Sunday, November 5, 2017

आचार्य श्रीनिम्वार्क, द्वैताद्वैतवाद जन्म-जयन्ती


प्रसिद्ध दार्शनिक सिद्धान्त "द्वैताद्वैतवाद"का प्रतिपादक आचार्य श्रीनिम्वार्कको जन्म सन् १११६ तिर भएको मानिए पनि परम्परागत अनुयायीहरूले यस वर्ष ५०१४ जन्म दिवस मनाउँदै छन् |

आचार्य निम्वार्कको जन्म भारतीय गणराज्य तेलगुको एउटा ब्राह्मण परिवारमा भएको थियो र जन्मको नाम नियमानंद थियो | उनी बाल्यकाल देखिनै विरक्त स्वभाव भएका हुँदा १३ वर्षको उमेर मैं घर छोडेर गोवर्धनमा आएका थिए र शिक्षादीक्षा प्राप्त गरेका थिए |

गोवर्धनमा उनले श्रीनारदबाट वैष्णव दीक्षा लिएको भन्ने जनश्रुति रहेको छ भने भोकाएका साधुलाई भोजन गराउन निमको रुखमा सूर्यको दर्शन गराएको हुँदा उनको नाम निम्वार्क रहन गएको भन्ने गरिन्छ |

आचार्य निम्वार्कको सम्पूर्ण जीवन नै श्रीराधाकृष्णको आराधना गर्दै मथुरा, वृन्दावन गोवर्धनआदिमा व्यतित भएको थियो | उनी वैदिकशास्त्रका प्रचण्ड ज्ञाता भए पनि साधनाप्रिय भएको हुँदा धेरै लेख्ने काममा रुचि राख्दैनथे |
आचार्य निम्वार्कले आरम्भ गरेको वैष्णव सम्प्रदायलाई निम्वार्क-सम्प्रदायका रूपमा चिनिन्छ | निम्वार्क सम्प्रदायले ब्रह्म, जीव र काल यी तीन तत्वहरूको अस्तित्व मान्छ र यी सबै अन्योंयास्रित भएको विश्वास गर्छ |

आचार्य निम्वार्कले परमसत्वलाई "श्रीराधाकृष्ण"का रूपमा पहिचान गरेका छन् र समस्त जीवहरूलाई उहाको सूक्ष्मअंशका रूपमा | हरेक जीवले स्वकीया भक्तिका माध्यमले भगवानको प्राप्ति गर्छ भन्ने उनको विश्वास छ | यही विश्वासलाई अगाडी बढाउने विश्वासीहरू नै निम्वार्क सम्प्रदायका अनुयायी हुन्छन् |

अहिले निम्वार्क सम्प्रदायका अनुयायीहरू विश्वभरी फैलिएका छन् | यिनको निश्चित संख्या थाहा नभए पनि नेपालमा दूईलाखका हाराहारीमा यी रहेको विश्वास गरिन्छ | अनुयायीहरू सबै शाकाहारी हुन्छन्, विनम्र हुन्छन् र शरणगतिमा विश्वास गर्छन् |

गोपीचन्दनको ठाडो टीका भित्र सेतो वा कालो विन्दू लाउने, गोपाल तथा मुकुन्दमन्त्र जप्ने, भागवतआदिको पाठ गर्ने र मन्दिर निर्माण गरेर श्रीराधाकृष्णको विग्रहको पूजाअर्चना गर्ने निम्वार्की वैष्णव हुन्छन् |

नेपालमा निम्वार्की वैष्णवहरूको विकास मूलत: स्याङ्गजा, केलादीघाटका श्रीभागवतशरणका समयदेखि भएको विश्वास गरिन्छ | यो सम्प्रदाय स्वभूराम र परसुराम द्वारामा विभाजित भए पनि उपासना पद्यतिमा कुनै फरक देखिन्न भने नेपालमा यी दूबै समूहविच अत्यन्त मैत्रीपूर्ण सम्वन्ध रहेको देखिन्छ |

नेपालमा निम्वार्क सम्प्रदाय पूर्वदेखि पश्चिमसम्म फैलिएको भए तापनि मूलत: केलादीघाट, देवघाट, गैडाकोट, काठमाडौं, झापा, सेतिवेनी, चौताराआदिमा मन्दिरहरू रहेका छन् | यस बाहेक पर्वतको गलेश्वर, विराटनगर, सर्लाही, नेपालगंजमा अनेकौं मन्दिरहरू संचालनमा रहेका छन् भने देवघाट, केलादी, विराटनगर तथा चतरामा गुरुकुल पनि संचालनमा छन् |

नेपालमा निम्वार्क सम्प्रदायका अनुयायीमा निम्वार्क संस्कृत महाविद्यालयका पूर्वप्रधानाचार्य श्रीहरिशरण उपाध्यायले गैडाकोटमा, श्रीहरिशरण उपाध्याय देवघाटमा, केलादीमा गोपालशरण देव, काठमाडौंमा मुकुन्दशरण उपाध्याय, रुपन्देहीमा प्रेमबाबा र बालसंत भनिने मोहनशरणले वनारसबाट जगदगुरुको पदवीप्राप्त गरेर निम्वार्क सम्प्रदायको प्रचारप्रसार गरिरहेका छन् |

नेपाली वैष्णव सम्प्रदायहरूमा निम्वार्क सम्प्रदाय सबैभन्दा प्राचीन भएको विश्वास गरिन्छ | भने आज नेपालका विभिन्न भागबाट निम्वार्क जयन्ती मनाएको खवर प्राप्त भएको छ जसमा विराटनगरमा रथयात्रा निकालिएको छ भने काठमाडौँको गौशालामा सम्मान कार्यक्रम गरिएको छ र भुटानी शरणार्थी शिविर वेल्डागींमा पनि मनाइएको सूचना प्राप्त भएको छ | चार प्रमुख वैष्णव आचार्यहरू मध्येका आचार्य निम्वार्कको जन्म-जयन्तिको अवसरमा सबै श्रीनिम्वार्क अनुयायीहरू,मा हार्दिक शुभकामना |

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...