Monday, November 22, 2021

विश्वदर्शन दिवस : निर्विकल्प विवेक

विश्वदर्शन दिवस : निर्विकल्प विवेक

यो लेख लेख्दै गर्दा चीन विश्वको ठूलो अर्थतन्त्र बनेको समाचार आएको छ | तेसै समाचारले "विश्वका १० बटा देशहरूले विश्वको ६०% अर्थतन्त्रको प्रयोग गर्छन्" भनेर पनि लेखिएको छ | हरेक वर्ष फोब्सले विश्वका धनिव्यक्तिहरूको मुल्यांकन गरेर सूचि प्रकाशित गर्छ | फोब्सको प्रतिवेदनमा विश्वास गर्ने हो भने विश्वको ३३% संसाधनहरूमा केवल १० बटा धनि व्यक्तिहरूको निर्णय चल्छ | ती मध्ये ९ जना अमेरिकी नागरिक हुन् |
कोरोनाले विश्व अस्तव्यस्त भएको छ | दुई वर्षको अन्तरालमा लगभग ५२ लाख मान्छेले ज्यान गुमाएका छन् | अझैं कतिले ज्यान गुमाउने छन् ? भन्न सकिन्न | कोरोना भाइरसको खोप विकसित भैसकेको छ तर धनिदेशहरूले गरीव देशहरूलाई बेच्न समेत आनाकानी गरिरहेका छन् भने बेचे पनि चर्को मूल्य लिएका छन् | अनुदानको क्रम नगण्य छ र केवल आफ्नो मन मिल्ने राष्ट्रलाई मात्र दिएका छन् | मान्छे मर्ने क्रम रोकिएको छैन |


यसै बीच विश्वको मह्गाई लगभग २३% ले वृद्धि भएको छ | धनिदेशहरूले अनुदान दिएर मूल्य वृद्धिलाई निस्तेज पारिरहेका छन् भने नेपालजस्तो गरीव देशमा १५५ रुपैयामा पाइने सूर्यमुखिको तेल २९० पुगेको छ | एकातिर रोजगारी गुमिरहेका छन् भने अर्कोतिर महंगाईले आकाश छोइरहेको अवस्था छ | नेपालकै हकमा सरकार, राजनैतिक दल तथा तिनका भात्रृसंगठनहरू आ-आफ्नो "कमिशन"को हिसावकितावमा व्यस्त छन् |
यस बीच दूईबटा तत्थ्यहरूमा बडो गजवले उन्नति भएको छ विश्वमा : धनिहरू अझैं धनि भएका छन् र शस्त्रअस्त्रहरूको व्यापारमा १३७% ले वृद्धि भएको छ | कोरोनाले कुनै पनि सानोठूलो युद्धलाई प्रभावित पार्न सकेन | युद्ध चलिनै रहेका छन् | हामी प्राणीहरुको साझा बासस्थललाई ९ घण्टामा ध्वस्त पार्न सक्ने १३४१० बटा परमाणुबमहरू फुट्न तयार छन् | मान्छेको बुद्धिले ऊसहित सम्पूर्ण प्रकृतिलाई अज्ञात मृत्युको माला लगाइदिएको छ | विस्फोटका लागि तम्तयार नाभकीय भट्टीमा विश्वलाई सजाएर राखिएको छ |

यसमा सन्देह छैनकि मान्छेले क्रमिक अनुभवबाट धेरै कुरा सिकेको छ | यही सिकाई र बुझाईको निरन्तरता र पुस्तान्तरणले गर्दा मानवीय जीवन सुखी भएको छ | बौद्धिक विकास र पुस्तान्तरण मान्छेको आफ्नो मौलिक विशेषता हो | राष्ट्र नामक सीमानाहरूको विकास हुँदागर्दा मान्छेको बौद्धिक विकास व्यक्तिगत सुखसुविधामा केन्द्रीय भएको छ भने व्यक्तिव्यक्तिबाट निर्मित राष्ट्रिय स्वार्थले प्राकृतिक मानिसलाई मानसिक तथा बुद्धिक रूपमा रुग्ण (स्वार्थी) बनाएको छ | अचम्मको कुरा त के भने जतिधेरै मान्छेहरूले उदारता र सहकार्यको कुरा गरिरहेका छन् तेतिनै तीब्रगतिमा मान्छेको व्यक्तिगत स्वार्थ बढीरहेको छ | सत्य, मूल्य, तत्थ्य र विवेक ओझेलमा परेका छन् |

मान्छेलाई आफुले विकास गरेका महाविध्वंसक क्रियाकलाप वारे थाहा छ | विकास र विजयका नाममा प्रकृतिसंग दुष्कर्म गरिरहेको तत्थ्य पनि मान्छेलाई राम्ररी थाहा छ | धर्म र धार्मिकताका कुराहरू अहिले राजनैतिक शक्ति आर्जनका विषय बनेका छन् भन्ने तत्थ्य सबैले बुझेका छन् | वर्तमान सत्य र आसन्न सत्यका सम्वन्धमा मान्छेले बुझेको छ, तेसको परिणाम पनि थाहा छ | त्यति हुँदाहुँदै पनि स्वार्थनै बलियो छ | मान्छेहरू स्वार्थका लागि आफुसहित सम्पूर्ण प्रकृतिको बलिदान दिन तयार छन् तर स्वार्थ छोड्न तयार छैनन् | स्वार्थका अगाडी "विवेक" निरीह छ |

मान्छे सामाजिक प्राणी अवश्य हो तर विवेकशील हो कि होइन ? हामीले आफैसंग र समकालीन विश्वसंग प्रश्न गर्नुपर्छ | अहिले विश्वसंग सम्पूर्ण मानव-जनसंख्यालाई यथेष्ट रूपमा पुग्न सक्ने खाद्यान्न, औषधि, वासस्थल तथा शिक्षाको उपलब्धता छ | तर स्वार्थका सीमाहरूले सुविधाहरूको सामानुपातिक वितरण गर्न सक्दैन | युद्धका लागि पुगिसरी अस्त्रशस्त्र उपलब्ध हुन्छन् तर रोग, भोक र अशिक्षासंग लड्न संसाधन पुग्दैन | सिरिया, अफगानिस्तानजस्ता युद्धग्रस्त देशहरूमा शस्त्रअस्त्र प्रचुरमात्रामा उपलब्ध छन् तर रोग, भोक र शिक्षाका लागि धन उपलब्ध छैन | सबैलाई थाहा छ "शस्त्रहरू ती देशले निर्माण गर्दैनन् |"

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...