Tuesday, September 19, 2023

स्वस्ति ६ श्री भानुभक्त बाजे !

 स्वस्ति ६ श्री भानुभक्त बाजे !

आगे तपाईं जिउँदो भए आज २१०को बूढो हुनुहुन्थ्यो | यस्तो पितृसंग सम्बाद गर्दा निकै रमाइलो हुने थियो | तर तपाईं मूर्तिका रुपमा, रामायणका रूपमा, बधुशिक्षाका रुपमा हुनुहुन्छ | केहीले तपाईंको खेदो खन्छन् | केहीले तपाईंको बचाऊ गर्छन् | म चाहिं तपाईंलाई माया गर्छु | आज तपाईंले रामायणमा लेखेको भाषा पनि २१० वर्ष बूढो भयो भन्ने मेरो मान्यता हो | स्वर्गमा भए पनि तलका तिनोटा "नेपाली पढ्नुस् ल !!
(१) अंग्रेजी माध्यमबाट पढेका आफुलाई मोडर्न मान्नेले र नेपाल्ग्रेजी बोल्ने संचारकर्मीहरूले एफएम, टेलिभिजन, फेसबुकआदिमा यसरी बोल्छन् र लेख्छन्
"इस्टर्न फिलोसफी र मोरल भ्यालु दिक्लाइनले प्रेक्तिकल लाइफलाई प्रोब्लेमेटिक बनाउंदै छ | इन्गलिश ल्यांग्वेजको फास्ट ग्रोथले नेपाली ल्याङ्ग्वेजलाई च्यालेन्ज गर्दैछ | आज पोइट भानुभक्तको युभिभरसरी सेलेब्रेशनबाट हाम्रो न्यु जनेरेशनलाई नेपाली ल्याङ्ग्वेजको इम्पोरटेन्स बुझ्न सहयोग गर्ने छ | केटाकेटीले कुरा बुझ्ने छ |
(२) संस्कृतका विद्वानहरू नेपाली यसरी बोल्छन् र लेख्छन्
"पौरस्त्य दार्शनिक तथा नैतिक मूल्यहरूको अवमूल्यन हुँदा सम्पूर्ण नेपालको सामाजिक, सांस्कृतिक, धार्मिक तथा व्याबहारिक जीवन पद्धतिमा कुठाराघात हुँदैछ | आंग्लभाषाप्रतिको तीब्रतर मोह र स्वेकीय भाषाप्रति हीनताबोधले नेपाली भाषा क्षयमा प्राप्त हुँदैन | आज भानुभक्त जयन्तिको शताधिक जयन्तिका सुअवसरले समग्र नेपालीय समाज र नेपाली भाषिकालाई दैनन्दिनीमा प्रयोग गर्नेहरूमा विशिष्ट शक्तिपात हुने छ |"
(२) नेपाली जरो भएका विद्वान्हरूले यसरी बोल्छन् र लेख्छन् -
"पूर्वीय दार्शनिक तथा नैतिक मूल्यहरू घट्दै जाँदा नेपाल र नेपालीको सामाजिक. सांस्कृतिक, धार्मिक तथा व्याबहारिक जीवनमा असजिलो हुँदैछ | अंग्रेजी भाषाको मोहले नेपाली भाषा कमजोर हुँदैछ | आज भानुभक्त जयन्ति मनाउंदै गर्दा सम्पूर्ण नेपालीभाषिले आफ्नो भाषाप्रति पुनर्ताजगी प्राप्त गर्ने छन् |
मलाई त झन् संस्कृत, नेपाली वा अंग्रेजी आउन्न | मैले नेपाली बोल्छु तर मैले विश्वविद्यालयमा पढ्या होइन | हाम्रोतिरका मान्छेले तेसरी बोल्न जान्या छैनन् | मलाई उपल्लो नेपाली आउन्नन्, क्यारूँ ? बिजोक भयो | ठ्याकै नहोला तर आजभोलीको नेपाली उपल्लो झैं छ |

षड्यन्त्र, लूट र झूटको विपक्षमा

 षड्यन्त्र, लूट र झूटको विपक्षमा

हरेक दिन करिव ७००० का हाराहारीमा युवाहरू खाडी वा मलेशियाको रोजगारीका लागि जान्छन् | सरकारले टिकट र भिजा "फ्री" घोषणा गरेपछि विदेशी लागत बढेर ३ देखि ५ लाख पुगेको सुनिन्छ तर हरेक म्यानपावरले ५-१० हजारको पुर्जी काटेर ३ देखि ५ लाख असुलिरहेका छन् | रोजगार विभागले त्यही १० हजारको पुर्जीलाई साँचो मानेर वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिइरहेको छ | दिने र लिने दूवैले "झूट, षड्यन्त्र र लूट"को अभ्यास गरिरहेका छन् |एकआपसमा मिलोमतोमा बाहेक एस्तो हुनै सक्दैन | प्रधानमन्त्री, मन्त्री, सांसद सबै यो मिलोमतोका प्रत्यक्ष मतियार छन् | लुट्ने गरिव र सर्वहारा भएका कारणले होला "चमेलीका पक्षमा" बोल्दिने कोई छैनन् !
खाड़ीदेशमा रोजगारीमा जानेहरूका लागि सरकारले फ्री भिजा र टिकट छ भन्छ | यो सबै कुरो झूटो र कपोलकल्पित छ भन्ने कुरा प्रधानमन्त्रीसहित देशका सबै सरोकारवाला निकायलाई थाहा छ | फ्री-को नीति लागु नहुँदा वरू १ लाखभित्र नै मलेसिया तथा खाडी देशमा कामका लागि उड्ने गर्थे | फ्री-विजा र टिकट आरम्भ भए पछि त्यसैलाई ४ लाखसम्म पर्न थालेको छ | मेरो आफ्नै भान्जालाई दुवईका लागि ४ लाख नगद तिरेका थिए |
मैले बुझेअनुसार संसारमा कुनै पनि सेवा फ्री हुँदैन | सरकारले लोकप्रिय हुनका लागि चरम झूटो काम गरिरहंदा कुनै सरकारी, पत्र-पत्रिका, पत्रकार, मानवतावादी तथा गैरसरकारी वा सामाजिक संस्थाहरूले "चुईक्कसम्म" बोलेको सुनिन्न | म्यानपावरहरूले गैर कानुनी काम गरिरहेका छन् भने तिनलाई कार्वाही गर्न सक्नुपर्छ | यदि सरकारको निर्णय नै काइते (अव्यवहारिक) हो भने यस्तो "काइते" निर्णय गर्ने सरकार र सरकारी निकायहरूलाई कार्वाही हुनुपर्छ | आफ्नै संज्ञानमा लिएर सरकारलाई आदेश दिन सक्ने अदालतहरू पनि आश्चर्यजनक तवरले यस विषयमा मौन छन् |
गरिवहरूले रोजगारीका लागि खाडी वा मलेशियाको बाटो लिन्छन् भन्ने सबैलाई थाहा छ | पैसावाल मेक्सिकोको बाटो भए पनि ५० लाखसम्म दलाललाई तिरेर अमेरिका पुग्ने प्रयत्न गर्छन् | सरकार र म्यानपावरहरूको मिलोमतोमा नेपालका सर्वसाधारण गरिवहरू ठगिने क्रम जारी छ | ५० लाख दलाललाई बुझाउन सक्नेले सजिलैसंग सरकारीतन्त्रलाई प्रभावित पार्न सक्छन् तर आफ्नो खेतवारी साहुकहाँ राखेर खाडी जानेहरूका लागि "बोल्नेवाला" कोई हुँदैन | राजनैतिक दलहरूका लागि "खाडीवाल" महज भोट र रेमिट्यान्सका स्रोत हुन् | यो सरकार "आवाज नभएकाहरूका लागि आवाज होइन, बरू लुट्ने र लुटाउने तन्त्रको समर्थक हो" भन्न मिल्छ |
उपरोक्त कुरा त गुनासा र सरकारीतन्त्रको मिलोमतोको कथा हो | यो भन्दा पनि आश्चर्यजनक कुरा के भने प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्र सरकार र यस अन्तर्गतका सांसदहरू सातबटा मुख्यमन्त्रीहरू र तिनका सांसदगरी ८ जति तथाकथित "जनप्रतिनिधि"हरूले उपरोक्त प्रायोजित लूटका विरुद्ध "एकशब्द" बोलेको लेखेको सुनिन्न | खाडीदेशमा रोजगारीमा जाने गरिवहरूका लागि सरकार र सांसदहरू मुर्दारसरह ठहरिएका छन् | अर्को शब्दमा, नेपालका सम्पूर्ण सांसदहरू "मिलोमतो"का प्रवल समर्थक र मतियारका रूपमा बुझ्दा हुन्छ | नत्र "फ्री-भिजा र फ्री टिकट"को षड्यन्त्रका विषयमा बोल्थे, आवाज उठाउथे |
विदेशमा जान लागेका र पैसातिरेर खाडीदेश वा मलेशिया पुगेका सम्पूर्ण "पिडित"हरूले हेल्लो सरकारको इमेल 1111@nepal.gov.np मा आफुले तिरेको रकम, आफुले तिर्न लागेको रकम र गएको वा जान लागेको ठाउँको विवरणसहित अधिकतम सूचना दिनुपर्छ | यदि "फ्री"को निर्णय व्याबहारिक छैन भने म्यानपावरहरूका पक्षमा "व्याबहारिक" निर्णय गर्नु पर्छ | यदि फ्रीको निर्णय व्याबहारिक छ भने पैसाअसुल्नेहरूलाई कार्वाही गर्नुपर्छ |
गरिव जनताको ऋणको पैसामा "फुपुको श्राद्ध" गर्न पाइन्न | यदि यो देशमा जनताका प्रतिनिधि भनिने कुनै सांसद छन् भने "फ्री-माफिया"को वारेमा सवाल उठाउनु पर्छ | खाडी वा मलेसिया जाँदा लाग्ने शुल्क (लुकाएर तिर्नु पर्ने र लुकाएर असुल्नु पर्ने) प्रस्टसंग किटानी गरिनु पर्छ | यदि खाडी जाँदा ५ लाख लाग्ने हो भने त्यो प्रस्टसंग बैंकिग माध्यमबाट दिने/लिने व्यबस्था कडाइसंग कार्यन्वयन गर्नुपर्छ |
गरिव जनता लुटिंदा खुसी मनाउने सरकार आततायी हुन्छ | एउटा नागरिकको हैसियतले बोल्नुपर्छ भन्ने लागेर लेखियो | मलाई थाहा छ, यो लेखका कारण "बलिया"हरूसंग शत्रुता कमाइने छ |
स्वस्तिअस्तु

गुरू चिन्ने र छान्ने सङ्कट !

 गुरू चिन्ने र छान्ने सङ्कट !

आजको सङ्कट भनेको असली र नक्कली गुरुको फरक छुट्याउन सक्ने सामर्थ्य हो | बजारमा ठूलो व्यापार भएका गुरूहरूको जगजगी छ | मिठो बोल्ने र मिलाएर बोल्ने गुरूहरूको जगजगी छ | संस्कृत पढेका गुरूहरू "बाजे" भनिन्छन् तर अंग्रेजी बोल्नेहरूले बजार लिन्छन् | साधना, तपस्या, निष्ठा र आत्मज्ञानका विषयमा सोच्ने र पर्गल्ने कसैलाई फुर्सद छैन | १०८, १००८, अनन्त विभूषित, जगद्गुरूआदि लेख्ने, जयजयकार गराउने, महङ्गा कारहरू चड्ने, कमलो मखमली गद्दामा विश्राम गर्ने, मोडर्न हौँ भन्ने समुदायलाई मन पर्ने गरी बोल्ने र सधैं मिठोमिठो खानेहरूनै महान् सन्त मानिन्छन् | मोडर्न गुरूहरूका चेलाचेलीले किन नारद, विश्वामित्र, भारद्वाजआदि ऋषिहरूले "जगद्गुरू" किन लेखेनन् ? १८ पुराणका लेखक व्यासदेवले किन विश्वगुरू, पतितपावनआदि उपाधि किन लेखेनन् ? भनेर सोध्ने सोच नै आउंदैन !
ठूला व्यापारी गुरुका ठुला आश्रमहरू, अंग्रेजी भाषा, अमेरिक र वेलायतको ठेगाना र "मेम्बरशीप" मोडर्न सभ्यताको स्टाटसका रूपमा बजारको अंग भएको छ | व्यापारी गुरूहरू झ्यालखानामा हुँदा पनि व्यापार रोकिएको छैन | "गीता-गङ्गा"जस्ता असंख्य साहित्यहरू बोकेर व्यापारी गुरुका धनि चेलाचेलीहरू "मोडर्न" गुरूको व्यापारमा अनन्त प्रयत्नशील छन् | शास्त्रले देखाएका गुरूका चरित्रहरूको खोज गर्ने, तर्कद्वारा स्थापित गर्ने र आचार, ज्ञान र साधनामा श्रेष्ठ गुरूलाई जीवन अर्पण गर्नेहरू थोरै छन् |
शास्त्रहरूले गुरूको प्रमुख लक्षण भनेकै जस्तोसुकै तर्कको शास्त्रीय, तार्कीक र मोक्षका लागि बाटो खोल्ने तवरले उत्तर दिने र मन, बचन र कर्मलाई परोपकार तर मोक्षामा केन्द्रीत गर्ने हुनुपर्छ भनेर लक्षण दिएका छन् | आजका "ठूला"गुरूहरूको र तिनका प्रमुख चेलाचेलीको प्रमुख कार्यनै "ब्रेनवास"बाट आरम्भ हुन्छ | नवदीक्षित चेलाचेलीहरू एतिबिध्न असहिष्णु हुन्छन् कि सम्बन्धित "ठूला"गुरूको विपक्षमा एउटा प्रश्न वा शङ्का पनि सुन्न चाहन्नन् | रामरहिमका चेलाहरूले हरियाणालाई चिहानमा परिवर्तन गरेका थिए | उपनिषद कालीन ऋषिहरूको प्रमुख कार्य नै "संगै बसेर शिष्य वा जिज्ञासुहरूका शङ्काहरूको भद्रतवरले उत्तर दिने थियो | आफ्नो बाक्चतुरतालाई "बाबावाद"मा रुपान्तरण गर्न सफल "ठुला" गुरूहरूले नारद, शुकदेवआदि ऋषिहरूलाई समेत आफ्नो शिष्य भन्ने गरेको र त्यो भनाइमा विश्वास गर्नेहरूको समुह बढ्दै छ |
सम्पत्ति, पेट, चेलाचेलीको सङ्ख्या, कार, आश्रम, बोली होइन साधना, त्याग, असलआचरण र कल्याणकारी चेतना हेरेर गुरू थापौं, आत्मकल्याण गरौँ | "ब्रेनवास" गरेर वावावाद फैलाउने होइन साधनाद्वारा ईश्वरसंग मिलन गराउने गुरु चिनेरमात्र शिष्यत्व स्वीकार गरौँ | सन्तकोले अस्तित्व निर्माण गर्छ, बाबावादीहरूले तपाईंबाट सम्पत्ति थुतेर आफ्ना लागि ठूलाठूला आश्रम, गाडी, हेलिकप्टरको जुगाड गर्छ | यसको अर्थ - सबै आश्रम भएकाहरू "गुरूहरू" खराव हुँदैनन् | भारतवर्ष आत्मज्ञानी गुरूहरूको तपोभूमि भएकाले जुनसुकै आवरणमा उपलब्ध हुनसक्छन् |
नोट : यो विचार नक्कली गुरू र तिनका ब्रेनवास चेलाचेलीले पढे भने तिनको ब्रह्माण्ड तात्ने निश्चित छ तर यदि विनम्र गुरू र उहाँक शिष्यले यो पढे भने धन्यवाद नै दिने छन् |
स्वस्तिअस्तु

मन्त्र र मन्त्र दीक्षा

 मन्त्र र मन्त्र दीक्षा

मन्त्रको शक्ति तव प्रकट हुन्छ जव यो गुरूशिष्य परम्पराअन्तर्गत साधना, तप र ज्ञानले भरिपूर्ण गुरूबाट प्राप्त गरिन्छ | मन्त्रसंग जोडिएको अर्का विषय हुन् प्राप्त कर्ता साधक, गुरूमा विश्वास गर्ने र गोप्यतामा कायम रहन सक्ने हुनुपर्छ | मन्त्रले आध्यात्मिक रूपमा जन्म, मृत्यु, जरा तथा रोगबाट मुक्ति दिएर मोक्ष प्रदान गर्छ भने मानसिक रूपमा मनलाई अनेकौं मानसिक रोगबाट छुटकारा दिन्छ | भौतिक रूपमा मन्त्रहरूले आफ्नो कर्तव्यपालनमा निर्भय बनाउँछ - यो कुरा सायणले ऋग्वेदको भाष्यमा लेखेका छन् |
वैदिक परम्पराको पालन गर्ने गुरू र शिष्य दूवैले गोप्य विधिले मन्त्र प्राप्त गर्छन् | आजीवन विधिपूर्वक प्राप्त मन्त्रको जप गर्छन् | ती मन्त्रहरूको सबैले सुन्ने गरी, देख्ने गरी लेख्दैनन् र उच्चारण गर्दैनन् | गुरुबाट प्राप्त गोप्यमन्त्र सबैको लागि साझा गर्दा मन्त्रले आफ्नो शक्ति गुमाउँछ | उदाहरणका लागि अनुराधा पोडवालले गाएको "गायत्री मन्त्र" जताततै सुन्न सकिन्छ तर उनको उच्चारण पनि शुद्ध छैन र गुरुबाट प्राप्त भएको होइन | उनले केवल एउटा गायकका रूपमा ती मन्त्र गाएकी हुन् र गायत्रीको क्यासेट बेचेर सम्बन्धित व्यक्तिले पैसा कमाउने उद्देश्य हुन्छ |
आजभोली निकै नाम चलेका गुरूहरूले ब्रह्म गायत्री, शक्तिको नवार्णवआदि मन्त्रहरू सबैले सुन्ने र पढ्ने गरी उच्चारण गर्ने र सामाजिक संजालमा समेत लेखेर "दीक्षा" दिने अशास्त्रीय, मर्यादाहीन तथा अवैदिक कार्य गरेको देखिन्छ | पहिलो कुरा कुरा त अयोग्यलाई मन्त्र दीक्षा दिनै हुँदैन, दोश्रो कुरा आफुले गुरूबाट प्राप्त गरेको दीक्षा मन्त्र सबैले सुन्ने र देख्ने गरी प्रकाशित गर्नु हुँदैन | विधिको अवलम्बन गर्दै दीक्षाका माध्यमबाट "मन्त्र सुनेका" कुनै पनि साधनावाल गुरूले यसरी मन्त्र प्रकाशित गर्नुहुन्छ भनेर कल्पना समेत गर्न सकिन्न | यदि कसैले एस्तो गरिरहेको छ भने त्यो व्यक्ति गुरू होइन "व्यापारी" हो |
व्यापारको युगमा जोसुकै पढ्न सक्ने र उच्चारण गर्न सक्नेले मन्त्रहरू पढ्न र गाउन सक्छन् | विहान-बेलुका ती मन्त्रहरू क्यासेटमा सुन्नु नराम्रो होइन तर यसरी सुनिएका मन्त्रले धर्म, अर्थ, काम र मोक्षको साधनामा कुनै योगदान दिन सक्दैनन्, मनोरंजन अवश्य हुन्छ | भौतिक दृष्टिकोणले वैदिक संस्कृतिको प्रचारप्रसार यिनले सहयोग अवश्य गर्छ तर मोक्ष प्राप्तिमा कुनै पनि प्रकारको सहयोग प्राप्त हुँदैन | तेसैले गुरूबाट प्राप्त गरेको मन्त्रलाई "यत्नेन गोपयेत्" अर्थात् अत्यन्त सावधानी पूर्वक गोप्य राख्न पर्छ | दीक्षा दिंदा विधिपूर्वक अनुष्ठान गरेर "कानमा मन्त्र" सुनाउनु पर्छ | यदि गुरूले अरूले सुन्ने गरी मन्त्र दान गर्छ वा दीक्षा प्राप्त शिष्यले प्राप्त मन्त्र सबैले सुन्ने गरी बोल्छ भने - ती मन्त्रको शक्ति समाप्त हुन्छ | येस्ता व्यक्तिले आध्यात्मिक उन्नति गर्छ भनेर सपनामा पनि सोच्नु हुँदैन |
तेसैले हरेक गुरू र शिष्य दूवैले दीक्षामा प्राप्त मन्त्र गोप्य राख्नु पर्छ र बल्ल दीक्षामा प्राप्त मन्त्रले धर्म, अर्थ, काम र मोक्षको प्राप्ति गराउँछ | शास्त्रीय मर्यादा पालन नगरी मन्त्र दिनेहरू "धर्मध्वज" हुन्छन् | जसले धर्मध्वजबाट दीक्षा प्राप्त गर्छ र विना संस्कार त्यसलाई उपयोग गर्छ - दूवै नर्कमा जान्छन् | शास्त्रको मर्यादा यही हो | नमान्नेलाई शास्त्रले हात समातेर रोक्दैन तर शास्त्र मान्नेलाई यसले मोक्षा प्रदान गर्छ |
स्वस्त्यस्तु

Saturday, September 16, 2023

सृजनात्मकताको सीमा

 सृजनात्मकताको सीमा

आज भोली मलाई नेपाली लेखकहरूले लेख्ने नेपाली तथा अंग्रेजी उपन्यास पढ्ने भूत चढेको छ | कुनै वखत भारतमा हुँदा जासुसी उपन्यासका खण्डहरू कुरेर, नयाँ आएपछि किनेर पढ्ने पनि म नै हुँ | यी जासुसी उपन्यासहरूको सृंखला पढ्न सारै मजा हुन्थ्यो | त्यो एउटा घतलाग्दो नशा थियो, आजको फेसबुक, टिकटकझैं | अव उप्रान्त के होला ? भन्ने कौतुहल मेटाउन नयाँ खण्ड पढ्दै पर्ने ! पहिलापहिला २५ पैसा दैनिक भाडामा लिएर पढ्ने गर्थें, पछि अलिअलि कमाउन थालेपछि नयाँ किन्यो, अनि आधा मूल्यमा बेच्यो र आधा थपेर अर्को किन्यो ! विजय कुमारका थ्रिलर र जासुसी उपन्यासका पात्रहरू अझैं पनि याद छन् |
-ती उपन्यासहरू नितान्त काल्पनिक र कुनै धर्म, संस्कृति तथा परम्पराका आलोचन हुँदैनथे | सामाजिक, सांस्कृतिक, धार्मिक तथा पौराणिक परिवेशका वरिपरी लेखिएका पुराना बंगाली उपन्यास पढ्न मैले बंगालीनै सिकें | रवीन्द्रनाथ, बन्किमचन्द्र चटर्जीआदि मेरा प्रिय उपन्यासकार थिए | उनीहरूका उपन्यासमा संस्कृति, परम्परा, तत्कालीन जीवन सङ्घर्ष, अपमान, भोगाई आदि समेटिएका हुन्थे | आज पनि पढ्दा लाग्छ, पाठक तत्कालीन परिवेशको एउटा पात्र हो र तिनै पात्रसंग घुलमिल भएर जीवनयापन गर्दैछ |
शिवदत्त शर्माले पहिलो मौलिक उपन्यास वीरसिक्का (वि.स. १९४६) ) लेखेर आरम्भ भएको नेपाली उपन्यासको आजसम्मको यात्रा निकै प्रशंसायोग्य छ | आजको मितिसम्म धेरै उपन्यासकारहरूले काल्पनिक जगत्का लागि अनेकौं उत्कृष्ट उपन्यास सृजना गरेका छन् | मैले केवल उपन्यासको कुरा गरें तर यो सत्य होइन | ने मुनि नेपाल राष्ट्रको स्थापना गरेपछि नेपाली समाजमा निरन्तर सृजनात्मक विकास हुँदै आएका छन् | नेपाल, नेपाली पनि आफैमा सृजनाशक्तिका अनुपम उदाहरण हुन् |
-सृजनात्मकता मानवको अनिवार्य गुण हो | विश्वको जुनसुकै कुनाको मान्छेले आ-आफ्नो परिवेशअनुसार सृजना गरेकै हुन्छ | बैज्ञानिकहरूका अनुसार मान्छेको सृष्टिपछि लगभग १०७ अर्व मान्छेहरूले यो धर्तिलाई टेके र विलाए | आजका जीवित मान्छेहरू जोड्दा पृथ्वीमा उत्पन्न भएका मान्छेहरूको सङ्ख्य ११६-१७ अर्व हुन्छ | आजको ठीक १०० बर्षपछि यदि विज्ञानले आयुविज्ञानमा कुनै अपत्यारिलो प्रगति गरेन भने यी मंध्ये एकदुईहजार मान्छेमात्र जीवित रहने सम्भावना छ तर मान्छेको संख्या भने आजको दुईगुणा हुनेछ | सायद सृजनात्मकता पनि बढी नै हुनेछ |
सृजनात्मकताका अनेकौं आयाम हुन्छन् | अक्षरमा लेखेर वा लेखाएर आफ्नो मन तथा बुद्धिमा लागेका कुराहरू टिपोट गरेर अर्कोको लागि पस्कनु आजको लागि सबैभन्दा महत्वपूर्ण सृजनात्मकता भन्न मिल्छ | यस्तो सृजनात्मकतालाई विश्वव्यापी बनाउन विश्वभरीका मान्छेहरू विद्यालय, विश्वविद्यालय जान्छन् | नेपालीसमाज यस भन्दा अलग छैन तर विद्यालय र विश्वविद्यालयहरूले मात्र सृजनात्मक शक्तिका एकमात्र आधार वा स्रोत भने होइन | यी विद्यालय र विश्वविद्यालयहरूले मान्छेको सृजनात्मकतालाई संस्थागत गरेर सुरक्षा र धेरैसम्म पुर्याउने कामचाहिं गरिरहेका छन् |
हामीलाई थाहा छ, धर्म, संस्कृति, परम्परा, तथा विभिन्न कलाहरू मान्छेको सृजनाशक्तिकै उपज हुन् | तर जे-जस्तो परिवेशमा सृजनात्मकताको आरम्भ भए पनि एकपटक ती विषयवस्तु संस्कृति वा धार्मिकताका अंग बनेपछि मानवीय सृजनाशक्ति पनि तेसैका वरिपरी घुम्छन् | उदाहरणका लागि महाभारतको रचना आफैमा मान्छेको सृजनाशक्ति अनुपम उदाहरण हो | तर अव महाभारत केवल काल्पनिक उपन्यासजस्तो विषय रहेन | महाभारतका हरेक कथाहरू, तेसका पात्रहरू, तेसका विषयवस्तुहरूले हिन्दू वैदिकहरूको जीवन दर्शनको विशाल महल खडा भएको छ | प्रत्येक हिन्दूहरूले वेद, उपनिषद तथा पुराणहरूको विशाल महलभित्र आफ्नो परिचय सुरक्षित भएको अनुभव गर्छ | यदि कसैले सृजनात्मकताका नाममा ती सांस्कृतिक सृजनाहरूप्रति आक्रमण गर्छ भने सम्पूर्ण दरवार नै दुख्छ |
मैले भनि सकें आजभोली मलाई नेपाली उपन्यासहरू पढ्ने भुत चढेको छ | मैले धेरै वर्ष अगाडीनै माधवी, सुम्निमाआदि उपन्यासहरू पधेल्प थिएँ | पछि थाहा पाएँ यी उपन्यासहरू प्रगतिशील, यथार्थवादी, बास्तववादी, परम्परावादी, मनोबैज्ञानिक, स्वच्छन्दतावादी आदि श्रेणीमा पर्दा रहेछन् | यी शास्त्रीय वर्गीकरण जोजसलाई चाहिने हो उसले बुझोस् | म एउटा साधारण पाठक हुँ | मेरो अस्तित्व र परिचय हिन्दू वैदिक संस्कृतिबाट निर्मित भएको छ | विचारको स्वतन्त्रतालाई मैले सम्मान गर्छु तर स्वतन्त्रता र स्वच्छन्दताको बैचारिक उदात्ततालाई दुरुपयोग गर्नेहरूप्रति सजग हुनैपर्छ | आफ्नो हत्या गरेर अर्कालाई स्थापित गर्ने उपन्यासकारहरू बुद्धिमान होइनन् | उनीहरूको विचारले सामुहिक सांस्कृतिक आत्महत्या निम्त्याएको हुन्छ | बैचारिक स्वतन्त्रता भन्दैमा आत्महत्या गर्ने छूट कानुनले त दिंदैन भने विचारले आफ्नै परिचयको सामुहिक हत्या गर्नेहरूले आफ्नो औचित्य सिद्ध गर्न सक्दैनन् |
अहिलेका लेखकहरूले सृजित गरेका केही उपन्यासहरू सामाजिक, धार्मिक तथा सांस्कृतिक रूपमा उच्चतर छन् | यिनले विकृतिहरू विरुद्ध प्रहार गर्छन् र आफ्नो मौलिकताको बचाऊ गर्छन् | केही उपन्यासहरूले सांस्कृतिक र धार्मिकतहमा निन्दनीय विषय प्रस्तुत गरेका छन् | सनातनी हिन्दुहरूले अत्यन्त श्रद्धा र विश्वासका साथ आराधना गर्दै आएका देवीदेवताहरूका चरित्रलाई विकृत रूपमा प्रस्तुत गर्ने, ती उपर कुनै पनि शास्त्रमा उल्लेख नभएको दुर्गुणको आरोप लगाउने यहाँसम्म कि प्रत्येक हिन्दूहरूको जीवन दर्शनसंग जोडिएका रामकृष्ण, देवी देवतालाई कलंकित गर्ने गरी उपन्यासका पात्रका रूपमा प्रस्तुत गरेर ती पूज्यपात्रहरूप्रति घृणा जगाउनु सृजनशीलता होइन | यो स्वच्छन्दतावाद र मार्क्सवादी प्रगतिशीलताको नाममा आफ्नै मौलिक संस्कृतिको हत्या गर्ने गन्हाएको बैचारिक जाल हो | हिन्दूहरूका आराध्यदेव श्रीकृष्णलाई "पापका कारण ब्वासाले लुछेर मरेको" भन्नु नितान्त निकृष्ट सृजना हो | हिन्दू वैदिक सनातन धर्मप्रतिको घृणाको अभिव्यक्ति हो |
विभिन्न प्राचीन संस्कृत पुराण, महापुराणआदिका पूज्यपात्रहरूको चरित्रहत्या गर्न सधैं तत्परता देखाउने तर छ वर्षकी बालिकासंग विवाह गर्ने प्रमुख धर्मगुरू र उसले स्थापित गरेका पन्थका अनेकौं विकृतपात्र, आफ्नै छोरीलाई बलात्कार गरेका "लूत"हरूकालाई सिर्जनात्मक उपन्यासको पात्रका रुपमा पदेख्न नसक्नु पनि जानाजान स्वधर्म, संस्कृतिप्रतिको घृणाका कारण सम्भव हुन्छ | वैचारिक रूपमा वैदिक सनातनी परम्परामात्र एस्तो एकल संस्थाहरू जसले सधैं आफ्ना प्रखर विरोधी विचार राख्ने दृष्टिकोणलाई पनि सम्मानित मान्यता प्रदान गर्छ | उदाहरणका लागि चार्बाकहरूले सधैं वैदिकहरूको प्रचुर आलोचना गरेका छन् तर वैदिकहरूले वेद-उपनिषद र दार्शनिक ग्रन्थहरूमा उनीहरूको अभिमत सशक्त रूपमा उल्लेख गरेका छन् | आजका बौद्धहरूलाई चित्त नबुझ्ला तर सनातन धर्मका प्रखर विरोधी बुद्धलाई समेत विष्णुको अवतारका रूपमा सम्मान गर्नु कुनै चानचुने कुरा होइन !
मान्छेको अस्तित्व र उसको सृजनाशक्ति अवाधित छ | तर त्यसमा आफ्नो धर्म, संस्कृति तथा मौलिकताप्रति घृणा फैलाएर सांस्कृतिक आत्महत्यातिर उन्मुख गराउने काल्पनिकतालाई सृजनशीलता भन्न मिल्दैन | रामकृष्ण, सीता, दुर्गाआदि वैदिक सनातनीहरूका आराध्यदेवहरूको चरित्रहत्या गरेर लेखिएका "कृति"हरू लेखकको मनमा रहेको वैदिक संस्कृतिप्रतिको घृणालाई उजागर गर्छन् | तेस्ता कृतिहरू पढ्दा "धर्मनिरपेक्षवादी तथा वैदिक सनातन धर्मसंग घृणा गर्ने"हरूले स्वाद मिल्ला तर एउटा विनम्र अनुयायीका लागि आफ्नो परिचयको, इतिहासको, ऐतिहासिक पात्रको सामुहिक हत्या हो | उप्रान्त, अव सृजनशीलताका नाममा आफ्नै परिचय मेटाउने कृतिहरू र तिनका लेखकहरूका विषयमा गहिरो चिन्तन गर्नेपर्छ | सबैथोकका सीमा हुन्छन् र सबैको अन्तिम सीमा आफ्नो व्यक्तिगत र समुहको अस्तित्व हो | आफ्नै अस्तित्वलाई चुनौति दिने कृतिहरू (उपन्यासहरु) लेख्दा आत्मनियन्त्रण सीमा हुनैपर्छ | सीमा विहिन केही पनि हुँदैनन् |
बुझ्नेलाई इसारा नै पर्याप्त छ | बूझ पचाउनेहरूहरू घृणावादका दास हुन् | यस्तो दासत्वभित्र रमाउनेहरूको पापका लागि संस्कृतिले दण्ड दिने छ | सधैं सनातन धर्मका प्रतिकहरूलाई अपमान गर्नुमा सृजनाशीलता ठान्ने र यस्तो प्रवृत्तिलाई महत्व दिने "कलंक"हरूलाई इतिहाँसले समीक्षा गर्ने छ |
स्वस्त्यस्तु

सबै धर्म समानको छल !

 सबै धर्म समानको छल !

आजभोली "सबै धर्म समान छन्" भन्ने कथन जताततै व्याप्त भएको छ | यो कथन निकै छलकपट र हिन्दू सनातनिको आस्थाका विरुद्ध छ | यदि तपाईंको कुनै साथी वा तपाईंले "सबै धर्म समान हुन्" भन्दै हुनुहुन्छ, भने यो समानताको भ्रमबाट मुक्त हुनुनै उचित हुन्छ | मैले यसरी लेखिरहंदा केही धर्मनिरपेक्षताको भूतले छलेकाहरूलाई निकै आश्चर्य र कष्ट हुनसक्छ तर सत्य तीतो हुन्छ र तीतो औषधि खानैपर्छ |

मैले कुनै पनि इसाई, मुस्लिम वा यहुदीले सबै धर्म समान हुन् भनेको सुनेको छैन | यदि कसैले भनि हाल्यो भने पनि त्यो उनका विश्वासहरूको विरुद्ध हो | उनीहरू आफ्नो धर्म र धार्मिकतामा निकै दृढ छन् | आफ्नो धर्म र धर्मिक्ताका मामिलामा उनीहरू कुनै पनि सम्झौता गर्दैनन् | यदि कुनै यहुदी, मुस्लिम, इसाई वा सिन्तोले धर्मनिरपेक्षताको वकालत गर्छ भने त्यो नितान्त रणनैतिक हुन्छ, धर्मनिरपेक्षतालाई उपयोग गरेर आफ्नो पन्थ विस्तार गरिरहेका हुन्छन् | यसको सबै भन्दा उचित र जीवन्त उदाहरण नेपाल हो |

एउटा सनातनीले विर्सेर पनि सबै धर्म समान हुन्छन् भन्नु हुँदैन किनभने गौपूजा गर्ने गाईलाई विश्वको आमाका रूपमा आदर गर्ने, जन्मदेखि मृत्युसम्म गौको धर्म, अर्थ, काम र मोक्षसंग जोड्ने सनातन धर्म र गाईको हत्या गरेर गाईको मासु खाने "धर्म"को समानताको कल्पना पनि गर्न सकिन्न | गाई पूज्ने र गाईको हत्या गर्नेका बिच कुनै समानता हुनै सक्दैन | गौपूजकले गौहत्यारालाई "समान" ठान्नु शास्त्र विरुद्ध हो |

सबै धर्म समान हुन् भन्नु शास्त्रीय दृष्टिले पनि गलत हुन्छ | यहुदी, इसाई र मुस्लिमले आफुलाई धर्म नभनेर रिलिजननै भन्छन् | सद्गुणलाई धर्म भन्ने हिन्दू धर्म र ला इलाह इलिल्लाह, मोहम्मद रसुल्लाह अर्थात् एक अल्लाह र मोहम्मदमा विश्वास गर्ने (मोसा र क्राइस्ट) मा विश्वास गर्ने धार्मिक हुन्छ, अन्य हुनै सक्दैनन्" भन्ने समुदायलाई वैदिक सनातन धर्मसंग दाज्दै "समान" हुन् भन्नु र सोच्नु अनुचित हो, वैदिक सनातन धर्मको अपमान हो | तेसैले वैदिक सनातन धर्म मात्र "धर्म" हो | तेसैले सबै धर्म समान हुन् भन्नु र यस्तो भनाईमा विश्वास गर्नु धोका हो |

बहुदेव र मूर्तिपुजामा विश्वास गर्ने, विश्वका कणकणमा ईश्वरको व्याप्ति ठानेर पश्, पक्षी, स्थावर तथा जंगमको आराधना गर्ने र देवदेवीका मन्दिरहरू तोड्ने, बहुलदेववादको आलोचना गर्ने, मूर्ति पूजकलाई "बध" गर्न आदेश दिने "पन्थ"का विच समानता छ भन्नु नितान्त अनुचित हो | मूर्ति भंजक र मूर्ति पूजकका विचमा कुनै हालतमा समानता हुनै सक्दैन | मूर्ति तोड्नेहरूलाई आफुसमान भन्नु आफैलाई धोका दिनु हो र व्याबहारिक दृष्टिकोणले पाप पनि हो | तेसैले यत्रतत्र देवदेवीको व्याप्ति ठान्ने हिन्दू र एकल देवमान्ने, मूर्ति तोड्ने बिच कुनै समानता हुनै सक्दैन | धर्मनिरपेक्षताको यो भ्रामक भुमरीमा कुनै पनि हिन्दू, बौद्ध तथा जैन फंस्नु हुँदैन |

महिलालाई देवी मानेर पूजाआजा गर्ने, इष्टदेवका रूपमा देवीका विभिन्न रूपको आराधना गर्ने तथा आदिशक्तिका रूपमा आराधना गर्ने र "महिलामा आत्मा हुदैन, महिलाहरूको निर्माण पुरुषको बस्तुका रूपमा निर्माण गरिएको हो" भन्ने बाइबल-कुरानको उपदेशका विश्वास गर्नेहरू विच कुनै पनि प्रकारको समानता हुनै सक्दैन | हामी फुस्रो उदारताको चक्करमा परेर "सबै धर्म समान हुन्" भने पनि मुसाईहरूले एकरत्ति यो भनाईलाई अस्वीकार गर्ने छैनन् र गरेका छैनन् | तसर्थ एउटा हिन्दू सनातनीले "सबै धर्म समान हुन्" वैदिक संस्कृतिमा शक्ति रूपमा पुजिएकी मात्रिशक्तिको अपमान गर्नु हो | तेसैले हिन्दू धर्मको समानता कुनै पनि अन्य पन्थसंग हुनै सक्दैन |

सबै धर्म समान हुन् भन्नेहरू त्यो विचारका प्रतिनिधि हुन् जसले वैदिक सनातनीहरूलाई ककेसियाबाट भारतवर्षमा आक्रमण गरेको कपोलकल्पित इतिहासलाई सत्य मान्छन् | गौ र गङ्गाको अपमान गर्छन् | वेदसंग घृणा गर्छन्, बाइबलसंग प्रिती गाँस्छन् | जन्मेको, हुर्केको, खेलेको, गृहस्थ जीवन व्यतीत गरेको ठाउँको अस्तित्व हुँदाहुँदै पनि रामकृष्णआदि देवीदेवतालाई "मैथ" भन्ने तर कुमारीआमाबाट जन्मिएका, साउदी अरवको रेगिस्तानमा हुर्किएका संस्कृतिलाई प्रमाणित मानेर सधैं "वैदिक"हरूको खेदो खन्नेहरूले सर्वधर्म समान भनिरहंदा मस्जिद तथा चर्चमा वेद पाठको व्यबस्था मिलाउनु पर्छ ! विचार गरौँ, सर्वधर्म समान हुन् भन्ने हिन्दूहरूले के मस्जिदमा गएर वेद पाठ गर्न मिल्छ ? होइन भने वैदिकहरूलाई भ्रमित पार्ने "ईश्वर अल्लाह तेरो नाम"लाई स्वीकार गर्नु हुँदैन, र मिल्दैन पनि |

सम्पूर्ण विश्वलाई "कुटुम्ब" ठान्ने आध्यात्मिकताको अभ्यास गर्ने वैदिक सनातन धर्म र धर्म परिवर्तन गरेर "यहुदी, इसाई तथा मुस्लिम" नबनेसम्म व्यक्तिले स्वर्ग प्राप्त गर्न सक्दैन तथा एउटा यहुदीको लागि यहुदी, मुस्लिमको लागि मुस्लिम तथा इसाईका लागि केवल इसाईमात्र हुन्छन् भन्ने साँगुरो मान्यतामा बाँधिएका पूर्वाग्रही विच समानताको प्रश्ननै उठ्दैन | विश्वको हरेक जीव हाम्रो कुटुम्ब हो भन्ने मान्यता स्वीकार नगरेसम्म कुनै पनि सम्प्रदाय, पन्थ "हिन्दू धर्मसंग समान हुनै सक्दैन | अत: सबै धर्म समान हुन् भन्नु धर्मनिरपेक्षताको जालमा फंसेर मुसाईलाई समर्थन गर्नु हो |

"सबै धर्म समान छन्" भन्ने कथाम पूर्णतया राजनैतिक हो र हिन्दूहरूलाई बरगलाउन अगाडी सारिएको हो भन्ने तत्थ्य भारतका डा. भीमराव अम्बेदकरले आरम्भ गरेको अम्बेडकरवादी बुद्धिस्टका १६ बटा प्रतिज्ञा पढे पुग्छ | बुद्ध आफै हिन्दू थिएनन् तर उनले वैदिक सनातन धर्मको आलोचना गरेका छैनन् | अम्बेडकर ब्रान्डका बुद्धिस्टहरूको मुख्य काम नै हिन्दू धर्मको निन्दा गर्नु नै हो | अम्बेडकर ब्राण्डका बुद्धिस्टहरूले "हिन्दू धर्मका कुनै पनि क्रियाकलापमा सहभागी हुनु भनेको पाप हो" भनेर भन्दै गर्दा "अम्बेदकरवादीहरू र सनातन धर्म समान" हो भन्नु अनुचित हो | गालीगलौज गर्ने, सधैं वैदिक सनातन धर्म र यसका प्रतिमानहरूको अपमान गर्ने, मनुस्मृति र वेदहरू जलाएर खुला रूपमा वैदिक सनातन धर्मको दोहोलो काड्नेसंग सनातन धर्म पनि समान हो भन्नु छल हो | समानताको व्यबहार समान विचार र समान सम्मान गर्नेसंग हुन्छ | तेसैले हरेक हिन्दूले "सबै धर्म समान हुन्" भन्ने भ्रमबाट मुक्त हुनुपर्छ |

"मुखले सबै धर्म समान हुन्" भन्ने तर व्यबहारमा मुस्लिमको मस्जिदमा गएर टोपी लगाउने, चर्चमा गएर इसाईको गुणगान गाउने तर मन्दिर वा अन्य वैदिक समुदायका चाडवाडमा "धर्मनिरपेक्षता"को आवरणको कुरा गर्ने राजनैतिक व्यक्तित्वहरूको उपर्युक्त भनाइ भ्रम हुन् | नेताहरूका यी कथन र कार्यले धर्मपरिवर्तनकारीहरूको समर्थन गर्छ र सनातनीको आत्मबल घटाउने काम गर्छ | "मुखमा रामराम र बगलीमा छुरी" बोक्ने राजनेता र "सबै धर्म समान हुन्" भन्दै हिन्दू धर्मका कार्यक्रमलाई उपयोग गर्दै कट्टरता फैलाउने तथाकथित लिबरलहरूको षड्यन्त्रलाई बुझ्नुपर्छ | यदि लिबरलहरूले "सबै धर्म समान् हुन्" भनिरहेका छन्, भने संगै गएर मस्जिद वा चर्चमा गीता पाठ गर्ने प्रस्ताव राख्नु होला | यी धोकेबाजहरूको पोल खुल्छ |

उपर्युक्त तर्कबाट सिद्ध हुन्छ कि धर्म शब्दको प्रयोग केवल हिन्दू विश्वासका लागि हुन्छ | गाईलाई पुजनीय मान्ने, वर्णाश्रममा विश्वास गर्ने, वेदमा आस्था राख्ने र पुनर्जन्मको आधार कर्मतन्त्रमा विश्वास गर्ने वैदिक सनातनीहरू केवल वैदिक सनातनीमात्र हुन् | वैदिक सनातन धर्मको कसैसंग समानता छैन | उदारतावास हिन्दूले "सबै धर्म समान हुन्" भने तापनि उनीहरुका लागि त्यो व्याबहारिक तथा पन्थगत हिसावले पनि स्वीकार्य हुँदैन | प्रत्येक यहुदी, इसाई, मुस्लिम वा अन्य धर्म र तेसका अनुयायीहरूप्रति सम्मानको भाव राखौं तर "सबै धर्म समान हुन्" भन्ने शब्दजालमा परेर आफ्नो सनातन वैदिक ऋषिसंस्कृतिका मामिलामा सम्झौता नगरौं | याद राखौं, गाई खाने र पूजा गर्ने, मूर्ति पूजक र मूर्ति तोडक, नारी शक्तिको आराधना गर्ने र नारी शक्तिलाई बस्तु भन्ने तथा अन्यका देवदेवीको सम्मान गर्ने र हिन्दू देवीदेवतामात्र होइन आफ्नै सम्प्रदायबाट फुटेर गएकालाई समेत शैतानको प्रतिनिधि मान्नेहरू विच कुनै समानता खोज्नु "पाप" हो | यस्तो पापबाट हरेक सनातनी जोगिनुपर्छ |

सनातन धर्मको जय !!!

Sunday, September 3, 2023

राजस्व, देवस्व तथा ब्रह्मस्व

 राजस्व, देवस्व तथा ब्रह्मस्व

राजस्व राज्यले सेवा तथा सुरक्षा दिएकोमा जनताले राज्यलाई तिर्ने पर्ने तिरो हो | सांस्कृतिक तथा धार्मिक निरन्तरताका लागि व्यक्ति वा राज्यले मन्दिर. पाटीपौवा आदि संचालनका लागि तोकिदिएको तिरो हो | यसैगरी गुरूकुल वा विद्यालयहरू संचालन गर्नका लागि राज्य, समाज आफै स्वेच्छाले पढ्ने विद्यार्थी, गुरू, अध्यापक वा पठनपाठन, शिक्षादीक्षासंग सम्बन्धित व्यक्तिहरूको जीवन यापनको लागि तिर्ने तिरो ब्रह्मस्व हो |

प्राचीनकालमा अन्यायी राजा हुँदा राजश्व नतिर्दा पाप नहुने तर देवाश्व र ब्रह्मश्व अनिवार्य हुन्थ्यो | जुन मितिदेखि राज्यले आफ्नो शक्तिको दुरुपयोग गरेर देवाश्व र ब्रह्मस्वमा हस्तक्षेप गर्यो, त्यही मितिदेखि शिक्षादीक्षाको स्तर खस्कियो र समाजमा देवश्व (गुठी, मन्दिरआदिको) सम्पत्तिलाई छलबलले व्यक्तिका नाममा पास गर्ने प्रपन्च चल्यो |

राज्यले राज्य संचालनका लागि करहरू थप्दै जाँदा देवश्व र ब्रह्मस्वप्रति अन्याय हुँदैछ | राज्यले नै नीति बनाएर ब्रह्मश्व र देवश्वका सम्पतिहरू कब्जा गर्ने पापवृत्तिलाई बढावा दिंदैछ | जतिजति राज्यले देवस्व तथा ब्रह्मस्वमा आँखा गाड्छ, सर्वसाधारणलाई देवस्य तथा ब्रह्मस्व मासेर राज्यलाई करतिर्न प्रोत्साहन गर्न, त्यतित्यति राष्ट्र अराजकता तथा कू-शिक्षाको भुमरीमा पर्दै जान्छ |

तेसैले हरेक राजनैतिक दलहरूले सुहाउँदो राजस्वको व्यबस्था गर्नुपर्छ भने देवस्वको (देशको सांस्कृतिक तथा धार्मिक पहिचानको निरन्तरताका लागि पूर्खा;ए राखेको जग्गाजमिन होस् वा मन्दिर, पाटीपौवा वा नगद सम्पत्ति नै किन नहोस् ) पूर्ण सुरक्षा दिनुपर्छ | यसैगरी शिक्षादीक्षाका सवालमा गुरुकुल, विश्वविद्यालयहरू, वेदविद्या केन्द्रहरूलाई पूर्णतया स्वतन्त्रता प्रदान गर्दै मौलिक शिक्षा तथा आधुनिकतम शिक्षासहित सनातन सदआचरणको केन्द्रका रुपमा स्थापित गर्न मदत गर्नुपर्छ |

प्राचीन भारतवर्षमा क्षत्री राजाहरू "वीर भोग्या वसुन्धरा" भन्दै स-सानो भूमिका लागि युद्धहरू गर्थे | यी युद्धमा हारजित हुन्थ्यो | बिजेताले राजश्वका शीर्षकहरूमा फेरवदल गर्थ्यो तर देवस्व तथा ब्रह्मश्वमा भारतवर्ष भरिका राजाहरूले परिवर्तन गर्दैनथे | देवमन्दिरहरू तथा गुरुकुलहरूप्रति सबै राजाहरूको सम्मानजनक दृष्टिकोण रहन्थ्यो | यो दृष्टिकोण वैदिक सनातन धर्मका मान्ने सबै राजाहरूको हुन्थ्यो | मुस्लिम तथा इसाई आक्रान्ताहरूले भने मान्ने कुरै भएन | मुस्लिम र इसाई दूवैले राजस्वमा सक्दो जोड दिए भने ब्रह्मश्व तथा देवश्व दूवैलाई सकेसम्म समाप्त पार्ने नीति अख्तियार गरे | अहिलेको नेपाली तथा भारतीय राज्यव्यबस्थाले देवस्व तथा ब्रह्मस्वप्रति शत्रुतापूर्ण दृष्टिकोण राख्न भन्ने तत्थ्य सर्वसाधारणले बुझ्नुपर्छ |

-यो जानकारी मूलक लेख लेख्नुको कारण नै सर्वसाधारणलाई देवश्व र ब्रह्मस्वको विषयमा जानकारी दिंदै यी दुवै मौलिक परम्पराको रक्षा गर्न आग्रह तथा आह्वान गर्नु हो | यदि तपाईंका पुर्खाले देवस्वका (मन्दिर, गुठी वा अन्य किसिमका) लागि जग्गाजमिन वा सम्पत्ति राखेर गएका छन् भने ती सम्पत्तिहरूको रक्षा गर्नु हाम्रो कर्तव्य हो | आफ्ना पूर्खाको इतिहास मेट्ने हाम्रो कुनै अधिकार छैन | उपरोक्त सम्पत्तिले हाम्रो मौलिक संस्कृतिलाई जीवित राख्छ | यही आह्वान ब्रह्मस्वका सवालमा पनि लागु हुन्छ | विद्या, शिक्षादान भन्दा महान् दान अर्को हुँदैन | शिक्षादीक्षा प्रदान गर्न पुर्खाले चलाएको व्यबस्थाको हामीले सम्मान गर्नुपर्छ | अग्रेजी जान्नु राम्रो कुरा हो तर अंग्रेजी जानेको छु भन्दैमा आफ्ना पूर्खाले गरिदिएका व्यबस्थालाई मास्नु सामाजिक, सांस्कृतिक तथा धार्मिक आत्महत्या हो | आत्महत्याको पापबाट जोगिनुपर्छ |

केवल राजस्वमात्र ताक्ने राज्यव्यबस्था सधैं अस्थिर, अराजक र अनैतिक हुन्छ | देवस्व र ब्रह्मस्वको रक्षा गर्ने राष्ट्र सधैं स्थिर, नैतिक तथा सम्बृद्ध हुन्छ | देवस्वले राष्ट्रीय पहिचानको संरक्षण तथा सम्बर्धन गर्छ भने ब्रह्मस्वले शिक्षादीक्षालाई सुनिश्चित गर्दै देशलाई समुन्नत, प्रगतिशील तथा सदाचारी बनाउँछ |
स्वस्तिअस्तु
May be an image of temple

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...