Sunday, October 2, 2022

टेक्नोलोजी, सुखदुखको अनुभूति र आजको चित्त

जतिजति टेक्नोलोजीको विकास हुँदैछ तेतितेतिनै सुखदु:खको परिभाषा पनि बदलिंदै छ | मात्रात्मक रुपमा सुख बलियो हुँदैछ कि दु:ख मैले बुझ्न सकिरहेको छैन | मनोविज्ञानले आध्यात्मिकतालाई सर्वमुखी स्वास्थ्यको श्रेणीमा राखेपछि सुखदु:खको परिभाषा अझैं जटिल बनेको छ किनभने आधुनिक विज्ञानले अदृश्य "आध्यात्मिक अवस्था"को स्वीकृति दिनुको सिधा अर्थ हुन्छ सुखप्राप्ति र दु:ख निवारणलाई केवल भौतिक अवस्थाका रूपमा बुझ्नु हुँदैन |


मान्छेले जतिसुकै प्रयत्न गरे पनि नित्य आत्मा, स्वर्गनर्क, पापपुण्य, ईश्वरजस्ता विषयवस्तुलाई भावनात्मक रूपमा बुझाउने साधन धर्मनै हुन् | आ-आफ्नो संस्कृति र तेसको परिवेशको सिकाई तथा बुझाइका आधारमा ईश्वर, आत्मा, स्वर्गनर्कजस्ता प्रत्ययहरू अभिनिर्मित भएका हुन्छन् | ती प्रत्ययहरूलाई सवल गर्न अनेकौं कथा, मिथक, घटना, परिवेश निर्माण भएका हुन्छन् | हजारौं वर्षदेखि निर्मित भएका यस्ता परिवेशहरूले संस्कृतिको निर्माण हुन्छ र संस्कृतिबाट सभ्यता निर्मित हुन्छन् | हरेक मान्छेले आफ्नो परिवेशमा आफ्नो निजत्व प्राप्त गर्छ र उसको यस्तो निजत्व नै उसको परिचय हुन्छ |

गौरव, स्वाभिमान, देशभक्ति, निजत्व, देश, भाषा, संस्कृति, सभ्यता तथा धार्मिकता, मौलिकताआदि परिवेशकै सृजना हुन् | सही अर्थमा भन्ने हो भने मान्छेको "चित्त"को निर्माण पनि परिवेशबाट नै भएको हुन्छ | मलाई लाग्छ, मानवीय "चित्त"भित्र दु:ख तथा सुखको परिभाषा निर्माण गर्न पनि परिवेशले ठूलो भूमिका वहन गरेको हुन्छ तर एउटा तत्थ्यचाहिं अकाट्य हो कि मान्छेले जसो गर्दा, जे गर्दा गौरव र सुखको अनुभूति गर्न सक्छ, त्यही कर्म उसले ग्रहण गर्छ | मैले धेरै व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा प्राप्त भइरहेका दु:खलाई पनि "गौरव"को आवरणमा सुखकै रूपमा ग्रहण गरिरहेको भेटेको छु, देखेको छु | उदाहरणका लागि गौरव, स्वाभिमान, देशभक्ति, मातृत्व, परिचय, धार्मिकताको रक्षाजस्ता क्रियाकलापमा मान्छेले आफुले भोगिरहेको दु:खलाई "गौरव"का खातिर सुखकै साक्षात्कार गर्छ |

विश्वभरिका प्राचीन होस् वा आधुनिक "कथा"हरू प्रायजसो दु:ख मुक्तिका लागि प्रयत्नमा आधारित भएको पढ्न सकिन्छ | वैदिक कथाका पात्रहरूले इन्द्र, विष्णु, रूद्र, उषाआदि पात्रहरूबाट दु:ख मुक्ति प्राप्त गर्ने प्रयत्न गरिरहेको पढ्न सकिन्छ भने सोमरस, अन्नआदिको उपयोग गरेर सुखानुभूति गरिरहेको जान्न सकिन्छ | वैदिक, उपनिषदीय, पौराणिक पात्रहरूले सधैं उपलब्ध साधनहरूबाट सन्तुष्टी प्राप्त गरेको र ती साधनहरूको सुरक्षा तथा प्राप्तिका लागि देवदेवीहरूसंग प्रार्थना गरेको भेटिन्छ | आफै कमाएर, दानमा प्राप्त गरेर तथा युद्धमा जितेर ढुक्कसंग भौतिक साधनहरूको प्रयोग गर्ने अवसर प्राप्त हुँदा त्यो "अवसरको अन्तराल"मा मान्छेले "चित्त"को विषयमा चिन्तन गरेको हो | अवरोधरहित भौतिक साधनहरूको उपलब्धिले मान्छेलाई भौतिक बस्तुहरू भन्दा "पर" जान्न उद्योग गरेको बुझ्नुपर्छ |

उपनिषदले मान्छेले पहिलो अवस्थामा शरीरको रक्षा र सुखलाई सुनिश्चित गर्न चाहन्छ | शरीरनै सुरक्षित रहने भने पश्चगमन र अग्रगमन दूवै अवस्थाको अन्त्य हुन्छ | "अन्नमय" अवस्थाले भौतिक सुरक्षा र स्थायित्व सुनिश्चित गर्छ | भौतिकरूपमा समस्याग्रस्त व्यक्तिको "चित्त"ले सुखानुभूति वा दुखानुभूतिको वारेमा चिन्तन गर्न सक्दैन | शरीरको सुरक्षाका लागि सङ्घर्ष गर्ने व्यक्तिसंग शरीरको रक्षा गर्नु वाहेक अन्य कुनै लक्ष हुँदैन | एकपटक समस्याबाट मुक्ति प्राप्त गर्दै "सुरक्षा चाखेको" व्यक्तिले मात्र दु:खसुखको कुरा बुझ्न सक्छ र दु:ख निवारण र सुखप्राप्तिको अर्थ बुझ्न सक्छ |

आजको विश्व चरमरूपमा असमान छ | यो असमानता टेक्नोलोजीको विकास र प्रयोगले निम्तिएको हो | टेक्नोलोजीले विश्वको मानवीय समाजलाई "हुने खाने र "खानका लागि सङ्घर्ष गर्ने" दुईबटा मूल श्रेणीमा विभाजित गरिदिएको छ | जोसंग टेक्नोलोजी छ उसका लागि "रोटी, कपडा, मकान"को प्राप्ति र एसको सुरक्षा अर्थपूर्ण छैन | टेक्नोलोजीको सहज उपलब्धता भएको समाजका लागि "रोटी, कपडा, मकान" वारे चिन्तन गर्नु पर्ने कुनै आवश्यकता हुँदैन | अर्कोतिर एस्तो समाज छ, जसले टेक्नोलोजीका विषयमा बुझेको छ तर उसले तेसबाट प्राप्त हुने अवसरहरूलाई उपयोगको कुरा त ठाडै जाओस् "रोटी, कपडा, मकान" प्राप्त गर्ने कुनै सम्भावना नै देख्दैन | "रोटी"का लागि रुन्मुलिएको व्यक्तिका लागि सुख र दु:खको निर्विकल्प अवस्था "रोटी" नै हो |

प्राचीनकालमा सुखी ती व्यक्ति वा समुदायहरू मानिन्थे जसले "रोटी, कपडा तथा मकान"को सुनिश्चितता प्राप्त गर्न सफल हुन्थे | प्राचीन समयमा रोटी, कपडा र मकानको मुकाम प्राप्त गरेका व्यक्तिहरूले भौतिक सुखको अन्तिम सुखानुभूति गर्न "सेक्स"को उपयोग गर्थे भने सेक्ससुखबाट जोगिएको समयमा धर्मकर्म गर्थे वा भविष्यका लागि "रोटी, कपडा मकान" सुरक्षित गर्न सङ्घर्ष गर्थे र राजा, महाराजा, चक्रवर्ती सम्राटजस्ता उपाधिहरू ग्रहण गरेर सुखका साधनहरूको "प्रदर्शन" गर्थे | तेसैले "राजाझैं सुखी" भन्ने उखाननै निर्माण भयो | ती राजाहरू सुखी थिए तर उनीहरूको दु:ख कस्तो थियो ? भन्न सकिन्न |

आजको समयमा रोटी, कपडा, मकान, शिक्षा, स्वास्थ्य तथा स्वतन्त्रता"को निर्वाध उपयोग गर्न सक्ने व्यक्तिलाई सफल र सुखी मानिन्छ | यी साधनहरूमा पहुँचको आधार "धन"को अधिक्यता हो | तर के धेरै धनि मान्छे सुखी हुन्छ ? यो प्रश्नको उत्तर सजिलो छैन | यदि धेरै पैसा हुने मान्छे सुखी हुँदो हो त उनीहरूले सुखप्राप्तिका लागि कुनै पनि काम गर्दैनथे | यसबाट एउटा तत्थ्यचाहिं सिद्ध हुन्छ कि दु:ख नहुँदा पनि सुखप्राप्तिको उद्योग रोकिने रहेनछ | मान्छेहरू झन् "धेरै" सुखानुभूति गर्न चाहन्छन् तेसैले सुखप्राप्तिको उद्योग गरिनै रहन्छन् | जतिजति टेक्नोलोजीको विकास हुँदैछ त्यतिनै धेरै व्यक्तिहरूले प्राकृतिक माध्यमबाटमात्र होइन यन्त्रहरूको प्रयोग गरेर समेत अधिकतम सुखानुभूति गर्ने प्रयत्न गरिरहेका छन् |

चित्तले दुख र सुखको अनुभूति गर्छ तर टेक्नोलोजीको विकास र प्रयोगले गर्दा "चित्त"को आधारभूत स्वरूपमा पनि फरक परेको छ | प्राचीन चित्तहरूको संरचनामा प्राकृतिक आवश्यता पूर्ति हुँदा र तेसमा अवरोध हुँदा सुख र दु:खको प्राप्ति हुन्थ्यो भने टेक्नोलोजीको उयोगिता बढेसंगै टेक्नोलोजीको प्रयोग गरेर प्राप्त हुने सुख (सन्तुष्टि)ले चित्तको वृत्तिमा फरक परेको छ | टेक्नोलोजीको प्रयोगबाट उपलब्ध हुने सुखका लागि चित्तले प्राकृतिक सुखका मात्रहरूलाई विर्संदै जानुपर्ने छ | कालान्तरमा, मान्छेको चित्तले "प्राकृतिक साधनको प्रयोग र उपयोगबाट उत्पन्न हुने सुखदु:ख"का अनुभूतिहरूलाई इतिहासमा रुपान्तरित गर्नुपर्ने छ | परम्परागत चित्तको विनिर्मितिमा टेक्नोलोजीको निर्भरता बढ्ने सुनिश्चित छ | क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध वृत्तिहरूले बनेको चित्तमा मन मिसिएपछि बनेको चित्त अन्तत: यन्त्रकेन्द्रीत अनुभूतिको वाहक बन्ने सम्भावना छ | 

Saturday, October 1, 2022

पशुबलि र शास्त्र

पशुबलिका सवालमा शास्त्रहरूले हिंसा र अहिंसा दूवैलाई मान्यता दिएको छ | आफ्नो परम्पराअनुसार चाडवाड मान्नुपर्छ | बलि दिनेले बलि नदिनेलाई र बलि नदिनेलाई बलि दिनेले आलोचना गर्नु आवश्यक छैन | शास्त्रहरुले पशुबलि र विशुद्ध सात्विक दूवै प्रकारका विधानहरूलाई मान्यता दिएका छन् | वैदिक सनातन धर्मको विशेषता हो कि हरेक व्यक्तिले आफ्नो परम्पराअनुसार ईश्वरको आराधना गरेर स्वर्ग वा पुण्य प्राप्ति गर्न सक्छन् | पशुबलि विधानको मूलमा "शक्ति" प्राप्तिको लक्ष रहेको थियो भन्ने तत्थ्य शास्त्रहरूले यत्रतत्र बोलेको हुँदा स्थापित परम्परा नै मान्नुपर्छ | विगतमा पशुबलि र अहिंसकको विवाद थिएन तर विकासेहरूले मलजल गरेका कारण "बलि" विवादको विषय बन्ने गरेको छ |

जवजव दशैं आउँछ, विकासेहरू अहिंसाको वकालत गर्छन् | यो नेपालको मौलिकताउपर ठाडो प्रहार हो | किनभने यी विकासेहरू बकरीदका दिन लाखौं पशुको हत्या हुँदा चुइक्कसम्म बोल्दैनन् | दशैंको वेलामा तथाकथित विकासे (होटल होटल चहारेर विभिन्न मासुका परिकार खाने) ले पशुबलिको विरोध गरेको देखिन्छ | तेसैगरी केही "अहिंसा"को प्रबर्धन गर्ने नाममा बलि विरुद्ध उग्रता प्रदर्शन गर्छन् | जव शास्त्रले पशुबलि युक्त र पशुबलिरहित दूवै पूजाआजाको व्यबस्था गरिदिएको छ भने एकअर्काको आलोचना गर्नुको साटो आफ्नो कुल परम्पराअनुसार पूजाआजा सम्पन्न गर्नेतिर ध्यान दिनुपर्छ | वैदिक सनातनीहरूनै गूट बनाएर पक्ष-विपक्षमा उभिंदा तेस्रो पक्ष अर्थात् विकासेहरू र धर्मपरिवर्तन गराउने पक्षचाहिं निकै मजबूत भैरहेका छन् भन्ने हेक्का राख्नुपर्छ |

पशुबलिका पक्षमा शास्त्रीय उदहारण पढौं - एवं हृष्टैर्निशां नीत्वा प्रभाते अरुणोदये । घातयेन्महिषान्मेषानग्रतो नतकन्धरान् ।। शतमर्धशतं वापि तदर्धं वा यथेच्छया । सुरासवधृतैः कुम्भै स्तर्पयेत्परमेश्वरीम् ।। निर्णयसिन्धु, पृ. २३५ को यो श्लोकले पशुबलिको समर्थन गरेको छ भने मनुस्मृतिमा पनि बलिको पक्षमा श्लोकहरू छन् | यसैगरी शिव महापुराणको रुद्रसंहिता २ को खण्ड ५ को अध्याय छ मा प्रष्टसंग "एकाभिन्नक्षिते जीवं त्रैलोक्ये रक्षितं भवेत् | घातिते घातितं तद्वतस्माद्रक्षेन्न घातयेत् - अर्थात् एउटा जीवको रक्षा गर्नुभनेको त्रिलोकका जीवहरूको रक्षा गर्नु हो र एउटा जीवको हत्या गर्नु भनेको तीनलोकको हत्या गर्नु हो तेसैले जीवहत्या गर्नु हुँदैन | यी दूवै बचन शास्त्रकै हुन् | आफ्नो अनुकुल व्याख्या गर्नुहुँदैन | दूवै श्लोकको लक्ष स्वपरम्पराअनुसार आ-आफ्नो रितिरिवाजको पालना गर्नुपर्छ भन्ने मात्र हो |

व्याबहारिक दृष्टिकोणले विचार गर्दा १००% अहिंसात्मक तथा १००% हिंसात्मक दूवै पूजापद्धति असम्भव विषय हुन् | जो अहिंसाका पथमा छन्, उनीहरूले अहिंसाको पक्षमा कुरा गर्दा पशुबलिको परम्परा भएकाहरू आक्रोशित हुनुपर्दैन र पशुबलिको परम्परा भएकाले पशुबलि दिंदा पशुबलिको परम्परा नभएकाहरू आक्रोशित हुनु पर्दैन | बरू, दूवै पक्षले एकअर्काको आलोचना वा प्रत्यालोचना नगरी कन आ-आफ्नो शास्त्रीय मर्यादा रितिरिवाज (शास्त्रसहित) उल्लेख गर्दा सर्वसाधारणले आफ्नो प्रकृतिअनुसार निर्णय गर्न पाउँछन् |

म आफै जन्मजात शाकाहारी हुँ तर म शाकाहारी हुँ भन्दैमा शास्त्रले प्रष्ट रूपमा उल्लेख गरेका पशुबलिका तत्थ्यहरूलाई नकार्न सक्दिन | नेपालका गाउँगाउँका कोटहरूमा तथा देवीका मन्दिरहरूमा पशुबलिको वास्तविकतालाई नकार्न सक्दिन | शाक्त र स्मार्त परम्परामा पशुबलिको शास्त्रीय विधान उपलब्ध छन् | तान्त्रिक विधानमा पशुबलिलाई अनिवार्य भनिएको छ भने प्राचीन इतिहासमा समेत राजाहरूले शक्ति प्राप्त गर्न पशुबलि यहाँसम्म कि शक्ति प्राप्त गर्न आत्मबलि समेत दिएका प्रसस्त इतिहास छन् |

एति हुँदाहुँदै पनि कलियुगी मान्छेले पशुबलि बलि दिंदै गर्दा शास्त्रीय विधानको पूर्ण पालना गर्न नसक्ने हुँदा पशुबलि प्रत्युत्पादक हुन सक्छ | शास्त्रहरूले जिव्रोको स्वादका लागि, रमाइलोका लागि पशुबलिको विधान पटक्कै गरेको होइन | यदि पशुबलि दिंदैगर्दा मनको कुनै कुनामा "मासुको स्वाद" जोडियो भने तेसले जीवलाई नर्कमा लैजाने छ | कलियुगमा पशुबलि दिनु भनेको तलवारको धारमा हिड्नु सरह हुन्छ भन्ने बुझ्नेहरूको कल्याण हुन्छ |

शास्त्रहरूले जुन कडा विधान बनाएर पशुबलि स्वीकृत गरेको छ, कलियुगी मनुवाले ती नियमहरू पालन गर्दै पशुबलि दिन्छन् भन्ने तत्थ्यमा निकै शङ्का गर्न सकिन्छ | आजको सन्दर्भमा बलि दिनुनै पर्छ भने मनभित्र रहेको लोभ, लालच, भ्रष्ट्राचार, अनाचारआदिको दिनुपर्छ | भगवती दुर्गामा दुर्भावहरूको बलि दिएर बरू मासुचाहिं पसलबाट किनेर प्रयोग गर्न सकिन्छ | पशुबलि बलि दिंदै गर्दा शास्त्रीय विधानहरू, रीतहरू तथा पद्धतिहरू पुर्याउन सकिएन भने नर्कमा जाकिने वा अशान्तिको कारण बन्न सक्नेछ | एउटा मात्रा विग्रंदा इन्द्रले वृत्त्रासुर मार्न सफल भए भने विधाननै बिग्रियो भने पशुबलिदाताको के हविगत होला ? विचार गर्नुपर्छ |

दशैंतिहार हामी सबै नेपालीको साझा चाड हो | हिन्दूहरूको मात्र भनेर कित्ताकाट गर्नेहरू बैचारारिक रूपमा अपरिपक्व वा कसैका "गोठाला" हुन् | आ-आफ्नो कुल परम्पराअनुसार पूर्ण स्वामित्वका साथ दशैं मानौं, मनाओं तर कसैसंग जवर्जस्ती नगरौं | त्यो भन्दा पनि महत्वपूर्ण यदि तपाईंका छिमेकी गरिवीका कारण खुशीबाट बंचित हुँदैछन् भने उहाँलाई सक्दो सहयोग गरौँ | उहाँहरूको खुसीले हामी सबैको जीवन अझैं सुखले भरिने छ |

स्वस्तिअस्तु

असली दर्शनशास्त्र !!

असली दर्शनशास्त्र के हो र कुन् हो ? दर्शनशास्त्रका विद्यार्थीहरूले एस्तो प्रश्न कम नै गर्छन् | तर जसले गरे पनि प्रश्न त प्रश्न नै हुन् | सबै प्रश्नको उत्तर हुँदैन तर उत्तर नभए पनि प्रश्नचाहिं हुन्छन् | सबैभन्दा बढी महत्व प्रश्नको हुन्छ जसले उत्तर खोज्न, त्यो पनि तर्कसंगत र सकेसम्म "सही" उत्तर खोज्ने प्रेरणा दिन्छ | प्रश्नकर्ता जे-जस्तो होस् उत्तरदाता चाहिं निकै सावधान र मर्यादित हुनुपर्छ किनभने उत्तरमा एउटा नवीनतम सिद्धान्तको जन्म हुन सक्छ जसले विश्वको चिन्तनलाई रुपान्तरित गर्न सक्छ |

दर्शनशास्त्र के हो ? यो प्रश्न निकै सरल र गहन छ | यसमा कुनै प्रकारको छलछाम छैन | छलछाम नै भए पनि उत्तरदाताले विवेकशील उत्तर दिन सक्छ | विश्वका प्राचीनकालदेखि नवीनतम दार्शनिक चिन्तनहरूको इतिहास र विश्लेषण गर्न सक्छ | दर्शनशास्त्र के हो ? यो उत्तर खोज्ने क्रममा अनेकौं दार्शनिक सिद्धान्तहरूको सम्पादन भएको छ | भाषा, भूगोल, बुझाई तथा संस्कृतिअनुसार विश्वका हरेक कुनामा आ-आफ्नो तरिकाले प्रश्न खोजिएको छ | आजको मितिमा पनि "दर्शनशास्त्र के हो ? भन्ने प्रश्न लोकप्रिय नै छ |

हजारौं पुस्तक लेखिएका छन् | अनेकौं सिद्धान्त रचिएका छन् | अनेकौं मान्छेले फरकफरक सिद्धान्तहरूलाई सत्य मानेर तेही आधारमा जीवन यापन गरिरहेका छन् | एउटा सिद्धान्तबाट उठेर हेर्दा अर्को सिद्धान्त चरमविरोधाभाषी देखिए/बुझिए पनि मान्छेहरूले आफ्नो बुझाई र अभिरुचिअनुसार अनुशरण गरिनै रहेका छन् | यही भिन्नताका कारण दर्शनशास्त्र के हो ? भन्ने प्रश्नको उत्तर उत्तिकै नवीन र सम्भावनायुक्त छ | आज पनि यो प्रश्न बोकेर जिज्ञासुले नवीनतम उत्तर प्राप्त गरेर विश्वलाई अझैं सुखी वा दुखी बनाउन सक्ने सम्भावना जीवित नै छ |

एउटा शब्दमा भन्नुपर्दा असली दर्शनशास्त्रको प्रश्न सधैं जीवन्त रहेर सत्यको खोजका तम्तयार हुन्छ |

दोश्रो प्रश्न कि असली दर्शनशास्त्र कुन् हो ? को उत्तर सजिलो छैन | दर्शनशास्त्रलाई बुझ्ने विद्यार्थीले एस्तो प्रश्न गर्दैन | यदि कसैले एउटा निश्चित दार्शनिक "वाद" अन्तिम सत्य मानिसकेको छ भने सम्बन्धित व्यक्तिलाई उसले अनुकरण वा अनुसरण गर्दै आएको "वाद" नै अन्तिम सत्य हुन्छ | धेरैजसो "असली दर्शन कुन् हो ? भनेर प्रश्न गर्नेहरूको बौद्धिक स्वतन्त्रता उसले अनुशरण गरेको दार्शनिक वादले रुग्ण बनाइसकेको हुन्छ | उसका लागि त्यही दार्शनिक "वाद" असली हो जसको उ आफै अनुयायी बनेको छ | अर्थात्, उसलाई आफ्नो पर अरूका प्रश्नको उत्तर थाहा छ |

उदाहरण-१ मैले एकजनासंग सोधें - दर्शनशास्त्र पढ्न चाहन्छु तर कुन् पढौं थाहा छैन | उहाँले भन्नुभयो "विशिष्टताद्वैत" वाहेक अन्य दर्शनशास्त्रको कुनै अर्थ छैन किनभने अन्यले सत्यको उद्घाटन गर्न सक्दैनन् | यदि तिमी दर्शनशास्त्र पढ्न चाहन्छौं भने विशिष्टताद्वैतको विकल्प छैन | अन्यलाई सही अर्थमा दर्शनशास्त्र भन्न नै मिल्दैन | हो, उनको लागि जीवनको अन्तिम सत्य यही हो तर मेरा लागि पुगेन | मेरो जिज्ञासाले उहाँले दिएको उत्तर भन्दा बढी अपेक्षा गरेको थियो |

उदाहरण - २ मार्क्सवादीहरूका लागि मार्क्सले "पूँजी"को स्वरूप प्रकट गर्न प्रतिपादन गरेको "वर्गीय द्वन्द्व" नै सबैभन्दा असली "द्वन्दात्मक भौतिकवाद" हो | प्राचीनदेखि सुदुर भविष्यसम्म यसले "विज्ञान"लाई मार्गदर्शन गरिनै रहने छ | द्वन्दात्मक भौतिकवादको अर्को विकल्प हुनै सक्दैन | मार्क्सवादीहरूले बहुधा प्रयोग गर्ने "प्रगतिशील" शब्द नै द्वन्दात्मक भौतिकवादको पूर्वाग्रहमा परेर दूषित भएको छ | जसरी यहुदीहरू इसाईको, इसाईहरू मुस्लिमको र आफुभिन्न अरूको धार्मिक अस्तित्वलाई अस्वीकार गर्छन् तेसरी नै प्रगतिशीलहरू अन्य दार्शनिक सिद्धान्तहरूलाई अस्वीकार गर्छन् वा द्वन्दात्मक व्यबस्थाको नयाँ अवस्था भनेर ढिप्पी गर्छन् |

प्रकृतिले नै मान्छेको भाग्यमा तार्किकता, विवेक तथा बौद्धिकता लेखेर पठाएको छ | मान्छेको प्रगतिलाई कसैले रोक्न सक्दैन | अहिलेको विकास त केवल मानिसको बुद्धि र तर्कले गर्न सक्ने सानो चमत्कारको एउटा अंश हो | दुई लाख वर्षदेखि प्रगतिको बाटो खोजिरहेको मान्छेको तर्कले बाटो पहिल्याएको छ | उप्रान्तका प्रगतिको बाटोको सानो चौपारीचाहिं १०० वर्षभित्र १००० वर्षको आयु प्राप्त भएपछि आरम्भ हुनेछ | तेसपछि यो पृथ्वीभन्दा वाहिरका जीवनहरूका लागि दर्शन र सिद्धान्तहरूको अभिनिर्माण हुनेछ | मान्छेहरूका लागि जन्म, मृत्यु, वृद्धावस्था र रोग कुनै समस्या रहने छैन |

दर्शनशास्त्र विगतको इतिहासबाट प्राप्त भविष्यको सपना पनि हो तर यो एस्तो सपनाको मात्र कुरा गर्छ जुन् भविष्यका मान्छेहरूले प्राप्त गर्न आवश्यक छ | आजको स्वर्ग, नर्क, पापपुण्य, आत्मा-परमात्माजस्ता चिन्तनहरू निकै रुपान्तरित हुनेछन् | सन् १८६५ सम्म विश्वका मान्छेहरूको आयु सरदार ३५ वर्षमात्र थियो | आज सन् २०२२ म विश्वका मान्छेहरूको आयु ७३ वर्ष पुगेको छ भने सन् २१२२ मा विश्वको हरेक मान्छे ढुक्कसंग १००० (एकहजार बर्ष) बाच्ने छ | ३५ वर्षको सरदार आयु भएको मान्छेको बुद्धिले विगत ३ हजार वर्षमा निर्माण गरेको "प्रगति"ले मान्छे वर्तमानमा आएको छ भने १००० वर्ष सरदार उमेर भएको मान्छेले देख्ने दर्शन नितान्त फरक हुने छ | जसरी १०० वर्ष अगाडिको मान्छेको लागि हालको टेलिभिजन, मोबाइल, कम्प्युटर अचम्मका विषय हुन् तेसरी नै १०० वर्षपछि अहिलेका दार्शनिक विषयहरू इतिहासका अविकसित विषय ठहरिने छन्

उपरोक्त दुई पैरग्राफमा जे पढ्नुभयो, यो निरपेक्ष दर्शनशास्त्र हो | यदि तपाईंका मनमा प्रश्न आउँछन् भने पनि प्रश्न गर्नु र उत्तर खोज्नु मान्छेको स्वभाव हो | यदि तपाईं उपरोक्त तत्थ्य अर्धसत्य हो वा नास्तिकताको प्रलाप हो भन्दै आफुभित्र रहेको पूर्वाग्रहसंग तुलना गर्दै हुनुहुन्छ भने तपाईं कुन् असली दर्शन हो भन्ने प्रश्नको उत्तर होइन आफ्नो विश्वासभित्र रहेको पूर्वाग्रहको दासता स्वीकार गर्दै हुनुहुन्छ | मैले यसलाई स्वाभाविक ठान्छु किनभने म र तपाईंजस्ता अनेकौं मान्छेहरू २१२२ भोग्न जीवित रहने सम्भावना निकै न्यून छ |

दर्शनशास्त्र के हो ? यो प्रश्न सजिलैसँग बुझ्न सकिन्छ तर कुन् असली दर्शनशास्त्र हो ? भन्ने प्रश्नचाहिं त्यति सजिलो छैन तर धेरैजसो संस्कृतिहरू यसै प्रश्नको उत्तरमा अडिएका छन् | असली दर्शनशास्त्र त्यही हो जसले तपाईंको जीवनलाई परिचय दिएको छ, तपाईंको परिचय निर्माण गरेको छ | आफ्नो सत्यको अनुशरण गरिरहँदा अर्काको सत्यलाई अस्वीकार गर्ने पूर्वाग्रह त्याग्न सके दर्शनशास्त्रको भविष्य अझैं तेजस्वी हुने छ र हाम्रो बौद्धिक तथा विवेक गतिशील रूपमा सत्यको उद्घाटनतिर अभिप्रेरित हुनेछ |
स्वस्तिअस्तु

Friday, February 4, 2022

गयासुद्दीन र पर्वत

नालन्दा-तक्षशीला, पर्वत र गयासुद्दीन तुगलक
पश्चिमाहरूको इतिहासका भर परेर धेरैजसो नेपाली बौद्ध र तथाकथित विदेशीहरूले आफ्नो फाइदाका लागि विज्ञ भनेर किनेका नेपाली मूलका विद्वानहरूले सन् ८०० तिर श्रीशंकराचार्यले काठमाडौँका बौद्धहरूलाई पराजित गरेर बौद्ध-पुस्तकालयमा आगो लगाएर बौद्धहरूको बर्चश्व मासेका थिए भन्ने आरोप लगाउँछन् |

बास्तविक तत्थ्य के हो भने भारतको तक्षशीला र नालन्दाका विश्वविद्यालयहरूमा आक्रमण गरेर मोहम्मद गजनवीले सबै थोक नष्ट पारेको थियो | तेसै बखत केही श्रमण र ब्राह्मणहरूले आफुले सक्ने हस्तलिखित कितावहरू बोकेर भाग्ने क्रममा गण्डकी बेसिनको प्रयोग गरेका थिए |

तेस बखत भारतेली तीर्थालुहरू शालीग्राम खोज्न र मुक्तिनाथको दर्शन गर्न जान्थे | गण्डकीको खोंचमा भएको हुँदा मुस्लिम आक्रमणकारी बाट सबैभन्दा सुरक्षित रहेको ठानी श्रमण र ब्राह्मणहरूले गण्डकी-बेसीन अर्थात् हालको पाल्पा, पर्वत, वाग्लुंग तथा म्याग्दी क्षेत्रलाई शास्त्रहरूको सुरक्षा गर्ने र तेसको शिक्षा दिने काम गरेका थिए |

त्यसमा पनि पर्वतमा रहेका ठूलाठूला फाँटहरू र त्यहाँ फाल्ने अन्नले तिनलाई सघाएको हो | पर्वतेली मल्ल राजाहरू आफैमा संस्कृतका प्रेमी तथा विद्वान भएको नाताले पनि भागेर आएका विद्वानहरूले त्यहाँ सजिलैसंग आश्रय पाएको हुन्छ | खासगरी, पैयुँ, बिहादी, मोदीवेणी, वेनी, ग्यादी, पांग, बलेवाआदि क्षेत्रहरू संस्कृत विद्याका लागि निकै प्रसिद्ध थिए |

पछि, काठमाडौँ उपत्यकातिर यहीं बाट पुस्तकहरू बोकेर विद्वानहरू गएको र चारैतिरबाट पर्वतले घेरेको हुँदा यसलाई सुरक्षित ठानेर पुस्तकहरू पशुपति, पाटनमा पुस्तकालय बनाएर विद्याको प्रचार गरेको भन्ने मत अनुसन्धाता डा. लक्ष्मी खतिवडाको रहेको छ |

यहाँ मैले उल्लेख गर्नैपर्छ कि काठमाडौँका पुस्तकालयहरू जलाउने काम सन् १३०० तिर बङ्गालको मुस्लिम आक्रमणकारी गयासुद्द्दीन तुगलकले गरेको हो | उसले त्यस बखत पुस्तकालय आगो लगाएको र ती पुस्तकालयहरू २८ दिनसम्म जलिरहेको व्योहोरा इतिहासले प्रमाणित गरेको हो |

गयासुद्दीनले बौद्ध-चैत्य तथा मन्दिरहरू भत्काएर सुन, हिरामोती लुकेको थियो र तेसै बखत पशुपतिनाथको लिंगसमेत तोडेको थियो | हाल पशुपतिनाथको लिंग पुननिर्मित हो भन्ने विद्वानहरूको मत छ | आचार्य शंकरलाई दोष दिनेहरू विदेशीहरूका दास हुन् अथवा अबुझ हुन् |

दुखको कुरो त के भने नालन्दा र तक्षशीलाबाट ज्यानको माया समेत नगरी श्रमण तथा ब्राह्मणहरूले गण्डकीको खोंच (पर्वत)मा जोगाएको शास्त्रलाई मुस्लिम आक्रमणकारी गयासुद्दीनले काठमाडौंमा जलायो | तेसमा बौद्ध-साहित्यमात्र होइन पाली, संस्कृत (हिन्दू) ग्रन्थ पनि जलेर खरानी भए | अल्पज्ञहरूले तेसको दोष आचार्य शंकरलाई दिंदैछन् जसको विषयमा कुनै पनि काठमाडौँ उपत्यकाका बज्रयानी विद्वानहरूले उल्लेख गरेको भेटिन्न | तेस्तो छ भने प्रमाण देखाउन चुनौती दिन्छु |

तक्षशीला र नालन्दाबाट बोकेर ल्याएका बौद्ध, जैन तथा हिन्दू ग्रन्थहरू नेपाली कागजमा उतार्ने काम पर्वतका विद्वानहरूले गरेकोले सबै साहित्य काठमाण्डौमा मात्र खुम्चिनु परेन | पर्वतेली विद्वानहरूका घरमा ती सुरक्षित रहे र पुन: वि.स. १६०० तिर पुन: काठमाडौंका पुस्तकालयमा पुस्तकहरू एकत्रित भए | तर सबै पुस्तकहरू गण्डकी-मैदानबाट आएका हुन् भन्न सकिन्न |

तै भएर होला, स्वामी प्रपन्नाचार्यले पर्वतलाई दोस्रो "काशी" सम्बोधन गरे | आज पर्वतमा संस्कृतका केन्द्र छैनन् तर पर्वतेली विद्वान् डा.रेग्मीका अनुसार २०२८ साल,मा पर्वतमा ४८ बटा मा.वि. थिए जवकि छिमेकी बाग्लुंग जिल्लामा केवल ९ बटा | एसले पनि पर्वत सधैं विद्याको क्षेत्रमा अग्रणी रहेको तत्थ्य प्रमाणित हुन्छ | पर्वतले सनातनी त बौद्धहरूको संरक्षणमा ठूलो गुण लगाएको छ |

पर्वतेलीहरूले (बाग्लुङ, स्यांग्जा, गुल्मी, कास्की, अर्गाखाँची, म्याग्दी) आफ्नो यो गौरवपूर्ण इतिहासको रक्षा गर्न पहल गर्नुपर्छ | कर्मकाण्डी हिसावले होइन एउटा अनुसन्धाताका रूपमा यी क्षेत्रमा लेखिएका र सुरक्षित गरिएका प्राचीन पाली तथा संस्कृत साहित्यको खोज तथा प्रकाशनतिर अग्रसर हुनुपर्छ | तेसै पनि प्रकृतिले पर्वतलाई नेपालको मध्यविन्दूमा पारेको छ भने नक्सा पनि झन्डै नेपालसंग मिल्दो छ | एस्तै इतिहास अन्य क्षेत्रको हुनसक्छ तिनको खोज गर्नुपर्छ |

आज पनि पर्वतका गण्डकीको काखमा फैलिएका पर्वतका फाँटहरू विश्वविद्यालय स्थापनाका लागि सबैभन्दा उत्तम छन् र पर्वतेलीहरूको प्राचीन इतिहासले समेत पर्वतले विश्वभरी ज्ञानको नेतृत्व गर्न सक्छ भन्ने साहस दिन्छ | अवको पालो आफ्नो गौरव चिन्ने र त्यो गौरवस्थापित गर्न पर्वतलाई पुन: विद्याको केन्द्र बनाउनेतिर पहल गर्नुपर्छ |

Tuesday, December 21, 2021

श्रीमद्भगवद्-गीता छैठो आयाम

श्रीमद्भगवद्-गीता  छैठो आयाम
हामी तेस्रो आयाममा छौँ | चौथो आयाम समय हो जसले हाम्री समेत समस्त विश्वको जन्म, पालन र अन्त्यलाई नियन्त्रित गर्छ | पाँचौ आयाम भनेको हाम्रो भाग्यमा नियन्त्रण गर्ने शक्ति हो भने छैठो आयाम ब्रह्म हो जसले सम्पूर्ण विश्वको सृष्टिको निर्माण गर्छ | श्रीमद्भगवद्-गीताले प्राथमिक तीनबटा आयामहरूसंगै अघिल्ला तीनबटा आयाम अर्थात् समय, भाग्यविधाता र ब्रह्मसंग जीवको मिलन गराउँछ |

संस्कृतमा "ब्रह्म" शब्दको अर्थ विशालतम भन्ने हुन्छ | यही विशालतमबाट ब्रह्माण्डको निर्माण भएको हो | कुनै पनि वस्तु वा विषय यस विशालतमबाट वाहिर हुनै सक्दैनन् | एउटा अणुले ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने ब्रह्माण्डले अणुको | आजको विज्ञानले यो तत्थ्यलाई स्वीकार गरेको छ |

गीताले एउटा व्यक्तिलाई साधना गरेर आफुभित्र सम्पूर्ण ब्रह्माण्डलाई साक्षात्कार गर्न अभिप्रेरित मात्रै गर्दैन अपितु त्यो अवस्था प्राप्त गर्ने साधना पनि बताउँछ | पाँच महाभूत (पृथ्वी, जल. तेज, वायु र आकाश)को अस्तित्व मान्ने तर चेतनाको श्रोतलाई अस्वीकार गर्ने आधुनिक भौतिक विज्ञानको निष्कर्ष त्रुटिपूर्ण ठान्छु | जसरी विशालभित्र भौतिक वस्तुहरूको उपलब्धि छ तेसैगरी चैतन्यतत्वको पनि उपस्थिति छ |

ब्रहम र ब्रह्माण्डको अंशका रूपमा हरेक व्यक्तिले आफ्नो विराटअवस्था साक्षात्कार गर्न सक्छ | अर्जुनले विराट रूपको दर्शन गरेका थिए भन्नुको अर्थ हो अहिलेको त्रिआयामबाट माथि उठेर छैठौं आयाम अर्थात् अणुमा विराट र विराटमा अणुको आत्मसाक्षात्कार तथा एकीकृतभावमा स्थापित हुनु | उपनिषद् तथा पुराणहरूमा धेरै व्यक्तिहरूले साधना गरेर यो अवस्था प्राप्त गरेका उदाहरण उपलब्ध छन् |

मैले आफै पनि धेरैपटक गायत्री जप्दै गर्दा भौतिक शरीरले पन्चमहाभुतसंग र चेतनाले सत्चिन्दनंद अवस्थाको क्षणिक अनुभूति गरेको छु | मेरा अनुभूतिहरू मनोबैज्ञानिक विकृति वा मनोविषाद होइनन् | यी अनुभूतिहरूले मलाई सधैं प्रसन्न रहन र पुन: तिनै अनुभूतिहरूको उद्योग गर्न अभिप्रेरित गर्छन् | आहार, विहार तथा क्रियामा सात्विकता हुनुपर्छ भन्ने साधनामा विश्वास नगर्ने तर विराटको साक्षात्कारमा अभिरुचि राख्नेहरूका लागि विराट सधैं अनुपलब्ध विषय हुनेछ | छैठौं आयाममा आरुढ़ हुन तेसका नियमहरू, साधनाहरु, खुड्किलाहरू चड्दै जानुपर्छ |

मनोमय शरीरबाट माथि उठ्न नचाहनेहरूका लागि "आकाशको फल आँखातरी मर" भनेझैं ब्रह्माण्डका कणकणमा फैलिएको विशालता सधैं अन्धविश्वासमा गुम्ने छ | जवसम्म हामीले ब्रहम तथा ब्रह्माण्डका बिचको अन्तरसम्वन्ध र एकत्वको (चैतन्य तथा जड) आत्मानुभूति गर्दैनौं तवसम्म हाम्रो लागि जडपदार्थ सत्य प्रतित हुन्छ तर जडपदार्थलाई चिन्न, नियमन गर्न र अनुभूति गर्न सक्ने चैतन्य अविज्ञात नै रहन्छ | चेतनारहित जड र जडरहित चेतना व्याबहारिक रुपमा सम्भव विषयवस्तु हुन् भने आध्यात्मिकस्तरमा दूवै अविच्छिन्न विषय हुन् |
गीताका अनुसार छैठो आयाम कुनै काल्पनिक (मनोवाद) होइन | व्यक्तिले साधना गरेर प्राप्त गर्न सक्छ | अन्नमय, प्राणमय, मनमय, विज्ञानमय र आनन्दमय कोशहरूको यात्रा गर्न शरीर नै चाहिन्छ किनभने शरीरसंग आबद्ध रहेको चेतनाले नै यी पांचआयामहरूको साक्षात्कार गर्न सक्छ | शरीरको विनाशपछि गरिने साक्षात्कारको भौतिक प्रयोजन हुँदैन | तेसैले योगकारले योगसाधनाको आधार शरीरलाई तोकेका छन् र यसलाई भौतिक, मानसिक तथा आध्यात्मिकतहमा स्वास्थ्य राख्ने विधिहरू निर्माण गरेका छन् | विधि स्वीकार नगर्ने तर आलोचना गर्नेहरू दयाका पात्र हुन् |

वाम, दक्षिण र मध्यमको शब्दजाल


वाम, दक्षिण र मध्यमको शब्दजाल
वाम र दक्षिण पन्थ भन्ने शब्दहरू नेपाली मिडिया र तथाकथित बुद्धिजीविहरूमा निकै प्रचलित छन् | वाम शब्दलाई विकासवादी, प्रगतिशील, बैज्ञानिक तथा आधुनिकतासंग जोड्ने र दक्षिण शब्दलाई पुरातनवादी, विकासवाद विरोधी, अवैज्ञानिकता र नेपालका हकमा हिन्दूवादी तथा राजावादीहरूलाई समेत जोड्ने गरिन्छ | यो सबै भारतीय कम्म्युनिस्ट दार्शनिक देवीराम चट्तोपाध्यायको देन हो र नेपाली बुद्धिजीवि तथा तथाकथित मोडर्नहरूले तिनैबाट सिकेका हुन् |

अंग्रेजीको राइट-विंग नेपालीमा दक्षिण र अंग्रेजीको लेफ्ट विंग नेपालीमा वाम बनेको पढ्न सकिन्छ | के साच्चिकै दक्षिणधर विकास विरोधी, अवैज्ञानिक, पुरातनवादी र नेपालका हकमा हिन्दूवादी नै हुन् ? अनि, वाममार्गी भनेका साच्चिकै प्रगतिशील, आधुनिकतावादी, विज्ञानसम्मत र अग्रगामी छन् ? व्यबहारमा ठीक उल्टो छ | प्राय:जसो मार्क्सवादीहरू "जडसूत्रवादी" हुन्छन् भने विकासमा भन्दा विनाशमा बढी भर पर्छन् | तथाकथित "वामपन्थी"हरूले आफ्नो राजनैतिक शक्तिले सम्बन्धित देशको "उन्नति" गरेको भेटिंदैन् | चीनलाई जडवादी कम्युनिष्टहरूले "वामपन्थी" नै मान्दैनन् |

विश्वमा जेजति विकास भएका छन् - मूलत: दक्षिण पन्थिहरूकै वर्चश्वमा भएका छन् | बामपन्थिहरूले अमेरिका, वेलायत, युरोप, अस्ट्रेलियाजस्ता विकसित देशहरूलाई "दक्षिण" पन्थी भनेर आलोचना गर्छन् तर विश्वका हरेक बामपन्थी यिनै देशको नागरिक बन्न चाहन्छन् | मैले धेरै नेपाली कम्युनिस्ट नेताहरूलाई चिनेको छु, जसले आफ्ना सन्तानहरूलाई उपरोक्त "दक्षिण पन्थि" देशमा पढाएर उनीहरूकै आलोचना गरेर जीविकोपार्जन गरिरहेका छन् |

तेस्रो धारलाई "माध्यममार्गी" भन्ने गरिन्छ | मुलत: तथाकथित धर्मनिरपेक्षहरू, वामपन्थ र दक्षिण दूवैसंग सहकार्य गर्न नसकेका र चरम अवसरवादीहरूले मध्यममार्गको प्रतिनिधित्व गर्छन् | बामपन्थिहरूसंग भेट्दा आफुलाई वामपन्थीको शुभचिन्तक भन्ने र दक्षिण पन्थिहरूसंग भेट्दा आफु "स्वतन्त्रता"को पक्षधर "प्रजातान्त्रिक" भन्दै दूवैतिर ठीक्क हुने यो धारको विशेषता हो | नेपालका हकमा यो वर्गले सधैं बहुमतको विरोधमा काम गर्छ | अल्पसंख्यकको नाममा घृणावाद फैलाउन र त्यो असंगति देखाएर पूँजीवादी र सर्वहारा दूवैसंग "डलर" चप्काउन्छ |

अव अलिकति इतिहासतिर जाउँ | फ्रान्सेली क्रान्ति (१७८९) तिर यो शब्दको प्रचलन भएको थियो | तत्कालीन राज्य सत्ता कब्जा गरेका किसानहरूले आफुलाई लेफ्ट भने र तत्कालीन संसदलाई राइट भने | यहाँ राइट शब्दको मूल अर्थ "किसान-विरोधी सत्ता" भन्ने थियो | पछि, मार्क्सवादीहरूले फ्रेन्च-किसानहरूको यो आन्दोलनलाई "समाजवाद"संग जोडे | मूलत: पूँजीवादलाई सम्वोधन गर्न "राइट"शब्दको थालनी भयो | अर्कोतिर, १७९२ मा नया फ्रेन्च संसदको बैठकमा क्रान्तिकारीहरू संसदको बाँया सीट, आफुलाई तटस्थ राख्नेहरू बीचमा र आफुलाई राजावादी ठान्नेहरू (तेस बखतका धनिमानीहरू) दाहिनेतिरका कुर्सीमा बस्ने गरेका थिए | तेसै बखतदेखि दक्षिण र वाम यी शब्दहरू राजनैतिक वृत्तमा उदाए |

अव नेपालको कुरा गरौँ | नेपालका वामपन्थिहरूले आफुलाई "प्रगतिशील, वैज्ञानिक तथा अग्रगामी" भएको ठान्छन् तर व्यबहारमा कतिविध्न अव्यवहारिक र एकआपसमा असंगत छन् भन्ने तत्थ्य प्रचण्ड बहुमतमा बनेको ओलीको सरकार ढलेकोबाट देख्न सकिन्छ | वामपन्थी भन्ने "प्रगतिशील"हरूले आफ्नो बचाउँका लागि जे-जस्तो तर्कदिए पनि यिनीहरू बीच एकआपसमा लुकेको घृणावाद र जडसूत्रवाद छताछुल्ल भएको छ | आजको नेपाली परिवेशमा वामपन्थ भनेको संधैं अर्काको आलोचना गर्ने, कसैले उद्योग गर्न थाल्यो भने पूँजीवादको उदय देख्ने, आफु बाहेक सबैलाई पुरातनवादी ठान्ने रोगबाट ग्रस्त छन् | यिनका नाराहरू धेरै आकर्षक छन् तर व्यबहार निक्कै अप्रगतिशील र स्वार्थी छ |

दक्षिणपन्थिहरू नेपालमा छन् कि छैनन् ? म द्विविधामा छु | मार्क्सको परिभाषाअनुसार "पूँजीवादी तथा पुँजीपति" दक्षिण पन्थि मान्नुपर्छ | नेपालमा आफ्नो पूंजी नभएको कुनै परिवार छैन | मार्क्सवादलाई मान्ने धेरैको आफ्नो निजी-सम्पति छ अर्थात् पूंजी छ | धार्मिकहरूलाई दक्षिण पन्थि भन्ने अर्थ फ्रेन्च-क्रान्तिकारीले गरेकै थिएनन् | यदि स्वधर्म, संस्कृति र आत्मउत्थान गर्दै अर्कोको लागि रोजगारी दिने, राष्ट्रीय कोषमा राजश्व दिने, आफ्नो धर्म, संस्कृति तथा देश र जनताका विषयमा चासो राख्ने र घृणावाद विरुद्ध बोल्नेहरू दक्षिण पन्थी हुन् भने एस्तो दक्षिण हुनु गौरवको कुरा हो | बनेको भत्काउने भन्दा बनाएर दुईजनालाई रोजगारी दिने धेरै महान् हुन्छ |

तेस्रोवर्ग अचम्मको वर्ग हो | धर्मनिरपेक्षता, समानता, मानवाधिकारआदि यो वर्गका कर्णप्रिय नारा हुन् | असलमा यो वर्ग "शक्ति केन्द्र"को चापलुसी गरेर आफ्नो निजी स्वार्थ पुरा गर्ने व्यक्ति हुन् | उदाहरणको लागि नेपालमा एस्तो वर्गले सधैं गरिवी, अशिक्षा, असमानता, वेथिति, अन्याय, भष्टाचारआदि मात्रै खोज्दछ | यो वर्गले "गरिवी"लाई माग्ने भाँडो बनाएर राजनीति र समाजसेवा गर्छ | वामपन्थीसंग "लाभ" भए वामपन्थीसंग र दक्षिणपन्थीसंग लाभ हुने भए दक्षिणसंग लिसोझैं टाँसिने गर्छ | अर्कोतिर दक्षिण र बामलाई भिडाएर तमासा गराउने वर्ग पनि यही हो |

नेपाली वामपन्थीहरूले नेपाली कंग्रेसजस्ता प्रजातान्त्रिक पार्टीहरूलाई मध्यममार्गी भन्छन् भने जरोकिलो, राप्रपाजस्ता पार्टीहरूलाई दक्षिण पन्थी भनेर सम्वोधन गर्छन् | कम्युनिस्टहरूका नजरमा संसदीय राज्यव्यबस्था दक्षिणपन्थ हो | दुर्भाग्यवस, नेपाली मिडियाहरू जसले आफुलाई प्रजातन्त्रका पक्षधर ठान्छन्, उनीहरूले पनि स्वधर्म, स्वसंस्कृति र नेपाललाई केन्द्रमा राखेर गरेका गतिविधिहरूलाई समेत दक्षिण भनेर अपमानित गर्छन् | चरम धर्मान्ध मुस्लिम, इसाई तथा अन्य चरमजातिवादी, क्षेत्रवादीका घृणावादी क्रियाकलापलाई "अधिकार"को जलप दिएर शुद्धीकरण गर्छन् | हिन्दू र राजाका पक्षमा बोल्दैमा कुनै कसरी दक्षिण पन्थी हुन्छ ? उनीहरूसंग कुनै उत्तर छैन | केवल आफुहरू आधुनिक र प्रगतिशील भएको दम्भ छ |

तेसैले, उपरोक्त वर्गहरू मध्ये कुनै पनि वर्गको मतियार नभएको निर्विकल्प "नेपाली मौलिक वर्ग"ले मात्र नेपाल र नेपालीको भलो गर्छ | दक्षिण, बाम र मध्यमका बैचारिक जालमा न परौं | आत्मकल्याणसहित देश र विश्वको कल्याणका लागि आत्मविश्वाससहित मौलिकतावादतिर अग्रसर बनौं | नेपालको समग्र विकासका लागि वैचारिक भ्रमजालहरू तोड्नै पर्छ र तोड्नका लागि यी भ्रमहरू बोकेर जनतालाई अलमल पर्ने नेतृत्वसंगको नाता छोड्नैपर्छ | देशको भलाई यसैमा छ |

Sunday, December 19, 2021

विहादिको नाम यसरी पर्यो

विहादिको नाम यसरी पर्यो
विगत १० वर्षदेखि विहादीको नाम कसरी पर्यो होला भनेर चिन्तन गर्रें | धेरै अग्रजहरूसंग मोबाइल फोनमा कुराकानी भयो | उहाँहरूले आ-आफ्ना विचार, इतिहास र सुनेका कुराहरू बताउनु भयो | यो सबैपछि विहादीको नामको गाँठो फुकेजस्तो लाग्यो | रानीपानी र बराचौरको संयुक्त नाम (अहिलेको गापामा बाच्छा, शालीग्राम, उराम पोखरा, उहाकी ठाटी जोडिएका छन् तर अस्तिसम्म यी विहादी थिएनन्) विहादीको गाँठो खोल्ने छु | विहादी पर्वत जिल्लाको दक्षिणी भेकको एउटा ठूलो गाउँपालिका हो र यसको मुख्यालय वहाकीमा रहेको तर विगतमा विहादी भनेर केवल रानीपानी र बराचौरलाई बुझ्ने गरिन्थ्यो |

विहादीका सेरोफेरोमा पूर्व त्रिविवि नेपाल ल क्याम्पसका सहायक डीन गोविन्द प्रसाद पौडेलले वि.स. २०४० सालमा आफ्नो एमएको थेसिस प्रस्तुत गर्दा विहादी सम्भवत: मगर भाषाको डी अर्थात् पानीसंग जोडिएको हुन सक्ने तर्क अगाडी सारेको र तेस्तै गाई व्याएको हुँदा विहादी भएको तर्क अगाडी सारेको उहाँले यो लेखकलाई बताउनु भएको छ | साथै संस्कृतका प्रकाण्ड विद्वान् सुकृति दत्त पन्तले आफ्नो प्रसिद्ध कृति कार्तवीर्योदयमा विहादिलाई स्वर्गको अर्थमा प्रयोग गरेको पनि प्राप्त छ तर उहाँले विहादिको प्रयोग पर्वतको विहादि भन्ने ठाउँका लागि प्रस्तुत गर्नुभएको हो भन्ने प्रष्ट छैन |

संस्कृतमा विहा शब्दको अर्थ स्वर्ग हुन्छ | विहादि शब्द मूलतः विहामा आदि प्रत्यय लागेर निर्मित भएको हो भन्ने मेरो निचोड हो | विहा भनेर प्राचीन ऋषिरूले यस ठाउँको नामाकरण गरे किनभने यो ठाउँ साच्चिकै स्वर्गझैं छ | फाँटहरूबाट प्रष्ट हिमालहरू देखिने उत्तरतिर, फेरी भगवान्ग शालीग्रामको प्राप्ति पनि गण्डकीबाट हुने र बाच्छाको पहाडले सिधैं चीसो हावा पनि रोक्ने (उपत्यका न धेरै गर्मी हुने नधेरै जाडो हुने) भएको हुँदा स्वर्गझैं लाग्यो र यो बाटो हिंडेर गलेश्वर, मुक्तिनाथ, दामोदरकुण्ड जाने ऋषिमुनिहरूले "विहा" भने र पछिल्लायदिहरूले विहाआदि ठाउँ भएर मुक्तिनाथ पुगिन्छ भन्ने प्रसंगमा विहादि भन्न थाले |

विहादीले सिङ्गो नेपालको विशेषता बोक्छ | सवैभन्दा तत्लो ठाउँमा कालिगण्डकी गङ्गा बगिरहेकी छिन् र सबै भन्दा माथि भोर्लेको उंचाई छ | रानीपानी र बराचौरको फाँटमा प्रसस्त उब्जनी हुन्छ | बाच्छावटसंग जोडिएको विशाल जङ्गलले विहादीलाई प्रकृतिसंग जोड्छ | ठाउँठाउँका गुफा (सितलगुफाआदि)ले ऋषिमुनिहरूको तपस्याको थलो इंगित गर्छन् | उच्चतम भागको भोर्ले र निम्नभागमा बग्ने गण्डकी तथा फाँटहरूको उजाउभूमिले यो ठाउँलाई विहा अर्थात् स्वर्गझैं बनाउँछ |

दोस्रो कुरा, स्वामी प्रपन्नाचार्यले पर्वतको तल्लोभागलाई "उत्तरको कासी" भनेका छन् किनभने गण्डकीको सांस्कृतिक र धार्मिक पवित्रताका कारण मुक्तिनाथ तथा दामोदर कुण्ड जाने, पुलहा (गलेश्वर) क्षेत्रमा तपस्या गर्ने (भरत तथा ऋषभ)ले यो सम्पूर्ण क्षेत्रलाई विहादी भनेको हो किनभने देवघाटदेखि गण्डकक्षेत्र आरम्भ हुन्छ तर रानीपानी र बराचौरजस्तो प्राकृतिक रूपमा मिलेको ठाउँ अर्को छैन तेसैले यो ठाउँसंग आदि जद्दा "विहादी" बनेको हो | अर्थात् गुल्मी, बाग्लुंग समेतका भूभागलाई समेत सम्मान गर्दा "विहादी" नामकरण हुने तर्क उचित नै नै लाग्छ |

विहादीको नाम कसरी रह्यो होला भन्ने क्रममा मैले गुरुङ, थकाली र मगरहरूका रैथाने शब्दमा "विहादी" शब्दको अर्थ खोज्ने प्रयत्न गरें | ती भाषाहरूमा "डी" शब्द छ तर दि अन्त्य हुने शब्द रहेन छन् | विहादी जस्तै दि जोडिएका गाउँहरू कुणादि, गुणादि, चकौंदि, अर्मादि (कहीं यो ठाउँ संस्कृत व्याकरण पढाउने गुरूहरूको वासस्थल त थिएन ?) छन् तर यिनको मगर, गुरुङ र थकाली बोलिचालिमा कुनै अर्थ लाग्दैन | तेसैले यो क्षेत्र विहादि अर्थात् स्वर्गझैं भएकोले विहा हो र आसपासका क्षेत्रहरू पनि सुन्दर भएको हुँदा विहादि बन्न पुगेको हुनुपर्छ |

सबैभन्दा रमाइलो तत्थ्य त के भने पाणिनी सूत्रमा विहाको प्रयोग भएको छ | पर्वत प्राचीनकालदेखिनै पण्डितहरूको निवास थलो हो | ज्योतिष र व्याकरणका लागि पर्वत प्रसिद्ध छ | अहिले सरकारले विहादी गाउँपालिका बनाएको छ जसमा बाच्छा, वराचौर, रानीपानी, उराम, शालीग्राम र उहाकी थाँती पुराना गाविसहरूलाई जोडिएको छ | मलाई लाग्छ, विहा अर्थात् स्वर्गझैं भन्ने प्राचीन ऋषिले गरेको ठाउँको नामाकरण अझैं फैलिएको छ |

विहादिमा अनेकौं जीवन्त तीर्थ छन् | ऋषिमुनिहरूका साधना स्थल छन् | प्राचीन गुरुकुलका आचार्यहरूले निर्मित गरेका पवित्र विद्यालयहरू छन् र गिरी, पुरी सन्यासीहरूको वासस्थल छ | गिरिपुरीसन्यासी थरको उपलब्धताले प्राचीनकालदेखि नै यो ठाउँ त्यागी, सन्यासी तथा आचार्यहरूको साधनास्थल हो भन्ने प्रमाणित हुन्छ भने मगरगुरुङआदिको न्यूनउपस्थितिले यो क्षेत्रमा बाहुनक्षेत्रीआदि समुदायको निवासस्थल रहेको प्रमाणित गर्छ | बाहुनक्षेत्री तथा गिरिपुरीसन्यासीहरूले यो ठाउँको नामकरण उनीहरूकै सांस्कृतिक भाषा संस्कृतमा "विहा" भनेर जुराए भन्ने तत्थ्यमा शंका गर्ने ठाउँ रहन्न |

नोट : यो वाहेक कसैसंग अन्य जानकारीहरू छन् भने जोड्दै जाउँ | यो नै नामकरण खोज्ने अन्तिम विकल्प होइन |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...