Tuesday, December 21, 2021

श्रीमद्भगवद्-गीता छैठो आयाम

श्रीमद्भगवद्-गीता  छैठो आयाम
हामी तेस्रो आयाममा छौँ | चौथो आयाम समय हो जसले हाम्री समेत समस्त विश्वको जन्म, पालन र अन्त्यलाई नियन्त्रित गर्छ | पाँचौ आयाम भनेको हाम्रो भाग्यमा नियन्त्रण गर्ने शक्ति हो भने छैठो आयाम ब्रह्म हो जसले सम्पूर्ण विश्वको सृष्टिको निर्माण गर्छ | श्रीमद्भगवद्-गीताले प्राथमिक तीनबटा आयामहरूसंगै अघिल्ला तीनबटा आयाम अर्थात् समय, भाग्यविधाता र ब्रह्मसंग जीवको मिलन गराउँछ |

संस्कृतमा "ब्रह्म" शब्दको अर्थ विशालतम भन्ने हुन्छ | यही विशालतमबाट ब्रह्माण्डको निर्माण भएको हो | कुनै पनि वस्तु वा विषय यस विशालतमबाट वाहिर हुनै सक्दैनन् | एउटा अणुले ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने ब्रह्माण्डले अणुको | आजको विज्ञानले यो तत्थ्यलाई स्वीकार गरेको छ |

गीताले एउटा व्यक्तिलाई साधना गरेर आफुभित्र सम्पूर्ण ब्रह्माण्डलाई साक्षात्कार गर्न अभिप्रेरित मात्रै गर्दैन अपितु त्यो अवस्था प्राप्त गर्ने साधना पनि बताउँछ | पाँच महाभूत (पृथ्वी, जल. तेज, वायु र आकाश)को अस्तित्व मान्ने तर चेतनाको श्रोतलाई अस्वीकार गर्ने आधुनिक भौतिक विज्ञानको निष्कर्ष त्रुटिपूर्ण ठान्छु | जसरी विशालभित्र भौतिक वस्तुहरूको उपलब्धि छ तेसैगरी चैतन्यतत्वको पनि उपस्थिति छ |

ब्रहम र ब्रह्माण्डको अंशका रूपमा हरेक व्यक्तिले आफ्नो विराटअवस्था साक्षात्कार गर्न सक्छ | अर्जुनले विराट रूपको दर्शन गरेका थिए भन्नुको अर्थ हो अहिलेको त्रिआयामबाट माथि उठेर छैठौं आयाम अर्थात् अणुमा विराट र विराटमा अणुको आत्मसाक्षात्कार तथा एकीकृतभावमा स्थापित हुनु | उपनिषद् तथा पुराणहरूमा धेरै व्यक्तिहरूले साधना गरेर यो अवस्था प्राप्त गरेका उदाहरण उपलब्ध छन् |

मैले आफै पनि धेरैपटक गायत्री जप्दै गर्दा भौतिक शरीरले पन्चमहाभुतसंग र चेतनाले सत्चिन्दनंद अवस्थाको क्षणिक अनुभूति गरेको छु | मेरा अनुभूतिहरू मनोबैज्ञानिक विकृति वा मनोविषाद होइनन् | यी अनुभूतिहरूले मलाई सधैं प्रसन्न रहन र पुन: तिनै अनुभूतिहरूको उद्योग गर्न अभिप्रेरित गर्छन् | आहार, विहार तथा क्रियामा सात्विकता हुनुपर्छ भन्ने साधनामा विश्वास नगर्ने तर विराटको साक्षात्कारमा अभिरुचि राख्नेहरूका लागि विराट सधैं अनुपलब्ध विषय हुनेछ | छैठौं आयाममा आरुढ़ हुन तेसका नियमहरू, साधनाहरु, खुड्किलाहरू चड्दै जानुपर्छ |

मनोमय शरीरबाट माथि उठ्न नचाहनेहरूका लागि "आकाशको फल आँखातरी मर" भनेझैं ब्रह्माण्डका कणकणमा फैलिएको विशालता सधैं अन्धविश्वासमा गुम्ने छ | जवसम्म हामीले ब्रहम तथा ब्रह्माण्डका बिचको अन्तरसम्वन्ध र एकत्वको (चैतन्य तथा जड) आत्मानुभूति गर्दैनौं तवसम्म हाम्रो लागि जडपदार्थ सत्य प्रतित हुन्छ तर जडपदार्थलाई चिन्न, नियमन गर्न र अनुभूति गर्न सक्ने चैतन्य अविज्ञात नै रहन्छ | चेतनारहित जड र जडरहित चेतना व्याबहारिक रुपमा सम्भव विषयवस्तु हुन् भने आध्यात्मिकस्तरमा दूवै अविच्छिन्न विषय हुन् |
गीताका अनुसार छैठो आयाम कुनै काल्पनिक (मनोवाद) होइन | व्यक्तिले साधना गरेर प्राप्त गर्न सक्छ | अन्नमय, प्राणमय, मनमय, विज्ञानमय र आनन्दमय कोशहरूको यात्रा गर्न शरीर नै चाहिन्छ किनभने शरीरसंग आबद्ध रहेको चेतनाले नै यी पांचआयामहरूको साक्षात्कार गर्न सक्छ | शरीरको विनाशपछि गरिने साक्षात्कारको भौतिक प्रयोजन हुँदैन | तेसैले योगकारले योगसाधनाको आधार शरीरलाई तोकेका छन् र यसलाई भौतिक, मानसिक तथा आध्यात्मिकतहमा स्वास्थ्य राख्ने विधिहरू निर्माण गरेका छन् | विधि स्वीकार नगर्ने तर आलोचना गर्नेहरू दयाका पात्र हुन् |

वाम, दक्षिण र मध्यमको शब्दजाल


वाम, दक्षिण र मध्यमको शब्दजाल
वाम र दक्षिण पन्थ भन्ने शब्दहरू नेपाली मिडिया र तथाकथित बुद्धिजीविहरूमा निकै प्रचलित छन् | वाम शब्दलाई विकासवादी, प्रगतिशील, बैज्ञानिक तथा आधुनिकतासंग जोड्ने र दक्षिण शब्दलाई पुरातनवादी, विकासवाद विरोधी, अवैज्ञानिकता र नेपालका हकमा हिन्दूवादी तथा राजावादीहरूलाई समेत जोड्ने गरिन्छ | यो सबै भारतीय कम्म्युनिस्ट दार्शनिक देवीराम चट्तोपाध्यायको देन हो र नेपाली बुद्धिजीवि तथा तथाकथित मोडर्नहरूले तिनैबाट सिकेका हुन् |

अंग्रेजीको राइट-विंग नेपालीमा दक्षिण र अंग्रेजीको लेफ्ट विंग नेपालीमा वाम बनेको पढ्न सकिन्छ | के साच्चिकै दक्षिणधर विकास विरोधी, अवैज्ञानिक, पुरातनवादी र नेपालका हकमा हिन्दूवादी नै हुन् ? अनि, वाममार्गी भनेका साच्चिकै प्रगतिशील, आधुनिकतावादी, विज्ञानसम्मत र अग्रगामी छन् ? व्यबहारमा ठीक उल्टो छ | प्राय:जसो मार्क्सवादीहरू "जडसूत्रवादी" हुन्छन् भने विकासमा भन्दा विनाशमा बढी भर पर्छन् | तथाकथित "वामपन्थी"हरूले आफ्नो राजनैतिक शक्तिले सम्बन्धित देशको "उन्नति" गरेको भेटिंदैन् | चीनलाई जडवादी कम्युनिष्टहरूले "वामपन्थी" नै मान्दैनन् |

विश्वमा जेजति विकास भएका छन् - मूलत: दक्षिण पन्थिहरूकै वर्चश्वमा भएका छन् | बामपन्थिहरूले अमेरिका, वेलायत, युरोप, अस्ट्रेलियाजस्ता विकसित देशहरूलाई "दक्षिण" पन्थी भनेर आलोचना गर्छन् तर विश्वका हरेक बामपन्थी यिनै देशको नागरिक बन्न चाहन्छन् | मैले धेरै नेपाली कम्युनिस्ट नेताहरूलाई चिनेको छु, जसले आफ्ना सन्तानहरूलाई उपरोक्त "दक्षिण पन्थि" देशमा पढाएर उनीहरूकै आलोचना गरेर जीविकोपार्जन गरिरहेका छन् |

तेस्रो धारलाई "माध्यममार्गी" भन्ने गरिन्छ | मुलत: तथाकथित धर्मनिरपेक्षहरू, वामपन्थ र दक्षिण दूवैसंग सहकार्य गर्न नसकेका र चरम अवसरवादीहरूले मध्यममार्गको प्रतिनिधित्व गर्छन् | बामपन्थिहरूसंग भेट्दा आफुलाई वामपन्थीको शुभचिन्तक भन्ने र दक्षिण पन्थिहरूसंग भेट्दा आफु "स्वतन्त्रता"को पक्षधर "प्रजातान्त्रिक" भन्दै दूवैतिर ठीक्क हुने यो धारको विशेषता हो | नेपालका हकमा यो वर्गले सधैं बहुमतको विरोधमा काम गर्छ | अल्पसंख्यकको नाममा घृणावाद फैलाउन र त्यो असंगति देखाएर पूँजीवादी र सर्वहारा दूवैसंग "डलर" चप्काउन्छ |

अव अलिकति इतिहासतिर जाउँ | फ्रान्सेली क्रान्ति (१७८९) तिर यो शब्दको प्रचलन भएको थियो | तत्कालीन राज्य सत्ता कब्जा गरेका किसानहरूले आफुलाई लेफ्ट भने र तत्कालीन संसदलाई राइट भने | यहाँ राइट शब्दको मूल अर्थ "किसान-विरोधी सत्ता" भन्ने थियो | पछि, मार्क्सवादीहरूले फ्रेन्च-किसानहरूको यो आन्दोलनलाई "समाजवाद"संग जोडे | मूलत: पूँजीवादलाई सम्वोधन गर्न "राइट"शब्दको थालनी भयो | अर्कोतिर, १७९२ मा नया फ्रेन्च संसदको बैठकमा क्रान्तिकारीहरू संसदको बाँया सीट, आफुलाई तटस्थ राख्नेहरू बीचमा र आफुलाई राजावादी ठान्नेहरू (तेस बखतका धनिमानीहरू) दाहिनेतिरका कुर्सीमा बस्ने गरेका थिए | तेसै बखतदेखि दक्षिण र वाम यी शब्दहरू राजनैतिक वृत्तमा उदाए |

अव नेपालको कुरा गरौँ | नेपालका वामपन्थिहरूले आफुलाई "प्रगतिशील, वैज्ञानिक तथा अग्रगामी" भएको ठान्छन् तर व्यबहारमा कतिविध्न अव्यवहारिक र एकआपसमा असंगत छन् भन्ने तत्थ्य प्रचण्ड बहुमतमा बनेको ओलीको सरकार ढलेकोबाट देख्न सकिन्छ | वामपन्थी भन्ने "प्रगतिशील"हरूले आफ्नो बचाउँका लागि जे-जस्तो तर्कदिए पनि यिनीहरू बीच एकआपसमा लुकेको घृणावाद र जडसूत्रवाद छताछुल्ल भएको छ | आजको नेपाली परिवेशमा वामपन्थ भनेको संधैं अर्काको आलोचना गर्ने, कसैले उद्योग गर्न थाल्यो भने पूँजीवादको उदय देख्ने, आफु बाहेक सबैलाई पुरातनवादी ठान्ने रोगबाट ग्रस्त छन् | यिनका नाराहरू धेरै आकर्षक छन् तर व्यबहार निक्कै अप्रगतिशील र स्वार्थी छ |

दक्षिणपन्थिहरू नेपालमा छन् कि छैनन् ? म द्विविधामा छु | मार्क्सको परिभाषाअनुसार "पूँजीवादी तथा पुँजीपति" दक्षिण पन्थि मान्नुपर्छ | नेपालमा आफ्नो पूंजी नभएको कुनै परिवार छैन | मार्क्सवादलाई मान्ने धेरैको आफ्नो निजी-सम्पति छ अर्थात् पूंजी छ | धार्मिकहरूलाई दक्षिण पन्थि भन्ने अर्थ फ्रेन्च-क्रान्तिकारीले गरेकै थिएनन् | यदि स्वधर्म, संस्कृति र आत्मउत्थान गर्दै अर्कोको लागि रोजगारी दिने, राष्ट्रीय कोषमा राजश्व दिने, आफ्नो धर्म, संस्कृति तथा देश र जनताका विषयमा चासो राख्ने र घृणावाद विरुद्ध बोल्नेहरू दक्षिण पन्थी हुन् भने एस्तो दक्षिण हुनु गौरवको कुरा हो | बनेको भत्काउने भन्दा बनाएर दुईजनालाई रोजगारी दिने धेरै महान् हुन्छ |

तेस्रोवर्ग अचम्मको वर्ग हो | धर्मनिरपेक्षता, समानता, मानवाधिकारआदि यो वर्गका कर्णप्रिय नारा हुन् | असलमा यो वर्ग "शक्ति केन्द्र"को चापलुसी गरेर आफ्नो निजी स्वार्थ पुरा गर्ने व्यक्ति हुन् | उदाहरणको लागि नेपालमा एस्तो वर्गले सधैं गरिवी, अशिक्षा, असमानता, वेथिति, अन्याय, भष्टाचारआदि मात्रै खोज्दछ | यो वर्गले "गरिवी"लाई माग्ने भाँडो बनाएर राजनीति र समाजसेवा गर्छ | वामपन्थीसंग "लाभ" भए वामपन्थीसंग र दक्षिणपन्थीसंग लाभ हुने भए दक्षिणसंग लिसोझैं टाँसिने गर्छ | अर्कोतिर दक्षिण र बामलाई भिडाएर तमासा गराउने वर्ग पनि यही हो |

नेपाली वामपन्थीहरूले नेपाली कंग्रेसजस्ता प्रजातान्त्रिक पार्टीहरूलाई मध्यममार्गी भन्छन् भने जरोकिलो, राप्रपाजस्ता पार्टीहरूलाई दक्षिण पन्थी भनेर सम्वोधन गर्छन् | कम्युनिस्टहरूका नजरमा संसदीय राज्यव्यबस्था दक्षिणपन्थ हो | दुर्भाग्यवस, नेपाली मिडियाहरू जसले आफुलाई प्रजातन्त्रका पक्षधर ठान्छन्, उनीहरूले पनि स्वधर्म, स्वसंस्कृति र नेपाललाई केन्द्रमा राखेर गरेका गतिविधिहरूलाई समेत दक्षिण भनेर अपमानित गर्छन् | चरम धर्मान्ध मुस्लिम, इसाई तथा अन्य चरमजातिवादी, क्षेत्रवादीका घृणावादी क्रियाकलापलाई "अधिकार"को जलप दिएर शुद्धीकरण गर्छन् | हिन्दू र राजाका पक्षमा बोल्दैमा कुनै कसरी दक्षिण पन्थी हुन्छ ? उनीहरूसंग कुनै उत्तर छैन | केवल आफुहरू आधुनिक र प्रगतिशील भएको दम्भ छ |

तेसैले, उपरोक्त वर्गहरू मध्ये कुनै पनि वर्गको मतियार नभएको निर्विकल्प "नेपाली मौलिक वर्ग"ले मात्र नेपाल र नेपालीको भलो गर्छ | दक्षिण, बाम र मध्यमका बैचारिक जालमा न परौं | आत्मकल्याणसहित देश र विश्वको कल्याणका लागि आत्मविश्वाससहित मौलिकतावादतिर अग्रसर बनौं | नेपालको समग्र विकासका लागि वैचारिक भ्रमजालहरू तोड्नै पर्छ र तोड्नका लागि यी भ्रमहरू बोकेर जनतालाई अलमल पर्ने नेतृत्वसंगको नाता छोड्नैपर्छ | देशको भलाई यसैमा छ |

Sunday, December 19, 2021

विहादिको नाम यसरी पर्यो

विहादिको नाम यसरी पर्यो
विगत १० वर्षदेखि विहादीको नाम कसरी पर्यो होला भनेर चिन्तन गर्रें | धेरै अग्रजहरूसंग मोबाइल फोनमा कुराकानी भयो | उहाँहरूले आ-आफ्ना विचार, इतिहास र सुनेका कुराहरू बताउनु भयो | यो सबैपछि विहादीको नामको गाँठो फुकेजस्तो लाग्यो | रानीपानी र बराचौरको संयुक्त नाम (अहिलेको गापामा बाच्छा, शालीग्राम, उराम पोखरा, उहाकी ठाटी जोडिएका छन् तर अस्तिसम्म यी विहादी थिएनन्) विहादीको गाँठो खोल्ने छु | विहादी पर्वत जिल्लाको दक्षिणी भेकको एउटा ठूलो गाउँपालिका हो र यसको मुख्यालय वहाकीमा रहेको तर विगतमा विहादी भनेर केवल रानीपानी र बराचौरलाई बुझ्ने गरिन्थ्यो |

विहादीका सेरोफेरोमा पूर्व त्रिविवि नेपाल ल क्याम्पसका सहायक डीन गोविन्द प्रसाद पौडेलले वि.स. २०४० सालमा आफ्नो एमएको थेसिस प्रस्तुत गर्दा विहादी सम्भवत: मगर भाषाको डी अर्थात् पानीसंग जोडिएको हुन सक्ने तर्क अगाडी सारेको र तेस्तै गाई व्याएको हुँदा विहादी भएको तर्क अगाडी सारेको उहाँले यो लेखकलाई बताउनु भएको छ | साथै संस्कृतका प्रकाण्ड विद्वान् सुकृति दत्त पन्तले आफ्नो प्रसिद्ध कृति कार्तवीर्योदयमा विहादिलाई स्वर्गको अर्थमा प्रयोग गरेको पनि प्राप्त छ तर उहाँले विहादिको प्रयोग पर्वतको विहादि भन्ने ठाउँका लागि प्रस्तुत गर्नुभएको हो भन्ने प्रष्ट छैन |

संस्कृतमा विहा शब्दको अर्थ स्वर्ग हुन्छ | विहादि शब्द मूलतः विहामा आदि प्रत्यय लागेर निर्मित भएको हो भन्ने मेरो निचोड हो | विहा भनेर प्राचीन ऋषिरूले यस ठाउँको नामाकरण गरे किनभने यो ठाउँ साच्चिकै स्वर्गझैं छ | फाँटहरूबाट प्रष्ट हिमालहरू देखिने उत्तरतिर, फेरी भगवान्ग शालीग्रामको प्राप्ति पनि गण्डकीबाट हुने र बाच्छाको पहाडले सिधैं चीसो हावा पनि रोक्ने (उपत्यका न धेरै गर्मी हुने नधेरै जाडो हुने) भएको हुँदा स्वर्गझैं लाग्यो र यो बाटो हिंडेर गलेश्वर, मुक्तिनाथ, दामोदरकुण्ड जाने ऋषिमुनिहरूले "विहा" भने र पछिल्लायदिहरूले विहाआदि ठाउँ भएर मुक्तिनाथ पुगिन्छ भन्ने प्रसंगमा विहादि भन्न थाले |

विहादीले सिङ्गो नेपालको विशेषता बोक्छ | सवैभन्दा तत्लो ठाउँमा कालिगण्डकी गङ्गा बगिरहेकी छिन् र सबै भन्दा माथि भोर्लेको उंचाई छ | रानीपानी र बराचौरको फाँटमा प्रसस्त उब्जनी हुन्छ | बाच्छावटसंग जोडिएको विशाल जङ्गलले विहादीलाई प्रकृतिसंग जोड्छ | ठाउँठाउँका गुफा (सितलगुफाआदि)ले ऋषिमुनिहरूको तपस्याको थलो इंगित गर्छन् | उच्चतम भागको भोर्ले र निम्नभागमा बग्ने गण्डकी तथा फाँटहरूको उजाउभूमिले यो ठाउँलाई विहा अर्थात् स्वर्गझैं बनाउँछ |

दोस्रो कुरा, स्वामी प्रपन्नाचार्यले पर्वतको तल्लोभागलाई "उत्तरको कासी" भनेका छन् किनभने गण्डकीको सांस्कृतिक र धार्मिक पवित्रताका कारण मुक्तिनाथ तथा दामोदर कुण्ड जाने, पुलहा (गलेश्वर) क्षेत्रमा तपस्या गर्ने (भरत तथा ऋषभ)ले यो सम्पूर्ण क्षेत्रलाई विहादी भनेको हो किनभने देवघाटदेखि गण्डकक्षेत्र आरम्भ हुन्छ तर रानीपानी र बराचौरजस्तो प्राकृतिक रूपमा मिलेको ठाउँ अर्को छैन तेसैले यो ठाउँसंग आदि जद्दा "विहादी" बनेको हो | अर्थात् गुल्मी, बाग्लुंग समेतका भूभागलाई समेत सम्मान गर्दा "विहादी" नामकरण हुने तर्क उचित नै नै लाग्छ |

विहादीको नाम कसरी रह्यो होला भन्ने क्रममा मैले गुरुङ, थकाली र मगरहरूका रैथाने शब्दमा "विहादी" शब्दको अर्थ खोज्ने प्रयत्न गरें | ती भाषाहरूमा "डी" शब्द छ तर दि अन्त्य हुने शब्द रहेन छन् | विहादी जस्तै दि जोडिएका गाउँहरू कुणादि, गुणादि, चकौंदि, अर्मादि (कहीं यो ठाउँ संस्कृत व्याकरण पढाउने गुरूहरूको वासस्थल त थिएन ?) छन् तर यिनको मगर, गुरुङ र थकाली बोलिचालिमा कुनै अर्थ लाग्दैन | तेसैले यो क्षेत्र विहादि अर्थात् स्वर्गझैं भएकोले विहा हो र आसपासका क्षेत्रहरू पनि सुन्दर भएको हुँदा विहादि बन्न पुगेको हुनुपर्छ |

सबैभन्दा रमाइलो तत्थ्य त के भने पाणिनी सूत्रमा विहाको प्रयोग भएको छ | पर्वत प्राचीनकालदेखिनै पण्डितहरूको निवास थलो हो | ज्योतिष र व्याकरणका लागि पर्वत प्रसिद्ध छ | अहिले सरकारले विहादी गाउँपालिका बनाएको छ जसमा बाच्छा, वराचौर, रानीपानी, उराम, शालीग्राम र उहाकी थाँती पुराना गाविसहरूलाई जोडिएको छ | मलाई लाग्छ, विहा अर्थात् स्वर्गझैं भन्ने प्राचीन ऋषिले गरेको ठाउँको नामाकरण अझैं फैलिएको छ |

विहादिमा अनेकौं जीवन्त तीर्थ छन् | ऋषिमुनिहरूका साधना स्थल छन् | प्राचीन गुरुकुलका आचार्यहरूले निर्मित गरेका पवित्र विद्यालयहरू छन् र गिरी, पुरी सन्यासीहरूको वासस्थल छ | गिरिपुरीसन्यासी थरको उपलब्धताले प्राचीनकालदेखि नै यो ठाउँ त्यागी, सन्यासी तथा आचार्यहरूको साधनास्थल हो भन्ने प्रमाणित हुन्छ भने मगरगुरुङआदिको न्यूनउपस्थितिले यो क्षेत्रमा बाहुनक्षेत्रीआदि समुदायको निवासस्थल रहेको प्रमाणित गर्छ | बाहुनक्षेत्री तथा गिरिपुरीसन्यासीहरूले यो ठाउँको नामकरण उनीहरूकै सांस्कृतिक भाषा संस्कृतमा "विहा" भनेर जुराए भन्ने तत्थ्यमा शंका गर्ने ठाउँ रहन्न |

नोट : यो वाहेक कसैसंग अन्य जानकारीहरू छन् भने जोड्दै जाउँ | यो नै नामकरण खोज्ने अन्तिम विकल्प होइन |

Monday, November 22, 2021

हिन्दूहरूको भविष्य

हिन्दूहरूको भविष्य
सन् १८०० सम्म विश्वमा स्थानीय धर्म-संस्कार मान्नेहरूको सङ्ख्या सबैभन्दा बढी थियो | हिन्दू धर्ममान्ने ४थो ठाउँमा छन् | यद्यपि हिन्दू समुदाय सानो छ तर उदारताको सवालमा सबैभन्दा बढी प्रजातान्त्रिक छ | सायद सम्प्रदायगत रूपमा मुस्लिम, इसाई र यहुदीहरूले कल्पना पनि गर्न सक्दैनन् ! संभवत: मुसाईभित्र सैद्धान्तिक कट्टरताको कारणले युरोप र अमेरिकामा नास्तिक जनसंख्या बढ्दो छ |

यातायातको विकासले इसाईहरूको आवतजावत बढ्यो फलत: सन् १९०० मा इसाईहरूको उल्लेखनीय वृद्धि देखियो भने मुस्लिम पनि अच्काली बढे | हिन्दूहरू तेस्रो ठाउँमा छन् तर इसाई र मुस्लिमहरूले बल प्रयोग गरेर धर्मपरिवर्तन गराएको कारणले स्थानीय विश्वासीहरूको सङ्ख्या निकै घटेको छ |

सन् २००० मा इसाई र हिन्दूहरूको सङ्ख्यामा खासै उठाव देखिन्न तर मुस्लिमहरू एकाएक बढेका छन् भने यहाँ पनि हिन्दूहरू तेस्रो ठाउँमा नै छन् | सन् २०२१ सम्म विश्वको सबैभन्दा ठूलो धार्मिक समुह मुस्लिम बन्ने र इसाई दोस्रोमा झर्ने छ | एता हिन्दू जनसंख्या भने तेस्रो नै रहने छ |

मैले होइन, इतिहासले भन्छ कि गोरेहरूले पैसा कमाउनका लागि अन्य देशहरूलाई "कोलोनी" बनाए र बौद्धिक दास बनाउँनका लागि बाइबल र तलवारको व्यापक प्रयोग गरे | साउथ अमेरिका होस् वा अफ्रीका इसाई मिसनहरूले गरेको आमहत्या इतिहासले भुल्ने छैन | व्यक्तिगत रूपमा इसाई-समुदायप्रति मेरो सद्भाव छ र सबैलाई दोषी ठान्नु उचित हुँदैन र इतिहासले गरेको दोष वर्तमानलाई बोकाउनु पनि हुँदैन |

मुस्लिमहरूले आफ्नो प्रचारप्रसार तलवार र विवाहका माध्यमबाट गरेका थिए र अहिले पनि जनसंख्या (असीमित रूपमा बालबालिका जन्माएर) गरिरहेका छन् | साउदी, दुवई, कतारजस्ता मुस्लिम बहुल मुलुकहरू धनि हुँदै जाँदा आर्थिक प्रलोभन दिएर मुस्लिम बनाउने बाटो (जुन मूलत: इसाईहरूले गरिरहेका छन्) अपनाउँदै छन् | इसाई र मुस्लिमहरूको उदारतावाद एउटा अतिअविश्वासीलो मुकुण्डो हो भन्ने बुझ्नु उचित हुन्छ |

यहुदी एकेश्वरवादी चिन्तनको पृष्ठभूमिमा विकसित भएका (पछि इसाई पृष्ठभूमिमा) विकसित भएका पूँजीवाद, साम्यवाद, समाजवादजस्ता राजनैतिक चिन्तनहरूले पनि बाध्य भएर उदारतावादको हिन्दू चिन्तन स्वीकार गरिसकेका छन् | केही कट्टरपन्थी मुस्लिम राष्ट्रहरू पनि हिन्दू-उदारतावादको चरित्र स्वीकार्न बाध्य हुँदैछन् | उदाहरणका लागि साउदी अरवले रामायण-गीता र योगलाई मान्यता दिनु, अमेरिकी राष्ट्रपतिहरूले हिन्दू चाडमा समावेश हुनुले माथिल्लो तत्थ्य प्रष्ट हुन्छ |

हालै साउदी अरवले पनि आफ्नो देशमा अन्य धर्मका मान्छेलाई स्थायी नागरिकता दिने घोषणा गरेको छ | यसले हिन्दू उदारतावादी चिन्तनको विकल्प छैन भन्ने देखाउँछ | इसाई/मुस्लिमहरूका धार्मिक विद्यालयहरूमा समेत एकेश्वरवादी चिन्तनमा आधारित राष्ट्रतन्त्रलाई क्रमशः बहुलतातिर (सर्वजन कल्याण) लैजाने पाठ्यक्रम छन् | "राष्ट्रराज्य"को सिद्धान्त क्रमशः प्राकृतिक मृत्युतिर उन्मुख हुँदैछ |

यही सनातन धर्मको विशेषता हो | मैले विश्लेषण गरे अनुसार सन् २१०० सम्ममा विश्वको ७५% जनसंख्या हिन्दूहरूको विश्वासमा चल्ने छ | हिन्दू समाजमा प्रचलित छुवाछुत पूर्णरूपले अन्त्य हुनेछ | धर्मको महलमा मुस्लिम वा इसाई लेखे पनि धेरै मान्छेहरूको "धार्मिक दृष्टिकोण" अत्यन्त उदार हुने छ | जुन पूर्णतया हिन्दू चिन्तन र जीवनशैलीका कारण हो |

धर्मपरिवर्तन गर्ने कुनै व्यबस्था नभएको हुँदा विश्वभरिका मान्छेहरू बैचारिक रूपमा हिन्दू हुँदा पनि हिन्दू धार्मिक समुहमा रहनु प्राकृतिक नै बुझिन्छ | असलमा, धार्मिक र सांस्कृतिक "उदारतावाद"ले महत्व पाइरहंदा अहिलेको ६०% विश्व जनसंख्या केही अर्थमा हिन्दू नै हो |

सन् २१०० मा सबैभन्दा ठूलो धार्मिक समुह मुस्लिम वा इसा देखिए पनि गुणात्मक रूपमा विश्वको सबैभन्दा ठूलो बैचारिक-व्यक्तित्व हिन्दू नै हुने छ | यहुदी, इसाई, मुस्लिमहरूले उदारतावादको बाटो अपनाउनुनै पर्ने छ र त्यो बाटो राज्यराष्ट् भएर हिन्दूत्वबाट नै तयार पारिएको हुनेछ |
स्वस्तिअस्तु

विश्वदर्शन दिवस : निर्विकल्प विवेक

विश्वदर्शन दिवस : निर्विकल्प विवेक

यो लेख लेख्दै गर्दा चीन विश्वको ठूलो अर्थतन्त्र बनेको समाचार आएको छ | तेसै समाचारले "विश्वका १० बटा देशहरूले विश्वको ६०% अर्थतन्त्रको प्रयोग गर्छन्" भनेर पनि लेखिएको छ | हरेक वर्ष फोब्सले विश्वका धनिव्यक्तिहरूको मुल्यांकन गरेर सूचि प्रकाशित गर्छ | फोब्सको प्रतिवेदनमा विश्वास गर्ने हो भने विश्वको ३३% संसाधनहरूमा केवल १० बटा धनि व्यक्तिहरूको निर्णय चल्छ | ती मध्ये ९ जना अमेरिकी नागरिक हुन् |
कोरोनाले विश्व अस्तव्यस्त भएको छ | दुई वर्षको अन्तरालमा लगभग ५२ लाख मान्छेले ज्यान गुमाएका छन् | अझैं कतिले ज्यान गुमाउने छन् ? भन्न सकिन्न | कोरोना भाइरसको खोप विकसित भैसकेको छ तर धनिदेशहरूले गरीव देशहरूलाई बेच्न समेत आनाकानी गरिरहेका छन् भने बेचे पनि चर्को मूल्य लिएका छन् | अनुदानको क्रम नगण्य छ र केवल आफ्नो मन मिल्ने राष्ट्रलाई मात्र दिएका छन् | मान्छे मर्ने क्रम रोकिएको छैन |


यसै बीच विश्वको मह्गाई लगभग २३% ले वृद्धि भएको छ | धनिदेशहरूले अनुदान दिएर मूल्य वृद्धिलाई निस्तेज पारिरहेका छन् भने नेपालजस्तो गरीव देशमा १५५ रुपैयामा पाइने सूर्यमुखिको तेल २९० पुगेको छ | एकातिर रोजगारी गुमिरहेका छन् भने अर्कोतिर महंगाईले आकाश छोइरहेको अवस्था छ | नेपालकै हकमा सरकार, राजनैतिक दल तथा तिनका भात्रृसंगठनहरू आ-आफ्नो "कमिशन"को हिसावकितावमा व्यस्त छन् |
यस बीच दूईबटा तत्थ्यहरूमा बडो गजवले उन्नति भएको छ विश्वमा : धनिहरू अझैं धनि भएका छन् र शस्त्रअस्त्रहरूको व्यापारमा १३७% ले वृद्धि भएको छ | कोरोनाले कुनै पनि सानोठूलो युद्धलाई प्रभावित पार्न सकेन | युद्ध चलिनै रहेका छन् | हामी प्राणीहरुको साझा बासस्थललाई ९ घण्टामा ध्वस्त पार्न सक्ने १३४१० बटा परमाणुबमहरू फुट्न तयार छन् | मान्छेको बुद्धिले ऊसहित सम्पूर्ण प्रकृतिलाई अज्ञात मृत्युको माला लगाइदिएको छ | विस्फोटका लागि तम्तयार नाभकीय भट्टीमा विश्वलाई सजाएर राखिएको छ |

यसमा सन्देह छैनकि मान्छेले क्रमिक अनुभवबाट धेरै कुरा सिकेको छ | यही सिकाई र बुझाईको निरन्तरता र पुस्तान्तरणले गर्दा मानवीय जीवन सुखी भएको छ | बौद्धिक विकास र पुस्तान्तरण मान्छेको आफ्नो मौलिक विशेषता हो | राष्ट्र नामक सीमानाहरूको विकास हुँदागर्दा मान्छेको बौद्धिक विकास व्यक्तिगत सुखसुविधामा केन्द्रीय भएको छ भने व्यक्तिव्यक्तिबाट निर्मित राष्ट्रिय स्वार्थले प्राकृतिक मानिसलाई मानसिक तथा बुद्धिक रूपमा रुग्ण (स्वार्थी) बनाएको छ | अचम्मको कुरा त के भने जतिधेरै मान्छेहरूले उदारता र सहकार्यको कुरा गरिरहेका छन् तेतिनै तीब्रगतिमा मान्छेको व्यक्तिगत स्वार्थ बढीरहेको छ | सत्य, मूल्य, तत्थ्य र विवेक ओझेलमा परेका छन् |

मान्छेलाई आफुले विकास गरेका महाविध्वंसक क्रियाकलाप वारे थाहा छ | विकास र विजयका नाममा प्रकृतिसंग दुष्कर्म गरिरहेको तत्थ्य पनि मान्छेलाई राम्ररी थाहा छ | धर्म र धार्मिकताका कुराहरू अहिले राजनैतिक शक्ति आर्जनका विषय बनेका छन् भन्ने तत्थ्य सबैले बुझेका छन् | वर्तमान सत्य र आसन्न सत्यका सम्वन्धमा मान्छेले बुझेको छ, तेसको परिणाम पनि थाहा छ | त्यति हुँदाहुँदै पनि स्वार्थनै बलियो छ | मान्छेहरू स्वार्थका लागि आफुसहित सम्पूर्ण प्रकृतिको बलिदान दिन तयार छन् तर स्वार्थ छोड्न तयार छैनन् | स्वार्थका अगाडी "विवेक" निरीह छ |

मान्छे सामाजिक प्राणी अवश्य हो तर विवेकशील हो कि होइन ? हामीले आफैसंग र समकालीन विश्वसंग प्रश्न गर्नुपर्छ | अहिले विश्वसंग सम्पूर्ण मानव-जनसंख्यालाई यथेष्ट रूपमा पुग्न सक्ने खाद्यान्न, औषधि, वासस्थल तथा शिक्षाको उपलब्धता छ | तर स्वार्थका सीमाहरूले सुविधाहरूको सामानुपातिक वितरण गर्न सक्दैन | युद्धका लागि पुगिसरी अस्त्रशस्त्र उपलब्ध हुन्छन् तर रोग, भोक र अशिक्षासंग लड्न संसाधन पुग्दैन | सिरिया, अफगानिस्तानजस्ता युद्धग्रस्त देशहरूमा शस्त्रअस्त्र प्रचुरमात्रामा उपलब्ध छन् तर रोग, भोक र शिक्षाका लागि धन उपलब्ध छैन | सबैलाई थाहा छ "शस्त्रहरू ती देशले निर्माण गर्दैनन् |"

Friday, July 16, 2021

मीना, मोबाइल र त्यो मान्छे

 मीना, मोबाइल र त्यो मान्छे

उनी (मीना) १६ वर्षको उमेर मैं २८ वर्षीय पुरुषसंग पोइला हिडीन् | कथा नौं मा पढ्दापढ्दै आफ्नो मोवाइमा फ्रेन्डस-रिक्वेस्ट आयो | उनले विचार नै नगरी मित्रता स्वीकार गरिन् | उसले नम्वर माग्यो, त्यो पनि सजिलैसँग दिइन् |
तीनदिनपछि क्लास चलिरहेको बेलामा त्यो मान्छेले फोन गर्यो | उनले क्लास-छोडेर फोन उठाइन | उसले ठाउँ र गाउँको नाम सोध्यो उनले सबै कुरा साँचो-साँचो भनिदिईन् |
शनिवार भएको हुँदा मिना खरवारीमा बाख्रा चराऊंदै थिइन् | केही दिनपछि त्यो मान्छे गाउँमै आएर फोन गर्यो र भेट्ने इच्छा प्रकट गर्यो | उनले घरमा आउन अनुरोध गरिन् तर उसले मानेन |
नजिकैको चौतारीमा भेट्ने कुरा मिल्यो | पहिलो भेट मैं उसले राम्रो सूट र मोबाइल उपहार दियो | आफु एउटा सफल ब्यबसायी भएको र शहरमा घर भएको बतायो, साथै "फोटो देखेको दिन देखि नै माया" गर्न लागेको पनि जिक्र गर्यो र फेरी भेट्ने बाचा गर्दै बाटो लाग्यो |
अनि, बारम्वार मोबाइलमा कुरा हुन थाल्यो | फेसबुकमा च्याट हुन थाल्यो | यी सबै ठाउँमा उसले एउटा कुरा दोहोर्याई रह्यो "अहिले नै आमा वालाई नभन्नु | आजको जमानामा आफ्नो विषयमा निर्णय गर्ने अधिकार आफ्नै हुन्छ |"
यसपछि उ हरेक १५ दिनमा गाउँ आउन थाल्यो | हरेक पटक उसंग उपहारहरू हुन्थे | उ निकै धनिजस्तो देखिन्थ्यो र ऊ मायालु व्यवहार गर्थ्यो | यस पटक भने उसले मीनाको शरीरलाई छोयो, उनले "किन नाइँ" भन्न सकिनन् |
घर फर्केपछि मीना धेरै वेरसम्म रोइ रहिन् | मनमा ठूलो पश्चाताप भयो | "मैले तिमीलाईलाई असाध्यै माया गर्छु, हामीले अव विवाह गर्नुपर्छ" भन्दा मीनाको मन तर्सियो | विवाहका विषयमा उनको सोच नै थिएन |
घरमा एउटा भाई थियो | बा विदेशमा बस्थे | आमा अलिअलि रोगी थिइन् | घरमा धेरै अभाव त थिएन तर फुर्मास गर्न पनि थिएन | आमाले भाईलाई बढी माया गर्थिन् | घरको सबैजसो काम आफैले गर्नुपर्थ्यो | त्यैपनि "टोकेसो" थियो नै | मीनाको कुरा सुन्ने कोही थिएन |
छ महिनाको मोबाइल-प्रेमपछि एकरात मीना घर छोडेर "मान्छेसंग" सुटुक्क हिडीन् किनभने उनले "नाइँ" भन्न सकिनन् | उसको आग्रहलाई टार्ने आँट उनीमा थिएन |
उसले "बूढा सुब्बा" लगेर सिन्दुर-पोते दियो | दूवैजना एउटा होटलमा बसे | त्यसदिनको होटल बसाइ निकै डरलाग्दो थियो | उसले "जवर्जस्ती" गरेको थियो | उनलाई त्यो पीडा पचाउन निकै गारो भयो |
केही दिन घुमेपछि उनको लोग्नेले आफ्नो घर लग्यो | त्यो घर कम र गरिवीको मूर्ति बढी थियो | त्यहाँ उसकी जेठी श्रीमती र त्यसतिरका दूई सन्तान थिए | त्यस घरमा कसैले स्वागत गरेनन् | उनीसंग त्यहाँ बस्नको विकल्प थिएन |
घर पुगेपछि उनले बुझिन् - लोग्ने वेरोजगार रहेछ | उपहारमा दिएको मोबाइल, सुनका टप तथा अन्य सामग्रीहरू उधारोमा बटुलेका सामग्री रहेछन् | घर पुगेको तेर्सो दिन मैं लोग्नेले उपहारको मोबाइलसमेत खोस्यो |
सौताको टोकेसो, सासु-ससुराको गालीगलौज, जड्याहा लोग्नेको पिटाइ, आधापेट
कठोर शारीरिक श्रम मीनाको दैनिकी बने | उमेरले १८ वर्ष छुनुभन्दा पहिला नै एउटा बच्चीले जन्म लिई |
त्यसपछि लोग्नेको प्रताडना अझैं बढ्यो | पहिलेकी श्रीमतीका दुई छोरीहरूको रीस उसैमाथि पोखियो | सहनै नसक्ने गरी शारीरिक यातना बढ्न थाल्यो | उनको कलिलो मन छियाछिया भयो |
उनको सहयोगका लागि न कुनै आफन्तले पहल गरे न गाउँलेहरू नै सहयोग गर्न तयार भए | उनलाई देखेर सबै सहानुभूति प्रकट गर्थे र कहिलेकाहिं लुकेर भोजन दिन्थे | उनका परिवारसंग गाउँलेहरूको बोलचाल नै थिएन |
अन्तत: सहनै नसकेपछि उनले आफ्नो छोरीसंग कोशीमा हाम फाल्ने निर्णय गरिन् | गाउँलेले मीनाको उद्धार गरे तर छोरीलाई जोगाउन सकेनन् |
मीना अहिले "कल्याणकेन्द्रमा" छिन् | बर्बराउने, डराउने, विश्वास गर्न नसक्ने, निदाउन नसक्नेजस्ता मानसिक अस्वस्थ्यताले ग्रस्र छिन् | मनोबैज्ञानिक परामर्शदाताको प्रत्यक्ष निगरानीमा छन् |
...........
यो सत्य घटनाको अर्धसत्य कथाकरण हो | यसमा पात्रको नाम, ठाउँआदि फेरिएको छ तर घटना कत्तिपनि फेरिएको छैन | यस घटनाको प्रयोग परामर्श, संचेताना तथा जागरणका लागि मात्र होस् |
हाम्रो समाजमा यस्ता धेरै मीनाहरू छन् जसलाई सहयोगको खाँचो छ | यो घटना पढेपछि तपाईंहरूले यस्ता पात्रहरूलाई कसरी सहयोग गर्न सक्नुहुन्छ ? योजना बनाउने प्रयत्न गर्नुहोला |

एउटा केटो

 एउटा केटो

मैले भेट्दा मनोज सांग्रीला होटेलको अगाडीको सडकमा झोक्राएर बसिरहेको थियो | उ एउटा बोरामा आडेस लागेर बसेको थियो | उसको उमेर अन्दाजी १३ वर्षको होला | उसका वरिपरी फोहोरको थुप्रो थियो | नजिकै उ भन्दा कही ठूलो उमेरका केटाहरू "ग्लू" तानिरहेका थिए |
मैले एकैछिन त्यसलाई उभिएर हेरें | मैले अन्य भन्दा ऊ फरक होला कि भनेर अनुमान गरें | उसका लुगा हेर्दा त्यस ठाउँका लागि ऊ नया देखिन्थ्यो | त्यहाँ उ रम्न सकिरहेको थिएन |
मैले ऊसंग कुरा गर्ने निर्णय गरें | म एक्लो त्यस केटातिर गएको देखेर अन्य केटाहरू पनि चनाखो भए | ती मध्ये एकजनाले त मुखै फुटालेर भन्यो "अव यसले पनि खान बोलाउने होला" | मैले वास्ता गरिन |
त्यो केटा मङ्गोल जातिको थियो – लिम्बु थरको | उसको शरीरको विकास सामान्य नै देखिन्थ्यो | म नजिक उभिएको देखे पनि उसले पटक्कै वास्ता गरेन | "बाबु, बाबु" भनेर तीन पटकसंग बोलाउँदा पनि उसले आफ्नो मुख उठाएर म तिर हेरेन |
केही वेरपछि उसले बडो उपेक्षित तरिकाले मलाई हेर्यो | त्यस्तो उपेक्षाको भावना मैले कहिले पनि भोगेको थिइन | "बाबु ! म तिमीलाई केही सहयोग गर्न चाहन्छु | ठीकै छ, यो पाउरोटी तिम्रो लागि हो | म भोली फेरी आउनेछु | उसले पाउरोटीतिर पुलुक्क हेर्यो |
भोली फेरी म त्यसै ठाउँमा पुगें | ऊ त्यही बसिरहेको थियो | तर आज उसको आँखामा हिजोको जस्तो उपेक्षा थिएन | उसले मेरो कुरा ध्यान दिएर सुन्यो | अन्त्यमा उसले भन्यो "मान्छे मीठो-मीठो कुरा गर्छन् तर घरमा लगेपछि के-के गर्न लाउछन् | मलाई कतै जानु छैन |"
तेस्रो दिन ऊ मलाई नै कुरिरहेको थियो | मैले उसको लागि केही नया लुगा किनेर लागेको थिएँ | उसले लुगा स्वीकार गर्यो तर ती लुगा त्यहाँ लगाउने अवस्था थिएन | उसले ती लुगा आफैसंग राख्यो | ऊ मेरो पछाडी लाग्यो |
मैले उसलाई मेरो आफ्नै घरमा लगें | मेरी श्रीमती र छोरी हाम्रो नै प्रतीक्षा गरिरहेका थिए | सबैले मुसुक्क हाँसेर स्वागत गरे | मैले आफ्नो परिवारसंग उसको परिचय गराए | परिवारले उसलाई अत्यन्त सहजरूपमा स्वीकार गरे |
सुरुका उसलाई दिनहरूमा परिवारसंग मिल्न असजिलो भयो | सडकमा विन्दास जीवन बाच्ने बानी परेकाहरूलाई घर सजिलो हुँदैन | ऊ एक्लै बस्न र कम बोल्न मन पराउन्थ्यो | यदाकदा अचानक रून थाल्थ्यो | ऊ सानोतिनो कुरामा डर मान्थ्यो | राम्रो लुगा लगाउँदा लाज मान्थ्यो | तर लुकेर पत्रपत्रिका पढ्ने, केटाकेटीका कितावहरू पढेको ऊ देखिन्थ्यो |
लगभग तीन महिनापछि मैले "विद्यालय जान्छौं" भनेर सोधें, उसले सहज रूपमा हुन्छ | मैले नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिएँ | विद्यालयमा उसको पठनपाठन राम्रो थियो | सरहरू पनि निकै माया गर्नुहुन्थ्यो | मैले उसको वास्तविकता कसैलाई बताएको थिइन |
अव ऊ हाम्रा परिवारको अंग नै बनिसकेको थियो | त्यसवेला सम्म मैले उसको पारिवारिक पृष्ठभूमिका विषयमा अप्रत्यक्षरूपमा बुझ्ने प्रयत्न गरें तर केही थाहा हुन सकेन | मैले उसंग सोधिन | उसले पनि भनेन |
एकदिन हामी तीनदिने भ्रमणमा चितवन गयौं | ऊ असाध्यै खुशी भयो | त्यही खुसीको बेलामा मैले उसको परिवारका विषयमा सोधें | एकैछिन केही बोलेन मलाई एकोहोरो मेरो मुखमा हेरिनै रह्यो | सायद ऊ मसंग आस्वस्थ हुन चाहन्थ्यो |
उसको कथा यस प्रकारको रहेछ - उसको सानो जीवन सरल थिएन | ऊ धरानमा मध्यम परिवारमा जन्मेको रहेछ | तीन वर्षको उमेरमा आमा वितिछन् | बाबुले केही वर्षपछि नै कान्छीआमा ल्याए | केही दिन कान्छीआमाले निकै माया गरिन् तर बहिनी जन्मिएपछि उनको ब्यबहार रुखो हुँदै गयो |
बाबाले माया गर्नु हुन्थ्यो तर बाबाको अनुपस्थितिमा कान्छीआमाले सहनै यातना दिनु हुन्थ्यो | उनको ब्यबहार अचम्मको दियो | बहिनी प्रति उनी निकै क्रूर थिइन् | बहिनीप्रति उनको रत्ति पनि माया थिएन | बहिनिको खुट्टा समातेर विस्तारामा गुडिया झैं पछार्थिन् | त्यो देखेर मलाई निकै डर लाग्थ्यो |
त्यो सानी नानीको शरीरमा नीलडाम हुन्थे | म बहिनीलाई निकै माया गर्थे | त्यसो त सानीआमाले मलाई पनि न पिट्ने होइन | तर त्यो सानी बहिनीको तुलनामा मेरो दुख निकै कम थियो | उ एकवर्ष पनि पुगेकी थिइन | उ बोल्न सक्ने थिइन | उसले आफ्नो कुरा बुवा वा मलाई भन्न नसक्ने थिई | उनी निकै निर्दयी छन् |
बाबालाई यी सबै कुरा थाहा थियो कि थिएन भन्न सक्दिन | एक दिनको कुरा हो - म विद्यालयबाट फर्किदा सानीआमाले बहिनीलाई काखमा राखेर उसको कपाल लुछिराहेकी थिइन् | बहिनी चिच्याईमात्र रहेकी थिई | म निकै डराएँ |
बेलुका मैले यी सबै कुरा बुवालाई बताएँ | वुवाले कत्त्ति पनि मेरो विश्वास गर्नु भएन | भोली पल्ट विहान उहाले मलाई आफ्नो कोठामा बोलाउनु भयो र बेस्करी पिट्नु भयो | मैले वुवाबाट पिटाई खाएको यो पहिलो पटक थियो |
त्यस घटनापछि कान्छीआमाको अत्याचार बहिनी उपर बढ्दै गयो र उनी कराएर त्यसको दोष मलाई लगाउथिन् | बा कान्छीआमाको कुरा पत्याएर मलाई नै बेस्मारी कुट्नु हुन्थ्यो | मेरो कुरा सुन्न नै चाहानु भएन | घरको धेरैजसो काम भाँडा माझ्ने, कुचो लगाउने यहाँसम्म कि लुगा धुने काम पनि मैले नै गर्नु पर्थ्यो |
त्यसदिन एकविहानै बाबाले कोठाबाट निकालेर कुटेपछि त्यस घरमा बस्नै मन लागेन | म घरबाट बाहिरिए | मसंग केही पैसा थिए | म काठमाडौँको वसमा चढें | भोलीपल्ट विहान काठमाडौँ आइपुगे | यहाँ मैले चिनेको कोई थिएन | कहाँ जाने-कहाँ नजाने कुनै ठेगान थिएन | एक रात वसपार्क मै वितायें | राती एकजना मान्छे आएर गोजीमा भएको धेरथोर पैसा पनि जवास्जती लग्यो |
भोली पल्ट मसंग खाने केही थिएन | तीन दिनसम्म भोकभोकै बसें | तेस्रो दिन एकजना मजस्तै उमेरको केटाले फोहोर उठाएको देखेर त्यहीं गएँ | मैले आफ्नो कुरा बताएँ | ऊसले एउटा बोरा खोजिदियो | ऊसंग नै मैले उठाएको फोहोर ११० रुपियामा कवाडीमा बेचें | त्यही पैसाले पेट भरियो | तर राती भने तिनै केटाहरू मध्ये बलियोले सबैसंग रहेको पैसा जवर्जस्ती लगिदिने गर्थे | नदिए लात्तैलात्ताले कुट्थे |
तीन महिमा यसै गरी वित्यो | त्यसपछि एकजना धनी मान्छेले पढाई दिन्छु भनेर आफ्नो घर लग्यो | तर उसले त्यहाँ जे गर्न खोज्यो त्यो भन्न लाज लाग्छ | म फेरी पनि त्यो घरबाट भागें | मलाई धेरैले झुक्याए | तर तपाईंलाई विश्वास गर्छु |
त्यो घरबाटपछि म फेरी पुरानै जीवनमा फर्किए | यहाँको संसार विचित्रको छ | यहाँ ठूला “दाईहरू”को मात्र नियम चल्छ | ठूलाले भनेको नमान्ने हो भने ढुङ्गा थिचेर पनि मार्न सक्छन् | यहाँ धेरैजसो ग्लूको लतमा हुन्छन् | पैसा पाउँदा खाने हो नत्र भोकै बस्ने हो |
प्रहरीको ब्यबहार सबैभन्दा निर्दयी हुन्छ | कुनै पनि ठाउँमा चोरी भयो कि उनीहरूले “खाते”लाई समात्छन् | कठोर यातना दिन्छन् | चोरको रूपमा प्रस्तुत गरेर केही दिन थुन्छन् र छोडीदिन्छन् | कुनैकुनै प्रहरी निकै दयालु हुन्छ | एक पटक प्रहरीले मेरो ज्यान जोगाएका थिए | ती प्रहरी अंकलले कहिलेकाहिं मलाई खाना पनि दिन्थे |
म खातेहरू संग हिड्थे तर उनीहरूबाट अलग हुन चाहन्थे | मलाई फेरी कथा आठमा नै भर्ना भएर पढ्न मन लागिरहेको हुन्थ्यो | कहिलेकाहिं म सरकारी विद्यालयको छेउमा गएर उभिन्थे | तर त्यहाँ मलाई सोध्ने कोही हुदैनथ्यो | धेरैजसोले खाते भनेर धपाऊथे |
म केवल रुन्थे | मलाई वावाआमाको भन्दा पनि त्यो सानी बहिनिको असाध्यै माया लाग्छ | म मेरी सानी बहिनिलाई असाध्यै माया गर्छु | मेरो वा र सानीआमाप्रति कुनै माया छैन | उहाँहरूसन्द डर लागिरहन्छ | तर एकपटक मैले आफ्नी बहिनीलाई भेट्न चाहन्छु |
हामी चितवनको भ्रमण गरेर घर फर्क्यो | मैले धरानको उसको परिवारको विषयमा बुझ्न पठाएँ | सबै उसले भने बमोजिम नै भेटियो | मैले मनोजका आमाबुवासंग सम्पर्क बनाएँ | मनोजले घर छोडेपछि सानीआमाको ब्यबहारमा केही परिवर्तन आएछ | बाबु पनि आफ्नो छोरालाई भेट्न आतुर देखिन्थे |
आमा र बाबु दूबैलाई मनोपरामर्षदातासंग भेट गर्न सहमत गराएँ | उनीहरूले नाचिने पनि सात पटकासम्म हामी परामर्शका बैठकमा बस्यौं | आठौँ पटकमा मनोज र आमावुवाकोबीच भेटभयो | यस पटक मनोजले आफ्ना आमावुवामा विश्वास गर्न सकेन तर बहिनीलाई काखमा लिएर धेरैवेरसम्म खेलिनै रह्यो |
अव मनोज आफ्नी कान्छी-आमा र बासंग आफ्नै घर धरानमा बस्छ | बहिनी र उ दूबै विद्यालय जान्छन् | बहिनीलाई उसले असाध्यै माया गर्छ | यद्यपि कान्छीआमाप्रति उ अझै विश्वास गर्न सकिरहेको छैन | तर कान्छीआमाको ब्यबहार भने सकरात्मक भएको छ |
अहिके मनोज कक्षा दशमा पढ्छ भने बहिनी नर्सरीमा | मैले हरेक चौथो वा पाँचौदिन फोन गर्छु | मेरो फोनको उ प्रतिक्षा गरिरहेको हुन्छ | मेरी छोरी छोरी ऊभन्दा उमेरमा धेरै ठूला छन् तर दुवैले उसलाई असाध्यै माया गर्छन् र “कान्छो भाई” भनेर सम्बोधन गर्छन् | मेरी श्रीमती उसलाई “विन्दास” भन्छिन् | साच्चिकै भन्ने हो भने हरेक दिन हामीले एउटा सदस्य “मिस” गरिरहेका हुन्छन् |
.....................................
नोट : यो कथा होइन | यो वास्तविक घटना हो | पात्रको नाम र ठाउँ मात्र फेरिएको हो | हामीले आफ्नो दृष्टिकोण वदल्ने हो भने धेरैलाई सहयोग गर्न सक्छौं | सद्भाव, प्रेम र सकारात्मक ब्यबहारले जस्तोसुकै समस्यामा परेका मान्छे पनि वदलिंछन् |
विश्वास गर्नुस्, धेरै मनोजहरूले हाम्रो प्रतिक्षा गरिरहेका छन् | के हामी सहयोग गर्न तयार छौँ ?

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...