Wednesday, February 14, 2018

म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ?

मिति २०७४/०७/१ शिवरात्रीका दिन हवाईजहाजमा चितवनबाट काठमाडौं फर्कने क्रममा मसंगैको सीटमा बसेका एकजना नेपालीसंग भएको कुराकानीको सार-जस्ताको तस्तै यहा लेखेको छु | उहाको नाम र ठेगाना मैले नसोधेको हुँदा लेख्न सकिन | कुराको प्रसंग शिवरात्रीमा पशुपतिनाथसंग जोडिएको छ |

“म २६ वर्ष अघि इसाई भएको थिएँ | देश विदेश घुमे | धेरैसंग गरें | धेरै मानिसहरूलाई इसाई धर्ममा संगठित गरें | धेरैं धन-सम्पत्ति पनि कमाएँ | तर अहिले जीवनको पाँचौं वसन्त पार गरेपछि म परिवर्तित भएको छु | मैले आलोचना गर्नका लागि थालेको हिन्दू ग्रन्थहरूको अध्ययनले म नै परिवर्तित भएको छु | अहिले आएर सबैभन्दा खुला र उदार धार्मिक चिन्न्तन त हिन्दूहरू कै रहेछ भन्ने कुरामा विश्वस्त भएको छु |

मलाई इसाईसंग कुनै गुनासो छ भने एत्ति हो कि उहाहरूले आफुलाई "कितावको धर्म" भन्नुहुन्छ तर अक्षर नचिनेकाहरूलाई धर्म परिवर्तन गर्ने प्रेरणा दिनुहुन्छ | पढ्नै नसक्ने मान्छेले "बाइबल"मा लेखेको कुरा कसरी बुझ्न सक्छ र ? कितावको धर्म पनि भन्ने अनि पढ्नै नसक्नेहरूलाई धर्मपरिवर्तनका लागि प्रपन्च गर्ने मलाई कत्ति पनि चित्त बुझेन |

मैले धेरै पास्चरहरूलाई यो प्रश्न सोधें तर कसैसंग स्पष्ट जवाफ हुँदैन | मेरो विचारमा यदि कसैले आफैं बाइबल पढेर, बुझेर र बाइबलसंग सहमत भएर धर्म परिवर्तन गर्छ भने उसले आफ्नो विषयमा निर्णय गरेको ठिकै हुन्छ तर पढ्न नै नसक्नेले बाइबलको कितावको नाममा धर्म परिवर्तन गर्नु/गराउनु ठीक होइन | एस्तो धर्मपरिवर्तनसंग म सहमत छैन |

मैले धर्मपरिवर्तन गर्दा मैले हिन्दूहरूका कुनै पनि धार्मिक अथवा सांस्कृतिक कितावहरू पढेको थिइन | बाहुनको छोरा भएको नाताले कर्मकाण्डलाई नै धर्म ठान्थें | म एकदम कमलो स्वभावको भएकाले कुलानी पूजामा बोको बलिदिएको देख्न सक्दैनथे | कुलानी पूजामा हत्या भएको देखेपछि तीन-चार रात निदाउन सक्दैनथे |

पूजाआजामा किन बलिदान दिनुपर्यो ? भन्ने कुराको जवाफ मेरा अभिभाव वा पण्डितहरूसंग थिएन | मैले पढेको विज्ञान विषयमा हिन्दू धर्म संस्कृतिका विषयमा केही थिएन | मैले बुझ्न चाहेका कुरहरू कुनै पनि गुरूहरूले गम्भीरता पूर्वक लिनु भएन |

एक दिन क्याम्पसबाट फर्किंदै गर्दा बाइबलका विषयमा एकजना जर्मनसंग कुरा भयो | साच्चिकै भन्दा मलाई जर्मनसंग अंग्रेजीमा बोल्दा अंग्रेजी राम्रो हुन्छ भन्ने विश्वास थियो | अंग्रेजी जानिने लोभमा म उसंग नाजिकिएँ | उसले बोलाएका कार्यक्रमहरूमा जानथालें | अनि, मैले आफुलाई लागेका धार्मिक प्रश्नहरू पनि सोधें | उसको जवाफ चित्त बुझ्दो त थिएन तर जवाफचाहिं आएकै थियो |

मेरो संगत बढ्दै जाँदा मैले बाइबल पढें | चर्चमा जान थालें | मलाई उसले कितावहरू किनिदिने, घुमाउन लैजाने तथा अन्य जर्मनहरूसंग परिचय गराउने काम गर्यो | म क्रमशः उसंग धेरै नजिकिंदै गएँ | एक दिन उसले धर्मपरिवर्तन गरेर इसाई हुन आग्रह गर्यो | मैले उसको कुरा टार्न सकिन | उसको मित्रतामा निकै गलेको थिएँ | अन्त्यत: एकदिन इसाई बने |

अनि, मेरो परिवारसंग मेरो सम्बन्ध विग्रियो | परिवार र समाजको विद्रोहमा परें | मसंग उसंग सङ्गत गर्नु र चर्चका मान्छेहरूसंग सम्बन्ध बढाउनु वाहेक विकल्प रहेन | घर र परिवारको वहिस्कारमा पर्दा "प्रभुको मान्छे वन्दा प्रभु बाहेक सबैले त्याग्ने खतरा हुन्छ नै, तिमीलाईल प्रभुले प्रगाढ प्रेम गरेका छन्" भनेर सम्झाए | मैले विश्वास गरें |

मैले बीएस्सी गरें | त्यसपछि चर्चले नै जर्मनीमा पढ्ने ब्यबस्था मिलेदियो | मैले जर्मनबाट विद्यावारिधि गरें | मेरो धर्म-प्रचारमा रुचि थिएन तर चर्चले धर्म-प्रचारका लागि दवाव दियो - नेपालमा | मैले स्वीकार नगरेपछि केन्या पठाइयो | मैले तीन वर्ष धर्मप्रचारक भएर काम गरें |

त्यसपछि पुन: जर्मनी फर्केर अध्ययन र काम गर्न थालें | मैले हिन्दू, बौद्ध तथा अन्य धर्मका कितावहरू पढ्न थालें | यस क्रममा मैले बुझें कि हिन्दू धर्म नभएर समग्र जीवन शैली रहेछ | विश्वका धर्महरू व्यक्ति विशेषले आरम्भ गरेका रहेछन र धार्मिक मान्छेहरू उसको आदेश मान्न बाध्य हुँदा रहेछन् | धार्मिक कितावको आदेश, आरम्भ कर्ताको आदेश तथा चर्च वा मुल्लाको आदेश नमान्नेहरू नास्तिक हुने रैछन् ?

तेसपछि मेरो अभिरुचि प्राचीन हिन्दु ग्रन्थमा वढ्यो | मैले जर्मनीमा अनुवाद गरेका वेद, उपनिषद तथा अन्य ग्रन्थहरू पढ्न थालें | पहिले-पहिले हिन्दूहरूको धार्मिक ग्रन्थ पनि वेद-वाहेक अरु के नै होला र जस्तो लाग्थ्यो ? पढ्दै गएपछि बुझें - हिन्दूको धार्मिक र सांस्कृतिक जीवन बुझ्न एउटा किताव होइन समग्र पुस्तकालय नै पढ्नु पर्ने रहेछ |

म बाइबलको किताव भित्र कैद थिएँ | मेरो चिन्तन बाइबलको एउटा किताव परिपरि सीमित थियो | मैले बाइबलको ब्याख्या गरिएका हजारौं किताव पढेको थिएँ | ती सबै कितावको उद्देश्य बाइबलको ब्याख्या गर्नु बाहेक केही थिएन | ती सबै केवल बाइबलका विषयमा मात्र लिखिएका थिए |

मैले हिन्दू साहित्य पढ्न थालेपछि मात्र बुझें - हिन्दू जीवन दर्शनको उठान वेदहरूबाट भए पनि त्यसमा कैद थिएन | धार्मिक बन्नका लागि वेद पढ्नै पर्ने अनिवार्य थिएन | सबै धार्मिक-पुस्तकहरू केवल धार्मिक मात्र थिएनन् | आयुर्वेद, विज्ञान, ज्योतिष, दर्शनआदि सबै तेसमा समेटिएका थिए | यी सबै कुराले म अचम्ममा पर्दै गएँ |

हो, मैले हिन्दू ग्रन्थहरू पढ्न थाल्दा जातपात, महिलाआदि खराव विषयहरू संकलन गरेर इसाई धर्मलाई फैलाउन सजिलो हुन्छ भन्ने तत्थ्यलाई सघाउन गरेको थिएँ | तर पछि मेरो चिन्तनको दरिद्रताबाट दुखीत भएँ | मैले एतिधेरै विषयवस्तुलाई छोएका कुनै विषय पढेको थिइन | अनि, मेरो अभिरुचि मूल संस्कृततिर ढल्कियो | मैले आफ्नो देश, गाउँ र संस्कृति सम्झिएँ |

मैले ती गुरूहरू सम्झिएँ - जसले एस्ता महत्वपूर्ण तथा विशाल साहित्यको प्रतिनिधि बनेर काम गरिरहेका छन् | यदि हाम्रो सरकारले कोर्षमा यी महत्वपूर्ण साहित्यहरू समावेश गरेर पढाउने, गुरूहरूले यिनको अर्थ बुझाउने हो भने कुनै मान्छे किन इसाई बन्थ्यो ? म ठोकुवा गरेर भन्छु, यदि मैले पढेका हिन्दू साहित्य मध्ये एउटा पुस्तकको पनि बाइबलझैं प्रचारप्रसार गर्ने हो भने विश्वमा नै इसाई पन्थको अस्तित्व नै संकटमा पर्छ | हाम्रो सरकार र हाम्रा गुरूहरूले एतिबिध्न महत्वपूर्ण कुरा किन नबुझेका होलान् ? ऋषिमुनिका यी धरोहरका विषयमा नेपालीहरू निकै गम्भीर हुनुपर्छ |

म अहिले पनि इसाई नै हुँ | मेरी पत्नी, मेरो छोराछोरीहरू इसाई नै छन् | मैले जवसम्म हिन्दू ग्रन्थहरू पढेको थिइन, हिन्दू सांस्कृतिक जीवनका धेरै विषयहरूसंग निकै घृणा गर्थें | कुनै वेला सम्पूर्ण नेपाल नै इसाई-देश भएको सपना देख्थें र त्यो सपना साकार कसरी पार्न सकिन्छ भन्ने चिन्तन गर्थें | धेरैं नेपाली इसाईहरू एस्तै सपना देख्छन् | किनभने बाइबल र युरोपेली मुलुकहरूका धर्मप्रचारकहरूले एस्तो सपना निर्माण गर्ने सक्ने क्षमताको प्रयोग गरेका हुन्छन् | एस्तो सपना नेपालीहरूले देखेका होइनन्, एस्तो सपना देख्ने चश्मा युरोप तथा अमेरिका र भारतबाट आयात गरिको हो |

एस विषयमा मैले नेपालबाट जर्मन र युरोप जाने नेपाली विश्वविद्यालयका प्राध्यापकहरूसंग कुरा गरें तर उहाहरू कत्तिपनि सिरियस भएको भेटिन | उहाहरू केवल “राम्रो छ गर्नुपर्छ” भन्नु हुन्छ | उहाँहरूको यो भोली मेरा हजुर वाको “चाइने” थेगो भन्दा बढी होइन भन्ने बुझ्न मलाई धेरै समय लाग्यो | हामी क्रिश्चियनहरू आफ्नो परम्परा र धर्मका विषयमा निकै सिरियस हुन्छौं | कुनै नया समस्या आउँदासाथ हामी वहस गर्छौं र विश्वब्यापीरूपमा त्यसको समाधानका लागि पहल गर्छौं | तर नेपाली विश्वविद्यालयहरू आफ्नोघरका रैथाने विषयवस्तु र सम्पत्तिको कत्तिपनि वास्ता गर्दैनन् | आफ्नै विषयवस्तुमा पनि विदेशीहरूको भनाई वा लेखाइलाई प्रमाणित मान्ने अनौठो रोग नेपाली विद्वानहरूमा गहिरोसंग गढेर बसेको छ |

म नेपाल फर्केर संस्कृत विद्वानहरूसंग सम्पर्क गरिरहेको छु | उहाहरू मेरो प्रश्न भन्दा पनि मेरो युरोपेली बसाईसंग बढी प्रभावित भएको देखेर दिक्क लाग्छ | मलाई थाहा छ, मेरो संस्कृतको पढाई र बुझाई सीमित हुनेछ तर पनि मलाई प्राचीन संस्कृत ग्रन्थहरूप्रतिको जिज्ञासा निकै बढेको छ | मैले यी प्राचीन साहित्यको एउटा सानो अंश पनि छिचोल्न सक्दिन भन्ने तत्थ्य राम्ररी बुझेको छु | अहिले मेरो मनमा “केही विद्यालयको स्थापना केवल संस्कृत साहित्य पढ्न, पढाउन, अनुसन्धान तथा वादविवाद गर्नका लागि मात्र स्थापित हुनुपर्छ | एस्ता संस्थाहरूको संचालन केवल “सिरियस-विद्वान”हरूको हातमा हुनुपर्छ | राजनैतिक शक्तिहरूले तिनको विकास तथा विस्तारमा सहयोग गर्ने काम वाहेक केही गर्न हुँदैन |

अनि, मैले धेरै गुरुहरूलाई सोधें – म पुन: हिन्दू धर्ममा फर्कन चाहन्छु, तेसका लागि म के गरूँ ? धेरैजसोको उत्तर कि शास्त्रीय हुन्छ कि आफ्नो शिष्य वनाउनेतिर लक्षित हुन्छ | निश्चयनै, हिन्दू बनाउने/बनाइने विषय होइन | सबै चेला-चेली बन्ने अभिरुचि पनि राख्दैनन् | म पुन: हिन्दू धर्ममा फर्कन चाहन्छु | मैले जुन परिवेशमा धर्म परिवर्तन गरें त्यो सन्दर्भ आज पनि वदलिएको छैन | धेरै मान्छेहरू आफ्ना प्रश्नहरूको भरपर्दो र चित्तबुझ्दो उत्तर नपाउंदा धर्म परिवर्तन गर्छन् | केही मान्छेहरू जातीय थिचोमिचोबाट मुक्त भइने लोभले धर्म परिवर्तन गर्छन भने केही मजस्तै परिवन्दमा परेर धर्म-परिवर्तन गर्छन् | तर धेरैजसो गलत सूचना र प्रलोभनमा पारेर परिवर्तित हुन्छन् |

यदि परिवर्तिहरूलाई सही सूचना र आफ्नै धर्म र संस्कृतिलाई मान्नेहरूसम्म आफ्नो धर्म-संस्कृतिको महत्व र गहिराईको सुसमाचार स्पस्ट रूपमा पुग्ने हो भने कसैले पनि धर्म-परिवर्तन गर्दैन | धेरै मान्छेहरू पुन: आफ्नै पुरानो रैथाने धर्ममा फर्कन लालायित हुन्छन् | हामीले उनीहरूसम्म सहि तवरले आफ्ना धर्म-संस्कृतिका महत्वहरू तार्किक तथा विश्वासिलो तरिकाले पस्कन सक्नुपर्छ, जान्नु पर्छ | यहाँ बुझ्नुपर्छ कि एक पटक धर्म परिवर्तन गरेको व्यक्ति आफ्नो मूलधारसंग काटिएको हुन्छ | जवसम्म उक्त व्यक्ति वा समूहले आफ्नो रैथाने धर्म-संस्कृतिमा फिर्ता हुँदा सम्मानको हुन्छ भन्ने सुनिश्चित हुँदैन, तवसम्म फिर्ती सजिलो हुँदैन |

मैले जव गुरूहरूसंग कुरा गरें उहाहरूले विभिन्न कर्मकाण्डको कुरा गर्नुहुन्छ | हो, फिर्तीका लागि सामान्य कर्मकाण्ड होलान् र ती सम्पादन हुँदा आत्मविश्वास बढ्छ तर व्यक्तिगत रुपमा परिवर्तित व्यक्ति वा समुहको निकै ख्याल गर्नुपर्छ | उनीहरूलाई सनातन धर्मअन्तर्गत पर्ने जुनसुकै धार्मिक वा सांस्कृतिक कार्यक्रममा छुटाउनु हुँदैन | एस्तो सम्मानले आत्मविश्वास बढ्छ | हिन्दूहरूमा एस्तो सामाजिक संस्कृतिको अझै विकास हुनुपर्छ | एसले मेरो हिन्दूत्व बलियो हुन्छ | मैले छोडेर आएको धार्मिक तथा सांस्कृतिक परिवेशको न्यास्रो यहाँ हुनुहुँदैन | तर मेरो लागि तेस्तो हुँदैन | मेरो जन्म नै हिन्दु-परिवारमा भएकोले मसंग प्राकृतिक रूपमा हिन्दू विद्यमान तर परिवर्तित इसाई-आत्मा पनि मसंग छ |

मैले देखेका र भेटेका ९०% परिवर्तित इसाईहरू प्रलोभनमा परेर परिवर्ति भएका छन् तर मैले कुनै पनि परिवर्तित हिन्दू प्रलोभनमा पारेर/परेर हिन्दू बनेको भेटेको छैन | धेरैजसो हिन्दू धर्म अंगालेका पूर्व क्रिश्चियनहरू शिक्षित, आर्थिक रूपमा आत्म-निर्भर र शास्त्रहरूको अध्ययन गरेर हिन्दु बनेका छन् | मैले भनिसकें – सिरियस भएर वैदिक साहित्यहरूको अध्ययन/ अध्यापन गर्ने जुनसुकै व्यक्ति पनि हिन्दू बन्छ नै | वैदिक साहित्यको विशेषता नै यही हो | मैले जव वैदिक साहित्यहरू पढ्न थालें, म जन्मिएको पारिवारिक धर्मको गौरवले मेरो छाति फुल्न थाल्यो र अहिले म पुन: आफ्नै धर्ममा फर्कने निश्चय गरेको छु |

तर म पुन: हिन्दू धर्ममा फर्कन चाहन्छु, तेसका लागि मैले के गर्नु पर्छ ? भन्ने प्रश्नको उत्तर त चाहन्छु नै | यस विषयमा गुरूहरूको के छ सुझाव ? जिज्ञासुलाई हामीले के भन्नुपर्ला ?

(copyright article)

Thursday, February 8, 2018

नेपालको वनारस : पर्वत


स्व. स्वामी प्रपन्नाचार्य (कालेराईले) कार्तवीर्योदय महाकाव्यको भूमिकामा लेखेका छन् "तत्कालीन पर्वतराज्य विक्रमको सोह्रो शताब्दिपछिको चार शताब्दिसम्म नेपालको काशी बनेर रह्यो | रामपति, उमापति, हरिराम, शिवराम, प्रेमनिधिआदि विद्वान एस क्षेत्रका विभूति हुन् | जसरी छिमेकी राष्ट्रमा नेपालीहरू हजारौंवर्षदेखि पढ्न जाने गर्ने परम्परा छ, तेसैगरी पर्वतले पनि नेपालीहरूका लागि काशी कै काम गरेको थियो | कुनै समय विद्याको क्षेत्रमा पर्वत काशी नै वरावर रहेको इतिहास नेपालीले भुल्नुहुँदैन |"

स्मरण रहोस्, पर्वतको कुश्मामा (या बाग्लुंगको बलेवा)मा जन्मेका महाकवि विसुकृतिदत्तसुरिले लेखेका संस्कृतका करिव ३४ बटा प्रगाढ किताव लेखेका थिए त्यस मध्ये एउटा कार्तवीर्योदय महाकाव्य नामक पुस्तकको खोज गरेर स्वामी प्रपन्नाचार्यले सम्पादन गरेका थिए र यो पुस्तक प्राज्ञ प्रतिष्ठानले वि.स.२९५१ सालमा छापेको थियो |

यो पुस्तक पढेपछि मैले निकै गर्वको अनुभव गरें साथै पूर्वमा जन्मेका राईले पर्वतेहरूलाई लगाएको गुणका लागि आभार व्यक्त गरें | प्रपन्नचार्य जीवित रहेको भए पर्वतेहरूका तर्फबाट अभिनन्दन नै गरिन्थ्यो होला |

पश्चिमाहरूको इतिहासका भर परेर धेरैजसो नेपाली बौद्ध र तथाकथित विदेशीहरूले आफ्नो फाइदाका लागि विज्ञ भनेर किनेका नेपाली मूलका विद्वानहरूले सन् ८०० तिर श्रीशंकराचार्यले काठमाडौँका बौद्धहरूलाई पराजित गरेर बौद्ध-पुस्तकालयमा आगो लगाएर बौद्धहरूको बर्चश्व मासेका थिए भन्ने आरोप लगाउँछन् |

बास्तविक तत्थ्य के हो भने भारतको तक्षशीला र नालन्दाका विश्वविद्यालयहरूमा आक्रमण गरेर मोहम्मद गजनवीले सबै थोक नष्ट पारेको थियो | तेसै बखत केही श्रमण र ब्राह्मणहरूले आफुले सक्ने हस्तलिखित कितावहरू बोकेर भाग्ने क्रममा गण्डकी बेसिनको प्रयोग गरेका थिए |

तेस बखत भारतेली तीर्थालुहरू शालीग्राम खोज्न र मुक्तिनाथको दर्शन गर्न जान्थे | गण्डकीको खोंचमा भएको हुँदा मुस्लिम आक्रमणकारी बाट सबैभन्दा सुरक्षित रहेको ठानी श्रमण र ब्राह्मणहरूले गण्डकी-बेसीन अर्थात् हालको पाल्पा, पर्वत, वाग्लुंग तथा म्याग्दी क्षेत्रलाई शास्त्रहरूको सुरक्षा गर्ने र तेसको शिक्षा दिने काम गरेका थिए |
त्यसमा पनि पर्वतमा रहेका ठूलाठूला फाँटहरू र त्यहाँ फाल्ने अन्नले तिनलाई सघाएको हो | पर्वतेली मल्ल राजाहरू आफैमा संस्कृतका प्रेमी तथा विद्वान भएको नाताले पनि भागेर आएका विद्वानहरूले त्यहाँ सजिलैसंग आश्रय पाएको हुन्छ | खासगरी, पैयुँ, बिहादी, मोदीवेणी, वेनी, ग्यादी, पांग, बलेवाआदि क्षेत्रहरू संस्कृत विद्याका लागि निकै प्रसिद्ध थिए |

पछि, काठमाडौँ उपत्यकातिर यहीं बाट पुस्तकहरू बोकेर विद्वानहरू गएको र चारैतिरबाट पर्वतले घेरेको हुँदा यसलाई सुरक्षित ठानेर पुस्तकहरू पशुपति, पाटनमा पुस्तकालय बनाएर विद्याको प्रचार गरेको भन्ने मत अनुसन्धाता डा. लक्ष्मी खतिवडाको रहेको छ |

यहाँ मैले उल्लेख गर्नैपर्छ कि काठमाडौँका पुस्तकालयहरू जलाउने काम सन् १३०० तिर बङ्गालको मुस्लिम आक्रमणकारी गयासुद्द्दीन तुगलकले गरेको हो | उसले त्यस बखत पुस्तकालय आगो लगाएको र ती पुस्तकालयहरू २८ दिनसम्म जलिरहेको व्योहोरा इतिहासले प्रमाणित गरेको हो |

गयासुद्दीनले बौद्ध-चैत्य तथा मन्दिरहरू भत्काएर सुन, हिरामोती लुकेको थियो र तेसै बखत पशुपतिनाथको लिंगसमेत तोडेको थियो | हाल पशुपतिनाथको लिंग पुननिर्मित हो भन्ने विद्वानहरूको मत छ | आचार्य शंकरलाई दोष दिनेहरू विदेशीहरूका दास हुन् अथवा अबुझ हुन् |

दुखको कुरो त के भने नालन्दा र तक्षशीलाबाट ज्यानको माया समेत नगरी श्रमण तथा ब्राह्मणहरूले गण्डकीको खोंच (पर्वत)मा जोगाएको शास्त्रलाई मुस्लिम आक्रमणकारी गयासुद्दीनले काठमाडौंमा जलायो | तेसमा बौद्ध-साहित्यमात्र होइन पाली, संस्कृत (हिन्दू) ग्रन्थ पनि जलेर खरानी भए | अल्पज्ञहरूले तेसको दोष आचार्य शंकरलाई दिंदैछन् जसको विषयमा कुनै पनि काठमाडौँ उपत्यकाका बज्रयानी विद्वानहरूले उल्लेख गरेको भेटिन्न | तेस्तो छ भने प्रमाण देखाउन चुनौती दिन्छु |

तक्षशीला र नालन्दाबाट बोकेर ल्याएका बौद्ध, जैन तथा हिन्दू ग्रन्थहरू नेपाली कागजमा उतार्ने काम पर्वतका विद्वानहरूले गरेकोले सबै साहित्य काठमाण्डौमा मात्र खुम्चिनु परेन | पर्वतेली विद्वानहरूका घरमा ती सुरक्षित रहे र पुन: वि.स. १६०० तिर पुन: काठमाडौंका पुस्तकालयमा पुस्तकहरू एकत्रित भए | तर सबै पुस्तकहरू गण्डकी-मैदानबाट आएका हुन् भन्न सकिन्न |

तै भएर होला, स्वामी प्रपन्नाचार्यले पर्वतलाई दोस्रो "काशी" सम्बोधन गरे | आज पर्वतमा संस्कृतका केन्द्र छैनन् तर पर्वतेली विद्वान् डा.रेग्मीका अनुसार २०२८ साल,मा पर्वतमा ४८ बटा मा.वि. थिए जवकि छिमेकी बाग्लुंग जिल्लामा केवल ९ बटा | एसले पनि पर्वत सधैं विद्याको क्षेत्रमा अग्रणी रहेको तत्थ्य प्रमाणित हुन्छ | पर्वतले सनातनी त बौद्धहरूको संरक्षणमा ठूलो गुण लगाएको छ |

पर्वतेलीहरूले (बाग्लुङ, स्यांग्जा, गुल्मी, कास्की, अर्गाखाँची, म्याग्दी) आफ्नो यो गौरवपूर्ण इतिहासको रक्षा गर्न पहल गर्नुपर्छ | कर्मकाण्डी हिसावले होइन एउटा अनुसन्धाताका रूपमा यी क्षेत्रमा लेखिएका र सुरक्षित गरिएका प्राचीन पाली तथा संस्कृत साहित्यको खोज तथा प्रकाशनतिर अग्रसर हुनुपर्छ | तेसै पनि प्रकृतिले पर्वतलाई नेपालको मध्यविन्दूमा पारेको छ भने नक्सा पनि झन्डै नेपालसंग मिल्दो छ | एस्तै इतिहास अन्य क्षेत्रको हुनसक्छ तिनको खोज गर्नुपर्छ |

आज पनि पर्वतका गण्डकीको काखमा फैलिएका पर्वतका फाँटहरू विश्वविद्यालय स्थापनाका लागि सबैभन्दा उत्तम छन् र पर्वतेलीहरूको प्राचीन इतिहासले समेत पर्वतले विश्वभरी ज्ञानको नेतृत्व गर्न सक्छ भन्ने साहस दिन्छ | अवको पालो आफ्नो गौरव चिन्ने र त्यो गौरवस्थापित गर्न पर्वतलाई पुन: विद्याको केन्द्र बनाउनेतिर पहल गर्नुपर्छ |

विवाद कि शास्त्रार्थ ?

श्रीमद्भगवत-गीताका संस्कृतबाट नेपालीमा धेरै अनुवाद भएका छन् | ती अनुवादहरू अनुवादको आफ्नो ज्ञान, भक्ति र समर्पणका आधारमा धेरै व्यक्तिहरूले गरेका छन् | कुनै पनि अनुवाद १००% जस्ताको तस्तै गर्न सम्भव हुँदैनन् | भावहरूको अनुवाद गर्न सकिन्न, बुझाई र अन्तप्रज्ञाको अनुभूतिको अनुवाद हुँदैन |

अनुवादहरू सबैका उस्तैउस्तै हुन्छन् | तर सम्प्रदायमा आस्था राख्नेले आफ्नो सिद्धान्तको आँखाले गीता वा अन्य शास्त्रहरू पढ्न खोज्नु र तेसैअनुसार तेसको ब्याख्या गर्नु अस्वाभाविक होइन | एसमा मेरो विमति छैन |

तर जव कुनै सम्प्रदायका मान्छेले आफुले अनुवाद वा ब्याख्या गरेको सबैभन्दा सैद्धान्तिक, प्रमाणिक अन्यले अनुवाद गरेको वा ब्याख्या गरेको श्रीमद्भगवत-गीता अप्रमाणिकभन्दै अपमान गर्छन् | यो स्वार्थी ब्यबहार हो |

सनातन धर्मले सबैलाई आफ्नै ठान्छ र सबैले आफुले अनुभूति गरेको विषयवस्तु व्याख्याका रूपमा प्रस्तुत गर्ने स्वतन्त्रता प्रदान गर्छ | आफ्नो गोरुको सय टक्का भन्ने संस्कृति सनातन धर्मको पटक्कै होइन |

यदि अनुवादमा त्रुटी छ भने तेस्को मित्रतापूर्वक विचारआदानप्रदान गर्नुपर्छ | अनुवाद वा ब्याख्याअसंग असहमत हुँदा शास्त्रार्थ गर्ने पवित्र बाटो छँदैछ | तर एकआपसमा हिलो छेप्दा विधर्मीहरूले मजा लिन्छन् | सनातन धर्मको ह्रास हुन्छ |

श्रीमद्भगवत गीतामा कर्म, भक्ति, ज्ञान, बैराग्य, योगआदिको अत्यन्त उन्नत सूत्रात्मक ब्याख्या छ | विद्वानहरूले आफ्नो गुण, व्यक्तित्व तथा ज्ञानअनुसार त्यसको ब्याख्या गर्छन् | लोकमान्य तिलकले गीताको कर्ममुखी ब्याख्या गरे, प्रभुपादले भक्तिपरक, गान्धीले भक्ति र कर्मपरक तथा मदनमोहन मालवीयले ज्ञानपरक तथा आचार्य शंकरले वैराग्य तथा ज्ञान परक ब्याख्या गर्नुभयो

गीताका हजारौं अनुवाद छन् | कोमल-गीता नेपालीमा अनुदीत सरलीकृत गीता हो भने सामान्य अनुवादहरू करिव १४३ बटा रहेका छन् | तैपनि गीताको अनुवाद हुँदैछ र हुनुपर्छ |

श्रीमद्भगवत गीता मात्रै किन सनातन वैदिक संस्कृतिमा आध्यात्मिक शास्त्रहरूका धेरै ग्रन्थ छन्, अन्य ग्रन्थहरू पनि नेपालीमा अनुवाद गरेर प्रकाशन गर्नुपर्छ | इनै ग्रन्थहरूमा हाम्रो जरोकिलो लुकेको छ जसबाट हामीले विश्वलाई प्रेरणा प्रदान गर्न सक्छौं |

यहाँ एउटा वास्तविक प्रसंग उल्लेख गर्नु राम्रो हुन्छ | एक पटक महात्मा हवाईजहाजबाट यात्रा गर्दैहुनुहुन्थ्यो | उहाँसंगैको सीटमा एकजना इसाई पन्थका मानिस हुनुहुन्थ्यो | यात्राका क्रममा यी दूई बीच धार्मिक विषयमा एस्तो छलफल भयो :

मान्छे "हाम्रो धार्मिक ग्रन्थ बाइबल हो र हामी सबै कुरा बाइबलका आधारमा गर्छौं | त्यो एकमात्र छ | तपाईंको धर्मग्रन्थ कुन होला ?

महात्मा "हाम्रो धर्मशास्त्रका विषयमा जान्नका लागि तपाईं मेरो पाहुना बन्नुपर्छ | किनभने मेरो पुस्तकालय वैदिक सनातन धर्मका ग्रन्थहरूले भरीभराउ छ |"

"तपाईंहरू एउटा कितावमा चल्ने भए पनि हजारौं सम्प्रदायमा विभाजित हुनुहुन्छ र एकअर्कालाई अधार्मिक भन्नुहुन्छ तर हामीसंग हजारौं धार्मिक पुस्तक भए पनि हामी एकअर्काको सम्मान गर्छौं र आ-आफ्नोपनबाट भगवानको बाटो प्राप्त गर्न सकिने कुरा स्वीकार्दै सहकार्य गर्छौं |"

सबैका अनुवाद वा ब्याख्याहरूको अध्ययन गरौँ | तिनको स्वाध्याय गरौँ | ती सबैबाट प्राप्त आत्मचेतनाको प्रकाशमा आफुले पनि सत्यको बाटो पहिल्याउ र अरूलाई पनि सत्यको बाटो खोज्न मदत गरौँ | आत्म कल्याण गरौँ अरूलाई पनि त्यसतिर बढ्न प्रेरक बनौं |

तर गीता चाहिं खोजीखोजी पढौं र पढ्न लगाउँ |
-------------------------
वैदिक सनातन धर्मंका अनुयायीहरू शास्त्रार्थ गर्छन्, एकअर्काको अस्तित्वलाई अस्वीकार गर्ने कुनै क्रियाकलाप गर्दैनन् | नेपालीहरूको जरोकिलो यिनै ग्रन्थहरूमा छ | उत्सुकतापूर्वक प्राचीन साहित्य पढौं र पढ्न प्रेरणा दिऊ |

Tuesday, January 23, 2018

शैक्षिकजागरणको रैथाने पर्व - सरस्वती पूजा

ऋषिहरूले वेदमा भनेकै हुन् - ऊठ, जाग र आफ्नो श्रेष्ठ लक्ष प्राप्त गर | र यस्तो लक्ष केवल विद्याले दिन्छ | आफ्ना छोराछोरीलाई नपठाउने आमावुवाहरू शत्रु हुन् | न पढेको मान्छे हाँसहरूका वीचमा बकुल्लो सरह हुन्छ - भन्ने उद्गारहरू संस्कृत साहित्यका पानापानामा छरिएका छन् | जुन वखत भारतवर्षीय मनिषीहरूले सबैलाई लेख्न, पढ्न र ज्ञान प्राप्त गरेर धर्म, अर्थ काम मोक्षको साधना गर्ने जागरण गरिरहेका थिए त्यस बखत पश्चिमाहरू एकभुँडी मासुका लागि आफ्नै आफन्तको हत्या गरिरहेका थिए | अहिले उनीहरू निकै अगाडी छन् |

उनीहरूले विज्ञानको क्षेत्रमा गरेको प्रगति लोभ लाग्दो छ | विश्व यसबाट लाभान्वीत भैरहेको छ र त्यसले नतमस्तक पनि छ | तर विद्याको आन्दोलन पश्चिमाहरूका लागि काकताली नै हो | पश्चिमा इतिहासले भन्छ, यहुदी धर्मका संस्थापक मूसा निरक्षर थिए | इसाई धर्मका प्रथम आचार्य जिसस निरक्षर थिए | मुस्लिम धर्मगुरु मोहम्मद पनि पढ्न-लेख्न नजान्ने औलाछाप नै थिए | जुन वखत, यी औलाछाप आचार्यहरूले आकाशीय कितावहरू प्राप्त गरिरहेका थिए, त्यस बखत भारतवर्षीय भूमिका हरेक प्रान्तमा ठूलाठूला गुरुकुलहरूमा संगठितरुपमा विद्याको विकास हुँदैथियो |

बाइबल र कुरानले "ज्ञानको फल खाएको हब्बाले पापमय जीवनको" साक्षात्कारको कथा लेख्दै थिए, इभ र हब्बाको ज्ञानलाई पापको अवतरण" भन्दै त्यस बखत ऋषिहरूले आफ्ना शिष्यहरूलाई धमाधम ज्योतिष, योग, चिकित्साशास्त्र, मानव-मनोविज्ञान, कामसूत्रजस्ता विषयहरूको शिक्षा दिंदै थिए | त्यतिमात्र होइन, विद्याप्रति अनुराग र जागरण फैलाउन नया पर्वको सृजना गरेर बालबालिकाहरूलाई गुरुकुलमा आउन प्रेरित गर्दैथिए | आठौँ शताब्दिमा टर्कीको एउटा गाउँबाट भारत छिरेका अल-इब्नले आफ्नो भारतयात्रा विवरणको कितावमा उल्लेख नै गरेका छन् | चिनियाले पनि विश्वविद्यालयहरूको वर्चस्व वर्णन गरेकै छन् |

पुरानो इतिहासमा गौरव खोज्नु मान्छेको स्वभाव हो | अहिले हामी भारतवर्षीयहरू पाश्चात्यहरूले विकास गरेको बैज्ञानिक प्रविधिले दिएको सुविधा र भारतवर्षका प्राचीन ऋषिमुनिहरूले प्रस्तुत र विकसित गरेका आयामिक चिन्तनका विच समन्वय अथवा मानवीय निकास पहिल्याउने प्रयत्न गरिरहेका छौँ | खासगरी सन् १९९० एता भारतीय विद्वानहरूमा मुस्लिम तथा अंगेजी इतिहासबाट माथि उठ्ने चाहना ह्वात्तै बढेको छ | यद्यपि संस्कृत वा पालि भाषामा लेखिएका लाखौं प्राचीन ग्रन्थहरूको मूलभूत विषयवस्तुमा अझैं पनि अंग्रेजी-अनुवादमा भरपर्ने अवस्था छ | अर्को शब्दमा, अंग्रेजी भाषाको दासत्वका विरुद्ध अझैं पनि विद्रोह चचेतनाको विकास भएको छैन | 

नेपाल यद्यपि मुगल-अंग्रेजहरूको दास थिएन तर भारतीय शिक्षा पद्यतिको चोरबाटोबाट नेपालीहरूमा पनि भारतीय शैली कै भाषिक-दासत्व वास्तविकता हो | भने बचेखुंचेको आफ्नो इतिहासको गौरव-चेतना तथाकथित प्रजातान्त्रिक परिवर्तनसंगै जातीय, भौगोलिक तथा भाषिक घृणावादमा जलेर खरानी भएका छन् | पहिचानको आन्दोलनले सबैभन्दा बढी लाभ अंग्रेजी-भाषा तथा संस्कृतिले प्राप्त गरेको छ | मैथिली, नेपाली, भोजपुरी, नेवारीआदि नेपालका रैथाने भाषाहरुमा तेस्रो शक्ति अर्थात् विदेशी-भाषाले स्वामित्व स्थापित गरेको छ |

लेखकको अंग्रेजी भाषाप्रति कुनै शत्रुता छैन | अहिले अंग्रेजी विश्व-सम्पर्कको साधन बनेको छ | बालबालिका, अभिभावहरूले अंग्रेजी सिक्नुपर्छ तर अक्षरारम्भ गराउंदा नै आफ्ना बालबालिकालाई A सिकाउने परिपाटीको विकास गर्ने शैक्षिक-नीति लज्जास्पद र दुर्भाग्यपूर्ण कुरा हो | अभिभावहरूमा एस्तो मनोविज्ञानको विकास गर्न सरकारी तन्त्रले सबैभन्दा ठूलो भूमिका खेलेको छ | भारत होस् वा नेपाल सरकारी तवरबाट नै रैथाने सभ्यता, संस्कृति तथा भाषाको आमहत्या गरेर गाड्न चिहान तयार पारिएको छ | एस विषयमा अझैं दुर्भाग्यपूर्ण तत्थ्य त के छ भने शिक्षा, संस्कृति, दर्शनआदि क्षेत्रका प्रतिष्ठित विद्वानहरूले समेत नेपथ्यबाट आमहत्याको समर्थन र संरक्षण नै गरिनैरहेका छन् |

सरस्वतीपूजा वा बसन्तउत्सव हालै विकसित भएका उत्सव होइन | ऋग्वेदको पहिलो मण्डलको तेस्रो अध्यायका १०-१२ यी सुक्तहरूमा सरस्वतीको परिचर्चा भएको छ जहाँ सरस्वतिलाई चेतना, प्रेरणा तथा संज्ञानको तहमा अर्थ्याईएको छ | ऋग्वेदले सरस्वतीको आज पाइने फोटो वा मूर्तिको परिकल्पना गरेको छैन | ब्रह्माकी छोरीको रूपमा सरस्वतीको पहिचान गरेको छैन | त्यैपनि कालान्तरमा शिक्षातिर जनसाधारणको अभिरुचि उत्पन्न गर्न सरस्वतीको मूर्ति, पूजाआजा आदि र त्यससंग जोडिएका कथाहरूको विकास गरियो भने राम्रै भयो | यो शिक्षालाई उत्सवका रूपमा पुस्तान्तरण गर्ने राम्रो ब्यबस्था हो |

आजका शिक्षाविदहरूले बालबालिकाको शिक्षालाई कथा, क्रियाकलाप, रमाइलोपनसंग जोड्न महत्व दिन्छन् | तर सरस्वतीपूजाको रूपमा विकसित भएको क्रियाकलाप, कथा तथा सिकाईलाई किन नजरअन्दाज गरिएको हो ? बुझिनसक्नु छ | मैले कुनै पनि भारतीय वा नेपाली शिक्षाविदले "सरस्वती-पूजा" क्रियाकलापमा आधारित सिकाईको प्रेरणा हो भनेर बोलेको सुनेको छैन बरू तथाकथित धर्मनिरपेक्षतावादीहरूको सिको गर्दै आफ्नो मौलिक संस्कृतिमा रहेको शिक्षा-आन्दोलनलाई "धार्मिकता" भनेर पन्छ्याउदै छौँ | हामी ओरालो लाग्ने आरम्भविन्दू यही हो | पश्चिमा शिक्षाविदहरू "रमाइलो सिकाइको लागि नयानया क्रियाकलाप विकसित गर्दैछन् तर हामीहरू आफ्नै परम्परामा भएका प्राकृतिक सिकाईका क्रियाकलापहरूप्रति वेवस्ता गर्दैछौँ |

वैदिक संस्कृतिको एउटा परम्परागत विशेषता छ - यसले हरेक विषयवस्तुलाई उत्सवको रूपमा विकसित गर्छ र प्रस्तुत गर्छ | नितान्त व्यक्तिसंग सम्बन्धित सोह्र-संस्कारहरू पनि उत्सव कै रुपमा सम्पादन हुन्छन् भने फागुपूर्णिमा, दशैंतिहारजस्ता सामाजिक क्रियाकलापहरू पनि उत्सवकै रूपमा मिलेर सम्पादन गरिन्छन् | सिकाई र बुझाईमा रमाइलोपन वैदिक शिक्षाको जीवन्त पाटो हो जुन अहिलेको शैक्षिक अग्रगमनका लागि प्राचीनतम उपहारका रूपमा स्वीकार्नुपर्छ | हो, हजारौं वर्षको यात्रामा यी परम्पराहरूमा समयको, अन्धविश्वास, कुरीतिआदिको आवरण परेको होला तर अस्वीकार्य पक्कै छैनन् | 

संसारभरिको सभ्यता र संस्कृति कथाले जोगाएको हुन्छ | शिक्षाप्रति अभिरुचि जगाउने श्रीपंचमी वा सरस्वतीपूजा पनि कथा नै हो | कथाको पनि एउटा विज्ञान हुन्छ, यसले सभ्यता र संस्कृतिहरूलाई जीवन्त राख्न मदत गर्छ | जिससको कथाले इसाई, मोहम्मदको कथाले मुस्लिम र मुसाको कथाले यहुदीहरू जीवित छन् | ती कथाहरू बैज्ञानिक हुने तर सरस्वती अर्थात् सिकाईको कथा अबैज्ञानिक हुन्छ भने अतार्किक विश्वास मैं खोट छ | सरस्वती पूजा र अक्षरारम्भको पर्व नितान्त कथा होला तर यसले जसरी समाजलाई “अक्षरतिर तानेर आफ्ना बालबालिकाहरूलाई मन्दिर वा विद्यालयमा उभ्याउँछ, सरकारले अरवौंको विज्ञापन गरेर यो सफलता प्राप्त गर्न सक्दैन | विश्वास, आस्था, आध्यात्मिकता, डर तथा सरस्वती-देवीले विद्या दान दिन्छिन् भन्ने आत्मविश्वास नै यसको विशेषता हो | यही आस्था र विश्वासको सङ्गम सरस्वती आराधना हो जुन हरेक वर्ष माघ महिनाको शुक्लपंचमीका दिन हामी नेपालीहरूले मनाउने गर्छौं |

कथासंग जोडिएका सबै विषयहरूमा वैज्ञानिकता देख्नु अतिवाद भएझैं असल संस्कृति र परम्पराहरूप्रति वेवास्ता गर्नु आत्महत्या हो | असल कुरा विश्वको जुनसुकै कुनाबाट स्वीकार्नुपर्छ तर अरूलाई अङ्गिकार गर्नका लागि आफ्नैभित्र रहेका असल पक्षहरू बिर्सनु हुँदैन | पश्चिमा पद्यतिको शिक्षा कारण मान्छेले निकै प्रगति गरेको हामीले देखेका छौँ र त्यसको लाभ पनि लिएका छौँ तर यो निर्जीव, भावनारहित र सधैं प्रतियोगिताका लागि उभ्याउने शिक्षाले मान्छेले आफ्नो मान्छेपन गुमाउदै छ | भावनात्मक मान्छेको पदचिन्ह मेटेर रोबोटिक मान्छे पदस्थापना गर्दैछ | रमाइलोपन, सुखदुख, प्रेमघृणा, उचितअनुचितजस्ता भावनात्मक चेतनाहरू मसिनवादको थिचोमिचोमा परेर वृद्धाश्रममा ओतलिन बाध्य भरहेका छन् | 

मलाई लाग्छ, कथामा कुथिएको सरस्वती-आराधनाको यो पर्व साच्चिकै प्रत्येक मानवप्राणीका लागि महत्वपूर्ण छ | एउटा कथाले पर्वको रूप धारण गर्नु, त्यसको एउटा सुन्दर प्रतिमा बन्नु, प्रतिमा स्त्री कै हुनु, प्रतिमाका हातमा किताव, माला, विणा र अभय मुद्रा हुनु, उनको आराधनाका लागि मन्त्र, स्तोत्रआदि रचना हुनु, प्रतिमाको पूजाआजाको सृजना हुनु र प्रतिमाका अगाडी उभिएर श्रद्धा, विश्वास, भक्ति र आस्थाका साथ “पढ्ने बाचा गर्दा पढ्न आउने” मनोविज्ञानको विकास हुनु चानचुने कुरा होइन | सरस्वतीका सन्मुख उभिएर प्रतिज्ञा गर्दा बालबालिकाले जुन आत्मविश्वास प्राप्त गर्छन्, त्यस्तो आत्मविश्वास विज्ञानको कुनै ल्यावमा निर्मित हुँदैन | सरस्वती-पुजाको यो हाम्रो रैथाने मनोबैज्ञानिक नै हाम्रो जरोकिलो हो | जुन हामीसंग मात्र छ र जसमा हाम्रो विशेषाधिकार पनि छ | 

विदयाध्यन हामी भारतवर्षीयहरूको परम्परागत सम्पत्ति हो | भारतमा मुस्लिम आक्रमण र त्यसपछि अंग्रेजहरूको राज्यले हाम्रो परम्परामा अवरोध आएको हो | प्राचीन इतिहास हेर्दा/ पढ्दा र बुझ्दा एकजना नेपाली वा भारतीय शिक्षाबाट बन्चित नहुनुपर्ने हो | विज्ञान र बैज्ञानिकताको खोजिमा हामीले आफ्नो परम्परागत शिक्षा पद्यतिलाई ध्वस्त परेको फल भोगिरहेका छौँ | पावन सरस्वती जुन चेतनशक्तिका रूपमा हाम्रो विवेकीय शक्ति बनेर हामीमा विद्यमान् छिन्, हामी सबैको कल्याण गरुन् | यो देशमा एकजना पनि अशिक्षित नरहोस् | सरस्वती पूजाको यो रैथाने पर्वले सबै नेपाली मात्र होइन विश्वभरिका मान्छेहरूमा शिक्षाप्रति जागरुकता बढोस् | हरेक अविभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन् | आफै पनि समय निकालेर साक्षर बन्ने प्रयत्न गरुन् | 

अन्त्यमा, यो वैदिक रैथाने पर्व योगदिवसझैं शैक्षिक-जागरण दिवस बन्नु पर्ने दावी संयुक्त राष्ट्रसमक्ष नेपाल सरकारले गरोस् र यसको स्वामित्व नेपालीहरूले प्राप्त गरुन् |

Saturday, December 23, 2017

बहुआयामिक बौद्धिकता र नौ प्रकारका बालबालिका


बहुआयामिक बौद्धिकता र नौ प्रकारका बालबालिका 
विश्वका सबैभन्दा प्राचीन बालबैज्ञानिकको थिए भनेर सोध्यो भने अचम्म मान्नु पर्दैन किनभने उनी अमेरिकन, युरोपेली कुनै थिएनन् | ई.पू. ५४० तिर प्राचीन दक्षिण भारतमा जन्मिएका विष्णु शर्मा थिए | यस्तो भनिरहंदा हाम्रा अग्रज र अंग्रेजी नाम पढ्न अभ्यस्त भैरहेकाहरूका लागि अचम्म हुने छ | तर यो कुरा सत्य हो, विश्वमा पन्चतंत्र भन्दा प्राचीन बालसाहित्य अर्को छैन |

उनले बालबालिकालाई सिकाउन विभिन्न कथानकहरूको प्रयोग गरेर बौद्धिक तिनको अभिरूचि अर्थात् पठनपाठन, दिंनेलिने, यज्ञ गर्ने/गराउने (ब्राह्मण) युद्ध गर्ने/गराउने, नयाकुरा सिक्न र सिकाउन रहर गर्ने, शारीरिक शक्तिको प्रयोग गर्ने काममा अभिरुचि दिने (क्षत्री), ब्यापार, कृषि,आदि मन पराउने. प्रकृतिसंग नजिकिन इच्छा गर्ने (वैश्य) र सधैं जागिर खान, अर्काको खटनपटन मन पराउने, आज्ञाकारी बन्न मन पराउने र धेरैजसो आफ्नो श्रम बेच्न मन पराउने (शूद्र) यी चारप्रकारका बौद्धिकस्तर अनुसारको गुरुकुल पद्यतिको विकास गरे | बहुआयामिक बुद्धिको पहिचान केवल गार्डनरले मात्र गरेका हुन् भन्नु अन्याय हुने छ |

निश्चय नै अमेरिकी मनोबैज्ञानिक गार्डनरले बहुआयामिक बौद्धिकता विकास गरेर विश्वलाई गुण लगाएका छन् | गार्डनरले हरेक व्यक्तिको सिकाईहरूका आठआयामहरू हुने सिद्धान्त प्रमाणित गरेका छन् | गार्डनरका अनुसार मान्छेको सीकाई मूलतः दुई प्रकारले प्रभावित हुन्छ जसमा आनुवांशिक र वातावरण हुन्छन् | वातावरणको अर्थ बालबालिकाको हुर्काइ र सिकाईको परिवेशसंग सम्बन्धित रहने उनको विश्वास छ |

हावर्ड गार्डनरले मान्छेको सिकाई-क्षमतालाई आठ प्रकारमा विभाजित गरेका छन् | यी आठप्रकारका सीकाइहरू क्रमश: शक्ति-संचार, अन्तर, बाह्य, तार्किक, शाब्दिक,प्राकृतिक, दृश्यगत तथा सांगीतिक हुन्छन् | यद्यपि हरेक मान्छेलको न्युनाधिकरूपमा उपरोक्त गुणहरूका आधारमा व्यक्तित्व निर्मित हुन्छ तर यी मध्ये जुन विषयवस्तु प्रति उसको अभिरुचि हुन्छ, उसले त्यही विषयमा सफलता प्राप्त गर्छ भन्ने गार्डनरको मान्यता रहेको छ |

१. शारीरिक संचालन सिकाई : खासगरी केही बालबालिकाहरू आफ्नो शरीर प्रयोग हुने क्रियाकलापमा बढी सक्रिय हुन्छन् | नाच्न, उफ्रन, खेलकुद गर्न र दौडन तथा शरीरलाई सन्तुलन गरेर सम्पादन गर्न सकिने कामहरू प्रति बढी अभिरुचि राख्छन् र अन्य सिकाईमा उनीहरू सामान्य अथवा न्यून हुन्छन् | यस्ता बालबालिकाहरू हरेक बखत शरीरलाई सक्रिय राख्छन् | अभिभावकहरूले अन्य क्रियाकलापमा भन्दा स्वभाविकरूपमा प्रकट भैरहेको मौलिक रुचि प्रति ध्यान दिनुपर्छ | शारीरिकमा सक्रिय बालबालिकाहरू विश्वप्रसिद्ध नृत्यक बन्ने सम्भावना लिएका हुन्छन् र अभिभावकहरूले तेसैमा फोकस गरेको राम्रो हुन्छ भन्ने हावर्ड गार्डनरले एस्तो क्षमतालाई "काइनेथेस्टीक इन्टेलीजेन्स" रूपमा पहिचान गरेका छन् |

२. अन्तरसम्बन्ध : केही बालबालिकाहरू वा प्रौढहरू सजिलैसंग साथी बनाउन सक्छन्, रमाइलो गर्न सक्छन् | उनीहरूको प्राकृतिक अभिरुचि नै आफ्नो कुरा सुनाउने र अर्काको कुरा सुन्नेतिर केन्द्रित हुन्छ | अंग्रेजीमा यस्तो गुणलाई "इन्टरपर्सनल" भन्ने गरिन्छ | अन्तरसम्बन्ध सम्बब्धि गुण भएका बालबालिकाहरू अन्य विषयमा कमजोर देखिए पनि साथी बनाउन, नेतृत्व स्वीकार्न, सामाजिक समस्याहरू समाधान गर्ने काममा ज्यादै निपूर्ण हुन्छन् | एस्ता बालबालिकाहरू समुहमा सिक्ने, समुहमा काम गर्न अभिरुचि राख्ने हुन्छन् |

३.कितावी : केही बालबालिकामा किताव पढ्ने, शब्दहरू सुनेर ती शब्दहरूलाई विविध प्रकारले प्रयोग गर्ने र अर्थात् सुनेका, बुझेका र देखेका शाब्दिक-वर्णहरूसंग रमाउन सक्ने प्राकृतिक गुण हुन्छ | हाम्रो समाजले एस्तै बालबालिकालाई ज्ञानी र जान्ने भन्छ | यो अर्ध सत्य हो | प्राकृतिक रूपमा शब्दसंग तालमेल राख्ने बालबालिकाहरू खेलकुदआदिमा कमजोर हुनसक्छन् तर कविता लेखन, बाचन, निवन्ध प्रतियोगिताआदिमा उनीहरूले राम्रो गर्छन् | एकप्रकारले यस्ता बालबालिका वा व्यक्तिहरू कितावी किरा हुन्छन् भन्दा फरक पर्दैन | गार्डनरले यसलाई "लिंग्विस्टक इन्टेलीजेन्स" भनेका छन् |

४. तार्किक : केही बालबालिका तथा व्यक्तिहरूमा गणित अर्थात् तर्क गर्न सक्ने अत्यधिक क्षमता हुन्छ | एस्तो प्राकृतिक गुण भएका बालबालिकाहरू सधैं प्रश्नमात्रै सोधिरहन्छन् | उनीहरू जिज्ञासु भएकोले नया गिफ्ट पाउँदा साथ त्यसलाई खोलेर बुझ्ने प्रयास गर्दा विगार्न सक्छन् | यसो गर्न हुँदैन भन्यो भने किन भनेर पनि बुझाउनुपर्छ नत्र आफैलाई समेत जोखिममा पार्न सक्छन् | यस्ता बालबालिकाहरू शब्दसंग खेल्न, बाहिरी संसारसंग बढी घुलमिल गर्न, खेल-कुदमा अव्ब्बल नहुन सक्छन् तर समस्या समाधान गर्न भने महारत प्राप्त हुन्छन् | एताउती हेर्ने, फोर्ने, बनाउने प्रयत्न गर्ने यिनको बानी हुन्छ | गार्डनरले यसलाई "तार्किक-बौद्धिकता" भनेका छन् |

५. प्राकृतिक : केही मान्छेहरू सधैं हिमाल-पहाड तराईका खोला, फाँट र टाकुराहरू घुमिरहेका हुन्छन् | घरमा जताततै विरुवा नै विरुवा लगाए जङ्गलजस्तो बनाएका हुन्छन् | प्राकृतिक वातावरणसंग रम्नेहरू प्राकृतिक-सिकाईसंग सम्वन्धित हुन्छन् भने गार्डनरको मत रहेको छ | एस्ता बालबालिकाले कक्षाकोठामा घोकाएको, नचाएको, सबैसंग ग्रुपमा सिएकाएको वा समस्या समाधानप्रति त्यति अभिरुचि हुँदैन | यी बालबालिकाहरू संसारको विशालताबाट सिक्छन् | घरको छानोमा उभिएर तारा गन्ने, विहानै उठेर चराहरूको आवाज सुन्ने, सूर्य, चन्द्र ताराआदिका विषयमा अभिरुचि लिने यिनको स्वभाव हुन्छ | यिनका लागि प्रकृति नै सबैभन्दा महान् शिक्षिका हुन्छिन् | गार्डनरले एस्तो विशेष गुण भएका बालबालिकालाई "प्राकृतिक-बौद्धिकता" गुण भएका बालबालिकाको रूपमा परिभाषा दिएका छन् भने यी बालबालिकाले प्राकृतिक वातावरणमा सजिलोसँग सिक्छन् |
६. अन्तरमुखी : केही बालबालिकाहरू निकै लजालु स्वभावका र एकान्तमा बस्न मन पराउने हुन्छन् | घरमा पाहुनापछा आउँदा वा सामाजिक कार्य हुँदा कमसहभागिता जनाउँछन् | एस्तो स्वभाव भएका बालबालिकाहरू "अन्तरमुखी बौद्धिकगुण" भएका हुन्छन् | यस्ता बालबालिकाहरू खेलमा, सामाजिक कार्यमा, धेरैसोधखोज गर्नमा र बाहिर घुम्नमा अभिरुचि राख्दैनन् | एकान्तमा बसेर किताव पढ्ने, नैतिक तथा ब्यबहारिक समस्याहरूको स्रोत आफै भएको ठानेर ती समस्याहरू समाधान गर्ने प्रयत्न गर्दै सिक्नु नै यिनको आफ्नो मौलिक गुण हुन्छ | असलमा, हरेक मान्छेले आ-आफ्नो तरिकाले सिकिरहेको, बुझिरहेको हुन्छ | अभिभावकहरूले एस्तो एकान्त स्वभाव भएका बालबालिकालाई तेसै किसिमले सिक्न प्रेरित गर्नुपर्छ | ठूला बैज्ञानिक तथा दार्शनिकहरू यसै बौद्धिकताबाट विकसित भएका हुन् | गार्डनरले एस्तो विशेषतालाई "अन्तरमुखी बौद्धिकता" भनेका छन् |

७. चित्रप्रधान : विश्वको हरेक मान्छे आफैमा अद्वितीय हुन्छ | कुनै पनि मान्छेको ठ्याक्कै डुप्लिकेट हुँदैन | आज धेरै अभिभावकहरू बालबच्चाले धेरै कार्टुन हेरे भनेर चिन्तित देखिन्छन् | तर त्यही कार्टुन हेरेर बालबालिकाले फरर हिन्दी बोलेको, बुझेको कुरालाई त्यति वास्ता गर्दैनन् | कार्टुनहरूले धेरै कुरा सिकाउँछ | त्यसको समय ब्यबस्थापन जरूरी हुन्छ | केही बालबालिकाहरूका अक्षर असाध्यै राम्रा हुन्छन् | तर उसले परिक्षामा राम्रो नम्बर नल्याएको हुन सक्छ | यसको अर्थ, उसले चित्रहरू हेरेर, त्यसको आधारमा सिक्ने गर्छ | चित्रहरूहेरेर सिक्नेहरू ठूलो संख्यामा हुन्छन् | भनिन्छ, मान्छेले ७०% ब्यबहार अर्काको नक्कल गरेर सिक्छ | तेसैले एस्तो बौद्धिकगुण भएका बालबालिकाहरूका लागि कक्षाकोठा होस् वा घर रंगहरू, चित्रहरूले भरिएको, लेखिएको हुनुपर्छ | उसका लागि आफैले लेख्ने र पढ्ने अक्षरहरू भन्दा अरूले लेखिदिएका अक्षरहरू बढी महत्वपूर्ण हुन्छन् | गार्डनरले एस्तो मानसिक विशेषतालाई "भिजिउल इन्टेलिजेन्स" भनेका छन् |

८. कानमा इयरफोन लगाएर, टीवी वा रेडियोमा गीत चलाएर टाउको हल्लाउदै होमवर्क गरिरहेका बालबालिकाहरू पनि तपाईंले देख्नु भएकै होला | उनीहरूले जे-काम पनि संगीतमय वातावरणमा मात्र सम्पन्न गर्नसक्ने क्षमता राख्छन् | उनीहरू खेलकुदमा, साथीहरू बनाउन, एकदम राम्रो कविता लेख्न, तर्क गर्न, एक्लै वसेर सिक्न, प्राकृतिक वातावरण रमाएर सिक्न नसक्लान् तर सांगीतिक वातावरणमा उनीहरू धेरै राम्रो गर्न सक्छन् | यदि तपाईंको बालबालिकाले रेडियो सुन्दै गर्दा पनि होमवर्क राम्रो गरिरहेको छ भने केही फरक पर्दैन | उनीहरूको मुख्य पेशा नै संगीत हुन सक्छ | गार्डनरले एस्तो विशेषगुण भएका बालबालिकालाई "सांगीतिक इन्टेलीजेन्स" भनेर पहिचान गरेका छन् | उनीहरूलाई यस्तै वातावारणमा सिक्न दिनुपर्छ | आजभोली विद्याध्यायहरूमा पनि संगीत सिकाउने क्रियाकलाप हुन्छ, राम्रो हो |

९. आध्यात्मिकता : अमेरिकी मनोबैज्ञानिक गार्डनरले यी आठ-प्रकारका सीकाइ-बुझाई सम्वन्धि गुणहरूको कुरा गरे पनि आजभोली नवौं गुणको पनि परिचर्चा र पहिचान भएको छ | आजभोली मनोबैज्ञानिकहरूले "आध्यात्मिक बौद्धिकता"को अस्तित्वलाई स्वीकार्नु पर्नेतिर औल्याउएका छन् | वास्तवमा हिन्दू, बौद्ध, जैन तथा अन्य चिनी दार्शनिकहरूले जीवनमा आध्यात्मिकतालाई ठूलै महत्व दिएका छन् | केही बालबालिकाहरू प्राकृतिक रूप मै दार्शनिक अर्थात् रहस्यमय विश्वका विषयमा जान्न, बुझ्न तथा यसको रहस्य खोल्न आतुर हुन्छन् | यसको मुख्य कारण तिनको मूल गुण नै हो | योग, ध्यान, आध्यात्मिक चर्चा, गुरू बन्ने चाहना इत्यादि एसका प्रबृत्ति हुन् |

यसरी हरेक अभिभावकहरूले उपरोक्त नौ-प्रकारका बालबालिका हुन्छन् भनेर बुझ्नु जरूरी छ | सबै बालबालिकाहरूले सबै थोक सिक्न, जान्न र बुझ्न सक्दैनन् | उनीहरूको अभिरुचि नभएको विषयमा उनीहरूले राम्रो गर्न सक्दैनन् | उनीहरूले उपरोक्त नौवटा विषयहरू मध्ये जुन विषयमा सबैभन्दा राम्रो परिणाम प्राप्त गर्न सक्छन् त्यही नै उसको मूल गन्तब्य हो भनेर हामीले बुझ्नुपर्छ र त्यसमा दक्षताप्राप्त गर्न बालबालिकालाई सहायता गर्नुपर्छ |

मार्गनिर्देशन गर्ने, परामर्श दिने तथा सहयोग गर्ने काम हामी अभिभावकहरूको हुनुपर्छ तर आफ्नो ईच्छा बोकेर हिड्ने ट्रकको रूपमा बालबालिकालाई कदापि प्रयोग गर्नुहुँदैन | आफ्नो महत्वाकांक्षी चिन्तन लादिंदा भविष्यमा समस्या उत्पन्न हुन्सक्ने खतरा बढी हुन्छ | तै भएर, बालबालिकालाई उनको आफ्नो रुचिअनुसारको सीप विकास गर्न हामीले सहयोग गर्नुपर्छ | नत्र श्रीकृष्णले अर्जुनलाई भनेझैं "तिमी क्षत्री हौँ, जहाँ गए पनि तिम्रो लडाकु व्यक्तित्वतिमीसंग रहनेछ | सन्यासी बनेर जङ्गलमा गयौं भने पनि तिमी चराचुरुङ्गीको सिकार खेल्ने छौ | बरू यहीं युद्ध गरेर आफ्नो धर्म पालन गर" भन्ने उपदेशलाई सधैं स्मरण गरेको राम्रो हुन्छ |
फोटो - साभार

Sunday, December 3, 2017

सधैं बाँच्ने मान्छे !!

मान्छेसबै भन्दा डर मर्नबाट लाग्छ | तर आजसम्म सधैं जीवित रहेको मान्छे भेटिएको छैन | विज्ञानले मान्छेलाई अमर बनाउने प्रयत्न गरिरहेको छ | तर अनुसन्धानहरूले मान्छेको औशत उमेर ११५ वर्षको भएको प्रमाणित गरिसकेको अवस्थामा अहिलेसम्म मान्छे जीवत रहन सक्ने अधिकतम उमेर ११५ वर्ष नै हो | विज्ञानले १ मिनट पनि मान्छेको आयुमा वृद्धि गर्न सकेको छैन केवल ११५ विन्दूलाई साँघुरो बनाउंदै लगेको छ |

तर वैदिक साहित्यहरूले आठवटा मान्छेहरूले अमरता प्राप्त गरेको उल्लेख गर्छ | इतिहासमा भएका केही मान्छेरूले ती अमरताप्राप्त मान्छेहरूसंग भेटघाट गरेको अनुभव पनि लेखेका छन् | पाश्चात्य विज्ञानका नजरमा एस्ता अमर व्यक्तिहरू म्याथ होलान् तर हिन्दू समाजले यी व्यक्तिहरूलाई सधैं बडो श्रद्धा पूर्वक स्मरण गरिरहेको छ |

हिन्दूशास्त्रहरूमा जुन अजरअमर व्यक्तिहरूको चर्चा गरिएको छ, ती जन्मदा हामी जस्तै सामान्य मान्छे नै थिए तर पछि, आफ्नो बुद्धि, विवेक तथा भक्तिका माध्यमबाट ती अजरअमर बन्न सफल भएका हुन् | यी सबै फरक-फरक जाति, वर्ण तथा समुदायका मानिसहरू थिए र अमरताप्राप्त गर्न उनीहरूले मानवसेवाको असामान्य कार्य गरेका थिए |

अश्वत्थामा बलिव्र्यासो हनूमांश्च विभीषण:। कृप: परशुरामश्च सप्तएतै चिरजीविन:॥
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।


द्रोणाचार्यका छोरा अश्वत्थामा, राक्षसका राजा बलि, महमति ब्यास, रामभक्त हनुमान, रावणको भाई विभिषण, कृपाचार्य, परशुराम र मार्कन्डेय यी आठवटा मानिसहरू कहिल्यै नमर्ने अर्थात् अजरअमर छन् | यी आठबाट ऐतिहासिक व्यक्तिहरूलाई "अष्टचिरन्जीवी" भनिन्छ |

सनातन धर्मीहरू जन्मदिन मनाउने क्रममा विधिपूर्वक यिनै अष्टचीरन्जीवीहरूको पूजा गर्छन् | विहान स्नान गरेर, विधानपूर्वक गायत्री ज़प गरी गणेश, कलश, दीप पूजन गर्दै अष्टनारायणको पूजा गरिन्छ | भनिन्छ, निरोगी र दीर्घजीवनको इच्छा राख्नेहरूले हरेक दिन सुत्ने बेलामा यी आठबटा ऋषिहरूको स्मरण गर्नुपर्छ |

आज उपरोक्त आठौँ व्यक्तिहरू कथा र प्रवचनका विषय होलान् तर यसमा लुकेको संदेश अत्यन्त महत्वपूर्ण छ | यसले हिन्दूहरूको भविष्य-मानवको कल्पना लुकेको छ | भविष्यमा मान्छेहरू अजरअमर हुनेछन्, सर्वजयी हुनेछन् |

अश्वत्थामा झैं बलशाली, बलीझैं विनम्र, ब्यास झैं ज्ञानी, हनुमानझैं शक्तिशाली, विभिषण झैं विवेकशील, कृपाचार्य झैं गुरू, परशुराम झैं स्वाभिमानी, तथा मार्कंन्डेयझैं दूरदर्शी हुनेछ भन्ने संदेश लुकेको छ | तर एस्तो महान अमरत्व विनम्रता बाहेक प्राप्त हुँदैन |

अनुसन्धान गरेर आर्यसाहित्यमा रहेका अमरत्वका बीऊहरू खोज्नुपर्छ र ब्रह्माण्डलाई "अभयप्रदान गर्न" क्षमता भएका भविष्यका अजरअमर मानवको सृजनामा अग्रसर हुनुपर्छ |

गीता नै किन ?


आज श्रीकृष्णले अर्जुनलाई गीता सुनाएको दिन हो | अर्जुनलाई श्रीकृष्णले श्लोक मै पढेर गीता सुनाएका हुन् कि बोलेर सम्झाएका हुन् भन्न सकिन्न तर मर्ने र मार्ने उद्योगमा तम्तयार सारथीको मुखबाट विश्वको उत्कृष्ट साहित्यको सृजना हुनुमा विश्वका मानवसमाजलाई ठूलै संदेश दिन्छ |

गीता प्राचीन वैदिक साहित्यहरूको असंख्य भण्डार मध्ये एउटा वूँदमात्र हो | सरल, सहज तथा सबैले मनन गर्न सक्ने शैलीमा लेखिनु र कसैको निन्दा नहुनु यस लघुकाय ग्रन्थको आफ्नो मौलिक विशेषता हो | संसारमा गीतामात्र एकल ग्रन्थ हो जसले न आफुलाई धार्मिक ग्रन्थ भएको घोषणा गर्छ न यसमा कुनै नकारात्मक संदेशहरू नै छन् | अर्को शब्दमा भन्नुपर्दा यदि कसैले सकारात्मक चिन्तन र प्रेरणा दिने ग्रन्थ पढ्न चाहनुहुन्छ भने गीता नै पढ्नुपर्छ |

धेरैलाई लाग्ला, हिन्दू भएर हिन्दूहरूको पवित्र ग्रन्थ गीताको प्रशंसामा तपाईंको पूर्वाग्रह पनि त हुन सक्छ नि ? प्रश्नमा खोट छैन तर मभित्र नेपाली हिन्दू भएको केही स्वाभिमान र केही पूर्वाग्रह पनि होला तर मभित्र रहेको पूर्वाग्रहको तुलनामा गीताको विशालता धेरै बढी छ | "आफ्नो र अर्काको भनेर सानो मन भएका मान्छेमा सोच हुन्छ, विशाल मन भएको मान्छेका लागि विश्व नै आफ्नो परिवार हुन्छ" भन्ने गीताको मनसंग मेरो केही चल्दैन |

गीता कर्मकाण्डको ग्रन्थ होइन तर यसले आ-आफ्ना धर्म, संस्कृति, चलन, रीतिथितिको खण्डन-मण्डन गदैन | यसले बुझेको छ "मान्छेलाई आफ्नै जन्मभूमि, माटो, धर्म-संस्कृति प्यारो हुन्छ | उसले सबैथोक त्याग्न सक्छ तर आफ्नो मौलिक पहिचान त्याग्न सक्दैन र त्याग्न मिल्दैन पनि | "आफ्नो देश, धर्म तथा गुणहरूको रक्षाका लागि मर्नु उचित हुन्छ किनभने पराई धर्म-संस्कृतिले तिम्रो मौलिकता निलीदिन्छ" | गीताले हिन्दू नै स्वधर्म हो कहीं भनेको छैन |

मान्छेले सबै थोक परिवर्तन गर्न सक्छ तर आफ्नो मूलगुण परिवर्तन गर्न सक्दैन | शरीर, मन, बुद्धि, अहंकार तथा सिकाई जहाँपनि संगै हुन्छन् | यी सबै मिलेर व्यक्तित्वको निर्माण हुन्छ | यदि कुनै मान्छे दानी स्वभावको छ भने त्यो स्वभाव सधैं उसको आफ्नो हुन्छ | प्रेम गर्ने प्रेमी हुन्छ, जानेको मान्छे ज्ञानी हुन्छ, मिल्न सक्ने मान्छे मिलनसार हुन्छ | गीताले हरेक मान्छेलाई आफ्नो मूलगुण र व्यक्तित्वको पहिचान गरेर काम गर्न प्रेरित गर्छ | सात्विक गुण भएका मान्छेले सरल काम गर, राजसिक गुण भएका मान्छेले जोड्ने-जुटाउने काम गर र तामसिक गुण भएका मान्छेले शारीरिक श्रमको काम गर - गीताले सबैलाई यही भनेको छ |

यो शरीर कामको उपज हो | काम, क्रोध, लोभ, मोह, ममताआदि मानवीय गुण नै हुन् | यी सबै मानसिक गुण हुन् तर शरीरमा प्रकट हुँदा गुण र अवगुण दुवै रूपमा प्रकट हुन्सक्छन् | नैतिक तवरले काम (सेक्स)को प्रयोग गर्दा रमाइलो र सन्तान सुख दुवै मिल्छ तर यसैको अनैतिक प्रयोग गर्दा जेलनेल हुन्छ | कृष्णले गीतामा यी मानसिक वृतिहरूप्रति संयम अपनाउन आग्रह गरेका छन् र योगविधिबाट ती उपर विजयप्राप्त गर्न सकिने बाटो देखाएका छन् | जसले यी मानसिक तर शरीरलाई माध्यम बनाउने यी वृत्तिहरूमा विजय प्राप्त गर्छन् ती योगी हुन्छन्, जसले नैतिक तवरले यिनको प्रयोग गर्छन् ती गृहस्थ हुन्छन् र जसले जथाभावी गर्छन् ती पापी हुन्छन् | यो तत्थ्य हिन्दूहरूमा मात्र होइन मानवजातिमा लागु हुन्छ |

गीताकाअनुसार आत्मा परमात्माको सानो अंश हो | हरेक शरीरधारी परमात्मा कै अंश हुन् | जन्मदा सबै अपरिपक्व, असहाय तथा अपवित्र नै जन्मिछन् | जन्म तथा मृत्यु प्रक्रिया सबैको एकै हुन्छ | सानोठूलो, धनिगरिव तथा उच्च्चजात र नीचजात संसारका व्यापार हुन् | गुणहरूले उसको जात निर्माण हुन्छ र एउटा ब्राह्मणले जात, धन तथा कुलका आधारमा मान्छेमान्छेविच भेदभाव गर्नै सक्दैन किनभने उसले ब्राह्मण, कुकुर र शूद्रमा त्यसै परमात्माको अंशको दर्शन गर्छ |

केही पश्चिमा र तिनको जूठो पत्याउनेहरूले गीतालाई "हिंसाका लागि उक्साउने" ग्रन्थ हो भनेर निन्दा गरेका छन् | पश्चिमाहरू अर्काको निन्दा गरेर आफ्नो विजय सुनिश्चित गर्छन् | हामी हिन्दूहरूको प्रणाली फरक छ | श्रीमद्भगवत-गीताका उपदेशक श्रीकृष्णको व्यक्तित्व हतियारधारिका रूपमा प्रसिद्ध छैनन् | उनले आफ्नो हातमा कुनै घातक हतियार भिरेका हुँदैनन् | उनको मुरलीले विश्वलाई शान्ति र सहअस्तित्वको संगीतमा जिउन प्रेरित गर्छ | त्यैभएर उनले युद्धभूमिमा दिएको उपदेश पनि "गीत" भनिएको हो | श्रीकृष्णले अर्जुनलाई युद्ध गर्न उक्साएका होइनन्, उनले अर्जुनलाई उसको सीप र युद्धबाट बाहिरिंदा त्यसले निम्त्याउने विचलनसंग परिचित मात्र गराएका हुन् | नत्र गीताको अन्त्यमा "मैले भन्ने कुरा सकें अव तिमीले के गर्छौं ? आफ्नै निश्चय गर" भनेर नभनि "मैले भनेको कुरा राम्ररी बुझेको भए अव लडाई गर्न तम्तयार भएर उठ" भन्ने थिए | महाभारतको युद्ध लड्ने निर्णय अर्जुनको थियो श्रीकृष्णको थिएन |

मैले बाल्यकालमा बुझेर गीता पढेको होइन | जव मैले गीताको कुरा बुझ्न थालें, अनि मैले स्पष्टसंग बुझें "गीता पूजेर होइन पढेर, मनन गरेर मात्र बुझिने ग्रन्थ हो" | विश्वास गर्नुस्, गीता नपढी बुझिने ग्रन्थ होइन | अर्कोकुरा, एक पटक यो बुझेपछि तपाईंले यसलाई छोड्न सक्नु हुन्न न त विर्सन नै सक्नुहुन्छ | गीताले तपाइको मन, बुद्धि, अहङ्कार, विवेक तथा चेतनामा सकारात्मक राज्य गर्नेछ | यो पढेपछि एत्तिमात्र फरक पर्छ कि तपाईंको जीवनरूपि नदी मैलोधैलो छ भने सफा, सुन्दर र सरल भएर प्रविहित हुन्छ | तपाईंको आफ्नो जीवन र अरूको जीवनप्रतिको नजरिया परिवर्तित हुन्छ | पहिले जताततै कोलाहल सुनिथ्यो भने अव कृष्णको मुरलीबाट निस्केको सुन्दर संगीत सुनिन्छ | परिवारका हरेक सदस्यमा प्रेम झल्किन्छ, पृथ्वीका कणकणमा आफ्नोपनको दियो बल्छ | पराई भन्ने शब्दमात्र शेष रहन्छ |

धेरैले गीतालाई पवित्र ग्रन्थका रूपमा ब्याख्या गर्छन् | म उहाँहरूप्रति श्रद्धा व्यक्त गर्छु तर भगवानको सुन्दर विग्रहको मन्दिरमा अर्चना गर्दा पुण्य मिल्छ तर गीताको पवित्रता उसको अध्ययन नगरी फलिभूत हुँदैन | मन्दिरमा राखेर, पण्डितलाई दान दिएर, फुलअक्षता चढाएर गीताको पवित्रता प्रमाणित हुनसक्दैन | गीता पढेपछि मान्छे "विश्व-मानव" बन्नसक्छ, यही नै गीताको पवित्रता हो |

मैले ढुक्क र अधिकारसंग भन्न सक्छु, नेपालका नेताले श्रीमद्भगवत-गीता पढेर यसका भनाईहरूलाई आफ्नो जीवनमा रुपान्तरित गरेको भए हामी नेपाली विश्वका सबैभन्दा विकसित, सरल, सहज तथा माननीय जनता हुनेथियौँ | गीता बुझ्ने मानिस न बेइमान हुन सक्छ न विश्वासघाती नै | आफ्नो नाफा-नोक्सानको लागि काम गर्दैन र आफुले सम्हालेको कर्मलाई "कर्तब्य" मानेर पालन गर्छ | जयविजयसंग उत्साहित वा दुरुत्साहित हुँदैन | (चुनावमा) विजयी भए पनि असल काम गर्छ, हार वेहोरे पनि असल काम गर्न छोड्दैन | कर्तब्य र निष्पक्षता गीताले दिने राजनैतिक कर्तब्य हो | सिरिया, पाकिस्तान, अफगानिस्थान र अन्य युद्धरत मूलुकका जनता र नेताले गीता पढ्ने मौका पाएको भए उनीहरू अहिले शान्त हुन्थे |

श्रीमद्भगवत-गीता हिन्दूहरूको धार्मिक ग्रन्थ हो भन्ने मूर्ख हुन् | गीता आफैले कहीं त्यस्तो भनेको छैन न त गीतका प्रथम ब्यख्यकार शंकराचार्यले नै त्यसो भन्नुभएको छ | अन्य ब्यख्याहरूले पनि त्यसो भनेका छैनन् | गीताको तुलना बाइबल वा कुरानसंग गर्नै मिल्दैन | यी दूबै सम्प्रदायका मौलिक र सम्प्रदायको उत्थान, विकास तथा रक्षा गर्ने नियमन ग्रन्थ हुन् | गीता सबैको साझा ग्रन्थ हो | हिन्दु, मुस्लिम, बोन, बौद्ध, किरात, इसाई सबैले गीता पढ्न सक्छन् र असलबाटोका लागि मनन गर्न सक्छन् | श्रीमद्भगवत-गीता पढे "बौलाइन्छ" भन्ने र गीता पढ्दै नपढी त्यसको अनादर गर्नेहरूको कुनै औषधि छैन |

म धर्म मान्ने/नमान्ने, हिन्दू विरोधी/समर्थक, साम्यवादी/पूंजीवादी, मुस्लिम-इसाईआदिसबैसंग आग्रह र ग्यारेन्टी गर्न चाहन्छु, श्रीमद्भगवत गीता पढ्नुहोस्, यसले तपाईंलाई आफ्नै बाटोमा हिड्न तर सकारत्मक बाटोमा हिड्न मदत गर्नेछ | जतिसुकै ठूलो नदी भए पनि अन्जुलीमा पानी बोकेर मुखमा नहालेसम्म प्यास बुझ्न सक्दैन | पानी आफै हिंडेर तपाईंको मुखमा पर्दैन | प्रयत्न तपाईं आफैले गर्ने हो | प्यास पनि आफ्नै बुझ्ने हो |

अन्त्यमा, श्रीमद्भगवत-गीता पढ्नै पर्ने सामग्री हो, अवश्य पढ्नुहोस् | नत्र संसारको सबैभन्दा महत्वपूर्ण रचनाको विषयमा जानकारी नै प्राप्त नभई तपाईंको अन्त्य हुनेछ | एस्तो कहिल्यै हुन नदिनुहोला |

(Copyright article)

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...