Tuesday, June 6, 2017

समय, सोच र जोस


भारतीय नेताहरू नेपालमा आएर धर्म, संस्कृति तथा इतिहासबीच रहेको पुरातन सम्बन्धको भाषण गर्दै हामी नेपालीहरूलाई भावनात्मक रुपमा ब्लेकमेलिंग गरिरहेका हुन्छन् | अर्कोतिर जव नेपालका पूर्वप्रधानमन्त्रीहरू भारतीयहरूको निमन्त्रणामा त्यहा जान्छन्, उनीहरूको ९८% भाषण भारतीयहरूको चापलुसीमा खर्च हुन्छन् |

हो, धेरै विषयमा नेपाली र भारतीयहरू बीच समानता छ | धर्म, संस्कृतिमात्र होइन हाम्रो शरीरमा बग्ने रगतको डीएनए पनि एकै हुनसक्छ तर यसको अर्थ आफ्नो स्वतन्त्रता र गौरवको परित्याग गरेर "भारत और नेपाल एक ही है" भन्ने मूर्खतापूर्ण नियम स्वीकार्न सकिन्न |

अंग्रेजले भारत छोड्ने बेलामा त्यहाँ ५६७ बटा सानाठूला राज्यहरू थिए | ती राज्यहरूको पारस्परिक विद्वेषले "इन्डिया"को निर्माण भएको हो | मुस्लिमहरूको संस्कृति होस् वा इसाई धर्म भारतीय बाटो भएर नेपाल प्रवेश गरेका हुन् |

यतिमात्र होइन, नेपालका ठूला-साना राजनैतिक परिवर्तन पनि भारतीय चाहनाले भएको तत्थ्य लुकेको छैन | मुखले भावनात्मक ब्लेक-मेलिंग गर्ने तर ब्यबहारमा नेपालीहरूलाई "कागदी निचोरेझैं निचर्ने" भारतीय संस्थापन पक्षको ब्यबहार सबैले बुझे कै हो |

मोदीको पहिलो नेपाल भ्रमणले अत्यन्त सकारात्मक भएको नेपाली मन नाकावन्दीले नराम्रोसंग कुँडियो | मोदी सरकारले दिएको मनभित्रको गहिरो घाउँ आजको युवापुस्ताले कमसेकम पचास वर्ष त बिर्सन सक्दैनन |

विश्वको सबैभन्दा ठूलो र संगठित मानिने हिन्दुहरूको संगठन राष्ट्रिय स्वयम् सेवक संघको राजनैतिक विभाग भारतीय जनतापार्टीबाट चुनिएको हिन्दुवादी सरकारले भूइँचालोले थिलोथिलो भएको नेपालमा (खासगरी पहाडीउपर) कठोर नाकावन्दी लगाउँदा न त दूई देशका जनता बीचको धार्मिक र सांस्कृतिक एकता सम्झ्यो न नेपाली जनसंख्यामा ८३% भाग ओगट्ने हिन्दूहरूको जीवनलाई नै महत्व दियो | मोदी सरकारले केवल राजनैतिक स्वार्थलाई सर्वोपरी ठान्यो र ठानिरहेको छ |

भारतीय संस्थापन पक्षमा एस्तो कठोरतापूर्ण ब्यबहार विकसित हुनुमा उनीहरूमात्र जिम्मेदार छन् भनेर मान्नु सही होइन | नेपाली जनताको नेतृत्व गर्ने नेताहरू नै भारतीयहरूको लोलोपोतो गरेर एस्तो स्थिति निम्त्याएका हुन् | नेपाली राजनीतिको नेतृत्व गर्नेहरूले नेपालीहरूको स्वार्थ होइन भारतीय राजनीतिको स्वार्थलाई महत्त्वपूर्ण ठाने | अहिले भारतीय संस्थापन पक्षलाई यो बानी परिसकेको छ |

राजनीतिको एउटा नियम छ : कुनै पनि राष्ट्रको राजनीति आफ्नै राष्ट्रको स्वार्थ पूरा गर्न संचालित हुनुपर्छ | अमेरिका होस् वा चीन, भारत होस् वा रूस उनीहरूले आफ्नो स्वार्थको लागि काम गर्छन् | उनीहरूका लागि आफ्नो राष्ट्रिय स्वार्थ सर्वोपरी हुन्छ |

नेपाली राजनैतिक नेतृत्व विश्वका केही "दुर्भाग्यपूर्ण राजनैतिक नेता" मध्ये पर्छन् जसले नेपाल र नेपालीको स्वार्थलाई अगाडी राखेर काम गर्दैनन् | यिनीहरूको मुख्यलक्ष व्यक्तिगत स्वार्थ पूरा गर्न राजनैतिक पदको उपयोग गर्नुहुन्छ |

विश्वको राजनैतिक चरित्र वदलिएको छ तर भारतीय संस्थापन पक्ष कुनै पनि हालतमा वदलिन चाहन्न र नेपाली नेतृत्व पनि नेपालीहरूको स्वार्थका लागि व्यक्तिगत स्वार्थ छोड्न तयार छैन | भारतीय संस्थापन पक्ष र नेपाली राजनैतिक नेतृत्व बीचको सम्वन्ध "तिमीहरू ब्लेक-मेलिंग गर, हामी ब्लेक-मेलिंग हुने तयारी गरेर आउंछौं" नै छ |

मैले लेखेको कुरा धेरैलाई नपच्ला तर भारतमा हिन्दुवादी सरकार हुँदाहुँदै नेपाल धर्मनिरपेक्ष राष्ट्रमा रुपान्तरित हुनु नेपालीहरूको चाहना होइन | भारतको हिन्दूवादी सरकारले नै नेपाललाई "धर्मनिरपेक्ष गणतन्त्रात्मक राष्ट्र" बनाएको हो | यो कुराको जवाफ नेपाली राजनैतिक नेतृत्वले नाटकीय मंचन "संविधान निर्माणमा जनताको सुझाव लिने क्रममा "नेपाल हिन्दू राष्ट्र हुनुपर्छ" भन्ने दिएको मतबाट बुझ्न सकिन्छ |

जनताले "नेपाललाई हिन्दू राष्ट्र वनाउँ" भनेर स्पस्ट निर्देशन दिंदादिंदै पनि नेपाल धर्मनिरपेक्ष बन्यो | यो भारतको हिन्दूवादी सरकार कै चाहनामा भएको हो | मोदीहरूले नेपाल हिन्दूराष्ट्र नै चाहेको भए यहाँ धर्मनिरपेक्षता सम्भव थिएन |

अहिले नेपाली जनतामा एउटा नकारात्मक विश्वास बलियो बनाउन भारतीय संस्थापन पक्ष सफल भएको छ त्यो हो "भारतले नेपालमा जस्तो चाह्यो तेस्तै हुन्छ "| आम नेपालीहरूमा निराशा. कुण्ठा, आत्महीनताबोधबाट उम्कन नदिने यो मानसिक लडाईमा भारत सफल भएको छ | हरेक नेपालीमा भारत-फोवियाले घर गर्न थालेको छ |

समयसमयमा नेपालीहरूले नेपाल र नेपालीहरूलाई केन्द्रमा राखेर राजनैतिक दिशा निर्धारण गर्ने प्रयत्न गरेका हुन् तर ती सफल हुन सकेनन् किनभने "भारत-फोबिया"को गहिरो आघातले तिनलाई निल्यो |

समयले कोल्टे फेर्ने होइन, समयलाई पर्खने पनि होइन, सोच परिवर्तन गर्ने हो | मान्छेको सोचले समयलाई परिवर्तन गर्छ समयले मान्छेको सोच होइन | अवको नेपाली भारतीय राजनैतिज्ञको राजनैतिक ब्लेक-मेलिंगसंग सहमत हुँदैन | भारतीय राजनैतिक नेतृत्वले बुझे हुन्छ : अवको युवाले नेपाल केन्द्रित राजनीति गर्नेछन् | सोच बदलिएपछि भारत-फोविया पनि विलाउने छ | भारतीय नेतृत्व आफ्नो सोच बदल्न बाध्य हुनेछन् |

वैदिक इतिहास केलाउने हो भने नेपाल भारतभन्दा प्राचीन हो | भारत अनेकौं राज्यहरूमा विभाजित रहेको बेला नेपाल अखण्ड थियो | कालीगण्डकीको किनारामा तपस्या गरेका राजा भरतले भारतको न्वारन गरेका थिए | अवको युवाले भारतीयहरूसंग यो कुरा भन्न कत्तिपनि डराउने छैन, लर्वराउने छैन |

सम्वन्ध मधुर गर्न र नेपाली युवाहरूको मनमा परेको "हेपाई"को चोटमा राहत दिने काम "चोट दिने"को हो | नाकावन्दी नेपालीले लगाएका होइन, उनीहरूले लगाएका हुन् | धार्मिक र सांस्कृतिक समानताको कुरा गर्दा ब्लाक-मेलिंग नहुने पुस्ता विकसित हुँदैछ |

यो युवा पुस्ताले द्वन्दमा पटक्कै विश्वास गर्दैन तर आफ्नो स्वाभिमानका विषयमा सम्झौता पनि गर्न सक्दैन | यदि नेपाल र भारत दुई राष्ट्र हुन् भने यिनको सम्वन्ध समान हुन्छ, हैसियत पनि समान नै हुन्छ | यो तत्थ्य भारतीय राजनैतिक नेतृत्वले जतिसक्दो छिटो बुझेको राम्रो हुन्छ |

जव हामीले समानताको सम्वन्धको कुरा गर्छौं धेरै नेपालीहरू सहसा विश्वास गर्न तयार देखिन्नन् | यो स्वाभाविक हो किनभने जसजसमा उनीहरूले विश्वास गरे, उनीहरूले नेपाल र भारतीयवीचको समान सम्बन्ध स्थापित गर्नुभन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिए | अवको स्वार्थ नेपाल र नेपालीको लागि हुनुपर्छ |

हामीसंग समानताको सम्वन्ध राख्न चाहनेले न्यूनतम रूपमा नेपाल वैदिक सनातन हिन्दूधर्म, बौद्ध, जैन, किराती र बोनको श्रोत स्थल हो, नेपालीहरूसंग विश्वले समावेशी सम्बन्धको ब्यबहारिक प्रयोग सिक्नुपर्छ र नेपालीहरूले सिद्धान्त र परिभाषा निर्माण गर्न सक्छन् भन्ने विषयमा सहमत हुनैपर्छ |

हामी आफ्नो जरोकिलो छोड्न सक्दैनौं | आफ्नो वैदिक हिन्दू संस्कृतिको छहारीमा जागरणको धूनी बालेर भए उदेश्य प्राप्त गर्नेछौँ | सत्य तीतो हुन्छ र अन्त्यमा स्वीकार्नैपर्छ | विश्वास गर्नुस् : अवको बाटो हाम्रो आफ्नो हुनेछ, अवरोध त आउनेछन् तर गन्तव्य प्राप्त हुने विषयमा कुनै शंका छैन | जो आफ्नो जरोकिलोसंग जोडिएको छ, उ पराजित हुँदैन |

आफ्नो स्वाभिमान, इतिहास तथा दाईत्वसंग जोडिएको सोचसंग निर्मल-गोविन्दहरूले यदि "राज्यराष्ट्र" विकल्प प्रस्तुत गर्छन् भने यो कुनै काकताली होइन | नेपालीहरूको रगतमा रहेको परिवर्तनको सूर्योदय हो | कसैले नाक खुम्च्याउदैमा नेपालका नदीहरूले पथ परिवर्तन गर्दैनन् | यो सोचको परिवर्तन हो, यो सोचको परिवर्तनलाई रोक्ने ताकत कसैसंग छैन | हामी आफ्नो मूलबाटोमा छौँ र सबै बाटोहरू अन्ततः मूलबाटो मै जोडिने छन् |

अन्त्यमा, हामी सबै समय, सोच र जोश लिएर परिवर्तनको मार्गमा छौँ | हामी जित्नेछौँ |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...