Saturday, October 29, 2022

द्रव्यपिसाचको जन्म

म केटाकेटी हुँदा ज्यादै लोभी मान्छेलाई "द्रव्य पिसाच" भनेर सम्बोधन गरेको सुनेको थिएँ | यो संस्कृतको शब्द हो र गालीगलौजको प्रयोजनमा प्रयोग हुन्छ | द्रव्य पिसाच त्यो व्यक्ति हो जसले धन प्राप्ति र रक्षाका लागि जस्तोसुकै अनैतिक काम गर्न सक्छ | कश्यप ऋषि र दितीद्वारा (शास्त्रले निषेध गरेको समयमा) यौन कर्मद्वारा स्थापित गर्भबाट हिरण्यक्ष (जताततै सुन-सम्पत्ति मात्र देख्ने) हिरण्यकशिपु (सम्पूर्ण संसार नै सुनको होस्, परीधान पनि सुनका) दुई सन्तानको जन्म भयो |

ती मध्ये कान्छो हिरण्यक्षले पृथ्वीनै समुद्रमा लगेर लुकायो अर्थात् द्रव्य-पिसाचलाई सम्पूर्ण पृथ्वीको स्वामित्व प्राप्त हुँदा पनि असुरक्षित ठान्छ र त्यो लुकाएर राख्न चाहन्छ | द्रव्य-पिसाचसंग दया, माया, प्रेम, करूणाआदि सात्विक भाव हुँदैनन् | उ त्यस व्यक्तिसंग प्रेमको अभिनय गर्छ जुनबाट उसले धनप्राप्त गर्न सक्छ | यस्ता द्रव्य-पिसाचहरूको मृत्यु सधैं दु:खदायी नै हुन्छ किनभने वराह (सुँगुर) कुनै पनि अर्थमा सात्विक प्राणी होइन र उसको मृत्यु पनि वराहको दाह्राले थिचेर भएको थियो |
यहाँ एउटा कुरा प्रष्ट हुन्छ मान्छे जतिसुकै तपस्वी होस् (कश्यप जस्तो महान् तपस्वी) र जतिसुकै शक्तिशाली हो धर्मको उलंघन गरेर शास्त्रले हुँदैन भनेको अवस्थामा आफ्नै पत्नीसंग सेक्स गर्छ भने पनि उसबाट जन्मने सन्तानहरू "द्रव्य-पिसाच" नै हुन्छन् | आजभोली जसरी संसार "क्यापिटल"को वरिपरी घुमिरहेको छ, यसबाट एउटा साधारण व्यक्तिले पनि अनुमान लगाउन सक्छ कि समाज कसरी हिरण्यक्ष र हिरण्यकशिपुमा रुपान्तरित हुँदैछ |
आज हरेक मान्छेको प्राथमिकता "पैसा" बनेको छ र पैसा कमाएपछि सबै दायित्वहरू पुरा गर्न सकिन्छ भन्ने भ्रम बढ्दो छ | एक पटक कुनै मान्छेमा "द्रव्य कमाउने लत बस्छ" त्यसबाट फर्केर आउँदा धेरै ढिलो भैसकेको हुन्छ | मातापिता, श्रीमान्, श्रीमती, छोराछोरी, छिमेकी र कर्तव्यहरू अवसान भैसकेका हुन्छन् | द्रव्य आर्जन गरौँ तर द्रव्यपिसाच बन्ने अवस्थाबाट जोगिने प्रयत्न गरौँ |
मलाई थाहा छ कि धेरैजसो देहात्मवादी (शरीर शरीरबाट प्राप्त हुने सुख वाहेक संसारमा अन्य कुनै कर्तव्य छैन) धर्मपूर्वक दाम्पत्य धर्म (विधिपूर्वक विवाह गरेपछि मात्र यौनजन्य क्रियाकलाप गर्ने विधान) अन्धविश्वास लाग्न सक्छ | सत्य धेरैलाई पच्दैन र रमाइलो (रोमान्टिक) पनि हुँदैन | यो औषधि हो | सुन्न सक्ने, बुझ्न सक्ने र मनन गरेर धर्मको पालन गर्नेले मायालु सन्तान प्राप्त गर्छन् | यसलाई अन्धविश्वास ठान्नेको घरमा "हिरण्याक्ष जन्मिने छन् | मातापिताको मृत्यु हुँदा सन्तानबाट एउटा फूल पनि प्राप्त हुने छैन |
(श्रीमद्भागवत ३/१४-१८ अध्यायमा आधारित प्रसंग)

के महाकवि देवकोटा दार्शनिक थिए ?

१. दूई जना अध्येता प्रा.डा. दुर्गा प्रसाद अर्याल र गोविन्द शरण उपाध्यायले महाकवि देवकोटाका कृतिमा आधारित भएर दार्शनिक अध्ययन गरेका छन् | अर्यालले नेपाली विषयको विद्यावारिधि गरेका हुन् भने उपाध्यायले दर्शनशास्त्र विषयमा | विषयअनुसार दृष्टिकोण फरक हुनु स्वाभाविक हुन्छ | अर्यालले देवकोटाका कविताहरूमा दार्शनिकता खोज्ने प्रयत्न गरे भने उपाध्यायले विचारहरूमा दार्शनिक चिन्तन खोल्ने प्रयत्न गरे | उपाध्यायले देवकोटामा उठाएको दार्शनिक प्रश्न दार्शनिक दृष्टिकोणमा आधारित छन् भने अर्यालले उठाएका दार्शनिक प्रश्नहरू साहित्यसंग बढी नजिक छन् |

नेपाली समाजमा राजा पृथ्वीनारायण शाहपछि सबैभन्दा बढी देवत्वकरण गरिएका व्यक्ति देवकोटा नै हुन् | देवकोटाको गरिवी, उहाँको आशुकवित्व, राजनीतिक चेतना, सामाजिक दृष्टिकोण, बहुभाषाहरूको ज्ञान सहित उनको बहुलट्ठीपन पनि चर्चाको विषय बनेका छन् | पृथ्वीनारायण शाहलाई "हिन्दूवादी" मान्नेहरू र राजा महेन्द्रलाई "नेपाली भाषा थोपरेको" आरोप लगाउनेहरू देवकोटाको बहुव्यक्तित्वका आगाडी उनके आफ्नो मन्त्रित्वकालमा नेपाली भाषाको सन्दर्भमा गरेका निर्णयहरूमा सवाल खडा गरेर अलोप्रिय बन्न चाहन्नन् |
जव हामी दर्शनशास्त्रको कुरा गर्छौं हामीले दर्शनशास्त्रका आधारभूत प्रश्नहरू र क्षेत्रका विषयमा सही जानकारी प्राप्त गरेको हुनुपर्छ | देवकोटाका विशाल विचार भण्डारमा अनेकौं दार्शनिक प्रश्नहरूका उत्तर छन् तर के उनी दार्शनिक सिद्धान्तकार कहलाउन योग्य छन् त ? के देवकोटालाई "सिद्धान्तकार" भन्न मिल्छ त ? यो प्रश्नको वस्तुगत उत्तर खोज्नु आवश्यक पर्छ | देवकोटा पनि मान्छे नै हुन्, उनी देउता होइन | उनी सबैथोकका ज्ञाता पनि होइन | तर उनी त्यस बखतको नेपाली सामाजिक, सांस्कृतिक राजनैतिक परिवेश भन्दा ५० बर्षपछिको चेतना बोकेका मान्छे हुन् भन्न मिल्छ |
२, उनले आफ्नो जीवनकालमा लेखेका ६५४ बटा कविता, छ बटा महाकाव्य, (छ बटा प्रकाशित भएका छैनन्) ११ बटा निवन्ध (अंग्रेजी सहित) ४ बटा अनुवाद, २ बटा नाटक, अनेकौं खण्डकाव्यहरू, समालोचनाहरू प्रकाशित छन् र अझैं थुप्रै प्रकाशनको क्रममा छन् | सम्भवत: अझैं पनि केही खोज समेत भैसकेका छैनन् | सम्भवत: खोज हुन बाँकी लेखौटमा विशुद्ध दर्शनशास्त्र सम्बन्धित पुस्तक भेटियो भने अचम्म मान्नु पर्दैन | आफ्नो समय भन्दा ५० वर्षपछिको सोच राख्ने देवकोटा दर्शनशास्त्रका सिद्धान्तहरूसंग अपरिचित थिए भन्न मिल्दैन | मैले यहाँ दर्शनशास्त्र शब्दको प्रयोग "दर्शनशास्त्र भनेकै वैदिक, उपनिषदीय, पौराणिक, जैन, बौद्ध वा षड्दर्शन मात्र हुन्" भन्ने पूर्वाग्रह मुक्त भएर गरेको छु | धरती धेरै फैलिएको छ | सबै थोक भारतवर्षले देख्न सक्दैन |
नेपालको सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वरूपमा दार्शनिक चेतना पानीमा नून मिसिएझैं अभिन्न छ | दर्शनशास्त्र र अन्य विधालाई फरकफरक अवस्थामा अध्ययन/अध्यापन गर्न अभ्यस्त पश्चिमा अनुसन्धानकर्ताको लागि नेपाली सांस्कृतिक तथा धार्मिक बनावटबाट दार्शनिक चेतना अलग्याउनु निकै मेहनत गर्नुपर्छ | एतिबिध्न हुँदा पनि नेपाली सामाजिक, सांस्कृतिक, धार्मिक चरित्रबाट दर्शनशास्त्रलाई टपक्क टिपेर अलग पार्ने कल्पना गर्न सकिन्न | यसको अर्थ, यहाँ दर्शनशास्त्रको स्वतन्त्र अस्तित्व छैन भन्ने पटक्कै होइन |धर्म, संस्कृति, राजनीति, सिद्धान्त तथा संस्कारहरू एकअर्कोमा अन्योश्रित भएको नाताले दर्शनशास्त्रलाई बुझ्न पनि समग्रको ज्ञान हुनैपर्छ | दूई फक्लेटे सत्यमा विकसित भएको चिन्तन-संस्कारका लागि नेपाली दर्शनशास्त्र सधैं "अपूर्ण, धर्मसंग टाँसिएको" हुन्छ | जुन सत्य होइन | देवकोटा यही समाजका उपज भएकोले उनका दार्शनिक चिन्तन पनि उनका सृजनामा छरिएर रहेका छन् |
देवकोटाको दार्शनिक चिन्तनलाई सुकरात, अरस्तु, प्लेटोको आँखाले हेरिनुपर्छ, देकार्त, ह्युम, कान्ट वा सात्रेको आँखाले बुझ्ने प्रयत्न गर्नुहुँदैन | यसैगरी देवकोटालाई आचार्य शङ्कर, निम्बार्क, रामानुज, उपनिषद तथा वेदका बहुआयामिक दृष्टिकोणले बुझ्ने प्रयत्न गर्नुपर्छ, सांख्य, योग, वेदान्त वा राधाकृष्णन्, अरविँदोका नजरियाले बुझ्न गाह्रो हुन्छ | देवकोटालाई पढेर मार्क्सवाद" ठान्ने, देवकोटालाई पढेर आध्यात्मवादी मान्ने, देवकोटालाई पढेर मानवतावादी मान्ने र देवकोटालाई केवल बग्दो नदीझैं निर्झर मान्ने सबै ठीक छन् | किनभने वैदिक संस्कृति र सभ्यतामा विकसित हुने सत्य बहुआयामिक नै हुन्छ | जुन देवकोटामा छरपष्ट छरिएको छ | सिमल्न धेरै बाँकी छ तर देवकोटालाई केवल प्रगतिवादी ठान्नेहरूले देवकोटाको अर्धसत्य बखान गरेझैं मानवतावादी तथा आध्यात्मवादीहरू पनि यही श्रेणीमा पर्छन् |
३. तेसो भए के देवकोटा दार्शनिक हुन् वा होइनन् ? यो प्रश्न आफैमा पूर्वाग्रह पूर्ण पश्चिमेली दार्शनिक दृष्टिकोणमा आधारित छ | देवकोटा निश्चय नै दार्शनिक सिद्धान्तकार होइनन् न उनले दर्शनशास्त्र विषयमा विद्यावारिधि नै गरेका छन् तर उनका रचनाहरूमा दर्शनशास्त्रको चेतना राइछाई छ | उनी नेपाली समाजका सशक्त बौद्धिक आवाज हुन् जसले प्रथमत: नेपाली भाषालाई वैश्विकस्तरमा उभ्याएका छन् भने यही भाषामा व्यक्ति भएका परम्परागत तथा आफ्ना समयको सङ्घारमा उभिएर बहुआयामिक रूपमा व्यक्त भएका छन् | उनको चिन्तनको परिधि एतिबिध्न विशाल छ कि खोज्नेले आफ्नो अभिरुची अनुसार खोजेको विषयवस्तु प्राप्त गर्छ | उनी विश्वविद्यालयमा दीक्षित दार्शनिक होइन तर दार्शनिकहरूलाई दृष्टिकोण दिने शक्तिशाली विचारक अवश्य हुन् |
नेपालका धेरैजसो विचारकहरू तिनथरिका राजनैतिक घेरामा बाँधिएरका छन् | यही साँघुरो घेराभित्र रहेर विचारकहरूको समीक्षा गरिन्छ | पहिलो र शक्तिशाली घेरा हो "प्रगतिशील" बर्गको | प्रगतिशील भनिए पनि धेरैजसो समालोचकहरूहरू मार्क्सवादी हुन्छन् | उनीहरूले हरेक "चिन्तन"लाई मार्क्सवादी दृष्टिकोणमा ढाल्ने प्रयत्न गर्छन् | आधुनिक मनिषीहरूको कुरा छोडौं, यिनीहरूले मार्क्सवादसंग गोरू बेचेको पनि सम्बन्ध नभएको वेदका चिन्तनमा पनि मार्क्सवाद खोज्छन् र "सेथिस, एन्टीथेसिस र सिन्थेसिस"को जामा पहिराई दिन्छन् | मूलत: मार्क्सवाद एउटा प्रभावशाली "राजनैतिक अर्थचिन्तन" हो तर मार्क्सवाद बैज्ञानिक दर्शनशास्त्र हो भन्दै हरेक ठाउँमा थोपर्ने प्रयत्न गर्छन् र प्रगतिवादको चस्मा तयार गर्छन् | देवकोटाको चिन्तनउपर पनि "प्रगतिवाद"को कोट पहिराउनेहरू थुप्रै छन् | समरकन्दको भाषण, सुलोचना महाकाव्यमा प्रस्तुत भएका केही कथन र अन्धविश्वासउपर उनको प्रहारलाई "प्रगतिवाद"का रूपमा प्रस्तुत गर्छन् |
दोश्रो प्रवृति समाजवाद (प्रजातन्त्रवादी)हरूको हो जसले देवकोटाका विचारहरूका आधारमा उनलाई "समाजवादी घोषित गर्छन् | तेस्रोधार, परम्परावादीहरूको हो जसले देबकोटालाई पूर्णतया वैदिक सनातन धर्मका विनम्र र प्रखर प्रस्तोताका रूपमा देख्छन् र त्यही रूपमा प्रस्तुत गर्छन् | मैले माथि उल्लेख नगरेको चौथोधार चाहिं मानवतावादको हो जुन देवकोटाको सरलमन र समयको आवश्यकताका कारण देवकोटाको सवल पक्ष भन्न मिल्छ तर यसो गर्दा पनि उहाँका "चिन्तन"मा न्याय हुनैसक्दैन | यस सम्बन्धमा अंग्रेजीका प्राध्यापक डा. पद्म प्रसाद देवकोटाले "द विच डक्टर" नामक अंग्रेजी निवन्ध संग्रहमा महाकविको सम्वन्धमा लेखेको तत्थ्य मनन गर्नुपर्ने देखिन्छ | प्राध्यापक पद्मप्रसादले लेखेका छन् "...देबकोटा नेपाली समाजमा प्रचलित अनेकौं अन्धविश्वास र कुरीतिका प्रवल विरोधी थिए | तर उनी नास्तिक थिएनन् | उनले सधैं नेपाली समाजमा व्याप्त रहेको अध्यात्मिक चेतनाको भौतिकतहमा विश्वास गरिरहे र वैज्ञानिक चिन्तन तथा व्यबहारप्रति समर्थन गरिरहे | उनले नेपाली मौलिक परम्परा र बैज्ञानिक चिन्तनको जोड़मा जीवनको अर्थ खोजे |"
४. परम्परावादीले देवकोटालाई अन्धविश्वासतिर डोर्याउने सम्भावना हुन्छ, प्रगतिवादीले देवकोटालाई कम्युनिस्टका रूपमा उभ्याउन खोजेको देखिन्छ, समाजवादीले धर्मनिरपेक्षवादको राजनीतिको कित्तामा उभ्याउने प्रयत्न गरेको बुझ्न सकिन्छ भने मानवतावादी धारहरूमा उपरोक्त चारैप्रकारका प्रवृत्तिहरू बुझ्न सकिन्छ | मेरो ठम्याई भने उपरोक्त सबै अतिवादका विपरित देवकोटा एउटा विनम्र तथा चिन्तनशील नागरिक हुन् जसले नेपाल र नेपालीको चहुर्दिश विकासको सपना देखे | उनले आफुले देखेको सपना प्रज्ञाप्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, नेपाली भाषालाई नेपालको पहिचानका तत्वका रूपमा स्थापित गरेर देखाए | उनी साधारण मान्छे नै थिए तर उनको चिन्तन "वाद. प्रतिवाद, विवाद"को पिंजडामा कैद थिएन | उनी जतिधेरै प्रगतिशील थिए त्यतिनै धेरै परम्परावादी पनि थिए | उनी जतिधेरै उदात्त चिन्तनका थिए तेतिनै धेरै स्वधर्म, संस्कृति तथा परम्पराका पक्षधर पनि थिए | उनले छुवाछुतको आलोचना गरे भने हत्यानै गर्ने भए पछि गाई हत्याको विपक्षमा विचार पनि दिए | साथै जनताको सर्वतोमुखी प्रगति र वैज्ञानिक विकासका लागि तत्कालीन सोभियतको साम्यवादका पक्षमा पनि उभिए |
लेखक तथा साहित्यकार सूर्य विक्रम ज्ञावलीले देवकोटाको प्रतिभालाई सम्मान गर्दै एउटा कार्यक्रममा "महाकवि" भन्दै सम्बोधन गरेको वाणी कालान्तरमा देवकोटाको एकल चिनारी बन्न पुग्यो | देवकोटा "महाकवि"को उपाधि कुनै विश्वविद्यालय, संघसंस्था वा सरकारबाट प्राप्त गरेका होइन | उनको "महाकवि" देशका जनताले सामुहिक रूपमा प्रदान गरेको प्रेमपूर्ण सम्मान हो | सायद यदि कुनै संघसंस्था वा सरकारले यो उपाधि दिएको भए, देवकोटाको व्यक्तित्व एतिबिध्न विशाल र स्वीकार्य हुने थिएन | भारतीय घुमन्ते विद्वान राहुल साँन्कृत्यायनले "पन्त, निराला र प्रसाद"को समवेत देवकोटा हुन्" भनेर गरेको प्रसंशा अर्थपूर्ण मान्नुपर्छ | भारतीयहरूले चानचुने अवस्थामा नेपाली विद्वानको सम्मानमा शब्द खर्च गरेको विरलै भेटिन्छ | भारतीय वाहेक आफ्ना छिमेकी मुलुकका प्रतिभाहरूको सम्मान गर्न गर्ने सवालमा भारतीय विद्वानहरू निकै कन्जुस्याइँ गर्छन् |
५. दर्शनशास्त्रका आफ्ना पूर्वस्थापित मान्यताहरू हुन्छन् | ती मान्यताहरूको फ्रेममा अटाउने गरि प्रेषित गरिएका विचारहरू दर्शनशास्त्रको श्रेणीमा पर्छन् | आजको समयमा अन्य शैक्षिक विषयवस्तुहरूले प्रगति गरेझैं दर्शनशास्त्रभित्र पनि अनेकौं नवीन विषयवस्तुहरूले स्थान पाएका छन् | यदि परम्परागत रूपमा भन्ने हो भने कुनै पनि विचारकको विचार "दर्शनशास्त्र" बन्न निम्नतम परमतत्वका विषयमा प्रश्न सोधिएको र उत्तर दिएको हुनुपर्छ | नैतिक-अनैतिक, शुभअशुभ, उचितअनुचित, राम्रो नराम्रो, मूल्यवान्, अमूल्य तथा मूल्यहीन विषयहरू वारे चर्चा गरिएको हुनुपर्छ | ज्ञानको उत्पत्ति, ज्ञानको कार्य र सीमाका विषयमा छलफल गरिएको हुनुपर्छ | प्रस्तुत गरिएको विचार तर्कका दृष्टिकोणले बैध हुनुपर्छ र स्वतन्त्रता, परतन्त्रताआदिका विषयमा चर्चा गरिएको हुनुपर्छ | बर्तमान समयमा दर्शनशास्त्रले विश्वको जुनसुकै विधाभित्र मूल्यको तत्थ्य उठान गर्न आरम्भ गरेको छ - मनोविज्ञानको दर्शन, बायोलोजीको दर्शन, विज्ञानको दर्शन, अर्थशास्त्रको दर्शन, राजनीतिको दर्शनआदिआदि |
उपरोक्त परम्परागत दार्शनिक प्रश्नहरू गर्ने र तिनको अर्थपूर्ण वा निरर्थक उत्तर खोज्ने मान्छे हो | तेसैले अहिलेको विश्वमा दर्शनशास्त्रको मानवतावादी धार पनि निकै तिखारिंदै गैरहेको छ | के देवकोटाका कृतिहरूमा तत्वमीमांसा, ज्ञान मीमांसा, नीति मीमांसा, तर्क मीमांसा तथा मानवीय मूल्यका विषयमा प्रश्नहरूको उठान र उत्तर उपलब्ध छन् त ? के देवकोटाका कृतिहरूमा उपरोक्त प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिएको छ त ? यी प्रश्नहरूको उत्तर यदि "छ"मा आउँछ भने देवकोटा दार्शनिक हुन्, यदि "छैन" भन्ने आउँछ भने देवकोटा विचारक, समाजसेवी, राजनीतिज्ञ, बैज्ञानिक त हुन सक्छन् तर दार्शनिक होइन | निश्चयनै देवकोटा विश्वविद्यालयबाट दर्शनशास्त्रको डिग्री प्राप्त गरेका हिगल, राधाकृष्णन् वा रसेलजस्ता दार्शनिक त होइनन् तर उनले आफ्ना कृतिहरूमा उपरोक्त दर्शनशास्त्रका आधारभूत प्रश्नहरूको उत्तर दिएको हुँदा उनी दार्शनिक कवि, समाजसुधारक, राजनीतिज्ञ तथा चिन्तक अवश्य हुन् |
६. देवकोटाका कृतिहरूमा दर्शनशास्त्र राइछाई छ | यसको प्रमुख कारण उनको आफ्नो पृष्ठभूमि नै हो | विदेशी दार्शनिकहरूले नेपालीहरूको आलोचना गर्ने प्रमुख विषय नै "हिन्दूहरूको दार्शनिकता विहान उठेपछि र गहिरो निन्द्रामा नपरेसम्म चलिनै रहन्छ | मृत्युपछि पनि दार्शनिक चेतनाको अन्त्य हुँदैन - भन्ने प्रकारको हुन्छ | देबकोटाको जन्म एउटा परम्परागत पण्डित परम्परामा भएको धार्मिक जीवनशैलीमा रमिएको थियो | उनी सर्वप्रथम स्वसंस्कृति पक्षका दार्शनिक हुन् | यो तत्थ्य लक्ष्मी निवन्ध सङ्ग्रहको "पांचबटा चाहिमे कुरा नामक निवन्धको उठान गर्दै देवकोटाले "दूनियाँमा पाँचौटा चाहिने कुराहरू छन् - ईश्वर, आत्मा, स्वर्ग, नर्क र धर्म | यो उनको अन्तिम सत्य पनि हो किनभने आर्यघाटमा भारतीय अंग्रेजी साहित्यकार डोम मोरेललाई भेट्दा उनले "तिनीहरूले मलाई वामपन्थी भने, किन भने म रूस गएँ | म सिर्फ एक कविमात्र थिएँ, मेरा लागि प्रार्थना गर्नुहोस् म मर्न सकूँ | म नर्कको कुण्डमा गएँ भने यस्भन्द्दा वेस हुन्छ | म नेपाली लेखकहरूमध्येको अति अभागी लेखक हुँ" भनेर गुनासो गरेको कुरा महाकवि देवकोटा (पेज-४५)मा नरेन्द्रनाथ प्रसाईंले उल्लेख गरेका छन् |
यसको अर्थ उनी प्रगतिशील लेखक, चिन्तक थिएनन् भन्ने पटक्कै होइन | उनी कम्म्युनिस्ट प्रगतिशील थिएनन् यो प्रष्ट छ | प्रगतिशील हुनका लागि कम्म्युनिस्ट नै हुनुपर्छ भन्ने केही छैन | देवकोटाले नेपालको विकास, प्रगति तथा उत्थानका सवालमा साम्यवादी चिन्तन र सामुहिक सक्रियतालाई मन पराए र मन पराएको कुरा स्वच्छन्द रूपमा लेखे | खण्डकाव्य, महाकाव्य, निवन्ध, कविता, उपन्यास तथा फुटकर रचनाहरूमा पनि देवकोटाको मौलिक संस्कृति र संस्कृत-साहित्यमा रहेको लालित्य तथा चिन्तनप्रति गहिरो अनुराग पढ्न, बुझ्न र देख्न सकिन्छ |

प्राचीन वैदिक शैली

प्राचीन साहित्यहरू कथाशैलीमा लेखिने गर्थे | गहनभन्दा गहन विषयलाई "गायनकथा"का रूपमा प्रस्तुत गर्दा सर्वसाधारणले समेत विषयवस्तुमा राम्रो पहुँच हुन्थ्यो | पुराणहरू कथाशैलीमा छन् र विषयवस्तुहरू गायनशैलीमा लेखिएका छन् | आजको मनोविज्ञानले कथाशैलीमा प्रस्तुत गरिने सिकाईका विषयहरू मानवीय मस्तिष्कमा दीर्घकालसम्म सुरक्षित रहने भन्दै बालबालिकाहरूकी गायन, उपमा, कथाआदि शैलीहरू प्रयोग गरेर सिकाउँन अनुरोध गरेको छ | पौराणिक कथाहरूको आधार वेद तथा उपनिषद नै हुन् तर शैली रुचिकर भएको हुँदा स्थानीय आवश्यकता, संस्कृति तथा चालचलनअनुसार फरकफरकशैलीमा प्रस्तुत गरिका छन् | तर एतिहुँदा हुँदै पनि सम्पूर्ण पौराणिक साहित्यको लक्ष धर्म, अर्थ, काम र अन्तन्त: मोक्ष प्राप्ति नै रहेको छ | पौराणिकहरू मध्ये यी लक्ष प्राप्तिका लागि कसैले ज्ञानमार्ग, कसैले कर्म मार्ग त कसैले भक्तिमार्गको अवलम्बन गरेका छन् | सात्विक, राजसिक तथा तामसिक स्वभाव र व्यक्तित्वअनुसार मान्छेले आफ्नो मार्ग चिन्थे |

सुन्दा अचम्म र अपत्यारिलो लागे पनि वराह (बंगुर)ले सधैं आफ्ना दाह्राले पृथ्वीनै खनिरहेको हुन्छ | भगवान् वराहले पृथ्वीको पानीबाट उद्धार गर्नु भयो अर्थात् वर्षाकाल समाप्त भयो | पौराणिक प्रसंगहरू अध्यत्मिकतासंग जोडिएका छन् र धनका लोभीहरूबाट पृथ्वीलाई मुक्त नगरिकन कल्याणकारी समाजको निर्माण हुँदैन | द्रव्य-पिसाचहरूबाट पृथ्वीको उद्धार हुनै पर्छ, वराहले अवस्था रसातलमा पुगेको भए पनि सर्वाजनको कल्याणका खातिर द्रव्य-पिसाचहरूको मोहबाट द्रव्य प्राप्त गरेर कल्याणकारी कार्यमा लगाउनु पर्छ | धन सबैको चाहना हुन्छ तेसैले आफ्नो त्यो असीमित द्रव्यचाहनाको दमन गर्नुपर्छ र शास्त्रले तोकेको मर्यादाभित्र रहेर द्रव्य-सङ्ग्रह र वितरण गर्नुपर्छ |
वैदिक संस्कृतिमा धनार्जन गर्नुलाई दोश्रो पुरुषार्थ (अर्थ)का रूपमा सबैभन्दा महत्वपूर्ण कार्य मानिएको छ | धन नै धर्मको आधार हो भन्ने प्रष्ट पनि गरिएको छ तर अधर्मपूर्वक धनआर्जन गर्न निषेध गरिएको छ | हिरण्यक्षको कथाका माध्यमबाट अतिधन लोभले जीवनमा क्षति पुग्छ भन्ने सूचना दिएको हो | एउटा तत्थ्य अरू थप्न चाहन्छु : धनार्जन गर्नु जीवनको लक्ष अवश्य हो तर धनका लागि जीवन नै त्याग्नु उचित होइन | धनका लागि कसैको जीवननै सङ्कटमा पार्नु वा जीवन नै लिनु अनुचित हो | साथै, विधिसम्मत तवरले आर्जन गरिएको धनमा आँखा लगाउनु सबैभन्दा ठूलो अपराध हो | आजको दृष्टिकोणबाट हेर्दा वराह र हिरान्यक्षको कथा "मैथ"जस्तो लाग्ला तर यो विश्व ब्रह्माण्डमा यस्ता धेरै कथाहरू र प्रसंगहरू छन् जुन अहिलेको बैज्ञानिक विकास र मान्छेको बुद्धिले समाउन वा ठम्याउन सकेको छैन |

पुराणहरूको आधुनिक सन्दर्भ

१. आजको आधुनिकता शब्दले पश्चिमा संस्कृति र सभ्यताले बाइबलसंग विद्रोह गरे एताको समयावधि जनाउँछ | नेपालीहरूले भने आधुनिकताको प्रयोग पश्चिमी सभ्यताले नेपाली समाजमा प्रभाव पार्न थालेका मानकहरूका आधारमा प्रयोग गरिन्छ कि भन्ने लाग्छ | आधुनिकताको सवाल र अर्थ विद्वानहरूले आ-आफ्नो समझअनुसार गर्छन् | तर समग्रमा आधुनिकताको अर्थबोधमा विज्ञानप्रतिको अभिरुचि, शिक्षा-स्वस्त्थ्यको कल्याणकारी व्यबस्थापन गर्ने चेतना, नारी तथा बालबालिकाको अधिकार तथा मानवतावादी चिन्तनको विकाससंग जोडेर हेर्ने गरिन्छ | यस बाहेक नेपाली समाजमा आधुनिकताको थप अर्थपछि छ - निर्धक्क रूपमा सुरा र यौनको प्रयोग, धनका लागि नातागोताको महत्व अवमूल्यन र अधिकारसंग जोडेर शरीरलाई पनि बजारमा फरकफरक किसिमले बेच्ने स्वतन्त्रताको प्रयोग र मौलिक इतिहास, संस्कृति तथा संस्कारहरूप्रति अरुचि अथवा घृणावादी दृष्टिकोण र पश्चिमा संस्कृति, सभ्यता तथा संस्कारहरूप्रति प्रशंसाको दृष्टिकोण राख्नुलाई पनि बुझ्ने गरिन्छ | यहाँ आधुनिकतावादी नेपालीहरूले नबुझेको तत्थ्य के हो भने पाश्चात्य सभ्यताले पनि "पुराण"का विभिन्न चरण पार गरेर नै यहाँ आएका हुन् | हो, उनको लेखनशैली, व्यबहार गर्ने शैली र बुझ्ने/बुझाउने शैली यहाँको भन्दा फरक थियो |

२. पुराणको अर्थ नै इतिहासका विषय र ज्ञानविज्ञानका विषयवस्तुहरूलाई सरल तथा रोचक ढंगले प्रस्तुत गरिने परम्परा हो | संस्कृत व्याकरणअनुसार पुराण शब्द 'पूरा भव' अर्थमा ट्यु प्रत्यय गर्दा बन्छ। यसको अर्थ पुराना घटनाहरू भन्ने हुन्छ। प्राचीन कालमा नयाँ भएको वस्तुलाई पुराण भनेर यास्कले भनेका छन्। जुन साहित्य पुरातन सृष्टि र लयसँग सम्बन्ध भएर पनि आधुनिक लोकजीवनसँग जोडिन सक्छ, त्यो नै पुराण हो | सर्ग, प्रतिसर्ग, बंश, मन्वन्तर तथा बंशानुचरित्र यी पुराणका पांचबटा लक्षण हुन्छन् भनेर मनुस्मृतिले बताएको छ | पुराणहरूले भने आफ्ना दशबटा (भा.२/१०/१-२) हुन्छन् भन्ने उल्लेख गरेका छन् | यहाँ बुझ्नु पर्ने चुरो कुरा के हो भने ऋषिमुनिहरूले इतिहास तथा वैदिक ज्ञान, कर्म तथा भक्ति मार्गका विषयहरूलाई सरल तथा रोचक ढंगले प्रस्तुत गर्न अनेकौं कथाहरूको प्रयोग गरेका छन् | ती कथाहरू मध्ये कति ऐतिहासिक व्यक्ति, घटना, स्थान तथा समयसंग वास्तविक रूपमा सम्बन्धित छन् भने कतिपय कथा र घटनाहरू काल्पनिक पनि छन् जुन जनसाधाणले सरलरूपमा बुझुन् भन्ने उद्देश्यले अभिप्रेरित थिए |
३. सर्गको अर्थ हो - सृष्टिको विषयमा उठेका जिज्ञासाहरूको समाधान | आधुनिक विज्ञानले पनि सृष्टिको कुरा गर्छ तर प्रयोग भएका साधनहरू फरक छन् | वेदले सबैभन्दा पहिले "शब्द"को विस्फोटको कुरा गर्छ जुन आधुनिक महाविष्फोटको सिद्धान्तसंग मिल्छ | यसैगरी विष्णुको नाभिबाट ब्रह्माको उत्पतिको सिधान्त ठ्याक्कै आजको "अर्को कुनै प्लानेट"को सिद्धान्तबाट मिल्छ | वेद तथा पुराणहरूमा हजारौं यस्ता कथाहरू छन् जुनले पहिलो सर्ग आरम्भ हुँदा केवल ब्रह्माण्डहरूको उत्पति भयो र ती अनन्त थिए भन्ने तत्थ्य प्रष्टसंग उजागर गरेको छ | हजारौं वर्ष पहिलेका यी सिद्धान्तहरू ठ्याक्कै अहिलेको विज्ञानसंग तर्कसङ्गत हुनुपर्छ भन्ने चिन्तन केवल "मूर्ख"हरूले राख्न सक्छन् | तेतिवेलाको प्रज्ञाले जे-जस्तो सृष्टिका विषयमा बुझ्यो, जान्यो त्यही लेख्यो | आजभन्दा पांचहजारपछि अहिलेका सृष्टिविषयक खोजहरू "पुराण"कै श्रेणीमा राखिन सकिने छ भन्ने विपक्षमा कसैसंग तर्कसङ्गत प्रमाण हुनेछैन |
४. विसर्गको अर्थ हो - प्राथमिक सृष्टिपछि सृष्टिको विस्तार | पुराणहरूमा सृष्टि विस्तारको प्रसंग अचम्म लाग्दो छ | असलमा, विसर्गचाहिं मनु र सतरूपाबाट आरम्भ भएको यौनजन्य क्रियाबाट आरम्भ भएको मानिन्छ | यो मानव, पशुपक्षी, रूखविरुवा, जलीय जीवआदिको सृष्टिकको वर्णन हो | यो प्रसंगमा कतिपय सृष्टिका क्रियाहरू आधुनिक विज्ञानसम्मत देखिन्छन् भने कतिपय विज्ञानको नजरियाले पूर्णतया काल्पनिक नै देखिन्छन् | बुझ्नु पर्ने कुरा के हो भने काल्पनिकता नै भए पनि यसले अभिरुचि पूर्वक इतिहास खोज्न पाठकहरूलाई अभिप्रेरित गर्छ | तेस्रो, बंशको अर्थ हो राजा र प्रजाहरूको क्रमगत विकासको पूर्ण अथवा आंशिक वर्णन गर्नु | पुराणहरूले मुलत: मनुबाट आरम्भ भएको मानव बंश, सूर्यबाट आरम्भ भएको सूर्य वंश र चन्द्रबाट आरम्भ भएको चन्दवंशको विस्तृत वर्णन गरिएको छ | यहाँ एउटा तत्थ्य खोतल्न योग्य छ - पश्चिमाहरूले सिकन्दर तथा बाइबलआदिमा उल्लेख भएका राजाहरूलाई वास्तविक भन्छन् तर पुरणहरूले समय, ठाउँ, काम तथा व्यक्ति तोकेका इतिहासका पात्रहरूलाई काल्पनिक भन्दै अपहेलना गर्छन् | सूर्यवंशी राजा राम, उनी जन्मेको, राज्य गरेको ठाउँ अयोध्या, चन्द्र वंशी कृष्ण तथा उनी जन्मेको हुर्केको मथुरा वृन्दावन तथा निवास गरेको द्वारका र युद्ध लड़ेको हस्तिनापुरको स्थलगत अस्तित्व हुँदाहुँदै पनि पात्रहरूलाई काल्पनिक भन्नु पाश्चात्य इतिहासकार र उनको कुरामा विश्वास गर्ने नेपाली तथा भारतीय इतिहासकार, मानवशास्त्रीहरूको दृष्टिकोण निकै त्रुटीपूर्ण र (पूर्वाग्रहपूर्ण) मान्नुपर्छ |
५. तेस्रो मन्वन्तरको प्रसंग समय-मापन अर्थात् गणितसंग सम्बन्धित तत्थ्य हो | उदाहरणका लागि वैदिक समय मापन प्रणालीमा आँखाको परेला झिम्कंदा लाग्ने समयलाई निमेष भनिन्छ | १५ निमेषको १ काष्ठा, ३० काष्ठाको १ कला, ३० कलाको एक मुहुर्त, ३० मुहुर्तको एक दिनरात, ३० दिनको एकमहिना, ३६३ दिनको एकवर्ष, ६३ लाख ५४ हजार वर्षको एक युग, २८ च्तुरयुगीको एक कल्प र एवम् प्रकारेण१६ कल्पको ब्रह्माको १ दिन र अर्को चौधकल्पको ब्रह्माको रात हुने कुरा उल्लेख गरिएको छ | यसरी ब्रह्माको सयवर्षको आयुमा मान्छेका ४६३,८४२,०००,०००,०००/- मानववर्ष हुने शास्त्रमा उल्लेख गरिएको छ | राजा रेवतका प्रसंगमा समय-यात्राको प्रसंग उल्लेख गर्दै ब्रह्मलोकको एक घण्टामा पृथ्वीलोकमा लगभग २८ बटा चतुर्र्युग वित्ने उल्लेख छ | आजको विज्ञानले पृथ्वीको अर्बिट र हामी बस्ने ठाउँको समय फरक हुने तत्थ्य प्रमाणित गरिसकेको छ | तेसैले पुराणका विषय कल्पित हुन् भन्नेहरूले निस्पक्षरूपमा यी तत्थ्यहरूको अनुसन्धान गर्नुपर्छ | पाश्चात्य गणित कम्युटरहरूको आगमन भन्दा पहिले यी तत्थ्यहरूसंग परिचित थिएन | उनीहरू आज पनि त्रिलियन भन्दा माथिल्लो संख्यामामा पुगेका छैनन् | जवकि ब्रह्माण्डको आकार नै ३ त्रिलियन लाइट वर्षको छ भन्ने कल्पना गर्छन् |
६. पाँचौं, बंशानुचरित्रको प्रसंग प्रष्ट छ - वंशमा उत्पन्न भएका विशिष्ट व्यक्तिहरूले गरेका कामहरूको विस्तृतरुपमा वर्णन गर्नु | आजभोली "रोलमोडेल"को प्रसंगलाई बडो महत्वका साथ सामाजिक, सांस्कृतिक तथा देशभक्तिका प्रसंगमा उठाउने गरिन्छ | राजाको प्रसंगमा राजा पृथुले आफ्नो प्रशंसा नगर्न अनुरोध गरेका थिए | राजा रामचन्द्र एकपत्नी र मर्यादाका लागि आज पनि समाजमा पूजित छन् | कृष्णको प्रसंग लीला र आध्यात्मिक प्रसंगमा निकै पूजनीय छ भने सर्वसामान्य व्यक्ति विदूरआदिको प्रसंग पनि पुराणहरूले उल्लेख गरेका छन् | पुराणका उपरोक्त लक्षणहरू आजको समयमा पनि उत्तिकै महत्वपूर्ण छन् र ग्रहणयोग्य छन् भन्ने तत्थ्य हामीले स्वीकार गर्दा नेपालको गौरव नै बढ्छ |
पुराणहरूका कतिपय सन्दर्भहरू वैश्विक छन् र मानवताका लागि कल्याणकारी छन् भने कतिपय सन्दर्भहरू गतार्थ भैसकेका छन् | तेसैले पाठकहरूले पुराणहरूको पौराणिकतालाई उपयोगिता तथा कल्याणकारी अर्थमा समयोचित तवरले बुझ्नुपर्छ | सबैथोक ग्रहणयोग्य नहोलान् तर त्याग्नै पर्ने पनि छैनन् | सबैभन्दा मुख्यकुरो, श्रद्धा तथा विश्वाससहित पूर्वाग्रहरहित अनुसन्धाताको रूपमा समीक्षा गर्नुपर्छ, जुन हाम्रा विविहरूले गर्न सकेका छैनन् र पूर्वाधार तयार गर्न समेत अनिच्छुक देखिएका छन् |

योग के हो ?

योगको सरल अर्थ हो जोडिनु, पूजा गर्नु, आराधना गर्नु | सांख्यदर्शनले जडप्रकृतिको तात्विकतालाई चिनेर परमात्मासंग जोडिने शिक्षा दिन्छ | जल्से योगका लक्षणहरूको अनुभूति गर्छ, उसको मन स्वत: प्रसन्न हुन्छ | जसले प्रकृतिका गुणहरूको ज्ञान चाहन्छ, उसले सर्वप्रथम स्वधर्मसंग जोडिनुपर्छ र विधर्मसंग अलिअलि गरेर अलग्गिनु पर्छ | यहाँ धर्मशब्दको अर्थ रिलिजन होइन | जे-जस्तो आफ्नो कर्म र भाग्यले भौतिक साधन उपलब्ध भएको छ, तेसमा सन्तोष गर्नुपर्छ |अहिंसा, सत्यआदि पांच नियमहरूको पालना गर्नुपर्छ | मनलाई एकाग्र पारेर मानसिक पवित्रतापूर्वक भगवानको ध्यान गर्नुपर्छ | लगातार ध्यान गर्दै गर्दा अलिअलि गरेर भगवानको दिव्यता आत्माभित्र प्रवेश गर्छ र त्यो जति प्रगाढ हुँदैजान्छ तेतिनै व्यक्तिको जीवनमा समाधि घटीत हुन्छ | समाधि एस्तो अवस्था हो जहाँ समय, प्रकृति, जन्ममृत्यु, जरा व्याधिले प्रभावित पार्न सक्दैन | यो परमआनन्दको अवस्था हो | यही मोक्षअवस्था हो |

हाम्रो बुद्धि अचम्मको छ | हामी भागवत सुनिरहेका छौँ, सांख्यदर्शनको उपदेश सुनिरहेका छौँ तर बुद्धिले भने आफुले बुझेको "विज्ञानसंग तुलना गर्दै उपदेशका विषयवस्तु"लाई पर्गाल्ने प्रयन्त गरिरहेको हुन्छ | आफुले जानेको, सुनेको र सत्य ठानेको ज्ञानभित्र सुनिएका पढिएका तत्थ्यहरू मिल्न गएनन् भने हामीभित्रको पूर्वाग्रहले "अन्धविश्वास, अवैज्ञानिक" भन्ने ट्याग लगाई दिन्छ | एतिबिध्न विज्ञानप्रतिको भक्ति पनि उचित होइन किनभने यस्तो विश्वासले विज्ञानको गतिशीलतालाई रोकिदिन्छ | आधुनिक विज्ञानले सहजैसंग स्वीकर गरेको विषय हो कि अहिलेको ज्ञान भनेको समग्र उपलब्ध सम्भावित ज्ञानको केवल ५% जतिमात्र हो | तेसैले शास्त्रहरू अध्ययन गर्दा हरेक अध्येताले निर्णयकर्ताका रूपमा होइन जिज्ञासुका रूपमा गर्नुपर्छ | हजारौं वर्षको अनुभवबाट लेखिएका विषयवस्तु "विज्ञानसम्मत छैन" भन्ने पूर्वाग्रह राख्नु हुँदैन | नेपालको आधुनिक शिक्षाले आफ्नो इतिहासप्रति पश्चाताप गर्न सिकाएको हुँदा एस्तो अवस्था आएको हो | कुनै पनि विषयवस्तु पूर्ण जिज्ञासु र विनम्र बनेर बुझ्ने प्रयत्न गर्नुपर्छ | अवैज्ञानिक विषयवस्तुहरू स्वत: पाखा लाग्छन् | के हामी आवश्यकता भन्दा वैज्ञानिक (भौतिकवादी) बन्ने चक्करमा आफ्ना मौलिक विज्ञानहरू त गुमाइरहेका छैनौँ ?

सांख्यदर्शनको बाटो

वैदिक संस्कृतिकाअनुसार मान्छेको जीवन काकताली होइन | अनेकौं जन्मको अथक प्रयासपछि जीवले मनुष्यको जीवन प्राप्त गर्छ | मनुष्य जीवन प्राप्त गर्न देवताहरू पनि इच्छुक हुन्छन् भन्ने तत्थ्य सबैजसो पुराण र स्मृतिहरूले प्रष्टरूपमा उल्लेख गरेका छन् | भगवान् कपिलको सांख्यदर्शनले ईश्वर, प्रकृति, जीव, माया, सृष्टिको उत्पत्तिका विषयमा सर्ग र विसर्ग दूवै गतिको व्याख्या गरेको छ | हो, आधुनिक विज्ञानको चस्माले हेर्दा सांख्यदर्शनको सृष्टिक्रम पढ्दा अन्धविश्वासजस्तो लाग्ला तर जसरी प्रकृतिको सर्ग तथा विसर्गलाई सृष्टिको लागि वर्णन गरिएको छ, त्यो अद्भूत छ | मनुष्यक रूपमा आमाको गर्भमा जीवको प्रवेश, गर्भमा उसको विकास, गर्भमा ज्ञान, जन्मका लागि प्रार्थना र मान्छेको जीवनको भोगाईका विषयहरू बडो मार्मिक छ | सांख्यदर्शन मूलत: तत्व विवेचना गर्ने दार्शनिक दृष्टिकोण भए पनि भगवान कपिलले मनुष्य जीवनको सफलता भगवानको चिन्तन गर्नु र परोपकार जीवन विताउनुमा छ भन्ने तत्थ्य देवहुतिलाई बताउनु भएको छ |

भगवान् कपिलको आग्रह छ : मनुष्य जीवन बडो भाग्य र परिश्रण (पूर्वजन्ममा गरेका असल कर्मका कारण) प्राप्त भएको हो, यसलाई पूर्णतया शास्त्रीय आदेशहरूको परिपालना गर्दै धर्मपूर्वक जीवन यापन गरेर मोक्ष प्राप्तिका लागि प्रयोग गर्नुपर्छ | पूर्वजन्मका विषयमा "याद छैन" भनेर जीवनलाई जथाभावी वा स्वेच्छाचारी तवरले प्रयोग गरियो भने पुन: ८४ लाख जीवनको चक्रमा फंसेर दु:खप्राप्त हुन्छ | धर्मपूर्वक जीवनको प्रयोग गर्दा दु:ख मुक्तिका लागि प्रयत्न गर्नुनै पर्दैन किनभने प्राकृतिक सर्ग तथा विसर्गको रहस्य बुझ्दासाथ मन, बुद्धि, अहङ्कार स्वत: भगवानको भक्तिप्रति आकर्षित हुन्छ | एउटा ज्ञानप्राप्त व्यक्तिले सुखदुखका लागि होइन भगवानलाई खुसी बनाएर मोक्ष, भगवानका दीव्यधामको चाहना गर्छ | धेरैले सांख्यदर्शनलाई अनिश्वरवादी दर्शन भन्ने गर्छन् तर श्रीमद्भागवतमा महामुनि कपिलले माता देवहुतिलाई दिएको उपदेशमा जीवनको चरमलक्षनै भगवानको भक्ति भएको प्रष्टसंग बताउनु भएको छ | अत: सांख्यदर्शनको अन्तिम लक्ष प्रकृतिको पाशबाट मुक्ति प्राप्त गरेर अनन्त: पुरुषको सान्निध्य प्राप्त गर्नुनै हो भन्ने तत्थ्यमा भ्रमित हुनुपर्दैन |

एउटा भोट

१. राजनीति गर्नेहरूले सत्ता प्राप्त गर्छन्, त्यो सत्ता उनले चाहे र काम गरेअनुसार प्राप्त भएको मान्नुपर्छ | विश्वका हरेक देशमा राजनीति छ र त्यहाँ सत्ता छ, सत्तासीनहरू पनि छन् | विश्वका केही अपवादलाई छोडेर आफ्नो इतिहास, संस्कृति र पहिचानप्रति पश्चाताप गर्ने "कपू" अर्थात् कम्म्युनिस्ट, समाजवादी र पूँजीवासी राजनीतिज्ञहरू नेपालमा सहज प्रकारले उपलब्ध छन् | नागरिकताको प्रमाणपत्र नेपाली भए उनको "यो मन त विदेशी नै छ" भन्न मिल्छ | सबैभन्दा अनौठो कुरा त के भने जतिसुकै विदेशीको नक्कल गरे पनि, झूट बोले पनि, देश र जनतालाई पथविहिन बनाए पनि जनताले यिनैलाई रोज्ने छन् र फेरी चिया-पसल र आफ्नो सुत्ने कोठामा पल्टेर यिनै बदख्वाई गर्ने छन् | विगत ६० वर्षदेखि नेपालमा यो चालन चलिनैरहेको छ |

२. जव कुनै व्यक्तिले नेपाली राजनीतिको विगत र बर्तमानलाई बुझेर देशको जरोकिलोअनुसार मौलिक परिवर्तनको कुरा उठाउँछ, देशका हिन्दू, जैन, बौद्ध,बोन, किराती र स्वतन्त्र नागरिकहरूलाई आत्मसम्मान दिने, नेपालका मौलिक परम्पराहरुका असल पक्षहरूलाई प्रयोग गर्दै विश्वस्तरको बनाउने कुरा गर्छ, धेरै मान्छेहरूको अनुहारमा खिस्यौटी झल्किन्छ | चन्द्र शमसेर श्री ३ महाराज भन्दा उनले आफ्नो महलका धेरै कमाराहरूलाई स्वतन्त्रता प्रदान गरेका थिए तर धेरैजसो कमाराले स्वेच्छाले कमारा नै रहने विकल्प चयन गरे | सम्भवत: नेपाली मतदाताहरूको हकमा चन्द्र-शमसेर भन्दा फरक दृष्टिकोणबाट हेर्न जरुरी छैन |
३. मलाई लाग्छ, विगतका ७० वर्षहरू हाम्रा राजनैतिक नेतृत्वहरूले विदेशीहरूको नक्कल गर्न र तिनले प्रयोग गरेर सफल भएका प्रगतिका रणनीतिहरू नेपालको प्रगतिका लागि "योग्य" ठानेर नेपाललाई प्रयोगशाला बनाए | सत्य उजागर भैसकेको छ - ७२ वर्षको उमेर पचाएर बूढो भएको प्रजातन्त्र आज पनि शिशु नै छ | यिनै नक्कले राजनीतिज्ञको काठपुतली "लोकतन्त्र, प्रजातन्त्र" कहिले पनि जवान हुनेछैन किनभने यो जवान हुनुभनेको नक्कली राजनैतिक शक्तिहरूको मृत्यु हो | अवको मतदानमा जनताले निर्णय गर्नुपर्छ कि बूढो कपुतन्त्रलाई शिशु भन्दै आफ्नो पेट पाल्ने “परम्परा”मा मतदान गर्ने कि ? नवोदित, स्वदेशी र आफ्नो मौलिक सिद्धान्त भएको राजनैतिक दललाई मत दिएर स्वेच्छिक जेलखानाबाट मुक्त हुने ? सफलता एक दिनमा प्राप्त हुँदैन, तेसैले तपाईंको भोट सफलताको मार्गमा कोशेढूंगा बन्नुपर्छ |
४. अव मतदान त्यस पार्टी वा व्यक्तिलाई दिउँ जसले नेपालको मौलिक इतिहास प्रति गौरव गर्छ | जसले नेपाली मौलिक राजनैतिक सिद्धान्तअनुसार नेपाल बनाउँछु भनेर प्रतिबद्धता व्यक्त गर्छ | जसले विश्वबाट असल कुराहरू सिक्नुपर्छ र नेपालका असल कुराहरू विश्वलाई दिनुपर्छ भन्ने घोषणा गर्छ | जसले नेपालका मौलिक धर्म, संस्कृति तथा परम्पराहरूको जगेर्ना गर्ने प्रतिज्ञा गर्छ र नेपालका हरेक नागरिकहरू समानता, सहभागिता तथा मूल्यहरूको सम्मान सुनिश्चित गर्ने प्रतिज्ञा गर्छ | जसले सम्पूर्ण प्रकारका जातीय विभेदहरू अन्त्य गर्न “बंशीयार र अंशियार”को नीति अवलम्बन गर्ने लिखित प्रतिबद्धता व्यक्त गर्छ | हरेक नागरिकले प्रतिज्ञा गर्नुपर्छ र भन्नुपर्छ जसले नेपालको मौलिक इतिहासप्रति गौरव गर्छ, हरेक नेपालीको समग्र प्रगति सुनिश्चित गर्छ, मेरो भोट तेसैलाई जान्छ |
५. कुनै पनि नेताको देश भक्तिमा शंका छैन | सबै देशको भलोका लागि हुन् | तर उनीहरूले अख्तियार गरेको बाटोले देशको निर्माण हुँदैन, प्रगति हुँदैन भन्ने प्रमाणित भैसक्यो | यी ठूला पार्टीहरूमा के-एस्तो रोग लागेको छ, जसले देशको प्रगतिमा कुनै टेवा पुर्याउनै सक्दैन, देशलाई प्रगतिको बाटोमा लैजान सक्दैन, चूनावताका गरेका ठूलाठूला बाचाहरू भ्रष्ट्राचार र भाइभतिजावादमा गएर टुंगिन्छ, देशको भलाई गर्न निस्केको राजनीतिज्ञ देशको लागि असल काम गर्ने सक्दैन, किन ? किनभने उहाँहरूले अवलम्बन गरेको राजनैतिक सिद्धान्त र बाटो नै गतार्थ भैसकेको छ | मार्गचित्र नै धमिएराले खाएर छियाछिया पारेको छ | नेताहरूले काम गर्न सकेनन् किनभने उनीले अवलम्बन गरेको बाटो नै मक्किएको छ |
समय असजिलो छैन, हाम्रो मन अलमल छ | हाम्रो अलमल र चाहनाका बिचमा ठूलो खाडल छ | अव तिमीसंग खाडल रोज्ने कि खाडल भर्ने माटो – विकल्पै विकल्प छ |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...