Sunday, December 18, 2022

सन्त र पाखण्डको कुरा

धार्मिक बनेर व्यापार गर्नेहरूलाई शास्त्रले "पाखण्डी" भनेर सम्बोधन गरेको छ | साधु-सन्तको चोला धारण गर्ने, धर्मको उपदेश दिने, त्याग तथा वैराग्यको उपदेश दिने तर स्वयं भने तिनै उपदेश दिंदा प्राप्त धनबाट आजीविका चलाउनेको कार्यलाई पाखण्ड भनिन्छ | पाखण्डीहरूले सधैं आफु र आफ्नो परिवारलाई केन्द्रमा राख्छन् | कुनै पनि व्यक्तिले धार्मिक आवरणमा आफ्नो जयजयकार गराउँछ, आफ्ना परिवारको बर्चश्वका लागि साधनको ढोंग गर्छ भने त्यसको व्यक्तिको पछि लाग्ने र तेस्ता व्यक्तिको शिष्यत्व स्वीकार गर्ने पनि नर्कमा जान्छ 

धर्मका नाममा मान्छेहरूलाई ठग्न, झुक्याउन र मूर्ख बनाएर लुट्न सबैभन्दा सजिलो हुन्छ | कर्मफल र ईश्वरले तत्काल हस्तक्षेप गर्दैनन् | शरीरले शारीरिक सुख माग्छ | चलाख व्यक्तिहरूले "धार्मिकता"को चोला धारण गरेर गुरूको पसल खोल्छन् | ठुलाठूला मिडियाहरू किनेर गुरुको विज्ञापन गरिन्छ | अनि, विज्ञापनको रंगीचंगीपनको नशा बसेका सर्वसाधारणहरूले ती व्यक्तिलाई असाधारण गुरु ठानेर सर्वस्व अर्पण गर्न पुग्छन् | एउटा साधारण आश्रममा निवास गर्ने, साधारण जीवन यापन गर्ने, साधना गर्ने र विन्म्रभावले (गृहस्थ वा सन्यास आश्रममा रहेर) गुरुकुलआदि संचालन गर्नेहरू सन्तक श्रेणीमा नै पर्दैनन् | तर यी महापुरुषहरूलाई न गुरुत्वको आवश्यकता हुन्छ, न  मिडियाको र न धेरै चेलाचेलीको | उनीहरूको तपोमय जीवन केवल ईश्वर र धर्मका लागि समर्पित हुन्छ | मिडियाले निर्माण गरेका गुरूहरूमा अहङ्कार र धनसम्पत्तिको प्रदर्शन बहेको अरू केही हुँदैन भने यी सरल साधुसंग सरलता र आध्यात्मिक साधना बाहेक केही हुँदैन | 

धर्मशास्त्रहरूले विनम्रता, त्याग, वैराग्य तथा पारिवारिक र व्यक्तिगत महत्वाकांक्षरहित व्यक्तिलाई "गुरू, सन्त गुरू, मुनि"आदि शब्दले सम्बोधन गरेको छ | धार्मिक व्यक्तिको सबैभन्दा महत्वपूर्ण पहिचान नै त्यो कुनै प्रकारका व्यक्तिगत इच्छा वा चाहनाबाट मुक्त हुन्छ | उसले आफ्ना लागि केही चाहन्न र गर्दैन पनि | त्याग, तपस्या र संसारका भौतिक गतिविधिबाट आफुलाई वैरागी बनाउँछ | वैराग्यहीन व्यक्ति व्यापारी हुन्छ, गुरू हुनैसक्दैन | तर आवरणलाई हेरेर पाखण्डी र सन्तका बिचमा फरक छुट्याउने निर्णय गर्न सजिलो हुँदैन | जिज्ञासु आफै पनि साधना गरेको वा साधनको तीब्र इच्छा भएको व्यक्ति हुनुपर्छ |

सत्य के हो भने आजभोली धर्म र धार्मिकताको आवरणमा व्यापार गर्ने "धार्मिक-व्यापारी"हरूको सङ्ख्या ह्वात्तै बढेको छ | सर्वसाधारणका लागि को धार्मिक र को धार्मिक-व्यापारी भनेर छुट्याउन निकै गाह्रो छ | अनि, आवरणका आधारमा कसैलाई व्यापारी भनेर निर्णय दिनु र कसैलाई सन्त भनेर निर्णय दिनु सजिलो छैन | तर पनि धार्मिकताको कसौटी भनेको वैराग्य, त्याग, सरलता र साधना हो | यदि कुनै व्यक्तिमा वैराग्य छैन र उसको अभिरुचि चाहिं ठूलाठूला आश्रम, धेरै चेलाचेलीआदिमा छ भने शंका गर्ने ठाउँ हुन्छ | यसै गरी त्याग सजिलो कुरा होइन | संसारको त्याग गरें भन्दै ठूला महलहरू खडा गर्ने "ठूलाबडा" बाबाहरू आजभोली जताततै छन् | यिनले संसार त्यागेका हुन् कि दोश्रो संसारको निर्माण गर्दै छन् ? बुझ्न निकै गाह्रो छ |

सन्तको तेस्रो पहिचान भनेको सरलता हो | सन्तमा कुनै प्रकारको अभिमान, आडम्बर, देखावटीपन केही पनि हुँदैन | यदि कुनै व्यक्तिलाई भेट्न टिकट लिनुपर्छ वा मूल्य चुकाउनु पर्छ भने त्यो सन्तको सरलता होइन | सन्तका लागि महल र झोपडी, पाँचतारे होटल र जङ्गलको वासमा कुनै फरक हुँदैन | भौतिक सुविधाप्रति उनीहरूको कुनै अभिरुचि हुँदैन | मैले यस्ता धेरै साधुहरू भेटको छु जुन एसी र महङ्गा कारहरू नभएसम्म उपदेश पनि दिंदैनन् | शारीरिक सुखका लागि मरिमेट्नेहरू र अतिभौतिकतामा जिउनेहरूलाई "सरल र सहज" भन्न मिक्दैन | मलाई थाहा छैन, मैले यो लेख्दै गर्दा धेरैका "गुरू"हरू यो लेखको भुमरीमा पर्न सक्छन् तर मैले पहिले नै भनेको छु कि केवल वाहिरी आवरणका आधारमा निर्णय गर्नु उचित हुँदैन |

धर्मध्वज समाजमा त्यति सुनिएको शब्द होइन तर यो शब्दले समाजका ती वर्गको प्रतिनिधित्व गर्छ जसले धार्मिकतालाई पूर्णतया पेट पाल्ने साधनका रुपमा प्रयोग गर्छन् | धर्म र धार्मिकतालाई प्रयोग गरेर धर्मको तेजोवध गर्ने, धर्म र धर्मिक्ताका नाममा व्यक्तिगत सुखसुविधा जोड्ने, आफुलाई महान् सन्त, महापुरुष, गुरू देखाएर काम, दाम र नाम कमाउनेहरू धर्मध्वज हुन् | महाराज पृथुले यज्ञ गर्दा इन्द्रले सन्तको वेश धारण गरेर घोडा चोरेका थिए | यहाँ इन्द्रका लागि "धर्मध्वज र पाखण्डी" शब्दको प्रयोग भएको छ | आफ्ना पाप लुकाउन वा अरूको भलो रोक्न धर्मको आडम्वर गर्नेहरू धर्मध्वज हुन् | मैले उल्लेख गर्नु नपर्ला कि सबैजसो पुराणहरूले कलियुगमा ऋषिमुनि, सन्तको होइन धर्मध्वजहरूको रजगज हुने भविष्यवाणी गरेका नै छन् | 

अन्तिम कुरा एत्ति हो कि धार्मिक व्यापारी, पाखण्डी तथा धर्मध्वजसंग जोगिएर गुरू बनाउनु पर्छ | गुरू साधनाहीन र भोगी छ भने शिष्यमा तेही दुर्गुण सर्छन् र नर्कको भागी बन्नुपर्छ | गुरू अनिवार्य छ तर धर्मध्वज र पाखण्डी अस्वीकार्य हुनुपर्छ |

स्वस्तिअस्तु

No comments:

Post a Comment

लोग्नेस्वास्नी र सम्बोधन

लोग्नेस्वास्नी र सम्बोधन फरक संस्कृति , परम्परा र भाषाका अनुसार लोग्नेस्वास्नी विच एकआपसमा सम्वाद गर्ने चलन हुन्छ | मांगी विवाह होस् वा प्रे...