Sunday, October 11, 2020

नेपाली मनभित्रको वैश्विक मन

    यजुर्वेदको रूद्राष्टध्यायीमा मनलाई "तन्मे मन: शिव: सङ्कल्पमस्तु" अर्थात् सकारात्मक चिन्तनको सङ्कल्प गर्ने आधारभूमिका रूपमा चिन्हित गरिएको छ | एसको अर्थ हो - मन नै सङ्कल्पको आधारभूमि हो जसले आत्म र परमात्माको शुभअशुभको सङ्कल्प गर्छ | यसरी नेपाली मनको अभिनिर्माणमा वैदिक चिन्तन, सिद्धान्त र सङ्कल्पको भूमिका छ जसले आफ्नो र अर्काको विभेद नगरी सबैको कल्याण, सुखी र निरोगको कामना गर्छ | 
नेपालीहरूको मन पोल्छ, मन दुख्छ, मन रुन्छ, मन हाँस्छ, मन भरंग हुन्छ, मन तातो हुन्छ, मन चीसो हुन्छ | मन गद्गद् हुन्छ, रमाउँछ, अमिलो हुन्छ, मन पिरो, तीतो र असंबेदनशील हुन्छ | मन छाडा हुन्छ, मन बलियो हुन्छ, मन कमलो हुन्छ र मन रुखो हुन्छ | मन जाली हुन्छ, मन फाट्छ, मन टालिन्छ, मन डराउँछ, मनको बाघले खान्छ, मनको प्वाँखले विश्व घुम्न सक्छ | 
    फ्राइडहरूले मनलाई जसरी बूझे तिनको बुझाईको मन र नेपाली बुझाई र भोगाईको मनमा धेरै फरक छ भन्ने कुरा नेपाली मनोविज्ञहरूले बुझ्न अझैं सकेका छैनन् | पश्चिमाहरूको मन (Mind) असलमा मन (Emotion) नभएर बुद्धि ((rationality) कै एउटा अंग हो जसले मान्छेका सम्पूर्ण सोच, व्यबहारलाई प्रभावित पार्छ | वैदिक, जैन र बौद्धसहित नेपाली रैथानेहरूले भोगिरहेको मन केवल कोमल र कठोर भावना, संवेग तथा चित्तको प्राकृतिक अवस्था हो | 
    तेसैले श्रीमद्भागवतको ११ रौँ स्कन्धमा प्रष्टसंग "मन: एव मनुष्याणांं कारणं बन्ध मोक्षयो अर्थात् मन नै मान्छेका लागि बन्धन र स्वतन्त्रताको स्रोत हुन्छ | नेपाली बोलीमा मनसंग जोडिएका अनेकौं महत्वपूर्ण भनाई तथा बुझाई छन् | भने सप्तसति चण्डीमा "यंयं चिन्तयते काम टमतं प्राप्नोति निश्चितम्" भनेर सङ्कल्पकर्ताको रूपमा बुझिएको छ | आजभोली मनको धेरै चर्चा हुन्छ मानौं मान्छेहरू केवल मनले संचालित छन् | 
    भागवत र चण्डीका उपरोक्त भनाइहरूले अत्याधुनिक मनोविज्ञान "मान्छेले सोचेको कुरा प्राप्त गर्न सक्छ अर्थात् सकारात्मक सोचको जादुलाई प्रमाणित गर्छन् | मान्छे आफ्नो सोच र चिन्तनअनुसारको बन्छ भने मान्छेले जे-जे जसरी सङ्कल्प गर्छ उसले त्यो लक्ष अवश्य प्राप्त गर्छ" विचारहरूको स्रोत वैदिक चिन्तन नै भएको प्रमाणित हुन्छ | 
    नेपाली मन भनेको वैश्विक मन हो जसले विश्वका हरेक व्यक्तिलाई कुटुम्व ठान्ने, सबैको कल्याणको कामना गर्ने र भद्रको कामना गर्ने संस्कारमा निर्मित भएको छ | विश्वका हरेक मान्छेको देशकाल र परिवेशअनुसार आ-आफ्नो संस्कार मान्ने स्वतन्त्रता प्रदान गर्छ | स्वं स्वं चरित्र शिक्षेरन् | मेरो विचारमा नेपाली मन वैश्विक छ किनभने नेपाली मनभित्र विश्वलाई प्रतिविम्वित गर्ने आधार र क्षमता छ | हरेक मान्छेहरू संगै मिलेर, संगै भोजन गरेर र सहकार्य गरेर एकअर्काको सहयोग गर्न सकिन्छ भन्ने मन वैदिकदेखि अक्षुण्ण छ | 
    विश्वमा जहाँ गए पनि नेपाली मन नेपालीहरूसंगै हुन्छ | नेपाली मनलाई विदेशी बन्न कमसेकम तीन पुस्ता लाग्छन् नै | विश्वभरी छरिएर रहेका हामी नेपालीहरूको मन आज पनि रैथाने नै छ | नेपाली गीतसङ्गीत, हिमाल, पहाड तराई र आ-आफ्नै रैथाने भाषा र चिन्तनमा रमाउँछ | विश्वको जुनसुकै कुनामा पुगेपछि नेपाली मनले हामीलाई छोड्दैन | जुनसुकै धर्म-संस्कार माने पनि हामीसंग नेपाली मन छ | तेसैले अव हामीले नेपालको रैथाने परिवेशमा हजारौं वर्षदेखि अभिनिर्मित भएको मनको रैथाने विधिले नै पहिचान र उपचारहरू विकसित गर्नुपर्छ | विदेशीले अभिनिर्माण गरेका मानसिक सिद्धान्तहरूले विपरीतार्थ हुनसक्छ | 
    
विश्व सजिलो छैन | करोनाजस्ता हजारौंलाखौँ समस्याहरू मान्छेले भोग्दै र जित्दै आएको छ | जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोच राखौं र जीवनयात्रालाई निरन्तरता दिउँ | सहयोग गरौँ र सहयोग प्राप्त गरौँ | मनोबैज्ञानिक क्षेत्रमा काम गर्ने विद्यार्थी र अनुसन्धाताहरूले नेपाली मनको निर्माण, क्रिया र क्रियाले निम्त्याउने व्यबहारहरूको मानक स्थापित गर्न काम गरौँ | विदेशीहरूले सात समुद्र पारिका मान्छेहरूको मनको व्याख्या गरेका छन्, तिनका लागि त्यो उपयुक्त होला तर हाम्रो लागि आफ्नो मनको निर्माण, क्रिया र लक्ष आफैले निर्धारण गर्नुपर्छ |
विश्वमानसिक दिवसको अवसरमा हार्दिक 
बधाई
|

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...