Saturday, May 23, 2020

धर्मनिरपेक्षता : किन अस्वीकार्य छ ?


धर्मनिरपेक्षता : किन अस्वीकार्य छ ?


(१) धर्मको अर्थ पन्थ वा सम्प्रदाय होइन | वैदिक संस्कृतिमा धर्मको अर्थ स्वभाव, गुण, प्रकृति तथा असल-ब्यबहार हो | आगोले तातोपान, पानीले चीसोपन, हावाले स्पर्शत्व र मान्छेले चिन्तनशक्ति त्याग्न सक्दैन | धृति, क्षमा, दम, अस्तेय, अहिंसा, विश्वकल्याणको कामना मेरा आफ्ना धर्म हुन् मैले यी मूलगुणहरू कसरी त्याग्न सक्छु |

(२) मेरो देश नेपाल हिमवतखण्ड हो जहाँबाट समस्त सनातन धर्मको आरम्भ भएको हो, जुन देशका कणकणमा ऋषिमुनिहरूले साक्षात्कार गरेका वैदिक ऋचाहरू, उपनिषदका सूक्तहरू र पुराणहरूका मधुर युगजयी गानहरू निर्झारित भैरहेका छन् | दधीचिजस्ता महामानव जसले मानवताको रक्षाका लागि आफ्नो शरीर नै दान दिएर धर्मको पालन गरे | परोपकारका लागि आत्मत्याग गर्नेको सन्तान भएर म कसरी धर्म-निरपेक्ष हुन सक्छु |

(३) इसाईका लागि धर्म क्रुसेड र बाइबलको अनुसरण हो, मुस्लिमहरूका लागि मूर्तिपूजक काफिरहरू विरुद्ध जिहाद हो | बौद्धहरूका लागि धर्म अज्ञान हो, जैनहरूका लागि धर्म कर्मको प्रवाह हो तर मेरो लागि धर्म परोपकार हो (परोपकराय पुण्याय) भने म धर्म निरपेक्ष हुनै सक्दिन | धर्मनिरपेक्षता अर्थात् जिहाद तथा क्रुसेड स्वीकृति |

(४) म हिन्दू हुँ अर्थात् मैले विश्वका कणकणमा परमात्माको उपस्थितिमा विश्वास गर्छु | मेरो व्यक्तित्व यही विश्वासको जगमा निर्मित भएको छ | मैले विश्वका हरेक प्राणिलाई ईश्वरको स्वरूपमा दर्शन गर्छु | तेसैले म इसाई, मुस्लिमजस्ता कट्टर क्रुसेडवादी र जिहादीलाई पनि घृणा गर्न सक्दिन | विश्वका हरेक प्राणीमा ईश्वरको उपस्थिति देख्नु नै मेरो सनातन धर्म हो | तेसैले म धर्मनिरपेक्ष हुनैसक्दिन |

(५) मेरो लागि ज्ञान, कर्म र भक्ति नै जीवनको स्वभाव हो | मेरो संस्कृतिमा अनेकतामा एकता र एकत्वमा अनेकत्वमा विश्वास गर्छ | मेरो हरेक जीवनशैली अनेकताको सम्मान गर्न र असहमतिहरूलाई शास्त्रार्थ गरेर टुङ्गो लगाउने तत्थ्यमा विश्वास गर्छ | माछा, कछुवा, वंदेल, नरसिंहमा विश्वास गर्ने र रूख, खोला, पहाडमा समेत ईश्वरको आराधना गर्ने मेरो संस्कृतिले मभित्र असहमत प्रति घृणा गर्ने स्थान दिंदैन | प्रेम र असहमतिको सम्मान नै मेरो सनातन धर्म हो | तेसैले म धर्मनिरपेक्ष हुनै सक्दिन |

(६) मान्छेले पन्थ परिवर्तन गर्न सक्छ, सम्प्रदाय परिवर्तन गर्न सक्छ, बसेको ठाउँ परिवर्तन गर्न सक्छ तर कुनै पनि मान्छेले आफ्नो मूल वास अर्थात् पृथ्वी, जल, अग्निआदिको मूलतत्व परिवर्तन गर्न सकिन्न | जसरी दियोले आफ्नो प्रकाशकीय धर्म त्याग्न नसकेझैं मैले पनि सनातन धर्म त्याग्न सक्दिन | तेसैले धर्मनिरपेक्षता असम्भव विषय हो | असम्भव विषय स्वीकार्य हुनैसक्दैन |

(७) यहुदीले यहुदीको कुरा गर्छन्, इसाईले इसाई-बाहेकको धार्मिक अस्तित्व मान्दैन, मुस्लिमले जिहाद गरेरै भए पनि काफिरहरूबाट पृथ्वीलाई मुक्त पार्ने प्रतिज्ञा गर्छ तर हाम्रो सनातन धर्मले प्राणीमात्रको कल्याणको प्रतिज्ञा गर्छ | विश्वका हरेक प्राणी समान छन् भन्ने सनातन धर्मको संदेशको संवाहकका रूपमा धर्मनिरपेक्षता असम्भव छ |

(८) धर्मको निर्माण व्यक्तिको लहडले हुँदैन | मोसेजको लहडले यहुदी, जिससको लहडले इसाईको, मोहम्मदको दिवा-स्वप्नले इस्लामको, बुद्धको महत्वाकांक्षाले बौद्धको, महावीरको असहमतिले जैन तथा सिख धर्मको निर्माण वावा नानकको महत्वाकांक्षी चेतनाका कारण भएको हो | सनातनले धर्मको निर्माण, व्यबस्थापनको जिम्मा साक्षात ईश्वरले गरेका हुन् | व्यक्तिले निर्माण गरेका सम्प्रदायको आरम्भ छ भने आरम्भ भएका कारण अवशान पनि छ | अवसानसंग जोडिएकाहरू हारजितको प्रतियोगिता खेल्छन् | राजनीति गर्छन् तर तर धर्मले राजनीतिलाई दिक्षीत, शिक्षित र प्रशिक्षित गर्छ | तेसैले उनीहरूले आफ्नो लाभका कहिले धर्मनिरपेक्षता र कहिले धर्म-सापेक्षताको खेल खेल्छन् | मेरो सनातन धर्मको लक्ष मोक्ष भएकाले म धर्मनिरपेक्ष हुनै सक्दिन |

(९) वेदका अनुसार असल आचरण नै धर्म हो र त्यो साक्षात भगवान्ले निर्माण गर्नुभएको हो | धर्म, अर्थ, काम तथा मोक्षको समग्र नाम पनि धर्म हो | वैदिक साहित्यमा धर्म भनेर सम्प्रदाय बुझिन्न | वैदिक सनातन धर्मभित्र धेरैधेरै सम्प्रदायहरू छन् | सबैका आ-आफ्ना इष्ट देव छन्, आचारविचार छन् तर एकआपसमा घृणा छैन | कृष्ण भक्त देवी मन्दिर, देवी भक्त हनुमान मन्दिर मन्दिर, हनुमान भक्त कुमारको मन्दिरमा सजिलैसंग जान्छन् तर आफ्नो आराध्यदेव/देवीलाई श्रेष्ट मान्छन् | अनेकतामा एकता र एकता अनेकता गुण नै सनातन धर्म हो | कमसेकम सैद्धान्तिकरूपमा सनातन धर्ममा घृणावाद छैन | क्रुसेड र जिहादसंग विद्रोह गरेर स्थापित भएको धर्मनिरपेक्षता मेरो लागि अस्वीकार्य छ

(१०) म मान्छु, संस्कृति परिवर्तनशील विषय हो | देश, काल र परिवेशले हिन्दू संस्कृतिमा असल र कमसल पक्ष दूवै थपेका होलान् तर अपरिवर्तनीय गुणहरू भएको धर्मले (गुण) हिन्दू-सनातन धर्म सधैं प्रकाशित छ | हरेक नेपालीको दैनिकीमा स्थापित छ | तेसैले हरेक नेपाली धर्मप्राण कहलिन्छ | तेसैले होला नेपालका साम्यवादी, पूँजीवादी, समाजवादी तथा नास्तिकहरू पनि सनातन धर्मको छहारी ताप्न वाध्य छन् | हरेक नेपालीको जन्मदेखि मृत्युसम्म फैलिएको सनातन धर्म कसरी निरपेक्ष रहन सक्छ ? अत: फेरी पनि भन्छु, नेपालको संविधानमा उल्लेख भएको धर्मनिरपेक्षता शब्द गलत छ | तेसैले धर्मनिरपेक्षता अस्वीकार्य छ |

(११) यदि यो लेख पढेपछि पनि कसैले आफुलाई धर्मनिरपेक्षताको पक्षधर नै ठान्छ भने उसको अज्ञानताप्रति खेद व्यक्त गर्न सकिन्छ | पन्थ, सम्प्रदाय, कल्टआदि र धर्मका बीचको फरक थाहा नपाउने वा थाहा पाएर पनि स्वार्थवस बुझ पचाउनेहरू संसारका सबैभन्दा दुखी र स्वार्थी मान्छे हुन् | तेसैले पुन: म भन्छु, मान्छे पन्थ, कल्ट सम्प्रदाय निरपेक्ष हुन सक्छ तर धर्मनिरपेक्ष हुनैसक्दैन | तसर्थ, धर्म-निरपेक्षता अस्वीकार गर्छु र पन्थ निरपेक्षताप्रति सहमति जनाउँछु |

नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनै सक्दैन किनभने कुनै पनि नेपाली धर्मनिरपेक्ष छैन | धर्मनिरपेक्षता भ्रम हो, पन्थ निरपेक्षता सत्य हो | सत्यको बाटो सजिलो र सहज छ | बनावटी बाटो छोडौं, प्राकृतिक बाटो स्वीकार गरौँ | आफ्नो आत्माको सम्मान गरौँ, आफ्नो इतिहासको सम्मान गरौँ, आफ्नो गौरवलाई भविष्यका पुस्ताका लागि सुरक्षित राखौं | 

Wednesday, May 20, 2020

क्रियाको प्रतिक्रिया - मानचित्र


क्रियाको प्रतिक्रिया - मानचित्र 
गतवर्ष इन्डियाले जम्मुकास्मिरलाई दिएको विशेष अधिकार हटाएर आफ्नो नयाँ राजनैतिक मानचित्र जारिगरेको थियो | यो उसको आफ्नो अधिकार थियो तर तेसभन्दा अगाडी इन्डिया र नेपाल दूवैको नक्शामा नदेखिएको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालसंग कुनै सरसल्लाह नगरी एकपक्षीय ढंगले यो क्षेत्र आफ्नो मानचित्रमा समावेश गरेपछि नेपालमा यसले तरंग ल्याएको थियो |


गतवर्षको तेही तरंगले अहिले मूर्तरुप धारण गरेको छ | नेपालले विभिन्न चरणको वहस र छलफलपछि लिम्पियाधुरासहितको राजनैतिक मानचित्र जारी गरेको छ | इण्डियाको एकपक्षीय निर्णयले नेपाल खिन्न हुनुस्वाभाविक देखिन्छ | असलमा, ठूलो देशको रूपमा इन्डियाले राजनैतिक रुपमा वार्ता गरेर एउटा टुङ्गोमा पुगेपछि मात्र नेपाल वा इन्डिया कसले आफ्नो नक्शामा लिम्पियाधुरा राख्ने भनि निर्णय गर्नुपर्थ्यो | इन्डियाले गतवर्ष मात्रै आफ्नो राजनैतिक नक्शामा लिम्पियाधुरा समावेश गरेको तेहीका संचारमाध्यमहरूले बोलिरहेका छन् |

विगतका वर्षहरूमा दूवै देशले आफ्नो राजनैतिक मानचित्रमा यो क्षेत्र समावेश नगरेकोले यो क्षेत्रमा सीमा विवाद थियो भन्ने प्रष्ट हुन्छ | एकपक्षीय रूपमा इन्डियाले आफ्नो मानचित्रमा राख्नुको अर्थ विवादित क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप नै हो | एउटा सार्वभौमसत्ता मुलुकको रूपमा नेपालले उठाएको कदमलाई उचित नै भन्नुपर्छ |

नेपालले राजनैतिक मानचित्रमा लिम्पियाधुरा-लिपुलेक समावेश गरेर जारी गरिसकेपछि भारतीय विदेशमन्त्रालयले "राज्नायिक वार्ताको उपदेश दिनु"को औचित्य नै रहन्न | गल्ति भारतले गरेको हो तर त्यो गल्ति मान्न उसलाई सजिलो छैन | गल्ती स्वीकार्दा विश्व र आफ्नै जनता बीच उसको इज्जत बढ्ने छ तर एस्तो सम्भावना एकदमै कम छ |

नेपालले नक्शा जारी गरिसकेको अवस्थामा यो क्षेत्र स्वाभाविक रूपमा द्वीपक्षीय विवादको विषयका रूपमा जगजाहेर भएको छ | हिजोका दिनमा सजिलैसंग सीमा विवाद टुङ्गो लगाउन सकिन्थ्यो भने अव नेपाल तथा इन्डिया बीच "भूमिको लेनदेन" गरेर सीमा विवाद सुल्झाउन आन्तरिक "राष्ट्रवाद" भोट केन्द्रीत डेमोक्रेसीका कारण निकै गारो हुनेछ |

अव नक्शाको विवाद राष्ट्रीय मुद्दा वनिसकेको छ | विश्वको कुनै पनि जमिनको टुक्रा दुवै देशको नक्शामा हुनै सक्दैन | नेपाल तथा इण्डियाको नक्शामा "लिम्पियाधुरा" छन् | एसको अर्थ हो - सीमामा विवाद छ | नेपालले आफ्नो नक्शामा लिम्पियाधुरा-कालापानी समावेश गर्छ भन्ने इन्डिया सोचेको पनि थिएन | "पेलेर" जाने भारतीय नीतिलाई नेपालले १००% चुनौती दिएको छ |

प्रतिक्रियामा इन्डियाले "ब्लोकेड"को बाटो रोज्न सक्छ | कोरोनाले थुनिएका नेपालीहरूले इन्डियाबाट पनि थुनिने जोखिम छ | जव इन्डियाले भुइचालोको कहरमा थुन्न छोडेन भने कोरोनाको के परवा गर्ला ? तर तेस वखतकी विदेश मन्त्री सुष्मा स्वराज दिवंगत भएकी छन् भने इन्डियाले जतिठुलो कुरा गरे पनि विश्वमंचमा उसको वदनाम भएको थियो | हालको नक्शा प्रकरण इन्डियाले देखाएको क्रियाको प्रतिक्रिया हो | यसमा नेपालको दोष छैन |

नेपालले लिम्पियाधुरा सहितको नक्शा सार्वजनिक गरेको छ | सबै नेपालीले एसको स्वागत गरेका छन् र गर्नु पनि पर्छ | अर्को कठोर सत्यका लागि पनि तयार हुनुपर्छ त्यो भनेको नेपालले आगामी दिनहरूमा राजनैतिक, आर्थिक तथा सामाजिकस्तरमा इन्डियाले खडा गर्ने धेरै खाले अवरोधहरूको सामना गर्न पनि तयार रहनु पर्छ | मैले लेखेका यी पङ्क्ति पढ्दै गर्दा पाठकहरूलाई असजिलो अनुभव भए पनि विगतमा इन्डियाले विभिन्न कालखण्डमा नेपाल र नेपालीप्रति देखाएको अमानवीय व्यबहारले यही लेख्न र बोल्न प्रेरित गर्छ |

इण्डियाको राजकीय आधारवाक्य "सत्यमेव जयते" उसले कालापानीमा वेवास्था गरेको छ भने नेपालले कसरी "स्वर्गादपि गरियसि" त्याग्न सक्छ ? आफ्नो मानचित्रमा लिम्पियाधुरा समावेश गर्नुभन्दा पहिला नेपालसंग राजनैतिकतहमा वार्ता गरेको भए इण्डियाको कद ठूलो हुन्थ्यो | लिम्पियाधुराको मामिलामा कम्युनिष्टहरूले सधैं भन्ने र लेख्ने गरेको बाक्य "साम्राज्यवादी भारत" भन्ने तत्थ्य भारत आफैले प्रमाणित गरेको छ |

अव हाम्रो पालो

अव हाम्रो पालो 

(१) जवसम्म नेपाली तथा भारतीय समाजशास्त्रीहरूले भारतवर्षमा सभ्यताको विकास पश्चिमतिरबाट भएको हो भन्ने असत्यलाई सत्य थानिरहन्छन् तवसम्म भारतवर्षको गौरव स्थापित हुँदैन

(२) जवसम्म नेपाली र भारतीय इतिहासकारले आर्यलाई जाति भनेर उल्लेख गरिरहन्छन् तवसम्म अंग्रेजी-इतिहासकारको बौद्धिक दासत्वबाट मुक्त हुनै सक्दैनन् |

(३) जवसम्म नेपाली राजनैतिक शक्तिहरूले एकभाषा, एकजाति, एउटा धर्नका आधारमा निर्मित भएको राष्ट्रराज्यमा मरिहत्ते गरिरहने छन् तवसम्म नेपाली तथा भारतीयहरू पश्चिमाहरूका सैद्धान्तिक दास रहिरहने छन् |

(४) जवसम्म नेपाली तथा भारतीय विश्वविद्यालय र विद्यालयहरूले प्राचीन वैदिक, जैनी, बौद्ध तथा अन्य रैथाने ज्ञानका विषयवस्तुहरूलाई पाठ्यपुस्तकमा प्राथमिकताका साथ समावेश गर्दैनन् तवसम्म यो समाज ज्ञानका लागि पश्चिमाको दासत्वबाट मुक्त हुनैसक्दैन |

(५) जवसम्म नेपाली तथा भारतीय विद्वानहरूले आफ्नो सभ्यता प्राकृतिक रूपमै मौलिक तथा समावेशीपनले युक्त भएको तत्थ्यलाई स्वीकार गर्दैनन् तवसम्म विदेशीहरूले विभिन्न वहाना गरेर यो समाजलाई घृणावादी द्वन्दतिर धकेली रहन्छ |

(६) जवसम्म नेपाली तथा भारतीय विद्वानहरूले आफ्ना अनुसन्धानका स्रोतका रूपमा आफ्ना मौलिक विद्याहरूको पहिचान र उल्लेख गर्दैनन् तवसम्म विश्वले मात्र होइन नेपालीहरूले पनि आफ्नो महत्व थाहा पाउन्नन् |

(७) जवसम्म नेपाली तथा भारतीय विद्वान तथा राजनैतिकहरूले रिलिजनलाई धर्मको पर्यावाचिका रूपमा व्यबहार गरिरहन्छन् तवसम्म यहुदी-इसाई-इस्लामीहरूको धार्मिक कट्टरता हिन्दू-बौद्ध समुदायमा पनि विकसित हुने खतरा रहिररहंछ |

(८) जवसम्म नेपाली तथा भारतीय विद्वानहरूमा परिभाषा तथा सिद्धान्तहरू अभिनिर्माण गर्ने आँट हुँदैन तवसम्म पश्चिमाहरूको बौद्धिक वर्चस्वलाई विस्थापित गर्न सकिन्न |

(९) जवसम्म हरेक नेपाली र भारतीयले आफु वैदिकसनातन धर्म र जीवकपन्थका अनुयायी भएको तत्थ्य गौरवका साथ प्रस्तुत गर्न सक्दैनन् र आफुलाई धर्मनिरपेक्षताका सवालमा निरीह पाउँछन् तवसम्म विदेशी विधर्मीहरूले हेपिनै रहने छन् |

(१०) जवसम्म नेपाल तथा भारतीय प्राथमिक विद्यालयहरूले संचारका भाषाका रूपमा स्वदेशीभाषालाई महत्व नदिएर विदेशीभाषालाई महत्व दिन्छन् तवसम्म नेपालीसहित नेपाली मातृभाषाहरू विलुप्त हुने आत्मघातिबाटोमा अग्रसर रहन्छन् |

(११) जवसम्म हामीले पश्चिमा वा पश्चिमाहरूको बौद्धिक सुप्रिमेसी स्वीकार गरेर पश्चिमाहरूलाई सभ्यता, इतिहास, विज्ञान, मानवता, राजनीति, अधिकार तथा कर्तव्यका श्रोत तथा मोडेलका रूपमा स्वीकार गरिरहन्छौं तवसम्म हामीले आफ्नो मौलिक विज्ञान, संभ्यता, राजनीति तथा सुप्रिमेसीको विकास गर्न सक्दैनौं |

उपरोक्त भनाइहरूलाई एउटा नेपाली बनेर पढौं, मनन गरौँ र बुझौं | तेसपछि आफ्नो सत्यता थाहा हुन्छ | अझै पनि समय छ, अनुकुलता छ, जागौं, जागाऔं र सत्यमेव जयतेको बाटो अंगीकृत गर्दै धर्म, अर्थ, कामको सेवन गर्दै मोक्षको मार्ग प्राप्त गरौँ | सत्यं, शिव तथा सुन्दरम् हाम्रो मौलिकता हो एसको सम्मान गरौँ र असल कुराहरू विश्वबाट प्राप्त गरौँ र हाम्रा असल कुराहरू विश्वलाई प्रदान गर्ने वातावारण तयार गरौँ |

Thursday, May 7, 2020

हिन्दू तथा बौद्धहरू

सनातन हिन्दू तथा बौद्ध
प्राचीनकालदेखि नै नेपालमा हिन्दू, जैन, बौद्ध तथा बोनहरू सहअस्तित्वमा रहेका छन् | वेदलाई अपौरुषेय हो भन्ने सैद्धान्तिक मतभिन्नता वाहेक बौद्ध तथा सनातनीहरूमा मतभेद छैन | नाकका आधारमा धार्मिकताको विभाजन गर्ने मोजेजका मानससन्तानहरू (इसाई, मुस्लिम, कम्युनिष्ट, पूँजीवादी)हरूको अपवित्र गठजोडले यी दुई सनातनीहरू बीचको सहकार्य र सहअस्तित्वमा खलल पुर्याउन ठूलो प्रयत्न गरिरहेका छन् | यसका लागि दूवै सनातनीहरूले निम्न वूँदाहरूमा ध्यान दिनुपर्छ |

हिन्दू तथा बौद्धमा समानता
(१) दूवैको स्रोत वेद हुन् |
(२) दूवैको जरोकिलो भारतवर्ष हो |
(३) दूवैले कर्म-सिद्धान्तमा विश्वास गर्छन्
(४) दूवैले पुनर्जन्ममा विश्वास गर्छन् |
(५) दुवैले संस्कारमा विश्वास गर्छन् |
(६) दूबैले अवतारवादमा विश्वास गर्छन् |
(७) दूवैले तपस्या, साधना, त्याग तथा करुणाबाट आध्यात्मिक शक्ति प्राप्त हुन्छ भन्ने तत्थ्यलाई आत्मसात् गर्छन् |
(८) दूवैले बहुदेववाद, देवीवादमा विश्वास गर्छन् |
(९) दुवैले एकअर्काको अस्तित्वप्रति सम्मान गर्छन् |
(१०) दूवैले प्राचीन ऋषिमुनिहरूको तपस्या तथा अस्तित्वप्रति विश्वास गर्छन् |
(११) हिन्दू र बौद्ध आन्तिरिकरूपमा अनेकौं उपसम्प्रदायहरूमा विभाजित छन् |
(१२) हिन्दू र बौद्ध दुवैका ग्रन्थहरू संस्कृत र पालिभाषामा छन् |
(१३) बौद्ध तथा हिन्दू दूवैले ॐकारलाई सर्वश्रेष्ठ मन्त्र मान्छन |
(१४) बौद्ध र हिन्दू दूवै समुदायले जन्मदेखि मृत्युसम्ममा कर्मकाण्ड गर्छन् |
(१५) नेपालमा हिन्दू र बौद्ध दुवैका आराधनास्थलरू साझा गर्छन् |
(१६) गणेश, भैरव र जीवित कुमारी हिन्दू तथा बौद्धका साझा देवीदेवता हुन् |
(१७) हिन्दू तथा बौद्ध धार्मिक श्रेष्ठताको निर्णय शास्त्रार्थ हो भन्ने विश्वास गर्छन् |
(१८) हिन्दू तथा बौद्ध दुवैले प्रत्यक्ष, अनुमान, उपमान तथा sशब्दलाई ज्ञानको प्रमाणिक आधार मान्छन् |
(१९) हिन्दूहरूझैँ बौद्धहरूमा पनि मांसाहार र शाकाहार दूवैको प्रचलन छ |
(२०) हिन्दूहरूले बुद्धलाई विष्णुको दशौँ अवतार मान्छन् भने बौद्धग्रन्थहरू हिन्दू देवीदेवताले बौद्धको आराधना गरेका थुप्रै प्रमाण छ |
(२१) दूवै धर्ममा ज्ञान, तप र साधनामा श्रेष्ट व्यक्तिलाई "आर्य" भनिएको छ | आर्यलाई जातिका रूपमा निराकरण गरिएको छ |
(२२) दूवैले पापपुण्य तथा स्वर्गनर्कमा विश्वास गर्छन् |
(२३) दूवैले संसारलाई क्षणिक तथ दुखको स्रोत मान्छन् |
(२४) हिन्दू र बौद्ध दूवैले मोक्ष (निर्वाण)लाई दुखको उन्मुक्ति मान्छन् |
(२५) हिन्दूले बौद्धको र बौद्धले हिन्दूको धार्मिक अस्तित्वलाई स्वीकार गर्छन् |

असमानताहरू
(१) हिन्दू र बौद्धको कर्मकाण्ड मिल्दैन |
(२) हिन्दूहरूले वेदलाई समस्त ज्ञानको स्रोत र अपौरुषेय मान्छन् तर बुद्धिस्टले मान्दैनन् |
(३) हिन्दूहरूले आत्माको अमरतामा विश्वास गर्छन् तर बुद्धिष्टले गर्दैनन् |
(४) बौद्धहरूले सर्वशक्तिमान ईश्वरको अस्तित्त्वमा विश्वास गर्दैनन् जवकि हिन्दूहरू गर्छन् |
(५) हिन्दूहरूले बुद्धिस्टहरूले बुद्धको आराधना गरेर मोक्ष प्राप्त गर्न सक्ने तत्थ्यमा विश्वास गर्छन् भने बौद्धहरूले बुद्ध-देशनाको अनुसरण नगरी कसैले पनि निर्वाण प्राप्त गर्न सक्दैन भन्ने मान्यता राख्छन् |

निष्कर्ष
हिन्दू तथा बौद्धहरू बीच धार्मिकमतभेदका तुलनामा सहअस्तित्वका आधारहरू अतिधेरै छन् | यो सबैले हिन्दू र बौद्धहरूको मतभेद सिद्धान्तसंग सम्बन्धित छ भन्ने प्रस्ट हुन्छ | एकेश्वरवाद, एक पुत्र वा दूतवाद र एउटा धार्मिक-पुस्तकमा विश्वास गर्ने मोजेजका मानसिक सन्तानहरूको प्रभावमा परेर नेपाल अर्थात् हिमवतखण्डका सहकर्मी हिन्दू, बौद्ध, जैन, बोनहरू बीच एकआपसमा फुटहालेर सगरमाथामा क्रस गाड्ने सपना देख्नेसंग सावधान र सुरक्षित रहौं | आफ्नो जरोकिलो अर्थात् हिन्दू बौद्ध जागरणको पथ न त्यागौं र धर्मनिरपेक्षताको भ्रममा पनि नपरौं |

(लेखकको नाम उल्लेख गरेर सक्दो शेयर गरौँ)
जरो किलो प्रतिष्ठान नेपाल /Jarokilo pratishthan Nepal
हिन्दू-बाैध्द धार्मिक केन्द्र (hindu-bouddha religious centre)
हिन्दू युवा संयोजन नेपाल | Hindu Youth Movement.
सामाजिक संजालमा नेपालको आवाज: मौलिक जरोकिलो पार्टी।
हिन्दू जागरण रेडियाे
⛳विश्वहिन्दू एकता महासंघ⛳

Monday, April 27, 2020

आदिशंकराचार्य : नेपाल नातो

आदिशंकराचार्य : नेपाल नातो
भगवान् पशुपतिनाथका अवतार अद्वैत-सम्प्रदायका संस्थापक तथा वैदिक सनातन धर्मका पुरोत्थानकर्ता आदिशंकराचार्य (वि.सं. ७४३, सन् ६८६ दक्षिण भारत) तथा शेषराजका अवतार प्रतिवादी भयङ्कर विशिष्ट-अद्वैत सम्प्रदायका संस्थापक गुरू श्रीरामानुजाचार्यको ( सन् १०१७ - ११३७) जन्म-जयन्तिका अवसरमा निजहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु |

एउटा दर्शनशास्त्रको विद्यार्थीको नाताले आदिशंकराचार्यलाई मैले विश्वका सबैभन्दा प्रभावशाली दार्शनिक व्यक्तित्वको रूपमा सम्मान गर्छु | केवल ३२ वर्षको उमेरभित्र भारतवर्षको अनेकौं पटक भ्रमण गर्न सफल भएका, तेस बीचमा करिव ७५ बटा ठूला-साना पुस्तकहरू रचना गर्न सफल भएका र लोपोन्मुख सनातन धर्मको गौरवलाई बौद्ध तथा जैनहरूसंग शास्त्रार्थ गर्दै उनीहरूलाई पराजित गरी शिष्य वनाएर सनातन धर्मको पुनारोत्थान तथा पुनरोत्थान गरेका आदि शंकराचार्य वास्तवमा अदभूत छन् | आज भन्दा १२ सयवर्ष पहिलेको भारतवर्षका कुनै ३२ वर्षको उमेर पाएका ठिटाले एतिविध्न काम अदभूत, अवर्चनीय र विश्वमा कसैले गर्न नसक्ने सिद्ध हुन्छ |

आदि शंकराचार्यको नेपाल नातो निकै महत्वपूर्ण छ | केही भारतीय दर्शनशास्त्री तथा विद्वान् बलदेव उपाध्याय, डा. राधाकृष्णन् र नेपाली इतिहासकार गोपालनिधि तिवारीले आदिशंकराचार्य नेपाल आएको र श्रीपशुपतिनाथको सेवा-पुन संचालन गरेको, नेपालमा पुन: सनातन धर्मको स्थापना गरेको भनेर उल्लेख गरेको पाइन्छ भने फ्रान्सेली इतिहासकार सिल्भर लेवीले पनि "कुनै भारतीय सन्यासी नेपाल आएको" भनेर उल्लेख गरेका छन् |

विकिपिडियाले शंकराचार्य नेपाल आउंदा उनको उमेर २८–३० वर्ष थियो । सन् ७०३ मा उनी नेपाल आउंदा संभवतः यहां लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरुमा केही मतभेद पाइन्छ ।" भनेर उल्लेख गरेको छ |आदिशंकराचार्यलाई स्मरण गर्दा मैले मीमांसाका महाविद्वान मण्डन मिश्रकि धर्मपत्नी विदुषी उभय भारतीको स्मरण गर्न चाहन्छु जसले आफ्ना पतिका तर्फबाट आदिशंकराचार्यसंग एकमहिना लामो शास्त्रार्थ गरेकी थिइन् | आजभन्दा करिव १२०० वर्ष पूर्व एउटी महिलाले आचार्य शङ्करसंग एकमहिना लामो शास्त्रार्थको प्रसंगले तत्कालीन हिन्दू-समाजमा नारीहरूले पुरुषसरह शिक्षादीक्षा प्राप्त गर्थे भन्ने तत्थ्यको जीवन्त प्रमाण हो |\

प्राचीन नेपालमा मूलत: छ बटा प्राचीन वैदिक सम्प्रदायहरू प्रचलित थिए जसमा स्मार्त (जसले वेद र स्मृतिहरूलाई प्रमाणिक मान्छन्) शैव (जसले भगवान् शिवलाई सर्वोच्च तत्व मान्छन्), शाक्त (जसले भगवती पार्वतीलाई परमतत्व र परमशक्ति मानेर उपासना गर्छन्) वैष्णव (जसले भगवान् विष्णु र निजका अवतारहरूलाई नै परमसत्य मान्छन्) गाणपत्य (जसले गणेशलाई ब्रहमतत्वका रुपमा उपासना गर्थे) र सौर्य (जसले सूर्यलाई परमतत्व मानेर उपासना गर्थे) नेपालमा बौद्धहरूको वर्चस्वसंगै उपरोक्त सनातनीहरू सङ्कटमा थिए | आदि शंकराचार्यले नेपाल आएर उपरोक्त सनातन पन्थहरूको पुनरोत्थान गरेका थिए |

केही नेपाली तथा तिब्बतेली बौद्धहरूले आचार्यपाद आदि शंकराचार्यको आलोचना गर्छन् कि उहाँले काठमाडौँ उपत्यकाका बौद्धहरूलाई शास्त्रार्थमा शास्त्रार्थमा परिजित गरेपछि विशाल बौद्ध-पुस्तकालयमा आगो लगाउन पठाए जसका कारण लगातार वछ महिनासम्म सङ्कलित हस्तलिखित पुस्तकहरू जलिरहे भन्ने आरोप लगाउँछन् | आरोपको सत्यता सिद्ध हुँदैन किनभने आजका मितिमा सबैभन्दा बढी हस्तलिखित बौद्धग्रन्थहरूको सङ्ग्रह नेपालमा उपलब्ध छ | बरू, शंकराचार्यको आगमनपछि नेपालमा बौद्ध र सनातनीहरू बीच पूजाआजा तथा कर्मकाण्डमा सहिष्णुतापूर्ण  सम्बन्ध विकास भएको छ र एकआर्काको स्वीकार्यता बढेको छ | आज बाघभैरबको आराधना गर्दा बौद्धहरूले त्रिपुंडको प्रतिक धारण गर्छन् |

जैन र बौद्धहरू पनि सनातन धर्मकै अंग भएको नाताले आचार्य शङ्करले निजका धार्मिक पुस्तकहरू जलाए भन्ने आरोप अनुचित हुन्छ | हो, शास्त्रार्थमा पराजित हुनेले आफ्नो पूर्वसम्प्रदाय त्यागेर विजेताको गुरुत्व स्वीकार्नु पर्थ्यो | अनेकौं अबौद्ध विद्वानहरूले  बौद्ध विद्वानहरूसंग शास्त्रार्थमा पराजित भएपछि बौद्ध धर्म स्वीकार गरेका प्रसस्त उदाहरणहरू छन् | आचार्य नाग सेन, पद्मसम्भव तथा नागार्जुन पहिले सनातनी थिए तर बौद्धसंग पराजित भएपछि बौद्ध आचार्य बनेका हुन् |

उपरोक्त छ प्राचीन सम्प्रदायहरू मध्ये नेपलममा गाणपत्य र सौर्य सम्प्रदायहरू शैव, स्मार्त, वैष्णव तथा शाक्तउपसानासंग विलय भएका छन् | हरेक कामको आरम्भ गणेश पूजाबाट आरम्भ गरिनु पर्ने स सूर्यलाई हरेक कर्ममा अर्ध्य दिनु पर्ने परम्परागत नियमभित्र गाणपत्य र सौर्य जीवन्त छन् | नेपालमा आज पनि शाक्त, शैव, स्मार्त तथा वैष्णवजस्ता सनातनीहरूको बलियो उपस्थितिका लागि आदि शंकराचार्यप्रति ऋणी हुनुपर्छ |

आदिशंकराचार्य र आदिरामानुजाचार्य बीच दार्शनिकतहमा तीब्रमत भिन्नता थियो तर आदिरामानुजाचार्यले आफ्ना दार्शनिक कृतिहरूमा अद्वैतवादी आदि शंकराचार्यलाई सर्वत्र "भगवत्पाद" शब्दप्रयोग गरेर अत्यन्त सम्मान व्यक्त गर्नुभएको छ | वैदिक-संस्कृतिको यही महानता हो कि विचारसंग असमत हुनुको अर्थ तेसका प्रवर्तक तथा अनुयायीको निराकरण गरिन्न | एकपटक विचार गरौँ त यदि आचार्य शङ्कर र रामानुज इसाई वा मुस्लिमसरहको विचार राख्थे भने के हुन्थ्यो ?

दुवै महापुरुषप्रति सादर नमन |

Sunday, April 26, 2020

श्रीपरशुराम जयन्तिको सन्दर्भ


श्रीपरशुराम जयन्तिको सन्दर्भ.....
शुद्धं बुद्धं महाप्रज्ञापण्डितं रणपण्डितं । रामं श्रीदत्तकरुणाभाजनं विप्ररंजनम् ||
पवित्र, परमज्ञानी, महापण्डित, वीर, भगवान राममा कृपा गर्ने र करुणायुक्त तथा ब्राहमणका हितकारी भगवान् परशुराममा हार्दिक नमन |

आस्था र विश्वासको दिवस अक्षय तृतीया र भृगुवंशी ब्राह्मण भएर पनि क्षत्री योद्धाका कर्म स्वीकार गरेका भगवान् विष्णुका छैठों अवतार भगवान् श्रीपरशुरामको जन्मजयन्तिको हार्दिक शुभकामना |

स्कन्दपुराण हिमवतखण्डले सृष्टिको आरम्भ नेपालभूमिबाट भएको हो भनेर किटानी नै गरेपछि नेपाललाई अक्षय तथा सनातन वैदिक धर्मस्थल हो भन्न डराउँनु पर्ने अवस्था रहँदैन |

वेद, उपनिषद् तथा पुराणहरूले धर्मको उत्पत्ति र विनाश हुँदैन भनेर तोकेपछि "सनातन धर्मको उद्गमस्थल नेपाल हो" भन्नुको अर्थ छैन | नेपाल सनातन धर्मको प्राकृतिक भूमि हो किनभने यो देवभूमि हो |

भगवान् श्रीपरशुराम क्षत्रीय राजा प्रसेनजितकी पुत्री रेणुका र भृगुवंशीय ऋषि जमदग्निका पुत्र हुन् । बाल्यकाल देखि नै भगवान् शिवका भक्त भएको हुनाले भगवान् शिवबाट परशु (बन्चरो) प्राप्त भएको थियो भगवान् शिवले दिएको अदभूत परशु धारण गर्ने हुँदा निजको नामका अगाडी परशु जोडिएको हो र यसरी परशुराम नाम पर्न गएको हो | जमदग्निका पुत्र भएको इनलाई कारण 'जामदग्न्य' पनि भनिन्छ |

भृगुवंशीय ब्राह्मण भएर पनि परशुरामको हातमा झोलिमाला, कमण्डलु वा वेदको किताव नभएर बन्चरो छ | आफ्ना पिता जमदग्नीको हत्याराहरूलाई दिंदै २१ पटक क्षत्री राजाहरूलाई मारेका थिए भन्ने पुराणमा उल्लेख छ | जङ्गलमा गुरुकुल संचालन गरेर सनातन वैदिक धर्म, संस्कृति तथा संस्कार सिकाउने ऋषि जमदग्निलाई तत्कालीन क्षत्रीय राजाले विनासित्ति मारेर अपराध नै गरेका थिए |

आज तथाकथित पूँजीवादी, वामपन्थी तथा धर्मनिरपेक्षताको खोलमा लुकेका बाइबल, कुरानधारीहरूले जसरी सनातन धर्मको मूल भूमि नेपाल र नेपालीहरूमा आक्रमण गरिरहेका छन्, एस सन्दर्भमा पुन: ब्राहमणहरूमा क्षत्रीय-तेजको आवश्यकता परेको छ |

विगतमा बाइबलधारीहरूनिर्माण गरेको इतिहास र सिद्धान्तहरूका आधारमा वर्णव्यबस्थालाई जातीयताको रूप दिने र तेसको दोष ब्राह्मणवर्गलाई दिएर सम्पूर्ण संस्कृति तथा संस्कृतिप्रति विषवमन गर्ने "तुच्छता" निकै बढेको छ | आफ्नो प्राचीन धर्म, संस्कृति तथा सभ्यतालाई विनम्रता पूर्वक अभ्यास गर्दै पुस्तान्तरण गरिरहेका ब्राहमण, क्षत्री, वैश्य तथा शिल्पी समुदायलाई एकआपसमा भिडाएर शत्रुतापूर्ण अवस्था सृजना गरिंदै छ |

भगवान् परशुराम आफै क्षत्रीय राजकुमारीबाट उत्पन्न हुनुभएको हो तर भृगुवंशी ब्राह्मणहरूमा सर्वाधिक श्रेष्ठ हुनुहुन्छ | वर्णव्यबस्थाको यो वास्तविकतालाई आत्मसात गर्न नसक्ने र विभिन्न अपूर्ण तथा विदेशीहरूले दुरासयपूर्वक अनुवाद गरेका अपूर्ण उद्धरण दिएर आफ्नै धर्म, संस्कृति तथा सभ्यताको जरो काट्नेहरूको बौद्धिक प्रतिकार गर्न आज घरघरमा परशुरामको आवश्यकता ठान्छु |

आज हरेक नेपाली क्षत्रीय तेज भएका ब्राह्मणमा विकसित हुन आवश्यक छ | जन्मले कुनै ब्राह्मण हुँदैन | हरेक जुनसुकै व्यक्तिले वैदिक संस्कार प्राप्त गरेर र वैदिक साहित्यको विनम्र अध्ययन गरेर ब्राह्मणपद प्राप्त गर्न सक्छ | महान ऋषि विश्वमित्रको शरीर क्षत्रीको थियो तर उनले साधना गरेर ब्राह्मणपद प्राप्त गरेका थिए | एस्ता धेरै उदाहरण छन् |

ब्राह्मण (अध्ययन गर्ने/ अध्यापन गर्ने, दान दिने/दान लिने, वेद पढ्ने/वेद पढाउने) कर्म गरेर जोसुकै मान्छेले ब्राह्मणपद प्राप्त गर्न सक्छ | ब्राह्मण एउटा ब्रहमज्ञानीले प्राप्त गर्ने पद हो | साधना गर्न जाँगर काटिएका, विदेशी विचारको दासत्व गर्ने र संस्कृत भनेपछि पुरोहितले पढ्ने भाषामात्र हो भन्ने विदेशीहरूको भनाईमा विश्वास गर्नेहरूका लागि ब्राह्मण निन्दाका विषय हुन्छन् |

आज भगवान् परशुरामको जन्मजयन्ती मान्दै गर्दा नेपाल र नेपालीको प्राचीन गौरवको पुनरोत्थान गर्दै विश्वका सम्पूर्ण विज्ञान प्रविधिहरूको समग्र प्रयोग गर्दै सनातन संस्कृतिको प्रचारप्रसार गर्ने सङ्कल्प लिन पर्छ | विदेशी प्रतिमानका वादहरूको वहिस्कार गर्दै नेपालको देवसंस्कृतिलाई विश्वब्यापी बनाउनु पर्छ | हामीले यो अभियान आरम्भ गरिसकेका छौँ | अलगअलग बाटो हिंडेर पुगिन्न, हामी सबै एकठाउँमा उभिनु पर्ने एको छ | हाम्रो एकताले मात्र नेपाल विश्वगुरू बन्न सक्छ | ब्राहमण शब्द र प्रयोजनको अर्थ नबुझि तथानाम भन्ने/बोल्नेहरूलाई श्री परशुरामझैं तपोमय र साधनामय जीवन अपनाएर पराजित गर्नुपर्छ |\

श्रीपरशुराम जयन्तिलाई हामी नेपालीहरूले सनातन धर्मको सौर्य दिवसको रुपमा लिनुपर्छ र मनाउनु पर्छ | नेपालका सनातन धार्मिहरूले समग्र रूपमा श्रीपरशुरामको तेजोमय सौर्यलाई अङ्गीकार गर्दै अगाडी बढ्नुपर्छ |

ब्राहमण शब्दको अर्थ वेदहरूको ज्ञाता, ब्रह्मज्ञानी र विद्वान् हुन्छ भनेर जान्दाजान्दै पनि ब्राहमणप्रति विषयवमन गर्नेहरू मूलत: प्राचीन वैदिक संस्कृतिका घोर शत्रु हुन् | निश्चय नै हाम्रो समाजमा छुवाछुतप्रथा विद्यमान छ र त्यो अन्धविश्वासका रूपमा अविश्वनीय तवरलले उपस्थित छ | सरकार र नागरिकतहमा गरिएका प्रयाशहरूले निरन्तर छुवाछुतको गहनता कमजोर हुँदैछ र एकसमयमा यो पूर्णत: नष्ट हुने छ | हामी सनातन धर्मी मिलेर छुवाछुतको निराकरण गर्नु त् छंदैछ साथमा हामी सबै मिलेर हरेक नेपालीलाई (हरेक नेपालीलाई) ब्राह्मणत्वमा स्थापित गर्नुछ |

Saturday, April 18, 2020

आयुर्वेद सन्दर्भ

कोभिड - १९ मा आयुर्वेद सन्दर्भ
नेपाल आयुर्वेदको उत्पत्त्ति थलो हो | सरकारले आयुर्वेद चिकित्सालय संचालन गर्छ | विविहरूले आयुर्वेद क्याम्पस संचालन गरिरहेका छन् र नेपालभरि हजारौं आयुर्वेदमा प्रशिक्षित चिकित्सकहरू छन् |

मैले सूचना पाएअनुसार धेरैजसो आयुर्वेदका चिकित्सकहरू लकडाउनमा वसेका छन् | एसको अर्थ हो

आयुर्वेदाचार्यहरूलाई सरकारले कोभिड-१९ को उपचारको लागि पत्याउएन र आयुर्वेदाचार्यहरूले आफ्नो दक्षता प्रयोग गर्न पाएनन् | तेतिमात्रै होइन सरकारले आफैले संचालन गरेको आयुर्वेद चिकित्सा पद्यतिलाई करोना उपचारका लागि पत्याएन |

नेपालमा असंख्य जडीबुटीहरू छन् | हरेक जडीबुटीमा औषधीय गुण हुन्छ भने ती औषधिहरूमा करोना विषाणुलाई मार्ने क्षमता पनि पक्कै छ | एसको अर्थ हो सरकारी तन्त्रले नेपालको प्राचीन आयुर्वेदलाई पनि करोनाको उपचारका लागि खटाउन पर्यो |

अमेरिका, युरोप जस्ता विज्ञानमा मैं हुँ भन्ने देशहरूले पनि करोनाको वास्तविक उपचार गर्न सकेका छैनन् किनभने अहिलेसम्म एसको औषधि नै पत्तो लागेको छैन | अहिलेसम्म संसारभरि करोनको उपचार "आए आप गए झटारो"का रूपमा भै/गरिरहेको अवस्था छ | अर्को शब्दमा भन्दा हरेक संक्रमित मान्छे "गिनीपिग" वनाइएको छ |

औषधि पत्तो नलागी सकेको अवस्थामा नेपाल सरकारले करोना सङ्क्रमित मध्ये केही प्रतिशत रोगीहरूलाई निजहरूको स्वीकृति लिएर आयुर्वेदका चिकित्सकहरूको जिम्मा दिनुपर्छ | आधुनिक आयुर्वेदले पनि इसिजी, भेन्टिलेटरजस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्छ नै |

संक्रमितहरूलाई जसरी एलोपेथिक चिकित्सकहरूले "तुक्का"का भरमा औषधि गरिरहेका छन् तेसको तुलनामा आयुर्वेदिक औषधिहरू मान्छेको स्वास्थ्यलाई न्यून नोक्सानी गर्छन् | मैले साइड इफेक्टको कुरा गरेको हो | करोना संक्रमितलाई कम साइड-इफेक्ट गर्ने र प्राकृतिक रुपमा इम्युनसिस्टम बढाउने आयुर्वेदको प्रयोग गर्ने अवसर दिनुपर्छ |

विदेशीले औषधि पत्तो नलगाएको अवस्थामा आयुर्वेदले पत्तो लगाउनै सक्दैन भन्ने मानसिक रोगबाट सरकार, एलोपेथिक चिकित्सक, आधुनिक औषधि विज्ञहरू मुक्त भएको राम्रो | कोरोना सङ्क्रमितलाई आयुर्वेदीय उपचार गर्ने क्रममा करोना पराजित भयो भने नेपाल र नेपालीको भाग्यको साँचो खुल्छ | अरूले औषधि पत्तो नलगाएको अवस्थामा आयुर्वेदकालागि यो सम्भावना छंदैछ |

यदि आयुर्वेद करोनाको वास्तविक औषधि पत्तो लगाएन भने पनि हीनताबोध गर्नुपर्ने अवस्था छैन किनभने अरवों बजेट खर्चिरहेका एलोपेथिकहरूले पनि माखो मार्न सकेका छैनन् |

तेसैले मेरो नेपाल सरकार र आयुर्वेद चिकित्सकहरूसंग विनम्र निवेदन छ, तपाईंहरू पनि कोरोनाको आयुर्वेदीय उपचार गर्न र औषधि खोज्न खट्नुपर्छ र सरकारले त्यो अवसर प्रदान गर्नुपर्छ |

यदि नेपाल सरकार र आयुर्वेद चिकित्सकहरूले आयुर्वेदउपर आफ्नो स्वामित्व लिएर एस्तो महामारीका बखतमा आयुर्वेद प्रणालीको चिकित्साको प्रयोग, उपयोग र अनुसन्धान नगर्ने हो भने आयुर्वेद विभाग खारेज गरिदिए हुन्छ |

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...