Wednesday, November 15, 2017

सन् २०१७ मा दर्शनशास्त्रका कुरा

सन् २००२ मा युनेस्कोले दर्शनशास्त्रलाई सम्मान गर्ने निर्णय गर्दै अंग्रेजी महिना नोभेम्वरको तेस्रो विहिवारका दिन "विश्वदर्शनशास्त्र दिवस मनाउने" निर्णय गर्यो | दर्शनशास्त्रका आध्येता, प्राध्यापक, विद्यार्थी,शुभेच्छुकहरूका लागि यो एउटा उचित आरम्भ थियो | त्यसपछि विश्वका विभिन्न भागमा विश्वदर्शनशास्त्र दिवस मनाइन्छ | नेपालमा पनि सन् २००८ देखि यसको आरम्भ भएको हो |

हरेक वर्ष युनेस्कोले एउटा विशेष नारासंग दर्शनशास्त्र दिवसको आयोजना गर्छ जहाँ विद्वानहरूले आफ्ना अनुभवहरू साटासाट गर्छन् र मानव तथा समस्त विश्वको कल्याणका लागि आफ्ना सुझाव तथा मतहरू प्रस्तुत गर्छन् | ती सुझाव तथा मतहरू कसले के-कति स्वीकार गर्छ, कार्यन्वयन गर्छ भन्ने कुरा स्पस्ट छैन | विज्ञान तथा ब्यबस्थापनको घेरामा सूक्ष्म-ब्यबस्थापनको पीडाले थालिएको विश्वले दर्शनशास्त्रीहरूका सुझावहरू सुन्न र त्यसमा अमल गर्न निकै गारो छ |

युनेस्कोले दर्शनशास्त्रको महत्वलाई ठाउं दियो राम्रो कुरा हो तर सन् २००२ देखि आजसम्मका सबैजसो कार्यक्रमहरू पाश्चात्य आयाममा आधारित छन् | हरेक वर्षमा युनेस्कोले निर्धारण गर्ने नाराहरूमा पाश्चात्यदर्शन र त्यहाँको बैचारिक प्रभुतालाई महत्व दिने गरिएको छ | नेपाल, भारत, चीन तथा विश्वका अन्य देशहरूका दार्शनिक चिन्तनहरूको महत्व अङ्गिकार गर्न नसक्नु युनेस्कोको लागि लाजमर्दो मर्दो कुरा हो | विश्व वदलिन चाहन्छ तर युएनका कुनै पनि निकायहरू पश्चिमा-प्रभुत्वको सीमा तोड्न तयार छैनन् |

जव कुनै विद्वान वा संस्थाले एस्तो विभेदको कुरा उठाउँछ, त्यस्तो व्यक्ति अवान्छित बन्न पुग्छ | लाग्छ, अमेरिकी, तथा युरोपेलीहरूले जुन विकास तथा शिक्षाका मानदंडहरू तयार गर्छन् त्यही नै अन्तिम हुन्छ र त्यही नै सभ्यताको सीमा हुन्छ ! विश्वको अनेकताले एस्तो सुप्रिमेसीलाई सधैं स्वीकार्न सक्दैन र रुचाउँदैन पनि | विश्वदर्शनशास्त्र दिवसका अवसरमा विश्वका अन्य भागमा विकसित भएका र पश्चिमा शिक्षा पद्यतिभन्दा फरक तवरले उठाइएका चिन्तनहरूलाई पनि महत्व दिन सक्नुपर्छ | यो वर्ष नेपालबाट हामीले यही पद्यति अवलम्वन गरेका छौँ | हाम्रो पश्चिमासंग कुनै शत्रुता वा पूर्वाग्रह छैन तर "विकास, विचार र सभ्यताको उत्स हौँ" भन्ने पश्चिमा उद्दण्डतालाई भने चुनौती दिनै पर्छ |

निश्चय नै, पाश्चात्यहरूले विज्ञान तथा शिक्षा क्षेत्रमा गरेको प्रगति लोभ लाग्दो छ | यसै विकासले गर्दा आज उनीहरू विश्वमा धाक जमाउन सफल भएका छन् | प्रगति सबैको चाहना र गन्तब्य हुन्छ र नेपालीहरूले पश्चिमा प्रगतिको अनुसरण गर्न चाहन्छन् भने उचित नै हो | तर उनीहरूले जुन प्रगतिको मानदण्ड बनाएका छन् ती हाम्रो परिवेश र चिन्तनसंग मिल्न जरूरी छैन | नेपाली समाजलाई विकसित गर्न विज्ञानले मदत गर्छ तर इतिहासलाई फेर्न सक्दैन | इतिहास हरेकको आफ्नै हुन्छ | अर्काको अनुकरण गर्दा इतिहाससंग अन्याय हुन्छ |

यस वर्ष युनेस्कोले "मानवताका लागि दर्शनशास्त्र"को नारा तय गरेको छ | धेरैजसो पश्चिमा दार्शनिकहरू मानवताजस्तै दर्शनशास्त्र पनि धर्मनिरपेक्ष हुन्छ र हुनुपर्छ भन्ने विचार राख्छन् | उनीहरूको इतिहास र सामाजिक जीवनमा यो सत्य होला तर भारतवर्षीय दार्शनिक चिन्तनहरूहरूप्रति यसले न्याय गरेको छैन | एकेश्वरवादी चिन्तनको एकलकाटे इतिहासमा विकसित भएको पाश्चात्य चिन्तनप्रणाली र बहुतत्ववादी चिन्तनको इतिहासमा हिडिरहेको नेपाली तथा भारतीय दार्शनिक जीवनका परिणामहरू नितान्त फरक हुन्छन् भन्ने कुरा नेपाली सामाजिक तथा राजनैतिक संस्कारले पनि प्रतिब्यन्जित गरिरहेको छ |

उदाहरणका लागि "डेमोक्रेसीको विकल्प डेमोक्रेसी" नै हुन्छ भन्ने पश्चिमा विश्वास "परमेश्वर एउटामात्र हुन्छ र ऊ भन्दा अर्को परमेश्वर अर्को हुनसक्दैन" भन्ने बाइबल र कुरानका वचनहरूविच आधारभूतरूपमा कुनै भिन्नता छैन | शिक्षा, विकासका मानकहरू तथा मानवाधिकारका विषयमा पनि पाश्चात्य चिन्तन यस्तै पूर्वाग्रह युक्त हुन्छन् भन्न अव असजिलो मान्न हुँदैन | मेरा यी धारणाहरू सुरूमा असजिला लाग्न सक्छन् तर सत्यलाई नकार्न मिल्दैन | स्वतन्त्रताका पक्षपाति पश्चिमा विद्वानहरूले एक दिन मेरो कुरा बुझ्नेछन् |

तीन चारहजार वर्षको इतिहास बोकेको दर्शनशास्त्र गतिशील छ | धर्म तथा दर्शनशास्त्रमा धेरैजसो इतिहासतिर तिर फर्कने र पुरानो इतिहासको बखान गरेर आत्मसन्तोष गर्ने परम्परा नै चलेको छ | धार्मिकता त झन् प्राचीन कथाहरूमा नै खडा छ, सक्ने भए सबै धार्मिकहरू आफ्नो पुरानो इतिहासमा फर्कन्थे तर यस्तो हुँदैन | खासगरी "एकेश्वरवादी धार्मिक चेतनामा यो खोट बढी छ | कुनै पनि मुस्लिम वा इसाई मोहम्मद वा इसाको समयलाई सबैभन्दा नैतिक, मूल्यवान् र सार्थक ठान्छन् | यो खोट बहुलतावाद धार्मिक समुदायमा न्यून छ |

इतिहासमा के-कस्तो असमानता थियो भन्ने विषयमा अव फर्केर जान सकिन्न तर संचारको विकासले अहिलेका मानवीय समस्याहरूलाई छताछुल्ल भएका छन् | समाचारहरू पढ्दा लाग्छ, मान्छेका विचमा समस्याहरू बाहेक केही छैनन् ! तर वास्तविकता एस्तो होइन | समस्याहरू बैचारिक रूपमा बढी शक्तिशाली तवरले मानवीय चिन्तनमा प्रवेश गर्छन् किनभने हामी मान्छेलाई समस्या मुक्त भएको देख्न चाहन्छौं | तर पश्चिमा पाराको एकतावादी चिन्तन नै खोट पूर्णभएको कारणले सधैं नकारात्मकता अगाडी देखिन्छ |

यस वर्षको दार्शनिक दिवसमा हाम्रो चिन्तनको विषय "राज्यराष्ट्र वा राष्ट्रराज्य" भन्ने रहेको छ | यो राजनैतिक दर्शनको एउटा अंग हो | अहिले नेपालको राजनैतिक परिदृश्यहरूको नक्सा बनाउने हो भने अचम्मको देखिन्छ | भोटरको संख्या साम्यवादीहरूको बढी छ जसको सैद्धान्तिक प्रतिमानले धार्मिक, सांस्कृतिक तथा परम्पराको निरन्तरतामा कत्ति पनि विश्वास गर्दैन | तर समाज धार्मिक छ र यहाँका रैथाने धर्म, संस्कृति, विविधताहरूको संरक्षण गर्ने पक्षमा छ | राजनैतिक नेतृत्व पनि समाजको एस्तो अभिमत स्वीकार्न बाध्य छन् | साम्यवादीहरूले पनि अस्पताल, पाटीपौवा निर्माणका लागि सप्ताहकै सहारा लिने अवस्था छ |

दोस्रो, पूँजीवाद तथा साम्यवादको फ्युजनबाट विकसित राजनैतिक धारालेमात्र देशको विकास हुनुपर्छ तर राजनीति वा राजनीति गर्ने व्यक्तिहरू धार्मिकता, परम्परा तथा सांस्कृतिक पूर्वाग्रहबाट मुक्त हुनुपर्छ भन्ने समाजवादीहरू छन् | यो राजनैतिक समुह हब्सको प्रजातान्त्रिक चिन्तन र अब्राहम लिंकनका भनाईमा मानवीय विकासको प्रतिमान खोज्दछ | पश्चिमाप्रतिमानहरूलाई आफ्नो आदर्श मान्ने तर नेपालको धरातलीय वास्तविकतासंग ती प्रतिमानहरूको "ठीक-ठीक" प्रयोगात्मक निष्कर्ष प्राप्त नहुदाँ यी सबै रनभुल्लमा छन् |

तेस्रो, यिनै साम्यवादी तथा समाजवादीहरूका विचका केही घटकहरू "नेपालीपन:को राजनैतिक सिद्धान्तको दम्भ गर्छन् तर वि.पीको समाजवाद, मदनभण्डारीको जवज र पुष्पकमल दाहालको प्रचण्डपथ पश्चिमा साम्यवादी-पुंजीवादी चिन्तनलाई नै स्थानीयकरण गर्ने प्रयत्न हुन् | घोरिएर विचार गर्ने हो भने अहिलेको राजनीति तेस्रोधारमा छ | साम्यवाद, पूँजीवाद, समाजवादहरू स्थानीय आवश्यकतामा मोडिफाई भएर "विरूप, विकृत गन्तब्यहीन, उदेश्यहीन तथा रंगहीन बनेका छन् |

एस्तो राजनैतिक आवारापनको सामना नेपालीहरूले २००७ साल देखि नै भोगिरहेका छन् |असलमा, यस्तो विकृतिको जड पश्चिमा-प्रतिमानको राजनैतिक अवधारणाले नेपालको रैथाने राजनैतिक चरित्रलाई विस्थापित गर्ने प्रयत्न गर्दा विकसित भएको हो | मैले पुन: दोहोर्याउन नपर्ला, पाश्चात्य प्रतिमानहरू "एकदेशीय, एक जातीय, एकभाषीय, एकल धार्मिक, एकेश्वरवाद" विकसित भएका हुनाले  सधैं एकलवादी नै रहन्छन् | राष्ट्रसंचालनका राजनैतिक सिद्धान्तमा "राष्ट्रराज्य"को चरित्र यसै एकलवादी इतिहासको र चरित्रको ब्यबहारिक अभिप्राप्ति हुन् | जुन बहुलतावादी नेपाली समाजका लागि अनुपयुक्त छन् |

बहुलवादी धार्मिक तथा सांस्कृतिक इतिहास र संरचना भएका सामाजिक संरचनामा "राष्ट्रराज्य" सधैं असफल हुन्छ | नेपाल, भारत, पाकिस्तान, अमेरिका, अफ्रिकाआदि देशहरूमा राष्ट्रराज्यले द्वन्दमात्र निम्त्याएको छ | बहुलवादी सामाजिक संरचनामा एकलवादी राजनैतिक संरचना थोपरिंदा जे-हुनुपर्ने हो त्यही नै भैरहेको छ भन्ने मेरो मान्यता रहेको छ | एक धर्म, एक जाति, एक भूगोल तथा भाषाका आधारमा निर्मित भएका युरोपेली राष्ट्रराज्यहरू समेत अन्य जातिहरूको बसोवास बढ्दैजाँदा आफ्नो मूल चरित्र परिवर्तन गर्नुपर्ने बाध्यताको संघारमा उभिएका छन् | क्रमशः राष्ट्रराज्य फितलो हुँदैछ कि राज्यराष्ट्रतिर उन्मुख हुदैछ | एउटा कुरा पक्का हो - आगामी दिनहरूमा राष्ट्रहरूले आफ्नो राजनैतिक प्रतिमान परिवर्तन गरेनन् भने "स्वास्थ्य र मिलनसार मानव समाज"को उदेश्य पूर्ण हुनेछैन |

आजभन्दा लगभग तीनहजारवर्ष पहिले मनुले  "एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः । स्वं स्वं चरित्रे शिक्षेरन् पृथिव्यां सर्वमानवाः " अर्थात् हरेक मानवसमाज उसको बसोवास, भूगोल, जन्म तथा सिकाईका आधार फरक-फरक हुन्छ र त्यसैको आ-आफ्नो राजनैतिक, सामाजिक, सांस्कृतिक चरित्रको विकास गर्दै आगाडी बढ्छन्" भनेर मनुस्मृतिमा लेखेका थिए | स्पस्ट छ, युरोपेलीहरूका लागि राष्ट्रराज्य फापे पनि नेपालीहरूका लागि त्यो फाप्छ भन्ने छैन | १२५ वटा जातजातिहरू फैलिएर बनेको नेपाल, २७ सय भाषाहरू र ६२७ वटा जातजातिहरू फैलिएर बनेका भारत, अफगानिस्तान, धेरै जातजाति र सांस्कृतिक समुहहरु भएका अमेरिकी र अफ्रिकी मुलुकहरूमा किन प्रजातन्त्र फापेन ?  किन यी देशहरू युरोपेलीहरूका दाँजोमा विकसित बन्नरहेका छैननन् ? किन "प्रजातान्त्रिक"हुँदाहुँदै पनि किन यहाँ सधैं अशान्ति र द्वन्द छ ? सोच्नु त पर्छ नै |

आजको राजनैतिक प्रतिमानका "प्रजातन्त्र" स्थापित छ | प्रजातन्त्रको विकल्पको कुरा गर्नु भनेको धेरैका लागि असामाजिक, असांस्कृतिक र अराजक कुरा लाग्ला तर विश्वमा छताछुल्ल भैरहेका मानवीय समस्याहरू समधान गर्न प्रजातन्त्रको विकल्पका विषयमा पनि चर्चा गर्नुपर्छ | यसो भनिरहंदा मैले निरंकुश, एकलवादी तथा तानाशाही ब्यबस्थाको पक्षपोषण गरिरहेको छैन | दर्शनशास्त्रले सधैं स्वतन्त्रता र एकताको कुरा गर्छ तर विकल्प खोज्न पनि छोड्दैन | एस्ता विकल्पहरूको खोज र सोच पनि मानव एकता तथा कल्याणका लागि नै हुनुपर्छ |

एस्तो विकल्पको अवधारणा वेदहरूमा स्पस्ट रूपमा पढ्न सकिन्छ | स्वराज्य, बैराज्य, महाराज्य, अधिराज्य, साम्राज्यआदि राज्यसंचालनका पद्यतिहरू वेदमा उल्लेख छन् | प्लेटोको रिपब्लिक जान्नेले यी विकल्पहरू पनि जानेको हुनुपर्छ | वैदिक राज्यब्यबस्थापनका सिद्धान्तहरूलाई समग्र रूपमा "राज्यराष्ट्र" भन्न मिल्छ | वैदिक राज्यराष्ट्रको यो अवधारणा केन्द्रीकृत साम्यवादीहरूको राज्यराष्ट्रभन्दा नितान्त भिन्न विकेन्द्रीकृत राज्यप्रणाली हो र वर्तमान प्रजातन्त्र भन्दा बढी ब्यबहारिक छ जस्तो मलाई लाग्छ |

हुन त कार्लमार्क्सले प्रतिपादन गरेको साम्यवाद राजनैतिक सिद्धान्त र मुस्लिमहरूको इस्लामिक राष्ट्र दूबै राज्यराष्ट्रमा विश्वास गर्छन् तर यसको प्राप्तिका लागि यिनले प्रयोग गर्ने औजारहरू बैदिक राज्यराष्ट्रभन्दा नितान्त भिन्न छन् | कार्लमार्क्सको राज्यराष्ट्र घेरावन्दी, विद्रोह, हत्या, मोर्चा, विस्थापन, लडाई, विनाशआदिबाट प्राप्त हुन्छ भने मुस्लिमहरूको राज्यराष्ट्र अन्यहरूको विनाश वा धर्मान्तरणबाट प्राप्त हुन्छ | एउटा धार्मिक अतिवादमा आधारित राज्यराष्ट्र हो भने अर्को निषेधको नियममा आधारित राज्यराष्ट्र | दूबै अतिवादी नै हुन् |

वैदिक राज्यराष्ट्रवाद प्राप्तिका साधनहरू हिंसक छैनन् |यसले अन्य जातिहरूको "सम्मान"लाई नै राज्यराष्ट्र प्राप्तिको सबैभन्दा भरपर्दो साधन मान्छ | "विश्वक हरेक मान्छेको आ-आफ्नो चरित्र हुन्छ | जव ती चरित्रहरूलाई स्वाभाविक रूपमा लिइन्छ, त्यस बेला विश्वको मानव-समाज आफ्नै परिवार सरह हुन्छ (बसुधैव कुटुम्बकम्) र प्रजाहरू मिलेर वैश्विक भ्रातृत्व स्थापित गर्छन् |" वैदिक राज्यराष्ट्रको चुरो यही हो र यो हामी नेपालीहरूको आफ्नो रैथाने राज्यसंचालनको सिद्धान्त हो |

मैले अन्य राष्ट्रहरूका राज्यसंचालन सम्वन्धि अवधारणाहरू विस्थापित गरेर राज्यराष्ट्र थोपरिनुपर्छ जस्तो एकलवादी चिन्तनको प्रतिबद्धता गर्दिन तर नेपालजस्तो अन्योंयाश्रित सम्वन्ध भएका जातजाति र भाषाभाषीहरूका लागि राष्ट्रराज्य घातक छ भन्ने तत्थ्यचाहिं प्रकट गर्न चाहन्छु नै | दर्शनशास्त्रले दिएको सुन्दर र स्वतन्त्र विवेक प्रयोग गर्ने मेरो अधिकारको सबैभन्दा सुन्दर अभिव्यक्ति नै यही हो भन्ने मैले विश्वास गर्छु | म मेरो विश्वास अरूलाई बोकाउन चाहन्न तर यस विषयमा वहस होस्, चिन्तन होस्, अनुसन्धान होस् भन्ने चाहना अवश्य राख्छु |

सिद्धान्त निर्माणको दिशामा हामी नेपालीहरू निकै पछाडी छौँ | सिद्धान्तहरूका सवालमा पनि रेडिमेड संस्कृतिले हाम्रो सिर्जनात्मकतामा नकारात्मक प्रभाव परेको छ | हामी आयातित र आफ्ना ऐतिहासिक सिद्धान्तहरुको द्वन्दमा नराम्रोसंग दिग्भ्रमित भएका छौँ | राजनीति, शिक्षा, आर्थिक नीति, विज्ञान तथा जीवन दर्शनका सवालमा पनि हामी अल्मलिएका छौँ | यो अल्मलाहटबाट बाहिर निक्सने क्षमता हामी आफैले विकास गर्नुपर्छ | नेपालका बामपन्थी आराजक राजनीतिज्ञ तथा थाहाका प्रवर्तक रुपचन्द्र विष्टका शब्दमा - "थाहा" पाउनु नै मुक्ति हो अर्थात् ऋते ज्ञानान्न मुक्ति अर्थात् ज्ञान प्राप्त नगरी स्वतन्त्रताको अनुभूति हुँदैन |

मेरो विश्वासले भन्छ, मेरो ज्ञानले भन्छ मेरो विश्वास सत्यका निकट छ | तर मैले देखेको र विश्वास गरेको सत्य खोज्ने काम अनुसन्धाताहरूले पूरा गर्नुपर्छ | प्लेटोको रिपब्लिक मात्र घोकेर विकल्प उपस्थित हुँदैन वेद, उपनिषद, पुराण, सूत्र, त्रिपिटकहरू पनि चाहार्ने जाँगर चलाउनुपर्छ | मुंगाहरुको सहरमा पुग्दैमा मुंगा आफैं हातमा आउंदैन | परिश्रम गर्नुपर्छ त हामी आफैले गर्नुपर्छ |

(copyright Dr. Govinda S. Upadhyaya)


No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...