Saturday, February 11, 2023

भेलन्टाइन-डे अर्थात् सेक्सको व्यापारीकरण !

भारतवर्षमा फागुन र चैत महिनालाई बसन्त-ऋतु भनिन्छ | बसन्त ऋतुले मान्छेलाई प्रेम गर्ने र दिने आमन्त्रण गर्छ | भारतवर्षमा प्रेम-पर्व सम्भव थियो किनभने यहाँको मलिलो प्रकृतिले प्रचूरमात्रामा उत्पादन दिन्थी | भेलन्टाइन-डेको कुरा चल्दै गर्दा वसन्त ऋतुको कुरा पनि आउँछ | बसन्त ऋतुले मान्छेलाई सेक्सका लागि पागल बनाउंदैथ्यो तर भेलन्टाइन-डेका लागि कण्डम कम्पनीहरूको सुनौला विज्ञापनहरूले मान्छेलाई बौलाहाझैं बनाएको छ | नपत्याए गुगल गरेर खोज्नुस् विश्वमा सबैभन्दा कण्डम १४ फरवरीका दिन बिक्री हुन्छन् !!! यो सन्त भेलन्टाइनको सम्मान हो कि अपमान आफै विचार गरौँ |

मान्छेका लागि प्रेम दिनु र पाउनु धेरै महत्वपूर्ण विषय हो तर यो भन्दा पनि महत्वपूर्ण भोजन, निन्द्रा र सुरक्षा हुन् | भोको र असुरक्षित मान्छेले न प्रेम गर्न सक्छ न प्रेम दिन सक्छ | अनिन्द्राले जीवनी शक्ति क्षीण गर्छ | यदि तपाईंको पेट आंशिक रूपमा भए पनि नियमित भरिने गर्छ, केही क्षणका लागि भए पनि तपाईंले सुरक्षित अनुभव गर्नु हुन्छ र मज्जाले निदाएर जीवनी शक्तिलाई पुन: संचार गर्न सफल हुनुभएको छ भने तपाईंभित्र प्रेमका भावहरू उत्पन्न हुन्छन् | तपाईंलाई प्रेम गर्न र प्रेम स्वीकार्न मन लाग्छ |
निश्चयनै सजिलैसंग भर पेट भोजन प्राप्त गर्न सफल भएका र सुरक्षित ठान्नेहरूले प्रेमका सपना बुन्छन् | कुनै पनि भोको वा असुरक्षित व्यक्तिले "प्रेम पत्र लेख्दैन, प्रेम गीत गाउदैन, प्रेम-उपहार प्राप्त गर्न र दिनका लागि लामो प्रतीक्षा गर्दैन | उसका लागि वास, गास र कपास महत्वपूर्ण हुन्छ | प्रेमका ठाउँमा प्राकृतिक यौनक्रिया क्रियाशील हुन्छ | एउटा पशुले अर्को पशुसंग सम्भोग गर्दा केवल प्राकृतिक नियम पालन गरिरहेको हुन्छ, बंश-वृद्धिको प्राकृतिक क्रिया गरिरहेको हुन्छ | आहार, निन्द्रा, डर र मैथुन क्रिया (सेक्स)का सवालमा मान्छे र पशु बिच समानता छ | पशुमा बग्ने सेक्स-ड्राइभ मान्छेमा पनि बग्छ | सुरक्षित र अघाएको मान्छेले "नियम" पालन गर्ने सम्भावना हुन्छ |
डार्विनले मान्छेलाई देउताबाट पशुमा झारेर ठिकै गरे | विकासको चरम अवस्थामा पुगे पनि मान्छेसंग उसको प्राकृतिक पशुता रहन्छ नै | भोक लाग्ने, सेक्सका लागि मरिमेट्ने. सुरक्षा खोज्ने र निदाउँने क्रिया मान्छेले प्राकृतिक रूपमा प्राप्त गरेको हो | उससंग भएको बुद्धिले उपरोक्त प्राकृतिक ड्राइभलाई नियमित गर्ने प्रयत्न गर्छ | उदाहरणका लागि २१ सौं शताब्दिको "विकसित र ज्ञानी मान्छे पनि युद्धजस्ता असजिला अवस्थाहरूमा लुट्ने, बलात्कार गर्ने, मार्नेजस्ता पाशविक क्रियामा सजिलैसँग प्रवृत्त हुन्छ | यस्तो अवस्थाहरूमा बुद्धिले पशुतालाई सघाउने (सुरक्षित बलात्कार गर्ने र लुकाउने) क्रियालाई महत्व दिन्छ | सेक्स, सुरक्षा र डरको पशुता कहाँ, कतिवेला र कसरी जाग्छ र क्रिया सम्पन्न गर्छ ? कसैले भविष्यवाणी गर्न सक्दैन |
२१ सौं शताब्दिका धेरै मान्छेले भोक, सुरक्षा र निन्द्राको सहज अवस्था प्राप्त गरेका छन् | मानवीय इतिहासमा आजको मितिमा झैं मान्छे कहिलै पनि सुरक्षित र अघाएको थिएन | तेसैले मान्छेका लागि अनेकौं अवसर सृजना गरेर "रमाइलो" प्रकट गर्ने र गराउने अभूतपूर्व परिवेश प्राप्त भएको छ | आजका मान्छेको जीवन सहज तर चिन्तन र क्रियाकलाप निकै जटील छन् | मान्छेले प्रेमजस्तो आदर्श भावनालाई समेत "व्यापारको विषय" बनाएका छन् | भेलन्टाइन दिवसको अवसरलाई अत्यन्त सेलेब्रेटी बनाएर कण्डम-कम्पनिहरूले व्यापारीकरण गरेका छन् | युवापुस्ताहरूको स्वाभाविक प्रेमलाई "प्राकृतिक सेक्स-ड्राइभ"मा रुपान्तरित गरेर कण्डमको व्यापार गर्ने सूत्रको उपयोग गरेका छन् | भेलन्टाइन दिवसले "सर्वाधिक कण्डम बिक्ने" अवसर तेसै प्राप्त भएको होइन | सर्वेक्षणले यही भन्छ |
आजको युवापुस्ताले प्रेम र सेक्सका बिच कुनै पनि भिन्नता देख्दैन | प्रेम विना पनि सेक्स हुन सक्छ, बालबालिकाहरू जन्मिन सक्छन् तर प्रेम विना मित्रता, सहृदयता, करुणा, दया, ममता, नम्रता, कर्तव्यआदि सम्भव हुँदैनन् | यदि तपाईंले भेलन्टाइन दिवसलाई सेक्स-दिवसका रूपमा स्वीकार गर्नुभएको छ अथवा स्वीकृति प्रदान गर्नुभएको छ भने प्रेमको सीमा शरीरलाई भोगेपछि समाप्त हुनेछ | शरीरप्रतिको आकर्षणलाई प्रेम भन्न सकिन्न किनभने फेरी पनि शरीरले शरीरको मांग गर्ने छु र प्रेम शरीरको भोगसम्म पुगेर टुंगिने छ | प्रेम सेक्सको विरोधी होइन तर सेक्सचाहिं आफैमा प्रेम नभएर दुई शरीरको प्राकृतिक मिलन हो |
भेलन्टाइन दिवसका अनुयायीहरूले आत्मसमीक्षा गर्नुपर्छ कि प्रेम दिवसका नाममा कहीं कण्डम-व्यापारीहरूको व्यापारिक हतियार त वनिरहेक छैनौं ? यदि विवाहपूर्व शरीर भोग गर्नुभएको छ भने प्रेमका सवालमा अविश्वासका काँडाहरू रोपिएको छ | सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वीकृति विना एकअर्काको शरीर भोग्नेहरू विवाहपछि पनि एकआपसमा विश्वासनीय नै रहन्छन् भन्ने कुराको के ग्यारेन्टी ! एकआपसमा प्रेम गर्नु राम्रो कुरा हो तर विवाहपूर्व नै शरीरलाई भोग्ने निर्णय गरेर कण्डम कम्पनिहरूको क्रेता बन्नु र भविष्यको लागि दाम्पत्यमा शंकाका वादलहरू तयार पार्नु कुनै पनि अर्थमा उचित होइन |
अहिलेको समयमा रमाइला चाडवाडहरू वैश्विक भएका छन् | विश्व एकता गाउँझैं बनिरहेको अवस्थामा भेलन्टाइन-डेको आलोचना गर्दैमा युवाहरू यो यसबाट विमुख हुँदैनन् | नेपालमाको प्रणय दिवस बसन्त-पंचमी हो र बसन्त ऋतु (फागुन-चैत) प्रणय महिना हुन् भन्ने यथार्थतालाई पश्चिमी व्यापारले कुण्ठित पारेको छ | भेलन्टाइन-डे नेपालीहरूको मौलिक चाड होइन, यो सेक्सलाई बजारीकरण गर्ने विज्ञापन हो भन्दा सुन्नेवाल छैनन् | अन्त्यमा, भेलन्टाइन-डे कसैको लागि आत्मसम्मान लुटिने, बलात्कृत हुने र जीवनभरी हीनताबोधको कारक नबनोस् भन्ने तत्थ्यमा प्रत्येक युवायुवतिहरू सजग, सचेत हुनुपर्छ भने अभिभावकहरूले पनि विवेकको आँखा खोल्नुपर्छ किनभने प्रेम अभिशाप बन्नु हुँदैन |
स्वस्तिअस्तु

Wednesday, February 8, 2023

साकरोड़ियाको शिक्षाअनुभव

(१) यस पटकको भारतयात्रा निकै स्मरणीय रह्यो | सबैभन्दा स्मरणीय त दादा भगवानका भक्त लाला भाई पटेलको गाउँ साकरोड़ियाको भ्रमण रह्यो | लाला भाई भारतको प्रतिष्ठित रिजर्व बैंकका पूर्व वरिष्ठ कर्मचारी हुन् र अवकाशपछि आफ्नै गाउँ "साकरोड़िया"मा कृषकका रूपमा जीवन यापन गर्छन् | उनका एकमात्र छोरावुहारी पनि गाउँमै वस्छन् | घरमा शहरमा भएका सबै सुविधा छन्, त्यो भन्दा पनि बढी सुविधा प्रदुषण रहित वातावारण र आफ्नै खेतको विषादीरहित भोजनको अवसर प्राप्त गरिरहनुभएको छ |

(२) "साकरोड़िया" गाउँ गुजरातको प्रमुख सहर अहमदावादबाट उत्तरतिर १७० किलोमिटर पर छ | हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वप्न र मोडेल प्रदेशको रूपमा प्रचारित गुजरातको यो गाउँको यात्राका क्रममा मैले त्यस गाउँको कृषि-व्यबस्था, अस्पताल, बालवाडी, गाउँपंचायतको कार्यालय, वैंक र पाठशाला (हाइस्कूल)को प्रत्यक्ष निरीक्षण गर्ने, सम्बन्धित अधिकारीहरूसंग र बालवालिकासंग कुराकानी गर्ने अवसर जुट्यो |

(३) यो गाउँको जनसंख्या लगभग ५६० जनाको रहेछ | यो गाउँमा सबै जातजातिको वसोवास भए पनि सबैभन्दा बढी समुदाय भने "पटेल"हरू रहेछन् | गाउँको हरेक घरबाट एकजना सदस्य अनिवार्य रूपमा अमेरिका, वेलायत वा अस्ट्रेलिया भएको बुझियो | म यो गाउँमा पुग्दा अमेरिकामा स्थायी वसोवास भएका यही गाउँका वासिन्दाहरूको विवाह भोज चलिरहेको थियो | यहाँ हुनेखानेहरूले ५ देखि ७ दिनसम्म आफन्तहरूका लागि विहान-वेलुका नै खाने व्यबस्था गर्दा रहेछन् | विवाह उत्सव लगभग १० दिनसम्म चल्दो रहेछ | विवाहका पहिका तीन दिन भने गाउँका कुनै घरमा पनि खाना पाक्दो रहेन छ | सवै गाउँले विवाहघरका पाहुना हुँदा रहेछन् | मैले पनि श्रीयोगेन्द्र शुक्लासहित विहान तथा वेलुका यही "भतेर"मा भोजन गर्ने अवसर प्राप्त गरें |

(४) गाउँ गुम्दै गर्दा कक्षा १० सम्म पठनपाठन गरिने ग्रामीण पाठशाला पुगियो | पाठशाला निकै स्वच्छ, व्यवस्थित र मर्यादित थियो | पाठशालामा १३९ जना विद्यार्थीहरू रहेछन् | ती विद्यार्थीका लागि १३ जना शिक्षकशिक्षिका रहेछन् | पाठशाला तीन ब्लकमा विभाजित रहेछ | शिशु, प्राथमिक र ६ देखि १० सम्म | सा-साना नानिवावुहरू कक्षाकोठामा पलेटी मरेर गलैचामा पढ्दा रहेछन् | कक्षा पांच भन्दा माथिका विद्यार्थीहरूका लागि भने टेवल कुर्सी रहेछन् | विहान १० बजे देखि ४ बजेसम्म कक्षा चल्दा रहेछन् तर कक्षाचारसम्मका विद्यार्थीहरू ३ बजे घर जाँदा रहेछन् |

(५) विद्यालयआउने सबै विद्यार्थीहरूका लागि विद्यालयमै तीन पटक भोजन र नास्ताको व्यबस्था रहेछ | विद्यालय आउँदा केही हल्का नास्ता, १ बजे भोजन र जाने वेला पुन: हल्का नास्ता विद्यालयले नै खुवाउदो रहेछ | मैले आफै विद्यालयको भोजनलय हेरें | त्यो निकै सफा र हाइजेनिक थियो | छ दिनका लागि छ प्रकारका भोजनको व्यबस्था रहेछ | विद्यार्थीहरूका लागि भोजन पकाउनु, खुवाउनु, सरसफाई गर्नु प्रोजेक्ट वर्कका अनिवार्य अंश रहेछन् | सबैभन्दा महत्वपूर्ण कुरा हरेक विद्यार्थीलाई सरकारले घरबाट आउने/जाने व्यबस्था गरिदिएको रहेछ |

(६) शिक्षक/शिक्षिकाहरू निकै फरासिला रहेछन् र विद्यार्थी मित्र रहेछन् | विद्यार्थीहरूको अनुशासन निकै राम्रो लाग्यो | हरेक कक्षामा स्मार्ट-कक्षाका लागि स्मार्ट-बोर्ड जडान गरिएको रहेछ | शिक्षक-शिक्षिकाले पढाएका हरेक विषयवस्तुहरू रेकर्ड गरिँदो रहेछ भने अन्य ठाउँका शिक्षकले पढाएका विषयवस्तु र इन्टरनेटमा भएका विषयवस्तुलाई पाठ्य-सामग्रीका रूपमा निकै उपयोग गरिंदो रहेछ | सबैभन्दा गज्जवको कुरा त के भने विद्यार्थीहरूले हरेक दिन घरबाट किताव बोकेर ल्याउनु पर्ने रहेनछ | हरेक विद्यार्थीले आफ्ना किताव आफ्नै टेवलमा छोडेर जाने वा लिएर जाने निर्णय गर्न पाउँदो रहेछ |
(७) कक्षा ४ सम्म गुजराती मिडियममा पठनपाठन हुँदो रहेछ भने तेसपछि अंग्रेजी, गुजराती, संस्कृत, हिन्दीआदि भाषामा पठनपाठन गरिँदो रहेछ | गुजरातका ८०% बालबालिकाले हिन्दी बुझ्दा रहेछन् भने बोल्नेचाहिं मातृभाषा मै रहेछ | मैले यी सबै विशेषता सरकारी विद्यालयको बताएको हुँ | गृहप्रदेश गुजरात भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षामा ठूलै लगानी गरेका रहेछन् भने त्यो लगानीको प्रतिफल पनि निकै राम्रो रहेछ |

(८) नेपालमा झैं गुजरातमा पनि "हुनेखाने र हुँदा खाने" दूवैले आफ्ना बालबालिकाहरूलाई अंग्रेजी मिडियमको पब्लिक स्कूलमा पढाउने इच्छा राख्दा रहेछन् | सरकारी विद्यालयहरूमा एतिबिध्न सुविधाहरू हुँदा पनि धेरैले दुखजिलो गरेर अंग्रेजी स्कूल रोज्ने रहेछन् | मैले निरीक्षण गरेको विद्यालयमा पनि धेरैजसो गाउँले न्यूजआय भएका परिवारका बालबालिका नै पढ्ने रहेछन् | गुजरातका गाउँहरूमा पनि अंग्रेजी पढ्नेहरूरू "जान्ने" हुन्छन् भन्ने सोच पछिल्लो पटक घटेको भन्ने पनि भेटियो |

(९) गुजराती सरकारी विद्यालयहरूका शिक्षक-शिक्षिकाहरू शिक्षाका क्षेत्रमा निकै समर्पित हुँदा रहेछन् र सरकारले पनि तिनको निकै ध्यान दिएको रहेछ | सरकारी विद्यालयमा पढाउने हरेक शिक्षकशिक्षिकाहरू विद्यालय आउँदाजाँदा आफ्नै कार प्रयोग गर्दा रहेछन् अर्थात् उनीहरूले राम्रो तलव प्राप्त गर्ने रहेछन् | साथै अभिभावकहरू पनि निकै सचेत रहेछन् | मैले विद्यालयमा आएका हरेक विद्यार्थीहरू सफासुग्घर भेटिए |

(१०) एतिबिध्न सुविधा हुँदाहुदै पनि गाउँका हुनेखानेहरूले आफ्ना बालबालिकालाई सरकारी विद्यालय भन्दा "पब्लिक-स्कूल" पठाउने कुरामा महत्व दिंदा रहेछन् | यसको मूलकारण चाहिं "अंग्रेजी मोह" नै रहेछ | असलमा, गुजरातका गाउँगाउँबाट अमेरिका-वेलायत लगायत विदेशमा प्रवासीहरूको सङ्ख्या एकदम बढी रहेछ | मैले भ्रमण गरेको गाउँबाट पनि लगभग ५०% जनसंख्या प्रवासमा रहेछ | लाला भाई पटेलले भने "अभिभावकहरू अंग्रेजी माध्यममा पढाउन चाहन्छन् किनभने अमेरिका, वेलायत उनीहरूको सपना हुन्छ | सरकारी विद्यालयहरूमा धेरैजसो बालबालिकाहरू गरिव हुन्छन् |

(११) मोदी-सरकार आएपछि सरकारी विद्यालयहरूको परिवेश निकै वदलिएको छ | विद्यालयमा शिक्षक र शिक्षण प्रणाली निकै वदलिएको र सरकारले गुजराती र हिन्दीलाई समेत महत्वपूर्ण जागिर वा व्यवसायमा प्रयोग गर्ने नीति लिएपछि सरकारी शिक्षाप्रतिको साधारण दृष्टिकोण वदलिएको छ | अभिभावकहरू सरकारी विद्यालयमा आफ्ना बालबालिका पढून भन्ने चाहन्छन् तर अंग्रेजीको मोह गहिरो छ | आज सरकारी विद्यालयमा १२ कक्षामा पढ्ने विद्यार्थीले राम्रो अंग्रेजी बोल्न र लेख्न सक्छन् | संस्कृत, गुजराती र हिन्दी पनि निकै राम्रो हुन्छ |

(१२) सरकारी विद्यालयमा सबै जातजाति र थरका बालबालिका समान रुपले पढ्दा रहेछन् | यो विद्यालयमा मुस्लिम र जैनबालबालिकाको उल्लेखनीय उपस्थिति रहेछ | अचम्मको कुरा त के भने मुस्लिम बालबालिकाहरू र अभिभावकहरू पनि शाकाहारी रहेछन् | मैले यो कुराको प्रमाण सुरतबाट मुम्बई जाँदा बाटोमा भेटिएका ठूलाठूला भोजनालयहरू मुस्लिमहरूले संचालन गरेको र "वोहोरा" मुस्लिम पूर्णतया शाकाहारी हुने कुरा थाहा पाएँ | तेहा हिन्दू-मुस्लिमका विचमा "दुष्मनी" भन्ने सुनिएको कुरा झूटो रहेछ भन्ने लाग्यो |

(१३) मैले सोधें "नेपाल कहाँ छ ?" बालबालिकाले चिच्याएर जवाफ दिए "हाम्रो छिमेकी देश हो, पशुपतिनाथ र सगरमाथा त्यहाँ छ | धेरै पहाड़ छ | धेरै हिन्दूहरू छन् | धेरै जाडो हुन्छ | मान्छे इमान्दार हुन्छन् | गोरखाले हाम्रो देशका लागि काम गर्छन् | हामी भारतीयहरू नेपाललाई माया गर्छौं |" म तेस विद्यालयमा अचानक पुगेको थिएँ | कक्षा ८ का विद्यार्थीले एसो भन्दा निकै गौरव लाग्यो | आफ्नो देश, संस्कृति, धर्म र विश्वको ज्ञान राम्रो रहेछ -बालबालिकामा | मैले भने "तिमीहरू ठूलो भए पछि नेपाल आउनु, मैले स्वागत गर्ने छु |"
नेपाल र भारतीय सरकारी विद्यालयहरूको शिक्षा र अन्य सुविधाहरू वारे पाठकले नै निर्णय गरूँन् |
स्वस्तिअस्तु

Sunday, December 18, 2022

सन्त र पाखण्डको कुरा

धार्मिक बनेर व्यापार गर्नेहरूलाई शास्त्रले "पाखण्डी" भनेर सम्बोधन गरेको छ | साधु-सन्तको चोला धारण गर्ने, धर्मको उपदेश दिने, त्याग तथा वैराग्यको उपदेश दिने तर स्वयं भने तिनै उपदेश दिंदा प्राप्त धनबाट आजीविका चलाउनेको कार्यलाई पाखण्ड भनिन्छ | पाखण्डीहरूले सधैं आफु र आफ्नो परिवारलाई केन्द्रमा राख्छन् | कुनै पनि व्यक्तिले धार्मिक आवरणमा आफ्नो जयजयकार गराउँछ, आफ्ना परिवारको बर्चश्वका लागि साधनको ढोंग गर्छ भने त्यसको व्यक्तिको पछि लाग्ने र तेस्ता व्यक्तिको शिष्यत्व स्वीकार गर्ने पनि नर्कमा जान्छ 

धर्मका नाममा मान्छेहरूलाई ठग्न, झुक्याउन र मूर्ख बनाएर लुट्न सबैभन्दा सजिलो हुन्छ | कर्मफल र ईश्वरले तत्काल हस्तक्षेप गर्दैनन् | शरीरले शारीरिक सुख माग्छ | चलाख व्यक्तिहरूले "धार्मिकता"को चोला धारण गरेर गुरूको पसल खोल्छन् | ठुलाठूला मिडियाहरू किनेर गुरुको विज्ञापन गरिन्छ | अनि, विज्ञापनको रंगीचंगीपनको नशा बसेका सर्वसाधारणहरूले ती व्यक्तिलाई असाधारण गुरु ठानेर सर्वस्व अर्पण गर्न पुग्छन् | एउटा साधारण आश्रममा निवास गर्ने, साधारण जीवन यापन गर्ने, साधना गर्ने र विन्म्रभावले (गृहस्थ वा सन्यास आश्रममा रहेर) गुरुकुलआदि संचालन गर्नेहरू सन्तक श्रेणीमा नै पर्दैनन् | तर यी महापुरुषहरूलाई न गुरुत्वको आवश्यकता हुन्छ, न  मिडियाको र न धेरै चेलाचेलीको | उनीहरूको तपोमय जीवन केवल ईश्वर र धर्मका लागि समर्पित हुन्छ | मिडियाले निर्माण गरेका गुरूहरूमा अहङ्कार र धनसम्पत्तिको प्रदर्शन बहेको अरू केही हुँदैन भने यी सरल साधुसंग सरलता र आध्यात्मिक साधना बाहेक केही हुँदैन | 

धर्मशास्त्रहरूले विनम्रता, त्याग, वैराग्य तथा पारिवारिक र व्यक्तिगत महत्वाकांक्षरहित व्यक्तिलाई "गुरू, सन्त गुरू, मुनि"आदि शब्दले सम्बोधन गरेको छ | धार्मिक व्यक्तिको सबैभन्दा महत्वपूर्ण पहिचान नै त्यो कुनै प्रकारका व्यक्तिगत इच्छा वा चाहनाबाट मुक्त हुन्छ | उसले आफ्ना लागि केही चाहन्न र गर्दैन पनि | त्याग, तपस्या र संसारका भौतिक गतिविधिबाट आफुलाई वैरागी बनाउँछ | वैराग्यहीन व्यक्ति व्यापारी हुन्छ, गुरू हुनैसक्दैन | तर आवरणलाई हेरेर पाखण्डी र सन्तका बिचमा फरक छुट्याउने निर्णय गर्न सजिलो हुँदैन | जिज्ञासु आफै पनि साधना गरेको वा साधनको तीब्र इच्छा भएको व्यक्ति हुनुपर्छ |

सत्य के हो भने आजभोली धर्म र धार्मिकताको आवरणमा व्यापार गर्ने "धार्मिक-व्यापारी"हरूको सङ्ख्या ह्वात्तै बढेको छ | सर्वसाधारणका लागि को धार्मिक र को धार्मिक-व्यापारी भनेर छुट्याउन निकै गाह्रो छ | अनि, आवरणका आधारमा कसैलाई व्यापारी भनेर निर्णय दिनु र कसैलाई सन्त भनेर निर्णय दिनु सजिलो छैन | तर पनि धार्मिकताको कसौटी भनेको वैराग्य, त्याग, सरलता र साधना हो | यदि कुनै व्यक्तिमा वैराग्य छैन र उसको अभिरुचि चाहिं ठूलाठूला आश्रम, धेरै चेलाचेलीआदिमा छ भने शंका गर्ने ठाउँ हुन्छ | यसै गरी त्याग सजिलो कुरा होइन | संसारको त्याग गरें भन्दै ठूला महलहरू खडा गर्ने "ठूलाबडा" बाबाहरू आजभोली जताततै छन् | यिनले संसार त्यागेका हुन् कि दोश्रो संसारको निर्माण गर्दै छन् ? बुझ्न निकै गाह्रो छ |

सन्तको तेस्रो पहिचान भनेको सरलता हो | सन्तमा कुनै प्रकारको अभिमान, आडम्बर, देखावटीपन केही पनि हुँदैन | यदि कुनै व्यक्तिलाई भेट्न टिकट लिनुपर्छ वा मूल्य चुकाउनु पर्छ भने त्यो सन्तको सरलता होइन | सन्तका लागि महल र झोपडी, पाँचतारे होटल र जङ्गलको वासमा कुनै फरक हुँदैन | भौतिक सुविधाप्रति उनीहरूको कुनै अभिरुचि हुँदैन | मैले यस्ता धेरै साधुहरू भेटको छु जुन एसी र महङ्गा कारहरू नभएसम्म उपदेश पनि दिंदैनन् | शारीरिक सुखका लागि मरिमेट्नेहरू र अतिभौतिकतामा जिउनेहरूलाई "सरल र सहज" भन्न मिक्दैन | मलाई थाहा छैन, मैले यो लेख्दै गर्दा धेरैका "गुरू"हरू यो लेखको भुमरीमा पर्न सक्छन् तर मैले पहिले नै भनेको छु कि केवल वाहिरी आवरणका आधारमा निर्णय गर्नु उचित हुँदैन |

धर्मध्वज समाजमा त्यति सुनिएको शब्द होइन तर यो शब्दले समाजका ती वर्गको प्रतिनिधित्व गर्छ जसले धार्मिकतालाई पूर्णतया पेट पाल्ने साधनका रुपमा प्रयोग गर्छन् | धर्म र धार्मिकतालाई प्रयोग गरेर धर्मको तेजोवध गर्ने, धर्म र धर्मिक्ताका नाममा व्यक्तिगत सुखसुविधा जोड्ने, आफुलाई महान् सन्त, महापुरुष, गुरू देखाएर काम, दाम र नाम कमाउनेहरू धर्मध्वज हुन् | महाराज पृथुले यज्ञ गर्दा इन्द्रले सन्तको वेश धारण गरेर घोडा चोरेका थिए | यहाँ इन्द्रका लागि "धर्मध्वज र पाखण्डी" शब्दको प्रयोग भएको छ | आफ्ना पाप लुकाउन वा अरूको भलो रोक्न धर्मको आडम्वर गर्नेहरू धर्मध्वज हुन् | मैले उल्लेख गर्नु नपर्ला कि सबैजसो पुराणहरूले कलियुगमा ऋषिमुनि, सन्तको होइन धर्मध्वजहरूको रजगज हुने भविष्यवाणी गरेका नै छन् | 

अन्तिम कुरा एत्ति हो कि धार्मिक व्यापारी, पाखण्डी तथा धर्मध्वजसंग जोगिएर गुरू बनाउनु पर्छ | गुरू साधनाहीन र भोगी छ भने शिष्यमा तेही दुर्गुण सर्छन् र नर्कको भागी बन्नुपर्छ | गुरू अनिवार्य छ तर धर्मध्वज र पाखण्डी अस्वीकार्य हुनुपर्छ |

स्वस्तिअस्तु

Friday, December 16, 2022

(१) ब्राह्मणवाद के हो ?

 (१) ब्राह्मणवाद के हो ?

ब्राह्मण र वाद यी दुई शब्द मिलाएर ब्राह्मणवाद कल्पना गरिएको छ | सबैभन्दा पहिले अंग्रेजीमा Brahmanism शब्दको प्रयोग विलियम जोइन (सन् १७४७-१९१०) ले एशियाटिक सोसाईटीले प्रकाशित गरेको भारतवर्षको इतिहासमा गरेका थिए | उनले ब्राह्मण-समुदायको रहन-सहन, आहार-व्यबहार, सामाजिक, धार्मिक तथा सांस्कृतिक प्रभावआदिलाई प्रकट गर्न यो शब्दको प्रयोग गरेका थिए | पछि, इलियाह, अम्बेदकरआदिले ब्राह्मण समुदायको सामाजिक तथा सांस्कृतिक व्यबहारको नकारात्मक प्रतिमान निर्माण गर्न प्रयोग गर्न थाले | भारतीयहरूले सन् १९२७ पछि छुवाछुतवादी, अहङ्कारी, शोषक तथा विभेदकारी शक्ति र समुदायका रूपमा ब्राह्मण समुदायको तेजोबध गर्न व्यापक प्रयोग हुन थाल्यो | खासगरी घृणावादी डा. अम्बेदकर र तिनका अनुयायीहरू, इसाई बनेका पूर्व हिन्दूहरू र वर्णाश्रम त्यागेर इसाई बनेका र इसाई-इस्लामलाई फैलाउने अभियानमा लागेकाहरूले पनि "ब्राह्मणवाद" भन्दै सनातन हिन्दू, बौद्ध, जैन समुदायप्रति घृणा फैलाउने साधनका रूपमा प्रयोग गर्न थाले | आज नेपाल र भारतका इसाई, मुस्लिम तथा अम्बेडकरवादीहरूले "ब्राह्मणवाद" शब्दको प्रयोग हिन्दू धर्म, संस्कृति, परम्परा तथा वर्णाश्रम व्यबस्थाको आलोचना गर्न प्रयोग गरिरहेका छन् |

(२) ब्राह्मणवादी को हुन् ?
असलमा ब्राहमणवाद जस्तो कुनै दार्शनिक वा सांस्कृतिक विचारधाराको यो विश्वमा कुनै अस्तित्व छैन | वैदिक शास्त्रीय अभिमतका अनुसार जसले ब्रह्म अर्थात् परमसत्यको साक्षात्कार गरेको छ त्यही ब्राह्मण हो | ब्रह्मलाई जान्ने नै ब्राह्मण हुन्छ | आश्रमव्यबस्था र वर्ण व्यबस्थाको आधारमा हेर्ने हो भने ब्राह्मण त्यो समुदाय हो जसले "विद्या, शिक्षा, दीक्षा"आदिलाई आफ्नो पेशा बनाएर समाजलाई शिक्षित गर्न सहयोग गर्छ | ब्राह्मणवादजस्तो कुनै वाद हुँदैन तर यदि यी डलरेहरूको कुरालाई उधारो लिने हो भने जसले अध्ययन-अध्यापन, दान दिने र लिने, यज्ञ गर्ने र गराउने गर्छन् ती ब्राह्मण हुन् जसले वर्णाश्रम व्यबस्था र सनातन धर्मका मौलिक मान्यताहरूलाई जीवनको अभिन्न अङ्ग बनाएका हुन्छन् ती ब्राह्मण हुन् र जसले यी मान्यताहरूलाई समर्थन जनाउँछन् ती सबै ब्राह्मणवादी हुन् | ब्राह्मण पनि दुई प्रकारका हुन्छन् -जाति ब्राह्मण र आप्त ब्राह्मण | जाति-ब्राह्मणहरूले कर्मकाण्डआदि सामाजिक, सांस्कृतिक तथा धार्मिक दायित्व पूरा गरिरहेका हुन्छन् भने आप्त-ब्राह्मणहरूले आफ्नो समय लोककल्याण र साधनामा व्यतीत गर्ने गर्छन् | आप्त-ब्राह्मण जुनसुकै वर्णका व्यक्तिले उच्चसाधना गरेर प्राप्त गर्न सक्छ |

(३) के ब्राह्मणवाद दलितवाद विरोधी प्रतिमान हो ?
पहिलो कुरा त ब्राह्मणवादजस्तो कुनै पनि दार्शनिक विचारधारा विश्वको कुनै पनि कुनामा छैन | तेसरी नै दलितवाद पनि विश्वमा छैन | वैदिक धर्म, संस्कृति तथा परम्परासंग शत्रुतापूर्ण व्यबहार गर्नेहरूले "ब्राह्मणवाद र दलितवाद" शब्दको आविष्कार गरेका हुन् | शिक्षादीक्षाको दायित्व लिएकाहरू ब्राह्मण, रक्षाको दायित्व लिनेहरू क्षत्री, व्यापार र व्यबस्थापनको जिम्मालिनेहरू वैश्य र सेवाको दायित्व लिनेहरू शूद्र भनिएका हुन् | यहाँ छुवाछुत पर्दैन | यी चारैवर्णहरू समानतहका हुन् तर कार्य (पेशा) भने आ-आफ्नै छन् | कालान्तरमा यी रूढ बनेर छुवाछुतको अवस्था सृजना भएको हो | दुर्भाग्यवस, सेवाको पेशा भएका शूद्रहरूलाई अछूतको व्यबहार गर्न थालियो र आज पनि समाजमा यो प्रचलित छ | केही सनातन धर्मसंग गहिरो शत्रूता भएका धूर्तहरूले सामाजिक, सांस्कृतिक तथा धार्मिक रितिरिवाजबाट छुवाछुतलाई समाप्त पार्नेतिर रचनात्मक सहयोगी काम गर्नुभन्दा पनि छुवाछुतमा परेका समुदायलाई सनातन धर्मसंग घृणा गर्ने इसाई वा मुस्लिममा कन्भर्ट गर्नेतिर लागे | ब्राह्मणहरूलाई दोष दिंदै "दलितवाद"लाई संस्थागत गरे | फलत: वर्णाश्रम त्यागेर इसाई वा मुस्लिम बनेकाले पनि आफुलाई "दलित"का रूपमा चिनाउने गरेका छन् | यही समस्या अम्बेदकरक घृणावादी अनुयायीहरूसंग छ | यसरी न ब्राह्मणवादको अस्तित्व छ न दलितवादको नै | ब्राह्मण र शूद्रहरू बंशियार र अंशियार भएकोले एकअर्काका पुरक हुन् | सभ्यसमाजले ब्राह्मणवाद वा दलितवादको कुरा नगरेर समान अवसर र छुवाछुत निवारणका उपायहरूको कार्यान्वयनमा लाग्नुपर्छ |

(४) केही राजनैतिकदलका नेताहरू, केही स्वयंभू दलित नेताहरू र धर्मपरिवर्तन गराउने उद्देश्यले दलित-समुदायसंग सहानुभूतिको नाटक गर्ने षड्यन्त्रकारी र हिन्दू धर्मसंग शत्रूता गर्ने संघसंस्थाहरूले "ब्राह्मणवाद" शब्दको निकै प्रयोग गर्छन् | पछिल्लो समयमा भारतीय दलित नेता ठानिएका अम्वेडकरका अनुयायीहरूले ब्राह्मणवादको निकै ठूलो स्वरमा चर्चा गर्छन् | नेपालमा पनि मङ्गोल ओर्गनाईजेसनजस्ता केही समूहले "ब्राह्मण-समुदायको" आलोचना गर्न ब्राह्मणवादकै उपयोग गरिरहेका छन् | हजारौं वर्षको समाजलाई लक्षित गरिएर रचना गरिएका मनुस्मृतिजस्ता ग्रन्थहरूको आलोचना गर्ने र "वर्णाश्रम"मा विश्वास गर्ने समुदायलाई "शरणार्थी" भन्दै उच्छितो काट्नेहरू पनि यिनै हुन् | अहिले ब्राह्मणवाद शब्दको बढी प्रयोगकर्ताहरू "सामाजिक, सांस्कृतिक तथा धार्मिक विखण्डन"का पक्षमा देखिन्छन् | यहींबाट बुझ्नुपर्छ कि एउटा समुदायका विरुद्ध घृणाभाव फैलाएर कस्को हित गर्न खोजिंदै छ ? के एउटा एउटा ब्राह्मणले आफुले परम्परागत रूपमा अंगिकार गर्दै आएको पेशाका लागि गालीगलौज गर्न उचित छ ? इतिहासलाई गालीगलौज गर्नेहरू प्रायोजित हुन् भने इतिहासका गलत रितिरिवाजहरूमा गर्व गर्नेहरू पछौटे हुन् र जसले इतिहासका गल्तीहरूको सजाय वर्तमान समाजलाई दिन चाहन्छन् ती सबै षड्यन्त्रकारी तथा विखण्डनकारीका मतियार हुन् |

(५) देशमा १६% जनसंख्याको प्रतिनिधित्व ब्राह्मण समुदायले गरेको छ | देशका अन्य समुदायझैं यी समुदायको पनि बास्तविक अस्तित्व छ | यदि कसैले "म ब्राह्मण हुँ" भन्छ भने उसले नेपालको संबिधानले दिएको सार्वभौम अधिकार प्रयोग गरिरहेको छ | संविधानले नै देशलाई विविध जातजाति, समुदाय, भाषाआदिले सुसज्जित रहेको भनेर यो सबैको ग्यारेन्टी दिएको छ | छुवाछुतप्रति मन दुखाउनु, छुवाछुतजस्तो सामाजिक, सांस्कृतिक तथा धार्मिक कू-प्रथा समाप्त पार्न सक्रिय हुनु स्वभाविक मात्र होइन नागरिकहरूको कर्तव्य पनि हो र यो कर्तव्यको स्थापना संबिधानले नै गरेको छ | संविधानले जातियताका आधारमा गरिने छुवाछुतलाई दण्डनीय अपराध मानेको छ | एति हुँदाहुँदै पनि समाजमा छुवाछुत उन्मुलन भएको छैन | नेपाली संविधानले छुवाछुत उन्मुलनका लागि बलियो व्यबस्था गरेकै छ | एतिबिध्न हुँदाहुँदै पनि यदि कुनै समुदाय, व्यक्ति वा दलले "ब्राह्मणवाद"का नाममा देशका १६% जनसंख्याको अपमान गर्छ, दलन गर्छ, तेजोवध गर्छ भने उसले पनि जातीय अपमान:को मुद्दाको भागीदार बन्नुपर्छ | "ब्राह्मण" राज्यले दिएको चिनारी हो तर छुवाछुत चिनारी होइन अपराध हो | ब्राह्मणवादका नाममा ब्राहमण समुदायका विरुद्ध वा सम्पूर्ण वर्णाश्रम विरुद्ध "शरणार्थी, विभेदकारी"को बिल्ला भिराउनेहरू अर्को "विभेदको विउ" रोप्नेहरूका मतियार हुन् भन्न मिल्छ कि मिल्दैन ?

(६) "ब्राहमणवाद" कुनै वाद होइन | यो शब्दका आविष्कारकहरूले सामाजिक, सांस्कृतिक, धार्मिक तथा शैक्षिकरूपमा जागरुक र अरू समुदायलाई समेत जागरुक बनाउने प्रयत्न गरिरहेका सनातनिहरूमा हीनताबोध जगाएर, कमजोर तुल्याउने र धर्मपरिवर्तन गराउने षड्यन्त्र हो | ब्राह्मणवाद, दलितवादजस्ता शब्दहरू र यी शब्दका माध्यमबाट लक्षित अर्थ भ्रमपूर्ण, विखण्डनकारी र पुन: विभाजनकारी भएकोले सजग रहनुपर्छ | अन्यायमा पारेकाले न्याय प्राप्त गर्नुपर्छ तर एस्तो न्याय प्राप्त गर्दा अर्को समुदायलाई गालीगलौज गर्ने, अपमानित गर्ने छूट कसैलाई छैन, भ्रममा नपरौं, भ्रममा नपारौं |

Thursday, November 3, 2022

कामको काम लाग्ने कुरा -1

कामका धेरै अर्थ छन् | ती अर्थ मध्ये कामका (सेक्स) एउटा हो | काम कथाहरू प्राचीनकालदेखि नै रुचिका विषय हुन् | वेद, उपनिषद्, पुराण, अन्य साहित्यहरूका कामका थुप्रै प्रसंग छन् | वैदिक संस्कृतिमा भगवान् शिवले नन्दीश्वरसंग "कामशास्त्र"को व्यापक चर्चा गरेका छन् | अर्को शब्दमा प्राचीन वैदिक गुरुकुलहरूले कामशास्त्रको पठनपाठन गराउँथे | सामान्यतया आठ वर्षको उमेरदेखि पचीसवर्ष गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीले कामशास्त्र पनि पढ्नु पर्थ्यो | आजको भाषामा भन्नुपर्दा प्राचीन भारतवर्षमा गृहस्थ जीवनका लागि यौनशिक्षा अनिवार्य झैं थियो |

प्राचीनकालको यौनशिक्षा आश्रमअनुसार थियो | विद्यार्थीहरूले यौनशिक्षा वारे पढे पनि त्यसको व्याबहारिक प्रयोग भने विधिवत् विवाह गरेपछिमात्र पतिपत्नीका रूपमा गर्ने अनुमति थियो | वैदिक शास्त्रहरूमा देवताहरूले बाहेक मान्छेका स्त्री-पुरुषले विवाहको मर्यादा नाघेर यौन सम्वन्ध बनाएका कथा वा प्रसंगहरू उपलब्ध छैनन् | एउटा प्रसंग उल्लेख गर्नेपर्छ - प्राचीनकालमा यौनशिक्षा दिने दुई प्रकारका विधिहरू थिए - प्रत्यक्ष अर्थात् कामशास्त्र र अप्रत्यक्ष अर्थात् अन्य विषय पढ्ने विद्यार्थीहरूलाई विभिन्न कथा-प्रसंगहरूका माध्यमबाट तर यौनशिक्षा सबैको लागि लगभग अनिवार्य नै थियो |

वैदिक संस्कृति तथा साहित्यको विशेषता के हो भने यसले यौनशिक्षाको आवश्यकता, यौन जीवनको अनिवार्यता, एउटा व्यक्तिका रूपमा यौन चाहना र तेसले निम्त्याउने भावनाहरू र असंस्कृत यौनले निम्त्याउने समस्याहरू वारे खुलेर चर्चा गरेको छ | वैदिक संस्कृतिमा यौनको महत्व, यौनको उपयोग लुकाउने विषय पटक्कै होइन तर आजभोलीझैं विज्ञापन गरेर "यौन-प्यास"लाई अत्याधिक रोमान्टिक बनाएर विवाह विना पनि यौन सुखलाई प्रोत्साहित गरेको भेटिन्न | ऋषिमुनिहरूले विवाहित पतिपत्नीका लागि मात्र यौनको स्वतन्त्रता दिएर एकतर्क यौनजन्य अपराध रोक्ने अभ्यास गरेका छन् भने अर्कोतिर गृहस्थले सृष्टिकार्यको निरन्तरताका लागि अनिवार्य यौनउपयोग गर्ने व्यबस्था गरेका छन् | मनुस्मृति लगाएत धेरै स्मृति तथा पुराणहरूमा विवाह गरेर पनि सन्तान नजन्माउनेहरूले "ऋषि ऋण, पितृऋण, देव ऋण" तिर्न नसकेर नर्कमा जानु पर्ने भन्दै सन्तान जन्माउने अभिप्रेरित गरेका छन् | यौनका मामिलामा वैदिक संस्कृति जति कठोर छ, त्यतिनै उदार पनि छ | आदि पिता ब्रह्माले धेरै प्राणिहरूको सृष्टि गरे | मानसिक सृष्टिमध्ये परमसुन्दरी सरस्वतीको सृष्टि गर्नुभयो | सरस्वती निकै सुन्दरी थिइन् | पिता भए पनि ब्रह्माजीको मनमा आफ्नै छोरी सरस्वती प्रति कामभाव जागृत भयो | सनकादि ऋषिहरूले त्यो भाब बुझेर लज्जाबोध गरे | ब्रह्माले आफ्नो मनमा छोरीप्रति एस्तो कुविचार आएपछि आफ्नो त्यो शरीरनै त्यागिदिए | आलोचकहरू धेरैले ब्रह्माले आफ्नै छोरीमा आँखा लगाए भनेर आलोचना गर्छन् तर आदिपिताले आफ्नै छोरीप्रति कामबासना जागेको मा प्रायश्चित गर्दै आफ्नो शरीर नै त्यागेको प्रसंग चर्चा हुँदैन | यो कथाका दुईबटा पाटा छन् - यौनचाहना एतिबिध्न बलियो हुन्छ कि आफ्नै छोरीप्रति पनि नराम्रो भावना आउन सक्छ तेसैले हरेक व्यक्ति विवाह बन्धनमा बाँधिएपछि मात्र यौनकार्यमा उन्मुख हुनुपर्छ | अर्को पाटो, यदि कसैको मनमा विवाहित पत्नी वा पति वाहेक अन्य कसैप्रति कामुक भावना आउँछ भने तेसको प्रायश्चित "आत्मत्याग" हो भन्ने संदेश ब्रह्मा र सरस्वतीको प्रसंगबाट बुझ्नुपर्छ | काम अर्थात् यौनचाहनालाई वैदिक शास्त्रले देवताको श्रेणीमा राखेर सम्मान गरेको छ | तेसैले सृष्टिको लागि अनिवार्य तत्वका रूपमा प्रयोग हुने हुँदा कामकर्म (यौनक्रिया) पाप होइन | ब्रह्माले अनेकौं प्रकारले सृष्टि गर्दा पनि सही तवरले सृष्टिको विस्तार नभएको देखेपछि उनको मनमा साह्रै चिन्ता लाग्यो | त्यही चिन्ताका अवसरमा ब्रह्माको मनबाट एउटा अत्यन्त सुन्दर पुरुष प्रकट भयो | त्यो पुरुषलाई देखेर तेहा रहेका सबै मोहित भए | यस्तो सम्मोहनलाई देखेर ब्रह्माले उसका लागि तेस्तै एउटी कन्याको सृष्टि गरिदिए | जन्मने वित्तिकै सबैलाई मोहित पारेको हुँदा पुरुषको नाम कामदेव रह्यो भने स्त्रीको नामचाहिं "रति" राखियो | काम र रतिले "हामी के गरौँ" भनेर सोधेपछि ब्रह्माले भने "तिमी दूवै प्राणीका मनभित्र बसेर एकअर्काप्रति आकर्षण बढाउँ र यौनक्रियाका लागि पप्रेरित गर्दै सृष्टिमा लगाउँ | अनि, यी दूवै स्त्री र पुरुष ब्रह्माले सृष्टि गरेका हरेक प्राणीको मनभित्र "अनंग" अर्थात् शरीररहित भएर वासनाका रूपमा निवास गर्न थाले | कामको अर्थ अलि व्यापक छ र रतिको अर्थ कम व्यापक | मान्छेले मन, बचन र कर्मले गर्ने, सोच्ने सबै क्रियाहरू काम हुन् | सबै कामप्रति रति अर्थात् आकर्षण हुँदैन | यौनक्रियाप्रति पहिले "रति" अर्थात् आकर्षण उत्पन्न हुन्छ | अनि, त्यो आकर्षणले क्रिया अर्थात् यौनजन्य क्रियाकलापमा सङ्लग्न गराउँछ | विश्वका हरेक जीवन कामदेव र रतिको प्रतिक्रियाबाट उत्पन्न भएका हुन् | विश्वको हरेक प्राणी कामदेव र रतिको जीवन्त "विज्ञापन" हुन् | जव रति र काम हरेक मान्छेमा व्याप्त छन् र हरेक प्राणी (मान्छे) यौनजन्य क्रियाक प्रतिफल हुन् भने यौनविज्ञापन मूर्खतापूर्ण काम हो | काम र रतिले विश्वका हरेक प्राणीलाई प्रभावित पार्न थालेपछि ब्रह्माजीले विवाहसंस्था स्थापित गर्नुभयो | विवाह संस्थाले विधिपूर्वक कामकर्म गर्ने अनुमति दिन्छ | आधुनिक भौतिकवादी यौनशिक्षाको समस्या के हो भने यसले आफ्ना लक्षित समूहलाई यौनक्रियाको लागि स्थापित गरिएको गृहस्थाश्रमसम्म प्रतिक्षा गर्ने धैर्यता प्रदान गर्दैन | यौन एउटा प्राकृतिक क्रिया हो | यौनक्रियाकलापको लागि उपयुक्त उमेर (२५) सम्म कुर्ने धैर्यता प्राप्त गर्ने व्याबहारिक शिक्षा प्रदान गर्दैन बरू उल्टो उमेरनै नपुगी यौनक्रियाकलाप गर्न उत्सुकता उत्पन्न गर्छ र यौनक्रियामा सङ्लग्न गराउँछ | परिणाम स्वरूपम अमेरिकाको ३३% जनसंख्या उमेर नपुगेका (१८ वर्ष भन्दा कम उमेरका अभिभावकबाट) जन्मेका छन् | दोश्रो प्रसंग सन्ध्याको आउँछ | ब्रह्माको मनबाट उत्पन्न भएकी सन्ध्या पनि अत्यन्त सुन्दरी थिइन् | उनलाई देखेर पुन: ब्रह्माजीको मनमा कामवासना जाग्यो | यस पटकको काम-वासना ब्रह्माबाट आशिर्वाद प्राप्त कामदेव र रातिकाकारण उत्पन्न भएको थियो | किनभने ब्रह्माले नै हरेक जीवका मनमा बसेर प्रभाव पार्ने काम-रतिको कमाल थियो | सन्ध्याप्रति आकर्षित भएकोमा ब्रह्मालाई पुन: आफुप्रति घृणाभाव उत्पन्न भयो र शरीर त्यागे | त्यो शरीर कुहिरो बन्यो | कुहिर र कामवासनाको विच गहिरो सम्वन्ध छ | धेरैजसो कामक्रियाहरू अध्यारो वा एकान्तमा सम्भव हुन्छन् | कुहिरोका रूपमा ब्रह्माले कामक्रियाकलाप गर्दा एकान्त हुनुपर्छ भन्ने यौनशिक्षा बुझ्नुपर्छ | अनन्त: ब्रह्माजीले मनु र सतरुपाको सृष्टि गरे र कामदेव तथा रतिलाई मनुका सन्तान अर्थात् मनुष्यका अन्तकरणमा बंशानुगतरूपमा निवास गर्ने अनुमति प्राप्त गरे | यसरी मान्छेमा कामभाव र रतिभाव जन्मजात नै हुन्छ | कुनै पनि स्त्री वा पुरुष कामभावले रहित हुनै सक्दैनन् | अन्य प्राणीहरूमा ऋतुअनुसार कामको संचार हुन्छ र रतिभावको अभाव हुन्छ | रतिभाव अर्थात् कामवासनाको चाहना मान्छेमा मात्र स्थाई हुन्छ | मान्छेको सृष्टि सजिलो छ तर लालनपालन साह्रै गारो छ | ब्रह्माले मान्छेभित्र काम र रतिभावलाई स्थायी बनाउनुको कारण पनि मान्छेको जन्म सजिलो भए पनि लालनपालन असजिलो हुँदा जीवित रहने अवस्था कम हुन्छ | कामभाव स्थाई हुँदा स्त्री र पुरुषले जहिलेसुकै यौन;क्रिया गर्न सक्छन् र सृष्टिकार्य सुचारू रहन्छ भन्ने अभिप्राय बुझ्नुपर्छ | मान्छेमा सृश्तिक्रिया प्रति अभिरुचि उत्पन्न होस् भनेर पुरुष र महिलाको कामप्रसंगलाई रमाइलो तरिकाले वर्णन गर्ने, मन्दिरहरूमा कामरत मूर्तिहरू राखेर सृष्टिप्रतिको दायित्व सम्झाउने र अकोतिर उमेर नपुगी वा विवाहपूर्व यौनसम्बन्ध गर्नाले ठूलो पाप हुन्छ भन्दै उमेर नपुगी र शास्त्रीय विधानले विवाह नगरी यौनक्रिया गर्न रोक्ने विधिहरू निकै विज्ञानसम्मत देखिन्छन् | महिलालाई योनि र पुरुषलाई केवल लिंगका रुपमा बुझ्ने आधुनिक भौतिकवादले प्राचीन कामशास्त्रको यो परम्पराको स्वागत गर्न सक्दैन किनभने भौतिकवादीहरूका लागि यौनक्रिया पवित्रकार्य नभई केवल रमाइलो गर्ने स्वतन्त्र क्रियाकलाप हो | प्राचीन वैदिक शास्त्रहरूले कामलाई तेस्रो पुरुषार्थका रूपमा राखेका छन् | पुरुषार्थको अर्थ हो मान्छेले जीवनमा अनिवार्य प्राप्त गर्नु पर्ने लक्ष | सन्तान प्राप्त गर्नु, तिनको पालनपोषण गर्नु, संस्कार दिनु र विवाह गराएर सृष्टिकार्य सुनिश्चित गर्न गृहस्थ आश्रमको प्रमुख कार्य हो | तेस्रो पुरुषार्थ - मूलतः विवाहित गृहस्थीका लागि अनिवार्य मानिएको छ | जसले गृहस्थ आश्रम स्वीकार गरेर सन्तान जन्माउन सफल हुँदैनन्, ती दम्पतीलाई शास्त्रहरूले "भाग्यहीन" भन्दै आलोचना गरेका छन् | यहाँसम्म कि विवाहित भएर यौनक्रिया गर्दा पनि सन्तान जन्मिएनन् भने "पुत्रेष्टी" यज्ञ गराएर पनि ऋषि, देव तथा पितृऋण तिर्नुपर्छ | आजभोली कामसूत्रको "सेक्सी" व्याख्या गर्ने चलन छ | तर कामसूत्रले यौनव्यवहारको सेक्सी व्याख्या गर्दैन | विवाहित जीवनमा यौन (काम)लाई कसरी शारीरिक, मानसिक तथा आध्यात्मिक लक्ष प्राप्तिको लागि उपयोग गर्ने कला बताइएको छ | कामशास्त्रमा मान्छेका ६४ बटा स्वरोजगारका कामलाई "काम" भनिएको छ | यी ६४ कर्महरू मध्ये काम (यौन) क्रियाकलाप पनि एउटा हो | वैदिक शास्त्र भन्छन् "काम नितान्त प्राकृतिक क्रियाकलाप हो जुन स्त्री र पुरुषका मनका माध्यमबाट उप्जिन्छ | नियमको पालना गर्दै यौनक्रियाकलपले संसारमा सुख त प्राप्त हुन्छ नै मृत्युपछि मोक्ष प्राप्त हुन्छ | असंस्कृत वा स्वच्छन्द रूपमा यौनक्रियामा सङ्लग्न हुनेहरू शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा सबैभन्दा दु:खी हुन्छन् |

असन्तुलित यौनशिक्षाका कारणले नेपाली समाजमा बढ्दै गरेका विवाहइतर सम्बन्ध र तिनले नित्याएका समस्याहरू भयावह बन्दैछन् | पश्चिमाहरूको यौनप्रतिमानलाई स्वीकार गर्दा यौन पनि "पुरुष र महिला"को बन्दै छ | जवकि यौन चाहना र व्यबहारका सवालमा प्रकृतिले महिला र पुरुषलाई वरावर बनाएको छ | जसले आक्रमण गर्छ, त्यो नै यौनदुराचारी हो भन्ने शास्त्रीय घोषणाले महिला होस् वा पुरुष विवाहपूर्व यौन सम्बन्ध राख्ने, विवाहपछि पतिपत्नी बाहेक यौन व्यबहार गर्ने र जवर्जस्ती यौनक्रियामा सङ्लग्न गर्ने गराउने पापी हुन् |

हरेक मान्छे यौनक्रियाको जिउँदो विज्ञापन हो | काम लुकाएर लुक्ने र हटाएर हट्ने कुरा होइन | हामी आफैं कामको परिणाम भएकाले कामको विज्ञापन गरेर "सेक्सी" बनाउनु विकृत मानसिकता हो | वैदिक संस्कृतिले कामलाई तेस्रो महत्वपूर्ण पुरुषार्थका रूपमा स्वीकार गरेको छ तर वैवाहिक समबन्ध विनाको यौनक्रियालाई निन्दनीय मानेर अस्वीकार गरेको छ | यौनक्रियालाई "सेक्सी" ठान्नेहरूको लागि विवाहसम्म कुर्न र मर्यादाअनुसार कामको (यौनक्रिया) प्रयोग गर्ने कुरामा नै असहमति छ | यो असहमतिले यौनक्रियाकलापलाई विकृतितिर घचेटेको छ | महिलालाई योनि र पुरुषलाई लिंगका रूपमा र यौनक्रियालाई "सेक्सी" ठान्ने मानसिकताले समाजलाई विकृत नै बनाउँछ | पाश्चात्य यौनशिक्षाले विवाहपूर्व नै यौनक्रियालाई प्रोत्साहन दिएर "बलत्कार"का लागि उक्साउने काम गर्छ भने प्राचीन कामशास्त्रमा आधारित यौनशिक्षाले प्रथमपटक यौनक्रियाको अनुभव गर्न कमसेकम २५ वर्षको उमेर हुनै पर्ने र विवाह गर्ने पर्ने मनोबैज्ञानिक आधार सिर्जित गरेर यौनक्रियालाई व्यवस्थित बनाउँछ | यौनविज्ञापनको "सेक्सी" जालझेलमा परेका आधुनिक महिला तथा पुरुषहरूका लागि प्राचीन कामशास्त्रले वकालत गर्ने संयमित यौनशिक्षा मन पर्दैन र आफ्ना बालबालिका भने यौनक्रियाबाट जोगिउन भन्ने चाहन्छन् | नेपाली समाजको यौनव्यबहार क्रमशः सेक्सी यौनविज्ञापनको प्रभावमा परेर जटीलतातिर उन्मुख हुँदैछ | यो विकृतिलाई रोक्न आत्म संयमयुक्त मौलिक कामशिक्षालाई महत्व दिनुपर्छ | कामलाई रोक्ने होइन विकृति रहित र मोक्षतिर उन्मुख गर्ने तेस्रो पुरुषार्थका रूपमा उपयोग गर्ने शिक्षा उपयुक्त हुन्छ |
क्रमशः

Saturday, October 29, 2022

अब्राहमिक-प्रजातन्त्रवाद

१. यो दशैंको मौसममा एउटा राजनैतिक दलका शिर्ष नेताले "आदिवासी महिषासुरलाई बाहुनक्षेत्रीहरूले दुर्गा नामकी सुन्दरी वेश्या प्रयोग गरेर हत्या गराएको र तेसै हत्याको खुसीमा आरम्भ गरिएको दशैं पर्व" भनि आफ्नो फेसबुकमा लेखेको र तेसको समर्थनमा लाइक तथा कमेन्ट गर्नेको जमात देखेर अचम्म लाग्यो | हरेक वर्ष दशैँको माहोलमा आउने यस्ता बक्तव्यहरूले एकातिर महिलाहरूको अस्मिताउपर प्रहार गरेको छ भने अर्कोतिर नेपाल र नेपालीको अपमान गरेको छ | देशको नेतृत्व गर्छु भनेर राजनीति गर्ने एउटा पार्टीका आधिकारिक नेताले देशका ९०% जनताले बडो श्रद्धा र विश्वास गर्ने, आराधना गर्ने तथा मान्ने देवीदेउताका विषयमा एस्तो अभद्र टिप्पणी गर्नेले नेपालको राजनैतिक नेतृत्व प्राप्त गर्न सक्ला त ? अर्कोतिर के नेपाली जनताले एस्तो सिद्धान्तमा विश्वास गरेर जिताउलान् त ? सर्वसाधारणले पनि बुझ्ने तत्थ्य के हो भने एस्तो राजनैतिक दल स्थापित गर्ने नेतृत्वले सत्ता प्राप्तिको लागि होइन केवल "चर्चामा रहिरहन वा नेपालको मौलिक धर्म, संस्कृति तथा परम्परासंग घृणा गर्ने, गराउने र एकआपसमा सङ्घर्षमा उतार्ने प्रयोजनका लागि प्रयोग गरिएका छन्" भन्ने बुझ्न असजिलो हुँदैन | अर्कोतिर के महिलाहरूका लागि वेश्या हुनु वा वेश्यावृत्तिमा रहनु खुशीको कुरा हो र ? मातृशक्ति र १ खरव जनसंख्यालाई प्रतिनिधित्व गर्ने सभ्यताउपर एस्तो प्रहार गर्ने आँट कहाँबाट आएको होला ? यो एउटा उदाहरणमात्र हो, यस्ता पात्रहरू थोरै भए पनि समाजमा फैलिंदै छन् |

२. वैश्विकतहमै राजनैतिक दलहरूको ऊद्देश्य "सत्ता प्राप्ति" हुन्छ | यदि कुनै व्यक्ति वा समूहले "हाम्रो राजनैतिक दलले भविष्यमा सत्ता प्राप्ति गर्ने छैन" भन्ने जान्दाजान्दै पनि राजनैतिक महत्वाकांक्षा राख्छ तर ब्यबहारचाहिं सानो गूट, जात, भाषाका लागि ठूलो भाषा, धर्म, संस्कृति विरुद्ध विष बमन गर्छ भने यस्ता पार्टीहरू र तिनका नेतृत्वले देशको भलो होइन अस्तित्वउपर नै प्रहार गरिरहेका हुन्छन् | नेपालजस्तो सम्झौताको "संबिधान" भएको देशको नेतृत्वले यस्ता "पाजी" राजनैतिक शक्तिहरू विरुद्ध संविधानले नै प्रदान गरेको शक्ति प्रयोग गर्नबाट जोगिन्छन् | नेपाली राजनीतिका विषयमा प्रष्टसंग भन्ने हो भने आदिवासी, जनजाती, मूलवासीजस्ता शब्दहरू प्रयोग गरेर राजनीति गर्नेहरूमा केही सधैं राज्यसत्तासंग "ब्लैकमेल गर्ने, गुण्डागर्दी गर्ने, राज्य सत्तालाई धम्क्याउने, आफ्नो वाहेक अन्य सबैको तीतो आलोचना गरेर आपसी सद्भाव बिथोल्न प्रयत्न गर्ने र अवसर प्राप्त हुँदासाथ सत्ताभित्र पसेर हालीमुहाली" गर्ने प्रप्वृत्ति देखिन्छ | अचम्मको तत्थ्य के छ भने संबिधानको रक्षा गर्ने अभिभारा बोकेको राज्यसत्ता यी गूटहरूसंग थर्कमान देखिन्छ, लाचार देखिन्छ | किन ? यसको उत्तर सबै शक्तिको प्रयोग गर्ने राज्यले नै दिन सक्छ |
३. नेपालमा १३३ जातजाति र १२३ बटा भाषाहरू छन् र ती सबै जीवन्त छन् | आफ्नो भाषा, भूगोल, धर्म, संस्कृति तथा सभ्यताको संरक्षण गर्ने, गराउन अभिप्रेरित गर्ने, संरक्षणका लागि राज्यसत्ता र आफु वाहेकका समूहसंग सहकार्य गर्ने दायित्व पनि सम्वन्धित समूहकै हो | जसले आफ्नो मौलिकता जोगाउन काम गरिरहेको छ, उनीहरूको उच्चसम्मान हुनुपर्छ | देशको एउटा पनि मौलिक परम्परानष्ट हुनु देश र समाजको लागि ठूलो नोक्सानी हो | तर आफ्नो धर्म, संस्कृति, परम्परा र मौलिकता संरक्षणका सवालमा नेतृत्वदायी भूमिका वहन गर्नुको सट्टा आफ्ना छिमेकीको धर्म, संस्कृति, परम्परा, भाषा, मौलिकताप्रति विष बमन गर्ने चिन्तन "माइन्ड-सेट" कसरी विकसित हुन्छ र यस्तो माइन्ड-सेटको विस्तारले देशको केकस्तो अहित हुन्छ ? राज्यको दण्डशक्ति लिएर बसेकाहरूले समय मै सोच्नुपर्छ | अन्यथा देशले अकल्पनीय क्षति वेहोर्नु पर्ने हुन्छ | समय निर्माण गर्न लाग्ने हो, विगार्न लाग्दैन |
४. मैले "आफु भिन्न अरूको आलोचना मात्रै गर्ने" माइन्ड-सेटका विषयमा चर्चा गरिरहेको छु | हिन्दू, बौद्ध, जैन, किरातआदि नेपालका रैथाने धर्म, संस्कृतिहरू बहुलतावादमा विश्वास गर्छन् | तेसैले नेपाल र भारत गरी करिव ७२८० रैथाने भाषा, संस्कृति र परम्पराहरू यहाँ जीवित छन् | सबैसंग आफ्नो मौलिक पहिचान सुरक्षित छ र आफ्नो सुरक्षा र प्रवर्धनका लागि राज्यले ती व्यक्तिहरूलाई पूर्णस्वतन्त्रता प्रदान गरेको छ | अर्कोतिर, यहुदी, इसाई, मुस्लिमहरूले "बहुलता"लाई अस्वीकार गर्छन् | प्रजातन्त्र नै भनिए पनि यहुदी, इसाई तथा मुस्लिम संस्कृतिबाट विकसित भएको छ, भने स्वाभाविक रूपमा तिनमा "बहुलता" स्वीकार्य हुँदैन | उदाहरणका लागि आब्रहमिक संस्कृतिले विकसित प्रजातन्त्रले अन्य संस्कृतिम विकसित भएको "प्रजातन्त्र"लाई अस्वीकार गर्छ | नेपालमा आब्रहमिक-प्रजातन्त्रको बर्चश्व बढ्दै जाँदा इसाई-मुस्लिमको जनसंख्या बढ्नु र आफ्नै छिमेकीप्रति चरमअसहिष्णु समूह बढ्दै जानु यसको प्रत्यक्ष उदाहरण हो |
५. नेपालमा जातका आधारमा, भाषाका आधारमा, भूगोलका आधारमा गठित गरिएका राजनैतिक, सामाजिक तथा सांस्कृतिक समूहहरूमा "केही"लाई छोडेर धेरैजसो चरम अराजक र स्वच्छन देखिन्छन् | आफ्नो धर्म, संस्कृति तथा राजनैतिक सभागिता खोज्नु भन्दा छिमेकीको (सनातनी)हरूका विरुद्ध क्रियाकलाप गरेर, बक्तब्यबाजी गरेर "जातीय पहिचान सुरक्षित हुन्छ" भन्ने भ्रम छरिरहेका हुन्छन् | यस्ता समूहको नेतृत्व गर्ने नेताहरू झन् असहिष्णु भेटिन्छन् | उनीहरू तर्क, अर्काको सम्मान र संबिधानप्रति विद्रोहलाई "जातीय पहिचान" भन्ने ठान्छन् | यो ठीक तेस्तै व्यबहार हो जस्तो कि यहुदीले इसाईसंग, इसाईले मुस्लिमसंग, मुस्लिमले यहुदी र इसाईसंग गर्छन् र अब्राहमिक-प्रजातन्त्रले अर्को प्रजातान्त्रिक चिन्तन र व्यबस्थासंग गर्छन् | उदाहरणका लागि अमेरिकी र युरोपेलीहरूले आफुले अभ्यासगरिरहेको "मोडेल"वाहेकका प्रजातान्त्रिक अभ्यासहरूलाई रत्तिभर मान्यता दिंदैनन् भन्ने तत्थ्य जगजाहेर छ | नेपालमा विकसित हुँदै गरेका असहिष्णु गूटहरू अब्राहमिक -प्रजातन्त्रको सैद्धान्तिक माइन्ड-सेटका प्रत्युत्पादन हुन् |
६. हजारौं वर्षदेखि सहअस्तित्व र सहृदयी सम्बन्धका साथ विकसित नभएको भए आजको नेपालमा १३३ बटा जातजातिको जीवन्त अस्तित्व असम्भव थियो | हाम्रोजस्तो बहुलता भएको इरान, इराक, अफगानिस्तान, युरोप, इस्लामिक राष्ट्रहरूले "अब्राहमिक माइन्ड सेट"का कारण असंख्य सभ्यताहरू बर्बरतापूर्ण तरिकाले गुमाएका छन् - यो सत्यलाई नकार्न सकिन्न | आजको मितिमा पश्चिमाहरूले आफूभित्र "कोर्स-करेक्सन" गरिरहेका छन् भने नेपालजस्तो देशका लागि भने उनीहरूसंग पुरानो "अब्राहमिक मोडेल" नै छ किनभने अब्राहमिक-मोडेलमा उनीहरूलाई फाइदा छ | अर्थात् नेपाललाई वेफाइदा हुँदा उनीहरूलाई फाइदा हुन्छ | यही फाइदाका मतियार "गूट"हरू हुन् | अब्राहमिक मोडेलको प्रजातन्त्र मान्ने यस्ता गूटहरूको पहिचान नै अर्काको "निषेध" गर्दै आरम्भ हुन्छ र कार्यान्वय सशस्त्र द्वन्दबाट हुन्छ |
७. अब्राहमिक-प्रजातन्त्र अर्थात् गणतन्त्र वा साम्यवादीलाई आफ्नो बौद्धिक आधार मान्नेहरूले "स्वन्त्रता तथा उन्नयन" छिमेकीसंग सहकार्य गरेर, आपसमा विचार आदानप्रदान गरेर तथा एकआपसमा सहृदयी सम्वन्ध विस्तार गरेर हुन्छ भन्ने तत्थ्य बुझाउन सकिन्न | एस्तो माइन्ड-सेट हुँदैजाँदा सबैको खाले समस्याको समाधान "घृणा र सशस्त्र सङ्घर्ष"ले मात्र गर्न सक्छ भन्ने विश्वास बलियो हुन्छ | जव सङ्घर्ष हुन्छ, हतियार बेचेर पैसा कमाउनेहरू उनै हुन्छन् | नेपालजस्तो मुलुक आन्तिरक द्वन्दका कारण क्षतविक्षत हुँदैगर्दा उनीहरूको जीवनस्तर विलासी हुँदैजान्छ | उदाहरणका लागि लिबिया, इराक, अफगानिस्तान, सिरिया र आजको मितिमा युक्रेन र रूसबिच द्वन्द हुँदै गर्दा अमेरिकी र युरोपेली प्रजातन्त्रहरूमा हतियारको शेयर अचम्मसंग महँगो भएको छ | मैले भन्न सक्दिन कि उपरोक्त प्रजातान्त्रिक मुलुकहरूले एस्तो विद्ध्वंस कार्य जानाजान गर्छन् कि उनीहरूको संस्कृति र सभ्यतासंग जोडिएर उनीहरूको बुद्धिमा प्रवाहित भैरहेको अर्कालाई पूर्ण निषेध गर्ने "अब्राहमिक माइन्ड-सेट" ले तेस्तो भएको हो ! सम्बन्धित व्यक्तिले यतातिर अनुसन्धान गर्दा हुन्छ | तर सबै दोष पश्चिमालाई दिनुको कुनै औचित्य छैन | उनीहरूबाट हाम्रो समाजले धेरै कुरा सिक्नुपर्छ |
८. सनातनीहरूकी आराध्या भगवती दुर्गालाई वेश्या भन्ने, नेपालको ८३% जनसंख्याको प्रतिनिधित्व गर्न हिन्दूहरूलाई "शरणार्थी" भन्दै अनर्गल गालीगलौज गर्ने, सनातनीहरूसंग केवल शत्रूतापूर्ण व्यबहार गर्ने, असहिष्णु बक्तब्य दिनेहरू आफ्नो संस्कृतिका संरक्षक हुन् भन्ने विश्वास गर्नु तिनको समुदायका लागि आत्महत्यासरह हो | जुनसुकै व्यक्ति, राजनैतिक पार्टी वा समुदाय जसले "दुर्गा वेश्या हो" भन्नेजस्ता अनर्गल र सांस्कृतिक सद्भाव विथोल्ने क्रियाकलाप गर्छन् वा बक्तव्य दिन्छन्, तीप्रति राज्य कठोर हुनैपर्छ | जुनसुकै जाति, धर्म, संस्कृति वा समुदायका भए पनि उनीहरूको संरक्षण गर्नुभनेको भविष्यमा "आ कुकुर मलाई टोक" भन्नुसरह हुनेछ | यदि राज्यले यस्ता व्यक्ति वा समूहसंग केवल धर्म, जात, भाषा वा भूगोलका आधारमा सहिष्णुता राख्छ भने राज्यस्वयं पनि अराजकहरूको मतियार बन्न पुग्छ | एस्तो राष्ट्रको भविष्य हुँदैन | राज्य अभिभाव हो जसको काखमा टाउको राखेर जनताहरू सुतिरहेका हुन्छन्, राज्यले उपरोक्त गूट वा समूहको स्वार्थ रक्षा गर्नु वा उनीहरूको ब्ल्याक-मेलिगमा परेर अकर्व्यशील हुनुभनेको आफ्नो काखमा सुतिरहेका जनताको टाउको खुकुरीले छिनाल्नुसरह विश्वासघात हो | नेपालको राज्यसत्ताले समयमै विचार पुर्याएर देश र जनताको सुरक्षा सुनिश्चित गर्नुपर्छ |
९. कुनै पनि व्यक्ति वा समूह आफ्नो मौलिक धर्म, संस्कृति, परम्परा, आदर्शहरूको संरक्षण तथा सम्बर्धनको लागि सक्रिय हुँदा अन्धविश्वासी, पश्चगामी वा विकास विरोधी हुँदैन | व्यक्तिको लबाई-खवाईले उसको प्रगतिशील चरित्र र व्यबहारलाई रोक्न सक्दैन | बारहरू चहारेर नयाँनयाँ रक्सीका ब्रान्ड खाएर मात्दैमा कुनै व्यक्ति आधुनिक हुँदैन र शालीग्रामको चरणामृत पिउंदैमा कुनै पछौटे पनि हुँदैन | एकअर्काको आलोचना गर्दैमा स्वधर्म र स्वजातिको पहिचान सुरक्षित हुँदैन | राष्ट्रराज्यको राज्नानैतिक मोडेलहरूका कारण धेरै जनता भ्रमित भएका छन् | उप्रान्त सहृदयी सम्बन्धका आधारमा एकअर्काको समालोचना गर्ने र पहिचानआदिका सवालमा एकअर्काको पहिचानको संरक्षण गर्दै उन्नत नेपालतिर "राज्यराष्ट्र"ले प्राप्त हुन्छ भन्ने तत्थ्य आत्मसात गर्नुपर्छ | राष्ट्रराज्यले राज्यराष्ट्रको अवधारणालाई ठाडै अस्वीकार गरे पनि राज्यराष्ट्रले भने राष्ट्रराज्यको महत्वलाई "अब्राहमिक माइन्ड-सेट"भएका राष्ट्रहरूलाई उपयोगी नै ठान्छ | अहिलेको वैश्विक परिवेशमा ती देशहरूमा पनि "राष्ट्रराज्य" गतार्थ भैसकेको छ भन्ने तत्थ्यचाहिं उनीहरूले पनि मनन गरिरहेका छन् तर उनको माइन्ड-सेटले स्वीकृति प्रदान गरेको छैन |
१०. यो विचारप्रधान लेख लेख्दै गर्दा "दुर्गा वेश्या हुन्"को प्रतिकारमा किन एतिबिध्न लेख्नु पर्यो भन्ने विचार नआएको होइन | तर मभित्रको एउटा सचेत नागरिकले यस्ता व्यक्ति वा समूहप्रति राज्यले आँखा चिम्लेको देखेर निकै कष्ट भयो | आधुनिक इतिहासले वर्तमान नेपाली समाजको समानान्तर अस्तित्व कमसेकम ३५ सय वर्ष प्राचीन हो भनेर बोलेकै छ | एस्तो समावेशी र सहअस्तित्वलाई निरन्तरता दिंदैआएको नेपाली समाजका लागि "दुर्गा वेश्या हुन्" भन्न सक्ने पात्रहरूको बौद्धिक प्रतिकार भएन भने देश दुर्घटनामा जान सक्छ भनेर आफ्नो कर्तव्य पालन गरेको हुँ | मलाई थाहा छ, एस्ता असहिष्णु गूट र तिनका मतियारहरूले यो बैचारिक प्रतिकार पढेपछि ज्यान मार्न सक्नेसम्मको उद्योग गर्ने छन् | जीवन र आयु पशुपति नाथ र देवी पार्वतीको हातमा छ | तर देश, जनता र मौलिक धर्मसंस्कृतिसंग जोडिएको नेपाली-नेपाली बिचको सहृदयी सम्बन्ध अझैं बलियो हुनुपर्छ |
सर्वेषां स्वस्तिअस्तु - सबैको कल्याण होस् |

राजनैतिक दर्शनमा स्वको चेतना

१. पश्चिमाहरूले प्लेटोको "रिपब्लिक"लाई प्रजातन्त्रको पहिलो दस्ताबेज ठान्छन् | रिपब्लिक लेखिनु भन्दा तीन हजार पहिला ऋग्वेदले स्वराज्य, वैराज्यआदि सात प्रकारका राष्ट्रसंचालनका व्यबस्थाहरू अभ्यास गरिसकेको थियो | सत्य के हो भने नेपाली राजनैतिक अभ्यासमा लोकतन्त्र, समाजवाद, गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र (२०७२ को संविधानले गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र, समाजवाद तिनैलाई फ्युजन गरेर) बनाएको नया शब्द हो जुन नेपालको आफ्नो मौलिक होइन |

२. आधुनिक राज्यव्यबस्थाहरूमा अमेरिकाको लबीले सधैं प्रजातन्त्रको वकालत गरेको पाइन्छ | ब्राजील, भारतजस्ता विकासशील मुलुकहरूले लोकतन्त्रको वकालत गरिरहेका हुन्छन् भने कम्युनिस्टहरूले गणतन्त्रको वकालत गर्छन् | नेपालजस्ता मुलुकहरू कहिले भारत, कहिले चाइना त कहिले अमेरिकाको संबिधान र इच्छा बुझेर संविधानको नाम राख्छन् | "लोकतान्त्रिक गणतन्त्र" रिपब्लिकले कल्पना गरेको, माओले सोचेको वा अब्राहम लिंकनले कल्पना गरेको शब्द होइन | हामी "तुष्टीकरण"वादमा उभिएका छौँ जसले आफ्नो देशको मौलिकताको संरक्षणलाई भन्दा विदेशीहरूको इच्छाको बढी सम्मान गर्छ |
३. प्लेटो कालीन गणतन्त्र (प्रजातन्त्र) आजको जस्तो थिएन | स्त्री, कृषक, कामदार, मजदुर तथा दासदासीहरूलाई "मान्छे" भनिन्नथ्यो भने मत दिने, राज्यमा सहभागिता जनाउने कुनै अधिकार थिएन | त्यो न लोकतन्त्र थियो न प्रजातन्त्र न गणतन्त्र नै | प्लेटोको "गणतन्त्र" अभिजात्यहरूको भागवण्डा गर्ने एउटा प्रणाली थियो जसले प्राइभेट लिमिटेडका शेयर होल्डरहरूले झैं राज्यका संसाधनहरू बाँडेर उपभोग गरिन्थ्यो | साच्चिकै भन्ने हो भने तेस वखत प्लेटोले लेखेको र भोगेको गणतन्त्र र आजको "गणतन्त्र, प्रजातन्त्र वा लोकतन्त्र"मा आधारभूत फरक छैन | नेपाली सत्ता समीकरणमा त झन् ठ्याक्कै "प्लेटोवाद" घटीत हुँदैआएको छ |
४. लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र वा गणतन्त्र जुन शब्दको प्रयोग भए गरिए पनि आधुनिक राज्यव्यबस्थाहरूले प्लेटोको "रिपब्लिक"लाई आफ्नो बौद्धिक पितामह मानेका छन् | नेपाल, भारत, अमेरिका, ब्राजिलहरूको राजनैतिक सिद्धान्तको आधार "रिपब्लिक"नै हो | मुस्लिमहरूका ७४ सम्प्रदाय, इसाईहरूका ६४५ सम्प्रदाय र यहुदीहरूका ३ बटा सम्प्रदाय भएझैं "लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र वा गणतन्त्र" सबैका बौद्धिक र पवित्रतम स्रोत रिपब्लिक नै हो ठ्याक्कै इसाईका सबै सम्प्रदायहरूले बाइबल र मुस्लिमहरूले कुरानलाई सर्बोच्च ग्रन्थ मानेझैं | सबै कुरामा मतभेद होला तर यी राष्ट्रहरू बिच रिपब्लिकका विषयमा मतभेद छैन | त्रिविविको राजनीति विभागले पढाउने पाठ्यक्रममा पनि "रिपब्लिक"लाई प्रजातन्त्रको स्रोत भनेर पढ्नुपर्छ |
-५. आधुनिक प्रजातन्त्रका पांचबटा स्तम्भ स्वतन्त्रता, समानता, शिक्षा, सहभागिता र जीवनको अधिकार" सबैका लागि मानिन्छ | सुन्दा निकै उचित लाग्छन् र यदि यी भने र सोचेजस्तै कार्यान्वयन हुने हो भने मानवता सुखी हुन्छ पनि तर व्यबहारमा विश्वका कुनै पनि डेमिक्रेसीहरूले उपरोक्त सैद्धान्तिक आधारहरूको एक चौथाई पनि कार्यान्वयन गरेका छैनन् | अझैं भन्नुपर्दा, अब्राहम लिंकन, बेन्थम, मिलआदिले जे-जस्ता परिभाषा दिए पनि ठ्याक्कै प्लेटोको भावनाअनुसार नै प्रजातन्त्रहरू "ठूलाबडा"हरूको भागवण्डामा परेको छ | समानताको अर्थ हुने खाने विच सम्मान जनक भागबण्डा, स्वतन्त्रताको अर्थ भागबण्डाको सहमतिप्रति प्रतिबद्धता, शिक्षाको अर्थ शेयर होल्डरका लागि स्तरीय शिक्षा (नेपाल, भारत, पाकिस्तान, श्रीलंकाआदिका हकमा हुनेखानेनेका लागि नीजि र जनताका लागि सरकारी शिक्षा) सहभागिताकाको हकमा राज्य संचालकहरू बिच सत्ताका लागि "गठबन्धन" र जीवनको अधिकारका हकमा पहुँचवालको लागि मात्र औषधिउपचारआदिको सुनिश्चितता (नेपालमा पूर्वप्रधानमन्त्री, मन्त्री, निजामतिका शक्तिशालीहरूले सुविधा प्राप्त गर्छन् | उनीहरूको जीवन सुनिश्चित गर्न राज्यले अनुदान दिएर अमेरिका बेलायत पठाउँछ) भन्ने बुझ्नुपर्छ | यी राज्य (सत्ता)हरूको चरित्र ठ्याक्कै प्लेटोको डेमोक्रेसीझैं छ |
६. ऋग्वेदमा केही प्रकारका राज्य व्यबस्थाहरूको वर्णन छ : स्वराज्य, वैराज्य, पारमेष्ठ राज्यआदि | यी राज्य संचालक सिद्धान्तमा आधारित राष्ट्रको शासन प्रणाली कस्तो हुन्त्यो भन्न सकिन्न तर लगभग सात प्रकारका राष्ट्र संचालनका व्यबस्थाहरूमा "रिपब्लिक" पनि पर्न सक्छ | असलमा, संस्कृत वा नेपालीमा रिपब्लिकको ठ्याक्कै अनुवाद छैन | डेमोक्रेसी (रिपब्लिकको) आधुनिक व्याख्याहरू पढे र बुझेपछि ऋग्वेदको "स्वराज" रिपब्लिक वा डेमोक्रेसी भन्दा बढी महत्वपूर्ण लाग्यो | स्व तथा राज्य यी दूई शब्दले निर्मित भएको शब्दले "सबै सुखी रहनु, सबै निरोगी होउन, सबैको कल्याण होस् र सामाजमा कुनै पनि व्यक्ति दु:खी नरहोस् भने उपनिषदहरूको चाहना र मनुस्मृतिले खोजेझैं "पृथ्वीको प्रत्येक समाजले स्वत्रन्त्र पूर्वक आ-आफ्नो संस्कृति, परम्पराको शिक्षा प्राप्त गरोस् भन्ने भनाई चरितार्थ भएको ठान्छु | साथै, प्लेटोबाट आयात गरिएको डेमोक्रेसी वा रिपब्लिकले सैद्धान्तिक रूपमा पनि "स्वराज्य" प्रतिनिधित्व गर्न नसक्ने देख्छु | यद्यपि स्वराज्यका तुलनामा रिपब्लिक-मोडेल बढी प्रसिद्ध र चर्चित छ |
७. स्वराज्यका विषयमा चर्चा गरिरहंदा स्वतन्त्रता पनि परिचर्चाको विषय बन्नुपर्छ | मलाई कुनै पनि संदेह छैन कि स्वराज्य र स्वतन्त्रताका बिचमा गहिरो सम्बन्ध निर्विवाद छ | स्व र तन्त्र - यी दुई शब्दको मिलनबाट स्वतन्त्र शब्द बनेको छ जसले स्वराज्यको शासकीय व्यबस्थाको व्याबहारिक पक्षलाई उजागर गर्छ | सबैले स्वतन्त्रतापूर्वक आ-आफ्ना संस्कृतिअनुसार आफ्नो विकास गरुन् भने मनुस्मृतिको कथन होस् वा विश्वको अन्तिम मानिस दु:खी रहनु हुँदैन भन्ने बैदिक ऋषिहरूको चाहना नै किन नहोस्, स्वराज्यमा मात्र प्राप्त हुन्छ | स्वतन्त्र व्यक्तिहरूको सामूहिक कर्मले स्वराज्यको स्थापना हुन्छ र यस्तो राज्यले मात्र स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिन्छ | नियामकका रूपमा "स्वराट््"लाई बुझ्नुपर्छ | स्वराट त्यो अवस्था हो जसमा स्वराज्यभित्रका स्वतन्त्र व्यक्तिहरूले दशओटा धर्म (धृति, क्षमा, दम, अस्तेयआदि) पालन गरेर आर्जित गर्छन् | सद्गुण र विवेकबाट संचालित व्यक्तिनै स्वराट होस् जसले धर्मपूर्वक स्वराज्य र स्वतन्त्रताको संरक्षण गर्छ |
८. स्वतन्त्रता, स्वराट, स्वधर्म (रिलिजन होइन) र स्वराज्य यी चारबटा विषयहरूले मान्छेको बहुपक्षीय विकासलाई अनुप्रणित गर्छ | स्वराट अर्थात् आत्मबल नभएको व्यक्ति वा समाजले स्वतन्त्रताको महत्व र अनुभूति गर्न सक्दैन | व्यक्तिगत सद्गुणहरूलाई महत्व नदिने व्यक्तिले स्वराज्य प्राप्ति गर्न सक्दैन | यदि कुनै परिस्थितिवस स्वराज्य प्राप्त गरे पनि त्यसको संरक्षण गर्न सक्दैन | मलाई लाग्छ, स्वराट व्यक्तित्वमा स्वधर्म, स्वतन्त्रताको स्वभाविक उपस्थिति हुन्छ भने यस्तो गुणहरूको आधार भएको व्यक्तिका लागि स्वराज्य अनिवार्य हुन्छ | स्वधर्ममा स्वच्छन्दता र अधिकार, स्वतन्त्रता र अधिकारका बीचको सूक्ष्म कर्तव्य रेखा बुझ्ने प्रज्ञा हुन्छ | अधिकार र स्वतन्त्रता एउटा भाव हुन् भने कर्तव्य र भाव अर्को चेतना हुन् | यदि व्यक्तिमा स्वराज्य र स्वधर्मप्रतिको आस्था छैन भने अराजक अधिकार र स्वतन्त्रताले आत्मघाति व्यक्ति वा समाजको निर्माण हुन्छ |
अन्त्यमा, दार्शनिक र व्याबहारिक रूपमा चिन्तन मनन गर्दा वर्तमान नेपाल राष्ट्रका अभियन्ताहरूले स्वधर्म र स्वतन्त्रता, स्वराज्य र अधिकारका बिचको कर्तव्य रेखाको सीमांकन गर्नु आवश्यक देखिन्छ |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...