Tuesday, January 9, 2024

बाको लेखौट

बाको लेखौट

सबैलाई तँपाई भन्नु | आफुले गर्न सक्ने काम आफै गर्नु | केटाकेटीलाई माया गर्नु | बूढाबूढीबाट सिक्नु | मुतुनो र थुतुनो जोगाउनु | सकेको दान गर्नु | नसकिने भारी नबोक्नु | थोरैमात्र लोभ गर्नु | लखर-लखर नहिड्नु | गाईको मान गर्नु | रूख रोप्नु | चौपारी बनाउनु | पँधेरो बनाउनु, नविगार्नु | हँसिलो हुनु | राम्रो बोल्नु | सरकारी मान्छेसंग डराउनु | माया गर्नु | एकलकाटे नहुनु | दिनहुँ गायत्री जप्नु | प्रमाण खोज्नु र प्रमाण दिनु | खेतवारी नमास्नु | विगार नगर्नु | पापसंग डराउनु | आमा र स्वास्नीको कुरा मान्नु | काममा न ठग्नु | काम ठग्ने आफै ठगिन्छ | आफ्नो शरीरलाई माया गर्नु | समयअनुसार चल्नु |

सबैलाई माया गर्नु | कसैलाई घृणा नगर्नु | स्वास्नीलाई मान गर्नु | छोराछोरी पढाउनु | विद्वानको सङ्गत गर्नु | लेखापढ़ा मान्छे झ्याली हुन्छन् | गमेर बुझ्नु | रोगलाई सानो नठान्नु | सरल र सहज हुनु | अहङ्कार छोड्नु | गौरवको भाव नछोड्नु | उपदेश सुन्नु | धेरै उपदेश नदिनु | आलोचना सुन्नु | संसारमा शत्रु हुँदैनन् | अरूसंग धेरै आश नगर्नु | शिक्षित हुनु तर विद्यामा चल्नु | तेसै न हौसिनु | आफ्नो कल्याण चाहनु | सबैको कल्याण चाहनु | अहिंसक हुनु | तर हुतिहारा नहुनु | आफुलाई इमान्दार बनाउनु | आफ्नो धर्म नछोड्नु | आहार र व्यबहारमा लाज नमान्नु | प्रष्टसंग जवाफ दिनु | समयमा जाग्नु | समयमा सुत्नु | साजी अन्न खानु | हात खुट्टा धोएर खानु | अन्नको सम्मान गर्नु | उठीउठी नखानु | खाने कुरामा ध्यान दिनु | अन्न अनुसारको मन हुन्छ | दु:ख हुन्छ | सुख पनि हुन्छ | न आत्तिनु | न मात्तिनु |

 पढ्नलेख्न सधैं तत्पर रहनु | अंग्रेजी पढ्नु | तर अंग्रेजको नक्कल नगर्नु | संस्कृति आफ्नै राम्रो हुन्छ | तर्क गर्नु | कुतर्कबाट जोगिनु | प्रेम गर्नेले प्रेम पाउँछ | घृणा गर्नेले घृणा पाउँछ | एक्लो यात्रा नगर्नु | सबै पुराना असल हुँदैन | सवै नयाँ कमसल हुँदैनन् | अर्काको कुरा नकाट्नु | आफ्नो कुरा न थोपर्नु | उधारो लिनु | समयमा दिनु | दिन नसक्ने भए भन्नु | भाका नागेको राम्रो होइन | जीवन विश्वासले चल्छ | सधैं विश्वासमा बलियो रहनु | विश्वासका मामिलामा वहस नगर्नु | सबै धर्मको सम्मान गर्नु | आफ्नो धर्ममा कायम रहनु | धार्मिक वहसबाट जोगिनु | थोरै असुविधा स्वीकार्नु | रीसले उत्तेजना हुन्छ | उत्तेजनाले नराम्रो गराउँछ | रीस र काम जित्न सकिन्न | व्यबस्थापन गर्नुपर्छ | रीस र काम जित्न सकिन्न | रीस र कामले नर्क दिन्छन् | सधैं सावधान हुनु |

आमावुवाको निन्दा नगर्नु | गुरुको निन्दा नगर्नु | डक्टरको आलोचना नगर्नु | काम दिनेको आलोचना नगर्नु | बा-आमाबाट शरीर बन्छ | गुरूले ज्ञान दिन्छन् | डक्टरले जीवन दिन्छन् | यी संग विनम्र हुनु | थोरै गाली सहनु | छोराछोरी आफ्नै शरीर हुन् | बालबालिका न कुट्नु | स्वास्नी नकुट्नु | केटाकेटी परिवारका ऐना हुन् | स्वास्नी तिम्रो आधा जिउ हुन् | भोकै बसेर पनि केटाकेटी पढाउनु | पढेकालाई संसार सजिलो हुन्छ | छोराछोरीमा समान व्यबहार गर्नु | उपदेश दिनु | उपदेशको कुरा गरेर देखाउनु | नसक्ने कुरा नभन्नु | सक्ने कुरा नरोक्नु | पितृको सम्मान गर्नु | सासु-ससुरा पनि आमावा नै हुन् | सम्मान गर्नु | दु:ख सुखमा साथ दिनु | तिनीबाट धेरै आश नगर्नु |

 राजनीति राम्रो पनि हो | राम्रो पनि होइन | मान्छे असल भए, यसले सपार्छ | नत्र विगार्छ | राजनीतिका लागि इमान्दार हुनुपर्छ | मान्छे असल हुनुपर्छ | संस्कारले मान्छे असल हुन्छ | संस्कार शास्त्रबाट सिक्नुपर्छ | शास्त्र गुरूबाट जान्नुपर्छ | राजनीति छल नीति होइन | राजनीति सबैतिर चाहिन्छ | घरदेखि देश-विदेशसम्म | कमसल मान्छेले राजनीति विगार्छन् | नक्कल गर्नेले राजनीति विगार्छन् | धर्म नमान्नेले राजनीति विगार्छन् | लोभीको राजनीति असल हुँदैन | रक्सी खनेको राजनीति असल हुन्न | राजनीति सबैको लागि हुन्छ | सत्ता सबैको लागि हुँदैन | राजनीतिमा कर हुँदैन | त्याग नै राजनीति हो | त्याग्न नसक्नेले राजनीतिमा नजानु | तिनको विश्वास नगर्नु | निष्पक्षताको अभ्यास नै राजनीति हो | परोपकारको अभ्यास नै राजनीति हो | बाटो खन्नु राजनीति हो | विद्यालय बनाउनु राजनीति हो | अस्पताल बनाउनु राजनीति हो | चौपारी चिन्नु राजनीति हो | केटाकेटी स्कूल जानु राजनीति हो | असल कुरा सिक्नु राजनीति हो | कमसल व्यबहार छोड्नु राजनीति हो | सदाचारको अभ्यास राजनीति हो | कमसल व्यबहारको त्याग राजनीति हो | राजनीति सजिलै बुझ्न सकिन्छ | कमसल भए त्याग्नु | असल भए मान्नु |

राजनीति बुझ्न गीता पढ्नु | रामायण पढ्नु | देश-विदेशका कुरा सुन्नु | रेडियो चाहिने बस्तु हो सके भलो गर्नु | कुभलो कसैको नगर्नु | आफ्नो पनि कुभलो नगर्नु | आफु विग्रिए सबै विग्रन्छ | आफु सुध्रिए संसार सुध्रिन्छ | समयमा उठ्नु | समयमा सुत्नु | सुत्केरीलाई पहिला ख्वाउनु | केटाकेटीलाई पहिला ख्वाउनु | पाहुनालाई बस्न दिनु | सकेको खान दिनु | रोगीलाई माया गर्नु | रिसायो भनेर नझर्किनु | रोग सबैलाई लाग्न सक्छ | वृद्धावस्था सबैको हुन्छ | सबैले मर्नु पर्छ | तेसैले मात्नु हुँदैन | विनम्रता मान्छेको गहना हो | यसका लागि धन चाहिन्न | मिठो बोली तिमीसंग छ | त्यो प्रयोग गर | एक मूठी पानीले स्वागत गर | बस्न गुन्द्री देऊ | काम्लो छैन भने पीर नगर | मान्नेलाइ गोडामा ढोग | मान्यजनले दिने आशिर्वाद नै हो | आशिर्वादमा तिम्रो अधिकार छ | झुकेर सानो भइन्न | श्रीकृष्णले खुट्टा धोएका थिए | रामले जूठो खाएका थिए | झुक्नेहरूले मान पाउँछन् | लिङ्गोको मान हुँदैन |

 लोग्ने स्वास्नी साथी हुन् | मिल्ने साथीको व्यबहार गर | घर र परका काममा सल्लाह गर | केटाकेटीलाई मिलेर हुर्काउ | एकआपसमा केही न लुकाउ | एकआपसमा ऐनाझैं बन | लोग्ने स्वास्नी वरावर हुन् | काममा सल्लाह गर | आ-आफ्नो काम गर | आफ्नो चाहना बताउँ | सुखदु:खमा संगै हिंड | विश्वासघात नगर | लोग्ने स्वास्नी विश्वास हो | अविश्वास नगर | शङ्का नगर | सल्लाहले शङ्का मेटिन्छ | सल्लाह नगर्दा शंका हुन्छ | शङ्काले लंका ढाल्छ | सधैं कुरा मिल्दैन | कहिलेकाहीं झगडा पर्छ | जोइपोइ मिल्दा स्वर्ग हुन्छ | नमिल्दा नर्क हुन्छ | सरलताको अभ्यास गर | दूवै आगो नबन | सधैं समानता सम्भव हुँदैन | एकअर्काको सम्मान गर | सम्मानले झगडा हट्छन् | मन धोइन्छ | आफुले नसके आमावा डाक | आमावा तिम्रा असल हितैषी हुन् | छोराचोरी डाक | ती तिम्रा आफ्नै शरीर हुन् | विश्वास गर्न | विश्वास गर्न सिकाउ | अन्धविश्वास नगर | धर्म अन्धविश्वास होइन | असल जीवनको अभ्यास हो | संसार धार्मिक छ | अधर्म मान्छेको कमसल अभ्यास हो | सद्गुणतिर फर्क | अधर्म आफै हट्छ |

 मृत्यु अन्तिम सत्य हो | म पनि मर्छु | आत्मा अमर छ | शरीर नष्ट हुन्छ | शरीरप्रति माया हुँदैन | सबैले आत्मा हुँदा माया गर्छन् | मृत्युपछि यश-अपयश रहन्छ | अपयशको काम नगरौं | पापसंग डराउँ | मृत्यु अनिश्चित छ | चिन्ता नगरौं | असल कर्म गरौँ | कर्मफल पाइन्छ | मरीमेट्नु हुँदैन | म एक्लै छु | म भनेको शरीर हो | यसलाई माया गरौँ | स्वस्थ हुँदा मन्दिर हुन्छ | रोगी हुँदा नर्क हुन्छ | स्वास्थ्य भोजन गरौँ | मासु राम्रो होइन | सके नखानु | अवोध पशु नमार्नु | हिंसा पाप हो | अहिंसा पुण्य हो | कमसल चलन छोड्नु पर्छ | असल चलन स्वीकार्नु पर्छ | बलिमा झगडा छ | पशु बलि उचित ठान्दिन | देवी आमा हुन् | विश्वकी आमा हुन् | बलि दिंदा विचार पुर्याउँ |

 पान्चायन पुज्नु | गण्डकी गङ्गा हुन् | शालीग्राम देउता हुन् | सबै देवीदेवताको सम्मान गर्नु | आफ्ना इष्ट मान्नु | निधारमा टीको हुनुपर्छ | जनै हुनुपर्छ | नुहाएर मात्र पुज्नु | दिनदिनै नुहाउनु | विसन्चो हुँदा पर्दैन | सन्ध्या गर्नुपर्छ | वेद पढ्नु पर्छ | वेदको अर्थ जान्नु राम्रो हो | नजाने पनि पढ्नु पर्छ | वेद सबैको हो | केटीले पनि पढ्नु हुन्छ | सबैको भलो सोच्नु | चर्को व्याज नलिनु | नहुनेलाई सहयोग गर्नु | आफ्नो कुरा प्रष्टसंग भन्नु | लुकाउने कुरा लुकाउनु | नलुकाउने कुरा न लुकाउनु | सहयोग माग्नु | सहयोग दिनु | कर्मले ब्राह्मण भइन्छ | कर्मले शूद्र भइन्छ | शूद्र पनि ब्राह्मण हुन्छन् | ब्राह्मण पनि शूद्र हुन्छन् | सबै भगवानका हुन् |

 शास्त्र धेरै छन् | धेरै आदेश छन् | वेदको आदेश काट्न मिल्दैन | लोकाचार पनि मान्नुपर्छ | सबैले शास्त्र जाँदैनन् | जान्नेले सिकाउनु पर्छ | जानेर नबुझाउनु पाप हो | गीतामा २६ सद्गुण छन् | ती सिक्नु पर्छ | पालन गर्नुपर्छ | गीतामा ४ कमसल गुण छन् | ती रोक्नुपर्छ | दूधदही बेच्नु हुन्न | घीऊ बेच्नु हुन्न | खानु पर्छ | बरू नसक्नेलाई दिनुपर्छ | सुत्केरीलाई दिनुपर्छ | यज्ञका लागि दिनुपर्छ | अशक्तलाई दिनुपर्छ |

 वेद पढ्नु/पढाउनु | यज्ञ गर्नु/गराउनु | दान दिनु/लिनु | यी ब्राह्मण कर्म हुन् | ब्राह्मण देशका नौनी हुन् | ईश्वरलाई जान्ने ब्राह्मण हुन्छन् | सदाचार गर्ने ब्राह्मण हुन्छन् | जन्मले ब्राह्मण थोरै हुन्छन् | कर्मले जो पनि बन्न सक्छ | असल विचार | असल कर्म | समान दृष्टिकोण | कल्याणकारी चिन्तन | लोभ रहित सेवा | दक्षिणाप्रति निर्मोह | प्राप्त भएकोमा सन्तोष | सहयोगी व्यबहार | शुद्ध आहार | एकपत्नी ब्रत | उपवास | नित्य वैदिक कर्म | लोभको अभाव | पूर्ण सेवाभाव | शास्त्रको ज्ञान | सत्यको आचरण | नि:शुल्क विद्यादान | वर्णाश्रमको पालन | ब्राह्मणका अनिवार्य कर्म हुन् | ब्राह्मण तलवारको धार हो | प्रमाद अक्षम्य हुन्छ | ब्राह्मण कर्म कठोर छ | भोकै रहोस् | सत्य छोड्न मिल्दैन | दक्षिणाका लागि झूटो बोल्नु पाप हो | कसैको हिंसा गर्नु पाप हो | पवित्र आफ्नै लागि हुनुपर्छ | धर्म आफ्नै लागि हुन्छ | समभाव | अलोभ | अक्रोध | ईश्वर आराधना | शास्त्रको अध्ययन | विद्यदान | ब्राह्मणले गर्नै पर्छ | प्रमादले शूद्र भइन्छ | शास्त्रले निषेध गरेका कर्म गर्न हुन्न | गर्नु पर्छ भनेका कुरा गर्नु पर्छ | ब्राह्मण रमाइलो हैन | आज धेरै जन्मका ब्राह्मण छन् | कर्मका ब्राह्मण थोरै छन् | जन्म ब्राह्मण ठूलो हुँदैन | सदाचारी ब्राह्मण सर्बोच्च हुन्छ | ब्राह्मण सबैको कर्तव्य हो |

 सदाचार आफ्नो लागि हो | दुराचार पनि आफ्नै लागि हो | शास्त्रको आदेश पालन गर्नुपर्छ | पाप र पुण्य संगै जान्छ | मृत्युलाई सम्झेर धर्म गर्नु | जीवनलाई सम्झेर उपकार गर्नु | कर्तव्य सम्झेर छोराछोरी पढाउनु | सबैलाई पढाउनु पर्छ | कसैसंग भेदभाव गर्नु हुँदैन | दमैकामी भन्नु हुँदैन | विद्यमा सबैको अधिकार छ | गर्न नसक्नेले जिम्मा लिनु हुँदैन | जिम्मा दिनु पनि हुँदैन | क्षमताअनुसारको काम हुनुपर्छ | केटाकेटीलाई भारी बोकाउनु हुँदैन | ईश्वरलाई बुझ्ने पण्डित हुन्छ | कर्तव्यको ज्ञान भएको पण्डित हुन्छ | समान दृष्टि र व्यबहार भएको पण्डित हुन्छ | शास्त्रको ज्ञान भएको पण्डित हुन्छ | तर यी सबै सहित सदाचार भएको गुरू हुन्छ | आचरण गर्ने आचार्य हुन्छ | उपाध्याय भन्दा गुरू श्रेष्ठ हुन्छ | आचार्य र गुरू एकै हुन सक्छन् | गुरूले ज्ञान दिने हो | आचार्यले आचरण गरेर देखाउने हो | सबै आचार्य बन्न सक्दैनन् | सबै गुरू बन्ने योग्य हुँदैनन् | आचरणरहित गुरू त्याग्नु पर्छ | लोभी व्यक्ति गुरू हुनै सक्दैन | आचार्य र गुरूमा त्याग हुनैपर्छ | लोभी गुरु ? लालची चेला | दुवै नर्कमा जान्छन् |

मातापिता | गुरू | आचार्य | साधु-सन्त | आफु भन्दा बढी आयु भएका | अनुभव वृद्ध | विद्यावान् | गाई | ब्राह्मण | सबैलाई ढोग गर्नुपर्छ | यस ले आयु बढ्छ | विद्या खरिन्छ | नाम चल्ल्छ | समाजले मान्छ | मातापितालाई हेला गर्नु महापाप हो | छोरी/बुहारी हेला गर्नु महापाप हो | पत्नी कुट्नु र हेला गर्नु त्यो भन्दा ठूलो पाप हो | हेलाँ गर्नेलाई नर्कमा ठाउँ हुँदैन | समाजले दण्डित गर्नुपर्छ | स्वास्नी कुट्नेलाई वहिष्कार गर्नुपर्छ | केटाकेटी न पढाउनेलाई वहिष्कार गर्नुपर्छ | काशी गएर भए पनि | पशुपति गएर भए पनि | विद्वानलाई गाउँमा राख्नु पर्छ | खर्च भर्नु पर्छ | सक्दो सुविधा दिनु पर्छ | शिक्षा सूचना हो | ज्ञान सूचनाहरूको सङ्ग्रह हो | विद्या सूचना र ज्ञानको व्यबहार हो | गुरूले यी सबै सिकाउनु पर्छ | धानको बीऊ जानेर हुँदैन | व्याड राख्ने | खेत जोत्ने | खेत रोप्ने | पानी लगाउने ? धान काट्ने | दाही गर्ने | धान भकारीमा राख्ने | मूसाबाट जोगाउने | सबै कुरा सिकाउनु पर्छ | सिकाउनु शिक्षा हो | शिक्षाको जानकारी ज्ञान हो | व्यबहारमा प्रयोग गर्नु विद्या हो |

असल बन्नु पर्छ | सबैले यसै भन्छन् | सबैले असल चाहन्छन् | खराव कसैले चाहन्नन् | सबैको लक्ष असल बन्नु हुन्छ | कमसल किन बन्नु हुँदैन ? किन नराम्रो बन्नु हुँदैन ? राम्रो भनेको के हो ? नराम्रो भनेको के हो ? मान्छे असल हुन के गर्नु पर्छ ? के नगर्ने धार्मिक हुन्छन् ? कुन काम असल हो ? कुन काम खराव हो ? असल बनेर के हुन्छ ? सदाचारलाई कसरी नाप्ने ? नाप्ने प्रक्रिया के हुन् ? यो सबै मान्छेले जान्नुपर्छ | तर कसरी ?

केही असलकर्म सबैका लागि हुन्छन् | केही धेरैजसो -आ-आफ्ना लागि हुन्छन् | म धार्मिक छु | त्यसले म असल छु | धर्म कसैले बनाएको होइन | धर्म ईश्वरको रचना हो | जो धर्मअनुसार चल्छ, त्यो धार्मिक हो | जो शास्त्रअनुसार चल्छ, त्यो धार्मिक हुन्छ | मनुले दशबटा धर्मका लक्षण बताए | धृति: असल कुरा स्वीकार्नु | क्षमा: अभयदान दिनु | दम: खराव चाहना दवाउनु | अस्तेय: चोरी नगर्नु | शौच : पवित्र रहनु | इन्द्रिय निग्रह: इन्द्रियहरूलाई नियन्त्रणमा राख्नु | धी: श्रेयको चिन्तन गर्नु | विद्या: ज्ञानको व्याबहारिक उपयोग गर्नु | सत्य: सधैं साँचो व्यबहार गर्नु | अकोध: नरिसाउनु | गीताले २६ बटा धर्म बताएको छ | यी सबैका लागि हुन् | विश्वको जुनसुकै मानिसका लागि हुन् | यी कर्म गर्ने धार्मिक हुन्छन् |

पानीको धर्म चिसो हुनु हो | आगोको धर्म पोल्नु हो | पृथ्वीको धर्म गन्ध हो | मान्छेको धर्म चिन्तन-मनन हो | मान्छेको धर्म अहिंसा हो | मान्छेको धर्म परोपकार हो | मान्छेको धर्म न्याय हो | मान्छेको धर्म उसको विवेक हो | मान्छेको धर्म मातापिताको सेवा गर्नु हो | मान्छेको धर्म आफ्ना पुर्खाको सम्मान गर्नु हो | मान्छेको धर्म दिनु हो | मान्छेको धर्म मिलेर वस्नु हो | मान्छेको धर्म सही आहार हो | मान्छेको धर्म सही यौनचार हो | मान्छेको धर्म उचित कर्म हो | धर्म केवल मान्छेको लागि हो | पशुको कुनै धर्म हुँदैन | नैतिकता धर्म हो | सदाचार धर्म हो | धार्मिक हुनु सदाचारी हुनु हो | अन्यायी धार्मिक हुँदैन | अर्कालाई दुख दिने धार्मिक हुँदैन | अरूको खेदो खन्ने धार्मिक हुँदैन | धार्मिक मान्छे अन्यायी हुने सक्दैन | धार्मिक व्यक्ति निन्दक हुनै सक्दैन |

करले धर्म हुँदैन | लोभले धार्मिक बन्न सकिन्न | दया, माया, करूणा धर्म हुन् | वेद धर्म हुन् | उपनिषद् धर्म हुन् | पुराण धर्म हुन् | रितिरिवाजहरू धर्म हुन् | रितिरिवाज सबैका लागि धर्म हुन्नन् | रितिरिवाज धर्म विरुद्ध पनि हुन्छन् | अहिंसक, न्यायपूर्ण रितिरिवाज धर्म हुन् | हिंसक, अन्यायी रितिरिवाज अधर्म हुन् | संस्कृति स्थानीय हुन्छन् | केही बाध्यकारी हुन्छन् | केही स्वेच्छिक हुन्छन् | मेरो लागि वेदको आदेश धर्म हो | मेरो लागि वैदिक कर्म धर्म हुन् | अर्काका लागि न हुन सक्छन् | आचार्य सबैको लागि पूज्य हुन्छन् | मातापिता सबैको लागि पूज्य हुन्छन् | अतिथि सबैका लागि मान्य हुन्छन् |

अन्याय गर्ने मान्छे असल हुँदैन | झुटो व्यबहार गर्ने मान्छे असल हुँदैन | हिंसा गर्ने मान्छे असल हुँदैन | असल कुरा अस्वीकार गर्ने असल हुँदैन | क्षमा गर्न नसक्ने मान्छे असल हुँदैन | चोरी गर्ने मान्छे असल हुँदैन | भ्रष्ट्राचार गर्ने असल हुँदैन | विवेकहीन मान्छे असल हुँदैन | रिसाहा असल हुँदैन | शिक्षाप्रति उदासिं असल हुँदैन | स्वेच्छिक मान्छे असल हुँदैन | कानुन नमान्ने व्यक्ति असल हुँदैन | सामाजिक नियम नमान्ने मान्छे असल हुँदैन | आफ्नो कल्याण नजान्ने मान्छे असल हुँदैन | विवाहेतर सम्बन्ध राख्ने असल हुँदैन | कुनै पनि मान्छे खराव हुँदैन | कर्मले असल र खराव बन्छ | स्वार्थ सबैमा हुन्छ | अतिस्वार्थी असल हुँदैन | अतिलोभी असल हुँदैन | सत्वगुणी असल हुन्छ | रजोगुणी ठीकै हुन्छ | तमोगुणी खराव हुन्छ | शास्त्रअनुसार चल्ने असल हुन्छन् | स्वच्छन्द चल्ने कमसल हुन्छन् |

मलाई सबले पणित भन्छन् | बाच्छाटे | विहादेली पनि भन्छन् | प्रजापति पण्डित पनि भन्छन् | मेरो थर पराजुली हो | उपाध्याय भन्ने चलन छ | | गोत्र कैाडिण्य हो | त्रिप्रवर हो - कैाडिण्य, वाशिष्ठ, मैत्रावरुणी | धेरैले यो कुरा जान्दैनन् | भन्नुपर्छ | पण्डित हुन् सजिलो छैन | मैले पढ्न कष्ट गरें | धेरै ठाउँ गए | धेरैको सङ्गत गरें | कर्मकाण्ड पढें | व्याकरण पढें | अलिकति ज्योतिष पढें | सोमनाथ गुरुकोमा तीन वर्ष बसें | त्यसपछि सेतिवेनी आएँ | कुर्घाका गुरू भेटें | दीक्षा लिएँ | उहाँ नरहरी गुरु हुनुहुथ्यो | उहाँसंग भागवत पढें | साह्रै चित्त बुझ्यो | सिद्धान्त कौमुदी नि पढें | अनि, वैष्णव भएँ | भगवान् निम्बार्कको शरण परें | राधाकृष्णको शरण परें | बा पनि निम्बार्की हुनुहुन्थ्यो | समाजले राम्रो मानेन | गाउँलेले राम्रो मानेनन् | तर घृणा पनि गरेनन् | अनि, घर फर्कें | वुवाआमा दुवै बित्नुभयो | भाई विदेश पस्यो | दिदी घर गइन् | म एक्लो भएँ | आम्बारीमा स्कूल खुल्यो | संस्कृत पढेकाकले पाइन |

गुरु आउनु भयो | "तैले घरमा पढ़ा" भन्नुभयो | अनि, मैले घरमा विद्यार्थी पढाउन थालें | पहिले गाउँका दाजुभाई नै विद्यार्थी भए | अनि, बटुकहरू बढ्दै गए | घर नै सानो गुरुकुल बन्यो | गुल्मी, स्याङ्गजा, बाग्लुंग, कास्कीका बटुक आए | चण्डी | कौमुदी | रुद्री | अग्निस्थापना | अनि ठूलाले भागवत पढ्छन् | ३०-४० जना निरन्तर छन् | घरमा सुत्ने ठाउँ भएन | थारा (गोठ)मा सुत्न थाले | मैले पाठ दिन्छु | सानाले ठूलासंग पढ्छन् | ठूलाले मसंग पाठ लिन्छन् | सबैको परीक्षा लिन्छु | उच्चारण | शुद्धाशुद्धी मैले मिलाउछु | पुस्तकको समस्या छ | दिउसो ठूलाले लेख्छन् | नेपाली कागत महँगो छ | बनारस जानेले किताव ल्याइदिन्छन् | तिनले पुग्दैन |

मेरी बाहुनी सानी छन् | उनलाई बडो कष्ट छ | धेरै काम गर्नु पर्छ | आफ्ना केटाकेटी | स-साना बटुक | सबैको हेर विचार गर्नुपर्छ | गोठ हेर्नुपर्छ | दाउरा बटुकले खोज्छन् | खेतीपातीमा सघाउँछन् | तैपनि कस्ट छ | म सप्ताहमा जान्छु | पुराण भन्छु | यसले बटुकलाई सजिलो हुन्छ | आफ्नो घरव्यबहारको कुरा गर्दिन | घरघर जस्तो छैन | पाठशाला जस्तो छ | बाहुनी रिसाउँछिन् | धेरै काम हुन्छ | सुत्ने ठाउँ पनि हुँदैन | जाडोमा धेरै गार्हो हुन्छ |

ठूलाले सानालाई पढाउछन् | ती बीच झगडा पर्छ | घोकेर सुनाउन प्रतियोगिता चल्छ | केही छिटो बुझ्ने छन् | केही ढीलो बुझ्ने छन् | कहिलेकाहीं रीस उठ्छ | हातले हान्छु | मनमा दया लाग्छ | कसैलाई पिट्नु हुन्न | घर छोडेर आएका छन् | पढ्न आएका हुन् | पिटाइ खान होइन | यी सबै देउता हुन् | कहिलेकाहीं देउतासंग पनि रीस उठ्छ | विहान सबैले बेद पढ्छन् | चण्डी पाठ गर्छन् | कौमुदी घोक्छन् | रघुवंश घोक्छन् | सुनेर आनन्द आउँछ | यहीं स्वर्ग हो जस्तो लाग्छ | कष्टहरू विर्सिन्छन् |

ठूला बटुकहरू विहानै उठ्छन् | सानाहरू अलि ढीलो उठ्छन् | केटाकेटीलाई सुत्न दिनुपर्छ | अनि, तिनको दिमागले टिप्छ | त्रिसंध्या सबैले गर्नुपर्छ | ठूलाले बाहुनीलाई सघाउँछन् | घाँस काट्न | गाइ दुहुन | साना त सानै भए | तिनको सबै काम गर्नुपर्छ | सावल आफै ल्याउँछन् | केहीका बाले ल्याउँछन् | ठूलाले आफै पकाउँछन् | सानोको पनि मिसाई दिन्छन् | सानाले भाँडा माज्छन् | कुनैकुनै बदमास छन् | तिनले धेरै खान्छन् | सानालाई थोरै दिन्छन् | घरको न्यास्रो लाग्ने रहेछ | बाहुनीलाई आमा भन्छन् | हाम्रो ठूलो केटो (झगडा गर्छ | पांच वर्षको भयो | चण्डी र रुद्री पढ्छ | भर्खर अक्षर चिनाउँदै छु | स्मरण शक्ति विलक्षण छ | दूईपटक सुनेपछि हुन्छ | यो ठूलो पण्डित बन्छ |

ईश्वर विश्वास हो | संसार भोग हो | दूवै सत्य छन् | आत्मालाई शरीर चाहिन्छ | काम छ | क्रोध छ | लोभ छ | मोह छ | ममता छ | राम्रो छ | नराम्रो छ | तर सबै मान्छेलाई छ | पशुलाई मतलव छैन | पक्षीलाई मतलव छैन | आत्मा अमर छ | शरीर मर्त्य छ | परिवर्तन रोक्न सकिन्न | सबै परिवर्तन हुन्छ | पुराना जान्छन् | नयाँ आउँछन् | केही स्थायी छैन | परिवर्तन विनाश होइन | मेरो शरीर, मेरो सत्य हो | यो पनि रहन्न | म ऋषि होइन | मसंग विश्वास छ | स्वर्गको विश्वास छ | नर्कको विश्वास छ | पापपुण्यको विश्वास छ | कर्मफलको विश्वास छ | संस्कारको विश्वास छ | विश्वास नै मेरो अस्तित्व हो | शास्त्रहरू पनि विश्वास नै हुन् | मेरो विश्वास शास्त्रमा छ | मेरो अस्तित्व तिनैले बनेको हो | शास्त्र मेरा आँखा हुन् | मेरो लागि संसार छ | संसार परिवर्तनशील छ | असत्य होइन | जीव छ | काल छ | ब्रह्म छ | ब्रह्मको अंशका रूपमा म छु | अहिले शरीरमा छु |

मेरो दायित्व छ | सबैको आ-आफ्नो दायित्व छ | मेरी बाहुनी छन् | मेरा छोराछोरी छन् | मेरा बटुक छन् | मेरा छिकेमी छन् | मेरा गुरुजन छन् | यी सबै असत्य होइनन् | यीप्रति मेरो दायित्व छ | दायित्वबाट भाग्नु हुँदैन | गृहस्थ हुनु गौरव हो | तर निर्लिप्त उचित होइन | लिप्त हुँदा दु:ख मिल्छ | माया गर्नेले माया पाउँछ | घृणा गर्नेले घृणा पाउँछ | जीवन दिनेले जीवन पाउँछ | जीवन लिनेले जीवन गुमाउँछ | तेसैले सहज हुनु | सरल हुनु | सत्य बोल्ने र सोच्ने हुनु | जीवन पछुतो होइन | जीवन पापको फल होइन | जीवन वरदान हो | आफ्नो | अरुको | जीवनको रक्षा गर्नुपर्छ | पशुपक्षीको पनि जीवन हो | तिनलाई पनि जीवनको माया छ |

सन्तोष गर्नुपर्छ | कर्महीन हुनुहुँदैन | उद्योगीले संसार जित्छ | सबै बाहुन हुँदैनन् | सबै सैनिक हुँदैनन् | सबै व्यापारी हुँदैनन् | सबै जागिरे हुँदैनन् | सबैको रुचि फरक हुन्छ | मलाई वेदपाठ मन पर्छ | मदनलाई व्यापार मन पर्छ | रघुलाई जागिर मन पर्छ | बाबु कर्नेल बन्छु भन्छ | आफ्नो रुचिको काम गर्नुपर्छ | राम्रो काम गर्नुपर्छ | कंसको नाम छ | रावणको नाम छ | तर सबैले कृष्णको नाम लिन्छन् | रामको नाम लिन्छन् | शिवको नाम लिन्छन् | दुर्गाको नाम लिन्छन् | दुर्नाम नर्क हो | सुनाम स्वर्ग हो | असल गर | कसैले देख्नु पर्दैन | स्यावास भन्नु पर्दैन | ईश्वरले देखेको छ | तिमीले बुझेका छौँ |

ज्ञान | चिन्तन | चयन | यी मान्छेका स्वभाव हुन् | भाव मान्छेको गति हो | जिज्ञासा मान्छेको गति हो | मान्छे सधैं विद्यार्थी हुन्छ | सधैं सिक्न सक्छ | अनुभव र पढाई | यी दुई सिक्ने बटा हुन् | ज्ञान सिकाई हो | ज्ञान अनुभव हो | मैले सबै थोक जान्दिन | मैले कौमुदी जानेको छु | चण्डी जानेको छु | भागवत जानेको छु | संस्कृत जानेको छु | नेपाली जानेको छु | तर असंख्य मैले जानेको छैन | मैले देखेको छैन | मैले खाएको छैन | मैले छोएको छैन | मैले सुगन्ध लिएको छैन | तेस्ता धेरै वस्तु छन् | मैले विमान चढेको छैन | उडेको देख्दा अचम्म लाग्छ | मान्छेले बनाएको भन्दा अचम्म लाग्छ | मैले ऋषिलाई देखेको छैन | पढेको छु | विश्वास गरेको छु | मैले इतिहास देखेको छैन | पढेको छु | मैले राजनीति गरेको छैन | भोट दिएको छु | मैले नदेखे पनि | मैले नगए पनि | मैले नजाने पनि | वस्तुको अस्तित्व रहन्छ | प्रत्यक्ष | अनुमान | उपमान | शब्द | शब्दापत्ती रहन्छन् | जिज्ञासुले पाउछन् | जिज्ञासुले ज्ञान प्राप्त गर्छन् | जिज्ञासा गर्दा निडर हुनुपर्छ |

इतिहासबाट सिक्ने हो | बूढापुरानाबाट जान्ने हो | पुराना सबै ठीक हुँदैनन् | नयाँ सबै खराव हुँदैनन् | विज्ञानका कुरा सिक्नुपर्छ | विज्ञानका कुरा सुन्नुपर्छ | आफ्नो जानकारी ठीकठीक राख्नुपर्छ | संसारमा धेरै वाद छन् | अध्यात्मवाद र भौतिकवाद | दूवै पूरक हुन् | झगडा बनावटी हो | क्षेत्र फरक हुन् | बहस स्वभाविक हो | भौतिकवादी मन्दिर जान हुन्छ | अध्यात्मवादीले औषधि खानुपर्छ | व्यबहार भौतिकवाद हो | चिन्तन अध्यात्मवाद हो | ईश्वरका नाममा खराव गर्नु हुन्न |विज्ञानका नाममा क्रूर हुनुहुँदैन | रक्सी खाँदैमा आधुनिक भइन्न | टीका लाउँदैमा धार्मिक भइन्न | तुलसीले पाप रोक्दैन | आवरणले निर्णय दिन्न | धर्म र विज्ञान पुरक हुन् | खेत रोप्नु विज्ञान हो | गरिवलाई दिनु धर्म हो | भात पकाउनु विज्ञान हो | बटुकलाई दिनु धर्म हो | दूवै संगै हिड्नुपर्छ |

असल आचरण गर्नु | जडतामा न बाँधिनु | धार्मिकता अन्धविश्वास होइन | नग्नता आधुनिकता होइन | हरेक मान्छे नाङ्गो नै छ | प्रदर्शन गर्नु पर्दैन | विज्ञान स्वच्छन्दता होइन | विज्ञान अग्रगमन हो | अगाडी बढ्नु विज्ञान हो | अस्तित्व खोज्नु धर्म हो | मान्छे विज्ञानमा बाँच्दैन | मान्छे विज्ञानबाट सुखी हुन्छ | विज्ञान पालक हो | विज्ञान विनाशक पनि हो | विज्ञान बुद्धिले चल्छ | धर्म श्रद्धाले चल्छ | विवेकहीन धार्मिक हुँदैन | मेरो जीवन मेरो लागि हो | तिम्रो लागि पनि हो | तिम्रो जीवन मेरो लागि हो | मेरो जीवन तिम्रो लागि हो | संसार एक्लै चल्दैन | तर तिमीले एक्लै चल्नुपर्छ | एक्लै भोग्नु पर्छ | एक्लै सहनु पर्छ | एक्लै जान्नुपर्छ | ध्यान गर | गायत्री जप | एकाग्रताको अभ्यास गर | रीस कम हुन्छ | राग कम हुन्छ | काम कम हुन्छ | मोह कम हुन्छ | मनमा शान्ति प्राप्त हुन्छ | शान्ति | सन्तोष | आनन्द | सबैले चाहन्छन् | असल कर्म गरेर आनन्द प्राप्त गर | कमसल कर्म गरेर सुख नखोज |

समय अनन्त छ | मान्छे समयको फोका हो | अधिकतम १०० वर्षको | तेसैले जीवन असल हुनुपर्छ | जीवन सदुपयोग हुनुपर्छ | वेद पढ्नु | उपनिषद् पढ्नु | गीता पढ्नु | पुराणहरू पढ्नु | साहित्य पढ्नु | व्याकरण पढ्नु | छन्द पढ्नु | ज्योतिष पढ्नु | प्राचीन ज्ञान जान्नु | आधुनिक विज्ञान पढ्नु | भौतिक विज्ञान पढ्नु | सबैमा विज्ञान छ | विद्वान नम्र हुन्छन् | अहङ्कार रहित हुन्छन् | सहयोगी हुन्छन् | समालोचक हुन्छन् | समयसंग हिड्नु | समयसंग हिड्न नसक्ने छोडिन्छन् | जिद्दी नहुनु | विवेकले काम लिनु | बैज्ञानिकले मन्दिर जान हुन्छ | बाआमाको श्राद्ध गर्न हुन्छ | जनै लाउन हुन्छ | बैज्ञानिक अमर हुँदैनन् | धार्मिक पनि अमर हुँदैनन् | कर्मक्षेत्र फरक हुन् | अन्तिम सत्यसम्म पुग्नुपर्छ | त्यो के हो थाहा छैन | ईश्वर आराधना नछोड्नु | गायत्री जप्नु | यो हाम्रो शक्ति हो | शक्तिहीन मुर्दार हुन्छन् |

आधुनिक विज्ञान पढेको छैन | प्रयोगकर्ता हुँ | औषधि खान्छु | किताव पढ्छु | नयाँ पुस्ताहरूलाई सजिलो छ | किताव सजिलै पाइन्छन् | लोक्ताको कागज बनाउन परेन | सीमिका पात | कटुसका पात | कालीमाटी | रातभारी पकाएर | मसी बनाउनु परेन | मट्टीतेलको टुकी छ | दियालो बाल्नु परेको छैन | विज्ञानले धेरै सलिजो बनाएको छ | भविष्यमा अझैं सजिलो हुनेछ | गाउँगाउँमा विद्यालय खुल्ने छन् | सामल बोकेर हिड्नु पर्ने छैन | केटाकेटीलाई टाढा पठाउनु पर्ने छैन | केटाकेटी न्यास्रो मान्छन् | बाबुराम धुरू रुन्छ | आमाआमा भन्छ | बाहुनीको मायाले टिकाएको छ |

पढे पनि राम्ररी पढ्नु पर्छ | पढेको कुरा काम लाग्नु पर्छ | व्यबहारमा | परलोकमा | आइमाईले झन् पढ्नुपर्छ | केटीले झन् पढ्नुपर्छ | आमा पहिलो पाठशाला हुन् | केटीलाई स्कूल पठाउनु पर्छ | नसके घरमा पढाउनु पर्छ | छोरो र छोरी एकै हुन् | आइमाईलाई धेरै दु:ख छ | विहानदेखि रातिसम्म खट्नुपर्छ | लोग्नेले सघाउनु पर्छ | पन्छिएको बेलामा | सुत्केरी भएको वेलामा | नसकेको बेलामा | लोग्ने अगाडी सर्नुपर्छ | मेरो बाहुनीको दुख कम छैन | आफ्ना केटाकेटी | बटुक | डिहा | खेतीपाती | त्यैपनि बोल्दिनन् | मैले डाले घाँस झार्न मदत गर्छु | पातालको पानी ल्याउनु पर्छ | ठूला बटुकहरूलाई अह्राउँछु | परशुराम सार्है गरीव छन् | मेहनती छन् | राम्ररी पढ्छन् | यस्तालाई दिनु पर्छ | सकेको काम पनि लगाउनु पर्छ | यिनले भविष्यमा सम्झिन्छन् | आफ्नालाई भन्दा बढी गर्छन् |

ज्ञान आत्माका लागि हो | विज्ञान संसारका लागि हो | दूवै कुरा जानेको राम्रो | जान्नु पर्छ | मात्नु हुन्न | मास्टरले रक्सी खान हुँदैन | चुरोट खानु हुँदैन | गालीगलौज गर्नु हुँदैन |पिट्नु हुँदैन | बालबालिकाले त्यही सिक्छन् | समाजमा वेथिति आउँछ | उनीहरूले गौरव गर्नुपर्छ | पण्डितले पनि गौरव गर्नुपर्छ | पण्डितले धर्म छोड्नु हुँदैन | विहानै उठ्ने | स्नान गर्ने | सन्ध्या गर्ने | वेदपाठ गर्ने | पाठपूजा गराउने | एकै दिनमा दूईठाउँबाट दक्षिणा लिनु हुन्न | यो पाप हो | दक्षिणा माग्नु हुन्न | यो पनि पाप हो | दिएको कुरालाई अपमान गर्नु हुन्न | अन्न अमृत हो | धार्मिक बन्नु पर्छ | धर्म आत्मा र आचरणको कुरा हो | देखाउनुहरू धार्मिक हुँदैनन् | आचरण आफ्ना लागि हो | मैले आचरण सिकाएको छु | मैले सदाचार सिकाएको छु | यी बटुकहरू सन्तान हुन् | यिनले पुण्य गरे पुण्य मिल्छ | पाप गरे मैले पाप भोग्नु पर्छ | कालिगण्डकी मेरो विश्रामस्थल हुन् | शालग्रामको सिरानी हुन् | धर्म र अधर्म अन्तिम सत्य हुन् | सधैं ईश्वर सम्झनु | मृत्यु सत्य हो | त्यसपछिको विश्वास हो | त्यो विश्वासका लागि असल कर्म गर्नुपर्छ | सबैको कल्याण होस् | विश्वको भलो होस् | सबैले सन्तोष प्राप्त गरूँन् | सबै सुखी होउन् | सबै पूर्ण होउन | बरू, सबैको कष्ट मैले बोक्न परोस् || ||

कपिराइट 

 

हिन्दू-पुनर्जागरण र पृथ्वीनारायण शाह

 हिन्दू-पुनर्जागरण र पृथ्वीनारायण शाह

१. हिन्दू पुन:जागरण

आधुनिक समयमा हिन्दु सनातन धर्मको पुनर्जागरणका पृथ्वीमारायण शाह नै हुन् | भारतवर्षमा धेरै राजा भए तर ती सबैले आफ्नो राज्यको कुरा गरे | राणा प्रताप होस् वा शिवाजी - दूवैले अकवर र औरंगजेवसंग हिन्दू-संस्कृतिको राक्षाको लागि युद्ध गरेका होइनन् | उनीहरूले आफ्नो राज्य जोगाउन सङ्घर्ष गरेका हुन् | शिवराज विजय नामको संस्कृत पुस्तकमा "हिन्दू राष्ट्र वा हिन्दू पुनर्जागरण" कुनै उल्लेख छैन | राणा प्रतापको कुरा पनि चित्तौडगढ़मा टुंगिएको छ | "असली हिन्दूस्थाना"को वैश्विक दृष्टिकोण राजा पृथ्वीनारायणले अगाडी सारेका हुन् | तेसैले शाह आधुनिक विश्वका पहिला राजा हुन् जसले हिन्दूहरूका लागि खाट्टी हिन्दुराष्ट्रको स्थापना गर्ने सपना देखे र आंशिकरुपमा हिन्दू राष्ट्रको स्थापना गरे |

२. पहिलो दस्तावेज
पृथ्वीनारायण शाहको दिव्यउपदेश हिन्दु-राष्ट्रको लागि तत्कालीन अवस्थामा तयार पारिएको पहिलो दस्ताबेज हो | यो दस्तावेजले प्राचीन वैदिक स्मृति ग्रन्थहरूको सार समेटेर "हिन्दू राष्ट्रको शासकीय स्वरूप" प्रस्तुत गरेको छ | निश्चय नै यो तत्कालीन नेपालसंग सम्बन्धित थियो तर अंग्रेजले विश्वका अनेकौं राष्ट्रहरूलाई आफ्नो उपनिवेश बनाएर इसाई संस्कृतिको विस्तार गरिरहेका अवस्थामा हिन्दू धर्मशास्त्रका आधारमा छुट्टै राष्ट्रको परिकल्पना र स्थापना दूवै युगान्तकारी कर्म ठहरिन्छन् |

३. पहिलो हिन्दू राजा
इसाई/मुसाई र पश्चिमा पद्यतिको राजनैतिक प्रतिमान अङ्गिकार गर्नेहरूको पहिलो रीस नै पृथ्वीनारायण शाहले नेपाललाई हिन्दूस्थाना घोषित गर्नु र असली हिन्दूस्थानाको पहिलो सार्वभौमसत्ता सम्पन्न हिन्दू -राजा हुनु हो | हो, यस अगाडी पनि धेरै हिन्दू राजा भए ती मध्ये कसैले पनि हिन्दूराजा भएको घोषणा गरेका छैनन् | मुसाई(मुस्लिम यहुदी इसाई) र कसाई (कम्युनिष्ट-समाजवादी)हरूले एउटा रैथाने नेपालीले हिन्दूराष्ट्र स्थापना गरेको र पहिलो राजा भएर धर्मपरिवर्तनकारी शक्तिहरूलाई देश निकाला गरेको तत्थ्य आजसम्म हजम हुन सकेको छैन | राजा पृथ्वीनारायण शाहले २६० वर्ष अगाडी मुसाई र कुसाईलाई दिएको झापट उनीहरू नेपालका रैथाने हिन्दू-सनातनी तथा जैन-बौद्धलाई नामेट परेर बदला लिन चाहन्छन् | धर्मनिरपेक्षवादी पार्टीहरूका हिन्दु-संस्कृति विरुद्धका अराजक गतिविधिले यही भनिरहेको छ |

४. समावेशीका राजनीतिका जनक
राजा पृथ्वीनारायण शाहले "चार जात छत्तिस वर्णको फुलवारी" भन्दै कसाई-मुसाई मर्ममा प्रहार गरेका छन् | कसाई-मुसाईहरूको प्रमुख लक्षनै एकधर्म, एक देवदूत, एक पुस्तक, एउटा भाषा र एउटा राजनैतिक व्यबस्था" स्थापना गरेर विश्वबाट अन्य धर्म, संस्कृति, परम्परा तथा राजनैतिक आस्थाको समूल नाश गर्नु हो | मुसाईको घोषित लक्ष हो यो भने कसाईले पनि "लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो" भन्दै एकलकाटे राजकीय प्रणाली स्थापना गर्न चाहन्छन् | राजा पृथ्वीनारायण शाहले विश्वका कुसाई-मुसाई दूवैलाई "बहुलतावादी शासकीय तन्त्र केवल असली "हिन्दूस्थाना"ले मात्र ग्यारेन्टी गर्छ र अन्य राजकीय व्यबस्थाहरू एकलकाटे हुन् भन्ने प्रष्ट संदेश दिए | एउटा थपकुरा, आजको समावेशीकरण जालझेली, भाइभतिजावाद, स्वास्नीवाद, घृणावाद र पैसावादमा अडिएको छ तर तेसबखत यो विचार ठुलै क्रान्ति थियो |

५. हिन्दूराष्ट्रका पहिलो राजा
पृथ्वीनारायण शाह अहिलेका लागि इतिहासका उज्ज्वल पात्र हुन् | उनले जैन , बौद्ध, मुसाई र कुसाईहरूको सदियौंदेखि दलनमा परेर हिन्दूहरूको अस्तित्वबोध समेतगुमाउँन आँटेका सनातिनीको अस्तित्वलाई पुन: जगाउने काम गरेका छन् | ऋषिहरूले "उत्तिष्ठ, जागृत वरान्निबोधत" भन्ने पुकारलाई आधुनिक सन्दर्भमा उपयोग गरेका हुन् | जैन तथा बौद्धहरूले पनि प्रत्यक्ष रूपमा हिन्दु-संस्कृतिकै खेदो खनेका हुन् तर आज यो इतिहास हो | आजको सन्दर्भमा हिन्दू, जैन तथा बौद्धहरूका साझा शत्रु मुसाई-कुसाई नै हुन् | इन्डियाले नेपालको हिन्दू अस्तित्वलाई स्वीकार नगर्ला तर राजा पृथ्वीनारायण शाहले असली हिन्दूस्थानाको अवधारणा अगाडी नसारेको भए अहिले भारतमा हिन्दूहरूले पुनर्जागरणको पक्षमा भोट दिने थिएनन् | भारतीयहरूले स्वीकार नगरे पनि पृथ्वीनारायण शाह हिन्दू पुनर्जागरणका आदिपुरुष हुन् |

६. सम्झनयोग्य राजा
तत्कालीन नेपालका रजौटाहरू मध्ये पृथ्वीनारायण शाह पनि एक जना हुन् | अन्य राजाहरूको त्यति चर्चा हुँदैन | एउटा रजौटाले नेपाल एकीकरणको सपना देख्नु, त्यो सपना पुरा गर्नु, देशको मौलिक इतिहास बुझेर "असली हिन्दूस्थाना" घोषणा गर्नु, अंग्रेजहरूको एकलकाटे राजधर्म बुझेर "बहुलवादी मानव-समाजको स्थापना" गर्नु, आजको भयावह समय देखेर मुसाईहरूलाई देश निकाला दिनु, देश-भरिको विविधतालाई स्वीकार गर्दै ती विविधताको सुरक्षा गर्ने जिम्मा स्थानीयतहलाई नै दिनु र आफुले पढ्न नसके पनि आफ्ना सन्तान र नागरिकलाई पढ्न प्रेरित गर्नु तथा एउटा कुशल राजाका रूपमा चीन तथा भारतसंग सरल सम्बन्ध निर्माण गर्ने अभिप्रेरित गर्नुले यी एउटा सम्झनयोग्य राजा भएका छन् | शाहको दीव्य उपदेश अहिलेको शासकीय प्रणालीका उपयुक्त नहोला तर उनले स्थापित गरेका प्रतिमानहरू सम्झन र अनुकरण गर्न योग्य छन् |

७. महानायक
२६० वर्ष अगाडीको सामाजिक, राजनैतिक, धार्मिक तथा सांस्कृतिक चेतनामा आकाशपातालको फरक आएको छ | राज्यहरू शक्तिशाली राष्ट्रहरूमा रुपान्तरित भएका छन् | वीरभोग्या वसुन्धराजस्ता कथनहरू इतिहास बनेका छन् | मान्छेको स्वभाव र चाहनामा परिवर्तन भएको छ | मान्छेको जनसंख्या र आवश्यकता पनि त्यो समाजले सोच्नै नसक्ने गरी बढेको छ | तर हिन्दु धर्म र संस्कृतिका उपर आक्रमणको तीब्रता त्यो समयभन्दा बढी नै सनातनीहरूले अनुभव गरेका छन् | इन्टरनेट, रडियो, टेलिभिजनआदिको विस्तारका कारण हिन्दू-संस्कृतिको बहुआयामिक स्वभावको आयतन निकै बढेको छ | यस्तो अवस्थामा लगभग तीन हजारवर्षदेखि निरन्तर दलनमा रहेका हिन्दूहरूको आत्मबल बढेको छ र पहिचानको प्राप्तिको लागि पुनर्जागरण हुँदैछ भने यसको केही श्रेय श्रीपृथ्वीनारायणलाई पनि दिनुपर्छ | छोटो समयका लागि भए पनि विश्वका हिन्दुहरूले आफ्नो पहिचानको राष्ट्र प्राप्त गरेका थिए | तर मुसाई-कसाईको बक्रदृष्टी र सनातनीका विचमा रहेको अशिक्षाको कारणले त्यो गुम्यो | हिन्दू-राष्ट्र गुम्दा विश्वका हिन्दुहरू खुसी छैनन् | अव सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको विश्वका हिन्दुहरूको स्वाभिमानमा रुपान्तरित भएको छ | नेपालले तेसको नेतृत्व गर्नुपर्छ | महानायकका रूपमा पृथ्वीनारायण शाहको विकल्प छैन |

८. अग्रगमनका प्रणेता
इतिहासलाई गालीगलौज गर्ने संस्कृतिले नेपाल र नेपालीको भलो हुँदैन | सत्य हो कि आजको मितिमा मुसाईहरू पनि नेपाली नागरिक छन् | अन्य नागरिसरह तिनको पनि यो देश हो र हुनुपर्छ | देशको एकजना नागरिकले पनि अपहेलित, अपमानित तथा तिरस्कार गरेको अनुभव गर्नु हुँदैन | तर जर्ज जेकव ह्यालोक (१८१७-१९०६) ले मुसाईहरूसंग मोहभंग भएर जुन धर्मनिरपेक्षताको कल्पना गरे, त्यो नेपाली समाजको चरित्र विरुद्ध हो | उदाहरणका लागि धर्मका मामिलामा सधैं एकलवादी तथा क्रूरतम अभ्यासगरिरहेका यहुदी, इसाई तथा मुस्लिमहरूले नेपाली राजनैतिक संस्कृतिमा धर्मनिरपेक्षताको आवरण स्वीकार गर्नु, छल, प्रपन्च तथा धुर्त्याईको अन्तिम अवस्था हो | राजा पृथ्वीनारायण शाहले मुसाईको धुर्त्याई बुझेर बहिष्कार गरेका थिए तर उनको समयमा कसाई थिएनन् | मुसाई र कसाईले गठबन्धन गरेर वैदिक संस्कृतिको विनाश गरिरहेको सत्य हो | आजको समाजले उपर्युक्त सत्य बुझेन भने नेपालमा वैदिक संस्कृति इतिहासको विषय हुनेछ | नेपालबाट मुसाईको अन्त्य नहोला तर निस्तेज बनाउनुको विकल्प छैन | हो, नेपाली समाज वैदिक समाज र संस्कृतिको अस्तित्व पहिचानको स्थापनामा छ | पृथ्वीनारायण शाहले हिन्दु-पहिचानलाई राजनैतिक प्रतिमानका रूपमा संस्थागत गरेका हुन् |

९. रजौटाबाट राजा बने
त्यो समय विश्वभरीनै राजा र सामन्तहरूको हुकुम चल्थ्यो | जित्ने राजा हुन्थ्यो हार्ने रैकर | नेपाल यो भन्दा भिन्न थिएन | गोर्खाका रजौटा पृथ्वीनारायण शाहले ठूलो राजा बन्ने सपना देखे | त्यस बखतको चलनअनुसार युद्ध गरे | कति पल्ट हुन्छ हारे | धेरै पटक युद्ध जिते | युद्ध गरेर राज्य बढाउनु पर्ने, शक्ति आर्जन गर्नु पर्ने समयमा आजको नैतिकताको कल्पना गर्ने र पृथ्वीनारायण शाहबाट "जेनेभा-सन्धि"अनुसारको व्यबहार खोज्नेहरू धूर्त हुन् | यो धुर्त्याई जानाजान पृथ्वीनारायण शाहको बदनामी गर्न, उनले उत्थान गरेको "हिन्दू पुनर्जागरणलाई निस्तेज गर्न प्रयोग गरिएको हो | यदि त्यस बखत प्रसिद्ध घृणावादी गोपाल गुरुङ, लोकतन्त्रवादी पूर्वप्रम बाबुराम भट्टराई, वर्तमान प्रम प्रचण्ड, एमालेका शक्तिशाली नेता केपी ओली र तथाकथित राजाहरूको घोर विरोध गर्ने जुनसुकै नेता वा कार्यकर्ता रजौटा भएको भए त्यही गर्थ्यो | केही गर्न नसक्नेले रजौटा पृथ्वीनारायण वा अन्यको रैती भएर काम गरिरहेको हुन्थ्यो | सबैभन्दा अचम्मको कुरा के भने राजाको मूर्ति ठड्याएर राजाकै विरोध गर्ने "पहिचानवादी"को कुरा बुझ्न सकिन्न |

१०. घृणावादीको भलो होस्
एउटा तीतोसत्यले विदेशीका चौकीदारहरूलाई पोलिररहेको हुन्छ | त्यो केहो भने राजा पृथ्वीनारायण शाहले आफ्नो देशको धर्म, संस्कृति तथा परम्परा जोगाउन हदैसम्म प्रयत्न गरेकै हुन् | यी "जूठे"हरू राजा पृथ्वीनारायण शाहको "सनातनी छवि" कत्ति पनि मन पराउन्न | आजका मोडर्नहरू "पृथ्वीनारायण विरोधी"हरू पहिचानको ठूलो वकालत गर्छन् तर क्रिसमस डे, मोहम्मद डे का दिन क्रस र टोपी लगाएर जुलुसको पछाडी-पछाडी हिड्ने गर्छन् | | हिन्दु धर्म, संस्कृति तथा संस्कारहरू विरुद्ध आगो ओकल्नुलाई "समाजवाद" भन्छन् | घृणावादीहरूले हिन्दुहरूलाई जगाउने नै काम गरिरहेका छन् | यी सबैको भलो ठान्नुपर्छ | दीसा धोएपछि मात्र अन्य कर्म गर्न मिल्छ | यिनै घृणावादी, एकलकाटे मुसाई-कसाइका अत्याचारले विश्वभरिका हिन्दुहरूलाई आफ्नो पहिचान स्थापित गर्न अभिप्रेरित गरिरहेको छ | नेपालको सम्पूर्ण जनसंख्यामा ८१.३% प्रतिनिधित्व गर्ने हिन्दुहरूको पहिचान मेटाउने सपना देख्नेहरू स्क्रिजोफ्रेनियाले पिडित हुँदैछन् | हरेक पल पृथ्वीनारायण शाहको अदम्य साहस र देशप्रतिको सम्मान "दीव्य-उपदेश"ले पुनर्जागरणको बाटोलाई अझैं सशक्त तथा फलदायी बनाउन मदत गरिरहेको छ |

अन्त्यमा, राजा पृथ्वीनारायण शाह प्रत्यक्ष रूपमा तत्कालीन नेपालीहरूका राजा थिए तर अप्रत्यक्ष रूपमा विश्वभरिका हिन्दुहरूको आत्मसम्मान, अस्तित्व तथा पुनर्जागरणका सम्राट थिए | यो कुरा अंग्रेजी भारतले स्वीकार गर्ला/नगर्ला तर सनातन धर्मका विनम्र अनुयायीहरूका लागि गौरवको, आस्थाको, विश्वासको मन्दिर सरह हुनेछ | हामी उनको सम्मान गर्छौ | नेपाली जनतातिनको सम्मान गर्छन् | तिम्रा दिलक राजा रोमतिर, जर्मनतिर होलान् | उनैको भक्ति गर तर नेपालको इतिहासलाई विकृत र वदनाम नगर | राजा पृथ्वीनारायण शाहको योगदानलाई तिमीले अस्वीकार गरे पनि विश्वभरिका हिन्दुहरूले स्वीकार गर्ने छन् र गरिरहेका छन् |
स्वस्त्यस्तु

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...