Sunday, September 27, 2020

चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो |

चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ तेतिनै धेरै चर्चित पनि छ | वैदिक दर्शनको यो एउटा महत्वपूर्ण विधा हो जसले साम्प्रदायिकताको खरो आलोचना गर्छ | आजसम्मका दार्शनिक र विचारकहरूले चर्वाकहरूले धर्मको निन्दा गरेका छन् भन्ने भ्रामिक विचार दिएका छन् | यो सत्य होइन | असलमा, चर्वाक दार्शनिकहरूले सम्प्रदाय र सम्प्रदायहरूले विकास गरेका रितिरिवाज, संस्कार, संस्कृतिको आलोचना गरेका हुन् | उनीहरूको आलोचना धार्मिकताप्रति छैन, उनीहरूको आलोचना सम्प्रदायिकता केन्द्रीत छ | 

भारतवर्ष वाहिर विकसित भएका एकेश्वरवादी चिन्तनको प्रभावमा नेपाली र भारतीय विद्वानहरू गहिरोसंग परेका छन् | त्यो प्रभावले गर्दा हिन्दू-संस्कृति समेत लांछित भएको छ | धर्म शब्दले "मूसाई"को सर्वसत्तावादी चिन्तनलाई बुझ्दा तिनका सबै कमसल पक्षहरूको भारी व्यर्थमा हिन्दू-संस्कृतिले बोक्नु परेको छ | उनीहरूका कुकृत्यहरूको दोष खप्नु परेको छ |

केही बामपन्थी खेमाका विद्वानहरूको गुनासो "सनातनीहरूले चार्वाक दर्शनको महत्व बुझेनन् र तिनको आलोचनामात्र गरे" भन्ने रहेको छ | केही प्रगतिशील चिन्तनहरूले "चार्वाक दार्शनिकहरू प्राचीन वैदिक समाजका वैज्ञानिक" हुन् भन्ने र केही अन्य नेपाली र भारतीय बामपन्थीहरूले चार्वाक दर्शनलाई "बैज्ञानिक चिन्तनको आधारशीला" भनेर प्रसंशा गरेका छन् | सबैको आआफनो बुझाई हो | तर तथाकथित चार्वाक पक्षधरहरूले "प्राचीन सनातनीहरूले चार्वाकहरूको आलोचना मात्रै गरे र निमिट्यान्न पार्ने प्रयत्न गरे" भन्ने विचार अनुचित हुन् र अबुझ वा पूर्वाग्रही चिन्तनका परिणाम हुन् | 

सबैले स्वीकार गरेको कुरा हो कि भौतिकवादी (शरीर केन्द्रीत सुख) चिन्तनका बीजहरू ऋग्वेद, अथर्ववेद र केही उपनिषदहरूमा प्रखररुपले उपलब्ध छन् | प्राचीन तथा अर्वाचीन साहित्यहरूमा पनि भौतिकवादी चिन्तन राईछाई नै छन् | तेसैले यो चिन्तनलाई लोकायत पनि भनिएको हो किनभने ऋषिमुनि होस् वा सर्वसाधारण सबैलाई आफ्नो व्यक्तिगत सुखको पर्वाह हुन्छ | जसले शरीरको माया गर्छ - भौतिकवादबाट निरस्त रहन सक्दैन | आध्यात्मवादी चिन्तनको संवाहक हुँदैमा कुनै पनि व्यक्ति भौतिकतावादबाट उन्मुक्त हुन्छ भनेर ऋषिहरूले बोलेका छैनन्, बरू "धर्मका लागि शरीर एकमात्र निर्विकल्प साधन हो" भनेर घोषणा गरेकै छन् | 

सत्य हो कि प्राचीन धार्मिक तथा दार्शनिक ग्रन्थहरूमा चार्वाकीय चिन्तनको धेरै आलोचना भएको छ | एस्तो आलोचना मूलतः चार्वाकका "नैतिक चिन्तन"का कारण भएको हो | समाजले स्वीकृत गरेका सदाचारहरूको आलोचना गर्दा वा ती सदाचारहरूप्रति उन्मुक्त रहन "आह्वान" गरेको हुँदा तिनको आलोचना भएको हो | सांख्य तथा वैषेशिकहरूले सदाचारहरूको आलोचना गरेनन्, उनीहरूको दार्शनिक समालोचना मात्र भयो | समाजमा स्थापित नैतिक आदर्शहरूको आलोचना गर्दा चार्वाकहरू बढी आलोचित भएका हुन् | 

मैले भौतिवादी वा अध्यात्मवादीहरूको पक्ष वा विपक्षका लागि चार्वाक दर्शनको कुरा गरेको होइन | मेरो उद्देश्य चार्वाक चिन्तन पनि वैदिक मूलधारकै दार्शनिक चिन्तन हो र अन्य दार्शनिक चिन्तन सरह आदरणीय थिए र छन् भन्ने अभिमत तयार गर्नु रहेको छ | मलाई "नैतिक र अराजक गरी चार्वाक दर्शनका दुई वर्गीकरण स्वीकार्य छैनन् | प्राचीन वैदिक, जैन तथा बौद्ध साहित्यहरूले एस्तो कुनै उल्लेख छैन | पश्चिमा भौतिकवादको प्रभावले नेपाली र भारतीयहरूमा "चार्वाक"हरूप्रति कोमल बन्ने मनोविज्ञानको प्रस्फुटन हो | मूलतः चार्वाक चिन्तन एकै प्रकारको छ | 

अव मुद्दामा फर्कौं | ऋग्वेदमा नै भौतिकवादी चिन्तनका उद्गारहरू उपलब्ध भएको हुँदा भौतिकवाद अवैदिक चिन्तन होइन | चार्वाक दार्शनिक चिन्तन परम्परागत आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्दैन तेसैले आत्मा, परमात्मा, स्वर्गनर्क, पुनर्जन्म, कर्मतन्त्रमा विश्वास गर्नेहरूबाट आलोचनामा पर्नु स्वाभाविक मान्नुपर्छ | वेद आफैले भौतिकवादी चिन्तनको आलोचना गरेको छैन | यो तत्थ्य प्राचीन ऋषिमुनिहरूलव (दार्शनिक चिन्तक) बुझेका मात्र होइन, आत्मसात् समेत गरेका थिए | 

यही स्वीकारोक्तिको परिणाम हो कि चार्वाकीय दार्शनिक चिन्तनको स्रोतका रूपमा देवगुरू बृहस्पतिलाई स्वीकार गरियो | प्राचीन ऋषिमुनि वा चिन्तकहरूले चार्वाकीय दार्शनिक चिन्तनको महत्व अस्वीकार गरेको भए देवगुरू बृहस्पतिलाई एस चिन्तनको संस्थापकका रूपमा स्वीकार गरिन्न्थ्यो | दोस्रो कुरा, आध्यात्म र बाल्मिकि रामायणमा भौतिकवादका प्रस्तोताहरूलाई "मुनि" शब्दको प्रयोग गरिएको छ | मुनि अत्यन्त सम्मानित शब्द र सम्बोधन हो |बौद्ध र जैन साहित्यहरूमा पनि "चार्वाक"का लागि मुनि शब्द नै प्रयोग गरिएको छ | तेतिमात्र होइन, सर्वदर्शन संग्रहका लेखकले समेत "मुनि" शब्दकै प्रयोग गरेर चार्वाक दर्शनको संक्षिप्त परिचय प्रस्तुत गरेका छन् | 

केही वर्ष पहिले डा. काशिनाथ न्यौपानेले अनुवाद गरेको "तत्वविप्लवसिंह" भन्ने चार्वाक दर्शनको एकमात्र उपलब्ध ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशमा ल्याएको छ | यो ग्रन्थ "दार्शनिक तत्व"हरुको समालोचनामा केन्द्रीत भएको पढ्न सकिन्छ | यो ग्रन्थमा रितिरिवाजहरूको यदाकदामात्र आलोचना भएको छ | एसको अर्थ हो, चार्वाकीय दर्शन भौतिकवादी अवश्य थियो तर अहिले प्रचारप्रसार गरिएझैं अराजकतावादी थिएन | "बाँचुन्जेल ऋण गरेर भए पनि मोज गर्नुपर्छ" भन्ने विचारहरूलाई चार्वाकसंग किन जोडियो ? आश्चर्य लाग्छ | यदि यी अराजक विचारहरूका स्रोत चार्वाक नै हुन् भने तिनको आलोचना हुनैपर्छ | आध्यात्मिक विचारसंग असहमत हुनु सैद्धान्तिक वहस हो तर रितिरिवाजप्रति नै असहिष्णुता प्रकट गर्नु र अनुयायिहरूलाई अराजक बन्न उक्साउनु अराजकता हो | म फेरी दोहोर्याएर भन्छु, चार्वाकको दार्शनिक चिन्तानको भरपुर स्वागत गरिएको छ तर उनीहरूका अराजक विचारहरूको आलोचना भएको छ | भौतिकवाद वैदिक चिन्तन हो तर अराजकता होइन | 

चार्वाकीय दार्शनिकहरू मुनि थिए, तत्वलाई "भौतिक रूपमा" बुझेका थिए | शारीरिक सुखवाद र भौतिकतत्ववाद उनीहरूका दार्शनिक चिन्तनको उत्कर्ष थियो | प्राचीन समयमा राजा वेनले चार्वाक दार्शनिक चिन्तनको राजकीय प्रयोग गरेका थिए | यद्यपि रावणआदि राजामा पनि भौतिकवादी चिन्तनको प्रभाव थियो तर यी राजाहरू कर्म, पुनर्जन्म तथा पापपुण्यका चिन्तनबाट मुक्त थिएनन् | राजा बेन वाहेकका राजाहरूले तपस्या गरेर देवताहरूबाट अतिरिक्त शक्ति प्राप्त गरेको इतिहास छ | राजा वेनमा एस्तो प्रबृत्ति देखिन्न | राजा बेनले राजनैतिक शक्तिको रूपमा भौतिकवादको स्थापना गर्ने प्रयत्न गर्दा तेस वखतका जनतालाई सह्य भएन र वेन आफ्नै जनताबाट मारिए | 

प्राचीन ग्रिकेली डेमोक्रेस्ट्स र ल्युपिससको परमाणुवादी चिन्तनलाई कार्लमार्क्सले आफ्नो दार्शनिक चिन्तनको स्रोतका रूपमा अर्थ्याएका छन् | नेपाली वामपन्थीहरूले कार्लमार्क्सले झैं चार्वाक दर्शनलाई डेमोक्रेट्ससरह देख्न चाहन्छन् | यो चाहनाले दुई तत्थ्यहरू सिद्ध हुन्छन् -(१) नेपाली वामपन्थीहरू बामपन्थीहरूको संसारमा चार्वाकहरूको पनि डेमोक्रेटस सरह उल्लेख होस् भन्ने चाहन्छन् (२) वेदमा उल्लेखित भौतिकवाद बैज्ञानिक प्रगतिशील तवाकाले स्वीकार गरोस् भन्ने चाहना राख्छन् | यस अर्थमा नेपाली वामपन्थीहरू पनि आफ्नो प्राचीन धरोहरप्रति सचेत छन् तर पश्चिमा मार्क्सवादी प्रभावले गर्दा अध्यात्मवादीहरूले चार्वाकीय दार्शनिक चिन्तनलाई दिएको महत्व स्वीकार्न चाहन्नन् | वामपन्थी चिन्तनको सबैभन्दा ठूलो दुर्गुण भनेकै अर्काले गरेका असल क्रियाकलाप स्वीकार्न नसक्नु हो | 

चार्वाकीय दार्शनिक चिन्तनलाई नेपाली दृष्टिकोणले बुझ्नुपर्छ | तवमात्र चार्वाक मुनिले सम्मान प्राप्त गर्छन् | पश्चिमा दृष्टिकोणले हेर्दा चार्वाकहरू चरम अवैदिक देखिन्छन् तर चार्वाकलाई प्रयोग गरिने मुनि शब्द, वेदमा भौतिक चिन्तनको उल्लेख हुनु, चार्वाक दर्शनी चिन्तनका संस्थापकका रूपमा देवगुरु बृहस्पतिलाई मन्याया दिनु र वाल्मिकी तथा महाभारतमा जावाली ऋषिका रूपमा चार्वाक चिन्तनको उपदेशकका रूपमा अगाडी सार्नु - यी सबैले चार्वाकीय चिन्तनप्रति समाजले सम्मान जनक व्यबहार गर्ने सिद्ध गर्छन् | 

आफुलाई मन नपरेको चिन्तनको शास्त्रीय आलोचना वा शास्त्रार्थमा पराजित गरेर आफ्नो अनुयायी बनाउनु वैदिक सभ्यताको प्राचीन परम्परा हो | मलाई लाग्छ, चार्वाक् चिन्तनका अनुयायिहरू पनि अन्य मतका अनुयायिहरूसंग पराजित भए होलान् र आफ्नो मत छोडेर विजेताको चिन्तन व्यबहारमा स्वीकार गरे होलान् | सनातन संस्कृतिमा एस्ता धेरै उदाहरण छन् | प्रसिद्ध वैदिकहरू जैन मुनिहरूसंग शास्त्रार्थमा पराजित भए पछि जैन प्रचारक बनेका छन् | यही प्रसंग बौद्ध-हिन्दू, हिन्दू-बौद्ध, जैन-हिन्दू, हिन्दू जैन तथा भौतिकवादी र आध्यात्मवादीहरूका लागि पनि चरितार्थ हुन्छ | 

सारांशमा भन्नुपर्दा, चार्वाकीय दार्शनिक चिन्तन पनि वैदिक नै हो र वैदिक ऋषिहरूले (स्मरण रहोस्, बृहस्पति वैदिक मन्त्रद्रष्टा ऋषि हुन्) आध्यात्मवाद भन्दा पृथक् भौतिकवादी चिन्तन सृजित गरेका हुन् | यी बीच बैचारिक द्वन्द भए पनि आचरणका सवालमा कुनै द्वन्द थिएन भन्ने मेरो विश्वास छ | तेसैगरी प्राचीन वैदिक सामाजिक जीवनमा चार्वाकहरूको उच्चतहको सम्मान थियो तेसैले उनिहरूले "मुनि ऋषि" पद प्राप्त गरेका थिए | उनीहरू अराजक थिएनन् र उनीहरू आधुनिक अर्थमा विज्ञानका संस्थापक पनि होइन | आजको भौतिकवादी चिन्तनसंग चार्वाकहरूका चिन्तनको सामिप्य हुनु महज काकताली हो भन्न सकिन्छ |

कपीराइट 

Friday, September 25, 2020

सुनका टुक्राहरू

त्यो दिन हामी सबै बसेर हिमाल, पहाड र तराईको गीत गाइरहेका थियौं, मुक्तिनाथ र जनकपुरका भजनहरू गाइरहेका थियौं कि त्यो मान्छे आएर हामी बीच बस्यो | हामीले सधैंझैं पाहुनाको स्वागत गर्यौं | ऊ धेरै दिनको भोको रहेछ | पेटभरी खान दियौं |  हाम्रो गाउँले हरेक पाहुनाको स्वागत गर्छ | हामीले पाहुनाका विषयमा तेति सोधपुछ गर्दैनौं | उसले भन्यौं "म साझा मान्छे हुँ | मेरो परिचय मान्छे हुँ | म तपाईंको पाहुना हुँ |" उ हाम्रो गाउँको साझा पाहुना बन्यो | हरेक दिन उ फरकफरक घरमा बस्थ्यो | उ साच्चिकै अचम्मको मान्छे थियो | उसंग दुईबाट किताव थिए - एउटा रातो रङ्गको र अर्को कालो रङ्गको | ऊ रातदिन कितावमा समय विताईरहेको हुन्थ्यो | उ थोरै बोल्थ्यो तर भन्थ्यो "अव यो फेरिनु पर्छ | यी माने, मन्दिरहरू सफा हुनुपर्छ |"
Govinda S. Upadhyaya

हाम्रा हजुरबा गाउँमा सबैभन्दा जेठा थिए | हरेक फुर्सदको बेलामा हामी हजुरबा थिम हुन्थौँ | हजुरबा हाम्रा गुरू हुनुहुन्छ | सबैलाई उहाँले भन्नुहुन्छ "हामो देश हिमाल जत्तिकै प्राचीन हो | हाम्रो सभ्यता हिमाल बनेसंगै आरम्भ भएको हो | हाम्रो धर्म संस्कृतिको इतिहास हिमालको उत्पत्तिसंगै आरम्भ हुन्छ | यहाँका हिमाल, पहाड तथा तराई र यहाँका सम्पदाहरूसंग हुर्केको र यसलाई माया गर्ने हरेक मान्छे यहाको रैथाने हो, हाम्रो मिल्ती अनन्त छ किनभने हामी अनन्त अमृतक सन्तान हौँ, हामीले आफ्नो इतिहास, संस्कृति र सभ्यतामा गर्व गर्नुपर्छ | विश्वमा हामीजस्तो अरू कोही छैन, हामीले ऋषिको सन्तति भएकोमा गर्व गर्नुपर्छ - हाम्रा हजुरबाले भनिरहनु भएको थियो | हामी गज्जव मानेर सुनिरहेका थियौं | साच्चिकै भन्ने हो भने हामी तेस्तै थियौं | हिमाली, पहाडी र मधेसी एक्कैनास थियौं, जे-जस्तो थियौं, तेहा पनि उस्तै थियौं | कुनै नक्कल थिएन | जे-जति थियो सक्कल नै थियो | उ पनि हामीसंगै वसेर हजुरबाका कुरा सुनिरहेको थियो |

हजुरबाले एसो भनिरहंदा उसलाई पटक्कै मन परिरहेको थिएन | एसो हेर्दा ऊ पनि अरूजस्तै देखिन्थ्यो | अरूको जस्तै भाषा बोल्थ्यो र अरूले जस्तै लुगा पनि लगाएको थियो | उसले मुखै फोरेर भन्यो "हिमालको कुनै इतिहास हुँदैन | हिमालको कुनै सभ्यता होइन | इतिहास र सभ्यताहरूको स्रोत पश्चिमतिर छ | हामी (नाक चुच्चे) आक्रमणकारी हौँ | तेसैले हामी फरक छौँ | हरेक मान्छे फरकफरक हुन् | फरकभाषा र पहिचान हुन्छ | हरेक मान्छेले अर्कोलाई होइन आफुलाई माया गर्नुपर्छ | जे-जस्तो कितावले लेखेका छन् हामीले खुरुखुरु मानेर हिड्ने हो | विश्वभरिका प्रगतिशील मान्छेहरूले एसै गरी प्रगति गरेका हुन् | हामी प्रगति गर्न चाहन्छौं भने "वैज्ञानिक" चिन्तन स्वीकार्नुपर्छ |" हामी सबै छक्क पर्यौं | आजसम्म हजुरबासंग असहमत भएको कुनै घटना थिएन | सबैले हजुरबाको सम्मान गर्थे |

केही दिन देखि उ वदलिएको थियो | उसंग भेट्न मान्छेहरू पनि आउन  थालेका थिए | ती अरूसंग पटक्कै बोल्दैनथे | हिजो पनि उसंग भेट्न केही मान्छे आएका थिए | ती मान्छेहरूलाई पहिले कसैले देखेको थिएन | तिनीहरूसंग केही किताव थिए | फर्केका मान्छेले दिएका कितावहरू उसले पढेको थियो | अनि, ती किताव पढेपछि उसको मुखमा "प्रगतिशील" बुर्जुवा, शोषक, पददलित" जस्ता अनौठा शब्दहरू हुन्थे | धेरै मान्छेले कुरा नै बुझ्दैनथे | हिमवत्खण्ड, भारतवर्ष, उत्तरभारतजस्ता शब्दहरू सबैले बुझ्दथे |"

उसका कुराहरू ठूले राई, रामहरी सुवेदी, रमिला परियार, भोज गुरुङ, मखन मण्डल, बिनु चौधरी कसैले पनि बुझ्न सकेनन् | उसले भन्यो "म साच्चै भन्छु, मैले यसरी लेखिएको इतिहास मेटाएर छोड्छु | मैले जितेपछि लेखाउने इतिहास यसरी पढिने छ "हिमालको कुनै देश हुँदैन | ऋषिमुनि भनेका शोषणका मतियार हुन् | उनी  जन्मेको दिन र उनीका भक्तहरूले तोकेको दिन देखि इतिहास आरम्भ हुन्छ | पुरानो इतिहास विर्सिएको अर्थात् मिति....देखि इतिहास आरम्भ हुन्छ | १२७ बटा देशहरूको संघमा सबै स्वत्रन्त्र छन् | यो देशले पनि त्यो दिन मुक्ति पाउने छ | तपाईंहरू पनि मुक्त हुनुहुनेछ | त्यो दिन sसबैका लागि खास हुनेछ |"

यो सुनेर सबै साच्चिकै ट्वाल्ल पर्यौं | आज सम्म कसैले एस्तो कुरा गरेको थिएन | साच्चिकै भन्छु,  मैले १२७ देशहरू सबै स्वतन्त्र छन्" भनेको पटक्कै बुझिन | मैले उसंग धेरै पटक सोधें, उसले भनिरह्यो "म १२७ बटा देशका आ-आफ्ना राजाहरू देख्न चाहन्छु | मैले मेरो वरिपरी देशैदेशको फुलवारी चाहन्छु | त्यो फुलवारीमा फुल होइन सिउडीका काँडाहरू उम्रिउन् भन्ने चाहन्छु |" मैले करै गरेपछि उसले भन्यो "यो सबै कुरा मेरो "प्रगतिशील" कितावमा लेखिएको छ | मैले त्यो किताव मांगे | उसले भन्यो "मैले विश्वास गरेको मान्छेलाई मात्र त्यो किताव दिन पाउँछु | मैले विश्वास नगरेका व्यक्तिले त्यो किताव पढ्न पाउन्नन् | मैले राजा बनाएको मान्छेलाई मात्र ती कितावमा अधिकार हुनेछ |"

मलाई किताव वारे निकै उत्सुकता जाग्यो | मैले जसरी पनि त्यो किताव खोजेर पढ्ने निधो गरें | मसंग त्यो किताव पढ्ने दुईबटा बाटा थिए - मैले उसको विश्वास प्राप्त गर्ने वा त्यो किताव चोरेर पढ्ने | मलाई थाहा थियो, म ऊजस्तो हुनै सक्दैनथें | मैले उसलाई विश्वास गर्न सक्थें तर उसले ममा विश्वास गर्नुको कुनै कारण थिएन | मैले दोस्रो विकल्प रोजें | मैले किताव उसको अनुपस्थितिमा पढ्ने निर्णय गरें |

एक दिन उसले मसंग घोषणा गर्यो "अव म मैले विश्वास गरेका सबै मान्छेहरूलाई यो किताव पढ्न दिने छु |" तर मैले त्यो किताव पाइन | म किताव पढ्न चाहन्थे | म उसले बोलेका कुराहरूको अर्थ जान्न चाहन्थे | म १२७ बटा राष्ट्रहरूवारे बुझ्न चाहन्थें | म ऊ जस्तो बन्ने सम्भावना थिएन, तेसैले मैले ऊबाट किताव पाउने कुरै थिएन |"

अचानक ऊ एक दिन आफ्नो कोठाबाट अलप भयो | मैले धेरै खोजिनिधि गरें तर पत्तो लागेन | कोठामा कितावैकिताव थिए | एउटा पुरानो बाकसभित्र मैले खोजेको किताव जतनपूर्वक राखिएको रहेछ | खासमा रातोरङ्गको त्यो किताव निकै फरक थियो | मैले निकालेर पढ्दै गएँ | त्यो कितावको पेज नंवर ५२ मा एसरी लेखिएको रहेछ -
"उनी विश्वका ज्योति हुन् | इतिहास र सभ्यताहरूले उनीलाई नाघ्न मिल्दैन | अव यो मुलुकमा इतिहास, धर्म, संस्कृतिको आरम्भ गर्नु पर्ने छ | पुरानाहरूलाई निमिट्यान्न नपारी यो हुने छैन | विश्वका अरू सबै सभ्यता र इतिहास झूटो हुन् | झूटो धर्म, संस्कृति र राजनीतिमा विश्वास गर्नेहरूले राज्यमा प्रवेश पाउन सक्ने छैनन् | हो, बरू पहाडलाई सियोको टुप्पोबाट निकाल्न सकिएला तर यो कितावको आदेश नमान्ने मान्छेहरू, संस्कृतिहरूले नयाँ राज्यमा ठाउँ पाउने छैनन् |" संसारका मान्छेसंग विकल्प छैन |"
अनि, यसै पेजसंग हातले लेखिएको एउटा खेस्रो रहेछ | निकै परिश्रम गरेर लेखिएको भए पनि ती केटाकेटीले बडो परिश्रम गरेर लेखेजस्तो थिए | सायद यी अक्षरहरू "पाहुना"कै हुनुपर्छ | मैले परिश्रम गरेर पढें | सायद यो उसको आगामी कार्ययोजना थियो | लेखिएको थियो -  

(१)  जातजातिहरू बीच भाषा, भूगोलको र रूपरंगको वहस निकालेर "मेरो मात्रै ठूलो भाषा" भन्न सिकाउनु, उनीहरूले ध्यान दिएर सुन्ने छन् | 
(२) जुन मान्छे जुन ठाउँमा भए पनि उसको नाक र बोली हेरेर उसलाई एउटा भूभाग उसको हो भनेर सिकाउँनु र उसलाई तेस ठाउँको राजा बनाउने बाचा गर्नु | जतिसक्दो धेरै राजाहरू बनाउनु | जतिधेरै राजा हुनेछन्, तेति नै धेरै कालो कितावको विजय हुनेछ |
(३) विश्वको एउटा मात्र ईश्वरका छोराले स्थापित गरेको धर्मलाई सगरमाथामा पुर्याउने उद्देश्यले काम गर्नु | यो भन्दा असल काम इतिहास आरम्भ गर्न अरू केही हुने छैन | विश्वमा दुईबटा मात्र छोरा छन् एकजना २०२० वर्ष अगाडी जन्मिए र दोस्रो २०२ वर्ष अगाडी जन्मिएका हुन् | मेरो जीवन यी दुईका लागि समर्पित छ | मेरो जीवनको उद्देश्य कालो र रातो किताव नै हुन् |"
(४) यदि सगरमाथामा कितावहरूको  प्रभुत्व स्थापित गर्नु छ भने जतिभाषा छन् तेतिनै राष्ट्र हुनेछन् भनेर आश्वासन दिनु | उनीहरू एकआपसमा लड्ने छन् | समयलाई चिन्नु , तर सोझै नबोल्नु | यी मान्छेहरू वहादुर छन् |  कुरा दुईअर्थे हुनुपर्छ रातो र कालो दूवै कितावहरू तेत्तिकै महत्वपूर्ण छन् | 
(५) उनीहरू लडिरहेको वखतमा  हरेक घरमा गएर "किताव" बाड्नु र सुनका टुक्राहरू पनि दिनु | तर विश्वास भएका र कुरा नकाट्नेलाई भने अलि धेरै सुनका टुक्राहरू दिनु किनभने उनीहरू दास हुन् | 
(६) आफ्नो विश्वासपात्र "सुनको टुक्रा" लिने र "कितावको कसम खाने"लाई मात्र बनाउनु | आफ्नो बोलीमा "अधिकार, लोकतन्त्र, प्रजातन्त्र, उन्मुक्ति" स्वतन्त्रता, समाजवाद"जस्ता शब्दहरू प्रयोग गर्नु | मान्छेहरू यी शब्दबाट लोभिन्छन् | लोभी मान्छेहरूको भीड नै शक्ति हो |
(७)  जन्म इतिहासको पुनर्लेखन गर्न भएको हो | विश्वको इतिहास छ हजारवर्षको मात्र हुन्छ | पुराना संस्कृति र सभ्यताहरू "प्रगतिमा" बाधक छन् | उन्मुक्तिको अर्थ हो - पुरानो संस्कृति र सभ्यताबाट मुक्ति र "कितावले देखेको इतिहासको स्थापना |"
(८) विश्वास र विश्वासघातमा केही फरक छैन | विश्वास तिनैको गर्नु जसले सहयोग गर्छन्, प्रश्न गर्दैनन् र आँखा चिम्लेर विश्वास गर्छन् | जतिसुकै विश्वासिलो भए पनि "प्रश्नकर्ता" उपयोगी हुँदैनन् | सफाया गर्नु र आवश्यक परेमा विश्वासघात गर्नु |
(९) जित्नेहरूको लागि यो कितावका एकएकअक्षर मूल्यवान् छन् | २०२० वर्ष अगाडिको एउटा मान्छेले एस्तै भविष्यवाणी गरेको थियो "तिमिले मलाई सगरमाथा भेट दिनु, म तिमीलाई मुक्ति दिन्छु "| खुसी हुनुपर्छ, यो मौकाको प्रतिनिधित्व मैले पाएको छु | विश्वभरीका "विश्वासी" एक छौँ |
(१०)  यो ५२ पृष्ठको पाठ्यसामग्रीहरू लेख्ने कामचाहिं पृष्ठ सङ्ख्या ४ बाट भएको थियो | अव मैले  तेहाबाट सन्दर्भ का लागि मात्र फर्किनु पर्छ  | तेस्तै पृष्ठ सङ्ख्या २९ पनि निकै महत्वपूर्ण छ तर त्यो हारेका मान्छेहरूको इतिहास हो | मेरो इतिहास त यही अर्थात् पृष्ठ ५२ बाट नै आरम्भ हुन्छ | तर पनि पृष्ठसङ्ख्या १८४८ चाहिं निकै महत्वपूर्ण छ | यो अनुवाद गरेर अर्को कितावसंगै घरघरमा दिनुपर्ने छ |"
(११) एक पटक कितावलाई स्वीकार गरिसकेपछि अल्मलिने काम छैन |  मसंग अगाडी बढ्ने विकल्प मात्र वांकी छ  | अवरोधहरूलाई कठोरतापूर्वक हटाउँ | मान्छेहरूलाई एकआपसमा भिडाउँ, एकअर्कोलाई हत्या गर्न प्रेरित गर | शक्ति बन्दुकको नालबाट आउँछ | घृणावादी र युद्ध उन्मादीहरू चिन | सुनका टुक्राहरू देऊ तर याद राख आफ्नो असली परिचय भने कहिले पनि उजागर नगर्नु |"

मलाई कितावको भाषा अचम्म लागिरहेको थियो | मैले उल्लेख गरिका पेजहरू खोजें | ती पृष्ठहरू छंदै थिएनन् | तेसमा केवल ७३ पृष्ठमात्र थिए | कालो किताव तेहा भेटिएन | अनि, १८४८ संख्या भएको पृष्ठ कसरी खोज्ने ? मेरो दिमाख चक्करायो | मैले आँखा चिम्लेर २०२० अगाडी इतिहासको जग राख्ने मानिस र पृष्ट सङ्ख्या १८४८ को विषयमा सोच्न थालें र मैले चिनेको मान्छेको परिचयका विषयमा सोच्न थालें |
क्रमशः


(copyright) 

Tuesday, September 22, 2020

पिंजडाको सुगाको कथा

एउटा प्राचीन इतिहास भएको, आफ्नै धर्म, संस्कृति, विज्ञान र पहिचान भएको एउटा राष्ट्र थियो | जनता खुसी थिए, मिलेर बसेका थिए तर वाहिरका मान्छेसंग कुनै सम्बन्ध थिएन | हालै सरकारले विदेशीहरूका लागि ढोका खोलेको थियो | अनि,

(१) एउटा नचिनेको मान्छे आयो | उसंग एउटा किताव थियो | त्यो अचम्मको मान्छे र उसको किताव देखेर मान्छेहरू झुम्मिए | उसले भन्यो "यो कितावमा तपाईंहरूको विकासको खाका कोरिएको छ | म यो किताव सिकाउँन आएको हुँ" मान्छेहरूले पत्याए | उसले किताव पढाउन थाल्यो |
मान्छेहरूले भने यो किताव साच्चिकै काम लाग्ने रहेछ | यसले हाम्रो विकास गर्छ |


(२) उसले मान्छेहरूको अगाडी किताव खोलेर पढ्यो "तिमीहरू यदि प्रगति, विकास, रोक, शोक र गरिवीबाट मुक्ति चाहन्छौं भने आफ्नो अधिकारका लागि लड | अधिकारको लडाईमा पैसा चाहिन्न | तिम्रो छिमेकीले तिम्रो शोषण गरिरहेको छ | तिम्रो लोग्नेले तिम्रो अधिकार हनन गरिरहेको छ | विद्रोह गर्नुनै आधिकार स्थापनाको आरम्भ हो |
मान्छेले पत्याए, अधिकारको लडाई लड्न थाले | एकअर्काप्रति अविश्वास, घृणा तथा रीस बढ्यो |

(३) मान्छे फेरी आयो उसले आफ्नो किताव खोलेर फेरी पढ्यो "अधिकार प्रदान गर्न सरकारलाई दवाव देऊ | हामी तेसको लागि चाहिन्ने रकम अनुदानमा दिन्छौं | आफ्नो भाषा, भूगोल, जातजाति र पहिचानका लागि सङ्घर्ष गर | तिम्रा संस्कृति र तिम्रो इतिहास तिम्रो अधिकारमा बाधक छ | उनीहरूले तिमिलाई दवाएका छन् |
मान्छेहरूले पत्याए | मान्छेहरू सरकार माथि खनिए | छिमेकी माथि खनिए | आफ्नै इतिहास र संस्कृतिप्रति खनिए | त्यो मान्छेले भत्ता दियो | मान्छेहरू खुसी भए | किताव बोक्ने मान्छेले हामीलाई सहयोग गर्ने रहेछ | आहा, अधिकारका लड्दा धन पाइने रहेछ भन्नेले सोचे |

(४) फेरी तेही मान्छे आयो उसले किताव खोलेर पढ्यो "राष्ट्रहरूले ऋण लिएर आफ्नो विकास गर्छन् | राष्ट्रसंग पैसा भयो भने जनताले सुविधा प्राप्त गर्छन् | अव तिमीले आफ्नो कुरा मान्ने सरकार बनाऊ | चुनाव गर्न हामी पैसा दिन्छौं |"
जनताले प्रजातन्त्र ल्याए र नेताहरूले विदेशीहरूबाट आफ्नो देशको विकासका लागि ऋण ल्याए | जनताहरू विकास हुनेमा ढुक्क भए |

(५) फेरी पनि त्यो मान्छे आयो उसले विकास नभएर आजित जनताका सामु आफ्नो किताव खोलेर पढ्यो "ऋण लिंदा आफु खुसी गर्नेले फेरी ऋण पाउन्नन् तेसैले ऋणीले ऋण दिनेको शर्त मान्नुपर्छ | ऋणदातासंग शर्तहरू मान्ने करारनामा नभएर काम विग्रियो |" अनि, उसले आफ्नो गोजीबाट एउटा "पवित्र किताव" निकालेर दिंदै भन्यो "तपाईंहरूले हाम्रा ईश्वरको आदेश पालन गर्नुपर्छ | अव हाम्रो परमेश्वरले तपाईंहरूलाई मार्गदर्शन गर्नुहुने छ | ऋणमुक्त पार्ने शक्ति हाम्रो परमेश्वरमा छ |"
जनताले चुनेको सरकारले सबै शर्त मान्यो | शर्त मान्नेहरू पुरस्कृत भए | विदेशमा शयर गर्ने अवसर प्राप्त गरे | पवित्र पुस्तक बोकेका मान्छेहरू सुनका टुक्राहरू गाउँगाउँमा  छिरे | ऋण ((पाप) मुक्तिका सपना सुनाए |  जनताले सोचे अव विकास हुन्छ |

(६) तैपनि देशको विकास भएन | त्यो अचम्मको मान्छे र उसको किताव गाउँगाउँमा च्याप्छ्याप्ति भयो | मान्छेहरू किताव बोकेर गरिवी, ऋण र पाप मुक्तिका लागि भनेर गाएर नाँच्न थाले | तर मान्छेहरू खुसी भएनन् | फेरी त्यो मान्छे तेही किताव बोकेर आयो र पढेर सुनायो "ऋण लिनेले समयमा ऋण तिर्न सक्नुपर्छ | होइन भने कालो सूचिमा पर्छन् | आफु भोकै मरेर पनि ऋण तिर्नुपर्छ | परमेश्वर रिसाउनु भयो | अव परमेश्वरको नाममा थप ऋण लिनुपर्छ |"
किताव खोलेर पढ्ने मान्छे र राष्ट्रको नाममा ऋण लिन अख्तियारी पाएका नेताहरू बीच हेराहेर भयो | दूवै मुसुक्क हाँसे | फेरी पनि ऋण थपियो | ऋणको रेखदेख गर्न मान्छेहरू थपिए | ऋण गाउँगाउँमा पुग्यो | मान्छेले भने "अव विकास हुन्छ |""

(७) समस्या निराकरण भएन | गरीव गरीव नै रह्यो | मान्छे दिक्क मान्न थाले | फेरी पनि तेही सुकिलो मान्छे किताव बोकेर आयो | अव उ कठोर थियो | किताव खोलेर पढ्यो -"अन्तराष्ट्रीय कानुन अनुसार ऋण तिर्न नसक्ने राष्ट्रहरू विरुद्ध प्रतिबन्ध लगाइन्छ | भोकभोकै वसेर भए पनि जनताले ऋण त तिर्ने पर्छ | अव तपाईंहरूले हाम्रा सबै शर्त मान्नुपर्छ | हाम्रो धर्म, संस्कृति, संस्कार सबै तपाईंहरूका लागि स्वीकार्य हुनैपर्छ | तपाईले हुन्न भन्ने अधिकार गुमाइसक्नु भएको छ |"

अनि उसले आफ्नो उसले आफ्नो गोजीबाट अन्तराष्ट्रीय कानुनको झ्यालखाना दियो जसले राष्ट्रलाई नै कैद गर्ने हैसियत राख्थ्यो | ऋण तिर्न नसक्नेले जेलसजाय भोग्नुपर्छ | अरूसंग ऋण लिएर मोज गर्नेले झ्यालखानामा थुनिनुपर्छ | उ आफ्नो देशतिर लाग्यो | 

तेतिनै बेला लामो दारी पालेका लेखनाथ कविले आत्तिएको र चर्को स्वरमा "बालक बबुरो द्विज सुकुनामा म परेको छु पिंजडामा | मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन" गाउँदै गरेको सुनेर जनताहरू छक्क परे | घरबाट वाहिर र वाहिरबाट सडकमा निस्किएर |

(८) आजै पनि मान्छेहरू सडकमा निस्किएर एताउति बुझ्न थाले | तर कवि अलप भैसकेका थिए | तेतिकैमा एउटा अग्लो घरको वार्दालीमा तेही अचम्मको मान्छे र केही चिनेका सुकिला मान्छेहरू देखिए | अचम्मको मान्छेले सधैंजस्तै हातमा किताव समातेको थियो र  सुकिला मान्छेहरूबाट घेरिएको थियो | अनि, लेखनाथ कविलाई खोज्न वाहिर निस्केका मान्छेहरूतिर फर्केर त्यो अचम्मको मान्छे चिच्याएर आफुले समातेको पुस्तक  चर्को स्वरमा पढ्न थाल्यो - “प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, अधिकार र जनताले चुनेको सरकारको कुनै विकल्प छैन | जनताले चुनेको सरकारको विकल्प खोज्न सकिन्न | चुनेको सरकारको निर्णय जनताको निर्णय हुन्छ |”
अनि, सुकिला मान्छेहरू पनि चिच्याएर बोले ““हो, हो, प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, अधिकार र जनताले चुनेको सरकारको कुनै विकल्प छैन | जनताले चुनेको सरकारको विकल्प खोज्न सकिन्न | चुनेको सरकारको निर्णय जनताको निर्णय हुन्छ |”

वाहिर मान्छेहरू गाइरहेका थिए "बालक बबुरो द्विज सुकुनामा म परेको छु पिंजडामा | मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन || मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन ||"

अचम्मको मान्छेको कथा र तेसमा विश्वास गरेर कथा सुन्नेहरू थाकेका छैनन् | कथा चलिरहेको छ |


Wednesday, September 9, 2020

आत्महत्या रोक्ने वैदिक सूझाव

विश्व स्वास्थ्य संस्थाकाअनुसार हरेक वर्ष करिव आठलाख मान्छेले आत्महत्या गर्छन् अर्थात् हरेक ४० सेकेन्डमा एकजना मान्छेले आफुलाई मार्छ | यस हिसावले हरेक दिन १२३ जनाले आत्महत्या गरेर आफ्नो भौतिक जीवन समाप्त पार्छन् | वदलिँदो जीवनशैली, मानसिक तनाव, निराशा, आर्थिक समस्या, विभिन्न महामारीको डर तथा अन्यधे धेरै कारणहरूले आत्महत्या गर्छन् | नेपालमा पनि हरेक दिन सरदार ७-८ जना मान्छेले आत्महत्या गर्छन् भन्ने विश्वास गरिन्छ | आत्महत्याको चर्को मूल्य हुन्छ | विज्ञहरूले एकजना मान्छेले आत्महत्या गर्दा लगभग १०० भन्दा बढी मान्छेहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित हुने तथ्यवारे इङ्गित गर्छन् | सरकारहरूका लागि आत्महत्या रोक्नु निकै चुनौतिपूर्ण छ | 

नेपाल प्राचीनकालदेखि नै हिन्दू, जैन बौद्ध तथा किरातीहरूको वासस्थल हो | वेदका विचारहरू पढ्दा प्राचीनकामा पनि मान्छेहरूले आत्महत्या गरेर जीवन अन्त्य गर्दा रहेछन् र तेस्तो क्रियाकलाप तत्कालीन समाजलाई स्वीकार्य थिएन र तेसलाई “पाप” भनेर निन्दा गरिन्थ्यो भन्ने जानकारी पाइन्छ | आत्महत्याका सवालमा वैदिक संस्कृतिमा के-कस्तो अवधारणान् ? यस विषयमा मैले केही प्रमाणिक विचारहरू यहाँ प्रस्तुत गरेको छु |

वैदिक सभ्यता र संस्कृतिमा प्राचीनकाल देखिनै आत्महत्याको कठोर निन्दा गरिएको छ | हिन्दू धर्म र संस्कृतिले आत्महत्यालाई निरुत्साहित गर्छ | अथर्ववेदसहित अनेकौं ठाउँमा आत्महत्यालाई निरुत्साहित गर्ने अनेकौं कथनहरू उपलब्ध छन् | यी कथनहरू मध्ये सबै भन्दा पूरानो श्लोक अथर्ववेदमा आएको छ | संस्कृतमा लेखिएको यो श्लोक र तेसको अर्थ यसरी छ : 
“असुर्या नाम ते लोका अन्धेन तमसावृताः। तांस्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः || (यजुर्वेद ४०/ ३, ईशावास्योपनिषद् -३) अर्थ – असुरहरू अर्थात् नराम्रो विचार, कर्म र गुण भएका व्यक्तिहरू निवास गर्ने ठाउँहरू अत्यन्त अध्यारो र फोहोर हुन्छन् | आफ्नो आत्मालाई मार्ने (आत्महत्या गरेर आफुलाई मार्ने व्यक्ति) आफुलाई मारेपछि उपरोक्त कमसल लोकमा जान्छन् अर्थात् नर्कमा जान्छन् |”

यो श्लोक पुन: सबैभन्दा प्राचीन ईशावास्योपनिषदमा समेटिएको छ | एघारबटा उपनिषद्को व्याख्या गरेका विश्वप्रसिद् अद्वैत सम्प्रदायका प्रथम आचार्यशङ्करले अथर्ववेद र ईशावास्योपनिषदमा (३) उल्लेखित आत्माहत्यालाई पाप हो भन्दै उल्लेख गरिएको श्लोकको व्याख्या गर्दै लेख्नुहुन्छ : “जुन सुकैले आत्माको घात गर्छ उनीहरू आत्मघाती हुन् | ती को हुन् ? ती अज्ञानी हुन् | उनीहरूले आफ्नो आत्माप्रति कसरी हिंसा गर्छन् ? अविद्या र अज्ञानरूपि दोषका कारण आफ्नो नित्य आत्माको तिरस्कार गर्छन् | आत्माघातजस्तो दोषका कारणनै ती जन्ममरणमा पर्छन् |” आत्महत्या गर्ने व्यक्तिको आत्मा अत्यन्त गहिरो अन्धकार भएको त तमोगुणले भरिएको कमसल लोकहरूमा पुग्छन् |

ईशावास्योपनिषदले आत्महत्याको निन्दा मात्र गरेको छैन अपितु आत्म हत्याबाट जोगिन के कसो गर्नुपर्छ भन्ने सुझाव पनि दिएको छ | 

१. सम्पूर्ण विश्वलाई परमात्माको विस्तार मान्नु – यदि मैले आफुमा ईश्वरको शक्ति र वासना फैलिएको अनुभूति गरें भने मैले आफुलाई मार्न चाहन्न किनभने ईश्वर अजरअमर र दयालु छ | आत्मवास्यमिदं विश्वं अर्थात् यो विश्व आत्माको प्रतिविम्व हो भन्ने निश्चय नै आत्महत्या गर्नबाट व्यक्तिलाई जोगाउँछ |

२. मृत्युपछिको जीवन : शरीरलाई मारेर जीवनको अन्त्य गर्दैमा दुख, कष्ट तथा पीडाहरू सकिन्नन् | भौतिक शरीरको अन्त्य गरेपछि नर्कमा गएर झन् कठोर दुखहरू भोग्नुपर्छ | अत: भविष्यमा आत्माले पाउने असंख्य दुखहरूबाट जोगिन आत्महत्या गर्न हुँदैन |

३. असल कर्म गरेर १०० वर्ष बाँच्न सकिन्छ भन्ने भावना : वैदिक संस्कृतिमा हरेक मान्छेको आयु १०० वर्षको हुन्छ भनेर मानिएको छ | आफ्नो मानव जीवनमा (पशु जीवनहरू दुखमय छन्) स्वाभिमानी भावना राख्नुपर्छ र सयवर्ष बाँचेर असल कर्म गर्ने मनोवल बढाउनुपर्छ | एस्तो मनोबल बढेपछि मान्छेले आत्महत्याजस्तो पापकर्म गर्दैन |

४. आत्मतत्व मर्दैन भन्ने चेतना : शरीर मरेपछि सबै दुखहरूको अन्त्य हुन्छ भन्ने सत्य होइन | आत्मा अजरअमर छ | जव अजरअमर आत्मा मर्ने सक्दैन भने हामीले आत्माको घर शरीरको अन्त्य गरेर कुनै प्रकारको लक्ष उपलब्धि गर्न सक्दैनौं |

५. आत्मतत्व नै सबैभन्दा नजिकको मित्र हो भन्ने विश्वासलाई बलियोसँग स्वीकार गर्ने अभ्यास गर्दा आत्महत्या निरुत्साहित हुन्छ | आफ्नै शरीरको अन्त्य गरेर आफ्नो पनि भलो हुँदैन भन्ने मानसिकताको विकास गर्न यस विषयमा वारम्वार संवाद गर्नुपर्छ | 

६. सम्पूण विश्वमा आफ्नै आत्मा फैलिएको अनुभव र विश्वासको अभ्यास गर्ने व्यक्तिले आफ्नो आत्मालाई समेत हिंसा गर्न सक्दैन | यदि कसैले आफ्नो शरीर नष्ट गर्छ भने उसले एउटा सानो विश्वनै मासेको पाप गर्छ | 

७. आत्महत्या पाप हो भन्ने चेतनाको विकास र स्मरण : हरेक धर्म र संस्कृतिमा पाप-पूण्य, धर्म-अधर्मको चेतना हुन्छ | वैदिक संस्कृतिमा पनि धार्मिक अधार्मिक कर्ममा विश्वास गरिन्छ | आत्महत्या गर्ने विचार गरिरहेका वा आत्महत्या गर्न तम्तयार व्यक्तिमा "आत्महत्या पाप र अधर्म हो, एसले मलाई नर्कमा लैजान्छ" भन्ने विचारले आत्महत्या रोक्न मदत गर्न सक्छ | एसको वैधताको लागि अनुसन्धान आवश्यक छ | 

८. प्रसिद्ध हिन्दू ग्रन्थ गरुडमहापुराणमा विभिन्न पापकर्म र ती पापकर्महरूको सूचिमा आत्महत्या पनि राखिएको छ | "आत्महत्या गर्ने आत्मालाई आत्महत्या गरेको पापमा यमदूतहरूले कुम्भिपाक नर्कमा (उमालेको तातो तेलमा पकाउने) एकहजार वर्षसम्म यातना दिनेछन्" भनेर आत्माहत्याबाट जोगिन प्रेरित गरेको छ | भविष्यमा दण्डित हुने डरको धार्मिक विश्वासले पनि आत्महत्या रोक्न मदत गर्छ |

वैदिक संस्कृतिमा आत्महत्याको निन्दा गरिएको छ | वेद र उपनिषदहरूले निकै व्याबहारिक रूपमा आत्महत्यालाई निरुत्साहित गर्न व्यक्ति स्वयंले (आध्यात्मिकतहमा) आफुले विश्वलाई प्रतिविम्वित गर्ने र विश्वले आफुलाई प्रतिविम्वित गर्छौं भन्ने विश्वासलाई बलियो बनाउनुपर्छ | शरीरको निर्माता शरीरधारी आफै होइन तेसैले आफुले निर्माण नगरेको वस्तु (शरीर) नष्ट गर्ने विचार र नष्ट गर्नेकार्य दूवै पाप हुन्छन् भन्ने वैचारिकतहमा विश्वास स्थापित गर्दा आत्महत्या निरुत्साहित हुन्छ | व्यक्ति आफै आत्महत्याको विचार र क्रियाबाट निरुत्साहित हुन्छ र जीवनप्रति विश्वास गर्न थाल्छ |

हरेक दिन अनेकौं व्यक्तिहरूले आत्महत्या गरेर आफ्नो जीवनको अन्त्य गरिरहेका छन् | आफ्नो अमूल्य जीवनप्रति अन्याय गरिरहेका छन् | हामीले उपरोक्त वैदिक संस्कृतिका आत्महत्यालाई निरुत्साहित गर्ने विचार र सुझाउँहरुलाई जनजनतहमा पुर्याएर अनेकौंको जीवन जोगाउन सकिन्छ र जीवन प्रति सकारात्मक चेतना स्थापित गर्न सकिन्छ |

Tuesday, June 30, 2020

तीनबटा विद्वान एउटा मूर्ख

हितोपदेशमा चार ब्राह्मणहरूको कथा छ | ती मध्ये एकजनाले अलग भएका वस्तुहरू जस्ताको तस्तै जोड्न सक्थे | अर्काले तेसलाई प्राकृतिक आकार दिन सक्थे | तेस्रोमा जोडिएको वस्तुमा प्राण दिन सक्ने क्षमता थियो | ती मध्ये एकजना संसार देखेका बुद्धु थिए |

गूरुकुलको शिक्षा सकेर हिड्दा कुलपतिले भन्नुभएको थियो "बाबु हो ! तिमीहरू विद्वान छौँ तर विद्याको प्रयोगचाहिं कसरी गर्ने भन्ने वारे बुझेका छैनौँ | सोचेर, सम्झेर मात्र विद्याको प्रयोग गर्नु हैं |"

चारै जना जङ्गलको बाटो हुँदै आफ्नो गन्तब्यतिर लाग्दै थिए | भोकप्यासले सताएपछि सामल खान एउटा पिपलको रुख भेटें | खाँदै गर्दा एउटा कंकाल देखियो | तीनैजनामा आफ्नो विद्याप्रयोग गर्ने दम्भ बढेर आयो |

बुद्धु साथीले भन्यो "यो जङ्गलका विचमा अनाहक किन शक्ति खर्च गर्ने ?" तर उसलाई कसैले वास्ता गरेन | पहिलेले आफ्नो विद्या प्रयोग गरेर कंकालका हड्डीहरू जोडीदियो | बुद्धुले भन्यो " मांसाहारी बाघ हो, एसले कसैमा दया गर्दैन" |

दोस्रोले आफ्नो शक्ति प्रदर्शन गर्दै बाघको कंकालमा मासु भरिदियो | बुद्धुले भन्यो "बाघ हो भन्ने थाहा भयो | अव एसमा प्राण भर्नु हुँदैन | तर तेस्रोले उसको कुरोमा वास्ता नगरी जीवन फुक्न थाल्यो र भन्यो "विद्वानहरूको सबैले आदर गर्छन् |"

चौथोलाई एउटा संस्कृतको बाक्य आउंथ्यो "अल्पविद्या भयङ्करी अर्थात् अब्यबहारिक ज्ञान भयङ्कर हुन्छ | उ दौडेर तेही रुखमा चढ्यौ र मित्रहरूलाई पनि आग्रह गर्यो | तर उसको वास्ता भएन |

अन्तत: विद्या सफल भयो | बाघमा जीवन आयो | भोको बाघले तीनै जना विद्वानहरूलाई तुरुन्त मारेर खायो | विद्या पनि रहेन, जीवन पनि रहेन |

अहिलेको नेपाली शिक्षा लगभग यही गतिमा छ | पढ्ने र पढाउने दूवैले अमेरिका, बेलायत वा अस्ट्रेलियाको लागि जनशक्ति उत्पादन गर्ने काम गरिरहेका छन् |

विदेशी विश्वविद्यालयमा पढेर नेपाल आउनेहरूमा "नेपाली मौलिक रैथाने मूल्यहरू थाहा नहुँदा" नेपाल केवल प्रयोगको विषयवस्तु बनेको छ | नेपाल मै पढेकाहरू पनि "विदेशी पद्यतिको शिक्षा" हुँदा आत्मघाती प्रयोगहरू कै फन्दामा परेका छन् |

नेपाली संरचना र आवश्यकतासंग न्याय गर्ने शिक्षा पद्यति र विषयवस्तु नेपालको आफ्नो इतिहास, मौलिकता तथा रैथानेपनसंग जोडिदैन तवसम्म यो देश "अब्यबहारिक विद्वानहरू"को प्रयोगशाला वनिनै रहने छ |

Tuesday, June 9, 2020

करोना : घृणाको विषय होइन !!

करोना : घृणाको विषय होइन !!
करोनाले सङ्क्रमित हुनु कुनै पाप होइन, देवताले दिएको दण्ड होइन, आतंकवादी फैलाएको रासायनिक आक्रमण होइन | प्रकृतिमा लुकेर वसेका आक्रामक जीवाणुहरू सक्रिय भएर देखा परेका हुन् | करोना यमराज होइन, यमराजको दूत हो | दूतले धेरैजसो भविष्यको सूचना दिने गर्छन् | जसको शरीर, मन तथा आत्मवल कमजोर छ, दूतहरूले चेतावनी दिन शरीरमा प्रवेश गर्छन् |

करोनाको संक्रमणमा पर्ने व्यक्ति आफैमा पीडित हो | एस्तो अवस्थामा विभिन्न वहाना गरेर भेदभाव गर्नु अमानवीय र धार्मिक दृष्टिकोणले पाप हो | जीवाणुबाट जोसुकै मान्छे विरामी पर्न सक्छ | त्यो म वा तपाईं जो-कोही पनि हुन सक्छौं |

करोना संक्रमितप्रति घृणा गर्ने, अरूलाई घृणा गर्न उक्साउने र सहयोगी व्यबहार प्रकट गरेर सङ्क्रमित व्यक्तिलाई रोगबाट लड्ने क्षमता प्रदान गर्नुको सट्टा भेदभव गर्नेलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्नुपर्छ | यदि सरकारले कार्वाही गर्दैन भने विभेदकारीहरूलाई ईश्वरले दण्ड दिन्छ |

"म जोगिएको छु वा मेरो परिवार सुरक्षित छ" भनेर सङ्क्रमित प्रति असहिष्णु व्यबहार गर्ने व्यक्ति वा परिवार भोली संक्रमणमा पर्न सक्छ | तेस्तो अवस्थामा हामीले पनि तेस्तै घृणा, असहिष्णुता र सामाजिक वहिष्कार सहनु पर्ने हुन्छ |

तेसैले धर्म, मानवता तथा एउटा सामाजिक प्राणीका रूपमा कोभिड-१९ बाट सुरक्षित रहन सरकार तथा स्वास्थ्यविदहरूले "यो गरौँ" भनेका सबै नियमहरू पालन गरौँ र आफ्नो छिमेक, टोलमा यदि कुनै व्यक्ति कोरोना सङ्क्रमित छ भने सक्दो सहयोग प्रदान गरौँ |

सम्वन्धित व्यक्तिलाई जीवनप्रति हौसला प्रदान गरौँ, सम्वन्धित व्यक्तिका परिवारसंग शारीरिक दूरी बनाएर भरपर्दो भौतिक, मानसिक तथा सामाजिक सहयोग गरौँ | सङ्क्रमित प्रति हामीले जति प्रेम तथा सद्भावना प्रकट गर्छौं तेतिनै उसको आत्मबल बढ्छ र रोग तथा मृत्यु पराजित हुन्छ |

संस्क्रमितका लागि सहानुभूति होइन समानानुभूति प्रदर्शन गरौँ | "करोनाले एति मान्छे मरे" भनेर कुरा गर्नुभन्दा करोनाबाट "एति निको निको भएर घर गए" भन्ने विषयमा परिचर्चा गरौँ | मर्नेको तुलनामा मृत्युलाई जित्नेको सङ्ख्या अत्याधिक छ |

करोना कहर अवश्य हो तर एसले हामी मानव समाजलाई प्रकृति तथा आफ्नै जातिप्रति परोपकारी भएर प्रस्तुत हुन र सहयोगी भूमिकामा प्रस्तुत हुन अवसर प्रदान गरेको छ | धनि गरीव, छुत-आछुत, वर्णआदिका सबै सीमाहरू प्रकृतिले भंग गरिदिएको छ |

सतर्कता अपनाऔं र करोना सङ्क्रमितहरूप्रति हदैसम्मको सहयोगी क्रिया र भावना व्यक्त गरौँ | यदि तपाईं र म स्वास्थ्य छौं भने दिनको १० मिनट सङ्क्रमितको सु-स्वास्थ्यको लागि परिवार मिलेर प्रार्थना गरौँ | हरेक सङ्क्रमित निको भएर घर पुग्दा छोराछोरी, आमावुवा, श्रीमान् श्रीमती र अन्य परिवारका व्यक्तिहरुले खुसीको आँसु बगाउँदै सम्वन्धित व्यक्तिलाई स्वागत गरिरहेको दृश्य सम्झौं |

हामीले आफैलाई त्यो खुसीको अंसियारका रूपमा पाउने छौँ |

Saturday, June 6, 2020

उपेक्षा गरिएको सत्य : गाउँले बुढ्यौली


उपेक्षा गरिएको सत्य : गाउँले बुढ्यौली 

पश्चिमा संस्कृतिसंग जोडिएको आधुनिकताको नेपालमा प्रवेशसंगै नेपाली परिवारका धेरै परम्परागत प्रणालीमा सीधा प्रहार भएको छ | सरकार, शिक्षा र पश्चिमा मिडियाहरूले "व्यक्तिगत तथा स्वतन्त्र एकल परिवार"लाई प्रमोशन गरेकोले अनेकौं समस्या निम्तिएका छन् |

"अमुक पतिपत्नी र तिनका बालबालिका"लाई परिवार मान्ने र मातापिताको उत्तरदायित्व केवल "आफ्नो परिवार"भित्र सीमित पार्ने पश्चिमा मोडेलको विस्तारले गर्दा नेपाली समाजमा सबैभन्दा बढी "बृद्धवृद्धा"हरू सबैभन्दा बढी समस्या ग्रस्त भएका छन् |

धेरैलाई "शहरिया" बृद्धवृद्धाहरू बढी पीडित होलान् भन्ने अनुमान गर्छन् तर अव यो असत्यलाई चिर्ने वेला आएको छ | सम्पन्न मुलुकमा कामदारका रूपमा सुविधा सम्पन्न देशमा जाने जाने र तेहाबाट एकल परिवारको सिको सिकेका युवावर्गले बूढा भएका आफ्ना मातापितालाई गाउँमा छोडेर "श्रीमती र छोराछोरीसंग" शहर वसाई सार्ने प्रक्रिया बढेको छ |

अहिले शहरी संघसंस्थाले बृद्धवृद्धाको समस्या केवल शहरी र सम्पन्न वर्गमा रहेको आधारमा "बृद्धवृद्धा"को व्यबस्थापन वारे चर्चापरिचर्चा गरिरहेका छन् तर दूरदराज गाउँका बृद्धवृद्धाहरूले भोगिरहेका समस्याहरू वारे खासै चासो दिएको देखिन्न |

व्यक्तिगत सुखको तीब्रतर लोभमा परेका गाउँले युवाहरूले आफ्नो परिवार लिएर शहरिया बन्ने गति निकै भयावह छ | गाउँमा केवल बृद्धवृद्धाहरू छन् र तिनले खेतीपातीको समेत जिम्मेदारी पुरा गर्नुपर्ने दायित्व वहन गरिरहेका छन् | एसले गर्दा गाउँले बृद्धवृद्धाहरूमा शारीरिक तथा मानसिक समस्याहरू बढ्दो छ |

केही दिन अगाडी शहरमा वस्ने छोरालाई सघाउन आएकी ८१ वर्षीय आमालाई छोरा (लकडाउनको वेलामै) छ पटक कुटेर घरबाट निकाली दिए | गाउँमा प्रसस्त जग्गाजमिन भएर पनि उनीले माग्दै जीवन विताउदै थिइन् | पछि एउटा सामाजिक संस्थाले ऊद्धार गर्यो |

अर्को उदाहरण " अमुक गाउँको एउटो परिवारले दुखजिलो गरेर छोराछोरी पढायो | तर ती सबै शहरमा भासिए | शरीर स्वाथ्य रहँदासम्म काम गरे, शरीर थलियो तर छोराछोरी फर्केनन् | अन्तत: ९१ वर्षीय बृद्धाको सुसार नै नपाई मृत्यु भयो | मृत्यु भएको तीन दिनपछि क्रियाकर्म गर्न छोराछोरी आए | छोराछोरीमा कुनै पछुतोको भाव देखिएन |

अहिलेका धेरैजसो बृद्धवृद्धाहरू सामूहिक परिवारमा हुर्केका हुन् र आफ्ना बालबालिकालाई पनि तेस्तै परिवेशमा हुर्काएका हुन् | सामूहिक परिवारमा रमाएकाहरू एकल परिवार वा शहरिया (एउटा घरभित्र वन्द भएर) वस्न सक्दैनन् र कोठामा मन रम्दैन | गाउँमा एक्लो हुन्छन् | घरले "खाला जस्तो गर्छ, राती निंद पर्दैन, छोराछोरीको सम्झना आउँछ, नातिनातिनीको मुख हेर्न मन लाग्छ तर नातिनातिनाले हाम्रो वास्ता गर्दैनन् - पर्वतको पैयुका ७२ वर्षीय बृद्धले आँसु बगाउँदै मसंग भनेका थिए |

शहरमा जन्मेका हुर्केकाहरुका लागि गाउँ रमाइलो "ठाउँ" हुनसक्छ तर गाउँको परिवेशमा हुर्केकाहरूले गाउँका व्याबहारिक समस्याहरूसंग पौठेजोरी खेल्नपर्छ | घरमा भित्रिने चामलका हरेक दानामा कठोर शारीरिक श्रम लुकेको हुन्छ भने दूधघीउको हरेक वूँदमा तेस्तै शारीरिक श्रम लुकेको हुन्छ | शरीरमा बल हुँदासम्म हरेक काम गर्न सकिन्छ तर ताकत नहुँदा साथ भोकै मर्ने अवस्था उपस्थित हुन्छ | तेसैले गाउँले बृद्धवृद्धाका सामु समस्याहरूका पहाड हुन्छन् |

हातमा पैसो हुँदैन र पैसो हुँदा पनि किन्ने ठाउँ हुँदैन | अझै स्वाथ्यसमस्या आयो भने त मर्नु मात्र विकल्प रहन्छ | एसको तुलनामा शहरिया र हुँदाखाँदा बृद्धवृद्धाहरू अलि सुरक्षित ठहरिन्छन् | शहरिया बृद्धवृद्धाहरूसंग टेलिभिजन, फोन, कितावजस्ता घरभित्रका मनोरंजन हुन्छन् र भिडियो कालका माध्यमबाट क्षणिक रूपमा भए पनि एक्लोपन मेटाउने सुविधा छ तर गाउँमा यी सुविधा हुँदैनन् र भए पनि बृद्धवृद्धाले प्रयोग गर्न जान्दैनन् | अन्तत: एकलपनको कठोर मानसिक तथा शारीरिक समस्यासंग जुध्नुपर्छ | उनीहरूसंग जिउँदो हुँदासम्म शारीरिक श्रमको विकल्प हुँदैन | औषधि-उपचार र विश्राम भन्ने कुरा त निकै विलासी ठहरिन्छ |

सरकार होस् वा सामाजिक संस्थाहरू धेरैजसो शहरिया बृद्धवृद्धको समस्याहरू न्यूनीकरणतिर केन्द्रीत छन् | खासगरी शहरियाहरू (हुनेखानेले) सुविधासम्पन्न वृद्धाश्रम वारे वहस गर्न थालेका छन् | दुर्भाग्यवस, नेपाली जनताको अभिभावक मानिने सरकार पनि पश्चिमाशैलीला “ओल्ड-हाउस”को वहसमा सामेल भएको छ | सामूहिक परिवारमा अव्यस्त र आफ्ना छोराछोरी आफन्तको न्यानो छहारीमा “मर्न” रहर गर्ने अभिभावकहरूलाई जवर्जस्ती “ओल्ड-हाउस” नामको जेलखाना कोच्ने षड्यन्त्र हुँदैछ | वास्तविकता के हो भने – गाउँका दोस्रो पुस्ता पनि एस्ता “ओल्ड-हाउस”मा आफ्ना अभिभावकहरूलाई पठाउन तयार छैन |

नेपाली संस्कृति र परिवारको जग सामूहिक-पारिवारिक प्रणालीमा खडा भएको छ | पश्चिमाहरूको नक्कल गर्दै ओल्डएज हाउसको पक्षमा वहस गर्ने बृद्धवृद्धाहरू, आफ्ना बूढा अभिभावकलाई ओल्डएज हाउसमा पठाएर पैसा तिर्न आतुर सन्तानहरू र ओल्डएज हाउसको पक्षमा वहस गर्ने सरकारी पक्षकारहरू सबै नेपाली सामाजिक तथा सांस्कृतिक मूल्यका शत्रु हुन् | विदेशीशैलीको नक्कल गरेर आफ्नो दायित्वबाट उन्मुक्ति चाहने केही “प्रगतिशील”हरूको विचारलाई नेपाली समाजले प्रतिनिधित्व गर्दैन |

शहरिया होस् वा गाउँले हरेक बृद्धवृद्धाहरूलाई आफ्नै परिवारको काखमा मर्ने प्राकृतिक अधिकार छ र तेस्तो अधिकारको सुरक्षा गर्ने काम सरकार तथा स्थानीय सरकारहरूको हो | तेसमा पनि गाउँले परिवेशमा आफ्नो जीवनको अन्तिम अवस्थामा उभिएका अभिभावकहरूले आफ्नो परिवारको काखमा मर्ने व्यबस्था सरकारले नै गर्नुपर्छ | आर्थिकस्तर नराम्रो भएका परिवारलाई आफ्ना अभिभावकहरूको हेरविचार गर्न सरकारले वरू घरमै आर्थिक, स्वस्थ्यागत सहयोगहरू गर्नुपर्छ |

वैदेशिक रोजगार र आधुनिक शिक्षाका कारण टुक्रिदै गरेको परिवारलाई प्रत्यक्ष रूपमा सरकारले जोगाउन सक्दैन तर सन्तानहरूलाई आफ्ना बृद्धभएका आमावुवाहरूको हेरविचार गर्न मदत गर्न सक्छ | खासगरी गाउँले बृद्धवृद्धाहरूको हकमा उनीहरूको बुढ्यौलीलाई सहज र सरल बनाउँन तिनका युवापुस्तालाई स्थानीयतहमै खेतीपाती वा अन्य आयआर्जनको कामका लागि आर्थिक सहयोग गर्नुपर्छ | गाउँ कै चौपारी, मन्दिर, पाटी, वा हेल्थ-पोष्टमा बृद्धवृद्धाहरूका लागि मनोरंजनको व्यबस्था गर्न सकिन्छ | मन्दिरमा सत्संग गर्ने/गराउने, हेल्थपोस्टमा हेल्थ-सम्वन्धि भिडीयो र मनोसामाजिक सहयोगी वार्ता वा परामर्श दिने र महिनाको एक पटक भए पनि परिवारमै पुगेर खोजखवर लिने प्रणाली विकास गर्न सकिन्छ |

परम्परागत गाउँले परिवारमा हुर्केका सन्तानहरूको मन पश्चिमाको झैं स्वार्थी भैसकेको छ भन्ने कुरामा मलाई पटक्कै विश्वास लाग्दैन | वदलिँदो परिवेशमा सन्तानहरूका लागि सजिलो छैन तथापि गाउँमै शहरमा पाइने सुविधाहरूको केवल २०% सुविधा प्राप्त हुने ग्यारेन्टी हुन्छ भने नेपाली युवायुवततिहरू आफ्ना अभिभावकहरूको उत्तरदायित्व लिएर वस्न सहज रूपमा तयार हुनेछन् | एस्तो वातावरण तयार गर्न सर्वप्रथम पश्चिमा मोडेलको “ओल्डएज होम” सबै वहसहरूमा रोक लगाएर पारिवारिक घरपरिवारको परम्परागत प्रणालीलाई प्रोमोट गर्नुपर्छ | धेरैलाई मेरो यो सुझाव परम्परावादी लाग्ला तर नेपाली सामाजिक र सांस्कृतिक मूल्यभित्र “सामूहिक परिवार” मोडेल नै फाप्छ | न्यूक्लियर फेमिलिको पाश्चात्य रोगलाई समयमैं नियन्त्रण गरेको राम्रो |

रोग र बुढ्यौली मान्छेले भोग्नै पर्ने तर कत्ति पनि नरुचाइने अवस्था हुन् | बुढ्यौलीलाई उपयोग गर्न सके उनीहरूका अमूल्य अनुभवहरू सहजरूपमा पुस्तान्तरण हुन्छन् | बुझ्न नसके “खुर्पाको बीड़” ठहरिन्छ | कोरोनाको महासंकटले परिवारहरूलाई एकठाउँमा आउँन वा एकआपसमा संवाद गर्न बाध्य पारेको छ | एकान्तमा वस्दा एकैछिन बूढा भएका आफ्ना अभिभावकको वारेमा सोचौं, उनीहरूले तपाईंलाई हुर्काउन र मान्छे मान्छे बनाउँन गरेको त्याग र सङ्घर्षको मनन गरौँ | सङ्कल्प गरौँ, आफ्ना बूढा अभिभावकहरूको देखरेख घरमै गरिने छ र आफ्नो बुढ्यौली पनि आफ्नै छोराछोरीको काखमा वित्ने छ | खासगरी गाउँका बृद्धवृद्धाहरूप्रति हाम्रो कर्तव्य अझैं गहन र व्याबहारिक हुन आवश्यक छ | कुनै पनि गाउँले बृद्धवृद्धाहरूले आफ्ना सन्तानहरूको माया-ममताबाट टाढारहन नपरोस् भन्ने सङ्कल्प गरौँ |

अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः। चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम् || अर्थात् “जसले दैनिक रूपमा बृद्धवृद्धाहरूको सेवा गर्छ तेसले आयु, यश:, विद्या तथा वल प्राप्त गर्छ” भन्ने नीति कथनलाई सबैले आफ्नो घरमा देख्ने गरी राखौं, आफुले बुझौं र आफ्ना सन्तानहरूलाई पनि बुझाएर मनन गर्न आग्रह गरौँ |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...