Saturday, August 12, 2023

भ्रष्ट्राचारको गणतन्त्र !

 भ्रष्ट्राचारको गणतन्त्र !

जतिसुकै ठूलो कुरा गरे पनि "ठूला अर्थात् शीर्ष नेता र छोटा नेताहरूले भष्ट्राचार गर्छन् भन्ने कुरा जनताको मनमा स्थापित भैसकेको छ | सर्वदलीय सहमतिका नाममा "भष्ट्राचार"लाई पनि गणतन्त्र वा लोकतन्त्रको आवश्यक अंगका रूपमा राजनैतिक दलहरूले स्वीकार गरेको तीतोसत्य हो |
जसरी वर्तमान संविधान एउटा देशको संविधान कम र सहमति बढी हो त्यसैगरी यो लोतान्त्रिक प्रणाली लोकतन्त्र कम र भष्ट्राचारलाई संस्थागत गर्ने "लोकतान्त्रिक भष्ट्राचारको" आदर्श संस्था हो | नेताका लागि लोकतन्त्र स्वर्ग होला तर सर्वसाधारण जनताका लागि क्यान्सर सावित भएको छ |
तरम्तार शीर्ष नेताहरूको बैठकले आफ्नो पार्टीहरूको फुस्किसकेको लगौटी जोगाउन सक्दो प्रयास गर्ने सहमतिको दौड हो | राजनैतिक पार्टी, तिनका भ्रात्री संगठन तथा राजनैतिक पार्टी पोषित एनजिओ/आइएन्जिओ असलमा सुसशनमा सहयोग गर्न होइन सिन्डिकेट खडा गरेर राज्यलाई दोहन गर्न निर्मित भएका दलाल हुन् भन्दा आफैलाई बडो मानसिक पीडा हुन्छ |
गरिव जनताको सेवा गर्न आएका जनप्रतिनिधिहरू जनताको सेवा नै गर्ने भए तलव किन थाप्थे ? बरू आवश्यक चाहिने सुविधाहरू (गाडी, फोन, तेल)आदिको लागि लागेको खर्च व्यबस्थापन गरेर जनतालाई सेवा दिन्थे | देशभरिका प्रदेश र स्थानीय सरकारहरूमा थुप्रिएको बेरुजु यसको बलियो प्रमाण हो | वेरुजु थुपार्दै जाने र उठाउन नै नसकिने भएपछि कानुन बनाएर वेरुजुलाई खारेज गर्ने नियति सबैले बुझ्नुपर्छ |
फेरी पनि दोहोर्याएर भन्छु, जसजसले सत्तामा पुगेर सित्तैवाद (घूस)को स्वाद चाखेका छन्, तिनले घूसको मोह छोड्ने छैनन् | अन्य काण्डहरूझैं यो काण्ड पनि ढिसमिस हुन्छ | यही रडाकोको मौका छोपेर नागरिकता विधेयक र चौधरीलाई जेलमुक्त गर्ने विधेयक आएका छन् |
नेपाल र नेपालीको जरो काटेर निमिट्यान्न पार्ने लक्ष लिएर अनेकौं विदेशीवाद र धर्मको एजेन्टका रूपमा कार्यरत कर्मचारीहरूले नेपालप्रति कुनै माया देखाउने कुरा नै भएन | देश र जनताप्रति कुनै जवाफ देहिता हुन्थ्यो भने दलीय सहमतिका नाममा भष्ट्राचारलाई संस्थागत गर्न यी दलहरू मरिमेट्ने थिएनन् | यिनै एजेन्टहरूले विद्यालय, महाविद्यालय, विश्वविद्यालय, उद्योग-कारखाना, न्यायालयआदिमा आफ्ना एजेन्टहरू स्थापित गरेर यी सस्थाहरूलाई समेत तहसनहस पारेका छन् | साच्चिकै भन्नुपर्दा दलीय सहमतिमा बनेको संविधाननै सम्पूर्ण वेतिथिको प्रमुख स्रोत हो | गणतन्त्र, लोकतन्त्रको नाममा जनतालाई ब्लेक-मेलिंग गर्ने बाहेक अन्य कुनै विकासका काम भएका छन् भने यी काकताली हुन् र राज्यका नाममा कमिशनका लागि "विकास" देखाउनै पर्ने बाध्यताका परिणाम हुन् | काम नै नगरी हजम गर्न मिल्ने भए त्यही हुन्थ्यो |
आफ्नो मातृभुमिबाट जवर्जस्ती लखेटिएर आएका वर्मेली नेपालीहरूलाई राजा महेन्द्रले सम्मान जनकतवरले नेपालमा बसोवासको व्यबस्था गरे तर लोकतन्त्र, प्रजातन्त्र तथा गणतन्त्रको नाम जप्ने नेताहरूले भुटानी शरणार्थी (नेपाली)उपर गरेको विश्वासघातले नेपालको शिर निहुरिएको छ तर नेतृत्वमा लाजको कुनै अंश छैन | नेतृत्वको निर्लज्जताका कारण लोकतन्त्रको अवशान कोरिएको छ |
All reactions:
राजन भारद्वाज, Mahat Aashish and 18 others

अस्वीकार्य प्रतिवेदन

 अस्वीकार्य प्रतिवेदन

हालै अमेरिकाले नेपालमा धार्मिक सहिष्णुता सम्बन्धि प्रतिवेदन जारी गर्दै नेपालमा हिन्दुहरूले अन्य धार्मिक समुदायलाई दबाएको र तेसमा भारतले सहयोग गरिरहेको भनेर आरोप लगाएको छ | आफ्नो प्रतिवेदनलाई पुष्टि गर्नका लागि जुन व्यक्ति वा समुदायहरूको सहयोग लिइएको छ ती सबैजसो नेपालमा घृणावादको खेती गर्न, जातीय, क्षेत्रीय, भाषिक तथा विखण्डनवादको खेती गर्न कुख्यात छन् | हिन्दूहरूलाई एकोहोरो गालीगलौज गर्ने मङ्गोल ओर्गनाईजेसनलाई प्रमाणिक स्रोतका रूपमा उल्लेख गर्नु कतिसम्म हास्यास्पद रिपोर्ट छ ?
सत्य हो कि अमेरिकाको जतिसुकै आलोचना गरे पनि मान्छेहरू अमेरिका जान तँछाड मछाड गर्छन् तर यसको अर्थ अमेरिकीहरूको बलमिचाई विरुद्ध बोल्नुनै हुन्न भन्ने हुँदैन | सत्य के हो भने अमेरिका होस् वा वेलायत वा भारत सबैले आफ्नो स्वार्थ साँध्न नेपाललाई आफ्नो गोटी बनाएका छन् | ८१.१% हिन्दु जनसंख्या भएको देशमा हिन्दुहरू विरुद्ध प्रतिवेदन दिने अमेरिका भने स-सानो अपराधमा टाउको गिड्ने साउदीजस्ता मुस्लिम देश विरुद्ध कुनै प्रतिवेदन लेख्दैन | अत: सबैले मान्नुपर्छ कि यो रिपोर्ट वा प्रतिवेदन दुर्नियति र नेपालको मौलिकता समाप्त पार्नका लागि सहयोग पुगोस् भनेर प्रस्तुत गरिएको हो |
अमेरिकाले युरोपियन युनियन, अस्ट्रेलिया र अमेरिकीहरूले धर्मपरिवर्तन गराउन इसाईहरूलाई विभिन्न एनजिओ/आइएन्जिओका माध्यमबाट पैसाको खोलो बगाएको तत्थ्य पनि आफ्नो रिपोर्टमा उल्लेख गर्नु पर्थ्यो, भाजपाले कुन व्यक्ति वा पार्टीलाई पैसा दिंदैछ तोकेर लेख्न सक्नुपर्छ !
डेमिक्रेसीका नाममा अमेरिकी र अमेरिकी लबीहरूले विश्वभरी आतंक मच्चाएका छन् डेमोक्रेसीको ठेकेदार बनेर | सबैलाई थाहा छ अमेरिकाले भन्ने डेमिक्रेसी अमेरिकीहरूको जूठो खाने, जुत्ताको तलुवा चाट्नेहरूबाट निर्मित हुन्छ | अमेरिकी मोडेलको डेमोक्रेसीमा अमेरिका विरुद्ध बोल्ने, लेख्ने र अमेरिकी अतिवाद विरुद्ध विचार व्यक्त गर्ने छूट हुँदैन |
अमेरिकाले आफ्नो देशमा प्रजातन्त्रको अभ्यास गर्छ तर अन्य देशमा भने आफ्नो स्वार्थका लागि प्रजातन्त्रको हत्या गरेको पनि अनेकौं उदहारण छन् | गरिव नेपाली संग एप्लिकेशन दिंदामात्र २३ हजार असुल्ने अमेरिकाको प्रतिवेदन बकवास र पूर्वाग्रहको पुलिन्दा बहेको केही होइन |
पछिल्लोसमयमा नेपाली हिन्दू, जैन, बौद्ध तथा अन्य रैथाने जातिहरूमा स्वधर्म, संस्कृति तथा रिथिथितिको रक्षाका सवालमा आएको जागरणबाट अमेरिकी लवी त्रसित भएको छ | यो लवीबाट परम्परागत नेपाली इसाईहरू पनि आजित भएका छन् | धर्मपरिवर्तन गरेर नव-इसाई बनेकाहरूमा देशको माया पटक्कै हुँदैन - एकजना नेपाली क्याथोलिक इसाईले मसंग प्रष्ट भनेका थिए तर संगै रहेका पास्चरले भने यसको प्रतिवाद गर्दै भने "हाम्रो देश होइन धर्म र त्यससंग जोडिएको सहयोग सबैभन्दा प्यारो हुन्छ | आजको मितिमा संसद होस् वा सडक जताततै हिन्दूहरूमा जागरण आएको छ | एस्तो जागरणलाई देखेर अमेरिकी खेमा र अमेरिकी खेमाको लागि काम गर्ने तथाकथित प्रगतिशील र समाजवादीहरू पनि आतंकित भएका छन् | गगन थापा र रघुजी पन्तका भाषणमा संसदमै यो छताछुल्ल भएको छ |
प्रजातन्त्र वा लोकतन्त्रहरू असफल हुनुमा अमेरिकीहरूको बढी हात हुन्छ भन्ने तत्थ्य डार्क साइट अफ डेमिक्रेसी नामक पुस्तकमा विस्तारसंग लेखिएको छ | सत्य के हो भने इसाईहरूको काँधमा चढेर अमेरिकीहरू आफ्नो स्वार्थपूर्ति गर्छन् | नेपालमा अमेरिकीहरूले इसाईहरूलाई आफ्नो घोडा बनाएका छन् | हिन्दू धर्म, संस्कृति तथा सभ्यताउपर प्रहार गरेर नेपालीलाई कमजोर बनाउन सकिन्छ भन्ने तत्थ्य उनीहरूलाई राम्ररी थाहा छ | त्यही कडीमा नेपालको नालायक सरकारले जनगणनाबाट प्राप्त धर्म सम्बन्धि तत्थ्यांकहरू लुकाएको बुझ्नुपर्छ |
के नेपालका हिन्दूवादीहरू आफ्नो पहिचानको रक्षाको लागि बोल्नै नहुने हो ? यो फोटोले अमेरिकीहरूको असली चेहरा प्रष्ट पार्दैन र ?

लिभिंग टुगेदरको मृगमरिचिका

 लिभिंग टुगेदरको मृगमरिचिका

विदेशीहरूको नक्कल गर्दै आजभोली नेपाली युवायुवतिहरूमा पनि लिभिंग टुगेदर (विवाह नगरी युवक र युवति पतिपत्नीजस्तै संगै वस्नु) चलन बढेको छ | विभिन्न अनुसन्धानहरूले लिभिंग टुगेदरमा बसेकाहरूले पछि विवाह गर्ने निर्णय गर्दा दाम्पत्य जीवनमा निम्न समस्याहरू पर्ने निक्यौल गरेका छन् :
१. विवाहपूर्व लिभिंग टुगेदरमा रहेका दम्पतिहरुमा विवाह पश्चात एकआपसी संवादमा निकै समस्या देखिने गरेको छ र यस्ता कपलहरुका विचमा मागी विवाह गरेका पतिपत्नी भन्दा आपसमा बढी झगडा हुन्छ (थम्सन एण्ड कोलेला १९९२)
२. डोमोरिस तथा रावले १९९२ गरेको एउटा ठूलो अनुसन्धानले विवाह'पूर्व संगै बसेका युवायुवतिहरूमा वैवाहिक जीवनका लागि आवश्यक पर्ने आपसी सहमति निकै कम हुन्छ जसले विवाहित जीवननै समस्यामा पर्न सक्छ |
३. Axinn & Thornton (1992) अनुसन्धानले अमेरिका, सिंगापुर, अस्ट्रेलिया,क्यानाडा, स्विजरल्याण्डआदि देशमा लिभिंग टुगेदरमा रहेका र पछि विवाह गरेका दम्पतिहरूले अन्यका तुलनामा ५० देखि १००% सम्म डिभोर्स गरेको भेटेका छन् |
४. यसैगरी गरेको एउटा अनुसन्धानमा लिभिग टुगेदरबाट जन्मिएका बालबालिका मध्ये २०% जातिले लिभिग टुगेदर नै रोज्ने र तिनमा पनि औशतन डिभोर्सको रेट चाहिं २०% बढी हुन सक्ने देखाएका छन् |
उपरोक्त खोजका आधारमा विश्वप्रसिद्ध मनोवैज्ञानिकहरू Goldscheider, Thornton, and Young-DeMarco (१९९३) ले निष्कर्ष निकालेका छन् कि "लिभिंग टुगेदरके वैवाहिक जीवनलाई सहज सोच्नु ज्यादै कठीन कार्य हो |
नेपाली समाजमा विवाहसंग डिभोर्सको कल्पना गरिन्न तर संविधानले भने पारचुके गर्ने अनुमति दिएको छ | तेसैगरी नेपाली समाजमा पारचुकेको रेट केवल १% हाराहारीमा हुनुमा पनि विवाह सस्था र त्यसमा बाँधिएका पतिपत्नी दूवैले एकआपसमा त्यागका कारण सम्भव भएको हो |
उपरोक्त अध्ययनले के देखाउंछ भने पारिवारिक जीवनका लागि विवाह महत्वपूर्ण हुन्छ लिभिग टुगेदरले सुखी दाम्पत्यजीवनका लागि सकारात्मक भूमिका खेल्दैन | यदि पति वा पत्नीको वैवाहिक सम्वन्धलाई निरन्तरता दिंदा शारीरिक क्षतिनै पुग्छ भने डिभोर्स उचित हुन्छ तर स-साना कुरामा डिभोर्स गर्ने पचिमा परिपाटीको नक्कलले नेपालीहरूको दाम्पत्यजीवन तहसनहस गर्नुहुँदैन | साथै, लिभिंग टुगेदर वा विवाह गर्नु पूर्व एकअर्कालाई चिन्न यौनजन्य क्रियाकलापले सकारात्मक मदत गर्ने छ भन्ने कुरा पनि सही होइन भन्ने तत्थ्य उपरोक्त अनुसन्धानले सिद्ध गरेको छ |
बाँकी आजका "मोडर्न" युवतिहरुले आफु भन्दा जान्ने अरूलाई ठान्दैनन् तेसैले दु:ख वा सुखको रोजाई उनीहरूका हातमा छाडौं तर असल बाटो देखाउने काम अभिभावकको हो भन्ने कुरा पनि हेक्का राखौं | आफुले जानेको र भोगेको कुरा बोल्नु पर्छ, बताउनु पर्छ तर भीरबाट लडिरहेको गोरुका सवालमा रामराम बाहेक केही भन्न सकिन्न |

भविष्यको नैतिकता कस्तो हुने छ ?

 भविष्यको नैतिकता कस्तो हुने छ ?

१. मान्छेले निर्माण गरेको बौद्धिकता (रोबोट) आएपछि नैतिक आचरणमा धेरै परिवर्तन हुनुपर्ने नै थियो - जुन भएको छ | आजको ८ क्लासमा पढ्ने पुस्ताले विद्यालयमा गुरुआमाले पढाएको, घरमा आमावुवाले सिकाएको कुरा गुगलमा हेरेपछि मात्र सही र गलतभएको निर्णय लिन्छ | भविष्यमा आमावुवा र गुरूमा भन्दा बढी नक्कली बौद्धिकता (AI) मा विश्वास गर्ने पुस्ताको उदय हुने छ | रोबोट र मान्छेका बिचमा कुरा बाझियो भने रोबोटले मान्यता पाउने छ | गुरू र मातापिता नैतिकताका मानदंड हुन् भन्ने वर्तमान मान्यताहरू भविष्यका लागि अर्थरहित हुने छन् | AI को संसारका नैतिक मान्यताहरू पनि AI को वरिपरी घुम्ने छन् |
२. हालै स्वीजरल्याण्डका बैज्ञानिकहरूले तीन जनाको जिन मिलाएर निशेचनबाट तयार गरिएको विश्वको पहिलो बालक जन्माउन (बनाउन) सफल भएका छन् | उप्रान्त माता देवी हुन्, पिता देव हुन्, तिनको सम्मान गर्नुपर्छ भन्ने मान्यता विस्थापित हुने छ | आजका बालबालिकाहरूले ठाडै भन्छन् "सबै आमा बुवाले बच्चा जन्माएपछि पालनपोषण गर्छन्. यो तपाईंको कानुनी दायित्व हो | दायित्व निभाउन नसक्नेले जन्माउनु हुँदैन | तपाईंले हाम्रो पालन गरेर उपकार गर्नुभएको छैन | तपाईंप्रति धन्यवादी हुन कुनै आवश्यकता छैन | भविष्यमा, धेरै मान्छेको जिन मिलाएर निर्माण गरिएको "निरोग" मान्छेसंग तुलना गर्दै प्राकृतिक रूपमा बच्चा जन्माउने मातापिता "चरम अनैतिक" व्यक्तिका रूपमा स्थापित हुन सक्ने छन् |
३. आजका मान्छेहरूका लागि "सेवा" गर्नु नैतिक जीवनको एउटा अभिन्न अंग हो | हरेक व्यक्तिले आफ्नु क्षमताले भ्याएसम्म सेवा गर्न चाहन्छ र गर्छ पनि | :साधन-स्रोत हुँदाहुँदै पनि आफ्नो हेरविचार गर्न नसक्नेको लागि हामीले किन उर्जा खर्च गर्ने - एकजना आरडी तेस्रो वर्षका विद्यार्थीले भन्दै थिए | आफ्नो काम आफै गर्न नसक्ने अर्थात् मर्नु भन्दा आफ्नो कात्रोको आफै सुनिश्चित गर्न नसक्नेहरूका लागि भविष्यको पुस्ताले कुनै सहयोग गर्ने छैन | मातापिता, दिदीबहिनी, छिमेकी वा १० हजार किलोमिटर टाढाको जुनसुने व्यक्तिले आफ्नो दायित्व आफै बोक्नु पर्ने छ |
४. ल्याबमा निरोग बालबालिकाको उत्पादन आरम्भ भएपछि रहेबचेको ईश्वरीय दण्ड तथा पुरस्कारको डर र आशा सबैको अन्त्य हुनेछ | आजको मितिमा राजनैतिक शक्तिका लागि बाहेक ईश्वरको कुनै अस्तित्व छैन | ल्याबमा उत्पादन भएको आगामी जेनेरेशनका लागि स्वर्ग, नर्क, पाप र पुण्यका विषयहरू इतिहास हुनेछन् | बाइलोजिकल मातापिता भन्दा टेक्नोलोजीकल उत्पादकप्रति जवाफ दिनु पर्ने हुँदा डर, पापपुण्य तथा शुभअशुभका प्रत्ययहरू लोप हुनेछ | निरोगी र दीर्घजीवि भए पछि ईश्वरको आवश्यकता नै रहने छैन |
५. हिजो र आज विश्वका मान्छेहरूको चाहना शान्ति, सुरक्षा र क्वालिटी लाइफको छ | आज हरेक मान्छे "पैसा"प्राप्तिको एकल लक्षसंग अगाडी बढिरहेको छ | मसिनले बच्चा जन्माउन थालेपछि "बायोलोजिकल प्यारेन्टहुड" इतिहासको विषय हुने छ भने पुरुष र स्त्रीका बिचको सेक्स क्रियाबाट प्राप्त हुने आनन्द भन्दा हजारौं गुणा बढी आनन्द प्राप्त हुने क्रियाकलाप गर्न सकिने नक्कली विषयहरू निर्मित हुने छन् | भविष्यमा सेक्स परिचर्चाको विषय नै नरहने हुँदा सेक्ससंग जोडिएका नैतिकता र अनैतिकताको कुनै प्रसंग नै उठ्ने छैन |
६. इतिहासमा हिन्दू संस्कृतिमा वाहेक अन्य कसैले सेक्सुआलिटीको पाठ्यक्रम बनाएर व्यवस्थित गरेन | हिन्दूहरूले कामशास्त्रको रचना गरे | विश्वका धेरै सभ्य र असभ्य दूवै मान्छेका समुहहरूले "सेक्स"का वरिपरी अनेकौं नैतिकता र अनैतिकता, पाप तथा पुण्य, शुभ तथा अशुभ, स्वर्ग तथा नर्कका मापदण्डहरू तयार गरेका छन् र पालना पनि गरिरहेका छन् | सेक्स निकै रहस्यमा अनुभूति र क्रिया थियो | आजको पुस्तामा "सेक्स एउटा बायोलोजिकल नीड़" मात्र बन्न पुगेको छ | पुरानो संस्कृतिसंग मोह भएकाहरूके अनेकौं प्रतिबन्धहरू थोपरे पनि आज सेक्सको पहिचान बायोलोजिकल नै स्थापित हुँदैछ | भविष्यको पुस्ताका लागि सेक्स बायोलोजिकल नीड़ पनि नरहने पक्का छ | मेडिकलको विकास, उमेरमा वृद्धि र रमाइलोका अन्य रहर लाग्दा विकल्पहरू हुँदाहुँदै "शरीर घोटेर नैतिकता वा अनैतिकताका सबैजसो मापदण्डको उपयोगिता कम हुने छ | यौन चर्चाको विषय रहने छैन |
-७. जुन व्यक्ति जुन र जस्तो समाजमा जन्मिन्छ, त्यसको पहिचान र अस्मिता तेसैअनुसारको निर्माण हुन्छ | स्वभाविकरूपमा नेपाली र त्यसमा पनि हिन्दू भएको नाताले मेरो प्रेम नेपाल र हिन्दूसंग हुन्छ | हिन्दु एउटा सभ्यता भएको नाताले यहुदी, इसाई र मुस्लिमजस्तो साँगुरो छैन | हिन्दूका लागि हिन्दू रितिरिवाज, कर्मकाण्ड, जीवन दर्शन नैतिकताका मापदण्ड हुन्छन् भने अन्य धर्म मान्नेहरूका लागि त्यही धर्म र धार्मिकता उसको लागि अस्मिता हुन्छ | आजको विश्वले "हिन्दुत्व"को उदारता, स्वीकार तथा सहजता मांग गरेको छ | वाहिरबाट जतिसुकै धार्मिक कट्टर देखिए पनि विश्वका धेरै मान्छेको बुद्धिले हिन्दूत्व चाहन्छ | यसको अर्थ धर्म परिवर्तन गरेर हिन्दू बन्नुपर्छ भनेको होइन | भविष्यको विश्वको नैतिकतालाई रिलिजिस विश्वासले गाइड गर्ने छैनन् | संभवत: भविष्यको नैतिकताको तय गर्ने अधिकार हरेक व्यक्तिलाई व्यक्तिगत तहमा हुने छ | आज मुस्लिम, हिन्दु, इसाई तथा अन्य समुदायका व्यक्तिले आफुलाई "नास्तिक" भन्न रुचाउँन थालेका छन् | भविष्यको नैतिकता हिन्दूहरूले बताएझैं "धृति, क्षमा, अस्तेयआदि गुण"का रूपमा रहने छ तर बाइबल नपढेको र चर्च नगएको आधारमा कुनै पनि व्यक्ति नैतिक वा अनैतिक हुने छैन | सरल अर्थमा, भविष्यको व्यक्ति हिन्दू (धार्मिक होइन) ले झैं असल गुणलाई नै नैतिकताको भौतिक मापदण्डका रूपमा अंगाल्ने छ |
८. उपरोक्त विचार पढ्दै गर्दा लेखकलाई उद्दण्ड वा पश्चिमा प्रभाव परेको भन्ने आरोप लाग्न सक्छ | यी आरोपहरू वारे मेरो कुनै गुनासो रहने छैन तर मेरै जीवनकालमा विज्ञानले गरेको प्रगति र त्यसको प्रभावले बदलिएको जीवनशैलीका आधारमा भविष्यको नैतिक जीवन र चिन्तन आजकोझैं रहने छैन भन्ने पक्का हो | बढ्दो जनसंख्या, फराकिलो हुँदो बैज्ञानिक प्रगति, नजिकिंदो विश्वका मान्छेहरूको सम्बन्ध, फराकिलो हुँदै गरेको सूचना तथा अन्य समुदायका जानकारीहरू तथा रिलिजनहरूको कट्टरताले आजित भएको चिन्तनमा परिवर्तनको हटहटीले नैतिकताको मापदण्डलाई फेर्ने छन् | यो भविष्यका लागि छोडौं कि मान्छे रोबट बन्ने छ कि भावना प्रधान मान्छे नै रहेर अगाडी बढ्ने छ ! मान्छेको बढ्दो जनसंख्या र यसले नित्याएका आवश्यकताहरूले मान्छे वैश्विक बन्दै छ | आजको मान्छे हिन्दू, मुसलमान, इसाइअ, बौद्ध र इसाई सबै हो र केही पनि नभएर नास्तिक पनि हो | वाहिरबाट जस्तो आवरण र प्रकारमा देखिए पनि भविष्यको नैतिकतामा स्वतन्त्रताको बढी अंश रहने निश्चित छ |

स्वतन्त्रता र स्वच्छन्दता

 स्वतन्त्रता र स्वच्छन्दता

१. मोहिनी २७ वर्ष की छन् | उनको घरायसी अवस्था र आफै व्यबसाय निकै फस्टाएको छ | उनी विहानै ४:३० मा उठ्छिन् | स्नान, योग तथा आध्यात्मिक साधना गर्छिन् | स्वास्थका लागि हितकारी भोजन गर्छिन् | पति, छोराछोरी, सासुससुराप्रति उनले परम्परागत सम्मान गरेकै छन् | धार्मिक, सांस्कृतिक, सामाजिक दायित्वप्रति उनको सहभागिता निकै प्रसंसीय छ | केहीले उनको "परम्परावादी" भनेर आलोचना पनि गर्छन् तर उनको मधुर व्यबहार र खुसी परिवार देखेर मुख वन्द हुन्छ | उनको घरमा शास्त्रले बर्जित गरेको मदिराआदिको प्रवेश छैन | दुई जना बालबालिकाले विहानै उठेर आमावुवा र हजुरआमाआदिलाई नमस्कार गरेको देख्दा छिमेकीहरू छक्क पर्छन् | उनी आफ्नी मालिक आफै हुन् | उनको जीवन निकै नियमित, अनुशाशित र स्वतन्त्र छ |
२. अनुराग ३३ वर्षका छन् | उनी निकै सम्पन्न घरका सन्तान भएकोले आफ्नै ब्युजिनेश छ | उनी आफ्नो मनका मालिक छन् | धार्मिक, सांस्कृतिक तथा सामाजिक दायित्वप्रति उनी खुला विचार राख्छन् | उनलाई लाग्ग्छ, मान्छेको जीवन रमाइलोका लागि हो | उनी मन मौजी छन् | मनको रमाइलो र शरीरको मज्जाका लागि थाइल्याण्ड, अमेरिका पुग्छन् | उनी विवाह सस्थामा विश्वास राख्दैनन् | धार्मिक विश्वासहरूप्रति विद्रोह त छैन तर यदि धर्मले रमाइलो गर्न रोक्छ भने अर्थहीन ठान्छन् |
उनी आफ्नो घरमा कहिले आउँछन् वा जान्छन् घरका सदस्यहरूलाई पत्तो हुँदैन | खान-लाउन निकै मन गर्छन् | थुप्रै केटी साथी हुनु र स्वाभाविक ठान्छन् | उनको रमाइलो जीवन शैली देखेर युवा-पुस्ता उनीतिर आकर्षित देखिन्छ | तर सामाजिक, सांस्कृतिक, धार्मिक तथा अन्य दायित्व पुरा गर्नु पर्ने ठाउँमा उनको खोजी हुँदैन |
.....
उपरोक्त दुईबटा पात्रका जीवन शैली पढ्दा दोश्रो जीवनशैली प्रति आकर्षित हुने थुप्रै होलान् तर के तपाईंको परिवारले परिवारको सदस्यका रूपमा यस्तो व्यक्तिलाई स्वीकृति प्रदान गर्ला ? यो प्रश्न आफैसंग सोध्ने र उत्तर दिने हो | हो, सुन्दा यी दूवै शब्दले एकै अर्थ दिन्छन् जस्तो लाग्छ तर संस्कृत भाषाको विशेषताअनुसार निकै फरक छ | पहिलो शब्द स्वतन्त्रको अर्थ आत्मनियन्त्रण अर्थात् नियम, नीति तथा शास्त्रका अधिनमा रहेर कर्म गर्नु हुन्छ | स्वतन्त्रतामा सामाजिक, सांस्कृतिक, धार्मिक तथा कर्तव्यको पूर्ण पालन गरिन्छ | नियम पालन गर्नका लागि कसैको दवाव हुँदैन | तन्त्रको अर्थ हो - जालो | प्राचिनकालमा स्वेच्छाले शास्त्रीय मर्यादालाई पालन गर्नुलाई स्वत्रन्त्रता मानिन्थ्यो | स्वतन्त्रतामा आत्मनियन्त्रण हुन्छ |
मन र शारीरिक गतिविधिलाई विवेकको डोरीले बाँधेर कर्तव्यपूर्ण भावनाले कर्म गर्नेहरू स्वतन्त्र हुन्छन् र यसरी कर्म गर्ने निरपेक्ष वातावरण प्राप्त हुने अवस्था स्वतन्त्रता हुन्छ |
स्वछन्दताको अर्थ हो - आफ्नो मन, शरीर र आध्यात्मिक गतिविधिलाई हावाजस्तै जताततै बग्न दिनु | स्वच्छन्दतामा मन र शरीरमा बुद्धि तथा विवेकको नियन्त्रण हुँदैन | मन अत्यन्त चंचल हुन्छ | मनको चाहना र भावनालाई पूर्ण गर्नेतिर लाग्नुनै स्वच्छन्दता हो | स्वच्छन्दतामा विवेकको बन्धन हुँदैन, मन र इन्द्रियजन्य सुखानुभूतिलाई नै जीवनको सर्वोच्च लक्षका रूपमा परिचालित हुनेहरू स्वच्छन्दताको अभ्यास कर्ता हुन् | स्वच्छन्दतामा विवेकको भन्दा भावना र कर्तव्यको भन्दा अधिकारको डिमाण्ड हुन्छ |
स्वच्छन्दताले सामाजिक, सांस्कृतिक, धार्मिक, सामाजिक तथा राष्ट्रीय बन्धनलाई अस्वीकार गर्छ | कानुनी दण्डका डरले स्वच्छन्दतावादीहरू नियमित हुन्छन्, अन्यथा आत्मनियन्त्रणको अभाव हुँदा यिनीहरू अराजकनै हुन्छन् | स्वच्छन्दताको अर्थ हो विवेकशील र उच्चनैतिकतावादी झैं देखिएर इन्द्रिय र आफ्नो स्वार्थका परिचालित हुने | सजिलो भएकोले आजको समाजले मनको नियन्त्रण अर्थात् स्वच्छन्दतालाई बढी महत्व दिन्छ | सुखवादीहरू स्वच्छन्दताका प्रतिविम्ब हुन सक्छन् |
यसरी स्वतन्त्रमा आत्मनियन्त्रण, नियमन र मोक्षको लक्ष हुन्छ भने स्वच्छन्दतामा स्वार्थ, अराजकता, विद्रोह र बन्धनको लक्ष हुन्छ | मूल्य मान्यताहरूप्रति विद्रोह हुन्छ | स्वच्छन्दतावादले विश्वलाई कमसल बनाउँछ भने स्वतन्त्रताले विश्वलाई सफल र असल बनाउन मदत गर्छ |

वैदिक तथा तान्त्रिक नारीवाद

 वैदिक तथा तान्त्रिक नारीवाद

शाक्त दर्शन वैदिक चिन्तनहरू मध्ये प्राचीनतम जीवन दर्शन हो | शाक्त दर्शनको स्रोत तथा केन्द्र भगवती पार्वती हुन् | नेपालका प्राचीन प्रचलित आराधना पद्धतिहरूमा शाक्त, स्मार्त, शैव र वैष्णव आज पनि नेपाली सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनमा जीवन्त रूपमा उपस्थित छन् |
१८ रौँ शताब्दिको अन्त्यतिरबाट नारीवादी चिन्तनको आरम्भ मानिन्छ | आजको समयमा जे-जस्तो अवस्थामा नारीवाद रहे पनि आरम्भ विन्दूमा नारीवादीको प्रमुख लक्ष महिलालाई आर्थिक, सामाजिक तथा सांस्कृतिक समानता दिलाउने नै थियो | सन् १९६० पछि नारीवादले स्वतन्त्रता र स्वच्छन्दताको बाटो अबलम्बन गर्न थालेको हो | आजको नारीवादी चिन्तनमा नारीसर्वसत्तावाद देखि लिएर पुरुष र नारी बिच समन्वयका आधारमा मानव समाजलाई उन्नत बनाउने पक्षधरहरू छन् |
नारीवादको सन्दर्भ आउँदासाथ अधिकारवादी र पुरुषप्रति वितृष्णावादी दृष्टिकोण उपस्थित हुन्छ | अर्कोतिर नारीवादी चिन्तन पूर्णतया पश्चिमा प्रतिमान हो भन्ने अत्यन्त भ्रमपूर्ण सूचना प्राप्त हुन्छ | हो, घृणावादमा आधारित नारीवादी चिन्तनधाराको विकास र विस्तार पश्चिमाहरूको खासगरी मार्क्सवादी र समाजवादीहरू देन हो तर नारीवाद पश्चिमाहरूको निर्विकल्प खोज होइन |
मैले शाक्त दर्शनको कुरा तेसै उठाएको होइन | प्राचीन वैदिक विचारधाराहरू मध्ये "नारी"लाई केन्द्र बनाएरको दार्शनिक चिन्तन शाक्त दर्शन हो | यहाँ शक्तिको प्रतिमान नारीसंग जोडिएको छ | व्याख्या र विश्लेषण गर्दा "शक्ति नारी होइन, उर्जा हो" भन्ने शास्त्रीय जामा पहिराए पनि "शक्ति र नारी यी दूवै एकै हुन् | उदाहरणका लागि सप्तशतीमा देवी स्वयंले "एकैवाहं जगत् यत्र द्वितीया का ममापरा" अर्थात् यो विश्व ब्रह्माण्डमा म वाहेक अरू के नै छ र ?" भन्दै भगवती महामायाले मनुष्य जगतमा नारीवादको पहिलो संदेश प्रवाह गरेकी छन् |
दार्शनिक दृष्टिकोणले विचार गर्दा शाक्त जीवन दर्शन प्राचीन वैदिक नारीवादको जीवन्त उदाहरण हो | "तिमी मेधा हौँ र तिमी नै सम्पूर्ण शास्त्रहरूको सारतत्व हौँ र चित्तका रूपमा तिमी विश्वभरीका नारी तथा पुरुषमा व्याप्त छौँ भन्दै नारीवादको प्रभुत्वलाई स्वीकार गरिएको छ | ऋग्वेदमा देवी सूक्त, रात्रिसूक्त, सरस्वती सूक्त प्रसिद्द छन् | यस वाहेक तन्त्र-साहित्य र शाक्त साहित्यमा नारी शक्तिलाई विभिन्न प्रतिमानका रूपमा स्वीकार गर्दै र गर्न आह्वान गर्दै प्रार्थनाहरू, कथाहरू, उपासना पद्धतिहरू निर्माण भएका छन् |
शाक्त दार्शनिक चिन्तनको केन्द्र नारी शक्ति हुन् | महानिर्वाणतन्त्रमा "महाकाल पनि जसको शक्तिबाट प्रचलित हुन्छन्, ती महाकाली नै परम शक्ति हुन्" भन्दै नारीशक्तिलाई सर्वोच्च शक्तिका रूपमा स्वीकार गरिएको छ | यसैगरी आचार्य शङ्करले सौन्दर्यलहरीमा "हे शक्ति, तपाईं शिवमा शक्तिका रूपमा स्थित हुनाले शिवमा संहार गर्ने सामर्थ्य आएको हो" भन्दै नारीशक्तिको सर्बोच्चता स्वीकार गरेका छन् | ब्राह्मणहरूले नारीहरुलाई हेपे, अपमान गरे, दोश्रो दर्जाको बनाए भनेर आरोप लगाउनेहरूका लागि आचार्य शङ्करको यो भनाई दह्रो झापड हो |
ब्रहमपुत्री गायत्री वा सावित्रीको स्थान वैदिक संस्कृतिका प्रत्येक विनित अनुयायीहरूका लागि "मन्त्र"का रूपमा स्थापित छ | मन्त्रको अर्थ मनलाई अनेकौं डर (आध्यात्मिक, आधिदैविक र भौतिक) मुक्ति दिने शक्ति हो | गुरुले गोप्य रूपमा शिष्यको कानमा प्रदान गर्ने मन्त्र "गायत्री" नारीशक्ति हुन् र गुरूले मन्त्ररूपमा गायत्री दिंदै नारीशक्तिको दैनिक जीवनमा कतिविध्न महत्व छ भन्ने प्रष्ट पारेका छन् |
मन्त्रद्रष्टा ऋषिकाहरूको ज्ञानले वैदिक संस्कृतिमा महिला र पुरुष दूवैका लागि शिक्षादीक्षाका ढोका खुला थिए भन्ने प्रमाणित गर्छ | वेदमा अपाला, घोषा, गार्गीआदि ऋषिकाको उपस्थिति र तिनको प्रज्ञा बुझ्ने र जान्नेहरूका लागि वैदिक संस्कृति पूर्णतया नारीमैत्री थियो भन्ने तत्थ्यलाई सहजरूपमा स्वीकार गर्छन् तर नारीवादका नाममा केवल नकारात्मक कथा र प्रसंग मात्र कोट्याएर तत्थ्य विगार्ने र त्यसका आधारमा "नारीवादी" कहलिने मनसाय लिएकाको कुनै औषधि छैन | साथै, वर्तमान हिन्दू संस्कृतिमा नारीप्रति विभेद छैन भन्ने धृष्टतापूर्ण समर्थन मेरो छैन तर समकालीन विश्वका अन्य समुदायमा नारीहरूको स्थान र नारीवादको तुलना गर्दा बैदिक संस्कृतिले "शाक्त दर्शन"का रूपमा नारीको सर्बोच्चतालाई सैद्धान्तिक र व्याबहारिक रूपमा स्वीकार गरेको छ भन्ने तत्थ्यमा शंका रहन्न |
नेपाली नारीवादीहरूले नारीवादका विषयमा लेख्दा शाक्त दर्शनको उल्लेखसम्म गर्न सकेका छैनन् | विश्वविद्यालयमा गुरु तथा गुरूआमाहरूले पश्चिमा नारीवादको गुणगान र वैदिक सामाजिक व्यबस्थामा नारीलाई कुनै सम्मान छैन भन्दै ठाडो निर्णय दिने पूर्वाग्रह बाहेक केही भेटिन्न | कार्लमार्क्स जन्मनु भन्दा हजारौं वर्षपहिला गार्गीले याग्यबल्क्यसंग ठाडो प्रश्न गरेकी थिइन् भने ऋग्वेदमा अपालाले विवाहपछि परिवारमा, सम्पत्तिमा समान अधिकार दिएमात्र दाम्पत्य जीवनमा प्रवेश गर्ने बचन लिएर मात्र विवाह गरेकी थिइन् | सीता होउन वा दमयन्ती वा द्रोपदी - यी सबैले नारीअधिकारको प्रयोग गरेर विवाह गरेका थिए | यस्ता हजारौं प्रसंग वेद, ब्राह्मण, उपनिषद, पुराण तथा तन्त्रग्रंथहरूमा राइछाई छन् | "हिन्दू धर्मले नारीलाई कुनै अधिकार दिएको छैन" भन्ने स्वचालित पूर्वाग्रह बोकेका गुरूवा र गुरूआमासंग अपाला, घोषा, गार्गी वा कुन्तिको प्राचीन इतिहास पढ्ने र महिलाप्रतिको सकारात्मक इतिहास आफ्नो लेखमा उल्लेख गर्ने गरिमा छैन |
पश्चिमका महिलाहरूले आरम्भ गरेको अधिकारवादी नारीवादी आन्दोलनका कारण विश्वका धेरै महिलाहरूले "समानता"को अधिकार प्राप्त गर्ने दिशातिर सफलता प्राप्त गरेका छन् | नेपाली नारीहरूले पनि त्यसबाट सहयोग प्राप्त गरेका छन् | नारीवादी आन्दोलनले स्थापित गर्न खोजेको सकारात्मक पाटोको सम्मान गरिनुपर्छ तर आफ्नो संस्कृतिमा दुर्गुणमात्र देख्ने र अर्काको विष्टामा पनि सुगन्ध देख्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ | यदि हिन्दू संस्कृति पूर्णतया नारीविरोधी भएको भए महिलाहरू देवीका रूपमा पुजिने थिएनन्, धर्मगुरुका रूपमा उच्चतहको सम्मान प्राप्त गर्ने थिएनन्, "नारीनै घर हुन्" भन्ने उच्च मान्यता र भनाई सामाजिक तथा सांस्कृतिक चलनमा हुने थिएन |
शाक्तदर्शन अर्थात् वैदिक नारीवादी दर्शनका पनि तीन आयाम छन् |: अद्वैतवादी शाक्तवाद, द्वेताद्वेतवादी शाक्तवाद र द्वैतवादी शाक्तवाद | केही शाक्त आचार्यहरूले अद्वैतवादीहरूले झैं "शाक्त सर्वसत्तावाद"को प्रतिपादन गर्दै अन्यलाई निषेध गरेका छन् र अनन्यतालाई स्वीकार गरेका छन् | दोश्रोमा शक्तिलाई एक र अनेक दूवै रूपमा स्वीकार गरिएको छ जसलाई "डेमोक्रेटिक शाक्त्यवाद" भन्न मिल्छ भने तेस्रो द्वेतवादी शाक्त चिन्तनमा स्त्री र पुरुषसरह समन्वयमा विश्वको सृष्टि, पालन र संहार गरेको तत्थ्य उल्लेख छ | उदाहरणका लागि सांख्यदर्शनमा पुरुष र प्रकृतिले समन्वय गरेर विश्वको व्यबस्था मिलाएका छन् |

म पनि बोल्न सक्छु

 म पनि बोल्न सक्छु

नेपाललाई लोकतान्त्रिक गणतन्त्र बनाएर विकास र समृद्धिको सपना देखाउनेहरूले नेपालीको दुर्दशाको लागि जिम्मा लिनुपर्छ, होइन भने जनता अर्को परिवर्तनका लागि तैयारी गर्न अवेर गर्ने छैनन् !! सत्ताको स्वाद लिइरहेका र लिन आतुर नेताले गणतन्त्रको जतिसुकै वखान गरे पनि जनता अर्थात् सर्वसाधारणले पत्याएका छैनन् | राजतन्त्र विरुद्ध “एतिवर्ष जेलनेल सहेको” भन्ने वाहेक वर्तमान राजनैतिक नेतृत्वले सुशासन, प्रगति र विकासको प्रत्याभूति दिन सकेका छैनन् | उल्टो, यिनका दलीय सिण्डिकेटहरूका कारण हरेक ठाउँमा अकर्म्यता, अनुत्तरदायिपन तथा दलीय संरक्षणमा अपराधबाट उन्मुक्ति प्राप्त गर्ने चलन बढेको छ | एस्तो अवस्था र व्यबस्था बुझ्दाबुझ्दै गणतान्त्रिक लोकतन्त्रका लागि शुभकामना दिन असजिलो भएको छ | जहाँसम्म गणतन्त्रले संस्थागत गरेका परिवर्तनहरू हुन् ती सबै परिवर्तन खराव छैनन् तर तिनलाई अझैं बलियो बनाउनका लागि “सहमत” हुने कुनै वलिया कारण छैनन् | झन् प्रदेशस्तरीय संरचनाहरू त केन्द्र र स्थानीय सरकार विच दलाली गर्न दलाली तन्त्रका रूपमा नेता व्यबस्थापनका लागि रचना गरिएको भन्ने सिद्ध भएको छ |
गणतन्त्रवादका नाममा रोपेकी जातिवादको विषालु रुख पूर्वतिरबाट उद्दण्ड हुँदैछ, बर्ग सङ्घर्षमा विश्वास गर्ने मार्क्स पनि नेपालको नेपालको मार्क्सवाद देखेर चक्कर आउँदो हो | २६० वर्ष पुरानो राजतन्त्र फालेको, नेपालमा जनभावना विरुद्ध धर्मनिरपेक्षता लादेको, दलीय सर्वसत्तावादका आडमा दलालीतन्त्रलाई संस्थागत गरेको र जवजव जनताले दलीय भष्ट्राचार विरुद्ध आवाज बलियो पार्छन्, दलहरू मिलेर गतार्थ भएर नागरिक जीवन विताइरहेका राजा विरुद्ध विष बमन गर्दै आफ्नो पाप लुकाउने प्रयत्न गर्छन् |
नेपालबाट राजतन्त्र विदा भएको पनि १८ वर्ष वितिसकेको छ | आजको १८ वर्षे नेपालीले देखेको/भोगेको दलीय सर्वसत्तावाद, विदेशी भक्ति, नेपाली मौलिकता र जनताको सांस्कृतिक तथा धार्मिक जीवनप्रति शत्रूता र सर्वदलीय सहमति गरेर हत्या, जघन्य भष्ट्राचार तथा सत्ता टिकाउनकै लागि गरेका अनाचारहरू हो | राणातन्त्र र राजतन्त्रलाई आजको पुस्ताले चिन्दैन | यदि चिन्छ भने गणतन्त्रका नाममा अव्यवस्थाहरू फैलाएर युवाशक्तिलाई विदेश जान बाध्य पार्ने र तिनको रेमिट्यान्समा "गणतन्त्र"का राजा बन्नेहरूलाई हो |
लोकतन्त्र होस् वा प्रजातन्त्र आफैमा खराव हुँदैनन् | तर नेपाली लोकतन्त्रको विडम्वना भन्नुपर्छ कि यसका सारथीहरू एतिधेरै करप्ट र भोका रहेछन् कि आफ्नो भोक शान्त पार्न भूटानी शरणार्थीहरूको नाममा आफ्नै नागरिकहरुलाई बेच्न पनि पछि परेनन् | एतिबिध्न हुँदा पनि दलीय संयन्त्रको नाममा तीन "शीर्ष"हरूको निर्लज्ज वैठकहरूले भ्रष्ट्राचार तन्त्रलाई सुरक्षित पार्ने षड्यन्त्र गरिरहेको छ | दलीय "झोले" वकीलहरू भ्रष्ट्राचारीलाई जोगाउन तम्तयार छन्, विद्यार्थीहरू भ्रष्ट्राचारीका पक्षमा मौन छन् आदिआदि | दक्षिण अफ्रिकेली, पश्चिम अमेरिकेली गणतन्त्रका मालिकहरूबाट सायद यो सीप सिकेको हुनुपर्छ |
लोकतन्त्र वा गणतन्त्र आफैले गल्ती गर्दैन | लोकतन्त्र वा गणतन्त्रलाई माया गर्ने नेपालीको ठूलो संख्या छ | यही मायाका कारण जनमतका माध्यमबाट नेतृत्व चयन हुने गर्छ | हरेक पटक जनताको अभिमतमा कुठाराघात भएको छ | जनताबाट कार्यक्रता बनेका व्यक्तिहरू चाहेर होस् वा नचाहेर दलालीतन्त्रको एउटा अङ्गका रूपमा रुपान्तरित भएर सघन भ्रष्ट्राचार गर्न नेतृत्वलाई सघाई रहेको मात्र होइन प्रोत्साहित पनि गरिरहेको छ | साच्चिकै भन्ने हो भने आजका लोकतन्त्रवादीहरू अविश्वास, भ्रष्ट्राचार तथा दलालीतन्त्रका पर्यायवाची बनेका छन् | शीर्ष नेताहरूले सफाई दिंदैमा जनताले विश्वास गर्ने अवस्था छैन |
लोकतन्त्र वा गणतन्त्रको सुन्दर पक्ष भनेकै जवाफदेहिता हो | मान्छेले गल्ती गर्न सक्छन् - यो प्राकृतिक सत्य हो | तर गल्ती गर्दै जाने तर त्यो गल्ती स्वीकार गरेर सुधारको बाटो अवलम्बन गर्नु भन्दा अनेकौं षड्यन्त्र गरेर आफुलाई "सत्यब्रत" देखाउनमा केन्द्रीत छन् | सबै दलका सबै नेता र कार्यक्रतालाई एकै डालोमा हालेर वदनाम गर्नु उचित हुँदैन तर आजको दलीय संयन्त्र "संस्थागत रूपमा भ्रष्ट्राचार र दलाली गर्न सिकाउने विश्वविद्यालय"का रूपमा स्थापित भएर काम गरिरहेका छन् | आज कुनै पनि साधारण व्यक्ति राजनैतिक दलका नेता वा कार्यक्रता "इमानदार" हुन्छन् भन्ने कुरा मान्न तयार छैन | सत्य यही हो |
गणतन्त्र सस्थागत गर्ने नाममा नेता व्यबस्थापन गर्ने संयन्त्र विकास गरिनु, समाजसेवा गर्छु भनेर आएका व्यक्तिहरूलाई जनप्रतिनिधि होइन "तलव लिने" कर्मचारीमा रुपान्तरण गरेर समाज सेवाको पवित्र चेतनालाई "तलवी जनप्रतिनिधि" बनाउनु गणतन्त्रवादीहरूले गरेको जघन्य निर्णय हुन् | जनप्रतिनिधिको पेट छ, बालबालिका छन् तिनले पनि तिनको पालन गर्नुपर्छ र पैसा चाहिन्छ तर तलव लिने व्यक्ति जनप्रतिनिधि हुनै सक्दैन - यो पनि सत्य हो | गणतन्त्र दिवस मनाउंदै गर्दा गणतन्त्रवादीहरूले जवाफ दिनुपर्छ कि जनप्रतिनिधिलाई तलव दिने व्यबस्था गरेपछि भ्रष्ट्राचार किन घटेन ?
वि.स. २०४७ मा पहिलो पटक तत्कालीन अर्थमन्त्री रामशरण महतले उदार अर्थतन्त्रको लागि अत्याधिक नाफामा चलिरहेका सरकारी संस्थाहरूलाई निजीकरणमा लैजाने निर्णय गरे | निजीकरणले देश किन विकास भएन - यसको उत्तर दिने दायित्व गणतन्त्रवादीहरूकै हो भने नाफामा चलिरहेका संस्थान, उद्द्योग, कलकारखानामा तथाकथित "मजदुर" संगठन खोलेर ती संस्थाहरूलाई ध्वस्त पार्ने पापका मतियार पनि दलनै हौँ भन्ने स्वीकार गर्नुपर्छ कि पर्दैन ? अनुसन्धानहरूले प्रस्टसंग भनेका छन् कि सरकारी तन्त्र, विवि तन्त्र, सरकारी उद्योग तथा कलकारखानाहरू दलीय भागबन्डाका सिकार भएर वन्द भएका हुन् | आज कुनै पनि गणतन्त्रवादी यसको उत्तरदायित्व लिन चाहन्न | जवजव उत्तरदायित्वको कुरा आउँछ "नाफा नभएका संस्थानहरू वन्द गरिएको" भन्ने जवाफ आउँछ | अहिलेको पुस्ताले गणतन्त्रवादीहरू "उत्तरदायित्वहीन" हुन्छन् भनेर बुझ्दैछन् |
गणतन्त्रवादीहरूले जतिसुकै गफ हाँके पनि धर्मनिरपेक्षता, जातिवादी सोच र विदेशी प्रभुतालाई स्वीकार गरेको गणतन्त्र पटक्कै मन परेको छैन | हिन्दूराष्ट्र कुनै मुद्दा नै होइन | संबिधानले गरेको धर्मनिरपेक्षताको परिभाषालाई सम्मान गरेर धर्मपरिवर्तनकारी शक्तिउपर कठोर नियन्त्रण गरिएको भए जनताको चित्त दुख्ने थिएन | वाहिरी रूपमा गणतन्त्रवादी देखिए पनि धेरैजसो दलहरूले इसाईहरूको भक्ति गरेका छन् | नेपालको मौलिकता नष्ट हुँदै गर्दा रमाइलो मान्ने गणतन्त्रवादीसंग जनताको वितिष्णा बढ्दो छ | साथै सरकारी उद्योगहरू वेचेर "एउटा पनि उद्योग स्थापना गर्न नसकेको नेतृत्वप्रति युवाशक्तिको विश्वास छैन | सायद यो सत्य गणतन्त्रलाई होइन गणतन्त्रवादीहरूलाई पचाउन सजिलो छैन तर पचाइरहेका छन् |
एतिबिध्न हुँदाहुँदै पनि मैले यही लोकतान्त्रिक गणतन्त्रका कारण यसरी लेख्ने स्वत्रन्त्रता प्राप्त गरेको हुँ र जनताका रूपमा त्यो अधिकारको प्रयोग गरिरहेको छु भन्ने तत्थ्यचाहिं अनदेखा गर्न सक्दिन | विदेशी प्रतिमान बोकेको, विदेशीलाई प्राथमिकता दिने र मौलिकताको साटो तथाकथित प्रगतिशीलता र समाजवादका नाममा जनतालाई धोका दिने गणतन्त्रप्रति कुनै सहानुभूति वा समर्थन छैन | निश्चयनै, मजस्ता सर्वसाधारणले यसरी बोल्नु/लेख्नु गणतान्त्रिक व्यवस्थाका लागि असल लक्षण होइन | नेताले बुझेर पनि बूझ पचाउने छन् तर जनताले कुरा बुझेका छन् र आशाको अर्को बाटो पनि जनताले अवलम्बन गर्ने छन् |
स्वस्तिअस्तु

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...