Monday, February 19, 2024

श्रीरामले जोडेका हिन्दूहरू

 श्रीरामले जोडेका हिन्दूहरू

आज भारतीय अयोध्या चर्चामा छ | भगवान् श्रीराम चर्चामा चर्चामा छन् | नव-निर्मित श्रीराम मन्दिर चर्चामा छ | मन्दिरको कसैले बिरोध गरेका छैनन् | श्रीरामको कसैले बिरोध गरेका छैनन् | केहीले "अपूर्ण मन्दिरमा प्राणप्रतिष्ठा नगरौं" भनिरहेका छन् |
श्रीराम मन्दिर चर्चामा हुनुको कारण छ | यो मुसलमानहरुको प्रार्थनास्थल तोडेर बनाइएको हो | त्यहाँ झन्डै ५ सयवर्ष अगाडीको मस्जिद थियो | सन् १९९२ मा त्यो ढाँचा हटाइयो | तेसो गर्दा धेरै "हिन्दू"हरू मारिए | तत्कालीन सरकारले मस्जिद जोगाउन सकेन |
हिन्दूवादी मानिने भारतीय जनता पार्टीले मन्दिर बनाउछौं भन्यो | अनि, अहिले सत्तामा त्यही पार्टी छ | धेरै हिन्दूहरूले रामकृपामा विश्वास गर्छन् | भाजपा सत्तामा आउने कारण नै "रामकृपा" ठान्छन् |
परम्परावादी हिन्दूहरूका लागि श्रीराम ईश्वर हुन् | अयोध्या रामको जन्मथलो हो | अयोध्यामा मस्जिद होइन मन्दिर बन्नुपर्छ भन्नु अस्वाभाविक होइन | धेरैले बाबरी मस्जिद प्राचीन राममन्दिर नष्ट गरेर बनाएको विश्वास गर्छन् | भाजपाले यस्तो विश्वासलाई राजनैतिक शक्ति आर्जन गर्न प्रयोग गर्यो |
भाजपाले राजनैतिक शक्तिको प्रतिमानका रुपमा श्रीराम मन्दिरलाई समेट्यो | त्यसपछि विश्वभरी राममन्दिरको विषयमा चासो बढ्यो | हिजोसम्म वास्ता नगर्ने सनातनी पनि राममन्दिरवादी बन्न थाले | अन्तन्त: भाजपाले भारतीय र गैर-भारतीय हिन्दूहरूलाई "श्रीरामलाई हिन्दू अस्तित्वको गौरव"का रूपमा बुझाउन र स्थापित गर्न सफल भयो |
भारतीय सत्ताम रहेको भाजपाले नै "श्रीराम मन्दिर बोकेपछि" विदेशीहरूको पनि यस विषयमा चासो बढ्यो | धर्मनिरपेक्ष भारतका जनताहरू विभाजित भए | भाजपाको तुलना इस्लामी कट्टरपन्थीसंग गरेर बुझाउने प्रयत्न भयो | हिन्दु विरोधी वा धर्मनिरपेक्षतावादीहरू विरोधमा उभिए |
विदेशी मिडियाहरूले राम मन्दिरको निर्माणलाई मुस्लिम-इसाई विरुद्धको आक्रमणका रुपमा व्याख्या गर्न थाले | पक्ष र विपक्षमा बहस हुन थाले | यी सबैले राम र राममन्दिरको चर्चा चुलियो | हिन्दू सनातनीहरूले भाजपाको राजनैतिक सिद्धान्तको समर्थन नगरे पनि श्रीराम मन्दिरको विपक्षमा उभिन सक्ने अवस्था रहेन |
श्रीराम मन्दिरको एतिबिध्न चर्चा हुनुको कारण (१) भारतीय जनता पार्टीले राजनैतिक रूपमा सांस्कृतिक स्वाभिमानको रुपमा राम र राममन्दिरलाई प्रस्तुत गर्नु (२) हिन्दु विरोधी तथा धर्मनिरपेक्षतावादीहरू एकै ठाउँमा उभिएर राम र राममन्दिरको आलोचना गर्नु (३) भारतका धेरै ठाउँमा मन्दिरहरू तोडेर मस्जिदहरू निर्माण गरिएको इतिहास हुनु (४) विश्वभरीका हिन्दूहरूका लागि श्रीराम साझा देवता हुनु (५) भारतमा केन्द्रिय सरकार बनाउनका लागि चुनाव नजिकिंदै जानु र (६) विगत ३ सहस्राब्दी देखि सनातन धर्म मान्नेहरूले सर्वप्रथम जैन, त्यसपछि बौद्ध अनि मुस्लिम, अनि इसाई र अनन्त: तथाकथित धर्मनिरपेक्षताको आवरणमा सधै आलोचना सहँदै आएका र अहिले विश्वव्यापी पहिचानको आन्दोलनको पृष्ठभूमिमा आफ्ना मौलिक विश्वासहरू विश्वसमक्ष पुर्याउन सामाजिक संजाल उपलब्ध हुनु भएको मान्नुपर्छ |
केही मान्छे श्रीरामलाई गैर-राजनैतिक प्रतिमान ठान्छन् | यस्तो ठम्याई गलत हो | श्रीराम अयोध्यामा जन्मेर त्यहीं राजा बनेका थिए | जुन राजा हुन्छ, राजनीति त्यहींबाट आरम्भ हुन्छ | श्रीरामले मर्यादाको राजनीति गरे | धर्म शास्त्रको आचरण सिकाए | जीवनमा एकपत्नीको महत्वलाई बुझाए | हो, रामको राजनीति आजको जस्तो थिएन र रामकालीन राजनीति आज ठीक हुन्छ कि हुँदैन ? प्रश्न गर्न सकिन्छ | तर मर्यादा र सत्यका पक्षमा रामको राजनैतिक चेतना आज पनि चाहिएको छ |
उपरोक्त कारणहरू बाहेक हिन्दुहरूमा आफ्नो सांस्कृतिक पुनर्जागरण र पुनर्ब्यख्या गर्ने तीब्रतर चाहना हुनु पनि हो | अहिले श्रीराम मन्दिर भारतीय जनता पार्टीले सत्ताको साँचोको रूपमा प्रयोग गरिरहेको जान्दाजान्दै पनि सम्पूर्ण विश्वका हिन्दूहरूको स्वाभिमान र गौरवको प्रतिक बनेको छ |
भारतीय राजनैतिक मिचाईबाट आजित भएका नेपालीहरूले पनि "श्रीराम र श्रीराम मन्दिरको निर्माणलाई गौरव"कै रूपमा लिएका छन् | झन्, अयोध्याको नवनिर्मित राम मन्दिरका कारण नेपालको जानकी मन्दिर पनि चर्चाको उच्चतम शिखरमा पुगेको छ | जनकपुरको पनि चर्चा चुलिएको छ | नवनिर्मित राममन्दिरको प्रसंगले नेपाल र भारतबिचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध अझैं बलियो भएको छ |
जे जस्तो कारण र प्रयोजनले अयोध्यामा श्रीराम मन्दिरको निर्माण भएको छ, यसले गर्दै विश्वभरिका हिन्दुहरूमा पुन: भातृत्व सम्बन्ध स्थापित भएको छ र "हामी विश्वभरिका हिन्दू सनातनीहरू एक हौँ" भन्ने संकथन पुन: स्थापित भएको छ | श्रीराममन्दिरको प्रशंसा गर्दैमा भारतीय सत्तापक्षको ठान्नु हुँदैन | धर्मनिरपेक्षताको जूठोमा अल्मलिएको नेपाली मिडिया जगतले श्रीराम वा राम मन्दिरको स्वगत गर्न सकिरहेको छैन | मिडियाको एस्तो रवैयाके नेपाली हिन्दू संस्कृतिमा अझैं साझा एकताको विकास हुन्छ |
श्रीराम मन्दिरको सबैभन्दा महत्वपूर्ण पक्ष यसले विश्वभरीका हिन्दूहरूमा आफ्नो जरोकिलो प्रति जिज्ञासा र विश्वास बढाएको छ | नेपालमा पनि राष्ट्रदेव पशुपतिनाथले विश्वका हिन्दूहरूलाई यही संदेश दिंदै हुनुहुन्छ, जनकनन्दिनी सीताको शीतल छायाँ छंदै छ | भारतीय हिन्दुहरूको यो जागरणले नेपालका हिन्दुहरूले सिक्नुपर्छ | राष्ट्रको धर्म हुँदैन, राजनीतिज्ञ धार्मिक हुनुहुँदैन भन्ने मान्यताबाट मुक्त हुनुपर्छ |
जय सीताराम

पतिपत्नीको असल सम्बन्धले घर नै स्वर्ग बन्छ

 पतिपत्नीको असल सम्बन्धले घर नै स्वर्ग बन्छ |

१. पर्वतकी एकमात्र छोरी पार्वतीलाई महादेव शिव मन पर्नुभयो | पार्वतीले तपस्या गरिन् | पर्वतले शिवसंग पार्वतीको विवाह गरिदिए | ती शिवपार्वती भनिए | यी दूवैको वैदिक विधिअनुसार ब्रह्माजीले विवाह गराएका हुन् | मन मिलेपछि राजकी छोरी र मसानमा बस्ने शिवको परिवार पनि सुखी हुने रहेछ |
लोग्ने स्वास्नीको मन मिलेको छ भने शिवपार्वतीको जस्तो नमिल्दो परिवार पनि सुखी हुन्छ | शिव मसानमा बस्ने | खरानी धस्ने | हिमालमा बस्ने | ध्यान लागेपछि युगौं न उठ्ने | पार्वती राजाकी छोरी | सारै सुखले पालिएकी | बाघ बाघमा चढ्ने | महादेव गोरूमा चढ्ने | बाघले गोरूलाई देख्नै नसक्ने | शिवपार्वती को मन मिलेपछि | तिनको पनि मन मिलेकै छ |
छोरा गणेश हात्ती जस्तै | मुसामा चढ्ने | महादेवले सर्पको माला लाउने | मुसालाई सर्पले देख्नै नसक्ने | शिवपार्वतीको मन मिलेपछि तिनको पनि मन मिलेकै छ | सर्पले मुसालाई खाँदैन | छोरा कार्तिकेयको बाहन मयूर | मयुरले सर्पलाई देख्नै नसक्ने | तर शिवपार्वतीको मन मिलेपछि | न बाघले गोरू खान्छ | न सर्पले मुसो खान्छ | न मयुरले सर्प खान्छ | न पार्वतीलाई शङ्करसंग गुनासो छ | न शिवलाई पार्वतीसंग गुनासो छ | हिउँको चीसो घर स्वर्गसरह छ |
लोग्नेस्वास्नीको मन मिल्छ | यो घर स्वर्ग हो | पतिपत्नीविच प्रेम छ | त्यो घर वृन्दावन हो | दम्पतिले एकअर्कालाई विश्वास गर्छन् | त्यो घर बैकुण्ठ हो | धन सम्पत्ति चाहिन्छ | छरछिमेकी चाहिन्छन् | परिवार चाहिन्छ | सबैभन्दा बढी | सबैभन्दा महत्वपूर्ण लोग्नेस्वास्नीका विचमा विश्वास चाहिन्छ |
शिवपार्वती विश्वास हुन् | त्यो विश्वासले शिवपरिवार सुखको पर्याय बनेको छ | पुराणहरूले सुखी दाम्पत्यमा शिव-परिवारलाई सम्झिन्छ | समस्या हुन्छन् | तनाव हुन्छन् | दु:ख हुन्छन् | यदि पतिपत्नी मिलेका छन् भने दु:ख सजिलै काटिन्छ | यदि पतिपत्नीमा मिलाप छैन भने त्यो घर नर्क हुन्छ | शिवपार्वतीको घर कैलाश स्वर्गसरह छ | किनभने शिवपार्वतीमा मिलाप छ | आशिर्वाद दिनेले "शिवपार्वती"को जोडीलाई सम्झिनन् | शिवपरिवारको असंगति होइन | पतिपत्नीमा मिलाप छ भने सबै असंगति सहयोगी हुन्छन् |
२. ऋषि कर्दम तपस्वी थिए | जङ्गलमा तपस्या गर्थे | ब्रह्माले भने तपस्या गर्नु राम्रो हो | विवाह गरेर सन्तान जन्माउनु | ऋषि,देव तथा पितृ ऋणबाट मुक्त हुनु हो | तिमीले विबाह गर्नुपर्छ | तपस्वीको विवाह भयो | राजा मनुकी छोरी सत्यवती पत्नी बनिन् | पतिपत्नी दूवै जङ्गलमा निवास गर्न थाले | एक दूवैमा ठूलो विश्वास थियो | तपस्वी तपस्या गर्थे | राज कुमारी पतिको तपस्यामा सहयोग गर्थिन् |
एक दिन कर्दम ऋषिले सम्झे | उनी विवाहित हुन् ! सत्यवतीसंग क्षमा मांगे | तपस्याको बलले सबै सुख जुटाए | सत्यवती र कर्दमका ११ बटा सन्तान भए | अन्तिम सन्तान ऋषि कपिल जन्मे | ऋषिले तपस्या गरिरहंदा सत्यवतीले दु:ख मानिनन् | कर्दमलाई छोडिनन् | आफ्ना बुवा सम्राटसंग गुनासो पोखिनन् | सधैं विश्वास र श्रद्धाका साथ ऋषिसंग रहिन् | ऋषिको लक्षलाई आफ्नो लक्षमामा समाहित गरिन् |
ऋषि कर्दम र राजपुत्री देवहुतिको आपसी विश्वासले "भगवान्" नै छोरा बनेर आए | छोराले आमालाई सांख्य दर्शनको उपदेश दिए | बुवा कर्दम आफ्नै त्याग, प्रेम र समर्पणले मोक्ष प्राप्त गरे | पतिपत्नीको एकआपसी समर्पणले जङ्गलमा मङ्गल भयो | ऋषि कर्दम र राजकुमारी देवहुति दुवैले ससुरा र बुवाको राज्य सुखको आवश्यकता परेन |
३. सीता नेपालको खेतबाट जन्मेकी थिइन् | राम दशरथ राजाका छोरा थिए | दुवै राजकुमार/राजकुमारी थिए | विश्वामित्रसंग घुम्दै जनकपुरमा सीतारामको आँखा जुधे | स्वयंवरमा सीताले रामलाई पतिको रूपमा स्वीकार गरिन् | रामले सीतालाई पत्नीको रूपमा स्वीकार गरे | दुवैको वैदिक विधिले विबाह भयो | दुवै एकआपसमा दम्पति बने | अयोध्या फर्केर दाम्पत्य जीवन विताउन थाले |
समयले कोल्टे फेर्यो | रामलाई१४ वर्षको बनवास मिल्यो | राम एक्कै बनवास जान चाहन्थे | सीताले पटक्कै मानिनन् | सीता र रामको मन मिलेको थियो | सीतारामको मन मिलेको हुँदा अयोध्या नै बैकुण्ठ बन्यो | पतिपत्नी मिल्दा घर स्वर्ग हुन्छ | गाउँ बैकुण्ठ हुन्छ | पतिपत्नी नमिल्दा घर लंका हुन्छ |
४. सत्यवान राजकुमार थिए | सावित्री राजा अश्वपतिकी छोरी थिइन् | सत्यवान् र सावित्रीको विवाह भयो | सत्यवान् केवल एकवर्ष जीवित रहने छन् - नारदले सूचना दिए | सावित्री कत्ति पनि आत्तिइनन् | बरू सधैं छायाँझैं संगै रहन थालिन् |
एक दिन काल आयो | कालले भन्यो - मैले सत्यवान् लाई लैजानु पर्छ | विधाताको यही नियम हो | सावित्रीले मानिनन् | कालले धेरै प्रयत्न गरे | धेरै वरदान दिए | तर सावित्रीले मानिनन् | उनी आफ्ना पतिसंग साँचो प्रेम गर्थिन् | उनको प्रेम शरीरसंग थिएन | आत्मासंग थियो | पतिसंग उनको कुनै स्वार्थ थिएन | अन्तत: काल हार्यो | सावित्रीले विजय प्राप्त गरिन् | यो सबै आपसी विश्वासले भयो | दु:खको बेलामा छोड्ने के पति ! दु:खको वेलामा साथ छोड्ने के पत्नी ? पतिपत्नी दु:ख सुखका साथी हुन् | एकआपसमा पुरक हुन् | पतिपत्नीका विचमा अविश्वास, झैँझगडा तथा मन नमिल्दा काल चांढो आउँछ |
मन्दोदरीको कुरा नमान्दा रावण मारियो | पत्नीको कुरा नटेर्दा कंश मर्यो | आफ्नी धर्मपत्नीको सल्लाह अस्वीकार गर्दा जरासन्ध मारियो | पत्नी गान्धारीको आग्रह नस्वीकार गर्दा धृतराष्टले राज्य र सन्तान गुमाए | लोग्नेको कुरा नमान्दा सत्यवतीले ज्यान गुमाईन् | पत्नीको कुरा नमान्दा इन्द्रले राज्य गुमाए | संसार पतिपत्नीको मिलनमा सुन्दर हुन्छ | झगडालु पतिपत्नीको संसार कालो हुन्छ | साच्चिकै नर्कको द्वार हुन्छ |
जङ्गलमा रावणले सीतालाई अपहरण गर्यो | सीताको वियोगमा राम रोए | रामको वियोगमा सीता रोइन् | रावणसंग युद्ध गरेर सीतालाई रामले घर फर्काए | कुनै गुनासो गरेनन् | लव र कुश दुई सन्तानको जन्म भयो | तेस बखतको चलन तेस्तै थियो | सीतालाई बात लाग्यो | रामले त्यागे | लक्ष्मणले सितालाई लागेर जङ्गलमा छोडिदिए | सीताले कुनै गुनासो गरिनन् | रामको कुरा काटिनन् | राम पनि सीताको वियोगमा रहे | त्यसपछि कुनै विवाह नै गरेन् | सीता र रामको दाम्पत्यको उदाहरण आजको समयमा पनि "सीताराम" भनेर दिइन्छ | रावणले लागेको भनेर सीताको रामले अपमान गरेनन् | रामले त्यागेको भनेर सीताले रामलाई "मानवाधिकारको कठघरा"मा उभ्याइनन् |
श्रीकृष्णले सत्यभामाको मान राख्न स्वर्गबाट पारिजात ल्याए | राजा हरिश्चन्द्रले पत्नीको मान राख्न मसानको काम गरे | पत्नीको मान, आत्मसम्मान जोगाउन पाण्डवले महाभारतको युद्ध लडे | पति गरम हुँदा पत्नी नरम हुने | पत्नी गरम हुँदा पति नरम हुने | आगोले आगो बाल्छ | पानीले आगो निभाउंछ | एउटा बोल्दा अर्को चूप लाग्ने | अर्को बोल्दा अर्को चूप लाग्ने | मतभेद स्वाभाविक हो | मनभेद हुनै हुँदैन | पत्नी पतिको ऐना हुन् | पति पत्नीको ऐना हो | एउटाले अर्काको अनुहार हेर्नु पर्छ | शिवले सधैं पार्वतीको उत्तर दिए | सबै शास्त्रहरू शिव-पार्वतीको सम्बाद हुन् | सम्बाद गर्नेहरू सधैं सुखी हुन्छन् | विवाद गर्नेहरू सधैं दुखी हुन्छ |
संवाद पत्नीए आरम्भ गरे पनि हुन्छ | संवाद पत्नीमे आरम्भ गरे पनि हुन्छ | सम्बाद समस्या समाधानको साँचो हो | संवाद गर्दा एकअर्काको सम्मान गरौँ | एकले अर्कोलाई तल पार्ने, अपमान गर्ने काम नगरौं | पत्नीलाई अपमानित गर्ने पतिहरू आफु अपमानित हुन्छन् | पतिको अपमान गर्ने पत्नीहरू आफैमा अपमानित हुनुपर्छ | तेसैले विवादलाई संवादमा रुपान्तरित गरौँ |
दाम्पत्यको अर्थ हो - घर र घरायसी मामिलामा समान अधिकार | आफै विच ठूलो-सानो, मेरो तेरो भन्नेहरूले दाम्पत्य जानेका छैनन् | वेदले पति र पत्नीलाई घरका विषयमा समान अधिकार दिएको छ | कसैले कसैलाई हेला गर्न मिल्दैन | हेला गर्नु पाप हो | आफ्नै प्रतिज्ञा विरुद्धको विद्रोह हो | घर, सम्पत्ति, बालबालिका, परिवार, नातागोता र कर्तव्यमा समानता छ | कर्तव्य पालन नगर्ने तर अधिकार खोज्नु धुर्त्याई हो | कर्तव्य पालन गर्नेले अधिकार स्वत: प्राप्त गर्छ | पतिपत्नी नै "घर-परिवार" हुन् |
विवाह नै दाम्पत्यको जग हो | हिन्दु संस्कृतिमा विवाह विनाको दाम्पत्य राम्रो मानिन्न | आठ प्रकारका विवाह हुन्छन् - ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच | यी मध्ये राक्षस र पैसाच विवाह अस्वीकार्य नै छ | साथै, विवाह भोगलिप्साको साधन होइन, अपितु एउटा पवित्र धार्मिक संस्कार हो l संस्कारले अंत:शुद्धि हुन्छ, शुद्ध अंत:करणमा तत्वज्ञान या भगवतप्रेम उत्पन्न हुन्छ, जुनचाहिं जीवनको चरम एवं परम पुरुषार्थ हो l विवाहमा सेक्स एउटा सानो अङ्ग हुन्छ | विवाहको मुख्य उद्देश्य ऋषि, देव तथा पितृऋण तिर्न सन्तान उत्पादन गर्नु र गृहस्थका रूपमा परिवार, गाउँ, राष्ट्र तथा विश्वका लागि आफ्नो कर्तव्य पूरा गर्नु हो |
वैदिक संस्कृतिले केवल सेक्सका लागि. केवल आर्थिक स्वार्थका लागि संगै बस्ने "जोडी"लाई दम्पत्ति मान्दैन | यस्ता जोडीहरू "पार्टनर" हुन् | सेक्स व्यापारिक सम्झौता हो | कुरा नमिलेपछि टुंगिन्छ | कम्पनिको पार्टनसीप टुंगिएझैं "सहयात्रा" सकिन्छ | ​पार्टनरसीपमा विश्वास गर्नेहरूको वैवाहिक जीवन छोटो हुन्छ | विवाह संस्थासंग बाँधिएकाहरूको वैवाहिक जीवन आजीवन रहन्छ | पार्टनरसिपले पारचुके निम्त्याउँछ | विवाहले जीवनमा स्थायित्व स्थापित गर्छ | नेपाल र भारतमा १% भन्दा कम डिभोर्स हुनूनै विवाह संस्थाको देन हो |
सबै पार्टनरसिप असफल हुँदैनन् | सबै विवाह सफल हुँदैनन् | धेरैजसो प्रेम विवाहको आयु छोटो हुन्छ | धेरैजसो मांगी विवाहको आयु लामो हुन्छ | सानो उमेरको प्रेम एकप्रकारको उन्माद हुन्छ | जुन उन्मादमा सेक्स र चलचित्रहरूले देखाएको "स्वप्नजस्तो भावनामा बग्ने" प्रेम हुन्छ | जसको कुनै गन्तव्य नै हुँदैन | वास्तविक जीवन चलचित्रको जस्तो रि-टेक होइन | धेरैजसो चलचित्रका हिरो-हिरोइनको प्रेमको आयु छोटो हुन्छ | तेसरी नै सेक्सको चाहना र चलचित्रको रङ्गीन भावनामा बगेर गरेको "पार्टनरसीप" चांढो टुंगिन्छ | मिल्न नसकेर डिभोर्सलाई "अधिकार"संग जोड्न मिल्दैन |
पति र पत्नी दूवै फरक व्यक्ति हुन् | फरक परिवेशमा हुर्किएका हुन् | दूवैको आ-आफ्नो क्षमता छ | यदाकदा मतभिन्नता स्वाभाविक ठान्नु पर्छ | लोग्नेलाई मन पर्ने भोजन स्वास्नीलाई मन नपर्ला | झिनामसिना विमतिलाई स्वाभाविक सम्मान गर्दै गृहस्थ चल्नुपर्छ | सधैं झगडा गर्ने केका पतिपत्नी | कहिलै पनि विवाद नगर्ने केका पतिपत्नी ? हातमा चुरा भएपछि बज्दछन् | ती चुरा फोरिन्न | बरू झन् जतन गरिन्छ | यस्तै पतिपत्नीले आफ्नो सम्बन्धलाई जतन गर्ने हो भने घर स्वर्ग बन्छ | जतन नगर्ने हो भने फुटेको चूराझैं परिवार विखण्डनमा जान्छ | तेसैले विमति हुँदा "सम्बाद" गर्नुपर्छ | सम्बाद नगर्दा समस्या बल्झिन्दै जान्छ | बल्झिदै गरेको समस्याहरू अविश्वास निम्त्याउँछ | अविश्वासले विग्रह आउँछ | तेसैले शिवपार्वतीझैं हरेक कुरामा सम्बाद गरौँ |
पतिपत्नी दम्पति हुन् | वैदिक विधिले विवाह गरेका पतिपत्नी हुन् | विवाह नगरी दाम्पत्य हुँदैन | विवाहका साक्षी अग्नि हुन् | अग्नि, सूर्य, पृथ्वी र यज्ञ दाम्पत्यका साक्षी हुन् | परिवार, आफन्त र आमन्त्रित दाम्पत्यका साक्षी हुन् | विवाह पवित्र यज्ञ हो | दाम्पत्य पवित्र सम्बन्ध हो | गृहस्थ जीवनको आरम्भ हो | संसार चलाउने साँचो हो | पतिपत्नी घर हुन् | पतिपत्नी परिवार हुन् | पतिपत्नी घरका जग हुन् |
दम्पतिको अर्थ हो - घरपति | पति र पत्नी दुवै घरका मालिक हुन् | दुवै समान स्वामी हुन् | पतिको अर्थ मालिक हो | पत्नीको अर्थ मालिक्नी हो | दुवै समान हुन् | सानोठूलो कल्पना हो | तेसैले घर दुवैको हो | दुवैले मिलेर घर चलाउने हो | पतिले पत्नीलाई | पत्नीले पतिलाई | विश्वास गर्नु पर्छ | विश्वासमा संसार टिकेको छ | अविश्वास सम्बन्धको शत्रु हो | शंका रावण हो | शंका सबैभन्दा ठुलो शत्रु हो | शत्रुसंग सम्झौता नगर्नु | विश्वाससंग संझौता गर्नु |
हरेक पतिपत्नीले एकआपसमा मनमनै सोधौं - के तपाईंले आफ्नी पत्नीको सुखदुख (तिमीलाई कस्तो छ ? मेरा कारण तिमीलाई कुनै समस्या त भएको छैन ? मलाई थाहा छ तिमीले मेरो/परिवारको हेरविचार गर्दा धेरै थोक गुमाएकी छौं | मैले तिमीउपर न्याय गर्न सकेको छैन, मैले तिमीलाई गालीगलौज गरिहाले भने पनि मलाई क्षमा गर्नु ) वारे नियमित सोधपुछ र सहयोग गर्नु हुन्छ ? धेरैजसो नेपाली पतिहरू पत्नीहरूलाई "केटाकेटी र आइमाई" भनेर अपहेलनाको दृष्टिले हेर्छन् | शास्त्र र व्यवहारको दृष्टिकोणले यस्तो नजरिया पूर्ण गलत र क्षमायोग्य होइन | विवाह गर्दा पत्नीलाई "मैले तिमीलाई हरेक सुखदुखमा साथ दिने छु, जीवनका कुनै निर्णयहरू लुकाउने छैन र मैले गरेका हरेक काममा तिम्रो आधि स्वामित्व हुने छ" भन्दै अग्नि साक्षी राखेर कसम खाएको हो | तेसैले हरेक पतिले आफ्ना पत्नीहरूलाई आफ्नो आधिअङ्ग मान्नुपर्छ | पत्नीलाई दासी ठान्ने मानसिकता पाप हो | यस्ता पापीहरूको जीवन सधैं दुखमय हुन्छ |
तेसै गरी हरेक पत्नीहरूले पनि आफ्नो पतिलाई आधा अङ्ग नै मान्नु पर्छ | दाहिने आँखाले देब्रे आँखालाई छल्न सक्दैन | तेसैगरी पत्नीसंग पतिबाट लुकाउनु पर्ने केही हुँदैन | पतिबाट माया, प्रेम, सद्भाव, निस्छल व्यबहार चाहनेले तेस्तै व्यबहार गर्नुपर्छ |
पति र पत्नी शब्द र त्यसको अर्थझैँ अभिन्न हुन्छन् | तेसैले शास्त्रको आज्ञा पालन गरौँ | पति र पत्नी दूवैले दाहिने र वायाँ आँखाझैं समन्वय गरेर संसारको धर्म पालन गरौँ र मोक्ष प्राप्त गरौँ | विश्वास गर्नुस्, आपसमा मिल्ने पतिपत्नीको घर स्वर्ग हो | नमिल्ने पतिपत्नीको घर नर्क हो | स्वर्गको सुख चाहनु हुन्छ भने पतिपत्नी मिलेर बस्नुस् | जीवनमै नर्कमा निवास गर्न चाहनुहुन्छ भने आपसमा अविश्वास तथा आरोपहरू लगाएर हिड्नुस् | सबैको भलोहोस् |
तपाईंको दाम्पत्य जीवन शिवपार्वती, लक्ष्मीनारायण, सत्यवान-सावित्री, सीताराम तथा विशिष्ट तथा अरुन्धतिको झैं महान् बनोस् | हामी आफै अगाडी सरेर आफ्नो दाम्पत्य जीवन सुखमय बनाउनका लागि सहजीकरण गरौँ | सधैं याद राखौं : पतिपत्नीको असल सम्बन्धले घर नै स्वर्ग बन्छ |

लोग्नेस्वास्नीका कुरा

 लोग्नेस्वास्नीका कुरा

यो फोटोमा लेखिएका विषयवस्तुको पहिलो बूँदाप्रति मेरो तीब्र असहमति छ | एउटा पतिको लागि पत्नी र पत्नीका लागि पति पीडक हुन्छन् भन्ने भाष्य गलत हो | छिटपुट घटनालाई अतिरन्जित गर्नु हुँदैन | नेपाली तथा भारतीयहरूले पत्नीलाई पीडकको रूपमा हास्यव्यंग्यको विषय बनाएर पस्किने गर्छन् | भारतीय समाजले (कवि, हास्यकलाकार) त झन् पत्नीहरूलाई "पीडक" र पतिहरूलाई पिडितको रूपमा प्रस्तुत गर्छन् | के यस्तो हो त ?
पटक्कै होइन | पतिको लागि पत्नी र पत्नीको लागि पति सबैभन्दा असल, सहयोगी, इमानदार र जीवनभरी संगै रहने साथी हुन् | हो, दूईबटा अलगअलग मान्छे भएकोले कहिलेकाहीं विमति हुनु, सानोतिनो झैँझगडा नै हुनु स्वाभाविक हुन्छ | लोग्ने र स्वास्नी दूवैकको रूचि, बुझाई, सामाजिक, सांस्कृतिक, राजनैतिक, धार्मिक चेतना एकै प्रकारको हुनुपर्छ भन्ने हुँदैन | स्वभावत: विमति हुन्छन् |
विमति हुनुको अर्थ लोग्नेका लागि स्वास्नी, स्वास्नीका लागि लोग्ने सहयोगी रहन्नन् भन्ने चाहिं पटक्कै हुँदैन | मैले धेरै यस्ता पतिपत्नीहरू भेटेको छु, जुन खानपान, रहनसहन तथा रुचिहरूमा विमति राख्छन् | ती विमतिका कारण कहिलेकाहीं छोटोमीठो झगडा पनि हुन्छ | १ घण्टादेखि २ दिन सम्म बोलचाल पनि बन्द हुन्छ | तर एकले अर्कोको आवश्यकताअनुसार हेरविचार गर्न कुनै कमी गर्दैनन् | पत्नीले पतिलाई भोजन गराएकै हुन्छन् भने पतिले पनि पत्नीको सुविधाका लागि बाहिरबाट ल्याउनु पर्ने आवश्यक सामग्रीहरू ल्याएर नबोलिकन किचेनमा राखिदिएकै हुन्छन् |
माथि उल्लेख गरिएकोजस्ता धेरै प्रकारका विमति र विमतिविच सहकार्य, सहयोग चलिनै रहन्छन् | धेरैजसो नेपाली तथा भारतीय पत्नी र पतिहरूमा यदाकदा यस्तो हुन्छ नै | अनन्त: कुरा मिलाएर क्रमभंग हुन्छ | पतिपत्नी एकै ठाउँमा उभिएर आ-आफ्नो दायित्वमा फर्किन्छन् | पश्चिमा बालाधिकारवादी दृष्ट्रिकोणको बोर्डिंग स्कुलमा पढेका बालबालिकाका लागि सरल विमति पनि "ठूलो झगडा" भन्ने बुझाई पर्न सक्छ तर नेपाली पतिपत्नीजस्ता समझदार र सहयोगी पति/पत्नी अरू हुनै सक्दैनन् |
आफ्नो संस्कृति हुन्छ | नेपाली तथा भारतीय पतिपत्नीहरू "साइलेन्ट लभर" घूसघुसे लभर, लजाउने लभर, आइ लभ यु भन्न मन नपराउने लभर र मनको भित्रीतहमा सागर जत्तिकै माया गरे पनि मुखले "करकर" गर्ने लभर बढी हुन्छन् | पश्चिमा पतिपत्नीहरू बाटोमा हिड्दाहिड्दै किस गरेर वा हग गरेर प्रेम जाहेर गर्छन् र तेसैलाई प्रेम भन्छन् तर नेपाली पत्नीपत्नीहरू "ठ्याकठुक्क" गर्दागर्दै पनि एकआपसमा अनन्त प्रेम गर्छन् | बाटोमा जाहेर गरिने पश्चिमा शैलीको प्रेम अधिकांश पारचुकेमा टुंगिन्छ | "ठाकठुक"जस्तो देखिने मनबाट प्रेम गर्ने नेपाली पतिपत्नीले डिभोर्सको कल्पना पनि गर्दैनन् |
नेपाली र भारतीयहरूको पारिवारिक जीवन बढी जीवन्त, स्थीर तथा रुखो (पश्चिमा नजरियाबाट) देखिन्छ र तेस्तै हुन्छ | नेपालमा धेरै जातजाति र समुदायहरू छन् | ती सबैको दाम्पत्य जीवन बढी नै जीवन्त छ किनभने कुनै पनि नेपालीका लागि डिभोर्सका लागि विवाह गर्दैन | विवाहको परिभाषा फरक भए पनि पश्चिमाहरूले पनि "डिभोर्स" लागि विवाह गर्दैनन् | विवाहको अर्थ नै पारिवारिक स्थायित्व हुन्छ | केही अपवाद वाहेक विकसित भनिएका देशहरूमा पारिवारिक जीवन स्थाई छैन तर विकासोन्मुख देशहरूका परिवार स्थाई छन् | किनभने यहाँ पतिले पत्नीसंग र पत्नीले पतिसंग "साइलेन्ट लभ" गर्छन् |
आधुनिकतावादीहरूले "डिभोर्स"लाई महिला वा पुरुषहरूको आर्थिक स्वायत्ततासंग जोडेर व्याख्या गर्ने प्रयन्त गर्छन् तर मैले धेरै बलिउड वा हलिउडका सेलेब्रेटीहरूको उदाहरण दिन सक्छु, पति र पत्नी दूवै आर्थिक रूपले पूर्ण सक्षम हुँदाहुँदै पनि संगै वस्न सकेनन् | धनसम्पति दाम्पत्यका लागि आवश्यक साधन अवश्य हो तर यो साध्य होइन | साध्य त केवल "पतिपत्नीका विचमा गहिरो प्रेम" मात्र हो | क्षमा गर्नु होला, मैले धेरैजसो महिला सशक्तीकरण अभियन्ताहरूको दाम्पत्य जीवन छिन्नभिन्न भेटेको छु | अधिकार, सशक्तिकरण तथा सुखी पतिपत्नी वा परिवारका विचमा "प्रेम, समर्पण, विश्वास तथा सम्मान"ले धेरै ठाउँ ओगटेको हुन्छ |
अन्त्यमा, यदि पारिवारिक जीवन (दाम्पत्य) सुखी चाहन्छौं भने पत्नीले पतिको र पतिले पत्नीलाई पीडक र पिडितका रूपमा व्याख्या गर्न त्यागौं | सुखी पति त्यही हो जसले आफ्नी पत्नीमा विश्वास गर्छ, पत्नीमा शर्तरहित प्रेम गर्छ र पत्नीको सम्मान गर्छ | सुखी पत्नी ती हुन् जसले आफ्नो लोग्नेमा सबैभन्दा बढी विश्वास गर्छिन्, पतिलाई नि:शर्त प्रेम गर्छिन् र सम्मान गर्छिन् | आफ्नो पति वा पत्नीमा अविश्वास गर्ने, पीडकका रूपमा प्रस्तुत गर्ने र अपमान गर्नेहरूको सधैं दुखी हुन्छन् | उनीसंग भएको सम्पत्तिले सुख किन्न सक्दैन , प्रेम किन्न सक्दैन | बरू घृणा फैलाउन सक्छ | पतिलाई पत्नीको र पत्नीलाई पतिको "खेदो खन्न सिकाएर" झनै दूरी बढाउँछ |
असल वा कमसल पतिपत्नी बन्ने कुरा हाम्रै हातमा छ | सरल रहौं, सावधान रहौं | पतिले पत्नीलाई र पत्नीले पतिलाई सबैभन्दा निकटको मित्रका रूपमा विश्वास गरौँ तर अत्याचार भने न सहौँ |

तपाईं कस्तो लोग्नेस्वास्नी ?

 तपाईं कस्तो लोग्नेस्वास्नी ?

१.परम्परागत पतिपत्नी : यस्ता पतिपत्नीहरू एकआपसमा कम बोल्छन् | परिवारका मान्यजनप्रति डरको भावना रहन्छ | लोग्नेको अनुमति विना कुनै निर्णय हुँदैन | धेरैजसो लोग्नेले पत्नीहरूसंग सरसल्लाह नै गर्दैनन् | धेरैजस्तो यस्ता लोग्नेस्वास्नीको परिवार "खानदानी" भएको र "स्वास्नी मान्छे सधैं लोग्नेबाट डोमिनेट" हुनुपर्छ भन्ने मान्यता भएको हुन्छ |
२. अर्धपरम्परागत : यस्ता लोग्नेस्वास्नीहरू एकआपसमा सरसल्लाह गर्ने तर परिवारका मान्यजनका अगाडी "सामाजिक तथा सांस्कृतिक मान्यता"हरूको सम्मान गर्ने खालका हुन्छन् | सबैको अगाडी पतिपत्नी थोरै सम्बाद गर्छन् तर एकान्तमा समस्याहरूउपर प्रसस्त छलफल गर्छन् | वाहिर पत्नी लोग्नेबाट डोमिनेन्ट देखिए पनि परिवारका सबै निर्णयहरू पतिपत्नी मिलेर गरेका हुन्छन् | यस्तो परिवारमा पतिपत्नीको प्रेम सार्वजनिक प्रदर्शनको विषय हुँदैन |
३. आधुनिक लोग्नेस्वास्नी : यस्ता लोग्नेस्वास्नीहरू अधिकांश रूपमा समयसापेक्ष भएर हिड्छन् | एकआपसमा धार्मिक र सांस्कृतिक मर्यादाहरूको पालन गर्छन् | सामुहिक परिवार भन्दा न्युक्लिएर फेमिली प्रति इनको आकर्षण हुन्छ | यस्ता पतिपत्नीहरू पतिपत्नीको प्रेमसम्बन्धलाई सामाजिक र सांस्कृतिक रूपमा सबैले पचाउन सक्नेसम्म प्रदर्शन गर्छन् | यस्ता पतिपत्नीका विवादहरू एकआपसी सहमतिमा टुंगिन्छन् | यस्ता पतिपत्नीहरूले रक्सी खान, तडकभडकको जिन्दगी गुजार्न भन्दा सरल तथा सहज भएर सबै कुराको "स्वाद" लिनुपर्छ भन्ने मान्यता राख्छन् |
४. अति आधुनिक लोग्नेस्वास्नी : एकआपसमा पूर्णतया आर्थिकरूपमा आत्मनिर्भर, कर्तव्य भन्दा अधिकारलाई बढी मान्यता दिने, एकआपसमा पूर्णसमानताका आधारमा व्यबहार गर्ने, ससानो कुरालाई पनि "इस्यु"का रूपमा लिने, बच्चा जन्माउने, रहनसहन तथा कामकाजमा कसैको पनि (व्यवसायिक बाहेक) हस्तक्षेप नस्वीकार्ने एवं एकआपसमा कुरा नमिल्दा सजिलैसंग डिभोर्सको बाटो रोज्ने हुन्छन् | अतिआधुनिक पतिपत्नीहरू कम्प्रोमाइज गर्दैनन् | एकअर्काको प्रशंसा होस् वा आलोचना प्रचण्डरूपमा गर्छन् |
पहिलो श्रेणीका लोग्नेस्वास्नीको दाम्पत्य जीवन मृत्यु पर्यन्त चल्छ | तर यो एकप्रकारले यन्त्रसरहको भावनाशून्य, हरेक कुरामा सम्झौता गर्ने, भाग्यवादी तथा यथास्थितिवादी जीवनशैली हुन्छ | यस्ता दम्पतिबाट जन्मेका बालबालिकाहरू पनि डोमिनेन्ट नेचरका नै हुन्छन् | यस्तो परिवारमा राम्रो लगाउन पाउनु, पेटभरी खान पाउनु, केटाकेटी वा लोग्नेबाट वा स्वास्नीबाट स्याहारसुसार पाउनुलाई नै "उपलब्धि" मानिन्छ |
दोश्रो प्रकारका लोग्नेस्वास्नीहरू चिन्तनका मामिलामा प्रथमसरह नै हुन्छन् तर व्यबहारमा उदार हुन्छन् | पतिले पत्नीको र पतिले पत्नीको आदरसम्मान गर्छन् | केटाकेटीहरू दूवैका साझा सम्पति मानिन्छन् | घरायसी दायित्व स्वास्नीको मानिन्छ भने बाहिरी दायित्व लोग्नेको मानिन्छ | यस्ता दम्पतिहरू पनि केही अर्थ र सीमासम्म भाग्यवादी नै हुन्छन् | असजिलो परिस्थिति होस् वा सजिलो दूवैलाई सहजरूपमा लिन्छन् र सिक्छन् | परिस्थितिसंग सम्झौता गरेर परिवारलाई महत्व दिनु यस्तो दाम्पत्यको विशेषता हुन्छ |
तेस्रो दाम्पत्य समसामयिक परिवेश, आवश्यता तथा चाहनाको प्रतिनिधित्व गर्छ | आधुनिक लोग्नेस्वास्नी एकआपसमा सरसल्लाह गरेर काम गर्छन् | आधुनिक दम्पति परिवारका रूपमा "आफू दूई र आफुले जन्माएका दुई"लाई बढी महत्व दिन्छन् | आधुनिक दम्पतिहरू एकआपसमा बाझाबाझ गरे पनि सहमतिमा पुग्छन् | खासगरी "केटाकेटीको भविष्यका लागि" सम्झौता गर्छन् | मिल्नै नसक्ने अवस्थामा मात्र डिभोर्स रोज्छन् |
चौथो प्रकारको दाम्पत्य एकप्रकारको व्यापारिक सम्झौता सरह हो | यहाँ प्रेम र घृणा दूवै बनाबटी हुन्छ | यस्ता दम्पतिले सजिलैसंग डिभोर्स रोज्ने हुँदा केटाकेटीको बिजोग हुने सम्भावना हुन्छ | समाज, परम्परा, संस्कृति तथा मान्यताहरू भन्दा कानुनी पक्षलाई बढी महत्व दिन्छन् | अतिमोडर्न दम्पतिका लागि विवाहेतर सम्बन्धहरू सहज स्वीकार्य हुन्छन् तर पार्टनरले धोका दिएको पटक्कै सहन्नन् |

दृष्टिकोणको प्रभाव

 दृष्टिकोणको प्रभाव

दर्शनको अर्थ दृष्टिकोण होस् वा परमतत्वको साक्षात्कार दुवैले "देख्ने वा भेट्ने" नै कुरा गरेका हुन् | जतिसुकै देखेको वा भेटेको सूचना दिए पनि अहिलेसम्म "पूर्णसहमति" स्थापित भैसकेको छैन | वहस जारी छ | खोजले निरन्तरता पाइरहेको छ | दृष्टिकोणको कुरा त झन् जटील छ | विश्वको हरेक व्यक्तिसंग दृष्टिकोणको सम्भावना छ | दृष्टिकोण त्योसंग मात्र हुँदैन जसले सोच्ने अवस्था प्राप्त गरेको छैन वा चिन्तन गर्ने क्षमता गुमाएको छ | गुमाउनु र नहुनु यी दुई फरक प्रकृति हुन् | गुमाउनुको अर्थ हो - सामर्थ्य समाप्त हुनु | नहुनुको अर्थ हो - त्यस्तो सामर्थ्य प्राप्त नै नहुनु |
तेसैले दृष्टिकोण हुनुको अर्थ हो - क्षमता हुनु | यस अर्थमा चिन्तन, मनन तथा तर्क गर्ने क्षमता भएको व्यक्तिमा दृष्टिकोण हुन्छ | कुनै पनि दृष्टिकोण सार्थक वा निरर्थक हुँदैन | समय, परिवेश, आवश्यकता तथा दृष्टिकोणले अर्कोमा पार्ने प्रभावले दृष्टिकोणको भविष्य निर्धारित हुन्छ | साथै, यदि कसैले आफ्नो दृष्टिकोणलाई लक्ष बनाएको छ भने, त्यो दृष्टिकोण अन्यका तुलनामा शक्तिशाली हुन्छ | शक्तिशाली हुनुको अर्थ विश्वव्यापी वा सर्वस्वीकार्य हुनु कदाचित् होइन | हरेक दृष्टिकोणले विश्वव्यापी लक्ष ग्रहण गरेका हुन सक्छन् तर मानवीय इतिहासमा यस्तोलक्ष कुनै पनि "दृष्टिकोण"ले प्राप्त गरेका छैनन् |
दर्शनशास्त्रीहरूका लागि "दृष्टिकोण" निकै महत्वपूर्ण तथा संवेदनशील क्षण हुन्छ | कुनै दृष्टिकोण किन तुरुत्न ग्राह हुन्छ, कुनै दृष्टिकोण धेरै समयपछि ग्राह्य हुन्छ तथा कुनै दृष्टिकोणको जन्म र मृत्युसंगै हुन्छ ? जस्ता प्रश्नहरू निकै जटील हुन्छन् | सम्भवत: सबै भन्दा भरपर्दो उत्तर "दृष्टिकोण" प्रतिको "दृष्टिकोणहरू"नै हुनुपर्छ | दृष्टिकोण पस्कने व्यक्ति, परिवेश तथा दृष्टिकोणले सम्बोधन गरेका सन्दर्भले पनि दृष्टिकोणको ग्राह्यता विनिर्माण गर्छ नै | अन्यथा आजभन्दा ३५ वर्ष पहिले लेखिएका वेदका दृष्टिकोणहरू वारे चर्चा-परिचर्चाको आवश्यकता नै पर्ने थिएन | थेल्स, प्लेटो वा कान्टलाई सम्झनु पर्ने आवश्यता नै थिएन | सायद, दृष्टिकोणको इतिहास खोज्ने क्रममा पूर्ववर्ती व्यक्तिहरूका दृष्टिकोणले त्यस बखतको समाजलाई प्रभावित पारेको थियो |
एउटा दर्शनशास्त्रीका लागि दृष्टिकोणको अर्थ हो, त्यसले जीवन-जगतका समस्याहरूलाई सम्बोधन गरेको हुनुपर्छ | अहिलेको मानवपुस्ता विगतको मानव होइन | नितान्त नयाँ हो तर यसले पुराना पुस्ताहरूको जैविकगुणको वहन गरिरहेको छ | आज पनि पूर्खाले उठाएका अस्तित्व सम्बन्धि समस्या, नैतिकता तथा अनैतिकता सम्बन्धि समस्या तथा परमतत्व सम्बन्धि समस्याहरू यथावत् नै छन् | आज पनि मान्छेले "सत्यको खोज" गरिनै रहेको छ | आज पनि मान्छेले सर्वोत्तम अर्थात् सत्यम् विश्वम् सुन्दरम् को यात्रा त्यागेको छैन | इतिहासका रूपमा दृष्टिकोणहरूले निरन्तरता प्राप्त गरेका छन् | इतिहास र वर्तमानलाई जोडेर "दृष्टिकोण"हरू आविष्कार भइरहेका छन् |

मनुस्मृतिका लोग्नेस्वास्नी र हामी

 मनुस्मृतिका लोग्नेस्वास्नी र हामी

विश्वमा असंख्य विवाहका विधिहरू छन् | ती सबै तेस ठाउँको आवश्यकता, परिवेश एवं स्त्री एवं पुरुषलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक रूपमा जे-जसरी बुझ्ने गरिएको छ, तेसैबाट निर्धारित भएका हुन् | वैदिक संस्कृतिमा विवाह संस्थाका संस्थापक स्वेतकेतु मानिन्छन् | यद्यपि ब्रह्मा, विष्णु, शिव त्रिदेवहरूले क्रमश सावित्री, लक्ष्मी तथा पार्वतीसंग प्रेम, छानी र मागी विवाह गरेको इतिहास छ | यसैगरी देवराज इन्द्रले शचिसंग, चन्द्रमाले रोहिणीसंग, रामले सीतासंग, कृष्णले रुक्मणीसंग विवाह गरेको इतिहास छ |
मनुस्मृति (३/२१) ले तत्कालीन वैदिक समाजमा ब्राहम, दैव, आर्ष, प्रजापत्य, आसुर, गन्धर्व, राक्षस र पैशाच गरी आठप्रकारका विवाह गर्ने चलन रहेको इङ्गित गरेको छ | यी आठप्रकारका विवाह मध्ये ब्राहम, दैव, आर्ष र प्रजापत्यलाई उत्त्तम र आसुर, गन्धर्व, राक्षस र पैशाच निम्नतहको विवाह भनिएको छ | यद्यपि समाजमा चलन रहेको भए पनि राक्षस र पैशाच विवाह भने कुनै हालतमा पनि नगर्नु (मनु ३/२५) भन्ने आदेश दिएको छ | वैदिक इतिहास पढ्दा ब्रह्माले आफै रोजेर सावित्रीसंग विवाह गरेका छन् | विष्णुलाई लक्ष्मीले आफै रोजेको बुझिन्छ भने पार्वतीले शिवलाई आफै रोजे पनि मांगी विवाह नै गरिएको छ | इन्द्र, चन्द्रमाआदिले विधिपूर्वक विवाह नै गरेको देखिन्छ | उपनिषदकालका अधिकांश विवाहहरू "पिताले माग्न आएका वरलाई कन्या दान दिएको" पढ्न सकिन्छ |
राम र सीताको विवाह होस् वा कृष्ण र रुक्मणीको विवाह नै किन नहोस्, दूवैमा महिलाले अग्रसरता लिएको बुझिन्छ | यहाँसम्म कि द्रोपदीले पनि आफै अर्जुनलाई रोजेको इतिहास छ | ऋग्वेद तथा अथर्ववेदका सूक्तहरू पढ्दा उमेर पुगेका दुई स्त्री पुरुषले एकआपसमा सल्लाह गरेर आ-आफ्ना मातापिताको अनुमति प्राप्त गरेर विवाह गरेको देख्न सकिन्छ | मनुस्मृतिकालमा भने वालविवाह स्वीकार्न थालिएको छ | यद्यपि सैद्धान्तिक रूपमा स्त्रीका लागि १६ वर्ष र पुरुषका लागि विवाहको उमेर २५ निर्धारित गरिएको छ |
-नेपाली तथा भारतीय समाजमा विवाह संस्थाप्रति ठूलो विश्वास, आस्था र श्रद्धा छ | विवाहलाई सोह्र संस्कारहरू मध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ | आज पनि नेपाली समाजमा अविवाहित दाम्पत्य भन्दा वैवाहिक दाम्पत्यलाई श्रद्धा तथा विश्वासको भावले हेरिन्छ | तेसैले होला, एकआपसमा सल्लाह गरेर घरबाट भाग्ने "केटाकेटी"ले पनि कुनै मन्दिरमा पुगेर तेहाका देवप्रतिमालाई साक्षी राखेर सिन्दुरपोते र मालाआदानप्रदान गरेर सङ्क्षेपमा विवाह सम्पन्न गर्छन् र एकअर्कालाई जीवनभरिका लागि "पतिपत्नी"का रूपमा स्वीकार गर्छन् |
एकआपसमा मन पराएर स्वेच्छाले भागेर गरिने विवाहलाई मनुस्मृतिको "गन्धर्व-विवाह" अन्तर्गत राख्न सकिन्छ | प्रसिद्ध पौराणिक पात्र शाकुत्न्तला र दुष्यंतको विवाहलाई गन्धर्व विवाह मानिन्छ | अहिले नेपाली समाजमा उपरोक्त आठप्रकारका विवाह मध्ये सबैजसो विवाह न्युनाधिकरूपमा प्रचलित नै छन् तर दैव, आर्ष, प्रजापत्य तथा गान्धर्व बढी प्रचलन छन् | तर मनुस्मृतिमा उल्लेखनै नगरेको दाइजो-प्रथा हिन्दू विवाह विधिमा कसर्री प्रवेश गर्यो ? खोज्नु पर्छ | विवाह गर्दा छोरीका लागि स्वेच्छाले धनसम्पति दिनु पर्छ भन्ने मनुस्मृतिले आदेश दिएको छ तर छोरी दिंदा छोरापक्षले दाइजो माग्ने प्रसंग उल्लेख छैन | मनुस्मृतिकारका लागि हाल प्रचलित कन्या दिनेसंग वरपक्षले दाइजो माग्नु आश्चर्यजनक र अनौठो चलन हो |
हालका दिनमा पाठकहरूका विच लोकप्रिय पुस्तक "इकीगाइ"मा प्रष्टसंग ओकिनावाका विश्वका सबैभन्दा पाको उमेरका मान्छेहरूले "आफ्नो परम्पराप्रति गौरव गर्ने" तत्थ्यलाई सबैभन्दा महत्व दिएको बताएका छन् र साथै सिन्तो धार्मिक व्यबहारहरू गर्दा सबैभन्दा सन्तुष्टी मिल्ने" उल्लेख गरेका छन् | यसैगरी, वैदिक विवाह र वैदिक विवाहमा आधारमा निर्मित दाम्पत्य नेपाली समाजको जीवन्त यथार्थ हो | सहज, सरल र प्राकृतिक जीवन बाँच्नेले परम्परागत पद्यतिलाई समयअनुकुल बनाएर अगाडी बढिरहेका हुन्छन् | अर्काको नक्कल गरेर "राम्रो जीवन"को कल्पना गर्नेहरू "प्रयोग"का भिक्टिम बन्छन् | परम्पराप्रति विद्रोहले चर्चा चुलिन्छ तर परिवार र परिवारमा आधारित सुख (दाम्पत्य) चुडिन्छ |
धेरैजसो अधिकार अभियन्ताहरूको पारिवारिक जीवन निकै पीडादायी हुन्छ | अभियानका लागि दाम्पत्य गुमाउनेहरू पनि छन् | पीडा सहन नसकेर अभियानकर्ता बनेका पनि थुप्रै छन् | तर एउटा तत्थ्य सत्य हो - घृणावादमा आधारित अभियान भन्दा प्रेमको एकान्त मानव जीवनका लागि धेरै अर्थपूर्ण हुन्छ | दाम्पत्यको सार्थकता प्रेम र मिलनमा हुन्छ | मिल्नै नसक्ने दाम्पत्य र प्रेम नै नभएका लोग्नेस्वास्नी नर्क हो | नर्कबाट निस्कने बुद्धिमान हुन्छन् | तर निजी स्वार्थका लागि दाम्पत्यलाई नर्कमा रुपान्तरित गर्नेहरू संसारका सबैभन्दा दुखी प्राणी हुन् | जसले आफैलाई समेत क्षमा गर्न सक्दैनन् |
-स्त्री र पुरुषकाविच विवाहको प्रचलन यौन तथा गृहस्थ जीवनलाई सुव्यवस्थित र स्थायी बनाउनका लागि आरम्भ भएको हो | विश्वभरी विवाहका विभिन्न प्रचलन छन् | ती मध्ये वैदिक विवाह सबैभन्दा व्यवस्थित तर दिगो मानिन्छ | हुन त आ-आफ्नो धर्म र संस्कृतिअनुसार सबैलाई आफ्नो विवाहनै उचित लाग्दो हो तर भारतवर्षमा डिभोर्सको रेट १ प्रतिशत भन्दा पनि कम हुनुले विवाह र विवाहद्वारा निर्मित परिवार सबैभन्दा भरपर्दो रहेको विश्वले स्वीकार गरिरहेको छ | स्वतन्त्र यौन चाहने, विवाहलाई पार्टनरसीपको रूपमा ग्रहण गर्ने र व्यक्तिगत स्वतन्त्रतालाई परिवार वा सामाजिक व्यबस्थाभन्दा बढी महत्वपूर्ण ठान्नेहरूका लागि विवाह र दाम्पत्य दूवै स्वीकार्य नहुन सक्छन् | यो अपवाद हो, विश्वभरिका विवाहित दम्पतिहरू मध्ये उपर्युक्त किसिमका दम्पत्तिहरू औलामा गन्न सकिने छन् | आ-आफ्नो मर्जी !
मनुस्मृतिका आधारमा मुख्य दुई र ती दुईका एकएक उपगरी चारप्रकारका दम्पत्ति र तिनको दाम्पत्य सम्बन्धको अनुमान गर्न सकिन्छ | वैदिक संस्कृतिमा सत्व, रज र तममा आधारित व्यबहार, विवाहमा देव, असुर र मनुष्यगणको प्रबृत्तिले प्रभाव पार्छ | साथै, विवाहको क्रम पनि ब्राह्मण, क्षत्री, वैश्य तथा शूद्र (शास्त्र जीवि, शस्त्रजीवि, व्यापार र कृषि जीवि र सेवा जीवि) प्रबृत्तिसंग मिल्नेको दाम्पत्य सुखी हुन्छ | विपरित प्रवृत्ति भएकाहरूको दाम्पत्य असजिलो हुन्छ | निश्चय नै दाम्पत्यको यस्तो सम्बन्ध बुझ्न परामर्शदातामा वैदिक संस्कृतिको ज्ञान हुनु पर्छ | फेमिली वा कपल काउन्सेलिंगका पश्चिमा विधिहरूले समस्याको पहिचान पनि नहुन सक्छ | पश्चिमा अभिमुखी करणले पश्चिमा पद्यतिका कपलहरूका समस्या निदान गर्न सहयोग मिल्छ, पूर्वीयाका सवालमा काकताली मान्नुपर्छ |
ब्रह्म, दैव, आर्ष र प्रजापत्य - यी चार प्रकारका विधिबाट विवाह गरिएका पतिपत्नीहरू परम्परागत शैलीका दम्पति हुन्छन् | यिनको सम्पूर्ण दाम्पत्य जीवनमा परम्पराप्रति पूर्ण, अर्ध र आंशिक समर्पण रहन्छ | यी चारमध्ये पछिल्ला दुई आर्ष र प्रजापत्य विवाहका माध्यमबाट दाम्पत्य जीवनमा प्रवेश गरेका अलि उदार हुन्छन् | अर्कोतिर, आसुर, गन्धर्व, राक्षस र पैशाचिक विधिको विवाह वैदिक मूलधार विरुद्ध भएकोले स्वीकार्य दुई गान्धर्व र आसुर निकै प्रोग्रेसिभ हुन् | राक्षस र पैशाच विधि पूर्णतया शास्त्र विरुद्ध भएकोले यस्तो विधिबाट दाम्पत्यमा बाँधिएका (फालिएका) पतिपत्नीको दाम्पत्यमा सुख, सन्तोष, प्रेम, ममता, माया, समझदारी, सहयोगिपनजस्ता असल सम्बन्धहरूको कल्पना नै नगरे हुन्छ | पैशाच र राक्षसी मनोवृत्ति भएकाको दाम्पत्य, दाम्पत्य नभएर दासत्व र यौनदासत्व नै हुन्छ |
-ब्राह्म प्रवृत्ति भएका दम्पतिहरू अत्यन्त सरल, सहज र जीवनलाई मोक्ष प्राप्त गर्ने आध्यात्मिक साधनको रूपमा प्रयोग गर्छन् | यहाँ एकआपसमा कुनै पनि प्रकारको लोभ, लालच, देखावटीपन, लुकाउनु पर्ने केही हुन्न | यस्ता दम्पतिहरू तडकभडकमा मन दिन्नन् | स्वाध्याय, तपस्या, संतोष तथा सहयोग यिनका मुख्यगुण हुन्छन् | दु:ख सुख दुवै जीवनका अभिन्न अङ्ग हुन् भनेर बुझेको हुँदा एकआपसको सम्बन्ध सहज हुन्छ | ब्रह्मको आराधना गर्ने र मोक्ष प्राप्त गर्नुमात्र उपर्युक्त दम्पतिको लक्ष भएको हुँदा संसारिक व्यक्तिहरूका लागि यी "अस्वाभाविक" हुन्छन् | ऋषि कर्दम र देवहतिको दाम्पत्य यसको उदाहरण हो |
दैव प्रबृत्तिका दम्पतिहरू शास्त्रका नियमहरूलाई पूर्णतया पालन गर्ने, सामाजिक, सांस्कृतिक तथा धार्मिक मान्यताहरूलाई स्वीकार गर्ने तर ऐश्वर्यपूर्ण जीवनका लागि सङ्घर्ष गर्न रुचाउने हुन्छन् | पत्नीहरू पतिबाट डोमिनेन्ट हुन्छन् तर समानअधिकारको उपयोग गर्छन् | जीवनका सबै विषयमा छलफल गर्छन् | अन्याय, अनीति तथा अराजकताप्रति यिनको तीब्रअसहमति रहन्छ | आफ्नै पतिले गल्ती गरे पनि त्यसको प्रतिवाद गर्छन् | दैव प्रवृति भएका दम्पतिले बहुविवाहलाई अस्वीकार गर्दैनन् | एकआपसमा छलछाम नगरे पनि परिवार र व्यक्तिगत स्वार्थका लागि आफु वाहिरकासंग छलछाम गर्न पछि पर्दैनन् |
आर्ष प्रबृत्ति भएका दम्पतिहरू बढी कर्मकाण्डी हुन्छन् | हरेक कामका लागि तिथिमितिमा विश्वास गर्ने, देवताहरूको आराधना गर्ने, यज्ञ गर्ने, यज्ञ गराउने, दान दिने, दान ग्रहण गर्ने, तन्त्रमन्त्र गर्ने, तन्त्रमन्त्र गराउने तथा पतिपत्नीको दाम्पत्य सफल पार्न भौतिक, दैविक तथा पारामर्थिक सहयोग लिन्छन् | आर्ष वृत्ति भएका दम्पतिहरू आजीवन एकपत्नी वा एकपति ब्रता हुन्छन् | यस्ता दम्पतिको आपसी असहमति निष्क्रियतासंग हुन्छ | हरेक क्षण, हरेक पल कर्म गर्नुनै यस्ता दम्पतिको पहिचान हो | यी आपसमा मिल्छन् | एकआपसमा सहयोगी हुन्छन् | मायालु हुन्छन् तर माया सबैको चासोको विषय हुँदैन |
प्रजापत्य विधिबाट विवाहित दम्पतिमा प्रजापतिका गुणहरू हुन्छन् | यस्ता दम्पतिमा "अधिकार जमाउने" गुण बलियो हुन्छ | यस्ता दम्पतिहरूका एकआपसी सम्बन्धका सीमाहरू प्रष्टसंग कोरिएका हुन्छन् | एकआपसमा सहमति, असहमति, छलफल तथा सहकार्य यस्ता दम्पतिहरूको विशेषता हो | यस्ता दम्पतिहरूका विचमा पूर्वनिर्धारित गरिएका सीमाहरू उलंघन गर्दा झैँझगडा उत्पन्न हुन्छ | अन्त्यमा सम्झौता हुन्छ र विवाद टुंगिन्छ | परिवार, समाज र राष्ट्रप्रति दायित्व पूरा गर्ने सवालमा सधैं अब्बल हुन्छन् |
उपर्युक्त सबै दाम्पत्यका गुणहरू अध्ययन/अध्यापन गर्ने, दानदिने/लिने/, वेद पढ्ने/पढाउने, यज्ञ गर्ने/यज्ञ गराउने र सधैं संसारको बन्धनबाट मुक्तिको लागि प्रयासरत रहने स्त्री तथा पुरुषका लागि उपयुक्त हुन्छ | यदि करणवस विपरित गुण भएका व्यक्तिसंग दाम्पत्य सम्बन्ध बन्यो भने त्यस्तो दाम्पत्यमा अनेकौं समस्या हुन्छन् | चारैबटा दाम्पत्यका विधिहरू परम्परागत शास्त्रीय आदेशको निरन्तरतामा आधारित छन् | तेसैले वैदिक संस्कृतिमा माथिल्लो दर्जामा परेका छन् |
अहिले विविधकारणले विवाहित दम्पतिहरूका अनेकौं समस्या छन् | केही आर्थिककारणले, केही पारिवारिककारणले, केही महत्वाकांक्षी स्वभावका कारणले र धेरैजसो आधुनिकतासंग आएका बजारीकरणका कारणले पतिपत्नीका विचमा समस्याहरू बढिरहेका छन् | पति वा पत्नीका विचको प्राकृतिक सम्बन्धलाई "अधिकारवादी"हरूको बक्रदृष्टि पनि परेको छ भने अर्कोतिर परम्परागत तथा आधुनिकता दूवैतिरबाट "जाँडरक्सी"ले पतिपत्नीकाविचमा प्रवेश गरेर सुखमय पारिवारिक जीवनमा ग्रहण लगाउने काम गरेको छ | साथै, लोग्नेस्वास्नी समानताको नाममा दूवैमा झुक्नै नसकिने गरी अहङ्कार बढेको छ | प्रेम-विवाहको सङ्ख्या बढेसंगै "पतिपत्नी"हरू एकआपसमा शंकालु मनका भएका छन् | धेरैजसोले "पत्नी वा पति" अर्कोसंग "लागेको" निष्कर्षमा पुगेर दाम्पत्य प्रेम गुमाउंदै छन् |
-सहनशीलता, सहयोगिपन, समझदारी, विश्वास, समर्पण र प्राकृतिक प्रेममा "बजारीकरण"को लेप चढेको छ | एकातिर रक्सी र रक्सी सेवन गर्नेलाई "मोडर्नहुड"को दर्जा दिएर जड्याहा बन्न प्रेरित गर्ने अर्कोतिर "पारिवारिक काउन्सेलिग, फेमिली काउन्सेलिंग, कपल काउन्सेलिंग"को सर्टिफिकेटबोकेर पतिपत्नीका विचको सम्बन्ध सुधार्ने "खेती"को बजारीकरण गर्ने प्रबृत्ति बढेको छ | काउन्सेलिंग आफैमा सहयोग गर्ने राम्रो उपाय हो बढ्दो अहङ्कार, महत्वाकांक्षा, गजेटहरूको चाहना, व्यक्तिवादी स्वभाव र एकआपसमा पूरा गर्नु पर्ने कर्तव्य भन्दा अधिकारलाई महत्व दिंदा पतिपत्नीका विचमा बेमेल बढेको छ | यस्तो वेमेलमा प्रेमविवाह गरेकाहरू एकआपसमा झुक्नै नहुने अन्धविश्वासका कारण झन् पिडित छन् |
हाम्रो समाज अचम्मको छ | पीडा सहेर पनि लोग्नेस्वास्नीले आफुबिच रहेका मानसिक, भौतिक समस्याहरू लुकाएर हिड्छन् | समस्याहरूको समाधानका लागि उचित परामर्श लिने तिर निकै उदासीन देखिन्छन् | नेपाली पतिपत्नीमा आफ्ना एकआपसी समस्या लुकाउँदै "मुटुमा ढुङ्गा राखी हाँस्नु पर्या छ" भन्ने उखान प्रमाणित गर्न महारत प्राप्त छ | घरभित्र एकआपसमा पानीवारावार गर्ने लोग्ने स्वास्नीले "सामाजिक जमघटमा जाँदा" नक्कली प्रेम प्रदर्शन गरेको पनि धेरै ठाउँमा भेटेको छु | मनमा अनेकौं पीडा, घृणा, दुख, गुनासाहरू बोकेर आफैलाई "टर्चर" दिनुभन्दा पतिपत्नीले समस्याहरूको समाधानको बाटो रोज्नु पर्छ | धमिरा लागेको काठको आयु बढी हुँदैन | पतिपत्नीविचमा देखिएका मानसिक घाउँले पनि परिवार र व्यक्तिस्वयंलाई ध्वस्त बनाउँछ |
आठप्रकारका विवाह विधिले केटाकेटीको भविष्यको दाम्पत्य कस्तो हुन्छ ? भन्ने प्रश्नको प्रष्ट जवाफ दिएका छन् | आर्ष, प्रजापत्य, गन्धर्व विधिले स्थापित भएको दाम्पत्य अन्यका तुलनामा गतिशील हुन्छ | आर्ष, प्रजापत्य तथा गान्धर्व गुण भएका दम्पतिले -आफ्ना आपसी समस्या निराकरण गर्न "सम्बाद, एकअर्काको कुरा सुन्ने, आफ्नो गल्ती स्वीकार गर्ने र एकअर्काप्रति पूर्ण विश्वास स्थापित गर्ने दिशातिर लाग्छन् | यो एउटा प्राचीनतम उपाय हो | प्राचीन पुराणहरूमा "शिवपार्वती सम्बादे" तेसै भनिएको होइन | यदि तपाईं एकअर्कालाई सम्मान गर्दै सम्मान गर्ने गुण विकसित भयो भने विश्वास गर्नुस्, तपाईंको दाम्पत्य जीवन सुखी, खुसी र अन्यका लागि "रोलमोडेल" हुने छ |

पहिलो प्रेमपत्र र भेलेन्टाइन-डे

 पहिलो प्रेमपत्र र भेलेन्टाइन-डे

यस पटक भेलेन्टाइन-डे र बसन्त पंचमी एकै दिन परेको छ | धेरैजसो बैंसले मातिएकाहरूले भेलेन्टाइन-डेका दिन विवेक गुमाउँछन् | प्रेम, दिवस, प्रणय दिवसलाई "सेक्स-डे"का रूपमा मनाउन आतुर पनि धेरै होलान् | भेलेन्टाइन-डेको उद्देश्य हेर्ने हो भने प्रेम-साटासाट गर्ने हो तर प्रेमको अर्थनै रेस्टोरेन्ट, रक्सी, होटलको कोठा र सेक्स" नै लागेपछि प्रेमको अर्थ नै सेक्स हो भन्ने ठहरिन्छ | प्रेमको बाटोमा सेक्स एउटा सानो प्रक्रिया हो जुन १० मिनट देखि २३ मिनटसम्मको समय ओगट्छ |
बसन्त पंचमी पर्व पनि प्रेम साटासाट गर्ने दिन नै हो | फरक एत्ति छ कि बसन्त पंचमी पर्वको आरम्भ परिवारका सबै जना मिलेर देवो सरस्वतीलाई सर्स्युको फूल, रङ्गीविरंगी प्राकृतिक कलरहरू समर्पण गरेर मनाइन्छ | पूजाआराधना पछि एकआपसमा देवी सरस्वतीको प्रसाद स्वरूप आपसमा रङ्गहरू दलेर प्रेम प्रकट गरिन्छ | यो पर्वमा परिवारका सबै सदस्यहरू प्रेम साटासाट गर्छन् | बसन्तको सुन्दर ऋतु आरम्भ भएपछि विवाहित पतिपत्नीकाविचमा प्रणयको रङ्ग बढी नै चल्छ | काठमाडौँ उपत्यकाका नेवारहरूले त झन् वसन्त राग गाएर बसन्तको स्वागत नै गर्छन् |
बसन्त पंचमी र भेलेन्टाइन-डेको सम्झना गर्दैगर्दा मलाई भगवान् श्रीकृष्णकी प्रथम पत्नी रुक्मिणीजीले श्रीकृष्णलाई लेखेको प्रेमपत्रको (श्रीमद्भागवत १०/५२) याद आयो | श्रीकृष्णलाई रुक्मिणीले लेखेको प्रणयपत्र सम्भवत: विश्वको पहिलो होला ! मैले ओडिसी वा एलियाडमा कुनै प्रेमपत्र लेखेको पढेको छैन | आफुलाई मन परेको व्यक्तिप्रति प्रेम प्रकट गर्नु, प्रेमको याचना गर्नुलाई वैदिक संस्कृतिमा अनुचित ठानिन्छ | त्यस्तो अनुचित भएको भए रुक्मिणीले श्रीकृष्णलाई प्रेमपत्र लेख्ने आँट नै गर्ने थिइनन् | भेलेन्टाइन-डेमा विश्वास गर्ने र बसंतोत्सवमा रमाइलो गर्न चाहनेले देवी रुक्मिणीले लेखेको प्रेम पत्र पढ्नुपर्छ |
हो, आजभन्दा पांचहजार वर्ष पहिलेको समाज र आजको समाज वदलिएको छ | संस्कृति निरन्तर परिवर्तन भैरहन्छ | आज स्त्री र पुरुषका आवश्यकताहरू, मानसिक व्यबस्थाहरू, सांस्कृतिक मान्यताहरू तथा जीवनका भोगाईहरू बदलिएका छन् | तर प्रेम र प्रेमीहरूको मन जस्ताको तस्तै छ | विवाह संस्था पनि प्रचलनमा नै छ | नितान्त भौतिक क्रिया "सेक्स र त्यसको सान्दर्भिकता" पनि उस्तै छ | तर प्रेम र प्रेमप्रतिको परिभाषा र बुझाई बदलिंदै छ | लिभिंग टुगेदर होस् वा विवाहपूर्व यौनक्रिया केही व्यक्तिहरूमा स्वीकार्य देखिन्छन् | प्रेम धुमिल भएको छ, सेक्स चम्केको छ |
एउटा कुरा पक्का हो - आधुनिक बजारले सेक्सलाई व्यापारीकरण गरिदिंदा नितान्त प्राकृतिक यो प्रक्रियाप्रति उमेर नपुग्दै, असुरक्षित तवरले आकर्षण बढेको छ | एकातिर कानुनले १८ वर्ष मुनिका लागि सेक्स वर्जित गरेको छ अर्कोतिर बजारीकरण गरेर उमेरभन्दा पहिलानै सेक्सप्रति अनावश्यक उत्सुकता जगाएको छ | यसैका विचमा युवापुस्ता होस् वा बजारीकरणको प्रभावलाई थेग्न नसक्ने कुनै पनि उमेरका व्यक्तिहरूले सेक्स र प्रेमका विचको "सीमा" विर्सिन थालेका छन् | बसन्त - पंचमी प्रेम र सेक्सबिचको मीठो सीमा हो भने भेलेन्टाइन-डेले यस्तो सीमा मिचीसकेको छ | बाँकी कुरा भेलेन्टाइन-डेका दिन सुदीप र पलशाहहरूलाई सम्झिनु बढी उचित हुन्छ |
यहाँ रुक्मिणीले श्रीकृष्णलाई लेखेको प्रेमपत्र टाँसेको छु | जाँगर हुनेले नेपाली, अंग्रेजी वा हिन्दीमा अर्थ खोजेर पढ्नु | अनि, भेलेन्टाइन-डे मनाउने हो कि बसन्त पंचमी मनाउने भन्ने कुराको टुङ्गो गर्नु | आफ्नो संस्कृति सबैको सजिलो हुन्छ, अर्काको संस्कृति मांगेर लगाएको कोटझैं नमिल्दो हुन्छ | प्रेम गर्नु तर प्रेमका नाममा होस न गुमाउनु | प्रेम बलियो भए विवाहपछि सेक्स र प्रेम दूवैलाई धर्म, संस्कृति, परम्परा तथा कानुनले स्वीकृति दिएकै छन् | रुक्मिणीले प्रेमपत्र लेखेर प्रेम प्रकट गरेपछि श्रीकृष्ण र रुक्मिणीको विवाह भएको हो |
हामी सबैको कल्याण होस् |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...