Tuesday, December 12, 2023

निम्बार्काचार्यको दार्शनिक परम्परा र पाश्चात्य दर्शन

 निम्बार्काचार्यको दार्शनिक परम्परा र पाश्चात्य दर्शन

१. कार्तिक पूर्णिमामाका दिन विश्वभरी आचार्य निम्बार्कको ५०१९ सौं जन्मजयन्ति मनाइदै छ | आचार्य निम्बार्कको जन्म कार्तिक पूर्णिमाका दिन हालको दक्षिण भारतमा भएको विश्वास गरिन्छ | नियमानंद, निम्बादित्य भनिने र सुदर्शन चक्रमा अवतारका रूपमा मान्यताप्राप्त आचार्य निम्बार्कले वेदको स्वाभाविक सिद्धान्त "द्वैताद्वैत"वादलाई महत्व दिंदै प्रस्थानत्रयिको व्याख्या गरेका हुन् | साथै राधाकृष्णको अभेदउपासना पद्यतिको गुरुशिष्य परम्परालाई प्रभावकारी रूपमा निरन्तरता दिएका थिए | नेपालमा पनि विभिन्न ठाउँहरूमा निम्बार्क सम्प्रदायका अनुयायिहरूले आचार्य निम्बार्कको दार्शनिक, धार्मिक, सांस्कृतिक तथा समन्वयवादी दृष्टिकोणको वरिपरी रहेर विधिध कार्यक्रम गरिरहेका छन् | कमसेकम विगत १०० वर्षदेखि यो क्रम निरन्तर चलिरहेको छ |
२. एउटा दर्शनशास्त्रको विद्यार्थीको रूपमा स्नातकको परीक्षा दिंदै गर्दा जर्मनदार्शनिक कान्ट समालोचनाको दर्शन र आचार्य शङ्करको अद्वैतवादले मलाई सबैभन्दा बढी प्रभाव परेको थियो | बुद्धिवाद र अनुभववादका विचमा ज्ञानको स्रोत, ज्ञानको कार्य र सीमाका विषयमा निकै गहिरो विवाद थियो | बुद्धिवादीहरूमा देकार्त, स्पिनोजा र लाइबनिजले एकमात्र बुद्धिलाई ज्ञानको प्रमाणिक स्रोत हुने तत्थ्यलाई अगाडी सारे भने जन लक, विसप वर्कले र ह्यूमले इन्द्रियानुभलाई ज्ञानको एकमात्र प्रमाणिक स्रोतका रुपमा उभ्याउन खोजे | बुद्धिवादीहरू अज्ञेयवादको भूमरीमा फंसेर परमसत्यको निर्णय गर्न असफल भए भने इन्द्रियानुभवको अन्त्य आत्मउच्छेदमा हुन्छ र कार्यकारणको सिद्धान्त अनुभववादका आधारमामा सिद्ध हुनै सक्दैन भन्दै ह्युमले अनुभववादको निचोड़ दिए |
३. सम्पूर्ण पाश्चात्य दार्शनिक जगत बुद्धिवाद र अनुभववादको खेमामा विभाजित भएको अवस्थामा जर्मन दार्शनिक इम्मन्युएल कान्टले बुद्धिवाद र अनुभववाद दूवैको “ज्ञानमा महत्व हुन्छ, ज्ञान प्राप्ति र त्यसको प्रमाणिकतामा दूवैको महत्व छ | केवल बुद्धि वा अनुभवको भर परेर वा यी दूवैको महत्वलाई अस्वीकार गरेर सही ज्ञान प्राप्त हुँदैन, असन्दिध प्रमाकालागि बुद्धि र अनुभवका विच समन्वय हुनुपर्छ, दूवै एकअर्कामा अनुस्यूत र स्वतन्त्र रहेर सकार्य गर्नुपर्छ | तवमा ज्ञानको उत्पत्ति, क्रिया र सीमाको पहिचान र स्थापना हुन्छ भन्ने तर्क दिए | इम्मन्युएल कान्टले पाश्चात्य दर्शनको ज्ञान विषयक विवादलाई समन्वय गरे | बुद्धि र अनुभववादको स्वतन्त्रतालाई अविच्छिन्न राख्दै, अनुभव र बुद्धिलाई एकआपसमा अनुस्यूत गर्ने जुन् दृष्टिकोण कान्टले अवलम्बन गरे आचार्य निम्बार्कले हजारौं वर्षपहिले “द्वैताद्वैत”वादका रूपमा स्थापित गरिसकेका थिए |
४. पाश्चात्य धर्मदर्शनको आधार बाइबल भएको हुँदा परमसत्यको रुपमा गडको वाहेक अन्य कसैको अस्तित्व स्वीकार गरिन्न र जीव-जीव जगतलाई यथार्थ मानिए पनि पूर्णतया गड वा अल्लाहको नियन्त्रणक विषय हुन् | प्लेटोले बहुलवादी दर्शनको स्थापना गरे तर प्लेटोका शिष्य अरस्तुले अद्वैतापेक्षी द्वैतवादको “द्रव्य र मेटर”को स्थापना गरे | उनले आफ्नो दार्शनिक चिन्तनलाई द्वैताद्वैत भनेनन् तर उनको उद्देश्य द्वैत, अद्वैत र अनेकवादको विवाद सधैंका लागि अन्त्य गर्दै सर्वमान्य सत्यको स्थापना गर्ने प्रयत्न गरे |
५. अहिलेको मानव-विश्वमा चिन्तन र सिद्धान्तकोतहमा प्राकृतिक रूपले समन्वयवादी दार्शनिक चिन्तन र व्यबहारको गहिरो मांग छ | यस्तो निष्कर्षको बलियो आधार छ जुन कुनै प्रकारको पुराग्रहमा आधारित छैन | आचार्य शङ्करले केवल अद्वैत परक वैदिक महावाक्यको सत्यतालाई स्वीकार गरे, फलत: वेदका द्वैत तथा बहुलवादी महावाक्यहरूको सत्यतामा अविश्वास भयो | द्वैतवाद र बहुलवादी सम्प्रदायका विषयमा पनि यसै गरि बुझ्नुपर्छ | बौद्धहरूले आत्मा र जगतको “अनादि”अस्तित्वलाई अस्वीकार गरेपछि उच्छेदवाद र जैनहरूले केवल बहुलवादको पक्ष पोषण गरेपछि एकवाद, द्विवादका सवालमा असहिष्णु सावित भए | यद्यपि जैन तथा बौद्धहरूले वेदको अपौरुषेयता अस्वीकार गरेपछि निम्बार्कसंग सैद्धान्तिकतहको समन्वयका सवालमा बाहेक तुलना गर्नु पर्ने देखिन्न | बुद्धले आत्माको अमरता, ईश्वरको ईश्वरता र जगतको बास्तविकतालाई पूर्णत: अस्वीकार गरेर निषेधको बाटो अबलम्बन गरेका छन् | यिनको दार्शनिक चिन्तन राजनैतिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक समन्यवको पूर्णआधार बन्न सक्दैन |
६. तर समन्वयको व्याबहारिक सिद्धान्त केवल आचार्य निम्बार्कले प्रस्तावित गरेका छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ | निश्चय नै आचार्य निम्बार्क शक्तिशाली सुदर्शन चक्रका अवतार, श्रीराधाकृष्णका विनम्र उपासक, नारद ऋषिका सुयोग्य शिष्य तथा आफ्ना आराध्य देव राधाकृष्णका समक्ष रङ्गदेवीका रूपमा र मुमुक्षुहरूका लागि द्वैताद्वैतवादका प्रवर्तक निम्बार्क सम्प्रदायका प्रथम आचार्य होलान् तर वेदका विरोधाभाषी लाग्ने संकथनहरूको अपौरुषेयता अक्षुण्ण राख्न “द्वैताद्वैत”वादको बाटो रोज्ने आचार्य निम्बार्क विश्वका साझा सिद्धान्तकार हुन् | यदि आचार्य निम्बार्कले वेदका केवल द्वैत, केवल अद्वैत वा केवल बहुलवादको एकल सिद्धान्तका पक्षमा कुरा गरेको भए अपौरुषेय वेदका आदर्शहरूको अपमान, अस्वीकृति तथा अवज्ञा हुन्थ्यो | वेदको एउटा कथनले अर्को कथनको खण्डन-मण्डन गर्छ भन्ने श्रुति-प्रतिकुल आदर्श सिद्ध हुन्थ्यो |

६. प्राध्यापक हरिशरण उपाध्यायले नेपालमा निम्बार्क सम्प्रदायको आगमन राजा गिर्वाण विक्रम शाहको बेलामा भएको तर स्याङ्गजा निवासी श्रीभगबत शरण जीले सन् १९८० तिर बाट प्रभावकारी रूपमा प्रचारप्रसार गर्न थालेको भन्ने आशय व्यक्त गरेका छन् | अर्कोतिर गोविन्द उपाध्यायले ललितपुरको कृष्ण मन्दिर पनि नरसिंह मल्लसंगै कृष्ण भक्तिका प्रवर्तक आचार्य निम्बार्ककै अनुयायी भएको तर्क गरेका छन् | सन्दर्भमा, हाल नेपालको सुदूरपश्चिम बाहेक अन्य सबै प्रदेशहरूमा निम्बार्क सम्प्रदायका प्रचुर अनुयायी, मठमन्दिर तथा आफ्नो जीवन निम्बार्क सम्प्रदायको साधना तथा विस्तारका लागि समर्पण गरेका अनेकौं सन्तहरू क्रियाशील छन् |
७. यदि निकट विगतको कुरा गर्ने हो भने आचार्य भगवतशरण देव, नरहरी शरण, चक्रपाणी शरण आचार्य खेमराज केशव शरण, रुक्मणी शरण, लक्ष्मी शरण, तुलसी शरण आदिको नाम उल्लेखयोग्य छ भने बर्तमानमा प्रा हरिशरण (गैडाकोट), बाल सन्त चतरा, गौसेवी बाबा, प्रा. मुकुन्दशरणआदिको नेपालमा उल्लेख गर्न सकिन्छ भने भारतमा नेपाली मूलकै गोपाल शरणजी गोलोक धामआदि र मैले चिने/ मैले नचिनेका वा अहिले नसम्झेका निम्बार्क सम्प्रदायका विनम्र नेपाली अनुयायीहरू क्रियाशील छन् |
८. सिद्धान्त प्रवर्तकका रूपमा आचार्य निम्बार्कले वेदका विरोधाभाषी प्रतीत हुने महावाक्यहरूका आदर्शहरूलाई एकांगी रूपमा स्वीकार गरेर दोश्रो कथनलाई असत्य तुल्याउनु भन्दा वैदिक अपौरुषेयता र सत्यको अक्ष्णुताको सम्मान गर्दै वैदिक आदेशहरूको समन्वयात्मक (द्वैताद्वैत मूलक) अर्थमा बुझ्नु पर्ने र सत्य वा परमतत्व द्वैताद्वैत परक रहेको अविरोधि चिन्तनको मार्ग अबलम्बन गरेका छन् | सिद्धान्त विस्तारका क्रममा कुनै पनि दार्शनिक चिन्तनको खण्डन नगरेको हुँदा आचार्य निम्बार्क सबैभन्दा प्राचीन रहेको सम्प्रदायका अनुयायी विद्वानहरू र प्रसिद्ध दार्शनिक बलदेव आचार्य तथा विद्यापतिले तर्क गरेका छन् | भारतका पूर्वराष्ट्रपति र दार्शनिक सर्वपल्ली राधाकृष्णनले पनि अप्रत्यक्ष रूपमा "अविरोधि" चिन्तनलाई प्राचीन हुन सक्ने उल्लेख गरेका छन् |
९. निम्बार्क सम्प्रदायको नेपालसंग अत्यन्त गहिरो सम्बन्ध छ | निम्बार्क सम्प्रदायको परम्परागत मान्यताअनुसार यस सम्प्रदायका प्रवर्तक हंस भगवान् हुन् | हंस भगवानले राधाकृष्णको समवेत लिंग शालीग्राम सनकादि ऋषिहरूलाई दिंदै अखण्डसेवाको परम्परा चलाए | नेपालको कालिगण्डकीमा उत्पन्न भएका शालीग्रामको निरन्तर सेवा गर्ने परम्पराको अग्रदूत निम्बार्क सम्प्रदाय नै हो भन्न असजिलो मान्नु पर्दैन | तेस बखतदेखि सर्वेश्वर भगवानका रूपमा शालीग्रामको अक्षुण्ण सेवा गर्ने परम्परा निम्बार्क सम्प्रदायमा छ | अन्य सम्प्रदायमा शालीग्रामको सेवापूजा गर्ने परम्परा अवश्य छ तर प्रमुख आराध्यदेवका रूपमा प्रमुख आचार्यले आफै शालीग्रामको सेवा गर्ने परम्परा आचार्य निम्बार्कले आरम्भ गरेका हुन् भने नेपाल र नेपालीहरू सांस्कृतिक तथा धार्मिक गौरवका निम्बार्क सम्प्रदायप्रति कृतज्ञ हुनैपर्छ |
१०. भारतवर्षका धेरैजसो संस्कृतिविद् र दार्शनिकहरूले आचार्य निम्बार्कलाई राधाकृष्णको उपासनालाई संस्थागत गर्ने प्रथम आचार्यका रुपमा स्वीकार गरेका छन् | यो तत्थ्यलाई नेपालका परमविद्वान् प्रा. चुडानाथ भट्टराइले पनि स्वीकार गरेका छन् | दार्शनिक दृष्टिकोणले विचार गर्दा आचार्य शङ्करले वेदको अद्वैतवादी चिन्तनको परम्परालाई महत्व दिए तर आचार्य रामानुजलाई दार्शनिक दृष्टिकोणले आचार्य शङ्करको अद्वैतवाद तर्कसङ्गत नलागेकोले "विशिष्टअद्वैत"का रूपमा संशोधन गरे | यो जगजाहेर तत्थ्य हो | यसैगरी बङ्गालका भक्तिवादी आचार्य चैतन्य आफ्नो गुरुपरम्पारामा प्राप्त शुद्धद्वैतवाद तार्किक रूपले सन्तुष्ट हुन सकेनन् र आचार्य निम्बार्कले अगाडी बढाएको द्वैताद्वैतलाई नै "अचिन्त्यभेदभेद"को नयाँ नाम राखेर अगाडी बढाए | सम्प्रदायका विनम्रअनुयायीहरूका लागि उपर्युक्त कथन असंगत लागे पनि दार्शनिक दृष्टिकोणले अकाट्य तत्थ्य हो |
११. आचार्य निम्बार्क र मध्व दूवै राधाकृष्णका उपासक हुन् | मध्वले दुईतत्वको वैदिक बाटो अबलम्बन गरेका हुन् | आचार्य मध्व, चैतन्यका गुरू ईश्वर पुरी र स्वयं चैतन्यले राधाकृष्णको उपासनामा स्वेकीय र परकीया भावको खासै चर्चा गरेका छैनन् तर गौडिया सम्प्रदायका प्रमुख आचार्यहरू रूप र जीव गोस्वामीले परकीया भावको उपासना अङ्गीकार गरेपछि अचिन्यभेदभेद र द्वैताद्वैतको उपासना व्यबहारमा सूक्ष्म पार्थक्य देखिन्छ | स्थूल दार्शनिक दृष्टिकोणबाट दुवै सम्प्रदायहरूमा फरक छुट्याउन कठीन छ | अझैं आधिकारिक रूपमा कवि जयदेवले गीत गोविन्दमा राधाकृष्णको विवाह ब्रह्माले सम्पन्न गरेको उल्लेख गरेपछि राधाकृष्णका स्वेकीय भावका उपासक निम्बार्कीहरू र परकीय भावका उपासकका रूपमा गौडियाहरू सुस्पस्ट हुन्छन् |
.....
-अद्वैत परक : एकमेवाद्वितीयम्, सर्वं खलुमिदं ब्रह्म, अयमात्मा ब्रह्म
-द्वैत परक : द्वा सुपर्णा सयुजा सखाया, यतो या इमानि भूतानि जायन्ते...संविशन्ति |
व्यबस्था
श्रुतिद्वैधम् तु यत्र स्यात् तत्रधर्माबुभौ स्मृतौ |
उभावपि हि तौ धर्मौ संयगुप्तौ मनीषिभि: || मनु २/१
भोक्ता भोग्यं प्रेरितारञ्च मत्वा सर्वं प्रोक्तं विविधं ब्रह्ममेततत् (स्वेताश्वतर १/१२

एक बौना पानी !!

 एक बौना पानी !!

पानी परिरहेको छ | मान्छेहरू डोको बोकेर खरवारीमा घाँस काटी रहेका छन् | मैले ती सबैलाई नदेखेको गरीझैं बाटो काटेर अगाडी बढें | "नाति ! किन बाटो काटेको हो नदेखेझैं गरेर ? हामी पनि आफ्नै मान्छे हौँ ! कान्छो हजुर वा र सानीमाहरूले भने | मैले सुन्ने कर लाग्यो | मैले भने "फर्कंदा पस्छु |"
अव पानीको नामनिसान थिएन | म बारीका पाटा उक्लिँदै गएँ | बाटोमा एउटा दुनुनो भैसी उभिएको थियो, मलाई देखेर बाटो छोडिदियो | म त्यो घर पुंगे |आँगनमा मसुरोको दालको रास रहेछ | आँगनमा एउटी बूढी मान्छे सुतिरहेकी थिइन् | मैले पुग्ने वित्तिकै अंगालो हालें | उनको बूढो शरीर चल्पलायो | उनले आँखा उघारिन् | उनको आँखामा आँसु देखिए |
"नाति ! म धेरै सुतिसकें | तिनीहरूले मलाई सम्झेनन् | मलाई तिर्खा लाग्यो | एक बौंना पानी खान्छु !"
प्रसंग सकियो |

आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!

 आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!

आधुनिक मानवतावादी चिन्तनको उद्देश्य कुनै पनि भेदभाव विना हरेक मान्छेलाई गरिमा (Dignity) पूर्ण सहयात्रिका रूपमा स्वीकार गर्दै उसको सम्मान गर्नु र सम्मान प्राप्त गर्नु हो | अंग्रेजी डिग्निटी शब्दले मानवअधिकारलाई पनि आकर्षित गर्छ जसले भूगोल, जातजाति, आर्थिकस्तर, धार्मिक भिन्नता तथा पेशाका आधारमा भेदभावपूर्ण व्यबहारलाई विस्थापित गर्न अनुरोध गर्छ | सामान्यता १४ औं ई. तिर इटालीमा जन्मेका पित्रेजलाई (Petrarch) आधुनिक मानवतावादी चिन्तनका जनक मानिन्छ तर यो दृष्टिकोण युरोपेली र अमेरिकनहरूको हो | परापूर्वकालदेखि नै पश्चिमाहरूले मानवतावादको अर्थ र प्रयोजन "मानव-महत्व"संग जोडे | मानवप्राणी बाहेक अन्य ८३९९९९९ (वैदिक मान्यताअनुसार) प्राणी र अजीव विश्वको गरिवमातिर खासै महत्व दिएनन् | यसरी पश्चिमा मानवतावादको दृष्टिकोण आज पनि मानव-प्रमुख (Human supremacy) आधारित छ र यो बैचारिक दृष्टिकोण र व्यबहार विश्वभरी फैलिएको छ | नेपाल तथा भारतजस्ता प्राचीन सभ्यता भएका देशहरूले समेत आधुनिक परिपेक्षमा "प्रकृतिमा मानवमात्र गरिमामय प्राणी हो" भन्ने मान्यतालाई आत्मसात गरेका छन् | यद्यपि द्वितीय विश्वयुद्धका विनाशक परिणामहरूबाट झस्किएका पश्चिमा चिन्तकहरूले "मानवतावाद"को अर्थमा केही संशोधन गरेर प्रकृति र प्रकृतिका अन्य उत्पादहरुको "गरिमा"मा पनि ध्यान दिनु पर्ने दृष्टिकोण अगाडी सारेका छन् |
पछिल्लो मानवतावादी चिन्तन "मानवकेन्द्रित" सिद्धान्तबाट केही माथि उठेको छ तर व्याबहारिक रूपमा Human supremacy को "स्वार्थ" जस्ताको तस्तै छ | सीमानाहरूमा बाँधिएका शक्तिशाली राष्ट्रहरूले आफ्ना "राष्ट्रिय स्वार्थ"लाई कत्तिपनि छोडेका छैनन् बरू आफ्नो राजनैतिक राष्ट्रको स्वार्थलाई अझैं बलियो र प्रभावकारी रूपले कार्यान्वयन गरेका छन् | खासगरी आर्थिकस्तरका आधारमा नागरिकहरूको मानवोचित स्वतन्त्रतामा अंकुश लगाएका छन् | वाहिर देखाउंदा अन्य कारण उद्धृत गरे पनि उपर्युक्त अंकुशहरूमा भूगोल, धार्मिकता, छालाको रङ्ग र भाषा पनि जोडिएका छन् | शक्तिशाली राष्ट्रहरूले निर्धन राष्ट्रका नागरिकहरूलाई आफ्नो देशमा प्रवेशाज्ञा नदिनु यसको प्रखर उदाहरण हो |
मनुस्मृतिको समय र आजको परिवेश निकै भिन्न छ | मनुस्मृतिले केवल तत्कालीन समाजको मार्गदर्शक सिद्धान्तहरू निर्माण गरेको छ भन्नु अर्धसत्य हुने छ | मनुस्मृतिका केही कथन र मान्यताहरूलाई लिएर आजका मानवतावादी तथा अधिकारवादीहरूले यसको कठोर आलोचना गर्छन् | समालोचना गर्नु र आलोचना गर्नुमा फरक छ | मनुस्मृतिका आलोचकहरूमा ती व्यक्ति वा समुदाय बढी छन् जसले मनुस्मृतिलाई उसको मूलभाषा (संस्कृत)मा पढ्न र बुझ्न सक्दैनन् वा तेस्रो व्यक्तिको भनाईमा विश्वास गरेर निरापद आलोचनाको बाटो अवलम्बन गर्छन् | सत्य के हो भने मनुस्मृति एस्तो कालजयी सभ्यता र संस्कृतिको निर्माता ग्रन्थ हो जुन चिन्तन र पथप्रदर्शनले आजको हिन्दु-समाजको धार्मिक, सांस्कृतिक, राजनैतिक र सामाजिक जरोकिलो निर्माण भएको छ र आज पनि दैनिक जीवनमा तिनको न्युनाधिकरूपमा अनुशरण गरिंदै छ | हो, यो अनुशरणमा केही तत्थ्यहरू आधुनिक न्यायव्यबस्था र मानवतावादी दृष्टिकोणमा अस्वीकार्य छन् |
संस्कृत भाषामा लेखिएको मनुस्मृति, मानवशास्त्र वा मनुसंहिताका रूपमा प्रसिद्ध मनुस्मृतिमा १२ अध्याय र २६९० श्लोक छन् | धेरैजसो श्लोकहरू अनुष्ठुप छन्दमा लेखिएका छन् तर लेखक र लेखन समयका विषयमा तीब्र विवाद छ | पश्चिमाहरूले ई.पू. ४००-३०० तिर मानेका छन् भने डा. राधाकृष्णन् जस्ता भारतेली विद्वानहरूले ई.पू. ९०० तिर मानेका छन् | अर्कोतिर वैदिक गणना पद्धतिमा विश्वास गर्नेहरूले मनुस्मृतिको रचना महाराज मनुले गरेको हुँदा यसको रचना यस मन्वन्तरको आरम्भमा (लाखौं वर्ष पहिले) गरिएको विश्वास गर्छन् | भारत अंग्रेजहरूको अधिनमा रहेको बखत तत्कालीन अंग्रेज भाषाविद्, इतिहासकार र न्यायधीश सर विलियम जोइन ले सन् १७९४ मा पहिलोपटक अंग्रेजीमा अनुवाद गरेपछि पश्चिमाविच यो पुस्तक निकै चर्चाको विषयवस्तु बनेको थियो | यो पढेपछि तत्कालीन पोपले "बाइबललाई (परमेश्वरलाई) चुनौती दिने" भन्दै आलोचना गरेका थिए |
आधुनिक मानवतावादी चिन्तनमा मानवीय स्वतन्त्रतालाई विशेष महत्व दिइएको छ जसमा बाक्स्वतन्त्रता, हिडडुल गर्ने स्वतन्त्रता, न्यायमा पहुँचको स्वतन्त्रता, बाँच्न र पेशा गर्न पाउने स्वतन्त्रता र धार्मिक तथा शिक्षा प्राप्त गर्ने स्वतन्त्रता | यस्तो स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु "भेदभाव"पूर्ण व्यबहारलाई मानिएको छ | प्रसिद्ध विश्वकोश ब्रिटेनिकाले हुमनिज्ममा समझदारी, परिपकारी ब्यबहार, करूणा, दया, सकारात्मक गुणहरूप्रति दृढता, न्याय, विवेकशील दृष्टिकोण, सद्भाव र प्रेमजस्ता गुणहरू नै - मानवतावाद भएको उल्लेख गरेको छ | ईश्वरवादी तथा नास्तिक मानवतावादीहरू पनि उपरोक्त कथनमा सहमति जनाउंदै "भेदभावरहित" व्यबहारप्रति समान विचार राख्छन् | अर्थात् समानता र समभाव नै आधुनिक मानवतावादी दृष्टिकोण भन्नुपर्छ र आजको विश्व मानवतावादी आन्दोलन भेदभावरहित र समानतामूलक मानव-समाजका लागि प्रतिबन्ध छ भनिन्छ |

होमरको इलियाड़ र सति लेयोमेडिया

 होमरको इलियाड़ र सति लेयोमेडिया

अतिवाद र अतिवादी दूवैतिर छन् | आधुनिक विश्वविद्यालय र विद्यालयहरूको विकास पश्चिमाहरूले आफ्ना उपनिवेशका जनतालाई बैचारिक रूपमा "कामदार" बनाउने उद्देश्यले स्थापित गरेका/गरिएका हुन् भन्ने कुरा स्वीकार गर्न नेपाली र भारतीय विद्यालय/विश्वविद्यालयहरूलाई धेरै गाह्रो छ | तेसैगरी सधैं वैदिक, जैन तथा बौद्ध संस्कृति नै सर्वगुण सम्पन्न भन्दै पश्चिमाहरूप्रति विमति राख्ने र सम्पूर्ण विकृतिहरूलाई पश्चिमाहरूको टाउकोमा फोर्नेहरूले विद्यालय र विश्वविद्यालयहरूलाई उपर्युक्त उपनिवेशी प्रोग्रमिंगबाट बाहिर निकाल्न र स्वावलम्बी बनाउनेतिर कुनै पनि दीर्घकालीन योजना बनाएको भन्ने तत्थ्य पनि छैनन् | विगार्ने सवालमा एता र उता दुवै सक्रिय छन् |
इतिहासको एउटा स्मृतिग्रन्थ मनुस्मृतिले महिला र क्षुद्रहरूलाई अमानवीय व्यबहार गर्न सिकाएको छ भन्दै सधैं वैदिक संस्कृतिको दोहोलो काडेर पश्चिमा र पश्चिमाहरूप्रति बफादारहरूलाई दोहन गर्ने समूहले होमरको एलियाड महाकाव्य पढेका छन् भन्ने विश्वास गर्न सकिन्न किनभने मनुस्म्मृतिको विरोध गर्नेले संस्कृतभाषामा लेखेको असली मनुस्मृति आफैले पढे वा भीमराव अम्बेदकर वा इसाई मिसनरीहरूको भनाईमा विश्वास गरेर आलोचना गरेका हुन् ? तिनैले जानुन् तर सतिप्रथाचाहिं एलियाड कालीन ग्रीकेली समाजको अङ्ग हो भन्दै गर्दा चित्त नबुझ्ला | चित्त नबुझ्दैमा, नमान्दैमा इतिहास असत्य हुँदैन | ट्रायल्याण्डका योद्धा प्रोटिसिलेअस युद्धमा मारिएपछि उसकी नवविवाहित पत्नी लेयोमेडियाले आफ्ना पतिको काठको प्रतिरुप बनाएर सुत्न थालिन् | बाबुले त्यो काठको प्रतिमा खोसेपछि अत्यन्त दुखी भएर त्यसै काठप्रतिमासहित स्वेच्छाले चितामा प्रवेश गरेर सति गइन् | अहिले न त्यहाँ सतिप्रथा छ न नेपालमा | तर इतिहासमा विलिनभएको सतिप्रथा र संबिधानले निर्मुल गरेको जातिप्रथाका आधारमा वैदिकहरूलाई बदनाम गर्नेहरू जीवित छन् र अचम्मको कुरा त के भने तथाकथित मोडर्नहरूले यिनको कुरा सुन्छन् !
सतिप्रथा कुनै कालखण्डको दुर्भाग्यपूर्ण यथार्थ थियो र यो प्रथाले अनेकौं हत्या गरेको थियो तर समयले यो प्रथालाई पूर्णतया अन्त्य गरिदिएको छ | यसै गरी छुवाछुतजस्ता अमानवीय प्रथाहरू पनि नेपाली भूमिमा अन्तिम श्वासप्रश्वास लिइरहेका छन् | पश्चिमा प्रतिमान विस्तार गर्न खोलिएका विश्वविद्यालयका स्नातकहरू (विद्वान् र राजनैतिक कर्मीले) यो परिवर्तन देख्दैनन् बरू आयोगहरू बनाएर संस्थागत गरेका छन् | यसरी एउटा समुदायलाई आफ्नै छिमेकीबाट टाढा पुर्याएका छन् | तेसैले भन्न मिल्छ : पश्चिमाहरूको प्रोग्रामिगको जालमा फंसेको नेपाली तथा भारतीय शिक्षा व्यबस्थाले आज पनि आत्मविश्वासरहित पश्चिमाहरूका बौद्धिक कार्यक्रता उत्पादन गरिरहेका छन् | आफ्नै इतिहाससंग घृणा गर्ने, गतार्थ भएका ऐतिहासिक घटनाका लागि बर्तमान समुदायलाई दोष दिने र समुदायसमुदाय विच अविश्वास फैलाउने काम गरिरहेका छन् |
उदाहरणका लागि नेपालको बर्तमान राजनैतिक व्यबस्थालाई नै हेरौं | यदि लोकतन्त्र वा प्रजात्रन्त्र भनिए जति उत्तम र बैज्ञानिक व्यबस्था हुन्थ्यो भने नेपाल विश्वको सबैभन्दा गरिव राष्ट्र बन्ने थिएन | वि.स. २०६२ मा प्रचण्ड र परिवर्तनवादीहरूले बोलेझैं नेपाल स्वीजरल्याण्ड, बेलायत वा सिंगापुरजस्तै विकसित बनिसक्नु पर्ने हो ? एलियाडको महाइन्द्र ज्यूसझैं नेपालीहरूको दुर्गतिमा यही विदेशीहरूको हितैषी "लोकतन्त्र र लोकतन्त्रवादी पूर्वाग्रह नै दोषी छ | तर विदेशप्रतिको भक्ति र आफ्नो इतिहासप्रतिको अविश्वासले नेपालको सतिप्रथालाई दोषी देख्ने तर पश्चिममा भएको हुँदा विचक्राफ्टलाई ढाक्ने प्रबृत्ति बलियो छ | यसबाटोमा राज्यनै नीतिगततहमा सहयोगी भएपछि कसैको केही लाग्ने रहेनछ ! देखेको कुरा बोल्ने बाहेक !!
उपर्युक्त प्रसंगको सत्यता पर्गेल्न चाहनुहुन्छ भने महाकवि होमरको एलियाड पढ्नु होला |

क्रिसमसको सतबीज !!

 क्रिसमसको सतबीज !!

क्रिसमसका रक्सी पार्टीहरूको समाचारका लागि एक महिनादेखि तयारी गरिन्छ तर लाखौंलाख हिन्दुहरूले रातभारी जाग्राम बसेर सतबीज छरेको समाचार खोज्न, लेख्न र पढ्न ठूला मिडियासंग समय छैन |
नेपालका सबैजसो तीर्थस्थलहरूमा आफ्ना पूर्खाका लागि सम्झेर अनेकौं प्रकारका अन्न मिलाएर सतबीज छरिने गरिन्छ | असलमा, सतबीजले मानव-जीवनका लागि कुनकुन् अन्न ज्यादै महत्वपूर्ण छन् र तिनको प्रदर्शन गरेकेको हुन्छ | छर्ने एकप्रकारको प्रयोग हो -जसले बालबालिका तथा सिखारूलाई अन्न चिन्ने मौका दिन्छ |
कुनै पनि अमेरिकी, इटाली वा युकेको मूलधारको पत्रिकाले होलीदिवाली वारे चर्चा गरेको मैले पढेको छैन | त्यहाँ हुँदा नेपाली पत्रपत्रिका हेरेर चित्त बुझाउनु पर्छ - त्यो पनि नेपाली पत्रिकाले मन नलागी पस्केको अधुरा समाचार पढ्नुपर्छ | नेपाली समाचारले पस्किने आफ्ना मौलिक चाडवाड सम्बन्धि समाचार आत्मविश्वास र तेजरहित हुन्छन् कहींकहीं त आत्मग्लानीले भरिपूर्ण समेत हुन्छन् | क्रिसमस वा इदहरूले महत्व प्राप्त गरेका किनभने यहाँ "हिन्दू-माइन्ड" छ |
विश्वका सबै चालचलन तथा त्यौहार बारे जानकारी प्राप्त गर्नु र आफ्नो संस्कृतिसंग शत्रुतापूर्ण व्यबहार नभएका चाडवाड मान्नु राम्रो कुरा हो तर मूर्तिपूजक भन्दै हिन्दू, जैन, बौद्ध संस्कृतिको जरो काट्न सङ्कल्प गर्नेहरूका चाडवाडलाई महत्व दिनु दिक्कलाग्दो र अविवेकी मनोविज्ञान हो | क्रिसमस इसाईहरूको महत्वपूर्ण चाड हो, उनीहरूले मान्नु उचित हो तर मूर्तिपूजकहरूका देशका मिडियाले आफ्नै देशको मौलिकता मास्ने सङ्कल्पित चाडवाडको "जयजयकाट" दास मानसिकता हो |
यदि यस्तो दास मानसिकता हुँदैनथ्यो भने मूलाधारका मिडियाहरू लाखौं जनताले रातभरी अत्यन्त श्रद्धपूर्वक आराधना गरेर छरिने "सतवीज"का समाचारहरूले प्रमुखता प्राप्त गर्नु पर्थ्यो ? तर ठूला अनलाइन, छापापत्रिका टेलिभिजनहरू "नोटिस" गरेको बाहेक भेट्न सकिन्न |
यो मौसम नेपालको मौलिक पर्ब सतबीजको हो | यो समयमा हरेक नेपालीले आफ्ना पूर्खाको स्मरण गरिरहेका छन् | तर आफ्नो मौलिकता र आत्मसम्मान गुमाएको पत्रकारिताले यसलाई "क्रिसमसको बालाचतुर्दशी" बनाएका छन् |
गतवर्ष पशुपति पुगेको बेला एउटा ८-९ वर्षकी स्कूले बालिकाले आफ्ना अभिभावकसंग बडो अभिरुचि पूर्वक छरिएका बीऊबिजन स्पर्स गर्दै त्यसको नाम सोध्दै र प्रोजेक्ट वर्कका लागि सङ्कलन गरेको मैले देखेको थिएँ |
यो सबै रक्सी र पैसाको खेल होइन र ?

वेदको रचनाकार र वेद

 वेदको रचनाकार र वेद

अस्य महतो भूतस्य नि:श्वसितमेतद्ऋग्वेदोयजूर्वेद: (वृ.उ. २/४/१०
ऋग्वेदसहित चारै वेद महान् प्रकृतिका स्वामीको श्वासप्रश्वासबाट निस्किएका हुन् | यहाँ महतो भूतस्य शब्दलाई परमतत्व -परमात्मा वा ईश्वरका भनेर अनुवाद गर्ने चलन छ तर यसको अर्थ "महान् प्रकृति" पनि हुन्छ |
स्मरणीय के छ भने मूलत: वेद एउटामात्र हो | ऋषि वेदव्यासले ज्ञानकाण्डका रुपमा ऋग्वेद, कर्मकाण्डका रूपमा यजुर्वेद, स्तुति अर्थात् भक्तिकाण्डका रूपमा साम वेद र जीवन दर्शनका रुपमा अथर्ववेद संहिताका फरकफरक ग्रन्थ बनाएका हुन् | समग्र वेद एकै जना व्यक्तिले घोक्न र जीवनभरी सम्झेर अर्कालाई घोकाउन गाह्रो देखेर यस्तो विभाजन भएको हो |
ऋग्वेदका १० मण्डलमा १०५५२ मन्त्रहरू, यजुर्वेदका ४० अध्यायमा १९७५ मन्त्रहरू, सामवेदका ६ अध्याय र १८७५ मन्त्रहरू तथा अथर्ववेदका २० खण्डमा ५९७७ मन्त्र छन् | सम्पूर्ण वेदमा २०३७९ मन्त्रहरू रहेका छन् | हो, मन्त्र सङ्ख्यामा केही विवाद छ तर समग्रमा वेद र वेदमा मन्त्रहरूको सङ्ख्या एत्ति नै हो | एति कुराको जानकरी हरेक सनातनीमा हुनुपर्छ |
वेदहरूसंग नेपालको गहिरो सम्बन्ध छ | ऋषिहरूले वेदका ऋचाहरूको साक्षात्कार वर्तमान नेपाली भूमिभित्र गरेका हुन् भन्ने प्रमाणहरू वेदमै यथेष्ट छन् | ऋग्वेदको १० सौं मण्डल, १२१ सौं सूक्तलाई हिरण्यगर्भ-सूक्त भनिन्छ | यसमा १० बटा मन्त्रहरू छन् | यो सूक्तहरूले प्रष्टरूपमा हिरण्यगर्भ (गर्भमा स्वर्ण भएका) शालीग्रामको उत्पत्ति हिमालमा (ऋग्वेद १०/१२१/४) भएको र त्यो प्रवाहशील नदीको बाटो हुँदै समुद्रसम्म फैलिएर चारैदिशाको रक्षा गर्दै प्रजापतिका रूपमा पूजाआराधना गर्न योग्य भएको प्रष्ट उल्लेख गरेको छ |
हिरण्यगर्भ (शालीग्राम) पाइने एकमात्र ठाउँ हिमालय नै हुन् र ती नदीको बाटो हुँदै समुद्र पुग्ने पनि यथार्थ हो | विश्वभरीका वैदिकहरूले शालीग्रामको पूजाआराधना गर्ने परम्परा पनि जीवित नै छ | साथै, पान्चायन देवताको पूजा गर्दा आफ्नो गुरू परम्पराअनुसार शिव, विष्णु, शक्ति, गणेश वा सूर्यका रूपमा हिरण्यगर्भको (शालीग्राम) आराधना गर्ने परम्परा पनि विश्वभरी प्रचलित छ |
ऋग्वेदकालीन ऋषिहरूले हिमालयबाट जन्मेका शालीग्रामलाई शिव,गणेश, शक्ति, सूर्य र विष्णुका रूपमा एकै थालमा (शैव, शाक्त, वैष्णव, गाणपत्य तथा सौर्य) पूज्ने “सहना ववतु”को सहृदयी दर्शनशास्त्र नेपालको मौलिक दर्शनशास्त्र हो भन्न मिल्छ | दार्शनिक रूपमा उपर्युक्त ऋग्वेदीय हिमवन्त-हिरण्यगर्भको उपस्थितिले नेपाली समाजको समावेशी तथा द्वैताद्वैतवादी चरित्र विकसित भएको स्थापित भएको स्वीकार गर्न सकिन्छ र यही स्वीकारोक्तिबाट नेपाली दर्शनशास्त्र स्थापित हुने छ |
भाषाका आधारमा नेपाली इतिहास युरोपसंग जोडिने इतिहासको परिकल्पनालाई उपर्युक्त हिरण्यगर्भ सूक्तका मन्त्रहरूले गहिरो चुनौती दिन्छन् |अफगानिस्तानका पहाडहरूमा हिरण्यगर्भको (शालीग्राम) अस्तित्व छैन |
घोकाइका आधारमा द्विवेदी, त्रिवेदी, चतुर्वेदी, सुवेदी आदि थर निर्मित भएका हुन् | वेदलाई हिन्दू धर्म ग्रन्थ भन्नेहरू अज्ञानी हुन् किनभने वेद स्वयंले (तल्मुद, बाइबल र कुरानले प्रष्ट रूपमा आफु यहुदी, इसाई र मुस्लिमहरूको धर्म-कर्म ग्रन्थ भएको र गड वा अल्लाहले केवल आफ्नाजनलाई दिएको भनेर बोलेका छन्) आफुलाई मानवमात्रको ज्ञान भनेर घोषणा गरेका छन् | तेसै पनि वेद शब्दको अर्थ "ज्ञान" नै हो र ज्ञान सबैको साझा हुने हुँदा वेद मानवमात्रका साझा ग्रन्थ हुन् | ऋषिहरूले वेदका मन्त्रहरू नेपाली भूमिमा साक्षात्कार गरेर नेपालको गौरव बढाएका छन् | नेपाल र नेपालीलाई गौरवशाली बनाएका छन् |

Monday, December 11, 2023

आत्मगौरवको बाटोमा नेपाली हिन्दू

भारतमा हिन्दूहरूको दमन आरम्भ भएको मोहम्मद गज्नवी (971-1030) को बेला देखि हो | त्यसपछिका सबै मुसलमानहरूले भारतका हिन्दु तथा त्यहाँका अन्य जातजाति र धर्मको शोषण मात्र गरेका थिए | सत्य के हो भने मुस्लिम आक्रान्ताहरूले हिन्दुहरूका पूजास्थलमात्र होइन जैन र बौद्धहरूका मन्दिर, विहार तथा त्यहाँ रहेका मूर्ति तोडेका थिए, सम्पति लुटेका थिए | प्रसिद्ध जापानी बौद्ध इतिहासकार मारामुतोले भारतबाट बौद्धधर्म पलायन हुनुको मुख्यकारकका रुपमा मुस्लिम आक्रमणकारीहरूले मूर्ति-पूजकहरूप्रति अपनाएको दमन नीति भएको उल्लेख गरेका छन् |

नेपालमा पनि मोहम्मद कासिमले आक्रमण गर्दा केवल पशुपतिनाथको मन्दिरमात्र होइन अनेकौं बौद्ध-विहारहरू र पुस्तकालयहरूमा आगो लगाएको थियो | अर्को सत्य के हो भने अहिलेको राजनैतिक नक्साभित्र रहेको भारतमा धेरैजसो भूभागमा मुस्लिमहरूले राजपाट चलाएका थिए | यस अर्थमा, मुस्लिमहरू भारतका प्रशासक समुदायमा पर्छन् | मुस्लिम र अंग्रेजले हिन्दू समुदाय विरुद्ध लिएको धार्मिक-असहिष्णुतालाई सम्झंदै यदि आज तेहाका हिन्दुहरू एककृत हुँदैछन् भने त्यो तिनको अधिकार पनि हो | यदि १०१२ देखि १७३७ सम्मको लामो शासनकालमा मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति वाहेक शिक्षाका क्षेत्रमा मुस्लिमहरूको बर्चश्व स्थापित गर्न सकेन भने खोट तिनैहरूमा छ, हिन्दुहरूलाई दोष दिनु मूर्खता र पूर्वाग्रह हो |
तर समय बदलिएसंगै हिन्दुहरूउपर अत्याचार गर्ने ती राजाहरू इतिहासमा रुपान्तरित भएका छन् | तिनले गरेका पापका लागि बर्तमान मुस्लिम समुदायलाई दोषारोपण गर्नु उचित हुँदैन | अर्कोतिर, भारतीय मुस्लिम समुदाय आफै पनि मुगलकालीन प्रसशाकीय मनोविज्ञानबाट मुक्त भएको छैन | शिक्षामा ध्यान दिनुभन्दा मूर्तिपूजक विरुद्ध "मौलानावाद"मा रमाउन बढी व्यस्त छ | कुरानका आदेशहरूलाई कट्टरतावादमा रुपान्तरण गर्ने स्वभावमा कुनै फरक परेको देखिन्न | यसले गर्दा, तीब्रतर रुपान्तरण गर्न सक्ने हिन्दु-जैन समुदायसंग मिलेर हिड्न सक्ने प्रश्न नै उठ्दैन |
आफ्नो कट्टरपन्थी चिन्तन र व्यवहारका लागि मुस्लिमहरू आफै दोषी छन् | यदि हिन्दुहरूले अहिले आएर क्षतिपूर्ति खोजिरहेका छन् भने अस्वाभिक होइन | यो हिन्दुहरूको आत्मसम्मानको समय हो | नेपालका हिन्दुहरूले पनि आत्मसम्मानको बाटो पछ्याउने प्रयत्न गरेका छन् भने उदारवादका आवरणमा मुसाईहरूको विचारका पक्षधरहरूको टाउको दुख्छ नै | यी मुसाई-पक्षधरहरूले कट्टरपन्थका विरुद्ध एकशब्द लेख्न र बोल्न सक्दैनन् तर हिन्दु, जैन तथा बौद्धहरूले आफ्नो आत्मसम्मान प्राप्त गर्न खोज्दा आकाश फाटेझैं गरेर कोकोहलो गर्छन् | नेपालमा आत्मसम्मान प्राप्तिको पक्षधर हिन्दुहरू विरुद्ध विषबमन गर्नेहरूको सक्रियताको अर्थ सर्वसाधारणले समेत बुझ्न थालेका छन् | प्रतिहिंसाको डर देखाएर हिन्दुहरूलाई "आत्मसम्मान प्राप्तिको बाटोबाट बिमुख बनाउने" चाल चलिरहेका छन् |
सत्य के हो भने धेरै समयको अन्तरालमा हिन्दुहरूले आफ्नो आत्मसम्मान, पहिचान र उत्थानका लागि गौरवपूर्ण तवरले बोल्ने, लेख्ने र प्रयोग गर्ने अवसर प्राप्त गरेका छन् | आफुभित्र रहेका विसंगतिहरूको समिक्षा गर्ने अवसर प्राप्त गरेका छन् | मूर्तिपूजक (हिन्दु) भन्दै हजारौं वर्षसम्म अपमानित गर्ने धार्मिक चरित्र विरुद्ध एकीकृत हुने अवसरप्राप्त गरेका छन् | एतिबिध्न लामो समयसम्म दलनमा रहेका हिन्दुहरूले हिन्दु गौरवको कुरा गर्दा देशलाई पाकिस्तान, अफगानिस्तान, इराक, इरान, साउदी अरेविया जस्तै राज्यसत्ता स्थापित गर्ने कल्पनासम्म गरेका छैनन् |
सबै राजनीति गर्नेहरूले बुझ्नुपर्छ, गौरवपूर्ण आत्मसम्मान केवल राजनैतिक लक्षप्राप्तिबाट मात्र प्राप्त हुन्छ भने यदि भारतीय हिन्दुहरूले राज्यसत्ता प्राप्त गरेर आत्मसम्मान प्राप्त गर्ने दिशातिर बढ्दै छन् भन्ने उनीहरूलाई बधाई दिनुपर्छ | राजनीतिमा एकअर्कोबाट सिक्ने हो | यदि नेपालका हिन्दुसमुदाय भारतको सिको गरेर होस् वा यहुदीहरूको सिको गरेर आत्मसम्मानका पक्षमा उभिन्छन् भने मुसाई-समर्थकहरूलाई बाहेक सबैले गौरवबोध गर्नु पर्छ | नेपालका तथाकथित उदारवादी तथा राजनैतिक शक्तिहरूले बहुसंख्यक हिन्दुहरूको जसरी मानमर्दन गर्दै "मुसाई"सरह कट्टरपन्थीका भएको प्रतिमान स्थापित गर्ने प्रयत्न गरिरहेका छन्, यसबाट नवजागरणमा प्रवेश गरेको हिन्दु-समुदायले क्रमशः उर्जा प्राप्त गर्दै जान्छ |
जव एउटा हिन्दुले हिन्दुगौरवको कुरा गर्छ त्यस बखत तथाकथित सूड़ो बुद्धिजीवी र मुसाईसंरक्षणवादीहरूले "एक्काइसौं शताब्दिमा धर्मको कुरा गर्ने" भन्दै अपमानित गर्छन् | मुसाईका कट्टरपन्थी क्रियाकलापहरू "धार्मिक स्वतन्त्रताको अधिकार"मा टुंगिन्छन् | नेपालकै हकमा, गाउँगाउँमा फैलिएका इसाईप्रचारकहरूले "ईसाले निको पार्नु हुन्छ" भन्दा त्यो अधिकारको कुरा ठहरिन्छ, मुस्लिमहरूले एउटा अबोध बालकको लिंग छेदन गर्दा (खतना) गर्दा बालअधिकारको हनन हुँदैन, एउटी बालिकालाई उसको इच्छा विपरित कालो लवेदा भिराइन्छ, अपरिचित पुरुषहरूसंग (हलला) गर्न बाध्य परिन्छ, त्यस बखत बौद्धिक बर्गहरूलाई दुख्दैन तर एउटा हिन्दुले आफ्नो गौरवका लागि आत्मसम्मानको कुरा गर्छ, अनि धर्मनिरपेक्षवादी तथा प्रायोजित बुद्धिजीविहरू बर्वराउन थाल्छन् | हजारौं वर्ष पूर्व लेखिएको मनुस्मृतिको इतिहासबाट मृत्यप्राय श्लोकहरू खोजेर हिन्दुहरूलाई प्रताडनाको आरोप लगाउँछन् | अचम्मनै मान्नुपर्छ, एस्तो आरोप लगाउनेहरू अंग्रेजीभाषा बोल्ने "एलिट"हरू हुन्छन् | बाँकी कुरा आफै बुझ्नुहोला |
नेपाली समाजमा हिन्दुहरूको जागृति आरम्भ भएको धेरै भएको छैन | वि.स. २०४७ सालसम्म नेपालमा हिन्दु र गैरहिन्दुका बिच त्यति मतभेद र मन भेद थिएन | तथाकथित प्रजात्रन्त्रले उन्नत राजनैतिक व्यबस्थाको गर्भाधान गर्ने उपक्रममा माओवादी आन्दोलन आरम्भ भयो | यो गर्भाधान क्रिया २०६२ मा टुंगियो र प्रजातन्त्र र लोकतन्त्रको ककलेट "प्रजातान्त्रिक लोकतन्त्र" जन्मियो | यस व्यवस्थाका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले भाषण गर्दै "धेरैले यस अर्थनै जानेका छैनन्" भन्दै आज पनि यो ककलेट परिभाषित भएको छैन भन्ने प्रमाणित भएको छ | माओवादसंग आएको घृणावादले नेपाली सामाजिक शान्तिलाई कित्ताकित्तामा काट्ने क्रममा सबैभन्दा बढी हिन्दुहरूलाई टार्गेट गर्यो | मन्दिरहरू भत्काइए | बटुकहरूका टुप्पी काटिए | पण्डितहरूको निर्ममतापूर्वक हत्या गरियो | ८८ वर्षकी वृद्धालाई सुँगुरको मासु कोचियो | यी अत्याचारहरू मुस्लिमले र अंग्रेजले गरेका तत्कालीन भारतका भन्दा गुणात्मक रूपमा बढी थिए | आज पनि यी राजनैतिक शक्तिहरूको मूलभूत एजेण्डा "हिन्दु विरुद्ध" नै भएको व्यबहारमा अनुभूत गर्न सकिन्छ | अनि, हिन्दु आफ्नो आत्मसम्मानका लागि न जागेर के गरोस् ? यो जागरणका लागि भारतीय पैसा देख्नेहरू कार्लमार्क्स वा जिससका भूत हुन् |
महेन्द्र महत्वाकांक्षी राजा थिए | थोरै पढेलेखेका भए पनि नेपालको मौलिक गौरव र नेपाललाई राजनैतिक शक्तिको रूपमा स्थापित गर्ने मन्त्र बुझेका थिए | तेसैले उनले २०२१ को पंचायती संबिधानमा "हिन्दू राष्ट्र" भन्ने शब्द जोडे | उनको यो राजनैतिक दुरदर्शीताले विश्वभरीका हिन्दूहरूको एकमात्र आफ्नो राष्ट्र नेपाल भएको भावनात्मक सम्बन्धको विकास गर्यो | आज पनि देशविदेशका हिन्दूहरूले "एकमात्र हिन्दु राष्ट्र नेपाल" भन्ने गरेको सजिलै सुन्न पाइन्छ | यदि नेपाल हिन्दूराष्ट्र हुँदा विश्वभरिका हिन्दुहरूको आस्थास्थल बन्न सफल हुन्छ भने आर्थिकरूपले नेपालको अर्थतन्त्रलाई फाइदा नै हुन्थ्यो | साउदी अरवले मक्कालाई धार्मिक भन्दा पनि धर्मअर्थतन्त्रसंग जोडेर व्यापार गरिरहेको तत्थ्य कसैसंग लुकेको छैन | राजा महेन्द्रले हिन्दुराष्ट्र र हिन्दूराजालाई नेपालको अर्थतन्त्र र विश्वभरीका हिन्दूहरूको मनोविज्ञानसंग जोड्ने प्रयत्न गरेका थिए |
भारतमा चाहेर पनि हिन्दुराष्ट्र सफल हुनैसक्दैन किनभने केरल र सुदुर पश्चिमी प्रदेशहरू (मिजोरम, अरूणचल, केरल, नागल्याण्ड, जम्मु कास्मिर) हिन्दुराष्ट्रका अङ्ग बन्नै सक्दैनन् किनभने यी राज्यहरूमा हिन्दूहरू बहुमतमा छैनन् | साथै हिन्दू राजा पनि असम्भव नै थियो किनभने अहिलेको भारत ५५७ विभिन्न साना राष्ट्रहरूको एकीकरण गरेर निर्माण भएको हो | भारतमा राजतन्त्रको कुरा गर्दा पूर्वराज्यका राजाहरू विच नै शक्ति प्राप्तिका खातिर रक्तपात हुने संभवाना हुन्थ्यो | नेपालमा राजालाई एकीकरणको रूपमा पहिले नै स्वीकृति प्राप्त थियो नै | यी तत्थ्यहरूमा विचार गर्दा भारतीय आरएसएसले आरम्भ गरेको राजनीतिको राजनैतिक लाभ महेन्द्रले बुझे र त्यसलाई शक्तिका रूपमा कार्यान्वयन गर्ने संबिधान उनले नेपालका लागि निर्माण गरे | व्यबहारमा हेर्दा पनि उनको यो राजनैतिक "हिन्दुराष्ट्र" सफल नै रह्यो किनभने नेपालमा बाटोघाटो र औद्योगिकी करणका पिता महेन्द्र नै मानिन्छन् | बर्तमान राजनैतिक शक्तिहरूलाई मन परे पनि नपरे पनि सत्य यही हो | राजा महेन्द्रले हिन्दुत्वको पहिचानलाई आधुनिक विश्वमा पहिलो पटक राजनैतिक पहिचान दिने कामको नेतृत्व गरेका थिए |
यसको तुलना कार्लमार्क्सले निर्माण गरेको मार्क्सवादलाई सन् १९१७ मा लेनीनको नेतृत्वमा रसियाले राजनैतिक शक्तिका रूपमा रुपान्तरण गर्यो यसै गरी राजा महेन्द्रले हिन्दूत्वको राजनैतिक पुनर्जागरणको मनोविज्ञानलाई नेपाललाई "हिन्दुराष्ट्र" घोषणा गरेर निर्माण गरेका थिए | तथाकथित धर्मनिरपेक्षवादीहरू र धर्मनिरपेक्षताको भेषमा रहेका कट्टरपन्थी मुस्लिम तथा इसाईहरू र समाजवादीहरूले यसको विरोध गरे | हिन्दूराष्ट्रको विरोध गरेर नेपाललाई धर्मनिरपेक्ष बनाउनेहरूले नेपाल र नेपालीलाई "कस्तो आत्म गौरवशाली बनाए, आर्थिक रुपमा सम्पन्न बनाए ? सम्भवत: हरेक नेपालीले उक्त प्रश्नको उत्तर बुझेको छ | बूझ पचाउनेहरूमा सबैभन्दा खप्पीस नेपाली नै हुन् जस्तो लाग्छ |
राजनैतिक रूपमा आफ्नो अस्तित्वको गौरव जोगाउन हिन्दुहरूले राजनैतिक हस्तक्षेप गर्नेपर्छ | मार्क्स वा लिंकनका भूतहरूले निर्माण गरेका राजनैतिक प्रतिमानहरूलाई मात्र "सही राजनैतिक व्यबस्था" भन्ने प्याराडाइम आजको नेपालका लागि अफाफ सिद्ध भैसकेको छ | मार्क्स र लिंकन आफ्नो देश र समाजको तत्कालीन अवस्थाका लागि उपयोगी भए पनि नेपालमा भने भ्रष्ट्राचार र हिन्दुहरूलाई अपमानित गर्ने प्रमुख शक्तिका रूपमा अस्तित्वमा छन् | हिन्दुहरूको जागरणले आफ्नै मौलिक राजनैतिक प्रतिमानको मांग गरिरहेको छ | आजको संविधानले नै "बहुमतको सरकार"को प्रतिमान स्थापित गरेको हुँदा पक्कै पनि आफ्नै प्रतिमान विरुद्ध आजको संविधान जाने छैन ! तर हिन्दुहरूप्रतिको पूर्वाग्रहले हिन्दुबहुमत अस्वीकार गर्न यिनीहरू कत्तिपनि पछि पर्ने छैनन् | इतिहासले हिन्दुलाई धेरै सिकाएको छ र अझै पनि सिक्न ध्रेरै बाँकी छ | अन्तिम सत्य यही हो कि आजको हिन्दु समाजले आफु विरुद्ध भएका अत्याचार विरुद्ध, अन्याय विरुद्ध, शोषण विरुद्ध, राजनैतिक षड्यन्त्र विरुद्ध बोल्न र प्रतिक्रिया व्यक्त गर्न थालेको छ | यो प्रतिक्रियाबाट प्रतिक्रियावादीहरूको "निन्द्रा" हराम भएको छ |
कट्टरवादका समर्थक उदारवादीहरूले प्रष्ट रूपमा बुझ्नुपर्छ - उदारवाद तथा अतिथिको सम्मान गर्ने परम्परा केवल र केवल हिन्दूहरूको मनोबैज्ञानिक पुर्खौलीमा छ | तेसै भएर अफगानिस्तान देखाएर नेपालमा रहेका अन्य समुदायलाई तर्साउने "मुसाई-विद्वान"को छलकपट बुझ्नुपर्छ | कुनै वेला हिन्दू बाहुल्य रहेको अफगानिस्तानमा किन ८०-८२ घरमात्र हिन्दू शेष छन् र कुनै वेला १ जना पनि मुस्लिम वा इसाईको अस्तित्व नभएको नेपालमा किन ५% मुस्लिम र २% इसाई जनसंख्याले स्वतन्त्रतापूर्वक आफ्नो धार्मिक आस्था निर्वहन गर्दै छ ? भन्ने तत्थ्यको उत्तर खोजे हुन्छ |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...