Monday, November 22, 2021

हिन्दूहरूको भविष्य

हिन्दूहरूको भविष्य
सन् १८०० सम्म विश्वमा स्थानीय धर्म-संस्कार मान्नेहरूको सङ्ख्या सबैभन्दा बढी थियो | हिन्दू धर्ममान्ने ४थो ठाउँमा छन् | यद्यपि हिन्दू समुदाय सानो छ तर उदारताको सवालमा सबैभन्दा बढी प्रजातान्त्रिक छ | सायद सम्प्रदायगत रूपमा मुस्लिम, इसाई र यहुदीहरूले कल्पना पनि गर्न सक्दैनन् ! संभवत: मुसाईभित्र सैद्धान्तिक कट्टरताको कारणले युरोप र अमेरिकामा नास्तिक जनसंख्या बढ्दो छ |

यातायातको विकासले इसाईहरूको आवतजावत बढ्यो फलत: सन् १९०० मा इसाईहरूको उल्लेखनीय वृद्धि देखियो भने मुस्लिम पनि अच्काली बढे | हिन्दूहरू तेस्रो ठाउँमा छन् तर इसाई र मुस्लिमहरूले बल प्रयोग गरेर धर्मपरिवर्तन गराएको कारणले स्थानीय विश्वासीहरूको सङ्ख्या निकै घटेको छ |

सन् २००० मा इसाई र हिन्दूहरूको सङ्ख्यामा खासै उठाव देखिन्न तर मुस्लिमहरू एकाएक बढेका छन् भने यहाँ पनि हिन्दूहरू तेस्रो ठाउँमा नै छन् | सन् २०२१ सम्म विश्वको सबैभन्दा ठूलो धार्मिक समुह मुस्लिम बन्ने र इसाई दोस्रोमा झर्ने छ | एता हिन्दू जनसंख्या भने तेस्रो नै रहने छ |

मैले होइन, इतिहासले भन्छ कि गोरेहरूले पैसा कमाउनका लागि अन्य देशहरूलाई "कोलोनी" बनाए र बौद्धिक दास बनाउँनका लागि बाइबल र तलवारको व्यापक प्रयोग गरे | साउथ अमेरिका होस् वा अफ्रीका इसाई मिसनहरूले गरेको आमहत्या इतिहासले भुल्ने छैन | व्यक्तिगत रूपमा इसाई-समुदायप्रति मेरो सद्भाव छ र सबैलाई दोषी ठान्नु उचित हुँदैन र इतिहासले गरेको दोष वर्तमानलाई बोकाउनु पनि हुँदैन |

मुस्लिमहरूले आफ्नो प्रचारप्रसार तलवार र विवाहका माध्यमबाट गरेका थिए र अहिले पनि जनसंख्या (असीमित रूपमा बालबालिका जन्माएर) गरिरहेका छन् | साउदी, दुवई, कतारजस्ता मुस्लिम बहुल मुलुकहरू धनि हुँदै जाँदा आर्थिक प्रलोभन दिएर मुस्लिम बनाउने बाटो (जुन मूलत: इसाईहरूले गरिरहेका छन्) अपनाउँदै छन् | इसाई र मुस्लिमहरूको उदारतावाद एउटा अतिअविश्वासीलो मुकुण्डो हो भन्ने बुझ्नु उचित हुन्छ |

यहुदी एकेश्वरवादी चिन्तनको पृष्ठभूमिमा विकसित भएका (पछि इसाई पृष्ठभूमिमा) विकसित भएका पूँजीवाद, साम्यवाद, समाजवादजस्ता राजनैतिक चिन्तनहरूले पनि बाध्य भएर उदारतावादको हिन्दू चिन्तन स्वीकार गरिसकेका छन् | केही कट्टरपन्थी मुस्लिम राष्ट्रहरू पनि हिन्दू-उदारतावादको चरित्र स्वीकार्न बाध्य हुँदैछन् | उदाहरणका लागि साउदी अरवले रामायण-गीता र योगलाई मान्यता दिनु, अमेरिकी राष्ट्रपतिहरूले हिन्दू चाडमा समावेश हुनुले माथिल्लो तत्थ्य प्रष्ट हुन्छ |

हालै साउदी अरवले पनि आफ्नो देशमा अन्य धर्मका मान्छेलाई स्थायी नागरिकता दिने घोषणा गरेको छ | यसले हिन्दू उदारतावादी चिन्तनको विकल्प छैन भन्ने देखाउँछ | इसाई/मुस्लिमहरूका धार्मिक विद्यालयहरूमा समेत एकेश्वरवादी चिन्तनमा आधारित राष्ट्रतन्त्रलाई क्रमशः बहुलतातिर (सर्वजन कल्याण) लैजाने पाठ्यक्रम छन् | "राष्ट्रराज्य"को सिद्धान्त क्रमशः प्राकृतिक मृत्युतिर उन्मुख हुँदैछ |

यही सनातन धर्मको विशेषता हो | मैले विश्लेषण गरे अनुसार सन् २१०० सम्ममा विश्वको ७५% जनसंख्या हिन्दूहरूको विश्वासमा चल्ने छ | हिन्दू समाजमा प्रचलित छुवाछुत पूर्णरूपले अन्त्य हुनेछ | धर्मको महलमा मुस्लिम वा इसाई लेखे पनि धेरै मान्छेहरूको "धार्मिक दृष्टिकोण" अत्यन्त उदार हुने छ | जुन पूर्णतया हिन्दू चिन्तन र जीवनशैलीका कारण हो |

धर्मपरिवर्तन गर्ने कुनै व्यबस्था नभएको हुँदा विश्वभरिका मान्छेहरू बैचारिक रूपमा हिन्दू हुँदा पनि हिन्दू धार्मिक समुहमा रहनु प्राकृतिक नै बुझिन्छ | असलमा, धार्मिक र सांस्कृतिक "उदारतावाद"ले महत्व पाइरहंदा अहिलेको ६०% विश्व जनसंख्या केही अर्थमा हिन्दू नै हो |

सन् २१०० मा सबैभन्दा ठूलो धार्मिक समुह मुस्लिम वा इसा देखिए पनि गुणात्मक रूपमा विश्वको सबैभन्दा ठूलो बैचारिक-व्यक्तित्व हिन्दू नै हुने छ | यहुदी, इसाई, मुस्लिमहरूले उदारतावादको बाटो अपनाउनुनै पर्ने छ र त्यो बाटो राज्यराष्ट् भएर हिन्दूत्वबाट नै तयार पारिएको हुनेछ |
स्वस्तिअस्तु

विश्वदर्शन दिवस : निर्विकल्प विवेक

विश्वदर्शन दिवस : निर्विकल्प विवेक

यो लेख लेख्दै गर्दा चीन विश्वको ठूलो अर्थतन्त्र बनेको समाचार आएको छ | तेसै समाचारले "विश्वका १० बटा देशहरूले विश्वको ६०% अर्थतन्त्रको प्रयोग गर्छन्" भनेर पनि लेखिएको छ | हरेक वर्ष फोब्सले विश्वका धनिव्यक्तिहरूको मुल्यांकन गरेर सूचि प्रकाशित गर्छ | फोब्सको प्रतिवेदनमा विश्वास गर्ने हो भने विश्वको ३३% संसाधनहरूमा केवल १० बटा धनि व्यक्तिहरूको निर्णय चल्छ | ती मध्ये ९ जना अमेरिकी नागरिक हुन् |
कोरोनाले विश्व अस्तव्यस्त भएको छ | दुई वर्षको अन्तरालमा लगभग ५२ लाख मान्छेले ज्यान गुमाएका छन् | अझैं कतिले ज्यान गुमाउने छन् ? भन्न सकिन्न | कोरोना भाइरसको खोप विकसित भैसकेको छ तर धनिदेशहरूले गरीव देशहरूलाई बेच्न समेत आनाकानी गरिरहेका छन् भने बेचे पनि चर्को मूल्य लिएका छन् | अनुदानको क्रम नगण्य छ र केवल आफ्नो मन मिल्ने राष्ट्रलाई मात्र दिएका छन् | मान्छे मर्ने क्रम रोकिएको छैन |


यसै बीच विश्वको मह्गाई लगभग २३% ले वृद्धि भएको छ | धनिदेशहरूले अनुदान दिएर मूल्य वृद्धिलाई निस्तेज पारिरहेका छन् भने नेपालजस्तो गरीव देशमा १५५ रुपैयामा पाइने सूर्यमुखिको तेल २९० पुगेको छ | एकातिर रोजगारी गुमिरहेका छन् भने अर्कोतिर महंगाईले आकाश छोइरहेको अवस्था छ | नेपालकै हकमा सरकार, राजनैतिक दल तथा तिनका भात्रृसंगठनहरू आ-आफ्नो "कमिशन"को हिसावकितावमा व्यस्त छन् |
यस बीच दूईबटा तत्थ्यहरूमा बडो गजवले उन्नति भएको छ विश्वमा : धनिहरू अझैं धनि भएका छन् र शस्त्रअस्त्रहरूको व्यापारमा १३७% ले वृद्धि भएको छ | कोरोनाले कुनै पनि सानोठूलो युद्धलाई प्रभावित पार्न सकेन | युद्ध चलिनै रहेका छन् | हामी प्राणीहरुको साझा बासस्थललाई ९ घण्टामा ध्वस्त पार्न सक्ने १३४१० बटा परमाणुबमहरू फुट्न तयार छन् | मान्छेको बुद्धिले ऊसहित सम्पूर्ण प्रकृतिलाई अज्ञात मृत्युको माला लगाइदिएको छ | विस्फोटका लागि तम्तयार नाभकीय भट्टीमा विश्वलाई सजाएर राखिएको छ |

यसमा सन्देह छैनकि मान्छेले क्रमिक अनुभवबाट धेरै कुरा सिकेको छ | यही सिकाई र बुझाईको निरन्तरता र पुस्तान्तरणले गर्दा मानवीय जीवन सुखी भएको छ | बौद्धिक विकास र पुस्तान्तरण मान्छेको आफ्नो मौलिक विशेषता हो | राष्ट्र नामक सीमानाहरूको विकास हुँदागर्दा मान्छेको बौद्धिक विकास व्यक्तिगत सुखसुविधामा केन्द्रीय भएको छ भने व्यक्तिव्यक्तिबाट निर्मित राष्ट्रिय स्वार्थले प्राकृतिक मानिसलाई मानसिक तथा बुद्धिक रूपमा रुग्ण (स्वार्थी) बनाएको छ | अचम्मको कुरा त के भने जतिधेरै मान्छेहरूले उदारता र सहकार्यको कुरा गरिरहेका छन् तेतिनै तीब्रगतिमा मान्छेको व्यक्तिगत स्वार्थ बढीरहेको छ | सत्य, मूल्य, तत्थ्य र विवेक ओझेलमा परेका छन् |

मान्छेलाई आफुले विकास गरेका महाविध्वंसक क्रियाकलाप वारे थाहा छ | विकास र विजयका नाममा प्रकृतिसंग दुष्कर्म गरिरहेको तत्थ्य पनि मान्छेलाई राम्ररी थाहा छ | धर्म र धार्मिकताका कुराहरू अहिले राजनैतिक शक्ति आर्जनका विषय बनेका छन् भन्ने तत्थ्य सबैले बुझेका छन् | वर्तमान सत्य र आसन्न सत्यका सम्वन्धमा मान्छेले बुझेको छ, तेसको परिणाम पनि थाहा छ | त्यति हुँदाहुँदै पनि स्वार्थनै बलियो छ | मान्छेहरू स्वार्थका लागि आफुसहित सम्पूर्ण प्रकृतिको बलिदान दिन तयार छन् तर स्वार्थ छोड्न तयार छैनन् | स्वार्थका अगाडी "विवेक" निरीह छ |

मान्छे सामाजिक प्राणी अवश्य हो तर विवेकशील हो कि होइन ? हामीले आफैसंग र समकालीन विश्वसंग प्रश्न गर्नुपर्छ | अहिले विश्वसंग सम्पूर्ण मानव-जनसंख्यालाई यथेष्ट रूपमा पुग्न सक्ने खाद्यान्न, औषधि, वासस्थल तथा शिक्षाको उपलब्धता छ | तर स्वार्थका सीमाहरूले सुविधाहरूको सामानुपातिक वितरण गर्न सक्दैन | युद्धका लागि पुगिसरी अस्त्रशस्त्र उपलब्ध हुन्छन् तर रोग, भोक र अशिक्षासंग लड्न संसाधन पुग्दैन | सिरिया, अफगानिस्तानजस्ता युद्धग्रस्त देशहरूमा शस्त्रअस्त्र प्रचुरमात्रामा उपलब्ध छन् तर रोग, भोक र शिक्षाका लागि धन उपलब्ध छैन | सबैलाई थाहा छ "शस्त्रहरू ती देशले निर्माण गर्दैनन् |"

Friday, July 16, 2021

मीना, मोबाइल र त्यो मान्छे

 मीना, मोबाइल र त्यो मान्छे

उनी (मीना) १६ वर्षको उमेर मैं २८ वर्षीय पुरुषसंग पोइला हिडीन् | कथा नौं मा पढ्दापढ्दै आफ्नो मोवाइमा फ्रेन्डस-रिक्वेस्ट आयो | उनले विचार नै नगरी मित्रता स्वीकार गरिन् | उसले नम्वर माग्यो, त्यो पनि सजिलैसँग दिइन् |
तीनदिनपछि क्लास चलिरहेको बेलामा त्यो मान्छेले फोन गर्यो | उनले क्लास-छोडेर फोन उठाइन | उसले ठाउँ र गाउँको नाम सोध्यो उनले सबै कुरा साँचो-साँचो भनिदिईन् |
शनिवार भएको हुँदा मिना खरवारीमा बाख्रा चराऊंदै थिइन् | केही दिनपछि त्यो मान्छे गाउँमै आएर फोन गर्यो र भेट्ने इच्छा प्रकट गर्यो | उनले घरमा आउन अनुरोध गरिन् तर उसले मानेन |
नजिकैको चौतारीमा भेट्ने कुरा मिल्यो | पहिलो भेट मैं उसले राम्रो सूट र मोबाइल उपहार दियो | आफु एउटा सफल ब्यबसायी भएको र शहरमा घर भएको बतायो, साथै "फोटो देखेको दिन देखि नै माया" गर्न लागेको पनि जिक्र गर्यो र फेरी भेट्ने बाचा गर्दै बाटो लाग्यो |
अनि, बारम्वार मोबाइलमा कुरा हुन थाल्यो | फेसबुकमा च्याट हुन थाल्यो | यी सबै ठाउँमा उसले एउटा कुरा दोहोर्याई रह्यो "अहिले नै आमा वालाई नभन्नु | आजको जमानामा आफ्नो विषयमा निर्णय गर्ने अधिकार आफ्नै हुन्छ |"
यसपछि उ हरेक १५ दिनमा गाउँ आउन थाल्यो | हरेक पटक उसंग उपहारहरू हुन्थे | उ निकै धनिजस्तो देखिन्थ्यो र ऊ मायालु व्यवहार गर्थ्यो | यस पटक भने उसले मीनाको शरीरलाई छोयो, उनले "किन नाइँ" भन्न सकिनन् |
घर फर्केपछि मीना धेरै वेरसम्म रोइ रहिन् | मनमा ठूलो पश्चाताप भयो | "मैले तिमीलाईलाई असाध्यै माया गर्छु, हामीले अव विवाह गर्नुपर्छ" भन्दा मीनाको मन तर्सियो | विवाहका विषयमा उनको सोच नै थिएन |
घरमा एउटा भाई थियो | बा विदेशमा बस्थे | आमा अलिअलि रोगी थिइन् | घरमा धेरै अभाव त थिएन तर फुर्मास गर्न पनि थिएन | आमाले भाईलाई बढी माया गर्थिन् | घरको सबैजसो काम आफैले गर्नुपर्थ्यो | त्यैपनि "टोकेसो" थियो नै | मीनाको कुरा सुन्ने कोही थिएन |
छ महिनाको मोबाइल-प्रेमपछि एकरात मीना घर छोडेर "मान्छेसंग" सुटुक्क हिडीन् किनभने उनले "नाइँ" भन्न सकिनन् | उसको आग्रहलाई टार्ने आँट उनीमा थिएन |
उसले "बूढा सुब्बा" लगेर सिन्दुर-पोते दियो | दूवैजना एउटा होटलमा बसे | त्यसदिनको होटल बसाइ निकै डरलाग्दो थियो | उसले "जवर्जस्ती" गरेको थियो | उनलाई त्यो पीडा पचाउन निकै गारो भयो |
केही दिन घुमेपछि उनको लोग्नेले आफ्नो घर लग्यो | त्यो घर कम र गरिवीको मूर्ति बढी थियो | त्यहाँ उसकी जेठी श्रीमती र त्यसतिरका दूई सन्तान थिए | त्यस घरमा कसैले स्वागत गरेनन् | उनीसंग त्यहाँ बस्नको विकल्प थिएन |
घर पुगेपछि उनले बुझिन् - लोग्ने वेरोजगार रहेछ | उपहारमा दिएको मोबाइल, सुनका टप तथा अन्य सामग्रीहरू उधारोमा बटुलेका सामग्री रहेछन् | घर पुगेको तेर्सो दिन मैं लोग्नेले उपहारको मोबाइलसमेत खोस्यो |
सौताको टोकेसो, सासु-ससुराको गालीगलौज, जड्याहा लोग्नेको पिटाइ, आधापेट
कठोर शारीरिक श्रम मीनाको दैनिकी बने | उमेरले १८ वर्ष छुनुभन्दा पहिला नै एउटा बच्चीले जन्म लिई |
त्यसपछि लोग्नेको प्रताडना अझैं बढ्यो | पहिलेकी श्रीमतीका दुई छोरीहरूको रीस उसैमाथि पोखियो | सहनै नसक्ने गरी शारीरिक यातना बढ्न थाल्यो | उनको कलिलो मन छियाछिया भयो |
उनको सहयोगका लागि न कुनै आफन्तले पहल गरे न गाउँलेहरू नै सहयोग गर्न तयार भए | उनलाई देखेर सबै सहानुभूति प्रकट गर्थे र कहिलेकाहिं लुकेर भोजन दिन्थे | उनका परिवारसंग गाउँलेहरूको बोलचाल नै थिएन |
अन्तत: सहनै नसकेपछि उनले आफ्नो छोरीसंग कोशीमा हाम फाल्ने निर्णय गरिन् | गाउँलेले मीनाको उद्धार गरे तर छोरीलाई जोगाउन सकेनन् |
मीना अहिले "कल्याणकेन्द्रमा" छिन् | बर्बराउने, डराउने, विश्वास गर्न नसक्ने, निदाउन नसक्नेजस्ता मानसिक अस्वस्थ्यताले ग्रस्र छिन् | मनोबैज्ञानिक परामर्शदाताको प्रत्यक्ष निगरानीमा छन् |
...........
यो सत्य घटनाको अर्धसत्य कथाकरण हो | यसमा पात्रको नाम, ठाउँआदि फेरिएको छ तर घटना कत्तिपनि फेरिएको छैन | यस घटनाको प्रयोग परामर्श, संचेताना तथा जागरणका लागि मात्र होस् |
हाम्रो समाजमा यस्ता धेरै मीनाहरू छन् जसलाई सहयोगको खाँचो छ | यो घटना पढेपछि तपाईंहरूले यस्ता पात्रहरूलाई कसरी सहयोग गर्न सक्नुहुन्छ ? योजना बनाउने प्रयत्न गर्नुहोला |

एउटा केटो

 एउटा केटो

मैले भेट्दा मनोज सांग्रीला होटेलको अगाडीको सडकमा झोक्राएर बसिरहेको थियो | उ एउटा बोरामा आडेस लागेर बसेको थियो | उसको उमेर अन्दाजी १३ वर्षको होला | उसका वरिपरी फोहोरको थुप्रो थियो | नजिकै उ भन्दा कही ठूलो उमेरका केटाहरू "ग्लू" तानिरहेका थिए |
मैले एकैछिन त्यसलाई उभिएर हेरें | मैले अन्य भन्दा ऊ फरक होला कि भनेर अनुमान गरें | उसका लुगा हेर्दा त्यस ठाउँका लागि ऊ नया देखिन्थ्यो | त्यहाँ उ रम्न सकिरहेको थिएन |
मैले ऊसंग कुरा गर्ने निर्णय गरें | म एक्लो त्यस केटातिर गएको देखेर अन्य केटाहरू पनि चनाखो भए | ती मध्ये एकजनाले त मुखै फुटालेर भन्यो "अव यसले पनि खान बोलाउने होला" | मैले वास्ता गरिन |
त्यो केटा मङ्गोल जातिको थियो – लिम्बु थरको | उसको शरीरको विकास सामान्य नै देखिन्थ्यो | म नजिक उभिएको देखे पनि उसले पटक्कै वास्ता गरेन | "बाबु, बाबु" भनेर तीन पटकसंग बोलाउँदा पनि उसले आफ्नो मुख उठाएर म तिर हेरेन |
केही वेरपछि उसले बडो उपेक्षित तरिकाले मलाई हेर्यो | त्यस्तो उपेक्षाको भावना मैले कहिले पनि भोगेको थिइन | "बाबु ! म तिमीलाई केही सहयोग गर्न चाहन्छु | ठीकै छ, यो पाउरोटी तिम्रो लागि हो | म भोली फेरी आउनेछु | उसले पाउरोटीतिर पुलुक्क हेर्यो |
भोली फेरी म त्यसै ठाउँमा पुगें | ऊ त्यही बसिरहेको थियो | तर आज उसको आँखामा हिजोको जस्तो उपेक्षा थिएन | उसले मेरो कुरा ध्यान दिएर सुन्यो | अन्त्यमा उसले भन्यो "मान्छे मीठो-मीठो कुरा गर्छन् तर घरमा लगेपछि के-के गर्न लाउछन् | मलाई कतै जानु छैन |"
तेस्रो दिन ऊ मलाई नै कुरिरहेको थियो | मैले उसको लागि केही नया लुगा किनेर लागेको थिएँ | उसले लुगा स्वीकार गर्यो तर ती लुगा त्यहाँ लगाउने अवस्था थिएन | उसले ती लुगा आफैसंग राख्यो | ऊ मेरो पछाडी लाग्यो |
मैले उसलाई मेरो आफ्नै घरमा लगें | मेरी श्रीमती र छोरी हाम्रो नै प्रतीक्षा गरिरहेका थिए | सबैले मुसुक्क हाँसेर स्वागत गरे | मैले आफ्नो परिवारसंग उसको परिचय गराए | परिवारले उसलाई अत्यन्त सहजरूपमा स्वीकार गरे |
सुरुका उसलाई दिनहरूमा परिवारसंग मिल्न असजिलो भयो | सडकमा विन्दास जीवन बाच्ने बानी परेकाहरूलाई घर सजिलो हुँदैन | ऊ एक्लै बस्न र कम बोल्न मन पराउन्थ्यो | यदाकदा अचानक रून थाल्थ्यो | ऊ सानोतिनो कुरामा डर मान्थ्यो | राम्रो लुगा लगाउँदा लाज मान्थ्यो | तर लुकेर पत्रपत्रिका पढ्ने, केटाकेटीका कितावहरू पढेको ऊ देखिन्थ्यो |
लगभग तीन महिनापछि मैले "विद्यालय जान्छौं" भनेर सोधें, उसले सहज रूपमा हुन्छ | मैले नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिएँ | विद्यालयमा उसको पठनपाठन राम्रो थियो | सरहरू पनि निकै माया गर्नुहुन्थ्यो | मैले उसको वास्तविकता कसैलाई बताएको थिइन |
अव ऊ हाम्रा परिवारको अंग नै बनिसकेको थियो | त्यसवेला सम्म मैले उसको पारिवारिक पृष्ठभूमिका विषयमा अप्रत्यक्षरूपमा बुझ्ने प्रयत्न गरें तर केही थाहा हुन सकेन | मैले उसंग सोधिन | उसले पनि भनेन |
एकदिन हामी तीनदिने भ्रमणमा चितवन गयौं | ऊ असाध्यै खुशी भयो | त्यही खुसीको बेलामा मैले उसको परिवारका विषयमा सोधें | एकैछिन केही बोलेन मलाई एकोहोरो मेरो मुखमा हेरिनै रह्यो | सायद ऊ मसंग आस्वस्थ हुन चाहन्थ्यो |
उसको कथा यस प्रकारको रहेछ - उसको सानो जीवन सरल थिएन | ऊ धरानमा मध्यम परिवारमा जन्मेको रहेछ | तीन वर्षको उमेरमा आमा वितिछन् | बाबुले केही वर्षपछि नै कान्छीआमा ल्याए | केही दिन कान्छीआमाले निकै माया गरिन् तर बहिनी जन्मिएपछि उनको ब्यबहार रुखो हुँदै गयो |
बाबाले माया गर्नु हुन्थ्यो तर बाबाको अनुपस्थितिमा कान्छीआमाले सहनै यातना दिनु हुन्थ्यो | उनको ब्यबहार अचम्मको दियो | बहिनी प्रति उनी निकै क्रूर थिइन् | बहिनीप्रति उनको रत्ति पनि माया थिएन | बहिनिको खुट्टा समातेर विस्तारामा गुडिया झैं पछार्थिन् | त्यो देखेर मलाई निकै डर लाग्थ्यो |
त्यो सानी नानीको शरीरमा नीलडाम हुन्थे | म बहिनीलाई निकै माया गर्थे | त्यसो त सानीआमाले मलाई पनि न पिट्ने होइन | तर त्यो सानी बहिनीको तुलनामा मेरो दुख निकै कम थियो | उ एकवर्ष पनि पुगेकी थिइन | उ बोल्न सक्ने थिइन | उसले आफ्नो कुरा बुवा वा मलाई भन्न नसक्ने थिई | उनी निकै निर्दयी छन् |
बाबालाई यी सबै कुरा थाहा थियो कि थिएन भन्न सक्दिन | एक दिनको कुरा हो - म विद्यालयबाट फर्किदा सानीआमाले बहिनीलाई काखमा राखेर उसको कपाल लुछिराहेकी थिइन् | बहिनी चिच्याईमात्र रहेकी थिई | म निकै डराएँ |
बेलुका मैले यी सबै कुरा बुवालाई बताएँ | वुवाले कत्त्ति पनि मेरो विश्वास गर्नु भएन | भोली पल्ट विहान उहाले मलाई आफ्नो कोठामा बोलाउनु भयो र बेस्करी पिट्नु भयो | मैले वुवाबाट पिटाई खाएको यो पहिलो पटक थियो |
त्यस घटनापछि कान्छीआमाको अत्याचार बहिनी उपर बढ्दै गयो र उनी कराएर त्यसको दोष मलाई लगाउथिन् | बा कान्छीआमाको कुरा पत्याएर मलाई नै बेस्मारी कुट्नु हुन्थ्यो | मेरो कुरा सुन्न नै चाहानु भएन | घरको धेरैजसो काम भाँडा माझ्ने, कुचो लगाउने यहाँसम्म कि लुगा धुने काम पनि मैले नै गर्नु पर्थ्यो |
त्यसदिन एकविहानै बाबाले कोठाबाट निकालेर कुटेपछि त्यस घरमा बस्नै मन लागेन | म घरबाट बाहिरिए | मसंग केही पैसा थिए | म काठमाडौँको वसमा चढें | भोलीपल्ट विहान काठमाडौँ आइपुगे | यहाँ मैले चिनेको कोई थिएन | कहाँ जाने-कहाँ नजाने कुनै ठेगान थिएन | एक रात वसपार्क मै वितायें | राती एकजना मान्छे आएर गोजीमा भएको धेरथोर पैसा पनि जवास्जती लग्यो |
भोली पल्ट मसंग खाने केही थिएन | तीन दिनसम्म भोकभोकै बसें | तेस्रो दिन एकजना मजस्तै उमेरको केटाले फोहोर उठाएको देखेर त्यहीं गएँ | मैले आफ्नो कुरा बताएँ | ऊसले एउटा बोरा खोजिदियो | ऊसंग नै मैले उठाएको फोहोर ११० रुपियामा कवाडीमा बेचें | त्यही पैसाले पेट भरियो | तर राती भने तिनै केटाहरू मध्ये बलियोले सबैसंग रहेको पैसा जवर्जस्ती लगिदिने गर्थे | नदिए लात्तैलात्ताले कुट्थे |
तीन महिमा यसै गरी वित्यो | त्यसपछि एकजना धनी मान्छेले पढाई दिन्छु भनेर आफ्नो घर लग्यो | तर उसले त्यहाँ जे गर्न खोज्यो त्यो भन्न लाज लाग्छ | म फेरी पनि त्यो घरबाट भागें | मलाई धेरैले झुक्याए | तर तपाईंलाई विश्वास गर्छु |
त्यो घरबाटपछि म फेरी पुरानै जीवनमा फर्किए | यहाँको संसार विचित्रको छ | यहाँ ठूला “दाईहरू”को मात्र नियम चल्छ | ठूलाले भनेको नमान्ने हो भने ढुङ्गा थिचेर पनि मार्न सक्छन् | यहाँ धेरैजसो ग्लूको लतमा हुन्छन् | पैसा पाउँदा खाने हो नत्र भोकै बस्ने हो |
प्रहरीको ब्यबहार सबैभन्दा निर्दयी हुन्छ | कुनै पनि ठाउँमा चोरी भयो कि उनीहरूले “खाते”लाई समात्छन् | कठोर यातना दिन्छन् | चोरको रूपमा प्रस्तुत गरेर केही दिन थुन्छन् र छोडीदिन्छन् | कुनैकुनै प्रहरी निकै दयालु हुन्छ | एक पटक प्रहरीले मेरो ज्यान जोगाएका थिए | ती प्रहरी अंकलले कहिलेकाहिं मलाई खाना पनि दिन्थे |
म खातेहरू संग हिड्थे तर उनीहरूबाट अलग हुन चाहन्थे | मलाई फेरी कथा आठमा नै भर्ना भएर पढ्न मन लागिरहेको हुन्थ्यो | कहिलेकाहिं म सरकारी विद्यालयको छेउमा गएर उभिन्थे | तर त्यहाँ मलाई सोध्ने कोही हुदैनथ्यो | धेरैजसोले खाते भनेर धपाऊथे |
म केवल रुन्थे | मलाई वावाआमाको भन्दा पनि त्यो सानी बहिनिको असाध्यै माया लाग्छ | म मेरी सानी बहिनिलाई असाध्यै माया गर्छु | मेरो वा र सानीआमाप्रति कुनै माया छैन | उहाँहरूसन्द डर लागिरहन्छ | तर एकपटक मैले आफ्नी बहिनीलाई भेट्न चाहन्छु |
हामी चितवनको भ्रमण गरेर घर फर्क्यो | मैले धरानको उसको परिवारको विषयमा बुझ्न पठाएँ | सबै उसले भने बमोजिम नै भेटियो | मैले मनोजका आमाबुवासंग सम्पर्क बनाएँ | मनोजले घर छोडेपछि सानीआमाको ब्यबहारमा केही परिवर्तन आएछ | बाबु पनि आफ्नो छोरालाई भेट्न आतुर देखिन्थे |
आमा र बाबु दूबैलाई मनोपरामर्षदातासंग भेट गर्न सहमत गराएँ | उनीहरूले नाचिने पनि सात पटकासम्म हामी परामर्शका बैठकमा बस्यौं | आठौँ पटकमा मनोज र आमावुवाकोबीच भेटभयो | यस पटक मनोजले आफ्ना आमावुवामा विश्वास गर्न सकेन तर बहिनीलाई काखमा लिएर धेरैवेरसम्म खेलिनै रह्यो |
अव मनोज आफ्नी कान्छी-आमा र बासंग आफ्नै घर धरानमा बस्छ | बहिनी र उ दूबै विद्यालय जान्छन् | बहिनीलाई उसले असाध्यै माया गर्छ | यद्यपि कान्छीआमाप्रति उ अझै विश्वास गर्न सकिरहेको छैन | तर कान्छीआमाको ब्यबहार भने सकरात्मक भएको छ |
अहिके मनोज कक्षा दशमा पढ्छ भने बहिनी नर्सरीमा | मैले हरेक चौथो वा पाँचौदिन फोन गर्छु | मेरो फोनको उ प्रतिक्षा गरिरहेको हुन्छ | मेरी छोरी छोरी ऊभन्दा उमेरमा धेरै ठूला छन् तर दुवैले उसलाई असाध्यै माया गर्छन् र “कान्छो भाई” भनेर सम्बोधन गर्छन् | मेरी श्रीमती उसलाई “विन्दास” भन्छिन् | साच्चिकै भन्ने हो भने हरेक दिन हामीले एउटा सदस्य “मिस” गरिरहेका हुन्छन् |
.....................................
नोट : यो कथा होइन | यो वास्तविक घटना हो | पात्रको नाम र ठाउँ मात्र फेरिएको हो | हामीले आफ्नो दृष्टिकोण वदल्ने हो भने धेरैलाई सहयोग गर्न सक्छौं | सद्भाव, प्रेम र सकारात्मक ब्यबहारले जस्तोसुकै समस्यामा परेका मान्छे पनि वदलिंछन् |
विश्वास गर्नुस्, धेरै मनोजहरूले हाम्रो प्रतिक्षा गरिरहेका छन् | के हामी सहयोग गर्न तयार छौँ ?

Friday, June 25, 2021

मन्दिर र तपाईं

 मन्दिर र तपाईं

नेपालमा कति मठमन्दिर छन् ? कसैसंग अभिलेख छैन | निजी, सार्वजनिक र गूठी यी तीन श्रेणीमा नेपाली मन्दिरहरूलाई राख्न मिल्छ भन्ने मेरो ठहर हो त्यैपनि गूठीअन्तर्गत निजी र सार्वजनिक दूवै प्रकारका मन्दिर छन् भनेर बुझ्नुपर्छ |
काठमाडौँ उपत्यकाका धेरैजसो मन्दिरहरू निजी धनले निर्माण गराएर तिनको संचालन गर्न गुठीको अबस्था गरिएको छ | त्यस्ता मन्दिरहरू निजिगुठीका नामले चिनिन्छन् र गुठियारहरू सम्बन्धित परिवारकै पुस्ताहरू हुन्छन् | पूर्वजले राखेको नासो चलाउने काम जीवित पुस्ताको हुन्छ | दुर्भाग्यवस, पछिल्लो पुस्ता निजी गुठीहरूको उठिवास गर्न सक्रिय छन्, आफ्ना पुस्ताको सत्कर्म मेटाउन तम्तयार छन् | सबैलाई एकै भाँडोमा हाल्नु अन्याय हुनेछ |
श्रीपशुपतिनाथ सार्वजनिक गुठी हो | गुठी परम्परा विश्वकै लागि परम्परा संचालनको नेपाली प्रतिमान हो | एस्ता मन्दिरहरूको दायरा र लोकप्रियता वृहद् हुन्छ | तेस्रो, व्यक्तिले आफ्नो घरकम्पाउन्ड भित्र निजी पूजाआजाका लागि निर्माण गरिने मन्दिर हुन्छन् | मन्दिर जस्तो विधिमा संचालन किन नहोस्, सबैको उद्देश्य वैदिक सनातन धर्मको निरन्तरता सुनिश्चित गर्नुनै हो | मन्दिरहरू सनातन धर्म सिकाउने सबैभन्दा प्रमाणिक र जीवन्त आधार हुन् |
मन्दिरको अर्थ 'घर' हुन्छ | मन्दिर त्यो घर हो जहाँ हामी हिन्दू, जैन तथा बौद्धहरूका आराध्यदेव देवीहरूको आराधना गरिन्छ | मन्दिरसंग आस्था, विश्वास, इतिहास, त्याग, दान, संस्कृति तथा दैनिक संस्कारहरू जोडिएका हुन्छन् |
हरेक सनातन धर्मिका लागि मन्दिर एउटा "आत्मिक घर वा समुह र परिवार जोडिने पवित्र" मिलनस्थल हुन्छ | जहाँ पुगेपछि धनिगरीव, ऊंचनीच, छुतआछुतजस्ता भिन्नताहरू समाप्त हुन्छन् | मन्दिरमा आराधना गरिने देवीदेवता सबैका साझा हुन्छन् र हरेक व्यक्तिको आध्यात्मिक, मानसिक समस्याहरूको समाधान गर्ने आधार हुन्छन् |
नेपालीहरूको मन्दिरको इतिहास नेपालजत्तिकै प्राचीन छ | नेपालका निर्माता ने-मुनिले नेपालको जग भगवान् शिवको मन्दिर निर्माण गरेर राखेका थिए | साच्चिकै भन्नुपर्दा हामी नेपालीका लागि नेपाल पनि एउटा वृहदकाय मन्दिर हो जहाँ हामी सबै मिलेर आराधना गर्छौं |
नेपालमा असंख्य मठमन्दिरहरू छन् जसले सर्वसाधारण नेपालीहरूको धर्म, संस्कृति, संस्कार तथा असल-कमसल कार्यको नियन्त्रण हुन्छ | हरेक मठमन्दिरले धर्म, संस्कृति तथा संस्कारहरूको पुस्तान्तरण गर्छन् | मन्दिरमा गएर अर्पित गरिने नगद वा वस्तु, गरिने ढोग, सम्पदान गरिने संस्कार यी सबैले हामी वैदिक संस्कृतिका अंश भएको प्रमाणित गर्छन् |
मन्दिरहरू : हिन्दू वैदिक सनातन धर्मका असली जग अर्थात् स्रोत हुन् | जसले सबैभन्दा पहिले मन्दिर वनाएर वैदिकहरूलाई मन्दिर जान उत्प्रेरित गरे उनी वास्तव नै दूरदर्शी थिए | हामी भाग्यमानी छौँ, मन्दिर र मन्दिर निर्माताले राखेको विश्वासको जगले गर्दा हरेक प्राचीन मन्दिरहरूको वारम्वार पुनर्निर्माण, पुनउद्धार र पुन: संस्कृति सिकाउने थलोका रूपमा सुरक्षित छन् | धेरै राजाका सुन्दर महलहरू हराए तर एउटा मन्दिरहरू हाम्रो आस्थाका कारण जीवित छन् |
मन्दिरहरू हामी वैदिक (हिन्दू, जैन, बौद्ध) हरूका स्वाभिमान हुन् | हाम्रा पूर्खाहरूको त्याग, तपस्या तथा दूरदृष्टिका जीवित प्रतिमान हुन् | मन्दिरको अपमान गर्नु वा मन्दिरहरूको वेवास्ता गर्नु भनेको आफ्नो स्वाभिमान त्याग्नु वा तेसको महत्वलाई नबुझ्नु हो | जीर्ण भएका मन्दिर, वेवास्तामा परेका मन्दिर तथा अतिक्रमणमा परेका मन्दिरहरूले हाम्रो गीर्दो स्वाभिमान देखाउंछन् | मैले सम्पूर्ण योरोप घुम्दा कुनै पनि चर्च वेवास्तामा परेको देखिन, भेटिन |
काठमाडौँलाई मन्दिरहरूको सहर भनेर बुझिन्छ | हरेक मन्दिरले त्यो चाहे ठूलो होस् वा सानो, एउटा इतिहास, आस्था, विश्वास र संस्कृतिको प्रतिनिधित्व गरिरहेको हुन्छ | एउटा मठमन्दिर नष्ट हुनु भनेको एउटा सम्पूर्ण इतिहासको धरोहर नष्ट हुनु हो | अहिले मन्दिर तथा गुठीहरूको जग्गा कब्जा गरेर तेसको इतिहास नष्ट गर्ने व्यक्तिहरूको वर्चश्व छ | एस्ता व्यक्तिहरू आफ्नै धर्म, संस्कृति तथा धरोहरका शत्रु हुन् | दण्ड इतिहासले दिनेछ |
हाम्रो समाजमा मठमन्दिरलाई वेवास्ता गर्ने जमातहरू बढेको छ | एस्तो जमात आफुलाई "आधुनिक र प्रगतिशील" ठान्छ | यो एउटा आत्मघाति प्रबृत्ति हो | हरेक अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई कमसेकम हप्ताको एक दिन निकटतम मन्दिरमा लैजानु पर्छ, आराधनामा समावेश गर्नुपर्छ र दान दिने संस्कृति सिकाउँनु पर्छ | इसाई-मुस्लिमहरूबाट हामीले धर्मप्रतिको समर्पण सिक्नुपर्छ | आज मुस्लिम र इसाई समुदाय क्रमशः दोस्रो र पहिलो ठूलो धार्मिक समुदाय हो किनभने उनीहरूले मस्जिद र चर्चलाई कहिले पनि वेवास्ता गर्नेनन् |
हामी हिन्दूहरू मन्दिरहरूको संरक्षणका सवालमा निकै पछि परेका छौँ | हरेक सानोठूलो समुदायले एउटा मन्दिरको संरक्षण गर्ने जिम्मा लिनुपर्छ | आजभोली एस्तो प्रबृत्ति बढेको छ तर मन्दिरहरूको तुलनामा हाम्रा प्रयाशहरू निकै कम छन् | यदि हामीले मन्दिरहरूको संरक्षण गर्यौं भने मन्दिरहरूले हाम्रो धर्म, संस्कृति तथा इतिहासको गौरवलाई निरन्तरता दिने छन् | हाम्रो धार्मिकताले मन्दिरको र मन्दिरले हाम्रो धर्मसंस्कृतिको रक्षा गर्ने छन् |
धर्मको कोलममा हिन्दू लेख्दैमा हिन्दू धर्मको रक्षा हुँदैन | मन्दिरप्रतिको दायित्व हामीले पूर्ण गर्नुपर्छ | मन्दिरले आयोजना गर्ने कार्यक्रममा सक्रियता पूर्वक भाग लिनुपर्छ | आफुले कमाएको धन मध्ये केही प्रतिशत नियमित रूपमा दान दिनुपर्छ | महिनामा एक पटक मन्दिरमा स्वयंसेवक बनेर मन्दिरको संरक्षणमा टेवा दिनु पर्छ |
सबैभन्दा महत्वपूर्ण कुरा, आजभोली केही प्रगतिशील भनाउंदा र विदेशी धर्महरूले "मठमन्दिर, पण्डितपुरोहित, पूजाआजा"हरू सामन्तवादका प्रतिनिधि हुन्" भन्ने जस्तो नितान्त घृणित, विभेदकारी र आफैलाई नष्ट गर्ने "वैचारिक-जाल"हरू फैलाएर आफ्नै धर्म, संस्कृति तथा इतिहासप्रति हीनताबोध उत्पन्न गर्ने काम भइरहेको छ | एस्ता घृणावादी सोचको प्रतिवाद गर्नुपर्छ | मन्दिरहरू हाम्रो पहिचान हुन्, हाम्रा इतिहास हुन् | हाम्रो संस्कृतिको निरन्तरताका लागि अनिवार्य सोपान हुन् | यी घृणावादीको बैचारिक जालमा परेर आफ्नै धर्मका विरुद्ध बोल्नेहरूको बौद्धिक प्रतिवाद गरौँ |
अन्त्यमा, मन्दिरहरू, मठहरू, हरू, गुम्वाहरू, चैत्यहरू, हाम्रा जीवित धर्म, संस्कृति र इतिहास हुन् | हाम्रो स्वाभिमानी इतिहास यिनैसंग जोडिएको छ | मन्दिरको वेवास्ता गर्नु आत्मघात हो | मन्दिर र मन्दिर संस्कृतिसंग आफु र आफ्नो परिवारलाई जोडौं | सनातन धर्मको विनम्र तर स्वाभिमानी अनुयायी भएको प्रमाण बनौं | धन हुनेले धन, मन हुने ले मन र शारीरिक सेवा दिन सक्नेले स्वयंसेवा प्रदान गरौँ |
हामी गर्न सक्छौं |

Thursday, June 17, 2021

नेपालको मौलिक कला

 नेपालको मौलिक कला

नेपाली शिक्षाविद् तथा नीतिनिर्माताहरूले प्राचीनतम समयदेखि अध्ययन/अध्यापन गर्दै आएका यी विषयहरू वारे थाहा छ कि छैन ? यी प्राविधिक शिक्षाका विधाहरू आज पनि समाजमा प्रचलित छन् | विषयहरू थपिएका छन्, घट्ने सवाल नै छैन | अहिलेको नेपाली समाजमा स्वरोजगारको समस्या छ भने सिटिभीइटीआदि संस्थाहरूले वैदिक कालदेखि प्रचनमा रहेका निम्न विधाहरूसहित अन्य विधाहरूको शैक्षिक व्यबस्था गर्दा के हुन्छ ?
आफ्नै मौलिक तथा रैथाने प्रणालीको विस्तारमा ध्यान नदिने, नक्कल गर्न मात्रै तम्सिएर देश र समाजको विकास हुन्छ भन्नेहरू "झूटा" हुन् | सबै अरूका राम्रा हुँदैनन्, सबै थोक आफ्ना नराम्रा हुँदैनन् | असल कुराहरू विश्वबाट ग्रहण गर्नुपर्छ, आफ्ना असल कुराहरू विश्वभरि पुर्याउनु पर्छ |
आज राजनैतिक दलका नेताकार्यक्रता, शिक्षाविद्हरू र विकास कर्मीहरूको चासो कला अर्थात् (Vocational education) मा छ | मैले लामो समयदेखि अध्ययन गर्दा के पाएँ भने नेपालजस्तो देशका युवायुवतिहरूलाई स्वरोजगारमा केन्द्रीत गर्ने हो भने कामसूत्रले स्थापित गरेका ६४ प्रकारका कलाहरू (Vocational education) सबैभन्दा उपयुक्त ठहरिन्छन् | आज पनि नेपालमा केही वाहेक सबै ६४ प्रकारका कलाहरू सिकाउने जनशक्ति उपलब्ध छ |
शिक्षामन्त्रालयका कर्ताधर्ताहरूले भन्नुपर्छ तल दिएका ६४ कलाहरू मध्ये कुन काम नलाग्ने वा तुरुन्त रोजगार दिन नसक्ने छ ? ठूलाठूला कुरा गर्ने तर स्थानीय जनशक्ति, स्थानीय साधनस्रोत तथा ज्ञानको सर्वोत्तम उपयोग गरेर दक्ष जनशक्ति (विश्वभरी सजिलै विक्ने) तयार गर्नेतिर फिटिक्क माखो नमार्नेहरूका के भन्नु !! यी ६४ कलाहरू स्थानीय जनशक्ति, स्थानीय स्रोतसाधन र अत्यन्त न्यूनतम खर्चमा सिकाउँन सकिने विषय हुन् |
सरकार त सरकार नै भैहाल्यो ! प्राचीन गुरुकुलहरूमा उपरोक्त विषयहरूको छुट्टाछुट्टै पठनपाठनको व्यबस्था भएको हुँदानै यी विषयहरूको सिलेवस बनेको हो | आजका गुरुकुल तथा पाठशालाहरूले निम्न ६४ कलाहरू मध्ये स्थानीय आवश्यकता, जनशक्तिको उपलब्धि तथा स्थानीय स्रोतका आधारमा ५ देखि १० बटासम्म कार्यक्रमहरू संचालन गर्न सक्छन् | निजिस्तरका गुरुकुलहरूले पनि आफ्नो अनुकुलका Vocational education विषयहरूको पाठ्यक्रम बनाएर पढाउन सक्छन् |
यजुर्वेदको तेस्रो अध्यायको चौथो मन्त्रदेखि २२ मन्त्र सम्म र कामसूत्रको कामसूत्र १.३.१५ मा निम्न चौसठ्ठी प्रकारका (कला) अर्थात् (Vocational education) को प्रष्ट उल्लेख गरिएको छ :
१- गानविद्या, २- वाद्य - भांति-भांतिका बाद्यवादन, ३- नृत्य, ४- नाट्य, ५- चित्रकारी, ६- बुट्टा भर्नु , ७- विभिन्न सामाग्री प्रयोग गरेर उपहार बनाउनु
८- फूलका विभिन्न मालाआदि निर्माण गर्नु , ९- दांत, वस्त्र तथा अंगहरूमा रङ्ग लगाउनु ब्युटीपार्लर, १०- ढुंगाका विभिन्न वस्तु निर्माण गर्नु, ११. शय्या-रचना
१२- पानीलाई कलात्मक रूप दिनु १३- जादु इत्यादि देखाउनु,
१४- हार-माला आदि निर्माण गर्नु, १५- कपाललाई कलात्मक बनाउनु (नाउँको काम), १६- गहना र कपडा निर्माण गर्नु, १७- फूलले सजावट गर्ने काम , १८- कान सजाउनु , १९- सुगंध वस्तुएं-इत्र, तैल आदि निर्माण गर्नु
२०- इंद्रजाल-जादूगरी, २१- रूप फेर्नु, २२- हातले फुर्तिलोसंग काम गर्नु, २३- अनेकौं प्रकारका खाद्य समान बनाउनु )सेफ), २४- अनेकौं पेय पदार्थ निर्माण गर्नु , २५- सियोको काम जान्नु, २६- पुतली निर्माण र नाँच , २७- गाउँ खाने कथा जान्नु २८- काठ वा ढुंगाका मूर्ति कुद्नु , २९- कूटनीति, ३०- पढाउने कला (शिक्षक/विद्या), ३१- नाटक आख्यायिको रचना जान्नु, ३२- समस्यापूर्ति गर्न जान्नु, ३३- शस्त्रअस्त्र-निर्माण गर्नु, ३४- गलैचा, दारी आदि बुन्नु, ३५- काठको कारीगरी, ३६- घरको कारीगरी ३७- रत्नपरीक्षा परीक्षा ज्ञान, ३८- सुनचाँदीको काम (सुनार), ३९- हिरामोति चिन्ने कला, ४०- खानी सम्बन्धि ज्ञान, ४१- वृक्ष चिकित्सा, ४२-पशु चिकित्सा, ४३- पशुपक्षीको बोली जान्नु, ४४- उच्चाटनकी विधि, ४५- शरीरको सफाई विधि, ४६- मनोविज्ञानको ज्ञान, ४७- म्लेच्छित-कुतर्क-विकल्प, ४८- अनेकौं भाषाको ज्ञान, ४९- शकुन-अपशकुन जान्नु, ५०- मातृकायन्त्र निर्माण गर्नु, ५१- रत्नहरूको कटनी, ५२- सांकेतिक भाषाको ज्ञान, ५३- तत्कालै गीत रचना गर्ने कला , ५४- आविष्कार गर्ने कलाहरू, ५५- छल , ५६- शब्द ज्ञान, ५७- छन्दहरूको ज्ञान, ५८- लुकाउने कला, ५९- द्यू्त क्रीड़ा, ६०- आकर्षक देखिने कला, ६१- बालप्रिय खेल/विभिन्न खेलहरूको ज्ञान
६२- मन्त्रविद्या, ६३- युद्धमा विजय प्राप्त गर्ने कला, ६४- वेतालआदिलाई वस पार्ने विद्याको ज्ञान
उपरोक्त सबै विषयहरू स्वतन्त्र तथा मिश्रित सिलेवसको हैसियत राक्छन् | उदहारणका लागि आजभोली गायक/गायिका बन्ने रहर नभएको मान्छे हुँदैन | उदाहरणका लागि हरेक विद्यालयहरूले प्रथिमिकतहमा भए पनि सङ्गीत सिकाएकै हुन्छन् | प्राचीन र आधुनिक मिश्रितसंगीत सिक्नका लागि स्वतन्त्र Sangiit Vocational training school संचालन गर्न सकिन्छ |
रैथाने बाजाहरूको निर्माण तथा बजाउने सम्वन्धि ज्ञानहरू लोप हुँदैछन् | विदेशी सङ्गीतले रैथाने सङ्गीत र बाद्यवादनका साधनहरूको विनाश हुँदैछ | यदि हामीले "बाद्य" (मृदंग, मुचुन्गा, सहनाई, दमाहा, ट्याम्को, मुरली) आदिको निर्माण, सिकाईका लागि "बाद्य-वादन स्कूल" खोलेर इच्छुक समुदायलाई सिकाउने काम गर्न सकिन्छ | नेपालको गंदर्भजातिले यो काम परापूर्वकालदेखि नै गर्दै आएको छ | उनीहरूलाई नै निकाय खडा गरेर जिम्मेवारी दिने हो भने बाद्यवादनको संरक्षण मात्र होइन प्रवर्धन पनि हुन्छ, स्वरोजगारी बढ्छ |
फ्रान्स सुगन्धि (परफ्युमको) उत्पादनका लागि प्रसिद्ध छ भने इटाली सुन्दरी प्रतियोगिताका लागि | यजुर्वेदले यी दूवै विषयजरूलाई स्वतन्त्र सिकाईका विषयहरूका रूपमा स्थापित गरेको छ | फ्रान्सेलीहरूले आज पनि परम्परागत शीपको प्रयोग गरेर सुगन्धि उत्पादन गरिरहेका छन् भने इटालीको मिलानो सहर मोडेल उत्पादनको लागि प्रसिद्ध छ | यी दूवै कलाहरू तिनका रैथाने हुन् | हाम्रो संस्कृतिमा उपरोक्त दूवै शीप-विद्याहरू प्राचीनकालदेखि नै अभ्यास हुँदै आएका हुन् | उप्रान्त निजी तथा सरकारीतहहरूले स्वरोजगार विकासका लागि उपरोक्त सीप विद्यालयहरू संचालन गर्न मिल्छ |
हो, तत्कालीन ६४ कलाहरू मध्ये आजको आवश्यकताका लागि "खरा" नहुन सक्छन् तर संरक्षणकातहमा सिलेवस निर्माण गरेर सिकाउनु हरेक नेपालीको दायित्व हो | ६४ मा धेरै थप्न मिल्छ तर Vocational education को इतिहासमा वैदिक शिक्षा प्रणाली नै "Vocational education" को मातृभूमि हो भन्न मिल्छ र इतिहासमा लेख्न मिल्छ | Vocational education को इतिहासमा उप्रान्त हामीले स्वाधिकार ठान्नुपर्छ |
यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के छ भने उपरोक्त ६४ कलाहरू सिक्ने, सिकाउने अधिकार महिला तथा पुरुषलाई समानतहमा छ | स्त्री र पुरुषका लागि विभेद गरिएको छैन | उपरोक्त कलाहरू मध्ये एउटा पनि कलामा दक्षता प्राप्त गरेको व्यक्तिले वेरोजगार रहने सम्भावना नै हुँदैन |
अव एता पो चिन्तन, कार्यान्वयन पो गर्ने हो कि ?

स्वर्ग जाने चिता

 स्वर्ग जाने चिता...

जिन्दगी चलिनैरहेको थियो | मान्छेहरू आ-आफ्नो काममा व्यस्त थिए | तेसै बीच केही नौला मान्छेहरू आएर भने "तिमी नर्कमा छौँ, हामीसंग यो ठाउँलाई स्वर्ग बनाउँने क्षमता छ |"
तेसपछि उनीहरूले घरघर गएर स्वर्गका सुखहरू बताउँन थाले | स्वर्गप्राप्तिका लागि एकजुट हुन आग्रह गरे |
स्वर्गमा पाइने सुखका कथा सुनेपछि मान्छेलाई जिउंदै जान मन लाग्छ | मान्छेहरू एकत्र भए | नौला मान्छेहरूले "ठाउँ" स्वर्ग बनाउदिने न भए स्वर्ग नै पठाउने ठेक्का लिए |
धेरै समय वित्यो त्यो ठाउँ स्वर्ग बन्न सकेन | पुरानो व्यबस्थामा बाँच्ने कला रहेन | मान्छेहरूले भने "खै तपाईंहरूले ल्याउने स्वर्ग ?"
नेताहरूले भने "हामीलाई यहाँ स्वर्ग ल्याउँन गार्हो भएको छ | तर तपाईंहरूलाई हामी स्वर्गको सुख भोग्न पठाउँछौँ | तपाईंहरू भोलिविहानै यहाँ आउनु हो |
त्यो ठाउँका सबै मान्छेहरू भोलिपल्ट आर्यघाटमा आए | सबै स्वर्गको सुख भोग्न, देख्न चाहन्थे | तेहा हजारौं चिताहरू सजाइएका थिए |
जनताले भने "हामीलाई स्वर्गका सुख चाहिएको हो | हामी मर्न चाहन्नौं | सुख हाम्रो लक्ष हो हामी आफ्ना सन्ततिहरूको सुख सुनिश्चित गर्न चाहन्छौं |"
नेताहरूले भने "पहिले स्वर्ग गएर तेहाको सुख तपाईंका लागि ठीक छ कि छैन ? बहुमतले निर्णय गर्नुस् | तपाइँहरू चितामा बस्नुस् | हामी "शक्ति प्रयोग" गरेर स्वर्ग पठाई दिन्छौं | स्वर्गमा गएर तेहाका सुखमा अल्मलिने धेरै हुन्छन् | तपाईंहरू "बहुमत" फर्कनु हुन्छ भन्ने विश्वास गर्छौं |"
सबै मान्छेहरू सुखको चाहनामा खुसिखुसी चितामा चढे | घाटमा सेनाका ब्याण्डहरू जोडजोड़ले बजिरहेका थिए | नेताहरू एकआपसमा खुसी साटासाट गर्दै थिए |
तेसै बखत नेपाल खाल्टोमा जर्मनीका स्वर्गीय कार्लमार्क्स, अमेरिकाका जर्ज वाशिंगटन र जन क्याल्भिन प्रकट भए, नेताहरूसंग मिसिए | अनि सबै मिलेर तरुणतपसीको यो श्लोक जोडजोडले गाउँन थाले - "मै खाउँ मैं लाउँ सुखसयल वा मोज म गरूँ, मैं बाँचु मैं नाचूँ अरू सब मरूँन् दुर्वलहरू "|
यसरी त्यो देश नेताहरूका लागि स्वर्ग र जनताहरूका लागि स्वर्ग जाने चिताका रूपमा चलिनै रहेको छ | न नेताले स्वर्ग ल्याउँने बाचा छोडेका छन्, न जनताले चितामा बसेर स्वर्गमा पुगिने विश्वास नै मारेका छन् |
कोरोनाका चिताहरू आर्यघाटमा जलिरहंदा लोकतान्त्रिक गणतन्त्रका लेखकहरू हाँस्दै रहेका छन् | जनता स्वर्ग जाँदैछन् | नेताहरू स्वर्ग भोग्दैछन् | कठै ! हाम्रो भाग्य !!

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी

द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी  निम्बार्क उपासना  नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए | उनले पढेको गुरुकुलमा गुरूले "...