकी हुन्छिन् |यहाँ कोमलताको अर्थ लोग्नेका परिवारहरूसंग शिष्ट, सभ्य तथा शिष्टाचार युक्त व्यबहार गर्नु पर्ने अर्थमा बुझ्नुपर्छ | लोग्ने आफ्नो हुने तर लोग्नेका आमावुवा, दाजुभाई तथा सम्बन्धिहरूलाई आफ्नो नठान्ने "स्वास्नी" कोमल हुनै सक्दैनन् | मीठो, बोली, सहयोगी स्वभाव, घरमा उपलब्ध पानी वा भोजनले स्वागत र उठवस गर्ने ठाउँको व्यबस्थाका लागि पैसा चाहिन्न |
उदाहरणका लागि "मैले तिमीसंग विहा गरेको हो, तिम्रो परिवारको नोक्कर बन्न होइन | मलाई मेरो निजी सुख प्यारो छ भन्दै दिनहुँ झगडा गर्ने श्रीमती भन्दा घरपरिवारसंग प्रेमपूर्वक व्यबहार गरेर आफ्ना निजी सुखको पनि उपभोग गर्ने स्वास्नीहरूले असलमा "गृहिणी हुन्छन् |" तर एउटा हातले ताली बज्दैन, परिवारका सदस्यहरूले पनि "गृहिणीका रूपमा" सम्मान दिन जान्नुपर्छ र मायालु सेवा प्राप्त गर्न सक्नुपर्छ | आत्मविनाश गर्ने कोमलता र सद्व्यवहारको आवश्यता छैन |
३. तिम्रो प्रगति मेरो प्रगति : आजको युगलाई "प्रतिस्पर्धा"को युग भनिन्छ तर लोग्नेस्वास्नी एकआपसमा प्रतिपर्धी नभई पूरक हुन् | प्रकृतिले स्वास्नीलाई सन्तान ग्रहण गर्ने र जन्माउने विशेष अधिकार दिएको छ | सन्तान जन्माउनु जति मानसिक सुख हो त्यतिनै भौतिक दु:ख पनि हो | एउटी आमाले १८ वर्षको उमेरसम्म आफ्नो व्यक्तिगत स्वतन्त्रता त्यागेर बालबालिकाको हेरविचार र पालनपोषण गर्नुपर्छ | हरेक अवस्थामा लोग्नेको प्रगतिलाई आफ्नै प्रगति ठान्ने र लोग्ने र लोग्नेका परिवारसंगको सहकार्यलाई आफ्नै मान्ने व्यबहार प्रदर्शन गर्न सक्नुपर्छ | प्राचिनकालमा बालबालिका हुर्काउने जिम्मा "स्वास्नीमा" हुन्थ्यो | आज ठ्याक्कै एस्तो नहोला तर सन्तानका लागि आमा सबैभन्दा प्यारो हुन्छ | यहाँ लोग्नेको प्रगतिको चाहना गर्नुको अर्थ लोग्नेलाई प्रगतिका लागि सक्दो सहयोग गर्ने व्यबहार हो |
उदाहरणका लागि आजभोली महिला र पुरुष समान हुन् भन्ने गरिन्छ | बौद्धिक, सामाजिक, सांस्कृतिक, राजनैतिक तथा सम्पत्तिमा महिलाको समान हक हुनुपर्छ तर गर्भधारण गर्ने, हुर्काउने तथा सेवा गर्ने कुरा पनि महिलाको प्राकृतिक गुण हो | आफ्नो प्रगति नहुनुमा लोग्नेलाई दोषारोपण गर्ने प्रवृत्ति बढ्दो छ | आफ्नो व्यक्तित्व पनि विकास गरौँ र लोग्नेको प्रगति हुँदा खुशी व्यक्त गर्न सिकौं | सायद यो पनि स्वास्नीमा हुनुपर्ने गुण हो |
४. पतिब्रता : आजका केही मोडर्न महिला र पुरुषहरूलाई "पतिब्रता" शब्द सुन्यो कि भाउन्न आउँछ | महिला वा पुरुष पति/पत्नीब्रता हुँदा आधुनिकताका नाममा स्वच्छन्द यौनाचारको अन्त्य हुन्छ | यहाँ पतिब्रताको अर्थ हो आफ्नो विवाहित लोग्नेसंगमात्र यौन-व्यबहार गर्नु | अग्रेजीमा "फैथफुल वाइफ"को अवधारणा छ | लोग्नेस्वास्नीका विच स्थापित हुने सहमतिपूर्वकका यौनक्रियाकलापले पतिपत्नीका विचमा विश्वास, आस्था तथा भावनात्मक प्रगढ़ता बढाउँछ | एउटा पतिले आफु जतिसुकै उदारविचारको भए पनि आफ्नी स्वास्नी अर्कोसंग कामक्रिडा गरेको स्वीकार गर्न सक्दैन | विवाहपूर्व यौन तथा प्रेमका कुराहरू आफ्ना पतिलाई शेयर गर्नु हुँदैन | साथै, विगतका गल्ती वा प्रेमहरूको उद्घाटन गर्न हुँदैन | विवाहित लोग्नेसंगमात्र यौन-व्यबहार गर्नेलाई पतिब्रता भनिन्छ | एउटा लोग्नेमा स्थिर रहने "स्वास्नी मान्छे" पक्कै पनि असल स्वास्नी हुन् | घर, परिवार तथा लोग्नेको भावनाअनुसार आफुलाई ढाल्ने (Adjust) गर्न सक्ने स्वास्नीहरू असल हुन्छन भन्न मिल्छ |
उदाहरणका लागि मोडर्न हौँ भन्ने विश्वासमा परेर वा केवल यौन सन्तुष्टीका लागि आफ्नो मायालु लोग्नेप्रति विश्वासघात गर्ने स्वास्नीलाई विश्वको कुनै पनि कुनामा राम्रो भनिन्न | तेसैले "सेक्स-बायोलोजिकल" हो भन्दै होस् गुमाउँदा जीवनमा निकै दुखदिने घटनाहरू घट्न सक्छन् | दोष स्वास्नीको मात्र नहोला तर हाम्रो समाजले स्वास्नीको गल्तीलाई ठूलो बनाएर हेर्छ |
५. सुश्रूषणपरा : सधैं परिवार, लोग्ने, केटाकेटी, घरव्यबहार तथा दायित्वहरूप्रति सचेत रहनु र तेसका लागि सधैं खट्छु, माया गर्छु, सेवा गर्छु, शारीरिक, मानसिक रूपमा सफा रहन्छु, जस्तो सुकै परिवेशमा पनि मीठो बोल्नेछु र सधैं पारिवारिकजन र आफ्नो लागि सुखमा सहयोग गर्ने छु - अग्निको परिक्रमा गर्दै गर्दा स्वास्नीले पाचौं प्रतिज्ञा यसरी गरेका हुन्छन् | हरेक व्यक्तिको रीस, राग, लोभ, मोहआदि हुन्छन् नै | तर पनि विवाहको निर्णय गरेर एउटा "सुन्दर घर" परिवार जोडेका लोग्नेस्वास्नीले अन्य काम गर्दागर्दै पनि परिवारप्रतिको दायित्व विर्सनु हुँदैन | अधिकतम एडजस्टमेन्टको अभ्यास गर्नुपर्छ |
उदाहरणका लागि लोग्ने वा लोग्नेका परिवारप्रतिको कुनै पनि दायित्वलाई "बोझ , स्वतन्त्रता, अधिकार तथा अहंकारको हनन" ठान्ने स्वास्नीहरूले घरपरिवारप्रतिको दायित्व निर्वाह गर्न सक्दैनन् | दुर्भाग्यवस, धेरैजसो अधिकारकर्मीहरूको "परिवार" आफ्नै महत्वाकांक्षाको बलिवेदीमा चढेको हुन्छ | सबै लोग्ने सहयोगी हुँदैनन् र सबै लोग्नेहरू खराव पनि हुँदैनन् | अधिकार र कर्तब्यका विचमा समन्वय गर्ने आफैले हो | आफ्नै वा अर्काको प्रभावमा परेर पारिवारिक दायित्वबाट विमुख हुँदा "सामाजिक प्रतिष्ठा" प्राप्त गर्न सकिएला तर एकान्तमा लोग्ने, सासु, वुहारी, छोराछोरी वा आफन्तको माया, सहयोग तथा ममताबाट बन्चित भएकोमा पछुतो लाग्न सक्छ |
६. मीतव्ययिता : जलिरहेको अग्निको परिक्रमा गर्दै स्वास्नीले लोग्ने समक्ष छैठौं बचन "मीतव्ययिता अर्थात् थोरै खर्च गर्ने छु" भनेर दिन्छन् | यो प्रतिज्ञाको अर्थ हो लोग्नेले गृहमन्त्रीका रूपमा आफुले कमाएको सबै सम्पति स्वास्नीको हातमा लागेर दिन्छ | स्वास्नीले आफुले कमाएको होस् वा लोग्नेले कमाएको सम्पत्ति, बडो सावधानी, सुझबूझ तथा घरपरिवारको कल्याणको लागि खर्च गर्नुपर्छ | सम्पत्तिको रेखदेख गर्ने र त्यसको उपयोग गर्ने जिम्मा लोग्नेले स्वास्नीलाई दिएको हुन्छ | झन् रमाइलो कुरा त के भने आजभोली स्वास्नीको नाममा घरसम्पति जोड्ने चलन आएको छ तर त्यो सम्पतिमा स्वामित्व भने महिलाले प्राप्त गरेका हुँदैनन् | खटन लोग्नेको चल्छ | वैदिक विवाहले सम्पत्तिमा लोग्ने र स्वास्नीको समान अधिकार निर्धारण गरे पनि खर्च गर्ने तजविजी अधिकार महिलालाई दिन्छ | व्यक्तिगत वा पारिवारिक प्रयोजनका लागि खर्च गर्दा लोग्नेसंग छलफल गर्ने महिला पक्का पनि असल मानिन्छन् |
आजभोली वैदेशिक रोजगारमा गएका लोग्नेहरू मध्ये अधिकांशले स्वास्नीको नाममा पैसो पठाउने गर्छन् | ९०% नेपाली पत्नीहरूले लोग्नेको विश्वासमा कुनै छलकपट गर्दैनन् | घरपरिवार चलाउन सम्पतिको प्रयोग गर्छन् | १०% महिलाहरूले लोग्नेलाई धोका दिएका हुन्छन् | एतिमात्र नभएर आफ्ना स-साना बालबालिकालाई निर्ममतापूर्वक छोडेर अर्को मान्छेसंग पोइला जान्छन् | केवल आफ्नो शरीर र वासनापूर्तिको लागि सम्पतिमा एकाधिकार मान्ने स्वास्नीले घर गरी खाँदैनन् |
७. सुसंस्कारको शिक्षक : वैदिक संस्कृतिले परिवारका सवालमा स्वास्नी मान्छेलाई पुरुषको भन्दा बढी विश्वास गरेको छ | बालबालिकाको पहिलो शिक्षिका "स्वास्नी" मान्छे हुन् | आफ्नो परिवार, धर्म, संस्कृति, परम्परा तथा परिवेशअनुसार बालबालिकालाई असल शिक्षा दिने कार्य स्वास्नीको बढी हुन्छ | यहाँ सुसंस्कारको अर्थ हो - धृति, क्षमा, इन्द्रिय निग्रह, चोरी नगर्ने, मानसिक र शरीरक पवित्रता, दया, विचारशीलता, विवेक, पठनपाठनप्रति अभिरुचि, विनयशीलता, सत्य व्यबहार, अक्रोधको अभ्यास सदगुणहरू हुन् | हो, यी सबै सद्गुणहरू सिकाउने दायित्व सम्पूर्ण परिवारको हो तर आमा वा स्वास्नीका रूपमा यी गुणहरूको "रोलमोडेल" बनेर व्यबहार गर्दा घर नै स्वर्ग हुन्छ | सातौँ परिक्रममा स्वास्नीले लोग्नेसंग सुसंस्कारको पालना गर्छु र शिक्षा दिन्छु भनेर प्रतिज्ञा गरेका हुन्छन् | यो प्रतिज्ञाअनुसार पारिवारिक दायित्व पालन गर्ने "स्वास्नी"हरू निश्चय नै असल हुन्, देवी हुन् |
आजभोली समाजमा सुसंस्कारको निकै चर्को चर्चा हुन्छ | मानवशिक्षा, मूल्यशिक्षा आदि विभिन्न नामबाट बालबालिकालाई सु-संस्कार सिकाउने प्रयत्न भइरहेका छन् | घरमा रक्सीको "वार" सजाएर, आमावुवालाई एक्लै वस्न बाध्य परेर, लोग्नेस्वास्नी झगडा गरेर, परचुके गरेर बालबालिकाले संस्कार प्राप्त गर्दैनन् | प्रकृतिले नै महिलालाई कोमलता र सहनशीलता उपहारमा दिएको छ | आफ्नो व्यक्तिगत जीवनमा प्राणको सङ्कट नपरेसम्म नेपाली महिलाहरूले "दायित्व" छोड्दैनन् | अपवादहरूलाई उदाहरण बनाउन सकिन्न | आफुले सुसंस्कारको अभ्यास नगर्ने तर अर्कालाई (बालबालिकालाई) असल संस्कारी बनाउन खोज्नु पाखण्डीपन हो | आफुले जथाभावी रक्सी धोक्ने तर बालबालिकालाई रोक्नेहरूको पाखण्ड सबैले बुझ्नुपर्छ |
प्रसिद्ध अमेरिकी पारिवारिक परामर्शदाता "गोटमेन दम्पति"ले लोग्ने र स्वास्नीको असल सम्बन्धका लागि जुन ७ बटा सूत्र बनाएका छन्, ती अमेरिकी समाजको धार्मिक, सामाजिक, सांस्कृतिक तथा मनोबैज्ञानिक अवस्था र व्यबस्थाको प्रतिनिधित्व गर्छ | लोग्नेस्वास्नीमा सहज संवाद, छलफल, एकअर्काप्रति सम्मान, घरपरिवारको दुवै मिलेर दायित्व वहन, दूवै मिलेर आर्थिक दायित्वको निर्वाह, मातापिता तथा परिवारप्रतिको समर्पण, असलगुणहरूको प्रशंसा, एकआपसमा सहज विश्वास र एउटाले अर्कालाई सुखदुखमा मित्रबत व्यबहार निकै महत्वपूर्ण हुन्छन् | नेपाली लोग्नेस्वास्नीहरूमा "डिभोर्स"को सोच हुँदैन | यदि स्वास्नीले पश्चिमाहरूले झैं "सार्वजनिक ठाउँमा चुम्वनलाई प्रेम ठान्ने र लोग्नेबाट तेस्तो अपेक्षा गर्नु"लाई नेपाली समाजले भल्गर भन्छ | कुनै पनि स्वास्नीले लोग्नेबाट सामाजिक, सांस्कृतिक तथा धार्मिक सदाचारका विरुद्ध "प्रेम"प्रदर्शनबाट जोगिनु उचित हुन्छ |
उपरोक्त दायित्वका विषयमा थाहा पाउने स्वास्नीले आफ्नो लोग्नेलाई प्रेमपूर्ण तवरले "असल लोग्नेका दायित्व"वारे पनि बुझाउनु पर्छ | लोग्ने र स्वास्नी दूवै मिलेर मात्र असल घर बन्ने हो | एउटाले दायित्व पालन गरिरहने अर्कोले अधिकारमात्र खोजिरहने, कज्याउने वा वसमा राख्ने उद्योगमात्र गरिरहंदा परिवारको शान्ति भंग हुन्छ | हरेक स्वास्नीमा एउटा "असल स्वास्नी" हुन्छे तर त्यो असल स्वास्नीलाई मलजल गरेर हुर्काउने र त्यसको सुन्दर फल जताततै रोप्ने काम परिवार, छरछिमेकी सबैको हो |
एकपटक लोग्ने र स्वास्नी संगै वसेर यो लेख पढ्नुहोला | यो तपाईंका समस्या समाधान गर्न वा भविष्यका लागि असल जीवन निर्माण गर्न सहयोगी बन्न सक्छ | हामी सबैको भलो होस | लोग्नेले स्वास्नीलाई स्वास्नीले लोग्नेलाई प्रेमपूर्वक पुलुक्क हेरौं सकारात्मक भावले मुस्सुक्क हाँसौं |
Like
Comment

Monday, February 26, 2024

के तपाईं असल लोग्ने हो ?

उपरोक्त प्रश्नको उत्तर हरेक लोग्नेले आफूतिर फर्केर सोध्नुपर्छ | विश्वका अनेकौं जर्नल र लेखकहरूले "असल लोग्नेका अनेकौं गुण"वारे थुप्रै लेखेका छन् | तर ती सबैजसो नेपाल र नेपालीको वास्तविक परिस्थितिसंग मेल खाए काकताली सम्झिनु पर्छ | आजको नेपाली समाज अत्यन्त गतिशील छ | केवल १० वर्षको अन्तरालमा धेरै व्याबहारिक परिवर्तन भएको अनुभव गर्न सकिन्छ | तर मान्छेलाई सधैं इतिहास मन पर्ने हुँदा संस्कृतिको सवालमा अलिअलि "पुरानो कुरा"लाई महत्व दिन्छ |

आजको लोग्नेले आफुलाई असल "लोग्ने"का रूपमा स्थापित गर्न बहुमुखी दृष्टिकोण बोकेको हुनुपर्छ | मुख्यतया सामाजिक, सांस्कृतिक, मनोबैज्ञानिक, भौतिक र आध्यात्मिक आयामहरू बुझेको र त्यसैअनुसार काम गर्ने हुनुपर्छ | हिजो लोग्नेस्वास्नीका विचमा धार्मिक र सांस्कृतिक क्रियाकलापहरू बलिया हुन्थे भने आजको लोग्नेले आफ्नी स्वास्नीको सामाजिक, सांस्कृतिक, मनोबैज्ञानिक, शारीरिक तथा आध्यात्मिक स्वास्थ्यको व्याबहारिक प्रयोग जानेको हुनुपर्छ |
(१) भौतिक सहयोगी : एउटा असल लोग्नेले आफ्नी प्रियाको भौतिक आवश्यकताहरूलाई राम्ररी बुझेको र त्यसलाई सम्मान गर्ने गुण हुनुपर्छ | भौतिक आवश्यकता भन्नले स्वास्नीको शरीरमा सन्चोविसन्चो भएको, केटाकेटी हुर्काउन सहयोग गर्ने, यौनका सवालमा सहमति लिने, भान्छामा होस् वा अन्य भौतिककाममा सहयोग गर्ने तथा पत्नीको भौतिक आवश्यकता र अभिरुचि पूरा गर्न सघाउने र हरेक काममा सहकार्य गर्ने लोग्ने असल हुन्छ |
उदारहणका लागि नेपाली लोग्नेहरू त्यति सहयोगी हुँदैनन् | एकै अफिसमा काम गर्ने "लोग्नेस्वास्नी"हरू फर्केर घर आएपछि स्वास्नी घरासयी काममा खट्छन् तर लोग्नेहरू "उपरखुट्टी लगाएर टेलिभिजन हेर्दै स्वास्नीलाई चियाको आदेश दिन्छन् | असल लोग्नेहरूले अफिसबाट फर्केपछि पत्नीलाई सघाउन संगै चिया बनाउँछन् | के तपाईंले आफ्नी स्वास्नीलाई पत्नीसंग मिलेर वा पत्नीलाई असजिलो भएको बुझेर काममा सघाउनु हुन्छ ?
(२) सामाजिक सहयोग : अहिलेको नेपाली समाज निकै वदलिएको छ | लोग्नेलाई स्वामी मानेर ढोग्ने र कजिने युग धेरै सीमासम्म हटेको छ | स्वास्नीहरू स्वतन्त्र वा लोग्नेसंग मिलेर सामाजिक, सांस्कृतिक तथा धार्मिक काममा सक्रिय हुन चाहन्छन् | के तपाईंले आफ्नी स्वास्नीलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापमा समावेश हुन् सहयोग गर्नुभएको छ ? यदि गर्नुहुन्छ भने सायद तपाईं असल लोग्ने हो |
उदाहरणका लागि तपाईंको स्वास्नी श्रीस्वस्थानी देवीको ब्रत बस्न इच्छा गर्नुहुन्छ | त्यो एक महिनाको कठोर ब्रत हो | यसले तपाईंकी स्वास्नीको धार्मिक भक्कल पूर्ण हुन्छ | उनीले स्वस्थानी ब्रतवस्न तपाईंको सहयोग चाहन्छिन् | यसै गरी तपाईं की स्वास्नी महिला समूहको आयोजनामा नेपालका पर्यटनस्थलको भ्रमण गर्न जान चाहनुहुन्छ | तपाईंकी स्वास्नीले हरेक धार्मिक, सामाजिक तथा सांस्कृतिक कामहरूमा तपाईंसंगै देखिन चाहनु हुन्छ ? यदि तपाईंले सहजरूपमा यी सबैमा सहमति प्रदान गर्नुहुन्छ भने तपाईं असल लोग्नेका श्रेणीमा पर्नु हुन्छ |
(३) मनोबैज्ञानिक सहयोग : तपाईंकी स्वास्नीको पनि तपाईंकोझैं एउटा स्वत्रन्त्र मन छ | त्यसमा अनेकौं भावनाहरू छन् | त्यो भावनाले प्रेम, सहयोग, सम्मान, समानानुभूति. करूणा, दया, ममता तथा कोमलताआदि चाहन्छन् | तपाईंकी स्वास्नीको मन कहिले दुख्छ, कहिले खुसी हुन्छ | कहिले खिन्न हुन्छ | यस्तो अवस्थामा तपाईंले आफ्नी स्वास्नीको हात समातेर "न रोऊ, म छु नि, तिम्रो भावना म बुझ्छु, तिमी एक्लो छैनौं ? भन्न सक्नुहुन्छ ? हो, नेपाली लोग्ने र स्वास्नी दूवै मौन-प्रेम गर्ने श्रेणीमा पर्छन् तर यसको अर्थ मानसिक सहयोग नै चाहिन्न भन्नेचाहिं हुँदैन |
उदाहरणका लागि तपाईंकी स्वास्नीलाई "अग्लो ठाउँसंग डर लाग्छ | उनी हवाईजहाज चढ्न वा अग्लो ठाउँमा जान मन पराउन्नन् | तर सडक बालबालिकाको हेरविचार गर्न निकै मन लाग्छ | तपाईंले आफ्नी स्वास्नीको डरको सम्मान गर्नुहुन्छ कि "नाटक गर्छे" भन्दै जवर्जस्ती अग्लोतिर लैजानु हुन्छ ? यदि मनोबैज्ञानिक परामर्शदाताको सहयोग प्राप्त गर्ने र डरको सम्मान गर्नुहुन्छ भने सायद तपाईं असल पति हो | मानसिक तनाव, डर, त्रास, उत्सुकता, उदासीनतामा तपाईं सबैभन्दा बढी सहयोगी बन्न चाहनुहुन्छ तपाईं असल लोग्ने हुनुहुन्छ |
(४) आध्यात्मिक सहयोग : हरेक व्यक्तिले आफ्नो जीवनको एउटा वा अधिक लक्ष र अर्थ बोकेको हुन्छ | उसले आफ्नो र जगतको सम्वन्ध, असल कमसलको सीमारेखा, स्वर्गनर्कको दुखसुख, पूर्णता, सुख र सन्तोषमय जीवन प्राप्त गर्ने इच्छा पूर्ण गर्न चाहन्छे | धर्म, अर्थ, काम र मोक्ष हिन्दूहरूका पुरुषार्थ हुन् | धर्म, अर्थ र कामका विषयमा अगाडी लेखी सकियो | एउटा लोग्नेले स्वास्नीलाई जगत-जीवनको अर्थ प्राप्त गर्न सघाउनु पर्छ | आध्यात्मिक जीवनले जीवनको अर्थ दिन्छ |
-उदाहरणका लागि स्वास्नी भन्नुहुन्छ - मलाई ध्यानमा वस्दा अतिपूर्णताको अनुभूति हुन्छ | मन तथा बुद्धिसंग जोडिएका खाली पानाहरू भरिएजस्तो लाग्छ | यदि तपाईंले आफ्नी स्वास्नीलाई आफ्नो जीवनको अर्थ खोज्न मदत गर्नुहुन्छ भने तपाईं असल लोग्ने हुनुहुन्छ |
यस वाहेक स्वास्नीसंग राम्रोभाषा र आदरपूर्वक आफ्ना कुरा भन्ने र सुन्ने, विमतिहरूका सवालमा शान्तिपूर्वक छलफल गर्ने, घरायसी काममा सहकार्य गर्ने, केटाकेटी र परिवारलाई संगै हेरविचार गर्ने र कुनै पनि हालतमा स्वास्नीको आलोचना अरूसंग नगर्ने र प्रेमपूर्वक धन्यवाद दिने र ग्रहण गर्नेहरू पनि असल लोग्नेमा पर्छन् | यद्यपि हरेक व्यक्तिको धार्मिक, सांस्कृतिक, सामाजिक तथा जातीय नीतिहरूका आधारमा असल लोग्नेका फरक परिभाषा र बुझाई हुनसक्छन् तर उपरोक्त चारप्रकारका सहयोगीहरू असल लोग्नेका श्रेणीमा पर्छन् | हामी असल लोग्ने बन्यौं भने स्वास्नीसंग असल बन्नुको विकल्प नै रहन्न | असल लोग्नेस्वास्नी भएको घर, परिवार सधैं सुखी सधैं खुसी हुन्छ |
अस्तु स्वस्ति

हिन्दू कट्टरताको वहस !!


हिन्दू र कट्टरताको वहस

भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन र भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको विन्दास हिन्दू-जीवनशैलीले भारतीय धर्मनिरपेक्षतावादी, धर्मनिरपेक्षतालाई प्रयोग गर्ने कट्टरपन्थी मुस्लिम, इसाई तथा अम्वेडकरवादीहरू आतंकित भएका छन् | त्यो आतंकका बाछिटाले नेपाली धर्मनिरपेक्षतावादीहरूका पनि मनोबैज्ञानिक आतंक देखिन्छ | नेपाली राजनीतिमा भारतीय राजनीतिको कस्तो र कहाँसम्म हस्तक्षेप छ, त्यो नेतृत्वमा रहेकाहरूले बुझुन् र "मम" भनुन् तर नेपाली बहुसंख्यक हिन्दूहरूले आफ्नो धर्म, संस्कृति, परम्परा तथा पद्यतिहरूमा गरिएका घूसपैठ र धार्मिक, सांस्कृतिक आक्रमण विरुद्ध प्रतिक्रिया दिंदै गर्दा वास्तविक धर्मनिरपेक्षतावादी खेमा र स्वार्थका लागि धर्मनिरपेक्षताको मुकुण्डो लगाएकाहरू "समानता, सहअस्तित्व तथा लोकतान्त्रिक संस्कारहरूको रोइलो आरम्भ गरेका छन् | केही परिचित पत्रकार तथा राजनैतिक अनुहारहरूले हिन्दूहरूलाई "सहिष्णुता" उपदेश नै दिएको सुनियो | त्यो उपदेश, धम्की वा कुण्ठाको निकास हो ? भन्न गाह्रो छ |

भन्नका लागि नेपालमा हिन्दूहरूको वहुमत छ तर यो अभिमत सुप्तप्राय छ र साम्यवादी, समाजवादी, जातीवादी तथा डलरवादी खेमामा छरिएको छ | बहुमतको महत्व केवल नेताहरूका लागि हुन्छ | विश्वको जुनसुकै सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनैतिक परिवर्तन बहुमतका कारण होइन अल्पमतका कारण हुन्छ | बहुमत सधैं परम्परावादी, शान्त तथा सधैं बगिरहेको खोला झैं हुन्छ | त्यो शान्त र स्वच्छ खोलालाई सजिलैसंग धमिल्याउने, धार परिवर्तन गराउने काम "खहरेहरू"बाट हुन्छ |

विश्वमा जति अशान्तिहरू छन्, ती सबै अल्पमतबाट उत्पादन भएका छन् | बहुसंख्यक समुदाय "क्रान्तिकारी, आतंककारी, परिवर्तनकारी"को सङ्घर्षको छातामा आफै समेटिन पुग्छ | अल्पमतको "जुझारुपन"का आगाडी बहुमतले सधैं निहुरिएर आधिपत्य स्वीकार गर्छ | उदाहरणका लागि माओवादीहरूले युद्धको अभ्यास गरिरहंदा नेपालको ठूलो "जनसंख्या" शान्ति प्रिय र भीरू (डरपोक) थियो | माओवादीमा लागेर "सङ्घर्ष" गर्नेहरू त्यस बखतको नेपली जनसंख्याको नगण्य प्रतिनिधित्व गर्थ्यो | त्यसवेलाको शान्ति-प्रिय ठूलो जनसंख्याले "डर वा वेवास्तापन"का कारण सजिलैसंग माओवादीको छातालाई स्वीकार गर्यो |

संसारको जनसंख्या मध्ये ९०% जनताहरू शान्ति प्रिय, परम्परावादी, आफ्नो बाटोमा खुरुखुरु हिड्ने हुन्छन् | संसारका करोडौं मुसलमानहरू शान्ति-प्रिय छन् तर त्यहींभित्रका केही हजार "कट्टरपन्थी"हरूको क्रान्तिकारिताका कारण विश्वका "शान्ति-प्रिय" बहुसंख्यकले मुसलमानहरू कट्टरपन्थी हुन्छन् भन्ने मनोविज्ञान बनाएको पाइन्छ | यसैगरी, नेपालको ८२% जनसंख्याको प्रतिनिधित्व हिन्दू-समुदायले गर्छन् तर केवल १.५% इसाईहरूले नेपालको सार्वजनिक संकथनमा "नेपालको प्रमुख धार्मिक समूह"मा आफुलाई दर्जामात्र गराएको छैन कि अल्पसंख्यकका रूपमा सधैं चर्चित पनि हुने गर्छ |

असलमा, नेपालको ८२% हिन्दूहरू शान्ति-प्रिय भएकै कारण आफ्नो मौलिक थलोबाट आफ्नै अस्तित्वमा प्रहार हुँदा समेत "कंग्रेस, कम्युनिस्ट, समाजवादी, मानवतावादी, धर्मनिरपेक्षतावादी वा उपेक्षावादी भएर आफ्नो अस्तित्वलाई आफै चुनौति दिंदै छ | बहुमत हिन्दूहरूले आफूभित्र रहेका "क्रान्तिकारी र पहिचानवादी" हिन्दू समुदायको समर्थन गर्दैनन् | अन्य धार्मिक र सांस्कृतिक समुदायहरू थोरै छन्, तेसैले तिनले नेपाली समाजमा आफ्नो "हैसियत" स्थापित मात्र होइन बहुसंख्यक हिन्दू तथा बौद्धका मौलिक प्रतिमान तथा आदर्शहरूउपर प्रत्यक्ष आक्रमण गरेर निमिट्यान्न पार्ने युद्धक्षेत्रमा कार्यरत छन् |

-शान्तिप्रिय, सज्जन तथा बहुलतावादमा विश्वास गर्ने "परम्परागत" हिन्दू तथा बौद्ध समुदायले आफ्नो "चिता जलेको आफै हेर्न सक्छ तर चुईक्क" बोक्दैन | तेसैले यो समुदायभित्रका "क्रान्तिकारीहरू, कट्टरपन्थीहरू तथा आफ्नो अस्तित्वको रक्षा गर्ने सङ्घर्षलाई बुझेकाहरू "चूप" लाग्नु हुँदैन | विश्वको इतिहास साक्षी छ, शान्तिप्रिय बहुसंख्यकहरूले पनि आफ्नो मौलिक अस्तित्व "सानो समूहका क्रान्तिकारी र कट्टरपन्थी"बाट नै जोगाएका हुन्छन् | यदि पाकिस्तान वा अफगानिस्तानमा सानो हिन्दू-समुदाय जीवित छ भने त्यो तिनीभित्र भएको "क्रान्तिकारिता र कट्टरपन्थ"ले नै हो |

कट्टरपन्थी विचार, कट्टरपन्थी स्वभाव, कट्टरपन्थी व्यबहारको बलियो विकास र प्रवर्धन नगरेसम्म नेपालको मौलिक हिन्दू -पहिचान र इतिहासको रक्षा हुनै सक्दैन | मुस्लिम वा इसाई विरुद्ध भौतिक वा बैचारिक आक्रमण गर्दैमा बहुसंख्यकको रक्षा हुँदैन | असलमा, जुन जागिसकेका छन्, ती अगुवाहरूले बहुसंख्यक हिन्दूहरुका विचबाट "क्रान्तिकारी, कट्टरपन्थी तथा जागरुक"हरूलाई खोजेर परिवर्तनको लागि सङ्घर्षमा उतार्नु पर्छ | जुन बखत, अन्य कट्टरपन्थीहरू भन्दा "हिन्दू कट्टरपन्थी"को बाहुवल बढी हुने छ, निरपेक्षवादी हिन्दूहरू पनि सर्लक्क "हिन्दूत्व"का पक्षमा उभिने छन् | अन्य समुदाय स्वत: पराजित हुने छ | राजनीतिको नियम यही हो |

विश्वास गर्नुस्, शान्तिप्रिय बहुसंख्यक सधैं "निरपेक्ष" हुन्छन् र यस्तो निरपेक्षताको अन्त्य अल्पसंख्यकको "छाता"मा हुन्छ | अहिले हिन्दू समुदायको चुनौति नै "हिन्दू चिन्तन र व्यबहारमा प्रतिबद्ध कट्टरतावादी शक्ति" उत्पादन गर्नु हो | जुन बखत हिन्दू-समुदायबाट "जागरुक" प्रतिबद्धता तथा क्रान्तिकारी स्वभावका साथ बाहिर निस्कने छन्, नेपाली बहुसंख्यक नेपालीहरूले आफ्नो मौलिक पहिचान सुरक्षा हुने छ र सम्मान पनि हुने छ |

नेपाली हिन्दू-बौद्ध समाजले इतिहासमा "कट्टरपन्थीहरू"को आक्रमणमा परेको थोरै इतिहास छ | सन् १३४९ मा समसुद्दिन इलियासले पशुपतिनाथको मन्दिर तथा बौद्धनाथको मन्दिर तोडेर कट्टरताको परिचय दिएंको थियो | तर उसको कट्टरताले काठमाडौं उपत्यकालाई जगाउन सकेन भने नेपालको अन्य भागका "हिन्दू तथा बौद्ध"हरूलाई जगाउन सकेन | बौद्ध र हिन्दूहरूमा स्वधर्म, संस्कृति तथा धर्मको सुरक्षाका लागि कुनै "सक्रियता वा जागरण" देखिएन | अहिलेको नेपाली हिन्दू-जनसंख्या तन्द्रित वा धर्मनिरपेक्षतावादको विषाक्त मोहनीमा परेको छ | तर आगन्तुक संस्कृति र धार्मिक समुदायहरू आफ्नो "कट्टरपन्थी चिन्तन र व्यबहार"लाई धर्मनिरपेक्षताको छातामुनि लुकाएर आफ्नो "कट्टरता"को सुरक्षामात्र होइन प्रवर्धन गर्दैछन् |

पछिल्लो समयमा, धर्मनिरपेक्षवादी तथा समाजवादीहरूले हिन्दूहरूलाई "मुसलमान वा इसाई"जस्तै कट्टरपन्थीबाटोमा नलाग्न आग्रह गरिरहेका मात्र छैनन् अपितु छिमेकी देशमा विस्तारित हुँदो हिन्दू-जागरणलाई समेत नकारात्मक शक्तिकारुपमा देखाएर" कट्टरपन्थीहरूको सुरक्षा गर्दैछन् | अर्कोतिर, हिन्दूहरूलाई जातिवाद, नश्लवाद तथा महिला अमित्र भएको आरोप प्रमाणित गर्न सङ्गठित "प्रशिक्षण" दिंदैछन् | यो काममा राजनैतिक समाजवादी तथा जातिवादीहरूलाई परिचालित गरिंदै छ | यस्तो अवस्थामा हिन्दूहरूले अव आत्मरक्षाको लागि "कट्टरतावाद"को अवलम्बन नगरेर हरेक पल वैदिक संस्कृतिलाई सोत्तर परिरहेको "कट्टरतावादी र हिन्दुहरूलाई गालीगलौज गरेर हिन्दू-विरोधीहरूलाई रिझाउने राजनैतिक नेताहरूको" विनम्र सेवकाई मात्र गर्नु पर्ने हो ? प्रश्न र प्रश्नको उत्तर संगै छ |

Sunday, February 25, 2024

असल लोग्ने !

हरेक विवाहित पत्नी वा विवाह गर्न तयारी गरेकी युवतिका लागि असल लोग्ने चाहन्छन् | धर्म, संस्कृति, सामाजिक तथा सांस्कृतिक प्रचलन तथा आर्थिक अवस्थाअनुसार "असल लोग्नेका" फरक धारणा हुन् सक्छन् | तर एउटी नेपाली महिलाका लागि असल लोग्ने को हुन्छ र कस्तो हुन्छ ? थोरैले मात्र व्याबहारिक रुपमा विचार गरेका हुन्छन् | सधैं माया गर्ने होस्, चाहना पूरा गर्ने होस्, भनेको मान्ने होस् र सपनाको राजकुमारजस्तै होस् भन्ने चाहना हुँदैमा सबैको इच्छा पुरा हुँदैन |

प्रश्न उठ्छ त्यसोभए असल लोग्ने कस्तो हुन्छ र हुनुपर्छ ? यो प्रश्नको उत्तर सजिलोजस्तो लागे पनि सजिलो छैन | नेपाली दम्पतिका लागि असल लोग्नेको परिभाषा र बुझाई इसाई, मुस्लिम वा अमेरिकी समाजको भन्दा केही फरक अवस्य हुन्छ | यो प्रश्नको उत्तर पढ्नु भन्दा यदि तपाईं महिला हुनुहुन्छ भने असल लोग्ने कस्तो होला ? विचार गर्नुस् | यदि तपाईं लोग्ने हुनुहुन्छ भने एकैछिन उभिएर तपाईं साच्चिकै असल हुनुहुन्छ त ? चिन्तन गर्नुस् |
वैदिक संस्कृतिमा असल लोग्ने त्यो हो जसले "विवाहको बखतमा अग्नी साक्षी राखेर पत्नीका सातवटा गरेका प्रतिज्ञाहरू अक्षरस: पालन" गर्छ | धेरै लोग्नेस्वास्नीले विवाहका बखतमा गरेका प्रतिज्ञाहरूलाई "पण्डितको पूजा" बूझेका छन् भने जसले बुझेका छन् तिनले बुझाउन चाहन्नन् | त्यसो भए "असल लोग्ने बन्नका लागि अग्निलाई साक्षि राखेर लोग्नेले गरेका प्रतिज्ञाहरू सम्झौं | विवाहितका लागि यो "रिफ्रेस" हो भने विवाह गर्न तयार लोग्नेहरूका लागि भविष्यमा असल लोग्ने बन्ने उपायहरूको "टिप्स" हो |

१. हरेक क्रियाकलापमा समावेश गर्ने : वैदिक साहित्यअनुसार असल लोग्नेले आफ्नी श्रीमतीलाई जीवनका हरेक क्रियाकलापमा प्रत्यक्ष समावेश गराउँछ | असल भोजन, तीर्थयात्रा, यज्ञ, सामाजिक, सांस्कृतिक, धार्मिक कर्ममा संगै लिएर हिड्छ | यस्तो पनि नै असल मानिन्छ | हरेक धार्मिक कर्ममा पत्नीलाई समावेश गर्ने पर्ने वेदको आज्ञा छ | विवाहिता पत्नीको अभावमा धार्मिक कर्म पूर्ण नै हुँदैनन् | तेसैले लोग्नेले "तिमीलाई मैले देब्रेअङ्गमा ठाउँ दिन्छु" भन्दै आफ्नो जीवनको अभिन्न अङ्गका रूपमा स्वीकार गर्छ |
२. सम्मान गर्ने : जसरी घरका वृद्धजन र मान्यजनहरूलाई सम्मान गरिन्छ, त्यसरी नै प्रेमपूर्वक आदर-सम्मानका साथ जीवन यापन गर्ने | स्वास्नीका सुखदुखमा सधैं साथ दिने र कुनै पनि हालतमा झर्केर, फर्केर, नबोल्ने तथा शारीरिक हिंसा नगर्ने पति असल मानिन्छ |
३. जीवनसाथीका रुपमा बुझ्ने : पत्नी नै पतिको असल मित्र हो भन्दै एउटा सबैभन्दा निकटको मित्रका रूपमा सुखदुखका कुरा साटासाट गर्ने र पत्नीबाट गृहस्थ, वानप्रस्थ तथा सन्यास (मृत्यु) सम्म सहयोगको आसा राख्ने र सहयोग दिने | पत्नीलाई सधैं धर्म, अर्थ, काम र अत्यमा मोक्षप्राप्तिको लागि सबैभन्दा सहयोगीका रूपमा ग्रहण गर्ने पति नै असल पति हुन्छ | यहाँ "मैले तिमीलाई ससानो गल्ती हुँदा क्षमा गर्ने छु" पनि भनिएको हुँदा स्वास्नीका स-साना गल्ती हुँदा क्षमा गर्ने र प्रेमपूर्वक मार्गदर्शन गर्ने लोग्ने असल हुन्छ |
४. स्वास्नीका आमावुवालाई आफ्नै परिवारसरह ठान्ने : वैदिक संस्कृतिमा लोग्नेले विवाहका बखत स्वास्नीका आमावुवा, दाजुभाईआदिलाई आफ्नै परिवारसरह (कुतुम्व) व्यबहार गर्ने, तिनको अपमान नगर्ने र आवश्यक परेको बखतमा पत्नीका मातापितालाई सहयोग गर्ने पति असल मानिएको छ |
५. आर्थिक क्रियाकलापमा स्वास्नीलाई महत्व दिने : विवाह गर्दा लोग्नेले पाँचौं बचन हरेक आर्थिक क्रियाकलापमा पत्नीलाई अनिवार्य समावेश गर्ने, सूचना दिने तथा घरको जिम्मा (दाम+पति) घरपतिका रूपमा श्रीमतीलाई सम्मान दिने प्रतिज्ञा गरेको हुन्छ | यसरी हरेक आर्थिक क्रियाकलापमा पत्नीलाई प्रत्यक्ष समावेश गर्ने, सरसल्लाह गरेर काम गर्ने लोग्ने असल मानिन्छ |
६. कुनै पनि दुर्व्यसन नगर्ने : लोग्नेले पत्नीसंग जीवनमा कुनै पनि जुवा, लागूऔषध वा मद्यपानजस्ता दुर्व्यसन नगर्ने र पत्नीका साथी-सहेलीहरूको अपमान नगर्ने बचन दिएको हुन्छ | यसरी दिएको बचनमा अडिग रहेर कुनै प्रकारका दुर्व्यसन नगर्ने र पत्नीका मित्रहरूलाई अपमान नगर्ने लोग्ने असल मान्नुपर्छ | साथै असल लोग्नेले विर्सेर पनि स्वास्नीसंग झूटो ब्यबहार गर्दैन, घटनाहरू लुकाउन्न |
७. दोश्रो विवाह नगर्ने : हरेक हिन्दू लोग्नेस्वास्नीले विवाहमा अग्निको परिक्रमा गर्दै गर्दा लोग्नेले स्वास्नीलाई "अर्काकी श्रीमती वा केटी मान्छेलाई आमासरह दृष्टि राख्ने" भन्ने बचन दिएको हुन्छ | आमा सरह दृष्टि राख्नुको अर्थ हो : पत्नीप्रति पूर्ण आस्थावान् र विश्वास गरेर परस्त्रीसंग (विवाहेतर यौनजन्य क्रियाकलाप नगर्ने) र आफ्नी पत्नीसंग यौनक्रियाकलाप गर्ने लोग्ने असल हुन्छ भन्ने वैदिक संस्कृतिको अभिमत छ |
आधुनिक मनोबैज्ञानिक परिपेक्षमा विवाहका वखतमा दिएका उपरोक्त बचनहरू अक्षरस: पालन गर्ने लोग्ने "असल" हो भन्ने कुरामा कुनै द्विमत रहन्न | पत्नीलाई सम्पत्तिमा समान हक दिने, सामाजिक, सांस्कृतिक, धार्मिक क्रियाकलापमा अनिवार्य समावेश गर्ने, आमावुवालाई माया गरेझैं स्वास्नीको सुखदुखमा सहभागी बन्ने, स्वास्नीका साथी तथा आमावुवाको सम्मान गर्ने, स्वामित्वका क्षेत्रमा स्वास्नीलाई आफ्नो "आधा अङ्गसरह" मान्यता दिने (अर्धांगिनी), कुनै प्रकारको शारीरिक तथा मानसिक हिंसा नगर्ने, लागुजस्ता दुर्गुणहरूबाट टाढा रहने र आफुसंग स्वास्नीको नाता गाँसेकी स्त्रीप्रति पूर्ण समर्पित रहेर सन्तान उत्पत्ति तथा रमाइलोका लागि यौनाचार गर्ने प्रतिज्ञाहरू निकै महत्वपूर्ण छन् |
के तपाईंले एउटा असल लोग्नेको रूपमा पत्नीलाई दिएका उपर्युक्त बचनहरू पालन गरिरहनु भएको छ ? यदि गर्नुभएको छ भने तपाईंको परिवार सुखी छ | तपाईंका मातापिता तथा क्षिमेकीहरू तपाईंसंग मित्रता गर्न आतुर छन् | यदि छैन भने विवाहवेदीमा गरेको उपर्युक्त प्रतिज्ञाको मर्म बुझेर पालन गर्न आरम्भ गर्नुस् | तपाईं असल लोग्नेमा रुपान्तरित हुनुहुनेछ |
अर्को लेखमा विवाहका बखत स्वास्नीले लोग्नेसंग गरेका प्रतिज्ञाका आधारमा असल स्वास्नी को हुन् र कस्ता हुन्छन् ? भन्ने विषयमा चर्चा गर्ने छु |

Friday, February 23, 2024

लोग्नेस्वास्नी : कज्याउने र वसमा राख्ने दुस्चक्र

 लोग्नेस्वास्नी : कज्याउने र वसमा राख्ने दुस्चक्र

(१) विवाह गरेर दुरान फर्काउन जाँदा कमलाकी आमाले भन्नुभयो "छोरी, दुलाहालाई आफ्नो वसमा राख्नु पर्छ | यसका लागि सामदाम, दण्ड तथा भेद सबै उपायहरू अवलम्बन ग

र्नु परे पछि हट्नु हुँदैन | लोग्नेलाई वसमा राख्ने स्वास्नी मान्छे सुखी हुन्छन् | लोग्ने वसमा राखियो भने आफुले चाहेको कुरा पुग्छ |"
(२) दुरानबाट घर फर्किएको छोरा सन्तोषलाई आमाले भन्नु भयो "बाबु, स्वास्नी कज्याउन सक्ने लोग्नेको समाजमा इज्जत हुन्छ | स्वास्नीलाई सधैं आफुले भनेको मान्ने गराउनु पर्छ | नत्र टाउकोमा चढ्छन् | लोग्नेको कुरा नमान्ने, लोग्नेको कुरा नसुन्ने, जवाफ फर्काउने स्वास्नीसंग घरवार चल्न गाह्रो हुन्छ | स्वास्नीको मात्र कुरा सुन्नेलाई दुनियाले "जोइटिग्रे" भन्छन् |
........
माथि उल्लेख गरिएका दूवै घटना काल्पनिक हुन् | कसैको वास्तविक जीवनसंग मिल्न गए आश्चर्य मान्नु पर्दैन | समाज र संस्कृति दूवै परिवर्तनशील हुन्छन् | आजका "लोग्नेस्वास्नी" अलि फरक शैलीमा वसमा राख्ने र कज्याउने अभ्यास गर्छन् | अचम्मको कुरा त के भने "वसमा राख्ने" आकांक्षा "पढेलेखेका मोडर्न"मा बढ्दो छ भने कज्याउने शैली खान्दानी वा परम्परागत शैलीका लोग्नेस्वास्नीमा छ | अपवाद वाहेक जव लोग्ने र लोग्नेको परिवारले शिक्षित महिलालाई "कज्याउने" व्यबहार थाल्छ, लोग्नेस्वास्नीका विचमा "खटपट" आरम्भ हुन्छ | परिणाम : डिभोर्स वा आत्महत्यामा देखिने सम्भावना हुन्छ | यसैगरी, "वसमा राख्ने" व्यबहारको पनि अन्तिम विन्दू पारिवारिक विखण्डनै हुन्छ | यसै सेरोफेरिमा सम्बन्धित लोग्नेस्वास्नीले "मम" भन्दै आफ्नो व्यबहार र सोचमा परिवर्तन गर्न आरम्भ गर्नुपर्छ | परिवार, बालबालिका र लोग्नेस्वास्नी दूवैको "भलो" हुन्छ |
"स्वास्नी कज्याउने र लोग्नेलाई आफ्नो मुट्ठीमा राख्ने" भन्नेजस्ता अतिवाद नेपाली समाजमा आज पनि शक्तिशाली छन् | खासगरी, न्यूक्लियर फेमिलीको अभिरुचि बढ्दै गर्दा "जोइटिग्रे"हरूको सङ्ख्या बढेको छ भन्ने अनुभव संयुक्त परिवारमा हुर्किएका अभिभावकहरूको छ | अर्कोतिर संयुक्त परिवारमा भन्दा "एकल परिवारमा छोरी बढी सुखी हुन्छे" भन्ने मान्यता ससुरालीहरूतिर बलियो देखिन्छ भने नवविवाहित लोग्नेस्वास्नीले पनि सुख "एकल परिवारमा नै" देख्न थालेका छन् | प्रश्न एकल परिवार वा संयुक्त परिवारको होइन, प्रश्न "लोग्नेलाई वसमा राख्नु र स्वास्नी कज्याउनु" उचित हो ? के यस्तो अभ्यासले लोग्नेस्वास्नीका विचमा प्राकृतिक प्रेम सम्बन्ध दिगो होला ? भन्ने हो |
असलमा, नेपाली समाजमा "स्वास्नी कज्याउने र लोग्नेलाई आफ्नो मुट्ठीमा राख्ने" भन्ने मान्यता आज पनि फरकरूपमा विद्यमान छ | जुन परिवारका लोग्ने वा स्वास्नीले यस्तो मान्यताको आधारमा आफुलाई प्रस्तुत गर्छन्, त्यो परिवारको शान्ति सधैंका लागि समाप्त हुन्छ | लोग्नेलाई वसमा राख्ने अभ्यास गर्ने स्वास्नी मान्छेले परिवार र लोग्ने गुमाईसकेका हुन्छन् | "लोग्नेलाई वसमा राख्ने "एजेण्डा"मा काम गर्ने स्वास्नी मान्छेले लोग्नेलाई माया गर्लान् तर लोग्नेका आमाबुवा, छरछिमेकी, सम्बन्धिहरूलाई पटक्कै मन पराउँदैन् | संयुक्त परिवारलाई जेलखानासरह मान्छन् |
अर्कोतिर स्वास्नीलाई "कज्याउने" मनस्थिति र व्यबहार भएको लोग्ने र लोग्नेका आमावुवा वा परिवारका लागि "स्वास्नी" काम गर्ने/गराउने सित्तैको सेविका वाहेक केही हुँदैन | लोग्ने र लोग्नेका मातापिता वा आफन्तको खुसीको लागि स्वास्नी मान्छेले आफ्नो स्वतन्त्रता, इच्छा तथा सीपहरू गुमाउनु पर्छ | महिलाका भावनाहरूको कुनै महत्व हुँदैन | लोग्नेका यौनचाहना पुरा गर्नु, इच्छाए/नइच्छाए पनि उसको लागि "बच्चा" जन्माई दिनु, हुर्काइ दिनु र परिवारको अत्याचार सहेर पनि "घरपरिवार"को कठोर अनुवन्ध भित्र रहनु नै "संस्कारी स्वास्नी" हुनु हो |
वसमा राख्ने स्वास्नी होस् वा कज्याउने लोग्ने, दूवैले एकआपसमा प्रेमको नाटक मन्चन गरिरहेका हुन्छन् | कज्याउने र वसमा राख्ने व्यबहारको अग्निकुण्डमा प्रेम, एकआपसी सहयोगको भावना, समानानुभूति, स्वाभाविक मायालु र हेरविचार गर्ने व्यबहार जलिसकेको हुन्छ | वसमा राख्नुको अर्थ "सधैं लोग्ने मेरो कन्ट्रोलमा रहोस्, मेरो अनुमति विना सास पनि नफेरोस्" भन्ने अतिवादसंग जोडिन्छ, जसले लोग्ने र लोग्नेको परिवारलाई "वस्तु"का रूपमा व्यबहार गर्छ | लोग्ने पूर्णतया स्वास्नीको आज्ञामा काम गर्ने "सेवक"सरह हुन्छ | स्वास्नीको झगडालु स्वभावबाट जोगिन लोग्नेले स्वास्नीका सामु आत्मसमर्पण गर्छ | दुर्भाग्यवस, एस्तो परिवारमा माइतीपक्षको चर्को समर्थन रहने गरेको नेपाली परिवारहरूको अनुभव छ |
यसैगरी "स्वास्नी" कज्याउनेहरूले विवाह गरेर लोग्नेको घरमा आएकी "युवति"लाई परिवारको सदस्य भन्दा पनि छोराले विवाह गरेर ल्याएको "सेविका"को व्यबहार गर्छन् | कज्याउने चिन्तन र व्यबहार भएको लोग्ने, स्वास्नी मान्छेका लागि एउटा भयानक सपना हो | हाम्रो समाजमा धेरै महिलाहरूले "छोराछोरीका लागि यस्तो लोग्ने र उसको परिवारसंग सम्झौता गरेका हुन्छन् | रगतको आँसु पिएर जीवन यापन गरिरहेका हुन्छन् | "संस्कारी" र "परिवारको लागि" स्वास्नीको सम्पूर्ण उर्जा र स्वतन्त्रताको चाहना समर्पित हुन्छ |
"वसमा राख्ने र कज्याउने" यी दूवै स्वभाव भएका लोग्नेस्वास्नीको घरपरिवार राम्रो र असल देखिए तापनि जिउँदो ग्रीनेडसरह हुन्छ | कति वेला, यस्तो परिवार पूर्णतया अशान्ति, द्वन्द र विखण्डनको भुमरीमा फंस्छ ? भन्न सकिन्न | असल स्वास्नीले लोग्नेलाई "वसमा राख्ने होइन" संयमित तवरले स्वतन्त्रताको उपयोग गर्ने, मायालु जीवनसाथीका रूपमा विश्वास गर्नुपर्छ | अन्याय विरुद्ध बोल्नुपर्छ तर वसमा राख्नका लागि माइतीको अभिमत पक्षमा छ भने अस्वीकार गर्नुपर्छ | "कन्ट्रोल" गर्ने स्वभावका कारण कुनै ओअनी दिन लोग्नेको विश्वास गुम्न सक्छ | विश्वास गुमेपछि पुन: त्यसलाई आर्जित गर्न सजिलो हुँदैन | तेसैले कन्ट्रोल होइन सहकार्य, जीवनसाथीका रूपमा लोग्ने र लोग्नेका परिवारसंग व्यबहार गर्नुपर्छ |
"कज्याउने" मनसाय र व्यबहार दूवै आत्मघाती व्यबस्था हुन् | विवाह एकजनाको मात्र भएको होइन | विवाह गरेर धर्मपत्नी बनाएपछि "कज्याउने" भन्ने मनसाय नै अनुचित, आपत्तिजनक र लोग्नेस्वास्नीका विचमा हुने स्वाभाविक प्रेमको बाधक हो | तेसैले स्वास्नीलाई कल्याउने चिन्तन तुरुत्न त्याग्नुपर्छ | जीवनसाथीसंग सहकार्य, सम्बाद तथा सहअस्तित्व र आदरकासाथ व्यबहार गर्नुपर्छ | नत्र, लोग्नेस्वास्नीको सम्बन्ध बाध्यात्मक हुन्छ | न प्रेम हुन्छ, न आदर हुन्छ, न आदर्श हुन्छ | तेसैले पत्नीलाई "कज्याउन" सिकाउने र उक्साउनेका सल्लाहहरू विनम्रतापूर्वक अस्वीकार गर्नुपर्छ |
एकल परिवारमा वस्ने कि संयुक्त परिवारमा बस्ने कुराको निर्णय आवश्यकता, परिवेश तथा स्थिति विचार गरेर लोग्नेस्वास्नी आफैले गर्नुपर्छ | एकल परिवार होस् वा संयुक्त परिवार दूवैमा आ-आफ्ना असल र कमसलपन हुन्छन् | असल जीवनसाथीले एकअर्कालाई "वसमा राख्ने वा कज्याउने"जस्ता अनर्थ व्यबहारलाई "लोग्नेस्वास्नी"का विचमा प्रवेश गर्न दिनु हुँदैन | असलमा, पति र पत्नी दूवै एकआपसमा पूरक हुनुपर्छ | पूरक, सहयोगी तथा विनम्र हुनुमा शान्ति सुख र आनन्द छ | लोग्नेस्वास्नीहरू ईश्वरका सर्बोत्तम रचना हुन्, जसको सहकार्यले विश्व खुशी, सुखी र आनन्दित हुन्छ |
ईश्वरले "लोग्नेस्वास्नी"को सम्बन्ध एकआपसमा विश्वास गर्न, सहकार्य गर्दै संसार र आफुप्रतिको दायित्व पूरा गर्न र व्यक्तिगत जीवनलाई "आनन्दित" बनाउनका लागि निर्माण गरेका हुन् | जुन वखत र समयमा स्वतन्त्र पुरुष र स्त्रीले एकआपसमा लोग्नेस्वास्नी बन्ने निर्णय गरे, त्यसै बखतदेखि महिलाले माइतीमा उपभोग गरिरहेको व्यक्तिगत स्वतन्त्रता केही अंश र पुरुषले घरमा उपभोग गरिरहेको स्वतन्त्रता एकअर्कालाई समर्पण गर्ने र नयाँ "व्यबहार" आरम्भ गर्ने निधो गरेका हुन्छौं | मनोबैज्ञानिकहरू यो व्यबस्था र अवस्थालाई "एडजस्टमेन्ट" भन्छन् |
लोग्नेस्वास्नी एकअर्काका पूरक हुन्, पार्टनर वा प्रतियोगिता गर्ने प्रतिद्वन्दी होइनन् | लोग्नेले स्वास्नीलाई र स्वास्नीले लोग्नेउपर निश्छल विश्वास गरे पुग्छ | लोग्नेले स्वास्नीसंग सम्मान जनक व्यबहार र सहयोगी व्यबहार गरे पुग्छ | परिवारका व्यक्तिहरूले "लोग्नेस्वास्नी"को आपसी प्रेम तथा मर्यादाका विचमा "जोड्ने" भूमिका निर्वाह गरे पुग्छ | सहकार्य, सहयोग, निश्चल प्रेम, सम्मान तथा रमाइलोपनले "लोग्नेस्वास्नी"को जीवनमा स्वर्ग तथा आनन्दको उपलब्धि हुन्छ | अन्त्यमा, लोग्नेस्वास्नीको जीवन सहआनन्द प्राप्तिको लागि हो, तेसैले आनन्द, साह्चर्य, प्रेम तथा सम्मानको बाटो अपनाउनु पर्छ, घृणा, अपमान, कज्याउने, वसमा पार्ने बाटो हिंडेर सुख प्राप्त हुँदैन | प्रेम र सम्मानको बाटो सरल सहज र जोड्ने हुन्छ | जव "लोग्नेस्वास्नी" एकआपसमा प्रेम गर्छन्, विश्वास गर्छन्, एकले अर्कोलाई सम्मान गर्छन् "वसमा पार्ने र कज्याउने" मूर्खतापूर्ण व्यबहार र चिन्तन स्वत: समाप्त हुन्छन् |

Monday, February 19, 2024

पचास काटेसी !

 उमेरले ५० काटेपछि मेरो मनमा अलिअलि वृद्धावस्था र रोगका विषयमा ध्यान मोडिएको छ । पुराना कुराहरू याद आउन थालेका छन् । कहिले राम्रो गरेजस्तो त कहिले असफल भएजस्तो लाग्छ । यसो गाउँतिर फर्केर हेर्छु –आमावा बूढो हुनुभएको छ । उहाँहरूले घरको जिम्मेदारी छोड्नु भएको छ । उहाँहरू १५ वर्ष अगाडिको जस्तो फुर्तिलो हुनुहुन्न । उहाँहरू हरेक पटक ‘तिमेरको पालो’ भन्न थाल्नु भएको छ । उहाँबाट क्रमशः सक्रियता सकिंदै छ । मभित्र बुढ्यौलीले प्रवेश गरेको छैन । मन युवा नै छ । बूढो हुने उमेर घटेको छ । मलाई लाग्छ, म ६५ वर्षको उमेरसम्म पनि स्वास्थ्य नै फील गर्ने छु । सहज रूपमा उपलब्ध स्वास्थ्य सुविधाहरू, सहज खाद्य उपलब्धि तथा विभिन्न काममा प्रत्यक्ष सहभागिताले म तरोताजा र थकित दुवै हुन्छु ।

मैले अनुभव गरेको अचम्मको तत्थ्य – मैले आफूलाई पचास काट्न लागेको छु भन्ने तत्थ्यबाट टाढा राख्न चाहन्छु । किनकिन मलाई उमेरले पचास काटेको स्वीकार्य हुने छैन । मन बूढो भएको छैन तर शरीरले पचास काटेको सूचना दिएकै छ – चाँडो थाकेर र अलि बढी आराम खोजेर !
अर्कोतिर संगैका साथीहरू पनि ‘अब बूढो भइयो’ भन्न थालेका छन् । उनीहरूको अनुहारमा चाउरी देखिन थालेको छ । साथै, उनीहरू त्यो गाउँका ती पदहरूमा छन्, जुन पदमा तिनका र मेरा आमावुवा हुने गर्थे । मैले मेरो वुवालाई ती पदहरूमा रहंदा धेरै जिम्मेदारीहरू उठाएको देखेको थिएँ । आज ती साथीहरू तिनै पदमा छन् । कुनै बखत हाम्रा आमाबुवा ती पदमा रहेर सबैको सहयोग गर्थे । आज तिनका सन्तानहरूले त्यही गरिरहेका छन् ।

मैले देखें, मेरा समकालीन ‘केटाकेटी’हरू गाउँका मुख्य र खास मान्छेमा रुपान्तरित भएका छन् । मेरोझैं उनीहरूका कपाल पनि फुल्न थालेका छन् । उनीहरू क्रमशः गाउँका मूल मान्छे बन्दै छन् । त्यतिमात्र होइन, नाता–सम्बन्धहरू पनि फेरिएका छन् । अब हामी सबै ‘बा, अंकल, आन्टी, काकाकाकी’मा रुपान्तरित भैसकेका छौँ ।

आमावा सक्रिय भएको बेलामा म घर जाँदा अहिलेका सबै साथीहरू ‘पण्डितको घरमा पण्डितको छोरासंग’भेट्न आउँथे । अहिले उनीहरू डा. गोविन्दसँग भेट्न आउँछन् र बाआमाको हालखवर सोध्छन् । उनीहरूले ‘मसँग सीधै’ व्यवहार गर्छन् । हिजो मेरो पहिचान वा–आमासंग जोडिएको थियो । आज मेरो पहिचानसँग बाआमा जोडिनुहुन्छ । यी सबैले म बूढो हुँदै गरेको सूचना दिन्छन् । विश्वास गर्नुस्, मैले मेरो शरीरलाई धेरै माया गर्छु । यो उमेरमा शरीरले अलिकति ‘आराम’ खोजेको अनुभव गर्न थालेको छु । शारीरिक काम गर्ने क्षमतामा कमिभएको अनुभव गर्दैछु । अर्कोतिर, मानसिक रूपमा अलि बढी नै थकान अनुभव गर्न थालेको छु । तीन महिना अगाडी +१.५ को चस्मा लगाएपछि शरीरको परिवर्तनलाई मान्न बाध्य भएको छु ।

म सकारात्मक चिन्तन भएको मान्छे हुँ । तर छोराछोरीको भविष्यको चिन्ता लाग्छ । घरव्यवहारको पीडाबोध हुन्छ । सरकार अस्थिर हुँदा होस् वा रूसले युक्रेनमा आक्रमण गर्दा होस् वा दिनहुँ मिडियामा सुनिने नकारात्मक समाचार सबैले मेरो भित्रि मनमा असुरक्षाको भाव प्रकट गर्छन् । तर केटाकेटी, पत्नी, साथीहरूका अगाडी ‘झुकेर’ कुरा गर्न मन लाग्दैन । सुशासन र कुसाशनको समाचारले मेरो बेडरूमसम्म सुरक्षित छैन । सबैले मेरो मनमा असुरक्षा उत्पन्न गर्छन् र मेरो वृद्धावस्था खराव हुने हो कि भन्ने चिन्ता लाग्छ ।

म चिन्ता गर्ने मान्छे होइन । विश्वास गर्नुस्, मैले पचासमा टेकेपछि चिन्तन होइन चिन्ता गर्न थालेको छु । तर धेरैचाहिं होइन । छोराछोरीको उच्चशिक्षाको चिन्ता, आमावुवाको स्वास्थ्यको चिन्ता, सामाजिक प्रतिष्ठा र मानको चिन्ता र सबैभन्दा बढी चिन्ताचाहिं ६३ वर्षपछि के गर्ने होला भन्ने आउंदै छ । तर त्यति बलियो छैन । सायद, गीता पढेकोले होला ‘जे होला ठीकै होला’भन्दै अगाडी बढिरहेको छु । मलाई थाहा छ चिन्ता र चिता मध्ये चिताले एकै पटक खरानी पार्छ, चिन्ताले अलिअलि गरेर शरीर र मनलाई कमजोर बनाउँछ । पचास मैले गुनासो पोख्ने ठाउँ गुमाएको छु । मसँग सबै गुनासो गर्नेमात्र आउँछन् । मैले आस गर्ने, भरोस गर्ने, गुहार माग्ने ठाउँ वा व्यक्ति छैनन् । मसँग आस गर्ने, गुहार माग्ने र भरोसा माग्नेहरूहरुको लाइन छ । सायद, यो उमेर गुनासो सुन्ने रहेछ । सहयोग गर्ने रहेछ । दिने रहेछ र एकान्तमा रून मन लागेर पनि रून नसक्ने रहेछ ्र शरीर दुख्नु र पेट विग्रनु सायद यस उमेरमा सामान्य कुरा रहेछन् । तर नियमित स्वास्थ्य जांच गराउनु पर्छ । यो कुरा मलाई थाहा छ । तर मैले स्वाथ्य जांच गराएको छैन । कुनै ठूलो रोग लागेको रिपोर्ट आउँछ कि भन्ने डर लाग्छ ।

मैले १७ वर्षको उमेर देखि निरन्तर आसनहरू गर्छु । गुरूले दिएको गायत्री मन्त्र एकान्तमा बसेर जप्दा “मेडीतेसन” हुन्छ । प्राणायाम गर्छु । केहीबेर भागवत र गीता तथा वेद पाठ गर्छु । बडो आत्मविश्वास मिल्छ । कामको लोड कम गर्ने प्रयत्न गर्छु । जिउ र मन चाँडो थाक्छ । सकेसम्म १० बजेभित्र नै विस्तरामा निदाउँछु । घर मै उफ्रेर भए पनि २००० पाइला पुर्याउँछु । पहिले भन्दा चिया–कफी कम गरेको छु ।
घरमा सुगा पालेकी छ छोरीले । ती सुगाहरूसँग खेल्दा मन खुसी हुन्छ । बूढीले पनि साथ दिन्छिन् । मनमा धेरै कमाउने विचार छैन । बरू, समयले साथ दिए तीर्थयात्रामा जाने, देश–विदेश घुम्ने गरेको छु । कम बोल्ने र आदेश नदिने व्यवहारको अभ्यास गर्दै छु । एउटा शिक्षकले धेरै पढ्नु पर्दो रहेछ । तर मेरो पढ्ने/लेख्ने इनर्जी पनि कम भएको छ । मभित्र काम “पर सार्ने” व्यवहारको विकास भएको छु । सायद शरीर र मनले आराम गर्न खोजेर होला ।

यो मेरो कुरामात्र होइन । ५० वर्षको उमेर पार गरेर ७० वर्ष नपुगेकाहरूको शारीरिक तथा मानसिक परिवर्तन हुन्छ नै । हर्मोनहरू बीच भयानक छिनाझपटी हुन्छ । यसले गर्दा मन देख्ने, रीस उठ्ने, इर्ष्या लाग्ने तथा भावनाहरू आहत सजिलै हुन्छन् । विचारा विवेकलाई यी सबै कुरालाई तह लगाउन निकै श्रम गर्नुपर्छ । विवेकको प्रयोग गर्नेहरू अलिअलि फरासिला हुन्छन् । केवल भावनाको प्रयोग गर्नेहरू बढी दुःखी हुन्छन् ।जव बृद्धवस्था अनिवार्य छ भने नियमितरूपमा शारीरिक र मानसिक व्यायाम आरम्भ गर्नेपर्छ । सबै कुरामा अल्छी माने पनि आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका सवालमा अल्छी गर्नु हुँदैन । मैले जीवनको मन्त्रका रूपमा बेलुका चाँडो सुत्ने र विहान चांडो उठ्ने सवालमा कत्ति पनि अल्छी गर्दिन ।

मैले आफ्नो कुरा लेखेको हो । यी कुरामा केही विज्ञान र केही अनुभवको संगालो छ । तपाईं पनि यदि पचासे बाटोमा हिंड्न थाल्नु भएको छ भने विचार साटासाट गर्नु राम्रै हुनेछ । तपाईं र म भाग्यमानी छौं कि प्रकृतिसँग सहकार्य र युद्ध गर्दै यो शरीरलाई पचास वर्षसम्म सुरक्षित राख्न समर्थ भयौं । हामी सबैले वेदका वाक्य ‘जीवेम शरद शतम् अर्थात् हामीले १०० बटा शरद ऋतु भोग्नै पर्छ’ भन्ने सङ्कल्पसंग अगाडी बढौं । आउने हरेक अवरोधहरूले मन र शरीरलाई अझै सहनशील र सङ्घर्षशील बनाउने छन् । मेरो सङ्कल्प कमजोर छैन ।

एकसरो : टर्रो सुझाव

 एकसरो : टर्रो सुझाव

संसारमा सबैभन्दा धेरै दिइने तर सबैभन्दा स्वीकार, त्यो भन्दा पनि कम कार्यन्वयन गरिने कर्म अर्थात् कुनै पनि सर-सल्लाह दिनु भन्दा निम्छरो काम अर्को छैन | तर सरकारले नै सल्लाह मागेपछि आम नागरिकको हैसियतले सल्लाहकार बन्ने जमर्को गर्नुपर्यो | प्रम स्वयंले सल्लाहकार नियक्त गर्छन् तर सल्लाह लिंदैनन् | यो सल्लाहकारको पदनै "झोले"हरूलाई शान्त पार्ने जुक्ति हो |
संसदबाट कानुन नै बनाएर विद्यालय तथा विश्वविद्यालयहरूलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउने व्यबस्था गर्नुपर्छ, "नत्र जुन जोगी आए पनि कान चिरेको"को उखान यथावत् रहनेछ | विद्यालय र विविका प्राध्यापक/विद्यार्थीहरूलाई राजनैतिक "झोले" सिस्टमले बनाएको हो | एक पटक झोलेवादी बनेर सत्ताबाट प्राप्त हुने सुख प्राप्त गरेपछि त्यो पुस्तान्तरण भएर संस्थागत बनेको हो | वर्तमानलाई दोष दिन मिल्दैन |
जुन बाटोबाट राजनैतिक "झोला"ले प्रवेश गरेको हो त्यही बाटोबाट "झोला मुक्तिको" कानुन बन्नुपर्छ | झोला मुक्तिको कानुन बन्ने सन्दर्भ र लागु गर्ने बाटोमा "झोलावादी"हरूले ठूलो अवरोध उत्पन्न गर्न सक्छन् तर कानुननै बलियो भएपछि परास्त हुन्छन् |
जस्तो सजिलोसँग मैले मेरा सुझावहरू फेसबुकमा लेखेर सार्वजनिक गरें, यो सुझावअनुसार काम गर्ने प्रयत्न गर्नु, काम गर्नु र कार्यन्वयन गर्नु झोलावादी राजनैतिक संस्कृतिका लागि "फलामका चिउरा"सरह हो | तर असल सङ्कल्पले असल कर्म सम्पन्न हुन्छ | सुझाव दिएजस्तो काम सजिलो छैन |
असल नियतले कानुन निर्माण गर्ने र कार्यन्वयन गर्ने हो भने कुनै पनि विद्यालय/विश्वविद्यालयबाट एकरत्ति पनि विरोधका स्वर आउने छैनन् | तर कानुन राजनैतिक पूर्वाग्रह मुक्त हुनुपर्छ |
राजनैतिक पूर्वाग्रह मुक्त कानुनी प्रावधानहरूको कार्यन्वयन भएको नेपाली समाजले स्वाद चाखेको छैन | तेसैले विश्वास गरिहाल्ने परिवेश हुँदैन | शिक्षाको क्षेत्रलाई राजनीति पढाउने थलो बनाउनु पर्छ राजनीति गर्ने थलो होइन |
-यो सुझावको स्रोतचाहिं हालसालै प्रम प्रचण्डको बक्तव्य र त्रिविविको लागि उपकुलपति नियुक्तिको प्रक्रियासंग जोडिएको छ | आजको मितिमा देशमा १८ बटा विश्वविद्यालय वा सोसरहका प्रतिष्ठानहरू छन् | ती सबै पदाधिकारीहरूका सवालमा आलोचित छन् | कुनै पार्टीको झोला नबोकेका प्राज्ञिक व्यक्ति नियुक्त हुँदा पनि "झोले"को आलोचना खेप्नुपर्छ |
विश्वविद्यालयहरूमा बैचारिक रूपमा एउटा राजनैतिक सिद्धान्ततिर झुकाव भए पनि कुनै पनि राजनैतिक दलको झोला नबोक्ने धेरै विद्वानहरू छन् | राजनैतिक हस्तक्षेपका कारण ती व्यक्तिहरू पनि अनावश्यक रूपमा आलोचित बन्नुपर्छ | आलोचनाका कारण दक्षहरूले पलायनको बाटो पनि रोजेका छन् | प्राध्यापक पनि एउटा सामाजिक प्राणी नै हो | उसले आफ्नो आस्था राख्न पाउनु पर्छ |
विश्वविद्यालयका प्राध्यापकहरूले प्राप्त गर्ने सर्बोच्च सम्मान र अधिकार नै उपकुलपतिको पद हो | जसरी राजनीतिमा लागेकाहरूको अन्तिम लक्ष प्रधानमन्त्रीको पद हुन्छ | यदि राजनैतिक भागबण्डा मुक्त कार्यकारीको चयन हुने व्यबस्था गरिन्छ भने विश्वविद्यालयका अनेकौं प्राध्यापकहरू आफ्नो विविको उन्नाननका लागि आफै अगाडी आउँछन् | आज परिस्थिति एस्तो बनेको छ "झोलेहरू" पदप्राप्तिका लागि अगाडी देखिन्छन् | प्राज्ञहरू "त्यो पद त झोलेका लागि आरक्षित हो" भन्दै नियुक्तिका लागि प्रयास नै गर्दैनन् | नपाउने ठाउँको किन आसा राख्नु ?
सकारात्मक चिन्तनको पनि सीमा हुन्छ | राजनैतिक दलहरूले "झोले" बाहिरका विज्ञहरूलाई नियुक्ति दिन्छन् भन्ने विश्वास विज्ञहरूलाई मात्र होइन सर्वसाधारण समेत विश्वस्त छन् | राजनीतिलाई "छल, षड्यन्त्र, झूट"को पर्यायका रूपमा बुझ्ने अवस्था ल्याउनेहरू राजनैतिक दलनै हुन् | नेतृत्वले आँट गर्ने हो भने कानुन पनि बन्न सक्छ, त्यो लागु पनि हुन सक्छ र देशले शिक्षाको क्षेत्रमा सकारात्मक परिणाम पनि दिन सक्छ |
ट्रस्ट बनाएर पुन: अर्को भागबंडाको संस्कृति आरम्भ गर्नुको औचित्य छैन | सिनेट पनि आफैमा स्वायत्त संरचना हो ( सैद्धान्तिक रूपमा) | यसलाई कानुन बनाएर राजनीतिबाट मुक्त गर्ने, कार्यकारीलाई स्वायत्त रूपमा कानुन प्रदत्त अधिकारहरूको प्रयोग गर्न अवरोध उत्पन्न नगर्ने र राजनैतिक आस्थाका आधारमा भन्दा विज्ञताको आधारमा कार्यकारीहरूको नियुक्ति गर्ने आँट गर्ने हो भने सबैको कल्याण हुन्छ | संबिधानले कल्पना गरेको कल्याणकारी राज्यको परिकल्पनाको एउटा खुड्किलो बलियो हुन्छ |
स्वस्त्यस्तु

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...