Saturday, September 1, 2018

जगदगुरु श्रीकृष्णको गुरुकुल

मथुराको राजा कंशको अन्त्य गर्दा श्रीकृष्णको उमेर ११ वर्ष थियो | (कहीं ७ र ९ पनि भन्ने गरिएको छ) तेस बखतसम्म गोकुलमा कृष्ण र बलरामले कुनै औपचारिक शिक्षा प्राप्त गरेका थिएनन् | बसुदेव र नन्दले सल्लाह गरेर श्रीकृष्ण र बलरामलाई शिक्षाध्यनको लागि ऋषि सांदीदिपनीको गुरुकुलमा पठाउने निर्णय गरे |

तेस बखत सबै गुरुकुलहरू अनिवार्य रूपमा आवासीय हुन्थे | राजाकै सन्तान भए पनि गुरुकुलमा सर्वसाधारण सरह नै विद्यार्जन गर्नुपर्थ्यो | साथै, गुरुले ठानेमा बटुकहरूको कठोर परीक्षा पनि लिने गर्थे | अभिभावक वा मातापिताले आचार्यको निर्णयमा औला ठड्याउन पाउन्नथे | कृष्ण र बलराम पनि सामान्य विद्यार्थी सरह नै गुरुकुलमा भर्ना भए |

बलराम र श्रीकृष्ण पनि मृगछाला, जनै र दण्ड लिएर आचार्य आश्रम पुगे | सम्भवत: श्रीकृष्ण र बलरामले पनि अन्य छात्रसरह नै गुरुकुलको नियममा बाँधिएर दैनिकीमा सलग्न भए | ब्रहममुहुर्त (सूर्योदय भन्दा ४ घडी पहिले) जाग्ने र वेलुका ९ बजेसम्म अध्ययन/अध्यापन गर्ने, भिक्षाटन गर्ने आदिकाम श्रीकृष्णले पनि गरेको भन्ने स्पस्ट उल्लेख गर्ग-संहिताले गरेको छ |

जे-होस्, श्रीकृष्णले एउटा साधारण विद्यार्थी सरह नै रहेर ६० दिनमा सम्पूर्ण विद्याहरू सिके | श्रीकृष्ण असामान्य थिए | तेसैले उनले साठी दिनमा सम्पूर्ण १४ विद्या र ६४ कला सिके | चारवेद, चार उपवेद (धनुर्वेद) अर्थशास्त्र, गन्धर्ववेद र आयुर्वेद) र वेदांग (शिक्षा, कल्प, व्याकरण, ज्योतिष, निरुक्त र छन्दशास्त्र) सिक्न सकें | जान्ने विद्यार्थीलाई कक्षा फड्काउने चलन आज पनि नेपालमा प्रचलित छ भने १८ वर्षको उमेर मै प्रोफेसर बनेर आलिया सबुरले १९०९ मा चर्चा पाएकै थिइन् | भारतका आकृत जायसवाल ७ वर्षको कलिलो उमेर सर्जन बनेका थिए |

शिक्षा पूर्ण भएपछि गुरुदक्षिणाका रूपमा श्रीकृष्णले गुरुका मृतछोराहरूलाई स्वर्गबाट झिकाएकाको अद्भूत प्रसंग छ | श्रीकृष्ण गुरुकुलको लागि दाउँरा खोज्न जङ्गलमा गएका थिए भन्ने कुरा सुदामा र चनासंग जोडिएको कथाले स्पष्ट पार्छ |

श्रीकृष्ण र बलराम शिक्षा ग्रहण गरेपछि पुन: मथुरा नै फर्किए | तर उनी कहिले पनि राजा बनेन् | वृन्दावनमा हुर्केको खेलेको एउटा सामान्य गोठालाले कंशको बध गर्ने, द्वारिकाजस्तो नगर निर्माण गर्ने र महाभारतजस्तो ठूलो युद्धको मुखमा श्रीमद्भगवत-गीताजस्तो अद्भूत प्रवचन गर्ने कुराहरू श्रीकृष्णका लागि मात्र सम्भव छ |

मैले यहाँ उल्लेख गर्नै पर्ने विषय के हो भने श्रीकृष्णले आफु भगवान् भएर पनि एउटा सामान्य बालबालिकासरह गुरुकुलमा जानु र गुरुको आज्ञा पालन गर्दै पढ्नु नै महत्वपूर्ण कुरा हो | एसले प्राचीन भारतवर्षमा "शिक्षा"को महत्व कतिधेरै रहेछ भन्ने थाहा हुन्छ | भगवान आफै गुरुकुलको विद्यार्थी बनेर अरूलाई शिक्षाप्रति जागरुक गरेको र गुरु, आचार्य र मातापिताप्रति सम्मान व्यक्त गर्नुपर्छ भन्ने मार्गदर्शन गर्छ |

श्रीकृष्ण जेलखानामा जन्मिएका बालक हुन् | श्रीकृष्ण बाल्यकालमा धेरै पटक हत्याको प्रयासबाट जोगिएका एकजना बालक हुन् | श्रीकृष्ण नौनीचोर, लुगाचोर र  मनका चोर हुन् | श्रीकृष्ण मातापिताका आज्ञाकारी असल छोरा हुन् | श्रीकृष्ण अद्भुत क्षमता भएका एउटा जादुगर हुन् | श्रीकृष्ण असल विद्यार्थी हुन् | श्रीकृष्ण असल र सहयोगी मित्र हुन् | गोपिनीका प्रेमी हुन् | श्रीकृष्ण १६०१०८ महिलाका पति हुन् | श्रीकृष्ण योगेश्वर हुन् | श्रीकृष्ण शान्तिदूत हुन् | श्रीकृष्ण सर्वोत्तम बीर हुन् | श्रीकृष्ण सबैभन्दा कनिष्ट सेवक हुन् | श्रीकृष्ण दार्शनिक हुन् | कृष्ण जगदगुरु र आचार्य हुन् | श्रीकृष्ण असल मित्र हुन् | श्रीकृष्ण सङ्गीतकार तथा मुरली वादक हुन् | श्रीकृष्ण एउटा असल शिक्षक हुन् | विश्वमा सबैले अनुसरण गर्न सकिने एकमात्र व्यक्तित्व हुन् | उनी अद्वितीय विराट पुरुष हुन् | श्रीकृष्ण पूर्णपुरुषोत्तम र हरेक मान्छेले पछ्याउनै पर्ने विराट व्यक्तित्व हुन् |

मेरो जीवनमा सबैभन्दा प्रभाव पर्ने व्यक्तित्व श्रीकृष्ण कै हो | जेलखानामा जन्मेको, गोठालाले हुर्काएको, शत्रुहरूले आफ्नो मूलभूमिबाट खेदेको अवस्थामा पनि आफ्नै प्रयन्त र साहसले "जगदगुरु" बन्ने एकमात्र श्रीकृष्ण नै हुन् | श्रीकृष्णले जतिधेरै प्रेम सिकाउनु भएको छ तेतिनै धेरै निर्लिप्त हुन पनि सिकाउनु भएको छ |

श्रीकृष्णको जन्मलाई उत्सवका रूपमा मनाउने पर्व "श्रीकृष्णअष्टमी"का अवसरमा हामी सबैको शिक्षा, गुरू र गुरुकुलप्रति एकबद्धता बनोस् | हामी सबै श्रीकृष्णको गुरुत्व, आचार्यत्व तथा ईश्वरत्वको छायामा हुर्कन सकौं | सबै श्रीकृष्णझैं स्वधर्मको रक्षा, स्वसंस्कृतिको रक्षा र अन्धविश्वासप्रति असहमत हुने हामी सबैमा साहस प्राप्त होस् | हामीमा धर्मका लागि अर्थात्सआफ्नो्जरोकिलोका लागि स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह अर्थात् आफ्नो धर्मसंस्कृतिप्रति हामी भित्र प्रेम जगोस् |

Wednesday, April 11, 2018

पारचुके

पतिपत्नी र पारचुके 

एक साँझको कुरा हो | कुनै विषयमा लोग्नेस्वास्नी वीच झगडा पर्यो | लोग्नेले एक थप्पड स्वास्नीको गालामा बजाए | स्वास्नीले पनि गोडाको चप्पल खोलेर लोग्नेतिर फ्यालिन् | थप्पडको जवाफ चप्पलले फर्क्यो | दूवै फत्फताउँदै घरभित्र पसे | आ-आफ्ना कोठामा गएर ढोका थुने |

भोलीपल्ट लोग्नेका हितालुहरूले भने “लोग्नेलाई चप्पल बजाएर तेसले कुलको विजेत गरी | एसलाई तेसै छोड्ने हो भने सबैले जोइको हरुवा भन्छन् | एसलाई ठीक लगाउनुपर्छ | लोग्ने भनेको लोग्ने नै हुन्छ | आइमाईले लोग्नेको इज्जत गर्नुपर्छ |” लोग्ने श्रीमतीलाई तह लगाउन कस्सिए |

कसैले माइतीतिर फोन गरिदिएछ | भोलीपल्ट नै माइतीले आफ्नी छोरीलाई लिएर गए | संगै आठवर्षकी छोरी पनि थिइन् | माइतीमा आफन्त र साथीले भने “एस्तो हात उठाउने लोग्नेसंग बस्नुहुँदैन | नारीले पुरुषको अत्याचार सहेर बस्नुहुँदैन | यो मान्छेलाई पाठ पढाउनै पर्छ | आखिर लोग्ने र स्वास्नी वरावरी हुन् |” श्रीमती पनि लोग्नेलाई सवक सिकाउन तम्तयार भइन् |

श्रीमान्/श्रीमती एकअर्कोलाई कुनै पनि हालतमा तह लगाएरै छोड्ने मनस्थितिमा थिए | केही आफन्तले ती दुई जोइपोईलाई जोड्ने प्रयास गरेको काम लागेन | जोड्ने भन्दा तोड्नेको शक्ति बढी भयो | अनि, वकिलमार्फत पारचुकेको “नोटिस” लेनदेन भयो | वकिल र तोड्नेहरू निकै खुसी थिए | तर लोग्ने र स्वास्नी दूवैलाई पारचुकेको नोटिस बिझेको थियो | अहङ्कारको अगाडी झिनो आशाको कुनै हैसियत नै थिएन |

फेरी लोग्नेस्वास्नीको भेट हुने मौका नै जुरेन | माइती र घरको दूरी निकै बढ्यो | अनि, माइतीवाल र घरबालको सल्लाहले पारचुकेको निर्णय गराए | कोर्टमा फाइल पेस भयो | पारचुकेको फर्मालीटीका लागि पतिपत्नीका सहयोगीहरूले काम गरे | कोर्टमा पनि एकआपसमा भेट्न हुनबाट जोगिने गर्थे | कर्के आँखाले हेरेर एकअर्कालाई “खुच्युंग” भन्थे |

पारचुकेको दिन एकएकजना सहयोगीसंग आएका पतिपत्नीले कोर्टबाट पारचुके भएको कागज फेला पारे | दूवैले आ-आफ्नो जीत भएको ठाने | अनि, संयोग नै भन्नुपर्छ पारचुकेको कागज पाएका ती दूबै एउटै रेस्टुरेन्टमा खाजा खान पुगे | दुवैका आफन्त अर्को टेवलमा बसेर गफ गर्दै खाजामा व्यस्त देखिन्थे |

अर्को टेवल खाली नभएकोले पूर्वलोग्नेस्वास्नी एउटै टेवलमा आमनेसामने भए | वेटरले खाजा ल्याएर दियो | आँखा जुधे | लोग्नेले भने “बधाई छ | तिमी स्वतन्त्र भयौं |” पत्नीले पनि जवाफ दिइन् “तपाईलाई पनि बधाई छ | अव हामी स्वतन्त्र छौँ | दूवैजना एकैछिन चूप रहे |

अचानक पूर्वलोग्नेले भने “क्षमा गर | मैले तिमीलाई थप्पड हान्नु हुँदैनथ्यो | मैले गल्ती गरेकै थिएँ |” पत्नीले पनि भनिन् “हो, मैले पनि चप्पलले हान्नु हुँदैथ्यो | मैले पनि गल्ती त गरेकै हुँ नि |” पतिले भने “मैले अरूको कुरा सुनेर गल्ती गरें | छोरीले पक्कै मलाई याद गर्छिन् होला ?” “हो नि, धेरै याद गर्छे | उसले वुवाको माया गुमाएकी छे – पत्नीले कुरा थपिन् |

“एउटा कुरा भनौं” - पतिले भने “म आज पनि तिमीलाई प्रेम गर्छु | तिम्रो माया मैले विर्सन सकिरहेको छैन | पारचुकेको कागज हातमा हुँदा पनि मलाई “हामी लोग्नेस्वास्नी हैनौं” भन्ने विश्वास नै लागिरहेको छैन |” पत्नीले पनि थपिन् “मैले पनि तपाईलाई धेरै नै मिस गरिरहेकी छु | हरेकपल तपाईंको याद आइरहन्छ | के तपाईंले समय मै औषधि त खाइरहनु भएको छ नि ?” दुवै आफ्नो प्रेममय अतीतमा हराए | भावुकताले मन गह्रुंगो भयो |

पूर्वलोग्नेले बोले - “मैले तिम्रो लागि हरेक महिना १० हजार दिनुपर्छ | छोरी बढ्दै छिन् | यिनको खर्च पनि बढ्दै जाने हो | कोर्टले तिमीलाई २० लाख दिनुपर्ने आदेश दिएको छ | बरू नयाबानेश्वरमा रहेको फ्लेट नै तिमीले लिए हुन्छ | मसंग नगद छैन |” “तर त्यो फ्लेटको मूल्य त ८० लाखभन्दा बढी छ नि, मलाई त वीस लाखमात्र चाहिने हो | बरू त्यो बेचेर मलाई बीस लाखमात्र दिनुस् न | बरू पैसा छैन भने अहिले नदिए पनि हुन्छ | मसंग केही नगद छ – पूर्वपत्नीले भनिन् |

“तिमी र छोरी नै छैनौं भने मलाई सम्पतिको के काम ? कमसेकम तिमी र छोरी त फ्लेटमा आरामसंग बस्न सक्छौं नि | मासिक १० हजारले खान पुग्छ, डेराको टेन्सन पनि रहन्न | म त्यो फ्लेट भोलीनै तिम्रो नाममा लेखिदिन्छु” - भन्दै गर्दा पूर्वपतिको आँखामा छल्किएको आँशु स्पष्ट देखिन्थ्यो | पत्नीको आँखामा पनि लोग्नेको माया सम्झेर आँसु रोकिएन | दुवैको मनमा प्रेम पलाइरहेको थियो |

खाजा सकियो | उठ्ने बेला आयो | दूवैका आँखामा आठवर्षकी मायालु छोरीको अनुहार आयो | आँट गरेर पतिले सोधे “के हामी पुन: पतिपत्नी भएर जिउन सक्दैनौं, के हाम्रो माया पुन: स्थापित हुन सक्दैन ?” पत्नी एकै छिन स्तम्भित भइन् | दुवैले आ-आफ्नो हातमा रहेको पारचुकेको कागजलाई नियाले | आँखामा घृणा होइन प्रेम र विश्वासका पलायो |

पुन: ती दूवैको मनको गहिराईमा पूर्णप्रेम जागेर आयो | घृणाका बीऊहरू बिलाए | अचानक दूवैका हातहरूले पारचुकेको कागज च्यातेर हावामा उछाले | दूवैले मुसुक्क हाँस्दै एकअर्काको अनुहार हेरे | एकअर्काको हात समातेर एकै बाटो लागे | अरुले बुनेको असमझदारी र अहंकारको जालो उघ्रिएको थियो | थप्पड र चप्पलले निम्त्याएको अभिमान पुन: प्रेम र विश्वासमा वदलिएको थियो |

तेस दिन दुवैले बुझेका थिए - “अहंकार नै प्रेमको शत्रु हो | क्रोध अहङ्कारको इन्धन | अरूले जलाएको अहंकारको आगोमा प्रेमको बलिदान अनुचित मात्रै होइन अन्याय हो | घृणा, अहङ्कार तथा उपेक्षा समस्याको समाधान होइन | प्रेम, समानानुभुति र सहयोग सम्बन्धका आधार हुन् | पारचुके अन्तिम विकल्प होइन | दाम्पत्यजीवन जीवन भन्दा महत्वपूर्ण पारचुके हुनैसक्दैन |”

“जीवन भरी संगै बस्ने छौँ, संगै भोजन गर्ने छौँ र यो गृहस्थीको रथ संगै मिलेर हाक्ने छौँ | बाटोमा दुखजिलो आए मिलेर सामना गर्ने छौँ | घृणा, अहङ्कार र दम्भका ठाउँमा प्रेम, समर्पण तथा उदारताको बाटो अगाल्ने छौँ” – ऋग्वेदका यी मन्त्र गाउँदै जीवनको बाटोमा पुन: पहिले झैं दम्पत्तिधर्ममा होमिए |
 
सर्वाधिकार सुरक्षित



Monday, March 12, 2018

उनीहरूले एसो भने

उनीहरूले एसो भने
बेलायती नागरिक ६२ वर्षकी जेना त्रिविविबाट विद्यावारिधि गर्दैछन् | सुन्नेहरू छक्क पर्छन्, उनको विषय रोचक छ - धामीझाँक्री | हो,, तेही धामीझाक्री जसले आधुनिक औषधि नेपाल न भित्रिदासम्म असंख्य मान्छेहरूलाई रोग मुक्त पार्थे र आज पनि परिरहेका छन् |

मसंग कुरा गर्ने क्रममा उनले भनिन् "मेरो विचारमा धामीझाक्री मानसिक देउता हुन् जसको भौतिक अस्तित्व छैन तर त्यो विचार एतिबिध्न बलियो छ कि विचारले धेरै मान्छे निको हुन्छन् | विचारका भरमा मान्छे स्वास्थ्य हुने एस्तो विधा संसारमा कहीं छैन |

मलाई अचम्म लाग्छ, नेपाली मान्छेहरू किन हामी गोरोछाला भएको मान्छे जान्नेहुन्छन् भ्रममा छन् ? हाम्रो समाज र विश्वविद्यालयहरूले कल्पनासम्म नगरेको ज्ञान नेपाली गाउँगाउँमा लुकेर बसेको छ | हामी किताव हेरेर काम गर्छौं तर तपाईंका गाउँगाउँमा पुस्तौपुस्ताबाट आएको अनुभवको ज्ञान छ | धामीझाक्री पनि परम्परागत ज्ञान हो |

नेपालीहरूले हामी गोराहरूको बाटो नकुरेर ती ज्ञानहरू खोज्नुपर्छ | विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई आफ्नै गाउँघरमा रहेको ज्ञान खोज्ने प्रोजेक्ट दिनुपर्छ | तर मैले यहाँ उल्टो भेटेकी छु | आफ्ना मौलिक विषयमा पटक्कै ध्यान दिंदैनन् |

विद्यार्थी र प्राध्यापक दूबैले धेरैले लेखिसकेका, बोलिसकेका पश्चिमा लेखकहरूका सिद्धान्त वा पुस्तकमा आफ्ना थेसिस लेख्छन् | मेरो लागि यो वृथाको काम हो | बरू, एउटी ग्रामीण महिलाले कसरी करेसाबारीमा जिरे खुर्सानी फ़लाउछिन् भन्ने विषयमा एउटा आर्टिकल लेखे त्यो धेरै महत्वपूर्ण हुन्छ | विदेशी र स्वदेशी दूबैलाई र पढ्न योग्य पनि हुन्छ |"

हामी चण्डीगढ जादै थियौं | उत्तरप्रदेशको मथुराबाट एकजना विदेशी हाम्रो अगाडीको सीटमा चढ्न पुगे | १८ घण्टासम्म संगै यात्रा गर्नु थियो | गोरो छालाको मान्छे भएकाले पनि होला मैले हेलो भनिहाले | हामी तीनैजना (हामी पतिपत्नी र उ) विदेशी नै भएकोले कुरा गर्न सजिलो भयो |

उनी अमेरिकामा परामर्श विज्ञ रहेछन् | आफै पनि मनोविज्ञानको विद्यार्थी भएको नाताले परामर्शका विषयमा कुराकानी हुनथाल्यो | उनी सिबिटीका विज्ञ रहेछन् | उनी आफ्नो प्राक्टिसबाट सन्तुष्ट रहेनछन् |

उनले भने "म विगत २८ वर्षदेखि काउन्सिलिंगको प्रेक्तिस गरिरहेको थिएँ | मेरो प्रेक्तिसके धेरै मान्छेहरूले मानसिक स्वास्थ्यलाभ गरेका होलान् तर म भने आफैमा खुसी थिइन | म जति प्राक्टिस गरेर अर्कोलाई भर्ने प्रयत्न गर्थे भित्रभित्र म आफै भने खोक्रो पाउँथे |

यसै विचमा मैले एकजना भारतीय मूलका विद्वानले गीताका विषयमा मनोबैज्ञानिक लेख लेखेको पढ्न पाएँ | मलाई तेसपछि मलाई गीता पढ्ने रहर जागेर आयो | मैले अंग्रेजीमा अनुवाद गरिएका धेरै गीता पढें | तर ती अनुवाद ठीक छन् भन्ने कुरामा मलाई निकै शंका लाग्यो |

म नेपालमा आएर एकजना विद्वानसंग संस्कृत मैं गीता पढ्ने र बुझ्ने जमर्को गरें | दूईवर्ष सम्म पढेपछि म गीता र अन्य संस्कृतका कितावहरू सामान्य रुपमा बुझ्न सक्ने भएँ | अनि बल्ल थाहा पाएँ - काउन्सेलिंगका धेरै अत्यन्त ब्यबहारिक सिद्धान्तहरू पहिले नै संस्कृतका कितावमा लेखिएका रहेछन् |

मलाई अचम्म लाग्छ, भारतीय विश्वविद्यालय होस् अथवा नेपाली विश्वविद्यालय आफ्ना एस्ता रैथाने ज्ञानहरूको खोज र प्रकाशन किन गर्दैनन् र सधैं हामी विदेशीहरूको मुख ताक्छन् | तपाईं विश्वास गर्नुस् वा नगर्नुस् - काउन्सेलिंगको जति ब्यबहारिक प्राक्टिस संस्कृत ग्रन्थमा छ तिनको एकप्रतिशत पनि हामीसंग छैन | तपाईहरूले यो विषयमा ध्यान दिनु जरुरी छ |"

स्टिफेनसंग मेरो पहिलो भेट भक्तपुरको दरवारक्षेत्रमा भारको थियो २००९ को अप्रिल महिनाको ४.३० मिनटमा | उनी तेस बखत सत्तलमा उभिएका ढुंगेबाघसंग फोटो खिख्दै थिए | अनि, मैले पनि उनीसंग मेरो क्यामेराले हामी पतिपत्नीको फोटो खिच्न अनुरोध गरेको थिएँ | उनले अनुरोध स्वीकार गरे, फोटो खिचिदिए र अंग्रेज भए पनि नेपालीमा "धन्यवाद" भने |

उनले नेपालीमा धन्यवाद भने पनि श्रीमतीले "तपाईंलाई नेपाली आउँछ" ? भनेर सोधिन् र उनले पनि सहजमै उत्तर दिए "अँ, आउँछ नि" | यही संवादले उनीसंग मेरो मित्रता गाँसियो | उनी स्कटल्याण्डका नागरिक रहेछन् र बर्मिघम विविबाट पाश्चात्य दर्शनमा विद्यावारिधि गरेर पत्रकारितामा लागेछन् | सन् २००१ मा नेपाल छिर्दा उनी नेपालीहरू विच इसाईधर्मको सुसमाचार पुर्याउन चाहन्थे |

उनी भन्छन् "नेपाल आएपछि मैले नेपाली भाषा सिकें र फरकफरक इसाई-संस्थाहरूको लागि काम गर्ने सिलसीलामा नेपालका धेरै गाउँहरू घुमें | रहनसहन भोगें र बुझें | मैले संसारका धेरै देशहरू घुमेको थिएँ तर नेपालीहरूले जस्तो अतिथिको माया कसैले गरेको पाइन | यहाँका मान्छेहरू असाध्यै मिलनसार छन् | हामी "पराई धर्म" मान्ने मान्छेलाई तिनले विनाभेदभाव स्वागत गरेको भोगेर अचम्म लाग्यो |

हामी इसाईहरूविच पनि अनेकौं सम्प्रदाय छन् तर तिनले एकअर्काको धार्मिक अस्तित्वलाई पटक्कै स्वीकार गर्दैनौं | यहुदी, मुस्लिम र इसाई हामी सबै एकै रुखका सन्तान भएर पनि हामी एकअर्काको अस्तित्वलाई स्वीकार गर्दैनौं | तर हिन्दू, बौद्ध जैन तथा यहाँका अन्य रैथाने जातका मानिसहरू एकअर्कासंग मिलेर बसेको देखेर मलाई अचम्म लाग्यो | धार्मिकरूपमा एस्तो मिल्ने समाज मेरो लागि आश्चर्यको विषय थियो |

क्रमशः: मेरो रुचि धार्मिक सहिष्णुतातिर लम्कियो | मैले हिन्दू, बौद्धहरूको संगत गर्न थाले | मैले बुझे मेरा पैतृकधर्महरूको जग घृणा र निषेध रहेछ भने हिन्दू-बौद्धहरूको जग स्वीकार रहेछ | इसाई-मुस्लिमहरूले अर्कोलाई स्वीकार्न सक्दैनन् हिन्दुबौद्धहरूले अर्कालाई अस्वीकार गर्न सक्दैनन् | आजको विश्वलाई एस्तै सहिष्णु धर्मको आवश्यकता छ |

सन् २०११ मा मैले बनारसमा गएर हिन्दू बन्ने संकल्प लिएँ | मेरो संकल्पले म हिन्दू बनें | म आज तेस्तो धर्मको अंग बनेको छु जसले विश्वलाई आफ्नो कुटुम्व ठान्छ | हिन्दूधार्मिकतासंग घृणा गर्नेसंग पनि घृणा गर्दैन | मलाई कसैले धर्मपरिवर्तन गराएर हिन्दू बनेको होइन | मेरो अन्त:करणको स्वीकृतिले म हिन्दू बनेको हुँ |

इसाईहरू धर्म परिवर्तन गराउनुलाई आफ्नो धर्म ठान्छन् | दलित, आदिवासी, अनाक्षरहरूलाई इसाई धर्ममा दीक्षित गर्छन् | साँचो कुरा त के हो भने धेरैजसो गरिवहरू सेतो छाला भएका हामीजस्ता मान्छेलाई देखेर विदेश जाने र पैसा कमाउने लोभमा इसाई बन्छन् | नेपालमा इसाई धर्मको प्रचार लोभ र लालचले भएको छ |

मेरो अनुभवले भन्छ "विद्वान विदेशीहरू स्वत: हिन्दू बन्छन् भने गरिव नेपालीहरू इसाई बनाइन्छन् | सेवा-सुविधाको लोभ दिएर धेरै गरिवहरू इसाई बन्छन् | पास्टरहरू धनि हुन्छन् तर धर्मपरिवर्तन गरेकाहरूले लेवी तिर्नुपर्छ | यदि कुनै ब्राह्मण परिवारको मान्छे इसाई बन्यो भने उसलाई अगाडी सरेर धेरैलाई इसाई बन्न प्रेरित गरिन्छ | विदेशी इसाई-संस्थाहरूले टाउको गनेर आर्थिक सहयोग दिने हुँदा चर्चहरूले अनपढ र गरिवहरू टार्गेट बनाऊछन् | नेपालमा धर्मपरिवर्तनको काम गर्नु भनेको एउटा राम्रो व्यापार संचालन गर्नुहो |

जुन चर्च वा व्यक्तिले जतिधेरै धर्मपरिवर्तन गराउन सफल हुन्छ, तेति नै धेरै उसले आर्थिक सहयोग प्राप्त गर्छ, देश-विदेश घुम्न पाउँछ | संख्याका आधारमा घर,गाडीआदिको सुविधा मिल्छ | साच्चिकै भन्ने हो भने राजनैतिक पार्टीहरूले पनि धर्मपरिवर्तनमा सघाई रहेका छन् | धेरैले लहैलहैमा लागेर धर्म परिवर्तन गर्छन् बुझेर होइन |

जसले हिन्दू धर्मका ग्रन्थहरू पढ्छ, जसले हिन्दुबौद्धआदिका दैनिक क्रियाकलाप भाग लिन्छ उसले धर्म परिवर्तन गर्नै सक्दैन | हिन्दु धर्ममा एतिबिध्न सम्भावना छन् तर धर्मगुरु तथा विविहरूले एसको अनुसन्धानमा ध्यान किन दिंदैनन् र प्रसार-प्रचारमा किन ध्यान दिंदैनन् ? दिक्क लाग्छ | आफ्नो धर्म-संस्कृतिका सवल पक्षहरूलाई विश्वब्यापी बनाउन पहल गर्नेकाम त हामी हिन्दूहरूले नै गर्नुपर्छ | विदेशीहरूले एसको प्रचारप्रसार गरिदेलान् भन्ने आशा राख्नुनै अनुचित हो |

म भन्छु, यदि सबै हिन्दूहरू मिलेर श्रीमद्भगवत-गीताको नेपाली वा अन्य स्थानीय भाषामा अनुवाद गरेर घरघर पुर्याउने हो र तेसको विषयवस्तुका विषयमा बुझाउने हो भने धर्मपरिवर्तन रोकिन्छ | गुरु बन्न वा कुनै एउटा सम्प्रदायको प्रचार गर्ने उद्देश्यले अनुवाद गरिएका गीताहरूले धर्मपरिवर्तनको कार्य रोक्न सक्दैनन् |

म भूतपूर्व इसाई भएर पनि हिन्दूधर्मको विकासको लागि खुलेर कुरा गर्न सक्छु भने तपाईंहरू त यो देवभूमि नेपालको नागरिक भएर किन असल कुराको प्रसारण गर्न लाज मान्नुहुन्छ ? हिन्दू धर्म-संस्कृतिमा लाजमर्दो कुरा छैनन् र भएका कुराहरू पनि राज्यले कानुन बनाएर निरन्तर नियन्त्रण गर्ने प्रयत्न गरिरहेको छ |"
..........................................
अहिले सम्झंदा एत्ति मात्र भन्न मन लाग्छ "हाम्रो लागि काम गरिदिनु भएकोमा धन्यवाद | मसंग बोल्न केही छैन | अनि, मैले आफैलाई भने विश्वास गर्नुस्, अव हामीले आफ्ना रैथाने सीपहरूलाई पहिचान गर्न, तिनको जरोकिलोको ब्यबस्थित अनुसन्धान गर्न र त्यस सीपको पेटेन्ट राइट लिने काम गर्नेछौँ भन्न सकिन्छ कि ?

Thursday, February 22, 2018

म किन इसाई बन्न सकिन ?

जुत्ता सिलाउनेको आत्मकथा
केही दिन अगाडिको कुरा हो -मैले राम सहायलाई भेटें | उनी काठमाडौँको नया बानेश्वरको विरेन्द्र सभागृह नजिकैको सडक पेटीमा बसेर जुत्ता सिलाएर आफ्नो जीवन यापन गर्ने राम सहाय  (नाम परिवर्तन) २० वर्ष अगाडी काठमाडौँ प्रवेश गरेका थिए | मधेशमा जातीय विभेद र गरिवीले उनको जीवन नर्कझैं थियो | काठमाडौंमा उनले मुक्ति खोजेका थिए |

काठमाडौंमा उनले आर्थिक र सामाजिक रूपमा मुक्ति पाउने आशा थियो तर एस्तो भएन | यहाँ त झन् तीनतहको घृणा झेल्नु पर्यो - गरिव, दलित र मधेशी | सडकमा पनि यी घृणावाद रहे नै | तर पेटीमा बसेर जुत्ताको काम गर्दा मधेशमा भन्दा आम्दानी राम्रो भयो | धेरै पेटी चाहार्दा-चहार्दै अहिले बानेस्वरमा छन् |

काठमाडौंका पेटीहरू चहार्दा उनको मनमा विद्यालयमा पढ्ने इच्छा जाग्यो | उनले कुरा बुझे | यसै बिचमा उनले टंगालको नन्दी मा.वि. मा रात्रिकालीन विद्यार्थी बनेर अक्क्षर चिने र किताव पढ्न सक्ने भए | तेसपछि उनले आफ्नो घर चिठी लेख्न, केही नेपाली र हिन्दी कथा पढ्न सक्ने भए | आफ्नो हिसाव पनि राख्न सक्ने भए |

उनले अक्षर नाचिन्दै धेरै इसाई धर्म मान्नेहरूले चर्च जान कर गरेका थिए | उनी धेरै पटक चर्च पनि गए | चर्चमा बाइबलको कुरा हुन्थ्यो | सबै कुरा बाइबलमा लेखेको छ भनिन्थ्यो | उनले आफै बाइबल नपढेसम्म धर्म नमान्ने अडान लिए | यही अडानले उनी नन्दी पाठशाला गएका हुन् |

आफुले अक्षर पढ्न र वुझ्न सक्ने भएपछि उनले बाइबल पढ्न थाले | उनले धेरै पटक बाइबल पढे तर जरुसलम, इमानुएल, मेरी जस्ता विदेशी नामहरू मन परेनन् | उनले आफु जन्मेको जनकपुर र सीताको पहिचान विर्सन सकेनन् |

अनि, उनी माइतीघरमा रहेको रत्नपुस्तक पसलमा गएर गीता-प्रेस गोरखपुरले छापेको गीता किनेर ल्याए | त्यो हिन्दी र संस्कृतमा थियो | उनले त्यो पढेर गीता र बाइबलको तुलना गरे | उनले गीतामा छुवाछुत मान्नुपर्छ भनेर लेखिएको कतै भेटेंनन् | बरू एउटा विद्वानका लागि गाई, ब्राह्मण, कुकुर र सबैभन्दा तल्लोजातको मानिस पनि समान हुन्छ र सबैमा भगवानको निवास हुन्छ" भनेर भगवान् श्रीकृष्णले भनेको पढेपछि बाइबल नपढ्ने निधो गरे |

सदा बन्छन् " म इसाई बन्ने तरखरमा थिएँ | मलाई जातीय घृणा बिझेको थियो | तर गीता नपढी धर्म परिवर्तन गर्दिन भन्ने सोचले गीता पढें | गीताले मलाई धर्म-परिवर्तन गरेर आफ्नै सीता मैया विरुद्ध पाप गर्नबाट जोगायो | आफन्तलाई घृणा गर्ने/गराउने धर्म लिन बाट जोगायो | हेर्नुस त, मैले रामनामी ओढेर जुत्ता सिउन्छु | मलाई मेरो जनकपुर र सीता मैया प्रति गर्व छ | मान्छेले सानो जातिको भनेर हेपे पनि भगवान श्रीकृष्णले गीतामा हेप्ने कुराको उपदेश दिनुभएको रहनेछ |

गीताले त जन्मदा सबै मान्छेहरू शूद्र नै हुन्छन् भनेर भनेको रहेछ | मान्छेले गर्ने घृणाको दोष सनातन धर्मलाई दिन मिल्दैन | गीता, भागवतले सधैं सबैसंग समान ब्यबहार गर्न प्रेरित गर्छन् | मान्छेहरू गीता पढ्दैनन् अनि विदेशीको कुरा सुनेर हाम्रा भगवान र शास्त्रलाई गालीगलौज गर्छन् | यो कत्तिपनि राम्रो होइन | उनीहरूले नपढेका मान्छेहरूलाई झुक्याएर चर्चमा लैजान्छन् र इसाई बनाउँछन् | कुनै ले दशैंतिहारमा टीका लगायो वा पूजाआजा गर्यो भने परमेश्वरले दण्ड दिन्छ भनेर धम्क्याउने गर्छन् |

बाइबल एकपक्षीय छ | हामीले परापूर्वकालदेखि मान्दै र पुज्दै आएका देवीदेवतालाई अपमान गर्न सिकाउँछ | इसाई नबनेका आफन्तप्रति शत्रुतापूर्ण ब्यबहार गर्न सिकाउँछ | भन्नुस् त मैले सीता मैयाको प्रसाद कसरी इन्कार गर्न सक्छु ? मेरो रगतको थोपाथोपामा सीताराम बस्नुभएको छ | होली, दिवाली, दशहरा मान्नु पाप हो रे ? प्रसाद खानु पाप हो रे ? एतिधेरे मान्छेले आराधना गर्ने रामजानकी मन्दिरमा राखिएका मूर्तिहरू शैतान हुन् रे ? मलाई यी सबै कुरा कत्ति पनि चित्तबुझ्दो लागेन |

मलाई आफु जनकपुरमा जन्मेको र हिन्दू भएकोमा गर्व छ | हो, कसैले सानो जाति भनेर हेप्दा मन दुख्छ तर अहिले पहिलेजस्तो भेदभाव छैन | मान्छेले यो कुरा बुझ्न पर्छ | हाम्रा मान्छेहरू पढ्न जाँदैनन् | एक पटक गीता पढेर बुझेपछि ज्यान गए पनि कसैले इसाई धर्म मान्दैन |

नेपालमा हिन्दू, बौद्ध, जैन बोन्पो र किरातीहरू मिलेर बस्छन् | मलाई गुम्वामा गएर बुद्धलाई प्रणाम गर्न कुनै गारो हुँदैन | उनीहरू चर्चमा सधैं हिन्दू र बौद्धहरूको कुरा काट्छन् | दसहरा, होली जस्ता जस्ता चाडवाडहरू वहिस्कार गर्न उर्दी गर्छन् | तिनका बालबालिका समेत दशैँतिहार, होली-दिवाली मनाउन पाउंदैन् | बालबालिकाले चाडवाडमा रमाइलो गर्न नपाउनु त राम्रो होइन नि ? मैले धेरै पटक इसाई बालबालिकाहरू लुकेर चाडवाड मनाएको देखेको छु |

बाइबलको किताव बोकेर हिड्नेहरू निकै मीठो कुरा गर्छन् | खासगरी, हामी सानो जातिलाई "छुवाछुत"बाट मुक्ति दिने धर्म नै इसाई हो भनेर भन्छन् तर चर्चमा भने बाहुनक्षेत्री र दलितहरूको छुट्टै लाइन हुन्छ | मुखले नभने पनि दलितहरूलाई अगाडी बस्न दिन्नन् | धेरै पैसा दिनेको ठूलो इज्जत हुन्छ, दान दिन नसक्नेलाई दूरदूर गर्छन् |

सबैभन्दा ठूलो कुरा, कसैके इसाई बन्न प्रेरित गर्छ भने सबैभन्दा बाइबल पढ्न सक्ने हुनुपर्छ र गीता पनि किनेर पढ्नुपर्छ | तेसपछि पनि धर्म मान्न मन लाग्यो भने आ-आफ्नो इच्छा हो | तर म भन्छु, गीता पढेपछि कसैले बाइबलको धर्म मान्नै सक्दैन |

एक दिनको कुरा हो -  म चर्चमा जाँदा उनीहरूले धेरै पटक हिन्दू र हामी एकै हौँ भनेको सुने तर एक दिन श्रीमद्भगवत-गीताको किताव लिएर पास्टरलाई दिन खोजेको उसले स्वीकार गरेनन् | पास्टरले भने "संसारमा एउटा मात्र धर्मग्रन्थ छ त्यो भनेको बाइबल नै हो | गीता-रामायण पढ्नेहरू नर्क जानेछन् | आफ्नो गोरुको सय टक्का भन्नेसंग जोडिन मन लागेन |

म एउटा दलित परिवारमा जन्मेको हुँ | मेरी परिवार गरिब छ | तर मैले आफ्नो जीवनमा कुनै पाप गरेको छैन | मैले आफुलाई दलित भनेर हेप्नेलाई पनि कू-भलो चिताएको छैन | म कसरी पापी हुन सक्छु ? मेरो सानी छोरी जसले पाप तथा पुण्यको अर्थ नै बुझेकी छैन, उ कसरी पापी हुन सक्छे ? बाइबलको यो कुरामा मलाई पटक्कै विश्वास लागेन | जनकपुरमा दूर्गापूजाका वखत कुनै जातिपाति विचार नगरी दलितकै कन्या पनि समान रूपले दुर्गाका रूपमा पुजिन्छन् | हामीले बालबालिकालाई भगवान् भन्छौं | उनीहरू निर्दोष हुन्छन् |

अरूलाई घृणा गर्न सिकाउने र सबै पापी हुन्छन् भन्ने विषयमा मेरो सहमति भएन | धेरै प्रलोभन दिए, मेरी श्रीमतीलाई समेत फकाए तर हामी इसाई बन्न सकेनौं | रामलला र सीता मैयाको कृपा र श्रीमद्भगवत-गीताको कृपाले हाम्रो धर्म जोगियो | आफ्नो धर्ममा दुखै भए पनि केही छैन तर गाईखाने धर्म मान्न सकिन्न |"

उनले आफ्नो कुराको बीट मारे | म पनि उनको कुराहरूमा विचार गर्दै बूढानीलकण्ठतिर लागें | मनमा सोच्दै थिएँ - छुवाछुतले मन पोले पनि आफ्नो धर्म र संस्कृतिलाई माया गर्ने यी मोची साच्चिकै आदरका पात्र छन् | बरू, मजस्ता बाहुनआदिले उनीहरूप्रति न्याय गर्न नसकेर अपराध गरिरहेका छौँ | 


(लेखक डा. गोविन्दशरण उपाध्यायको नाम उल्लेख गरेर छाप्न, वितरण गर्न अनुमति प्रदान गरिएको छ)

Wednesday, February 14, 2018

म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ?

मिति २०७४/०७/१ शिवरात्रीका दिन हवाईजहाजमा चितवनबाट काठमाडौं फर्कने क्रममा मसंगैको सीटमा बसेका एकजना नेपालीसंग भएको कुराकानीको सार-जस्ताको तस्तै यहा लेखेको छु | उहाको नाम र ठेगाना मैले नसोधेको हुँदा लेख्न सकिन | कुराको प्रसंग शिवरात्रीमा पशुपतिनाथसंग जोडिएको छ |

“म २६ वर्ष अघि इसाई भएको थिएँ | देश विदेश घुमे | धेरैसंग गरें | धेरै मानिसहरूलाई इसाई धर्ममा संगठित गरें | धेरैं धन-सम्पत्ति पनि कमाएँ | तर अहिले जीवनको पाँचौं वसन्त पार गरेपछि म परिवर्तित भएको छु | मैले आलोचना गर्नका लागि थालेको हिन्दू ग्रन्थहरूको अध्ययनले म नै परिवर्तित भएको छु | अहिले आएर सबैभन्दा खुला र उदार धार्मिक चिन्न्तन त हिन्दूहरू कै रहेछ भन्ने कुरामा विश्वस्त भएको छु |

मलाई इसाईसंग कुनै गुनासो छ भने एत्ति हो कि उहाहरूले आफुलाई "कितावको धर्म" भन्नुहुन्छ तर अक्षर नचिनेकाहरूलाई धर्म परिवर्तन गर्ने प्रेरणा दिनुहुन्छ | पढ्नै नसक्ने मान्छेले "बाइबल"मा लेखेको कुरा कसरी बुझ्न सक्छ र ? कितावको धर्म पनि भन्ने अनि पढ्नै नसक्नेहरूलाई धर्मपरिवर्तनका लागि प्रपन्च गर्ने मलाई कत्ति पनि चित्त बुझेन |

मैले धेरै पास्चरहरूलाई यो प्रश्न सोधें तर कसैसंग स्पष्ट जवाफ हुँदैन | मेरो विचारमा यदि कसैले आफैं बाइबल पढेर, बुझेर र बाइबलसंग सहमत भएर धर्म परिवर्तन गर्छ भने उसले आफ्नो विषयमा निर्णय गरेको ठिकै हुन्छ तर पढ्न नै नसक्नेले बाइबलको कितावको नाममा धर्म परिवर्तन गर्नु/गराउनु ठीक होइन | एस्तो धर्मपरिवर्तनसंग म सहमत छैन |

मैले धर्मपरिवर्तन गर्दा मैले हिन्दूहरूका कुनै पनि धार्मिक अथवा सांस्कृतिक कितावहरू पढेको थिइन | बाहुनको छोरा भएको नाताले कर्मकाण्डलाई नै धर्म ठान्थें | म एकदम कमलो स्वभावको भएकाले कुलानी पूजामा बोको बलिदिएको देख्न सक्दैनथे | कुलानी पूजामा हत्या भएको देखेपछि तीन-चार रात निदाउन सक्दैनथे |

पूजाआजामा किन बलिदान दिनुपर्यो ? भन्ने कुराको जवाफ मेरा अभिभाव वा पण्डितहरूसंग थिएन | मैले पढेको विज्ञान विषयमा हिन्दू धर्म संस्कृतिका विषयमा केही थिएन | मैले बुझ्न चाहेका कुरहरू कुनै पनि गुरूहरूले गम्भीरता पूर्वक लिनु भएन |

एक दिन क्याम्पसबाट फर्किंदै गर्दा बाइबलका विषयमा एकजना जर्मनसंग कुरा भयो | साच्चिकै भन्दा मलाई जर्मनसंग अंग्रेजीमा बोल्दा अंग्रेजी राम्रो हुन्छ भन्ने विश्वास थियो | अंग्रेजी जानिने लोभमा म उसंग नाजिकिएँ | उसले बोलाएका कार्यक्रमहरूमा जानथालें | अनि, मैले आफुलाई लागेका धार्मिक प्रश्नहरू पनि सोधें | उसको जवाफ चित्त बुझ्दो त थिएन तर जवाफचाहिं आएकै थियो |

मेरो संगत बढ्दै जाँदा मैले बाइबल पढें | चर्चमा जान थालें | मलाई उसले कितावहरू किनिदिने, घुमाउन लैजाने तथा अन्य जर्मनहरूसंग परिचय गराउने काम गर्यो | म क्रमशः उसंग धेरै नजिकिंदै गएँ | एक दिन उसले धर्मपरिवर्तन गरेर इसाई हुन आग्रह गर्यो | मैले उसको कुरा टार्न सकिन | उसको मित्रतामा निकै गलेको थिएँ | अन्त्यत: एकदिन इसाई बने |

अनि, मेरो परिवारसंग मेरो सम्बन्ध विग्रियो | परिवार र समाजको विद्रोहमा परें | मसंग उसंग सङ्गत गर्नु र चर्चका मान्छेहरूसंग सम्बन्ध बढाउनु वाहेक विकल्प रहेन | घर र परिवारको वहिस्कारमा पर्दा "प्रभुको मान्छे वन्दा प्रभु बाहेक सबैले त्याग्ने खतरा हुन्छ नै, तिमीलाईल प्रभुले प्रगाढ प्रेम गरेका छन्" भनेर सम्झाए | मैले विश्वास गरें |

मैले बीएस्सी गरें | त्यसपछि चर्चले नै जर्मनीमा पढ्ने ब्यबस्था मिलेदियो | मैले जर्मनबाट विद्यावारिधि गरें | मेरो धर्म-प्रचारमा रुचि थिएन तर चर्चले धर्म-प्रचारका लागि दवाव दियो - नेपालमा | मैले स्वीकार नगरेपछि केन्या पठाइयो | मैले तीन वर्ष धर्मप्रचारक भएर काम गरें |

त्यसपछि पुन: जर्मनी फर्केर अध्ययन र काम गर्न थालें | मैले हिन्दू, बौद्ध तथा अन्य धर्मका कितावहरू पढ्न थालें | यस क्रममा मैले बुझें कि हिन्दू धर्म नभएर समग्र जीवन शैली रहेछ | विश्वका धर्महरू व्यक्ति विशेषले आरम्भ गरेका रहेछन र धार्मिक मान्छेहरू उसको आदेश मान्न बाध्य हुँदा रहेछन् | धार्मिक कितावको आदेश, आरम्भ कर्ताको आदेश तथा चर्च वा मुल्लाको आदेश नमान्नेहरू नास्तिक हुने रैछन् ?

तेसपछि मेरो अभिरुचि प्राचीन हिन्दु ग्रन्थमा वढ्यो | मैले जर्मनीमा अनुवाद गरेका वेद, उपनिषद तथा अन्य ग्रन्थहरू पढ्न थालें | पहिले-पहिले हिन्दूहरूको धार्मिक ग्रन्थ पनि वेद-वाहेक अरु के नै होला र जस्तो लाग्थ्यो ? पढ्दै गएपछि बुझें - हिन्दूको धार्मिक र सांस्कृतिक जीवन बुझ्न एउटा किताव होइन समग्र पुस्तकालय नै पढ्नु पर्ने रहेछ |

म बाइबलको किताव भित्र कैद थिएँ | मेरो चिन्तन बाइबलको एउटा किताव परिपरि सीमित थियो | मैले बाइबलको ब्याख्या गरिएका हजारौं किताव पढेको थिएँ | ती सबै कितावको उद्देश्य बाइबलको ब्याख्या गर्नु बाहेक केही थिएन | ती सबै केवल बाइबलका विषयमा मात्र लिखिएका थिए |

मैले हिन्दू साहित्य पढ्न थालेपछि मात्र बुझें - हिन्दू जीवन दर्शनको उठान वेदहरूबाट भए पनि त्यसमा कैद थिएन | धार्मिक बन्नका लागि वेद पढ्नै पर्ने अनिवार्य थिएन | सबै धार्मिक-पुस्तकहरू केवल धार्मिक मात्र थिएनन् | आयुर्वेद, विज्ञान, ज्योतिष, दर्शनआदि सबै तेसमा समेटिएका थिए | यी सबै कुराले म अचम्ममा पर्दै गएँ |

हो, मैले हिन्दू ग्रन्थहरू पढ्न थाल्दा जातपात, महिलाआदि खराव विषयहरू संकलन गरेर इसाई धर्मलाई फैलाउन सजिलो हुन्छ भन्ने तत्थ्यलाई सघाउन गरेको थिएँ | तर पछि मेरो चिन्तनको दरिद्रताबाट दुखीत भएँ | मैले एतिधेरै विषयवस्तुलाई छोएका कुनै विषय पढेको थिइन | अनि, मेरो अभिरुचि मूल संस्कृततिर ढल्कियो | मैले आफ्नो देश, गाउँ र संस्कृति सम्झिएँ |

मैले ती गुरूहरू सम्झिएँ - जसले एस्ता महत्वपूर्ण तथा विशाल साहित्यको प्रतिनिधि बनेर काम गरिरहेका छन् | यदि हाम्रो सरकारले कोर्षमा यी महत्वपूर्ण साहित्यहरू समावेश गरेर पढाउने, गुरूहरूले यिनको अर्थ बुझाउने हो भने कुनै मान्छे किन इसाई बन्थ्यो ? म ठोकुवा गरेर भन्छु, यदि मैले पढेका हिन्दू साहित्य मध्ये एउटा पुस्तकको पनि बाइबलझैं प्रचारप्रसार गर्ने हो भने विश्वमा नै इसाई पन्थको अस्तित्व नै संकटमा पर्छ | हाम्रो सरकार र हाम्रा गुरूहरूले एतिबिध्न महत्वपूर्ण कुरा किन नबुझेका होलान् ? ऋषिमुनिका यी धरोहरका विषयमा नेपालीहरू निकै गम्भीर हुनुपर्छ |

म अहिले पनि इसाई नै हुँ | मेरी पत्नी, मेरो छोराछोरीहरू इसाई नै छन् | मैले जवसम्म हिन्दू ग्रन्थहरू पढेको थिइन, हिन्दू सांस्कृतिक जीवनका धेरै विषयहरूसंग निकै घृणा गर्थें | कुनै वेला सम्पूर्ण नेपाल नै इसाई-देश भएको सपना देख्थें र त्यो सपना साकार कसरी पार्न सकिन्छ भन्ने चिन्तन गर्थें | धेरैं नेपाली इसाईहरू एस्तै सपना देख्छन् | किनभने बाइबल र युरोपेली मुलुकहरूका धर्मप्रचारकहरूले एस्तो सपना निर्माण गर्ने सक्ने क्षमताको प्रयोग गरेका हुन्छन् | एस्तो सपना नेपालीहरूले देखेका होइनन्, एस्तो सपना देख्ने चश्मा युरोप तथा अमेरिका र भारतबाट आयात गरिको हो |

एस विषयमा मैले नेपालबाट जर्मन र युरोप जाने नेपाली विश्वविद्यालयका प्राध्यापकहरूसंग कुरा गरें तर उहाहरू कत्तिपनि सिरियस भएको भेटिन | उहाहरू केवल “राम्रो छ गर्नुपर्छ” भन्नु हुन्छ | उहाँहरूको यो भोली मेरा हजुर वाको “चाइने” थेगो भन्दा बढी होइन भन्ने बुझ्न मलाई धेरै समय लाग्यो | हामी क्रिश्चियनहरू आफ्नो परम्परा र धर्मका विषयमा निकै सिरियस हुन्छौं | कुनै नया समस्या आउँदासाथ हामी वहस गर्छौं र विश्वब्यापीरूपमा त्यसको समाधानका लागि पहल गर्छौं | तर नेपाली विश्वविद्यालयहरू आफ्नोघरका रैथाने विषयवस्तु र सम्पत्तिको कत्तिपनि वास्ता गर्दैनन् | आफ्नै विषयवस्तुमा पनि विदेशीहरूको भनाई वा लेखाइलाई प्रमाणित मान्ने अनौठो रोग नेपाली विद्वानहरूमा गहिरोसंग गढेर बसेको छ |

म नेपाल फर्केर संस्कृत विद्वानहरूसंग सम्पर्क गरिरहेको छु | उहाहरू मेरो प्रश्न भन्दा पनि मेरो युरोपेली बसाईसंग बढी प्रभावित भएको देखेर दिक्क लाग्छ | मलाई थाहा छ, मेरो संस्कृतको पढाई र बुझाई सीमित हुनेछ तर पनि मलाई प्राचीन संस्कृत ग्रन्थहरूप्रतिको जिज्ञासा निकै बढेको छ | मैले यी प्राचीन साहित्यको एउटा सानो अंश पनि छिचोल्न सक्दिन भन्ने तत्थ्य राम्ररी बुझेको छु | अहिले मेरो मनमा “केही विद्यालयको स्थापना केवल संस्कृत साहित्य पढ्न, पढाउन, अनुसन्धान तथा वादविवाद गर्नका लागि मात्र स्थापित हुनुपर्छ | एस्ता संस्थाहरूको संचालन केवल “सिरियस-विद्वान”हरूको हातमा हुनुपर्छ | राजनैतिक शक्तिहरूले तिनको विकास तथा विस्तारमा सहयोग गर्ने काम वाहेक केही गर्न हुँदैन |

अनि, मैले धेरै गुरुहरूलाई सोधें – म पुन: हिन्दू धर्ममा फर्कन चाहन्छु, तेसका लागि म के गरूँ ? धेरैजसोको उत्तर कि शास्त्रीय हुन्छ कि आफ्नो शिष्य वनाउनेतिर लक्षित हुन्छ | निश्चयनै, हिन्दू बनाउने/बनाइने विषय होइन | सबै चेला-चेली बन्ने अभिरुचि पनि राख्दैनन् | म पुन: हिन्दू धर्ममा फर्कन चाहन्छु | मैले जुन परिवेशमा धर्म परिवर्तन गरें त्यो सन्दर्भ आज पनि वदलिएको छैन | धेरै मान्छेहरू आफ्ना प्रश्नहरूको भरपर्दो र चित्तबुझ्दो उत्तर नपाउंदा धर्म परिवर्तन गर्छन् | केही मान्छेहरू जातीय थिचोमिचोबाट मुक्त भइने लोभले धर्म परिवर्तन गर्छन भने केही मजस्तै परिवन्दमा परेर धर्म-परिवर्तन गर्छन् | तर धेरैजसो गलत सूचना र प्रलोभनमा पारेर परिवर्तित हुन्छन् |

यदि परिवर्तिहरूलाई सही सूचना र आफ्नै धर्म र संस्कृतिलाई मान्नेहरूसम्म आफ्नो धर्म-संस्कृतिको महत्व र गहिराईको सुसमाचार स्पस्ट रूपमा पुग्ने हो भने कसैले पनि धर्म-परिवर्तन गर्दैन | धेरै मान्छेहरू पुन: आफ्नै पुरानो रैथाने धर्ममा फर्कन लालायित हुन्छन् | हामीले उनीहरूसम्म सहि तवरले आफ्ना धर्म-संस्कृतिका महत्वहरू तार्किक तथा विश्वासिलो तरिकाले पस्कन सक्नुपर्छ, जान्नु पर्छ | यहाँ बुझ्नुपर्छ कि एक पटक धर्म परिवर्तन गरेको व्यक्ति आफ्नो मूलधारसंग काटिएको हुन्छ | जवसम्म उक्त व्यक्ति वा समूहले आफ्नो रैथाने धर्म-संस्कृतिमा फिर्ता हुँदा सम्मानको हुन्छ भन्ने सुनिश्चित हुँदैन, तवसम्म फिर्ती सजिलो हुँदैन |

मैले जव गुरूहरूसंग कुरा गरें उहाहरूले विभिन्न कर्मकाण्डको कुरा गर्नुहुन्छ | हो, फिर्तीका लागि सामान्य कर्मकाण्ड होलान् र ती सम्पादन हुँदा आत्मविश्वास बढ्छ तर व्यक्तिगत रुपमा परिवर्तित व्यक्ति वा समुहको निकै ख्याल गर्नुपर्छ | उनीहरूलाई सनातन धर्मअन्तर्गत पर्ने जुनसुकै धार्मिक वा सांस्कृतिक कार्यक्रममा छुटाउनु हुँदैन | एस्तो सम्मानले आत्मविश्वास बढ्छ | हिन्दूहरूमा एस्तो सामाजिक संस्कृतिको अझै विकास हुनुपर्छ | एसले मेरो हिन्दूत्व बलियो हुन्छ | मैले छोडेर आएको धार्मिक तथा सांस्कृतिक परिवेशको न्यास्रो यहाँ हुनुहुँदैन | तर मेरो लागि तेस्तो हुँदैन | मेरो जन्म नै हिन्दु-परिवारमा भएकोले मसंग प्राकृतिक रूपमा हिन्दू विद्यमान तर परिवर्तित इसाई-आत्मा पनि मसंग छ |

मैले देखेका र भेटेका ९०% परिवर्तित इसाईहरू प्रलोभनमा परेर परिवर्ति भएका छन् तर मैले कुनै पनि परिवर्तित हिन्दू प्रलोभनमा पारेर/परेर हिन्दू बनेको भेटेको छैन | धेरैजसो हिन्दू धर्म अंगालेका पूर्व क्रिश्चियनहरू शिक्षित, आर्थिक रूपमा आत्म-निर्भर र शास्त्रहरूको अध्ययन गरेर हिन्दु बनेका छन् | मैले भनिसकें – सिरियस भएर वैदिक साहित्यहरूको अध्ययन/ अध्यापन गर्ने जुनसुकै व्यक्ति पनि हिन्दू बन्छ नै | वैदिक साहित्यको विशेषता नै यही हो | मैले जव वैदिक साहित्यहरू पढ्न थालें, म जन्मिएको पारिवारिक धर्मको गौरवले मेरो छाति फुल्न थाल्यो र अहिले म पुन: आफ्नै धर्ममा फर्कने निश्चय गरेको छु |

तर म पुन: हिन्दू धर्ममा फर्कन चाहन्छु, तेसका लागि मैले के गर्नु पर्छ ? भन्ने प्रश्नको उत्तर त चाहन्छु नै | यस विषयमा गुरूहरूको के छ सुझाव ? जिज्ञासुलाई हामीले के भन्नुपर्ला ?

(copyright article)

Thursday, February 8, 2018

नेपालको वनारस : पर्वत


स्व. स्वामी प्रपन्नाचार्य (कालेराईले) कार्तवीर्योदय महाकाव्यको भूमिकामा लेखेका छन् "तत्कालीन पर्वतराज्य विक्रमको सोह्रो शताब्दिपछिको चार शताब्दिसम्म नेपालको काशी बनेर रह्यो | रामपति, उमापति, हरिराम, शिवराम, प्रेमनिधिआदि विद्वान एस क्षेत्रका विभूति हुन् | जसरी छिमेकी राष्ट्रमा नेपालीहरू हजारौंवर्षदेखि पढ्न जाने गर्ने परम्परा छ, तेसैगरी पर्वतले पनि नेपालीहरूका लागि काशी कै काम गरेको थियो | कुनै समय विद्याको क्षेत्रमा पर्वत काशी नै वरावर रहेको इतिहास नेपालीले भुल्नुहुँदैन |"

स्मरण रहोस्, पर्वतको कुश्मामा (या बाग्लुंगको बलेवा)मा जन्मेका महाकवि विसुकृतिदत्तसुरिले लेखेका संस्कृतका करिव ३४ बटा प्रगाढ किताव लेखेका थिए त्यस मध्ये एउटा कार्तवीर्योदय महाकाव्य नामक पुस्तकको खोज गरेर स्वामी प्रपन्नाचार्यले सम्पादन गरेका थिए र यो पुस्तक प्राज्ञ प्रतिष्ठानले वि.स.२९५१ सालमा छापेको थियो |

यो पुस्तक पढेपछि मैले निकै गर्वको अनुभव गरें साथै पूर्वमा जन्मेका राईले पर्वतेहरूलाई लगाएको गुणका लागि आभार व्यक्त गरें | प्रपन्नचार्य जीवित रहेको भए पर्वतेहरूका तर्फबाट अभिनन्दन नै गरिन्थ्यो होला |

पश्चिमाहरूको इतिहासका भर परेर धेरैजसो नेपाली बौद्ध र तथाकथित विदेशीहरूले आफ्नो फाइदाका लागि विज्ञ भनेर किनेका नेपाली मूलका विद्वानहरूले सन् ८०० तिर श्रीशंकराचार्यले काठमाडौँका बौद्धहरूलाई पराजित गरेर बौद्ध-पुस्तकालयमा आगो लगाएर बौद्धहरूको बर्चश्व मासेका थिए भन्ने आरोप लगाउँछन् |

बास्तविक तत्थ्य के हो भने भारतको तक्षशीला र नालन्दाका विश्वविद्यालयहरूमा आक्रमण गरेर मोहम्मद गजनवीले सबै थोक नष्ट पारेको थियो | तेसै बखत केही श्रमण र ब्राह्मणहरूले आफुले सक्ने हस्तलिखित कितावहरू बोकेर भाग्ने क्रममा गण्डकी बेसिनको प्रयोग गरेका थिए |

तेस बखत भारतेली तीर्थालुहरू शालीग्राम खोज्न र मुक्तिनाथको दर्शन गर्न जान्थे | गण्डकीको खोंचमा भएको हुँदा मुस्लिम आक्रमणकारी बाट सबैभन्दा सुरक्षित रहेको ठानी श्रमण र ब्राह्मणहरूले गण्डकी-बेसीन अर्थात् हालको पाल्पा, पर्वत, वाग्लुंग तथा म्याग्दी क्षेत्रलाई शास्त्रहरूको सुरक्षा गर्ने र तेसको शिक्षा दिने काम गरेका थिए |
त्यसमा पनि पर्वतमा रहेका ठूलाठूला फाँटहरू र त्यहाँ फाल्ने अन्नले तिनलाई सघाएको हो | पर्वतेली मल्ल राजाहरू आफैमा संस्कृतका प्रेमी तथा विद्वान भएको नाताले पनि भागेर आएका विद्वानहरूले त्यहाँ सजिलैसंग आश्रय पाएको हुन्छ | खासगरी, पैयुँ, बिहादी, मोदीवेणी, वेनी, ग्यादी, पांग, बलेवाआदि क्षेत्रहरू संस्कृत विद्याका लागि निकै प्रसिद्ध थिए |

पछि, काठमाडौँ उपत्यकातिर यहीं बाट पुस्तकहरू बोकेर विद्वानहरू गएको र चारैतिरबाट पर्वतले घेरेको हुँदा यसलाई सुरक्षित ठानेर पुस्तकहरू पशुपति, पाटनमा पुस्तकालय बनाएर विद्याको प्रचार गरेको भन्ने मत अनुसन्धाता डा. लक्ष्मी खतिवडाको रहेको छ |

यहाँ मैले उल्लेख गर्नैपर्छ कि काठमाडौँका पुस्तकालयहरू जलाउने काम सन् १३०० तिर बङ्गालको मुस्लिम आक्रमणकारी गयासुद्द्दीन तुगलकले गरेको हो | उसले त्यस बखत पुस्तकालय आगो लगाएको र ती पुस्तकालयहरू २८ दिनसम्म जलिरहेको व्योहोरा इतिहासले प्रमाणित गरेको हो |

गयासुद्दीनले बौद्ध-चैत्य तथा मन्दिरहरू भत्काएर सुन, हिरामोती लुकेको थियो र तेसै बखत पशुपतिनाथको लिंगसमेत तोडेको थियो | हाल पशुपतिनाथको लिंग पुननिर्मित हो भन्ने विद्वानहरूको मत छ | आचार्य शंकरलाई दोष दिनेहरू विदेशीहरूका दास हुन् अथवा अबुझ हुन् |

दुखको कुरो त के भने नालन्दा र तक्षशीलाबाट ज्यानको माया समेत नगरी श्रमण तथा ब्राह्मणहरूले गण्डकीको खोंच (पर्वत)मा जोगाएको शास्त्रलाई मुस्लिम आक्रमणकारी गयासुद्दीनले काठमाडौंमा जलायो | तेसमा बौद्ध-साहित्यमात्र होइन पाली, संस्कृत (हिन्दू) ग्रन्थ पनि जलेर खरानी भए | अल्पज्ञहरूले तेसको दोष आचार्य शंकरलाई दिंदैछन् जसको विषयमा कुनै पनि काठमाडौँ उपत्यकाका बज्रयानी विद्वानहरूले उल्लेख गरेको भेटिन्न | तेस्तो छ भने प्रमाण देखाउन चुनौती दिन्छु |

तक्षशीला र नालन्दाबाट बोकेर ल्याएका बौद्ध, जैन तथा हिन्दू ग्रन्थहरू नेपाली कागजमा उतार्ने काम पर्वतका विद्वानहरूले गरेकोले सबै साहित्य काठमाण्डौमा मात्र खुम्चिनु परेन | पर्वतेली विद्वानहरूका घरमा ती सुरक्षित रहे र पुन: वि.स. १६०० तिर पुन: काठमाडौंका पुस्तकालयमा पुस्तकहरू एकत्रित भए | तर सबै पुस्तकहरू गण्डकी-मैदानबाट आएका हुन् भन्न सकिन्न |

तै भएर होला, स्वामी प्रपन्नाचार्यले पर्वतलाई दोस्रो "काशी" सम्बोधन गरे | आज पर्वतमा संस्कृतका केन्द्र छैनन् तर पर्वतेली विद्वान् डा.रेग्मीका अनुसार २०२८ साल,मा पर्वतमा ४८ बटा मा.वि. थिए जवकि छिमेकी बाग्लुंग जिल्लामा केवल ९ बटा | एसले पनि पर्वत सधैं विद्याको क्षेत्रमा अग्रणी रहेको तत्थ्य प्रमाणित हुन्छ | पर्वतले सनातनी त बौद्धहरूको संरक्षणमा ठूलो गुण लगाएको छ |

पर्वतेलीहरूले (बाग्लुङ, स्यांग्जा, गुल्मी, कास्की, अर्गाखाँची, म्याग्दी) आफ्नो यो गौरवपूर्ण इतिहासको रक्षा गर्न पहल गर्नुपर्छ | कर्मकाण्डी हिसावले होइन एउटा अनुसन्धाताका रूपमा यी क्षेत्रमा लेखिएका र सुरक्षित गरिएका प्राचीन पाली तथा संस्कृत साहित्यको खोज तथा प्रकाशनतिर अग्रसर हुनुपर्छ | तेसै पनि प्रकृतिले पर्वतलाई नेपालको मध्यविन्दूमा पारेको छ भने नक्सा पनि झन्डै नेपालसंग मिल्दो छ | एस्तै इतिहास अन्य क्षेत्रको हुनसक्छ तिनको खोज गर्नुपर्छ |

आज पनि पर्वतका गण्डकीको काखमा फैलिएका पर्वतका फाँटहरू विश्वविद्यालय स्थापनाका लागि सबैभन्दा उत्तम छन् र पर्वतेलीहरूको प्राचीन इतिहासले समेत पर्वतले विश्वभरी ज्ञानको नेतृत्व गर्न सक्छ भन्ने साहस दिन्छ | अवको पालो आफ्नो गौरव चिन्ने र त्यो गौरवस्थापित गर्न पर्वतलाई पुन: विद्याको केन्द्र बनाउनेतिर पहल गर्नुपर्छ |

विवाद कि शास्त्रार्थ ?

श्रीमद्भगवत-गीताका संस्कृतबाट नेपालीमा धेरै अनुवाद भएका छन् | ती अनुवादहरू अनुवादको आफ्नो ज्ञान, भक्ति र समर्पणका आधारमा धेरै व्यक्तिहरूले गरेका छन् | कुनै पनि अनुवाद १००% जस्ताको तस्तै गर्न सम्भव हुँदैनन् | भावहरूको अनुवाद गर्न सकिन्न, बुझाई र अन्तप्रज्ञाको अनुभूतिको अनुवाद हुँदैन |

अनुवादहरू सबैका उस्तैउस्तै हुन्छन् | तर सम्प्रदायमा आस्था राख्नेले आफ्नो सिद्धान्तको आँखाले गीता वा अन्य शास्त्रहरू पढ्न खोज्नु र तेसैअनुसार तेसको ब्याख्या गर्नु अस्वाभाविक होइन | एसमा मेरो विमति छैन |

तर जव कुनै सम्प्रदायका मान्छेले आफुले अनुवाद वा ब्याख्या गरेको सबैभन्दा सैद्धान्तिक, प्रमाणिक अन्यले अनुवाद गरेको वा ब्याख्या गरेको श्रीमद्भगवत-गीता अप्रमाणिकभन्दै अपमान गर्छन् | यो स्वार्थी ब्यबहार हो |

सनातन धर्मले सबैलाई आफ्नै ठान्छ र सबैले आफुले अनुभूति गरेको विषयवस्तु व्याख्याका रूपमा प्रस्तुत गर्ने स्वतन्त्रता प्रदान गर्छ | आफ्नो गोरुको सय टक्का भन्ने संस्कृति सनातन धर्मको पटक्कै होइन |

यदि अनुवादमा त्रुटी छ भने तेस्को मित्रतापूर्वक विचारआदानप्रदान गर्नुपर्छ | अनुवाद वा ब्याख्याअसंग असहमत हुँदा शास्त्रार्थ गर्ने पवित्र बाटो छँदैछ | तर एकआपसमा हिलो छेप्दा विधर्मीहरूले मजा लिन्छन् | सनातन धर्मको ह्रास हुन्छ |

श्रीमद्भगवत गीतामा कर्म, भक्ति, ज्ञान, बैराग्य, योगआदिको अत्यन्त उन्नत सूत्रात्मक ब्याख्या छ | विद्वानहरूले आफ्नो गुण, व्यक्तित्व तथा ज्ञानअनुसार त्यसको ब्याख्या गर्छन् | लोकमान्य तिलकले गीताको कर्ममुखी ब्याख्या गरे, प्रभुपादले भक्तिपरक, गान्धीले भक्ति र कर्मपरक तथा मदनमोहन मालवीयले ज्ञानपरक तथा आचार्य शंकरले वैराग्य तथा ज्ञान परक ब्याख्या गर्नुभयो

गीताका हजारौं अनुवाद छन् | कोमल-गीता नेपालीमा अनुदीत सरलीकृत गीता हो भने सामान्य अनुवादहरू करिव १४३ बटा रहेका छन् | तैपनि गीताको अनुवाद हुँदैछ र हुनुपर्छ |

श्रीमद्भगवत गीता मात्रै किन सनातन वैदिक संस्कृतिमा आध्यात्मिक शास्त्रहरूका धेरै ग्रन्थ छन्, अन्य ग्रन्थहरू पनि नेपालीमा अनुवाद गरेर प्रकाशन गर्नुपर्छ | इनै ग्रन्थहरूमा हाम्रो जरोकिलो लुकेको छ जसबाट हामीले विश्वलाई प्रेरणा प्रदान गर्न सक्छौं |

यहाँ एउटा वास्तविक प्रसंग उल्लेख गर्नु राम्रो हुन्छ | एक पटक महात्मा हवाईजहाजबाट यात्रा गर्दैहुनुहुन्थ्यो | उहाँसंगैको सीटमा एकजना इसाई पन्थका मानिस हुनुहुन्थ्यो | यात्राका क्रममा यी दूई बीच धार्मिक विषयमा एस्तो छलफल भयो :

मान्छे "हाम्रो धार्मिक ग्रन्थ बाइबल हो र हामी सबै कुरा बाइबलका आधारमा गर्छौं | त्यो एकमात्र छ | तपाईंको धर्मग्रन्थ कुन होला ?

महात्मा "हाम्रो धर्मशास्त्रका विषयमा जान्नका लागि तपाईं मेरो पाहुना बन्नुपर्छ | किनभने मेरो पुस्तकालय वैदिक सनातन धर्मका ग्रन्थहरूले भरीभराउ छ |"

"तपाईंहरू एउटा कितावमा चल्ने भए पनि हजारौं सम्प्रदायमा विभाजित हुनुहुन्छ र एकअर्कालाई अधार्मिक भन्नुहुन्छ तर हामीसंग हजारौं धार्मिक पुस्तक भए पनि हामी एकअर्काको सम्मान गर्छौं र आ-आफ्नोपनबाट भगवानको बाटो प्राप्त गर्न सकिने कुरा स्वीकार्दै सहकार्य गर्छौं |"

सबैका अनुवाद वा ब्याख्याहरूको अध्ययन गरौँ | तिनको स्वाध्याय गरौँ | ती सबैबाट प्राप्त आत्मचेतनाको प्रकाशमा आफुले पनि सत्यको बाटो पहिल्याउ र अरूलाई पनि सत्यको बाटो खोज्न मदत गरौँ | आत्म कल्याण गरौँ अरूलाई पनि त्यसतिर बढ्न प्रेरक बनौं |

तर गीता चाहिं खोजीखोजी पढौं र पढ्न लगाउँ |
-------------------------
वैदिक सनातन धर्मंका अनुयायीहरू शास्त्रार्थ गर्छन्, एकअर्काको अस्तित्वलाई अस्वीकार गर्ने कुनै क्रियाकलाप गर्दैनन् | नेपालीहरूको जरोकिलो यिनै ग्रन्थहरूमा छ | उत्सुकतापूर्वक प्राचीन साहित्य पढौं र पढ्न प्रेरणा दिऊ |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...