Wednesday, February 14, 2018

म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ?

मिति २०७४/०७/१ शिवरात्रीका दिन हवाईजहाजमा चितवनबाट काठमाडौं फर्कने क्रममा मसंगैको सीटमा बसेका एकजना नेपालीसंग भएको कुराकानीको सार-जस्ताको तस्तै यहा लेखेको छु | उहाको नाम र ठेगाना मैले नसोधेको हुँदा लेख्न सकिन | कुराको प्रसंग शिवरात्रीमा पशुपतिनाथसंग जोडिएको छ |

“म २६ वर्ष अघि इसाई भएको थिएँ | देश विदेश घुमे | धेरैसंग गरें | धेरै मानिसहरूलाई इसाई धर्ममा संगठित गरें | धेरैं धन-सम्पत्ति पनि कमाएँ | तर अहिले जीवनको पाँचौं वसन्त पार गरेपछि म परिवर्तित भएको छु | मैले आलोचना गर्नका लागि थालेको हिन्दू ग्रन्थहरूको अध्ययनले म नै परिवर्तित भएको छु | अहिले आएर सबैभन्दा खुला र उदार धार्मिक चिन्न्तन त हिन्दूहरू कै रहेछ भन्ने कुरामा विश्वस्त भएको छु |

मलाई इसाईसंग कुनै गुनासो छ भने एत्ति हो कि उहाहरूले आफुलाई "कितावको धर्म" भन्नुहुन्छ तर अक्षर नचिनेकाहरूलाई धर्म परिवर्तन गर्ने प्रेरणा दिनुहुन्छ | पढ्नै नसक्ने मान्छेले "बाइबल"मा लेखेको कुरा कसरी बुझ्न सक्छ र ? कितावको धर्म पनि भन्ने अनि पढ्नै नसक्नेहरूलाई धर्मपरिवर्तनका लागि प्रपन्च गर्ने मलाई कत्ति पनि चित्त बुझेन |

मैले धेरै पास्चरहरूलाई यो प्रश्न सोधें तर कसैसंग स्पष्ट जवाफ हुँदैन | मेरो विचारमा यदि कसैले आफैं बाइबल पढेर, बुझेर र बाइबलसंग सहमत भएर धर्म परिवर्तन गर्छ भने उसले आफ्नो विषयमा निर्णय गरेको ठिकै हुन्छ तर पढ्न नै नसक्नेले बाइबलको कितावको नाममा धर्म परिवर्तन गर्नु/गराउनु ठीक होइन | एस्तो धर्मपरिवर्तनसंग म सहमत छैन |

मैले धर्मपरिवर्तन गर्दा मैले हिन्दूहरूका कुनै पनि धार्मिक अथवा सांस्कृतिक कितावहरू पढेको थिइन | बाहुनको छोरा भएको नाताले कर्मकाण्डलाई नै धर्म ठान्थें | म एकदम कमलो स्वभावको भएकाले कुलानी पूजामा बोको बलिदिएको देख्न सक्दैनथे | कुलानी पूजामा हत्या भएको देखेपछि तीन-चार रात निदाउन सक्दैनथे |

पूजाआजामा किन बलिदान दिनुपर्यो ? भन्ने कुराको जवाफ मेरा अभिभाव वा पण्डितहरूसंग थिएन | मैले पढेको विज्ञान विषयमा हिन्दू धर्म संस्कृतिका विषयमा केही थिएन | मैले बुझ्न चाहेका कुरहरू कुनै पनि गुरूहरूले गम्भीरता पूर्वक लिनु भएन |

एक दिन क्याम्पसबाट फर्किंदै गर्दा बाइबलका विषयमा एकजना जर्मनसंग कुरा भयो | साच्चिकै भन्दा मलाई जर्मनसंग अंग्रेजीमा बोल्दा अंग्रेजी राम्रो हुन्छ भन्ने विश्वास थियो | अंग्रेजी जानिने लोभमा म उसंग नाजिकिएँ | उसले बोलाएका कार्यक्रमहरूमा जानथालें | अनि, मैले आफुलाई लागेका धार्मिक प्रश्नहरू पनि सोधें | उसको जवाफ चित्त बुझ्दो त थिएन तर जवाफचाहिं आएकै थियो |

मेरो संगत बढ्दै जाँदा मैले बाइबल पढें | चर्चमा जान थालें | मलाई उसले कितावहरू किनिदिने, घुमाउन लैजाने तथा अन्य जर्मनहरूसंग परिचय गराउने काम गर्यो | म क्रमशः उसंग धेरै नजिकिंदै गएँ | एक दिन उसले धर्मपरिवर्तन गरेर इसाई हुन आग्रह गर्यो | मैले उसको कुरा टार्न सकिन | उसको मित्रतामा निकै गलेको थिएँ | अन्त्यत: एकदिन इसाई बने |

अनि, मेरो परिवारसंग मेरो सम्बन्ध विग्रियो | परिवार र समाजको विद्रोहमा परें | मसंग उसंग सङ्गत गर्नु र चर्चका मान्छेहरूसंग सम्बन्ध बढाउनु वाहेक विकल्प रहेन | घर र परिवारको वहिस्कारमा पर्दा "प्रभुको मान्छे वन्दा प्रभु बाहेक सबैले त्याग्ने खतरा हुन्छ नै, तिमीलाईल प्रभुले प्रगाढ प्रेम गरेका छन्" भनेर सम्झाए | मैले विश्वास गरें |

मैले बीएस्सी गरें | त्यसपछि चर्चले नै जर्मनीमा पढ्ने ब्यबस्था मिलेदियो | मैले जर्मनबाट विद्यावारिधि गरें | मेरो धर्म-प्रचारमा रुचि थिएन तर चर्चले धर्म-प्रचारका लागि दवाव दियो - नेपालमा | मैले स्वीकार नगरेपछि केन्या पठाइयो | मैले तीन वर्ष धर्मप्रचारक भएर काम गरें |

त्यसपछि पुन: जर्मनी फर्केर अध्ययन र काम गर्न थालें | मैले हिन्दू, बौद्ध तथा अन्य धर्मका कितावहरू पढ्न थालें | यस क्रममा मैले बुझें कि हिन्दू धर्म नभएर समग्र जीवन शैली रहेछ | विश्वका धर्महरू व्यक्ति विशेषले आरम्भ गरेका रहेछन र धार्मिक मान्छेहरू उसको आदेश मान्न बाध्य हुँदा रहेछन् | धार्मिक कितावको आदेश, आरम्भ कर्ताको आदेश तथा चर्च वा मुल्लाको आदेश नमान्नेहरू नास्तिक हुने रैछन् ?

तेसपछि मेरो अभिरुचि प्राचीन हिन्दु ग्रन्थमा वढ्यो | मैले जर्मनीमा अनुवाद गरेका वेद, उपनिषद तथा अन्य ग्रन्थहरू पढ्न थालें | पहिले-पहिले हिन्दूहरूको धार्मिक ग्रन्थ पनि वेद-वाहेक अरु के नै होला र जस्तो लाग्थ्यो ? पढ्दै गएपछि बुझें - हिन्दूको धार्मिक र सांस्कृतिक जीवन बुझ्न एउटा किताव होइन समग्र पुस्तकालय नै पढ्नु पर्ने रहेछ |

म बाइबलको किताव भित्र कैद थिएँ | मेरो चिन्तन बाइबलको एउटा किताव परिपरि सीमित थियो | मैले बाइबलको ब्याख्या गरिएका हजारौं किताव पढेको थिएँ | ती सबै कितावको उद्देश्य बाइबलको ब्याख्या गर्नु बाहेक केही थिएन | ती सबै केवल बाइबलका विषयमा मात्र लिखिएका थिए |

मैले हिन्दू साहित्य पढ्न थालेपछि मात्र बुझें - हिन्दू जीवन दर्शनको उठान वेदहरूबाट भए पनि त्यसमा कैद थिएन | धार्मिक बन्नका लागि वेद पढ्नै पर्ने अनिवार्य थिएन | सबै धार्मिक-पुस्तकहरू केवल धार्मिक मात्र थिएनन् | आयुर्वेद, विज्ञान, ज्योतिष, दर्शनआदि सबै तेसमा समेटिएका थिए | यी सबै कुराले म अचम्ममा पर्दै गएँ |

हो, मैले हिन्दू ग्रन्थहरू पढ्न थाल्दा जातपात, महिलाआदि खराव विषयहरू संकलन गरेर इसाई धर्मलाई फैलाउन सजिलो हुन्छ भन्ने तत्थ्यलाई सघाउन गरेको थिएँ | तर पछि मेरो चिन्तनको दरिद्रताबाट दुखीत भएँ | मैले एतिधेरै विषयवस्तुलाई छोएका कुनै विषय पढेको थिइन | अनि, मेरो अभिरुचि मूल संस्कृततिर ढल्कियो | मैले आफ्नो देश, गाउँ र संस्कृति सम्झिएँ |

मैले ती गुरूहरू सम्झिएँ - जसले एस्ता महत्वपूर्ण तथा विशाल साहित्यको प्रतिनिधि बनेर काम गरिरहेका छन् | यदि हाम्रो सरकारले कोर्षमा यी महत्वपूर्ण साहित्यहरू समावेश गरेर पढाउने, गुरूहरूले यिनको अर्थ बुझाउने हो भने कुनै मान्छे किन इसाई बन्थ्यो ? म ठोकुवा गरेर भन्छु, यदि मैले पढेका हिन्दू साहित्य मध्ये एउटा पुस्तकको पनि बाइबलझैं प्रचारप्रसार गर्ने हो भने विश्वमा नै इसाई पन्थको अस्तित्व नै संकटमा पर्छ | हाम्रो सरकार र हाम्रा गुरूहरूले एतिबिध्न महत्वपूर्ण कुरा किन नबुझेका होलान् ? ऋषिमुनिका यी धरोहरका विषयमा नेपालीहरू निकै गम्भीर हुनुपर्छ |

म अहिले पनि इसाई नै हुँ | मेरी पत्नी, मेरो छोराछोरीहरू इसाई नै छन् | मैले जवसम्म हिन्दू ग्रन्थहरू पढेको थिइन, हिन्दू सांस्कृतिक जीवनका धेरै विषयहरूसंग निकै घृणा गर्थें | कुनै वेला सम्पूर्ण नेपाल नै इसाई-देश भएको सपना देख्थें र त्यो सपना साकार कसरी पार्न सकिन्छ भन्ने चिन्तन गर्थें | धेरैं नेपाली इसाईहरू एस्तै सपना देख्छन् | किनभने बाइबल र युरोपेली मुलुकहरूका धर्मप्रचारकहरूले एस्तो सपना निर्माण गर्ने सक्ने क्षमताको प्रयोग गरेका हुन्छन् | एस्तो सपना नेपालीहरूले देखेका होइनन्, एस्तो सपना देख्ने चश्मा युरोप तथा अमेरिका र भारतबाट आयात गरिको हो |

एस विषयमा मैले नेपालबाट जर्मन र युरोप जाने नेपाली विश्वविद्यालयका प्राध्यापकहरूसंग कुरा गरें तर उहाहरू कत्तिपनि सिरियस भएको भेटिन | उहाहरू केवल “राम्रो छ गर्नुपर्छ” भन्नु हुन्छ | उहाँहरूको यो भोली मेरा हजुर वाको “चाइने” थेगो भन्दा बढी होइन भन्ने बुझ्न मलाई धेरै समय लाग्यो | हामी क्रिश्चियनहरू आफ्नो परम्परा र धर्मका विषयमा निकै सिरियस हुन्छौं | कुनै नया समस्या आउँदासाथ हामी वहस गर्छौं र विश्वब्यापीरूपमा त्यसको समाधानका लागि पहल गर्छौं | तर नेपाली विश्वविद्यालयहरू आफ्नोघरका रैथाने विषयवस्तु र सम्पत्तिको कत्तिपनि वास्ता गर्दैनन् | आफ्नै विषयवस्तुमा पनि विदेशीहरूको भनाई वा लेखाइलाई प्रमाणित मान्ने अनौठो रोग नेपाली विद्वानहरूमा गहिरोसंग गढेर बसेको छ |

म नेपाल फर्केर संस्कृत विद्वानहरूसंग सम्पर्क गरिरहेको छु | उहाहरू मेरो प्रश्न भन्दा पनि मेरो युरोपेली बसाईसंग बढी प्रभावित भएको देखेर दिक्क लाग्छ | मलाई थाहा छ, मेरो संस्कृतको पढाई र बुझाई सीमित हुनेछ तर पनि मलाई प्राचीन संस्कृत ग्रन्थहरूप्रतिको जिज्ञासा निकै बढेको छ | मैले यी प्राचीन साहित्यको एउटा सानो अंश पनि छिचोल्न सक्दिन भन्ने तत्थ्य राम्ररी बुझेको छु | अहिले मेरो मनमा “केही विद्यालयको स्थापना केवल संस्कृत साहित्य पढ्न, पढाउन, अनुसन्धान तथा वादविवाद गर्नका लागि मात्र स्थापित हुनुपर्छ | एस्ता संस्थाहरूको संचालन केवल “सिरियस-विद्वान”हरूको हातमा हुनुपर्छ | राजनैतिक शक्तिहरूले तिनको विकास तथा विस्तारमा सहयोग गर्ने काम वाहेक केही गर्न हुँदैन |

अनि, मैले धेरै गुरुहरूलाई सोधें – म पुन: हिन्दू धर्ममा फर्कन चाहन्छु, तेसका लागि म के गरूँ ? धेरैजसोको उत्तर कि शास्त्रीय हुन्छ कि आफ्नो शिष्य वनाउनेतिर लक्षित हुन्छ | निश्चयनै, हिन्दू बनाउने/बनाइने विषय होइन | सबै चेला-चेली बन्ने अभिरुचि पनि राख्दैनन् | म पुन: हिन्दू धर्ममा फर्कन चाहन्छु | मैले जुन परिवेशमा धर्म परिवर्तन गरें त्यो सन्दर्भ आज पनि वदलिएको छैन | धेरै मान्छेहरू आफ्ना प्रश्नहरूको भरपर्दो र चित्तबुझ्दो उत्तर नपाउंदा धर्म परिवर्तन गर्छन् | केही मान्छेहरू जातीय थिचोमिचोबाट मुक्त भइने लोभले धर्म परिवर्तन गर्छन भने केही मजस्तै परिवन्दमा परेर धर्म-परिवर्तन गर्छन् | तर धेरैजसो गलत सूचना र प्रलोभनमा पारेर परिवर्तित हुन्छन् |

यदि परिवर्तिहरूलाई सही सूचना र आफ्नै धर्म र संस्कृतिलाई मान्नेहरूसम्म आफ्नो धर्म-संस्कृतिको महत्व र गहिराईको सुसमाचार स्पस्ट रूपमा पुग्ने हो भने कसैले पनि धर्म-परिवर्तन गर्दैन | धेरै मान्छेहरू पुन: आफ्नै पुरानो रैथाने धर्ममा फर्कन लालायित हुन्छन् | हामीले उनीहरूसम्म सहि तवरले आफ्ना धर्म-संस्कृतिका महत्वहरू तार्किक तथा विश्वासिलो तरिकाले पस्कन सक्नुपर्छ, जान्नु पर्छ | यहाँ बुझ्नुपर्छ कि एक पटक धर्म परिवर्तन गरेको व्यक्ति आफ्नो मूलधारसंग काटिएको हुन्छ | जवसम्म उक्त व्यक्ति वा समूहले आफ्नो रैथाने धर्म-संस्कृतिमा फिर्ता हुँदा सम्मानको हुन्छ भन्ने सुनिश्चित हुँदैन, तवसम्म फिर्ती सजिलो हुँदैन |

मैले जव गुरूहरूसंग कुरा गरें उहाहरूले विभिन्न कर्मकाण्डको कुरा गर्नुहुन्छ | हो, फिर्तीका लागि सामान्य कर्मकाण्ड होलान् र ती सम्पादन हुँदा आत्मविश्वास बढ्छ तर व्यक्तिगत रुपमा परिवर्तित व्यक्ति वा समुहको निकै ख्याल गर्नुपर्छ | उनीहरूलाई सनातन धर्मअन्तर्गत पर्ने जुनसुकै धार्मिक वा सांस्कृतिक कार्यक्रममा छुटाउनु हुँदैन | एस्तो सम्मानले आत्मविश्वास बढ्छ | हिन्दूहरूमा एस्तो सामाजिक संस्कृतिको अझै विकास हुनुपर्छ | एसले मेरो हिन्दूत्व बलियो हुन्छ | मैले छोडेर आएको धार्मिक तथा सांस्कृतिक परिवेशको न्यास्रो यहाँ हुनुहुँदैन | तर मेरो लागि तेस्तो हुँदैन | मेरो जन्म नै हिन्दु-परिवारमा भएकोले मसंग प्राकृतिक रूपमा हिन्दू विद्यमान तर परिवर्तित इसाई-आत्मा पनि मसंग छ |

मैले देखेका र भेटेका ९०% परिवर्तित इसाईहरू प्रलोभनमा परेर परिवर्ति भएका छन् तर मैले कुनै पनि परिवर्तित हिन्दू प्रलोभनमा पारेर/परेर हिन्दू बनेको भेटेको छैन | धेरैजसो हिन्दू धर्म अंगालेका पूर्व क्रिश्चियनहरू शिक्षित, आर्थिक रूपमा आत्म-निर्भर र शास्त्रहरूको अध्ययन गरेर हिन्दु बनेका छन् | मैले भनिसकें – सिरियस भएर वैदिक साहित्यहरूको अध्ययन/ अध्यापन गर्ने जुनसुकै व्यक्ति पनि हिन्दू बन्छ नै | वैदिक साहित्यको विशेषता नै यही हो | मैले जव वैदिक साहित्यहरू पढ्न थालें, म जन्मिएको पारिवारिक धर्मको गौरवले मेरो छाति फुल्न थाल्यो र अहिले म पुन: आफ्नै धर्ममा फर्कने निश्चय गरेको छु |

तर म पुन: हिन्दू धर्ममा फर्कन चाहन्छु, तेसका लागि मैले के गर्नु पर्छ ? भन्ने प्रश्नको उत्तर त चाहन्छु नै | यस विषयमा गुरूहरूको के छ सुझाव ? जिज्ञासुलाई हामीले के भन्नुपर्ला ?

(copyright article)

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...