Saturday, March 23, 2024

दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता !

 दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता !

दर्शनशास्त्रको

एउटा हाँगा हो - तत्वशास्त्र | अंग्रेजीमा Metaphysics भन्ने गरिन्छ | तत्वशास्त्रका तीनबटा विभाग छन् : सृष्टिशास्त्र, ईश्वरशास्त्र र मनशास्त्र अर्थात् मनोविज्ञान | आज भोली मनोविज्ञानले आफुलाई दर्शनशास्त्रको अङ्ग मान्दैन तर मनशास्त्रको काम चाहिं चेतनाको अध्ययन गर्ने हुनाले दर्शनशास्त्र अन्तर्गत नै पर्छ |


सृष्टि शास्त्रमा ब्रह्माण्डको उत्पति, पृथ्वीको उत्पत्ति, जीव-निर्जीवको उत्पत्तिआदि विषयहरूको प्रमाणिक उत्तर खोज्ने प्रयत्न गरिन्छ | यो पनि मूलत: दुईभागमा विभाजित छ भौतिकवाद र चेतनावादी | भौतिकवादले विश्वलाई पूर्णतया प्राकृतिक घटना मान्छ भने चेतनावादीहरूले विश्वको रचना कुनै चेतनतत्वले गरेको ठान्छन् | सृष्टिशास्त्रका अनेकौं सिद्धान्तहरू छन् | नेपाल, भारत वा विश्वका सबै देश र कालमा यस वारे छलफल गरिएको छ | आजसम्म सर्वमान्य निर्णयमा पुगिएको छैन |

ईश्वरशास्त्र पनि सृष्टिशास्त्रकै सन्दर्भमा आएको उत्तर हो | मूलत: विश्वको रचनाकार परमतत्व हो र त्यो पूर्णचैतन्य, सर्वज्ञ, सर्वशक्तिमान र नियामक छ, त्यो परमेश्वर हो भन्ने तत्थ्यमा विश्वास गर्ने र यस सम्बन्धि सिद्धान्तहरूमा विश्वास गर्नेहरू ईश्वरवादी हुन्छन् | धेरैजसो धर्म र सम्प्रदायहरूले ईश्वरलाई सृष्टि, पालन र संहारको लागि जिम्मेदार मान्छन् | खासगरी, अंग्रेजीमा theology भनिने ईश्वरशास्त्रका प्रणेता सेमेंटिक रिलिजन (यहुदी, इसाई र मुस्लिम) हुन् | हिन्दुभित्र पनि अनेकौं सम्प्रदायहरूले एकेस्वर, द्वैतवाद तथा अनेकेश्वरवादमा विश्वास गर्छन् |

तेस्रो धार भनेको मनशास्त्र अर्थात् मनोविज्ञान हो | जसले आरम्भमा आत्माको खोजबाट आफ्नो काम आरम्भ गर्यो तर आजभोली भौतिकवादी धारमा पर्छ | चेतना, चेतनाको स्वरूप, ज्ञान, अनुभव, संज्ञान, भावना, सुखदुखजस्ता विषयहरूको कारण र त्यसले व्यक्तिमा देखिने प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरूको विश्लेषण गरेर चित्त ठीक भए/नभएको विचार गर्छ |

मैले दर्शनशास्त्रको तत्वमीमांसाका विषयमा चर्चा गरिरहंदा आज विश्व नास्तिकता दिवस हो | सेमेटिक (यहुदी, इसाई र मुस्लिम) धर्ममा ईश्वरको सर्व'सत्तावाद, उसका दूतहरूको प्रमाणिकता र अन्य ईश्वरको आदेशप्रति निर्विकल्प विश्वास गरिन्छ | यदि कुनै व्यक्तिले उपर्युक्त तीनबटा कुरामा विश्वास गर्दैन भने त्यो नास्तिक हुन्छ |

मेरो लागि नास्तिक हुनु र भौतिकवादी हुनु नितान्त फरक कुरा हो | भौतिकवादीका लागि ईश्वरजस्तो कुनै विषयवस्तुको अस्तित्व नहुने हुँदा, यस विषयमा चर्चा, परिचर्चा, प्रतिरोध वा समर्थन केही गरिन्न | जसले ईश्वरको अस्तित्वका पक्ष वा विपक्षमा तर्कवितर्क गर्छन् यस्ता व्यक्ति तथा समुदायले आफुलाई भौतिकवादी भन्न मिल्दैन | सम्भवत: अंग्रेजीको Atheist शब्दले "तिमीले मान्ने ईश्वरमा हामी विश्वास गर्दैनौ, हामी नास्तिक हौँ" भन्ने सम्मको अर्थ राख्छ |

-धेरैजसो पश्चिमा दार्शनिकहरू भौतिकवादी होइन नास्तिक छन् | भारतवर्ष र चीनमा आस्तिकता र नास्तिकता "ईश्वर वा उसका दूत, छोरा"संग संबद्ध विषय भन्दा नितान्त फरक छन् | हो, हिन्दुहरूमा अद्वैतवादी, द्वैतवादी, द्वैताद्वैतवादी, अचिन्त्यभेडाभेदवादी, शिवशक्तिवादी, ब्रह्मवादी सबै थरी ईश्वरवादीहरू छन् | तर ईश्वर नमान्नेहरूलाई यहाँ नास्तिक मानिन्न | वेदको प्रमाणिकता अस्वीकार गर्नेहरूलाई नास्तिक भनिन्छ | नस्तिको वेद: निन्दक अर्थात् वेदलाई नमान्ने नास्तिक हुन् भन्दै ईश्वर नमान्नेहरू नास्तिक होइन भनेर बचाऊ नै गरेको छ |

वैदिक दर्शनमा खाट्टी भौतिकवादी चार्वाकहरू हुन् | कार्लमार्क्सले आफुलाई कट्टर भौतिकवादी मानेका छन् तर उनको साहित्य धर्म र धार्मिकताको निन्दामा बढी केन्द्रीत छ | सबै बेथितिको दोष ईश्वर र धार्मिकतालाई दिने कार्लमार्क्सको द्वन्दात्मक भौतिकवाद निसन्देह प्रच्छन्न ईश्वरवादी अर्थात् नास्तिकवादी हो | विश्वमा ईश्वरवादी र धार्मिकताको विरोधमा जतिधेरै मार्क्सवादले बुद्धि र विवेक खर्चिएको छ, त्यति ईश्वरवादी आस्तिकहरूले खर्चिएका छैनन् |

संस्कृत व्याकरण अनुसार आस्तिकको अर्थ "परमतत्व छ" भन्ने तत्थ्यमा विश्वास गर्ने समूह पर्छ भने नास्तिक समूहमा "केही पनि छैन" भन्नेहरू पर्छन् | बौद्धहरूको महानिर्वाण र जैनहरूको कैवल्य असलमा वैदिक नास्तिकताको सही उदाहरण हो | वैदिकहरूका विचारमा भौतिक तत्वलाई परमतत्वका रूपमा स्वीकार गर्ने अर्थात् "अस्ति" भन्नेहरू आस्तिक नै हुन् |

आज "विश्व नास्तिकता" दिवसको प्रवर्धन गरिरहंदा तार्किक रूपमा नास्तिकहरूले धर्म, धार्मिकता तथा धर्मको प्रमुख खम्बा ईश्वरलाई (जैन र बौद्धले ईश्वरलाई मान्दैनन्) अस्वीकार गरेका हुन् कि आफुलाई भौतिकवादका पक्षमा उभ्याएका हुन् ? प्रष्ट पार्नु पर्छ, कोलिनजस्ता मानववादीले आफ्नो पुस्तक फिलोसफी अफ ह्युमनिज्ममा प्रष्ट पार्न सकेका छैनन् भने आफुलाई भौतिकवादी भन्ने मार्क्सवादीहरू ईश्वर र धार्मिकता विरोधी मानसिकताबाट माथि उठ्न सकेका छैनन् |

वैदिक दार्शनिकहरूले आस्तिकता र नास्तिकताका सवालमा अवलम्बन गरेका सिद्धान्तहरू तार्किक र व्याबहारिक रूपमा सङ्गत छन् | ईश्वरको अस्तित्वमा विश्वास गर्ने र नगर्ने दूवै "हिन्दू" रहन सक्छन् तर पुस्तकीय धर्ममानिने सेमेटिकहरूले पुस्तकको आदेश मान्नैपर्छ | भारतीय दर्शनमा भौतिकवादी आस्तिकहरूमा चार्वाकहरू (पृथ्वी, जल. आगो र बायुको अस्तित्वमा कुनै शङ्का गर्दैनन्) जमेका छन् भने धार्मिक नास्तिकतावादमा महानिर्वाण र कैवल्यमा विश्वास गर्ने बौद्ध र जैनहरू बलियोसँग उभिएका छन् |

आज विश्व नास्तिकता दिवस मनाउनेहरू धर्म, धार्मिकता तथा ईश्वर विरोधी भएकोले नास्तिकता दिवस मनाउंदै छन् कि भौतिकवादी भएर आफुलाई नास्तिक भन्दै छन् ? लिंग प्रष्ट छैन |



Tuesday, March 19, 2024

हामी लोग्नेस्वास्नी !


लोग्नेस्वास्नीका कुरा किन ?

जव मैले लोग्नेस्वास्नीको सम्बन्धको विषयमा लेख्छु, दूईप्रकारका प्रतिक्रिया आउँछन् | पहिलो "लोग्नेस्वास्नी" शब्द अमर्यातित भयो | दोश्रो, तपाईं दम्पति विच झगडा त भएन ? मेरो उत्तर हो "पश्चिमाहरूले भनेको भरमा जनजीब्रोको शब्द "लोग्नेस्वास्नी"लाई खराव मान्नु अर्काको निर्णय बोकेर हिड्नु हो | लोग्नेस्वास्नी नेपालीको "जनबोली" हो | श्रीमान् त न्यायालयका न्यायाधीश पनि हुन्छन् | श्रीमती जुनसुकै महिलाको मान लेख्दा सम्मान व्यक्त गर्न प्रयोग हुन्छ | "लोग्नेस्वास्नी" दुईअर्थी छैन | तेसैले निर्धक्कसंग "लोग्नेस्वास्नी" शब्दको प्रयोग गर्नुपर्छ |

संसारमा कुनै पनि मान्छे खराव र असल हुँदैन | व्यक्तिको व्यबहार राम्रोनराम्रो, खराव असल हुन्छ | लोग्नेस्वास्नी पनि आफैमा असल वा खराव हुँदैनन् | उनले एकआपसमा गर्ने व्यबहार, बोल्ने बाणी र शारीरिक हाउभाउले आचरण प्रकट हुन्छ | फेरी, यौनका सवालमा हावा पिएर तपस्या गर्ने (विश्वामित्र)जस्ता ऋषि मुनिहरू त पग्ले, इन्द्रजस्ता स्वर्गका राजाले अहिल्या ताके, बिल गेट्सजस्ता व्यक्ति आफ्नै सहयोगीसंग फंसे भने हामीजस्ता सामान्य मान्छेले आफुलाई छाडा छोडी दियौं भने सजिलैसंग "फंस्न" सक्छौं | आफै सजग हुने हो र अरूलाई सजग रहन र आचरण सुधार्न सहयोग पुर्याउने हो | नेपाली लोग्नेस्वास्नी एकआपसको खराव सम्बन्ध "लुकाउन" पोख्त छन् तर यति हुँदाहुँदै पनि हरेक पल सहयोगको प्रतिक्षा गरिरहेका छन् | मैले लेख्छु किनभने यस्ता लेखहरूले धेरैलाई "सजिलो" बनाउँछ |

दोश्रो, म पनि सामान्य मान्छे हुँ | अन्य लाखौं मान्छेसरह सामान्य जीवन जिउँछु | म र मेरी स्वास्नी फरकफरक व्यक्ति हौँ | स्वाभाविक रूपमा आफ्नो लोग्नेका सबै कुरामा सहमत हुनुपर्छ भन्ने छैन | कहिलेकाहीं ठ्याकठुक पर्छ | अति हुँदा एकदुई घण्टा बोलचाल पनि बन्द हुन्छ | तर कि मैले कि उनले पानी सरल बनेर कुराको थालनी गर्छौं | कुरा मिल्छ | म आफ्नी स्वास्नीलाई धन्यवाद दिन्छु कि उनले मलाई अरूको कुरा सुन्न र अरुको परिवेशमा कुरा बुझ्न अभिप्रेरित गर्छिन् |

म "लोग्नेस्वास्नी" सम्बन्धका विषयमा लेख्छु | यसरी लेख्नुका तीन बटा उदेश्य छन् | पहिलो, हाम्रो समाजका लोग्नेस्वास्नीहरू एकआपसमा विपरित ध्रुवका दुई चुम्वकसरह अत्याधिक कष्ट (मिल्ती नभएर) सहेर बस्छन् तर समाजबाट कष्ट निवारणका लागि कुनै सहयोग लिंदैनन् | पतिपत्नीका रूपमा सधैं एउटा छतमुनि बसेर पनि एकआपसमा शत्रुतापूर्ण सम्बन्ध भएका, आफुप्रति भैरहेको अन्याय सहेर कष्टपूर्ण जीवन विताइरहेका, अपहेलनामा पारिएका तथा शारीरिक, मानसिक हिंसामा परिरहेका "लोग्नेस्वास्नी"लाई सहयोग प्राप्त गर्न उत्प्रेरित गर्नु हो |

दोश्रो, रोमान्टिक र व्याबहारिक जीवन फरक हुन्छ | व्याबहारिक जीवनको पाटोको तुलनामा रोमान्टिक पाटो थोरै हुन्छ | यस्तो अवस्थामा, पारिवारिक झमेलामा अल्झिन्दै जाँदा लोग्नेस्वास्नीहरूले आफ्नो व्यक्तिगत भावना, प्रेम, सम्बन्ध विग्रेको थाहा नै पाउंदैनन् | अरूका लागि खट्दाखट्दा लोग्नेले स्वास्नीको, स्वास्नीले लोग्नेको महत्व नै बिर्सिन्छन् | यस्तो अवस्थामा, मेरो लेखले हरेक लोग्नेस्वास्नीलाई "आफ्नो शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य तथा भावनाका लागि समय निकाल्न र आफ्नो ख्याल राख्न प्रेरित गर्छ |

तेस्रो, पाका उमेरका लोग्नेस्वास्नी होउन अथवा भर्खर विवाह गरेका लोग्नेस्वास्नी नै किन नहोउन्, अधिकांश आपसी सम्बन्धहरू विग्रने कारणहरू हुन्छन् | उदाहरणका लागि लोग्नेस्वास्नीका विचमा ठीकठीक संवाद तथा संचार गर्ने शीप (Communication skill) छ भने एकआपसी सम्बन्ध बलियो र उदाहरण योग्य हुन्छ | हरेक लोग्नेस्वास्नीले एकआपसमा बोल्ने, एकआपसका समस्याहरू वारे छलफल गर्ने, समायोजन गर्न सकिने र नसकिने विषयहरूमा जानकारी लिने, एकआपसका कुराहरू ध्यान दिएर सुन्ने, धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापमा तालमेल राख्न के कस्ता व्यबहार छोड्नु पर्छ र के कस्ता व्यबहार सिक्नुपर्छ भन्ने जानकारी राख्ने र दम्पतिका रूपमा घरव्यबहारमा आफ्नो भूमिका ठीकठीक तवरले निर्वहन गर्न जान्दा लोग्नेस्वास्नीको सम्बन्ध राम्रो हुन्छ |

आपसी व्यवहारका धेरै कुराहरू लोग्नेस्वास्नीले आफै जानेका हुन्छन् | मैले आफ्ना लेखहरूका माध्यमबाट जानेका -ससाना कुराहरूलाई दैनिक जीवनमा उपयोग गरेर कसरी एकआपसमा सुखी र खुसी हुन सकिन्छ भन्ने दिशाबोध गर्ने प्रयत्न गर्छु | लोग्नेस्वास्नीको जीवन सिनेमाका हिरोहिरोइनजस्तो आदर्श हुँदैन | तर त्यो भन्दा पनि धेरै आदर्शमय हुन्छ | यस्तो आदर्शमा जिउन जानेका लोग्नेस्वास्नी साच्चिकै सुखी हुन्छन् | धनले म्याटर अवश्य गर्छ तर एकआपसमा विश्वास गर्ने, एकआपसमा खुलस्त कुरा गर्ने, लोग्नेस्वास्नी भएर यौनव्यवहारका सवालमा सधैं "पतिपत्नीब्रता" रहने र एकआपसमा सम्मान गर्ने लोग्नेस्वास्नीहरू सधैं खुसी हुन्छन् |

विवाह गरेर दाम्पत्य जीवन स्वीकार गरिसकेपछि लोग्ने होस् वा स्वास्नी दुवैले धेरै थोक छोड्नुपर्ने पर्ने हुन्छ, धेरै थोक अपनाउनु पर्ने हुन्छ | एकआपसमा विश्वास गर्ने, प्रेम गर्ने, एकअर्काको लागि त्याग गर्ने लोग्नेस्वास्नीले आफ्नो संसारलाई स्वर्ग बनाउँछन् | तर आफ्नो स्वार्थमा एक्लै हिड्ने, धनको, विद्याको, पदको तथा कुलको घमण्ड देखाएर आफ्नो लोग्ने वा स्वास्नीलाई होच्याउने, अपमान गर्ने र "देखाइदिने" भन्दै मल्टीपल पार्टनरशीपको अभ्यास गर्नेहरूको जीवन नर्क हुन्छ | ठूलाठूला घरमा बसेर, महङ्गा गाडी चढेर, धेरै सेक्सपार्टनरहरू बनाएर, महङ्गा रक्सी खाएर, महङ्गा लुगा लाएर तथा मपाई भनेर कुनै पनि खुसी हुन सक्दैन | राजनीति, धर्म, संस्कृति तथा परम्पराको आडम्बर भन्दा पनि प्राकृतिक रूपमा प्राप्त प्रेम र विश्वासका सवालमा लोग्नेस्वास्नीको सम्बन्ध बलियो हुन्छ |


यदि लोग्नेस्वास्नीको सम्बन्ध विग्रिसकेको छ भने लोग्ने वा स्वास्नीले एक्लै सम्बन्ध सुधार्ने प्रयत्न गरेर हुँदैन | लोग्ने वा स्वास्नीमा पनि असल सम्बन्ध कायम गर्ने भित्री इच्छा र प्रयत्न हुनुपर्छ | विश्वका हरेक लोग्नेस्वास्नी प्रकृतिका सुन्दरतम वरदान हुन् | जानाजानी वा नजानेर विग्रिएको "लोग्नेस्वास्नी"को सम्बन्ध प्रयत्न गर्ने हो भने सजिलै सप्रन सक्छ | यसका लागि लोग्ने र स्वास्नी दूवैले आफुभित्र रहेको "इगो" छोड्नु पर्छ | मित्रतापूर्ण र सम्मानजनक सम्बन्धका लागि "लोग्नेले क्षमा मागोस् वा स्वास्नीले क्षमा मागोस्" पर्खिनु पर्दैन | जसले सम्बन्ध सुधार्ने नेतृत्व लिन्छ, त्यही नै महान् हुन्छ | लोग्नेस्वास्नीको सम्बन्ध हारजितको युद्ध होइन, दुई मित्र, प्रेमी तथा मायालुहरूको पुनर्मिलन हो |

अन्तिममा, लोग्नेस्वास्नी भन्दा मिल्ने र विश्वासिलो साथी अर्को हुनै सक्दैन | एकआपसमा विश्वासघात नगर्ने लोग्नेस्वास्नी नै विश्वका असली गहना हुन् |यदि लोग्नेबाट स्वास्नीको र स्वास्नीबाट लोग्नेको जीवननै धरापमा पर्ने अवस्था छ भने त्यस्तो सम्बन्ध जोगाउनतिर लाग्नु हुँदैन | तर यदि लोग्नेस्वास्नीका समस्याहरू एकआपसी संवादहिनता तथा "कुरा-सुनेर" उत्पन्न भएका हुन् भने मिल्नुपर्छ | यदि आफै मिल्न नसक्ने अवस्था छ भने विज्ञबाट सहयोग प्राप्त गर्नुपर्छ | खासगरी, वैदिक संस्कृतिमा "पारचुके"को कुनै अवधारणा नभएको हुँदा हरेक लोग्ने र स्वास्नीको एकआपसी व्यबहार सप्तपदिमा दिएका बचनमा केन्द्रीत हुनुपर्छ |


Friday, March 15, 2024

असल स्वास्नी 1

अर्पणा र अर्पणको विवाह भएको दुई वर्ष भयो | दूवै जना सहपाठी हुन् | पढ्ने क्रममा आपसी चिनजान भयो, प्रेम बस्यो र परिवारकै सहमतिमा विवाह भयो | विवाह भएको एकवर्षपछि दूवै घरको नजिकै फ्याट भाडामा लिएर सरे | परिवारसंग विवाद भएर फ्ल्याट लिएको होइन, आत्मनिर्भर बन्ने अभ्यास गर्न सजिलो हुन्छ, लोग्नेस्वास्नीलाई एक्लै बस्नु पर्दा "कामकाज" गर्दागर्दै पनि एकआपसमा सामन्जस्य कायम गर्न सकिन्छ ? सामाजिक, सांस्कृतिक, पारिवारिक तथा धार्मिक दायित्वहरू कसरी पूरा गर्न सकिन्छ ? भनेर अभ्यास गर्न बेग्लै फ्ल्याट लिएको हो |

सुरुसुरुमा एक्लै फ्ल्याटमा जीवन आरम्भ गर्दा निकै गाह्रो भयो | घरको समान जुटाउन र मिलाउन निकै परिश्रम गर्नु पर्यो | बल्ल-बल्ल भोजन बनायो, त्यो पनि ढंगको नहुने ! धेरै पटक पकाएको भोजन फालेर अनलाइन मंगायेर पेट भरियो | एकातिर हामी लोग्नेस्वास्नीका लागि एकान्त प्राप्त भयो | संयुक्त परिवारमा केही डर, केही लाज हुन्थ्यो | यहाँ हामी स्वतन्त्र भयौं | स्वतन्त्रताको वेफाइदा पनि रहेछ - सन्चो नहुँदा, थाकेर गाह्रो हुँदा, मन दुख्दा, सहयोगको आवश्यकता हुँदा तत्काल पाइने रहेनछ | अनि, लोग्नेस्वास्नी विच ठ्याक्कथुक्क पर्छ | कहिकेकाहीं घण्टा त् कहिलेकाहीं दिनभरी हामी विच बोलचाल समेत हुँदैन | तर त्यो धेरै चल्दैन | धेरै जसो अर्पणले "सरी" भन्नुहुन्छ | कुरा मिल्छ | तर कहिलेकाहीं मैले पनि "सरी" भन्नु | कुरा मिल्छ |
..................
आधुनिक दम्पतिले न्युक्लियर बसाई रोज्ने चलन बढेको छ | यसो गर्नुमा आ-आफ्ना आवश्यकता र तर्क छन् | अर्पणा र अर्पण दूवै कामकाजी छन् | अर्पणा एउटा परम्परागत परिवारमा हुर्केकी हुन् | उनले आफ्नो धर्म, संस्कृति, परम्परा तथा सामाजिक दायित्व बुझेकी छन् | उनको विचारमा एउटी नेपाली महिला असल "स्वास्नी" बन्नका लागि सामान्य नेपाली मन र भावनाअनुसार आफुलाई ढाल्न पर्छ तर थिचोमिचो र अनावश्यक आदेशहरु विनम्रता र कठोरताका साथ अस्वीकार गर्नुपर्छ | यसो गर्दा आफन्त वा लोग्नेलाई अलि नमिठो लाग्न सक्छ तर पछि उहाँहरूले सम्मान गर्नुहुन्छ | आधुनिकता तथा पढालिखा हुनुको अर्थ सबै "बन्धनबाट मुक्ति" होइन | आ-आफ्नो दायित्व सबैले पालन गर्नुपर्छ |
अर्पणाका अनुसार आधुनिक नेपाली स्वास्नीमा निम्न गुणहरू हुँदा लोग्नेस्वास्नीको पारिवारिक जीवन राम्रो हुन्छ | नेपाली समाजमा केवल लोग्नेस्वास्नीका विच राम्रो भएर मात्रै काम चल्दैन, परिवारसंग पनि सन्तुलन मिलाउनु पर्छ | अर्पणाका विचारमा आधुनिक "स्वास्नी"मा निम्न गुण तथा स्पस्टता हुनुपर्छ :
१. सम्प्रेषण (Communication) एउटी असल स्वास्नीका लागि सबैभन्दा महत्वपूर्ण गुण भनेको उसले एकआपसी सूचनाहरू प्रष्टरूपमा साटासाट गर्नुपर्छ | एकआपसी विचारहरू, शारीरिक अवस्थाहरू, मानसिक अवस्थाहरू. सामाजिक, सांस्कृतिक, धार्मिक तथा व्यक्तिगत रूचि, इच्छा तथा अनिच्छाका विषयमा लोग्नेसंग प्रष्ट कुरा राख्न सक्नुपर्छ | यसरी कुरा राख्दा कुनै पनि प्रकारको बनाबटीपन, स्वार्थ तथा लाभहानीबाट प्रेरित हुनुहुँदैन | लोग्नेसंग दूईखालका अर्थ लाग्ने र शङ्कालु बोलीबचन प्रयोग गर्नु हुँदैन | लोग्नेका मन नपर्ने बानीहरू प्रष्टरूपमा भन्नु पर्छ तथा विनम्रता र भाषा छनौटमा ध्यान दिनु पर्छ | आफ्नो शारीरिक अवस्था वारे प्रष्ट भन्नु पर्छ | बोलीमा मिठोपना तर दृढता हुनुपर्छ, मनमा प्रेम तथा सहृदयता हुनुपर्छ | तेसैले हरेक स्वास्नीले "सूचना आदानप्रदान" मा विशेष महत्व दिनुपर्छ |
२. सहयोगी : (Support) हरेक लोग्नेहरूले आफ्नी स्वास्नीले हरेक अवस्थामा सहयोगी भूमिका गरोस् भन्ने चाहन्छन् | सजिलो र असजिलो परिस्थिति सबैको परिवारमा आउँछ तर एउटी असल स्वास्नीले "लोग्ने"लाई एक्लै छोड्दैनन् | कानुनले वर्जित नगरेका सबै क्रियाकलापमा स्वास्नीले लोग्नेलाई सघाउनु, सहयोग गर्नु असल गुण हो | मानसिक रूपमा दुखी भएको बेला समनानुभूति प्रदान गर्ने, रोगको अवस्थामा भौतिक सहयोग गर्ने र बौद्धिक कार्यमा समेत समस्या समाधान गर्न सहयोग गर्ने मानसिकता र कामले स्वास्नीलाई असल बनाउँछ |
३. उत्सव : (Celebration on achievement) लोग्ने र स्वास्नी दुवै लोग्नेस्वास्नी हुनुका साथै सबैभन्दा नजिकका असल मित्र र सहयोगी पनि हुन् | स्वास्नी मान्छेले लोग्नेको स-सानो सफलतामा उत्सवको माहौल तयार गर्नुपर्छ | सफलताको खुसी मनाउन महङ्गा होटल वा रक्सी नै चाहिन्छ भन्ने होइन आफ्नो आर्थिकस्तर अनुसार लोग्नेलाई बधाई दिएर, अँगालो हालेर वा आमावुवाको अगाडी लोग्नेको प्रशंसा गरेर लोग्नेको सफलतालाई उत्सवमय बनाउने स्वास्नीहरूले बानीका रूपमा विकास गर्दा हुन्छ | मान्छेले ससानो उपलब्धिमा खुसी हुनुपर्छ |
४. सुन्ने (Listener) आजको समाजले "सुन्ने क्षमता" गुमाउंदै छ | लोग्ने वा स्वास्नी एकअर्काको कुरा ध्यान दिएर र धैर्यपूर्वक सुन्न छोडेका छन् | सुख होस् वा दुख हरेक मान्छेले आफ्नो कुरा सुनाएर "हल्का" हुन चाहन्छ | एउटी असल स्वास्नीले लोग्नेका कुराहरू ध्यान दिएर सुन्ने बानी बसाल्नु पर्छ | नेपाली लोग्नेहरू अली बढी नै "सुनाउने खालका" हुन्छन् | गालीनै किन नहोस्, चूप लागेर सुन्ने र लोग्ने शान्त भएपछि त्यस विषयमा आफुलाई लागेको कुरा प्रष्टसंग राख्नु पर्छ | तेसैले असल स्वास्नीहरूले सुन्ने सवालमा धैर्यको बाटो रोज्छन् | सुन्ने बानी भएका स्वास्नीहरूका लोग्नेहरू स्वास्नीसंग आफ्नो कुरा नलुकाई भन्ने गरेको अनुसन्धानहरूले पुष्टी गरेका छन् | तेसैले २५% सुनाउने र ७८% सुन्ने बानी स्वास्नीका लागि सुखी पारिवारिक सम्बन्धको बलियो गाँठो हुन्छ |
५. सम्मान (Respect) मान्छेको आचरण सम्बन्धित समाजको मान्यतामा आधारित हुन्छ | अमेरिकी समाजको नक्कल गरेर हुँदैन | हाम्रो समाजका आफ्ना नैतिक तथा सामाजिक सीमाहरू छन् | धेरैजसो नेपाली लोग्नेहरू स्वास्नीले "तँ वा तिमी भनेर सम्बोधन" गरेको मन पराउँदैनन् | एकान्तमा तँ वा तिमी जे-भनेर सम्बोधन गरे पनि समूहहरुमा तपाईं नै भन्दा राम्रो हुन्छ | यो लोग्नेलाई आदर गर्ने एउटा उदाहरण हो | हरेक स्वास्नीले आफ्ना लोग्नेको आत्मसम्मानको ख्याल गर्नु पर्छ | यदि कुनै व्यबहार वा बोलीले लोग्नेको आत्मसम्मानमा नराम्रो असर पर्छ वा स्वास्नीले फलानो व्यबहार वा बोली नाबोलोस् भन्ने चाहन्छ भने ती शब्द र बोलीलाई सधैंको लागि छोड्नु उचित हुन्छ | आफ्नो लोग्नेलाई सम्मान र आदर गर्ने यो भन्दा राम्रो अरू कुनै कुरा हुनै सक्दैन |
६. यौन उत्सुकता (Sexual orientation) एउटा पुरुषका लागि "सेक्स" निकै महत्वपूर्ण हुन्छ | नेपाली लोग्नेहरू सेक्सका मामिलामा नेतृत्व लिन्छन् | साथै, नेपाली लोग्नेहरू आफ्नी स्वास्नीसंग सेक्सका विषयमा कुरा गर्न र सुन्न मन पराउँदैन् | यस्तो अवस्थामा नेपाली स्वास्नीको रूपमा हरेक स्वास्नीले बडो सावधानीपूर्वक "सेक्स-व्यबहार" गर्नुपर्छ | यौन व्यबहारमा महिलाका तुलनामा पुरुषहरू बढी नै एकाधिकार खोज्ने हुन्छन् | स्वास्नीको सानो अव्यबहरिकताले लोग्नेले "अर्कासंग सल्केको" भनेर शङ्का हुन सक्छ, तेसैले प्रत्येक स्वास्नी मान्छेले आफ्ना बालसखाहरूसंग होस् अथवा अन्य पुरुषमित्रहरूसंग एउटा निश्चित तथा सम्मानित सम्बन्ध बनाउंदा राम्रो हुन्छ | पुरुषमित्रका विषयमा लोग्नेले सोधेको बेलामा "सहीसही" जानकारी दिंदा राम्रो हुन्छ | अर्को कुरा, लोग्नेसंग विवाहपूर्वका यौन-सम्बन्धहरूका विषयमा जानकारी साझा गर्न हुँदैन | आधुनिकता र एकआपसमा जीवनका अन्य सबै पक्ष साटासाट गरे पनि विवाहपूर्वका "यौनजन्य" क्रियाकलाप वारे मौन रहनु नै उचित हुन्छ | साथै, यदि वर्तमान लोग्नेसंग दोस्रो विवाह हो भने पूर्वलोग्नेसंग यौनजन्य क्रियाकलाप वा घटनाहरू भन्न हुँदैन |
यौनजन्य क्रियाकलापमा शरीर र मन दूवैको प्रत्यक्ष संलग्नता हुने भएको र यो जीवनको अनिवार्य अंग भएको हुँदा शरीर र मन स्वास्थ्य रहनु अतिआवस्यक हुन्छ | आफुलाई सन्चो भएको नभएको विषयमा लोग्नेसंग प्रष्ट, विनम्रता तथा दृढतासंग कुरा गर्नुपर्छ | लोग्नेले आग्रह नै गरे पनि विनम्रता पूर्वक अप्राकृतिक यौनजन्य क्रियाकलाप तथा


व्यबसायिक नीला चलचित्रबाट जोगिनु राम्रो हुन्छ | साथै, यदि लामो समयसम्म यौन चाहनाको अभाव हुन्छ भने लोग्नेस्वास्नी दूवै मिलेर चिकित्सकसंग परामर्श गर्नु उचित हुन्छ | पुरुषहरू सेक्सका सवालमा अलि अधैर्य हुने हुँदा धेरै लामो समयसम्म "नाइँ" भन्दा दोस्रो विकल्प खोज्ने वा मानसिक तनावग्रस्त भएर हिंसक व्यबहार गर्ने सम्भावना हुन्छ | तेसैले स्वास्नीले लोग्नेसंग विश्वासिलो र सम्मानजनक संचार स्थापित गर्नु असल गुण हो |
७. विश्वासिलो (Faithful) : नेपाली लोग्नेस्वस्निका विचमा अंग्रेजीको फैथफुल शब्द नितान्त नयाँ चिन्तन हो | नेपाली लोग्नेस्वास्नीहरूका लागि विवाह एउटा पवित्र तथा नैतिक बन्धन हो | विवाहसंग पश्चिमाजस्तो डिभोर्सको कल्पनासम्म गरिएको हुँदैन | आफ्नो लोग्ने हुँदाहुँदै कुनै पनि स्वास्नीले दोस्रो व्यक्तिसंग यौनजन्य क्रियाकलाप गर्छन् भन्ने कुरा समाजले परिकल्पना पनि गरेको हुँदैन | तर बदलिँदो परिवेशमा यदाकदा स्वास्नीहरूले लोग्नेलाई छलेर परपुरुषसंग सम्बन्ध स्थापित गरेको र त्यसका कारण दूवै परिवार विग्रेका घटना पनि बाहिरिएका छन् | यस्तो अवस्थामा, कुनै पनि स्वास्नीले आफ्नो लोग्ने वाहेक अरूसंग यौनजन्य क्रियाकलापमा सङ्लग्न हुनु अनुचित हो | लोग्ने होस् वा स्वास्नी यौनका सवालमा दुवैले एकअर्कालाई छल्नु हुँदैन | लोग्नेको विश्वासलाई नतोड्ने स्वास्नीहरूको भरपर्दो असल गुण हो | बायोलोजिकल निड भन्दै जथाभावीवादलाई प्रश्रय दिंदा यौन सुख मिल्ला तर पारिवारिक जीवन ध्वस्त हुन्छ |
८. आर्थिक साझेदारी : नेपाली समाजमा स्वास्नी र केटाकेटी लोग्न्नेको जिम्मेवारी मानिन्छ | लोग्नेको मानसिकता त्यसरी नै बनेको हुन्छ | लोग्नेहरूले केटाकेटी र स्वास्नीलाई आफ्नो प्राथमिक दायित्व र कर्तव्य ठान्छन् | आज समय बदलिएको छ | जागिर भएका, व्यवसाय गर्ने "स्वास्नी"हरूको सङ्ख्या बढ्दो छ | कुनैकुनै परिवारमा त आर्थिक दायित्व नै लोग्नेले होइन स्वास्नीले वहन गरेको भेटिन्छ | यस्तो परिवारमा स्वास्नीको बर्चश्व हुनु स्वाभाविक हो | यदि लोग्नेस्वास्नी दूवै आर्थिक आर्जन गर्छन् भने स्वास्नीले आफ्नो कमाईलाई "पेवा" र लोग्नेको कमाईलाई "साझा" ठान्ने स्वास्नी मान्छे पनि छन् | अत: हरेक स्वास्नीले लोग्नेसंग आर्थिक सवालमा साझेदारी गर्नु र गर्ने प्रयत्न गर्नु स्वास्नीको असल गुण हो | नेपाली समाजमा कमाउने स्वास्नी र नकाउने लोग्ने हुँदा पारिवारिक सम्बन्ध विग्रेको देखिन्छ | यस्तो हुनुमा पुरुषमा "स्वास्नीको कमाइमा बाँच्नु पारेको" भन्ने हीनताबोध र स्वास्नी मान्छेमा "निकम्मा लोग्ने" भन्ने अहंले काम गरेको देखिन्छ | लोग्नेसंग सहकार्य, साझेदारी तथा सहयोग गर्ने स्वास्नीहरू असल मानिन्छन् |
९. उपर्युक्त स्वास्नी मान्छेमा हुनु पर्ने असल गुणहरू बाहेक समानानुभूति, विश्वासिलो व्यबहार, लोग्नेका स-साना गल्तिहरूलाई क्षमा गर्दिने बानी, लोग्नेको पुरुषत्वको सम्मान गर्ने व्यबहार, मित्रतापूर्ण प्रस्तुति, प्रेमपूर्ण तर लजालु व्यबहार, परिपक्व भावनात्मक व्यबहार अर्थात् स-सानो कुरामा खुसी भए पनि गम्भीरतापूर्वक निर्णय गर्ने बानी, लोग्ने र लोग्नेको परिवारलाई सम्मान गर्ने, छोराछोरी वा परिवारका अन्य सदस्यहरूका विचा लोग्नेको "अमुक व्यबहार"को आलोचना नगर्ने तथा लोग्नेका काममा सहयोग गर्न तम्सिने गुणहरूले स्वास्नीलाई असल स्वास्नी बनाउँछ | स्वास्नी बन्न सजिलो छ तर असल स्वास्नी बन्न निकै मेहनत र त्याग गर्नुपर्छ |
वैदिक संस्कृतिमा एउटी असल स्वास्नीलाई बात्सल्यामा आमाझैं, जिम्मेवारी वोधामा बाबुआमाझैं, रमाइलोमा साथीहरूझैं, सहयोगीमा दिदीवहिनीझै, आज्ञाकारीमा छोराछोरीझैं र सहयोगीमा भाग्यझैं स्वास्नी हुनुपर्छ भन्ने धारणा व्यक्त गरिएको छ | नेपाली समाजमा स्वास्नीलाई "घर-परिवार, बूढी, मायालु"जस्ता नामले लोग्नेहरूले सम्बोधन गर्छन् | यी सबै सम्बोधनमा स्वास्नीको गहन जिम्मेवारी तथा दायित्व लुकेको हुन्छ | समाजले पनि स्वास्नी नभएको अर्थात् अविवाहित पुरुष वा स्त्रीलाई अपूर्ण नै मान्छ र विवाह गरेपछि लोग्ने-स्वास्नी दूवै "परिवार"मा रुपान्तरित हुन्छन् |
अन्त्यमा, केवल स्वास्नी मात्रै असल बन्ने प्रयत्न गरेर हुँदैन | लोग्नेमा पनि स्वास्नी तथा परिवारप्रतिको दायित्व उत्तिनै हुन्छ | असल स्वास्नी बन्ने महत्वकांक्षा राम्रो हो तर दुर्गुणले भरिएको, हिंसक, धूर्त तथा स्वास्नीको सम्मान गर्न नसक्ने लोग्नेसंग जीवन विताउने जिद्दी गर्नु पनि आत्मघाती हुन्छ | लोग्ने र स्वास्नी दूवैमा असल लोग्ने र स्वास्नी बन्ने चाहना हुनुपर्छ र त्यस्तो चाहना दूवैको व्यबहारमा देखिनु पर्छ | अनि बल्ल, परिवार सुखी हुन्छ | सुखी परिवारमा लोग्ने, स्वास्नी, केटाकेटी तथा परिवारका अन्य सदस्यहरू पनि खुसी हुन्छन् |
तपाईंलाई अपर्णाको बुझाई कस्तो लाग्यो ?

Friday, March 8, 2024

गाउँ निल्दै निर्लज्ज शहर


 गाउँ निल्दै निर्लज्ज शहर

प्राचीनकालदेखि नै सहरको पहिचान नै "ठूलाठूला" घर रहँदै आएका छन् | चाक्लो बाटो, बत्तिको झिलिमिली, लहरै बनेका पसलहरू तथा गाउँमा नपाइने सुविधाहरू सहरका पहिचान हुन् | गाउँका मान्छेहरू "सुख" पाउन सहर पस्छन् | गाउँलेहरूले सहरियालाई सुखी ठान्छन् | जतिजति सहर फैलिंदै जान्छ, त्यतित्यति धरती प्रदूषित बन्छे, प्रकृतिले आफ्नो मौलिकता गुमाउंदै जान्छे | विश्वास गर्नुस्, नगर्नुस् यो पृथ्वीका लागि सहरहरू सबैभन्दा निर्लज्ज शत्रु हुन् | प्रकृतिलाई प्रदूषित गर्ने पहिलो मानवीय निर्माण नै सहर हो |


यसको अर्को पाटो पनि छ | प्रकृतिलाई प्रदूषित पार्ने सबैभन्दा "पापी" ठाउँ पनि सहर नै हो | गाउँलाई निर्लज्ज तवरले "अविकसित" भन्दै नाक खुम्च्याउने पनि सहर नै हो | ठूलाठुला घर बनाएर प्राकृतिक विश्वलाई "बोक्ने नसक्ने" भारी बोकाउने पनि सहर नै हुन् | कुनै पनि गाउँले नदीनाला, पँधेरा, प्राचीन सम्पदा विनाश गरेको वा प्रदूषित गरेको सुन्नु भएको छ ? छैन तर बाग्मती, विष्णुमति, रूद्रमतिहरूलाई "ढल" बनाउँदा पनि "लाज" नमान्ने निर्लज्ज सहर नै हो | आज यो निर्लज्ज सहरले गाउँमा अतिक्रमण गर्न थालेपछि मान्छेहरू अल्छी भएका छन् | माटोको सट्टा महङ्गो सिमेन्ट र विदेशबाट किनेर ल्याएको फलामले ओगटेको छ | गाउँ निर्लज्ज सहरको बर्णसंकरमा रूपान्तरित हुँदैछ |

आजका "विकसित" मान्छेहरू ठूलो इलाकामा फैलिएको धेरैधेरै गगनचुम्वी बिल्डिंगहरूले भरिएको सहरलाई "विकासको प्रतिमान" मान्छन् | जताततै लमतन्न फैलिएका काला सडकहरू, ती काला सडकहरूमा धुँवा उदाउँदै हाम्रो एकमात्र वासस्थल पृथ्वीको प्रकृतिलाई बलात्कार गरिरहेका सवारीसाधनहरू, व्यापार गर्न खोलिएका असंख्य कारखानाहरू, अध्यारोलाई नष्ट गरेर "अन्धकार जीवि" प्राणिहरूको अस्तित्व मास्ने "लाइट"हरू तथा कान नै फुट्ने गरी बोल्ने लाउड-स्पीकरहरूले हरहमेशा प्रकृतिलाई बलात्कार गरिरहेका छन् | सहरियाहरू आफ्नो व्यक्तिगत स्वार्थका लागि सहर फैलाईरहेका छन् |

प्रकृतिसंग हातेमालो गर्ने गाउँका माटे घरहरू, टुकीमा बल्ने बत्तिहरू, कोदालाले खनेर मिलाएका बाटाहरू, आफ्नो खेतमा कृषिमा रमाएका र माटोको टीको लगाएका कृषकहरूले पृथ्वीको उपकार नै भएको छ | सहरले उत्सृजित गरेको कार्वन-उत्सृजनको प्राकृतिक प्रदुषणलाई गाउँले रुख रोपेर जोगाएको छ | गाउँले कुनै नदीनालालाई प्रदूषित गरेको छैन | कुनै प्राकृतिक प्राणिको अस्तित्व मासेको छैन | व्यापारका लागि मौलिक प्रकृतिचक्रलाई सिमेन्टका विल्डिंगले थिचेको छैन | तर दुखको कुरा : सहरहरूले निरन्तर गाउँहरू अतिक्रमण गरिरहेका छन् | आज सहरको प्रदुषण निर्लज्ज रूपमा गाउँगाउँतिर सर्न थालेको छ |

आफ्नो स्वार्थका लागि प्रकृतिको निर्लज्ज बलात्कार गर्ने सहरले गाउँमा अतिक्रमण गरेसंगै गाउँहरूमा वर्णसंकरहरू जन्मिएका छन् | गाउँलाई सहर बनाउने योजनाहरूले खेत-खलिहानहरू, नदीनालाहरू प्राकृतिक जीवनशैलीका मानवीय कर्महरू प्राकृतिक चक्रमा मोबाइल, टेलिभिजन तथा इन्टरनेटको ग्रहण लागेको छ | नदीलाई "गङ्गा"का रूपमा पूजा गर्ने ग्रामीणहरू सहरियाको नक्कल गर्दै ढलहरू "नदीतिर बगाउँन थालेका छन् | खेतवारीहरू बाँझो बनेपछि सहर गाउँतिर छिरेको प्रमाणित भएको छ |

मैले अनुभव गरिरहेको छु सहर स्वार्थको व्यापार गर्छ | यदि नाफा देख्यो भने यसले गाउँलाई निल्छ, नदीनालाहरू निल्छ, पहाड़हरू निल्छ, हिमालहरू निल्छ | सहर सगरमाथामा पुगेपछि सगरमाथा सहरीया प्रदुषणले दूषित भएको छ | चाउचाउका खोलहरू, कोकाकोलाका बोतलहरू, विदेशी रक्सीका सीसाहरूजस्ता असंख्य "सहर"ले मुक्तिनाथहरू दुखिरहेका छन् | सहर एतिबिध्न निर्लज्ज छ कि उसले आफ्नो अत्याचार देख्दैन, उल्टो गाउँलाई "पाखे, अशिक्षित, असभ्य तथा फोहोरी" भएको आरोप लगाउँछ | गाउले सोझा हुन्छन् भन्दै सोझोपनसंग कोकाकोलाको व्यापार गर्छ |

जव सहरले गाउँलाई अतिक्रमण गर्छ, त्यस बखतदेखि हजारौं वर्षदेखि जडिबुटी खोजेर गरिने रोगका उपचारहरू महङ्गा एल्लोपेथिक औषधिले विस्थापित गर्छन् | सित्तैमा पाइने सीमलीको पातको तीतोले निरन्तर निको हुँदै आएको ज्वरो, उप्रान्त एन्टीबाइटीक नखाई निको नहुने भएको छ | राडीमा पलेथी मारेर बसेका केटालाई केटीसंग देखभेट भएर रजमंदी हुँदासाथ सहजरूपमा समापन विवाहहरू हल्दीदेखि रक्सीको पार्टी र आफ्नो इज्जत धान्न दिनु पर्ने दाइजोले किचिएर अभिभावकहरू आत्महत्या गर्न बाध्य भएका छन् | सहर सभ्य हुन्छ र यस्तो सभ्यतालाई जोगाई राख्न "दाइजो" माग्छ | आज शहरले गाउँलाई अतिक्रम गरेसंगै "दाइजो"ले गाउँलाई समेत प्रदूषित गरेको छ |

पोहोरसाल हाम्रो गाउँमा सहरतिरबाट एउटा डोजर छिरेको थियो | उसले मेरा पुर्खाले लगाएको जोर-चौपारीमा उभिएका वरपिपल उखेलेर गण्डकीमा बगायो | गाउँलेले हजारौं वर्षदेखि प्रयोग गर्दै आएको पँधेरो "प्रदूषित" भन्दै सधैंको लागि छोपी दियो | मेरा पुर्खाले खर-घास काटेका खरवारीहरू "बाटो"ले निम्त्याएका पैरोको भेट चढे | डोजरले बाटो बनायो | त्यो बाटोबाट मोटर चढेर मेरो गाउँका दुधारू भैसीहरू "मम" बन्न सहर आइ पुगे | फेरी "मम"का रूपमा प्याक भएर त्यही सहर गाउँमा पुग्यो | हाम्रा पूर्खाले चिनेका चौपारीहरू, खनेका पोखरीहरू, गाई चराउनका लागि छोडिएका चरनहरू सहरले निल्दैछ |

-क्रमशः

कति लाइट चाहियो ?


 कति लाइट चाहियो ?

वैदिक ऋषिहरूले प्रार्थना गर्दै "तमसो मा सद्गमय अर्थात् मानव-समाजलाई अन्धकारबाट प्रकाशतिर लैजाउ भन्दै गर्दा आजको "विजुली र त्यसबाट प्राप्त हुने प्रकाश"को पक्कै पनि कल्पना गरेका थिएनन् | विजुलीको उत्पादन र विस्तारसंगै विश्वबाट निरन्तर अन्धकार विस्थापित हुँदैछ | १५ करोड़ किलोमिटर टाढाको सूर्य पृथ्वीको प्राकृतिक "बल्व" हो | मान्छेलाई यो बल्वले नपुगेर रातिमा पनि थपेको थपै छ | यो कति थपिने हो थाहा छैन !
म केटाकेटी हुँदा अँधेरी रातमा एउटा घरबाट अर्को घरमा जान खरको मूठो बाल्नु पर्थ्यो वा सल्लोको दियालो बाल्नु पर्थ्यो | कदाचिद् आगो निभ्यो भने हातले भुई छाम्दै हिड्ने मध्येमा म लेखक पनि पर्छु | मलाई सुत्ने कोठामा सुत्ने समयमा (राति) प्रकाश आएको कत्ति पनि मन पर्दैन | मलाई लाग्छ, प्रकाश निद्राको सबैभन्दा विकट शत्रु हो | प्रकाश चाहिन्छ, यसको अर्थ प्रकाश चौविसै घण्टा चाहिन्छ भन्ने होइन |
गाउँसहर सबैतिर बिजुली पुगेको छ | गाउँ होस् वा सहर हरेक घरका मान्छेले घरवाहिर एउटा "बल्व" बालेर वरिपरी उज्यालो छर्ने गरेका छन् | सहरिया बाटोघाटो त झन् "झिलिमिली" हुन्छन् |
म हरेक रात्री आफ्नो घरको छतमा उभिएर हेर्छु : आजका मितिमा उहिलेजस्तै जुनकिरीहरूले प्रकाश छर्दैनन् | किरा-फट्यांग्राहरू कराउंदैनन् | विजुलीले असंख्य रात्रिकालीन (अँध्यारोमा जिउने) जीवहरूको अस्तित्वलाई समाप्त पारेको छ | मेरो घर अगाडीको खेतखलिहानका जुनकिरीहरूलाई "बिजुली"ले निलेको छ |
यही बिजुलीले "हाम्रो एकमात्र निवासस्थल पृथ्वीलाई निरन्तर तताउँदै छ | इको-सिस्टम खल्वलिएको छ | ऋतुहरूको प्राकृतिक आगमन र गमन अगाडी पछाडी भएको छ | हामी मान्छेजस्तै "बोल्न नसक्ने, अर्काको अस्तित्वलाई चुनौति दिन नसक्ने" असंख्य प्राणी र बनस्पतिहरूले आफ्नो अस्तित्व गुमाउँन पुगेका छन् | सन् १९१७ मा प्रकाशित भएको "नेचर"को एउटा खोजले "मानवीय क्रियाकलापका कारण करिव २ लाख प्रजातिहरू पृथ्वीबाट सधैका लागि लोप" भएको अनुमान गरेको छ | सायद, उप्रान्त मान्छेलाई रात नचाहिएको हो त ?
"के हाम्रो एकमात्र निवासस्थल "पृथ्वी"लाई अव अँध्यारो अबन्च्छित भएको हो ? ले अध्यारोमा आश्रित जीवनहरू अनावश्यक भएका हुन् ? के २४ घण्टा प्रकाशमा नुहाउने पृथ्वी सुरक्षित रहला ? यो कुरा मैले नसोचे, तपाईंले नसोचे कसले चिन्तन गर्ला ? हामीले कहीं आवश्यकता भन्दा बढी "लाइट"को उपयोग गरिरहेका त छैनौं ? विवेकपूर्ण विचार हामी मान्छेले नै गर्ने हो किनभने अतिरिक्त "लाइट"मान्छेले खोजेको हो र उपयोग गरिरहेको छ |

अतिवादको मारमा हिन्दू पर्वहरू

 अतिवादको मारमा हिन्दू पर्वहरू

आज विहानै एउटा नाम चलेको पत्रिकाले "शिव मिथक हुन्" भनेर छापेको पढेपछि मेरो मानसिक शान्ति भंग भयो | आराध्यदेव श्रीपशुपतिनाथको दर्शन गरेर फकिएँ | मेरो मोबाइल पनि त्यही कसैलाई मन पर्यो तर पशुपतिनाथको दर्शनपछि पनि उत्तर दिने विचार झन् बलियो भयो | १ अरव २०

करोड़को मनमन्दिरमा विराजमा शिवलाई "मिथक" भन्नेलाई प्रश्न गर्न मन लाग्यो |
धेरै देश घुमियो, धेरै मान्छेसंग सङ्गत गरियो | धेरै धार्मिक समुदायहरूसंग उठवस गरियो, बुद्ध-पूर्णिमा, ह्लोसार, इद, क्रिसमसजस्ता धार्मिक एवं सांस्कृतिक कार्यक्रममा प्रेमपूर्वक, मित्रतापूर्ण तवरले समावेश भइयो तर ती समुदाय र देशका अखवारहरूले वाइबल वा कुरानका विषयवस्तुहरूलाई "मिथक" लेखिएको पढ्न पाइएन् | उनीहरू आफ्ना सांस्कृतिक पर्वमा आनन्द लिन्छन्, एकआपसमा प्रेम साटासाट गर्छन् | यसो गर्दा उनीहरूमा कुनै पनि प्रकारको हीनताबोध हुँदैन | "मिथक वा बास्तविक" भन्ने कुनै वहस हुँदैन | पर्वहरूलाई आत्मविश्वास तथा सामाजिक सद्भाव तथा एकताका रूपमा स्वीकार गरिन्छ | नमान्नेले पनि "मिथक" भन्दै अपमान गर्दैनन् |
प्रगतिशील हुनु, अग्रगामी हुनु, विज्ञानमा विश्वास गर्नु एउटा कुरा हो भने आफ्नै संस्कृतिको आलोचना गर्न घृणावादको बाटो अवलम्बन गर्नु अर्को कुरा हो | नेपाली राजनीतिमा समाजवाद तथा साम्यवादको अर्थ नै "आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा तथा विज्ञानप्रति उदासीन वा आक्रामक हुनु र विदेशी राजनीति, प्रतिमान तथा धर्महरूप्रति लोयल" हुनुनै कर्तव्य बनेको छ | हिन्दू-बौद्धहरूलाई मुसाई-कपु आँखाले पढ्नु नै गलत हो | इतिहासमा हिन्दू राष्ट्रहरूको हत्या गरिएको छ तर कुनै पनि हिन्दू राष्ट्रले अन्य संस्कृतिको हत्या गरेको छैन | प्रगतिशील र समाजवादको नाम जप्दैमा नेपालले क्रायोजनिक इन्जन अमेरिकालाई वेच्न सक्ने भए नेपाली राजनैतिक शक्तिहरूले अहिले बेच्ने थिए ! हिन्दू धर्मको खेदो खनेर बस्ने थिएनन् !
आराध्यदेव पशुपतिनाथ र शिवरात्रि पर्वलाई "मिथक" लेख्ने अखवारका पानाहरू पल्टाएर हेरें, त्यो अखवार र ती लेखकले बौद्धपूर्णिमा, इद, क्रिसमस वा इस्टर वा भेलेन्टाइन-डेका अवसरका लेखे र छापेका लेखहरूमा "मिथक" शब्द प्रयोग गरेका थिएनन् | एतिबिध्न आफ्ना मौलिक चाडवाडसंग घृणा गर्ने, शत्रूता राख्ने तथा हिन्दू-हरूका सांस्कृतिक, धार्मिक तथा सांस्कृतिक पर्वहरूसंग घृणा गर्ने मानसिकताको स्रोत के होला ? मैले आफैसंग प्रश्न गरें | अर्को कुरा, हिन्दू एउटा विशाल संस्कृति हो | सांस्कृतिक रूपमा यसभित्र पनि आलोचना तथा सुधारका धेरै थोक छन् | हिन्दू-समाजले आफुलाई सुधारी रहेको छ | जडतामा "प्रगतिशील र समाजवादीहरू छन् जसले मुसाई कट्टरपन्थीहरूलाई "धर्मनिरपेक्ष शक्ति"को मान्यता दिएका छन् | संसारको राजनीतिमा यो भन्दा आश्चर्य अरू केही हुनै सक्दैन कि धर्मनिरपेक्षवादीहरू धर्मपरिवर्तन गराउनमा मरीमेटीरहेका छन् |!
यसको उत्तर हो - घृणावादी राजनीति र शिक्षानै यसको स्रोत हो | यदि कसैलाई आफ्नो धर्म, संस्कृति तथा सभ्यतासंग घृणा हुन्छ भने त्यो समाज र देश नै छोडेर आफुलाई मन पर्ने धर्म, संस्कृति तथा परम्पराको अङ्ग बन्न जान्छ | तर जो आफ्नै समाजभित्र बसेर, यहाँका संसाधनहरूको प्रयोग गरेर, यसै संस्कृतिको जरो काट्ने काम गर्छ त्यो मानो रोगी हुन्छ अथवा "विदेशी भाडा"को घोडा | भाडाको घोडाको काम आफ्ना मालिकहरूको उद्देश्य पूर्ति गर्नु बाहेक अरू कुनै काम हुँदैन |
यस पटक श्रीपशुपतिनाथमा पहिलापहिलाजस्तो भक्तजनहरूको घुइचो छैन | भारतीय दर्शकहरू भारतमै रोकिएजस्तो लाग्यो | अर्कोतिर, पशुपतिनाथको मन्दिरभित्र वाहेक खासै उत्सवको बातावरण छैन | सरकारीतन्त्रले श्रीपशुपतिनाथको पर्यटनसंग खेलवाड गरेको प्रष्टसंग देख्न र बुझ्न सकिन्छ | सायद, तथाकथित प्रगतिशीलहरूले नेपाललाई सांस्कृतिक तथा धार्मिक पर्यटनको स्थलका रूपमा होइन "समाजवाद"को पर्यटनस्थल बनाउने तयारी गर्दैछन् ! नेपालका मौलिक तथा सांस्कृतिक एवं धार्मिक पर्वहरू नष्ट गर्दा कसलाई "नाफा हुने" हो, सरकारीतन्त्रमा रहेका "दास"हरूले नै जानुन् |
श्रीपशुपतिनामको एउटा नाम "अचिन्त्य" पनि हो | शिव के हुन् उनै ले जानुन् | तर विश्वका १ अरव २० करोड़ हिन्दूहरूका मनमा "शिव"को निवास छ | सबै शिव मन्दिर जान जरूरी छैन तर शिव मन्दिर नजादैमा मनबाट शिवको अवसान हुँदैन | शिव (शान्ति) शङ्कर (शान्ति दाता) पशुपति (चेतना) तथा शक्ति जताततै व्याप्त छ | मिथक लेखेर विदेशी अन्नदाता रिझाउने वा आफ्नो "दम्भको जडता प्रकट गर्ने तिमीलाई पनि "शान्ति र शक्तिले" विभेद गर्ने छैन | मृत्युको महारात्रीबाट तिमी जोगिन सक्ने छैनौ | तिम्रो मृत्यु "शून्यता"मा हुने छ भने मेरो मृत्यु शिवको शान्त काखमा हुनेछ | तिमी जीवनको अन्त्यसम्म घृणावादमा बाच्ने छौँ र तर मभित्रको शिवसंग म प्रेम, स्नेह, पूर्णता, सन्तोषसंग बाँच्ने छु |
श्रीपशुपति नाथ हामी सबै नेपालीका साझा आराध्यदेव हुन् | कुकुरहरू भुक्दैमा केही फरक पर्दैन | सन् १३४९ मा कासिमले पशुपतिनाथमा विध्वंस मचाएको थियो र उसले आगो लगाएका कारण काठमाडौँका पुस्तकालयहरू पांचमहिनासम्म जलेको इतिहास छ | तर त्यो इतिहास विर्सेर आज सरकारीतन्त्रका मान्छेहरू "एकलकाटेवाद"का आराधनाकर्ताहरूलाई स्वागत गर्न व्यस्त छ | मानवाधिकारको तलवार तेर्स्याएर तथाकथित बलिया राष्ट्रहरूले नेपालको सांस्कृतिक गौरव नष्ट गर्न आदेश दिएको होईन भन्न मिल्ने अवस्था र छैन | यी क्रूरतम कुकुरहरूले हिन्दू संस्कृतिलाई जति लुझेर समाप्त पार्न खोजे पनि "सनातन"को अन्त्य असम्भव छ |
वैदिक सनातन धर्म नदीझैं गतिशील छ | यो गतिशीलतासंग "जडतावादी"हरू रिसाएका छन् | आफ्नो जडतापूर्ण एकलकाटेवाद (राजनैतिक र धार्मिक) नेपालको बहुलवादी संस्कृतिमा थोपर्न चाहन्छन् | राजनीतिसंग विदेशी एकलकाटेवादीहरूको गठवन्धन लुकेको छैन | नेपाली वैदिक सांस्कृतिक सम्पदामा "एकलकाटे"हरूको दुष्ट नजर परेको छ | यहाँ ती दुष्टहरूका धेरै मतियार जन्मिएका छन् | गतिशीलताको सबैभन्दा राम्रो पक्ष परिवर्तनशीलता र स्वीकार्यता हो | आज वैदिकहरूप्रति राजनैतिक पूर्वाग्रह बढेको हुँदा "हिन्दूहरूसंग कट्टरताको बाटो अपनाएर आफ्नो पहिचान जोगाउनुको विकल्प छैन | यदि राजनैतिक शक्तिहरूले आफ्नो दृष्टिकोण परिवर्तन गरेर नेपालको मौलिकताको पक्षमा उभिंदैन भने त्यस्तो पूर्वाग्रह विरुद्ध हिन्दूहरू एकठाउँमा उभिनु पर्छ | वैदिक संस्कृतिको सांस्कृतिक आमहत्याका विरुद्ध बोल्नैपर्छ |
नेपाल शिवशक्तिको देश हो | नेपाल बुद्धको देश हो | तिमीले जसको गुलामी गरिरहेका छौं उसले विश्वलाई अशान्तमात्र होइन अणुवमहरूको जाल ओछ्याएर तिम्रो "मिथक"समेतलाई धरापमा पारेको छ | शिव-शक्ति र पशुपतिनाथको देशबाट विश्वलाई अशान्त बनाउने कुनै क्रियाकलाप हुने छैन तर तिमीजस्ता "मिथक"का स्वामीहरूले नेपालीहरूको पनि शान्ति भङ्ग गरिरहेको छ | तिमीजस्ता "घृणावादी"का कारण नेपालले आफ्नो हिमाल गुमाउनु परिरहेको छ, सनातन संस्कृति गुमाउनु परेको छ | कहिलै नदेखिएको नसुनिएको "जातिवाद, भूगोलवाद, भाषावाद, रेसिज्मका कारण देश दुख्न थालेको छ |
एति हुँदाहुँदै पनि श्रीपशुपतिनाथले तिम्रो कल्याण गरूँन् | तिम्रो मष्तिस्कभित्र भरिएको घृणावादको विष श्रीनिलकण्ठले स्वीकार गरूँन् |

Saturday, March 2, 2024

 नेपाली कांग्रेसका १०७६ महासमिति सदस्यहरूले नेपाल "हिन्दू राष्ट्र हुनुपर्छ" भन्दै हस्ताक्षर गरेर सभापति देउवालाई बुझाए तर महासमितिको छलफलमा त्यसले प्रवेश पाएन | यसको सीधा अर्थ हो - शीर्ष नेतृत्व "नेपाल हिन्दू राष्ट्र बन्नुपर्छ" भन्ने मान्यताका विषयमा उदार भैसकेको छैन | अन्य पार्टीहरूका तुलनामा चिन्तनको स्वतन्त्रताका सवालमा नेपाली कांग्रेस अलि उदार मानिन्छ | 

संविधान निर्माण गर्ने क्रममा हिन्दू राष्ट्रको मांग तीब्र भएपछि तत्कालीन सभामुख श्रीनेग्वाडले जनतासंग सूझाव लिने नाटक मन्चन गरे तर ती सुझावहरू रद्दिको टोकरीमा फालिए | तेसै बखतका प्रधानमन्त्री माधवकुमार नेपालले "देशको दीर्घकालीन हितका लागि नेताले हिन्दू राष्ट्रको बढी मांग भए पनि धर्मनिरपेक्षता स्वीकार गरेको" अभिव्यक्ति दिए | राप्रपा लगायत केही दलहरू घोषित रूपमा नै "हिन्दू राष्ट्र र संबैधानिक राजतन्त्र"का पक्षमा उभिएका छन् | कम्म्युनिस्टहरू परम्परगत रूपमै राजतन्त्रका विरोधी हुन् तर हिन्दूराष्ट्रका सवालमा धेरैजसो "चूप" रहन उचित ठान्छन् |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...