Thursday, June 17, 2021

गुरुकुलको यो पाठ्यक्रम (Syllabus)

गुरुकुलको यो पाठ्यक्रम (Syllabus)
प्राचीन गुरुकुलको पाठ्यक्रममा अणिमा अर्थात् परमाणु सरह सानो हुने, महिमा अर्थात् अत्यन्त ठूलो हुने, गरिमा अर्थात् धेरै गह्रुङ्गो हुने, लघिमा अर्थात् हलुङ्गो हुने, प्राप्ति अर्थात् मनले चिताएको कुरा प्राप्त गर्ने, प्रकाम्य अर्थात् अर्काको मनको कुरा बुझ्ने, ईशत्व अर्थात् सर्वज्ञता प्राप्त गर्ने र वसित्व अर्थात् निर्जीव र सजीव दूवैलाई आफ्नो वसमा पारेर काम लिने विद्याहरूको पनि अभ्यास गराइन्थ्यो कि ?

तन्त्र, मन्त्र यन्त्र तिनैबटा साधनहरू र योगसाधनाले उप्रोत्ज अष्टसिद्धिहरू प्राप्त हुन्छन् भनेका छन् भने उपरोक्त आठैबटा सिद्धिहरूको प्रयोग गरेका महपुरुषहरूको उदाहरणहरू पनि छन् | महत्वपूर्ण तत्थ्य के हो भने हरेक सिद्धि प्राप्तिका लागि के-कस्तो साधना गर्नुपर्छ भन्ने साधनका व्याबहारिक पक्षहरू पनि शास्त्रहरूमा प्रसस्त साक्षहरू प्राप्त छन् |

विज्ञानका विषयहरू पनि प्रयोगमा नआउँदासम्म अविश्वसनीय नै हुन्छन् | आज भन्दा ५० वर्ष अगाडीसम्म इन्टरनेट, मोबाइल फोन, रङ्गीन टेलिभिजन, आज भन्दा ४० वर्ष अगाडीसम्म लेपटप कम्प्युटर, डिजिटल घडी, मङ्गल ग्रहको यात्रा सबै अविश्वासनीय नै थिए | प्राचीन वैदिक सभ्यतामा सभवत: प्रयोग भएका तर अहिले कालगतिका कारण शास्त्रीय चर्चामा रहेका अष्ट-सिद्धिका विषयहरूलाई "मानवीय कल्पना" मात्र भन्नु विज्ञानको नियमलाई अस्वीकार गर्नु हो | वरू, शास्त्रीय रूपमा उपलब्ध प्रमाणहरूका आधारमा पुनर्स्थापित गर्ने आवश्यकता ठान्छु |

आजको वैदिक समाजले र समाजका अगुवा गुरूहरूबाट साधनाको लिंक टुटेको छ भने अर्कोतिर योग्य तथा जिज्ञासु विद्यार्थीहरूको अभाव देखिन्छ | आधुनिकताको प्रवाहले प्राचीन साधना र साधकहरूको निरन्तरता भंग भएको हो भनेर मैले प्रमाणित त गर्न सक्दिन तर योग्य शिक्षकहरू जिज्ञासु तथा योग्य विद्यार्थीहरूको मिलन नभएर साधना विपत्तिमा परेको छ कि सोच्नु पर्ने बुझिन्छ |

हनुमानले सुरसाको मुखमा पस्दा सानो रूप लिएको (अणिमा) , दुर्योधनले श्रीकृष्णलाई वन्दी बनाउँन खोज्दा विश्वरूप देखाएको(महिमा) , रावणको छोरोले अंगदको गोडा उचाल्न खोज्दा (गरिमा), सत्यभामाले जोख्न खोज्दा श्रीकृष्णले आफ्नो वजन तुलसीको पात भन्दा हलुङ्गो बनाएका (लघिमा), तपस्या गरेर ऋषि-मुनि, राजाहरूले चाहेको वरदान प्राप्त गरेको (प्राप्ति) महर्षि वशिष्ठले मनको कुरा बुझ्ने शक्ति प्राप्त गरेको (प्रकाम्य) रावणआदिले शक्ति प्राप्त गरेर विश्वको प्रभु बनेको (ईशत्व) र मोहनी रूपधारण गरेका विष्णुले देवदानव तथा मानवलाई मोहित पारेका (वसित्व) उदाहरण नै छन् |

यो विश्वका वस्तुहरू किन अणुरूप छन् कि विशाल | ती अत्यन्त गह्रौं छन् कि एजदमै हलुका | प्रज्ञाशील व्यक्तिहरूले सधैं के यी सबै सिद्धि र प्रयोगकर्ताहरू निरापद थिए त ? खोज्ने, पुनस्थापित गर्ने र पहिल्याउने काम हाम्रै जिम्मेवारीमा परेको छ | 

आत्मदीपो भव:

 आत्मदीपो भव:

आफ्नो ज्ञानको स्रोत आँफै बन, आफ्ना कर्मको दायित्व स्वीकार गर, आफुलाई चिन, आफ्नो बाटो आफै बनाऊ - उपनिषद्को यो अभिप्रेरणालाई बुद्धले "अप्पदीपो भव:" पुन: आत्मालाई चिन्न प्रेरित गरेका थिए |
हामी सबै स्वप्रकाश बनौं | आफ्नो स्वाभिमानको रक्षा गरौँ तर अभिमानलाई त्यागौं | आँफै स्वावलम्बी बनेपछि अरूलाई प्रेरित गर्न सजिलो हुन्छ | एउटा दीयोले लाखौंलाख दीयोहरू बाल्न मिल्छ |
तीनबटा बाटो छन् - ज्ञान, भक्ति र कर्म | तिनैबटा मार्गहरू महत्वपूर्ण छन् | मैले अनुभव गर्छु, ज्ञानपूर्वक गरिने कर्म ज्ञानयोग हुन् | समर्पणपूर्वक गरिने कर्महरू भक्ति योग हुन् | निष्कामभावले गरिने कर्महरू शुद्ध कर्मयोग हुन् | आज विवेकयुक्त र समर्पित भावले कर्म गर्ने कर्मयोगीहरूको खाँचो छ | कर्मयोगी बनौं | कर्मयोगीहरू बनेर सबैलाई जगाऔं |
दुख तथा सुख जीवनका दूईबटा पाटा हुन् | सुखमा मातिनु हुँदैन | दुखमा आत्तिनु हुँदैन | सुख र दुख दुवैको अवसान निश्चित छ | जीवनसंग सुखदुख स्वत: प्राप्त हुन्छन् | शारीरिक सुखका लागि मात्र कर्म गर्नु स्वार्थ हो | आफुलाई स्वास्थ्य राख्दै अरुको कल्याणका लागि कर्म गर्नु कर्मयोग हो | यो तत्थ्य बुझ्ने र मनन गर्नेहरू स्वप्रकाश हुन्छन् |
विवेकी र दैवी व्यक्तिहरू आत्मकल्याण र अन्यको कल्याणको लागि कर्म गर्छन् | स्वार्थीहरू धर्मको आवरणमा आफ्नो अहङ्कार सिद्ध गर्छन् | आफ्नो "जयजयकार" गर्ने झुण्डहरू खडा गर्छन् | ज्ञान, भक्ति र कर्मयोगको आवरणभित्र स्वार्थ साँध्नेहरू नर्कमा जान्छन् | तिनका अनुयायीहरू पनि नर्कमा पर्छन् | तर विचलित हुनुपर्दैन, आत्मदीपहरूको स्वप्रकाशले छलहरू चिन्छ | हामी आत्मदीप ऋषिका सन्तान हौँ | हामी निर्भय भएर सत्कर्मको पथमा अगाडी बढौं |
अहिले हाम्रो देश, संस्कृति, धर्म, असल-संस्कारहरू सङ्कटमा छन् | सङ्कटबाट उठाउँने जिम्मवारी बोध गरौँ | जातीय, वर्गीय, भौगोलिक तथा छुवाछुतजस्ता बिकृतिहरूलाई दृढताका साथ अस्वीकार गरौँ |
"म"लाई हामीमा रुपान्तरित गरौँ | आफै जागृत भएर अरूलाई जगाऔं | कुनै पनि परिवर्तन तुरुन्त हुँदैन, धैर्यपूर्वक कर्म गरौँ | सेवाभावले कर्म गर्नुनै निष्काम कर्मको अभ्यास हो | कर्मयोगको अभ्यास हो र कर्मयोगी बन्नेतिरको कदम हो | कर्मयोगी बनौं |
कर्मयोगको बाटो सजिलो छैन | आँफु जाग्नु सजिलो छैन | आफ्नो दीयो आँफै बन्नु सहज छैन | धेरै अवरोधहरू आउने छन् | धेरै शत्रुहरू भेटिने छन् | अनेकौं प्रलोभनहरूले बाटो रोक्ने छन् | केही योगीका रूपमा, केही भोगिका रूपमा, केही गुरूको रूपमा, केही सहयोगीका रूपमा अवरोध बन्ने छन् | तर आत्माभित्र स्वप्रकाश भएको दीयोले सबै असल-कमसल, सहयोगी-असहयोगी, स्वार्थी-निस्वार्थीको छिनोफानो गर्ने छ |
जवजव मैले आत्मदीप बन्ने अभ्यास गर्छु, मलाई विश्वसंग एकात्माको अनुभव गर्छु | मभित्र शुद्ध उर्जा भरिन्छ | विश्वको कुनै पनि मान्छे शत्रु लाग्दैन | म काल, रोग, शोक, चिन्ता तथा गहिरो पीडाहरूबाट निर्भय भएको अनुभव गर्छु | मान्छे मात्र होइन पशुहरू पनि मसंग प्रेम गर्न थाल्छन् | प्रकृति समेत मेरो सहयोगी बन्छ | किनभने आत्पदीपको अभ्यास गर्नु भनेको अहङ्कार र छलप्रपंच तथा अभिमानबाट मुक्तभै सत्यको पथ समात्नु हो |
कुनै व्यक्ति विशेषलाई खुसी पार्न कर्म नगरौं | कसैको कृपा प्राप्त गरेर लाभान्वित बन्न कर्म नगरौं | आँफु र अरूलाई कष्ट, दु:ख दिन कर्म नगरौं | खराव मान्छेहरूलाई सहयोग पुग्ने कर्म नगरौं | हाम्रा हरेक कर्महरू अर्काको लागि दियो बनुन् | हाम्रो हरेक कर्म सेवामा रुपान्तरित हो |
मेरो मनमा घृणा छैन तर स्वाभिमान छ | स्वाभिमान नै आत्मदीपको लक्षण हो | ऋषिकुल र देवदेश नेपालको उत्तराधिकारी भएकोमा आनन्द लाग्छ | विश्वका हरेक प्राणिमा म मेरै प्रतिविम्व देख्छु किनभने हरेक व्यक्तिभित्र त्यही दियो छ जुन मभित्र निरन्तर प्रज्वलित भएर मलाई जीवन्त बनाइरहेको छ | मलाई सत्कर्ममा अभिप्रेरित गरिरहेको छ |
मैले अनुभव गरेको छु, जव हामी स्वप्रकाश बन्छौं, संसारका अध्याराहरू स्वत: हटेर जान्छन् | चुम्वकले फलाम तानिएझैं असल व्यक्तिहरूको सङ्गत बढ्छ | असल मनका मान्छेहरू जोडिन्छन् | कमसल मनका मान्छेहरू अलिअलि गरेर वाहिरिन्छन् | असल र कमसलहरू आँफै छुट्टिन्छन् | अर्को कुरा, आत्मदीपको अगाडी, पछाडी, माथि-तल जता परे पनि असलहरू तुरुन्त प्रकाशित हुन्छन् |
आज हाम्रो देश, समाज र सनातनधर्मको लागि कर्मयोगीहरूको प्रतीक्षा छ | आँफुले सेवापूर्वक कर्म गरौँ | हाम्रो सुकर्म अर्काको लागि प्रेरणा बन्ने छ | कर्म प्रेरणा बनेपछि आयु, यश, विद्या र बल प्राप्ति हुनेछ | सामूहिक कल्याणको चेतनाले गरिएका हरेक कर्म अमृत हुन् | हामी अमृतका वाहक बनौं |

गर्भवान् पुरुष..


गर्भवान् पुरुष र सिजेरियन विधिको वैदिक विज्ञान
अमेरिकाको होनोलुलु नामक सहरमा सन् १९७४ मा जन्मिएका थोमस बेटी नामक पुरुषले आफ्नै कोखबाट सन् २००७ सम्ममा चारबटा सन्तान जन्माए | अहिलेको समयमा पुरुष गर्भवान् भएर बच्चा जन्माएको यो पहिलो उदाहरण हो | तेसपछि भने धेरै पुरुषहरूले बच्चा जन्माएका छन् |
आधुनिक चिकित्सा विज्ञानले पुरुषहरूको पेटमा गर्भासय निर्माण गरेर महिलाको डिम्ब र पुरुषको शुक्र यन्त्रमा निषेचित गराई प्राकृतिक विधिबाट नै बच्चा कोरालिंछ | धेरैले पुरुषले बच्चा जन्माउँनुलाई अप्राकृतिक भनेर आलोचना गरेका छन् भने अन्य केहीले यस विधिको प्रसंशा गरेका छन् |
सूर्यवंशी राजा युवानश्वका कुनै सन्तान थिएनन् | उनले आफ्ना कुलागुरु भृगु ऋषिसंग सन्तानका लागि प्रार्थना गरे | ऋषि भृगुले यज्ञमा जल अभिमन्त्रित गरेर युवानश्वकी रानीका लागि सुरक्षित गरे | लामोसमयसम्म यज्ञका खटेका राजाको अचानक रात्रीमा निन्द्रा खुल्यो | प्यास मेताउँन राजाले तेही अभिमन्त्रित पानी पिए |
अभिमन्त्रित जलका कारण राजा गर्भवान् बन्न पुगे | नौमहिना पछि राजा युवानश्वको पेट चीरेर एउटा बालक निकालियो | स्तनपानको अभावमा इन्द्रले आफ्नो कान्छी औला चुसाए | इन्द्रको औला पान गरेको कारण बालकको नाम "मान्धाता" राखियो |
यो प्रसंग ऋग्वेदमा समेत उल्लेख छ तर अलिफरक रूपमा | अथर्ववेदमा सन्तान प्राप्तिका लागि अनेकौं विधिहरूको उल्लेख गरिएको छ |
यो प्रसंग भागवतको नवौं स्कन्ध, महाभारत, अग्निपुराण, पद्मपुराण र अन्य थुप्रै पुस्तकहरूमा इतिहासका रूपमा दर्ता छ | यस प्रसंगमा तीनबटा तत्थ्यहरू उजागर हुन्छन् -
१. प्राचीनकालमा पुरुषहरूले बच्चा जन्माउँन सक्ने उन्नत प्रविधि विद्यमान थियो | युवानश्वले अभिमन्त्रित विधिले गर्भधारण गरेका थिए (भागवत ९/६/२५-३१)
३.वाल्मीकि रामायणमा श्रीरामआदिको जन्म पनि अभिन्त्रण विधिबाट नै भएको थियो तर यहाँ पुरुषले होइन मात्रिशक्तिबाट नै बालकहरू जन्मेका थिए, सम्भवत: यो ट्युब-विधि थियो |
२. आधुनिक समयमा सिजेरियन विधिले बच्चा वाहिर निकालेझैं प्राचीन समयमा पनि सिजेरियन विधि थियो | (कुक्षी निर्भिद्य दक्षिणम् - दाहिनेतिरको पेट काटेर बालक वाहिर ((निकालियो भागवत ९/६/३०)
३. विशेष अवस्थामा पुरुषहरूले जमाएका अप्राकृतिक बालबालिकालाई १३ दिनमैं किशोर-किशोरी अवस्थामा विकसित गर्ने औषधि उपलब्ध थियो |
आजको मेडिकल विज्ञानले भनेझैं पुरुषहरूले बच्चा जन्माएका थोमस बेटी पहिलो व्यक्ति होइनन् | दोस्रो, सिजेरियन विधिको पहिलो प्रयोग पनि युवानश्वको गर्भबाट मान्धतालाई निकाल्न प्रयोग गरिएको थियो | यसरी पुरुषले बच्चा जन्माएको र सिजेरियन विधिले बच्चा निकाल्ने प्रयोग वैदिक ऋषि बैज्ञानिकहरूको अन्वेषण हो |
आज यसरी अप्राकृतिक तवरले जन्मेका बालबालिकालाई १३ दिनमै किशोर-किशोरी बनाउने प्रविधि नष्ट भैसकेको छ | अश्विनी कुमारहरूले बूढा च्यवन ऋषिलाई नवयुवक बनाएका थिए भने अर्कोतिर इन्द्रले शिशुलाई जन्मेको पन्ध्र दिनमा किशोरमा रुपान्तरण गरेका थिए |
पुराणमा उल्लेखित यी कथाहरू कल्पना नै भए पनि आयुर्वेदको इतिहास हुन् | पुरुष गर्भधारण, शल्यविज्ञानको इतिहासमा आधुनिक मेडिकल साइन्सले उपरोक्त मान्धाताको जन्मलाई आफ्नो जेनेसिस मान्नु पर्छ | कसेकम भारतवर्षका मेडिकलका विद्यार्थी, विज्ञ तथा अनुसन्धाताले उपरोक्त प्रसंगलाई साहित्य-समीक्षाको पहिलो सोपानमा राख्नुपर्छ तर आधुनिक मेडिकल विज्ञानसंग प्रतियोगिता गर्न आवश्यक छैन |
विज्ञानका विद्यार्थीहरूले प्राचीन विज्ञानको (कथा नै भए पनि तेसै वन्दैन) यो प्रगति कुन् कालखण्डमा किन र कसरी थामिन पुग्यो खोज गर्नुपर्छ | हामीले आफ्नो इतिहास जरोकिलोको विषयमा अनुसन्धान नगरे कसले गरिदिन्छ ? अगाडी बढौं र प्राचीन वैदिक विज्ञानसंग आधुनिक विज्ञानको लिंक (सूत्र)को खोज गरौँ |

Wednesday, June 16, 2021

अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल

 अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल

नेपालमा एस्तो एउटा बर्ग विकसित भइरहेको छ जसले हिन्दू धर्म, संस्कार तथा संस्कृतिको संरक्षण एवं सम्वर्धनको कुरा गर्ने जोसुकैलाई नीचताको दृष्टिकोणले हेर्छ | उसको नजरमा हिन्दुत्वको कुरा गर्नु भनेको ट्वीन टावरमा आक्रमण गर्ने अतिवादीलाई संरक्षण गर्नु हो |
दोस्रो वर्ग साम्यवादीहरूको हो जुन असलमा साम्यवादी नै होइनन् | कार्लमार्क्सले उठाएका समानता, गरिवीनिवारण, पूँजीपतिप्रति घृणा र समुन्नत समाजको सपनासंग सहमत छन् | उनीहरू हिन्दू हुन् तर "साम्यवादीले धर्म मान्दैनन्" भन्ने सिद्धान्तको कुरामा अल्झिएका छन् | नेताको कुरा काट्न सक्दैनन् |
तेस्रो वर्गले चर्को स्वरमा हिन्दुत्व धर्मको रक्षाको कुरा गर्छ र हिन्दुत्वसंग भोटको "ब्लेक मेलिंग" गर्छ | उसको लागि हिन्दुत्व एउटा आकर्षक नारा हो जुन नारामा मान्छेहरू सजिलै अल्झिन सक्छन् |
पहिलो वर्गमा चरम जातिवादीहरू र धार्मिक अतिवादीहरूको (racist) वर्चस्व छ | यो वर्ग दम्भ, घृणा र अहंकारले भरिएको छ | आफुलाई सबैभन्दा बुद्धिमान, विज्ञ र अरूलाई तुच्छ ठान्छ | यसको प्रत्यक्ष सम्वन्ध युरोपेली अहम्वाद, इसाई-मुस्लिमको एकल धर्म-संस्कृतिवाद र फुटाउ र राज्यगरवादसंग जोडिएको छ | यसको मूलमन्त्र "चर्चामा रहनु, समाजलाई विभाजित गर्नु र पैसा" कमाउनु हो |
दोस्रोवर्गले ती नेपालीहरूको प्रतिनिधित्व गर्छ जुन गरिवी, अशिक्षा तथा शोषणबाट मुक्ति चाहन्छन् | युरोपेली आवश्यकतालाई सम्वोधन गर्न कार्लमार्क्सले विकसित गरेको यो सिद्धान्त नेपालको सामाजिक, सांस्कृतिक तथा संस्कारअनुकुल छैन | त्यैपनि नेताहरूले भोट वैंकका लागि "समानताका नाममा जनतासंग भावनात्मक ब्लेक-मेलिंगका लागि" प्रयोग गरिरहेका छन् | जनताहरू भ्रमित भैरहेका छन् |
तेस्रोवर्ग हिन्दुहरूको नाममा राजनीतिमात्र गर्छ | यो वर्ग सधैं सत्ताको निकटमा रहेर आफ्नो दुनो सोझोपार्छ | यसले हिन्दुत्वको चर्को नारा लगाए पनि हिन्दूहरूको लागि ब्यबहारिक परिवर्तनका काममा कत्ति रुचि राख्दैन | एउटा गीताको पुस्तक प्रकाशित गर्दैन, गुरुकुलको लागि पहल गर्दैन, प्राचीन हिन्दू सम्पदाहरूको संरक्षणका लागि एक सुकोको काम गर्दैन |
अव चौथो वर्गको कुरा गरौँ | यो उपरोक्त तीनैबटाको द्वेधचरित्रबाट आजित भएको वर्ग हो | यो अत्यन्त नेगेटिभ छ | यो वर्गमा उपरोक्त तीनैबटा वर्गबाट निकालिएका, पद र सम्मानको अवसर नपाएका र वर्तमान राजनैतिक व्यवस्थाप्रति विश्वास गुमाएकाहरूको वर्चस्व छ | यिनले अरूको आलोचना गरेर आत्मरति प्राप्त गर्छन् |
अहिलेको नेपालका लागि सबैभन्दा ठूलो चुनौती पहिलो वर्ग हो | नेपालको धर्म, संस्कृति तथा समावेशी संस्कृतिलाई ध्वस्त पारेर युरोपेली जातिवाद, अहम्वाद तथा घृणावादलाई सधैं जीवित राखेर चलखेल गर्न चाहन्छ | यसले आफ्नो वर्चस्व राख्न नेपालको सबैभन्दा ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने "हिन्दूहरू विरुद्ध घृणा" फैलाउन आर्थिकस्तर मैं सहयोग गर्छ |
यो वर्गले धर्मपरिवर्तनको वकालत गर्छ | धर्मपरिवर्तनका लागि आर्थिक, राजनैतिक तथा कूटनैतिक कुटिलताको खुलेआम प्रयोग गर्छ | वाहिर समतामूलक सामाजिकीकरण, मानवअधिकार, रोजगारआदिको आकर्षक नारा हुन्छ तर भित्र सामाजिक, सांस्कृतिक तथा परमपरागत सहयोगीपनको चरित्रलाई ध्वस्त नियत हुन्छ | समय-समयमा राजनायिकस्तरमै यी कुराहरू उजागर भएका छन् |
यो वर्ग अर्थपिपासु र विदेशीहरूको भलो साध्ने भएकोले सधैं स्रोत तथा साधन सम्पन्न हुन्छ | राजनैतिक नेतृत्व, ब्युरोक्रेसी तथा जनसाधारण समेतलाई सजिलै प्रलोभनमा पार्न सक्छन् | यिनको मूल उदेश्य नै समाजमा आफ्ना एजेन्डाहरू स्थापित गराएर सामाजिक मतान्तर क्रियेट गर्नुहुन्छ | आफ्नो एजेन्डा स्थापित भएन भने विध्वंसात्मक गतिविधि यिनको विकल्प हुन्छ | वर्तमान नेपाल यिनका कू-कृत्यहरूको जिम्दो उदाहरण हो |
सन् १९५० पछिका अनुभवहरूले उपरोक्त चारैवर्ग नेपालका लागि अभिशाप हुन् भन्ने कुरा प्रमाणित भैसकेको छ | यसका लागि राजनैतिक नेतृत्व नै दोषी हो तर उ अमुक व्यक्ति नै हो भन्न मिल्दैन | सबै राजनैतिक नेतृत्वले असल नियतले नै काम गरेका छन् तर राजनैतिक बैचारिक स्रोत नै फोहोर तथा आयातित भएपछि परिवर्तन असम्भव भएको हो |
जसरी मुहान सफा नगरिकन स्वस्थ्यकर पानी प्राप्त हुँदैन त्यसरी नै नेपाली राजनैतिक स्रोत नै परिवर्तन नगरी नेपालमा तात्विक परिवर्तन सम्भव छैन | अझै भन्नुपर्दा, चेरोनेविलमा फैलिएको आणविक विकिरणलेझैं नेपाली राजनीतिको मूहान नै प्रदूषित भएको छ | हाम्रो काँधमा प्रदूषित मुहाननै फेर्ने दायित्व आएको छ |
प्रदूषित मुहान फेर्न सजिलो छैन | विगत ७० वर्षदेखि प्रदूषित मुहानबाट प्रवाहित भएको राजनैतिक प्रदूषणले सर्वसाधारण जनताको चिन्तन, सोच तथा ब्यबहारलाई समेत प्रदूषित पारेको छ | यो प्रदुषणले सर्वसाधारण समेत भ्रमित भएका छन् | यो भ्रमको बलियो उदाहरण हो - आफुलाई साम्यवादी पनि भन्ने र विद्यालय वा मन्दिर निर्माण गर्न भागवतको कथा लाउने, दैनिक जीवनमा सबै प्रकारका हिन्दू संस्कारहरूको पालना गर्ने तर राजनैतिक स्तरमा स्वधर्म, संस्कृति तथा आफ्नो जरोकिलो संरक्षणको कुरा गर्न नरुचाउनु |
अव हामीले बुझ्नुपर्छ : उनीहरू वैचारिक प्रदुषण फैलाएर हाम्रो जरोकिलो काट्दैछन्, हामीमा आफ्नै धर्म, संस्कृति तथा विज्ञानप्रति घृणा गर्ने नकारात्मक दृष्टिकोणको विकास गरिरहेका छन् | परिणाम स्पस्ट छ : हामी आफ्नै हातले आफ्नो जरोकिलो काट्न हौसिन्छौँ | त्यसो गर्दा आफुलाई "आधुनिक"भएको ठान्छौं | अव यो भ्रमबाट वॉरिनुपर्छ |
नेपाल हाम्रो हो र हामी नेपाली हौँ - यो तत्थ्य चिन्न जुन दिन विदेशीहरूले लेखिदिएको इतिहासलाई अस्वीकार गर्नेछौँ, त्यो दिन हाम्रो पहिलो जागरण हुनेछ | त्यस दिन हामीले आफ्नो इतिहास आफै लेख्ने बाटो खोल्ने छौँ | वैदिक ऋषिमुनिहरूको तपोभूमि नेपाल, बोन ऋषिहरूको नेपाल, बौद्ध-भिक्षुहरूको नेपाल र हजारौंवर्षदेखि अनेकताका वीच एकताको ब्यबहारिक कार्यथलोका रूपमा नेपालको परिभाषा आफै लेख्ने छौँ |
वेदहरू हाम्रा चिन्तनका स्रोत हुन्, राज्यराष्ट्र हाम्रो परिवर्तन हो, सहृदयता हाम्रो विश्वास हो, विज्ञान ब्यबहार हो र हाम्रा रैथाने भाषा, संस्कृति, चालचलनहरू हाम्रा परिचय हुन् | हाम्रो यो प्राकृतिक परिचयलाई उनीहरूले परिभाषित गरेर प्रदूषित गरिदिएका छन् | आफ्नै मौलिक तथा रैथाने परिभाषामा उभिएर मात्र नेपाल समुन्नत बन्छ भन्ने विषयमा विवाद छैन |
अन्त्यमा, अव हामी उनीहरूले लेखिदिएको परिभाषा मान्नेवाला छैनौं | हाम्रो यात्रा मुहान सफा गर्ने होइन, मुहान परिवर्तन गर्ने हो | समयले सबै नेपालीहरूलाई यो बाटोमा लैजाने छ | यसै बाटोले नेपाललाई सधैंको लागि प्रदुषण रहित बनाउने छ | यसैबाटोले हामी नेपालीलाई अमृत बनाउने छ -मृत्योर्माऽमृतं गमय: |

Wednesday, April 28, 2021

अलिअलि मनको कुरा

अलिअलि मनको कुरा
अलिअलि झिझो लाग्नु, अलिअलि रीस, मनमा डर, थोरै चिन्ता र असुरक्षाको भावना कोभिडले थोरैथोरै हामी सबैमा निम्त्याएको छ | अलिअलि निन्द्रामा पनि समस्या परेको हुनसक्छ - कि धेरै सुत्ने कि थोरै सुत्ने |
डेढवर्ष सम्म हामीले कोभिडलाई डटेर सहेका छौँ | तर सबैको मन एकै नासको हुँदैन | कसैको कमलो हुन्छ, कसैको दह्रो हुन्छ | कसैकसैको मन स-सानो घटनाले धेरै पिरोलिंछ | कोभिड त ठूलै मानवीय समस्या हो | कोभिडले मान्छेको आर्थिक, सामाजिक, सांस्कृतिक तथा रहनसहनमा निकै प्रभाव परेको छ |
Dr. Govinda
पहिले नलाग्ने तर अहिले यदि "धेरै झिझो लाग्ने गरेको छु, निकै सूर्ता लाग्छ, निकै डर लागि रहन्छ, मन ज्यादै अशान्त रहन्छ, स-सानो कुरामा अतिधेरै रीस उठ्छ, दैनिक व्यबहार पनि अचम्मले बदलिएको छ र पछि आफ्नो व्यबहारप्रति निकै पश्चाताप हुन्छ भने कोबिडले हाम्रो मानसिक स्वास्थ्यमा असर पार्न थालेको भनेर बुझ्नु राम्रो हुन्छ |

शरीरका घाउँ देखिन्छन्, मनका घाउँ देखिन्नन् | मनका घाउँहरू निकै गहिरा हुन्छन् | जव मनका घाउँहरू गहिरा हुँदै जान्छन् | मन अत्तालिन्छ, पिरोलिंछ, डराउँछ, अशान्त हुन्छ, रिसाउँछ, रुन्छ, वेवास्ता गर्ने खालको हुन्छ, निराश हुन्छ, अन्त्यमा "आत्महत्या गरेर संसारबाट विदा हो" सम्म भन्छ | मन विरामी भएको कुरा मनले नै थाहा पाउनुपर्छ |

हामी हरेकसंग एउटा मन छ | त्यो मननै हाम्रो आफ्नो हो | एकमात्र मनलाई धेरै पिरल्नु हुँदैन | मन पिरलियो भने सबैतिर विग्रन्छ | समय मै पिरलिएको मनलाई सहयोग गर्नुपर्छ | सहयोग प्राप्त गरे मन खुसी हुन्छ | मन खुसी भए मनवाला सुखी हुन्छ | तेसैले यदि आफ्नो "मन विग्रिएको" जस्तो लाग्छ छ भने निर्धक्कसंग परामर्श गरौँ | मनलाई पनि सहयोग चाहिन्छ भन्ने स्वीकार गरौँ |

मन स्वास्थ्य हुँदा शरीर स्वास्थ्य हुन्छ | संसार रमाइलो लाग्छ | आफन्त रिसाए पनि रीसमा सुन्दरता र प्रेमको झल्को लाग्छ | छोराछोरीको बोलीमा प्रेम प्रकट हुन्छ | श्रीमतीका सिकायतहरू पनि सहज हुन्छन् | हरेक काममा आत्मविश्वास झल्किन्छ | ठूलासाना निर्णयहरू सजिलैसँग गरिन्छ | समयमा सुतिन्छ, समयमा उठिन्छ | मज्जाले भोजन मिठो हुन्छ | साथीहरूसंग जिस्किन, घुम्न सबै रमाइलो लाग्छ | मन विग्रेको छ भने यही कुराले पीडा दिन्छन् |

विश्वमा जे-जति मान्छे भए पनि मेरो मन "मेरो मात्र हो" | मैले मेरो मनको हेरविचार गर्नै पर्छ | मैले मेरो मन हेरविचार गरिन भने कसैले गर्दैन | मनमा धेरै विचार आउँछन्, ती विचारले असजिलो पार्छन् भने आफैलाई असजिलो हुन्छ | कोभिडले मन विग्रनसक्छ, हेरविचार गरौँ |

मन दुख्ने, मन पिरोलिने, मन पोल्ने, मन डराउँने, मन आत्तिने, मन फाट्छ, मन पात्तिने, मन छियाछिया हुने, मन रूँने, मन खुम्चिने, मन नपर्ने, मन नमान्ने, मन च्याँठिने, मन चीसो हुने, मन मात्तिने, मन झुम्म हुने, मन गुम्म्म हुने, मन तर्सिने, मन उदास हुने, मन नलाग्ने, मन तर्सिने - जस्ता अनेकौं कुराहरूले मन विरामी भएको तत्थ्यको सूचना दिन्छन् | यदि कसैको मनले ३५ दिन भन्दा बढी यी समस्याहरूसंग लडिरहेको छ, भने अव यसले विश्राम पाउनुपर्छ |

हाम्रो मन रमाउँनु पर्छ, गद्गद् हुनुपर्छ, मनकारी हुनुपर्छ, माया गर्ने हुनुपर्छ, बलियो हुनुपर्छ, मन लाग्नु पर्छ, मन हर्षित हुनुपर्छ, मन पर्नु पर्छ, सहज र सरल हुनुपर्छ | मन बलियो हुनुपर्छ तर अनावश्यक बलियो पनि हुनुहुँदैन | शरीरलाई बलियो बनाउँन हामीले कसरत गर्छौं तर मनलाई बलियो र स्वास्थ्य बनाउँन हामीले केही गर्दैनौ | साच्चिकै भन्ने हो भने जान्दैनौं | अव मन बलियो, स्वास्थ्य पार्ने तरिका जान्नु पर्छ |

विहानै उठेर विहानी हावामा उभिंदा मन खुसी हुन्छ | करेसावारीमा फुल रोप्दा, पानीले सिचाई गर्दा, केही वेर खन्दा, केटाकेटीसंग जिस्किंदा, उनीहरूसंग खेल्दा, उनीहरूलाई मीठामिठा कथा सुनाउंदा, आफैले कथा सुन्दा, विहानी पखको घामले जीऊ देखाउँदा, लामोलामो सास फेर्दा, प्राणायाम गर्दा, ध्यान गर्दा, गीता-भागवत पाठ गर्दा, मन लागेको मन्दिरमा भगवान्को दर्शन गर्दा, कहिलेकाहीं परिवारसंग मिलेर घुम्न जाँदा मन खुसी हुन्छ, मनको मरम्मत हुन्छ |

राम्रो कुरा सोच्ने अभ्यास गरेर, राम्रो ठाउँमा घुमेको कुरा सम्झेर, जीवनका असल र मीठा घटनाहरू सम्झेर/ अरूलाई सुनाएर, मन पर्ने तर स्वास्थ्ययुक्त भोजन खाएर, दैनिक रूपमा केही वेर नाँचेर, केही वेर हाँसेर, केही वेर विंदास तरिकाले एताउता तहलकदमी गरेर मन राम्रो हुन्छ | तर अलिकति बढी समय बढी लाग्छ | अलिधेर्य चाहिन्छ |

आफैलाई विश्वास गरौँ | आफ्नो शक्तिलाई चिनौं | म निको हुन्छु भन्ने विश्वास गरौँ | निको हुनका लागि नियमहरूको पालना गरौँ | वितेका कुरामा शोक नगरौं , भविष्यका लागि चिन्ता छोडौं, वर्तमानका लागि डराउँन त्यागौं | यी सबै हामी आफैले गर्नुपर्छ | परिवारले सघाउँनुपर्छ | परिवार, आफन्त र छिमेकीले सहयोग गर्नुपर्छ | मान्छे सहयोगमा बाँच्ने प्राणी हो भन्ने नविर्सौं |

तपाईंमा, तपाईंको छिमेकमा र आफन्तमा उपरोक्त लक्षणहरू देखा परेका छन् भने हामी सहयोग गर्न तयार छौँ | मनोबैज्ञानिक परामर्श लिनुहोस् र मानसिक रूपमा स्वास्थ्य रहनुहोस् |
सम्पर्कका लागि इनबक्समा म्यासेज गर्नुहोला |

Thursday, April 15, 2021

वैरागी व्यक्तित्व विकार (AVPD)

वैरागी व्यक्तित्व विकार (AVPD)
डा. गोविन्दशरण उपाध्याय (परामर्श विज्ञ)   
३२ वर्षका सरोजको व्यबहारमा अचानक परिवर्तन आएको छ | उनी सधैं सामाजिक होस् वा व्यक्तिगत दायित्वहरूबाट जोगिने प्रयत्न गर्छन् | आजभोली त उनले झन् घरमा मान्छे आएको पनि मन पराउँदैन् | एउटा ब्यांकमा काम गर्थे तर उनले आफ्नो परमोशन पनि अस्वीकार गरे | एकान्तमा बस्ने, दायित्वहरूलाई बोझ ठान्ने र मान्छे आउँजाउँ हुने कुनै पनि क्रियाकलापबाट जोगिने गर्छन् | छोराछोरी, आमावुवा, आफन्तसंग उनको दूरी बढ्दै छ | सामाजिक क्रियाकलापमा समिल हुन निजलाई निकै डर लाग्छ | सरोजको यो व्यबहार Avoidant personality disorder (AVPD) नामक व्यक्तित्व विकारको परिणाम हुन सक्छ | मनोवैज्ञानिक खोजले संसारका करिव २.५% मान्छेहरूमा यो समस्या भएको अनुमान गरिन्छ |

वैदिक संस्कृतिमा वैराग्य सकारात्मक जीवनको एउटा आदर्श हो | स्वेच्छाले संसार र संसारप्रति निरपेक्ष हुनु नै वैराग्य हो | पाश्चात्य मनोविज्ञानमा Avoidant शब्दको अर्थ सामाजिक, सांस्कृतिक, नैतिक क्रियाकलापबाट आफुलाई जोगाउने अथवा टाढा राख्ने प्रवृत्तिलाई नै मैले यहाँ वैराग्य शब्दका माध्यमबाट बुझाउने प्रयत्न गरेको छु | सामान्यतया हरेक मान्छेले समय, परिस्थिति र आवश्यकताअनुसार आफुलाई सामाजिक, सांस्कृतिक तथा व्याबहारिक क्रियाकलापसंग जोड्छ | ती क्रियाकलापहरू सिक्छ र तेसअनुसार सुखदुख प्रकट गर्छ | कसैले अग्रसरता लिएर सरिक हुन्छन् भने केही सामान्य व्यक्तिसरह नै समावेश हुन्छन् |

AVPD किन हुन्छ ? एसको प्रमाणिक उत्तर छैन तर एस व्यक्तित्व विकारका लक्षणहरू दुई वर्षको उमेर देखि प्रकट हुन सक्छन् | जव व्यक्तिमा वैराग्य व्यक्तित्व विकार देखा पर्छ, उसले क्रमशः सामाजिक व्यबहारवाट आफुलाई अलग्याउँन थाल्छ, आफुलाई सधैं अपुरो भएको अनुभव गर्न थाल्छ र सधैं कसैले आलोचना गर्ला वा अस्वीकार गर्ला भन्ने पीर वा डर लागि नै रहन्छ | सरोजमा उपरोक्त तिनैबाट ब्यबहार प्रकट भएका छन् | असलमा, कसैले निन्दा गर्छ वा मेरो कुरा अस्वीकार गर्छ भन्ने ठूलो डर, मैले अरूसंग व्यबहार गर्दा नराम्रो मान्छन् भन्ने भ्रम, तिरस्कृत हुने डर, प्रचलित सामाजिक व्यबहारहरूप्रति अरूचि, आफुलाई सधैं अधूरो ठान्ने र समाजसंग त्यो लुकाउने प्रयत्न गर्ने, असफल हुन्छ भन्ने डरले नयाँकाम गर्नबाट जोगिनेजस्ता लक्षणहरू नै AVPD लक्षण हुन् |

AVPD को लक्षण भएका मान्छेहरू क्रमशः अन्तर्मुखी हुँदै जाने हुँदा उपचारका लागि तम्तयार पार्न सजिलो हुँदैन | परिवारको न्यानोपन र सहयोगी व्यबहारले उनीहरू मनोबैज्ञानिक परामर्श वा मनोचिकित्ससंग सहयोग प्राप्त गर्न सहमत हुन्छन् | पीडित व्यक्तिहरूको सबैभन्दा ठूलो डर समाजसंग मिसिन र व्यबहार गर्नसंग हुन्छ | तेसैले निजको निजत्वको सम्मान गर्दै दक्ष परामर्शदाताले थेरापीस्टका रूपमा होइन सहयोगीका रूपमा सामाजिकीकरणतिर अभिप्रेरित गर्नुपर्छ | यदि AVPD लामो समयको हो भने औषधि चिकित्साका साथै केही प्रचलित सिद्धान्तहरू अवलम्बन गरेर उपचार गर्नुपर्छ | आरम्भिक AVPD लक्षणहरूमा टक-थेरापीले काम गर्छ भने अलि पुरानो समस्यामा चिकित्सा र थेरापी दूवैको प्रयोग हुन्छ |

AVPD चिन्ता र उत्सुकताजन्य डरका कारण उत्पन्न भएको व्यक्तित्व-विकार भएको परामर्श र चिकित्साबाट पूर्णतया निको हुन्छ | तेसैले यदि तपाईं/तपाईंको परिवार, छिमेकी वा मित्रहरूमा उपरोक्त मानसिक विकारका लक्षणहरू छन् भने निकस्थ मनोबैज्ञानिक परामर्शदातासंग सहकार्य गरेर सहयोग प्राप्त गर्नुपर्छ | निको भएर खुसी पूर्वक जीवन यापन गर्न सकिने पक्ष हुँदाहुँदै डर, लाज तथा चिन्ताका कारणले “वैरागी” बन्नु हुँदैन | स्वास्थ्य जीवन हामी सबैको अधिकार, कर्तव्य र दायित्व हो | 
(copyright)
if you need help, inbox me.

Sunday, February 28, 2021

कठोर क्यान्सर !!!

क्यान्सर कस्तो रोग हो ? यो चिकित्सकलाई थाहा हुन्छ | लाग्नेलाई थाहा हुन्छ र लाग्नेलाई सहयोग गर्ने (आर्थिक तथा सामाजिक) थाहा हुन्छ | मैले पहिलो पटक केमोथेरापीमा लैजाँदा क्याविनमा बस्ने निर्णय गरें | यो सुनेर नर्सले भन्नुभयो "दाई, पांचपटक क्याविनमा वस्नमा खर्च गरेको पैसाले एउटा थप केमोथेरापी गर्न मिल्छ, विचार गर्नुस् | धेरैलाई यो सुझाव होच्याएजस्तो लाग्न सक्छ तर मैले स्वाभाविक लिएँ | धनले मात्र जोगिन्छ भन्नु उचित होइन तर धन भएर जोगिएकाहरू थुप्रै छन् | उनीहरू बाँचिरहेका छन् |

मैले देखे - चौथो केमोथेरापीले रोगीलाई गलायो, म सहयोगीलाई पनि नराम्रो गलायो | चिकित्सकलाई किन दोष दिनु | सरकारले क्यान्सरजस्तो ज्यानमारा रोगको औषधिको मूल्य तोक्न सक्दैन, एक लाख दिएर जनतालाई घर न घाटको बनाई रहेको छ | सच्च्चिकै भन्ने हो भने सरकारले दिने एक लाखले क्यान्सरको प्रारम्भिक अवस्थामा सहयोग गर्ला तर दोस्रो, तेस्रो र चौथो अवस्थाका रोगीहरूको रोगलाई जिस्क्याउने मात्र काम गर्छ | उनीहरू उपचार आरम्भ गर्छन् तर मृत्युसंग लड्ने क्षमता हुँदैन | अन्त्यमा सरकारी संविधानले ग्यारेन्टी गरेको जीवनको अधिकार सधैंका लागि गुम्छ |

मैले औषधि पसलेलाई सोधें "ई औषधीहरू एतिबिध्न किन महंगा हुन् ? उसले भन्यो सरकारले कुनै पनि औषधिको जेनेटिक मूल्य तोकेको छैन | हरेक कम्पनीले आफुखुसीको मूल्य तोकेर बेच्छन् | कुरो ठिकै रहेछ, नेपालमा अधिकांश क्यान्सरका औषधिहरू छिमेकी बंगलादेश वा भारतबाट आयात हुन्छन् | बंगलादेशमा ११ हजार टोका पर्ने औषधि नेपालमा ४४ हजारमा बिक्री हुन्छ - मसंग एसको प्रमाण छ | छिमेकी देश भारतमा गरीव रोगीहरूका लागि जेनेटिक औषधि पसलहरू छन् | यो तत्थ्य बुझेपछि मैले भने "सरकार नेपालीको तर नेताचाहिं विदेशीको, किनभने ११ हजारको औषधि ४४ हजारमा गरीव नेपालीका बीचमा बेच्न दिने सरकारको नेतृत्व गर्ने नेता नेपालीको सरकार हुनै सक्दैन |

प्रसिद्ध चिकित्सक उपेन्द्र देबकोटाको अवशान क्यान्सरबाट भयो | जव चिकित्सकलाई क्यान्सर रोग लागेको/नलागेको हेक्का हुँदैन भने एउटा साधारण मानिसले क्यान्सर रोग लागेको कुरा जान्न सक्दैन | धेरैजसो मानिसहरूले दोस्रो वा तेस्रो अवस्थामा मात्रै थाहा पाउँछन् | सरकारले संविधानका धाराहरू काटेर एकलाखमा मृत्यु दिन्छ | साधन सम्पन्न व्यक्तिले क्यान्सरको उपचार गराउन (आर्थिकरूपमा) गारो हुन्छ भने गरीव र जीवनका वीचमा सङ्घर्ष गरिरहेका आम नेपालीसंग मृत्यु रोज्न बाहेक अर्को विकल्प छैन | लोभीहरूको सरकार न औषधिको न्यूनतम मूल्य तोक्न सक्छ न संविधानले प्रत्याभूत गरेको "बाँच्न पाउने धाराको रक्षा नै गर्न सक्छ | सबैले लगाउने आरोप कि सरकार केवल दलालहरूको सहयोग गर्छ भन्ने तत्थ्य सत्य नहोस् |

चौथो पटक फेरी ती नर्सले भनिन् "३५० को बेडमा उपचार गराउनेहरू पनि अन्त्यमा घर न घाटका हुन्छन् | चिकित्सक र नर्स दूवैले आँखा रसिलो परेर जीवनबाट बचाउन सकिने व्यक्तिलाई पनि विदा भएको हेर्नुपर्छ | तपाईंले एकएक पैसाको हेक्का राख्नुस् दाई" | तेसपछि मैले अस्पताल धेरै थोक विचार गर्छु | सकेसम्म वसको प्रयोग गर्ने प्रयत्न गर्छु तर ज्यानमारा ट्राफिकलाई कसैको पीर हुँदैन | भीडको कुनै संस्कृति हुँदैन र भीडको संस्कृतिमा रमाउने सरकारको कुनै मन हुँदैन जुन कसैको मृत्यु वा रोगसंग दुखोस् |

केमो, रेड़ेशन र शल्यक्रियाहरू उपचारमा प्रयोग हुन्छन् | सबै महंगा छन् | एकातिर महँगो उपचार अर्कोतिर वस्ने/खाने कुनै ठेगाना छैन | देशमा असंख्य धनिमानी छन् तर गरीवगुरुवाको लागि एउटा नि:शुल्क धर्मशाला बनाउने मन पश्चिमा प्रतिमानको धनकेन्द्रीत चिन्तनले खोसी सकेको छ | भक्तपुर नगरभित्र भएका पाटीपौवाहरू आधुनिक तथा प्रगतिशील सरकारहरूको गोजीमा बलिचढेका छन् | आफ्नै पूर्खाले परोपकारका लागि निर्माण गरेका पुण्यकर्महरूमा हामीले आफै आगो लगाएका छौँ | हरेक व्यक्तिलाई व्यापारी नै बन्नु पर्ने शिक्षाले परमार्थको आत्मा मारेको छ |

मैले धेरै पटक अनुभव गरेको छु "मलाई भोक रोज्न स्वतन्त्रता छ, आफ्ना ईच्छाहरू मार्न स्वतन्त्रता छ तर औषधीमा छूट माग्न, केही क्षणका लागि उधारो माग्न स्वतन्त्रता छैन | चिकित्सकले औषधि दिने हो तर औषधिको प्रवन्ध गर्ने काम रोगी वा रोगीका आफन्तको हो | यदि औषधीको इन्तजाम हुँदैन भने मृत्यु निश्चित छ | तैपनि कुनै पनि मान्छे मृत्युसंग हार्न चाहन्न | सङ्घर्ष गरिनै रहन्छ तर जव तपाईं सङ्कटमा हुनुहुन्छ मित्रहरू देखा पर्न, बोल्नबाट नै अलग्गिन्छन् | केही मात्र हुन्छ, जुन सधैं आफैसंग हुन्छन् | असल मित्रहरू र कमसल मित्रहरूको फरक असजिलो अवस्थामा छुट्टिने रैछ - एकजना ८२ वर्षीया महिलाको देखरेखमा खटिएका १४ वर्षका ठीटाले भने |

सरकारले सधैं हुनेखनेको ख्याल गर्छ | हुँदा खानेले आफ्नो ध्यान आफै राख्नुपर्छ | हुनेखानेको घरमा गरीवले पनि "मोटो"दाइजो हाल्छ तर तेही गरीवले हुनेखानेबाट "छोटो" दाइजो मात्र पाउँछ | विश्वास गर्नुस्, यो देश हुनेखानेलाई सघाउनेहरूले बनेको छ, हुँदाखानेहरूका लागि मसान सरह छ | मेरा यी बाक्यले मन भएका सहयोगीहरूलाई पोल्ने छैनन् | किनभने उनीहरूको शीतलताले विश्व उज्यालो र सम्भावनाको घर बनेको छ |

क्यान्सर आफैमा जीवनघाती रोग हो | तेसमा पनि "कठै" भनेर रोगीलाई पलपलमा मर्न बाध्य बनाउनेहरू आफ्नै हुन्छन्, आफन्त र मित्र हुन्छन् | धेरै भेट्न नै आउंदैनन्, आउनेहरूको मन सफा हुन्छ तर संस्कृतिको प्रभाव भन्नुपर्छ उनीहरूसंग "कठै" वाहेक सान्त्वनाका शब्द सुन्न गारो हुन्छ | हेरालुहरूका मायालु नजरले रोगीको जीवन गलिसक्छ | क्यान्सर भन्दा पनि क्यान्सरको भयानकता चित्रित मनले (मनोबैज्ञानिक डर)ले मान्छे पलपल मर्छ | हामी नेपालीको माया मृत्युपछि मात्र प्रगाढ भएर चम्किन्छ | मेरो निवेदन छ "कठै" शब्द लिएर कुनै पनि रोगीलाई भेट्न नजानु होला |

मलाई एउटा कथा याद छ | दुई जनाले भगवानको तपस्या गरेछन् | भगवान् प्रकट भएर वरदान माग्न भने तर उनीसंग विकल्प थिए (१) स्वास्थ्य शरीर तर गरिवी (२) धनि जीवन तर अस्वस्थ्य शरीर | धन पनि चाहिन्छ तर धनको मूल्यमा स्वास्थ्य किन्न सकिन्न तर स्वास्थ्यका सामग्री किन्न धन चाहिन्छ | चरम गरिवीमा मान्छेले जीवन रोज्दछ तर चरमधनमा रोग रोजिन्न | धेरैले सहयोग गर्न चाहन्छन् तर सहयोग गर्न योग्य हुँदैनन् | सहयोग गर्न सक्षमहरू सहयोग गर्न इच्छुक हुंदैनन् |

रोग र अस्पतालको अचम्मको नाता रहेछ | पैसा भए अस्पतालले आरोग्य दिन्छ | यदि पैसा छैन भने मृत्युको मिति तोकिदिन्छ | क्यान्सरका सवालमा त मितिहरू लगभग सुनिश्चितझैं हुन्छन् | क्षमता हुनेले जीवन प्राप्त गर्छन्, नहुनेहरूका लागि मृत्यु खुला हुन्छ | उपचार गर्दागर्दै गरेर खानेहरू गर्न नसक्ने हुन्छन् | गहना, घर, पशुपात सबै जीवनको जुवामा सकिन्छन् | अन्तत: हार्नु र जित्नुमा कुनै फरक रहन्न | जित्नेहरू घरमा हार्छन्, हार्नेहरू अझैं बढी हार्छन् |

मान्छेहरू सबै किसिमका हुन्छन् | मैले वार्डमा कुर्दा अनुभव गरे सबैजसो रोगी र रोगीका क्यान्सरको नामले अर्धवेहोसी अवस्थामा पुगेका हुन्छन्, हतास हुन्छन् निराश हुन्छन् | स्वर्गबाट परमेश्वर आएर मलाई बचाउनेजस्तो आश्चर्यजनक काम गर्छन् कि भन्ने आशा रोगीमा हुन्छन् | सम्पूर्ण भौतिक सम्पत्ति सकिंदा पनि जीवनको आश रहिरहन्छ | सरकारले स्वास्थ्य क्षेत्रमा साच्चिकै सहयोग गर्ने हो भने नगद पैसा दिनुभन्दा औषधि तथा सिटिस्क्यान, रेडियेशन मसिन आदिमा छूट दिने वा सरकार आफैले वेहोर्ने व्यबस्था गर्नुपर्छ | एक पटक रोग लागेपछि कमसेकम १० पटक सिटि गर्दा डेढलाख खर्च हुन्छ, परीक्षणको भाग सरकारले वेहोर्ने हो भने रोगीहरूलाई धेरै राहत हुन्छ |

सरकार धनि, गरीव सबैको अभिभावक हो | गरिवका लागि सरकारले उपचारका लागि औषधिहरूको मूल्य तोकिदिनुपर्छ, परीक्षणका लागि महंगा मसीनहरू सरकारले आफै किनेर भए पनि अस्पतालहरूलाई दिनुपर्छ | तेतिमात्र होइन, सम्पन्न दाताहरूलाई दानका लागि अभिप्रेरित पनि गर्नुपर्छ | उपचार पाउँदापाउँदै रोगीको अवसान हुन्छ भने मृत्यु अलिसहज हुन्छ | मर्ने मान्छे र निजका आफन्तले "उपचार गर्न नसकेर/नपाएर गयो" भन्ने दुखद स्मरणमा बाँच्न धेरै पीडा हुन्छ | काठमान्डौ उपत्यकामा रहेको भक्तपुर क्यान्सर अस्पताललाई हालै सरकारले अधिग्रहण गरेको छु | सरकारसंग जनताको मन जित्ने राम्रो अवसर मिलेको छ | यो सहित सबै सरकारी अस्पतालहरूलाई गरीव-सापेक्ष बनाउँनु पर्छ भन्नेतिर नेतृत्वको ध्यान जाओस् |

मैले हार्ने अवस्थामा पुगेकाहरू भेटेको छु | तर हार्ने अवस्थामा न पुगेकाहरू पैसाको अभावले (औषधिको) जीवन हारेको देख्दा मन खिन्न हुन्छ | हरेक पल, हरेक घडी मारिरहेको अनुभूति हुन्छ | एस्तो बखतमा पनि केही ठेकेदारहरू पैसाको लागि मरिहत्ते गर्छन् भने केहीले पैसाको लागि सधैंका लागि सम्बन्धहरू तोडी दिन्छन् गुनासो आम हुन्छ |

सैद्धान्तिक रूपले भन्नुपर्दा मान्छेहरू समाजसंग आपद र खुसी दूवै अवस्थाहरूमा सहयोग प्राप्त गर्न र दिन जोडिएका हुन्छन् | तर केही गफका धनि र मनका दरिद्रहरूको मन पग्लिन्न, मानौं उसले मृत्युपछि पनि आफुसंगै लिएर जाने छ !! एस्ता ठूलो बोल्ने छोटो मन भएका दरिद्रहरूलाई सधैं एस्तै गर्न पुगोस् - मैले क्यान्सर अस्पताल अगाडी उभिएर यही आशिर्वाद दिएँ | मैले व्यक्तिको होइन केवल प्रबृत्तिको कुरा गरेको हो |

मैले जतिधेरै जीवनका लागि प्रार्थना गरे पनि सरकारी मन पग्लिन्न | पढ्नेहरूले एउटा अनुभूति मूलक रोदन ठानेर, यो लेख विर्सने छन् | अधिकार प्राप्तहरू औषधिको कमिसनबाट घरघडेरी जोडीरहेका हुनेछन् | जसले जीवन हार्नेहरू उसकापछि सहानुभूति वाहेक अरू केही रहने छैन, त्यो सहानुभूति पनि "सबै सकेर गयो, आफु त गयो गयो, घरपरिवारलाई बिचल्ली पारेर गयो"मा परिणित हुने छ | गएको मान्छेले सुन्ने छैन नत्र उसको पीडा जीउनेहरूको भन्दा बढी हुन्थ्यो !! म भन्छु, हे ईश्वर ! सहृदयीहरूको सङ्ख्या बढोस् र भाग्य बलियो भएकाहरूले उपचार प्राप्त गर्न सकून |

निवेदन गर्छु, यो अनुभूति हो, कसैप्रति दोषारोपण होइन | मान्छेको जन्म नै सहयोग गर्न र सहयोग प्राप्त गर्न भएको हो | सहयोग गर्न सक्नेले/इच्छा भएकाहरूले सहयोग गर्नुहुन्छ | कतिपयलाई सहयोग गर्ने इच्छा हुन्छ तर भरपर्दो सहयोग गर्ने स्रोत हुँदैन | सहयोगका संयोजकको भूमिका पनि महत्व'पूर्ण हुन्छ | कतिपयलाई सहयोग गर्न इच्छा हुँदाहुँदा धनले साथ दिंदैन | साधन, स्रोत तथा अख्तियारी पाएर पनि सहजिकरण नगर्नेहरूप्रति खेद लाग्नु स्वाभाविक हो गर्नु उचित होइन |
स्वस्ति अस्तु |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...