Tuesday, September 22, 2020

पिंजडाको सुगाको कथा

एउटा प्राचीन इतिहास भएको, आफ्नै धर्म, संस्कृति, विज्ञान र पहिचान भएको एउटा राष्ट्र थियो | जनता खुसी थिए, मिलेर बसेका थिए तर वाहिरका मान्छेसंग कुनै सम्बन्ध थिएन | हालै सरकारले विदेशीहरूका लागि ढोका खोलेको थियो | अनि,

(१) एउटा नचिनेको मान्छे आयो | उसंग एउटा किताव थियो | त्यो अचम्मको मान्छे र उसको किताव देखेर मान्छेहरू झुम्मिए | उसले भन्यो "यो कितावमा तपाईंहरूको विकासको खाका कोरिएको छ | म यो किताव सिकाउँन आएको हुँ" मान्छेहरूले पत्याए | उसले किताव पढाउन थाल्यो |
मान्छेहरूले भने यो किताव साच्चिकै काम लाग्ने रहेछ | यसले हाम्रो विकास गर्छ |


(२) उसले मान्छेहरूको अगाडी किताव खोलेर पढ्यो "तिमीहरू यदि प्रगति, विकास, रोक, शोक र गरिवीबाट मुक्ति चाहन्छौं भने आफ्नो अधिकारका लागि लड | अधिकारको लडाईमा पैसा चाहिन्न | तिम्रो छिमेकीले तिम्रो शोषण गरिरहेको छ | तिम्रो लोग्नेले तिम्रो अधिकार हनन गरिरहेको छ | विद्रोह गर्नुनै आधिकार स्थापनाको आरम्भ हो |
मान्छेले पत्याए, अधिकारको लडाई लड्न थाले | एकअर्काप्रति अविश्वास, घृणा तथा रीस बढ्यो |

(३) मान्छे फेरी आयो उसले आफ्नो किताव खोलेर फेरी पढ्यो "अधिकार प्रदान गर्न सरकारलाई दवाव देऊ | हामी तेसको लागि चाहिन्ने रकम अनुदानमा दिन्छौं | आफ्नो भाषा, भूगोल, जातजाति र पहिचानका लागि सङ्घर्ष गर | तिम्रा संस्कृति र तिम्रो इतिहास तिम्रो अधिकारमा बाधक छ | उनीहरूले तिमिलाई दवाएका छन् |
मान्छेहरूले पत्याए | मान्छेहरू सरकार माथि खनिए | छिमेकी माथि खनिए | आफ्नै इतिहास र संस्कृतिप्रति खनिए | त्यो मान्छेले भत्ता दियो | मान्छेहरू खुसी भए | किताव बोक्ने मान्छेले हामीलाई सहयोग गर्ने रहेछ | आहा, अधिकारका लड्दा धन पाइने रहेछ भन्नेले सोचे |

(४) फेरी तेही मान्छे आयो उसले किताव खोलेर पढ्यो "राष्ट्रहरूले ऋण लिएर आफ्नो विकास गर्छन् | राष्ट्रसंग पैसा भयो भने जनताले सुविधा प्राप्त गर्छन् | अव तिमीले आफ्नो कुरा मान्ने सरकार बनाऊ | चुनाव गर्न हामी पैसा दिन्छौं |"
जनताले प्रजातन्त्र ल्याए र नेताहरूले विदेशीहरूबाट आफ्नो देशको विकासका लागि ऋण ल्याए | जनताहरू विकास हुनेमा ढुक्क भए |

(५) फेरी पनि त्यो मान्छे आयो उसले विकास नभएर आजित जनताका सामु आफ्नो किताव खोलेर पढ्यो "ऋण लिंदा आफु खुसी गर्नेले फेरी ऋण पाउन्नन् तेसैले ऋणीले ऋण दिनेको शर्त मान्नुपर्छ | ऋणदातासंग शर्तहरू मान्ने करारनामा नभएर काम विग्रियो |" अनि, उसले आफ्नो गोजीबाट एउटा "पवित्र किताव" निकालेर दिंदै भन्यो "तपाईंहरूले हाम्रा ईश्वरको आदेश पालन गर्नुपर्छ | अव हाम्रो परमेश्वरले तपाईंहरूलाई मार्गदर्शन गर्नुहुने छ | ऋणमुक्त पार्ने शक्ति हाम्रो परमेश्वरमा छ |"
जनताले चुनेको सरकारले सबै शर्त मान्यो | शर्त मान्नेहरू पुरस्कृत भए | विदेशमा शयर गर्ने अवसर प्राप्त गरे | पवित्र पुस्तक बोकेका मान्छेहरू सुनका टुक्राहरू गाउँगाउँमा  छिरे | ऋण ((पाप) मुक्तिका सपना सुनाए |  जनताले सोचे अव विकास हुन्छ |

(६) तैपनि देशको विकास भएन | त्यो अचम्मको मान्छे र उसको किताव गाउँगाउँमा च्याप्छ्याप्ति भयो | मान्छेहरू किताव बोकेर गरिवी, ऋण र पाप मुक्तिका लागि भनेर गाएर नाँच्न थाले | तर मान्छेहरू खुसी भएनन् | फेरी त्यो मान्छे तेही किताव बोकेर आयो र पढेर सुनायो "ऋण लिनेले समयमा ऋण तिर्न सक्नुपर्छ | होइन भने कालो सूचिमा पर्छन् | आफु भोकै मरेर पनि ऋण तिर्नुपर्छ | परमेश्वर रिसाउनु भयो | अव परमेश्वरको नाममा थप ऋण लिनुपर्छ |"
किताव खोलेर पढ्ने मान्छे र राष्ट्रको नाममा ऋण लिन अख्तियारी पाएका नेताहरू बीच हेराहेर भयो | दूवै मुसुक्क हाँसे | फेरी पनि ऋण थपियो | ऋणको रेखदेख गर्न मान्छेहरू थपिए | ऋण गाउँगाउँमा पुग्यो | मान्छेले भने "अव विकास हुन्छ |""

(७) समस्या निराकरण भएन | गरीव गरीव नै रह्यो | मान्छे दिक्क मान्न थाले | फेरी पनि तेही सुकिलो मान्छे किताव बोकेर आयो | अव उ कठोर थियो | किताव खोलेर पढ्यो -"अन्तराष्ट्रीय कानुन अनुसार ऋण तिर्न नसक्ने राष्ट्रहरू विरुद्ध प्रतिबन्ध लगाइन्छ | भोकभोकै वसेर भए पनि जनताले ऋण त तिर्ने पर्छ | अव तपाईंहरूले हाम्रा सबै शर्त मान्नुपर्छ | हाम्रो धर्म, संस्कृति, संस्कार सबै तपाईंहरूका लागि स्वीकार्य हुनैपर्छ | तपाईले हुन्न भन्ने अधिकार गुमाइसक्नु भएको छ |"

अनि उसले आफ्नो उसले आफ्नो गोजीबाट अन्तराष्ट्रीय कानुनको झ्यालखाना दियो जसले राष्ट्रलाई नै कैद गर्ने हैसियत राख्थ्यो | ऋण तिर्न नसक्नेले जेलसजाय भोग्नुपर्छ | अरूसंग ऋण लिएर मोज गर्नेले झ्यालखानामा थुनिनुपर्छ | उ आफ्नो देशतिर लाग्यो | 

तेतिनै बेला लामो दारी पालेका लेखनाथ कविले आत्तिएको र चर्को स्वरमा "बालक बबुरो द्विज सुकुनामा म परेको छु पिंजडामा | मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन" गाउँदै गरेको सुनेर जनताहरू छक्क परे | घरबाट वाहिर र वाहिरबाट सडकमा निस्किएर |

(८) आजै पनि मान्छेहरू सडकमा निस्किएर एताउति बुझ्न थाले | तर कवि अलप भैसकेका थिए | तेतिकैमा एउटा अग्लो घरको वार्दालीमा तेही अचम्मको मान्छे र केही चिनेका सुकिला मान्छेहरू देखिए | अचम्मको मान्छेले सधैंजस्तै हातमा किताव समातेको थियो र  सुकिला मान्छेहरूबाट घेरिएको थियो | अनि, लेखनाथ कविलाई खोज्न वाहिर निस्केका मान्छेहरूतिर फर्केर त्यो अचम्मको मान्छे चिच्याएर आफुले समातेको पुस्तक  चर्को स्वरमा पढ्न थाल्यो - “प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, अधिकार र जनताले चुनेको सरकारको कुनै विकल्प छैन | जनताले चुनेको सरकारको विकल्प खोज्न सकिन्न | चुनेको सरकारको निर्णय जनताको निर्णय हुन्छ |”
अनि, सुकिला मान्छेहरू पनि चिच्याएर बोले ““हो, हो, प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, अधिकार र जनताले चुनेको सरकारको कुनै विकल्प छैन | जनताले चुनेको सरकारको विकल्प खोज्न सकिन्न | चुनेको सरकारको निर्णय जनताको निर्णय हुन्छ |”

वाहिर मान्छेहरू गाइरहेका थिए "बालक बबुरो द्विज सुकुनामा म परेको छु पिंजडामा | मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन || मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन ||"

अचम्मको मान्छेको कथा र तेसमा विश्वास गरेर कथा सुन्नेहरू थाकेका छैनन् | कथा चलिरहेको छ |


No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...