Thursday, February 8, 2018

विवाद कि शास्त्रार्थ ?

श्रीमद्भगवत-गीताका संस्कृतबाट नेपालीमा धेरै अनुवाद भएका छन् | ती अनुवादहरू अनुवादको आफ्नो ज्ञान, भक्ति र समर्पणका आधारमा धेरै व्यक्तिहरूले गरेका छन् | कुनै पनि अनुवाद १००% जस्ताको तस्तै गर्न सम्भव हुँदैनन् | भावहरूको अनुवाद गर्न सकिन्न, बुझाई र अन्तप्रज्ञाको अनुभूतिको अनुवाद हुँदैन |

अनुवादहरू सबैका उस्तैउस्तै हुन्छन् | तर सम्प्रदायमा आस्था राख्नेले आफ्नो सिद्धान्तको आँखाले गीता वा अन्य शास्त्रहरू पढ्न खोज्नु र तेसैअनुसार तेसको ब्याख्या गर्नु अस्वाभाविक होइन | एसमा मेरो विमति छैन |

तर जव कुनै सम्प्रदायका मान्छेले आफुले अनुवाद वा ब्याख्या गरेको सबैभन्दा सैद्धान्तिक, प्रमाणिक अन्यले अनुवाद गरेको वा ब्याख्या गरेको श्रीमद्भगवत-गीता अप्रमाणिकभन्दै अपमान गर्छन् | यो स्वार्थी ब्यबहार हो |

सनातन धर्मले सबैलाई आफ्नै ठान्छ र सबैले आफुले अनुभूति गरेको विषयवस्तु व्याख्याका रूपमा प्रस्तुत गर्ने स्वतन्त्रता प्रदान गर्छ | आफ्नो गोरुको सय टक्का भन्ने संस्कृति सनातन धर्मको पटक्कै होइन |

यदि अनुवादमा त्रुटी छ भने तेस्को मित्रतापूर्वक विचारआदानप्रदान गर्नुपर्छ | अनुवाद वा ब्याख्याअसंग असहमत हुँदा शास्त्रार्थ गर्ने पवित्र बाटो छँदैछ | तर एकआपसमा हिलो छेप्दा विधर्मीहरूले मजा लिन्छन् | सनातन धर्मको ह्रास हुन्छ |

श्रीमद्भगवत गीतामा कर्म, भक्ति, ज्ञान, बैराग्य, योगआदिको अत्यन्त उन्नत सूत्रात्मक ब्याख्या छ | विद्वानहरूले आफ्नो गुण, व्यक्तित्व तथा ज्ञानअनुसार त्यसको ब्याख्या गर्छन् | लोकमान्य तिलकले गीताको कर्ममुखी ब्याख्या गरे, प्रभुपादले भक्तिपरक, गान्धीले भक्ति र कर्मपरक तथा मदनमोहन मालवीयले ज्ञानपरक तथा आचार्य शंकरले वैराग्य तथा ज्ञान परक ब्याख्या गर्नुभयो

गीताका हजारौं अनुवाद छन् | कोमल-गीता नेपालीमा अनुदीत सरलीकृत गीता हो भने सामान्य अनुवादहरू करिव १४३ बटा रहेका छन् | तैपनि गीताको अनुवाद हुँदैछ र हुनुपर्छ |

श्रीमद्भगवत गीता मात्रै किन सनातन वैदिक संस्कृतिमा आध्यात्मिक शास्त्रहरूका धेरै ग्रन्थ छन्, अन्य ग्रन्थहरू पनि नेपालीमा अनुवाद गरेर प्रकाशन गर्नुपर्छ | इनै ग्रन्थहरूमा हाम्रो जरोकिलो लुकेको छ जसबाट हामीले विश्वलाई प्रेरणा प्रदान गर्न सक्छौं |

यहाँ एउटा वास्तविक प्रसंग उल्लेख गर्नु राम्रो हुन्छ | एक पटक महात्मा हवाईजहाजबाट यात्रा गर्दैहुनुहुन्थ्यो | उहाँसंगैको सीटमा एकजना इसाई पन्थका मानिस हुनुहुन्थ्यो | यात्राका क्रममा यी दूई बीच धार्मिक विषयमा एस्तो छलफल भयो :

मान्छे "हाम्रो धार्मिक ग्रन्थ बाइबल हो र हामी सबै कुरा बाइबलका आधारमा गर्छौं | त्यो एकमात्र छ | तपाईंको धर्मग्रन्थ कुन होला ?

महात्मा "हाम्रो धर्मशास्त्रका विषयमा जान्नका लागि तपाईं मेरो पाहुना बन्नुपर्छ | किनभने मेरो पुस्तकालय वैदिक सनातन धर्मका ग्रन्थहरूले भरीभराउ छ |"

"तपाईंहरू एउटा कितावमा चल्ने भए पनि हजारौं सम्प्रदायमा विभाजित हुनुहुन्छ र एकअर्कालाई अधार्मिक भन्नुहुन्छ तर हामीसंग हजारौं धार्मिक पुस्तक भए पनि हामी एकअर्काको सम्मान गर्छौं र आ-आफ्नोपनबाट भगवानको बाटो प्राप्त गर्न सकिने कुरा स्वीकार्दै सहकार्य गर्छौं |"

सबैका अनुवाद वा ब्याख्याहरूको अध्ययन गरौँ | तिनको स्वाध्याय गरौँ | ती सबैबाट प्राप्त आत्मचेतनाको प्रकाशमा आफुले पनि सत्यको बाटो पहिल्याउ र अरूलाई पनि सत्यको बाटो खोज्न मदत गरौँ | आत्म कल्याण गरौँ अरूलाई पनि त्यसतिर बढ्न प्रेरक बनौं |

तर गीता चाहिं खोजीखोजी पढौं र पढ्न लगाउँ |
-------------------------
वैदिक सनातन धर्मंका अनुयायीहरू शास्त्रार्थ गर्छन्, एकअर्काको अस्तित्वलाई अस्वीकार गर्ने कुनै क्रियाकलाप गर्दैनन् | नेपालीहरूको जरोकिलो यिनै ग्रन्थहरूमा छ | उत्सुकतापूर्वक प्राचीन साहित्य पढौं र पढ्न प्रेरणा दिऊ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...