Tuesday, July 18, 2017

छुवाछुत विरोधी धर्मगुरू


नेपालमा छुवाछुत निवारणको लागि हिन्दूवैदिक शिक्षालाई व्यवहारिकरुपमा प्रयोग गर्नेहरूमा जोसमनी सन्तहरु र त्यसपछि प्रणामी भनिने प्राणनाथका अनुयायीहरू हुन् | 

आजभन्दा करिब एकसय बर्षअघि जंगबहादुरको शासन कालमा नेपालको पूर्वी क्षेत्रमा जोसमनी मत (धर्म) को तिब्र प्रचार प्रसार भईरहेको थियो। अर्जेल थर भएका ज्ञानदिल दास, लखन थापा, योगमाया यसै सम्प्रदायका अनुयायी थिए |

यस मतको मूल लक्ष्य वैदिक हिन्दु धर्मको नाममा समाजमा देखा परेका अन्धविश्वास कुरीति विकृति र विसंगतिहरुको अन्त्य गर्दै आमूल परिवर्तनका साथ समाज सुधार गर्नु थियो।

यस मतका अनुयायीहरु जातीय भेदभाव र छुवाछुतका घोर विरोधी थिए। जनएकता गर्ने अभियानमा सक्रिय सहिद लखन थापा पनि जोसमनी मत जनजागरण को निमित्त एक सरल र उपयुत्त माध्यम बन्न सक्ने महसुस गरि यस धर्ममा संलग्न भएका थिए।

भारतको गुजरातबाट आरम्भ भएको प्रणामी सम्प्रदायका अनुयायीहरूले पनि छुवाछुतको संस्कृतिलाई मान्दैनन् |भारतको जामनगरका देवचन्द्र र तिनको शिष्य प्राणनाथले प्रणामी सम्प्रदायको स्थापना गरेका हुन् |

नेपालमा प्रणामी सम्प्रदायको प्रवेश ठ्याक्कै कहिले र कसबाट भएको हो भन्ने भरपर्दो इतिहास त छैन तर पनि वि.स. १७०३ तिर कुनै नेपाली तीर्थयात्रीका माध्यम नेपाल भित्रिएको भन्ने बुझिन्छ |

मैले भनिसकें नेपाली समाजमा खुलेर नै जातीय छुवाछुत भेदभाव बिरुद्ध आफ्नै धर्म, संस्कृति तथा मूलमान्यताहरूकै छत्रछायालाई प्रयोग गरेर जनजागरण गर्नेहरूमा जोसमनी सन्तहरू र प्रणामीहरू नै पहिला हुन् |

यहाँ मैले छुटाउनै नहुने कुरा के हो भने यी दूबै सम्प्रदायका प्रचारकहरू छुवाछुतवादका विरोधी भएकाले धेरैपटक तत्कालीन राणाहरूको कोपभाजन बनेका थिए | यो तत्थ्य इतिहासले प्रमाणित गरेको छ |

नेपाली जनताहरूले छुवाछुत निवारणका लागि जोसमनी, प्रणामी, नानक पन्थआदिलेले अपनाएको बाटो रोज्दा स्वधर्म, स्वसंस्कृति तथा वैदिक संस्कृतिको रक्षामा टेवा पुग्छ भने धर्मपरिवर्तनको समस्या पनि न्यून हुन्छ |

छुवाछुत विरुद्धको संघर्षका अगुवाहरूले छुवाछुत निवारणका लागि विदेशी शक्तिहरूबाट सहयोग प्राप्त गर्नुभन्दा आफ्नै देशमा प्रचलित धार्मिक सम्प्रदायकाले स्थापित गरेका छुवाछुत निवारण सम्वन्धि मानकहरू प्रयोग गर्नु उचित हुन्छ |

छुवाछुत निवारणका लागि विदेशीहरूबाट आर्थिक सहयोग प्राप्त गर्दा धर्मपरिवर्तन, घृणावासी चिन्तन तथा सांस्कृतिक विचलन हुनेहुँदा देश, समाज तथा सामाजिक एकतामा निकै खलल पुग्छ |

जरोकिलो आन्दोलनका विनम्र अनुयायी र नेपालका रैथाने निवासीहरूलाई धार्मिक पलायनबाट रोक्न क्रियाशील संघसंस्थाहरूले यसतिर पनि ध्यान दिनु उचित र फलदायी हुन्छ |

Saturday, July 15, 2017

मेरी हेटोनको संघर्ष र परिवर्तन

Dr. Govinda S. Upadhyaya
प्रसिद्ध दार्शनिक तथा मनोबैज्ञानिक मेरी हैटोन कल्किन (१८६३-१९३०) लाई विश्वको सबैभन्दा प्रतिष्ठित भनेर मानिने हावर्ड विश्वविद्यालयले उनी महिला भएकै कारण पढ्न दिएको थिएन |

त्यस वखतका प्रसिद्ध विद्वानहरू विलियम जेम्स, रोयस आदिले धेरै अनुरोध गरेपछि विविमा आधिकारिक नामांकन नगरीकन कक्षामा बसेर सुन्ने सम्म अनुमति दियो | औपचारिक डिग्री प्राप्त नगरे पनि उनी आफ्नो क्षेत्रको प्रसिद्ध विद्वान बनिन् |

आज पनि नेपालमा धेरै महिला र खासगरी दलित समुदायका व्यक्तिहरूका लागि विद्यालय, विविहरू त्यति सहज छैनन् | आधिकारिक रूपमा नभए पनि ब्यबहारिक रूपमा महिला र दलित समुदायहरू "मानसिक-हिंसा"मा पर्छन् |

महिलाहरूप्रति "सेक्सटोय"को दृष्टिकोण र दलितहरूप्रति "तल्लोजात"को मानसिक विभेद विद्यमान नै छ | यो दृष्टिकोण परिवर्तनका लागि सकारात्मक पहल हुनुपर्छ | एस्तो पहलमा हाम्रा परम्परागत सांस्कृतिक आस्थाहरूकै प्रयोग गरिनुपर्छ |

मैले सकारात्मकताको प्रयोग एउटा विशिष्ट अर्थमा गरेको हुँ | विदेशीहरूले "छुवाछुत निवारण" तथा "महिलाहरूप्रति दृष्टिकोण परिवर्तन"को लागि आर्थिक सहयोग दिन्छन् | हाम्रो सरकारी तथा गैरसरकारी तन्त्र त्यो आर्थिकसहयोग जुनसुकै सर्तहरू पालना गरेर पनि प्राप्त गर्छन् |

महिलाहिंसाका सवालमा उनीहरू अनुभवि भए पनि छुवाछुत उनीहरूले भोगेको तथा बुझेको सांस्कृतिक समस्या होइन | त्यसैले उनीहरूसंग "घृणावादी" सोच पनि भित्रिन्छ | उनीहरू एकै गाउँमा रहेका वा एकाधघरमा रहेका परिवार विरुद्ध नै "अधिकार"को शस्त्र प्रयोग गरेर झगडा, वैमनस्यता निम्त्याछन् |

यो घृणावादी सोच उनीहरूको धार्मिक पृष्ठभूमिका कारण सधैं सतहमा देखिन्छ | बाइबलले "क्रिश्चियन बाहेकका व्यक्ति वा सांस्कृतिकसंग "शैतान"को ब्यबहार गर" भनेर सिकाएको हुँदा उनीहरू मनोबैज्ञानिक चिन्तनको जरोकिलो मैं घृणावाद हुन्छ |

मैले जोड्न खोजेको विषय के हो भने सन् १८८० ताका अमेरिकी समाज पनि आजको नेपालझैं रुढीग्रस्त थियो | महिलाहरू र कालाजातिहरू प्रति तिनको घृणावादी चिन्तन इन्टरनेटमा खोज्यो भने छताछुल्ल पाइन्छ | तर आधुनिक नेपालले यस मामिलामा धेरै अग्रगमन गरिसकेको छ |

सम्बैधानिक रूपमा सबैले समान अधिकार प्राप्त गरेका छन् तर व्यवहारिकरुपमा त्यसले पूर्णता प्राप्त गरेको छैन | मनोबैज्ञानिकरूपमा अहिले पनि सर्वसाधारणहरू जातीय र लैंगिक विभेदले ग्रस्त छन् |

यो सोच, विश्वास र चिन्तनको विषय भएकाले हटेर जान समय लाग्छ | अमेरिकाले १९६७ मा मात्र कालाजातिका व्यक्तिहरूलाई भोट दिन पाउने कानुन बनायो | महिलाहरूले समानताको हक पनि १९६० ततिर नै प्राप्त गरेका हुन् |

समुदाय र जातजातिहरू प्रति आपसमा घृणाफैलाएर सामाजिक परिवर्तन हुन्छ भन्ने सोच पश्चिमाहरूको हो | यो सोच मै खोट भएकाले कानुनत: जातीय तथा लैंगिक भेदभाव अन्त्य भए पनि घृणावादी चिन्तनको प्रसार गरेर समुदायहरूविच घृणावाद फैलाउन सफल भएका छन् | जातीयताको चिन्तन अन्त्य हुनुपर्ने ठाउँमा अझै जटिल तथा विभाजनकारी दिशातिर उन्मुख भएको छ |

उनीहरू धनि छन् | उनीहरूसंग काम गर्ने र गर्न लगाउने उन्नत तरिका छ | उनीहरूसंग गरिव र धनी दूबै नागरिकहरू लोभिने संसाधनहरू छन् | उनीहरूसंग हामीले सिक्नुपर्ने धेरै कुरा छन् | तर उनीहरूका सबैथोक मान्नुपर्छ भन्ने गलत परिपाटी हामीले कायम गरेका हौँ |

हामीले आफ्नो इतिहास पनि हेर्नुपर्छ | अमेरिका र युरोपका कालाजातिहरूसंग "पशुतुल्य" ब्यबहार गरिंदा हाम्रो देशमा दलित-समुदायहरू कसैका दास थिएनन् | उनीहरूसंग आफ्नो सीप, सम्पत्ति तथा स्वतन्त्रताको अधिकार थियो | उनीहरूको सीपलाई समाजले "मूल्यतिरेर" उपभोग गरिरहेको थियो | कुनै पनि सार्कीले आफ्नो जातीय सील्प प्रयोग गरेर बनाएको जूता कसैलाई नि:शुल्क दिनु पर्दैनथ्यो | यही कुरा अन्य जातिहरूमा पनि थियो |

आज यी समुदायहरू आफ्नो पेशाबाट विस्थापित भए | यी विस्थापितहरूलाई "मोहोरा" बनाउनेहरू हातमा पैसा र घृणावादी सोच लिएर प्रत्येक चौवाटो उभिएका छन् | हातमा सहयोग लिएर उभिएकाहरूलाई सजिलै नकार्न सकिन्न | हामी सजिलैसंग घृणावादको भूमरीमा पर्छौं | आफ्नै छिमेकी र परिवारका विरुद्ध उभिन्छौं |

हाम्रो इतिहास विभेदकारी थियो र अहिले पनि हाम्रो मनोविज्ञानमा विभेद लुकेकै छ - यो स्वीकारोक्ति हाम्रो शक्ति हो | यही स्वीकारोक्तिले परिवर्तनलाई सहृदयतावादी बनाउँछ | खल्वलिएको निकटतम सहयोगीपन बढेर जान्छ |

नेपालको ६ हजारवर्षको इतिहासको प्राकृतिक ब्याख्या र अनुशीलन गर्ने हो भने आफुलाई हामीले "मिलेर बस्ने" तथा "एकअर्काको सम्मान" गर्ने प्राकृतिक विज्ञका रुपमा पाउँछौ | विगत छ हजार वर्षमा नेपालबाट नकुनै भाषा लोप भएका छन् न कुनै धर्म, संस्कृति तथा रितिरिवाजहरू नै |

पश्चिमा घृणावादी सोचको प्रवेश नहुँदासम्म जातजातिहरूविच असहिष्णुता थिएन | धर्म-धर्मविच कुनै पर्खाल थिएन | जतिजति विदेशीहरूको घृणावादले ठाउँ पायो त्यति नै नेपाली सामाजिकीकरण असहिष्णु हुँदै गयो |

अव अलिअलि गरेर यो घृणावादी लूतोप्रति युवा तथा विद्वानवर्गमा चासो बढिरहेको छ | जसरी-जसरी युवा, महिला तथा नागरिकहरूमा बढ्दो असहिष्णुताप्रति चासो बढिरहेको छ, त्यसरी नै हरेक नेपालीले घृणावादले दिएको कठोर घाउँहरूले दुखेको नेपाल अनुभव गर्दैछ |

आज नेपाली युवावर्ग आफ्नो जरोकिलोतिर फर्केर सहिष्णुता, सहृदयता तथा सबैको सम्मानजनक अग्रगमनको रुपरेखा तयार गर्दैछ | प्राचीन हिन्दू, बौद्ध, जैन, किराती तथा बोन परम्पराभित्रबाटमात्र घृणावादलाई परास्त गर्न कार्ययोजना बुन्दैछ |

हामी न पश्चिमासंग घृणा गर्छौं न मुस्लिम-इसाईसंग | हाम्रो आन्दोलन आफ्नै पूर्खाहरूको बुझाईमा आधारित होस्, आफ्नो धर्म, संस्कृति तथा परम्पराको विकास आफैबाट होस् भन्ने र नेपाल विश्वको लागि "मिलेर बस्ने संस्कृति"को मोडेलका रुपमा (गुरू) स्थापित होस् भन्ने बाटोमा अग्रसर छ |

यो सहृदयता तथा नेपाललाई विश्वगुरुको रुपमा स्थापित गर्ने आन्दोलनमा आवद्धतामा चासो बढ्दैछ | विदेशी राजनैतिक परिपाटी, पलायनको बाटो तयार गर्ने शिक्षा तथा हरेक वर्ष परनिर्भर बनाउने आर्थिकतन्त्रबाट नेपालले मुक्ति पाउनैपर्छ |

यो सबैको लागि परिवर्तन आफैबाट हुनुपर्छ, सद्भाव, सूक्ष्म बुझाई, आफ्नो देश र माटोप्रति अदम्य प्रेम तथा सकारात्मक सोचले हामी सबैप्रकारका विभेदहरूको अन्त्य गर्न सफल हुन्छौं र नेपाल एउटा उन्नत राष्ट्र बन्ने छ |

गीता पढ्नुहोस्, निकास पाइन्छ....

Dr. Govinda S. Upadhayaya
गीता मानवताको ग्रन्थ हो | यसको कुनै धर्मग्रन्थ होइन | श्रीकृष्णले गीताको उपदेश दिएका हुन् | यसको अवतरण युद्धभूमिमा भएको हो | एउटा द्विविधाग्रस्त सैनिकको मदत गर्नका लागि | अर्जुन सैनिक थिए | एउटा सैनिकले युद्धको मैदानमा युद्ध लड्दिन भन्न मिल्दैन | एउटा सैनिकले लड्नु नै पर्छ | को संग लड्ने हो ? उसले प्रश्न गर्न मिल्दैन |
 
अर्जुन आफ्नो कर्तब्यबाट भड्किए कै हुन् | आफन्तलाई देखेपछि लड्दिन भन्नु उचित होइन | आफन्त नहुँदा मात्र लड्छु भन्नु विरामी मानसिकता हो | जव मान्छे आफ्नो मूल कर्तब्यबाट विचलित हुन्छ | उसले सोच्न सक्दैन | निर्णय लिन सक्दैन | 

आफुले सोचेको कुरा बाहेक मान्ने पक्षमा हुँदैन | अर्जुनको मनमा आफन्तसंग न लड्ने विचार आयो | त्यसै विचारलाई सत्य ठाने | लड्दिन भनेर हथियार विसाए | लड्न तम्तयार सैनिकको एस्तो काम ठीक थिएन | श्रीकृष्णले गीताको उपदेश दिए | 

अर्जुनले युद्धको मैदानमा गीता सुने | परामर्श दाता श्रीकृष्ण बने | अन्त्यमा, श्रीकृष्णले भने "मैले उचित ठानेको कुरा बने अव तिमीले के विचार गर्ने हो, निर्णय गर | श्रीकृष्णले आफ्नो कुरा मान्नैपर्छ भन्ने कर गरेनन् | श्रीकृष्णले स्पस्टसंग भने "यथेच्छसि तथा कुरू" (१८/६३) अव तिमीलाई जस्तो मन पर्छ, त्यही निर्णय गर | 

गीताले आत्मनिर्णयको अधिकार दिन्छ | गीतामा धम्की छैन, दवाव छैन, लोभ-लालच दिएको छैन | कृष्णको परामर्शपछि पनि अर्जुनले युद्ध लड्न/नलड्न आफै निर्णय लिन स्वतन्त्र थिए | अन्य धर्मका धार्मिक पुस्तकहरूले आफ्नो आदेश मान्नै पर्छ भन्ने आदेश दिन्छन् | 

कुरान, बाइबल, जेंदवस्ता सबैले आफ्नो आदेश मान्न उर्दी जारी गरेका छन् | तिनको आदेश नमान्नेका लागि सधैंको लागि नर्क पठाउने धम्की दिन्छन् | श्रीमद्भगवद्-गीताको यो उदारवादी सोचकै कारण आज विश्वको मानिस हिन्दू बनिरहेको छ | विश्व हिन्दूयुगतिर लम्किरहेको छ | विश्व हिन्दू बन्दैछ |

 गीता कै उपदेशको प्रभाव हो - नेपाल र भारतजस्ता ८२% हिन्दू बहुल भएका देशमा अन्य धर्म र संस्कृतिहरूको सम्मानका खातिर "धर्मनिरपेक्षता" स्थापित भएका छन् जवकि विश्वका ५० भन्दा बढी देशहरूमा धार्मिकस्वतन्त्रताको कुरा गर्नुसम्म अपराध हुन्छ | 

धार्मिक स्वतन्त्रताको ब्यबहारिक र सैद्धान्तिक अस्तित्व केवल हिन्दूबहुलमा मात्र हुनसक्छ भन्ने कुराको यो भन्दा बलियो प्रमाण अरू केही हुनै सक्दैन | हाम्रो एस्तो उदारताको स्रोत गीता नै हो | मैले विश्वहिन्दू बन्दैछ भन्दा आश्चर्य मान्नु पर्दैन | हिन्दू बन्नका लागि धर्मपरिवर्तन गर्नु पर्दैन | 

सोच परिवर्तन गर्नुपर्छ | सबैधर्मप्रति समभाव, धार्मिक उदारता, अन्यधर्मप्रति सम्मान तथा बैचारिक स्वतन्त्रता आज हिन्दूधर्मकै देन हुन् | अझै भन्नुपर्दा, गीताले दिएको उदारवादी चिन्तनको विस्तार हो | आफुले कसैलाई हिन्दू भनोस् वा नभनोस्, मुस्लिम, इसाई, यहुदीआदि धार्मिक समुहको आपसी द्वन्दवाट आजित बनेको विश्व "धार्मिकता'लाई घृणा गर्छ | 

धार्मिकतालाई घृणा गर्छ भन्ने शब्द प्रयोग गर्दा हाम्रो चिन्तनमा मुस्लिम आतंकवाद, इसाई-आतंकवाद, यहुदी आतंकवाद (इजरायल)को चित्र बन्छ | हिन्दू संस्कृतिमा एस्तो आतंककारी चिन्तन कतै छैन | हिन्दू-संस्कृतिलाई मुस्लिम वा इसाईसंग तुलना गर्दा एस्तो समस्या आएको हो | 

प्रसिद्ध भारतीय चिन्तक रवीन्द्रनाथ टैगोरसंग कुराकानीका क्रममा विश्वप्रसिद्ध बैज्ञानिक आइन्स्टाइनले भनेका छन् "जव मैले गीता पढ्छु, लाग्छ, विश्वको स्रोत त्यही हो | मेरो लागि बाइबलको कुनै धार्मिक मुल्य छैन |" आइन्स्टाइनले गीताको प्रसंसा गरे किनभने गीतामा उदारतावाद छ | 

दार्शनिक हेनरी डेभिड थोरो, अल्वर्ट स्वित्जर, प्रसिद्ध मनोबैज्ञानिक कार्लजुंग सबैले गीताको मुक्त कण्ठले प्रसंशा गरेका छन् | कार्लजुंग त लेख्छन् "मान्छेलाई जड ठान्ने हाम्रो परम्परा काम न लाग्ने छ, श्रीकृष्णले १५ औं अध्यायमा जुन चलायमान विश्व-वृक्षको उल्लेख गरेका छन्, मानवीय चेतनाको असली रुख नै त्यहीं हो |" 

गीताले कुनै पनि धर्म, संस्कृति तथा परम्पराको आलोचना गर्दैन | गीताकोले आरिस र अरूसंग रिसले भरिएका ईश्वरहरूका विषयमा पनि बोल्दैन | गीताले कुनै पनि व्यक्तिलाई हिन्दू वा गैरहिन्दू हुन के गर्नुपर्छ भनेर पनि कर गर्दैन | ज्ञान, कर्म, भक्तियोगको कुरा गर्छ तर स्वीकार गर्ने/नगर्ने अधिकार व्यक्ति विशेषलाई प्रदान गर्छ | 

यही तत्थ्यले गीतालाई "विश्वधर्मको किताव" बनाउँछ | गीताको उपदेश स्वीकार्न श्रीकृष्णको भक्ति गर्नुपर्छ भन्ने छैन | प्रसिद्ध दार्शनिक शंकराचार्य अद्वैतवादी थिए तर गीतालाई आफ्नो विवेचनाको प्रमुख ग्रन्थका रूपमा स्वीकार गरे | गीताकारको अस्तित्वलाई गर्नेरूले पनि गीताको महत्वलाई सगर्वका साथ स्वीकार गरेका छन् | श्रीमद्भगवद्-गीतासंग कुनै पनि "पढालिखा" मान्छे असहमत हुनै सक्दैन | 

गीताको उपदेश कुनै कुरा मनाउनका लागि भएकै होइन | यसले हरेक व्यक्तिलाई आफ्नो प्राकृतिक व्यक्तित्व चिनेर त्यसअनुसारको कर्तब्य अनुसरण गर्न प्रेरित गर्छ | गीताले भन्छ, मान्छे प्राकृतिक रूपमा सत्व, रजस र तमसबाट निर्मित भएको हुन्छ र ती गुणहरूको प्रतिशत अनुसार चारप्रकारका काममा उसको स्वभाविक लगाव हुन्छ | सत्वगुण प्रधान भएका व्यक्तिहरू लेखपढमा, रजोगुणमा सतोगुण प्रधान मान्छे लडाकु, तमोगुणमा रजोगुण प्रधानहरू कृषि, ब्यापारआदिमा र तमोगुण प्रधान व्यक्तिहरू अरूको काम गर्ने प्रवृत्तिका हुन्छन् |

संसार यसैअनुसार चलिरहेको छ | गीता पढेपछि आफ्नो मूलगुण के हो भन्ने बुझ्न सकिन्छ र त्यहीअनुसार आफुलाई ढाल्न सकिन्छ | आफ्नो मूलगुण अनुसार कर्म गर्ने मानिस कहिल्यै पनि असफल हुँदैनन् | गीता सुनेपछि अर्जुनले बुझेको कुरा यही हो : लडाकु व्यक्तित्व जहाँ गएपनि लडाकु नै हुन्छ | त्यस्तो अवस्थामा, सैनिकको कर्तब्य नै सबैभन्दा उचित हुन्छ | महाभारतको अर्जुनले आफै लड्ने निश्चय गरेका हुन् | 

गीताले वा श्रीकृष्णले थोपरेका पटक्कै होइनन् | आज नेपाल एउटा असजिलो परिस्थितिमा उभिएको छ | यो परिस्थितिको ज्ञान सबैलाई छ | तर यसको स्वामित्व कसैले स्वीकार्न चाहन्न | सबैले एकअर्कामा दोषारोपण गरिरहेको देखिन्छ | अवस्था एस्तो बनेको छ, चाहेर पनि कुनैले देशको वर्तमान अवस्थाको स्वामित्व लिन्न चहान्न | मलाई लाग्छ, नेपालका सबै राजनैतिक पार्टीहरूले नेपाल र नेपालीहरूको भलोको लागि मात्र काम गरिरहेका छन् | 

सबैको एस्तो साझा उदेश्य असफल छ किनभने हाम्रो लक्षमा दोषारोपण गर्ने नराम्रो संस्कार हुर्केको छ र आफ्नै देशको जरोकिलोप्रति असम्मान, अविश्वास तथा विमति राख्ने संस्कारको विकास भएको छ | गीताले यी सबैको निकास दिन्छ | श्रीमद्भगवद्-गीताले निकास दिन्छ | 

गीताले आफ्नो जरोमा हेर्न र त्यसअनुसारको किलो तयार गरेर कर्मगर्न प्रेरित गर्छ | अहिलेको राजनैतिक, धार्मिक तथा सामाजिक चिन्तनले आफ्नो जरो विर्सेको छ | आजको नेतृत्वलाई आग्रह छ, एक पटक धार्मिकता तथा अधर्मिकताबाट माथि उठेर गीताको अध्ययन गर्नुहोस् | 

गीता पढ्दैमा कृष्णभक्त बनेर वृन्दावन पस्नुपर्दैन | गीताले तपाईंलाई देश र जनतालाई निकास दिने बुद्धि र विवेक दिने छ | आफ्नो मौलिक रैथाने जरोकिलोमा फर्कन मदत गर्ने छ र देशको पुननिर्माण तथा विकासका लागि नया सोच दिने छ | श्रीगीता जयन्तिका अवसरमा विश्वभरीका मान्छेहरूमा शुभकामना | 

गीता पढ्नुहोस् र अरूलाई पनि गीता पढ्न प्रेरित गर्नुहोस् | म विश्वास दिलाउन चाहन्छु, तपाईंले गीता पढ्न धर्मपरिवर्तन गर्नुपर्दैन र एउटा हिन्दू, मुस्लिम, इसाई, नास्तिक, धार्मिक, अधार्मिक भन्दा पनि बढी एउटा "सम्पूर्ण-मान्छे" बन्नु हुनेछ |

Monday, July 10, 2017

घृणावादको स्रोत र विद्वान-दासहरूको देश

जव कुनै व्यक्ति आफ्नो क्षमता, विद्वता तथा कार्यले सर्वग्राह्य हुन्छ, त्यसवेला ऊ सबैको साझा बन्न पुग्छ | जातीयता, क्षेत्रीयता, भाषाआदि गौण हुन्छन् |

संस्कृत भाषाका आदिकवि ऋषि बाल्मिकीको जन्म शूद्रकूलमा भएको थियो | उनले रामायण लेखे | आज सबै सनातन वैदिक धर्मावलम्बीहरूले मन्दिरमा राखेर पूजाआराधना गर्छौं |

प्रसिद्ध ऋषि श्रीनारद शूद्र दासीपुत्र थिए | उनको त्याग, ज्ञान, तपस्या तथा लोककल्याणकारी स्वभावले गर्दा उनी आज सबैका आराध्य बनेका छन् | उनको विनम्रता देखेर ऋषिहरूले उनलाई आफैसंग राखेर शिक्षादीक्षा दिएको कुरा भागवतमा उल्लेख छ |

तनहुँको ब्यास नगरपालिकामा जन्मेका ऋषि द्वैपायन ब्यास पनि तल्लो जात मानिने माझिकी छोरी सत्यवतीका सन्तान थिए | उनले आफ्नो अदम्य संकल्प शक्तिका कारण शिक्षादीक्षा प्राप्त गरे, अठार पुराण, ब्रह्मसूत्र तथा महाभारतजस्ता ग्रन्थहरूको रचना गरे | आज हामी सबैले उनलाई आफ्नो आध्यात्मिक गुरूको रूपमा पूजा गर्छौं |
श्रीसूतजी वेदब्यास कै प्रत्यक्ष शिष्यथिए | उनी जन्मेको जात पनि शूद्र नै थियो भन्ने कुरा पुराणहरूमा उल्लेख छ | उनको विद्वताका कारण नैमिषारन्य क्षेत्रमा उपस्थित भएका ऋषिहरूले उनैलाई सर्वोच्च आसनमा बसालेर पूजा गर्दै पूराण सुनेका थिए भन्ने पूराणमै उल्लेख छ |

महाभारतका अनुसार धृतराष्ट्रका महामन्त्री विदूर शूद्रजातिका थिए | उनको विद्वता तथा तपस्याका कारण उनी पाण्डव तथा कौरवहरूको सभामा भीष्मपछि सबैभन्दा पूजित व्यक्ति थिए |
क्षेत्रीय जातिमा अवतार ग्रहण गरेका भगवान्रा श्रीरामले शूद्रजातिमा जन्मेकी सवरीको जूठो र क्षत्रीका छोरा श्रीकृष्णले विदूरकी पत्नीको जूठो सजिलैसंग ग्रहण गरेका थिए |

नेपाल कै सन्दर्भमा हेर्ने हो भने पनि बानेश्वरको प्रसिद्ध छ्क्कुबक्कु मन्दिरका पूजारी दलित छन्, प्रसाद ग्रहण गर्दा कसैलाई समस्या छैन | काठमाडौँ उपत्यकामा थुप्रै मन्दिरहरू छन् जहाँ दलितहरूको पूजा स्वीकार गरिन्छ |

नेपालका अन्य भागहरूमा पनि धेरै पूजारीहरू दलित छन् | यस्ता ठाउँहरूको खोजि हुन वाँकी नै छ भने जस्तो महत्वपूर्ण संस्कारमा विश्वकर्मालाई पगरी नगुथाई जन्ती अगाडी बढ्दैन |

यस भन्दा पनि महत्वपूर्ण कुरा दलित भनेर चिनिने समुदायहरूसंग पुर्ख्यौली सीप हुन्छ | उनीहरूका सीपहरूले उनीहरूको आफ्नो आर्थिकस्तर उकास्ने काम गर्छ, आत्मनिर्भर गराउने काम गर्छ | उनीहरू सबै शिल्पी हुन्छन् |
मेकियावेली शिक्षा पद्यतिलाई अङ्गीकार गरेपछि यी शिल्पीहरू आफ्नो पुर्ख्यौली पेशाबाट विस्थापित भए | यी विस्थापित वर्गहरूलाई प्रयोग गरेर जातीयघृणावादको विकास गरियो |

संस्कृत र ब्राह्मण-क्षेत्रीहरूलाई "दलितवाद"का लागि जिम्मेदार ठानियो | दलित नामक काल्पनिक ब्यानर निर्माण गरेर दलितहरूलाई बाहुनविरुद्ध घृणावाद बलियो बनाउन प्रयोग गरियो |

भारतका डा.अम्वेडकरले मेकियावेली शिक्षामा आधारित भएर गुरुकुल पद्यतिको विरोध गरे | मेकियावेली शिक्षाको जगमा उभिएर छुवाछुत समाप्त पार्न ब्राह्मणहरूलाई तारो बनाएका अम्वेदकरको आरम्भ नै गलत भएकोले भारतीय दलितहरूको वास्तविक जीवनशैलीमा कुनै फरक परेको देखिन्न |

बालगंगाधर तिलक, महात्मा गान्धी, विनोवा भावे, महात्मा फूले, डा. सावरकर, मदनमोहन मालवीय, स्वामी विवेकानन्दआदिले मेकियावेली शिक्षाको कू-प्रभाव बुझेर छुवाछुतको कुरीतिलाई जोगाउन शास्त्रीय बाटो अंगाले तर मेकियावेली शिक्षाको कठोरतामा यी टिक्न सकेनन् |

नेपालमा सबैभन्दा पहिला जोसमनी सन्तहरूले शास्त्रीय आधारमा छुवाछुत रुपी कलंक समाजवाद मेट्ने प्रयत्न गरेका हुन् र त्यस बखत आंशिकरुपमा सफलता पनि प्राप्त गरेका हुन् तर मेकियावेली शिक्षाको घृणावादी सोचमा विकसित भएको दलितवाद र दलितवाद विरुद्ध विकसित भएको सम्भ्रान्तवादले छुवाछुत हट्न/हटाउन दिएन |

दलितकार्डलाई प्रयोग गरेर सम्भ्रान्त भएका दलित नेता तथा विद्वानहरू र दलितको कार्डलाई जीवित राखेर भोट जोगाउने राजनीतिज्ञ र धर्मनिरपेक्षताको खोल ओढेर धर्मपरिवर्तनको बलियो आधारका रुपमा दलितहरूलाई प्रयोग गर्ने इसाईहरूको षडयन्त्रको भूमरीमा दलित छन् |

सबैभन्दा उदेक लाग्ने कुरा त के हो भने - यी समुदायहरू आफ्नो रैथाने सीपबाट विस्थापित भएका छन् र घृणावादका बलियो सिपाहीका रूपमा आफ्नो छिमेकी विरुद्ध प्रयोग हुँदैछन् |

आज विश्वले अनुभव गरिसकेको छ, मेकियावेली शिक्षा पद्यतिको परिणाम घृणावाद नै हो | जातिजातिविचमा, भाषा भाषाक बीचमा, देश-देशकाविचमा समुदाय-समुदायका विचमा पहिचानको मुद्दा उठाएर झगडाको वीऊ रोप्ने र झगडालुहरूको मतियार बनेर आफ्नो झन्डा गाड्ने षड्यन्त्र नै मेकियावेली शिक्षाप्रणालीको मुख्य लक्ष हो जुन नेपाली समाजमा देखिएको छ |

उदाहरणका लागि संसारको सबैभन्दा ठूलो प्राचीन साहित्य र दर्शन भएको संस्कृत भाषालाई "बाहुनको भाषा, शोषकहरूको भाषा, छुवाछुतवादीको भाषा, मृतभाषा" भनेर सर्वसाधारणलाई भ्रमित पार्दै अंग्रेजीको प्रसार गर्ने/गराउने र त्यसका माध्यमबाट धर्म-संस्कारहरूमा प्रहार गर्दै सामाजिक, सांस्कृतिक सद्भाव विथोल्न दुष्कर्म यसैका माध्यमबाट भएको हो |

मेकियावेली शिक्षानीतिका पक्षधर नेपाली शिक्षाविद तथा राजनीतिज्ञहरूले जवाफ दिनुपर्छ कि संस्कृत त बाहुनको, अन्धविश्वासको भाषा भएकोले अस्वीकार्य थियो तर अन्य रैथाने भाषा संस्कृतिको विकास किन रोकियो ?

मेकियावेली पद्यतिले सबैभन्दा पहिले समग्र भारतवर्षलाई भावनात्मकरूपले एकसूत्रमा बाध्ने संस्कृत भाषाउपर प्रहार गरेर कमजोर बनायो त्यसपछि रैथानेहरूको "पहिचान स्थापना" स्थपनाको भ्रम फैलाएर अंग्रेजी लादियो | नेपालमा पनि यही भयो र भैरहेको छ |

शिक्षाविदहरूले जवाफ दिनुपर्छ - के संस्कृत विस्थापित भएपछि किन रैथाने भाषा-पहिचानको विकास हुनुपर्ने ठाउँमा किन अंग्रेजीको विकास हुँदैछ ? अंग्रेजी र अंग्रेजीसंग भित्रिएको इसाईले देश र जनताको कुन पहिचान स्थापित गर्यो ?

साँचो कुरा त के हो भने संस्कृत भाषालाई विस्थपित गरेर अंग्रेजी र त्यसका माध्यमबाट भित्रिएको "दास-मानसिकता"का विषयमा विद्वानहरूले चालनै पाएनन् | मेकियाबेली शिक्षानीतिले आफ्नै धर्म, सम्पर्कभाषा, गुरूकुलीय शिक्षापद्यति, अर्थनीति, राज्यराष्ट्रको राजनैतिक पद्यतिले सु-सम्पन्न भारतवर्षीय जनतालाई विदेशीको दासतामा गौरव गर्ने नागरिकमा परिवर्तित गरिदियो |

सबै विधामा सार्वभौमिकता सम्पन्न नेपाली जनताहरू मेकियावेली शिक्षानीतिको चेपुवामा परेर आफ्नो मौलिकता गुमेका "गौरवशाली दास"हरूमा परिवर्तित भएका छन् | आधुनिकता र विज्ञानका नाममा मेकियावेली शिक्षानीतिले नेपालीहरूको सबैभन्दा बढी मानसिक शोषण गरेको छ, ब्लेकमेलिंग गरेको छ |

दलितवाद होस् वा बाहुनवाद दुबैको अन्त्य हुनु आवश्यक छ | समाजवाद दलितवाद र बाहुनवाद दूबैलाई विस्थापित गर्न कार्यक्रम नै बनाएर, अत्यन्त उत्साहपूर्ण तवरले मैले माथि दिएका उदाहरणहरू पाठ्यपुस्तकहरूमा समावेश गरेर पढाइनुपर्छ |

दलित, राजनैतिक तथा गैरसरकारी संस्थाहरूले उपरोक्त उदाहरणहरूको प्रयोग दलितगैरदलित दुबैका विचमा प्रस्तुत गर्नुपर्छ | यी महापुरुषहरू सबैको साझा भएकाले दलित-गैरदलितहरूको परम्परागतमा आएको गलत सोचको अन्त्य हुन्छ |

जव दलित तथा गैरदलित दूबैले संगै बस्दा आफ्नो गोत्र तथा पूर्वजहरूमा कुनै प्रकारको विभेद नरहेको थाहा पाउँछन्, स्वभावाविक रूपमा हाम्रो सोचमा रहेको दलितवाद र बाहुनवाद समाप्त हुन्छ |

र एस्तो सकारात्मक शिक्षाको सबैभन्दा ठूलो वाधक शक्ति नै "मेकियावेली" शिक्षा पद्यति हो | मेकियावेली शिक्षाको कू-प्रभावबाट जोगिएको इन्डोनेसियाको बाली प्रान्त जातीय घृणावादी चिन्तनबाट मुक्त छ |

इन्डोनेसियाको बालीमा वालीमा चारैजात छन् तर छुवाछुत छैन | हिन्दूहरूका जातजातिविच कुनै प्रकारको घृणावाद छैन | शूद्रको (मजदूर) सन्तान बाहुन हुन्सक्छ, बाहुनको छोरी मजदुर हुन्सक्छिन् | काम छुवाछुतको कारण बन्ने छैन |

वैदिक शास्त्रमै रहेका उपरोक्त उदाहरणलाई प्रयोग गरेर छुवाछुतवादी चिन्तनलाई समाजवाट सजिलै निमिट्यान्न पार्न सकिन्छ | यो सबैभन्दा सकारात्मक बाटो हो |

समाजमा गहिरोसंग जरो गाडेको घृणावादलाई विस्थापित गर्न मेकियावेली शिक्षालाई गुरुकुलीय रैथाने पद्यतिले विस्थापित गर्नुपर्छ | आफ्नो मौलिक रैथाने जरोकिलोको गौरवलाई जागृत गर्न गुरुकुल शिक्षा नै चाहिन्छ |

विज्ञान सबैको लागि एक समान हुन्छ | संसारको जुनसुकै कुनामा विज्ञानको परिणाम एकै हुन्छ | तर सामाजिकशास्त्रका नियमहरू एकसमान हुँदैनन् | इतिहास, परम्परा, मौलिकताहरू एकै हुँदैनन् | त्यसैले अंग्रेजहरूले विकास गरेको शिक्षा पद्यति उनीहरूको लागि अनुकुल भए पनि हामी नेपालीहरूको लागि अनुकुल हुँदैन |

देश विदेशी राजनीतिको दासत्वमा छदैंछ | अव नेपाली विद्वानहरूले मेकियावेली शिक्षापद्यतिसंग भित्रिएको "दास-मानसिकता"बाट मुक्त हुने प्रयत्न गर्नुपर्छ | नत्र नेपाल विद्वान-दासहरूको देशका रूपमा परिचित हुनेछ |

आफ्नो जरोकिलोसंग www.jarokilo.org जोडिएर सबैखाले विभेदहरूको प्रेमपूर्वक अन्त्य गर्ने संकल्पमा हाम्रो सहभागिता अनिवार्य भएको छ |

सबैको कल्याण होस्, स्वस्ति हो, जय होस् |

Tuesday, June 6, 2017

अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल

नेपालमा एस्तो एउटा बर्ग विकसित भइरहेको छ जसले हिन्दू धर्म, संस्कार तथा संस्कृतिको संरक्षण एवं सम्वर्धनको कुरा गर्ने जोसुकैलाई नीचताको दृष्टिकोणले हेर्छ | उसको नजरमा हिन्दुत्वको कुरा गर्नु भनेको ट्वीन टावरमा आक्रमण गर्ने अतिवादीलाई संरक्षण गर्नु हो |

दोस्रो वर्ग साम्यवादीहरूको हो जुन असलमा साम्यवादी नै होइनन् | कार्लमार्क्सले उठाएका समानता, गरिवीनिवारण, पूँजीपतिप्रति घृणा र समुन्नत समाजको सपनासंग सहमत छन् | उनीहरू हिन्दू हुन् तर "साम्यवादीले धर्म मान्दैनन्" भन्ने सिद्धान्तको कुरामा अल्झिएका छन् | नेताको कुरा काट्न सक्दैनन् |

तेस्रो वर्गले चर्को स्वरमा हिन्दुत्व धर्मको रक्षाको कुरा गर्छ र हिन्दुत्वसंग भोटको "ब्लेक मेलिंग" गर्छ | उसको लागि हिन्दुत्व एउटा आकर्षक नारा हो जुन नारामा मान्छेहरू सजिलै अल्झिन सक्छन् |

पहिलो वर्गमा चरम जातिवादीहरू र धार्मिक अतिवादीहरूको (racist) वर्चस्व छ | यो वर्ग दम्भ, घृणा र अहंकारले भरिएको छ | आफुलाई सबैभन्दा बुद्धिमान, विज्ञ र अरूलाई तुच्छ ठान्छ | यसको प्रत्यक्ष सम्वन्ध युरोपेली अहम्वाद, इसाई-मुस्लिमको एकल धर्म-संस्कृतिवाद र फुटाउ र राज्यगरवादसंग जोडिएको छ | यसको मूलमन्त्र "चर्चामा रहनु, समाजलाई विभाजित गर्नु र पैसा" कमाउनु हो |

दोस्रोवर्गले ती नेपालीहरूको प्रतिनिधित्व गर्छ जुन गरिवी, अशिक्षा तथा शोषणबाट मुक्ति चाहन्छन् | युरोपेली आवश्यकतालाई सम्वोधन गर्न कार्लमार्क्सले विकसित गरेको यो सिद्धान्त नेपालको सामाजिक, सांस्कृतिक तथा संस्कारअनुकुल छैन | त्यैपनि नेताहरूले भोट वैंकका लागि "समानताका नाममा जनतासंग भावनात्मक ब्लेक-मेलिंगका लागि" प्रयोग गरिरहेका छन् | जनताहरू भ्रमित भैरहेका छन् |

तेस्रोवर्ग हिन्दुहरूको नाममा राजनीतिमात्र गर्छ | यो वर्ग सधैं सत्ताको निकटमा रहेर आफ्नो दुनो सोझोपार्छ | यसले हिन्दुत्वको चर्को नारा लगाए पनि हिन्दूहरूको लागि ब्यबहारिक परिवर्तनका काममा कत्ति रुचि राख्दैन | एउटा गीताको पुस्तक प्रकाशित गर्दैन, गुरुकुलको लागि पहल गर्दैन, प्राचीन हिन्दू सम्पदाहरूको संरक्षणका लागि एक सुकोको काम गर्दैन |

अव चौथो वर्गको कुरा गरौँ | यो उपरोक्त तीनैबटाको द्वेधचरित्रबाट आजित भएको वर्ग हो | यो अत्यन्त नेगेटिभ छ | यो वर्गमा उपरोक्त तीनैबटा वर्गबाट निकालिएका, पद र सम्मानको अवसर नपाएका र वर्तमान राजनैतिक व्यवस्थाप्रति विश्वास गुमाएकाहरूको वर्चस्व छ | यिनले अरूको आलोचना गरेर आत्मरति प्राप्त गर्छन् |

अहिलेको नेपालका लागि सबैभन्दा ठूलो चुनौती पहिलो वर्ग हो | नेपालको धर्म, संस्कृति तथा समावेशी संस्कृतिलाई ध्वस्त पारेर युरोपेली जातिवाद, अहम्वाद तथा घृणावादलाई सधैं जीवित राखेर चलखेल गर्न चाहन्छ | यसले आफ्नो वर्चस्व राख्न नेपालको सबैभन्दा ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने "हिन्दूहरू विरुद्ध घृणा" फैलाउन आर्थिकस्तर मैं सहयोग गर्छ |

यो वर्गले धर्मपरिवर्तनको वकालत गर्छ | धर्मपरिवर्तनका लागि आर्थिक, राजनैतिक तथा कूटनैतिक कुटिलताको खुलेआम प्रयोग गर्छ | वाहिर समतामूलक सामाजिकीकरण, मानवअधिकार, रोजगारआदिको आकर्षक नारा हुन्छ तर भित्र सामाजिक, सांस्कृतिक तथा परमपरागत सहयोगीपनको चरित्रलाई ध्वस्त नियत हुन्छ | समय-समयमा राजनायिकस्तरमै यी कुराहरू उजागर भएका छन् |

यो वर्ग अर्थपिपासु र विदेशीहरूको भलो साध्ने भएकोले सधैं स्रोत तथा साधन सम्पन्न हुन्छ | राजनैतिक नेतृत्व, ब्युरोक्रेसी तथा जनसाधारण समेतलाई सजिलै प्रलोभनमा पार्न सक्छन् | यिनको मूल उदेश्य नै समाजमा आफ्ना एजेन्डाहरू स्थापित गराएर सामाजिक मतान्तर क्रियेट गर्नुहुन्छ | आफ्नो एजेन्डा स्थापित भएन भने विध्वंसात्मक गतिविधि यिनको विकल्प हुन्छ | वर्तमान नेपाल यिनका कू-कृत्यहरूको जिम्दो उदाहरण हो |

सन् १९५० पछिका अनुभवहरूले उपरोक्त चारैवर्ग नेपालका लागि अभिशाप हुन् भन्ने कुरा प्रमाणित भैसकेको छ | यसका लागि राजनैतिक नेतृत्व नै दोषी हो तर उ अमुक व्यक्ति नै हो भन्न मिल्दैन | सबै राजनैतिक नेतृत्वले असल नियतले नै काम गरेका छन् तर राजनैतिक बैचारिक स्रोत नै फोहोर तथा आयातित भएपछि परिवर्तन असम्भव भएको हो |

जसरी मुहान सफा नगरिकन स्वस्थ्यकर पानी प्राप्त हुँदैन त्यसरी नै नेपाली राजनैतिक स्रोत नै परिवर्तन नगरी नेपालमा तात्विक परिवर्तन सम्भव छैन | अझै भन्नुपर्दा, चेरोनेविलमा फैलिएको आणविक विकिरणलेझैं नेपाली राजनीतिको मूहान नै प्रदूषित भएको छ | हाम्रो काँधमा प्रदूषित मुहाननै फेर्ने दायित्व आएको छ |

प्रदूषित मुहान फेर्न सजिलो छैन | विगत ७० वर्षदेखि प्रदूषित मुहानबाट प्रवाहित भएको राजनैतिक प्रदूषणले सर्वसाधारण जनताको चिन्तन, सोच तथा ब्यबहारलाई समेत प्रदूषित पारेको छ | यो प्रदुषणले सर्वसाधारण समेत भ्रमित भएका छन् | यो भ्रमको बलियो उदाहरण हो - आफुलाई साम्यवादी पनि भन्ने र विद्यालय वा मन्दिर निर्माण गर्न भागवतको कथा लाउने, दैनिक जीवनमा सबै प्रकारका हिन्दू संस्कारहरूको पालना गर्ने तर राजनैतिक स्तरमा स्वधर्म, संस्कृति तथा आफ्नो जरोकिलो संरक्षणको कुरा गर्न नरुचाउनु |

अव हामीले बुझ्नुपर्छ : उनीहरू वैचारिक प्रदुषण फैलाएर हाम्रो जरोकिलो काट्दैछन्, हामीमा आफ्नै धर्म, संस्कृति तथा विज्ञानप्रति घृणा गर्ने नकारात्मक दृष्टिकोणको विकास गरिरहेका छन् | परिणाम स्पस्ट छ : हामी आफ्नै हातले आफ्नो जरोकिलो काट्न हौसिन्छौँ | त्यसो गर्दा आफुलाई "आधुनिक"भएको ठान्छौं | अव यो भ्रमबाट वॉरिनुपर्छ |

नेपाल हाम्रो हो र हामी नेपाली हौँ - यो तत्थ्य चिन्न जुन दिन विदेशीहरूले लेखिदिएको इतिहासलाई अस्वीकार गर्नेछौँ, त्यो दिन हाम्रो पहिलो जागरण हुनेछ | त्यस दिन हामीले आफ्नो इतिहास आफै लेख्ने बाटो खोल्ने छौँ | वैदिक ऋषिमुनिहरूको तपोभूमि नेपाल, बोन ऋषिहरूको नेपाल, बौद्ध-भिक्षुहरूको नेपाल र हजारौंवर्षदेखि अनेकताका वीच एकताको ब्यबहारिक कार्यथलोका रूपमा नेपालको परिभाषा आफै लेख्ने छौँ |

वेदहरू हाम्रा चिन्तनका स्रोत हुन्, राज्यराष्ट्र हाम्रो परिवर्तन हो, सहृदयता हाम्रो विश्वास हो, विज्ञान ब्यबहार हो र हाम्रा रैथाने भाषा, संस्कृति, चालचलनहरू हाम्रा परिचय हुन् | हाम्रो यो प्राकृतिक परिचयलाई उनीहरूले परिभाषित गरेर प्रदूषित गरिदिएका छन् | आफ्नै मौलिक तथा रैथाने परिभाषामा उभिएर मात्र नेपाल समुन्नत बन्छ भन्ने विषयमा विवाद छैन |

अन्त्यमा, अव हामी उनीहरूले लेखिदिएको परिभाषा मान्नेवाला छैनौं | हाम्रो यात्रा मुहान सफा गर्ने होइन, मुहान परिवर्तन गर्ने हो | समयले सबै नेपालीहरूलाई यो बाटोमा लैजाने छ | यसै बाटोले नेपाललाई सधैंको लागि प्रदुषण रहित बनाउने छ | यसैबाटोले हामी नेपालीलाई अमृत बनाउने छ -मृत्योर्माऽमृतं गमय: |

समय, सोच र जोस


भारतीय नेताहरू नेपालमा आएर धर्म, संस्कृति तथा इतिहासबीच रहेको पुरातन सम्बन्धको भाषण गर्दै हामी नेपालीहरूलाई भावनात्मक रुपमा ब्लेकमेलिंग गरिरहेका हुन्छन् | अर्कोतिर जव नेपालका पूर्वप्रधानमन्त्रीहरू भारतीयहरूको निमन्त्रणामा त्यहा जान्छन्, उनीहरूको ९८% भाषण भारतीयहरूको चापलुसीमा खर्च हुन्छन् |

हो, धेरै विषयमा नेपाली र भारतीयहरू बीच समानता छ | धर्म, संस्कृतिमात्र होइन हाम्रो शरीरमा बग्ने रगतको डीएनए पनि एकै हुनसक्छ तर यसको अर्थ आफ्नो स्वतन्त्रता र गौरवको परित्याग गरेर "भारत और नेपाल एक ही है" भन्ने मूर्खतापूर्ण नियम स्वीकार्न सकिन्न |

अंग्रेजले भारत छोड्ने बेलामा त्यहाँ ५६७ बटा सानाठूला राज्यहरू थिए | ती राज्यहरूको पारस्परिक विद्वेषले "इन्डिया"को निर्माण भएको हो | मुस्लिमहरूको संस्कृति होस् वा इसाई धर्म भारतीय बाटो भएर नेपाल प्रवेश गरेका हुन् |

यतिमात्र होइन, नेपालका ठूला-साना राजनैतिक परिवर्तन पनि भारतीय चाहनाले भएको तत्थ्य लुकेको छैन | मुखले भावनात्मक ब्लेक-मेलिंग गर्ने तर ब्यबहारमा नेपालीहरूलाई "कागदी निचोरेझैं निचर्ने" भारतीय संस्थापन पक्षको ब्यबहार सबैले बुझे कै हो |

मोदीको पहिलो नेपाल भ्रमणले अत्यन्त सकारात्मक भएको नेपाली मन नाकावन्दीले नराम्रोसंग कुँडियो | मोदी सरकारले दिएको मनभित्रको गहिरो घाउँ आजको युवापुस्ताले कमसेकम पचास वर्ष त बिर्सन सक्दैनन |

विश्वको सबैभन्दा ठूलो र संगठित मानिने हिन्दुहरूको संगठन राष्ट्रिय स्वयम् सेवक संघको राजनैतिक विभाग भारतीय जनतापार्टीबाट चुनिएको हिन्दुवादी सरकारले भूइँचालोले थिलोथिलो भएको नेपालमा (खासगरी पहाडीउपर) कठोर नाकावन्दी लगाउँदा न त दूई देशका जनता बीचको धार्मिक र सांस्कृतिक एकता सम्झ्यो न नेपाली जनसंख्यामा ८३% भाग ओगट्ने हिन्दूहरूको जीवनलाई नै महत्व दियो | मोदी सरकारले केवल राजनैतिक स्वार्थलाई सर्वोपरी ठान्यो र ठानिरहेको छ |

भारतीय संस्थापन पक्षमा एस्तो कठोरतापूर्ण ब्यबहार विकसित हुनुमा उनीहरूमात्र जिम्मेदार छन् भनेर मान्नु सही होइन | नेपाली जनताको नेतृत्व गर्ने नेताहरू नै भारतीयहरूको लोलोपोतो गरेर एस्तो स्थिति निम्त्याएका हुन् | नेपाली राजनीतिको नेतृत्व गर्नेहरूले नेपालीहरूको स्वार्थ होइन भारतीय राजनीतिको स्वार्थलाई महत्त्वपूर्ण ठाने | अहिले भारतीय संस्थापन पक्षलाई यो बानी परिसकेको छ |

राजनीतिको एउटा नियम छ : कुनै पनि राष्ट्रको राजनीति आफ्नै राष्ट्रको स्वार्थ पूरा गर्न संचालित हुनुपर्छ | अमेरिका होस् वा चीन, भारत होस् वा रूस उनीहरूले आफ्नो स्वार्थको लागि काम गर्छन् | उनीहरूका लागि आफ्नो राष्ट्रिय स्वार्थ सर्वोपरी हुन्छ |

नेपाली राजनैतिक नेतृत्व विश्वका केही "दुर्भाग्यपूर्ण राजनैतिक नेता" मध्ये पर्छन् जसले नेपाल र नेपालीको स्वार्थलाई अगाडी राखेर काम गर्दैनन् | यिनीहरूको मुख्यलक्ष व्यक्तिगत स्वार्थ पूरा गर्न राजनैतिक पदको उपयोग गर्नुहुन्छ |

विश्वको राजनैतिक चरित्र वदलिएको छ तर भारतीय संस्थापन पक्ष कुनै पनि हालतमा वदलिन चाहन्न र नेपाली नेतृत्व पनि नेपालीहरूको स्वार्थका लागि व्यक्तिगत स्वार्थ छोड्न तयार छैन | भारतीय संस्थापन पक्ष र नेपाली राजनैतिक नेतृत्व बीचको सम्वन्ध "तिमीहरू ब्लेक-मेलिंग गर, हामी ब्लेक-मेलिंग हुने तयारी गरेर आउंछौं" नै छ |

मैले लेखेको कुरा धेरैलाई नपच्ला तर भारतमा हिन्दुवादी सरकार हुँदाहुँदै नेपाल धर्मनिरपेक्ष राष्ट्रमा रुपान्तरित हुनु नेपालीहरूको चाहना होइन | भारतको हिन्दूवादी सरकारले नै नेपाललाई "धर्मनिरपेक्ष गणतन्त्रात्मक राष्ट्र" बनाएको हो | यो कुराको जवाफ नेपाली राजनैतिक नेतृत्वले नाटकीय मंचन "संविधान निर्माणमा जनताको सुझाव लिने क्रममा "नेपाल हिन्दू राष्ट्र हुनुपर्छ" भन्ने दिएको मतबाट बुझ्न सकिन्छ |

जनताले "नेपाललाई हिन्दू राष्ट्र वनाउँ" भनेर स्पस्ट निर्देशन दिंदादिंदै पनि नेपाल धर्मनिरपेक्ष बन्यो | यो भारतको हिन्दूवादी सरकार कै चाहनामा भएको हो | मोदीहरूले नेपाल हिन्दूराष्ट्र नै चाहेको भए यहाँ धर्मनिरपेक्षता सम्भव थिएन |

अहिले नेपाली जनतामा एउटा नकारात्मक विश्वास बलियो बनाउन भारतीय संस्थापन पक्ष सफल भएको छ त्यो हो "भारतले नेपालमा जस्तो चाह्यो तेस्तै हुन्छ "| आम नेपालीहरूमा निराशा. कुण्ठा, आत्महीनताबोधबाट उम्कन नदिने यो मानसिक लडाईमा भारत सफल भएको छ | हरेक नेपालीमा भारत-फोवियाले घर गर्न थालेको छ |

समयसमयमा नेपालीहरूले नेपाल र नेपालीहरूलाई केन्द्रमा राखेर राजनैतिक दिशा निर्धारण गर्ने प्रयत्न गरेका हुन् तर ती सफल हुन सकेनन् किनभने "भारत-फोबिया"को गहिरो आघातले तिनलाई निल्यो |

समयले कोल्टे फेर्ने होइन, समयलाई पर्खने पनि होइन, सोच परिवर्तन गर्ने हो | मान्छेको सोचले समयलाई परिवर्तन गर्छ समयले मान्छेको सोच होइन | अवको नेपाली भारतीय राजनैतिज्ञको राजनैतिक ब्लेक-मेलिंगसंग सहमत हुँदैन | भारतीय राजनैतिक नेतृत्वले बुझे हुन्छ : अवको युवाले नेपाल केन्द्रित राजनीति गर्नेछन् | सोच बदलिएपछि भारत-फोविया पनि विलाउने छ | भारतीय नेतृत्व आफ्नो सोच बदल्न बाध्य हुनेछन् |

वैदिक इतिहास केलाउने हो भने नेपाल भारतभन्दा प्राचीन हो | भारत अनेकौं राज्यहरूमा विभाजित रहेको बेला नेपाल अखण्ड थियो | कालीगण्डकीको किनारामा तपस्या गरेका राजा भरतले भारतको न्वारन गरेका थिए | अवको युवाले भारतीयहरूसंग यो कुरा भन्न कत्तिपनि डराउने छैन, लर्वराउने छैन |

सम्वन्ध मधुर गर्न र नेपाली युवाहरूको मनमा परेको "हेपाई"को चोटमा राहत दिने काम "चोट दिने"को हो | नाकावन्दी नेपालीले लगाएका होइन, उनीहरूले लगाएका हुन् | धार्मिक र सांस्कृतिक समानताको कुरा गर्दा ब्लाक-मेलिंग नहुने पुस्ता विकसित हुँदैछ |

यो युवा पुस्ताले द्वन्दमा पटक्कै विश्वास गर्दैन तर आफ्नो स्वाभिमानका विषयमा सम्झौता पनि गर्न सक्दैन | यदि नेपाल र भारत दुई राष्ट्र हुन् भने यिनको सम्वन्ध समान हुन्छ, हैसियत पनि समान नै हुन्छ | यो तत्थ्य भारतीय राजनैतिक नेतृत्वले जतिसक्दो छिटो बुझेको राम्रो हुन्छ |

जव हामीले समानताको सम्वन्धको कुरा गर्छौं धेरै नेपालीहरू सहसा विश्वास गर्न तयार देखिन्नन् | यो स्वाभाविक हो किनभने जसजसमा उनीहरूले विश्वास गरे, उनीहरूले नेपाल र भारतीयवीचको समान सम्बन्ध स्थापित गर्नुभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिए | अवको स्वार्थ नेपाल र नेपालीको लागि हुनुपर्छ |

हामीसंग समानताको सम्वन्ध राख्न चाहनेले न्यूनतम रूपमा नेपाल वैदिक सनातन हिन्दूधर्म, बौद्ध, जैन, किराती र बोनको श्रोत स्थल हो, नेपालीहरूसंग विश्वले समावेशी सम्बन्धको ब्यबहारिक प्रयोग सिक्नुपर्छ र नेपालीहरूले सिद्धान्त र परिभाषा निर्माण गर्न सक्छन् भन्ने विषयमा सहमत हुनैपर्छ |

हामी आफ्नो जरोकिलो छोड्न सक्दैनौं | आफ्नो वैदिक हिन्दू संस्कृतिको छहारीमा जागरणको धूनी बालेर भए उदेश्य प्राप्त गर्नेछौँ | सत्य तीतो हुन्छ र अन्त्यमा स्वीकार्नैपर्छ | विश्वास गर्नुस् : अवको बाटो हाम्रो आफ्नो हुनेछ, अवरोध त आउनेछन् तर गन्तव्य प्राप्त हुने विषयमा कुनै शंका छैन | जो आफ्नो जरोकिलोसंग जोडिएको छ, उ पराजित हुँदैन |

आफ्नो स्वाभिमान, इतिहास तथा दाईत्वसंग जोडिएको सोचसंग निर्मल-गोविन्दहरूले यदि "राज्यराष्ट्र" विकल्प प्रस्तुत गर्छन् भने यो कुनै काकताली होइन | नेपालीहरूको रगतमा रहेको परिवर्तनको सूर्योदय हो | कसैले नाक खुम्च्याउदैमा नेपालका नदीहरूले पथ परिवर्तन गर्दैनन् | यो सोचको परिवर्तन हो, यो सोचको परिवर्तनलाई रोक्ने ताकत कसैसंग छैन | हामी आफ्नो मूलबाटोमा छौँ र सबै बाटोहरू अन्ततः मूलबाटो मै जोडिने छन् |

अन्त्यमा, हामी सबै समय, सोच र जोश लिएर परिवर्तनको मार्गमा छौँ | हामी जित्नेछौँ |

Friday, June 2, 2017

सुन्दर देखिने इच्छा जव बन्छ समस्या

महिला वा पुरुषले आफ्नो शारीरिक सुन्दरताका लागि सरदार दैनिक ३० मिनट विताउने गर्छन् | तर केही पुरुष तथा महिलाहरू शारीरिक सिंगार-पटारका लागि आवश्यकता भन्दा बढी नै समय खर्च गर्छन् |

उनीहरू हरेक समय आफ्नो सुन्दरतामा केन्द्रित हुन्छ | घरमा घन्टौं सृंगरपटारमा विताए तापनि उनीहरू समय मिल्दा साथ पुन: लिपिस्टिक लगाउन, कपाल कोर्ने, कपालमा जेल फेर्ने, सुगन्धित बस्तु हाल्ने, लुगा फेर्ने र वारम्वार ऐना हेर्ने काम गर्छन् |

एसो गर्ने मध्ये ५-१०% पुरुष तथा स्त्रीहरू "एक्ट्रेस-सिन्ड्रोम"ले पिडित हुन्छन् | सृगरपटार गर्ने इच्छामा नियन्त्रण गर्ने नसक्ने अवस्था आउनु र यसका कारण अन्य दैनिक कामहरू प्रभावित भैरहेको छ भने तपाई "एक्ट्रेस-सिन्ड्रोम"बाट पिडित हुनुहुन्छ |
"एक्ट्रेस-सिन्ड्रोमका निम्न लक्षण हुन्छन् :
१. बाटोमा हिड्दा नराम्रो/नराम्री देखिएँ कि भनेर चिन्ता हुने |
२. कही ठूलो ऐना देख्यो कि आफुलाई हेर्न मन लाग्ने
३. आफुसंग सृगरका सामग्री लिएर हिड्ने
४. ठाउँ पाउदा साथ ड्रेस परिवर्तन गर्ने
५. बारम्वार कपाल मिलाउने, काहियो लगाउने
६. नराम्रो देखिने डरले आत्तिने
७. अरूलाई बढी राम्रो देखेर डाहा हुने आदि
८. बारम्वार सेल्फी खिच्न मन लाग्ने

परामर्श : शारीरिक सुन्दरता सबैका लागि चाहिन्छ नै | हरेक मान्छे सुन्दर देखिनुपर्छ | यदि सुन्दरदेखिनका लागि तपाइँले आफ्नो दैनिक ब्यबहार छोड्नु भएको छ अर्थात् यदि तपाईंले आफ्नो शारीरिक सुन्दरता प्राप्त गर्नका लागि जानाजान त्यो भन्दा पनि महत्वपूर्ण कामहरू छोड्नु भएको छ वा गर्न ढीला गर्नुभएको छ भने आफ्नो सोच बदल्ने बेला आयो |

यसका लागि तपाईंले निम्न काम गर्न सक्नुहुन्छ
१. सुन्दरता समय सापेक्ष र उमेर सापेक्ष हुन्छ भनेर आफै रियलाइज गर्ने
२. बारम्वार ऐना हेर्ने बानीमा क्रमश: नियन्त्रण गर्दै लैजाने
३. संगै लिएर हिड्ने सृगर सामग्रीहरूको संख्या पनि घटाउने
४. अरूको सुन्दरता हेरेर रमाउने
५. आफ्नो प्राकृतिक बनावटमा विश्वास गर्ने र त्यो आफ्नोलागि अद्वितीय छ भनेर विश्वास गर्ने |
६. सेल्फी लिनु एउटा प्राकृतिक कुरा हो तर जव कसैले ठाउँ-कुथाउमा, आफ्नो शरीरलाई नै जोखिममा पारेर सिल्फी लिने कुरामा सचेतता अपनाउनुपर्छ | शरीर नै नभए तपाईंले खिचेको सेल्फिको कुनै महत्व हुँदैन |

यदि पनि तपाईंको समस्या यथावत् रहन्छ र चाहँदाचाहदै आफुलाई परिवर्तन गर्न सक्नुभएको छैन भने मनोबैज्ञानिक परामर्शकसंग सम्पर्क गरेर अगाडी बढ्ने | तपाईंको सुन्दरता रमाइलोपनका लागि हो, यसको लागि बढी अल्झिएर आफ्ना अन्य महत्वपूर्ण कुराहरू न गुमाओं |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...