Wednesday, April 28, 2021

अलिअलि मनको कुरा

अलिअलि मनको कुरा
अलिअलि झिझो लाग्नु, अलिअलि रीस, मनमा डर, थोरै चिन्ता र असुरक्षाको भावना कोभिडले थोरैथोरै हामी सबैमा निम्त्याएको छ | अलिअलि निन्द्रामा पनि समस्या परेको हुनसक्छ - कि धेरै सुत्ने कि थोरै सुत्ने |
डेढवर्ष सम्म हामीले कोभिडलाई डटेर सहेका छौँ | तर सबैको मन एकै नासको हुँदैन | कसैको कमलो हुन्छ, कसैको दह्रो हुन्छ | कसैकसैको मन स-सानो घटनाले धेरै पिरोलिंछ | कोभिड त ठूलै मानवीय समस्या हो | कोभिडले मान्छेको आर्थिक, सामाजिक, सांस्कृतिक तथा रहनसहनमा निकै प्रभाव परेको छ |
Dr. Govinda
पहिले नलाग्ने तर अहिले यदि "धेरै झिझो लाग्ने गरेको छु, निकै सूर्ता लाग्छ, निकै डर लागि रहन्छ, मन ज्यादै अशान्त रहन्छ, स-सानो कुरामा अतिधेरै रीस उठ्छ, दैनिक व्यबहार पनि अचम्मले बदलिएको छ र पछि आफ्नो व्यबहारप्रति निकै पश्चाताप हुन्छ भने कोबिडले हाम्रो मानसिक स्वास्थ्यमा असर पार्न थालेको भनेर बुझ्नु राम्रो हुन्छ |

शरीरका घाउँ देखिन्छन्, मनका घाउँ देखिन्नन् | मनका घाउँहरू निकै गहिरा हुन्छन् | जव मनका घाउँहरू गहिरा हुँदै जान्छन् | मन अत्तालिन्छ, पिरोलिंछ, डराउँछ, अशान्त हुन्छ, रिसाउँछ, रुन्छ, वेवास्ता गर्ने खालको हुन्छ, निराश हुन्छ, अन्त्यमा "आत्महत्या गरेर संसारबाट विदा हो" सम्म भन्छ | मन विरामी भएको कुरा मनले नै थाहा पाउनुपर्छ |

हामी हरेकसंग एउटा मन छ | त्यो मननै हाम्रो आफ्नो हो | एकमात्र मनलाई धेरै पिरल्नु हुँदैन | मन पिरलियो भने सबैतिर विग्रन्छ | समय मै पिरलिएको मनलाई सहयोग गर्नुपर्छ | सहयोग प्राप्त गरे मन खुसी हुन्छ | मन खुसी भए मनवाला सुखी हुन्छ | तेसैले यदि आफ्नो "मन विग्रिएको" जस्तो लाग्छ छ भने निर्धक्कसंग परामर्श गरौँ | मनलाई पनि सहयोग चाहिन्छ भन्ने स्वीकार गरौँ |

मन स्वास्थ्य हुँदा शरीर स्वास्थ्य हुन्छ | संसार रमाइलो लाग्छ | आफन्त रिसाए पनि रीसमा सुन्दरता र प्रेमको झल्को लाग्छ | छोराछोरीको बोलीमा प्रेम प्रकट हुन्छ | श्रीमतीका सिकायतहरू पनि सहज हुन्छन् | हरेक काममा आत्मविश्वास झल्किन्छ | ठूलासाना निर्णयहरू सजिलैसँग गरिन्छ | समयमा सुतिन्छ, समयमा उठिन्छ | मज्जाले भोजन मिठो हुन्छ | साथीहरूसंग जिस्किन, घुम्न सबै रमाइलो लाग्छ | मन विग्रेको छ भने यही कुराले पीडा दिन्छन् |

विश्वमा जे-जति मान्छे भए पनि मेरो मन "मेरो मात्र हो" | मैले मेरो मनको हेरविचार गर्नै पर्छ | मैले मेरो मन हेरविचार गरिन भने कसैले गर्दैन | मनमा धेरै विचार आउँछन्, ती विचारले असजिलो पार्छन् भने आफैलाई असजिलो हुन्छ | कोभिडले मन विग्रनसक्छ, हेरविचार गरौँ |

मन दुख्ने, मन पिरोलिने, मन पोल्ने, मन डराउँने, मन आत्तिने, मन फाट्छ, मन पात्तिने, मन छियाछिया हुने, मन रूँने, मन खुम्चिने, मन नपर्ने, मन नमान्ने, मन च्याँठिने, मन चीसो हुने, मन मात्तिने, मन झुम्म हुने, मन गुम्म्म हुने, मन तर्सिने, मन उदास हुने, मन नलाग्ने, मन तर्सिने - जस्ता अनेकौं कुराहरूले मन विरामी भएको तत्थ्यको सूचना दिन्छन् | यदि कसैको मनले ३५ दिन भन्दा बढी यी समस्याहरूसंग लडिरहेको छ, भने अव यसले विश्राम पाउनुपर्छ |

हाम्रो मन रमाउँनु पर्छ, गद्गद् हुनुपर्छ, मनकारी हुनुपर्छ, माया गर्ने हुनुपर्छ, बलियो हुनुपर्छ, मन लाग्नु पर्छ, मन हर्षित हुनुपर्छ, मन पर्नु पर्छ, सहज र सरल हुनुपर्छ | मन बलियो हुनुपर्छ तर अनावश्यक बलियो पनि हुनुहुँदैन | शरीरलाई बलियो बनाउँन हामीले कसरत गर्छौं तर मनलाई बलियो र स्वास्थ्य बनाउँन हामीले केही गर्दैनौ | साच्चिकै भन्ने हो भने जान्दैनौं | अव मन बलियो, स्वास्थ्य पार्ने तरिका जान्नु पर्छ |

विहानै उठेर विहानी हावामा उभिंदा मन खुसी हुन्छ | करेसावारीमा फुल रोप्दा, पानीले सिचाई गर्दा, केही वेर खन्दा, केटाकेटीसंग जिस्किंदा, उनीहरूसंग खेल्दा, उनीहरूलाई मीठामिठा कथा सुनाउंदा, आफैले कथा सुन्दा, विहानी पखको घामले जीऊ देखाउँदा, लामोलामो सास फेर्दा, प्राणायाम गर्दा, ध्यान गर्दा, गीता-भागवत पाठ गर्दा, मन लागेको मन्दिरमा भगवान्को दर्शन गर्दा, कहिलेकाहीं परिवारसंग मिलेर घुम्न जाँदा मन खुसी हुन्छ, मनको मरम्मत हुन्छ |

राम्रो कुरा सोच्ने अभ्यास गरेर, राम्रो ठाउँमा घुमेको कुरा सम्झेर, जीवनका असल र मीठा घटनाहरू सम्झेर/ अरूलाई सुनाएर, मन पर्ने तर स्वास्थ्ययुक्त भोजन खाएर, दैनिक रूपमा केही वेर नाँचेर, केही वेर हाँसेर, केही वेर विंदास तरिकाले एताउता तहलकदमी गरेर मन राम्रो हुन्छ | तर अलिकति बढी समय बढी लाग्छ | अलिधेर्य चाहिन्छ |

आफैलाई विश्वास गरौँ | आफ्नो शक्तिलाई चिनौं | म निको हुन्छु भन्ने विश्वास गरौँ | निको हुनका लागि नियमहरूको पालना गरौँ | वितेका कुरामा शोक नगरौं , भविष्यका लागि चिन्ता छोडौं, वर्तमानका लागि डराउँन त्यागौं | यी सबै हामी आफैले गर्नुपर्छ | परिवारले सघाउँनुपर्छ | परिवार, आफन्त र छिमेकीले सहयोग गर्नुपर्छ | मान्छे सहयोगमा बाँच्ने प्राणी हो भन्ने नविर्सौं |

तपाईंमा, तपाईंको छिमेकमा र आफन्तमा उपरोक्त लक्षणहरू देखा परेका छन् भने हामी सहयोग गर्न तयार छौँ | मनोबैज्ञानिक परामर्श लिनुहोस् र मानसिक रूपमा स्वास्थ्य रहनुहोस् |
सम्पर्कका लागि इनबक्समा म्यासेज गर्नुहोला |

Thursday, April 15, 2021

वैरागी व्यक्तित्व विकार (AVPD)

वैरागी व्यक्तित्व विकार (AVPD)
डा. गोविन्दशरण उपाध्याय (परामर्श विज्ञ)   
३२ वर्षका सरोजको व्यबहारमा अचानक परिवर्तन आएको छ | उनी सधैं सामाजिक होस् वा व्यक्तिगत दायित्वहरूबाट जोगिने प्रयत्न गर्छन् | आजभोली त उनले झन् घरमा मान्छे आएको पनि मन पराउँदैन् | एउटा ब्यांकमा काम गर्थे तर उनले आफ्नो परमोशन पनि अस्वीकार गरे | एकान्तमा बस्ने, दायित्वहरूलाई बोझ ठान्ने र मान्छे आउँजाउँ हुने कुनै पनि क्रियाकलापबाट जोगिने गर्छन् | छोराछोरी, आमावुवा, आफन्तसंग उनको दूरी बढ्दै छ | सामाजिक क्रियाकलापमा समिल हुन निजलाई निकै डर लाग्छ | सरोजको यो व्यबहार Avoidant personality disorder (AVPD) नामक व्यक्तित्व विकारको परिणाम हुन सक्छ | मनोवैज्ञानिक खोजले संसारका करिव २.५% मान्छेहरूमा यो समस्या भएको अनुमान गरिन्छ |

वैदिक संस्कृतिमा वैराग्य सकारात्मक जीवनको एउटा आदर्श हो | स्वेच्छाले संसार र संसारप्रति निरपेक्ष हुनु नै वैराग्य हो | पाश्चात्य मनोविज्ञानमा Avoidant शब्दको अर्थ सामाजिक, सांस्कृतिक, नैतिक क्रियाकलापबाट आफुलाई जोगाउने अथवा टाढा राख्ने प्रवृत्तिलाई नै मैले यहाँ वैराग्य शब्दका माध्यमबाट बुझाउने प्रयत्न गरेको छु | सामान्यतया हरेक मान्छेले समय, परिस्थिति र आवश्यकताअनुसार आफुलाई सामाजिक, सांस्कृतिक तथा व्याबहारिक क्रियाकलापसंग जोड्छ | ती क्रियाकलापहरू सिक्छ र तेसअनुसार सुखदुख प्रकट गर्छ | कसैले अग्रसरता लिएर सरिक हुन्छन् भने केही सामान्य व्यक्तिसरह नै समावेश हुन्छन् |

AVPD किन हुन्छ ? एसको प्रमाणिक उत्तर छैन तर एस व्यक्तित्व विकारका लक्षणहरू दुई वर्षको उमेर देखि प्रकट हुन सक्छन् | जव व्यक्तिमा वैराग्य व्यक्तित्व विकार देखा पर्छ, उसले क्रमशः सामाजिक व्यबहारवाट आफुलाई अलग्याउँन थाल्छ, आफुलाई सधैं अपुरो भएको अनुभव गर्न थाल्छ र सधैं कसैले आलोचना गर्ला वा अस्वीकार गर्ला भन्ने पीर वा डर लागि नै रहन्छ | सरोजमा उपरोक्त तिनैबाट ब्यबहार प्रकट भएका छन् | असलमा, कसैले निन्दा गर्छ वा मेरो कुरा अस्वीकार गर्छ भन्ने ठूलो डर, मैले अरूसंग व्यबहार गर्दा नराम्रो मान्छन् भन्ने भ्रम, तिरस्कृत हुने डर, प्रचलित सामाजिक व्यबहारहरूप्रति अरूचि, आफुलाई सधैं अधूरो ठान्ने र समाजसंग त्यो लुकाउने प्रयत्न गर्ने, असफल हुन्छ भन्ने डरले नयाँकाम गर्नबाट जोगिनेजस्ता लक्षणहरू नै AVPD लक्षण हुन् |

AVPD को लक्षण भएका मान्छेहरू क्रमशः अन्तर्मुखी हुँदै जाने हुँदा उपचारका लागि तम्तयार पार्न सजिलो हुँदैन | परिवारको न्यानोपन र सहयोगी व्यबहारले उनीहरू मनोबैज्ञानिक परामर्श वा मनोचिकित्ससंग सहयोग प्राप्त गर्न सहमत हुन्छन् | पीडित व्यक्तिहरूको सबैभन्दा ठूलो डर समाजसंग मिसिन र व्यबहार गर्नसंग हुन्छ | तेसैले निजको निजत्वको सम्मान गर्दै दक्ष परामर्शदाताले थेरापीस्टका रूपमा होइन सहयोगीका रूपमा सामाजिकीकरणतिर अभिप्रेरित गर्नुपर्छ | यदि AVPD लामो समयको हो भने औषधि चिकित्साका साथै केही प्रचलित सिद्धान्तहरू अवलम्बन गरेर उपचार गर्नुपर्छ | आरम्भिक AVPD लक्षणहरूमा टक-थेरापीले काम गर्छ भने अलि पुरानो समस्यामा चिकित्सा र थेरापी दूवैको प्रयोग हुन्छ |

AVPD चिन्ता र उत्सुकताजन्य डरका कारण उत्पन्न भएको व्यक्तित्व-विकार भएको परामर्श र चिकित्साबाट पूर्णतया निको हुन्छ | तेसैले यदि तपाईं/तपाईंको परिवार, छिमेकी वा मित्रहरूमा उपरोक्त मानसिक विकारका लक्षणहरू छन् भने निकस्थ मनोबैज्ञानिक परामर्शदातासंग सहकार्य गरेर सहयोग प्राप्त गर्नुपर्छ | निको भएर खुसी पूर्वक जीवन यापन गर्न सकिने पक्ष हुँदाहुँदै डर, लाज तथा चिन्ताका कारणले “वैरागी” बन्नु हुँदैन | स्वास्थ्य जीवन हामी सबैको अधिकार, कर्तव्य र दायित्व हो | 
(copyright)
if you need help, inbox me.

Sunday, February 28, 2021

कठोर क्यान्सर !!!

क्यान्सर कस्तो रोग हो ? यो चिकित्सकलाई थाहा हुन्छ | लाग्नेलाई थाहा हुन्छ र लाग्नेलाई सहयोग गर्ने (आर्थिक तथा सामाजिक) थाहा हुन्छ | मैले पहिलो पटक केमोथेरापीमा लैजाँदा क्याविनमा बस्ने निर्णय गरें | यो सुनेर नर्सले भन्नुभयो "दाई, पांचपटक क्याविनमा वस्नमा खर्च गरेको पैसाले एउटा थप केमोथेरापी गर्न मिल्छ, विचार गर्नुस् | धेरैलाई यो सुझाव होच्याएजस्तो लाग्न सक्छ तर मैले स्वाभाविक लिएँ | धनले मात्र जोगिन्छ भन्नु उचित होइन तर धन भएर जोगिएकाहरू थुप्रै छन् | उनीहरू बाँचिरहेका छन् |

मैले देखे - चौथो केमोथेरापीले रोगीलाई गलायो, म सहयोगीलाई पनि नराम्रो गलायो | चिकित्सकलाई किन दोष दिनु | सरकारले क्यान्सरजस्तो ज्यानमारा रोगको औषधिको मूल्य तोक्न सक्दैन, एक लाख दिएर जनतालाई घर न घाटको बनाई रहेको छ | सच्च्चिकै भन्ने हो भने सरकारले दिने एक लाखले क्यान्सरको प्रारम्भिक अवस्थामा सहयोग गर्ला तर दोस्रो, तेस्रो र चौथो अवस्थाका रोगीहरूको रोगलाई जिस्क्याउने मात्र काम गर्छ | उनीहरू उपचार आरम्भ गर्छन् तर मृत्युसंग लड्ने क्षमता हुँदैन | अन्त्यमा सरकारी संविधानले ग्यारेन्टी गरेको जीवनको अधिकार सधैंका लागि गुम्छ |

मैले औषधि पसलेलाई सोधें "ई औषधीहरू एतिबिध्न किन महंगा हुन् ? उसले भन्यो सरकारले कुनै पनि औषधिको जेनेटिक मूल्य तोकेको छैन | हरेक कम्पनीले आफुखुसीको मूल्य तोकेर बेच्छन् | कुरो ठिकै रहेछ, नेपालमा अधिकांश क्यान्सरका औषधिहरू छिमेकी बंगलादेश वा भारतबाट आयात हुन्छन् | बंगलादेशमा ११ हजार टोका पर्ने औषधि नेपालमा ४४ हजारमा बिक्री हुन्छ - मसंग एसको प्रमाण छ | छिमेकी देश भारतमा गरीव रोगीहरूका लागि जेनेटिक औषधि पसलहरू छन् | यो तत्थ्य बुझेपछि मैले भने "सरकार नेपालीको तर नेताचाहिं विदेशीको, किनभने ११ हजारको औषधि ४४ हजारमा गरीव नेपालीका बीचमा बेच्न दिने सरकारको नेतृत्व गर्ने नेता नेपालीको सरकार हुनै सक्दैन |

प्रसिद्ध चिकित्सक उपेन्द्र देबकोटाको अवशान क्यान्सरबाट भयो | जव चिकित्सकलाई क्यान्सर रोग लागेको/नलागेको हेक्का हुँदैन भने एउटा साधारण मानिसले क्यान्सर रोग लागेको कुरा जान्न सक्दैन | धेरैजसो मानिसहरूले दोस्रो वा तेस्रो अवस्थामा मात्रै थाहा पाउँछन् | सरकारले संविधानका धाराहरू काटेर एकलाखमा मृत्यु दिन्छ | साधन सम्पन्न व्यक्तिले क्यान्सरको उपचार गराउन (आर्थिकरूपमा) गारो हुन्छ भने गरीव र जीवनका वीचमा सङ्घर्ष गरिरहेका आम नेपालीसंग मृत्यु रोज्न बाहेक अर्को विकल्प छैन | लोभीहरूको सरकार न औषधिको न्यूनतम मूल्य तोक्न सक्छ न संविधानले प्रत्याभूत गरेको "बाँच्न पाउने धाराको रक्षा नै गर्न सक्छ | सबैले लगाउने आरोप कि सरकार केवल दलालहरूको सहयोग गर्छ भन्ने तत्थ्य सत्य नहोस् |

चौथो पटक फेरी ती नर्सले भनिन् "३५० को बेडमा उपचार गराउनेहरू पनि अन्त्यमा घर न घाटका हुन्छन् | चिकित्सक र नर्स दूवैले आँखा रसिलो परेर जीवनबाट बचाउन सकिने व्यक्तिलाई पनि विदा भएको हेर्नुपर्छ | तपाईंले एकएक पैसाको हेक्का राख्नुस् दाई" | तेसपछि मैले अस्पताल धेरै थोक विचार गर्छु | सकेसम्म वसको प्रयोग गर्ने प्रयत्न गर्छु तर ज्यानमारा ट्राफिकलाई कसैको पीर हुँदैन | भीडको कुनै संस्कृति हुँदैन र भीडको संस्कृतिमा रमाउने सरकारको कुनै मन हुँदैन जुन कसैको मृत्यु वा रोगसंग दुखोस् |

केमो, रेड़ेशन र शल्यक्रियाहरू उपचारमा प्रयोग हुन्छन् | सबै महंगा छन् | एकातिर महँगो उपचार अर्कोतिर वस्ने/खाने कुनै ठेगाना छैन | देशमा असंख्य धनिमानी छन् तर गरीवगुरुवाको लागि एउटा नि:शुल्क धर्मशाला बनाउने मन पश्चिमा प्रतिमानको धनकेन्द्रीत चिन्तनले खोसी सकेको छ | भक्तपुर नगरभित्र भएका पाटीपौवाहरू आधुनिक तथा प्रगतिशील सरकारहरूको गोजीमा बलिचढेका छन् | आफ्नै पूर्खाले परोपकारका लागि निर्माण गरेका पुण्यकर्महरूमा हामीले आफै आगो लगाएका छौँ | हरेक व्यक्तिलाई व्यापारी नै बन्नु पर्ने शिक्षाले परमार्थको आत्मा मारेको छ |

मैले धेरै पटक अनुभव गरेको छु "मलाई भोक रोज्न स्वतन्त्रता छ, आफ्ना ईच्छाहरू मार्न स्वतन्त्रता छ तर औषधीमा छूट माग्न, केही क्षणका लागि उधारो माग्न स्वतन्त्रता छैन | चिकित्सकले औषधि दिने हो तर औषधिको प्रवन्ध गर्ने काम रोगी वा रोगीका आफन्तको हो | यदि औषधीको इन्तजाम हुँदैन भने मृत्यु निश्चित छ | तैपनि कुनै पनि मान्छे मृत्युसंग हार्न चाहन्न | सङ्घर्ष गरिनै रहन्छ तर जव तपाईं सङ्कटमा हुनुहुन्छ मित्रहरू देखा पर्न, बोल्नबाट नै अलग्गिन्छन् | केही मात्र हुन्छ, जुन सधैं आफैसंग हुन्छन् | असल मित्रहरू र कमसल मित्रहरूको फरक असजिलो अवस्थामा छुट्टिने रैछ - एकजना ८२ वर्षीया महिलाको देखरेखमा खटिएका १४ वर्षका ठीटाले भने |

सरकारले सधैं हुनेखनेको ख्याल गर्छ | हुँदा खानेले आफ्नो ध्यान आफै राख्नुपर्छ | हुनेखानेको घरमा गरीवले पनि "मोटो"दाइजो हाल्छ तर तेही गरीवले हुनेखानेबाट "छोटो" दाइजो मात्र पाउँछ | विश्वास गर्नुस्, यो देश हुनेखानेलाई सघाउनेहरूले बनेको छ, हुँदाखानेहरूका लागि मसान सरह छ | मेरा यी बाक्यले मन भएका सहयोगीहरूलाई पोल्ने छैनन् | किनभने उनीहरूको शीतलताले विश्व उज्यालो र सम्भावनाको घर बनेको छ |

क्यान्सर आफैमा जीवनघाती रोग हो | तेसमा पनि "कठै" भनेर रोगीलाई पलपलमा मर्न बाध्य बनाउनेहरू आफ्नै हुन्छन्, आफन्त र मित्र हुन्छन् | धेरै भेट्न नै आउंदैनन्, आउनेहरूको मन सफा हुन्छ तर संस्कृतिको प्रभाव भन्नुपर्छ उनीहरूसंग "कठै" वाहेक सान्त्वनाका शब्द सुन्न गारो हुन्छ | हेरालुहरूका मायालु नजरले रोगीको जीवन गलिसक्छ | क्यान्सर भन्दा पनि क्यान्सरको भयानकता चित्रित मनले (मनोबैज्ञानिक डर)ले मान्छे पलपल मर्छ | हामी नेपालीको माया मृत्युपछि मात्र प्रगाढ भएर चम्किन्छ | मेरो निवेदन छ "कठै" शब्द लिएर कुनै पनि रोगीलाई भेट्न नजानु होला |

मलाई एउटा कथा याद छ | दुई जनाले भगवानको तपस्या गरेछन् | भगवान् प्रकट भएर वरदान माग्न भने तर उनीसंग विकल्प थिए (१) स्वास्थ्य शरीर तर गरिवी (२) धनि जीवन तर अस्वस्थ्य शरीर | धन पनि चाहिन्छ तर धनको मूल्यमा स्वास्थ्य किन्न सकिन्न तर स्वास्थ्यका सामग्री किन्न धन चाहिन्छ | चरम गरिवीमा मान्छेले जीवन रोज्दछ तर चरमधनमा रोग रोजिन्न | धेरैले सहयोग गर्न चाहन्छन् तर सहयोग गर्न योग्य हुँदैनन् | सहयोग गर्न सक्षमहरू सहयोग गर्न इच्छुक हुंदैनन् |

रोग र अस्पतालको अचम्मको नाता रहेछ | पैसा भए अस्पतालले आरोग्य दिन्छ | यदि पैसा छैन भने मृत्युको मिति तोकिदिन्छ | क्यान्सरका सवालमा त मितिहरू लगभग सुनिश्चितझैं हुन्छन् | क्षमता हुनेले जीवन प्राप्त गर्छन्, नहुनेहरूका लागि मृत्यु खुला हुन्छ | उपचार गर्दागर्दै गरेर खानेहरू गर्न नसक्ने हुन्छन् | गहना, घर, पशुपात सबै जीवनको जुवामा सकिन्छन् | अन्तत: हार्नु र जित्नुमा कुनै फरक रहन्न | जित्नेहरू घरमा हार्छन्, हार्नेहरू अझैं बढी हार्छन् |

मान्छेहरू सबै किसिमका हुन्छन् | मैले वार्डमा कुर्दा अनुभव गरे सबैजसो रोगी र रोगीका क्यान्सरको नामले अर्धवेहोसी अवस्थामा पुगेका हुन्छन्, हतास हुन्छन् निराश हुन्छन् | स्वर्गबाट परमेश्वर आएर मलाई बचाउनेजस्तो आश्चर्यजनक काम गर्छन् कि भन्ने आशा रोगीमा हुन्छन् | सम्पूर्ण भौतिक सम्पत्ति सकिंदा पनि जीवनको आश रहिरहन्छ | सरकारले स्वास्थ्य क्षेत्रमा साच्चिकै सहयोग गर्ने हो भने नगद पैसा दिनुभन्दा औषधि तथा सिटिस्क्यान, रेडियेशन मसिन आदिमा छूट दिने वा सरकार आफैले वेहोर्ने व्यबस्था गर्नुपर्छ | एक पटक रोग लागेपछि कमसेकम १० पटक सिटि गर्दा डेढलाख खर्च हुन्छ, परीक्षणको भाग सरकारले वेहोर्ने हो भने रोगीहरूलाई धेरै राहत हुन्छ |

सरकार धनि, गरीव सबैको अभिभावक हो | गरिवका लागि सरकारले उपचारका लागि औषधिहरूको मूल्य तोकिदिनुपर्छ, परीक्षणका लागि महंगा मसीनहरू सरकारले आफै किनेर भए पनि अस्पतालहरूलाई दिनुपर्छ | तेतिमात्र होइन, सम्पन्न दाताहरूलाई दानका लागि अभिप्रेरित पनि गर्नुपर्छ | उपचार पाउँदापाउँदै रोगीको अवसान हुन्छ भने मृत्यु अलिसहज हुन्छ | मर्ने मान्छे र निजका आफन्तले "उपचार गर्न नसकेर/नपाएर गयो" भन्ने दुखद स्मरणमा बाँच्न धेरै पीडा हुन्छ | काठमान्डौ उपत्यकामा रहेको भक्तपुर क्यान्सर अस्पताललाई हालै सरकारले अधिग्रहण गरेको छु | सरकारसंग जनताको मन जित्ने राम्रो अवसर मिलेको छ | यो सहित सबै सरकारी अस्पतालहरूलाई गरीव-सापेक्ष बनाउँनु पर्छ भन्नेतिर नेतृत्वको ध्यान जाओस् |

मैले हार्ने अवस्थामा पुगेकाहरू भेटेको छु | तर हार्ने अवस्थामा न पुगेकाहरू पैसाको अभावले (औषधिको) जीवन हारेको देख्दा मन खिन्न हुन्छ | हरेक पल, हरेक घडी मारिरहेको अनुभूति हुन्छ | एस्तो बखतमा पनि केही ठेकेदारहरू पैसाको लागि मरिहत्ते गर्छन् भने केहीले पैसाको लागि सधैंका लागि सम्बन्धहरू तोडी दिन्छन् गुनासो आम हुन्छ |

सैद्धान्तिक रूपले भन्नुपर्दा मान्छेहरू समाजसंग आपद र खुसी दूवै अवस्थाहरूमा सहयोग प्राप्त गर्न र दिन जोडिएका हुन्छन् | तर केही गफका धनि र मनका दरिद्रहरूको मन पग्लिन्न, मानौं उसले मृत्युपछि पनि आफुसंगै लिएर जाने छ !! एस्ता ठूलो बोल्ने छोटो मन भएका दरिद्रहरूलाई सधैं एस्तै गर्न पुगोस् - मैले क्यान्सर अस्पताल अगाडी उभिएर यही आशिर्वाद दिएँ | मैले व्यक्तिको होइन केवल प्रबृत्तिको कुरा गरेको हो |

मैले जतिधेरै जीवनका लागि प्रार्थना गरे पनि सरकारी मन पग्लिन्न | पढ्नेहरूले एउटा अनुभूति मूलक रोदन ठानेर, यो लेख विर्सने छन् | अधिकार प्राप्तहरू औषधिको कमिसनबाट घरघडेरी जोडीरहेका हुनेछन् | जसले जीवन हार्नेहरू उसकापछि सहानुभूति वाहेक अरू केही रहने छैन, त्यो सहानुभूति पनि "सबै सकेर गयो, आफु त गयो गयो, घरपरिवारलाई बिचल्ली पारेर गयो"मा परिणित हुने छ | गएको मान्छेले सुन्ने छैन नत्र उसको पीडा जीउनेहरूको भन्दा बढी हुन्थ्यो !! म भन्छु, हे ईश्वर ! सहृदयीहरूको सङ्ख्या बढोस् र भाग्य बलियो भएकाहरूले उपचार प्राप्त गर्न सकून |

निवेदन गर्छु, यो अनुभूति हो, कसैप्रति दोषारोपण होइन | मान्छेको जन्म नै सहयोग गर्न र सहयोग प्राप्त गर्न भएको हो | सहयोग गर्न सक्नेले/इच्छा भएकाहरूले सहयोग गर्नुहुन्छ | कतिपयलाई सहयोग गर्ने इच्छा हुन्छ तर भरपर्दो सहयोग गर्ने स्रोत हुँदैन | सहयोगका संयोजकको भूमिका पनि महत्व'पूर्ण हुन्छ | कतिपयलाई सहयोग गर्न इच्छा हुँदाहुँदा धनले साथ दिंदैन | साधन, स्रोत तथा अख्तियारी पाएर पनि सहजिकरण नगर्नेहरूप्रति खेद लाग्नु स्वाभाविक हो गर्नु उचित होइन |
स्वस्ति अस्तु |

Saturday, December 12, 2020

मान्छेको निजीपन : मन

मान्छे दु:ख बाड्न चाहन्छन् तर सुखलाई एकलौटी मान्छन् | केही मान्छे एस्ता पनि हुन्छन्, जसको काम अर्कालाई सुखी हुन नदिनु हुन्छ | असल जीवनमा न सुख लुक्छ न दुख नै | न कसैले कसैको सुख लुट्न सक्छ न दुख नै किनभने सुख र दुख नितान्त मानसिक विषय हुन् | कसैको मनमा अरूकसैको नियन्त्रण हुनै सक्दैन | मन नितान्त मनवालको हुन्छ, मनमा मनवालको एकाधिकार हुन्छ | जसको मन दुख्छ उसको मात्र दुख्छ र जसको मन सुखी हुन्छ उसको मनमात्र खुसी हुन्छ | अरू केवल साक्षी हुन्छ, समवेदना वा खुसी भएको भागभंगीमा जाहेर गर्छन् |

तेसैले मन नै मान्छेको आफ्नो निजीपन हो र मनको भोगाई, बुझाइ र अनुभूति नितान्त एक्लैका हुन् | तेसैले मनोविज्ञानले मनको विषयमा व्यक्तिगत तवरले विचार गर्ने, बुझ्ने र क्रियाशील बनाउने सुझाव दिन्छ | धर्मले ईश्वरमा मन समर्पण गर्ने सुझाव दिन्छ | दर्शनशास्त्रले मनलाई चिन्तनमा क्रियाशील बनाउने दिशानिर्देश गर्छ | अर्थशास्त्रले मनलाई धनका लागि क्रियाशील गर्न प्रेरित गर्छ | मान्छे पिच्छे मनका अभिरुचि फरकहुँदा सजिलो भएको छ | तेरो मन र मेरो मन एकै होइन भनेर बुझ्न मैले आज लगाएको कमिज नै प्रयाप्त हुन्छ |
धेरैले मन बुझ्ने कुरा गर्छन् तर म भन्छु मन बुझ्ने कुरा होइन अनुमान गर्ने विषय हो | मैले पूर्वअनुभवहरूका आधारमा अरूको मनको कुरा बुझे प्रयत्नमात्र गर्न सक्छु | मसंग कसैको मनभित्र पस्ने कुनै संयन्त्र छैन | मैले कसैको मन चोर्न सक्दिन | मैले कसैलाई आफ्नो मन दिन सक्दिन | मैले कसैलाई मन दिएँ भने पनि मेरो मनमसंग नै रहन्छ | मन दिने र लिने कुराहरू काव्यका विषय हुन्, मनलाई मनोरंजन गर्न जुराएका मीठामीठा कल्पना हुन् |
मैले धेरैपटक आफ्नो मन दुखेको, खुसी भएको र वेवास्ता भएको अनुभव गरेको छु | म बोल्दैमा मेरो दुख हलुका हुँदैन र म हाँस्दैमा म सुखी हुन्छ भन्ने पनि हुँदैन | म धेरैपटक अर्काको लागि हाँसेको छु र धेरैपटक दुखनै अनुभव नगरी दुखहरू प्रकट गरेको छु | मैले धेरै गहिरा चोटहरूले मन मुर्च्छित हुँदैगर्दा खुसीको अभिनय गरेको छु | मनमा कत्ति पनि दुखका वीऊहरू नहुँदा पनि महादुखी बनेको अभिनय गरेर समवेदना प्रकट गरेको छु | धेरैठाउँमा त न सुख, न दुख कुनै प्रकारको संवेदना नहुँदा पनि सुख र दुखको अभिनय गरेर शुभचिन्तक बनेको छु |
विश्वमा केही अदभूत मान्छेहरू छन् जसका लागि सुखको कुनै आवश्यकता नै छैन र केही एस्ता मान्छेहरू पनि छन् जसलाई दुखको आवश्यकता पनि छैन | तर सुख र दुखका अनुभूतिहरूबाट विलग रहन सक्नुहुन्न | मनोविज्ञानले मनको चरित्र बोल्छ, दर्शनशास्त्रले मनको गतिबोल्छ, विज्ञानले मनको शक्ति बोल्छ र धर्मले मनको विश्वास बोक्छ | तर यी सबै र यी बाहेक धेरैथोक बोक्ने मेरो/तपाईंको नितान्त एक्लो मन हो | तपाईंका वरिपरी मान्छेहरूको उपस्थिति नहुँदा भरपर्दो साथी मन हो | तपाईंका वरिपरी थुप्रै साथी हुँदा पनि एक्लोपनको अनुभूति गराउने मन हो | तपाईं भनेकै तपाईंको आफ्नो मन हो |
सबैसंग एउटा मन छ, एउटा शरीर छ र एउटा जीवन छ | शरीरले मन बोक्छ, मन र शरीरले जीवन बोक्छन् | यदि मन भएन भने शरीर र जीवन दूवै अर्थहीन हुन्छन् | मनले शरीर र जीवन दूवैलाई अर्थ दिन्छ र शरीरले मनलाई व्यापार दिन्छ | शरीरका प्रवेशद्वारबाट संवेगहरू भित्र पस्छन्, मन तरंगित हुन्छ र शरीर प्रफुल्लित हुन्छ | जीवन सफल भएको भाव बलियो हुन्छ | अनुकुल वेदना र प्रतिकुल वेदना नै मनका व्यापार हुन् | तेसैले मन चिन्ने विषय पटक्कै होइन किनभने यो एतिविध्न नजिक छ कि चिन्नै पर्दैन | आँखाले आँखाका नानी देख्न सक्दैन तर त्यो आँखाको केन्द्रमा हुन्छ | मनले मनलाई बुझ्न नसकेको गुनासो गर्छ किनभने हरेक गुनासाहरू मनमा प्रवेश गरेर मनलाई उत्तेजित पार्छन् |
पृथ्वीले आजसम्म १ खर्व मान्छेहरूलाई जन्मायो, पाल्यो र पुन: माटोमा मिसायो | सबैसंग एकएकओटा मन थिए | सबैले मनको कुरा गरे, सबैको मन खुसी र दुखी पनि भयो | ती सबै मनहरूको अस्तित्व छैन | आजको मितिमा मसंग जस्तै तपाईंसंग पनि एउटा मन छ | मैले अनुमान गर्छु तपाईंको मन पनि मेरो जस्तै छ | तेसैले जुनकुरा मेरो मनलाई राम्रो-नराम्रो लाग्छ तिनै कुराहरूले अर्कोलाई पनि प्रभावित पर्ने अनुमान गर्छु | मेरो मनले मलाई खेलाउँछ, मैले मेरो मनलाई खेलाउन सक्दिन | मेरो मनले मलाई दल्नसम्म दलाउँछ तर जवजव मैले यसलाई दलाउँने प्रयत्न गर्छु धेरैजसो मैले असफलता नै पाउँछु |
मान्छेको स्वभाव नै हो रहस्यमय कुरा/विषयका वारेमा जानकारी प्राप्त गर्ने प्रयत्न गर्नु | तेसमा पनि आफ्नो मनको ऐनामा अर्काको मनको कुरा बुझ्ने जिज्ञासा र चाहना रोक्न सक्दैन | आफ्ना भावना, संवेग, आशा-निराशा तथा अनुभूतिका ऐनामा अरूलाई पढ्ने प्रयत्न आज पनि चलिनै रहेको छ | केहीले बुझेको अभिनय गर्छन्, केहीले बुझेको दावी गर्छन्, केहीले रहस्यमय भनेर चूप लाग्छन् तैपनि मनबाट विलग रहन सक्दैनन् | अर्काको मन पढ्ने इच्छा गर्नेहरूका लागि मन रहस्यमय विषय हो भने अर्काको कुरा सुनेर आफ्नै मनलाई रहस्यमय ठान्नेहरू पनि थुप्रै छन् |

Sunday, October 11, 2020

नेपाली मनभित्रको वैश्विक मन

    यजुर्वेदको रूद्राष्टध्यायीमा मनलाई "तन्मे मन: शिव: सङ्कल्पमस्तु" अर्थात् सकारात्मक चिन्तनको सङ्कल्प गर्ने आधारभूमिका रूपमा चिन्हित गरिएको छ | एसको अर्थ हो - मन नै सङ्कल्पको आधारभूमि हो जसले आत्म र परमात्माको शुभअशुभको सङ्कल्प गर्छ | यसरी नेपाली मनको अभिनिर्माणमा वैदिक चिन्तन, सिद्धान्त र सङ्कल्पको भूमिका छ जसले आफ्नो र अर्काको विभेद नगरी सबैको कल्याण, सुखी र निरोगको कामना गर्छ | 
नेपालीहरूको मन पोल्छ, मन दुख्छ, मन रुन्छ, मन हाँस्छ, मन भरंग हुन्छ, मन तातो हुन्छ, मन चीसो हुन्छ | मन गद्गद् हुन्छ, रमाउँछ, अमिलो हुन्छ, मन पिरो, तीतो र असंबेदनशील हुन्छ | मन छाडा हुन्छ, मन बलियो हुन्छ, मन कमलो हुन्छ र मन रुखो हुन्छ | मन जाली हुन्छ, मन फाट्छ, मन टालिन्छ, मन डराउँछ, मनको बाघले खान्छ, मनको प्वाँखले विश्व घुम्न सक्छ | 
    फ्राइडहरूले मनलाई जसरी बूझे तिनको बुझाईको मन र नेपाली बुझाई र भोगाईको मनमा धेरै फरक छ भन्ने कुरा नेपाली मनोविज्ञहरूले बुझ्न अझैं सकेका छैनन् | पश्चिमाहरूको मन (Mind) असलमा मन (Emotion) नभएर बुद्धि ((rationality) कै एउटा अंग हो जसले मान्छेका सम्पूर्ण सोच, व्यबहारलाई प्रभावित पार्छ | वैदिक, जैन र बौद्धसहित नेपाली रैथानेहरूले भोगिरहेको मन केवल कोमल र कठोर भावना, संवेग तथा चित्तको प्राकृतिक अवस्था हो | 
    तेसैले श्रीमद्भागवतको ११ रौँ स्कन्धमा प्रष्टसंग "मन: एव मनुष्याणांं कारणं बन्ध मोक्षयो अर्थात् मन नै मान्छेका लागि बन्धन र स्वतन्त्रताको स्रोत हुन्छ | नेपाली बोलीमा मनसंग जोडिएका अनेकौं महत्वपूर्ण भनाई तथा बुझाई छन् | भने सप्तसति चण्डीमा "यंयं चिन्तयते काम टमतं प्राप्नोति निश्चितम्" भनेर सङ्कल्पकर्ताको रूपमा बुझिएको छ | आजभोली मनको धेरै चर्चा हुन्छ मानौं मान्छेहरू केवल मनले संचालित छन् | 
    भागवत र चण्डीका उपरोक्त भनाइहरूले अत्याधुनिक मनोविज्ञान "मान्छेले सोचेको कुरा प्राप्त गर्न सक्छ अर्थात् सकारात्मक सोचको जादुलाई प्रमाणित गर्छन् | मान्छे आफ्नो सोच र चिन्तनअनुसारको बन्छ भने मान्छेले जे-जे जसरी सङ्कल्प गर्छ उसले त्यो लक्ष अवश्य प्राप्त गर्छ" विचारहरूको स्रोत वैदिक चिन्तन नै भएको प्रमाणित हुन्छ | 
    नेपाली मन भनेको वैश्विक मन हो जसले विश्वका हरेक व्यक्तिलाई कुटुम्व ठान्ने, सबैको कल्याणको कामना गर्ने र भद्रको कामना गर्ने संस्कारमा निर्मित भएको छ | विश्वका हरेक मान्छेको देशकाल र परिवेशअनुसार आ-आफ्नो संस्कार मान्ने स्वतन्त्रता प्रदान गर्छ | स्वं स्वं चरित्र शिक्षेरन् | मेरो विचारमा नेपाली मन वैश्विक छ किनभने नेपाली मनभित्र विश्वलाई प्रतिविम्वित गर्ने आधार र क्षमता छ | हरेक मान्छेहरू संगै मिलेर, संगै भोजन गरेर र सहकार्य गरेर एकअर्काको सहयोग गर्न सकिन्छ भन्ने मन वैदिकदेखि अक्षुण्ण छ | 
    विश्वमा जहाँ गए पनि नेपाली मन नेपालीहरूसंगै हुन्छ | नेपाली मनलाई विदेशी बन्न कमसेकम तीन पुस्ता लाग्छन् नै | विश्वभरी छरिएर रहेका हामी नेपालीहरूको मन आज पनि रैथाने नै छ | नेपाली गीतसङ्गीत, हिमाल, पहाड तराई र आ-आफ्नै रैथाने भाषा र चिन्तनमा रमाउँछ | विश्वको जुनसुकै कुनामा पुगेपछि नेपाली मनले हामीलाई छोड्दैन | जुनसुकै धर्म-संस्कार माने पनि हामीसंग नेपाली मन छ | तेसैले अव हामीले नेपालको रैथाने परिवेशमा हजारौं वर्षदेखि अभिनिर्मित भएको मनको रैथाने विधिले नै पहिचान र उपचारहरू विकसित गर्नुपर्छ | विदेशीले अभिनिर्माण गरेका मानसिक सिद्धान्तहरूले विपरीतार्थ हुनसक्छ | 
    
विश्व सजिलो छैन | करोनाजस्ता हजारौंलाखौँ समस्याहरू मान्छेले भोग्दै र जित्दै आएको छ | जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोच राखौं र जीवनयात्रालाई निरन्तरता दिउँ | सहयोग गरौँ र सहयोग प्राप्त गरौँ | मनोबैज्ञानिक क्षेत्रमा काम गर्ने विद्यार्थी र अनुसन्धाताहरूले नेपाली मनको निर्माण, क्रिया र क्रियाले निम्त्याउने व्यबहारहरूको मानक स्थापित गर्न काम गरौँ | विदेशीहरूले सात समुद्र पारिका मान्छेहरूको मनको व्याख्या गरेका छन्, तिनका लागि त्यो उपयुक्त होला तर हाम्रो लागि आफ्नो मनको निर्माण, क्रिया र लक्ष आफैले निर्धारण गर्नुपर्छ |
विश्वमानसिक दिवसको अवसरमा हार्दिक 
बधाई
|

Saturday, October 10, 2020

इमानदार र भ्रष्टाचारी

सरकारका ९०% कर्मचारीहरू इमानदार, मेहनती र सहयोगी छन् | १०% कर्मचारीहरू कामचोर, चपलुस र घूसखोर भएको अनुमान गर्न सकिन्छ | राजनीतिमा पनि देश र जनताको सेवा गर्न जीवन अर्पेका त्यागिहरू छन् | सबैलाई भष्टचारीको आरोप लगाउनु इमानदार कर्मचारी र राजनैतिक नेतृत्व प्रति अन्याय हुन्छ भन्ने सबैको मान्यता हुन्छ नै |

एउटा माछोले पोखरी फोहोर गर्छ भनेझैं फोहोरी मानसिकता भएका मन्त्रीहरू र भष्टाचारको अपवित्र चिन्तन भएका कर्मचारी तथा दलालहरूले असल कर्मचारी र नेताहरूको हुर्मत लिएका छन् | चापलुसी, पैसा र पहुँचमा अब्बल कर्मचारी र भष्टाचार गर्ने लक्षका साथ नेतृत्वमा पुगेका राजनेताहरूले नेपाल र नेपालीको हदैसम्म वदनामी गरेका छन् |

एस्तो थाहा हुँदाहुँदै पनि हामी जनताहरू तिनै व्यक्तिहरूलाई राजनैतिक नेतृत्वमा चुनेर पठाऊछौँ र तिनै भ्रष्टाचार गरेर अकुत कमाएका कर्मचारीहरूको जीवनशैली प्राप्त गर्ने चाहना राख्छौं | साच्चिकै भन्ने हो भने वर्तमान राज्य संयन्त्रबाट देश र जनताको भलो हुन्छ भनेर सोच्नुनै अर्थहीन छ | जुन देशलाई १०% भ्रष्ट राजनैतिक नेता. १०% भष्टाचारी मानसिकता भएका कर्मचारी र १०% दलालहरूले संचालन गर्छन् र ९०% ले दोष बोक्छन्, पशुपति नाथले कसरी कल्याण गर्न सक्लान् ?
वर्तमान भष्टाचार राजनैतिक संरक्षणको प्रतिफल हो | वर्तमान राजनैतिक परिपाटी ढल्दा सबैभन्दा नोकसान यिनै १०% लाई हुन्छ र विदेशीको सहयोग लिएर भए पनि आफ्नो सुविधा सुविधा संरक्षण गर्नेछन् | आफ्नो स्वार्थ पुरा गर्नको लागि देश र जनताको व्यापार पनि गर्ने छन् |

अवको चुनावमा जनताले निर्णय गर्नु पर्छ कि परम्परागत पार्टीलाई भोट हालेर उपरोक्त १०% स्वाँठहरूलाई देशका जनतालाई लुट्ने लाइसेन्स दिने कि इमान्दारीका पक्षमा मतदान गरेर कपुको यथास्थितिवादबाट उन्मुक्ति प्राप्त गर्ने ? सत्य तीतो हुन्छ तर सत्य यही हो |

यो पढेपछि ठीक हो भनेर टाउको हल्लाउनु भन्दा पनि अर्को चुनावमा भोट नदिने अठोट गर्ने वा वैकल्पिक तर ९०% जनताको पक्षमा उभिने ?

Sunday, September 27, 2020

चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो |

चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ तेतिनै धेरै चर्चित पनि छ | वैदिक दर्शनको यो एउटा महत्वपूर्ण विधा हो जसले साम्प्रदायिकताको खरो आलोचना गर्छ | आजसम्मका दार्शनिक र विचारकहरूले चर्वाकहरूले धर्मको निन्दा गरेका छन् भन्ने भ्रामिक विचार दिएका छन् | यो सत्य होइन | असलमा, चर्वाक दार्शनिकहरूले सम्प्रदाय र सम्प्रदायहरूले विकास गरेका रितिरिवाज, संस्कार, संस्कृतिको आलोचना गरेका हुन् | उनीहरूको आलोचना धार्मिकताप्रति छैन, उनीहरूको आलोचना सम्प्रदायिकता केन्द्रीत छ | 

भारतवर्ष वाहिर विकसित भएका एकेश्वरवादी चिन्तनको प्रभावमा नेपाली र भारतीय विद्वानहरू गहिरोसंग परेका छन् | त्यो प्रभावले गर्दा हिन्दू-संस्कृति समेत लांछित भएको छ | धर्म शब्दले "मूसाई"को सर्वसत्तावादी चिन्तनलाई बुझ्दा तिनका सबै कमसल पक्षहरूको भारी व्यर्थमा हिन्दू-संस्कृतिले बोक्नु परेको छ | उनीहरूका कुकृत्यहरूको दोष खप्नु परेको छ |

केही बामपन्थी खेमाका विद्वानहरूको गुनासो "सनातनीहरूले चार्वाक दर्शनको महत्व बुझेनन् र तिनको आलोचनामात्र गरे" भन्ने रहेको छ | केही प्रगतिशील चिन्तनहरूले "चार्वाक दार्शनिकहरू प्राचीन वैदिक समाजका वैज्ञानिक" हुन् भन्ने र केही अन्य नेपाली र भारतीय बामपन्थीहरूले चार्वाक दर्शनलाई "बैज्ञानिक चिन्तनको आधारशीला" भनेर प्रसंशा गरेका छन् | सबैको आआफनो बुझाई हो | तर तथाकथित चार्वाक पक्षधरहरूले "प्राचीन सनातनीहरूले चार्वाकहरूको आलोचना मात्रै गरे र निमिट्यान्न पार्ने प्रयत्न गरे" भन्ने विचार अनुचित हुन् र अबुझ वा पूर्वाग्रही चिन्तनका परिणाम हुन् | 

सबैले स्वीकार गरेको कुरा हो कि भौतिकवादी (शरीर केन्द्रीत सुख) चिन्तनका बीजहरू ऋग्वेद, अथर्ववेद र केही उपनिषदहरूमा प्रखररुपले उपलब्ध छन् | प्राचीन तथा अर्वाचीन साहित्यहरूमा पनि भौतिकवादी चिन्तन राईछाई नै छन् | तेसैले यो चिन्तनलाई लोकायत पनि भनिएको हो किनभने ऋषिमुनि होस् वा सर्वसाधारण सबैलाई आफ्नो व्यक्तिगत सुखको पर्वाह हुन्छ | जसले शरीरको माया गर्छ - भौतिकवादबाट निरस्त रहन सक्दैन | आध्यात्मवादी चिन्तनको संवाहक हुँदैमा कुनै पनि व्यक्ति भौतिकतावादबाट उन्मुक्त हुन्छ भनेर ऋषिहरूले बोलेका छैनन्, बरू "धर्मका लागि शरीर एकमात्र निर्विकल्प साधन हो" भनेर घोषणा गरेकै छन् | 

सत्य हो कि प्राचीन धार्मिक तथा दार्शनिक ग्रन्थहरूमा चार्वाकीय चिन्तनको धेरै आलोचना भएको छ | एस्तो आलोचना मूलतः चार्वाकका "नैतिक चिन्तन"का कारण भएको हो | समाजले स्वीकृत गरेका सदाचारहरूको आलोचना गर्दा वा ती सदाचारहरूप्रति उन्मुक्त रहन "आह्वान" गरेको हुँदा तिनको आलोचना भएको हो | सांख्य तथा वैषेशिकहरूले सदाचारहरूको आलोचना गरेनन्, उनीहरूको दार्शनिक समालोचना मात्र भयो | समाजमा स्थापित नैतिक आदर्शहरूको आलोचना गर्दा चार्वाकहरू बढी आलोचित भएका हुन् | 

मैले भौतिवादी वा अध्यात्मवादीहरूको पक्ष वा विपक्षका लागि चार्वाक दर्शनको कुरा गरेको होइन | मेरो उद्देश्य चार्वाक चिन्तन पनि वैदिक मूलधारकै दार्शनिक चिन्तन हो र अन्य दार्शनिक चिन्तन सरह आदरणीय थिए र छन् भन्ने अभिमत तयार गर्नु रहेको छ | मलाई "नैतिक र अराजक गरी चार्वाक दर्शनका दुई वर्गीकरण स्वीकार्य छैनन् | प्राचीन वैदिक, जैन तथा बौद्ध साहित्यहरूले एस्तो कुनै उल्लेख छैन | पश्चिमा भौतिकवादको प्रभावले नेपाली र भारतीयहरूमा "चार्वाक"हरूप्रति कोमल बन्ने मनोविज्ञानको प्रस्फुटन हो | मूलतः चार्वाक चिन्तन एकै प्रकारको छ | 

अव मुद्दामा फर्कौं | ऋग्वेदमा नै भौतिकवादी चिन्तनका उद्गारहरू उपलब्ध भएको हुँदा भौतिकवाद अवैदिक चिन्तन होइन | चार्वाक दार्शनिक चिन्तन परम्परागत आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्दैन तेसैले आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्नेहरूबाट आलोचनामा पर्नु स्वाभाविक मान्नुपर्छ | वेद आफैले भौतिकवादी चिन्तनको आलोचना गरेको छैन | यो तत्थ्य प्राचीन ऋषिमुनिहरूलव (दार्शनिक चिन्तक) बुझेका मात्र होइन, आत्मसात् समेत गरेका थिए | 

यही स्वीकारोक्तिको परिणाम हो कि चार्वाकीय दार्शनिक चिन्तनको स्रोतका रूपमा देवगुरू बृहस्पतिलाई स्वीकार गरियो | प्राचीन ऋषिमुनि वा चिन्तकहरूले चार्वाकीय दार्शनिक चिन्तनको महत्व अस्वीकार गरेको भए देवगुरू बृहस्पतिलाई एस चिन्तनको संस्थापकका रूपमा स्वीकार गरिन्न्थ्यो | दोस्रो कुरा, आध्यात्म र बाल्मिकि रामायणमा भौतिकवादका प्रस्तोताहरूलाई "मुनि" शब्दको प्रयोग गरिएको छ | मुनि अत्यन्त सम्मानित शब्द र सम्बोधन हो |बौद्ध र जैन साहित्यहरूमा पनि "चार्वाक"का लागि मुनि शब्द नै प्रयोग गरिएको छ | तेतिमात्र होइन, सर्वदर्शन संग्रहका लेखकले समेत "मुनि" शब्दकै प्रयोग गरेर चार्वाक दर्शनको संक्षिप्त परिचय प्रस्तुत गरेका छन् | 

केही वर्ष पहिले डा. काशिनाथ न्यौपानेले अनुवाद गरेको "तत्वविप्लवसिंह" भन्ने चार्वाक दर्शनको एकमात्र उपलब्ध ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशमा ल्याएको छ | यो ग्रन्थ "दार्शनिक तत्व"हरुको समालोचनामा केन्द्रीत भएको पढ्न सकिन्छ | यो ग्रन्थमा रितिरिवाजहरूको यदाकदामात्र आलोचना भएको छ | एसको अर्थ हो, चार्वाकीय दर्शन भौतिकवादी अवश्य थियो तर अहिले प्रचारप्रसार गरिएझैं अराजकतावादी थिएन | "बाँचुन्जेल ऋण गरेर भए पनि मोज गर्नुपर्छ" भन्ने विचारहरूलाई चार्वाकसंग किन जोडियो ? आश्चर्य लाग्छ | यदि यी अराजक विचारहरूका स्रोत चार्वाक नै हुन् भने तिनको आलोचना हुनैपर्छ | आध्यात्मिक विचारसंग असहमत हुनु सैद्धान्तिक वहस हो तर रितिरिवाजप्रति नै असहिष्णुता प्रकट गर्नु र अनुयायिहरूलाई अराजक बन्न उक्साउनु अराजकता हो | म फेरी दोहोर्याएर भन्छु, चार्वाकको दार्शनिक चिन्तानको भरपुर स्वागत गरिएको छ तर उनीहरूका अराजक विचारहरूको आलोचना भएको छ | भौतिकवाद वैदिक चिन्तन हो तर अराजकता होइन | 

चार्वाकीय दार्शनिकहरू मुनि थिए, तत्वलाई "भौतिक रूपमा" बुझेका थिए | शारीरिक सुखवाद र भौतिकतत्ववाद उनीहरूका दार्शनिक चिन्तनको उत्कर्ष थियो | प्राचीन समयमा राजा वेनले चार्वाक दार्शनिक चिन्तनको राजकीय प्रयोग गरेका थिए | यद्यपि रावणआदि राजामा पनि भौतिकवादी चिन्तनको प्रभाव थियो तर यी राजाहरू कर्म, पुनर्जन्म तथा पापपुण्यका चिन्तनबाट मुक्त थिएनन् | राजा बेन वाहेकका राजाहरूले तपस्या गरेर देवताहरूबाट अतिरिक्त शक्ति प्राप्त गरेको इतिहास छ | राजा वेनमा एस्तो प्रबृत्ति देखिन्न | राजा बेनले राजनैतिक शक्तिको रूपमा भौतिकवादको स्थापना गर्ने प्रयत्न गर्दा तेस वखतका जनतालाई सह्य भएन र वेन आफ्नै जनताबाट मारिए | 

प्राचीन ग्रिकेली डेमोक्रेस्ट्स र ल्युपिससको परमाणुवादी चिन्तनलाई कार्लमार्क्सले आफ्नो दार्शनिक चिन्तनको स्रोतका रूपमा अर्थ्याएका छन् | नेपाली वामपन्थीहरूले कार्लमार्क्सले झैं चार्वाक दर्शनलाई डेमोक्रेट्ससरह देख्न चाहन्छन् | यो चाहनाले दुई तत्थ्यहरू सिद्ध हुन्छन् -(१) नेपाली वामपन्थीहरू बामपन्थीहरूको संसारमा चार्वाकहरूको पनि डेमोक्रेटस सरह उल्लेख होस् भन्ने चाहन्छन् (२) वेदमा उल्लेखित भौतिकवाद बैज्ञानिक प्रगतिशील तवाकाले स्वीकार गरोस् भन्ने चाहना राख्छन् | यस अर्थमा नेपाली वामपन्थीहरू पनि आफ्नो प्राचीन धरोहरप्रति सचेत छन् तर पश्चिमा मार्क्सवादी प्रभावले गर्दा अध्यात्मवादीहरूले चार्वाकीय दार्शनिक चिन्तनलाई दिएको महत्व स्वीकार्न चाहन्नन् | वामपन्थी चिन्तनको सबैभन्दा ठूलो दुर्गुण भनेकै अर्काले गरेका असल क्रियाकलाप स्वीकार्न नसक्नु हो | 

चार्वाकीय दार्शनिक चिन्तनलाई नेपाली दृष्टिकोणले बुझ्नुपर्छ | तवमात्र चार्वाक मुनिले सम्मान प्राप्त गर्छन् | पश्चिमा दृष्टिकोणले हेर्दा चार्वाकहरू चरम अवैदिक देखिन्छन् तर चार्वाकलाई प्रयोग गरिने मुनि शब्द, वेदमा भौतिक चिन्तनको उल्लेख हुनु, चार्वाक दर्शनी चिन्तनका संस्थापकका रूपमा देवगुरु बृहस्पतिलाई मन्याया दिनु र वाल्मिकी तथा महाभारतमा जावाली ऋषिका रूपमा चार्वाक चिन्तनको उपदेशकका रूपमा अगाडी सार्नु - यी सबैले चार्वाकीय चिन्तनप्रति समाजले सम्मान जनक व्यबहार गर्ने सिद्ध गर्छन् | 

आफुलाई मन नपरेको चिन्तनको शास्त्रीय आलोचना वा शास्त्रार्थमा पराजित गरेर आफ्नो अनुयायी बनाउनु वैदिक सभ्यताको प्राचीन परम्परा हो | मलाई लाग्छ, चार्वाक् चिन्तनका अनुयायिहरू पनि अन्य मतका अनुयायिहरूसंग पराजित भए होलान् र आफ्नो मत छोडेर विजेताको चिन्तन व्यबहारमा स्वीकार गरे होलान् | सनातन संस्कृतिमा एस्ता धेरै उदाहरण छन् | प्रसिद्ध वैदिकहरू जैन मुनिहरूसंग शास्त्रार्थमा पराजित भए पछि जैन प्रचारक बनेका छन् | यही प्रसंग बौद्ध-हिन्दू, हिन्दू-बौद्ध, जैन-हिन्दू, हिन्दू जैन तथा भौतिकवादी र आध्यात्मवादीहरूका लागि पनि चरितार्थ हुन्छ | 

सारांशमा भन्नुपर्दा, चार्वाकीय दार्शनिक चिन्तन पनि वैदिक नै हो र वैदिक ऋषिहरूले (स्मरण रहोस्, बृहस्पति वैदिक मन्त्रद्रष्टा ऋषि हुन्) आध्यात्मवाद भन्दा पृथक् भौतिकवादी चिन्तन सृजित गरेका हुन् | यी बीच बैचारिक द्वन्द भए पनि आचरणका सवालमा कुनै द्वन्द थिएन भन्ने मेरो विश्वास छ | तेसैगरी प्राचीन वैदिक सामाजिक जीवनमा चार्वाकहरूको उच्चतहको सम्मान थियो तेसैले उनिहरूले "मुनि ऋषि" पद प्राप्त गरेका थिए | उनीहरू अराजक थिएनन् र उनीहरू आधुनिक अर्थमा विज्ञानका संस्थापक पनि होइन | आजको भौतिकवादी चिन्तनसंग चार्वाकहरूका चिन्तनको सामिप्य हुनु महज काकताली हो भन्न सकिन्छ |

कपीराइट 

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...