Wednesday, June 26, 2024

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी 

निम्बार्क उपासना 

नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "वेदहरूले बोलेको कुनै पनि कुरा विरोधाभाषी तथा असत्य हुँदैन" भन्ने कुराको उनको मनमा गहिरो प्रभाव परेको थियो |

आफ्नो शिक्षा समाप्त भएपछि उनलाई गृहस्थी जीवन मन परेन | आमा बुवासंग अनुमति प्राप्त गरेर उनी गोवर्धनमा आए र त्यहीं सानो कुटिया बनाएर आफ्ना आराध्यदेव राधाकृष्णको उपासना गर्न थाले |

उनी अत्यन्त विनम्र साधक मात्र होइन अतिथिको सेवा गर्नमा पनि अब्बल थिए | एक दिन ब्रह्माले सन्यासीको वेस बनाएर साँझपख नियमानन्दको कुटीयामा पुगे | सूर्यास्तपछि भोजन नगर्ने नियमानन्दले भोको सन्यासीलाई खुवाउनका लागि साँझ परिसकेपछि पनि आफ्नो साधनाका बलले नीमको रूखमा सूर्य स्थापित गरेर (असलमा त्यो सुदर्शन चक्र थियो) सन्यासीलाई भोजन गराए |


भोजन गर्दासाथ सूर्यास्त भएको देखेर सन्यासी विस्मित भए | ध्यान गरेर हेर्दा सुदर्शन चक्र भएको थाहा पाएर नियमानन्दलाई आशिर्वाद दिंदै "निम्बार्क"को नाम दिए | असलमा, यी सन्यासी ब्रह्मा नै थिए |

आचार्य निम्बार्कको समयमा ठूलाठूला शास्त्रार्थ हुन्थे | वेद तथा उपनिषद्हरूका आधारमा परमसत्यको फरकफरक व्याख्या हुन्थ्यो | कसैले अद्वैतलाई परमसत्य भएको घोषणा गर्थे भने कसैले द्वैत नै परमसत्य भएको आग्रह गर्थे | तर आचार्य निम्बार्कलाई वेदका अद्वैत र द्वैतवादी वाक्यमा विरोधाभाष हुनै नसक्ने विश्वास थियो |

आचार्य निम्बार्कले भने "वेदका सम्पूर्ण बचनहरू यथार्थ हुन् | वेदवाक्यहरू तुल्यवल भएका कारण समान छन् | वेदका कुनै वचनलाई श्रेष्ठ र अर्कोलाई गौण ठान्नु वेदविरुद्ध हुन्छ | तेसैले यी बचनहरूमा कुनै पनि विरोधाभाष छैन | यो सृष्टि, जीव तथा ब्रह्मको सम्वन्ध समन्वयात्मक छ | भोक्ता, भोग्य तथा प्रेरकका रूपमा रहेको ब्रह्मनै परमसत्य हो | यसको अर्थ हो, ब्रह्म जति निराकार छ, अचिन्त्य छ, त्यतिनै साकार तथा वस्तुगत पनि छ | वेदहरूले ब्रह्मको सीमा अद्वैत वा द्वैत भनेर तोकेका छैनन् अपितु द्वैत तथा अद्वैत वीच समन्वयको तत्थ्य प्रकट गरेका छन् |"

आचार्य निम्बार्कले कुनै पनि दार्शनिक सिद्धान्तको आलोचना नगरीकन वेदबचनको समन्वयात्मक सिद्धान्त प्रस्तुत गरे | उनले उपदेश दिए "साधकहरूले विनम्रता पूर्वक उपास्य, उपासक, कृपाको फल, भागवत् प्राप्ति र भक्तिको विरोधी तत्व - यी पाँचबटा तत्थ्यहरूलाई बुझेर विनम्रता पूर्वक वैदिक जीवन यापन गर्नुपर्छ भन्ने उहाँको अभिमत थियो |

आचार्य निम्बार्कले आफ्नो मत स्थापना गर्न, प्रचारप्रसार गर्न शास्त्रार्थ गर्न, ठूलाठूला सिद्धान्तका पुस्तक लेख्न, अन्य दार्शनिक सिद्धान्तहरूको खण्डन गर्नु भन्दा विनम्रतापूर्वक आफ्ना आराध्य देव राधाकृष्णको उपासनालाई महत्व दिए | उनका अनुसार वेदवाक्यहरूले नै समन्वयवादी सिद्धान्त प्रस्तुत गरेको हुँदा, यिनको स्वत: प्रमाणिकता स्थापित हुन्छ | यस विषयमा आफ्नो दृष्टिकोण निर्माण गर्नु वेदको सत्यतामा सन्देह गर्नुसरह हो -आचार्य निम्बार्कको सहज दृष्टिकोण रहेको छ |

आचार्य निम्बार्ककाअनुसार विश्व ब्रह्मात्मक तत्व हो अर्थात् विश्वको आत्मा ब्रह्म हो | यसरी विश्व तथा ब्रहमका विचमा उभयात्मक सम्बन्ध छ | उदाहरणका लागि घैंटो माटोले निर्माण भएको हुन्छ तेसैले माटो माटो भन्दा फरक हुँदैन | जीव तथा प्रकृति ब्रह्मात्मक भएको कारणले अभिन्न छ, |
साथै, भोक्ता, भोग्य र नियन्ताका रुपमा विश्व त्रिरूप छ | यो सत्यलाई वेद र श्रुतिहरूले स्वीकार गरेकै छन् | यहाँ नाम, रूपम, गुणआदिले भिन्नता सिद्ध हुन्छ | यसैगरी द्वैतअद्वैतका रुपमा सम्पूर्ण जडचेतानात्मक जगत र ब्रहमका विच स्वाभाविक भिन्न र अभिन्न सम्बन्ध सिद्ध हुन्छ, यही नै स्वाभाविक भेदाभेद, द्वैताद्वैत हो | वाक्यपदीय नामक व्याकरण ग्रन्थका रचयिता भर्तृहरि पनि भेदभेदवादी नै थिए तर उनको भेद बाक्य र पदका विचको स्फोटका रूपमा प्रकट हुन्छ |

द्वैताद्वैत के हो - एक पटक सरल उदाहरणबाट बुझौं :
सुनको औंठी
(क) सुनको औंठी सम्पूर्ण रूपमा सुननै हो |
(ख) त्यो सुनको आकार औठी हो र सुन नै हो |
(ग) सुन र औंठी अभिन्न छन् | सुन पनि सत्य हो र औंठी पनि सत्य हो | सुन र औंठीका विचमा स्वाभाविक भिन्न-अभिन्न सम्बन्ध छ |

वेदान्त दशश्लोकी-१
ज्ञानस्वरूपञ्च हरेरधीनं शरीरसंयोगवियोगयोग्यम्।
अणुं हि जीवं प्रतिदेहभिन्नं ज्ञातृत्ववन्तं यदनन्तमाहुः ||१||
अर्थ : जीवहरू अनन्त छन् र असंख्य छन् | जीव सधैं भगवानका अधीनमा छन् | जीवको अनेकौं प्रकारका शरीरहरूसंग सम्योग र वियोग भैरहन्छ | जीवहरू अत्यन्त सूक्ष्म छन् | हरेक जीव भिन्नभिन्न छन् र ज्ञानरूप छन् | (१)
द्वैताद्वैतका प्रचारक आचार्य निम्बार्कले रचना गरेको वेदान्त दशश्लोकी मध्ये उपर्युक्त अर्थ पहिलो श्लोकको हो | व्यक्तिगत रूपमा जीव-जगत् सम्बन्धि उहाँको यो चिन्तन मलाई अत्याधिक व्यबहारिक लाग्छ | हाम्रो जीवको अनन्तता, ससीमता तथा पार्थक्य अनुभूत विषय हुन् | यसैगरी हरेक जीव प्रकृतिका अधिनमा छन् भन्ने तत्थ्य पनि लुकेको छैन | साथै, हरेक जीव सीमित छन् र त्यो सीमाभित्र रहेर पूर्णस्वतन्त्रताको उपयोग गर्न सक्छन् - यो पनि व्याबहारिक सत्य हो |
हालै विज्ञानको खोजले १ करोड डिग्रीको गर्मीमा १ हजार करोड डिग्रीको गर्मीमा जन्मन, हुर्कन सक्ने तेजोमय शरीर (जीव)को सम्भावनालाई स्वीकार गरेको छ | जसरी आकाश गङ्गाहरू अनन्त छन्, ब्रह्माण्डहरू अनन्त छन् तेसरी नै जीवहरू अनन्त छन् भन्ने तत्थ्यलाई निराकरण गर्न सकिन्न | विज्ञानले जानेको मानिएको ५% ज्ञानभित्र पृथ्वीको रहस्य खुलेको छैन | अनन्तको अर्थ र दुई ट्रीलियन प्रकाश वर्ष टाढाको सूर्य भन्नु सैद्धान्तिक रूपमा एकै हुन्छ | प्रत्यक्ष प्रमाणका आधारमा दुई ट्रीलियन वर्ष परको सूर्य र तपाईंहामीभित्र स्वासप्रश्वासका रूपमा विद्यमान जीव प्रमाणित हुनै सक्दैनन् |
जीवलाई स्वतन्त्र तर ईश्वरको अधीनमा मान्नु र अनन्त तर अध्यात्मिक ज्ञानका मध्यमबाट मात्र उसको असली स्वरूप साक्षात्कार हुन्छ भन्ने मान्यता राख्नु द्वैताद्वैतवादी दार्शनिक चिन्तनको विषेशता रहेको देखिन्छ | जीव सर्वज्ञ होइन तर ईश्वरको अंश भएको नाताले ईश्वरीय गुणहरू यसमा पनि उपस्थित हुनु स्वभाविक हो | यहाँ आचार्य निम्बार्कले जीवलाई ज्ञानरुप भनेर जडअंशबाट उन्मुक्ति दिएका छन् तर कर्मअनुसारको शरीर प्राप्त हुने तत्थ्यलाई स्वीकार गरेका छन् |

वेदान्त दशश्लोकी- २
अनादिमायापरियुक्तरूपं त्वेनं विदुर्वै भगवत्प्रसादात् ।
मुक्तञ्च बद्धं किल बद्धमुक्तं प्रभेदबाहुल्यमथापि बोध्यम् ||२||
अर्थ : अज्ञात वा अनादिकालदेखि नै जीव मायाको फन्दामा परेको छ | यही बन्धनका कारण जीवले ईश्वरलाई चिन्न सकेको छैन | यस्ता जीवहरू पूर्णतया मुक्त, पूर्णतया बन्धनमा परेका र बन्धन तथा मुक्त दुवै अवस्थामा रहेका हुन्छन् भनेर बुझ्नुपर्छ || २ ||

आचार्य निम्बार्कको दार्शनिक दृष्टिकोण निकै व्याबहारिक र परिपक्व देखिन्छ | आचार्य शङ्करले जीव र ब्रह्मलाई एकै तत्व मानेका छन् | आचार्य रामानुजले जीवलाई ईश्वरको अंश त मान्छेका छन् तर ईश्वरसंग तिनको विशिष्ट अभिन्नता रहेको भन्दै अप्रत्यक्ष रूपमा शङ्करको अद्वैतवादको समर्थनमा उभिएका छन् | तर आचार्य निम्बार्कले ऋषि, मुनि, आचार्यहरूलाई नित्य मुक्तको श्रेणीमा राखेका छन् भने संसारिक जीवहरूलाई बद्ध-जीवका रूपमा स्वीकार गरेका छन् | बद्धमुक्त ती जीवहरू हुन् जुन जीवनमुक्त छन् | उदाहरणका लागि महर्षि दधिची, शुकदेव, व्यासदेव तथा सम्प्रदाय संस्थापक आचार्यहरू र गद्दीसीन आचार्यहरू जीवनमुक्त हुन् | यो श्रेणीमा बौद्ध तथा जैनका दलाईलामा प्रभृत्ति तथागतहरू र तीर्थंकरहरू हुन् सक्छन् |

आचार्य निम्बार्कले व्यबहार र परमार्थका आधारमा जीवका तीनबटा अवस्थाको उल्लेख गरे पनि बद्ध जीवले पनि साधना गरेर बद्धमुक्त वा मुक्तावस्ता प्राप्त गर्ने सक्ने बाटो खुला राखेका छन् | यसो भनिरहंदा आचार्य निम्बार्कले कुनै पनि पूर्वचार्यहरूको आलोचना गरेका छैनन् | साथै, यसै श्लोकमा जीवको मोक्षका मालिलामा जीवको मोक्ष प्राप्तिको चाहाना र भगवान् को कृपा दुवैको संयोजन हुनुपर्ने पनि उल्लेख गरेका छन् |

जीव अनादिकालदेखि मायाको बन्धनमा छ भन्ने विश्वासमा आचार्य निम्बार्क अन्य आचार्यहरूका दार्शनिक चिन्तनसंग सहमत छन् तर बन्धनलाई पूर्णतया अस्वीकार गरेर जीवलाई ब्रह्मनै भएको भन्ने भनाईप्रति असहमत छन् | यदि सम्पूर्ण केवल ब्रह्म नै हुन्थ्यो भने संसारमा विविधता हुनु, माया हुनु भनेकै ब्रह्म पूर्ण शुद्ध छैन भन्ने सिद्ध हुन्छ | तर ब्रह्ममा कुनै पनि अशुद्धता नहुने हुँदा लीलावस जीवसंग सृष्टिको संयोजन गरेको हुन्छ | यसरी, ब्रह्म, जीव र जगत सबै थोक सत्य हुन् | असलमा, विरोधको अभाव नै निम्बार्क दर्शनको अद्वितीय विशेषता हो |

वेदान्त-दशश्लोकी - ३
अप्राकृतं प्राकृतरूपकञ्च कालस्वरूपं तदचेतनं मतम्।
मायाप्रधानादिपदप्रवाच्यं शुक्लादिभेदाश्च समेऽपि तत्र ||३||
अर्थ :
अप्राकृत, प्राकृत (प्रकृति) र प्रकृतिका कार्यहरू तथा काल यी सबै अचेतन मानिन्छन् | माया, प्रधान, अव्यक्तआदि प्रकृति कै नाम हुन् | सेतो, रातो र कालो वर्ण भएका सत्व, रज र तम यी तीनैबटा गुणहरू पनि प्रकृतिकै हुन् |

यो श्लोकमा आचार्य निम्बार्कले पराप्रकृति, प्रकृति र कालको त्रैध तत्वको परिचर्चा गरेका छन् | अप्राकृत सत्ता भगवान् स्वयं र उहाँको धामआदि हुन् | प्रकृति र उसका कार्यहरू अर्थात् संसार हो भने तेस्रो सत्ता कालको छ | विश्वको निर्माण त्रिगुणरूपा प्रकृतिको विस्तार हो | सत्व, रज र तम प्रकृतिका आन्तरिक गुण हुन् | आचार्य निम्बार्ककाअनुसार प्रकृति परमतत्वकै अभिन्न अङ्ग भएकोले सांख्य दर्शनकोझैं ईश्वर निरपेक्षतत्व होइन | पराप्रकृति (ईश्वर) प्रकृति र कालको समवेत सहकार्य नै सृष्टि हो | प्रकृति र काल ईश्वर-सापेक्ष तत्त्व हुन् | यिनको स्वतन्त्रता ईश्वराधीन छ |

आचार्य निम्बार्कले ईश्वर, प्रकृति र काल यी तीनबटा परमतत्वको अस्तित्वलाई स्वीकार गरेको भए पनि प्रकृति र काललाई अप्राकृति अर्थात् ईश्वरको अधिनमा राखेका छन् | यस श्लोकको अर्थ बुझ्न दोस्रो श्लोकको अर्थ मनन गर्नुपर्ने हुन्छ | नित्यमुक्त, बद्ध र बद्धमुक्त यी जीवहरूका भेदहरूले क्रमशः अप्राकृतिक, प्राकृतिक र कालको प्रतिनिधित्व गरेका हुन्छन् | आचार्य निम्बार्कका लागि मायामा मोहिनी शक्ति भए पनि त्यो ईश्वरीय गुण नै हो जसको मूल उद्देश्य जीव र ईश्वरका विचमा सहजीकरण गरेर नित्यमुक्त अवस्थामा स्थापित गर्नु हो |

ईश्वर (ब्रह्म) र जगत् यी दूवैको यथार्थसत्ता स्वीकार गर्ने थुप्रै दार्शनिकहरू छन् तर काललाई परमतत्वका रूपमा स्वीकार गर्ने आचार्य निम्बार्कले दर्शनशास्त्रमा नयाँ प्रतिमान स्थापित गरेका छन् | वेदान्त लघुमन्जुषामा भनिएको छ "काल चेतन र अचेत दूवै भन्दा भिन्न उभायात्मक गुण भएको (ईश्वर र जीवलाई जोड्ने) सचेतन अवधिनै काल हो | कालको स्वतन्त्र अस्तित्व छ तर ईश्वरमा कालको स्वतन्त्रता बाधित गर्ने सामर्थ्य पनि छ |

वेदान्त दशश्लोकी-४
स्वभावतोऽपास्तसमस्तदोषमशेषकल्याणगुणैकराशिम्।
व्यूहाङ्गिनं ब्रह्म परं वरेण्यं ध्यायेम कृष्णं कमलेक्षणं हरिम् ||४||
अर्थ : जुन् प्राकृतिक रूपमा नै समस्त दोषहरूबाट मुक्त हुनुहुन्छ, र समस्त कल्याणकारी गुणहरूले युक्त हुनुहुन्छ, जो वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्ध यी चाररूपले घनिभूत हुनुहुन्छ, त्यस्ता कमलको फूलसरह सुन्दर आँखा भएका भगवान् श्रीकृष्णको ध्यान गर्दछौँ |
.......
आचार्य निम्बार्क वैष्णव परम्पराअन्तर्गत भेदाभेदवाद वा द्वैताद्वैतवादका प्रचारक हुन् | आफ्नो तपस्याको शक्तिले नीमको रूखमा सूर्यको स्थापना गरेको हुँदा नियमानन्दबाट निजको नाम निम्बार्क रहेको हो - भन्ने विश्वास सम्प्रदायका अनुयायीहरूको रहेको छ | आचार्य निम्बार्कले प्रस्थानत्रयी (ब्रह्मसूत्र, गीता र उपनिषद)को व्याख्या गरेर स्वाभाविक द्वैताद्वैतका अधर्म सम्प्रदायको स्थापना गरे | निम्बार्क सम्प्रदायमा परमब्रह्मतत्वका रूपमा श्रीराधाकृष्णको स्वेकीय स्वरूपको उपासना गर्ने पद्धति छ | आचार्य निम्बार्क र उहाँका पश्चवर्ती आचार्यहरूले शास्त्रीय प्रमाणका आधारमा राधाकृष्ण नै परमतत्व रहेको सिद्ध गरेका छन् |

आचार्य निम्बार्क ब्रह्मको सगुण स्वरूपका उपासक हुन् तर निर्गुणसंग उहाँको कुनै विरोधाभाष छैन | उहाँको आग्रह एत्ति हो कि परमतत्वलाई सगुण वा निर्गुण भनेर सीमा तोक्न सकिन्न र यो तर्कसंगत पनि छैन | मानवीय बुद्धिमा ब्रह्मतत्वको सीमा तोक्न सक्ने विषयमा कल्पनासम्म गर्न सकिन्न | साकार र निराकार एकै कृष्णतत्वका दुईबटा पाटा हुन् | उपासनाका दृष्टिकोणले भगवानको साकारस्वरूप सजिलो, रसिलो र सम्बाद गर्न सहज हुन्छ | भक्ति एकमात्र ब्रह्मतत्वसंग साक्षात्कार गर्ने आध्यात्मिक साधन हो |

वेदान्त दशश्लोकी-५
अङ्गे तु वामे वृषभानुजां मुदा विराजमानामनुरूपसौभगाम्।
सखीसहस्रैः परिसेवितां सदा स्मरेम देवीं सकलेष्टकामदाम् ||५||
अर्थ : श्रीकृष्णकै समान रूप, शक्ति तथा माधुर्य भएकी र उहाँका देब्रेसंगतिर विराजमान, हजारौं सखीहरूले घेरिएकी, सम्पूर्ण मनोकामना पूर्ण गर्न समर्थ वृषभानुकी पुत्री (श्रीराधा)लाई हामी सधैं स्मरण गर्छौं |

निम्बार्क सम्प्रदायले दार्शनिक दृष्टिकोणमा स्वाभाविक भेदाभेदको सिद्धान्त स्वीकार गर्छ | यो श्लोकमा राधा र कृष्णलाई अभिन्न तत्वका रूपमा स्वीकार गर्दागर्दै पनि द्विशक्तिका रूपमा स्मरण गरिएको छ | दोस्रो कुरा, द्वैतवादी मध्व र तिनका अनुयायी चैतन्य महाप्रभुको शिष्यपरम्परामा राधा र कृष्णको सम्बन्धलाई "परकीया"का रूपमा परिभाषित गरिएको छ अर्थात् राधाकृष्ण अनन्य शक्ति भए पनि व्याबहारिक रूपले पतिपत्नी होइनन् | राधाको विवाह अन्य कुनै गोपालसंग भएको हो | निम्बार्क सम्प्रदायमा श्रीराधाकृष्णको सम्बन्धलाई "स्वेकीया" मानिन्छ अर्थात् राधाकृष्णको विवाह ब्रह्माले गरिदिएका हुन् र राधाकृष्ण अनादि पतिपत्नी हुन् | राधामा पनि ती सबै शक्तिहरू छन् जुन आचार्य निम्बार्कले श्रीकृष्णका विषयमा ४ थो श्लोकमा वर्णन गर्नुभएको थियो |

केही संस्कृतका विद्वानहरूले आचार्य निम्बार्कको "युगल सरकार"को दृष्टिकोणको आलोचना पनि गरेका छन् | यहाँ बुझ्नु पर्ने कुरा के हो भने राधाकृष्ण कुनै भौतिक व्यक्ति होइन | परत्पर शक्ति हुन् | राधाकृष्णको सम्बन्धलाई क्वान्टमको चरित्रसंग दाँज्न सकिन्छ | क्वान्टमलाई कुनै वस्तुले नदेख्दा प्रवाहका रूपमा हुन्छ भने कसैले (क्यामेरा)ले देख्दासाथ त्यो पार्टिकलमा रुपान्तरित हुन्छ | यसको अर्थ हो पार्टीकल र वेभका विचमा अभिन्न सम्बन्ध छ र तस्तो सम्बन्ध कसैले निर्माण गरेको होइन, अनादि हो | आचार्य निम्बार्क राधाकृष्णका उपासक हुन् | उनका लागि सम्पूर्ण ज्ञान, भक्ति तथा कर्मको उच्चतम उत्स राधाकृष्णको साहचर्य प्राप्त गर्नु हो |

वेदान्त दशश्लोकी-६
उपासनीयं नितरां जनैः सदा प्रहाणयेऽज्ञानतमोऽनुवृत्तेः।
सनन्दनाद्यैर्मुनिभिस्तथोक्तं श्रीनारदायाखिलतत्वसाक्षिणे ||६||
अर्थ : परमतत्वरूप राधाकृष्णको सधैं उपासना गरिरहनु पर्छ | उहाँको ध्यानले कठोर अन्धकारको आवृत्ति नष्ट हुन्छ | यो तत्थ्य परमतत्वका ज्ञाता श्रीनारद मुनिले आफ्ना गुरूबाट प्राप्त गर्नुभएको हो |

आचार्य निम्बार्कलाई भगवान् श्रीबिष्णुका परमप्रिय पार्षद सुदर्शन चक्रका प्रत्यक्ष अवतार मानिन्छ | निम्बार्क सम्प्रदायका प्रवर्तक श्रीहंस भगवानलाई मानिन्छ भने उहाँले भेदभेदवादी दर्शनको उपदेश देवर्षि नारदलाई र नारदले आचार्य निम्बार्कलाई उपदेश दिएको भनिएको छ | यसरी निम्बार्क सम्प्रदाय पनि वैदिक गुरुशिष्य परम्पराको निरन्तरता हो |

आचार्य निम्बार्कले श्रीराधाकृष्णलाई परमतत्वको रूपमा स्वीकार गरेर जीवको लागि एकमात्र परमउपास्य भएको उपदेश दिएका छन् | जीव अनन्त जन्मदेखिको अज्ञानको घेरामा छोपिएको छ तर सत्चिन्दानंद परमतत्व रूप राधाकृष्णको उपासनाले अज्ञानको विनाश हुन्छ | यो तत्थ्य श्रीहंस भगवानले श्रीमद्भागवतको एकादशौं स्कन्धमा उपदेश गर्नुभएको, नारद मुनिले यसलाई बुझेर निम्बार्कलाई उपदेश दिनु भएको हो |

आचार्य परम्परामा दीक्षित, शिक्षित र प्रशिक्षित विनम्र शिष्यहरूले अज्ञानको आवृत्तिबाट मुक्ति प्राप्त गरेर श्रीराधाकृष्णको नित्त्य सान्निध्य प्राप्त गरेका अनेकौं साक्षी छन् | यसको अर्थ अन्य उपासनाहरू निरर्थक हुन् भन्ने पटक्कै होइन |

वेदान्त दशश्लोकी - ७
सर्वं हि विज्ञानमतो यथार्थकं श्रुतिस्मृतिभ्यो निखिलस्य वस्तुनः।
ब्रह्मात्मकत्वादिति वेदविन्मतं त्रिरूपताऽपि श्रुतिसूत्रसाधिता ||७||
अर्थ : शास्त्रहरूले यो सम्पूर्ण विश्व र बस्तुहरू विज्ञानरूप (सत्चिदानंद) स्वरूप भएको जिकिर गरेका छन् | ब्रह्मरूप भएको कारण यो संसार वास्तविक पनि छ | श्रुति तथा सूत्र ग्रन्थहरूको प्रमाणका आधारमा यो विश्वलाई भोक्ता, भोग्य र प्रेरक त्रिरुपात्मक यथार्थ सत्ता हो भने बुझ्नुपर्छ |

आचार्य निम्बार्कको दार्शनिक चिन्तनलाई यो श्लोकले अझैं प्रष्ट पारेको छ | पहिलो कुरा यो विश्व जडचेतन उभयात्म्क तत्व हो | जुन परमतत्व ब्रह्म कै रूप हो | दोस्रो कुरा, ब्रह्मात्म्क भएको नाताले यो सम्पूर्ण विश्व सत्य तथा यथार्त तत्व हो | आचार्य निम्बार्कका अनुसार श्रुति तथा स्मृतिग्रन्थहरू सूत्रात्मक रूपमा यो तत्थ्य भनिएको हुँदा मन गढ़ंते होइन | असलमा, हरेक जिज्ञासुले यो विश्व भोक्ता, भोगी र प्रेरकका रुपमा स्वयं परमतत्व "ब्रह्म" नै हो भनेर बुझ्नुपर्छ |

आचार्य निम्बार्कके जगतलाई परमसत्य तर भोक्ता, भोग्य र प्रेरक त्रिरूप भएको घोषणा गर्दै आचार्य शंकर तथा आचार्य रामानुजको दार्शनिक चिन्तन अद्वैतवाद र विशिष्टताद्वैत दूवैको दार्शनिक दृष्टिकोणलाई आंशिक सत्य मानेको मान्छ | आचार्य शङ्करले सत्यलाई "अद्वैत" भनेर सीमा तोकेका छन् भने रामानुजले पनि शब्दावली परिवर्तन गरेर त्यही गरेका छन् | निम्बार्कले ईश्वर अथवा परमसत्यको स्वरूप जस्तो छ, त्यस्तै छ, मानवीय बुद्धिले सीमा तोक्नु अस्वाभावि हुन्छ | तेसैले ब्रह्म आधारभूत रूपले स्वाभाविक छ र त्यो स्वाभाविकता भनेको द्वैत तथा अद्वैत दूवैको समवाय अवस्था हो |

आचार्य निम्बार्कको यो दृष्टिकोण दार्शनिक रूपमा स्वभाविक छ भने व्याबहारिक रूपमा समावेशीकरणको अद्भूत सैद्धान्तिक आधार बन्न सक्छ | ब्रह्मको त्रिरूप भोक्ता, भोग्य र प्रेरकरूप नै स्वाभाविक हो - आचार्य निम्बार्कको आग्रह होइन, विनम्र निवेदन छ |

वेदान्त दशश्लोकी-८
नान्या गतिः कृष्णपदारविन्दात् संदृश्यते ब्रह्मशिवादिवन्दितात्।
भक्तेच्छयोपात्तसुचिन्त्यविग्रहादचिन्त्यशक्तेरविचिन्त्यसाशयात् ||८||
अर्थ : जसको शक्ति र आशयका विषयमा ब्रह्मा, शिवआदि देवताहरूले केही पनि अनुमान गर्न सक्दैनन् र जसले सधैं आफ्ना भक्तहरूको ईच्छापूर्ण गर्न अनेकौं अवतारहरू ग्रहण गर्छन्, त्यस्ता श्रीकृष्णको शरण बाहेक अन्य कुनै साध्य देख्दिन |

निम्बार्क सम्प्रदायले राधाकृष्णको अनन्यता स्वीकार गर्छ | शिवब्रह्माआदि भगवान् कै स्वरूप भए पनि भोक्ता, भोग्य र प्रेरकका त्रिरूपमा देवताहरूले कृष्णभक्तितिर प्रेरित गर्छन् | परमतत्वका रूपमा श्रीकृष्ण तत्व सबैभन्दा प्रमुख हो र आल्हदिनी शक्तिका रूपमा श्रीराधा उहाँकी अर्धांगिनी हुन् | यसै सम्प्रदायका अत्यन्त महत्वपूर्ण आचार्य हरिव्यास देवले "राधा नै कृष्ण हुन् र कृष्ण नै राधा हुन्" भन्दै राधाकृष्णको एकत्वलाई स्वीकार गरेका छन् |

आचार्य निम्बार्कका अनुसार संसारिक दुखमुक्तिको पहिलो सोपान भगवान् श्रीकृष्णको अनन्यतामा आफुलाई समर्पित गर्दै उहाँको अचित्य शक्ति तथा सामर्थ्यमा विश्वास गर्नु हो | जवस,, जीवले श्रीकृष्णलाई परमतत्वको रूपमा स्वीकार गर्दैन तवसम्म संसारका दुख (तापत्रय)बाट मुक्ति प्राप्त हुँदैन | यही तत्थ्यलाई प्रमाणित गर्न आचार्य निम्बार्कले ९ वौं श्लोकमा साधनाप्रणाली र साधनाद्वारा कृष्णभक्ति प्राप्तिको उपाय वताएका छन् |

वेदान्त दशश्लोकी-९
कृपास्य दैन्यादियुजि प्रजायते यया भवेत्प्रेमविशेषलक्षणा।
भक्तिर्ह्यनन्याधिपतेर्महात्मनः साचोत्तमासाधनरूपिकाऽपरा ||९||
अर्थ : "प्रमुख गुण नै दैन्य (विनम्रता) भएको भक्त/साधकमा उहाँले (श्रीराधाकृष्णले) कृपा गर्नुहुन्छ | महात्माहरूलाई भगवानको कृपाले मात्र उहाँको उत्तम तथा अनन्य भक्ति प्राप्त हुन्छ | कीर्तनआदि साधन क्रिया नै अपरा भक्ति हो |"

मूलत: मान्छेको मूलगुण विनम्रता हो | विनम्र भक्तले सजिलैसंग विशेषलक्षणा अनन्य भक्ति प्राप्त हुन्छ, त्यस्तो भक्तिलाई "उत्तमा" भनिन्छ | उत्तमा भक्तिमा भक्तको विनम्रता र भगवानको कृपा दुवैको संयोग हुन्छ | वेदहरूले प्रष्टसंग "ब्रह्म दान, तपस्या, साधनाआदिले प्राप्त हुन नसक्ने तत्त्व हो भनेर घोषणा गरेको हुँदा ईश्वर र भक्त दूवैको परस्पर प्रेमपूर्ण सम्बन्ध स्थापित हुनुपर्छ | यस्तो सम्बन्ध नवाधाभक्तिरूप "अपराभक्ति"बाट प्राप्त हुन्छ |

कुनै पनि अभिमानीले श्रीराधाकृष्णको मधुर सान्निध्य प्राप्त गर्न सक्दैन | ज्ञान र कर्मको साधना पनि भक्तिमय अर्थात् विन्रमता पूर्वक हुनुपर्छ | उपासकमा श्रीराधाकृष्ण बाहेक मेरो अन्य कुनै गति छैन र उहाँको कृपाले मात्र उहाँको उपलब्धि हुन्छ भन्ने दृढ विश्वास हुनुपर्छ | यो श्लोकले भक्तहरू स्वाभाविक रूपले विन्रम तथा निरन्तर भक्तिमा साधनारत हुनुपर्छ | अभिमान रहित भएर विनम्रतापूर्वक गरिएको साधनाले श्रीराधाकृष्णको नित्य सान्निध्य प्राप्त हुन्छ |

वेदान्त दशश्लोकी - १०
उपास्य रूपं तदुपासकस्य च कृपाफलं भक्तिरसस्ततः परम्।
अर्थ : विरोधिनो रूपमथैतदाप्ते र्ज्ञेया इमेऽर्था अपि पञ्च साधुभिः ||१०||
साधुहरूले आफ्ना उपास्य (इष्टदेव) उपासक (जीव) र भगवानको कृपाको फल, भक्तिरस तथा भगवानको प्राप्ति र भक्तिका विरोधीतत्व - यी पांच प्रकारका तत्वहरूको स्वरूप राम्ररी जान्नु पर्छ |

आचार्य निम्बार्कको दार्शनिक चिन्तनमा कृपा, दैन्य, तथा साधना अर्थात् उपासना शब्दलाई निकै महत्व दिएर प्रयोग गरिएको छ | वेदान्त दशश्लोकीको अन्तिम श्लोकले साधुत्व (सन्त)का लक्षणहरूको संक्षेपमा जानकारी दिन्छ | साधुको पहिलो गुण हो उसले आफ्ना इष्टदेवका विषयमा जानकारी प्राप्त गरेको हुनुपर्छ, दोस्रोमा उपासकका रूपमा आफ्नो (जीवतत्व)का विषयमा सम्यक ज्ञान प्राप्त गरेको हुनुपर्छ, तेस्रोमा भगवानको कृपा साधनाद्वारा साध्य छ तर त्यो कृपाचाहिं अहैतुकी हुन्छ भन्ने ज्ञान हुनुपर्छ र अन्त्यमा भक्तिका वाधकतत्वहरू केके हुन् ? भन्ने जानकारी पनि हुनै पर्छ | अन्यथा, दैन्यतापूर्वक गरिएका साधनाहरूले भागवतकृपा आर्जित नगर्न सक्छ |

आचार्य निम्बार्कका दार्शनिक चिन्तनका अनुसार ब्रह्मतत्व, जीवतत्व र जगततत्वलाई भेदाभेद सत्यका रूपमा स्वीकार गर्नु, आफुलाई ब्रह्मको सूक्ष्म अंशका रूपमा महत्व दिनु, एउटा विन्रम साधक भक्तका रूपमा सधैं भगवानको कृपा दृष्टि प्राप्त गर्ने चाहना राख्नु र भक्तिको यात्राका बाधकतत्वहरू जस्तै काम, क्रोध, लोभ, मोह, मत्सर्य, अभिमान, तथा अहङ्कारजस्तासंग जोगिने उपायहरू अवलम्बन गर्नुपर्छ |

मलाई व्यक्तिगत रूपमा आचार्य निम्बार्कको प्राकृतिक दर्शन निकै महत्वपूर्ण लाग्छ | अद्वैत, द्वैत, अचिन्त्य भेदभेद, विशिष्टताद्वैत तथा शुद्धाद्वैतवादीहरूले आलोचना गरे पनि पारमार्थिक र व्याबहारिक दृष्टिकोणले द्वैतद्वैत दर्शन सबैभन्दा बढी सार्थक दृष्टिकोण हो | अद्वैत वेदान्त कठोर छ, विशिष्टताद्वैतले त्यो कठोरता चिरेर सहज बनाउने प्रयत्न गर्यो तर अद्वैतमात्र सत्य हो भन्ने ढिप्पी छोड्न सकेन | द्वैतवादीहरूले परमतत्वलाई केवल दूईको अङ्कमा विभाजित गरेर सत्यको सीमा तोक्यो भने शुद्धाद्वैतले द्वैततत्वलाई राधाकृष्णसम्म सीमित बनायो | अचिन्त्यभेदभेदवाद आचार्य निम्बार्ककै दर्शनिक चिन्तनको संशोधित स्वरूप हो भन्न मिल्छ |

कुनै पनि दार्शनिक चिन्तनहरूको आलोचना नगरेको हुँदा कुनै पनि दार्शनिक चिन्तनसंग द्वैताद्वैतवादको विरोध छैन | "सम्पूर्ण विज्ञानहरू यथार्थ हुन् (श्लोक-७)" भनेर आचार्य निम्बार्कले आफ्नो गुरुशिष्य परम्परा र आफ्ना इष्टदेवलाई सम्पूर्ण समर्पणबाट मोक्ष प्राप्त गर्न सकिने बाटो खुला गरेका छन् | तर आचार्य निम्बार्कले आफ्ना अनुयायीहरूलाई "श्रीराधाकृष्णको उपासना बाहेक अर्को मुक्तिको कुनै साधन छैन" भनेर अनन्यभावले स्वेकीयभावमा श्रीराधाकृष्णको उपासना गर्ने आदेश दिएका छन् |

यसरी आचार्य निम्बार्कद्वारा प्रवर्धित भेदाभेदवाद पूर्णतया अज्ञातशत्रु तथा आजको समावेशीकरणको सत्यसंग गहिरोसंग जोडिएको छ | कुनै पनि दार्शनिक चिन्तनहरुको आलोचना नगरेको हुँदा - यो सबैभन्दा प्राचीन तथा प्राकृतिक भएको मान्न सकिन्छ | निम्बार्क परम्परामा दीक्षित साधकहरू साधनाप्रिय भएको हुँदा शास्त्रीय वादविवाद, ऐश्वर्य प्रदर्शन वा अन्य सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापमा सक्रिय देखिन्नन् | आफ्ना आराध्यदेव राधाकृष्णको कृपाप्राप्तिका लागि दैन्यतापूर्वक साधनारत रहनुनै यस सम्प्रदायका साधकहरूको प्राथमिकता हुन्छ |

Photo : Source : आचार्य नियमानन्दले सूर्यास्तपछि भोजनका लागि आग्रह गर्ने सन्यासी रुपी ब्रह्मालाई नीमको रूखमा सूर्यको दर्शन गराएर भोजन गराए | यसबाट खुसी भएका ब्रह्माले उनको नाम निम्बार्क अर्थात् नीमको रूखमा सूर्य देखाउने आचार्य राखी दिए | आज पनि मथुरा जिल्लाको नींव गाउँमा त्यो रूख जीवित छ रे |


Sunday, April 7, 2024

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन

फरक संस्कृति, परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रेम विवाह, विवाहपछि लोग्नेस्वास्नीले सार्वजनिक रूपमा एकआपसमा सम्वाद गर्दा आफ्नो धर्म, संस्कृति, परम्परा र पारिवारिक परिवेशको सम्मान गर्न उचित हुन्छ | नेपाली समाजमा पांचतहका सम्वोधनहरू छन् : तँ, तिमी, तपाईं, हजुर र मौसुफ | अंग्रेजी पढेकाहरूका लागि you भन्दा पुग्छ भने नेपाली, हिन्दी, मैथिली, मगर, गुरुङ्, थारू भाषाहरूमा एकल सम्बोधनले पुग्दैन | मैले केही लोग्नेस्वास्नी भेटेको छु, जुन केवल आपसी सम्बोधनका कारण "सम्बन्ध" विग्रेको थियो | लोग्नेले स्वास्नीलाई तँ भन्ने तर स्वास्नीलाई "तँ" भनेको पटक्कै मन नपर्ने | स्वास्नीको इच्छाचाहिं लोग्नेले एकान्तमा तँ भने पनि सार्वजनिक ठाउं, छोराछोरी वा परिवारका अन्य सदस्यहरूका आगाडी "तिमी" भन्दिए हुन्थ्यो हुन्थ्यो | धेरै पटक यो विषयलाई लिएर आपसी विवाद हुन्थ्यो |

हाम्रा बा-हजुरबाका पुस्ताहरू एकआपसमा कुनै पनि सम्बोधन नगरी "ए, ओइ, कृष्णा की आमा" जस्ता सम्बोधनले काम चलाएर गए | तिनको जीवनमा पारचुकेको कुनै स्थान रहेन | कति लोग्नेहरूले स्वास्नीलाई "तँ" भन्दै छन् वा तिमी भनिरहेका छन् | नेपाली समाजमा लोग्नेहरूले स्वास्नीहरूलाई तपाईं भनेको विरलै सुनिन्छ | यी सबै कुराहरू परम्परागत समाजको संस्कृतिले तय गरेको हो | लोग्नेस्वास्नी र लोग्नेस्वास्नी जुन समाज, संस्कृति तथा परिवेशमा छन्, तेसैअनुसार सम्बोधन गर्दा वेस हुन्छ |

तेस्तै मैले एकजना ३२ वर्षीय युवकलाई भेटें जसले ५ वर्ष अगाडी प्रेम विवाह गरेका थिए | विवाहपूर्व लोग्नेस्वास्नी एकै कलेजमा पढ्थे | उनीहरूले आपसमा "तँ" भनेर सम्बोधन गर्थे | विवाहपछि लोग्नेको परिवार र छिमेकीलाई "स्वास्नीले लोग्नेलाई तँ भनेको मन परेन | लोग्नेले स्वास्नीलाई तिमी भन्न थाले पनि स्वास्नीमा भने कुनै परिवर्तन आएन | लोग्नेले धेरै अनुरोध गरे तर "हामी लोग्नेस्वास्नी समान हौँ" भन्दै स्वास्नीले सम्बोधन परिवर्तन गरिनन् | अन्ततः लोग्ने र स्वास्नी आफन्तहरूको भेलामा संगै जान छोडे |

लोग्नेस्वास्नीका रुपमा को-कसले कस्तो सम्बोधन एकान्तमा गर्छ, त्यसले केही फरक पर्दैन तर लोग्ने होस् वा स्वास्नी समाज, संस्कृति, परम्पराअनुसारले स्थापित गरेको प्रतिमानअनुसार (कमसेकम परिवारका अन्य सदस्य वा सार्वजनिक सम्बोधन गर्दा) उपयुक्त सम्वोधन चयन गर्नु राम्रो हुन्छ | सम्बोधनले सम्बन्ध राम्रो हुन्छ भने अहंकारको पोको बोकेर "तँ नै भन्छु, तिमी नै भन्छु, तपाईं नै भन्छु वा हजुर नै भन्छु" भन्दै जिद्दी गर्नुको कुनै औचित्य छैन | मुख्य कुरा, लोग्नेस्वास्नीका विचमा असल सम्बन्धमा "सम्बोधन" वाधा बन्नु हुँदैन | यदि कसैलाई "तँ वा तिमी" भनेर सम्बोधन गर्दा अपमानित भएको अनुभव हुन्छ भने तेस्तो सम्बोधनसंग "सति" जानु हुँदैन | यदि कसैलाई "हजुर, मौसुफ वा तिमी" भन्दा होच्याएको अनुभव हुन्छ भने यी शब्दहरूको चयन छोडेको राम्रो | मुख्य कुरा, लोग्नेस्वास्नीको असल सम्बन्ध र गृहस्थीको हो | तेसैले कुनै शब्द वा सम्बोधनलाई बाधक बन्न दिनु हुँदैन |

Saturday, March 23, 2024

लोग्नेस्वास्नी र यौन

 लोग्नेस्वास्नी र यौन

१. वैदिक संस्कृति र यौन
वैदिक संस्कृतिमा विवाहपूर्व कुनै पनि युवक-युवतिलाई "सेक्स गर्ने" अनुमति छैन | सम्भोगलाई नै प्रेम ठान्ने र मान्नेहरूका लागि उपर्युक्त संस्कृति मन पर्दैन | "बायोलोजिकल नीड" भन्दै एकआपसमा भोग्न चाहन्छन् | सेक्सबाट हुने रमाइलो प्राप्त गर्नका लागि विश्वसंग विद्रोह गर्न तयार हुन्छन् | नेपालमा पनि यस्ता "विद्रोही"हरूको सङ्ख्या बढिरहेको छ | यौनशिक्षाका नाममा शरीरको आकर्षणलाई "प्रेम" भन्दै किशोरकिशोरीहरूलाई गुमराह गरिंदै छ | वैदिक ऋषिहरूले लोग्नेस्वास्नीहरूका लागि "कामसूत्र" लेखेर यौनकर्मलाई नै "मोक्ष"तिर प्रेरित गर्ने साधनका रूपमा प्रस्तावित गरेका थिए र त्यो पुस्तक आज पनि छ भन्ने तत्थ्य आजको यौनशिक्षामा सधैं लुकाउने गरिन्छ | नेपालको आफ्नो मौलिक यौनशिक्षाको किन कदर गरिएको छैन ? प्रश्न गर्ने धेरै ठाउँ छन् |

वैदिक हिन्दू संस्कृतिमा यौनक्रियालाई अत्यन्त "पवित्र" मानिएको छ किनभने यौनक्रियाबाट मानवजातिको सृष्टिले निरन्तरता प्राप्त गर्छ | यौनक्रियाले ऋषि ऋण, देव ऋण र पितृऋणबाट मुक्ति दिने सन्तान प्राप्त हुन्छ | धेरैजसो वैदिक ऋषिमुनिहरू विवाहित छन्, परिवारवाला छन् | ऋषिहरू र ऋषिकाहरूले वैवाहिक जीवन स्वीकार गरेर सृष्टिक्रियामा लागेको हुँदा "गोत्र"हरू निर्माण भएका हुन् | तेसैले सम्पूर्ण आश्रमहरूको जरो "गृहस्थआश्रम"लाई भनिएको छ | साथै, अर्को पक्ष पनि छ, विवाहपूर्व वा विवाहपछि पनि "काम-वासना"का रूपमा यौनक्रिया गरिन्छ भने त्यो पाप हो भन्दै विवाहपश्चात् "लोग्नेस्वास्नी"ले एकापसमा प्रेमपूर्वक गर्ने यौनक्रियाको समर्थन गरेको छ |

२. तेस्रो पुरुषार्थ
"सेक्सलाई प्रेम र शरीरको भोगलाई सुख" ठान्ने मनोविज्ञानमा हुर्नेको आजको पुस्तालाई उपर्युक्त विषयहरू "अन्धविश्वास" होलान् तर विश्वको जुनसुकै धर्म, संस्कृति तथा परम्पराले यौनकार्यलाई मर्यादित रूपमा प्रयोग गर्न सुझाएका छन् | सेक्स अमर्यादित हुँदा व्यक्ति, परिवार, समाज र राष्ट्रनै दुख्ने गर्छ | मान्छे आफै सेक्सको उत्पादन भएकोले सेक्सप्रति अभिरुचि हुनु स्वाभाविक हो तर अमर्यादित सेक्स-व्यबहारबाट व्यक्ति, परिवार तथा समाज अशान्त हुन्छन् भन्ने तत्थ्य कसैबाट लुकेको छैन | समयसमयमा घट्ने "बलात्कार, उमेर नपुग्नेसंग यौनव्यबहार गरेर दण्ड पाउनेहरूआदि"ले सेक्स मर्यादित नै हुनुपर्छ, मनमुखी हुनुहुँदैन भन्ने तत्थ्य प्रष्ट परिरहेका छन् | हरेक लोग्नेस्वास्नीले बुझ्नुपर्छ वैदिक संस्कृतिमा यौनक्रिया तेस्रो पुरुषार्थ अर्थात् "काम" हो | धर्म, अर्थ, काम र मोक्ष - यी चारबटा पुरुषार्थ मध्ये काम तेस्रोमा पर्छ |

३. विवाह र लोग्नेस्वास्नी
वैदिक हिन्दुहरूका लागि सेक्स भनेकै पतिपत्नीका विच हुने प्रजनक्रिया हो | आज पनि हिन्दु परिवारले विवाह वाहिर गरिएको यौनक्रियालाई "पाप" नै मान्छ | विवाह विना गरिएको सेक्सलाई सामाजिक, सांस्कृतिक तथा नैतिक विचलनका रूपमा लिन्छ | मैले अंग्रेजी "सेक्स" शब्दको प्रयोग गरिरहंदा बडो असजिलो अनुभव हुँदैछ किनभने आजको मोडर्न-समाजले "सेक्स" भन्दा सभ्य ठान्छ तर यौनक्रिया, रतिक्रिया, सम्भोग, मैथुनजस्ता आफ्नै मौलिक शब्द प्रयोग गर्दा "बुझ्दिन" भन्न वेर गर्दैन | जुनबाट भाषा र बाटोबाट "सेक्स" सभ्य शब्द हो भन्ने मनोविज्ञान छिरेको थियो, त्यही बाटोबाट यौनक्रिया स्वच्छन्द हुनुपर्छ, जो सुकै भए पनि "सहमति" छ भने नैतिकता, अनैतिकता, यहाँसम्म कि पारिवारिक सम्बन्ध पनि विचार गर्नु पर्दैन | सेक्स व्यक्तिको निजी अधिकार हो" जस्ता विचार र व्यबहारले आक्रमण गरेका हुन् | अन्यथा, हिन्दुहरूका लागि यौनक्रिया "लोग्नेस्वास्नी" वाहेकमा स्वीकार्य नै थिएन |

४. यौन मनोविज्ञान र लोग्नेस्वास्नी
आधुनिक मनोविज्ञानका अनुसार "सेक्स" भावना, विवेक र क्रिया तीनबटा अवस्थाको संयुक्त अवस्था हो | भावनात्मकरूपमा ७५% यौन भावना (Emotion) हो, २०% क्रियात्मक हो भने केवल ५% मात्र बौद्धिक हो | उमेर आरम्भ भए पछि यौन भावना र क्रिया दूवैको विकास हुन्छ | विश्वको कुनै पनि संस्कृति, धर्म, समाजले मानसिक र बौद्धिक "सेक्स"लाई प्रतिबन्धित वा नियमित गर्न सक्दैन | धर्म, संस्कृति तथा परम्पराले यौनको क्रियात्मक पक्षलाई नियमन गर्ने हो | वैदिक संस्कृतिले यौनक्रियालाई "लोग्नेस्वास्नी"सम्म सीमित गरेको छ | यद्यपि कामशास्त्रमा वेश्या, अप्राकृतिक यौनक्रिया, विवाहेतर यौनक्रियाका विषयमा पनि चर्चा गरिएको छ तर विवाहेतर "यौनक्रिया"लाई निन्दनीय र दण्डनीय मानेको छ |

५. प्राचीन र आधुनिक
निश्चय नै हरेक अविवाहितका लागि विवाहले "यौनक्रिया"लाई बैधानिकता दिन्छ | विवाहित पतिपत्नीको यौनाचारका विषयमा समाजले प्रश्न गर्दैन | साथैं, नेपाली तथा भारतीय समाजमा विवाहलाई "रोमान्टिक-अवसर"का रूपमा ग्रहण गरिन्छ | सबैजसो कुमार र कुमारीहरू विवाहको प्रतिक्षा गरिरहेका हुन्छन् | विवाहपछि "लोग्नेस्वास्नी"लाई साथीभाईहरू जिस्क्याउने गरेको पनि देखिन्छ भने विवाहले विवाहित जोडीलाई निर्वाध यौनाचारको वैधानिकता प्रदान गर्ने हुँदा विवाहपछि स्वतन्त्ररूपमा यौनाचार गर्छन् | कामसूत्रले प्रष्ट रूपमा "काम" अर्थात् यौनक्रिया गर्दा "लोग्नेस्वास्नी" यौन-विज्ञानको जानकारी छ भने यौनक्रिया सजिलो, सहज, रोमान्चक, प्रेम बढाउने र एकआपसी विश्वास बढाउने हुन्छ भनेर लेखेको छ | यदि "लोग्नेस्वास्नी" रतिक्रियाको ज्ञान छैन भने तिनका विचमा हुने "यौनक्रिया" दुखदायी पनि हुन सक्नेतिर इङ्गित गरेको छ |

प्राचीन वैदिक संस्कृति होस् वा आधुनिक मनोविज्ञान र व्यक्तिहरूको व्यक्तिगत अनुभव नै किन नहोस् लोग्ने-स्वास्नीको मानसिक, बौद्धिक तथा शारीरिक स्वास्थ्यका लागि प्रेमपूर्ण यौन जीवनको आवश्यकतालाई अनिवार्य मानेको छ | तेसैले हरेक लोग्नेस्वास्नीका लागि सम्भोग एउटा सुखद अनुभव हुनुपर्छ | तेसैले होला राजर्षी भर्त्रीहरिले यौनजन्य सुखलाई "परमानन्द" भन्दै प्रसंसा गरेका छन् भने मनासिज सूत्रकारले त झन् "ब्रह्मानन्द" शब्द नै प्रयोग गरेका छन् | यौनजन्य सुखका सवालमा वैदिक र अवैदिकहरूका विचमा कुनै मतभेद छैन तर वैदिकहरुले विवाहपूर्व यौनाचारलाई "पापकर्म" र जवर्जस्ती करणीलाई "नर्कको द्वार" आलोचना गरेका छन् |

६. सम्भोग र भोग
संस्कृतमा पतिपत्नीका बीचको यौनक्रियालाई सम्भोग भनिएको छ | ठीकठीक तवरले एउटाले अर्कालाई आनन्द प्रदान गर्नुनै सम्भोग हो | यौनक्रियाको लक्ष यदि व्यक्तिगत सुख हो भने यस्तो क्रिया "सम्भोग" हुँदैन, बलत्कार हुन्छ | यदि महिला होस् वा पुरुष जोसुकैले केवल आफ्नो इच्छापूर्तिको लागि मात्र यौनकर्मको प्रयोग गरेछ भने कामसूत्रले त्यसो यौनक्रियालाई "पाप" भनेको छ | यसैगरी, महात्मा मनुले राक्षसी, पिसाच तथा असुर क्रिया भनेर निन्दा समेत गरेका छन् | लोग्नेस्वास्नी यदि दूवै उत्सुक भएर एकआपसी सहमति र चाननासंग यौनक्रिया गर्छन् भने सम्भोग हुन्छ | यदि यौनक्रियाको चाहना केवल स्त्री वा पुरुषलाई मात्र भएको हो र आफ्नो चाहनापूर्तिका केन्द्रीत भएर यौनक्रिया गरिन्छ भने यस्तो यौनक्रिया "भोग" हो | भोगमा सम्बन्धित केवल व्यक्तिगत चाहनापूर्तिमा (वासना) केन्द्रित हुन्छ, जीवन साथीको इच्छाको सम्मान हुँदैन | सम्भोगमा [पतिपत्नी दूवैको स्वार्थ मिलेको हुन्छ भने भोगमा केवल एकजनाको स्वार्थपूर्ति हुन्छ | तेसैले हरेक विवाहित लोग्नेस्वास्नीले भोग होइन, सम्भोगको अभ्यास गर्नुपर्छ |

७. विवाह र यौन
विवाहित दम्पतीले सामाजिक, सांस्कृतिक तथा धार्मिक रुपले यौनक्रिया गर्न, सन्तान उत्पन्न गर्न स्वीकृति प्राप्त गरेका हुन्छन् तर विवाह जीवनसाथीलाई बलात्कार गर्ने अनुमति होइन | विवाहित हुँदैमा जीवनसाथीको इच्छा, चाहना र अनुमति विना जवरजस्ती यौन सम्पर्क गर्नु वा यौनक्रियाका लागि बाध्य बनाउनु आपराधिक मानसिकता हो | यौनक्रिया गर्न लोग्ने होस् वा स्वास्नी दूवैको स्वीकृति चाहिन्छ | एकअर्काको अनुमति र चाहना विना यदि यौनजन्य क्रियाकलाप गरिन्छ, जवर्जस्ती यौनक्रिया गर्ने लोग्ने/स्वास्नीको एकआपसी सम्बन्ध मधुर हुनै सक्दैन | यदि यौनक्रिया आपसी सहमति र प्रेमपूर्वक गरिन्छ भने सुख, खुसी र आनन्द प्राप्त हुन्छ | यदि यही क्रिया जवर्जस्ती गरिन्छ भने तेही क्रिया अत्याधिक शारीरिक कष्ट, मानसिक दु:ख र घृणाको कारण बन्छ |

८. अनुमति प्राप्त गरौँ
सम्भोग क्रियाका लागि लोग्नेस्वास्नी दूवै शारीरिक, मानसिक तथा बौद्धिक रूपमा तयार हुनुपर्छ | हो, यौनक्रिया गर्ने इच्छा लोग्ने वा स्वास्नी मध्ये जोसुकैमा एक्लाएक्लै हुन सक्छ तर यौनक्रियाको आनन्द लोग्नेस्वास्नी दूवैको सहमति, समझदारी तथा चाहना भएमा मात्र प्राप्त हुन्छ | यौनचाहना मानसिक क्रिया हो, तेसैले समय, परिवेश, जीवनसाथीको शारीरिक तथा मानसिक अवस्था विचार गरेर एकअर्कासंग अनुमति माग्नु सबैभन्दा राम्रो हुन्छ | हो, अनुमति माग्ने सबैभन्दा उचित मध्यम "बोल्नु" नै हो तर शारीरिक हाउभाउ, लेखन, आमन्त्रण तथा अस्न्य सहज र सरल मध्यमको प्रयोग गर्न सकिन्छ | उदाहरणका लागि लोग्नेस्वास्नी एकान्तमा (विस्तरा) संगै हुँदा पनि यौनक्रियाका लागि विनम्रता पूर्वक सहमति खोज्नु सबैभन्दा उचित हुन्छ | अनुमति प्राप्त गर्ने गर्दा जीवनसाथीको तत्कालीन इच्छा वा अनिच्छाको जानकारी मिल्छ |

९. विस्तरामा वार्गेनिग नगरौं
यौनक्रियाको प्रमुख प्राकृतिक लक्षचाहिं सन्तान उत्पत्ति नै हो | मान्छेले यौनलाई मानसिक सुखका लागि पनि प्रयोग गर्छ | सायद रमाइलो अनुभूति हुने र त्यसलाई सम्झन सक्ने क्षमता हुँदा यौनका सवालमा मान्छेहरू अनुदार हुन्छन् | पुरुष होस् वा स्त्री दूवैले यौनक्रियालाई "वार्गेनिंग-टुल"का रूपमा प्रयोग गर्नु हुँदैन | विस्तरामा वार्गेनिंग गर्ने धेरै लोग्नेस्वास्नीको पारिवारिक जीवन ध्वस्त भएका अनुसन्धानले स्थापित गरेको तत्थ्य हो | खासगरी, पुरुषले यौनवार्गेनिगलाई अत्यन्त असहज रूपमा लिने गर्छन् | पुरुषमा पशुता जाग्न सक्छ | यस सवालमा, लोग्नेस्वास्नी दूवै सचेत हुनुपर्छ |

उदाहरणका लागि रमेश र सीताको ८ वर्ष अगाडी प्रेम विवाह भएको थियो | सबै थोक राम्रै चलिरहेको थियो एकदिन सीताले रामसंग दूई तोलाको सिक्री लाउन मन लागेको बताईन् | रमेशले पनि सक्दो समयमा किनेर दिने बचन दिए | धेरै महिमा वित्यो रमेशले सिक्री किन्न सकेनन् | सीताले कचकच गर्न थालिन् | अन्त्यमा, सीताले रमेशलाई सिक्री नल्याएसम्म "संगै नसुत्ने" भन्दै धम्क्याइन् | रमेशले आफ्नी स्वास्नीबाट एस्तो आशा गरेका थिएनन् | दुई महिनासम्म सीताको व्यबहार न बदलिएपछि रमेशको व्यबहार असहिष्णु भयो | सीतालाई गालीगलौज गर्न थाले | रमेशको मनमा सीताप्रति शङ्का पलायो | पछि, "सीता झुक्न नचाहने र रमेशले सिक्री किन्न नसक्ने" अवस्थाले परिवार ज्यादै अशान्त भयो | सीताले सुनको सिक्री माग्नु गलत थिएन तर सिक्री नपाउंदा आफ्नो लोग्नेलाई यौनक्रियामा रोक लगाउनु अनुचित थियो | लोग्ने होस् वा स्वास्नी सेक्सलाई "वार्गेनिग-टुल"को रुपमा प्रयोग गर्दा लोग्नेस्वास्नीका रूपमा निकै ठूलो क्षति बेहर्नु पर्ने हुन सक्छ | अत: लोग्नेस्वास्नीले सेक्सलाई "वार्गेनिग-अवसर"का रूपमा प्रयोग गर्नबाट बच्नु पर्छ |

१०. अभिरुचिको सम्मान
धर्म, संस्कृति, परम्परा, अभिरुचि तथा स्वभावका आधारमा प्रत्येक व्यक्तिको यौन अभिरुचि फरक हुन सक्छन् | ब्लू-फिल्मका अस्वाभाविक यौनक्रियाकलाप हेरेर स्वास्नीसंग तेसैप्रकारका कामक्रिया गर्न खोज्ने, गर्न बाध्य पार्ने र गर्न नमान्दा शारीरिक तथा मानसिक हिंसा गर्नेहरू पनि थुप्रै छन् | यदि लोग्नेस्वास्नी दुवैमा सहमति छ भने कुरा वेग्लै हुन्छ, अन्यथा लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेउपर बलात्कार गरिरहेका हुन्छन् | उदाहरणका लागि नेपाली समाजमा मुखमैथुन, गुदामैथुन वा अन्य अप्राकृतिक मैथुनहरूलाई समाज, धर्म, संस्कृति आदिले स्वीकृति दिंदैन | अर्कोतिर लोग्नेस्वास्नीहरूले पनि रुचाएको बुझिन्न | तेसैले, यौनक्रियामा लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको यौन विविधताको अभिरुचिलाई सम्मान गर्नुपर्छ | लोग्नेले असहज यौनक्रिया गर्न जवर्जस्ती गरेका कारण महिलाहरूले घर छोडेका, पारचुके दिएका र यहाँसम्म कि आत्महत्या गरेका घटनाहरू छन् | यौनक्रिया सधैं लोग्नेस्वास्नीको एकआपसी समझदारी र सहमतिमा हुनुपर्छ |

११. विश्वस्वास्थ्य सङ्घ
WHO भन्ने संस्थाले लोग्नेस्वास्नी विचको यौन व्यबहार "सम्मानयुक्त, सकारात्मक, सुरक्षित, सहमतियुक्त तथा रमाइलोपन भएको हुनुपर्छ | यौन व्यबहारमा कुनै पनि प्रकारको जवर्जस्ती, होच्याउने तथा परिवन्दमा पारेको हुनुहुँदैन | WHO का अनुसार लोग्नेस्वास्नीले एकआपसमा प्रष्टसंग यौनजन्य क्रियाकलापका विषयमा कुराकानी गरेको हुनुपर्छ, यौनक्रिया गर्दा धार्मिक, सांस्कृतिक, सामाजिक, न्यायिक एवं व्यक्तिगत सीमाहरूको सम्मान र पालना गर्ने पर्छ, यौनजन्य क्रियाकलापमा सङ्लग्न लोग्नेस्वास्नी दुवैले शारीरिक तथा मानसिक सजिलोपन अनुभव गरेको हुनुपर्छ, यौनक्रिया गर्ने लोग्नेस्वास्नी एकआपसमा विश्वास गर्ने, दाम्पत्य वाहिर यौनक्रियाबाट जोगिने, सुरक्षित र भावनात्मक रूपमा सन्तुष्ट अनुभव गरेको हुनुपर्छ | WHO ले यौनव्यबहारलाई "बायोलोजिकल फ्याक्टर" मान्छ तर व्याबहारिक रूपमा सम्बन्धित समाज, संस्कृति, धर्म तथा परम्पराका आधारमा यौनजन्य क्रियामा सङ्लग्न हुनु उचित हुन्छ | उदाहरणका लागि हिन्दू समाजमा विवाहपूर्व यौनाचार तथा विवाहितहरूले विवाहेतर यौनसम्पर्कलाई अनुमति दिंदैन | सामाजिक, सांस्कृतिक तथा धार्मिक मूल्यहरूको अवहेलना गरेर यौनका सवालमा स्वच्छन्द व्यबहार गर्ने "व्यक्ति"लाई समाजले राम्रो ठान्दैन | वाहिर जतिसुकै "एक्टिभिस्ट" देखिएर पनि "लोग्नेस्वास्नी र परिवार"को सुखबाट बन्चित हुन सक्छन् |

१२. यौन सन्तुष्टी
अविवाहित र यौनअनुभव नभएकाहरूका लागि सम्भोग एउटा "सपनाको सुखद संसार" हुन्छ | सम्भोगसंग सम्बन्धित अनेकौं अन्धविश्वास, गलत सूचना तथा अवास्तविक कल्पनाहरू हुन्छन् | लोग्नेस्वास्नीका विचमा स्वास्थ्य तथा मिलनको पर्याप्त अवस्था नहुँदा अनेकौं प्रकारका मानसिक तथा शारीरिक समस्याहरू उत्पन्न हुन्छन् | लामोसमयसम्म यौनाचारको अवसर प्राप्त नहुँदा वा लोग्नेस्वास्नी संगै हुँदा पनि विभिन्न कारणले यौनक्रियाको अवसर प्राप्त नहुँदा लोग्नेस्वास्नी दुवैमा "मानसिक तनाव" उत्पन्न हुन्छ | मनोबैज्ञानिकहरू यौनक्रियामा अबरोध हुँदा उत्पन्न हुने "तनाव"लाई खतरनाक मानेका छन् | यौनक्रियाको अभावले उत्पन्न मानसिक तनाव बढ्दै जाँदा अत्याधिक रीस उठ्ने, मादक पदार्थ सेवनतिर मन लाग्ने, अप्राकृतिक यौनतिर आकर्षित हुने, कानुनले प्रतिबन्धित गरेका व्यबस्थाहरू उलंघन गर्ने र बलत्कारजस्ता जघन्य अपराधमा संग्लन हुने सम्भावना रहन्छ | साथै, लामोसमयसम्म यौनबाट बन्चित हुने लोग्नेस्वास्नीमा निराशा, आत्मग्लानीजस्ता मानसिक समस्याहरू देखिन सक्छन् | यस वाहेक शारीरिक समस्याहरूमा मुटुरोग, रक्तचाप, मधुमेह, क्यान्सरजस्ता रोग हुने खतरा पनि मेडिकल साइन्सले इङ्गित गरेको छ | यौन-व्यबहार कतिपय हार्मोनहरूका कारण पनि "धेरै बढी, बढी, कम र धेरै कम" हुन सक्छ | यस विषयमा चिकित्सकीय परामर्श र उपचार चाहिन्छ |

उपर्युक्त समस्याहरूबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको विवाहित लोग्नेस्वास्नीका विचमा यौन-व्यवहारका विषयमा प्रष्टसंग संवाद हुनुपर्छ | साथै, परिवारले पनि विवाहित लोग्नेस्वास्नीलाई यौन-व्यवहारको "स्वतन्त्रता" प्राप्त हुने वातावारण सृजित गरिदिनु पर्छ | नेपाली समाजमा विवाह गरेपछि "छुट्टिने" परम्परामा संयुक्त परिवार एकै घरमा हुनु र नवविवाहित जोडीले स्वतन्त्रतापूर्वक यौनाचार गर्न बन्चित हुनु पनि हो भन्ने अनुमान गर्न अनुपयुक्त हुँदैन | आजको मितिमा न्युक्लियर फेमिलीको बढ्दो सङ्ख्यामा पनि थोरबहुत "अवरोध रहित यौन"संग जोडिएको हुन्छ |

१३. नाइँ भन्नु पर्छ
महात्मा बात्स्यायनका अनुसार "आहार, निद्रा, यौन र डर" यी चारबटा व्यबहार पशु र मान्छेमा एकसमान हुन्छन् | यौनका सवालमा पशुजगत "प्राकृतिक आमन्त्रण र निमन्त्रणमा" निर्भर हुन्छ | अंग्रेजीमा instinct भन्ने गरिन्छ | मानिसमा पनि कामवासना प्राकृतिक रूपमा विद्यमान हुन्छ | कामक्रिया आफैमा शुभअशुभ, उचितअनुचित हुँदैन | सहमतिमा सम्भोग गरे पनि वलात्कारले सम्भोग गरे पनि परिणाम (यदि गर्भ रहने अवस्था छ भने रहन्छ) एकै प्रकारको आउँछ | मान्छे विवेकशील भएकोले कहाँ, कसरी, कोसंग वासनाको प्रयोग गर्ने हो वा नगर्ने हो भन्ने कुरा निश्चय गर्न सक्छ | तर पनि वासनाको स्वरूप प्राकृतिक नै भएको नाताले "मैले यौनवासना उपर विजय प्राप्त गरेको छु" भन्ने दम्भ कसैले पनि नगरे हुन्छ | यौन इच्छालाई नियमन गर्न सकिन्छ, पूर्ण नियन्त्रण गर्न सकिन्न | तेसैले यौनका सवालमा सधैं सजग हुनुपर्छ, विवेकशील हुनुपर्छ, होस् गुमाउनु हुँदैन |

यौनक्रिया आफैमा प्राकृतिक हो तर मान्छे बौद्धिक र भावनात्मक प्राणी भएकोले धर्म, संस्कृति, परम्परा, परिवेश तथा आवश्यकताहरूका आधारमा यौनव्यबहार गर्न सक्छ | लोग्ने होस् वा स्वास्नी, प्रेमी होस् वा प्रेमिका, चिनेको होस् वा नचिनेको, आफन्त होस् वा पराई, साधुसन्त होस् वा धूर्त, उच्च पदस्थ होस् वा सामान्य यौनक्रिया अनुचित ठान्नुहुन्छ भने प्रष्टरूपमाअरूलाई र आफैलाई "हुन्न" भन्न सक्नुपर्छ | लोग्ने-स्वास्नीकै सवालमा पनि अनुचित यौनप्रस्तावलाई अस्वीकार गर्नैपर्छ | यसो गर्दा, एकछिन असजिलो, असहज अनुभव भए पनि दीर्घकालीन रूपमा "असल" हुन्छ | यौनाचार गर्ने अवसर मिल्यो भन्दैमा "हाम फाल्नेले" पछुताउनु पर्छ | लोग्नेलाई स्वास्नीले र स्वास्नीले लोग्नेलाई ढाँटे पनि आफ्नो अन्तरात्मालाई ढाँटन सकिन्न | आफ्नी पत्नी वा पतिसंग "छल" गर्नेहरूको आत्मविश्वास र पारिवारिक प्रतिबद्धता निकै सतही हुन थाल्छ | यसले लोग्नेस्वास्नीका विचको सम्बन्धमा नराम्रो क्षति गर्छ र त्यसक्षतिका कारण पर्ने मानसिक, भौतिक, सामाजिक, पारिवारिक तथा आर्थिक क्षति त झन् धेरै हुन्छन् | अनुचित व्यक्ति, ठाउँमा उत्पन्न भएको शारीरिक वासनालाई विवेकले नियन्त्रण गर्नुको विकल्प छैन भने उचित ठाउँ, व्यक्ति र सहमतिमा उत्पन्न वासनाको उचित प्रयोगले व्यक्ति तथा परिवार सुखी हुन्छ भन्ने तत्थ्यमा शङ्का गर्नु पर्दैन |

१४. निष्कर्ष
यो लेखमा मैले प्रयोग गरेका शब्द "लोग्नेस्वास्नी" नेपाली जनजिब्रोमा छ | लोग्नेस्वास्नी, बूढाबूढी, श्रीमान् श्रीमती, पत्नीपत्नी सबै नेपाली शब्द नै हुन् | जनजीब्रोको शब्द प्रयोग गर्दा बुझ्न र बुझाउन सजिलो हुन्छ | शब्दकोशका शब्दहरूप्रति असाहिष्णुता देखाउनेहरूसंग मेरो गहिरो विमति छ | दोश्रो, यो लेख लेख्नुको अर्को उद्देश्य "विवाहउप्रान्त लोग्नेस्वास्नीले यौनजन्य क्रियाकलापमा प्रवेश गर्नुपर्छ" भन्ने हिन्दू संस्कृतिको आदेशका विषयमा जानकारी दिनु र त्यसअनुसार नै यौनव्यबहारका लागि युवापुस्तालाई प्रेरित गर्नु पनि हो | तेस्रो, यौनक्रिया बायोलोजिकल अवश्य हो तर यौन-सामाग्री उत्पादन गर्ने व्यबसायीहरुको टुलका रूपमा सम्बन्धित पक्षहरूको भावना (Emotion) उत्तेजित पारेर अप्राकृतिक, गैरन्यायिक, उमेर नपुगी तथा विवाहइतर यौनक्रियामा अभिप्रेरित गर्ने "रङ्गिन-विज्ञापन"बाट प्रभावित नहुन सचेत गर्नु पनि हो | तेस्रो, लोग्नेस्वास्नी हुँदैमा बलत्कारको अनुमतिपत्र प्राप्त भएको हुँदैन | लोग्नेस्वास्नीको पूर्ण सजगता र सहमतिको यौनक्रियाले सम्बन्धित लोग्नेस्वास्नीको मानसिक, भौतिक, सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक स्वास्थ्यमा सकारात्मक उर्जा स्थापित गर्छ भने यस विपरित भएमा नकारात्मक अवस्था सृजना हुन्छ | लोग्नेस्वास्नी मिल्दा संसार सुखी हुन्छ, लोग्नेस्वास्नी नमिल्दा संसार नर्कसरह हुन्छ | लोग्ने र स्वास्नी विच झगडा हुँदा १२८ बटा व्यक्तिहरूमा नकारात्मक प्रभाव पर्छ | पारचुके हुँदा सबैभन्दा बढी प्रभावित हुने "बालबालिका" हुन् | निर्दोष बालबालिकाले आफुले नगरेको दण्ड भोगिरहेका हुन्छन् | तसर्थ, हरेक विवाहित लोग्नेस्वास्नीले यौनक्रियालाई (काम) धर्म पूर्वक प्रयोग गरेर संसारमा आनन्द भोग्दै मोक्ष सुनिश्चित गर्नेदिशा सुनिश्चित गरौँ | |

जय लोग्नेस्वास्नी

दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता !

 दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता !

दर्शनशास्त्रको

एउटा हाँगा हो - तत्वशास्त्र | अंग्रेजीमा Metaphysics भन्ने गरिन्छ | तत्वशास्त्रका तीनबटा विभाग छन् : सृष्टिशास्त्र, ईश्वरशास्त्र र मनशास्त्र अर्थात् मनोविज्ञान | आज भोली मनोविज्ञानले आफुलाई दर्शनशास्त्रको अङ्ग मान्दैन तर मनशास्त्रको काम चाहिं चेतनाको अध्ययन गर्ने हुनाले दर्शनशास्त्र अन्तर्गत नै पर्छ |


सृष्टि शास्त्रमा ब्रह्माण्डको उत्पति, पृथ्वीको उत्पत्ति, जीव-निर्जीवको उत्पत्तिआदि विषयहरूको प्रमाणिक उत्तर खोज्ने प्रयत्न गरिन्छ | यो पनि मूलत: दुईभागमा विभाजित छ भौतिकवाद र चेतनावादी | भौतिकवादले विश्वलाई पूर्णतया प्राकृतिक घटना मान्छ भने चेतनावादीहरूले विश्वको रचना कुनै चेतनतत्वले गरेको ठान्छन् | सृष्टिशास्त्रका अनेकौं सिद्धान्तहरू छन् | नेपाल, भारत वा विश्वका सबै देश र कालमा यस वारे छलफल गरिएको छ | आजसम्म सर्वमान्य निर्णयमा पुगिएको छैन |

ईश्वरशास्त्र पनि सृष्टिशास्त्रकै सन्दर्भमा आएको उत्तर हो | मूलत: विश्वको रचनाकार परमतत्व हो र त्यो पूर्णचैतन्य, सर्वज्ञ, सर्वशक्तिमान र नियामक छ, त्यो परमेश्वर हो भन्ने तत्थ्यमा विश्वास गर्ने र यस सम्बन्धि सिद्धान्तहरूमा विश्वास गर्नेहरू ईश्वरवादी हुन्छन् | धेरैजसो धर्म र सम्प्रदायहरूले ईश्वरलाई सृष्टि, पालन र संहारको लागि जिम्मेदार मान्छन् | खासगरी, अंग्रेजीमा theology भनिने ईश्वरशास्त्रका प्रणेता सेमेंटिक रिलिजन (यहुदी, इसाई र मुस्लिम) हुन् | हिन्दुभित्र पनि अनेकौं सम्प्रदायहरूले एकेस्वर, द्वैतवाद तथा अनेकेश्वरवादमा विश्वास गर्छन् |

तेस्रो धार भनेको मनशास्त्र अर्थात् मनोविज्ञान हो | जसले आरम्भमा आत्माको खोजबाट आफ्नो काम आरम्भ गर्यो तर आजभोली भौतिकवादी धारमा पर्छ | चेतना, चेतनाको स्वरूप, ज्ञान, अनुभव, संज्ञान, भावना, सुखदुखजस्ता विषयहरूको कारण र त्यसले व्यक्तिमा देखिने प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरूको विश्लेषण गरेर चित्त ठीक भए/नभएको विचार गर्छ |

मैले दर्शनशास्त्रको तत्वमीमांसाका विषयमा चर्चा गरिरहंदा आज विश्व नास्तिकता दिवस हो | सेमेटिक (यहुदी, इसाई र मुस्लिम) धर्ममा ईश्वरको सर्व'सत्तावाद, उसका दूतहरूको प्रमाणिकता र अन्य ईश्वरको आदेशप्रति निर्विकल्प विश्वास गरिन्छ | यदि कुनै व्यक्तिले उपर्युक्त तीनबटा कुरामा विश्वास गर्दैन भने त्यो नास्तिक हुन्छ |

मेरो लागि नास्तिक हुनु र भौतिकवादी हुनु नितान्त फरक कुरा हो | भौतिकवादीका लागि ईश्वरजस्तो कुनै विषयवस्तुको अस्तित्व नहुने हुँदा, यस विषयमा चर्चा, परिचर्चा, प्रतिरोध वा समर्थन केही गरिन्न | जसले ईश्वरको अस्तित्वका पक्ष वा विपक्षमा तर्कवितर्क गर्छन् यस्ता व्यक्ति तथा समुदायले आफुलाई भौतिकवादी भन्न मिल्दैन | सम्भवत: अंग्रेजीको Atheist शब्दले "तिमीले मान्ने ईश्वरमा हामी विश्वास गर्दैनौ, हामी नास्तिक हौँ" भन्ने सम्मको अर्थ राख्छ |

-धेरैजसो पश्चिमा दार्शनिकहरू भौतिकवादी होइन नास्तिक छन् | भारतवर्ष र चीनमा आस्तिकता र नास्तिकता "ईश्वर वा उसका दूत, छोरा"संग संबद्ध विषय भन्दा नितान्त फरक छन् | हो, हिन्दुहरूमा अद्वैतवादी, द्वैतवादी, द्वैताद्वैतवादी, अचिन्त्यभेडाभेदवादी, शिवशक्तिवादी, ब्रह्मवादी सबै थरी ईश्वरवादीहरू छन् | तर ईश्वर नमान्नेहरूलाई यहाँ नास्तिक मानिन्न | वेदको प्रमाणिकता अस्वीकार गर्नेहरूलाई नास्तिक भनिन्छ | नस्तिको वेद: निन्दक अर्थात् वेदलाई नमान्ने नास्तिक हुन् भन्दै ईश्वर नमान्नेहरू नास्तिक होइन भनेर बचाऊ नै गरेको छ |

वैदिक दर्शनमा खाट्टी भौतिकवादी चार्वाकहरू हुन् | कार्लमार्क्सले आफुलाई कट्टर भौतिकवादी मानेका छन् तर उनको साहित्य धर्म र धार्मिकताको निन्दामा बढी केन्द्रीत छ | सबै बेथितिको दोष ईश्वर र धार्मिकतालाई दिने कार्लमार्क्सको द्वन्दात्मक भौतिकवाद निसन्देह प्रच्छन्न ईश्वरवादी अर्थात् नास्तिकवादी हो | विश्वमा ईश्वरवादी र धार्मिकताको विरोधमा जतिधेरै मार्क्सवादले बुद्धि र विवेक खर्चिएको छ, त्यति ईश्वरवादी आस्तिकहरूले खर्चिएका छैनन् |

संस्कृत व्याकरण अनुसार आस्तिकको अर्थ "परमतत्व छ" भन्ने तत्थ्यमा विश्वास गर्ने समूह पर्छ भने नास्तिक समूहमा "केही पनि छैन" भन्नेहरू पर्छन् | बौद्धहरूको महानिर्वाण र जैनहरूको कैवल्य असलमा वैदिक नास्तिकताको सही उदाहरण हो | वैदिकहरूका विचारमा भौतिक तत्वलाई परमतत्वका रूपमा स्वीकार गर्ने अर्थात् "अस्ति" भन्नेहरू आस्तिक नै हुन् |

आज "विश्व नास्तिकता" दिवसको प्रवर्धन गरिरहंदा तार्किक रूपमा नास्तिकहरूले धर्म, धार्मिकता तथा धर्मको प्रमुख खम्बा ईश्वरलाई (जैन र बौद्धले ईश्वरलाई मान्दैनन्) अस्वीकार गरेका हुन् कि आफुलाई भौतिकवादका पक्षमा उभ्याएका हुन् ? प्रष्ट पार्नु पर्छ, कोलिनजस्ता मानववादीले आफ्नो पुस्तक फिलोसफी अफ ह्युमनिज्ममा प्रष्ट पार्न सकेका छैनन् भने आफुलाई भौतिकवादी भन्ने मार्क्सवादीहरू ईश्वर र धार्मिकता विरोधी मानसिकताबाट माथि उठ्न सकेका छैनन् |

वैदिक दार्शनिकहरूले आस्तिकता र नास्तिकताका सवालमा अवलम्बन गरेका सिद्धान्तहरू तार्किक र व्याबहारिक रूपमा सङ्गत छन् | ईश्वरको अस्तित्वमा विश्वास गर्ने र नगर्ने दूवै "हिन्दू" रहन सक्छन् तर पुस्तकीय धर्ममानिने सेमेटिकहरूले पुस्तकको आदेश मान्नैपर्छ | भारतीय दर्शनमा भौतिकवादी आस्तिकहरूमा चार्वाकहरू (पृथ्वी, जल. आगो र बायुको अस्तित्वमा कुनै शङ्का गर्दैनन्) जमेका छन् भने धार्मिक नास्तिकतावादमा महानिर्वाण र कैवल्यमा विश्वास गर्ने बौद्ध र जैनहरू बलियोसँग उभिएका छन् |

आज विश्व नास्तिकता दिवस मनाउनेहरू धर्म, धार्मिकता तथा ईश्वर विरोधी भएकोले नास्तिकता दिवस मनाउंदै छन् कि भौतिकवादी भएर आफुलाई नास्तिक भन्दै छन् ? लिंग प्रष्ट छैन |



Tuesday, March 19, 2024

हामी लोग्नेस्वास्नी !


लोग्नेस्वास्नीका कुरा किन ?

जव मैले लोग्नेस्वास्नीको सम्बन्धको विषयमा लेख्छु, दूईप्रकारका प्रतिक्रिया आउँछन् | पहिलो "लोग्नेस्वास्नी" शब्द अमर्यातित भयो | दोश्रो, तपाईं दम्पति विच झगडा त भएन ? मेरो उत्तर हो "पश्चिमाहरूले भनेको भरमा जनजीब्रोको शब्द "लोग्नेस्वास्नी"लाई खराव मान्नु अर्काको निर्णय बोकेर हिड्नु हो | लोग्नेस्वास्नी नेपालीको "जनबोली" हो | श्रीमान् त न्यायालयका न्यायाधीश पनि हुन्छन् | श्रीमती जुनसुकै महिलाको मान लेख्दा सम्मान व्यक्त गर्न प्रयोग हुन्छ | "लोग्नेस्वास्नी" दुईअर्थी छैन | तेसैले निर्धक्कसंग "लोग्नेस्वास्नी" शब्दको प्रयोग गर्नुपर्छ |

संसारमा कुनै पनि मान्छे खराव र असल हुँदैन | व्यक्तिको व्यबहार राम्रोनराम्रो, खराव असल हुन्छ | लोग्नेस्वास्नी पनि आफैमा असल वा खराव हुँदैनन् | उनले एकआपसमा गर्ने व्यबहार, बोल्ने बाणी र शारीरिक हाउभाउले आचरण प्रकट हुन्छ | फेरी, यौनका सवालमा हावा पिएर तपस्या गर्ने (विश्वामित्र)जस्ता ऋषि मुनिहरू त पग्ले, इन्द्रजस्ता स्वर्गका राजाले अहिल्या ताके, बिल गेट्सजस्ता व्यक्ति आफ्नै सहयोगीसंग फंसे भने हामीजस्ता सामान्य मान्छेले आफुलाई छाडा छोडी दियौं भने सजिलैसंग "फंस्न" सक्छौं | आफै सजग हुने हो र अरूलाई सजग रहन र आचरण सुधार्न सहयोग पुर्याउने हो | नेपाली लोग्नेस्वास्नी एकआपसको खराव सम्बन्ध "लुकाउन" पोख्त छन् तर यति हुँदाहुँदै पनि हरेक पल सहयोगको प्रतिक्षा गरिरहेका छन् | मैले लेख्छु किनभने यस्ता लेखहरूले धेरैलाई "सजिलो" बनाउँछ |

दोश्रो, म पनि सामान्य मान्छे हुँ | अन्य लाखौं मान्छेसरह सामान्य जीवन जिउँछु | म र मेरी स्वास्नी फरकफरक व्यक्ति हौँ | स्वाभाविक रूपमा आफ्नो लोग्नेका सबै कुरामा सहमत हुनुपर्छ भन्ने छैन | कहिलेकाहीं ठ्याकठुक पर्छ | अति हुँदा एकदुई घण्टा बोलचाल पनि बन्द हुन्छ | तर कि मैले कि उनले पानी सरल बनेर कुराको थालनी गर्छौं | कुरा मिल्छ | म आफ्नी स्वास्नीलाई धन्यवाद दिन्छु कि उनले मलाई अरूको कुरा सुन्न र अरुको परिवेशमा कुरा बुझ्न अभिप्रेरित गर्छिन् |

म "लोग्नेस्वास्नी" सम्बन्धका विषयमा लेख्छु | यसरी लेख्नुका तीन बटा उदेश्य छन् | पहिलो, हाम्रो समाजका लोग्नेस्वास्नीहरू एकआपसमा विपरित ध्रुवका दुई चुम्वकसरह अत्याधिक कष्ट (मिल्ती नभएर) सहेर बस्छन् तर समाजबाट कष्ट निवारणका लागि कुनै सहयोग लिंदैनन् | पतिपत्नीका रूपमा सधैं एउटा छतमुनि बसेर पनि एकआपसमा शत्रुतापूर्ण सम्बन्ध भएका, आफुप्रति भैरहेको अन्याय सहेर कष्टपूर्ण जीवन विताइरहेका, अपहेलनामा पारिएका तथा शारीरिक, मानसिक हिंसामा परिरहेका "लोग्नेस्वास्नी"लाई सहयोग प्राप्त गर्न उत्प्रेरित गर्नु हो |

दोश्रो, रोमान्टिक र व्याबहारिक जीवन फरक हुन्छ | व्याबहारिक जीवनको पाटोको तुलनामा रोमान्टिक पाटो थोरै हुन्छ | यस्तो अवस्थामा, पारिवारिक झमेलामा अल्झिन्दै जाँदा लोग्नेस्वास्नीहरूले आफ्नो व्यक्तिगत भावना, प्रेम, सम्बन्ध विग्रेको थाहा नै पाउंदैनन् | अरूका लागि खट्दाखट्दा लोग्नेले स्वास्नीको, स्वास्नीले लोग्नेको महत्व नै बिर्सिन्छन् | यस्तो अवस्थामा, मेरो लेखले हरेक लोग्नेस्वास्नीलाई "आफ्नो शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य तथा भावनाका लागि समय निकाल्न र आफ्नो ख्याल राख्न प्रेरित गर्छ |

तेस्रो, पाका उमेरका लोग्नेस्वास्नी होउन अथवा भर्खर विवाह गरेका लोग्नेस्वास्नी नै किन नहोउन्, अधिकांश आपसी सम्बन्धहरू विग्रने कारणहरू हुन्छन् | उदाहरणका लागि लोग्नेस्वास्नीका विचमा ठीकठीक संवाद तथा संचार गर्ने शीप (Communication skill) छ भने एकआपसी सम्बन्ध बलियो र उदाहरण योग्य हुन्छ | हरेक लोग्नेस्वास्नीले एकआपसमा बोल्ने, एकआपसका समस्याहरू वारे छलफल गर्ने, समायोजन गर्न सकिने र नसकिने विषयहरूमा जानकारी लिने, एकआपसका कुराहरू ध्यान दिएर सुन्ने, धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलापमा तालमेल राख्न के कस्ता व्यबहार छोड्नु पर्छ र के कस्ता व्यबहार सिक्नुपर्छ भन्ने जानकारी राख्ने र दम्पतिका रूपमा घरव्यबहारमा आफ्नो भूमिका ठीकठीक तवरले निर्वहन गर्न जान्दा लोग्नेस्वास्नीको सम्बन्ध राम्रो हुन्छ |

आपसी व्यवहारका धेरै कुराहरू लोग्नेस्वास्नीले आफै जानेका हुन्छन् | मैले आफ्ना लेखहरूका माध्यमबाट जानेका -ससाना कुराहरूलाई दैनिक जीवनमा उपयोग गरेर कसरी एकआपसमा सुखी र खुसी हुन सकिन्छ भन्ने दिशाबोध गर्ने प्रयत्न गर्छु | लोग्नेस्वास्नीको जीवन सिनेमाका हिरोहिरोइनजस्तो आदर्श हुँदैन | तर त्यो भन्दा पनि धेरै आदर्शमय हुन्छ | यस्तो आदर्शमा जिउन जानेका लोग्नेस्वास्नी साच्चिकै सुखी हुन्छन् | धनले म्याटर अवश्य गर्छ तर एकआपसमा विश्वास गर्ने, एकआपसमा खुलस्त कुरा गर्ने, लोग्नेस्वास्नी भएर यौनव्यवहारका सवालमा सधैं "पतिपत्नीब्रता" रहने र एकआपसमा सम्मान गर्ने लोग्नेस्वास्नीहरू सधैं खुसी हुन्छन् |

विवाह गरेर दाम्पत्य जीवन स्वीकार गरिसकेपछि लोग्ने होस् वा स्वास्नी दुवैले धेरै थोक छोड्नुपर्ने पर्ने हुन्छ, धेरै थोक अपनाउनु पर्ने हुन्छ | एकआपसमा विश्वास गर्ने, प्रेम गर्ने, एकअर्काको लागि त्याग गर्ने लोग्नेस्वास्नीले आफ्नो संसारलाई स्वर्ग बनाउँछन् | तर आफ्नो स्वार्थमा एक्लै हिड्ने, धनको, विद्याको, पदको तथा कुलको घमण्ड देखाएर आफ्नो लोग्ने वा स्वास्नीलाई होच्याउने, अपमान गर्ने र "देखाइदिने" भन्दै मल्टीपल पार्टनरशीपको अभ्यास गर्नेहरूको जीवन नर्क हुन्छ | ठूलाठूला घरमा बसेर, महङ्गा गाडी चढेर, धेरै सेक्सपार्टनरहरू बनाएर, महङ्गा रक्सी खाएर, महङ्गा लुगा लाएर तथा मपाई भनेर कुनै पनि खुसी हुन सक्दैन | राजनीति, धर्म, संस्कृति तथा परम्पराको आडम्बर भन्दा पनि प्राकृतिक रूपमा प्राप्त प्रेम र विश्वासका सवालमा लोग्नेस्वास्नीको सम्बन्ध बलियो हुन्छ |


यदि लोग्नेस्वास्नीको सम्बन्ध विग्रिसकेको छ भने लोग्ने वा स्वास्नीले एक्लै सम्बन्ध सुधार्ने प्रयत्न गरेर हुँदैन | लोग्ने वा स्वास्नीमा पनि असल सम्बन्ध कायम गर्ने भित्री इच्छा र प्रयत्न हुनुपर्छ | विश्वका हरेक लोग्नेस्वास्नी प्रकृतिका सुन्दरतम वरदान हुन् | जानाजानी वा नजानेर विग्रिएको "लोग्नेस्वास्नी"को सम्बन्ध प्रयत्न गर्ने हो भने सजिलै सप्रन सक्छ | यसका लागि लोग्ने र स्वास्नी दूवैले आफुभित्र रहेको "इगो" छोड्नु पर्छ | मित्रतापूर्ण र सम्मानजनक सम्बन्धका लागि "लोग्नेले क्षमा मागोस् वा स्वास्नीले क्षमा मागोस्" पर्खिनु पर्दैन | जसले सम्बन्ध सुधार्ने नेतृत्व लिन्छ, त्यही नै महान् हुन्छ | लोग्नेस्वास्नीको सम्बन्ध हारजितको युद्ध होइन, दुई मित्र, प्रेमी तथा मायालुहरूको पुनर्मिलन हो |

अन्तिममा, लोग्नेस्वास्नी भन्दा मिल्ने र विश्वासिलो साथी अर्को हुनै सक्दैन | एकआपसमा विश्वासघात नगर्ने लोग्नेस्वास्नी नै विश्वका असली गहना हुन् |यदि लोग्नेबाट स्वास्नीको र स्वास्नीबाट लोग्नेको जीवननै धरापमा पर्ने अवस्था छ भने त्यस्तो सम्बन्ध जोगाउनतिर लाग्नु हुँदैन | तर यदि लोग्नेस्वास्नीका समस्याहरू एकआपसी संवादहिनता तथा "कुरा-सुनेर" उत्पन्न भएका हुन् भने मिल्नुपर्छ | यदि आफै मिल्न नसक्ने अवस्था छ भने विज्ञबाट सहयोग प्राप्त गर्नुपर्छ | खासगरी, वैदिक संस्कृतिमा "पारचुके"को कुनै अवधारणा नभएको हुँदा हरेक लोग्ने र स्वास्नीको एकआपसी व्यबहार सप्तपदिमा दिएका बचनमा केन्द्रीत हुनुपर्छ |


Friday, March 15, 2024

असल स्वास्नी 1

अर्पणा र अर्पणको विवाह भएको दुई वर्ष भयो | दूवै जना सहपाठी हुन् | पढ्ने क्रममा आपसी चिनजान भयो, प्रेम बस्यो र परिवारकै सहमतिमा विवाह भयो | विवाह भएको एकवर्षपछि दूवै घरको नजिकै फ्याट भाडामा लिएर सरे | परिवारसंग विवाद भएर फ्ल्याट लिएको होइन, आत्मनिर्भर बन्ने अभ्यास गर्न सजिलो हुन्छ, लोग्नेस्वास्नीलाई एक्लै बस्नु पर्दा "कामकाज" गर्दागर्दै पनि एकआपसमा सामन्जस्य कायम गर्न सकिन्छ ? सामाजिक, सांस्कृतिक, पारिवारिक तथा धार्मिक दायित्वहरू कसरी पूरा गर्न सकिन्छ ? भनेर अभ्यास गर्न बेग्लै फ्ल्याट लिएको हो |

सुरुसुरुमा एक्लै फ्ल्याटमा जीवन आरम्भ गर्दा निकै गाह्रो भयो | घरको समान जुटाउन र मिलाउन निकै परिश्रम गर्नु पर्यो | बल्ल-बल्ल भोजन बनायो, त्यो पनि ढंगको नहुने ! धेरै पटक पकाएको भोजन फालेर अनलाइन मंगायेर पेट भरियो | एकातिर हामी लोग्नेस्वास्नीका लागि एकान्त प्राप्त भयो | संयुक्त परिवारमा केही डर, केही लाज हुन्थ्यो | यहाँ हामी स्वतन्त्र भयौं | स्वतन्त्रताको वेफाइदा पनि रहेछ - सन्चो नहुँदा, थाकेर गाह्रो हुँदा, मन दुख्दा, सहयोगको आवश्यकता हुँदा तत्काल पाइने रहेनछ | अनि, लोग्नेस्वास्नी विच ठ्याक्कथुक्क पर्छ | कहिकेकाहीं घण्टा त् कहिलेकाहीं दिनभरी हामी विच बोलचाल समेत हुँदैन | तर त्यो धेरै चल्दैन | धेरै जसो अर्पणले "सरी" भन्नुहुन्छ | कुरा मिल्छ | तर कहिलेकाहीं मैले पनि "सरी" भन्नु | कुरा मिल्छ |
..................
आधुनिक दम्पतिले न्युक्लियर बसाई रोज्ने चलन बढेको छ | यसो गर्नुमा आ-आफ्ना आवश्यकता र तर्क छन् | अर्पणा र अर्पण दूवै कामकाजी छन् | अर्पणा एउटा परम्परागत परिवारमा हुर्केकी हुन् | उनले आफ्नो धर्म, संस्कृति, परम्परा तथा सामाजिक दायित्व बुझेकी छन् | उनको विचारमा एउटी नेपाली महिला असल "स्वास्नी" बन्नका लागि सामान्य नेपाली मन र भावनाअनुसार आफुलाई ढाल्न पर्छ तर थिचोमिचो र अनावश्यक आदेशहरु विनम्रता र कठोरताका साथ अस्वीकार गर्नुपर्छ | यसो गर्दा आफन्त वा लोग्नेलाई अलि नमिठो लाग्न सक्छ तर पछि उहाँहरूले सम्मान गर्नुहुन्छ | आधुनिकता तथा पढालिखा हुनुको अर्थ सबै "बन्धनबाट मुक्ति" होइन | आ-आफ्नो दायित्व सबैले पालन गर्नुपर्छ |
अर्पणाका अनुसार आधुनिक नेपाली स्वास्नीमा निम्न गुणहरू हुँदा लोग्नेस्वास्नीको पारिवारिक जीवन राम्रो हुन्छ | नेपाली समाजमा केवल लोग्नेस्वास्नीका विच राम्रो भएर मात्रै काम चल्दैन, परिवारसंग पनि सन्तुलन मिलाउनु पर्छ | अर्पणाका विचारमा आधुनिक "स्वास्नी"मा निम्न गुण तथा स्पस्टता हुनुपर्छ :
१. सम्प्रेषण (Communication) एउटी असल स्वास्नीका लागि सबैभन्दा महत्वपूर्ण गुण भनेको उसले एकआपसी सूचनाहरू प्रष्टरूपमा साटासाट गर्नुपर्छ | एकआपसी विचारहरू, शारीरिक अवस्थाहरू, मानसिक अवस्थाहरू. सामाजिक, सांस्कृतिक, धार्मिक तथा व्यक्तिगत रूचि, इच्छा तथा अनिच्छाका विषयमा लोग्नेसंग प्रष्ट कुरा राख्न सक्नुपर्छ | यसरी कुरा राख्दा कुनै पनि प्रकारको बनाबटीपन, स्वार्थ तथा लाभहानीबाट प्रेरित हुनुहुँदैन | लोग्नेसंग दूईखालका अर्थ लाग्ने र शङ्कालु बोलीबचन प्रयोग गर्नु हुँदैन | लोग्नेका मन नपर्ने बानीहरू प्रष्टरूपमा भन्नु पर्छ तथा विनम्रता र भाषा छनौटमा ध्यान दिनु पर्छ | आफ्नो शारीरिक अवस्था वारे प्रष्ट भन्नु पर्छ | बोलीमा मिठोपना तर दृढता हुनुपर्छ, मनमा प्रेम तथा सहृदयता हुनुपर्छ | तेसैले हरेक स्वास्नीले "सूचना आदानप्रदान" मा विशेष महत्व दिनुपर्छ |
२. सहयोगी : (Support) हरेक लोग्नेहरूले आफ्नी स्वास्नीले हरेक अवस्थामा सहयोगी भूमिका गरोस् भन्ने चाहन्छन् | सजिलो र असजिलो परिस्थिति सबैको परिवारमा आउँछ तर एउटी असल स्वास्नीले "लोग्ने"लाई एक्लै छोड्दैनन् | कानुनले वर्जित नगरेका सबै क्रियाकलापमा स्वास्नीले लोग्नेलाई सघाउनु, सहयोग गर्नु असल गुण हो | मानसिक रूपमा दुखी भएको बेला समनानुभूति प्रदान गर्ने, रोगको अवस्थामा भौतिक सहयोग गर्ने र बौद्धिक कार्यमा समेत समस्या समाधान गर्न सहयोग गर्ने मानसिकता र कामले स्वास्नीलाई असल बनाउँछ |
३. उत्सव : (Celebration on achievement) लोग्ने र स्वास्नी दुवै लोग्नेस्वास्नी हुनुका साथै सबैभन्दा नजिकका असल मित्र र सहयोगी पनि हुन् | स्वास्नी मान्छेले लोग्नेको स-सानो सफलतामा उत्सवको माहौल तयार गर्नुपर्छ | सफलताको खुसी मनाउन महङ्गा होटल वा रक्सी नै चाहिन्छ भन्ने होइन आफ्नो आर्थिकस्तर अनुसार लोग्नेलाई बधाई दिएर, अँगालो हालेर वा आमावुवाको अगाडी लोग्नेको प्रशंसा गरेर लोग्नेको सफलतालाई उत्सवमय बनाउने स्वास्नीहरूले बानीका रूपमा विकास गर्दा हुन्छ | मान्छेले ससानो उपलब्धिमा खुसी हुनुपर्छ |
४. सुन्ने (Listener) आजको समाजले "सुन्ने क्षमता" गुमाउंदै छ | लोग्ने वा स्वास्नी एकअर्काको कुरा ध्यान दिएर र धैर्यपूर्वक सुन्न छोडेका छन् | सुख होस् वा दुख हरेक मान्छेले आफ्नो कुरा सुनाएर "हल्का" हुन चाहन्छ | एउटी असल स्वास्नीले लोग्नेका कुराहरू ध्यान दिएर सुन्ने बानी बसाल्नु पर्छ | नेपाली लोग्नेहरू अली बढी नै "सुनाउने खालका" हुन्छन् | गालीनै किन नहोस्, चूप लागेर सुन्ने र लोग्ने शान्त भएपछि त्यस विषयमा आफुलाई लागेको कुरा प्रष्टसंग राख्नु पर्छ | तेसैले असल स्वास्नीहरूले सुन्ने सवालमा धैर्यको बाटो रोज्छन् | सुन्ने बानी भएका स्वास्नीहरूका लोग्नेहरू स्वास्नीसंग आफ्नो कुरा नलुकाई भन्ने गरेको अनुसन्धानहरूले पुष्टी गरेका छन् | तेसैले २५% सुनाउने र ७८% सुन्ने बानी स्वास्नीका लागि सुखी पारिवारिक सम्बन्धको बलियो गाँठो हुन्छ |
५. सम्मान (Respect) मान्छेको आचरण सम्बन्धित समाजको मान्यतामा आधारित हुन्छ | अमेरिकी समाजको नक्कल गरेर हुँदैन | हाम्रो समाजका आफ्ना नैतिक तथा सामाजिक सीमाहरू छन् | धेरैजसो नेपाली लोग्नेहरू स्वास्नीले "तँ वा तिमी भनेर सम्बोधन" गरेको मन पराउँदैनन् | एकान्तमा तँ वा तिमी जे-भनेर सम्बोधन गरे पनि समूहहरुमा तपाईं नै भन्दा राम्रो हुन्छ | यो लोग्नेलाई आदर गर्ने एउटा उदाहरण हो | हरेक स्वास्नीले आफ्ना लोग्नेको आत्मसम्मानको ख्याल गर्नु पर्छ | यदि कुनै व्यबहार वा बोलीले लोग्नेको आत्मसम्मानमा नराम्रो असर पर्छ वा स्वास्नीले फलानो व्यबहार वा बोली नाबोलोस् भन्ने चाहन्छ भने ती शब्द र बोलीलाई सधैंको लागि छोड्नु उचित हुन्छ | आफ्नो लोग्नेलाई सम्मान र आदर गर्ने यो भन्दा राम्रो अरू कुनै कुरा हुनै सक्दैन |
६. यौन उत्सुकता (Sexual orientation) एउटा पुरुषका लागि "सेक्स" निकै महत्वपूर्ण हुन्छ | नेपाली लोग्नेहरू सेक्सका मामिलामा नेतृत्व लिन्छन् | साथै, नेपाली लोग्नेहरू आफ्नी स्वास्नीसंग सेक्सका विषयमा कुरा गर्न र सुन्न मन पराउँदैन् | यस्तो अवस्थामा नेपाली स्वास्नीको रूपमा हरेक स्वास्नीले बडो सावधानीपूर्वक "सेक्स-व्यबहार" गर्नुपर्छ | यौन व्यबहारमा महिलाका तुलनामा पुरुषहरू बढी नै एकाधिकार खोज्ने हुन्छन् | स्वास्नीको सानो अव्यबहरिकताले लोग्नेले "अर्कासंग सल्केको" भनेर शङ्का हुन सक्छ, तेसैले प्रत्येक स्वास्नी मान्छेले आफ्ना बालसखाहरूसंग होस् अथवा अन्य पुरुषमित्रहरूसंग एउटा निश्चित तथा सम्मानित सम्बन्ध बनाउंदा राम्रो हुन्छ | पुरुषमित्रका विषयमा लोग्नेले सोधेको बेलामा "सहीसही" जानकारी दिंदा राम्रो हुन्छ | अर्को कुरा, लोग्नेसंग विवाहपूर्वका यौन-सम्बन्धहरूका विषयमा जानकारी साझा गर्न हुँदैन | आधुनिकता र एकआपसमा जीवनका अन्य सबै पक्ष साटासाट गरे पनि विवाहपूर्वका "यौनजन्य" क्रियाकलाप वारे मौन रहनु नै उचित हुन्छ | साथै, यदि वर्तमान लोग्नेसंग दोस्रो विवाह हो भने पूर्वलोग्नेसंग यौनजन्य क्रियाकलाप वा घटनाहरू भन्न हुँदैन |
यौनजन्य क्रियाकलापमा शरीर र मन दूवैको प्रत्यक्ष संलग्नता हुने भएको र यो जीवनको अनिवार्य अंग भएको हुँदा शरीर र मन स्वास्थ्य रहनु अतिआवस्यक हुन्छ | आफुलाई सन्चो भएको नभएको विषयमा लोग्नेसंग प्रष्ट, विनम्रता तथा दृढतासंग कुरा गर्नुपर्छ | लोग्नेले आग्रह नै गरे पनि विनम्रता पूर्वक अप्राकृतिक यौनजन्य क्रियाकलाप तथा


व्यबसायिक नीला चलचित्रबाट जोगिनु राम्रो हुन्छ | साथै, यदि लामो समयसम्म यौन चाहनाको अभाव हुन्छ भने लोग्नेस्वास्नी दूवै मिलेर चिकित्सकसंग परामर्श गर्नु उचित हुन्छ | पुरुषहरू सेक्सका सवालमा अलि अधैर्य हुने हुँदा धेरै लामो समयसम्म "नाइँ" भन्दा दोस्रो विकल्प खोज्ने वा मानसिक तनावग्रस्त भएर हिंसक व्यबहार गर्ने सम्भावना हुन्छ | तेसैले स्वास्नीले लोग्नेसंग विश्वासिलो र सम्मानजनक संचार स्थापित गर्नु असल गुण हो |
७. विश्वासिलो (Faithful) : नेपाली लोग्नेस्वस्निका विचमा अंग्रेजीको फैथफुल शब्द नितान्त नयाँ चिन्तन हो | नेपाली लोग्नेस्वास्नीहरूका लागि विवाह एउटा पवित्र तथा नैतिक बन्धन हो | विवाहसंग पश्चिमाजस्तो डिभोर्सको कल्पनासम्म गरिएको हुँदैन | आफ्नो लोग्ने हुँदाहुँदै कुनै पनि स्वास्नीले दोस्रो व्यक्तिसंग यौनजन्य क्रियाकलाप गर्छन् भन्ने कुरा समाजले परिकल्पना पनि गरेको हुँदैन | तर बदलिँदो परिवेशमा यदाकदा स्वास्नीहरूले लोग्नेलाई छलेर परपुरुषसंग सम्बन्ध स्थापित गरेको र त्यसका कारण दूवै परिवार विग्रेका घटना पनि बाहिरिएका छन् | यस्तो अवस्थामा, कुनै पनि स्वास्नीले आफ्नो लोग्ने वाहेक अरूसंग यौनजन्य क्रियाकलापमा सङ्लग्न हुनु अनुचित हो | लोग्ने होस् वा स्वास्नी यौनका सवालमा दुवैले एकअर्कालाई छल्नु हुँदैन | लोग्नेको विश्वासलाई नतोड्ने स्वास्नीहरूको भरपर्दो असल गुण हो | बायोलोजिकल निड भन्दै जथाभावीवादलाई प्रश्रय दिंदा यौन सुख मिल्ला तर पारिवारिक जीवन ध्वस्त हुन्छ |
८. आर्थिक साझेदारी : नेपाली समाजमा स्वास्नी र केटाकेटी लोग्न्नेको जिम्मेवारी मानिन्छ | लोग्नेको मानसिकता त्यसरी नै बनेको हुन्छ | लोग्नेहरूले केटाकेटी र स्वास्नीलाई आफ्नो प्राथमिक दायित्व र कर्तव्य ठान्छन् | आज समय बदलिएको छ | जागिर भएका, व्यवसाय गर्ने "स्वास्नी"हरूको सङ्ख्या बढ्दो छ | कुनैकुनै परिवारमा त आर्थिक दायित्व नै लोग्नेले होइन स्वास्नीले वहन गरेको भेटिन्छ | यस्तो परिवारमा स्वास्नीको बर्चश्व हुनु स्वाभाविक हो | यदि लोग्नेस्वास्नी दूवै आर्थिक आर्जन गर्छन् भने स्वास्नीले आफ्नो कमाईलाई "पेवा" र लोग्नेको कमाईलाई "साझा" ठान्ने स्वास्नी मान्छे पनि छन् | अत: हरेक स्वास्नीले लोग्नेसंग आर्थिक सवालमा साझेदारी गर्नु र गर्ने प्रयत्न गर्नु स्वास्नीको असल गुण हो | नेपाली समाजमा कमाउने स्वास्नी र नकाउने लोग्ने हुँदा पारिवारिक सम्बन्ध विग्रेको देखिन्छ | यस्तो हुनुमा पुरुषमा "स्वास्नीको कमाइमा बाँच्नु पारेको" भन्ने हीनताबोध र स्वास्नी मान्छेमा "निकम्मा लोग्ने" भन्ने अहंले काम गरेको देखिन्छ | लोग्नेसंग सहकार्य, साझेदारी तथा सहयोग गर्ने स्वास्नीहरू असल मानिन्छन् |
९. उपर्युक्त स्वास्नी मान्छेमा हुनु पर्ने असल गुणहरू बाहेक समानानुभूति, विश्वासिलो व्यबहार, लोग्नेका स-साना गल्तिहरूलाई क्षमा गर्दिने बानी, लोग्नेको पुरुषत्वको सम्मान गर्ने व्यबहार, मित्रतापूर्ण प्रस्तुति, प्रेमपूर्ण तर लजालु व्यबहार, परिपक्व भावनात्मक व्यबहार अर्थात् स-सानो कुरामा खुसी भए पनि गम्भीरतापूर्वक निर्णय गर्ने बानी, लोग्ने र लोग्नेको परिवारलाई सम्मान गर्ने, छोराछोरी वा परिवारका अन्य सदस्यहरूका विचा लोग्नेको "अमुक व्यबहार"को आलोचना नगर्ने तथा लोग्नेका काममा सहयोग गर्न तम्सिने गुणहरूले स्वास्नीलाई असल स्वास्नी बनाउँछ | स्वास्नी बन्न सजिलो छ तर असल स्वास्नी बन्न निकै मेहनत र त्याग गर्नुपर्छ |
वैदिक संस्कृतिमा एउटी असल स्वास्नीलाई बात्सल्यामा आमाझैं, जिम्मेवारी वोधामा बाबुआमाझैं, रमाइलोमा साथीहरूझैं, सहयोगीमा दिदीवहिनीझै, आज्ञाकारीमा छोराछोरीझैं र सहयोगीमा भाग्यझैं स्वास्नी हुनुपर्छ भन्ने धारणा व्यक्त गरिएको छ | नेपाली समाजमा स्वास्नीलाई "घर-परिवार, बूढी, मायालु"जस्ता नामले लोग्नेहरूले सम्बोधन गर्छन् | यी सबै सम्बोधनमा स्वास्नीको गहन जिम्मेवारी तथा दायित्व लुकेको हुन्छ | समाजले पनि स्वास्नी नभएको अर्थात् अविवाहित पुरुष वा स्त्रीलाई अपूर्ण नै मान्छ र विवाह गरेपछि लोग्ने-स्वास्नी दूवै "परिवार"मा रुपान्तरित हुन्छन् |
अन्त्यमा, केवल स्वास्नी मात्रै असल बन्ने प्रयत्न गरेर हुँदैन | लोग्नेमा पनि स्वास्नी तथा परिवारप्रतिको दायित्व उत्तिनै हुन्छ | असल स्वास्नी बन्ने महत्वकांक्षा राम्रो हो तर दुर्गुणले भरिएको, हिंसक, धूर्त तथा स्वास्नीको सम्मान गर्न नसक्ने लोग्नेसंग जीवन विताउने जिद्दी गर्नु पनि आत्मघाती हुन्छ | लोग्ने र स्वास्नी दूवैमा असल लोग्ने र स्वास्नी बन्ने चाहना हुनुपर्छ र त्यस्तो चाहना दूवैको व्यबहारमा देखिनु पर्छ | अनि बल्ल, परिवार सुखी हुन्छ | सुखी परिवारमा लोग्ने, स्वास्नी, केटाकेटी तथा परिवारका अन्य सदस्यहरू पनि खुसी हुन्छन् |
तपाईंलाई अपर्णाको बुझाई कस्तो लाग्यो ?

Friday, March 8, 2024

गाउँ निल्दै निर्लज्ज शहर


 गाउँ निल्दै निर्लज्ज शहर

प्राचीनकालदेखि नै सहरको पहिचान नै "ठूलाठूला" घर रहँदै आएका छन् | चाक्लो बाटो, बत्तिको झिलिमिली, लहरै बनेका पसलहरू तथा गाउँमा नपाइने सुविधाहरू सहरका पहिचान हुन् | गाउँका मान्छेहरू "सुख" पाउन सहर पस्छन् | गाउँलेहरूले सहरियालाई सुखी ठान्छन् | जतिजति सहर फैलिंदै जान्छ, त्यतित्यति धरती प्रदूषित बन्छे, प्रकृतिले आफ्नो मौलिकता गुमाउंदै जान्छे | विश्वास गर्नुस्, नगर्नुस् यो पृथ्वीका लागि सहरहरू सबैभन्दा निर्लज्ज शत्रु हुन् | प्रकृतिलाई प्रदूषित गर्ने पहिलो मानवीय निर्माण नै सहर हो |


यसको अर्को पाटो पनि छ | प्रकृतिलाई प्रदूषित पार्ने सबैभन्दा "पापी" ठाउँ पनि सहर नै हो | गाउँलाई निर्लज्ज तवरले "अविकसित" भन्दै नाक खुम्च्याउने पनि सहर नै हो | ठूलाठुला घर बनाएर प्राकृतिक विश्वलाई "बोक्ने नसक्ने" भारी बोकाउने पनि सहर नै हुन् | कुनै पनि गाउँले नदीनाला, पँधेरा, प्राचीन सम्पदा विनाश गरेको वा प्रदूषित गरेको सुन्नु भएको छ ? छैन तर बाग्मती, विष्णुमति, रूद्रमतिहरूलाई "ढल" बनाउँदा पनि "लाज" नमान्ने निर्लज्ज सहर नै हो | आज यो निर्लज्ज सहरले गाउँमा अतिक्रमण गर्न थालेपछि मान्छेहरू अल्छी भएका छन् | माटोको सट्टा महङ्गो सिमेन्ट र विदेशबाट किनेर ल्याएको फलामले ओगटेको छ | गाउँ निर्लज्ज सहरको बर्णसंकरमा रूपान्तरित हुँदैछ |

आजका "विकसित" मान्छेहरू ठूलो इलाकामा फैलिएको धेरैधेरै गगनचुम्वी बिल्डिंगहरूले भरिएको सहरलाई "विकासको प्रतिमान" मान्छन् | जताततै लमतन्न फैलिएका काला सडकहरू, ती काला सडकहरूमा धुँवा उदाउँदै हाम्रो एकमात्र वासस्थल पृथ्वीको प्रकृतिलाई बलात्कार गरिरहेका सवारीसाधनहरू, व्यापार गर्न खोलिएका असंख्य कारखानाहरू, अध्यारोलाई नष्ट गरेर "अन्धकार जीवि" प्राणिहरूको अस्तित्व मास्ने "लाइट"हरू तथा कान नै फुट्ने गरी बोल्ने लाउड-स्पीकरहरूले हरहमेशा प्रकृतिलाई बलात्कार गरिरहेका छन् | सहरियाहरू आफ्नो व्यक्तिगत स्वार्थका लागि सहर फैलाईरहेका छन् |

प्रकृतिसंग हातेमालो गर्ने गाउँका माटे घरहरू, टुकीमा बल्ने बत्तिहरू, कोदालाले खनेर मिलाएका बाटाहरू, आफ्नो खेतमा कृषिमा रमाएका र माटोको टीको लगाएका कृषकहरूले पृथ्वीको उपकार नै भएको छ | सहरले उत्सृजित गरेको कार्वन-उत्सृजनको प्राकृतिक प्रदुषणलाई गाउँले रुख रोपेर जोगाएको छ | गाउँले कुनै नदीनालालाई प्रदूषित गरेको छैन | कुनै प्राकृतिक प्राणिको अस्तित्व मासेको छैन | व्यापारका लागि मौलिक प्रकृतिचक्रलाई सिमेन्टका विल्डिंगले थिचेको छैन | तर दुखको कुरा : सहरहरूले निरन्तर गाउँहरू अतिक्रमण गरिरहेका छन् | आज सहरको प्रदुषण निर्लज्ज रूपमा गाउँगाउँतिर सर्न थालेको छ |

आफ्नो स्वार्थका लागि प्रकृतिको निर्लज्ज बलात्कार गर्ने सहरले गाउँमा अतिक्रमण गरेसंगै गाउँहरूमा वर्णसंकरहरू जन्मिएका छन् | गाउँलाई सहर बनाउने योजनाहरूले खेत-खलिहानहरू, नदीनालाहरू प्राकृतिक जीवनशैलीका मानवीय कर्महरू प्राकृतिक चक्रमा मोबाइल, टेलिभिजन तथा इन्टरनेटको ग्रहण लागेको छ | नदीलाई "गङ्गा"का रूपमा पूजा गर्ने ग्रामीणहरू सहरियाको नक्कल गर्दै ढलहरू "नदीतिर बगाउँन थालेका छन् | खेतवारीहरू बाँझो बनेपछि सहर गाउँतिर छिरेको प्रमाणित भएको छ |

मैले अनुभव गरिरहेको छु सहर स्वार्थको व्यापार गर्छ | यदि नाफा देख्यो भने यसले गाउँलाई निल्छ, नदीनालाहरू निल्छ, पहाड़हरू निल्छ, हिमालहरू निल्छ | सहर सगरमाथामा पुगेपछि सगरमाथा सहरीया प्रदुषणले दूषित भएको छ | चाउचाउका खोलहरू, कोकाकोलाका बोतलहरू, विदेशी रक्सीका सीसाहरूजस्ता असंख्य "सहर"ले मुक्तिनाथहरू दुखिरहेका छन् | सहर एतिबिध्न निर्लज्ज छ कि उसले आफ्नो अत्याचार देख्दैन, उल्टो गाउँलाई "पाखे, अशिक्षित, असभ्य तथा फोहोरी" भएको आरोप लगाउँछ | गाउले सोझा हुन्छन् भन्दै सोझोपनसंग कोकाकोलाको व्यापार गर्छ |

जव सहरले गाउँलाई अतिक्रमण गर्छ, त्यस बखतदेखि हजारौं वर्षदेखि जडिबुटी खोजेर गरिने रोगका उपचारहरू महङ्गा एल्लोपेथिक औषधिले विस्थापित गर्छन् | सित्तैमा पाइने सीमलीको पातको तीतोले निरन्तर निको हुँदै आएको ज्वरो, उप्रान्त एन्टीबाइटीक नखाई निको नहुने भएको छ | राडीमा पलेथी मारेर बसेका केटालाई केटीसंग देखभेट भएर रजमंदी हुँदासाथ सहजरूपमा समापन विवाहहरू हल्दीदेखि रक्सीको पार्टी र आफ्नो इज्जत धान्न दिनु पर्ने दाइजोले किचिएर अभिभावकहरू आत्महत्या गर्न बाध्य भएका छन् | सहर सभ्य हुन्छ र यस्तो सभ्यतालाई जोगाई राख्न "दाइजो" माग्छ | आज शहरले गाउँलाई अतिक्रम गरेसंगै "दाइजो"ले गाउँलाई समेत प्रदूषित गरेको छ |

पोहोरसाल हाम्रो गाउँमा सहरतिरबाट एउटा डोजर छिरेको थियो | उसले मेरा पुर्खाले लगाएको जोर-चौपारीमा उभिएका वरपिपल उखेलेर गण्डकीमा बगायो | गाउँलेले हजारौं वर्षदेखि प्रयोग गर्दै आएको पँधेरो "प्रदूषित" भन्दै सधैंको लागि छोपी दियो | मेरा पुर्खाले खर-घास काटेका खरवारीहरू "बाटो"ले निम्त्याएका पैरोको भेट चढे | डोजरले बाटो बनायो | त्यो बाटोबाट मोटर चढेर मेरो गाउँका दुधारू भैसीहरू "मम" बन्न सहर आइ पुगे | फेरी "मम"का रूपमा प्याक भएर त्यही सहर गाउँमा पुग्यो | हाम्रा पूर्खाले चिनेका चौपारीहरू, खनेका पोखरीहरू, गाई चराउनका लागि छोडिएका चरनहरू सहरले निल्दैछ |

-क्रमशः

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...