प्रथम नेपाली
दार्शनिक महर्षि कपिल
महर्षि कपिलको जन्म
ब्रहमपुत्र कर्दम र देवहुतिबाट नेपालको कपिलवस्तुमा भएको हो | श्रीमद्भागवतमा कपिल
जन्मको प्रसंगमा जुन प्राकृतिक परिवेशको वर्णन भएको छ त्यस्तो परिवेश पहाड र
तराईको संगमस्थलमा मात्र सम्भव हुन्छ |
महर्षि कपिल
सांख्यदर्शनका प्रणेता हुन् | आफ्ना पिताले संन्यास ग्रहण गरेपछि कपिलले आफ्नी आमा
देवहुतिका लागि सांख्यदर्शनको वर्णन गरेका हुन् | नेपाली समाजमा आमावुवाहरूले
आफ्नो विद्वान छोराहरूलाई चौकामा बसालेर श्रीमद्भागवतको कथा सुन्ने परम्परा आज पनि
विद्यमान छ | देवहुतिले कपिलवाट सांख्यदर्शनको उपदेश सुन्नुले नेपाली समाजको
प्रतिनिधित्व गर्छ |
आजभोली बुद्धसंग
जोडेर लुम्विनी तथा कपिलवस्तुको निकै चर्चा हुने गरेको छ | नेपाली विद्वानहरू र
राजनैतिक दरिद्रताका कारण कपिलवस्तु र बुद्धको चर्चा गर्दा कपिलको चर्चा नगरिनु दूर्भाग्य
हो | जवकि बुद्ध आफैले पनि उपदेशका सन्दर्भमा सांख्य-चिन्तन परम्पराको आदरपुर्वक
नाम लिएका छन् |
महर्षि कपिलको
दार्शनिक चिन्तन बस्तुवादी, बहुतत्ववादी, विकासवादी, सत्कार्यवादी तथा दुख
उन्मुक्तिको उदेश्यसंग विस्तारित भएको छ | चेतन साक्षीका रूपमा ईश्वरको अस्तित्व
स्वीकार गरिए तापनि विकास र लय प्रक्रियामा ईश्वरको कुनै आवस्यकता देखिन्न | यही
भएर होला, सांख्यकारिकाका लेखक ईश्वर कृष्ण (ई.पू. २००) सांख्य प्रक्रियामा
ईश्वरको कल्पना नै असान्दर्भिक भएकोले त्यसको अस्तित्व नै अस्वीकार गरेका छन् |
सांख्यकारिका महर्षि कपिलको कृति सांख्य सूत्रको भाष्य हो |
बहुतत्ववादी
सांख्यदर्शनको प्रभाव त्यसपछिका समस्त दार्शनिक धाराहरूमा देखिन्छ | आचार्य शङ्कर,
रामानुज, निम्वार्कआदि वेदान्ती, बौद्ध, न्यायिक, मीमांसा तथा अन्य प्रचलित तथा
लुप्तप्राय (पाशुपत दर्शन, शाक्त दर्शन) भक्तिधाराआदिमा प्रसस्त परेको छ |
महर्षि कपिलले
संसारको ब्याख्या गर्दै यसलाई प्राकृतिक तत्वहरूको विकासका रूपमा पहिचान गरेका छन्
| उनका अनुसार सम्पूर्ण संसारको विकास २३ बटा तत्वहरूले भएको हो जसमा पांचबाट
मौलिक द्रब्य छन् भने बाँकि १८ बटा मानसिक तत्व हुन् | प्रकृति, महत्, अहंकार,
पन्च ज्ञानेन्द्रीय, पन्च तन्मात्र, पन्च महाभूत तथा पन्च कर्मेन्द्रीय नै संसार
हो | सत्व, रज र तमोगुणको आन्तरिक सङ्घर्षले विकासको आरम्भ हुन्छ | सत्व, रज र
तमोगुण संघर्षहिन अवस्था नै प्रकृति हो |
मान्छेको
व्यक्तित्व, उसको ब्यबहार तथा सोच सत्व, रज र तमोगुणहरूको मात्रात्मक संघर्षले
निर्मित हुन्छ | उदाहरणका लागि तमोगुणको प्रधानता भएको मान्छेको व्यक्तित्व पापी
हुन्छ, बासी तथा सामाजिकरुपले निन्दित गरेका खानेकुरामा रुची हुन्छ |
प्रकृतिको विकास
उदेश्यरहित छैन | प्रकृतिको विकास चेतनाको सन्तोषका लागि हुन्छ | असलमा, मानिसमा
रहेको चेतनाले अनादि ईश्वरको प्रतिनिधित्व गर्छ | आत्माले मनुष्यको शरीरमा रहेर
साक्षीका रूपमा प्राकृतिक घटनाहरूको उपभोग गर्छ |
महर्षि कपिलका
अनुसार शुद्ध चेतना प्रकृतिको संसर्गमा परेर प्राकृतिक विषयहरू काम, क्रोध, लोभ.
मोहआदिमा बाँधिदै जान्छ | एस्तो बन्धनले चेतनामा सुखदेखको वेदना जन्माउछ | तर
सुखको वेदना भन्दा चेतनालाई दुखको वेदनाले अधिक प्रभावित पार्छ |
महर्षि कपिल संसारका
पहिलो मनोवैज्ञानिक पनि हुन् | युरोपेली विद्वान् ...मनका तीनबटा स्तर : अचेतन,
अर्धचेतन तथा चेतनाको ब्याख्या गरेको ३००० हजार वर्षपहिले नै कपिले आध्यात्मिक,
मानसिक र शारीरिक दुखका विषयमा वर्णन गरेका थिए | मानसिकरूपमा उत्पन्न हुने
वेदनाहरू आध्यात्मिक दुख हुन् | दैव वा भैपरी आउने दुखहरू देवी हुन्छन् र यी दुवै
र प्राकृतिक कारणले उत्पन्न हुने दुखहरू शारीरिक हुन्छ | आजका मनोवैज्ञानिकहरूले
खोज गरेझैं (मास्लो) चेतनाका विभिन्नस्तर अनुसार सुख र दुखको अनुभूति पनि वेग्लै
हुन्छ |
मान्छेको लक्ष
प्राकृतिक बन्धनबाट (सुख तथा दुख) मुक्ति प्राप्त गर्नु हो | सत्व, रजस तथा तामसी
प्रकृतिको रमझमबाट मुक्ति प्राप्त गर्नका लागि प्रकृतिको विकास तथा प्रलयको विषयमा
तत्थ्यात्म्क ज्ञान हुनुपर्छ | प्रकृतिको विकास तथा प्रलय दुवै भैनै रहन्छन् |
यस्तो विकासले कुनै पनि अस्तित्वको लोप हुँदैन तर रुपान्तरण हुन्छ | आजको
विज्ञानले भनेझैं विकास प्रकृतिको सदपरिणाम हो | कुनै पनि बस्तु शून्यबाट उत्पन्न
हुँदैन |
महर्षि कपिल विश्वका
प्रथम बैज्ञानिक हुन् जसले विश्वको विकासवादी ब्याख्या प्रस्तुत गरेका झन् | यिनका
अनुसार कुनै पनि बस्तुको विकास हुनु र लोप हुनु प्राकृतिक कुरा हो | कुनै पनि
बस्तुको अस्तित्व सधैंका लागि शून्य हुनै सक्दैन | रुपान्तरणलाई शून्यता ठान्नु
अनुचित हो |
हुन त कुनै पनि
प्राचीन ऋषिमुनि वा विचारकहरूलाई नेपाली वा भारतीय भन्नु उनको अवमूल्यन हो तर
भारतीय विद्वान र भारतबाट प्रभावित अन्य विद्वानहरूले “भारतीय अथवा इन्डियन” शब्द
प्रयोग गरिरहेको सन्दर्भमा वर्तमान राजनैतिक नेपालभित्र जन्मेका प्राचीन
विचारकहरूलाई “नेपाली दार्शनिक” भन्नुनै उचित हुन्छ | यद्यपि मेरो यो उठान धेरै
भारतीय विद्वानहरूको मनमा केही चिसो पस्ने छ | यस अर्थमा, नि:सन्देह महर्षि कपिल
विशुद्ध नेपाली प्रथम दार्शनिक हुन् | त्यैपनि विद्वानहरूले मैले राखेको दावीलाई
प्रमाणित गर्ने काम भने थाती राख्नु हुँदैन | स: प्रमाण उपस्थित भएका दावीहरूलाई
अस्वीकार गर्न मिल्दैन र गर्नु पनि हुँदैन |